`

सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान र स्वीकार गर्छु : रेशम चौधरी

Nepal One HD ३ जेठ २०८० १४:१२
प्रमुख खबर

काठमाडौँ – टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय पाएका रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान र स्वीकार गर्ने बताएका छन् ।

मंगलबार चौधरीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’

उनले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । तर, पुनरावेदन गर्ने वा नगर्ने स्पष्ट भनेका छैनन् ।

सम्मानित अदालतलाई सदा सम्मान गर्ने भन्दै उनले फैसलामाथि अनर्गल टिप्पणी नगर्न सबैलाई आग्रहसमेत गरेका छन् । सर्वोच्चप्रति भरोसा रहेको भन्दै चौधरीले आफू अझै पनि न्यायिक पर्खाइमा रहेको उल्लेख गरेका छन् ।

‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको छु,’ उनले भनेका छन् ।


प्रतिक्रिया