`

प्रहरी र लक्ष्मी बैंकबीच छात्रवृत्ति कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ – नेपाल प्रहरी र लक्ष्मी बैंक लिमिटेडबीच आज ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले समझदारीपत्र आदानप्रदानसमेत गर्नुभयो । समझदारीपत्रमा प्रहरी नायब महानिरीक्षक केदार ढकाल र लक्ष्मी बैंकका तर्फबाट बैंकका प्रमुख रिटेल फाइनान्स सर्भिस विभागका दीपेश अमात्यले हस्ताक्षर गर्नुभएको छ ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्ने, कार्यसम्पादनमा सकारात्मक सुधार ल्याउनाका साथै प्रहरीले प्रवाह गर्ने सेवामा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र लक्ष्मी बैंकबीच आपसी सहयोग आदानप्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले नेपाल प्रहरीले देश तथा समाजको शान्ति सुरक्षामा गरेको योगदानको प्रशंसा गर्दै बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको बताउनुभयो ।

उक्त कोषबाट नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, पूर्व एवम् अवकाश प्राप्त, अमर÷शहीद एवम् अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्मचारीका सन्ततिहरूमध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने कम्तीमा दुईजना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेसनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत सहयोग उपलब्ध हुनेछ ।

छात्रवृत्ति प्रदानका लागि लक्ष्मी बैंकले प्रहरी कल्याण कोषका नाममा ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’को स्थापनाबापत प्रत्येक वर्ष रु पाँच लाखका दरले कोषमा जम्मा रु २५ लाख उपलब्ध गराउनेछ । शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने जनाइएको छ ।

साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ – कानूनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि सो व्यवस्था गरेको छ ।

राष्ट्रिय सतर्कताकेन्द्रका अनुसार उक्त व्यवस्थाको बर्खिलाप गर्दै नौ हजार पाँच सय ९० कर्मचारीले आर्थिक वर्ष २०७८/७९ मा सम्पत्ति विवरण नबुझाएको पाइएको छ । सङ्घीय सरकार मातहतका छ हजार छ सय ४६ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

यस्तै, स्थानीय निकायका एक हजार नौ सय १७ कर्मचारीले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।राष्ट्रिय सतर्कता केन्द्रले कानूनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई रु पाँच हजार जरिवाना समेतका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ । निजामतीतर्फका तीन हजार चार सय ५३, नेपाल प्रहरीका एक सय १३, विद्यालयका शिक्षकले एक हजार एक सय ५८ र अन्य राजनीतिक नियुक्ति र करारतर्फका एक हजार नौ सय २२ ले सम्पत्ति विवरण बुझाएका छैनन् ।

केन्द्रले आज सार्वजनिक गरेको विवरणअनुसार आव २०७८/०७९ मा सात लाख १९ हजार एक सय ५७ जना अर्थात् ९८ दशमलव ६८ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन् । आव २०७८/०७८ मा सम्पत्ति विवरण बझाउनेको सङ्ख्या छ लाख ८१ हजार दुई सय १५ जना अर्थात् ९७ दशमलव७९ प्रतिशत रहेको थियो ।

–––

अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित

काठमाडौँ – राष्ट्रियसभाबाट पारित भइसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भष्ट्राचार निवारण पहिलो संशोधन विधेयकमा राखिएको प्रावधानहरूमाथि निजी क्षेत्रले विमति जनाइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रभित्र निजी क्षेत्रलाई पनि समेट्ने गरी विधेयक राष्ट्रियसभाबाट पारित भएपछि निजी क्षेत्रको छाता सङ्गठनहरुले दबाब बढाएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायतका संस्थाहरु विधेयकका यी व्यवस्था हटाउन माग राख्दै सरकार र संसद्लाई आग्रह गरिहेका छन् । राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएका ती दुई विधेयकलाई संशोधन गरेर यो प्रावधान हटाइनुपर्ने निजी क्षेत्रको माग छ ।

यही विषयबारे उद्योग वाणिज्य महासङ्घको टोलीले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको थियो । प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई असर पर्नेगरी सरकारले कुनै पनि कानुन नल्याउने भन्दै महासङ्घका प्रतिनिधिहरुलाई आश्वस्त पार्नुभएको थियो । निजी क्षेत्रसँगको भेटबारे प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको प्रेस नोटमा अहिले अर्थतन्त्र सङ्कटको अवस्थामा रहेकाले निजी क्षेत्रलाई थप समस्या पर्नेगरी कुनै पनि काम सरकारले नगर्ने उल्लेख छ ।

“हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । यस्तो परिस्थितिमा सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एकअर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनिएको छ, “निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु । निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरी कुनै पनि कानुन बनाउँदैनौँ ।”

त्यस्तै, निजी क्षेत्रका प्रतिनिधिले शनिबार नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई र आइतबार नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यो विषयबारे जानकारी गराएको छ । तीन ठूला दलका शीर्ष नेताहरुसँगको भेटबारे महासङ्घले जारी गरेको विज्ञप्तिअनुसार उहाँहरुबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रसमेत हेर्ने गरी कानुनी व्यवस्था नहुने आश्वासन पाएको उल्लेख गरेको छ ।

त्यसैगरी, महासङ्घ टोलीले गत बिहीबार उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्कासमेतलाई भेटिसकेको छ । सोही दिन कांग्रेस संसदीय दलको बैठकमा पनि निजी क्षेत्रले यो विषयबारे जानकारी गराएको थियो । कांग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडू, हृदयराम थानी, वीरबहादुर बलायर, दीपक गिरी, सुनिल शर्मालगायतले यो निजी क्षेत्रलाई अख्तियारको कार्यक्षेत्रभित्र ल्याउन नहुने धारणा राख्नुभएको थियो ।

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानीकर्ता हतोत्साही हुने छाता सङ्गठनहरुको भनाइ छ । संविधानको धारा २३९ अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र हेर्न नमिल्ने तर्क निजी क्षेत्रको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल निजी क्षेत्रका संस्थाहरुलाई नियमन अनुगमन गर्नका लागि छु्ट्टै नियामकीय संस्थाहरू रहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यस्तो अधिकार दिन नहुने बताउनुहुन्छ । “उद्योग, व्यापार व्यवसायको नियमनका लागि उद्योग विभाग, वाणिज्य विभाग, बैंक वित्तीय संस्थाका लागि नेपाल राष्ट्र बैंकलगायतका नियामकीय संस्थाहरु छन् । एउटा नियामकमाथि अर्को थप्नु भनेको यसले काम गर्ने वातावरण खराब हुँदै जान्छ”, मल्लले भन्नुभयो । सबै क्षेत्रमा नियमन गर्ने अधिकारसम्पन्न संस्था रहेकाले अख्तियारको क्षेत्राधिकारभित्र निजी क्षेत्र पर्न नहुने उहाँको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भष्ट्राचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक चैत २८ मा राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा गइसकेका छन् । यी विधेयकले बैंक, वित्तीय संस्था, मेडिकललगायतका संस्थाहरुलाई पनि सार्वजनिक संस्थाका रुपमा परिभाषित गरेर अख्तियारको कार्यक्षेत्रभित्र राखिएको छ । विधेयकले सार्वजनिक संस्थाका रुपमा ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको वा प्रचलित कानुनबमोजिम स्थापित आयोग, समिति, संस्थान प्राधिकरण, निगम, कम्पनी, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद्, बैंक मेडिकल कलेज र सोसम्बद्ध अस्पताल वा यस्तो प्रकृतिको अन्य कुनै सङ्गठित संस्था’ भनी परिभाषित गरेको छ ।

प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश

मोरङ – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले आज यहाँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य शरण राईले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै संविधानको मर्मअनुसार मुलुकको विकास र समृद्धिका निमित्त हामी सबै समावेशिताका साथ आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन सबैले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिँदै आयोगले यस कार्यमा थप सशक्त बनाउन केन्द्रित रहेको प्रतिवेदनबाट स्पष्ट भएको विचार राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले भन्नुभयो, “नेपाल बहुजातजाति, बहुधार्मिक, बहुसंस्कृति र भौगोलिक विविधता भएको मुलुक हो, संविधानले समानुपातिक, समावेशितालाई जोड दिएको छ ।”आयोगका सदस्य राईले प्रतिवेदन पेस गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति, र परम्परागत पेसालाई संरक्षण सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेट उल्लेख गर्न आग्रह गर्नुभयो ।

दक्षिण एसियाली राष्ट्रमा पनि अन्तरव्यवस्थापिका सङ्घ बनाउन खोजेका छौँ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ – रुसको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूकोे अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीबीच भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले कमनवेल्थ राष्ट्रमा जस्तै दक्षिण एसियाली मुलुकका व्यवस्थापिका संसद्हरूको अन्तरव्यवस्थापिका सङ्घ बनाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले यस्तो सङ्घ बनाउन दक्षिण एसियाली राष्ट्रहरूको सहयोग सङ्गठन (सार्क) क्रियाशील बन्न नसक्दा कठिनाइ भइरहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद् दक्षिण पूर्वी एसियाली मुलुकहरूको अन्तरव्यवस्थापिका सङ्घ (आइकाओ)को पर्यवेक्षक सदस्य बनेको चर्चा गर्दै कमनवेल्थ राष्ट्रको अन्तरव्यवस्थापिका सभामा पनि पर्यवेक्षक सदस्य बनेर काम गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले यस्ता अन्तरव्यवस्थापिका सङ्घमा आबद्ध हुँदा ती देशका व्यवस्थापिका सञ्चालनसम्बन्धी अनुभव आदानप्रदान हुने तथा त्यसले सङ्घमा आबद्ध देशहरूका बीचमा आपसी सहकार्यलाई समेत बढाउने विश्वास व्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा भौगोलिकरूपमा सानो भए पनि देश जातीय, भाषिक, सांस्कृतिक मात्रै नभई जैविक विविधता भएको देश भएको बताउँदै कमनवेल्थमा आबद्ध देशहरूका पर्यटकहरूलाई नेपाल स्वागत गर्न आतुर रहेको पनि उल्लेख गर्नुभयो ।

सो भेटमा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूकोे अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीले अन्तरव्यवस्थापिका सभाको काम अत्यन्त प्रभावकारी भएको चर्चा गर्दै आतङ्कवादको विरुद्ध तथा युवा सशक्तीकरण र पर्यटनको विकासका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी गराउनुभएको थियो ।

अध्यक्ष तिमिल्सिनासँग आजै सेन्ट पिर्टसबर्ग सिटीको व्यस्थापकीय सभाका अध्यक्ष अलेक्जेन्डर ब्लेस्कीले पनि शिष्टचार भेट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

विपद् जोखिमको सूचना प्रत्येक व्यक्तिसम्म पुग्ने संयन्त्र प्रभावकारी बनाऔँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रको विकास गर्नपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ‘विपद् जोखिम व्यवस्थापन : नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक कार्यशालामा उहाँले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन सूचना प्रणालीलाई थप सुदृढ गर्दै बहुप्रकोपीय पूर्वसूचना प्रणालीको विकास गरी जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।” गृहमन्त्री श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले पुनः निर्माण र पुनःस्थापनामा प्राधिकरणसँगै सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले आगलागीका घटनामा अग्नि नियन्त्रण र वारुणयन्त्र व्यवस्थापनको कार्यमा स्थानीय तहलाई थप सहयोग गर्ने संयन्त्र निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रित नगरी दीर्घकालीन व्यवस्थापनमा जोड दिन सुझावसमेत दिनुभयो ।

कार्यशालामा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनका लागि प्रदेश र सङ्घबीच समन्वय गर्न महानगर तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको विपद् व्यवस्थापनसम्बन्धी अनुसूची ९ ले व्यवस्था गरेअनुसार सङ्घ र प्रदेशसँग सहकार्यमा राष्ट्रियस्तरको ड्रिलको व्यवस्थापन गर्न ललितपुर महानगर तयार छ ।”

कार्यशालामा नेपालका लागि चीनका राजदूत छन् सोङ्ले विपद् व्यवस्थापनका लागि चीनले गरेको अभ्यासबारे चर्चा गर्दै नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “चीनमा विपद् व्यवस्थापनका लागि निकै राम्रा अभ्यासहरू भइरहेका छन । हामीले विपद् जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी पर्याप्त मात्रामा गरेका छौँ । अर्कातर्फ यससम्बन्धी जनचेतना अभिवृद्धि र विपद्को समयमा तत्काल उद्धार व्यवस्थापनका लागि तदारुकता बनाउन सोही अनुरुपको लगानीसमेत गरिन्छ”, उहाँले भन्नुभयो, “नेपाललाई आवश्यकताअनुसार विपद् व्यवस्थापनका लागि उपकरण र अन्य सहयोग उपलब्ध गराउन चीन सरकार प्रतिबद्ध छ ।”

प्रा डा विशालनाथ उप्रेतीले भूकम्पको जोखिमबारे सचेत गराउँदै पूर्वतयारीका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । “नेपालका पश्चिसँगै पूर्वी र हिमाली क्षेत्र भूकम्पको उच्च जोखिममा छन्, जुनसुकै बेला पनि आठ म्याग्निच्युडको भूकम्प जान सक्छ । अहिलेदेखि नै पूर्वतयारीमा जुटिहाल्ने बाहेकको विकल्प नहुनसक्छ ।”

गृह मन्त्रालय, ललितपुर महानगरपालिका र राजनीतिशास्त्र अध्ययन सङ्घसँगको सहकार्यमा संयुक्तरूपमा आयोजित कार्यशालामा सरकारी, गैरसरकारी सङ्घसंस्था, विज्ञ, स्थानीय तह र सुरक्षा निकायको सहभागिता रहेको थियो ।

कार्यशालामा विपद्सम्बन्धी नीतिगत तथा कानूनी प्रावधान, यसको कार्यान्वयन र तीनै तहले गरिरहेको अभ्यासका विषयमा छलफल भएको थियो । विपद् तथा जलवायु परिवर्तनको असरका दृष्टिले नेपाल उच्च जोखिमयुक्त मुलुक मानिन्छ । नेपालमा भौगर्भिक अवस्थिति, मनसुन, जलवायु एवं वातावरणीय परिवर्तनलगायतका कारण वार्षिक औसत तीन हजारभन्दा बढी विपद्का घटना घट्ने गरेको विज्ञहरू बताउँछन् ।

तनहुँ–१ उपनिर्वाचन : रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै

काठमाडौं – तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार ५ः३० बजेसम्म ३७ हजार आठ सय ४१ मतगणना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार दुई सय ४९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार दुई सय ७९ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले छ हजार एक सय ५२ मत ल्याएका छन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ । ४२ वटामध्ये हालसम्म २६ वडाको मतगणना सकिएको छ ।

तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा स्वर्णिम वाग्लेले कटाए ९ हजार भोट

काठमाडौं – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् ।१६ हजार ३ सय ४२ मत गन्दा कांग्रेसका गोविन्द भट्टराई भन्दा धेरै मतले अगाडि छन् ।

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु गरिएको थियो । यो समाचार तयार पार्दासम्म वाग्लेले ९ हजार १ सय ९८ मत मत प्राप्त गरेका छन् ।यस्तैनेपाली कांग्रेसका भट्टराईले ३ हजार ८ सय ३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।

इरानबाट दैनिक एक करोड लिटर डिजेल तस्करी हुने गरेको तेहरानको दावी

तेहरान – इरानका उपमन्त्री जलिल सलारीले प्रतिस्पर्धात्मक मूल्यका कारण इरानबाट दैनिक औसत एक करोड लिटर डिजेल तस्करी हुने गरेको बताउनुभएको छ ।

इरानको ‘नेशनल इरानी आयल रिफाइनिङ एण्ड डिस्ट्रिब्युसन कम्पनी’का प्रबन्ध निर्देशकसमेत रहेका सलारीले इरानको आधिकारिक समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा उक्त कुराको जानकारी गराउनुभएको हो ।

इरानमा एक लिटर डिजेलको मूल्य आसपासका देशको तुलनामा करिब ०.८ अमेरिकी डलर कम रहेकोले इरान र उसका छिमेकी मुलुकबीच डिजेलको मूल्यमा आएको भिन्नताले तस्करीलाई आकर्षण गरेको उहाँले बताउनुभयो ।

सलारीका अनुसार देशको यातायात क्षेत्रमा डिजेलको दैनिक खपत अहिले आठ करोड ४० लाख लिटर रहेको छ भने “डिजेल को तस्करी रोक्नको लागि, इरानले व्यक्तिगत ईन्धन कार्डको प्रयोगलाई बढावा दिएको छ र मौद्रिक लेनदेनमा अधिक नियन्त्रण प्रयोग गर्न र शङ्कास्पद लेनदेनको पहिचान गर्न स्मार्ट प्रणालीलाई अपग्रेड गरेको छ ।

विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डारमा रहेको इरानले आफ्ना १० प्रशोधन केन्द्रबाट दैनिक २२ लाख ब्यारेलभन्दा बढी कच्चा तेल र ‘कन्डेन्सेट’ प्रशोधन गर्दै आएको छ । देशको दैनिक डिजेल र पेट्रोलको उत्पादन क्रमशः ११ करोडदेखि ११ करोड ५० लाख लिटरसम्म पुगेको सलारीले बताउनुभयो ।

इरानी सरकारले इन्धनको प्रयोगमा अनुदान दिन्छ । यसले गर्दा इरानीहरूले इन्धन तस्करीलाई आकर्षक व्यवसाय बनाउँने गरेका छन् । पछिल्लो केही महिनायता इरानी नौसैनिक बलले तस्करीको इन्धन बोक्ने ठूलो सङ्ख्यामा जहाजहरू जफत गरेको छ ।

गत निर्वाचनमा जनमोर्चा अध्यक्ष केसीको खर्च १८ लाख १४ हजार

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् । केसीले आफूले निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । उनले बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएको हो ।

बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित केसीको सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय संचालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च भएको छ ।

यस्तै उनले  प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको बिवरण आयोगलाई बुझाएका हुन् । यस्तै सामाजिक संजाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्च भएको छ ।

कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक

कर्णाली – कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो ।

गत पुस २८ गते कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका शर्माको नेतृत्वमा भएका उपलब्धिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । मूलतः मन्त्रिपरिषद्को आठ बैठकबाट २७ निर्णय गरेको प्रदेश सरकारले गत वर्षको तुलनामा यस वर्षको दोस्रो चौमासिकसम्मको अवधिमा वित्तीय र भौतिक प्रगतिमा वृद्धि भएको उल्लेख गरेको छ ।

विसं २०७९ चैत मसान्तसम्म प्रदेश सरकारको कूल विनियोजित बजेटमध्ये चालुतर्फ ९२ दशमलव ९६ र पुँजीगततर्फ २२ दशमलव १२ प्रतिशत गरी जम्मा २६ दशमलव ४७ प्रतिशत प्रगति भएको सार्वजनिक उपलब्धिमा देखाइएको छ । कर्णाली प्रदेशमा प्रतिवर्ष दश हजार रोजगारी सिर्जना गर्ने सम्बन्धमा अध्ययन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा बनेको कार्यदलबाट प्रतिवेदन प्राप्त भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

यसलाई कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई निर्देशित गरिनेछ”, प्रवक्ता जिसीले भन्नुभयो, “यस सम्बन्धमा तत्काल कर्णाली प्रदेशका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलनको कार्यका निम्ति सफ्टवयेर प्रणाली स्थापना गर्ने कार्य प्रारम्भ भएको छ”, उहाँका अनुसार प्रदेश सरकार स्थापना भएदेखि आर्थिक वर्ष २०७७÷०७८ सम्मको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा कायम भएको बेरुजु रकम कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्नुका साथै बेरुजु अद्यावधिक गरिएको छ ।

यसैगरी, आर्थिक वर्ष ०८०÷०८१ का लागि स्थानीय तहमा हस्तान्तरण गरिने वित्तिय समानीकरण अनुदान र सवारी साधन कर (राजस्व बाँडफाँट)को अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराइएको छ । त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट तर्जुमा समिति गठन गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया अघि बढाइएको कुरा सार्वजनिक उपलब्धिमा उल्लेख गरिएको छ ।

प्रदेश निजामती सेवाको गठन तथा सञ्चालनसम्बन्धी विधेयकको मस्यौदा तयारगरी सहमतिका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लोक सेवा आयोगको पठाइएको छ । मुगु र रुकुमपश्चिममा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको साइट कार्यालय स्थापना, प्रदेश अस्पतालको तला थप, कृषि विकास कार्यालय रुकुमको भवन तथा ऐरेनी सिँचाइ आयोजना गरी तीनवटा बहुवर्षीय आयोजना स्वीकृत गरिएको छ ।

सामूहिक विपद् जोखिम दुर्घटना बीमा कार्यविधि, २०७९ पारित भई कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र अन्य प्रदेशमा स्थायी बसोबास भई कर्णाली प्रदेशभित्रका सरकारी तथा गैरसरकारी क्षेत्रको सेवामा कार्यरत १७ लाख ५० हजार नेपाली नागरिकको प्राकृतिक विपद्का कारणबाट हुने मानवीय क्षतिको सामूहिक विपद् दुर्घटना बीमा गरिएको प्रवक्ता जिसीले जनाउनुभयो ।

मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारको एकसय दिनमा मुगुको रारा, रुकुमको खारा, कालीकोटको पिलि, पचालझरना र त्रिवेणी पाटनको पर्यापर्यटकीय पूर्वाधार विकासको लागि बहुवर्षीय आयोजना स्वीकृत भई कार्यान्वयन भइरहेको छ । त्यस्तै, दुईवटा टुर एण्ड ट्राभल एजेन्सी, दुईवटा साहसिक पर्यटन र बाह्रवटा गाइड प्रमाणीकरणलगायतका ५५बुँदे उपलब्धि सार्वजनिक गरिएको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । नाबालिका माथी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेको मुद्धाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो । 

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले उनको मुद्धालाई आज पेशीमा राखेको हो । गएको हप्ता दुवै सरकारी साक्षीको बकपत्र भएपछि आजका लागि पेशी तोकिएको थियो ।

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – सोमबार अमेरिकी डलरको भाउ स्थीर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर १४४ रुपैयाँ एक पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा र अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रुपैयाँ २३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ ।
 

तनहुँ १ उपनिर्वाचन : आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा वाग्लेको अग्रता कायमै

दमौली – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ ।

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले अग्रता कायमै राख्नुभएको हो । हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले० का सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गर्नुभएको छ ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गर्नुभएको छ ।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गर्नुभएको छ । भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गर्नुभएको छ ।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र नएमालेका खनालले दुई सय ७० मत प्राप्त गर्नुभएको छ । भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गर्नुभएको छ ।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ र एमालेका खनालले तीन सय २९ मत प्राप्त गर्नुभएको छ । भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय ५९, कांग्रेसका भट्टराईले चार सय ८२ र एमालेका खनालले तीन सय ९४ मत प्राप्त गर्नुभएको छ ।

आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १५, कांग्रेसका भट्टराईले चार सय एक र एमालेका खनालले एक सय १९ मत प्राप्त गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।

यस्तो छ आजको मौसम, कहाँ कहाँ पानी पर्छ ?

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ । रातिको समयमा पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।

स्टक एक्सचेन्ज तीन र कमोडिटी एक्सचेन्ज चारका लागि निवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आह्वान गरेको नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि सातओटा आवेदन परेको छ । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले दिएको जानकारीअनुसार स्टक एक्सचेन्जका लागि तीन र कमोडिटी एक्सचेन्जका लागि चार कम्पनीले आवेदन दिएका छन् ।

आवेदन दिने म्याद आइतवारसम्म थियो । देवकोटाका अनुसार स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले आवेदन पेश गरेका छन्।

कमोडिटी एक्सचेन्जको लागि नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेडको आवेदन परेको देवकोटाले जानकारी दिए ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धी बनाउन भन्दै बोर्डले एक नयाँ स्टक एक्सचेन्ज, दुई कमोडिटी एक्सचेन्ज र रीतपूर्वक आवेदन दिने ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण गर्न लागेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

अख्तियारको अधिकार सङ्कुचन गर्न लबिङ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयकले निजी क्षेत्रमा तरङ्ग ल्याएको छ। त्यस्तो भएमा आयोगको कार्यबोझ बढ्दा प्रभावकारिता घट्ने लबिङ थालिएको छ।

खासगरी लिमिटेड कम्पनीमा प्रत्यक्ष र परोक्ष रूपमा संलग्न व्यक्ति र संस्थाका तर्फबाट त्यस्तो लबिङ सुरु भएको हो। त्यसैलाई आधार माने निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाले त्यस्तो प्रावधान हटाउन सरकार, राजनीतिक दल, नेताहरू र सांसदहरूलाई औपचारिक र अनौपचारिक दबाब दिन थालेका छन्।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा निजी क्षेत्रका सङ्घसंस्थाले प्रधानमन्त्री र राजनीतिक दलका नेतासँग भेटेर अख्तियारको अधिकार क्षेत्रबाट निजी क्षेत्र हटाउन माग गरिरहेका छन्।

राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएकोमा प्रतिनिधि सभामा आइतबारसम्म संशोधनको प्रस्ताव राख्ने समय थियो। लिमिटेड व्यक्ति वा संस्थाको दबाबलाई नै सहयोग पुग्ने गरी संशोधन पनि परेका छन्।

व्यवसायीकै मागअनुसार प्रमुख राजनीतिक दलका संशोधन विधेयकमा दर्ता भएको संसद् सचिवालयले जनाएको छ। विधेयकमा दर्ता भएका २४ संशोधनमध्ये अधिकांश अधिकार क्षेत्र सङ्कुचनको पक्षमा छन्। अन्य नियामक कानुनको क्षेत्राधिकार नभए मात्र अख्तियारलाई अधिकार दिने प्रस्ताव अधिकांश संशोधनमा छन्।

नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलका सांसदहरूले सम्बन्धित क्षेत्रको नियमन गर्ने कानुन भएको अवस्थामा त्यस्ता निकायमा अख्तियार प्रवेश नगराउने गरी संशोधन दर्ता गरेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

काठमाडौं – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु गरिएको थियो । यो समाचार तयार पार्दासम्म रास्वपाका डा वाग्लेले अग्रता लिएका छन्। वाग्लेले पाँच हजार ९ सय मत प्राप्त गरेका छन् ।यस्तैनेपाली कांग्रेसका गोविन्द भट्टराईले२ हजार ६ सय ८७ र नेकपा ९एमाले०का सर्वेन्द्र खनालले एक हजार ६ सय ५७ मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।

लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ – सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन् । सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्छ भने ।

“विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२÷०६३ मा नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो यसको रक्षाका लागि सबै लाग्नुपर्छ”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले विज्ञप्तिमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले लोकतन्त्र दिवसको अवसरमा वीर योद्धाको साहस, सङ्कल्प र बलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण सबैले गर्नुपर्ने बताए ।

सरकार २ अर्ब घाटामा : तलब र पेन्सन खुवाउनै धौधौ

सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले केही दिनअघि एउटा फेसबुक स्टाटस लेखे, सरकार संकटमा परेछ कि, फागुनदेखि पेन्सन पठाएको छैन । डा. कोइरालाको स्टाटसपछि केहीले सामाजिक सुरक्षा भत्ता रोकिएको कतिपय कर्मचारीको तलबभत्ता रोकिएको लगायतका विभिन्न प्रतिक्रिया आएका छन्। सामाजिक सज्जालमा आएका प्रतिक्रियाले मात्रै होइन तथ्यांकले पनि देशको अर्थतन्त्र अप्ठ्यारोमा परेको तर्फ संकेत गरेको छ।

तथ्यांकले सरकारको आम्दानीभन्दा खर्च धेरै रहेको छ। आइतबारसम्म सरकारले ७ खर्ब ३६ अर्ब ४ करोड २८ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने ९ खर्च ५५ अर्ब २५ करोड ७४ लाख रुपियाँ भएको छ । यस अर्थमा सरकारलाई भन्डै २ खर्ब रुपियाँ घाटामा देखिएको छ। जसका कारण सरकारलाई तलब र पेन्सन खुवाउनै धौधौ परेको हो ।

सरकारको राजस्व संकलनभन्दा चालू खर्च बढी हुँदा साधारण खर्च धान्न नै सरकारलाई कठिन हुने देखिन्छ । विगतदेखि नै पुँजीगत खर्च न्यून रहँदै आएको स्थितिमा चालू आर्थिकमा सरकारलाई अन्य खर्च धान्न नै गाह्रो भइरहेको अवस्थामा पुँजीगत खर्च वृद्धि इन कठिन छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

चितवन २ उपनिर्वाचनः सर्वदलीय बैठक ८ बजे बस्दै

चितवन – चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे सर्बदलीय बैठक बस्दै छ ।

गएराति मतपेटीका मतगणनास्थलमा आइसके पछि सर्वदलीय बैठक बस्ने भनिएको थियो । आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । उहाँद्वारा जारी सूचनामा आज बिहान ८ बजे उम्मेदवार वा उम्मेदवारको दुई प्रतिनिधिलाई बैठकमा बोलाइएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरुले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन् । बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्रपार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताउनुभएको छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।

आज लोकतन्त्र दिवस : देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ – १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

बारा २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै

बारा – बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ ।

गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । “आज बिहान ७ बजे सर्वदलीय बैठक राखिएको छ”, उहाँले भन्नुभयो, “सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थाल्नुभएको छ, बैठकलगत्तै मतगणना सुरु गर्छाैं ।” सम्भवत बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने हाम्रो तयारी छ उहाँको भनाइ छ । मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो ।

महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा वाग्लेको अग्रता

दमौली – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिनुभएको छ ।

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिनुभएको हो । हालसम्म छ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले पाँच हजार १९ मत प्राप्त गर्नुभएको छ । आँबुखैरेनी–१, आँबुखैरेनी–२, भानु–१०, भानु–८, भानु–३, भानु–७ को नौ हजार दुई सय ५७ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार तीन सय ५१ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले एक हजार पाँच सय ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गर्नुभएको छ । आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका डा वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गर्नुभएको छ । भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत प्राप्त गर्नुभएको छ ।

भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गर्नुभएको छ । भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत प्राप्त गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

काठमाडौँमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौँ – राजधानी काठमाडौँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ । रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्री–मनसुन पनि सक्रिय भएको छ, साथै, पश्चिमी वायुको प्रभाव पनि रहेको छ । भोलि दिउँसो पनि देशभर बदली रही पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अतिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको छ ।

नरभक्षी बाघ नियन्त्रण गरी जावलाखेलमा ल्याइयो

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आज साँझ सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको छ ।निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा आज साँझ ५ः३० बजे उक्त बाघलाई सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको चिडियाखाना प्रशासनले जनाएको छ । उद्धार गरी सदर चिडियाखानामा ल्याइपुर्याएको सो बाघलाई बाघ खोरको होल्डिङ कोठामा राखिएको छ ।

यही वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा बिहान करिब १० बजेको समयमा स्थानीय छ÷सात महिला घाँस काटिरहेको समयमा ४२ वर्षिया गंगादेवी चन्दलाई उक्त बाघले एक्कासि आक्रमण गरेको थियो ।

अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भएका थिए ।

सो दिनको उद्धार कार्यका क्रममा राति अबेर ११ः३० बजेसम्म चले पनि रातको समय र सिमसार क्षेत्रको दलदले जमिनमा उद्धार गर्नुपर्ने कठिनाइका कारण सम्भव हुन नसके पनि पुनः वैशाख ९ गते बिहान ६ बजे चार वटा हात्तीसहित उद्धार कार्य पुनः सुचारु गरिएको थियो । उक्त दिनको खोजी कार्यमा बिहान ७ः५५ बजे शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र प्राविधिक तथा कोषका प्राविधिकसहितको टोलीले डार्ट गरी बाघलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

साथै बाघको आक्रमणमा परी ज्यान गुमाउनुभएकी चन्दको मृत शरीर समेत पहिचान गरी पोष्टमार्टमका लागि सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको थियो । उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई जना (एक जना नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ । यहाँको तराई क्षेत्रमा अवस्थित लालझाडी मोहना, बसन्ता र ब्रह्मदेव जैविक मार्ग क्षेत्रमा समेत निरन्तररूपमा बाघको विचरण र सीमापार समेत आवगमन हुने गरेको छ । नेपाल र भारत दुवै देशमा फैलिएको तराई भूपरिधि क्षेत्रमा बाघको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएअनुरूप मानव–बाघबीच द्वन्द्वका घटनाहरूमा समेत वृद्धि हुँदै गएको पाइएको छ ।

नेपाल सरकारले सन् २०१० मा अन्तर्राष्ट्रिय मञ्चमा सन् २०२२ भित्र बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष लिएबमोजिम नै सन् २००९ मा १२१ वटा वयस्क बाघ नेपालमा रहेको अनुमान गरिएकोमा हाल सो सङ्ख्या ३५५ पुगेको छ ।

मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिँदै

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गर्नुभएको छ । त्यसका लागि आइतबार प्रदेशसभामा पुगेर शर्माले विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराइसक्नुभएको छ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराउनुभएको छ ।

शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसक्नुभएको छ । २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएकामा आभार व्यक्त

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिनुभएको छ ।

उपनिर्वाचन सम्पन्न भएपछि आज उहाँले विज्ञप्तिमार्फत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २ मा उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको उल्लेख गर्दै मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताउनुभएको छ ।

“यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु । निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा सम्बन्धित क्षेत्रका सम्पूर्ण मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु”, विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले उपनिर्वाचन भएका तीनवटै क्षेत्रहरूमा शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिनुभएको छ । निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति समेत उहाँले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार, स्वदेश फर्कने अझै टुंगो छैन

काठमाडौँ – भारतको नयाँदिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उहाँको स्वास्थ्य उपचार बुधबारदेखि पाँचौँ दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको थियो ।

नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक बुधबार

काठमाडौँ – नेपाल र संयुक्त अधिराज्य बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को छैटौँ बैठक यही वैशाख १३ गते (२६ अप्रिल, २०२३) मा लण्डनमा हुने भएको छ ।

बैठकमा विकास साझेदारी र जलवायु सहयोग, व्यापार तथा लगानी, शिक्षा, पर्यटन र दुई देशका जनताबीचको सम्बन्ध, ब्रिटिश गोर्खालगायत नेपाल–बेलायत संलग्नताका विविध क्षेत्रको समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुहुनेछ भने प्रतिनिधिमण्डलमा नेपाल सरकारका वरिष्ठ अधिकारीसमेत रहनुहुनेछ । यो वर्ष नेपाल र बेलायतबीचको मैत्रीसन्धिको शताब्दी पूरा भएको छ । भ्रमणका दौरान परराष्ट्र सचिव पौड्याल अन्य औपचारिक भेटघाट तथा कार्यक्रममा पनि संलग्न हुनुहुने मन्त्रालयले जनाएको छ ।

‘वानीरा पुरस्कार’ वैरागी काइँलालाई

काठमाडौँ – साहित्यकार बैरागी काइँलालाई नगद रु एक लाख राशिको ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिएको छ ।नेपाली भाषासहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।

त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पु¥याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई रु ५० हजार राशिसहित वानीरा पुरस्कार प्रदान गरियो । भीमबहादुर बोटेलाई पनि रु २५ हजार नगदसहित वानीरा सेवा पुरस्कार प्रदान गरिएको छ ।

सबै पुरस्कार आज आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले प्रदान गर्नुभयो । साहित्यकार काइँलाले विशेषगरी तेस्रो आयामको प्रवर्द्धनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान पु¥याउनुभएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा वानीरा गिरीको सम्झनामा पुरस्कार स्थापना गरिएको हो । उहाँ नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुनुहुन्छ । कोरोनाका कारण गिरीको विसं २०७८ जेठ ९ गते निधन भएको थियो । गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहु, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार आदिबाट सम्मानित हुनुभएको थियो ।

सो अवसरमा पुरस्कृत काइँला र पराजुलीले भगवती बस्नेतद्वारा सम्पादित ‘वानीरा अभिलेख’ को लोकार्पण गर्नुभएको थियो । पुरस्कृतद्वय काइँला र पराजुलीले मुलुकको सबैखाले भाषा तथा साहित्य संरक्षणका लागि सबै सर्जक जुट्नुपर्ने खाँचो औँल्याउनुभयो । पुरस्कारले साहित्य सिर्जनाको यात्रालाई थप ऊर्जा थपेको उहाँहरूको भनाइ थियो ।

फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईं र सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले संस्थाले साहित्य सिर्जना र प्रवर्द्धनका लागि संस्थाले खेलको भूमिकाबारे उल्लेख गर्नुभएको थियो ।

लामो समयदेखि बन्द रहेको किमाथाङ्का नाका सञ्चालनमा ल्याइने

किमाथाङ्का – सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोला सीमा किमाथाङ्कानाका चाँडै सञ्चालन ल्याइने भएको छ । आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोलाको किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

किमाथाङ्कानाका सञ्चालनमा ल्याउन परराष्ट्रमन्त्री साउदले प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्खुवासभाका प्रदेशसभा (१) का प्रदेश सदस्य राजेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार परराष्ट्रमन्त्री साउदले ध्यानाकर्षण पत्र बुझ्दै किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकता दिने बताउनुभएको हो ।

आइतबार मन्त्रालयमा सङ्खुवासभा जिल्लाका प्रतिनिधिसभा सदस्य दीपक खड्का, प्रदेशसभा सदस्य कार्कीलगायत जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिले चीन सरकारसँग नाका खोल्न पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।

परराष्ट्रमन्त्री साउदले नाका सञ्चालन पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रदेशसभा सदस्य कार्कीले बताउनुभयो । किमाथाङ्का नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले यसलाई प्राथमिकतामा राख्ने परराष्ट्रमन्त्री साउदले बताउनुभएको थियो ।

कोरोना महामारीका कारण तीन वर्षदेखि उक्त नाका बन्द रहेको छ । किमाथाङ्का नाका खुलाउन यसअघि प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको थियो ।

उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा

भरतपुर – चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । उनले तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको बताए ।

यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ । आचार्यका अनुसार आजै सम्पूर्ण मतपेटिका मतगणनास्थलमा ल्याइने र सकेसम्म मतगणना सुरु गरिने जानकारी दिए । सर्वदलीय बैठकपछि मात्र मतगणनाको समय तय हुने उनको भनाइ छ ।

दोस्रो विश्वयुद्धको जहाज ८० वर्षपछि फेला

वाशिङ्टन – दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

सन् १९४२ मा पपुवा न्युगिनीमा ८५० जना युद्धबन्दी र करिब २०० नागरिक बोकेको जापानी जहाज मोन्टेभिडियो मारुको भग्नावशेषमा जापानीले पपुवा न्युगिनीमा कब्जा गरेका थिए। जहाजमा को को थिए भन्ने थाहा नभएपछि जहाजलाई पानीमै डुबाइएको थियो ।

जहाजको भग्नावशेष यसै साताको शुरुमा फिलिपिन्सको दक्षिणी चीन सागरमा भेटिएको थियो । यो मिसन अष्ट्रेलियाको रक्षा मन्त्रालय, अष्ट्रेलियाको साइलेन्टवर्ल्ड फाउन्डेसनका समुद्री पुरातत्वविद् र डच गहिरो समुद्री सर्वेक्षण कम्पनी फुग्रोका विज्ञको संयुक्त प्रयासमा अघि बढाइएको थियो ।

त्यसपछि यसै महिनाको शुरुमा फिलिपिन्सको तटमा खोजी अभियान शुरु गरिएको थियो ।अष्ट्रेलियाको रक्षा मन्त्रालयको सहयोगमा समुद्री पुरातत्व र इतिहास तथा फुग्रोलाई समर्पित साइलेन्टवर्ल्ड फाउन्डेशनले सँगै राखेको मिसनमा भग्नावशेष पत्ता लगाइएको थियो ।

मोन्टेभिडियो मारुबाट कुनै वस्तु वा मानव अवशेष नहटाइने बताइएको छ । नयाँ खोजमा प्रतिक्रिया दिँदै अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले ट्वीटमा उल्लेख गर्नुभएको छ – “८० वर्षभन्दा बढी समयदेखि, सयौँ अष्ट्रेलियाली परिवारले मोन्टेभिडियो मारुको समाचारको लागि पर्खिरहेका छन् । यो हप्ता एक असाधारण खोज प्रयासको लागि सम्बद्ध सबैलाई धन्यवाद, जहाजको अन्तिम विश्राम स्थान पत्ता लगाइएको छ ।”

कोशी प्रदेश : महालेखापरीक्षकको प्रतिवेदन पेश

मोरङ – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखापरीक्षकको कार्यालयद्वारा पाँचौँ वार्षिक प्रतिवेदन (कोशी प्रदेश) पेश गरिएको छ ।प्रदेश प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच नायब महालेखापरीक्षक पद्मप्रसाद आचार्यले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै राष्ट्र हित, देशको आर्थिक स्थिति मजबुद पार्न र आर्थिक अनुशासन कायम गर्न प्रतिवेदनले दिएका सुझाव उपयोगी रहेको बताउनुभयो । उहाँले सबै मिलेर महालेखापरीक्षकले दिएको सुझाव कार्यान्वयनलाई सम्बन्धित ठाउँले ध्यान दिन जरुरी छ भन्दै प्रदेश कार्यालयका तर्फबाट पनि सुझाव लागू गर्न अग्रसरता कायम रहने धारणा राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले कार्यालयले बेरुजु घटाउन दिएको सातबुँदे सुझाव कार्यान्वयन गरेमा मितव्ययी कायम भई जथाभावी हुने खर्च घट्ने धारणा राख्नुभयो ।नायव महालेखापरीक्षक आचार्यले प्रतिवेदनमा उल्लेख गरिएकोे सुझावअन्तर्गत नीति तथा कानूनी व्यवस्था, आयोजना तथा कार्यक्रम व्यवस्थापन, बजेट व्यवस्थापन, खरिद व्यवस्था सार्वजनिक स्रोत र सम्पत्ति संरक्षण, भौतिक पूर्वाधार विकास र वित्तीय प्रशासन तथा आर्थिक अनुशासन कार्यान्वयन गरेमा बेरुजु घट्ने धारणा राख्नुभयो ।

प्रदेशसभा, प्रदेश मन्त्रालय, संवैधानिक अङ्ग, प्रदेश कार्यालय, समिति तथा अन्य संस्थासमेत दुई सय चार निकायमध्ये यो वर्ष बेरुजु रु एक अर्ब ६४ करोड ६३ लाख १२ देखिएको प्रतिवेदनमा उल्लेख छ । सोमध्ये असुल गर्नुपर्ने रु ३३ करोड ८३ लाख ९७ हजार, नियमित गर्नुपर्ने रु एक अर्ब १८ करोड ८१ लाख ४५ हजार र पेस्की रु ११ करोड ९७ लाख ७० हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेशमा बेरुजु तीन दशमलव ३६ प्रतिशत रहेको छ भने अद्यावधिक बेरुजु रु चार अर्ब ९६ करोड ३३ लाख ९४ हजार रहेको छ । प्रदेशमा सबैभन्दा बढी बेरुजु देखिएका मन्त्रालयहरूमा सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रु ४९ करोड ६२ लाख ७० हजार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय रु ४६ करोड चार लाख १८ हजार, कषि मन्त्रालय रु २२ करोड ८३ लाख ४९ हजार, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय रु नौ करोड ११ लाख १८ हजार र स्वास्थ्य मन्त्रालय रु छ करोड ७३ लाख ५९ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

परराष्ट्रमन्त्री एन.पी. साउदको हातबाट संचारकर्मी सुमन सापकोटा सम्मानित

काठमाडौं । तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप नेपालले तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड( २०७९ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारकर्मीहरु सुमन सापकोटा, हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई ‘गीत–संगीत कला पत्रकारिता सम्मान–२०७९’ बाट सम्मान गरेका हुन् । उनीहरूलाई दोसल्ला, माला र सम्मानपत्र प्रदान गरियो ।

लामो समयदेखि निष्ठा र समर्पणभावका साथ मनोरञ्जन पत्रकारितामार्फत सञ्चार क्षेत्रबाट देशको भाषा संस्कृति कलाको उत्थान तथा समाज तथा आमपाठकसमक्ष समर्पित रहँदै आएको भन्दै उनीहरुलाई सम्मान गरिएको आयोजक विमेन्स एरा मिडिया ग्रुप नेपालले जनाएको छ ।

तनहुँमा उपनिर्वाचन : ५२ प्रतिशत मत खस्यो

तनहुँ – तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि आइतबार भएको उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि सुरु भएको मतदान दिउँसो सवा ५ बजेसम्म भएको हो ।

मतदानका लागि ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्रमा एकै साथ मतदान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एक हजार तीन सय ६८ जना कर्मचारी परिचालन गरिएको थियो ।

मतदान केन्द्रहरूमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त अवस्थाका मतदाताका लागि सहज व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । तनहुँ निर्वाचन क्षेत्र नं १ मा ५ वडा पालिकाका ४२ वटा वडामा मतदान हुनेछ । उक्त क्षेत्रमा महिलातर्फ ६३ हजार सात सय ६५ र पुरुषतर्फ ५९ हजार पाँच सय ४० गरी कूल एक लाख २३ हजार तीन सय पाँचजना मतदाताले मतदान छन् ।

अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृह मन्त्रालयको परिपत्र

काठमाडौँ – अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ ।

पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो ।

समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्न चाहनेले नियमानुसार स्वीकृति लिनुपर्ने उल्लेख छ । स्वीकृति लिएर प्रकाशन भए÷नभएको स्थानीयरूपमा निरीक्षण तथा अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था समितिको दिग्दर्शनमा रहेको परिपत्रमा उल्लेख छ ।

सरकारले बिदा स्वीकृत गर्नुपूर्व नै स्वीकृति नलिई गलत मुहूर्त र चाडपर्व राखी प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो बजारमा छ्याप्छ्याप्ती रहेकाले निरीक्षण एवं अनुगमन गरी सचेत गराउन र आगामी वर्षदेखि यस्ता काम कारबाही नियन्त्रण गर्न÷गराउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पत्राचारबमोजिम सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरिएको उपसचिव शर्माले राससलाई जानकारी दिनुभयो । गृह मन्त्रालयको परिपत्रपछि अनधिकृतरूपमा प्रकाशन भइरहेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोका कारण चाड, पर्व, तिथि, मितिका बारेमा हुने समस्या समाधान हुने विश्वास लिएको समितिले जनाएको छ ।

पाल्पामा बस दुर्घटना : एक महिलाको मृत्यु, ३८ घाइते

रामपुर (पाल्पा) – पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका–५ जोरधारामा भएको यात्रुवाहक बस दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

बुटवलबाट बाग्लुङको बुर्तिवाङतर्फ जाँदै गरेको लु१ख ५९५६ नंको बस आइतबार बिहान सवा ९ बजे दुर्घटना भएको हो । चालकसहित ३८ जना घाइते भएका छन् । घाइते ३८ जनाको उद्धार गरी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।

चालक अर्घाखाँचीका ४० वर्षीय तुल्सीराम पाण्डेसहित सबैको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ । बस राजमार्गभन्दा करिब एक सय मिटर तल भिरमा खसेर अड्किएको अवस्थामा छ । बायाँतर्फबाट आएको बस दायाँतर्फ भिरमा खसेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवन- २ मा ६२ प्रतिशत मत खस्यो, वैशाख १३ गतेसम्म नतिजा आउने

चितवन – चितवन निर्वाचन क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो ।

मतदान सकिएसँगै अहिले मतपेटिका मतगणनास्थलतर्फ ल्याउने क्रम जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एकजना तेस्रोलिङ्गी रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले मतगणनास्थल उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा ल्याउने प्रक्रिया सुरु भएको छ । आज राति १० बजेसम्म मतपेटिका आइपुग्ने उहाँले जानकारी दिनुभयो । मतपेटिका आएसँगै राजनीतिक दलहरूको सहमतिमा आज रातिदेखि नै मतगणना सुरु गर्ने तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बताउनुभयो । चार स्थानमा गणना गर्न मिल्ने गरी व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । वैशाख १३ गतेसम्म नतिजा आउने गरी गणनाको काम गरिने उहाँको भनाइ छ ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सांसद पद बदर गरेपछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ६७ दशमलव ६३ प्रतिशत अर्थात् ८४ हजार १७ मत खसेको थियो । सो समयमा एक लाख २४ हजार दुई सय १७ मतदाता रहेका थिए ।