`

सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रलाई कक्षा ६–१२ सम्मका लागि एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मा दिइएको थियो। बुधबारसम्ममा एक करोड ३३ लाख ९५ हजार सात सय थान पाठ्यपुस्तक वितरण भइसकेको छ।

केन्द्रको विराटनगर कार्यालयबाट १६ लाख ५४ हजार चार सय, जनकपुर कार्यालयबाट १५ लाख ८० हजार तथा भरतपुर कार्यालयबाट १४ लाख १५ हजार थान पुस्तक वितरण भएको छ। त्यस्तै बुटवल कार्यालयबाट १४ लाख २५ हजार, पोखरा कार्यालयबाट ११ लाख ७४ हजार पाँच सय, नेपालगञ्ज कार्यालयबाट १५ लाख ४४ हजार, सुर्खेत कार्यालयबाट आठ लाख १६ हजार चार सय, धनगढी कार्यालयबाट १८ लाख ९० हजार तथा भक्तपुरको सानोमिठीस्थित केन्द्रीय कार्यालयबाट १८ लाख ९६ हजार चार सय थान पाठ्यपुस्तक वितरण भएको छ।

बाँकी केही पाठ्यपुस्तक केन्द्रमै जगेडा राखिएको छ भने केही वितरणकै क्रममा छ। केन्द्रको क्षेत्रीय कार्यालयबाट वितरण भइरहेका पुस्तक सम्बन्धित जिल्लाका स्थानीय विक्रेतामार्फत विद्यालयमा पुर्याउने काम भइरहेको छ।

यस वर्ष केन्द्र समयमै पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न सक्षम भएका कारण झन्डै एक दशकपछि सामुदायिक विद्यालयका विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका छन्। सरकारले वैशाख ३ गतेदेखि नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान पनि सुरु गरेको थियो। अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ।

केन्द्रका प्रबन्ध सञ्चालक झाले समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा समयमै कागज खरिद, कर्मचारीको सही परिचालन तथा केन्द्र परिसरमा रहेका सबै छपाइ मेसिनको प्रयोग गर्नु मुख्य उपलब्धि भएको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

नेपाल–भारत सीमाको दशगजा क्षेत्र खाली गराउन थालियो

कञ्चनपुर- कञ्चनपुरस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको अतिक्रमण हटाउन थालिएको छ । दोधारा चाँदनी नगरपालिकाअन्तर्गत नेपाल–भारत सीमाको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो । भारतसँग सीमा जोडिएको दोधारा चाँदनी–३ बडुवाल टोलबाट दशगजा क्षेत्रको अतिक्रमण हटाउन थालिएको नगर प्रमुख किशोर लिम्बूले जानकारी दिनुभयो । “दशगजा क्षेत्रको अतिक्रमण खाली गराउने काम सुरु भएको छ, पहिलो दिन डेढ किलोमिटर क्षेत्र खाली गराएका छौँ”, उहाँले भन्नुभयो, “यो निरन्तर चल्छ ।” सशस्त्र प्रहरी, नेपाल प्रहरी, भारतको सीमा सुरक्षा बल (एसएसबी) र जनप्रतिनिधि लगायतको समन्वयमा संयुक्तरूपमा दशगजा खाली गर्ने काम थालिएको हो ।

दोधारा चाँदनीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाको दशगजा क्षेत्रमा लामो समयदेखि नेपाल र भारत दुवैतर्फ खेतीपाती गरिएको छ । “अहिले खेतीपाती भित्र्याएको अवस्थामा दशगजा खाली गर्न सजिलो भएको छ, दशगजा खाली नहुँदा बेलाबेलामा विवाद हुने गरेको छ”, नगर प्रमुख लिम्बूले भन्नुभयो, “दशगजा क्षेत्र खाली हुँदा यो विवाद हट्नेछ ।”

उहाँका अनुसार पहिलो दिन दोधारा चाँदनी–३ बडुवाल टोलस्थित मुख्य सीमास्तम्भ आठ सयदेखि सहायक स्तम्भ नम्बर आठ÷चारसम्मको क्षेत्र खाली गरिएको छ । उक्त कार्यमा सुरक्षाकर्मीसँगै नगरपालिकाका सर्भेक्षकसमेत खटिएका छन् ।

नियमित कार्यक्रमअन्तर्गत दशगजा खाली गराउने काम भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो । “दशगजामै घरटहरालगायत पक्की संरचना बनेको ठाउँमा खाली गराउन केही ढिलाइ भएको छ”, उहाँले भन्नुभयो, “अन्य ठाउँमा दशगजा खाली गराउने काम निरन्तर चलिरहेको छ ।”

उहाँका अनुसार सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएदेखि नै एसएसबीसँग समन्वय गरेर दशगजा खाली गर्ने गरिएको छ । कञ्चनपुरमा एक सय २९ दशमलव पाँच किलोमिटर सीमा भारतसँग जोडिएको छ ।
 

पोर्चुगलबाट २३ सय नेपालीको राहदानीका लागि आवेदन

काठमाडौँ- राहदानी विभाग काठमाडौँको टोलीले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार तीन सयभन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम सङ्कलन गरेको छ । राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरबाट दुई हजार तीन सय आठ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत् विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको टोली प्रमुख एवं विभागकी शाखा अधिकृत रञ्जिता दाहालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सात सय ६४ जनाको राहदानी हराएको, एक हजार चार सय ४० जनाको नवीकरण, १८ जनाको क्षतिग्रस्त, १३ जना बालबालिकाको नयाँ राहदानी र ७३ जना बालबालिकाको नवीकरण गरी कुल दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको हो ।

पोर्चुगलमा रहेका नेपालीको समस्यालाई ध्यानमा राखेर विशेषगरी यहाँको कागजी प्रक्रियामा रहेका नेपालीलाई राहदानीलगायतका कागजातसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यअनुरूप विभागले शिविर सञ्चालन गरेको शाखा अधिकृत दाहालले बताउनुभयो ।

विभागबाट आएको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो । टोलीमा नेपाली दूतावास पेरिस, फ्रान्सका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

पोर्चुगलमा देखिएको राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई समाधान गर्ने योजनाअनुसार पहिलो पटक सञ्चालन गरिएको शिविरबाट धेरै नेपाली लाभान्वित भएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताउनुभयो । नेपाली समुदायको साथ र सहयोगले शिविर उत्साहजनक ढङ्गले सम्पन्न भएको भन्दै महावाणिज्यदूत हमालले सम्बन्धित सबैलाई धन्यवादसमेत दिनुभयो ।

पोर्चुगलमा नेपाली दूतावास नहुँदा राहदानीलगायतका कागजातसम्बन्धी समस्या भोग्दै आएका नेपालीले शिविरमार्फत सेवा पाँउदा राहतको अनुभूति गरेका छन् । लिस्बनबाटै राहदानी सेवा लिन पाउँदा अत्यन्तै सहज भएको विगत लामो समयदेखि पोर्चुगल बस्दै आउनुभएका काठमाडौँका अमृत श्रेष्ठले प्रतिक्रिया दिनुभयो । “छोराको राहदानीको म्याद सकिएको थियो । नवीकरण गर्न कहाँ जाने र कहिले जाने भनेर चिन्तामा थिएँ । शिविर आएको मौकामा यही बाटै छोराको आवेदन दिन पाइयो”, खुशी हुँदै श्रेष्ठले भन्नुभयो, “शिविरले हामी जस्ता नेपालीलाई धेरै सजिलो भयो । समयको पनि बचत भयो, अन्य देश धाउनुपर्ने झञ्झट पनि भएन ।”

शिविरले राहदानीलगायतका नेपालीको समस्या सम्बोधन गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव राजकुमार थापाले बताउनुभयो । मूलतः शिविरबाट यहाँको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका र हराएका नेपालीहरूलाई ठूलै राहत मिलेको उहाँले बताउनुभयो ।

झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरमा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका प्रतिनिधि र यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरूले समेत समन्वय र सहजीकरण गरेका थिए ।

गत चैच १५ गतेदेखि सुरु भएको शिविर मङ्गलबार सम्पन्न भएको हो । टोलीले शिविर अवधिभर राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गरेको थियो । शिविरबाट २०२३ डिसेम्बर ३१ सम्म म्याद भएका राहदानीको नवीकरणका लागि फारम सङ्कलन गरिएको थियो ।

अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ – ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई बुधबार पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले ट्राफिक प्रहरीले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरेको बताउनुभयो ।

ट्राफिक प्रहरीले अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरमा थप निगरानी बढाइएको प्रवक्ता भट्टले बताउनुभयो ।

अजरबैजान पु¥याइ ठगी गर्ने पक्राउ

नेपाल प्रहरीले अजरबैजान पु¥याइ रु आठ लाख ५० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अजरबैजानको होटलमा मासिक सात सय डलर कमाइ हुने भनी रु आठ लाख ५० हजार ठगी गर्ने दाङ लमही नगरपालिकाका २५ वर्षीय भीमकुमार सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले अजरबैजानको होटलमा मासिक सातसय डलर कमाइ हुन्छ भनी अजरबैजान लगेर पाँच महिनासम्म अलपत्र पारेको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । पीडित कमलप्रसाद भण्डारीले ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा दिनुभएको थियो । पक्राउ सुनारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाइएको ब्यूरोले जनाएको छ ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा नयाँबानेश्वरस्थित संघीय संसद भवनमा शुरु हुनेछ । बैठकका सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ । 

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने लगायतका सम्भावित कार्यसूची रहेका छन् ।

‘हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई, पाए १५ लाख पुरस्कार

काठमाडौँ – नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बन्नुभएको छ । बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला हुनुहुन्थ्यो । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गर्नुभएको छ ।

“मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिनुभयो । यसलाई हामीले सदुपयोग गरेका हौँ”, उहाँले भन्नुभयो । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता घोषित हुनुभयो । उहाँले रु तीन लाख नगदसहित पुरस्कार गर्नुभयो । यस्तै क्षेत्री सेकेण्ड रनरअपअर्थात् तेस्रो घोषित हुँदै रु दुई लाखसहित अन्य पुरस्कार प्राप्त गर्नुभयो ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहनुभएको थियो ।

विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री रिजाल

नवलपरासी-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी ( बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका–११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भको अवसर आज उद्योगमा आयोजित समारोहमा मन्त्री रिजालले भन्नुभयो, “कोरियाले नेपाली युवालाई रोजगारी दिनेदेखि नवीनतम प्रविधिको विकासमा वर्षौँदेखि सहयोग गर्दै आएको छ ।” नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले व्यापार घाटा घट्नुका साथै नेपालमा रोजगारीसमेत बढ्ने उहाँको विश्वास थियो ।

मन्त्री रिजालले भन्नुभयो, “विदेशी प्रविधि भित्र्याउन आवश्यकपर्ने नीतिगत सुधार गर्न हामी प्रतिबद्ध छौँ ।” गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका–११ मा उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको छ ।

गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका लागि कोरियन राजदूत चोङसुक पार्क, सामसुङ कम्पनीका दक्षिणपूर्व एसियाका सीइयो जेवी पार्क, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवलगायत कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सबैको एउटै भूमिका हुन्छ– अर्थमन्त्री महत

पाटन-अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान समयमा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सबैको साझा दृष्टिकोण लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आइविएन मिडिया रिसर्चले आज ललितपुरमा आयोजना गरेको ‘अर्थतन्त्रका आन्तरिक समस्या र समाधानका उपाय’ विषयक अन्तक्र्रियामा उहाँले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता भएको र राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताउनुभयो ।

अहिले पनि अर्थतन्त्रमा कोभिडको समयको प्रभाव रहेको उल्लेख गर्दै उहाँले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता रहेको र यसका लागि राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताउनुभयो । “हामीले समन्वय पनि गरिरहेका छौँ । राजनीतिक दलमा पानी बाराबारको अवस्था छैन, सबैसँग कुरा हुन्छ, अर्थतन्त्रका विषयमा सबैको एउटै भूमिका हुन्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “विगतमा हामीले पूँजीगत खर्च प्रभावकारीरूपमा प्रवाह गर्न सकेनौँ । आगामी दिनमा यसलाई समाधान गर्नेछौँ । सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न सकिँदैन । अरु साधारण खर्च पुनरावलोकन गर्न सकिन्छ ।” उहाँले एक महिनामा नै बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सबैको सल्लाह लिएर बजेट निर्माण गर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले जिम्मेवार पदमा बस्नेले जनविश्वास जित्ने गरी संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । “अहिलेको समस्या पार्टी विशेषको नभएर देशकै समस्या हो । समस्या समाधानका लागि सरकार र प्रतिपक्ष मिलेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारको मात्रै नियत गलत छ भनेर देखाएर हुँदैन, निजी क्षेत्रले कर्पोरेट नैतिकता कायम गर्नुपर्छ ।” उहाँले स्वदेशमै उत्पादन हुने कच्चा पदार्थलाई प्राथमिकता र संरक्षण दिनुपर्ने बताउँदै प्रतिस्पर्धा हुने हदसम्म स्वदेशी उत्पादनलाई सहुलियत दिनुपर्ने भन्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले शेयर र घरजग्गामा पहिला सहजरूपमा ऋण दिएका कारण पनि अहिले समस्या आएको धारणा राख्नुभयो । उहाँले लगानीको वातावरण बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले दक्ष जनशक्ति नहुँदा समस्या भएको बताउँदै आन्तरिक र बाह्य बजारमा सहजरूपमा काम गर्नसक्ने दक्ष जनशक्ति निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । “नेपालको अर्थतन्त्रमा ‘डिप्रेस’ हुनुपर्ने अवस्था छैन । २५ प्रतिशत रेमिट्यान्स बढेको छ । तरलता बढेको छ । ब्याजदर घट्दो छ । सूचक सकारात्मकतिर जाँदैछ । यहाँभन्दा खराब अवस्था आउँदैन”, ढकालले भन्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यापार घाटा नौ गुणा बढी हुँदा समस्या भएको बताउँदै निर्यात प्रवर्द्धनलाई ध्यान दिनुपर्ने बताउनुभयो । अर्थतन्त्र सङ्कुचनको अवस्थामा भएकाले वित्तीय अनुशासन कायम राख्दै अर्थतन्त्र प्रवर्द्धन गर्ने कुरामा ध्यान दिनुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै अर्थशास्त्री प्रा डा रेशम थापाले अन्तरसरकारी समन्वय र सहकार्य ‘फेलियर’ हुनु नै मुख्य समस्या भएको बताउँदै उत्पादनमा वृद्धि गर्न नसक्दा खर्च बढेको र प्राज्ञिक र सञ्चार क्षेत्र चुकेको औँल्याउनुभयो ।

देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने सांसद स्वर्णिम वाग्लेको प्रतिबद्धता

तनहुँ- तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज देवघाटका मतदातालाई धन्यवाद दिन पुग्नुभएका वाग्लेले देवघाटलाई देशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाई देश तथा विदेशबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्ने उल्लेख गर्नुभयो । धार्मिक आस्थालाई आर्थिक समृद्धिसँग जोड्न सकिने भन्दै वाग्लेले देवघाट गाउँपालिकाका पिछडिएको क्षेत्रलाई विकासको मूलधारमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य वाग्लेले राजनीतिलाई मागी खाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य रास्वपाले गर्ने बताउनुभयो । टीका लगाएर पद पाउने मोडलले राजनीतिलाई भ्रष्ट बनाएको बताउँदै उहाँले भन्नुभयो, “कुनै ठाउँको टिकट दिनुपर्दा माथिबाट टीका लगाएर पठाइदिने होइन, सम्बन्धित ठाउँका जनताले त्यहीबाट छान्ने हो ।”

अन्य क्षेत्रमा नाम कमाएर सफल भएकालाई भित्र्याएर बढीमा दुई पटक अवसर दिने परम्परा सुरु गरिने बताउँदै उहाँले भन्नुभयो, “एउटै मान्छे आजीवन लडिरहने प्रवृत्तिको अन्त्य गरिनेछ । कार्यकर्ताको भद्दा संरचनाले विकृति बढाएको छ । रास्वपा त्यसतर्फ जाँदैन ।”

सो अवसरमा सांसद वाग्लेलाई देवघाटका धार्मिक प्रतिष्ठान, विभिन्न सङ्घसंस्था तथा सर्वसाधारणहरुले स्वागत एवं बधाई दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बलबहादुर क्षेत्रीलगायतका नेताले सांसद वाग्लेसमक्ष देवघाटका समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।

डा वाग्लेले मङ्गलबार व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट ३४ हजार नौ सय ११ मत प्राप्त गरी डा वाग्ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अध्यक्ष ओलीमाथिको हमला, नेपाली जनताको सपनामाथिको गम्भिर प्रहार, सशक्त प्रतिवाद गर्छौं – राष्ट्रिय युवा संघ

काठमाडौं। राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको घटनाप्रति घोर विरोध एवम् भत्र्सना गरेको छ । बुधबार युवा संघका अध्यक्ष क्षितिज थेबेले एक विज्ञप्ती निकाल्दै अध्यक्ष ओलीलाई लक्षित गरेर गरिएको ढुंगामुडा प्रहारलगायतका क्रियाकलापको घोर घोर विरोध एवम् भत्र्सना गरेको बताए ।

उनले अध्यक्ष ओलीमाथिको हमला गर्नुले नेपाली जनताको सपनामाथिको गम्भिर प्रहार भएको बताएका छन् । साथै उनले घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग पनि गरेका छन् । यस्तै विज्ञप्तिमा उनले अध्यक्ष ओलीमाथिको आक्रमणको घोर निन्दा गर्दै उक्त किसिमको अराजक गतिविधिको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

बुधबार बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास गरेका थिए । ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा मतदातालाई धन्यवाद

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा प्राप्त मत तथा सफलताका लागि आममतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीलाई कृतज्ञता ज्ञापन गरेको छ ।

सो पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले आज सूचना जारी गर्दै सफलतासँगै पार्टी निर्माण गर्र्दै राष्ट्र निर्माण गर्ने दायित्वबाट निष्क्रिय रहने छुट नरहेकाले जनमतले गरेको अपेक्षाअनुरुप निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकतामा राख्दा बिरामी चर्को मारमा : बिजुक्छेँ

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरुसँगको अन्तक्र्रियामा उहाँले निजी अस्पतालले स्वास्थ्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकतामा राख्दा सेवाग्राही बिरामी चर्को मारमा परेको बताउनु भएको हो ।

बिजुक्छेँले भन्नुभयो, “चिकित्सक तथा नर्सले नम्र भाषा र असल व्यवहारबाट बिरामीको सेवा गर्नसके बिरामीको मन जित्न सकिन्छ । चिकित्सक र कर्मचारीले आफ्नो पदीय दायित्वमात्र पूरा गर्ने नभई मन, वचन र कर्मबाट जनताको स्वार्थ भावनाले काम गर्न प्रेरित गर्नुपर्छ ।” पुँजीवादी समाजमा समाजवादी विचार र सिद्धान्तले काम गर्नु चुनौतीपूर्ण हुने बताउँदै उहाँले असल नियतबाट हुने काममा जनताको पनि साथ र सहयोग रहने हुँदा अस्पताल तथा अन्य संस्थामा हुने कामको समय समयमा अनुगमन तथा निरीक्षण हुनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पतालबाट हुने सेवा विस्तारमा जनगुनासो कम हुने ढङ्गले चिकित्सक र कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो ।

अस्पतालमा कार्यरत स्टाफ नर्सहरुले ख्वप अस्पतालबाट प्रवाहित सेवासुविधा र स्वास्थ्य बीमा कार्यक्रमबाट धेरै बिरामी लाभान्वित भएको बताउँदै आगामी दिनमा अस्पतालले थप सुविधा प्रदान गर्दै जानुपर्ने सुझाव दिएका थिए । 

बेपत्ता र सत्य निरुपण विधेयक छिटो अघि बढाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की-पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताउनुभएको छ ।

तत्कालीन दस वर्षे जनुयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिनुभएका विद्यार्थी नेता पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले विभिन्न मानिसका चलखेल र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले गर्दा आयोगसम्बन्धी विधेयक लामो समय अड्काएर राखिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रिया सुरु भएको र संविधान निर्माणको लामो समय व्यतीत हुँदासमेत शान्ति प्रक्रियामा व्यवस्था भएका बेपत्ता भएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएको छैन ।”

हालसालै मात्र प्रमुख दलहरुबीच सो सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष भट्टराईले भन्नुभयो, “विधेयक विशेष समितिमार्फत छिटो अघि बढाउने र आयोगबाट टुङ्गो लगाउने भन्ने भएको छ । अब आरोप प्रत्यारोप नगरिकन संवेदनशील विषयलाई छिटोभन्दा छिटो टुङ्गाउनुपर्दछ ।”

डा भट्टराईले सहिद, बेपत्ता तथा घाइतेको विषय माओवादीको मात्र विषय नभएको बताउनुभयो । जनुयद्धले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीतालगायत विषय सबै पार्टी र जनताको भएकाले त्यसका लागि लड्नेको समस्या पनि सबैको भएको उहाँको भनाइ छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्नेसमेत उल्लेख गर्नुभयो । “देशमा चरम असन्तुष्टि छ । केही समययताका परिघटना हेर्नुस् वा उपनिर्वाचनलाई हेर्नुस् । जुन प्रकारका असन्तुष्टिहरु व्यक्त भईराखेका छन् । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।” उहाँले भन्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर छिटोभन्दा छिटो जनतालाई सुशासन र समृद्धिको जनताको चाहना पूरा गर्नेतर्फ लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सहिद, बेपत्ता तथा घाइतेलाई न्याय दिनु राज्यको कर्तव्य भएको बताउनुभयो । देशमा एकाधिकारवादी दलाल पुँजीवाद हाबी भएकाले यसको अन्त्य बिना आर्थिक क्रान्ति सम्भव नहुने महासचिव गुरुङले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालमा संसदीय व्यवस्था असफल भएको दाबी गर्नुभयो । छोटो समयमा सरकार परिर्वतन हुँदासमेत जनताका चाहना सम्बोधन नभएको चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “आजको आर्थिक, राजनीति, सांस्कृतिक सङ्कटको मुख्य कारण राजनीतिक प्रणाली स्थिर हुन सकेन । सरकारले सपना, लक्ष्य र मानचित्र प्रस्तुत गर्न सकेन । अहिले देशमा स्थिरता चाहिएको छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा, नेकपा (एकीकृत समाजवादी)का नेता श्रीनाथ बराललगायतले परिर्वतनमा योगदान दिने सहिद तथा बेपत्ताका सपना पूरा गर्नुपर्ने दायित्व सबै राजनीतिक दलहरुको भएको बताउनुभएको थियो ।
–––

गालीगलौजको राजनीति नगर्न सभापति लामिछानेको अनुरोध

भरतपुर- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गर्नुभएको छ । बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ हामी । हाम्रो ओठमा मुस्कान र हातमा फूल छ । हामीले गालीगलौज गर्न सुहाउँदैन । त्यसैले हामी गालीगलौजको राजनीति नगरौँ ।”

उहाँले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताउनुभयो । मात्तिएर र आत्तिएर राजनीतिमा नहुने भन्दै उहाँले आफूहरु सच्चिनुपर्ने ठाउँहरु केही रहेछन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पङ्क्तिलाई हेर्ने बताउनुभयो । उहाँले अरु दलको आलोचनामा नगर्ने बताउनुभयो । सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरुप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उहाँले बताउनुभयो । सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध पार्टी सधैैँ अग्रपङ्तिमा रहेर काम गर्ने स्पष्ट पार्नुभयो ।

यस्तै सोही सभालाई सम्बोधन गर्दै तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताउनुभयो । विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको उहाँले बताउनुभयो । 

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि गठबन्धन दल छलफलमा

लुम्बिनी-लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको आह्वान गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धन दल आन्तरिक छलफलमा जुटेका छन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० साल वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ ।

नेकपा (एमाले) संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमबार विश्वासको मतका लागि प्रदेशसभामा गर्नुभएको प्रस्तावमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम गत पुस २७ गते नेता गिरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री गिरीले सोमबार प्रदेशसभामा राख्नुभएको विश्वासको मतको प्रस्तावमा एमालेका २९ र राप्रपाका चार सांसद मात्रै पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा नेपाली कांग्रेस २७, नेकपा (माओवादी केन्द्र) ११, नागरिक उन्मुक्ति पार्टी चार, जसपा, लोसपा, जनमत तीन÷तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक÷एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले मतदान गरेका थिए ।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरीले सोही दिन प्रदेश प्रमुखलाई भेटेर संविधानको धारा १६८ उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने दाबी गर्नुभएको थियो । तर विपक्षी दलले एक महिनाअघि नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका छन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीबार अपराह्न ४ बजेसम्मका लागि दिनुभएको समयावधिमै सरकारको दाबी पेस गर्नेगरी गठबन्धन दलबीच तयारी गरिएको प्रदेशसभामा कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेना बताउनुहुन्छ । गठबन्धन दलबीच सत्ताको भागबण्डाका विषयमा विभिन्न चरणमा छलफल भए पनि अहिलेसम्म टुङ्गो लागिनसकेको तर सरकारको दाबी पेस गरिसकेपछि छलफल गरेर टुङ्गोमा पुगिने सङ्केत प्रमुख सचेतक तिमिल्सेनाले जानकारी दिनुभयो ।

नयाँ सरकारमा प्रमुख सत्तासाझेदार माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सरकार गठका लागि बिहीबार दाबी प्रस्तुत गरिने गठबन्धनमा रहेका सबै दलबीच सहमति भएको बताउनुभयो । उहाँले सत्ता भागबण्डाका बारेमा अहिलेसम्म राजनीतिक सहमति भएका र बाँकी नयाँ सरकार गठन पछि टुङ्ग्याइनेसमेत जानकारी दिनुभयो ।

नयाँ सरकार गठनका लागि कांग्रेसको नेतृत्वमा जाने करिब निश्चित भएको छ । सत्तागठबन्धन दलका तर्फबाट गत चैत १२ गते कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
 

दश प्रतिशत शय्या गरिब बिरामीलाई छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले केही दिनअघि गरेको अनुगमनमा धेरै अस्पतालले कूल शय्याको १० प्रतिशत शय्या नछुट्याएको पाइएको थियो । यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूर्ण तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ । मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाहीसमेत गर्ने स्वास्थ्य संस्थालाई जनाएको छ ।

काठमाडौँ महानगरपालिकामा निःशुल्क कानुनी सेवा लिनेको सङ्ख्या तीन हजार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गत चैत एक गतेदेखि सुरु गरेको निःशुल्क कानुनी परामर्श सेवा दुई हजार आठ सय नौ जनाले लिएका छन् । नागरिकलाई सामान्य किसिमको कानुनी परामर्श दिने उद्देश्यसहित कामपाले एक महिनाअघिदेखि कामपाको ३२ वटै वटा कार्यालयमार्फत निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको थियो । उक्त न्यायिक समितिमार्फत न्यायिक सेवामा एक हजार सात सय ३८ जनाको कानुनी लिखत तथा अन्य मस्यौदाको सेवा लिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

जम्मा सेवाग्राही दुई हजार आठ सय नौमध्ये सात सय ४७ जनालाई मौखिक कानुनी तथा न्यायिक परामर्श सेवा उपलब्ध गराइयो भने तीन सय २७ जनालाई अन्य (प्रशासनिक) सेवा उपलब्ध गराइएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।

यसरी प्रत्येक वडाबाट नागरिकलाई निःशुल्क कानुनी सेवा प्रदान गर्न गत माघ १७ गते कामपा र नेपाल ल क्याम्पसबीच सम्झौता भएको थियो । सम्झौताअनुसार क्याम्पसले स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट गरेको छ । जसमध्ये ३५ जना विद्यार्थी असार मसान्तसम्मका लागि न्यायिक सहजकर्ताका रुपमा महानगरसँग आबद्ध रही कामपाको ३२ वटै वडामा खटिएको छन् ।

कामपामा दर्ता हुने विवादसम्बन्धी उजुरी वडामै दर्ता हुने भएकाले, उजुरी दिने व्यक्तिले उल्लेख गरेको विषय स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छ कि पर्दैन ? निवेदन दिनेले पक्ष हुने हक राख्छ कि राख्दैन र उजुरी दिने म्याद छ कि छैन, यी विषय जाँच गरेर दर्ता गर्ने वा दरपीठ गर्ने निर्णय गर्नुपर्नेछ । यसका लागि न्यायिक सहजकर्ताले सहजीकरण गर्नुपर्नेछ ।

त्यसैमा सेवाग्राहीको आवश्यकताअनुसार जुनसुकै निवेदन लेखन, उजुरी निवेदन, फिरादपत्र, प्रतिउत्तरपत्र वा लिखित जवाफ मस्यौदालगायत सबै किसिमको कानुनी सहयोग गर्नुपर्नेछ । विशेषतः सहजरुपमा कार्यालय पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालकका समस्या तथा अत्यावश्यक सेवा प्रवाहमा समेत दिनुपर्ने ध्यान दिनुपर्नेछ ।

त्यसैगरी कानुनी विषयसँगै उठेको महिला सञ्जालको प्रभावकारी कार्य सञ्चालनका विषयमा पनि न्यायिक सहजकर्ताले ध्यान दिनुपर्छ । सेवाग्राहीलाई विश्वास दिलाउनसके समितिको कामले थप उचाइ लिने पनि आचार्यको भनाइ छ ।

सहजकर्ताले सेवाग्राहीको आवश्यकताअनुसार सामान्य निवेदन, उजुरी निवेदन, फिराद पत्र, प्रतिउत्तर पत्र, लिखित जवाफको मस्यौदा गरिदिने, मौखिक उजुरी परामर्श दिनेलगायत काम गरिरहेका छन् ।
˗˗˗

मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ– नेता कोइराला

विराटनगर-नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनुभएको छ ।विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै भन्नुभयो, “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ ।”

नेता कोइरालाले आर्थिकरूपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको भन्दै हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।उहाँले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोसमेत चर्चा गर्दै ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने जोड दिनुभयो ।कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले पुस्तान्तरण भएमात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका पूर्वप्रमुख एवं प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकले सन्तान र आफन्तबाटै अपहेलित हुनुपरेको गुनासो पोख्नुभयो । विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले समाजसेवी चिरञ्जीवी दाहालले निःशुल्क आठ धुर जग्गा दिएपछि भवन निर्माणको बाटो खुलेको जानकारी दिनुभयो । उहाँले भवनको अर्को तला थपेर सङ्ग्रहालय र पुस्तकालय निर्माण गर्ने योजना सुनाउनुभयो ।

राष्ट्रपतिको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार जारी छ ।

चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको उहाँको स्वकीय सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको सर्वविदितै छ”, विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकको टोली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको सचिवालयले स्पष्ट पारेको छ । यो कुरा प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्धति कानून, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदाहुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको प्रष्ट छ तर, ऐन कानून नै नबुझेजस्तो गरी राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेको भन्दै सचिवालयले दुःख व्यक्त गरेको छ ।

सचिवालयले यस प्रकारका भ्रामक सूचना र दुष्प्रचारको पछि आमनेपाली दिदीबहिनी तथा दाजुभाइ लाग्नुहुने छैन भन्नेमा विश्वस्त रहेको जनाउँदै राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गरेको छ ।

साढे चार सयले लिए सगरमाथा आरोहणको अनुमति

काठमाडौँ – यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् ।

पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई÷तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन् । समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब चार सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ ।

अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन् । सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै रु ७३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ ।

साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनलमा पुग्यो

काठमाडौँ – एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमनले साउदी अरेबियालाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । सो समूहबाट यसअघि नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । यो जितसँगै ओमनले चार खेलमा ६ अङ्क बटुल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

ओमनले साउदी अरेबियालाई जितको लागि तीन सय ६७ रनको चुनौती दिएको थियो । जवाफमा साउदी अरेबिया ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ९४ रनमा समेटियो । साउदी अरेबियाका लागि सुरुआती ब्याट्समान अब्दुलल वहिलले ९५ रनको योगदान गरे । उनले ८६ बल खेल्दै १४ चौका र एक छक्काको मद्दतमा ९५ रनको योगदान गरेका हुन् ।

त्यस्तै साद खानले ७८ रन बनाए । उनले ८० बलमा १० चौका र एक छक्का प्रहार गरे । हिसम शेखले ३६, अब्दुल वाहिदले २५, अतिफ उर रेहमानले १६ तथा इम्रान अरिफले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेकनन् ।

बलिङतर्फ ओमानका खेलाडी विलाल खान एक्लैले चार विकेट लिए भने जय ओडेद्राले तीन विकेट झारे । जिसन मोक्सुदले दुई विकेट लिँदा आयन खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६६ रनको योगफल बनाएको थियो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरेका थिए ।

ओमनका जीतेन्द्र सिंहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन् । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउदाँ स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे । त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए ।

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले भोलि कतारको समाना गर्नेछ । उक्त खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । यस खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

‘सरकारले अन्य विधेयक ल्याउँछ, नागरिकता विधेयक किन ल्याउँदैन ?’

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भन्नुभयो, “सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन ?”

सांसद भगवती चौधरीले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो ल्याउनुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मी तिवारीले भन्नुभयो, “म बाँके जिल्लाबाट प्रतिनिधित्व गर्छु, त्यहाँ नागरिकताको समस्या छ, नागरिकता नहुँदा युवाले रोजगार पाउन सकेका छैनन्, यो नागरिकताको समस्या चाँडो समाधान होस् ।”

सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लासँग जोडिएको तिब्बत नाका कोभिड–१९ पछि बन्द हुँदा स्थानीयवासीको जनजीवन अत्यन्त कष्टकर भएको बताउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विमला सुवेदीले विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोट जिल्लाको प्राचीन, ऐतिहासिक एवं सांस्कृतिक सम्पदा नुवाकोट साततले दरबार, सेतोपाटी र तलेजु भवानी मन्दिर पुनःनिर्माण गर्ने जिम्मा लिएको चिनियाँ कम्पनीले ठेक्का पाएको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम सुरु हुन नसकेको भन्दै जतिसक्दो चाँडो सुरु गर्न आग्रह गर्नुभयो ।

सांसद भानुभक्त जोशीले हुम्ला, जुम्ला र बाजुरालगायत पिछडिएको क्षेत्रलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने माग गर्नुभयो । सांसद मनिष झाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको एक सय ४६ दिन हुँदा पनि सही ढङ्गबाट सदुपयोग हुन नसकेको भन्दै हवाई सुरक्षाबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले गत साउनमा भएको अविरल वर्षाका कारण कालीकोट जिल्लाको खानेपानी, सिँचाइ, सडक र बस्तीमा समस्या भए पनि अहिलेसम्म सरकारले निर्माण गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गत साउनको पहिराका कारण कालीकोट जिल्लामा धेरै क्षति भएको छ, सरकारले क्षतिग्रस्त क्षेत्र घोषणा गरेको छ, तर हालको दिनसम्म पनि खानेपानीको मुहान नबनाएर जनताले पानी खान पाएका छैनन्, तुरुन्तै सरकारको ध्यान जाओस् र यथाशक्य समस्या समाधान होस् ।”

सांसद मानवीर राईले सोलुखुम्बु जिल्लाको दूधकोसी नदीको दिब्लीघाटको पुल निर्माणमा भएको सुस्तताप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मेनका कुमारी पोखरेलले नयाँ सरकार बनेको चार महिना बितिसक्दा पनि जनताले राहत महसुस गर्न नपाएको भन्दै देशमा बलात्कार, भ्रष्टाचार, महँगीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सांसद मैना कार्कीले जाजरकोटमा गुणस्तरीय सडक निर्माणको माग गर्नुभयो ।

सांसद रघुजी पन्तले काठमाडौँभित्रका खाल्टाखुल्टी सडक निर्माणका लागि सरकारलाई आग्रह गर्नुभयो । सांसद रणकुमारी बलमपाकीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ मा आगलागीमा परेका परिवारलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रणेन्द्र बरालीले चितवन जिल्लामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्शाला निर्माणको काम जतिसक्दो चाँडो थालनी गर्न आग्रह गर्नुभयो । सांसदहरू राजकिशोर यादव, माधव सापकोटा, महेशकुमार बर्तौता, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाईं, रामकृष्ण यादव, रामकुमार राई, रेखा यादव, रोशन कार्की, लालवीर चौधरी, लेखनाथ दाहाल, रामनाथ अधिकारी र रामहरि खतिवडाले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कोरोना सङ्क्रमणबाट एकको निधन

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो ।

यसैगरी आज एक हजार छ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ । उपचारपछि आज ६५ जना घर फर्किएका छन् ।

यस्तै काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष (आइसियु) र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेका छ । शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारण फैलिएको हो ।

चिनियाँ राष्ट्रपति सी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको बेइजिङ र कीभले दुवै देशले बताएका छन् ।

जेलेन्स्कीले ट्वीटरमा लेख्नुभएको छ, “राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोन वार्ता भएको छ ।”“यो आह्वान र चीनका लागि युक्रेनका राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा सशक्त गति दिनेछ भन्ने मलाई विश्वास छ,” उहाँले भन्नुभएको छ ।

जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको पुष्टि गर्नुभएको छ ।चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताउनुभएको थियो ।

“युक्रेन सङ्कटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको छ र उसको मूल अडान शान्ति वार्तालाई बढावा दिनु हो,” सिसिटिभीले भनेको छ ।सिसिटिभीले चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गरी लेखेको छ, “चीनले न त अर्को तिरबाट वाण हान्नेछ , न त आगोमा इन्धन थप्नेछ, सङ्कटको फाइदा उठाउने कुरा चीनले कहिल्यै सोचेको छैन ।”

सीले भन्नुभयो, “आणविक मुद्दाको सामना गर्दा सम्बन्धित सबै पक्ष शान्त र संयमित रहनुपर्छ, आफ्नो र सम्पूर्ण मानवजातिको भविष्य र नियतिमा साँच्चिकै ध्यान केन्द्रित गर्नुपर्छ र संयुक्त रूपमा सङ्कटको व्यवस्थापन र नियन्त्रण गर्नुपर्छ ।”बेइजिङले द्वन्द्वमा आफू तटस्थ रहेको बताउँदै आएको छ भने रूसी आक्रमणको कहिल्यै पनि गरेको छैन ।

जेलेन्स्कीले आफ्ना चिनियाँ समकक्षी सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आउनुभएको छ ।फेब्रुअरीमा बेइजिङले युक्रेनको सङ्कटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो ।

दस्तावेजमा चीनलाई तटस्थ पार्टीको रूपमा चित्रित गरिएको छ र दुवै पक्षलाई शान्ति वार्तामा प्रवेश गर्न आग्रह गरिएको छ । ‘सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई प्रभावकारी रूपमा कायम राख्नुपर्छ भन्ने उक्त पत्रको पहिलो बुँदा थियो ।

तर मस्कोको सेनाले आफ्नो छिमेकीमाथि आक्रमण गरेपछि सुरु भएको युक्रेन युद्धको विशिष्टतासँग यो कसरी सम्बन्धित छ भन्नेबारे चीनले विस्तार गर्न निरन्तर अस्वीकार गर्दै आएको छ ।पत्रमा बेइजिङले रूस र युक्रेनलाई शान्ति वार्ता पुनः सुरु गर्न आह्वान गर्दै ‘वार्ता अनि वार्ता नै एक मात्र व्यवहारिक समाधान हो’ भनेको छ ।

“अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्तालाई बढावा दिने सही दृष्टिकोणप्रति प्रतिबद्ध रहनुपर्छ, द्वन्द्वका पक्षहरूलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न मद्दत गर्नुपर्छ र वार्ता पुनः सुरु गर्नका लागि परिस्थिति र प्लेटफर्म हरू सिर्जना गर्नुपर्छ,” पत्रमा भनिएको छ ।

यसैबीच, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख जेन्स स्टोल्टेनबर्गले युक्रेनमाथिको अवैध आक्रमणको निन्दा गर्न नसकेका कारण बेइजिङको धेरै विश्वसनीयता नभएको बताउनुभएको छ ।

सरकार आफैले बिमाको पैसा समयमा दिंदैन, कर कसरी तिर्नु : दुर्गा प्रसाईँ 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूले आयकर नतिरेको भनेर आएका समाचारमा कुनै सत्यता नभएको बताउनुभएको छ । 

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले मेडिकल कलेजको आयकर  दाखिलाका लागि भन्दै  १५ दिनको समय दिएर सूचना प्रकाशन गरेसँगै प्रसाईँले सरकारले पनि आफूहरूलाई समयमा पैसा दिएको भए समस्या नहुने बताउनुभयो । 

बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर आफूले समय समयमा तिरिरहेको तर आफ्नो मेडिकल कलेजलाई एलवाई दिएर पनि सञ्चालन अनुमति नदिएकोमा प्रसाईँले आक्रोश पोख्नु भयो । अझ अस्पतालमा उपचार गरे बापतको बिमाको रकम सरकारले समयमा नतिरेको प्रति लक्षित गर्दै उहाँले सरकारले आफूलाई समयमा पैसा दिए आफूले पनि सरकारलाई दिनु पर्ने पैसा समयमै दिन सक्ने बताउनुभयो । 

उहाँले आफ्नो मेडिकल कलेजले महिना महिनामा कर दाखिला गरिरहेको पनि बताउनुभयो । 

‘करको पैसा महिनै पिच्छे बुझाउने गरेको छ, सरकार मेडिकल कलेज खोल भनेर एलवाइ दिने तर सम्बोधन नदिन गर्छे, अनि हामीलाई बिमा गरेका बिरामीको उपचार गरे बापतको पैसा पनि समयमै दिँदैन, सरकारले चाहिँ ढिला गर्न हुने हाम्रोचाँही केही समय ढिला हुनै नहुने होर ? प्रसाईँको भनाई थियो । 

प्रसाईँले सरकारले समयमा कर नबुझाए बापत व्यक्तिहरूलाई जरिवाना गराउने गरे पनि सरकारले अस्पताललाई रकम दिँदा ढिला गर्दा कुनै ब्याज वा जरिवाना नदिनु कत्तिको न्याय सङ्गत हो भनी प्रश्न गर्नुभयो । 

चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ– रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको बताएका छन । भारी मतले बिजयी भए पछि मतदातालाई धन्यवाद दिदै लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन–२ ले दिएको बताएका छन् ।‘चितवन– २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु,’ भनेका छन, ‘चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ।’

उनले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलका उम्मेदवारलाई भनेका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर १४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा र अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तो छ, आजको हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौ, १३ वैशाख  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १८० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १९० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौला ३० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ७० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १९० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

प्राथमिकता बदल्दै विकासे मन्त्रालय

काठमाडौं । अबको १ महीनापछि सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट सार्वजनिक गर्नुपर्छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि चालू आव २०७९/८० को बजेटभन्दा कम सिलिङ तोकेको छ ।

विकासे मन्त्रालयहरूको बजेट सिलिङसमेत कम गरिएसँगै अहिले ती निकायले आगामी आवका योजना तथा कार्यक्रमका प्राथमिकता बदल्ने तयारी शुरू गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिंचाइ, शहरी विकास, खानेपानी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आवको भन्दा कम सिलिङ पाएका छन् ।

सबैभन्दा बढी बजेट विनियोजन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट सिलिङ आयोगले उल्लेख्य मात्रामा घटाएको छ । चालू आवमा यो मन्त्रालयको बजेट १ खर्ब ६७ अर्ब रुपैयाँ छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह

काठमाडौं – सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच दिनअघि मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा तौलपुलमा जाँचेर मात्र सडकमा पठाइने गरी भएको निर्णय व्यवसायीको दबाबमा पाँच दिन पनि टिक्न सकेन । आफैँले गरेको निर्णयबाट पछि हट्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मङ्गलबारदेखि भारवहन गरिरहनु नपर्ने जानकारी व्यवसायीलाई गराएको छ ।

प्रशासनको निर्णयको सुरुदेखि विरोध जनाउँदै आएको बागमती टिप्पर व्यवसायी सङ्घलगायतका सङ्घ, सङ्गठन तथा व्यवसायी भने प्रशासनको निर्णयपछि हौसिएका छन् ।प्रशासनको निर्णय एक साता पनि नटिक्ने दाबी गर्दै उनीहरूले यसअघि नै सामाजिक सञ्जालमा लेखेका थिए । प्रशासनको लोकप्रिय निर्णयको समर्थन जनाएका स्थानीय बासिन्दा भने भारवहन जाँच नहुने सूचनापछि निराश बनेका छन् ।

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनअनुसार वैशाख ७ गतेदेखि जिल्लामा सञ्चालन हुने तथा जिल्लाबाट बाहिरिने टिप्परलगायतका मालवाहक सवारीको अनिवार्य भारवहन जाँच गर्नुपर्ने निर्णय गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चितवन २ मा कांग्रेस- एमाले पहिलाभन्दा खुम्चिए

चितवन । प्रतिनिधिसभा सदस्यका लागि चितवन-२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा उनले कति मतान्तरले जित्छन् भन्ने बहस मात्र चोकचोकमा भइरहन्थ्यो ।

मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए । उनले उपनिर्वाचनमा ४ हजार ८ सय ७६ मत बढाएका छन् । यस पटक ५४ हजार १ सय ७६ मत ल्याएर उनी विजयी भए । कांग्रेस-एमालेको मत पहिलाभन्दा घटेको छ ।

दुवै दलले झन्डै ३ हजार ८ सय मत गुमाएका छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलेभन्दा अहिले जितनारायण श्रेष्ठले ३ हजार ७ सय ७४ कम मत पाए । कांग्रेसको मात्र होइन, एमालेको मत पनि उस्तै घटेको छ । अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखेलले १४ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । तर अहिले एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पोख्रेलले भन्दा ३ हजार ७ सय ८६ मत कम पाए । आजको नागरिक दैनिकमा समाचार छ ।

देउवा उठेर बाहिर निस्कन लाग्दा जब लेखकले रोके

काठमाडौँ । प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे।

रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर बाहिर निस्कन लागे। सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बस्नुभएका देउवा उठेर बाहिर निस्कन लागेपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रोक्नुभयो अनि सभापति देउवा फर्केर आएर पुनः आसनमा बसे।

प्रमुख सचेतक लेखकले सभापतिलाई बीचमै किन फर्काउनुभयो ? धेरै जानकारी नहुन सक्छ तर संसदीय अभ्यास र मान्यतामा भने यसको आफ्नो महत्व छ। सभाको नियमनसम्बन्धी कानुनको पालना थियो त्यो। देउवाको कार्य प्रतिनिधि सभा नियमावलीको विपरीत हुने भएपछि तुरुन्तै लेखकले उक्त अग्रसरता देखाए । प्रतिनिधि सभा नियमावलीको नियम २० मा सदस्यहरूले बैठकमा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ। जसमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने उल्लेख छ।

यसअघि प्रतिनिधि सभामै एमाले सचेतक महेश बर्तौलाको ध्यानाकर्षणमा कांग्रेस सांसद पूर्णबहादुर खड्काले यस्तै प्रकरणमा माफी माग्नुभएको थियो। चैत १२ गतेको बैठकमा एमालेका बलराम अधिकारी बोलिरहनुभएको बेला खड्का बीचबाट हिँडेका थिए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे संघीय संसद भवन, वानेश्वरमा बस्नेछ । 

आजको बैठकको सम्भावित कार्यसुची पनि सार्वजनिक भएको छ । आजको बैठकवाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि माननीय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसुची रहेको छ ।संबैधानिक परिषद सबन्धी बिद्येयक आजै पारित गरिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषद ९काम, कर्तब्य, अधिकार र कार्यबिधि० संबन्धी पहिलो संसोधन बिद्येयक २०७९ माथीको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ ।

सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा बिजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन । 

राउतले सामाजिक सञ्जालवाट बधाई दिदै भने जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं( २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले बधाई दिदै भनेका छन, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु  हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।

सत्तारुढ गठबन्धनका उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार ८२९ मत ल्याएका छन् ।

आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

काठमाडौँ – ‘महिला तथा बौद्धिक सम्पत्ति ः नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।

विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ । नेपाल विपोको सदस्य राष्ट्र हो ।

विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रबद्र्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति रहेको छ । विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् ।

लुम्बिनीमा सरकार गठनका लागि आह्वान

लुम्बिनी – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले मंगलबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा को २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न २०८० साल वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीले सोमबार प्रदेशसभामा प्रस्ताव गर्नुभएको विश्वासको मत मत पाउन नसकेपछि नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको हो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम एमाले संसदीय दलका नेता मुख्यमन्त्री गिरी नेतृत्वमा गठित सरकारले सोमबार विश्वासको मत पाउन नसकी ढलेपछि प्रदेश प्रमुख शेरचनले पुनः उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

विज्ञप्तिमा २०७७ साल फागुन ११ गते सर्वोच्च अदालतबाट गरिएको संवैधानिक व्याख्याअनुसार दुई वा सोभन्दा बढी दलबाट सरकार गठन हुनसक्ने नयाँ समीकरण सिर्जना भएमा त्यस्तो सरकार बनाउन सक्ने विकल्प प्रतिनिधिसभाभित्र खोज्नुपर्ने धारा ७६ को समष्टिगत उद्देश्य मनसाय रहेको भन्ने नजीरलाई मध्यनजर राख्दै धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रह्लाद पोखरेलले आज साँझ जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

यससँगै यसअघि ५३ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री बनाउन लुम्बिनी प्रदेश कांग्रेस दलका नेता डिल्ली चौधरीको नाममा हस्ताक्षर बुझाइसकेकाले उहाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव बिजयी

बारा – बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन ।

सत्तारुढ गठबन्धनका उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार ८२९ मत ल्याएका छन् ।
 

भगवान् भेट्न भोकभोकै बसेका थप दश जनाको शव भेटियो

मालिन्दी, केन्या – केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन् । यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको सङ्ख्या ८३ पुगेको छ ।

चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । उनीहरूले आरोपीको खोजीमा दिनभर जङ्गलमा बिताएका थिए ।

आज तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएका हुन् । मृतक बालबालिकाले उनीहरूले श्वेतवस्त्र लगाएका पाइएको छ । भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गुडन्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझै पनि भगवान्सँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन् । प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ ।

यसैबीच, मालिन्दी अस्पतालका अधिकारीले मृतकको सङ्ख्या बढदै जाँदा शवहरू सुरक्षित रूपमा राख्न सकिने अवस्था नरहेको बताउँदै पहिलेदेखि नै भरिएका मुर्दाघरमा चरम स्थान अभाव भएको गुनासो गरेका छन् । उनीहरूले शवलाई सड्नबाट जोगाउन चिस्यान यन्त्र आवश्यक परेको भन्दै केन्या रेडक्रससँग हारगुहार गरेका छन् ।

रुस भ्रमण ऐतिहासिक भयो : अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा सम्पन्न भएको रसिया(रुस) भ्रमण ऐतिहासिक भएको बताउनुभएको छ ।

रसियाको उपल्लो सदन सङ्घीयसभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणामा भएको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अध्यक्ष तिमिल्सिनाले रसियासँग अन्तर व्यवस्थापिका सहयोग आदनप्रदानका साथै आपसी सहयोग वृद्धिका लागि भ्रमण महत्वपूर्ण भएको बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणका क्रममा रसियाको उपल्लो सदन र राष्ट्रियसभाका बीचमा अन्तर–संसदीय सहयोगलाई प्रवद्र्धन गर्नेलगायत विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको बताउनुभयो ।

राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बीचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासङ्घबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तक्र्रियामार्फत अन्तर–संसदीय विषयलाई समावेश गरिने उल्लेख छ ।

त्यसैगरी आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन र आपसी चासोका अन्य दस्तावेजको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधि, संसदीय गतिविधिको डिजिटाइजेशन, र सभा, समिति तथा आयोगका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत रुसबाट रासायनिक मल र गहुँ आयात गर्न चाहेको तथा विगतमा रोकिएको नेपाल र रुस सीधा हवाई उडान पुनः सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन रुस तयार रहेको जानकारी दिनुभयो ।

रुसको सहयोगमा बनेको कान्ति बाल अस्पतालको क्षमता विस्तारका लागि पनि रुसले चासो दिएको छ भने नेपालका स्थानीय तह र रुसका स्थानीय तहका बीचमा पनि मितेरी सम्बन्ध विस्तार गर्ने सहमति भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

एकीकृत बस्ती विकासमा सरकारको जोड : मन्त्री गुरुङ

गोरखा – सङ्घीय सरकारका सहरी विकासमन्त्री सीता गुरुङले एकीकृत बस्ती निर्माणमा सरकारले विशेष जोड दिने बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले एकीकृत बस्ती विकासले विकास निर्माणलाई छिटो छरितो र प्रभावकारी रुपमा अघि बढाउन सक्ने भएकाले एकीकृत बस्ती विकासलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले २०७२ साल वैशाख १२ गतेको कहालीलाग्दो विनाशकारी भूकम्पले क्षतविक्षत भएका निजी आवास तथा भौतिक संरचना निर्माणको काम अझै केही बाँकी रहेको भन्दै त्यसलाई सम्पन गर्ने क्रममा सरकार रहेको उल्लेख गर्नुभयो ।

गोरखा भूकम्पमा परेर देशभरिबाट ज्यान गुमाएकाको स्मृतिमा बारपाकमा निर्माण भइरहेको भूकम्प स्मृति पार्कको काम अझै बाँकी रहेको उल्लेख गर्दै उहाँले स्मृति पार्क निर्माण गर्ने जिम्मेवार सहरी विकास मन्त्रालयकै रहेकाले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

“भूकम्पका कारण देशभरिबाट ज्यान गुमाउनुभएका व्यक्तिको नाम भूकम्प स्मृति पार्कमा राख्नका मृतकको नामावली सङ्कलनको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सबै नामावली सङ्कलनको काम सकिएपछि स्मृतिपार्कमा उपलब्ध गर्ने छौँ ।”