`

बागमती प्रदेशसभा : दुई विधेयक पारित

बागमती – बागमती प्रदेशबाट दुई विधेयक बहुमतले पारित भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज साँझ बसेको बैठकले पारित गरेको हो ।

ती दुवै विधेयकको सैद्धान्तिक पक्षमा मात्रै छलफल भएको थियो । आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा छलफलमा उठेका प्रश्नको उत्तर दिँदैै चिठ्ठाको व्यवस्थापन सम्बन्धमा व्यक्तिको सट्टा संस्थालाई चिठ्ठा सञ्चालन गर्न अनुमतिपत्र दिन उपयुक्त हुने सदस्यहरुको सुझावलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा समाजमा विकृति र असामाजिक गतिविधिलाई नियन्त्रणमा ल्याउन आवश्यक भएअनुसार सरकारले विभिन्न विशेषज्ञसँग विचारविमर्श गरी ऐनको तर्जुमा गरिएकाले कुनै राजनीति दलको स्वार्थको लागि उक्त विधेयक नल्याइएको स्पष्ट पार्नुभयो । उक्त बैठकमा चिठ्ठाको नियन्त्रण तथा व्यवस्थापन विधेयकमाथि रामेश्वर श्रेष्ठ, केशव पौडेललगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ लाई विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक विचार गरियोस् भनेर सदनमा पेश गर्नुएको थियो ।

सोही बैठकमा प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावलीको नियम ११० को उपनियम १ लाई प्रस्तुत विधेयकको सम्बन्धमा निलम्बन गरियोस् भनि प्रस्ताव पेश गर्नुभयो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभयो ।

राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । असी वर्षको उमेरमा पनि उहाँ राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुनहुनेछ ।

राष्ट्रप्रमुखका रूपमा आफूले शपथ लिएर सुरु गरेका सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर दिन राष्ट्रपति बाइडेनले मतदातासमक्ष पुनः अनुरोध गर्नुभएको छ । ह्वाइट हाउसमा पुनः उहाँ पुगेमा कार्यकालको अन्त्यतिर उहाँको उमेर ८६ वर्ष हुनेछ ।

आधा शताब्दीभन्दा बढी समय राजनीतिमा लाग्नुभएका उहाँको वासिङ्टन अनुभव उमेरभन्दा महत्वपूर्ण हुने विश्लेषकहरूले बताएका छन् । उहाँ जत्तिकै अनुभवी प्रतिस्पर्धी नभएकाले उहाँको दलले पनि उहाँको उम्मेदवारीलाई अनुमोदन गर्नेछ । बन्दुक हिंसा अन्त्यदेखि सुरक्षित गर्भपतनको अधिकारसम्मका विविध मुद्दाका कारण विभाजित अमेरिकी समाजलाई एकताको सूत्रमा आबद्ध गर्न उहाँले कठोर सङ्घर्ष गर्नुपर्नेछ ।

ट्रम्प प्रशासनले तहसनहस पारेको अमेरिकालाई पुनः लयमा फर्काउने वाचा गरेको चार वर्षपछि राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । अधिकभन्दा अधिक अमेरिकी नागरिकको स्वतन्त्रताका निम्ति आफ्नो उम्मेदवारी अपरिहार्य भएको उहाँले बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलको नियमावली संशोधन गरिने

काठमाडौँ – सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय जतिसक्दो चाँडो टुङ्ग्याउने, कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय पनि गरेको छ ।

मन्त्री ज्वालाले भन्नुभयो, “आजको क्याबिनेटमा काठमाडौँ–तराई मधेस फाष्ट ट्रयाकको सन्दर्भमा जग्गा प्राप्तिको विषयमा केही दिन अगाडि गठन गरिएको उच्चस्तरीय समितिले काम अगाडि बढाएको छ र छिट्टै जग्गा प्राप्तिको काम अगाडि बढाउने निर्णय भएको छ ।”

बागमती प्रदेशसभा बैठक : राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण

बागमती – बागमती प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्नुहुने प्रदेशसभा सदस्यले आगामी आवको बजेट तर्जुमा गर्दा जनमुखी एवं जनताप्रति उत्तरदायित्व बोध हुनेखालको निर्माण गरिनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

बैठकमा सत्तापक्षका सदस्यले काठमाडौँमा सोमबार राति भएको फ्याई दुबई उडानको क्रममा भएको आकस्मिक घटनामा सबै यात्रु सकुशल भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँहरूले प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरे आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन र उडान गर्नुभन्दा अगाडि पूर्ण प्राविधिक जाँच गरेर मात्र उडान अनुमति दिनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी, उहाँहरूले सिन्धुपाल्चोकको केही भागमा बर्सातको समयमा बाढीपहिरोको प्रभावबाट जोगाउन आवश्यक तटबन्धन निर्माण गर्ने र पीडित परिवारलाई सरकारले अब पुनःबासको व्यवस्था गर्न र बस्ती जोगाउन दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा प्रदेशको १३ वटै जिल्लामा अहिले मौसमी खेतीपातीको लागि किसानलाई सुलभ तरिकाले मल उपलब्ध गराउनुपर्ने र किसानले उत्पादन गरेको बीउबिजन, हरियो तरकारी र फलफूललाई शीतभण्डारको व्यवस्था गरी पायक पर्ने बजारसम्म पु¥याउने व्यवस्था गर्न पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

यसैगरी, प्रतिपक्षमा सांसदले प्रदेशको विभिन्न संवेदनशील वन्यजन्तु आरक्षमा डडेलोको प्रभावबाट वन्यजन्तु र पशुपन्छीलाई परेको क्षतिप्रति सरकारले गम्भीर भएर सम्बन्धित सरोकारसँग समन्वय गरेर प्रदेशको १३ वटै जिल्लामा स्थानीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्यहरूले कृषकलाई खेतीपाती गर्ने समय अघि नै प्रदेश सरकारको कृषि मन्त्रालयले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरेर खाद्यान्नलगायत अन्य तरकारी बाली लगाउनुअघि नै आवश्यक पर्ने मल खाद्य र विषादी औषधिको जगेडा राख्न पनि सरकारले कार्यतालिका बनाएर स्थानीय निकायलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

प्रदेशको १३ वटै जिल्लामा अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई व्यवस्थितरुपमा बसोबास गराउन र सम्बन्धित भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराई जग्गा धनी पुर्जा वितरण गर्नेतर्फ प्रदेश सरकारले आफ्नो कार्य सम्पादनलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्न आग्रह गर्नुभयो ।

स्वदेशी लगानी मै विद्युतीय स्कुटर, मोटरसाइकल निर्माण गरी उपभोक्तालाई सुलभ मुख्यमा वितरण गर्दै गरेको तर, सङ्घीय सरकारले उक्त उद्योगलाई राज्यको कानुनबमोजिम दर्ता गरी स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन गर्नेखालको कार्यक्रम ल्याउनपर्नेमा त्यसो नगरी हतोत्साही गरेकोमा मुलुकमा अब झन आर्थिक सङ्कट उत्पन्न हुने भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उक्त बैठकमा प्रदेशसभा सदस्यहरू क्रमशः रामकृष्ण चित्रकार, डा दिनेशचन्द्र देवकोटा, सरल सहयात्री पौडेल, उद्धव थापा, भरतबहादुर केसी, शैलेन्द्रमान बज्रचार्य, लक्ष्मण लम्साल, सुरजचन्द्र लामिछाने, युवराज चौलागाई, रमेशकुमार महतो, उर्मिला सुनुवार, श्रीराम लामिछाने, शान्त ढकाल, ठूला थामी र रत्नप्रसाद ढकालले आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।

सो बैठकमा आजै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ सभामा पेश गर्नुभयो । यसैगरी, आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्नुभयो ।

‘ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाइनेछ’

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणमा ढिलाइ भएका योजनामा सकेसम्म ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाएर काम सम्पन्न गराउन लागिने बताउनुभएको छ ।

आज मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार क्षेत्रमा कार्यरत पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले ठेक्का तोड्ने मात्रै महत्त्वपूर्ण काम नभएको बताउनुभएको हो । एउटा ठेक्का तोडिएपछि अर्काे ठेक्कामार्फत काम अघि बढाउन उत्तिकै झन्झटिलो हुँदा काम गरिरहेको कम्पनीमार्फत सम्पन्न गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो । भारतीय लगानीका योजनामा समस्या आएको कुरा आएकाले त्यसबारे छलफल भएको मन्त्री ज्वालाले बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म काम गराउने र नसके मात्रै तोडेर जान सकिन्छ ।”

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुटवल–नारायणगढ र मुग्लिन–पोखरा सडकको अनुगमन गरेको र त्यहाँको अवस्थाबारे स्थलगतरूपमा बुझेको मन्त्री ज्वालाले बताउनुभयो ।

केही समय पहिले नेपालमा उत्पादन भएका सवारीसाधन दर्तामा समस्या रहेको समाचार मिडियामा आएकाले तत्काल समाधानका लागि पहल गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसबारे थाहा पाएकै दिनमा यातायात विभागसँग छलफल शुरु गरेको थिएँ ।”

मन्त्रालयले देशभर रहेका सडकमध्ये कुनकुन कसको कार्य क्षेत्रमा पर्छन् भनी वर्गीकरण गर्न सुरु गरेको छ । मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाको नेतृत्वमा सडकको वर्गीकरण सुरु गरिएको मन्त्री ज्वालाले जानकारी दिनुभयो । अहिले सडक तीन तहका सरकारअन्तर्गत मात्रै नभएर सङ्घीय सरकारअन्तर्गत सडक फरक मन्त्रालयअन्तर्गत रहेका छन् । उहाँले भन्नुभयो, “अहिले कुन सडक कसको क्षेत्रमा पर्छ भन्ने स्पष्ट नहुँदा कतै सडक अलपत्र छन् भने कतै दोहोरो योजना परेको छ ।”

यातायातका क्षेत्रमा धेरै गुनासो रहेकाले सुधारका लागि विभिन्न पहल सुरु गरिएको मन्त्री ज्वालाले बताउनुभयो । चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन लागिएको र इम्बोस्ड नम्बर प्लेट नेपालीमा छापिने गरी तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले अहिले चालक अनुमतिपत्र नवीकरण पाँच÷पाँच वर्षमा भइरहेकामा कानून संशोधन गरेर १०÷१० वर्षमा गर्ने योजना अघि बढाएको छ ।

मन्त्रालयको ५४÷५५ अर्ब बजेट कटौती भए पनि भएको बजेटबाट सक्दो काम गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट कटौती हुँदा हाम्रो जाँगर, उत्साहमा असर गरे पनि भएको बजेटलाई प्राथमिकीकरण गरेर खर्च गरिनेछ ।”

मन्त्रालयका सचिव केशवकुमार शर्माले राष्ट्रिय गौरवका हुलाकी, मध्यपहाडीलगायत सडक योजनाको लक्षित समय बढाउनुपर्ने बताउनुभयो । वैशाखमा वा त्योभन्दा पहिले भएको कामको पनि असारमा भुक्तानी हुने गरेकाले मिडियाले काम नै वर्षाको समयमा भएको रूपमा बुझ्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “असारको हिलोमा काम गर्दा मिडियाले हामीलाई भन्नुपर्छ तर भुक्तानी गर्न मात्रै ढिलाइ हुँदा बुझ्नुपर्छ ।”

ठूला तथा मझौला उद्योगको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगको समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित उद्योग सङ्घ र सङ्गठनमा आवद्ध उद्योगी एवं व्यापारीसँगको छलफलमा उहाँले उद्योग सञ्चालनका क्रममा देखिने विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारको क्षेत्र अधिकारभित्र पर्ने कार्यलाई आवश्यक विधि विधान बनाउने तथा सङ्घीय सरकार समक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रमा गरिएको अघोषित लोडसेडिङको समस्या समाधान गर्न आजै सङ्घीय ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग कुरा गरेको तथा व्यापारीसँग आवश्यक छलफल एवं भेटघाटका लागि व्यवस्थापन गर्न पहल भएको जानकारी दिनुभयो ।

उद्यमीहरुले लिएको ऋणको ब्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग विचार विमर्श हुनुका साथै समस्या समाधानका लागि आग्रह गरेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले पुनः यस सम्बन्धमा उद्यमीको टोलीसँग अर्थमन्त्री र राष्ट्र बंैकका गभर्नरलाई छलफल गराउने विश्वास दिलाउनुभयो ।

उहाँले निजी क्षेत्र बलियो, सुदृढ र चिन्तामुक्त भए मात्र मुलुकको आर्थिक विकास एवं समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश नामकरणका सम्बन्धमा पहिचानवादीको विरोध प्रदर्शन हिंसात्मक एवं गालीगलौज र दुव्र्यवहार गर्ने विषयमा उद्योगी व्यापारी एवं विराटनगरवासीको स्पष्ट धारणा आउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले राखेको प्रदेशको नामका सम्बन्धमा गल्ती वा ठीक गरेको विषयमा जनतासमक्ष जानकारी दिन उहाँले आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्यमीले उद्योग बन्द गर्न चाहेमा त्यसको वातावरण मिलाइदिन अनुरोध गर्दै सरकारले निर्माणाधीन पूर्वाधारलाई चाँडै सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले विद्युत् प्राधिकरणले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्नुपर्ने वा लोडसेडिङको तालिका सार्वजनिक गर्न आग्रह गर्नुभयो । होटल सङ्घ कोशीका राजन श्रेष्ठले यस क्षेत्रमा पर्यटक आवागन वृद्धिका लागि विराटनगरबाट लुक्ला हवाई सेवा सञ्चलन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न

काठमाडौँ – नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ ।

आज काठमाडौँमा भएको बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल तथा भारतका तर्फबाट पेट्रोलियम तथा ग्यास मन्त्रालयका सहसचिव इसा श्रीवास्तवले नेतृत्व गर्नुभएको थियो ।

बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

यसैबीच, आपूर्तिमन्त्री रमेश रिजालसँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । भेटवार्तामा संयुक्त कार्यसमूहको बैठकमा छलफल भएका विषयका सम्बन्धमा कुराकानी भएको थियो ।

पुनः बढ्यो कोरोना, एक सय ३६ सङ्क्रमित थपिए

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन् । हिजो एक सय १३ जनामा सङ्क्रमण फेला परेको थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २७ जना, सघन उप कक्ष (आइसियु)मा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् ।

यस्तै आज ६४ जना कोरोना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।

शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सीमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो ।

एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

काठमाडौँ – नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिनुभयो । एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो ।

उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । उक्त अभियान यही वैशाख १० गते सकिएको छ । सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ ।

फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का

काठमाडौँ – नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

प्राधिकरणले प्रमाणबिना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का गरेको हो । प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार नयाँ निर्णय नभएसम्मका लागि उहाँहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “प्राधिकरणको आधिकारिक निष्कर्ष बीना सो वायुसेवाको अफिसियल पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘बर्ड स्ट्रिक’को कारणले गर्दा सो घटना भएको विवरण सार्वजनिक भएकोमा फ्लाई दुबई एयरलाइन्सको काठमाडौँस्थित कन्ट्री म्यानेजर विनोेद अब्रहम र एयरपोट म्यानेजर नर नारायण पकवानको विमानस्थल प्रवेश पास रोक्का गरिएको छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एक सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो ।

भ्रष्टाचार रोक्न समाजका सबै अवयव सक्रिय हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि सांसदले राख्नुभएको जिज्ञासामा उहाँले देशले गरेको प्रतिबद्धता र नयाँ शासकीयस्वरुपलाई दृष्टिगत त्यसलाई सम्बोधन गर्न नयाँ विधेयक ल्याइएको स्पष्ट गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “भ्रष्टाचार रोक्न कानुन मात्रै होइन, समाजका सबै अवयव सक्रिय हुनुपर्छ । कानुनका छिद्रलाई देखाएर भ्रष्टाचार गर्ने ठाउँ दिनुहुन्न । भ्रष्टाचार रोग भएकाले अन्त्य गर्न सबैले साझा प्रयास र सङ्कल्प गर्नुपर्छ ।”

नीतिगत भ्रष्टाचार रोक्न कानुन बनाउँदै विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउँदै उहाँले भ्रष्टाचार मानसिक रोग भएकाले निवारणका लागि सबैको सामूहिक प्रयत्न हुनुपर्छ भन्नुभयो । सदाचारीलाई समाजमा स्थापित गर्ने र भ्रष्टाचारीमाथि प्रश्न उठाउने वातावरण हुनुपर्छ भन्दै मन्त्री शर्माले पैसा कमाउनेलाई प्रतिष्ठित मान्ने र निष्ठाको राजनीति गर्नेलाई कमजोर ठान्ने प्रवृत्तिमा सुधार गर्न सके भ्रष्टाचार अन्य गर्न सकिने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्धता र सामूहिक अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । विसं २०७६ मा अघि बढेको सो विधेयक लामो समयपछि प्रतिनिधिसभामा आइपुगेको हो । जवाफका क्रममा उहाँले विधेयकमाथिको सैद्धान्तिक छलफलमा महत्वपूर्ण कुरा उठेको भए पनि दफावार छलफलमा त्यसलाई पूर्णता दिइने विश्वास दिलाउनुभयो ।

विधेयक स्वीकृत

बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ लाई बहुमतले स्वीकृत गरेको छ ।

यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा सभामुख देवराज घिमिरेले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले ७२ घन्टाभित्र विधेयक शाखामा गएर संशोधन प्रस्तुत गर्नसक्ने बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १३ गते अपराह्न ३ बजे बस्नेछ ।

लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ

लुम्बिनी – नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन ।

प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहनुभएकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधान धारा १६८ बमोजिम प्रदेश प्रमुखले प्रदेश सरकार गठनसम्बन्धी व्यवस्था छ ।

नेकपा (एमाले) संसदीय दलका नेता तथा मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई सोहीअनुसार आह्वान गर्न अनुरोध गरेको थियो ।

त्यसअघि एमाले संसदीय दलको बैठकले पनि धारा १६८ को उपधारा २ अनुरुपको सरकार निर्माण भएर विश्वासको मत गुमाएपछि स्वभाविकरुपमा उपधारा ३ अनुसार सरकार निर्माणका लागि आह्वान गर्नुपर्ने आफूहरुको दाबी रहेको एमाले प्रमुख सचेतक तुल्सी चौधरीले बताउनुभयो । विपक्षी आठ दलले धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले परामर्श थाल्नुभएको हो ।

प्रदेश कार्यालयका सचिव प्रह्लाद पोखरेलले प्रदेश प्रमुखबाट छिट्टै सरकार बनाउने गरी आह्वान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश प्रमुख कानुनी परामर्शमै हुनुहुन्छ सम्भवतः भोलिसम्ममा नयाँ सरकारका लागि आह्वान हुनसक्छ ।”

विदेश निर्यात हुने पानीको गुणस्तर पारित

काठमाडौँ – गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले पारित गरेको हो ।

विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ । परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागका प्रवक्ता ज्योती जोशी भट्टले जानकारी दिनुभयो ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ ।

विभागका महानिर्देशक दीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताउनुभयो । विभागको प्राविधिक परिषद्ले धेरै वस्तुको गुणस्तर पारित गरे पनि नेपाल गुणस्तर परिषद्को बैठक समयमा बस्न नसक्दा कतिपय गुणस्तर पारित हुनसकेका छैनन् ।

पानीको गुणस्तर मापदण्ड पारित भएसँगै अब मूलको पानीको विदेश निर्यात हुने र विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८÷७९ मा १५ गुणस्तर पारित गरेको थियो ।

चितवन २ मा रविको फराकिलो अग्रता कायमै

काठमाडौं – उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ३५ हजारभन्दा बढी मत अन्तरले अगाडि रहेका छन् ।

पाका लामिछानेले ४४,४८६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ८,२७५ मतसहित पछ्याइरहेका छन् ।

यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८,२१७ मतसहित तेस्रो स्थानमा छन् ।

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक बानेश्वरस्थित संसद भवनमा १० बजे बस्नेछ ।

सोमबारदेखि शुरु भएको बैठकमा बजेटको बिषयमा छलफल गहुने जनाइएको छ । पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाईएको एक नेताले जानकारी दिए । आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुदैँछ । 

अख्तियारको क्षेत्राधिकार बढाउने विधेयक तत्कालअघि नबढ्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक तत्काल अघि नबढ्ने भएको छ ।

प्रतिनिधिसभाको चालू अधिवेशन वैशाख १५ गते अन्त्य गरेर बजेट अधिवेशन बोलाउने तयारी गरिएपछि यो अधिवेशनमा उक्त विधेयक अघि नबढ्ने भएको हो ।

चालू अधिवेशन वैशाख १५ गते अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताबीच सोमवार सहमति भएको छ ।

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीका अनुसार अब यो अधिवेशनमा ती विधेयक प्रस्तुत हुने छैनन् । यसपछिको बजेट अधिवेशनमा अन्य विधेयकमा छलफल हुँदैन । त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजीक्षेत्रलाई राख्न कानूनी प्रबन्ध मिलाउने प्रक्रिया तत्काल रोकिनेछ ।

संसद् सचिवालय स्रोतका अनुसार सभामुख देवराज घिमिरे पनि तत्काल विवादित विधेयक अघि बढाउने पक्षमा छैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसी म्याग्दीको ग्रामीण क्षेत्रमा

म्याग्दी – वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उहाँले आइतबार र सोमबार हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गर्नुभएको हो । दुई दिनसम्म उहाँले एक सय २५ जनाको उपचार गर्नुभएको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो ।

आइतबार ५५ र सोमबार ७० बिरामीको उपचार गर्नुका साथै परामर्श सेवा दिनुभएको थियो । स्वास्थ्यचौकीका प्रमुख केसीसहित सिनियर अहेव विक्रम पुन, अनमी नीता पुन, सनम वुद्धुजा पुन, अहेव चौथो सङ्गीना मगरातीलगायतले डा केसीलाई सघाउनुभएको थियो ।

चिकित्सा शिक्षाका अभियान्ता डा केसीले गत हप्ता बागलुङको निसिखोला गाउँपालिकाको बोहोरागाउँ स्वास्थ्यचौकीमा तीन दिन उपचार गर्नुभएको थियो । बागलुङबाट कुनै खबरबिना भुरुङ्ग तातोपानी आउनुभएको हो । गाउँपालिका र स्वास्थ्यचौकीले औषधिको व्यवस्थापन गरेको थियो ।

“पूर्वजानकारीबिनै डा केसी स्वास्थ्यचौकीमा आउनुभएको थियो”, स्वास्थ्य चौकी प्रमुख केसीले भन्नुभयो, “हामी पनि अचम्ममा प¥यौँ ।” स्वास्थ्य चौकीले सामाजिक सञ्जाल, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र सङ¬्घसंस्थामार्फत सेवा लिनका लागि सर्वसाधारणलाई अनुरोध गरेको थियो ।

दाना, नारच्याङ, भुरुङ्ग तातोपानी, घार, शिख, पाउद्धार, पोखरेबगर, ठूलोबगरका सर्वसाधारण सेवा लिन आएका थिए । फुर्सदको समयमा ग्रामीण क्षेत्रका बिरामीको उपचारका लागि आएको डा केसीले बताउनुभयो । “ग्रामीण क्षेत्रमा हाडजोर्नी तथा नशारोगसम्बन्धी समस्या भएका धेरै बिरामी उपचारको पहुँच बाहिर छन्”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा गाउँमै पुगेर सेवा दिने उद्देश्यले म्याग्दी आएको हुँ ।”

फ्लाई दुबईको विमान दुर्घटना हुनबाट यसरी जोगियो

काठमाडौं – काठमाडौंको आकाशमा फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन विमानस्थलबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएपछि आकाशमै आगोको झिल्का देखिएको विमान दुर्घटना हुनबाट जोगिएको हो ।

विमानमा विस्फोटको आवाज आएपछि केही बेर धादिङको आकाशमै होल्ड भएर विमान गन्तव्यतर्फ लागेको हो। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडिबी ५७६ भएको विमान उडेको केही बेरमै समस्याग्रस्त बनेको भए पनि विमानमा कुनै क्षति भएन ।

असामान्य अवस्थाको विमानले आकाशमा केहीवेर फन्को लगाएको थियो । पाइलटले विमानलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

विमानलाई फोर्स ल्यान्ड गराउने तयारी भए पनि सुरक्षित रहेको जनाएपछि उडान अनुमति दिइएको थियो। उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको भए पनि आकस्मिक अवतरण भने गर्नुपरेन।

विमानमा आगो देखिएपछि केही समय काठमाडौं उपत्यकामा कोलाहल मच्चिएको थियो । प्राविधिक समस्या देखिएको सो विमानमा १२० विदेशी र ४९ जना नेपाली गरी १६९ जना यात्रु रहेका थिए । काठमाडौंको आकाशमा आगोको झिल्का देखिएपछि सबैतिर चासो बढेको थियो ।

काठमाडौं टावरका एटिसीलाई खबर दिएपछि ९ः२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०ः१ मा खोलिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार आगो नियन्त्रण गर्न विमानस्थलमा ५ वटा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । फ्लाई दुबईले उड्ने क्रममा चरासँग ठोक्किएर आगोको झिल्का देखिए पनि विमान सुरक्षित तवरले गन्तव्यतर्फ उडिरहेको जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

माउन्ट ग्लोरीका ३ प्रतिभा : डाक्टर गरिमा, गायिका सारा र फुटबलर आयुष जो चर्चामा छन्

काठमाडौँ । काठमाडौँको बसुन्धारामा अवस्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा सारा राई आफ्नो गायन कलाका कारण पछिल्ला दिनमा चर्चाको शिखरमा छिन् । द भ्वाइस किड्सको ब्लाइन्ड अडिसन पार गरेर लाइभ राउण्ड प्रवेश गरिसकेकी प्रतिभा हुन् सारा राई । उनी गायक तथा कोच सुशान्त केसीको टिममा छिन् ।

गायनमा निकै नै प्रतिभावान सारा स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रममा निकै अब्बल छात्रा हुन् । उनी आँफु यो स्थानसम्म आइपुग्नुमा आफ्नो स्कुल, व्यबस्थापन, स्कुलका प्रिन्सिपल गणेश श्रेष्ठ लगायतको टिम नै मुख्य कारक रहेको बताउँछिन् । त्यस्तै सारा आफ्नो स्कुलका संगीतका प्रशिक्षक तथा लोकप्रिय गायक संजीव पुडासैनीलाई पनि आफ्नो प्रगतीको मुख्य श्रेय मान्छिन् ।

८ वर्षदेखि म्यूजिक शिक्षक पुडासैनीसँग संगीत अध्ययन गर्दै आएकी साराले भ्वाइसको ब्लाइन्ड अडिसन पार गरेसँगै उनी अहिले थप चर्चामा छिन् । भन्छिन् स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रमको निरन्तरता र संगीत र नृत्य अध्ययन गर्न पाउने वातावरणका कारण नै आँफु आज यो स्थानमा आइपुगेको हुँ । आँफुले भ्वाइसको उपाधि जित्नेमा ढुक्क भएको बताउने सारा अहिले १३ वर्षकी भइन् । उनको गलामा रहेको कलाको अहिले सर्वत्र चर्चा भइरहेको छ ।

साराको स्कुल माउन्ट ग्लोरीले अध्ययन अध्यापनका अलावा अन्य विभिन्न किसिमका खेलकुदका गतिबिधिहरुलाई पनि प्राथमिकतामा राखेर अगाडी बढेकै कारण आयुष घलान जस्ता राष्ट्रिय स्तरका फुटबलर जन्माउन सफल भएको बिद्यायल व्यबस्थापक समेत रहेकी बिद्या श्रेष्ठ बताउँछिन् । सारालाई नजिकबाट नियालिरहेकी बिद्या भन्छिन् उनको प्रतिभाका कारण आज हामी सबै स्कुल परिवार र उनका साथीभाईअरु पनि खुशीले गदगद छौँ ।

स्कुलका सबैजसो शिक्षक र बिद्याथीहरुले उनको प्रशंसा गरेसँगै सारा भन्छिन् स्कुलले अध्ययनका अलावा पनि २१ ओँ शताब्दीमा बिद्यार्थीका लागि चाहिने खेलकुद, गायनसँगसँगै सबै कुराहरुको सहज व्यबस्थापन गरिदिएका कारण आज आँफुहरुले खुलेर प्रतिभा देखाउन सफल भयौँ ।

साराको स्कुल माउन्ट ग्लोरीले अध्ययन अध्यापनका अलावा अन्य विभिन्न किसिमका खेलकुदका गतिबिधिहरुलाई पनि प्राथमिकतामा राखेर अगाडी बढेकै कारण आयुष घलान जस्ता राष्ट्रिय स्तरका फुटबलर जन्माउन सफल भएको प्रिन्सिपल श्रेष्ठ बताउँछन् ।

आयुष अण्डर १८ को राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी हुन् । १९ वर्षका आयुष नेसलन टिममा लामो समयदेखि सहभागी छन् । उनको खेलको पनि बेला बेलामा चर्चा हुने गरेको छ । त्यस्तै माउन्ट ग्लोरीकै अर्को होनाहार प्रतिभा हुन् डाक्टर गरिमा श्रेष्ठ । जसले स्कुलको नामलाई नै थप उचाईमा पुर्याउने काम गरेकी छिन् । डाक्टर गरिमा श्रेष्ठ अस्पताल कम, विद्यालय र गाउँ क्षेत्रमा बढी देखिने डाक्टर हुन् ।

पोखराको मनिपाल टिचिङ हस्पिटलबाट एमबिबिएस पढेकी उनी बिरामी जाँच्नुभन्दा उनीहरूलाई स्वस्थ रहने ज्ञान दिने अभियानमा व्यस्त छिन्। प्रजनन् स्वास्थ्य, महिनावारी र त्यस समय ध्यान पुर्‍याउनुपर्ने आवश्यकता उनको अभियानको मुख्य विषय हो। ‘सी’ नामक संस्थामार्फत् उनले यो अभियान अघि बढाइरहेकी छिन्।

गरिमा संस्थामार्फत् महिनावारी अव्यवस्थित रहेका क्षेत्रमा ज्ञान र चेतना बाँड्छिन्। साथै ती क्षेत्रमा पुनः प्रयोग गर्न मिल्ने प्याड निःशुल्क वितरण गर्दै आएकी छिन्। सारा , आयुष र गरिमाजस्ता गायिका , फुटबलर, डाक्टरका साथै अन्य प्रतिभावान बिद्यार्थी जन्माएसँगै पछिल्ला दिनमा काठमाडौँको बसुन्धारामा अवस्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको पनि चर्चा सुरु भएको छ ।

प्रोफेसर समेत रहेका प्रिन्सिपल श्रेष्ठले बिद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको माग अनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्र्धती अनुसार स्कुल अघि बढेकै कारण आज अभिभावकहरुको नजरमा परेको प्रतिक्रिया दिए ।

हरेक वर्षको एसईईमा राम्रो नतिजा ल्याउँदै आएको स्कुलले अध्ययनसँगै प्रयोगात्मक अभ्यासहरुलाई पनि विशेष रुपमा प्रयोगमा ल्याउँदै आएको माउन्ट ग्लोरीमा अहिले कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका बिद्यार्थीका लागि भर्ना समेत खुलेको छ । जहाँ अनुभवी शिक्षक शिक्षीकाहरुबाट आफ्नै भवनमा शान्त वातावरणमा अध्यन गराइन्छ ।

सरकार २ अर्ब घाटामा : तलब र पेन्सन खुवाउनै धौधौ

सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले केही दिनअघि एउटा फेसबुक स्टाटस लेखे, सरकार संकटमा परेछ कि, फागुनदेखि पेन्सन पठाएको छैन । डा. कोइरालाको स्टाटसपछि केहीले सामाजिक सुरक्षा भत्ता रोकिएको कतिपय कर्मचारीको तलबभत्ता रोकिएको लगायतका विभिन्न प्रतिक्रिया आएका छन्। सामाजिक सज्जालमा आएका प्रतिक्रियाले मात्रै होइन तथ्यांकले पनि देशको अर्थतन्त्र अप्ठ्यारोमा परेको तर्फ संकेत गरेको छ।

तथ्यांकले सरकारको आम्दानीभन्दा खर्च धेरै रहेको छ। आइतबारसम्म सरकारले ७ खर्ब ३६ अर्ब ४ करोड २८ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने ९ खर्च ५५ अर्ब २५ करोड ७४ लाख रुपियाँ भएको छ । यस अर्थमा सरकारलाई भन्डै २ खर्ब रुपियाँ घाटामा देखिएको छ। जसका कारण सरकारलाई तलब र पेन्सन खुवाउनै धौधौ परेको हो ।

सरकारको राजस्व संकलनभन्दा चालू खर्च बढी हुँदा साधारण खर्च धान्न नै सरकारलाई कठिन हुने देखिन्छ । विगतदेखि नै पुँजीगत खर्च न्यून रहँदै आएको स्थितिमा चालू आर्थिकमा सरकारलाई अन्य खर्च धान्न नै गाह्रो भइरहेको अवस्थामा पुँजीगत खर्च वृद्धि इन कठिन छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

गोरखा भूकम्पको आज आठ वर्ष पूरा, अझै बनेन स्मृति उद्यान

गोरखा – गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो ।

भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण ग¥यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इञ्जीनियर पुरुषोत्तम पङ्गेनीले जानकारी दिनुभयो । सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी रहेको छ ।

“स्मृति स्तम्भ मण्डला निर्माणको काम पूरा भइसकेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक मण्डलामा चिप्स राख्ने, रङरोगन गर्नेलगायतका काम पनि सम्पन्न भएको छ ।” उहाँले पार्कस्थलमा पुग्ने चार सय मिटर सडक कालोपत्र गरिएको, पर्खाल, क्यानटिन पार्क, टिकट काउन्टर निर्माणको काम पनि सकिएको जानकारी दिनुभयो । उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ ।” त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थलसमेत निर्माण गरिएको इञ्जीनियर पङ्गेनीले जानकारी दिनुभयो ।

सरकारी स्वामित्वको झन्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । उद्यानमा रहने स्मृति स्तम्भ भने भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने इञ्जीनियर पङ्गेनीको भनाइ छ । “अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाहरूको नाम लेख्न बाँकी रहेको छ”, इञ्जीनियर पङ्गेनीले भन्नुभयो, “गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।” उद्यान निर्माणको जिम्मा स्वच्छन्द÷होम निर्माण जेभीले ठेक्का सम्झौता गरेको थियो ।

निर्धारित समयमा उद्यान निर्माणको काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीसँग आयोजनाले अहिलेसम्म पाँचपटक म्याद थप गरिसकेको उहाँले बताउनुभयो । पछिल्लोपटक थपिएको म्यादअनुसार अब ठेकेदार कम्पनीले यही असारसम्म उद्यान निर्माणको काम सम्पन्न गरिसक्नु पर्नेछ । उहाँले मन्त्रालयले भूकम्पका कारण मृत्यु भएकाहरूको नाम उपलब्ध गराएमा पछिल्लोपटक थपिएको समयभित्र भने ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सक्ने अवस्था रहेकोसमेत जानकारी दिनुभयो । ठेकेदार कम्पनीले कोरोना जोखिम, भौगोलिकलगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको दाबी गरेको उहाँले बताउनुभयो ।

उक्त उद्यान निर्माण सम्पन्न भएपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनुभयो । “बारपाक यसै पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा रूपमा लिइन्छ, उहाँले भन्नुभयो, “झनै भूकम्प स्मृति उद्यान निर्माण सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा झनै ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । निर्माणमा ढिलाइ हुँदा सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत रु १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको उहाँले जानकारी दिनुभयो ।

बारपाक सुलीकोटमा सार्वजनिक बिदा

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपलिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

बारपाक सुलीकोटको वडा नं १ र २ स्थित बारपाक केन्द्रबिन्दु भएर विस २०७२ वैशाख १२ गते आजकै दिन सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो । गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिनुभयो । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

कालिदमारमा ट्र्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

हेटौँडा – मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति मधेस प्रदेश०३–००१त ७१८८ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशसभा : अझै गठन भएनन् संसदीय समिति

लुम्बिनी – लुम्बिनी प्रदेशमा संसद् सुरु भएको चार महिनासम्म पनि संसदीय समिति बनेका छैनन् । संसदीय समितिका लागि दलहरूबाट नामावली माग गरेको भए पनि सबै दलले विवरण नबुझाउँदा समितिले पूर्णता नपाएको प्रदेशसभा सचिवालयका प्रवक्ता सम्झना सुवेदीले बताउनुभयो । “सबै दलबाट विवरण माग गरिएको छ, तर सबै दलले विवरण पठाउन सक्नुभएको छैन”, उहाँले भन्नुभयो, “त्यसले गर्दा पनि समितिहरूले पूर्णता पाउन सकेका छैनन् ।”

समितिले पूर्णता पाएमा संसद् अझ प्रभावकारी हुन्छ । संसद् र सरकार चुस्त तरिकाले चल्ने भए पनि अझै पनि संसदीय समिति बन्न नसकेको प्रवक्ता उहाँले बताउनुभयो । “कतिपय विधेयक समितिमा पठाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “तर समिति नबन्दा अहिले त्यसो हुनसकेको छैन ।”

समिति निर्माणको प्रक्रिया भने अघि बढिसकेको उहाँको भनाइ छ । प्रदेशको पहिलो अधिवेशन गत १८ पुसमा भएको थियो । प्रदेशसभाको गत तीन माघमा बसेको तेस्रो बैठकले सभामुख र उपसभामुख निर्वाचित गरेको थियो । सभामुखमा नेकपा (माओवादी केन्द्र)का तुलाराम घर्ती र उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी थारूलाई निर्वाचित गरिएको थियो । त्यस्तै गत ५ माघमा भएको चौथो बैठकबाट मुख्यमन्त्री लीला गिरीले माओवादी केन्द्रसहित ५७ प्रदेशसभा सदस्यको समर्थनमा विश्वासको मत पाउनुभएको थियो ।

सन्दर्भ विश्व औलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

काठमाडौँ -‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पछिल्लो समय औलोको जोखिम तराईमा मात्र होइन, पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ । यसमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिएका छन् ।”

उहाँका अनुसार आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यसबाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुला सिमाना र भौगोलिक विकटता औलो निवारणका चुनौती हुन् । उहाँले भन्नुभयो, “चुनौतीका बाबजुद यस वर्षदेखि लगातार तीन वर्ष स्थानीय औलोका बिरामीको सङ्ख्या शून्यमा झार्न लागिपरेका छौँ ।”

नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । शाखा प्रमुख डा दाहालका अनुसार सन् २०२२ मा औलोका पाँच सय १२ बिरामी भेटिएका थिए । तीमध्ये चार सय ७६ बिरामी अन्य देशबाट औलो सङ्क्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी रहेका थिए ।

सन् २०१५ सम्म हजारभन्दा माथि औलोबाट प्रभावित भएका थिए । सन् २०१६ मा औलोबाट तीन जनाको अकाल मृत्यु भएको थियो । सन् २०२१ सम्म एक जनाको मृत्यु भयो । औलोको धेरै बिरामी सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भेटिँदै आएको शाखाको तथ्याङ्कमा उल्लेख छ ।

चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन भन्नुहुन्छ, “औलो सामान्य र कडा लक्षणसहितका हुन सक्छन् । औलो सङ्क्रमण भएको सातदेखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ ।” उहाँका अनुसार सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उहाँको सुझाव छ ।

उहाँका अनुसार ‘फाल्सिफारम’ र ‘भाइभेक्स’ औलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ । उहाँका अनुसार औलोका कारण गम्भीर स्वास्थ्य समस्या र बिरामीको मृत्युको जोखिमसमेत हुन्छ । डा पुन भन्नुहुन्छ, “औलो सङ्क्रमितलाई जाडो, गर्मी र पसिना आउने तीन चरण देखिन्छ । औलो कडा हुँदै गएमा जन्डिस देखापर्छ, कलेजो सुनिन्ने, मिर्गौला र श्वासप्रश्वासमा समस्या देखिएर मृत्युसम्मको जोखिम हुन्छ ।” फाल्सिफारमका लागि औलोविरुद्ध औषधिको प्रयोगबाट औलोको उपचार गरिन्छ । गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ ।

चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछानेको फराकिलो अग्रता

चितवन – चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । हालसम्म आठ सय ७० मत बदर भएको छ । उहाँका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।

तनहुँ–१ : रास्वपाका डा वाग्ले विजयी

तनहुँ – तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले ३४ हजार नौ सय ११ मत प्राप्त गर्नुभएको छ ।

उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

आगो नियन्त्रणपछि दुबई उडानलाई निरन्तरता दिए पाइलटले

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गर्ने तयारी गरिएको फ्लाइ दुबईको विमान दुबईको उडानलाई निरन्तरता दिएको छ ।

जहाजको एउटा इन्जिनमा आगलागी भएपनि नियन्त्रण गर्न सकिएकोले पाइलटले दुबई उडानलाई निरन्तरता दिएका हुन् । एउटा इन्जिनमा आगलागी भएपछि धादिङमाथिको आकाशमा केहीबेर फन्को लगाएपछि आगो नियन्त्रण आएको र अहिले समस्या नभएकोले दुबईको उडानलाई निरन्तरता दिइएको बताइएको छ ।

आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको नागरिक उड्डयन प्राधिकरण सुत्रले जनाएको छ ।

काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी, आकस्मिक अवतरणको तयारीमा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको एउटा जहाजको इन्जिनमा आगलागी भएको छ ।

एउटा इन्जिनमा आगो लागेपछि उक्त विमानआकस्मिक अवतरणको तयारीमा नागरिक उड्डयन प्राधिकरण सुत्रले जनाएको छ ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि उक्त विमानको इन्जिनमा आगो लागेको जानकारी गराए । 
 

विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइयो १७औँ लोकतन्त्र दिवस

काठमाडौँ-विसं २०६३ वैशाख ११ गते नेपाली जनताले जनताबाट निर्वाचित संसद् प्राप्त गरेको १७ वर्ष पूरा भएको छ । यस अवसरमा आज लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ ।

यस अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले जनताको अधिकार कहिल्यै कुण्ठित नहोस् भनी बौद्ध स्तुपमा दीप प्रज्वलन गरेको छ । कार्यक्रममा मानव अधिकारकर्मी, नागरिक समाजका सदस्य एवं विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

यस अवसरमा स्कुल अफ डेमोक्रेसीले पनि राजधानीमा आज छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उल्लेख्यरूपमा युवावर्गको सहभागिता रहेको थियो । कार्यक्रममा युवाले पटकपटक परिवर्तनका लागि सङ्घर्ष सफल भए पनि त्यसको स्थायित्वमा चुक्ने गरेकामा खबरदारी गरेका छन् ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीनजनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । 

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । 

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो । 

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ । सोअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ । तर पछिल्लो समय यो दिनलाई बिर्सन लागिएको भन्दै चिन्तासमेत प्रकट हुन थालेको छ ।

–––

मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

भक्तपुर-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहीँ ५ गते नेपाल सरकार मन्त्रीपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आज नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको महासङ्घको टोलीले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालसँग भेट गरी विभिन्न छ बुँदे मागसहितको सुझाव कार्यान्वयन पत्र बुझ्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले विगतमा भएको व्यवस्थाअनुसार नै जग्गा कित्ताकाट गर्ने गरी व्यवस्था गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको महासङ्घका सचिव रामसुन्दर बकेँले जानकारी दिनुभयो । उहाँले मुख्य सचिवमार्फत भूमि सुधार मन्त्रालयका सचिवलाई सरकारको निर्णय कार्यान्वयन गर्न गराउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था सुधारका लागि घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक रहेको बताउँदै सरकारको निर्णयलाई राजपत्रमा प्रकाशित गरी तत्कालै कार्यान्वयनमा ल्याउने बताउनुभएको हो ।

महासङ्घका अध्यक्ष लोहनीले सुझाव पत्र बुझाउँदै घरजग्गा कारोबारबाट मात्र नेपाल सरकारले वार्षिक रु ८५ अर्ब राजस्व सङ्कलन गर्दै आएको र घरजग्गा व्यवसायीबाट मात्रै रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेकोमा कारोबार सुस्ताउँदा राजस्वमा गम्भीर असर परेको बताउनुभयो ।

प्रधानमन्त्री दाहाललाई महासङ्घले बुझाएको पत्रमा भूउपयोगसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाटलाई साविक बमोजिम खुलाउन सहजीकरण गर्नुपर्ने माग गरेको महासङ्घका सचिव बकेँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो मागप्रति प्रधानमन्त्री पूर्ण रुपमा सकारात्मक हुनुहुन्छ, त्यसैले मुख्य सचिवलाई बोलाएर मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न र विगतमा भएकै जस्तो गरी जग्गा कित्ताकाट गर्ने व्यवस्था गर्न निर्देशन दिनुभयो ।”

हाल अनाधिकृत रुपमा हुँदै आएको घरजग्गा कारोबारलाई रोक्दै चालू आव २०७९÷८० को बजेटमा उल्लेख भएअनुसार रियल ईस्टेट कम्पनीले मात्रै घरजग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री समक्ष महासङ्घले माग गरेको उहाँले बताउनुभयो ।

व्यावसायिक कम्पनीको अभिलेखीकरण गर्नुपर्ने, हरबन्दी छुटको व्यवस्था गर्दै नेपाल सरकारले विसं २०७८ मा जेठ ३ गते जारी गरेको हदबन्दी छुट दिनेसम्बन्धी आदेश परिमार्जन गर्न माग गरेको सचिव बकेँले बताउनुभयो ।

विसं २०७८ को जग्गा धितो बन्धक राख्न नपाउने व्यवस्था, हदबन्दी बढीको जग्गा तोकिएको समयावधि समाप्त भएपछि स्वतः नेपाल सरकारको नाममा आउनेजस्ता व्यवस्थाले घरजग्गा व्यवसाय मात्रै नभई बैंक तथा वित्तीय संस्थाको लगानी र सर्वसाधारणले घरजग्गा खरिदका लागि गरेको लगानी अनिश्चितता भएर गम्भीर अवस्था आएकाले त्यस्ता आदेश तत्काल संशोधन गर्न पनि माग गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै आव २०७९÷८० को बजेट बक्तव्यमा १०० भन्दा बढी युनिट रहने अपार्टमेण्ट विदेशीले खरिद गर्न पाउने नीतिलाई कानुनी व्यवस्था गरिदिनुपर्ने, आवास तथा जग्गा प्लानिङ पर्मिट प्राप्त रियल ईस्टेट कम्पनीलाई नेपाल सरकार, प्रदेश र स्थानीय सरकारसँगको सहकार्य एवं समन्वयमा घरजग्गा पुलिङमार्फत जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालन गर्न दिने व्यवस्था गरिदिन महासङ्घले माग गरेको छ ।

बृहत सहरी क्षेत्र विकास अर्थात मेघा सिटी, स्मार्ट सिटी, आधुनिक पूर्वाधार युक्त ठूला सहरी कोरिडोर र आधारभूत पूर्वाधारसहित नयाँ सहरी विकास एवं आधुनिक सहरी बसोबासको निर्माणमा निजी लगानी आकर्षित गरी व्यवस्थित शहरीकरण गर्न अनुमति प्राप्त रियल ईस्टेट कम्पनीलाई सहभागी गराइ सहकार्य गर्ने कानुुनी व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग गरिएको सचिव बकेँले जानकारी दिनुभयो ।
–––

अन्तरराष्ट्रिय डाटा सहकार्यका लागि राष्ट्रपति सी को आग्रह

बेइजिङ – चीनले विश्व विकास पहलको रूपरेखाभित्र अन्य देशहरूसँग अन्तरराष्ट्रिय तथ्याङ्क सहयोगलाई अझ प्रगाढ बनाउन इच्छुक रहेको राष्ट्रपति सी चिनफिङले बताउनु भएको छ ।पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा अप्रिल २४ देखि २७ गतेसम्म आयोजना हुने चौथो संयुक्त राष्ट्रसंघको विश्व डाटा फोरमलाई बधाइ सन्देश दिदै उहाँले उक्त टिप्पणी गर्नुभएको हो।

राष्ट्रपति सीले मानव समाजको समृद्धि र प्रगतिका लागि दिगो विकास अपरिहार्य भएको र बलियो, हरियाली र स्वस्थ विश्वव्यापी विकास हासिल गर्नु विश्वभरका मानिसहरूको साझा आकाङ्क्षा भएको बताउनुभएको छ ।चीनले दिगो विकासको सन् २०३० मुद्दालाई समर्थन र कार्यान्वयन गर्दै नवीन, समन्वयात्मक, हरित, खुला र साझा विकासको नयाँ दर्शनलाई पालना गर्ने उल्लेख गर्नु भएको छ ।

उहाँले चीनले डिजिटल पूर्वाधारमा निरन्तर सुधार गर्दै, तथ्याङ्क र तथ्याङ्कीय क्षमता निर्माणलाई सुदृढ गर्दै दिगो विकास लक्ष्यहरूको अनुगमन गर्ने अभ्यास र अनुभवलाई सक्रिय रूपमा बाँडिरहेको बताउनुभयो।चीनले “तथ्याङ्क सुशासन” मार्फत सन् २०३० को दिगो विकास एजेन्डाको कार्यान्वयनलाई प्रवर्द्धन गर्नका लागि अन्य देशहरूसँग मिलेर काम गर्ने, डाटा क्षेत्रमा खुला अन्तरराष्ट्रिय सहयोग निर्माण गर्दै सबै देशको साझा विकास र प्रगतिलाई बढावा दिने उहाँको धारणा छ।

मुख्यमन्त्री शर्माद्वारा कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर अनुगमन

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली हाई अल्टिच्युड टेनिङ सेन्टर जुम्लाको अनुगमन गर्नुभएको छ । उहाँले जुम्लाको पातारासी गाउँपालिका–३ छुमगाउँको लौठचौरस्थित निर्माण भइरहेको ट्रेनिङ सेन्टर, विश्वको सर्वाधिक उचाइमा काली मार्सी धान फल्ने स्थान छुमचौर ज्युलोको अनुगमन गर्नुभएको हो ।

युरोपसम्मका खेलाडीहरु भित्र्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको उक्त टे«निङ सेन्टर खेल पर्यटनका हिसाबले निकै सम्भावना रहेकाले यसको विकासमा जोड दिइने मुख्यमन्त्री शर्माले बताउनुभयो । “प्राकृतिक सुन्दरता, उच्च स्थानमा कालीमार्सी धान फल्ने र शिरका रुपमा ठडिएको पातारासी हिमाल पर्यटकीय उच्च सम्भावना बोकेका ठाउँहरु हुन्”, उहाँले भन्नुभयो, “यी ठाउँको विकास र प्रवर्द्धनले यहाँका नागरिकहरुको सामाजिक, सांस्कृतिक र आर्थिक विकास हुनाका साथै कर्णाली प्रदेश सरकारको अर्थतन्त्रमा सहयोग पुग्ने देखिन्छ ।” निर्माणाधीन ट्रेनिङ सेन्टरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) रु ४० करोडको रहेको छ ।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले ट्रेनिङ सेन्टरको काम धिमा गतिमा अगाडि बढेको बताउनुभयो । सो कार्यालयका प्राविधिक प्रेमबहादुर शाहीका अनुसार प्रदेश सरकारको आव २०७६/७७/७८ गरी रु एक करोड २३ लाख र सङ्घ सरकारअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को चालु आवमा रु ५० लाख लगानी भएको छ । उहाँले डिपिआरमा तोकिएको बजेटअनुसार मात्र चार प्रतिशत प्रगति भएको जनाउनुभयो ।

प्रदेश सरकारको गौरवको योजना मानिएको सो टे«निङ सेन्टर निर्माण कार्य भइरहे पनि प्रदेश सरकारअन्तर्गत जुम्ला सदरमुकाम खलङ्गामा निर्माण सुरु गरिएको रु एक करोड २५ लाखको प्यारापिटको निर्माण कार्य भने अलपत्र परेको छ । आर्थिक वर्ष २०७६/७७/७८ सालसम्म बजेट हाले पनि त्यसपछि प्रदेश सरकारबाट बजेट नआउँदा प्यारापिटको काम रु ४५ लाख बजेट बराबरको मात्र काम भएको छ ।

सो परियोजनाको काम अधुरो बनेको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । कर्णाली हाई अल्टिच्युड टे«निङ सेन्टर र जुम्ला खलङ्गाको प्यारापिट निर्माण कार्य दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्नुपूर्व सम्पन्न गरिसक्नुपर्ने भलिबल प्रशिक्षक बरमबहादुर महतले बताउनुभयो ।

त्यसैगरी, मुख्यमन्त्री शर्माले जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित राजीकोटमा रहेको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी)को पनि अनुगमन गर्नुभएको छ । उच्च पर्वतीय क्षेत्रको पशु, चरन तथा घाँसेबाली, बाली, बागवानी, माछा, जडीबुटी र औषधिजन्य वनस्पतिको उत्पादन र उत्पादकत्व बढाई सो क्षेत्रमा बसोबास गर्ने जनसमुदायको जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्ने लक्ष्यका स्थापना भएको प्रतिष्ठानको समेत उहाँले अनुगमन गर्नुभएको थियो ।
थियो ।

राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण

काठमाडौँ – भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको आज थप स्वास्थ्य परीक्षण गरिएको छ ।

उपचारमा संलग्न सम्बन्धित चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उहाँको स्वास्थ्य उपचार बुधबारदेखि छैटौँ दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको थियो ।

सुडानमा रहेका नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

काठमाडौँ – नेपाल सरकारले यही वैशाख २ (१५ अप्रिल २०२३) गतेदेखि सुडानमा विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको जनाएको छ ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासद्वारा सुडानमा रहेका नेपाली, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा कार्यरत नेपाली पदाधिकारी, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी निकायहरूसँग निरन्तर सम्पर्कमा रही विवरण अद्यावधिक गर्ने कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूतावास, कायरोले राजदूतावाससँग सम्पर्कमा रहेका १९ जना नेपालीको सूची तयार गरेको र सूचीकृत सबैजना हालसम्म सुरक्षित रहेको जनाएको छ । तीबाहेक तीनजना नेपाली शान्ति सैनिक हिजो (१० गते) अफ्रिकी मुलुक चाडतर्फ गएको, खार्तुमस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायमा कार्यरत सातजना नेपाली सोही दिन खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र त्यहाँबाट हवाई सेवामार्फत युगान्डा जाने तयारी रहेको बुझिएको छ ।

हालको असहज र जटिल सुरक्षा अवस्थामा नेपाल सरकारले सुडानमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँड्डुल नगर्न आग्रह गरेको छ । मन्त्रालयले आपत्कालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास (दीपक घिमिरे, द्वितीय सचिव, मोबाइल÷वाट्स्याप २०१०९७७७२३४८ र २०१०२९६०६६६२, email: [email protected] मा सम्पर्क गर्न आग्रह गरेको छ ।

उपेन्द्र यादवको अग्रता कायमै

काठमाडौं – बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ६०० मतान्तरसहित अग्रता कायम गरेका छन् । यादवले २७७० मत ल्याएका छन् ।

जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ मत ल्याएका छन् ।

अठार दिनपछि उठ्यो सिंहदरबारको फोहोर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले १८ दिनपछि आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवासको फोहोर व्यवस्थापन सुरु गरेको छ । गत शुक्रबार सर्वोच्च अदालले तीन दिनभित्र सबै फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगरलाई आदेश जारी गरेको थियो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमाधि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तीन दिनभित्र फोहोरको व्यवस्थापन गर्न कामपाका नाममा आदेश जारी गरेको थियो । जनताकै हितका लागि काम गर्दा केन्द्र सरकारले आफूलाई पटकपटक असहयोग गरेको आरोप लगाउँदै गत चैत २५ गते कामपाको प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत मुख्य प्रशासनिक निकाय सिंहदरबार लगायतको फोहोर नउठाउने बताउनुभयो ।

गत चैत २५ देखि नै यी तीनै स्थानको फोहोर व्यवस्थापन हुन सकेको थिएन । अदालको आदेशकै आधारमा कामपाले आजदेखि उक्त स्थानहरुको फोहोर व्यवस्थापनको काम थालेको हो । १८ दिनदेखिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न कम्तीमा चार दिन लाग्ने कामपाले जनाएको छ ।

अहिले मुख्य प्रशासनिक निकाय सिंहदरबारमा ७० टन, राष्ट्रपति कार्यालयमा ३५ र बालुवाटारमा १५ टन फोहोर जम्मा भएको कामपाको अनुमान छ । कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार केन्द्र सरकारले स्थानीय सरकारलाई सहयोग नगरेकाले कामपाले यस्तो कदम चाल्नुपरेको बताउनुभयो । लम्सालका अनुसार आजदेखि फोहोर व्यवस्थापनको काम सुरु भएको छ । कम्तीमा चार दिनभित्र तीनैवटै स्थानको सबै फोहोरको अन्तिम विसर्जन हुन्छ ।

गत मङ्सिरमा थापाथलीस्थित बागमती किनाराका सुकुम्बासी बस्ती हटाउने काम होस् या गत चैत २४ गते तीनकुनेदेखि सिनामङ्गलसम्मको सुकुम्बासी बस्तीमा डोजर चलाउनका लागि पनि केन्द्र सरकारको सहयोग नरहेको गुनासो कामपाको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले उक्त स्थानमा फोहोर ओसार्छन् ।

अन्तिम फोहर व्यवस्थापन स्थान बञ्चरेडाँडामा दैनिक एक हजारदेखि एक हजार दुई सय मेट्रिक टनसम्म फोहोर जाने गरेको छ । उपत्यकाको १८ पालिकाको फोहोर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

बुटवलमा राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन सञ्चारमन्त्रीसँग आग्रह

बुटवल – बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेटेर बुटवलमा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ ।

बुटवल–१२ मा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको काम अगाडि बढाउनका लागि बुटवल उपमहानगरपालिकाका तर्फबाट सबै प्रक्रिया पूरा भइसकेको बताउँदै उहाँले आवश्यक सहजीकरणका लागि मन्त्री शर्मासँग आग्रह गर्नुभयो । उहाँले सञ्चार मन्त्रालयबाट स्थानीय सरकारलाई सूचना र सञ्चारका क्षेत्रमा सक्षम बनाउने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उपमहानगर प्रमुख पाण्डेयले स्थानीय सरकारले साधन स्रोतको सीमितताका कारण सूचना र सञ्चारका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको भन्दै सङ्घीय सरकारले स्थानीय सरकारलाई तथ्याङ्क र अभिलेख राख्नका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीयताको मर्मअनुसार स्थानीय सरकारका अधिकार कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्नका लागि मन्त्री शर्मासँग अनुरोध गर्नुभयो । भेटका क्रममा मन्त्री शर्माले बुटवलको सञ्चार केन्द्र निर्माणको काम छिट्टै नै अगाडि बढ्ने विश्वास दिलाउनुभयो । उहाँले सङ्घीय सरकार र स्थानीय सरकारका बीचमा सहकार्य र समन्वयबाट प्रभावकारी काम हुनसक्ने बताउनुभयो ।

प्रमुख पाण्डेयले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलसँग भेट गरी बुटवलको चुरे क्षेत्रको पहिरो नियन्त्रणमा दीर्घकालीन समाधान खोज्न आग्रह गर्नुभएको छ । उहाँले स्थानीयवासीलाई जोखिममुक्त बनाउँदै चुरेको संरक्षण गर्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिमार्फत सङ्घीय सरकारको प्रभावकारी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो ।

भेटका क्रममा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष पौडेलले पहिरो नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सक्दो प्रयास गर्ने बताउनुभयो ।यसैगरी, बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले आजै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीसँग भेटेर अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिँदा लिइने राजस्व घटाउन माग गर्नुभयो । उहाँले अव्यवस्थित बसोबासीले राजस्व तिर्न नसकेका कारण लालपुर्जा वितरण रोकिएको बताउँदै राजस्व घटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गरेको १० वर्षसम्म किनबेच गर्न नपाउने व्यवस्था संशोधन गरी घटाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय चलचित्र पुरस्कार र विशेष चलचित्रका लागि बोर्डद्वारा आवेदन माग

काठमाडौँ – चलचित्र विकास बोर्डले २३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ ।

साथै, विशेष चलचित्रको प्रतिस्पर्धाका लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ साल वैशाख १ देखि २०७९ चैत मसान्तभित्र जाँचपास भई प्रदर्शनसमेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्र जाँचपास भएका चलचित्रहरुले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताउनुभयो ।

आदिवासी, जनजाति एवं विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समयसीमाभित्र जाँचपास मात्र भएको भए पनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् । राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० वैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० साल वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन । यसपटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरुले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका तीन–तीनवटा चलचित्रहरु गरी छवटा घोषणा हुनेछन् ।

“कला, संस्कृति, परम्परा, मानवीय संवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोगसहित राष्ट्रियरुपमा योगदान पु¥याउन सक्ने चलचित्रहरुलाई प्रोत्साहन दिन विशेष चलचित्रको प्रतिस्पर्धा गरिएको हो”, प्रवक्ता बुढाथोकीले भन्नुभयो । विशेष चलचित्र घोषणा हुने सबै चलचित्रहरुलाई अन्तर्राष्ट्रिय भाषामा सबटाइटलमा हुने खर्चस्वरुप प्रतिचलचित्र दुई लाख रुपैयाँ बोर्डले प्रदान गर्ने गर्दछ । साथै, विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिताका लागि बोर्डले सहजीकरण गर्ने गर्दछ ।

उत्कृष्ट लेखन (कथा, पटकथा तथा संवाद), उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान हुने गर्दछ । ती विधाहरुबाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेमा बढीमा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस हुने गर्दछ ।

तनहुँ–१ उपनिर्वाचन : मतान्तर फराकिलो पार्दै रास्वपाका वाग्ले, २२ हजार भोट कटाए

तनहुँ – तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार ४३ हजार ७१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गरेका छन् । ४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ९११ ल्याएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ५९५ मत ल्याएका छन् । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

चलचित्र ‘सतीदेवी’को मुहूर्तसँगै काठमाडौँमा छायाङ्कन सुरु

काठमाडौँ – चलचित्र ‘सतीदेवी’ को मुहूर्तसँगै काठमाडौँमा छायाङ्कन सुरु गरिएको छ। लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको निर्माणसँगै निर्देशन रहेको चलचित्रमा शीर्ष भूमिकामा अभिनेत्री मलिका महत हुनुहुन्छ।

दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी,सृजना अधिकारी,मनिषा सापकोटासँगै बाल कलाकार हर्षिका ओली र मन्जिला बानियाँको अभिनय रहेको छ।

छायाङ्कनरत चलचित्र महिला केन्द्रित विषयवस्तुमा आधारित रहेको निर्देशक सुवेदीले जानकारी दिनुभयो। “हामीले ३० दिनको तालिका बनाएर सुरुआत गरेका छौँ। चलचित्रमा सतीदेवीको आँखाबाट कथा प्रस्तुत गरिएको छ”, निर्देशक सुवेदीले भन्नुभयो। यसमा दीपक शर्मा र सुभाष भुसालको सङ्गीत, बाबु श्रेष्ठको छायाङ्कन,देव महर्जनको द्वन्द्व,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। रङ्गपत्रकार हुँदै चलचित्रकर्मी बनेका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ चलचित्रको निर्देशन गरिसक्नुभएको छ।