`

मध्यनेपालका तिन क्याम्पसमा अझै हुन सकेन स्ववियु निर्वाचन

लमजुङ १९ चैत ।  लमजुङको मध्यनेपाल नगरपालिकास्थित ३ वटा क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनले नेतृत्व पाउन सकेको छैन ।

चैत ५ गतेको लागि चुनाव तोकिएको ती क्याम्पसहरुमा राजनीतिक दलबीचको सहमतिलाई विद्यार्थी संघसंगठनले नमान्दा स्ववियु गठन प्रक्रिया अनिश्चित बनेको छ । 

मध्यनेपाल नगरपालिकामा रहेको ३ वटा क्याम्पसमा राजनीतिक दलबीच मध्यनेपाल नगरपालिका ६, भोर्लेटारमा रहेको ईशानेश्वर क्याम्पसको नेतृत्वमा एमाले भातृसंगठन अनेरास्ववियुको नेतृत्व, वडा नं. ४, दुइपिप्लेस्थित पुष्पलता जनएकता क्याम्पसको नेतृत्वमा कांग्रेस भातृसंगठन नेविसंघको नेतृत्व र वडा नं. ३, सोतीपसलस्थित मंगला क्याम्पसको नेतृत्वमा माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा स्ववियु गठन गर्ने सहमति भएको थियो । 

चैत ५ गतेको निर्वाचन रोक्न अघिल्लो दिन नै पत्र लेखेकोमा विद्यार्थीबीच सहमति नजुट्दा स्ववियु गठन प्रक्रिया नै अन्यौल बनेको छ ।

ईशानेश्वर र पुष्पलतामा समस्या नदेखिए पनि मंगलामा समस्या देखिएको छ । विद्यार्थी संगठनबीच मंगलमा सभापतिमा नेविसंघ, उपसभापतिमा अनेरास्ववियु क्रान्तिकारी, सचिवमा नेविसंघ र सहसचिवमा अनेरास्ववियुबीच सहमति भइसकेको अवस्थामा राजनीतिक दलबीचको सहमतिले सभापति अनेरास्ववियु क्रान्तिकारीको भागमा पारेपछि विवाद बढेको हो ।

निर्वाचन अधिकृत उदय कँडेलका अनुसार राजनीतिक दल र विद्यार्थी संगठनले सहमति गर्ने भने पनि हालसम्म सहमति हुन सकेको छैन । उक्त क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका एकजना मात्रै विद्यार्थी रहेको र यसअघि नै सहमति भइसकेको अवस्थामा अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व स्वीकार्न नेविसंघका विद्यार्थी तयार छैनन् । मनोनयन भने नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संगै गरेको र अनेरास्ववियुले भने एकल गरेका थिए ।

पुष्पलता क्याम्पसका निर्वाचन अधिकृत टीकाराम अधिकारीले संगठन दर्ता भएपनि सहमति गर्ने भनेपछि नोमिनेशन नै दर्ता नभएको बताए । बाहिरै सहमति गर्ने भनेर भनेकोमा अहिलेसम्म कुनै सहमति लिएर नआउँदा निर्वाचन प्रक्रिया नै अनिश्चित बनेको उनले बताए । विद्यार्थीहरु सहमति गर्छु भनेर गएका कारण उम्मेदवारी दर्खास्त नै नहालेको जनाउँदै उनले भने त्यसपछि सहमति लिएर विद्यार्थी नफर्केको उनले बताए  ।

उता, ईशानेश्वर क्याम्पसका निर्वाचन अधिकृत प्रदीपराज घिमिरेले सहमति गरिएको भनिए पनि विद्यार्थीले यसको ठोस निर्णय ल्याउन नसकेको बताए  ।  मतदान गर्ने बेलामा सहमति गर्छु भनेपछि मतदान कार्य स्थगित गरेकोमा अहिलेसम्म सहमति लिएर कोही पनि नआएको उनले बताए  । अनेरास्ववियु क्रान्तिकारी मध्यनेपाल नगरपालिका अध्यष सुरेश लामिछानेले राजनीतिक दलबीचको सहमतिलाई नेविसंघले नमान्दा समस्या आएको बताए । 

उनले निर्वाचन प्रक्रिया रोकिएको र त्यसपछि कसैले यसबारे पहल पनि नगरेको बताए ।
 

उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ

चैत । उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन् ।

बिरामी उद्धार देखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्ला स्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भएको बताएका हुन । जिल्ला प्रशासन कार्यालय देखि जिल्ला प्रहरी हुँदै पहुँचवाला कार्यालयका कर्मचारीहरु हेलिकाेप्टरमा हालिमुहाली हुँदै आएपछि पीडित अन्यायमा परेका छन भने राज्य माथी अार्थिक भार थपिन पुगेकाे छ ।  

पर्यटकलाई उद्धार देखि सुत्केरी उद्धारसम्मका कामहरुमा हेलिकोप्टर लिदा कर्मचारीहरु घुम्न सोही हेलिकोप्टरमा जाँदा बढी महंगो हुने गरेको पीडितको भनाई छ । जनताले लगानीमा उडाएको हेलिकोप्टरमा कर्मचारीको रजाइँ हुदा हेलिकोप्टरको उडान समय बढी हुने गरेको छ । 

जती समय बढी खर्च भयो, उत्ती नै खर्च बढी आउने भएपछि आफूहरु मर्कामा परेको उपल्लो डोल्पा स्थित डोल्पोबुद्ध गाउँपालिका –३ का खाम्पा छुल्डीम गुरुङले बताए । उपल्लो डोल्पाको डोल्पोबुद्ध, शे फोक्सुण्डोमा हलिकोप्टर उडाउन शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले दिने गर्दछ । छार्काताङसोङ , ठुलिभेरी ,त्रिपुरासुन्दरी लगाएतका क्षेत्रमा हेलिकोप्टर उडाउन जिल्ला प्रशासन कार्यालयले दिने गर्दछ ।

निकुन्ज एरिया भित्र हेलिकोप्टर उडाउदा निकुन्ज भित्रको सेनालाई लिएर उडान भर्नुपर्ने भए पनि त्यसमा समेत अन्य कर्मचारी कै हालिमुहाली हुने गरेको छ । बिपद तथा समस्यामा परेका सर्वसाधारणले लिने हेलिकोप्टरमा कर्मचारीले घुम्न खोज्दा खर्चसमेत बढी आउदा स्थानीयबासीहरु आर्थिक मारमा परेका छन् । 

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आफूसम्म केही गुनासो आएको बताए । अब आउने हेलिकोप्टरमा आफूले समन्वय गरेर कसैलाई पनि मर्का नपर्ने गरी काम गर्ने बताए ।

यत्ता निकुन्जका प्रमुख लालबहादुर भण्डारीले निकुन्जले कुनै असहयोग नगरेको बताए । निकुन्ज क्षेत्र भित्र हेलिकोप्टर लिदा सुरक्षाकर्मी लिनुपर्ने भएपनि अहिलेसम्म त्यो काम भने हुन नसकेको उनकाे भनाइ छ ।

आज हरियो तरकारी तथा फलफुलको मूल्य यस्तो रहेको छ

काठमाडौ, १९ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४००रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, लोकल परवर र न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ९० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा ३६० रुपैयाँ साथै मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

खराब प्रदर्शनका कारण चेल्सी एक स्थान तल झरयो

काठमाडौं, १९ चैत  । चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ ।

प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो । 

चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा बिजयी भिल्लाका लागि ओली वाट्किन्सले पहिलो हाफको १८औं मिनेटमा तथा दोस्रो हाफमा जोन म्याकगिनले ५६औं मिनेटमा गोल गरेका थिए । सो पराजयसँगै चेल्सी एक स्थान तल झरेको छ । 

जसअनुसार २८ खेलबाट ३८ अंकसहित चेल्सी ११औं स्थानमा झरेको छ भने चेल्सीलाई पराजितगरे पछि एस्टन भिल्ला समान खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ ।
 

के अर्थमन्त्री महतले अर्थतन्त्र ट्रयाकमा ल्याउन सक्लान् ?

काठमाडौं – राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ। बजारमा पैसा अभाव छ। व्यापार घाटा ९ खर्ब ५३ अर्ब रूपैयाँ पुगेको छ। उत्पादन र उपभोग घट्दा बजार चक्र प्रभावित छ। व्यवसायीको मनोबल खस्किएको छ।

घरजग्गाको कारोबार शिथिल छ। वित्तीय संस्थाप्रतिको विश्वास घटिरहेको छ। सार्वजनिक ऋण बढिरहेको छ। मुद्रास्फिीति ७।८८ प्रतिशत पुगेको छ। सेयर बजार खस्किएको छ। आर्थिक वृद्धिको लक्ष्य निराशाजनक छ। मुलुकको अर्थतन्त्र मन्दीतर्फ उन्मुख छ।

यी चुनौतीबीच नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन्। यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका महत अर्थतन्त्रलाई ट्र्याकमा ल्याउनुपर्ने दबाबमा छन्। अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महतसँग राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको अनुभव छ।

अर्थतन्त्रका बाह्य सूचक सन्तोषजनक रहे पनि आन्तरिक पक्ष अप्ठेरोमा रहेका बेला आम रूपमा आशा जगाएर अर्थतन्त्रका सूचकमा सुधार ल्याउन सक्छन् कि सक्दैनन् महतको अग्निपरीक्षा सुरु भएको छ। राजस्व बढाउने, निजी क्षेत्रको विश्वास जितेर आशा जगाउने, वित्तीय संस्थाप्रति विश्वास बढाउने, पुँजीगत खर्च बढाउने, ब्याजदर घटाउने, अन्तर्राष्ट्रिय दातृ निकायलाई विश्वासमा ल्याउने, मुद्रास्फिीति घटाउने, आर्थिक वृद्धिदर बढाउने जिम्मेवारी महतको काँधमा आएको छ।

सार्वजनिक वित्तको सन्तुलन कायम गर्नुपर्ने छ। त्यसैगरी आन्तरिक उत्पादन बढाउने, व्यापार घाटा घटाउने, विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रको विश्वास जितेर उत्साहित पार्नुपर्ने दायित्व महतमा छ। अर्थमन्त्री हुनासाथ महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अर्थतन्त्रलाई कसरी ट्र्याकमा ल्याउन सकिन्छ भनेर छलफल गरेका छन्।

नेकपा एमाले नेतृत्वको सरकार हुँदा नियुक्त भएका गभर्नर अधिकारीलाई विश्वासमा लिएर काम गर्नुपर्ने दबाब उनीमाथि छ। उनले निजी क्षेत्रका छाता संस्थाका अध्यक्षलाई फोन गरेर सहकार्य गर्ने सन्देश दिएका छन्। त्यतिले मात्र निजी क्षेत्रको मनोबल बढ्ने अवस्था छैन। अबको अर्थतन्त्रको स्थिति सरकारले लिने आर्थिक नीतिमा भर पर्छ। त्यसका लागि अर्थ मन्त्रालयको मात्र होइन, नेपाल राष्ट्र बैंकको पनि महत्वपूर्ण भूमिका हुन्छ । यो समाचार नागरिक दैनिका छ ।

स्पेनिश लिगमा बार्सिलोनाको सहज जीत 

काठमाडौं, १९ चैत । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

स्पेनिश लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो । 

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक एक गोल गरे पछि बार्सिलोनाले सानदार जीत निकाल्न सफल भएको हो ।  

इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको ५६औं मिनेटमा  फेरान टोरेसको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसको १० मिनेट पछाडी अर्थात ६६औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । र, ७०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए । 

यस जितसँगै बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शिर्ष स्थानमा छ भने पराजित इल्चे १३ अंक जोडेर रेलिगेसनको पुछारमा छ । 

युनाइटेड माथी आर्सनलको ४–१ को सानदार जीत, प्रिमियम लिगमा आर्सनलको शिर्षता कायमै

काठमाडौं, १९ चैत । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ ।

आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४–१ को सानदार जित दर्ता गर्दै शिर्षस्थान कायमै राखेको हाे ।

इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ३५औं मिनेटमा जेससको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । गाब्रिएल मार्टिनेलीको पासलाई सदुपयोग गर्दै ४७औं मिनेटमा बेन ह्वाइटले आर्सनलको पहिलाे हाफमा नै अग्रतालाई दोब्बर पारे । 

पहिलो हाफमा दोब्बर अग्रताले अघि बढेको आर्सनल दोस्रो हाफको ५५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनललाई सहज जिततर्फ अग्रसर गराए । तर, ७६औं मिनेटमा युनाईटेडका रसमुसले गोल गर्दै खेललाई ३–१ ले स्थितिमा ल्याए पनि खेल सकिनु केही समय अघि अर्थात ८४औं मिनेटमा ग्रानिट झाँकाले मार्टिन ओडेगार्डको पासमा गोल गदै आर्सनललाई ४–१ को सानदार जित दिलाउन सफल भए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अंककै अग्रता कायमै राख्न सफल भएको छ । जसअनुसार आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको आर्सनललाई पछयाउँदै ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित लिड्स भने २६ अंक जोडेर १६औं स्थानमा छ ।
 

घरेलु मैदानमा लिभरपुल माथी म्यान्चेस्टर माथी फराकिलो जीत

काठमाडौं, १९ चैत । म्यानचेस्टर सिटीले लिभरपुुलविरूद्ध सानदार जित दर्ता हासिल गरेको छ ।इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुल बिरुद्ध ४–१ को एक पक्षीय जीत हासिल गरेको हो ।

घरेलु मैदानमा सिटी बिरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए तर तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो।  जुन बराबरीका लागि सिटीका जुलियन अल्भारेजले  २७ औं मिनेटमा गोल गरेका थिए । 

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरुवातीमा ४६ औँ मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गरयो। त्यसपछि खेलको ५३ औँ मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि ३–१ ले अघि बढ्यो।  र, अग्रतालाई कायम राख्दै अघि बढेको सिटीले ७४ औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फराकिलो जित दर्ता गर्यो। 

यो जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत छ। तर उसले यो जीतवाट ६९ अंकसहितको शिर्ष स्थानमा रहेको आर्सनलमाथि भने दबाब थपेको छ ।

संघीय निजामती सेवा ऐन ७ वर्षदेखि आउन सकेन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुकको स्थायी सरकार हाँक्ने प्रशासन कानुन चालु अधिवेशनबाटै ल्याउने प्रतिवद्धता जनाए पनि आम कर्मचारीवृत्त भने आश्वस्त हुन सकेको छैन । संविधान जारी भएलगत्तै आउनुपर्ने संघीय निजामती सेवा ऐन ७ वर्षदेखि आउन सकेको छैन ।

जसका कारण स्थायी सरकार भनेर चिनिने निजामती प्रशासन पुरानै कानुनबाट सञ्चालन हुन बाध्य छ । अहिलेको प्रशासन ३० वर्षअघि बनेको निजामती सेवा ऐन र नियमावलीका आधारमा चलिरहेको छ जुन संघीय शासन प्रणालीको मर्मविपरीत छ ।

यसो त यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विभिन्न कार्यक्रममा मन्तव्य व्यक्त गर्दै धेरैपटक संघीय निजामती सेवा ऐन ल्याउने वचन दिएका थिए। झण्डै डेढ वर्ष शासन सञ्चालन गरेका देउवा वचन गरेअनुसार संघीय निजामती सेवा ऐन ल्याउन असफल भएका थिए ।

त्यसअघि ३ वर्ष शासन सञ्चालन गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय निजामती सेवा ऐन आवश्यक भएको भन्दै छिटो ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभए पनि ऐन ल्याउन भने उनी पनि असफल नै रहे ।

यद्यपि, संघीय निजामती सेवा ऐन ल्याउन प्रमुख भूमिका खेल्ने तालुक मन्त्रालय भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो । यो मन्त्रालयको मुख्य काम नै संघीय निजामती सेवा ऐन ल्याउनु भएपनि विगत सात वर्षको अवधिमा मन्त्रालयको प्रमुख जिम्मेवारीमा आएका ६ मन्त्रीहरू सो जिम्मेवारी पूरा गर्न असफल भए ।

त्यस अवधिमा लालबाबु पण्डित, हृदेश त्रिपाठी, गणेशसिंह ठगुन्ना, गणेश पहाडी, लीला श्रेष्ठ र राजेन्द्र श्रेष्ठ मन्त्री बने पनि उनीहरूको पालामा पनि संघीय निजामती सेवा ऐन जारी हुन सकेन ।

यद्यपि गणेश ठगुन्ना, गणेश पहाडी र लीला श्रेष्ठ भने छोटो समयका लागि मात्रै मन्त्री बन्न पाएका थिए । पण्डित, त्रिपाठी र राजेन्द्र श्रेष्ठले लामै अवधि मन्त्री खाए पनि उनीहरू पनि ऐन जारी गराउन सफल भएनन्। यो समाचार नेपाल समाचापत्र दैनिकमा छ ।

घटेर आयो डिजेल, पेट्रोलको मूल्य

काठमाडौँ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले १५र१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घद्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको जनाइएको छ ।

हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपियाँ नाफा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बैङ्किङ क्षेत्रमा देखिएको मन्दी र समस्याका कारण कच्चा तेलको खपतमा कमी आएको र त्यसले मूल्यमा गिरावट ल्याउँदै आएको छ ।

खपत कम हुनुले गर्दा पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमको भनाइ छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सभामुखको विशेषाधिकार कटौतीको प्रस्तावबाट सत्ता गठबन्धन ब्याक

काठमाडौँ । सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ । शनिबार सभामुख देवराज घिमिरेको आह्वानमा भएको छलफलमा सभामुखले सदनका कामकारबाही कार्यव्यवस्था समितिको नियमित परामर्शका आधारमा गर्ने सहमति भएपछि नियमावलीको गाँठो फुकेको हो । सत्तारूढ दलबाट सभामुखको कामकारबाही समितिको निर्णयबाट मात्र हुनुपर्ने संशोधन दर्ता भएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो ।

सत्तारूढ दलको प्रस्तावले सभामुखको विशेषाधिकारमा समेत अङ्कुश लाग्न लागेको भन्दै विपक्षी दल र पूर्वसभामुखहरूले समेत आपत्ति जनाएका थिए । संसदीय मान्यता र स्थापित अभ्यासविपरीत अधिकार कटौतीको प्रस्ताव भएको भन्दै नियमावली पारितको प्रक्रिया रोकिएको थियो । दलीय सहमतिसँगै आइतबारको बैठकमा नियमावली पारित गर्ने सहमति भएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारितको प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची तय भएको छ । “नियमावलीका विषयमा एकप्रकारको सहमति भएको छ । सचिवालयले सम्भावित कार्यसूचीमा प्रकाशन गरेको छ । सकेसम्म भोलि नै नियमावली पारितको तयारी छ,” गिरीले भने ।

मुख्य विवादित बनेको संशोधनलाई भाषा मिलाएर स्वीकार गर्ने राजनीतिक रूपमा सहमति भएको नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए । गिरीले भने, “पेचिलो रहेको नियम १३ को संशोधन (सभामुखको अधिकारबारे)मा भाषा मिलाएर अघि बढ्ने कुरा भयो । सभामुखले निर्णयका आधारमा हैन, अधिवेशन चालु भएका बेला नियमित परामर्शमा र नभएको अवस्थामा आवश्यकताअनुसार परामर्शमा अघि बढ्ने भन्ने शब्दावली राखेर अघि बढ्ने सहमति भयो ।”

दलीय सहमतिअनुसार सचिवालयले मस्यौदा गरेको नियम १३ को उपनियम ४ मा ‘उपनियम १ बमोजिमको समितिको बैठक अधिवेशन चालु रहेको अवस्थामा नियमित रूपमा र अन्य समयमा आवश्यकताअनुसार बस्नेछ’ भन्ने शब्दावली राख्ने दलीय सहमति भएको छ । यसअघि उपनियम चारमा सभामुखले गर्ने काम कारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुने व्यवस्था प्रस्तावित थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिनिधिसभा बैठक बस्दैः प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसुची

काठमाडाैं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आज बस्न बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदनु पेस गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली माथी दफाबार छलफल गर्ने र पारित गर्ने कार्यसुची रहेको छ । जसअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाकारी दिएको छ ।
 

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै 

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

मन्त्रीपरिषदको पुर्णता, उपनिर्वाचन, समय समायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो । 

टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । 

राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ’ अस्पतालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ । 
 

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने 

काठमाडौं, १९ चैत । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का रक्षणिक वर्षाको सम्भावना रहेको छ।

उता राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘चुनाव जित्ने विषयमात्रै सबैथोक होइन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जान्छ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव जित्ने विषयमात्रै सबैथोक नभएको बताएका छन् । शनिवार नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए । पाँच महिनासम्म पनि परिणाम नआए जनताको धैर्यता टुट्ने भन्दै उनले त्यसैका कारण मुलुक दुर्घटनामा पर्न सक्ने बताए ।

उनले चुनाव जित्ने विषयमात्रै सबैथोक नभएको भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने पनि बताए ।

उपनिर्वाचन : एमालेले तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने

काठमाडौं – पछिल्लो समय आगामी वैशाख १० मा हुने उपनिर्वाचनको निकै चर्चा छ । उपनिर्वाचनका लागि नेकपा एमालेले पनि उम्मेदवार तय गरेको छ ।

शनिवार बसेको पार्टिको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उनीहरुलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बारा(२ मा भने को उम्मेदवार बनाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने उनले बताए ।

अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ – चित्रबहादुर केसी

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको बताउका छन् ।

शनिवार बागलुङको जैमिनी नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको बताए ।

सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको पनि उनले बताए । उनले भने “अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ, सरकारले विषादीयुक्त तरकारी आयातमा रोक लगाउनुपर्छ, अहिले सरकारले त्यो गर्न सकेको छैन”

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी, १८ चैत – कञ्चनपुरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ प्रबिन भन्ने ओम प्रकास ओली र वडा नम्बर ११ बस्ने १७ वर्षीय राजु बोहोरालाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ० दशमलव ५४० ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति

महोत्तरी, १८ चैत – महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ । 

शनिबार बसेको बैठकमा पाँच बुँदे सहमति भएको गृह मन्त्रालयका सहप्रवक्ता एवं‌ उपसचिव दिलकुमार तामाङले बताए ।

यस अघि गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा बनेको कार्यदलले गरेको सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्ने सहमतिसहित पाँच बुँदे सहमति भएको हो ।

यस्तै मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ।

मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक / कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषण समेत गर्ने गरेको गुनासो रहेकोले मिटरब्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भए पश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ वमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै पीडितका नियमित उजुरी तथा गुनासोलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको सं‌योजकत्वमा जिल्लाका प्रहरी, सरकारी वकिल, नापी कार्यालय प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतसनसध र मिटरब्याज पीडितको प्रतिनिधि राख्ने र  जिल्लास्तरीय समन्वय / सहजीकरण समिति गठन गर्न सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ । यससँगै पीडितहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् ।

रामेछापमा जीप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते

रामेछाप, १८ चैत – रामेछापको खाँडादेवि गाउँपालिका–१ डाँडागाउँमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । 

खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीबाट काठमाण्डौका लागि छुटेकाे बा १६ च ३२२५ नम्बरको जीप खाँडादेवि–१ डाँडागाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा बाेलेराे चालक खाँडादेवि गाउँपालिका–७ का ३३ वर्षका कालुमान तामाङको घटनास्थलमै ज्यान गएकाे छ।

यस्तै, खाँडादेवि गाउँपालिका–७ का ३७ वर्षका रुपसिंह तामाङ, २३ वर्षकी सुष्मा तामाङ र उहाँका छोरा १० वर्षका नेस्नल तामाङ, ३३ वर्षकी सविना तामाङ र उहाँकी छोरी ७ वर्षकी कुुइन तामाङ, ४२ वर्षका दिनेश श्रेष्ठ र एक जना जापानका नागरिक ४३ वर्षकी सातो काजुभी घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएकाे छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
 

तिन दिने निःशुल्क आँखा शिविरमा ६ सय भन्दा बढिले सेवा लिए 

मुगु, १८ चैत  – हिमाली जिल्ला मुगुमा निशुल्क आँखा शिविर सञ्चालनमा ६ सय भन्दा बढि बिरामिहरुले सेवा लिएका छन् ।  बुधबारबाट सुरु भएको तीन दिने  निशुल्क आँखा चेकजाँच तथा मोतिया बिन्दुमा ६ सय ४७ जनाले आँखा चेक जाँच सेवा लिएका हुन् ।

तिन दिन सम्म सञ्चालन भएको शिविरमा ६५ जनाको मोतिबिन्दु अप्रेशन सहित सम्पन्न गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए । 

नेपाल नेत्र ज्योति संघ,हिमालय आँखा अस्पताल पोखराको आयोजना एबंम प्राविधिक सहयोग , नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग , आई केयर फाउण्डेशनको बिशेष सहयोग साथै नेपाल नेत्र ज्योति संघ,जिल्ला आँखा उपचार केन्द्र,मुगुको स्थानीय आयोजनामा यहि चैत १५ गते बाट सञ्चालन भएको निशुल्क आँखा शिविर १७ गते सम्म सञ्चालन भएको थियो । 

तीन दिन सम्म सञ्चालन भएको निशुल्क आँखा शिविरमा विकट हिमाली जिल्ला मुगु सहित छिमेकि जिल्ला जुम्ला , हुम्लाका नागरिकहरुले सेवा प्राप्त गरेको  बताए । शिविरमा जुम्लाका आँखाका विरामिहरुको पनि चेकजाँच गरिएको छ ।  

मोतियाबिन्दु गरेका आँखाका विरामिहरुलाई चश्मा पनि वितरण गरिएको छ । 

छायाँनाथ रारा नगरपालिका–१ छत्याल बाडाकी ७० वर्षीया चम्फा नेपाली निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र  मुगुमा आइन् ।

रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा उनी शिविरमा आएर मोतिया विन्दुको सफल शल्यक्रिया पछि उनी खुसी भएकी छन् । आँखाको अपरेसन निःशुल्क भयो । अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन् । 
 

लायन क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १८ चैत – लायन क्लब अफ काठमाडौं  सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको बसुन्धरामा लायन नारायण रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा क्लबले विगतमा गरेको विभिन्न कार्यक्रमहरुको समिक्षा गर्दै सम्पन्न गरेको हो । सभाका प्रमुख अतिथि तथा प्रतिनिति सभा सदस्य माननिय पदम गिरीले क्लबको प्रशंसा गर्दै नाम अनुसार काम भएको भन्दै शुभकामना दिए । 

नि वर्तमान स्वास्थ्य मन्त्री समेत रहेका नेता गिरीले सो अवसरमा बोल्दै क्बले सबैलाई संगठीत गरेकोमा खुशि व्यक्त गरे । सांसद गिरीले लायनको टिमसँग हातेमाले गर्दै अघि बढ्ने प्रतिवद्धा समेत व्यक्त गरे । सो अवसरमा लायन वर्ष २०२३ / २४ का लागि नारायण सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको निवार्चन सह संयोजक लायन हरिप्रसाद तिवारीले जानकारी दिए । 

त्यस्तै एलसिआइफ एरिया लिडर लायन राजन लम्साल विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममा उनलाई लायन्स महापुरुष सम्मान २०७९ बाट सम्मानित गरियो । उनले  डिस्ट्रिक ३२५ आईमा सिद्धार्थ गौतम वुद्ध क्लवले छुट्टै पहिचान बनाउन सफल रहेको वताउँदै क्लबको नेतृत्वको प्रशंशा गरे ।   कार्यक्रममा पुर्व डिस्ट्रक गभर्नर लायन मन वहादुर रोका, चिफ एडाईजर लायन पार्वती खरेल, जनार्दन फुयाल, राजु चालिसे, विष्णु प्रसाद भण्डारी र महेश वस्नेतले क्लवको खुलेर प्रशंसा गरेका थिए ।

लायन क्लब सम्बद्ध विभिन्न विशिष्ट व्यक्ति तथा अतिथिहरुको उपस्थिती रहेको कार्यक्रममा लायन वर्ष २०२२ / २३ को समिक्षा, लायन क्लब अफ सिद्धार्थ गौतम बुद्ध इनलाइटनको उद्घाटन तथा यसै क्लब अन्र्तगतको लियो क्लबको प्रमाणपत्र हस्तातरण पनि गरिएको थियो । कार्यक्रममा लायनसँग सम्बन्धित समाजसेवी  व्यक्तित्वहरुलाई सम्मान, प्रशंसा र कदरपत्र प्रदान गरिएको थियो ।

फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’

काठमाडौँ । फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार रिपोर्टसर्् क्लब नेपालको २५ औँ वार्षिकोत्सव कार्यक्रममा पत्रकार वन्तलाई फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

सगरमाथा आरोही स्व. बाबुछीरी सेर्पाको सम्झनामा क्लवले स्थापना गरेको उक्त पुरस्कार पत्रकार पन्तलाई प्रदान गरिएको हो । कार्यक्रममा वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले पुरस्कारको राशी रू ५ हजार प्रदान गरेका थिए।

पुरस्कृत भएका वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटो पत्रकारिता गरेका थिए । उनी राष्ट्रिय फोटोपत्रकार समूह एनएफपिजे नेपालका अध्यक्ष पनि हुन् ।

उनले फोटो पत्रकारिता तथा फोटोग्राफी तालिका प्रशिक्षकको रुपमा पनि काम गरी रहेका छन । राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार र हाल प्रधानमन्त्रीको स्वकीय फोटोग्राफरका रूपमा कार्यरत पनि रहेका छन् ।

सर्लाहीमा विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित शिक्षक पक्राउ

सर्लाही, १८ चैत- सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका-१५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित पक्राउ परेका हुन् ।

सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झै-झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । 

शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट-१२ ट्याब्लेट, लागूऔषध गाँजा बरामद गरेको हो । 

पेशागत स्वास्थ्य सुरक्षालाई ध्यान राख्दै कर्मचारी तथा मजदुरको स्वास्थ्य परीक्षण

भक्तपुर-पेशागत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै भक्तपुरको एउटा निजी कम्पनीले आफ्ना कर्मचारी तथा मजदुरको स्वास्थ्य परीक्षण गरेको छ ।

इको प्यानल नेपाल प्रालिले भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको कारखानामै चिकित्सकलाई बोलाएर कर्मचारी तथा मजदुरहरुको निःशल्क स्वास्थ्य परीक्षण गराएको हो । 

कर्मचारी तथा मजदुरहरुको प्रेसर, सुगरलगायतको जनरल स्वास्थ्य परीक्षण गराएको हो । ख्वप अस्पताल च्याम्हासिंहका डा. निर्जना वजिक्वले उनीहरूलाई सेवा दिएकी थिइन् । पेशागत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफ्ना कर्मचारी तथा मजदुरलाई निःशुल्क स्वास्थ्य उपलव्ध गराएको सम्भबत यो भक्तपुरमै पहिलो निजी कम्पनी हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले कर्मचारी स्वस्थ्य भए मात्रै कम्पनी राम्रो हुने भन्दै सामाजिक उतरदायित्व अन्तर्गत कर्मचारी तथा मजदुरहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको सुनाए । यो कामलाई निरन्तरता दिने योजना रहेको पनि उनले सुनाए । साथै सम्भव भएसम्म भोलिका दिनमा निःशुल्क औषधि वितरण गर्ने योजना रहेको पनि उनले सुनाए । 

स्टाफ हेल्थ चेक अप क्याम्प (कर्मचारी स्वास्थ्य जाँंच क्याम्प) नाम दिइएको यो क्याम्पमा कर्मचारी तथा मजदुर गरी तीन दर्जनले स्वास्थ्य सेवा पाएका थिए । क्याम्पमा कम्पनीका सिइओ इन्जिनियर दुवालसहित कम्पनीमा कार्यरत महिला तथा पुरुष कर्मचारी तथा मजदुरहरुले सेवा पाएका थिए । कम्पनीको झोखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रहेको कर्र्पाेेरेट कार्यालयमा कार्यरत कर्मचारीहरुले पनि सेवा पाएका थिए । 

इको प्यानल नेपाल प्रालिले झौखेलको कारखानाबाट इको प्यानल उत्पादन गर्दै आएको छ । स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री नै इको प्यानल हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भव हुन्छ । कारखानामै पहिला नै तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने हो । पछिल्लो पटक इको प्यानल नेपालले आफनो भगिनी कारखानाको रुपमा झौखेलमै यूपीभीसी झ्यालढोकाहरुको उत्पादन पनि थालेको छ । 
 

उपचुनावअघि सरकारमा जादैनौं : रवि लामिछाने

काठमाडौं, १८ चैतरा-ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावअघि आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् ।

उनले शनिबार भएको पत्रकार सम्मेलनमा उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।

“हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ,” उनले भने ।

सरकारले मिटरब्याज पीडितको समस्या छिटो सामाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याज पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। स्कुल अफ डेमोक्रसीद्वारा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाडौंमा आई न्यायका लागि छटपटाउनु सुखद नभएको बताए।

‘अहिले मधेश प्रदेशका मिटरब्याज पीडितको पीडामात्रै देखिएको छ। तर, भित्रभित्रै देशभर नै मिटरब्याजीहरू सक्रिय छन्। सोझासाझा आर्थिक अवस्था कमजोर भएका जनतालाई खाली पानामा औठाछाप गर्न लगाइ मन लाग्दी रकम राख्ने र ब्याज लगाउने टाठाबाठाहरू सक्रिय छन्। त्यसैले सरकारले भविश्यमा जनता नठगिने गरि मिटरब्याजविरुद्ध आवश्यक कडा कानुन ल्याउनु पर्छ,’ महरले भने।

सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको भए पनि
यसको प्रभावकारी कार्यान्वयन जरुरी छ ।

मिटरब्याज पीडितहरूले दोषीलाई कारबाहीसँगै तमसुक व्यवस्था खारेज हुनुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको र ती माग जायज रहेको महरको भनाइ छ।

‘अहिले एउटा शक्तिशाली आयोग गठन र तमसुक खारेज लगायतका उनीहरूका मागप्रति सरकार संवेदनशील हुनुपर्छ,’ महरले भने। पीडितहरूले पनि यस्ता लेनदेनका कामगर्दा कानुनसम्मत तरिकाले सरकारको उपस्थितिमा गर्नुपर्ने महरको धारणा छ।

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं, १७ चैत। गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ । 

भिडियोले वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई देखाउन खोजेको छ । प्रथम क्षेत्रीको निर्देशन रहेको सार्वजनिक डान्सिङशैलीको भिडियोलाई दर्शकले रुचाएको गायक वाङ छिरीङ भोटिया बताउँछन् । 

नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ ।

रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

काठमाडौं, आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो।

नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ।

केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ।
 

फिदिममा कार दुर्घटना : एकको मृत्यु, चार जना घाइते

पाँचथर, १८ चैत – पाँचथरको फिदिम नगरपालिकास्थित कान्छि दोकान नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। 

शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुई सय मिटर तल खसेर कार दुर्घटना भएको हो ।

दुर्घटनामा झापा बिर्तामोड नगरपालिका-४ नमुना टोल निवासी १८ वर्षीय रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ४० वर्षीय सिता भुजेल, ४५ वर्षीय राजु भुजेल र ३९ वर्षीय मिना भुजेल गम्भीर घाइते भएका छन्। १३ वर्षीय राजमोहन भुजेल सामान्य घाइते भएको र उनीहरू एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।

करिब सात बजे बाक्लो हुस्सुसँगै वर्षा भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घाइतेहरूलाई थप उपचारको लागि बिर्तामोड रिफर गरिएको प्रहरीको भनाइ छ।

रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

चितवन, १८ चैत – रामपुर कृषि क्याम्पस खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानलनै विजयी भएको छ।  निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले तालमेल गरेका थिए। बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका हुन्। निर्वाचनमा कुल १२० मत खसेको थियो।

अखिल सयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेल एक्लैले ११९ मत प्राप्त गर्दा नेविसंघका आशिश जैसी देवकोटाले एक मत पनि पाएनन्। एक मत बदर भयो। सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी ११९ मत,कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल ११५ मतका साथ निर्वाचित भए।

त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश रोकाय ११८ मत, सनराइज तामाङ ११९ मत, सागर ढकाल १२० मत, पूर्णिमा तामाङ ११७ मत र ऋषिकेश यादव ११९ मतका साथ विजयी भए। निर्वाचनप्रति असहमति जनाउँदै नेविसंघ भने मतदानमा सहभागी भएन। यसअघि चैत ५ गते तोकिएको निर्वाचन सोही दिन सर्वदलीय बैठक बसेर सारिएको थियो।

परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

बैतडी, १८ चैत – बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

शुक्रबारदेखि सञ्चालन हुने एसईईलाई मार्यादित वातावरणमा सम्पन्न गर्नका लागि मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावै आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए। ती क्षेत्रहरुमा परीक्षा अवधिभर कसैले मदिराको कारोबार गरेमा कानुन अनुसार कारवाही गरिने नगरपालिकाले जनाएको छ ।

यस्तै परीक्षाको अवधिमा दैनिक उपभोग्य वस्तु तोकिएको दररेट भन्दा बढीमा विक्रि नगर्न आग्रह गरिएको छ। कसैले तोकिएको दररेट भन्दा बढीमा उपभोग्य वस्तु विक्रि गरेमा कारबाही हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

सप्तरीमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

सप्तरी, १८ चैत – सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन् ।

शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो । दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

आज अधिकांश स्थानमा वर्षा हुने 

काठमाडौं, १८ चैत – जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी प्रदेश, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
 

एकसाथ ब्रम्हास्त्र २ र ३ गर्दै अयान

मुम्बई, १७ चैत । बलिउड निर्देशक अयान मुखर्जीको निर्देशन रहेका फिल्म ‘ब्रह्मास्त्र’ सन् २०२२ को हिट फिल्ममा पर्दछ । जसले बक्सअफिसमा ४ सय करोडको कमाई गरेको थियो । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्ममा अमिताभ बच्चन, मौनी रोय, नागार्जुन र शाहरुख खानको पनि विशेष भूमिकामा अभिनय थियो ।

यो फिल्म हेरेपछि दर्शकले फिल्मको दोस्रो र तेस्रो संस्करणको पनि माग गरेका छन् । यही मागलाई पुरा गर्न निर्देशक अयान कम्मर कसेर लागेका छन् । अयानका अनुसार उनले फिल्मको दोस्रो भाग देवको कथा वरपर घुम्नेछ, जुन पहिलो भागमा शिवको पिताको भूमिकामा देखिएका थिए ।

अयानले फिल्मको दोस्रो र तेस्रो संस्करणको काम एकसाथ गर्ने र यी फिल्मलाई थिएटरमा रिलिज गर्न तीन वर्ष लाग्ने खुलाए । ‘हामी ब्रह्मास्त्र २ र ३ मिलेर बनाउनेछौं । सत्य यो हो कि यसलाई लेख्न केही समय लाग्नेछ । मलाई थाहा छ कि फिल्मलाई लिएर सबै उत्साहित छन् । मानिसहरु फिल्म चाँडै दर्शकमाझ पुगोस भन्ने चाहन्छन् । तर बिना कुनै सम्झौता फिल्म राम्रो किसिमले लेखिन्छ । मलाई लाग्छ कि फिल्मको दोस्रो हेर्न दर्शकले तीन वर्ष पर्खनुपर्नेछ’, उनले भनेका छन् ।

लिचीको बोटमा स्पाइडर माइट्सको प्रकोप 

खोटाङ, १७ चैत – खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लगाएको लिचीमा स्पाइडर माइट्स (सुलसुले) र लिचीको पतेरोको प्रकोप देखा परेको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–२ खार्पा, रावाबेँसी गाउँपालिका–५ दुबेकोल र रावाबेँसी गाउँपालिका–६ हौंचुरका किसानले लगाएको लिचीमा स्पाइडर माइट्स (सुलसुले) र लिचीको पतेरोको प्रकोप देखिएको हो । विशेषगरी लिचीमा स्पाइडर माइट्सको प्रकोप फैलिँदा उत्पादनमा र्‍हास ल्याइरहेको पाइएको कृषि ज्ञान केन्द्र, खोटाङका बाली संरक्षण अधिकृत रामनन्दन यादवले बताए । 

रावाबेँसीका विभिन्न वडामा सर्दैगरेको बेर्नादेखि चार/पाँच पुस्ताका गरी करिब १० हजारभन्दा बढी लिचीका बोट छन् । लिचीमा सुलसुले र लिचीको पतेरोको प्रकोप विगतका वर्षदेखि नै देखिएको गाउँपालिकाले जनाएको छ । स्पाइडर माइट्स लागेपछि लिचीको पातमा प्रकाश संश्लेषणमा बाधा पुग्ने र उत्पादनमा र्‍हास आउने विज्ञाको भनाई छ ।

स्पाइडर माइट्सले गँवारो लगायतका किरा लाग्नलाई पनि सहयोग पुर्‍याउने बाली संरक्षण अधिकृत यादवले बताए । ‘स्पाइडर माइट्स हरियो पातको पछाडितिर रातोरातो पाउडरजस्तो लाग्छ । नयाँ पालुवा र मुनालाई पुरै रातो बनाएर प्रकाश संश्लेषण गर्न रोक्छ । प्रकाश संश्लेषण गर्न नपाए पछि उत्पादन घट्छ,’ यादवले भने, ‘यसले अरु किरा लाग्नलाई पनि प्रोत्साहन गर्छ । गँवारो बढ्न सहयोग पुर्‍याउँछ ।’ 

कुभिन्डे, खार्पा र हौंचुरका अधिकांश घरमा ठूला–ठूला लिचीको बोट छन् । लिचीमा देखा परेको स्पाइडर माइट्स (सुलसुले) र पतेरो नियन्त्रणका लागि बाली संरक्षण प्रयोगशाला झुम्का र कृषि ज्ञान केन्द्रसँग समन्वय भइरहेको गाउँलिकाको कृषि शाखाका कृषिविज्ञ बिवेक ढकालले बताए । कतिपय बोटमा लिचीको फल फुट्ने समस्या पनि फैलिएको पाइएको छ ।

बाली संरक्षण प्रयोगशाला झुम्का र कृषि ज्ञान केन्द्रले केही समयपछि लिचीमा देखा परेको रोगको प्रकोप नियन्त्रण सम्वन्धी ‘डेमो’ प्रदर्शन सहित आवश्यक विषादि तथा उपकरण बाँड्ने तयारी गरिरहेको छ । लिचीमा देखिएको रोग तथा किराको पहिचानका लागि गत चैत ७ गते बाली संरक्षण प्रयोगशालाका प्रमुख मुकेशकुमार शाह, बाली संरक्षण अधिकृत घनश्याम बराल, कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत यादब लगायतको टोली स्थलगत अनुगमनमा रावाबेँसी पुगेका थिए । 

क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्छ – सहरी विकासमन्त्री गुरुङ

काठमाडौं – नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्ने बताएकी छिन् । शुक्रबार शपथ लिएपछि मन्त्रालयमा पदबहालीका क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले मन्त्रालयको कामलाई परिणाममुखबी बनाउने प्रतिबद्धता व्यक्त ग गरिन् । उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताइन् ।

मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी – ऊर्जामन्त्री बस्नेत

काठमाडौं – नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार शपथ लिएपछि मन्त्रालयमा पदबहाली गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको बताए। उनले सबैको विज्ञताको भरपुर सदुपयोग गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा बताए ।

उनले भने “देशको समृद्धिले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढङ्गले परिणाममुखी काम गर्न जरुरी छ ।”

सरकारको आवधिक नगद योजना तर्जुमा समिति बनाउने नवनियुक्त अर्थमन्त्रीको निर्णय

काठमाडौं – नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको आवधिक नगद योजना तर्जुमा समिति बनाउने बताएका छन् । शुक्रबार लिएपछि मन्त्रालयमा पदबहाली गर्दै उनले यस्तो बताएका हुन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २७ मा नगद योजना तर्जुमा गर्नुपर्ने व्यवस्था रहेको छ । नियमावलीमा “अर्थ मन्त्रालयले नेपाल सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी बजेट कार्यान्वयनका लागि नगद व्यवस्थापन गर्न महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको समन्वयमा आवधिक नगद योजना (पिरियोडिक क्यास प्लान) तर्जुमा गर्नुपर्नेछ”, भनेर उल्लेख गरिएको छ ।