`

एसईई परीक्षाको प्रश्नपत्र आउटको प्रयास गर्ने विद्यार्थीको परीक्षा रद्द , केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

बारा – आजबाट सुरु भएको एसईई परिक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थीत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भैरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । उनले पश्नपत्रको पहिलो पन्ना सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।

यसै घटनालाई लिएर त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ५ जना निलम्वनमा परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, विजयप्रसाद चौधरी र निरीक्षकहरू कुन्दनप्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बन गरिएको हो ।

प्रश्नपत्र आउट गर्ने साहको सिम्बल नं.०३६०२९४६ भि हो । उनी सोही पालिका स्थित जनता माध्यमिक विद्यालय कचर्वाका परीक्षार्थी हुन् । उनको आजको मात्रै परीक्षा रद्द गरिएको प्रजिय सापकोटाले जानकारी दिए ।

प्रश्नपत्र बाहिरिएको सूचना पाएलगतै पुगेका बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले घटनाको छानविन गरेका थिए । 

मुलुक र जनताप्रति समर्पित भएर काम गर्ने उपप्रधानमन्त्री खड्काको प्रतिबद्धता

काठमाडौं – नवनियुक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार लिएपछि मन्त्रालयमा पदबहालीका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताए । उनले भने “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।”

उनले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको राण्ननीतिक महत्त्व रहेको बताए ।उनले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने पनि बताए ।

उपाधिमा मनाङ र थ्री स्टारको दाबी

धनगढी, १७ चैत – छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफुले जित्ने दाबी गरे । 

शनिबार धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्री स्टारका कप्तान बिक्रम लामाले सेमिफाईनलमा रातो कार्ड खाएका मिडफिल्डर दिपेश गुरुङको अनुपस्थितीले क्लबको प्रर्दशनमा कुनै असर नपार्ने बताए । उनले आफूहरूसँग सन्तुलित टिम रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वभाविक दाबी रहने उल्लेख गरे । फाइनल खेलमा आफ्नो भुमिकाबारे बोल्दै उनले भने, ‘भोलि रणनीति अनुसार मेरो भुमिका रहनेछ । प्रशिक्षक मेघराज केसीले जुन भूमिकामा खेलाउँछन् । म तयार रहेको छु ।’ 

उनले खेलाडीको रिकभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताए । तर फाइनल खेलका लागि टिम मानसिक रुपमा तयार रहेको उनको भनाई छ । ‘एन्फाले खेल तालिकालाई ब्यवस्थित बनाएको भए मोफसलमा फुटबल कार्यक्रम गरिरहेका आयोजकले गरेको मेहनतले फुटबलमा राम्रो योगदान गर्ने थियो,’ उनले भने, ‘तेस्रो पटक खप्तड गोल्डकपको फाईनल खेल्दै गर्दा पहिलो पटक उपाधि जित्न चाहन्छौं । मोफसलको गोल्डकपले टिमलाई सेट हुन अवसर दिएको छ ।’

मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफूहरू तयार रहेको बताए । टिमको अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु भोलि खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन् । उनको प्रर्दशनले टिमलाई धेरै सहज भएको छ ।’ 

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा चैत ९ गते सुरु भएको प्रतियोगिताको विजेताले उपाधि सहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । 

प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लव गरी १० टोलीको सहभागि थिए । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको यस प्रतियोगिताको समापन प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले गर्ने कार्यक्रम रहेको आयोजक टिमका अध्यक्ष सुरेश हमालले बताएका छन् ।

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जित्यो

काठमाडौं, १७ चैत – प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज  साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

खेलको १७ औँ मिनेटमा फत्ताबोङ साङबिले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको ७ मिनेटपछि २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपालका लागि बराबरी गोल फर्काए। खेलको ८८ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि जिताए।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर पाएको छ भने उपविजेता बनेको लाओसले ३ हजार अमेरिकी डलरमा चित्त बुझाएको छ। आयुष घलान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै ५ सय अमेरिकी डलर पाए।

नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्स कपको उपाधि जितेको हो। यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई पराजित गर्दे नेपाल विजेता बनेको थियो।

नेपालको जितमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासी पनि सफल देखिएका छन्। प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो प्रतियोगिताबाटै उनले नेपाललाई उपाधि दिलाएका छन्।

माइक्रोबसको ठक्करबाट पोखरामा एक युवकको मृत्यु

पोखरा, १७ चैत – माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो । 

घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका हुन् । 

१३ वर्षीया वालिकाको पेटमा आफ्नै बुवाको बच्चा, कसरी भयो घटना ?

महोत्तरी – महोत्तरीमा आफ्नै बुवाले छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना बाहिरिएको छ ।जिल्लाको बर्दिबास-११ स्थित खयरमारा बस्ने १३ वर्षीय आफ्नै छोरी (संगिता नाम परिवर्तन)लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको खुलासा भएको हो ।

पीडित वालिकाकी आमा सुनिता सिन्दन(नाम परिवर्तन)का अनुसार उनी गर्भवती भएको तीन दिन अगाडिमात्र थाहा भयो । ‘छोरीको १२ वर्षकै उमेरमा रजश्वला भएको थियो । चार महिनादेखि रजश्वला नभएपछि मलाई शंका लाग्यो अनि छोरीलाई सोध्दा त त्यो गर्भ आफ्नै श्रीमान‍्को पो रहेछ,’ सुनिताले भनिन् ।

अहिले पीडित वालिकालाई खयरमारा बजारस्थित आफ्न्तका राखिएको छ । वालिकाका ३४ वर्षीय बुवा रामबहादुर सिंन्तान भने घटना बाहिरिएसँगै फरार भएका छन् ।

कसरी भयो घटना ?

रामबहादुरका एक छोरा र दुई छोरी छन् । पीडित संगिता जेठी छोरी हुन भने अन्य दुई जना सानै छन् ।आर्थिकरुपमा निक्कै कमजोर रहेको यो परिवार मजदुरी गर्न धादिङ्गको विवि इटाभट्टामा काम गर्दै आएको थियो ।

विवि इटाभट्टामा काम छोडेर सपरिवार असोजतिर कामकै खोजीमा भक्तपुर पुगेको थिग्यो । श्रीमान् रामबहादुर र सुनिता दिउँसोसँगै मजदुरी गर्न निस्कन्थे । कहिलेकाहिँ सन्च भएन भन्दै रामबहादुर घरमै बस्थे अनि विविमाया एक्लै काम गर्न जान्थिन् ।

कुरो कात्तिक महिनातिरको हो । सुनिता माइत गएकी थिइन् । पीडित वालिका संगिताका अनुसार बुवा रामबहादुरको गिद्दे नजर त्यही समयदेखी पर्‍यो ।

‘मम्मी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाई बाबाले जवर्जस्ती करणी गर्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो । मलाई पटक-पटक करणी गर्नुभयो ।’ यो विषयमा कसैलाई भने परिवारका सबै सदस्यलाई मारिदिने धम्कि दिनेगरेको उनले बताइन् ।काममा समेत सन्चो भएन भन्दै घरमै बस्ने र छोरीलाई जबरजस्ती गर्ने गरेको छोरीले नै भनेपछि थाहा पाएको सुनिता बताउँछिन् ।

कसरी थाहा भयो गर्भवती भएको ?

महोत्तरीको खयरमारास्थित पूर्विखोलामा बस्ने सुनिताका काकाको ७ मंसिरमा मृत्यु भयो ।त्यसै कारण काकाको क्रिया वार्न विविमाया २० मंसिरमा पूर्विखोला गाउँमा आइन् । त्यतिन्जेलसम्म श्रीमान‍्ले छोरीलाई त्यसो गर्लान भन्ने उनले सोचेकी पनि थिइनन् ।समयक्रमसँगै छोरी संगीताले वाकवाकी गर्ने र खाना खान पनि छाडिन् । रजश्वला नभएको पनि चार महिना बितिसकेको थियो ।

आमा सुनिताको शंका बढ्दै गयो । उनले छोरीलाई दर्जनौं पटक केरकार गरे पनि छोरीले त्यस्लाई टार्दै आइन् ।असह्य भएपछि सुनिताले १५ चैत्रमा छोरीलाई दुई, चार झापड हानिन् । त्यसपछि बल्ल उन्ले  मुख खोलिन् कि आफ्नो पेटमा हुर्किरहेको बच्चा आफ्नै बुवाको हो ।

विविमायाले आफू काकाको क्रिया वार्न महोत्तरी आएदेखिको गर्भ हुन सक्ने आशंका गरेकी छन् । यता पीडित वालिकाले पनि आमा महोत्तरी आएको बेला पटक-पटक करणी गरेको बताएकी छन् ।

पीडितलाई न्यायको लागी कहाँ पहल गर्ने थाहा नै छैन 

Site Icon

आफ्नै छोरीमाथि निच हर्कत गर्ने  श्रीमानलाई कसरी सजाय दिलाउने भन्ने विषयमा सुनिता अहिले चिन्तित्त छन् ।घटनाको विषयमा उनीहरूले केही स्थानीय सञ्चारकर्मीलाई जानकारी गराए पनि अझैँ सुरक्षाकर्मीलाई घटनाको विषयमा जाहेरी दिन सकेका छैनन् कम उमेर कि वालिकाको पेटमा रहेको बच्चाको विषयमा समेत आमा सुनिताले निक्कै चिन्ता ब्यक्त गरिन् । 

घटना निक्कै जघन्य भएकाले वालिकाको न्यायको लागी जस्तोसुकै कदम चाल्न पछाडी नपर्ने मानवअधिकार आयोग मधेश प्रदेश कि प्रमुख मन्जु खतिवडाले बताइन् ।

वालिकाको संरक्षण गर्न निर्देशन दिइसकेको छु : प्रहरी उपरीक्षक मल्ल

बर्दिबास-११ खयरमाराको उक्त घटनाको विषयमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालयका कार्यलय प्रमुख प्रकाश मल्लले बताए ।वालिकाको संरक्षणको लागी विभिन्न संस्थासगँ सहकार्य अगाडि बढाएको बताउँदै उपरीक्षक मल्लले वालिकाको अवस्था बुझिरहेको बताएका छन् ।

बुवालाई मृत्युदण्ड दिइयोस् : पीडित बालिका 

आफूलाई जवर्जस्ती करणी गर्ने वुवालाई मृत्युदण्ड दिनुपर्ने पीडित वालिकाले बताएकी छन् ।’रातभरी पिटेर जवर्जस्ती गर्न लगाउथे उनी मेरा वुवा हुन नै सक्दैनन्,’ बालिकाले भनिन् ।आमा काममा गएको वेला पनि भाइवहिनिलाई बाहिर खेल्न पठाएर जवर्जस्ती गर्ने गरेको उनले बताइन् ।

देवगुरु बृहस्पति ग्रह अस्त हुँदै, कस्ता-कस्ता कार्य गर्दा अस्तमा दोष लाग्दैन ?  

चैत्र १७ गते शुक्रबार बेलुकी ८ बजेर ५४ मिनेटबाट देवगुरु बृहस्पति ग्रह पश्चिम दिशामा अस्त हुदैछन् । महत्त्वपूर्ण दुईवटा ठूला ग्रह शुक्र र देबगुरु बृहस्पति अस्त भएको समयमा शास्त्रले काम्यकर्म निषेध गरेको छ । 

गुरुअस्त भएको समयमा विवाह, व्रतबन्ध लगायतका ठूला  विशेष यज्ञ अनुष्ठानआदि काम्य कर्म गर्न निषेध गरेकाे छ।आगामी  २०८० साल वैशाख १५ गते शुक्रबार बिहान ३ बजेर ४२ मिनेटमा पूर्वबाट देबगुरु बृहस्पतिकाे उदयहुने पंञ्चाङ्गमा उल्लेख गरिएको छ।

नवग्रहहरूमध्ये बृहस्पतिलाई गुरु र मन्त्रहरुका कारक ग्रहका रुपमा व्याख्या गरिएको छ । पहेँलो धातु सुन, देशको आर्थिक अवस्था, कानून, धर्म, ज्ञान, मन्त्र, ब्राह्मण र संस्कार आदिकाे  नियन्त्रण बृहस्पति ग्रहमा निहित हुन्छ।पञ्च तत्वहरूमा आकाश तत्वको प्रभुत्व भएकोले यसको प्रभाव धेरै व्यापक र विशाल हुनेगरेकाे छ । महिलाहरूको जीवनमा, विवाहको सम्पूर्ण जिम्मेवारी बृहस्पतिले मात्र निर्धारण गर्नेहुनाले विशेष रुपमा हेरिरहेको छ ।

बृहस्पति अस्तमा कस्ता कार्य गर्नु हुँदैन ?

अस्त भएको बेलामा बृहस्पति निर्बल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, बधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तक कर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलोपटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूत्र्तचिन्तामणिमा बताइएको छ ।
छ ।

कस्ता कार्य बृहस्पतिअस्तमा गर्नु मिल्छ ?

विशेषतः बृहस्पति अस्त प्रकृतिको एक नियमित चक्र हो ।याे हरेक बर्ष भैरहने प्रक्रिया हाे र अस्त भएको बेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदैआएका व्रत उपासना पनि राेक्नुहुदैँन । यसैगरी नैमित्तिक कर्मअन्तर्गत अइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न मिल्ने शास्त्रीय वचन रहिआएको छ । शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा । गुरुभार्गवमौढ्येऽपि दोषस्तत्र न विद्यते ।। कुनै पनि प्रकारका शान्ति कर्महरु पनि अस्त भएकाे समयमा गर्दा दाेष नलाग्ने शास्त्रमा उल्लेख गरिएको छ । 

लेखक : ज्याेतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल

पाँच दिनकी सुत्केरीले दिइन् एसईई परीक्षा

मुगु, १७ चैत – हिमाली जिल्ला मुगुमा एक साुमदायिक विद्यालयमा पाँच दिनकी सुत्केरी महिलाले एसईई परीक्षा दिएकी छन् ।  उनले आजबाट सुरु भएको माद्यमिक शिक्षा परिक्षा (एसईई)मा पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएकी हुन् ।

त्यसरी परीक्षा दिनेमा छाँयानाथ रारा नगरपालिका-१३ मा रहेको प्रकाश मावि लुममा अध्ययनरत छात्रा देवमाया बोहोरा ।हर्कफ छन् । ५ दिने सुत्केरी महिलाले एसईई परिक्षा दिईरहेकी हुन । बोहोराले छोरालाई जन्म दिएकी छन् ।

उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माद्यमिक विद्यालयको परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेकी छन् ।

उनले सुत्केरी भएदेखि आफूले राम्ररी आरामसमेत गर्न नपाएको बताएकी छन् । एसईई नजिक आएको र गर्भवती भएकाले परीक्षाको तयारी पनि राम्रो नरहेको उनले दुखेसो पोखिन् ।

उनले परीक्षामा लामो समय विताउँदा पाँच दिनको दूधे बालक भोकाउने भए पनि जोखिम मोलेरै भविश्य निर्माणका लागि परीक्षा केन्द्र पुगेर परीक्षामा सहभागी भएको बताएकी छन् ।

महाकाली माद्यमिक विद्यालयको परीक्षा केन्द्रका केन्द्राध्यक्ष खड्ग बहादुर रोकायाले शिक्षा नियमावलीमा सुत्केरी महिलालाई एसईई परीक्षामा समय थप्नुपर्ने कुनै व्यवस्था नभए पनि व्यवहारिकता हेरेर १५ मिनेट थप गरिएको बताएका छन् ।

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णाली, १७ चैत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन् । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उहाँलाई २५ सदस्यले विश्वासको मत दिएका थिए । 

उनलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिएकी छन् । प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते बस्नेछ ।

ख्वपमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने

भक्तपुर, १७ चैत – ख्वप कलेजको आयोजना र विश्वाविद्यालय अनुदान आयोगको सहयोगमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । 

व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षालगायतका अन्य शंकायमा अध्ययनरत विद्यार्थीबीच खोज र अनुसन्धान प्रवर्द्धन गर्ने सम्मेलनको उद्देश्य रहेको जनाइएको छ ।

सम्मेलनमा सम्बन्धित विषयका विज्ञद्वारा समकालीन खोज र अध्ययनमा आआफ्नो विचार पनि प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । गत वर्षको सम्मेलनमा विभिन्न १३ वटा शैक्षिक संस्थाका ३९ भन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुतिकरण गरेका थिए । दुई सयभन्दा बढीको सहभागिता रहेको कलेजले जनाएको छ ।

यसवर्ष ५० जनाभन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिने आशा गरिएको छ । यस्तो कार्यक्रमले विद्यार्थीलाई वहुआयामिक अनुसन्धानात्मक गतिविधिमा संलग्न हुन प्रेरित गरिने आयोजक समितिको विश्वास छ । 

सम्मेलनमा सहभागी हुन वैशाख ३१, २०८० सम्ममा सहभागीले आफ्नो निष्कर्ष पेश गरिसक्नु पर्ने कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले बताए । सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानमुलक लेख ख्वप कलेजर्को ख्वप जर्नल’मा प्रकाशित गरिने जनाइएको छ ।
 

सौर्या सिमेन्ट उद्योगमा चट्याङ लागेर ट्रक चालकको मृत्यु

सिरहा, १७ चैत। सिरहामा चट्याङ लागेर एकजना ट्रक चालकको मृत्यु भएको छ।  सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर- ८ का ४३ वर्षिय नेत्रप्रसाद गौतम (कुमार) को मृत्यु हो।

ट्रकमा तिरपाल बाँधिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमकाे कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

शव अस्पतालमै रहेको प्रहरीले जनाएकाे छ । 

कर्णालीका मुख्यमन्त्रीलाई एमालेले पनि विश्वासको मत दिने

सुर्खेत, १७ चैत-नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ ।

शुक्रबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको नवौँ बैठकमा आफ्ना धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विश्वासको मत दिने बताए ।

यस्तै, नेपाली कांग्रेस पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने संकेत गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठकमा आफ्ना धारणा राख्दै शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत संकेत दिएका हुन् ।

मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी प्रस्ताव राखेका थिए ।

पदभार सम्हालेसँगै गृहमन्त्रीले गरे दुई मुख्य निर्णय

काठमाडौं, १७ चैत-नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै पछि दुईवटा मुख्य निर्णय गरेका छन् ।

प्रहरीको अनुसन्धानको क्रममा गृह मन्त्रालयबाट सुराकी नाममा खर्च गर्ने प्रणालीलाई खारेज गर्ने निर्णय गरेको बताउँदै उनले उक्त निर्णय आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तावको लागि लगिने बताए ।

त्यस्तै, मिटरब्याजको समस्या समाधान गर्नको लागि कानुन केही संशोधन गर्ने गरी विधेयक पारित भइरहेकाले एउटा सर्वाधिक आयोग गठन गरेर काम कारबाही अगाडि बढाउने उनले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री श्रेष्ठको जिम्मेवारी हेरफेर भएपछि आजबाट गृहको जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए ।

दुर्गा प्रसाईँको नाउँ लिएर मणिरामले उठाए रकम !

आन्दोलनका नाउँमा कोही कसैलाई रकम नदिन प्रसाईँको अपिल 

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आफूहरूको नाउँ जोडेर लघुवित्त सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवाली लगायतले पीडितहरूसँग रकम उठाएको भन्दै आपत्ति जनाएको छ ।

महाअभियानको सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले मिटर व्याजी, लघुवित्त, सहकारी र बैङ्कहरूले चर्को व्याज असुल गरी गरिब, उत्पीडित नेपाली जनतामाथि गरेको ज्यादती विरुद्ध महाअभियान सुरु गर्दै आए पनि यो आन्दोलनका नाउँमा कोही कसैसँग सहयोग नउठाइएको प्रस्ट पारेको हो । 

विज्ञप्तिमा आन्दोलनलाई तुहाउने मनसायले लघुवित्त सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष भन्नेहरू मणिराम ज्ञवाली लगायतकाले यस संस्थाका संयोजक दुर्गा प्रसाईँको नामबाट पीडितहरूसँग प्रति व्यक्ति रु एक हजारको दरले पैसा उठाउने गरेको कुरा जानकारी  आएको भन्दै त्यस्तो कार्य नगर्न नगराउन अपिल गरिएको छ । विज्ञप्तिमा यस संस्थाले आजसम्म कोही कसैलाई त्यस्तो कार्य गर्न, गराउन आदेश नदिएको र भविष्यमा पनि नदिने उल्लेख छ । आफूहरूको नाउँ लिएर कोही कसैले सहयोग उठाउने, चन्दा लिने जस्ता कार्य गरेमा आफूहरू कानुनी उपचारमा जाने पनि विज्ञप्तिमा उल्लेख छ । 

महाअभियानले आफूहरूको नाउँ जोडेर मिटर ब्याज, लघुवित्त सहकारी पीडितसँग रकम उठाउने घृणित कार्य गर्नेहरूको घोर निन्दा र भर्त्सना गरिएको छ । 

सांग्रिला डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै

काठमाडौं, १७ चैत । सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा शुक्रबार बस्दैछ । सभामा बैंकले गत वर्षको नाफाबाट कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।

बैंकले गत वर्षको नाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबमा छलफल हुनेछ । सभा प्रयोजनको लागि बैंकले फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गरिसकेको छ । जसअनुसार  फागुन २७ गतेसम्म कायम लगानीकर्ताले बैंकले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।  

आजबाट आईपीएल सुरु हुँदै

काठमाडौं, १७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ ।उद्घाटन समारोहमा समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् ।

यसपछि ७ः४५ बजे भारतको गुजरातको अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा उद्घाटनसत्रको खेल सुरु हुनेछ । जसमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ । 

गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रिँदा चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् । होम एण्ड अवे प्रणालीमा हुने आईपीएलमा १० टिम सहभागी हुनेछन् । जसमा ७४ खेल हुनेछन् । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा राजस्थान रोयल्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र कोलकता नाइट राइडर्स छन् । यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स छन् ।
 

खोटाङ उद्योग वाणिज्य संघ अध्यक्षमा राजनप्रसाद आचार्य विजयी

खोटाङ, १७ चैत । खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजनप्रसाद आचार्य र महासचिवमा अजय बस्नेत निर्वाचित भएका छन् । कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै आचार्य वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन् । बिहीबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जोशीले १३८ मत ल्याउँदा आचार्यले ३३४ मत ल्याएका छन् । 

एकीकृत समाजवादीका जिल्ला सचिव रहेका आचार्य अन्य दलबाट टिकट नपाउँदा असन्तुष्ट व्यवसायीलाई समेटेर वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका थिए । महासचिवमा प्रतिस्पर्धी सुमन श्रेष्ठलाई २१८ मतले पछि पार्दै बस्नेत विजयी भएका हुन् । बस्नेतले ३४१ मत ल्याउँदा श्रेष्ठले १२३ मत ल्याएका छन् । कोषाध्यक्षमा भने तीन दलीय गठबन्धनका युधिर शाक्य निर्वाचित भएका छन् । शाक्यले २६० मत पाउँदा प्रतिष्पर्धी नेत्र कट्वालले १८९ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

जोशीको प्यानलबाट कुमार बजिमय (३७१), कृष्णकुमार श्रेष्ठ (मणि) (२७८), टंकप्रसाद आचार्य (३०३), रोशन शैंजु (३१३), विपिन श्रेष्ठ (२७७) र हिरालाल पुरी (२७२) बाणिज्य संघको सदस्यमा निर्वाचित भएका छन् । आचार्यको प्यानलबाट कैलाश भट्टराई (२५२) मात्र बिजयी भएका छन् । वाणिज्य संघको ६७१ मतदातामध्ये ४८० मात्रै खसेको थियो । तीन दलीय गठबन्धनकाबीच आचार्य र बस्नेतको प्यानललाई कतिपय एमाले नेताकै समर्थन मिलेको थियो । 

सात जना निर्विरोध 

वाणिज्य संघको पदाधिकारी सहित १७ जनामध्ये सात जना निर्विरोध निर्वाचित भइसकेका छन् । बरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमायाँ आचार्य, महिला सदस्य रेनुका पोखरेल र विमला राई निर्विरोध भएका हुन् ।

२४ जना विद्यार्थीले एकैपटक प्रयोग गर्न मिल्ने उपकरण जडान

भक्तपुर । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ भएको छ ।

पोखरा विश्वविद्यालयले हालै परिमार्जन गरेको पाठ्यक्रम बमोजिम विद्यार्थीलाई प्रयोगात्मक सीप दिन नयाँ प्रयोगशाला स्थापना भएको कलेजले जनाएको छ ।

कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले एक पटकमा २४ जना विद्यार्थीले एकै पटक प्रयोग गर्न मिल्ने जनाए । यसका लागि आवस्यक सबै सामग्री कलेजले केही हप्ता अगाडि खरिद गरेको उनले सम्झे । 
 

पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन ७५३ वटै पालिकाबाट

काठमाडौं, १७ चैत ।  आगामी १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो । 

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । त्यसका लागि बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गरेका हुन ।

अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने  र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ ।  त्यसका लागि वैशाखअगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताए । 

यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य अगाडि बढाइएको थियो । त्यसपछि पनि श्रमिकहरूलाई दुःख दिने, फाइलहरू अनावश्यक रूपमा अल्झाउने गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको थियो ।  सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले यो निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । 

यस्ताे छ तरकारीको तथा फलफूलको मूल्य

काठमाडौं, १७ चैत  । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । 

यसैगरी कालो अंगुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर ११०, आभोकाडो ५००, किवि ४०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ । 

यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ रहेको छ ।  ब्रोकाउली ९० रुपैयाँ, काउली स्थानिय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, रायोको साग ६०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ ।

यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैया, हरियो खु्र्सानी ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भन्टा लाम्चो र स्कूस ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी, राजमा घिउ सिमी र तिते करेला ११० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, सुकेको प्याज ३३ रुपैयाँ, भिण्डी १०० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती २६० रुपैयाँ प्रतिकेजी रहेको छ ।
 

अमेरिकी डलरसंगै युरोको भाउपनि बढ्यो

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

लगातार तिनदिन देखि घटेको अमेरिकी डलरको भाउ आज २४ पैसाले बढेको छ । यसअघि बुधबार २९ पैसाले उक्त डलरको भाउ घटेको थियो । बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । अघिल्लो दिन बुधबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको थियो ।

 
नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो भने उकालो लागेको छ । आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७० पैसाले बढेको हो । 
बुधबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो। 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यो मूल्य बुधबारको तुलनामा ७२ पैसाले बढेको हो । बुधबार यसको खरिदमूल्य १६१ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा कायम भएकाे छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ एक पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ।
 

आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । जसका लागि सत्ता साझेदार दललाई मन्त्रीको हुने व्यक्तिको नाम दिउँसोसम्ममा दिन आग्रह गरेका छन् ।

नयाँ मन्त्रीलाई शुक्रबार नै पद तथा गोपनीयताको शपथ खुवाउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले यसअघि सत्तासाझेदार दलसँग छलफल पनि गर्ने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भइसकेको छ ।

शाईराम पिक्चर्स प्रालीको निर्माणमा ‘कर्मै मेरो रैछ खोटी’तयार , भिडियोको चर्चा

काठमाडौँ : शाईराम पिक्चर्स प्रालीको निर्माणमा तयार भएको ‘कर्मै मेरो रैछ खोटी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । जसमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने संगीतकार ऋषि खड्काको शब्द संगीत रहेको छ ।

सार्वजनिक गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोले प्रेम, रोमान्स र वियोगको कथालाई देखाएको छ । नायिका शिल्पा पोखरेल र मोडल विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । प्रेममा मान्छे कतिसम्म डुब्न सक्छ भन्ने विषयलाई देखाइएको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

सुर्खेत, १७ चैत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट शुक्रबार विश्वासको मत लिँदैछन् ।

 सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिन लागेका हुन् ।

एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा गत २७ पुसमा शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो देश हाम्रो पुस्ताले हाँक्ने छ, संसद छिर्ने सपना छ – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो संसद छिर्ने सपना रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फ लामिछानेले यस्तो बताएका हुन् । उनले गोडामा काँडा बिझेकोले निहुरिएको तर कसै सामुख नझुकेको बताएका छन् ।

उनले अब स्वर्णिम दिनहरु आउने र देश आफूहरुकै पुस्ताले हाँक्ने पनि बताएका छन् । उनले लेखेका छन् – ‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’

एसएमई प्लाटफर्म यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । धितोपत्र बजारमा साना तथा मझौला संगठित संस्थाको मात्र कारोबार हुने प्रणाली (एसएमई प्लाटफर्म) यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले एसएमई प्लाटफर्म सञ्चालनका लागि नियमावली तयार गरेको छ ।

बोर्डले बिहीवार साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा सार्वजनिक गरेको हो । बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएर उक्त नियमावली तयार गरेको जानकारी दिएको छ ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारमा बहुआयामिक प्रभाव पार्ने एसएमई प्लाटफर्म यसै आर्थिक वर्षभित्र सञ्चालन गर्ने गरी नियमावली तयार गरिएको बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

रामनवमीको अवसरमा राजविराज बृहत् झाकी प्रदर्शन

सप्तरी, १६ चैत – रामनवमी पर्वको अवसरमा(बिहीबार) राजविराजमा बृहत् झाँकी प्रदर्शन गरेर धुमधामले रामनवमी मनाइएको छ ।

चैत्र शुक्ल नवमी रामनवमीका अवसरमा बिहानैदेखि राजविराजस्थित राममन्दिर बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको थियो । स्थानीय बासिन्दा तथा युवाको अगुवाइमा हजारौंको संख्यामा झाँकी, कलश यात्रा जिल्लाको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।

राम मन्दिरबाट निकालिएको झाँकी नगरेको गजेन्द्र चोक, दर्शन चोक, कुनोली रोड हुँदै तेतरी गाछी, हनुमानमन्दिर, राजदेवी मन्दिर हुँदै नगरको विभिन्न ठाउँमा परिक्रममा गरेको थियो ।

नरसिंह हिन्दु सेना नेपाल, राममन्दिर व्यवस्थापन समितिलगायत विभिन्न संघ-संस्थाको अगुवाइमा निकालिएको झाँकीमा स्थानीय भक्तजन, महिला, युवा, विद्यार्थीसहित स्थानीयको हभागिता थियो ।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादापुरुष भगवान् रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन देशभर रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, आध्यात्म वाल्मीकि र तुलसीकृत-रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा छ ।

अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान् विष्णुको सातौं अवतारका रुपमा जन्मेको बताइन्छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए ।

आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

पर्व चैती नवरात्रको बीचमै परेकाले आजको दिन भगवान् रामको साथै आदि शक्ति नवदुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेस प्रदेश सरकार (बिहीबार) सार्वजनिक बिदा दिएको थियो ।

सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाइदै

काठमाडौं । गत सातादेखि एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपाल समाचारपत्रलाई दिएका जानकारीअनुसार सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाउन लागिएको हो ।

जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउन विभिन्न सञ्चार माध्यमबाट सचेतना फैलाइएको जानकारी दिँदै उनले संक्रमण फैलन नदिन मन्त्रालय सक्रिय रहेको बताए । जोखिममा रहेका व्यक्तिलाई जोगाउन परिवारकै भूमिका बढी हुने जिकिर उनले गरे ।

उनले भने, ‘कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका, दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएका या बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएका ५५ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई कोरोना संक्रमणबाट बचाउने उद्देश्यले पुनः बुस्टर मात्रा दिने कार्यक्रम ल्याएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत ३ दिनमा १७ जना संक्रमित निको भएर घर फर्किसकेको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या १ सय २३ जना रहेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।

आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा महत्वपूर्ण भूमिका खेल्न  सबैमा आग्रह गरेका छन् । 

छोराको शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखिन् यी आमाले

भनिन्छ – आमा महान् हुन् । कोहलपुर- २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन् ।

कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।’

शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन् । तर गाउँमा मान्छे मरेकाले उनले सोचेअनुसार हुन सकेन । उनले भनिन्, ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन। खसी विक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ ।’

उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुन् । एउटा छोरा नवीनबहादुरको स्वास्थ्य अवस्था कमजोर छ । कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीवहादुरले भने एसइई दिन पाउने भएका हुन् ।

‘विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ ।’ अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।

चीनसँगका नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति

काठमाडौँ । नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।

त्यसैगरी तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र मानव आवागमन तथा यारी–पुलाङ क्षेत्रबाट यात्रु आवागमन भने आगामी वैशाख १८ गतेदेखि सञ्चालन गर्ने सहमति भएको छ । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्ने सहमति जनाएको छ ।

नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल पक्षले गर्ने पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासन पनि दिएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जानकारी दिएको छ ।

नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले संयुक्त अध्यक्षता गर्नुभएको बैठकमा सीमापार व्यापार र जनसम्पर्कलाई अधिकतम स्तरमा सञ्चालन गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै चीनमा अमिलो फलफूल, सुक्खा मासु र औषधिजन्य जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायतका क्षेत्रमा सम्भावित सहयोगबारे छलफल भएको थियो । सचिव मरासिनीले काठमाडौँ–ल्हासा सिधा उडानका लागि आग्रह गरे। यो समाचार गोरखापत्र दैनिकमा छ ।

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदारको नाम, बारामा रमेश खरेल, चितवनमा रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । बिहीबार राती रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो ।

उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन्। त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन् ।

त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ। चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।

बारा २ मा युवराज पनि आकांक्षी देखिए पनि उनलाई व्याक गराएर खरेललाई नै उठाउने स्रोतको भनाई छ ।

राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ। यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।

यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ । 

आजदेखि एसईई परीक्षा सुरु

काठमाडौं, १७ चैत – यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

यसवर्षको एसईईमा सहभागी हुने छात्रछात्राको संख्यामा थोरै मात्रै फरक छ। दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदै छन् । 

यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।

अनुदानको मकैको बिउमा पनि भ्रष्टाचार, प्रबन्ध सञ्चालक अधिकारीलाई दुई वर्ष कैद

काठमाडौं । राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले मुद्दा दायर भएको तीन वर्षपछि प्रबन्ध सञ्चालक अधिकारीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद तथा जरिमाना सजाय हुने फैसला सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ फागुन २०७६ मा अधिकारीसहित ८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेकोमा तीन जनाले सफाइ पाएका तथा पाँच जनामाथि दोषी ठहर भएको विशेष अदालतले जनाएको छ ।

अख्तियारले अधिकारीमाथि उन्नत जातको ११८.४६० मेट्रिक टन मकैको बिउ खरिद नै नगरी झूठा कागजात बनाएर सदर गरेको अभियोग लगाएको थियो । ३ जेठ २०७४ मा उक्त परिमाणको मकैको बिउ खरिद गरेको भनी भुक्तानी दिन गलत पत्र तयार गरिएकोमा त्यसलाई सदर गरेका थिए ।

कार्यालयमा माल प्राप्त नहुँदै माल प्राप्ति कागजमा हस्ताक्षर गरेको र विभिन्न सात जिल्लाका कृषि सहकारी संस्थालाई मकैको बिउ बिक्री गरेको भनी नक्कली बिल काटेको भेटिएपछि मुद्दा दायर भएको हो ।

अधिकारीको उक्त कार्यबाट नेपाल सरकारलाई ४६ लाख १५ हजार रुपैयाँभन्दा बढी नोक्सानी भएको अख्तियारको दाबी थियो । सो रकम नेपाल सरकारको अनुदानको भएको र त्यसमा हिनामिना गरिएको दाबी अख्तियारको थियो । या्े समाचार राजधानी दैनिकमा छ ।

पत्रकार महासंघको स्थापना दिवसमा सप्तरीमा २४ जनाले गरे रक्तदान

सप्तरी, १६  चैत – नेपाल पत्रकार महासँघको ६८औं स्थापना दिवसको अवसरमा शाखा सप्तरीले बिहीबार रक्तदान कार्यक्रम गरेको छ ।

रक्तदान गर्नेमा नेपाल पत्रकार महासँघका कावा अध्यक्ष बैधनाथ यादब, संचारकर्मि रक्षा चौधरी, जितेन्द्र झा, रामनारायण यादब, कमल मण्डल, रमानन्द देव, दिपेश देव जोशी, संजिव दास रहेका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका सई प्रराज चौलागाई, सागर मल्ल,अजय चौधरी,जितेन्द्र यादब,सुमन चौलागाई,कौशल पुन,नवराज श्रेष्ठ,रामशरण महतो,शिरोमनि साह,सशस्त्र प्रहरी वल तर्फ सई सजित श्रेष्ठ,केवल कार्कि,हेमबहादुर सेढाई,कुमार सिवभक्ती,कृष्ण लामा, श्यामकुमार श्रेष्ठ, र सुजन बैरवा लगायत २४ जनाले रक्तदान गरेको महासँघ सचिव रामनारायण विश्वासले जानकारी दिएका छन् ।

उक्त अवसरमा पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह र शाखा सप्तरी कावा वैधनाथ यादबले संयुक्त रूपमा केक काटेर स्थापना दिवस मनाएको छ ।

उक्त अवसरमा नेपाल पत्रकार महासँघका पूर्वअध्यक्ष बैधनाथ झा, मुरली यादब, प्रेस मंचका महासचिव अवधेश झा, प्रेस मंच सप्तरीका अध्यक्ष भूषण सिँह, प्रेस युनियनका केन्द्रीय सदस्य मिथलेश यादव,शाखा सप्तरी सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीन गुप्ता, समाजसेवी हितनारायण लाल दास, संचारकर्मि चन्दन यादब, बिन्दु यादव, प्रियासिँह थारू, कृष्णा मण्डल, परिष कर्ण, रक्त संचार केन्द्र नवीन झा, शैलेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु

बर्दिया, १६ चैत – बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । राजापुरतर्फ गइरहेको बस र गुलरियातर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ । 

भे १ ख २२५४ नम्बरको बस र भे ४ प ५६४७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पछाडि बसेकी ठाकुरबाबा नगरपालिका ९ कि २६ वर्षीया सरिता थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो । प्रहरीले बस चालक तेजमान थारु र बसलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

धनगढी, १६ चैत – सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लव मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहिवार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले उपाधिका लागि शनिवार मनाङ मस्र्याङ्दी क्लवसँग खेल्नेछ ।

खेलको ३०औं मिनेटमा पहेँलो कार्ड पाएका थ्री स्टारका दिपेश गुरुङ ४४औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। थ्री स्टार क्लव १० खेलाडीमा सिमित भएपनि पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । 

बिक्रम लामाले ८३ औं मिनेटमा हेड मार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्जुरी समयमा आयोजक टीमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए । 

पेनाल्टी सुटआउटमा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए। थ्री स्टारका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो। खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका कप्तान बिक्रम लामा घोषित भए। उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । 

यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लवलाई हराउर्दै मनाङ मस्र्याङ्दी क्लव प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
 
 

के राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको कागजात खारेज गर्न तयार छन् ?’ – लिङ्देन

काठमाडौं, १६ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका छन् । 

बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उनले राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुृक जलाउन चुनौती दिएका हुन् । 

मिटरब्याजी पीडित काठमाडौं आएर न्यायका लागि संघर्ष गरिरहेका बेला उनले सत्ताको नेतृत्वमा रहेकालाई मिटरब्याजीको तमसुक राजाले जस्तै जलाउन चुनौती दिएका हुन् । 

तमसुक व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र  हो भन्ने भाष्य निर्माण गर्नेहरू नै अहिले राज्यसत्ताको नेतृत्वमा रहेको भन्दै उनले राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक जलाउन (खारेज)गर्न तयार छन् भन्दै प्रश्न गरेका छन् । 

बिहीबार ट्वीटरमा आफूले सेयर गरेको भिडिओ हेर्न आग्रह गर्दै उनले लेखेका छन्, ‘ तमसुक (मिटरब्याज) व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र  हो भन्ने भाष्य निर्माण गर्नेहरू नै राज्यसत्ताको नेतृत्वमा छन् ।  के राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक (कागजात) जलाउन (खारेज) गर्न तयार छन् ?’
 

लाहुरे ठाडो भाका ल्याउँदै गायक खड्क गर्बुजा र ताराश्री

काठमाडौं, १६ चैत – नयाँ वर्ष २०८० को अवसर पारेर लोकदोहोरी गायक खड्ग गर्बुजाले ‘लाहुरेः ठाडो भाका’ लिएर आउँदैछन् । 

लोकदोहोर क्षेत्रमा कालिगण्डकीको सालैज्यू भाकालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने जस पाएका गर्बुजालाई गायनमा ताराश्रीष मगरले साथ दिएकी छन् ।  शारीरिक अपाङ्गताका बाबजुद पनि दर्शकलाई आफ्नो स्वरले मुग्ध बनाउने क्षमता राख्ने गायक गर्बुजाको लाहुरेमा अभिनय गरेको छन्, अभिनेता राहुल केसी र केकी अधिकारीले । 

गर्बुजालाई सालैजो, सोरठी, यानिमाया ठाडो भाखा, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकगीतलाई पुनर्जिवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन् । गायक तथा संकलक गर्बुजाको पुराना गीतहरूलाई भिडियोमार्फत दर्शकमाझ ल्याउने खोजेको हुन्, राजु केसी र रक्षा बानिया केसीले ।

कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा डान्सको स्टेप दिइरहेका केकी र राहुल नाचेको हेरेर गायक गर्बुजा मुस्कुराइरहेका थिए । गायक गर्बुजा र अभिनेता राहुलको गृह जिल्ला म्यादी हो। हाल अमेरिकालाई कर्मभूमि बनाउँदै आएको राहुलकाअनुसार गर्बुजाले गाएका पुराना गीतलाई पुर्नरेकर्ड तथा भिडियो बनाई गण्डकी क्षेत्रको लोकभाकालाई विश्वमा छरिएका नेपालीमा लैजाने बताउँछन् । नयाँ बर्षको अवसर पारेर गीत सार्वजनिक गर्ने लक्ष्य रहेको बताए निर्देशक निर्माता राजु केसीले ।

कोकिनसहित भारतीय महिला पक्राउ

काठमाडौं, १६ चैत – नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थित एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेका छन् । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको व्युरोका प्रमुख ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । 

फागुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेक गर्ने क्रममा लगेजभित्र चारवटा लेडिज फल्सबटम बनाई लागू औषध लैजान लागेको अवस्था पक्राउ गरिएको खनालले बताए ।