`

पाणिनी बहुमुखी क्याम्पसमा कर्मकाण्डी साधारसभा, सञ्चालक समितिमा नेतैनेता

अर्घाखाँची, २०, चैत – अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा चरम राजनीति भएको छ । दलीय बाँडफाँड नमिल्दा ९ वर्षसम्म नभएको क्याम्पसको साधारणसभा प्रक्रियामात्र पुरा गर्दै सम्पन्न गरिएको छ ।

यही चैत्र १८ गते क्याम्पसमा सम्पन्न भएको साधारण सभाले राजनीतिक दलले पहिल्लै बाँडफाँड गरेको सञ्चालक समितिलाई अनुमोदन गरेको छ । आफू निकटका आजीवन सदस्यमात्र भेला गराई गरिएको कर्मकाण्डी साधारण सभाले नेपाली कांग्रेसका लुम्विनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानको नेतृत्वमा सञ्चालक समिति गठन गरेको छ ।

दलको लामै छलफल र रस्साकस्सीका विच पनि पदाधिकारीमा बाँडफाँड नमिलेपछि पदाधिकारी पद खारेज गरी मुस्कानको नेतृत्वमा अन्य दलका नेता सदस्य रहनेगरी ९ सदस्यीय सञ्चालक समिति घोषणा गरिएको हो । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु सदस्य छन् ।

नवनिर्वाचित समितिको सदस्यहरुमा नेपाली काँग्रेसकी नेतृ लक्ष्मी श्रेष्ठ, नेता ऋषव अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष इश्वरा पोख्रेल, नेकपा एमाले अर्घाखाँचीका पूर्व अध्यक्ष जनार्दन खनाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विक, जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, महिला नेतृ कमला भण्डारी भुसाल, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल सदस्य चयन भएका छन् ।

साधारणसभाको बन्दशत्र प्रकृयामा अगाडी नै नबढाई जवरजस्त नामावली पढेर सुनाइएको कार्यक्रममा सहभागी एक नेताले बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान उपस्थित कार्यक्रममा चौहानले नै उम्मेदवारी दिने डरले प्रक्रिया नै शुरु नगरिएको स्रोतले बतायो । यस्तै शिक्षामा भैरहेको राजनीतिको विरोध गरेको स्वतन्त्र पार्टीलाई कार्यक्रममा खवर नै गरिएन ।

यसअघि २०७५ सालमा भएको साधारणसभा दलीय सहमती नजुटेपछि अलपत्र परेको थियो । उद्घामटन भएपनि समापन नभएको उक्त साधारणसभामा राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीको नेतृत्वमा संचालक समिति बनाउने निर्णय भएपनि अन्य पद नमिलेपछि अलपत्र परेको थियो ।

कुपोन्डोलको गाडी सर्भिसिङ सेन्टरमा आगलागी हुदाँ १२ सवारीसाधन जले

काठमाडौं, २० चैत । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ। 

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखी सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो ।

उनका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीमा परेर ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटरसहित १२ वटा सवारी साधान भने जलेर ध्वस्त भएका छन् । 

घटनाबाट भएको थप क्षतिको पूर्ण विवरण भने आइनसकेको एसएसपी शाहको भनाई छ ।

घरेलु मैदानमा पिएसजीको दोस्रो हार

काठमाडौं, २० चैत । स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्को पराजय भोग्नु परेको छ ।

फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो ।

पिएसजीलाई हारमा ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो । उनले ५६औं मिनेटमा साइल कुमबेडीको पासमा गरेकाे गोल जीतका लागि काफी बन्न पुग्याे । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोली पिएसजीले पाहुना टोलीमाथि दवाव बढाए पनि गोल गर्न नसक्दा समग्र खेलमा दोस्रो पराजय बेहोर्नु परेको हो । पिएसजी यसअघि रेनेससँग २–० ले पराजित भएको थियो ।

यस जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवाैं स्थानमा उक्लिएको छ भने पिएसजीले शीर्ष स्थानमा कायमै राखे पनि पराजयसँगै अग्रता बढाउनबाट भने चुकेको छ । शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंकमा छ ।

म्यानचेस्टर युनाईटेड पराजित

काठमाडौं, २० चैत । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । 

घरेलु टोली न्यूक्यासल युनाइटेडसँग म्यान्चेस्टर २–० ले पराजित भएको हो ।

सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको खेलको ६५औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि न्युक्यासलले १–० अग्रता लियो भने ८८औं मिनेटमा न्युक्यासलका कलुम विल्सनले गोल गर्दै म्यानचेस्टरलाई २–० को पराजय भोगाए । विल्सनले काइरन ट्रिपिएरको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

यस जितसँगै न्यूक्यासल २७ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ भने पराजित युनाइटेडको ५० अंकका साथ चौथो स्थानमा झरेको छ ।

एलपी ग्याँस बोकेको भारतीय टयाङकर पल्टिदा एकको मृत्यु

चितवन, २० भदौं । एलपी ग्यास बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो टयाङकरमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

मृतकको नाम पहिचान हुन सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

एमालेले बारा–२ मा पुरुषोत्तम पौडेललाई उठाउने

काठमाडौं । नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा हुन गईरहेको उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज मनोनयन गर्नु केही घन्टा अघि मात्र एमालेले पुर्व खेलकुद मन्त्रीसमेत रहेका पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको हो । 

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाए पनि यसपटक भने एमालेले एकल उम्मेदवारको रुपमा पौडेललाई अघि सारेको हो ।

बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार रहने यसअघि नै सार्वजनिक भइसकेको छ ।

आज बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुदैँछ । 

१६ प्रतिशत बीमा अभिकर्ताले मात्रै गराए लाइसेन्स नवीकरण

चैत १९ गतेसम्ममा १६ प्रतिशत जति मात्रै बीमा मध्यस्थकर्ता (अभिकर्ता) ले अनुमतिपत्र (लाइसेन्स) नवीकरण गराएका छन् । नेपाल बीमा प्राधिकरणले दिएको जानकारीअनुसार आइतवार कार्यालय समयसम्ममा लाइसेन्स नवीकरण गराउने अभिकर्ताको संख्या ३५ हजार छ ।

यो लाइसेन्स नवीकरण गराउनुपर्ने कुल अभिकर्ता संख्याको १५ दशमलव ७८ प्रतिशत हो । नवीकरण गराउने अवधि अझै बाँकी भएकाले आउने दिनमा नवीकरण गर्नेको संख्या बढ्ने जानकारहरूको भनाइ छ । पर्याप्त संख्यामा बीमा अभिकर्ताले लाइसेन्स नवीकरण नगराएको र बीमकको प्रथम बीमा शुल्क घटेको तथ्यांकले यो व्यवसाय पनि सहज स्थितिमा नरहेको संकेत गर्छ ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरू भने अर्थतन्त्रको अवस्थाले अन्य क्षेत्रमा झैं बीमा व्यवसायमा पनि केही असर गरेको तर आत्तिनुपर्ने अवस्थान नगरेका बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

काठमाडौंका धारामा आइरहेको मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुने

काठमाडौं । काठमाडौंका धारामा आइरहेको मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुने भएको छ । वर्षामा पानी ल्याउनेगरी तयारी अघि नबढेकाले वर्षा लागेपछि पानी बन्द हुने भएको हो ।

तीन वर्षअघि मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनर्निर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि वर्षामा पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । ‘विगतमा जस्तै यो वर्ष पनि बर्खा सुरु भएपछि पानी बन्द गर्नुपर्ने अवस्था छ,’ समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने । ‘वर्षाको समयमा पानी खुवाउनका लागि केही गर्न सकिएको छैन ।’ केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ कि भनेर डिजाइन गरिएको भए पनि निर्णय हुन नसकेर काम हुन नसकेको उनको भनाइ थियो ।

वैकल्पिक प्रणालीको गेट नम्बर १ मा केही साना संरचना राख्न सकिएमा वर्षायाममा पनि चलाउन सकिने सम्भावना रहेको आयोजनाले जनाएको छ । संरचना थप गरेर वर्षामा सञ्चालनका लागि डिजाइन फाइनल भए पनि त्यसको मूल्यांकन गरेर बजेट व्यवस्थापन भएपछि मात्रै ठेक्का लगाइने उनको भनाइ छ । हेडवक्र्स पुरै क्षति भएको हुँदा मर्मत मात्रै गरेर काम हुनसक्ने अवस्था छैन ।

आयोजनास्थलभन्दा माथिल्लो भागमा अझै पनि पहिरोको जोखिम छ । हेडवक्र्स पहिले भएको ठाउँमा बनाउने हो भने त्यसको रोकथामको काम पहिले गर्नुपर्ने उनले जानकारी दिए ।

२०७८ असारमा आयोजनाको निर्माण थोरै मात्रै बाँकी हुँदा बाढीले अम्बाथानस्थित आयोजनास्थलमा ठूलो क्षति गराएको थियो । केही दिन पहिले मात्रै सुरुङ बन्द गरिएकाले त्यहाँ क्षति पुग्न नपाएपछि हेडवक्र्सलगायत त्यहाँका अरू भौतिक संरचनामा क्षति पुगेको थियो । हेडवक्र्स सम्पन्न नभएकाले त्यति बेला अस्थायी बाँधमार्फत पानी पठान्तरण गरिएको थियो ।

दुई वर्ष पहिलेको बाँकी काम अहिलेसम्म पूरा भएको छैन । त्यति बेला गेटको फ्रेम जडान भइसकेर त्यसको प्यानल जोड्न बाँकी थियो । फ्रेम जोड्ने ठाउँ नै क्षति भएकाले थप काम हु्न नसकेको सूचना अधिकारी पन्तले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने

काठमाडौँ । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला हुने सहमति भएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले मे १ देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुला हुने जानकारी दिए । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका खुलाउने सहमति भएको प्रवक्ता रेग्मीले जानकारी दिए । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला रहेका छन् ।

मुगुको न्याङ्चे, दार्चुुलाको व्यास, गोरखाको चुुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने मन्त्रालयले जनाएको छ । चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ । हुम्लाको यारी नाकाबाट समेत सामानको आयात हुने गर्छ । रसुवाको केरुङ नाका शनिबार खुला भएको छ । रसुवाको केरुङ नाका गत जनवरी पहिलो सातादेखि अर्थात् पुस १२ गते एकतर्फी रूपमा मात्र खुला भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यस्तै सन् २०२० को मार्चमा ४२ हजार ७७६ र सन् २०१९ को सोही अवधिमा एक लाख २७ हजार ३५१ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई सन् २०१९ कै अवस्थामा पु-याउन भारतपछि धेरै पर्यटक भित्रिने मुलुक चीनमा पर्यटन प्रवद्र्धनको काम सुरु गर्न लागेको पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताए । उनले भने , “महामारीले असर परेका अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रलाई थप चलायमान बनाउन पर्यटक आगमन सङ्ख्या नै बढाउनु हो। दोस्रो धेरै पर्यटक भित्रिने मुलुक चीनमा केन्द्रित रहेर त्यहाँबाट पर्यटक भित्र्याउन ‘चाइनिज सेल्फ मिसन कार्यक्रम सुरु गर्न यही महिना त्यसतर्फ जाँदैछौँ। चीनबाट सर्वाधिक पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटीको सङ्ख्यासमेत बढाउनुपर्ने देखिएको छ।”

भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रूपमा बढ्दै गएको जनाउँदै उनले पछिल्लो समय आरोहण, ट्रेकिङलगायतका हिमाली पर्यटनका क्षेत्रमा राम्रो बुकिङ आइरहेकाले पर्यटक आवागमन थप सुधारात्मक हुँदै जाने विश्वास व्यक्त गरे। विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्यअनुसार अनलाइनबाट नेपाल प्रवद्र्धनको काम जारी रहेको उनले बताए ।

सन् २०२३ को मार्चमा सबैभन्दा बढी पर्यटक भारतबाट २५ हजार ९११ जना आएका छन्। यस्तै अमेरिकाबाट नौ हजार ५५७, बेलायतबाट छ हजार १३३, जर्मनीबाट चार हजार १४९, श्रीलङ्काबाट तीन हजार ८९८, थाइल्यान्डबाट तीन हजार ८२९, अस्ट्रेलियाबाट तीन हजार ६३५, फ्रान्सबाट तीन हजार नौ, चीनबाट दुई हजार ६३५ र दक्षिण कोरियाबाट दुई हजार ६३९ जना पर्यटक नेपालमा भित्रिएका छन्।

पर्यटन बोर्डका अनुसार मार्चमा नेपाल भित्रिएका पर्यटकको सङ्ख्यामा सन् २०१९ को तुलनामा अहिले ७८ प्रतिशत सुधार देखिएको छ। नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन्। युरोपेली मुलुकबाट २३।४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन्।

सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए। त्यस्तैगरी फेबु्रअरीमा ७३ हजार २५५ पर्यटक नेपाल आएका थिए। कोरोनाकालपछिका अधिकांश मौसम पर्यटकको बाटो कुर्दै बसेका व्यवसायीहरू पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन्। होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ। आन्तरिक हवाई सेवा भरिभराउ छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।

जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान

सप्तरी, १९ चैत – जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरी ९ वर्षमा पक्राउ गरि प्रहरीले आइतबार कारागार चलान गरेको छ ।

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक सप्तरी मलेठ गाविस-७ हाल राजविराज नगरपालिका-९ वस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले बताए ।

सोही ठाउँका कौसिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत २० गते दिन मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए ।

ट्याक्टर पल्टेर एक जनाको मृत्यु

सप्तरी, १९ चैत – सप्तरीको बोदेबर्साईन नगरपालिका बार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन-१  धनगढी बस्ने अन्दाजी २२ वर्षीय पँकज यादव रहेका छन् ।

अइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको  प्र-२-०१-००१ त २५१७  नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने

काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। 

सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । 

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ ।

आज बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुदैँछ । 

आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने

बुटवल, २० चैत । आज देखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । 

सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।

सो सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरे पछि आज देखी दैनिक दुईवटा सिफटमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिन लागिएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सो सडक खण्ड निमार्णस्थल वरपर आउजाऊमा समेत रोक लगार्ईएको छ । अर्को सूचना जारी नभएसम्म बन्द साे सडक खण्ड बन्द रहने जारी सुचनामा भनिएकाे छ । साथै, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकरलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने सो बैठककाे निर्णय छ ।

सोही निर्णय अनुसार आज देखी सो सडक दैनिक ९ घन्टा बन्द गरिन लागेको सार्वजनिक सुचना जारी गरिएको छ । 

स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित

काठमाडौं, २० चैत । रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिड माथी फराकिलो जित हासिल गरेको छ ।

कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेकाे खेलमा म्याड्रिडले घरेलु मैदानमा ६–० को फराकिलो जीत हासिल गरेको हो ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको २२औं मिनेटमा रोड्रिगोले रियलकाे जीतका लागि खाता खोलेका थिए । त्यसपछि कप्तान बेन्जेमाले २९औं, ३२औं र ३६औं मिनेटमा निरन्तर गोल गरेर कप्तान बेन्जेमाले ह्याट्रिक गरेर पहिलो हाफमा नै ४–० को अन्तरले खेललाई अघि बढाए ।  यो हयाट्रिक उनले ८ मिनेटको अन्तरमा गरेका थिए ।

त्यसैगरी दोस्रो हाफको ६५औं मिनेटमा रोड्रिगोले गरेकाे गोलले भिएआर रेकर्डबाट मान्यता नपाए पनि ७३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ५–० ले अघि बढाए भने त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा लुकास भास्क्वेजले थप गोल गर्दै रियललाई ६–० को सानदार र ठुलो अन्तरको जित दिलाए ।

सो जीतसँगै रियलको २७ खेलबाट ५९ अंक बटुलेको छ भने  पराजित रियल भालाडोलिड २८ अंक जोडेर रेलिगेसनको १६औं स्थानमा छ ।

रबि लामिछाने चितवनमा उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहु पुग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन् ।

सो पार्टीका केन्द्रिय सदस्य दिपक बोहोराका अनुसार सभापति लामिछाने चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहु–२ हुने मनोयन दर्ताका लागि पुग्नेछन् । 

उनका अनुसार चैत्र २० गते बिहान ९ बजे भरतपुर महानगर– ११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ । ‘ त्यस पछि २ बजे सभापति तनहुको दमौलिमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’  उनले भने । उनका अनुसार बारा– २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्नका लागि भने पार्टी उपसभापति डिपि अर्याल बारा जानेछन् ।

उम्मेदवारी मनोयन दर्ताः कांग्रेसका महामन्त्री थापा तनहु, विश्वप्रकाश चितवन पुग्ने

काठमाडौं, २० चैत । आज हुन गईरहेको उपनिर्वाचनको उम्मेदवारी मनोयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् ।कांग्रेस केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री गगन थापा तनहु–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा हुने मनोनयन दर्तामा सहभागी हुनेछन् ।

कांग्रेसले तनहु–१ मा गोबिन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेकाले सो क्षेत्रमा भने कांग्रेसको उम्मेदवार रहने छैन । 

उपनिर्वाचनको उम्मेदवारी मनोनयन गर्दा जुलुस गर्न देखी मन्त्रीलाई जानसमेत निषेध

काठमाडौं, २० चैत । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलस प्रर्दशन देखी झन्डामा समेत निषेध गरेको छ ।

चितवन–२, तनहु–१ र बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवार मनोयनमा मन्त्रीहरु जानसमेत निषेध गरिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम पौडयालले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार सरकारी कर्मचारी पनि उम्मेदवारको मनोनयनमा जान नहुनेसहित १० बुदेँ आचारसंहिता स्मरण गराएका हुन ।  ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने,’ आचारसंहितमा भनिएको छ, ‘उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने ।’ 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानूनको अधीनमा रही दलले गर्ने काम कारवाही सञ्चालन गर्दा पालना गर्नु पर्ने विषयका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्ने उल्लेख गर्दै आयोगले सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुनेछ भन्ने कानूनी व्यवस्था रहेको स्मरण गराउँदै सो निर्देशन गरिएको पौडेलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।  

यस्तो छ, उम्मेदवार मनोनयन गर्न जाँदा निषेध गरिएको निर्देशनः

१. निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने,

२. उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने,

३. उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने,

४. उम्मेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिष्पर्धी लक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने,

५. उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने,

६. नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने, 

७. उम्मेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने,

८. मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो  सवारी साधन वा अन्य सामाग्री प्रयोग गर्न दिन नहुने,

९. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने,

१०. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने । 

बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुदैँ

काठमाडौं, २० चैत। आगामी वैशाख १० मा हुन गईरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार चितवन–२, तनहु–१ र बारा–२ मा बैशाख १० मा हुन गईरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन गईरहेको हो । 

आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सो उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आ-आफनो उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनवाट निर्वाचित राष्टय स्वतन्त् पार्टीका सभापति रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन-२ रिक्त हुन पुगेको थियो ।

यसैगरी, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ– १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ रिक्त हुन पुगेको थियो । बारा- २ मा जनता समाजवादी पार्टी नेपालले जीत हासिल गरेकाे थियाे । रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । 

सो उपनिर्वाचन प्रयोजनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

आजको मौसम: पाँचवटा प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, २० चैत । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा   मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

उता राती भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

कैलाली, १९ चैत – कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुइ जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उप–महानगरपालिका–२ त्रिनगरबाट घोडाघोडी नगरपालीका–१ का १९वर्षका करन परीयार र सोहि ठाउँकै २२ वर्षका शिबराज ओझा पक्राउ परेका छन् । उनीहरुको साथबाट नौँ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला पारेको कैलाली प्रहरीले बताएको छ ।

उनीहरु विरुद्घ लागुऔषधको मुद्घा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

राजस्थानसँग हैदराबाद ७२ रनले पराजित

काठमाडौं, १९ चैत – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायाे । उसका लागि अब्दुल समादले नटआउट ३२ र मयंक अग्रवालले २७ रन बनाए । राजस्थानका युजवेन्द्र चहलले ४ र ट्रेन्ट बाेल्टले २ विकेट लिए । 

यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेकाे राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४/५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २/२ विकेट लिए ।

याे जितसँगै राजस्थान २ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । पराजय भोगेको हैदराबाद तालिकाकाे पुछारमा छ ।

रोबर्टले चपाएको चुइङ्गम लिलामीमा बिक्रीको तयारी

लसएञ्जल्स । कलाकारका फ्यानको क्रेज उनीहरुप्रति कति धेरै हुन्छ भन्ने उदाहरण प्रशस्त छन् । हलिउड फिल्म ‘आइरन मेन’ फेम सुपरस्टार रोबर्ट डाउनी जुनियरकै उदाहरण हेरौं । उनको फ्यान विश्वभर अत्याधिक छन् ।

यिनै रोबर्टका विषयमा एक नयाँ खबर बाहिर आएको छ । उनले चपाएर थुकेको चुइङ्गमलाई एक संस्थाले अनलाइन लिलामी गर्न लागेको छ । जसको मूल्य ४५ लाख रुपैंयाँ राखिएको छ । यो प्राथमिक मूल्य रहेकाले अन्तिम मूल्य तत्कालका लागि तोकिएको छैन ।

ई बेमा यो चुइङ्गम लिलामी हुन लागेको हो । चुइङ्गम लिलामीमा बिक्री हुने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नै किसिमले प्रतिक्रिया दिइरहेका छन् ।

गत फेब्रुअरी १३ मा अभिनेता तथा निर्माता जोन फेवरोको लसएञ्जल्सस्थित डल्वी थिएटरमा ‘हलिउड वक अफ फेम स्टार’को अनावरण गरिएको थियो ।

त्यही बेला निर्माता फेवरोका साथ रोबर्ट डाउनी जुनियर र इन्टरनेसन शेफ रोय चोई पनि उपस्थित थिए । यही बेला रोबर्टले मुखबाट चुइङ्गम निकाल्दै भुइँमा टासिदिएका थिए । यो देखेका एक फ्यानले चुइङ्गमलाई भुइँबाट टिपेर लिलामीका लागि अनलाइनमा राखिदिएका थिए ।

खरिदार र लेखनदास १५ हजार घुससहित पक्राउ

वीरगंज, १९ चैत – भूमि सुधार तथा मालपोत कार्यालय बारामा कार्यरत खरिदार एवं एक जना लेखनदास पक्राउ परेका छन् । उनीहरुलाई १५ हजार घुसको रकमसहित पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुवैलाई पक्राउ गरेको जनाएको छ । मालपोत बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखनदास गौरीशंकर कुशवाहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बाराको कलैयामा स्टिङ अपरेशन सञ्चालन भएको बताए ।

व्यक्तिगत फोन रेकर्ड गरी गोपनीयता हनन गर्ने कानुन सच्चाउन प्रेस युनियनको माग

काठमाडौं, १९ चैत – नेपालको संविधानले प्रदत्त गरेको गोपनीयताको हक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसायले सर्वसाधारणको टेलिफोन कुराकानी रेकर्ड गर्ने गरी सरकारले कानुन संशोधन गर्न लागेकोमा नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ । 

युनियनले आइतबार एक विज्ञप्ति प्रकाशित गरी कानुन बनाएर व्यक्तिको गोपनीयता अतिक्रमण गर्न प्रयास गर्ने कार्य निन्दनीय भएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ को परिच्छेद १२को दफा ७७मा सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच राख्न सक्ने व्यवस्था छ ।  प्रस्तावित विधेयकमा ‘सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच राखेर जुनसुकै व्यक्तिका कुराकानी रेकर्ड गर्ने र उपयुक्त प्रविधिको प्रयोग गरी संयन्त्र जडान गर्न सकिनेछ,’ उल्लेख छ ।

प्रेस युनियनका महासचिव दिलीप पौडेलले विज्ञप्ति प्रकाशित गरी नागरिकको अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको हकलाई कुण्ठित गर्ने मनसायले ल्याउन खोजिएको मस्यौदा विधेयकलाई तत्काल सच्चाउन माग गरेका हुन् । देशको सार्वभौमसत्ता, अखण्डता एवं राष्ट्रिय हितविपरीत तथा राज्यद्रोह, अपराधलगायत गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्नेमा युनियन सहमत रहेको जनाउँदै नागरिकले टेलिफोन, मोबाइल, सामाजिक सञ्जालमा गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने प्रावधान सहितको ऐन संशोधन गर्न खोज्नुले सरकार नागरिकको स्ततन्त्रता कुण्ठित गर्दै गोपनीयताको हकमा हस्तक्षेप गर्न खोजेको जनाएको छ । उपभोक्ताको स्वतन्त्रता, वैयक्तिक गोपनियताको हक लगायत मौलिक हकमा हस्तक्षेप गर्ने कार्य नगर्न युनियनले आग्रह गरेको छ

ट्रकको ठक्करबाट शाखा अधिकृतको पाण्डेको मृत्यु

काठमाडौं, १९ चैत – काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डे रहेका छन् । उनी शाखा अधिकृत हुन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए । 

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगिएकोमा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ ।

उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १९ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उपसचिव वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सर्लाहीको हरिपूर्वा-५ स्थित केश्वर गरिब जनता माविमा अध्यापनरत पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार विशेष अदालत पुगेको हो।

अख्तियारका सहसचिव भोला दाहालका अनुसार सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको रूपमा नियुक्ति पाएका पाँचु राय र प्रधानाध्यापक नारायण प्रसाद बरालले अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधि गरेको आरोपपत्र सहित विशेषमा मुद्दा दायर गरिएको छ। भ्रष्टाचार मुद्धामा डामिएका उपसचिव तिमल्सिना हाल लालबन्दी नगरपालिका,नगरकार्यपालिकाको कार्यालय सर्लाहीको शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत छन्।

नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षक नियुक्त गरेको आरोप अख्तियारको छ। 

ममाथिको कारबाही फुकुवाको निर्णयमा हास्यास्पद : गोविन्दराज जोशी

काठमाडौं, १९ चैत – नेपाली कांग्रेसले कारबाही फुकुवाको निर्णय गरेपछि तनहुँका नेता गोविन्दराज जोशीले आफूलाई उक्त निर्णय मान्य नहुने बताएका छन् । उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवा गर्नुको कुनै औंचित्य नभएको बताएका हुन् ।

‘वर्षौँदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको छ । १०औं हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरिएको छ, यो सरासर गलत छ, यसप्रति मेरो घोर आपत्ति छ,’ जोशीले सामाजिक सन्जालमार्फत भनेका छन् ।

उनले विगतमा पटक-पटक वार्ता टोली नै बनाएर संवादको पहल गर्दा पनि कांग्रेस नेतृत्वले बेवास्ता गरेको भन्दै अहिले आफूसँग कुनै सरसल्लाह नगरी केन्द्रबाट गरिएको निर्णय आफूलाई स्वीकार्य नहुने बताएका छन् ।

‘नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु,’ उनले लेखेका छन्, ‘म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको निर्णयको खण्डन गर्दै सोकाप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले पार्टीमा आफूहरुले लामो समयदेखि आन्दोलन गरिरहेको दाबी गरे । ‘हामीले पदका लागि मात्रै दाबी गरेको होइन, नेपाली कांग्रेस सही बाटोमा आउनुपर्‍यो भन्ने हाम्रो आन्दोलन हो । त्यो कुरा अहिले देखिएको छैन । भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ, आजसम्म मसँग कुनै कुराकानी भएको छैन,’ उनले भनेका छन्, ‘अहिले एक्कासी कारबाही फुकुवा भएको भनेर प्रचार गरिएको छ । यस्तो कुरा हामीलाई स्वीकार छैन, हाम्रो सहमति छैन ।’

निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी

सिरहा, १९ चैत । सिरहालगायत देशैभर सञ्चालनमा रहेको माध्यमिक परीक्षा (एसईई) दिन प्रतिदिन अमार्यादित बन्दै गइरहेको पाइएको छ । १७ चैतबाट देशैभर सञ्चालनमा रहेको एसईईको आइतबार दोस्रो दिनको गणित विषयको परीक्षामा सरोकारवाला निकायसँगको सेटिङमा व्यापक चिट चोरी गराई परीक्षालाई अमर्यादित बनाइएको पाइएको हो ।

निजी विद्यालयले सरोकारवाला निकायसँगको आर्थिक सेटिङमा एसईईमा चिट चोरी गराउने गरेका छन् । जिल्लाकै नाम चलेका निजी विद्यालयहरुले सरोकारवाला सबैलाई आर्थिक प्रभावमा पारेर परीक्षामा चोरी गराएको पाइएको छ । 

जनता माध्यमिक विद्यालय सोनमती गाढा, लहान १९ सेन्टरमा व्यापक मात्रामा चिट भेटिएको छ । आइतबारको गणित विषयको परीक्षा सकिएलगतै पुगेको सञ्चारकर्मीको समूहले कक्षाकोठामा यत्रतत्र फालिएको अवस्थामा चिट फेला पारेको छ । 

यस सम्वन्धमा केन्द्राध्यक्ष अरविन्द कुमार दाससँग प्रतिक्रिया  लिँदा उनले कक्षा कोठामै केही विद्यार्थीले फ्याप बनाएको पाइएको बताए । उनले भने, ‘बाहिरबाट कुनै चिट आएको छैन,  मेयरहरु अनुगमनको क्रममा आएकै बेला दुईजना विद्यार्थीले चिटसमेत तयार पार्दै गरको पाइएको थियो । अहिले उनीहरुलाई मैले नियन्त्रणमा राखेर कारबाही सिफारिस गर्दै छु ।’

केन्द्राध्यक्ष दासले सबैैतिर प्रहरीको निगरानी भएकाले बाहिबाट कुनै चिट आउने सम्भाव नै नभएको बताए । परीक्षा केन्द्रभित्रै शिक्षक प्रयोग चिट बनेको छ ।  यस परीक्षा केन्द्रमा जनता माध्यमिक विद्यालय गोर्छारी, एपालो इंग्लिस बोर्डिङ स्कूल, मनोकामना इंग्लिस बोर्डिङ स्कूल, प्यारागन इंग्लिस बोर्डिङ स्कूल, शारदा आवासीय माध्यमिक विद्यालय, मोडर्न आदर्श स्कूल र नेशनल एकेडेमीको परीक्षा केन्द्र रहेको छ । 
यहाँ जम्मा २२४ विद्यार्थीले परीक्षा दिइरहेका छन् । ६ वटा कक्षा कोठा प्रयोग गरेर लिइरहेको परीक्षामा ११ जना गार्ड प्रयोग गरिएको केन्द्राध्यक्ष दासले जानकारी दिए । 

त्यसैगरी, सिरहाको नरहा–४ स्थित जनता वनबाली उच्च माध्यमिक विद्यालय बर्छबाको परीक्षा केन्द्रमा पनि केन्द्राध्यक्ष राम ईश्वर यादवले बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई आफैँले मोबाइल दिने गरेको पाइएको छ । सिरहा प्रशासनले एसईई परीक्षालाई मर्यादित बनाउन मोबाइल प्रवेश निषेध गरिए पनि जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा निजी विद्यालयको आर्थिक सेटिङमा मोबाइलको माध्यमबाट चिट चोरी भएको छ । 

सो केन्द्रमा जिल्लामा नाम चलेका निजी विद्यालयहरु सिरहा पब्लिक, बुढा निलकण्ठ, बालविकास आवासीय माध्यामिक विद्यालय, द डायनामिक सेकेन्ड्री इ.वोर्डिङ स्कुल र दुई सामुदायिक विद्यालयको परीप्क्षा सेन्टर रहेको जनाइएको छ । 

यो दुई विद्यालय मात्र नभई गोलबजार ८ स्थितको जनता माध्यमिक विद्यालय चोहर्वा ,जनता माध्यमिक विद्यालय गोलबजार नपा ९ डण्डा , सरस्वती माध्यमिक विद्यालय जम्दह, नमुना माध्यमिक विद्यालय गोलजार–४ लगायतका परीक्षा केन्द्रहरुमा पनि व्यापक चोरी भएको पाइएको छ । यी सबै परीक्षा केन्द्रहरुबाट परीक्षा सुरु भएको ५ मिनेट नबित्दै प्रश्नपत्र बाहिरिएको थियो । जमावि चोहर्वामा परीक्षा सुरु गरेको ५ मिनेटनमै मोबाइलको माध्यमबाट प्रश्नपत्र आउट भएको हुन सक्ने एकजना शिक्षकले बताए । उनले भन्ने, ‘निजी विद्यालयहरुले केन्द्राध्यक्षको सेटिङमा मोबाइल र फल्याप समेत चलाउने गरेकोले यसमा निजी विद्यालयभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु मारमा परेका छन् । 

प्रश्नपत्र आउट भएको सूचना पाएलगतै केन्द्राध्यक्षले परीक्षा हलभित्रै सर्च गरेपछि परीक्षार्थीबाट  चारवटाभन्दा बढी मोबाइल बरामद गरेका थिए । 
यता जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामवृक्ष महतोले मोबाइल र फल्यापबारे जानकारी नआएको र सो विषयमा बुझने प्रयास गरिरहेको छु ।  उनले भने, ‘निरीक्षणको समयमा हामीले कुनै विद्यालयमा फल्याप पाएनौँ, पाइए काडा कारबाही गर्ने छौँ ।’ 

योवर्ष ४० वटा परीक्षा केन्द्रहरुमा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी १७१ विद्यालयबाट चार हजार ६९२ छात्रा र पाँच हजार ४५८ छात्रसहित १० हजार ६५० विद्यार्थी सहभागी भएका छन् । जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट ३४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।


 

राजेन्द्र महतोले भने – बारा–२ मा मेरो उम्मेदवारी पर्दैन, उपेन्द्र यादवलाई समर्थन हुन्छ

काठमाडौं, १९ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् ।

उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए । 

‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले न्युज कारखानासँग भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’ 

आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदै छ । 
 

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

काठमाडौं, १९ चैत – प्रतिनिधिसभा नियमावली मस्यौदा २०७९  पारित भएको छ । मस्यौदा समिति सदस्य रमेश लेखकले पेश गरेको मस्यौदा प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।

सत्तारुढ दलले सभामुखलाई कस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित राख्ने संशोधन प्रस्ताव फिर्ता लिएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत दलका सांसदले सभामुखको अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउने प्रस्ताव राखेका थिए ।

प्रतिनिधिसभा नियमावली बनाउन राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको नेतृत्वमा समिति गठन भएको थियो । नियमावली पारित भएसँगै संसदीय समिति गठन प्रक्रियाको बाटो खुलेको छ ।

चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज

काठमाडौं, १९ चैत । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा यस् फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन |

चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कार हरु दिएर प्रचार गर्ने चलन बढ्दो छ | यस्तै “बहाव” सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्ड को प्याकेज टुरको पुरस्कार राखेका छन | केही दिन अगाडी चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो |

पुरस्कार जित्न योग्य हुनका निम्ति बहाब चलचित्र को टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ | खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ | नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ | खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली ब्यक्तीले एम डि होलिडेज को तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन |

साथै खल्ती एपबाट टिकेट काट्दा  Promocode : BAHAAB प्रयोग गरेर १०% सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने छन | सिनेमा प्रमोशन मा जोडिन पाएकोमा फिल्म बहाब को टिमलाई धन्यवाद दिदै बिजेतालाई उत्कृस्ट सेवा प्रदान गर्न आफुहरु उत्सुक रहेको एम डि होलिडेजकि प्रमुख प्रतिनिधि बिनिता त्वयना ले बताउनु भयो । यस पुरस्कार सँग जोडीएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै,” खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खक्ती एप मार्फत फिल्म हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठुलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिइन |

खल्ती एक नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो । यसले विभिन्न बिल भुक्तानीहरू, मोबाइल रिचार्जहरू, मनी ट्रान्सफरहरू, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्दछ भने एम डि ट्राभल्स बिगत ६ वर्ष देखि ट्राभल प्याकेजहरु उपलब्ध गरिरहेको एक IATA लाइसेन्स प्राप्त संस्था हो जसका प्रबन्ध निर्देशक लिला बहादुर लामा हुन | दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोशनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ |

बिबादस्पद कानुनको बिरोधमा इजरायलको तेलअभिभमा लाखौं मानिस सडकमा

काठमाडौं, १९ चैत । सरकारले ल्याउन खोजेको एक विवादास्पद कानूनको विरुद्ध र सो कानुनको  बिपक्षमा उभिएका रक्षामन्त्रीको राजिनामा पछि इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा भईरहेको विरोध बढेर बिशाल प्रदर्शंनमा देखिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला दिनका आन्दोलनमा १ लाख ५० हजार भन्दा बढी नागरिक प्रदर्शनमा निरन्तर सहभागी भईरहेका छन् ।

सरकारको सो कदम बिरुद्धको प्रदर्शनमा विपक्षी दल तथा सामाजिक र राजनीतिक अभियन्ताहरूले नेतृत्व गरिरहेका छन् । प्रदर्शनकै क्रममा हालसम्म इजरायली सरकारले २७  जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 

भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहुले न्यायपालिका कमजोर हुने गरी कानूनी संशोधनको तयारी गर्नु गलत भएको बिपक्षीको आरोप छ । बिपक्षी दलले भ्रष्टचारको आरोपी नेताले कानुन परिमार्जन गर्नु गलत भएको भन्दै उठाएको आवाजलाई समर्थन गर्दै नागरिकहरु विरोधमा निरन्तर आउन थालेका छन, जसका कारण त्यहाँको शहर तेल अभिभको दैनिकी बिग्रन पुगेको छ ।

गत सोमबार प्रधानमन्त्री नेतान्याहुले संसदमा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो ।

रुसले सुरक्षा परिषदको अध्यक्षता गरेपछि अन्तर्राष्ट्रिय अदालतको पक्राउ पुर्जीको हैसियतमा प्रश्न 

काठमाडौं, १९ चैत ।  रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता पाएको छ।

युक्रेनले सदस्य राष्ट्रहरुलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे पनि त्यो सफल भएन्, सदस्य देशकाे पालाे अनुसार रुसले सुरक्षा परिषदको अध्यक्षता ग्रहण गरेको छ ।  

रुसले सुरक्षा परिषदको अध्यक्षता गरे पछि युद्धग्रस्त युक्रेनले भने आपत्ति जनाउँदै कडा प्रतिक्रिया दिएको छ। युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षमा रुस आउनु भनेको अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड हानेकाे जनाएका छन् ।

उनले भने, ‘युक्रेन सुरक्षा परिषद्का वर्तमान सदस्यहरूलाई रुसले राष्ट्रपति पदको दुरुपयोग गर्ने कुनै पनि प्रयासलाई अनुमति नदिन आग्रह गर्दछ । यो पदमा रूस चयन हुनु गैरकानुनी हो।’

संयुक्त राष्ट्र सुरक्षा परिषद्का सबै १५ सदस्यले पालैपालो एक महिनाको लागि परिषद्को अध्यक्षता पाउने क्रममा रुसले यो पटक अध्यक्षता पाएको हो । तर, पालो अनुसार पाउने अध्यक्षता पनि रुसलाई गर्न दिएकोमा युक्रेनले भने आपत्ति जनाएको हाे ।

यसअघि रुसले सन् २०२२ को फेब्रुअरीमा अध्यक्षता ग्रहण गरेको थियो, सोही अध्यक्षता कायम रहेको समयमा रुसले साेही फेब्रुअरीमा नै युक्रेनमा आक्रमण सुरु गरेको थियो।

उता, सुरक्षा परिषद्को नेतृत्व रुसले गरे पछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध जारी गरेको पक्राउ पुर्जीको हैसियतका बारेमा भने टिका टिप्पणी सुरु भएको छ ।

राष्ट्र संघीय सुरक्षा परिषदको अध्यक्षता त्यही देशको राष्ट्रपतिले गरेका छन, जुन देशको राष्ट्रपतिलाई कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । रुसले अध्यक्षता ग्रहण गरे पछि सो पक्राउ पुर्जी औचित्यहिन भएको रुसी अन्तर्राष्ट्रिय बिश्लेषकहरुले जनाएका छन् । रूसले त्यस पुर्जीलाइ हास्यास्पद भन्दै अाएकाे छ । 
 

सिमरा गोल्ड कपको उपाधी चर्च ब्वाईजलाई 

बारा, १९ चैत । सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ।शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो । 

बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर पारे । जुन गोल नै चर्चलाई सिमरा गोल्डकपमा प्रवेश गरेको पहिलो पटक नै उपाधी जीतका लागि काफी भयो । 

उता, सो खेलको छैटौँ मिनेटमा नै हिमालयन शेर्पा दश खेलाडीमा सिमित हुन परेको थियो । शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर दिनेश उराव रातो कार्ड पाएर बाहिरिएका थिए । खेलको सुरुवाती देखी नै १० खेलाडी सिमित हिमालय शेर्पा उपाधी जीत्न नसकेर दोस्रो हुनु परेको छ । 

उपाधिसंगै चर्च ब्वाइजले दश लाख नगद र उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। विधागत पुरस्कारतर्फ पनि जितपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्बाईजकै वर्चस्व रह्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ, उत्कृष्ट गोलरक्षक चर्चका प्रिसो, डिफेण्डर फ्र्यांकलिन टाला, मिड फिल्डर सुवास गुरुङ र सर्वोत्कृष्ट प्रशिक्षककाे उपाधी प्रदीप हुमागाईंले पाउन सफल भए ।

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ८० हजार कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्याइएको छ  भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा चैत २२ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ । कम्पनीका अनुसार उक्त अवधिसम्म सबै सेयर बिक्री नभए २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ ।

यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ ।
 

डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ?

काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

शुक्रबार स्थिर रहेको अमेरिकी डलर आज २८ पैसाले घटेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ५ पैसामा कारोबार भएको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा २८ पैसाले घटेको हो । शुक्रबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ७० पैसा कायम गरिएको थियो। 

आइतबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा १६ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ३८ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ १२ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रुपैयाँ २८ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४४ पैसा पाइन्छ भने आइतबार बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५० पैसा तोकिएको छ।
 

मध्यनेपालका तिन क्याम्पसमा अझै हुन सकेन स्ववियु निर्वाचन

लमजुङ १९ चैत ।  लमजुङको मध्यनेपाल नगरपालिकास्थित ३ वटा क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनले नेतृत्व पाउन सकेको छैन ।

चैत ५ गतेको लागि चुनाव तोकिएको ती क्याम्पसहरुमा राजनीतिक दलबीचको सहमतिलाई विद्यार्थी संघसंगठनले नमान्दा स्ववियु गठन प्रक्रिया अनिश्चित बनेको छ । 

मध्यनेपाल नगरपालिकामा रहेको ३ वटा क्याम्पसमा राजनीतिक दलबीच मध्यनेपाल नगरपालिका ६, भोर्लेटारमा रहेको ईशानेश्वर क्याम्पसको नेतृत्वमा एमाले भातृसंगठन अनेरास्ववियुको नेतृत्व, वडा नं. ४, दुइपिप्लेस्थित पुष्पलता जनएकता क्याम्पसको नेतृत्वमा कांग्रेस भातृसंगठन नेविसंघको नेतृत्व र वडा नं. ३, सोतीपसलस्थित मंगला क्याम्पसको नेतृत्वमा माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा स्ववियु गठन गर्ने सहमति भएको थियो । 

चैत ५ गतेको निर्वाचन रोक्न अघिल्लो दिन नै पत्र लेखेकोमा विद्यार्थीबीच सहमति नजुट्दा स्ववियु गठन प्रक्रिया नै अन्यौल बनेको छ ।

ईशानेश्वर र पुष्पलतामा समस्या नदेखिए पनि मंगलामा समस्या देखिएको छ । विद्यार्थी संगठनबीच मंगलमा सभापतिमा नेविसंघ, उपसभापतिमा अनेरास्ववियु क्रान्तिकारी, सचिवमा नेविसंघ र सहसचिवमा अनेरास्ववियुबीच सहमति भइसकेको अवस्थामा राजनीतिक दलबीचको सहमतिले सभापति अनेरास्ववियु क्रान्तिकारीको भागमा पारेपछि विवाद बढेको हो ।

निर्वाचन अधिकृत उदय कँडेलका अनुसार राजनीतिक दल र विद्यार्थी संगठनले सहमति गर्ने भने पनि हालसम्म सहमति हुन सकेको छैन । उक्त क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका एकजना मात्रै विद्यार्थी रहेको र यसअघि नै सहमति भइसकेको अवस्थामा अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व स्वीकार्न नेविसंघका विद्यार्थी तयार छैनन् । मनोनयन भने नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संगै गरेको र अनेरास्ववियुले भने एकल गरेका थिए ।

पुष्पलता क्याम्पसका निर्वाचन अधिकृत टीकाराम अधिकारीले संगठन दर्ता भएपनि सहमति गर्ने भनेपछि नोमिनेशन नै दर्ता नभएको बताए । बाहिरै सहमति गर्ने भनेर भनेकोमा अहिलेसम्म कुनै सहमति लिएर नआउँदा निर्वाचन प्रक्रिया नै अनिश्चित बनेको उनले बताए । विद्यार्थीहरु सहमति गर्छु भनेर गएका कारण उम्मेदवारी दर्खास्त नै नहालेको जनाउँदै उनले भने त्यसपछि सहमति लिएर विद्यार्थी नफर्केको उनले बताए  ।

उता, ईशानेश्वर क्याम्पसका निर्वाचन अधिकृत प्रदीपराज घिमिरेले सहमति गरिएको भनिए पनि विद्यार्थीले यसको ठोस निर्णय ल्याउन नसकेको बताए  ।  मतदान गर्ने बेलामा सहमति गर्छु भनेपछि मतदान कार्य स्थगित गरेकोमा अहिलेसम्म सहमति लिएर कोही पनि नआएको उनले बताए  । अनेरास्ववियु क्रान्तिकारी मध्यनेपाल नगरपालिका अध्यष सुरेश लामिछानेले राजनीतिक दलबीचको सहमतिलाई नेविसंघले नमान्दा समस्या आएको बताए । 

उनले निर्वाचन प्रक्रिया रोकिएको र त्यसपछि कसैले यसबारे पहल पनि नगरेको बताए ।
 

उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ

चैत । उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन् ।

बिरामी उद्धार देखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्ला स्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भएको बताएका हुन । जिल्ला प्रशासन कार्यालय देखि जिल्ला प्रहरी हुँदै पहुँचवाला कार्यालयका कर्मचारीहरु हेलिकाेप्टरमा हालिमुहाली हुँदै आएपछि पीडित अन्यायमा परेका छन भने राज्य माथी अार्थिक भार थपिन पुगेकाे छ ।  

पर्यटकलाई उद्धार देखि सुत्केरी उद्धारसम्मका कामहरुमा हेलिकोप्टर लिदा कर्मचारीहरु घुम्न सोही हेलिकोप्टरमा जाँदा बढी महंगो हुने गरेको पीडितको भनाई छ । जनताले लगानीमा उडाएको हेलिकोप्टरमा कर्मचारीको रजाइँ हुदा हेलिकोप्टरको उडान समय बढी हुने गरेको छ । 

जती समय बढी खर्च भयो, उत्ती नै खर्च बढी आउने भएपछि आफूहरु मर्कामा परेको उपल्लो डोल्पा स्थित डोल्पोबुद्ध गाउँपालिका –३ का खाम्पा छुल्डीम गुरुङले बताए । उपल्लो डोल्पाको डोल्पोबुद्ध, शे फोक्सुण्डोमा हलिकोप्टर उडाउन शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले दिने गर्दछ । छार्काताङसोङ , ठुलिभेरी ,त्रिपुरासुन्दरी लगाएतका क्षेत्रमा हेलिकोप्टर उडाउन जिल्ला प्रशासन कार्यालयले दिने गर्दछ ।

निकुन्ज एरिया भित्र हेलिकोप्टर उडाउदा निकुन्ज भित्रको सेनालाई लिएर उडान भर्नुपर्ने भए पनि त्यसमा समेत अन्य कर्मचारी कै हालिमुहाली हुने गरेको छ । बिपद तथा समस्यामा परेका सर्वसाधारणले लिने हेलिकोप्टरमा कर्मचारीले घुम्न खोज्दा खर्चसमेत बढी आउदा स्थानीयबासीहरु आर्थिक मारमा परेका छन् । 

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आफूसम्म केही गुनासो आएको बताए । अब आउने हेलिकोप्टरमा आफूले समन्वय गरेर कसैलाई पनि मर्का नपर्ने गरी काम गर्ने बताए ।

यत्ता निकुन्जका प्रमुख लालबहादुर भण्डारीले निकुन्जले कुनै असहयोग नगरेको बताए । निकुन्ज क्षेत्र भित्र हेलिकोप्टर लिदा सुरक्षाकर्मी लिनुपर्ने भएपनि अहिलेसम्म त्यो काम भने हुन नसकेको उनकाे भनाइ छ ।

आज हरियो तरकारी तथा फलफुलको मूल्य यस्तो रहेको छ

काठमाडौ, १९ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४००रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, लोकल परवर र न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ९० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा ३६० रुपैयाँ साथै मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।