`

गृह गृहमन्त्रालमा माओवादी र समाजवादीको रस्साकस्सी

काठमाडौं । सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृहमन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने भनेको गृहमन्त्रालय नेकपा एकीकृत समाजवादीले पनि नछाड्ने भएपछि प्रधानमन्त्री दाहाल सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यबाट पछि हटेको बताइएको छ ।

गृह गृहमन्त्रालयसहितका तीन मन्त्रालय आफ्नो पार्टीको बटम लाइन भएको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । उनले भने, ‘गठबन्धनमा रहेका कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री, जसपाले उपराष्ट्रपति पाएपछि एकीकृत समाजवादीले पनि मन्त्रालय रोज्न पाउनुपर्छ । हाम्रो बटम लाइन उपप्रधान र गृहसहितका तीनवटा मन्त्रालय हो । उक्त मन्त्रालयका विषयमा प्रधानमन्त्री सकारात्मक नभए हामी सरकारमा जाँदैनौं ।’

भागबण्डाकै विषयलाई लिएर गठबन्धनमा संकट आइपर्ने संकेत देखिएको छ । पाण्डेले गठबन्धनमा सहभागी र बाहिरका दलहरूसमेत मिलेर प्रधानमन्त्रीलाई १ सय ७२ विश्वासको मत दिएपछि प्रधानमन्त्रीले अन्य दलहरूलाई बेवास्ता गर्न थालेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीलाई हामी ११ दल मिलेर १ सय ७२ मतसहित विश्वास जुटायौं । त्यसपछि हाम्रो काम सक्किगयो नि । अहिले खोलो त-यो, लौरो बिर्सियोजस्तै हुन थालेको छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रांगारिक मल कारखानाको तयारीमा खाद्य बैंक

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । अग्र्यानिक उत्पादन गरी कृषि वस्तुमा परनिर्भरता घटाउने उद्देश्यले स्थापना गरिएको बैंकले मुलुक पूर्ण रूपमा रासायनिक मलमा परनिर्भर हुँदा वर्षेनि अर्बौं रुपैयाँ बाहिरिने भएकाले त्यसलाई रोक्ने उद्देश्यले प्रांगारिक मल कारखाना स्थापना गर्ने तयारी गरेको बताएको छ ।

कारखाना स्थापनाका लागि अहिले विज्ञहरूको संलग्नतामा विभिन्न चरणमा अध्ययन भइरहेको कम्पनीले जानकारी दिएको छ । बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले प्रांगारिक मल कारखाना स्थापनाका लागि अध्ययन थालिएको जानकारी दिए । उनका अनुसार अबको केही वर्षभित्रै खाद्य बैंकसँग आबद्ध लाखभन्दा बढी किसानलाई प्रांगारिक मल उपलब्ध गराउन सकिने गरी कारखाना खोल्ने उद्देश्यले अध्ययन थालिएको छ । अध्ययनपश्चात् कारखाना सम्भव भएर उत्पादन शुरू गर्न सके विस्तारै त्यसलाई देशव्यापी बनाउने योजना रहेको उनले सुनाए ।

‘हामीले चीन, दक्षिण कोरिया, जापानलगायत देशमा प्रांगारिक मल उत्पादन गरिरहेका कम्पनीसँग सहकार्य गरेर नेपालमा पनि यसको सम्भावनाबारे अध्ययन गरिरहेका छौं । प्रारम्भिक अध्ययनले प्रशस्त सम्भावना देखाएको छ,’ उप्रेतीले आर्थिक अभियानसँग भने, ‘यसको उत्पादन लागत रासायनिक मलभन्दा निकै सस्तो पर्ने देखिएको छ ।’

उप्रेतीका अनुसार यसमा सहकार्य गर्न कोरियन कम्पनीहरूले चासो पनि देखाएका छन् । ‘त्यसैले उनीहरूसँगै सहकार्य गरेर काम अघि बढाउँछौं,’ उप्रेतीले थपे ।

रासायनिक मलविना कृषि उत्पादन असम्भव जस्तै छ । यस्तो बेला सरकारले कृषिका लागि छुट्ट्याउने कुल बजेटको आधाभन्दा बढी अंश रासायनिक मल खरीदमै खर्च हुने गरेकाले कृषिका अन्य क्षेत्रमा बजेट नै नजाने स्थिति आउने सक्ने जोखिम छ ।

बजेट जति सबै रासायनिक मलमा खर्च हुने र कृषिका पूर्वाधार विकासका काम पछि पर्ने खतरा बढ्दै गएकाले रासायनिक मलमाथिको परनिर्भता घटाउन प्रांगारिक मल कारखाना नै उत्तम विकल्प हुन सक्ने उप्रेतीको भनाइ छ । त्यसैले खाद्य बैंकले यसको थालनी गर्न पहल गरेको उनले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कांग्रेसको कार्यसम्पादन समिति बैठक अब बिहिवार

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेकाे छ । 

मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहिवारका लागि सरेकाे हाे । 

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ, मुख्य सचिव कृष्णप्साद पाैडेलले भनेका छन’, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।

सरकारमा सहभागी हुने निर्णय गरिसकेको भएपनि क–कसलाई मन्त्री बनाउने टुंगो गरि नसकेको अवस्थामा कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको थियाे । यसअघि बसेको कार्यसम्पादन समिति बैठकले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी र समानुपातिक सिद्धान्तका आधारमा मन्त्री छान्ने मापदण्ड बनाएअनुसार आज सम्भावित मन्त्रीहरुको नामावलीका बारेमा छलफल हुने जनाइएकाे थियाे ।

आज अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्री परिषद विस्तारवारे छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन ।

आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद विस्तारका वारेमा छलफल हुनेछ । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी ब्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ । 

आजको मौसमः देशका पहाडी भु भागमा बर्षा हुने

काठमाडौं, १४ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

देशका पहाडी भू–भागका एक(दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उता राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

६० हजारको साइकल चढ्छन् सलमान खान

बलिउड कलाकार महँगा कारसँगै महँगा साइकलका पनि सौखिन छन् । आलिशान जिन्दगी बिताउने उनीहरूमध्ये केहीसँग प्राइभेट जेट पनि छ । जेट र कार भए पनि उनीहरूमा साइकल कुदाउने सोख उत्तिकै छ । त्यसैले उनीहरूलाई कैयौंपटक मुम्बईका सडकमा साइकल कुदाइरहेको भेट्न सकिन्छ ।

अभिनेता सलमान खानसँग महँगो कार र बाइकको कलेक्सन छ । गत महिना उनी बुलेट प्रुफ गाडी कोयोडा ल्यान्ड क्रुजरका कारण चर्चामा आएका थिए । कार र बाइकका अलावा सलमान साइकलका पनि सौखिन हुन् । उनी कैयौंपटक मुम्बईमा साइकलमा घुम्दै गरेको अवस्थामा भेटिएका छन् । उनीसँग बिइङ ह्युमनको साइकल छ । यसको मूल्य करिब ६० हजार भारु पर्छ ।

सरकारमा जान आतुर छैनौं – रास्वपा उपसभापति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताउका छन् ।

चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका लागि चितवनमा रहेका उनले यस्तो बताएका हुन् । उनले रास्वपा सरकारमा जानु समयको माग भएको बताए । उनले सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै सरकारमा जान आतुर भने नभएको बताए ।

उनले भने “सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो । सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ”

सरकारमा सहभागी भएको खण्डमा रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझ्नुपर्ने उनले बताए ।

मनाइयो ६२ औँ विश्व रङ्गमञ्च दिवस

काठमाडौं, १० चैत – ६२औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा माला आर्टस् एकेडेमीको संयुक्त आयोजनामा सोमबार प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा विश्व रङ्गमञ्च दिवस मनाइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वरिष्ठ नाटककार अभि सुवेदीले विश्व रङ्गमञ्च सन्देशका रुपमा अन्तर्राष्ट्रिय रङ्गमञ्च संस्थाले छनौट गरेको इजिप्टकी प्रख्यात अभिनेत्री समिहा अयुवद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गरिएको थियो । सन्देश डा. शिव रिजालले नेपालीमा अनुवाद गरेका थिए ।  कार्यक्रममा वरिष्ट रङ्गकर्मी सुनिल पोखरेलले ६२ औँ रङ्गमञ्च सन्देशका लेखक समिहा अयुवकाबारेमा जानकारी गराएका थिए । 

माननीय मन्त्री किरातीले रङ्गमञ्च दिवसको शुभकामना व्यक्त गर्दै कला मानव समाजमा मनोरञ्जनका लागि मात्र अस्तित्वमा आएको नभई मानव जीवन र समाज रुपान्तरणका लागि बनेको बताए ।   नेपाली मौलिक हरिसिद्धि नाच, जल प्याखः जस्ता अमूर्त सम्पदा तथा डबली परम्परालार्ई  पवद्र्धन गर्न सके नेपालले धेरै पर्यटकहरुलाई आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लगायत नाट्य विधासंग सम्बन्धित संस्थाहरुलाई नेपाली संस्कृति र प्रकृति झल्किने सिर्जनाहरु गरी विदेशी भूमिमा प्रस्तुत गर्ने योजना बनाउन उनले सुझाए ।  

कुलपति निशा शर्माले आगामी कार्यक्रम तथा योजनाहरुकाबारेमा जानकारी दिंदै मौलिक कलाको संवद्र्धन र प्रवद्र्धनका निम्ति हरेक पालिकामा रहेका मौलिक कला तथा सोसंग सम्बिन्धित व्यक्तिहरुसँगको अन्र्तवार्ता आर्काइभका रुपमा राख्नु पर्नेमा जोड दिइन् । आफूहरुसँग सङ्गीत तथा नाटकलाई गतिशील बनाउने थुप्रै योजनाहरु भएपनि बजेटको अभाव रहेको उनले बताइन् ।  

उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिदै प्रज्ञा प्रतिष्ठानसँग जग्गा उपलब्ध भएपनि कार्यक्रम गर्ने हलको अभावमा पाल टाँगेर कार्यक्रम गर्नु पर्ने बाध्यता रहेको बताए । कार्यक्रममा वरिष्ठ अभिनेता सरोज खनालले शुभकामना मन्तव्य व्यक्त गर्दै आफूसँग रङ्गकर्मको ३६ वर्षको अनुभव रहेको र रङ्गमञ्चलाई प्रवद्र्धन गर्नका निम्ति माला आर्टस् एकेडेमीमार्फत विविध गतिविधिहरु गर्र्दै आएको बताए ।

कार्यक्रममा डा. शिव रिजालले विश्व रङ्गमञ्च र नेपालको उल्लेखनीय भूमिका विषयमा आफ्नो भनाई राख्दै नेपालमा रङ्गकर्मीहरुले विभिन्न नाट्य संस्था मार्फत गतिविधिलाई गतिशील बनाइरहेको अवस्थामा नाट्यकर्मी तथा रङ्गकर्मीहरुले यस क्षेत्रबाट जिविकोपार्जन भएकाले उनीहरुलाई श्रमिकका रुपमा बुझ्न ढिला गर्न नहुने बताए । त्यस्तै आफ्नो भनाई राख्दै रङ्गकर्मी आकांक्ष कार्कीले नाटक सामूहिक प्रयास भएकाले सबैले आफ्नो अपनत्व हुने किसिमले यस क्षेत्रमालाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

औपचारिक कार्यक्रमलाई समापनपछि सलिल सुवेदीले  र समूहले  साङ्गीतिक प्रस्तुति दिए भने  विभिन्न रङ्गकर्मीहरुले सरोज अर्याल तथा सन्दिप डंगोलको परिकल्पनामा रङ्गमञ्च यात्रा प्रस्तुत गरे । साथै कलाकारहरुले क्यानभासमा चित्र समेत सिर्जना गरेर प्रस्तुत गरे । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति भुपाल राई तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमूनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव,  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लागयत वरिष्ठ स्रष्टा तथा सर्जकहरुको उपस्थिति रहेको थियो । 
 

सत्तारूढ दलहरू किन सभामुखको अधिकार कटौती गर्न चाहन्छन्?

संसद् बैठकको समय तय गर्ने सहितका सभामुखको अधिकार कटौती गर्न सत्तापक्षीय दलहरूले सुरु गरेको प्रयासले शक्ति पृथकीकरणमा असर पुर्‍याउने एक पूर्वसभामुखले बताएका छन्।

अहिले छलफलमा रहेको प्रतिनिधिसभा नियमावलीमा प्रस्तावित सभामुखको एकल अधिकार कटौती गर्न सत्तापक्षीय सांसदहरूले संशोधन दर्ता गरेका छन्।

प्रस्तावित नियमावलीले सभामुखले “तोकेको दिन र समयमा” प्रतिनिधिसभाको बैठक बस्ने उल्लेख गरेको छ। बैठकको कार्यसूची तय गर्ने सहितका अधिकार यसअघिका अभ्यासजस्तै सभामुखसँग हुने व्यवस्था प्रस्तावित नियमावलीले गरेको छ।

तर सांसदहरूले सबै दलका सांसदहरूको प्रतिनिधित्व रहने कार्यव्यवस्था परामर्श समितिबाट स्वीकृत गराएर मात्रै सभामुखले सदनमा गर्ने कामबारे निर्णय लिन सक्ने प्रस्ताव आफ्नो संशोधनमा राखेका छन्।

“यस नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ,” नेपाली कांग्रेसका सांसदहरू राजेन्द्रकुमार केसी र सञ्जयकुमार गौतमको संयुक्त संशोधनमा माग गरिएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तापक्षका सांसदहरूको यस्तो कदममा असहमति जनाएको छ।सत्तापक्षका दलहरूले राखेको संशोधनले सदन र संसदीय समिति सञ्चालनमै बाधा उत्पन्न हुने पूर्वसभामुख दमननाथ ढुङ्गाना बताउँछन्।

“सभामुखसँग प्रशस्त अधिकार नभई सभा चल्नै सक्दैन। यो पार्टीको सभामुख आयो अधिकार झिक्ने अर्को पार्टीको आयो थप्ने गरेर हुँदैन। यो हाम्रो राजनीतिक संस्कार नभएको लक्षण हो,” उनले भने।

सत्तापक्षका सांसदहरूले तत्कालका लागि सरकारलाई अनुकूल हुने नियमावली बताउँदा त्यसको प्रभाव दीर्घकालसम्मै पर्ने ढुङ्गाना बताउँछन्।काठमाण्डू विश्वविद्यालयमा कानुनका प्राध्यापक विपिन अधिकारीले पनि जस्तो “उपचार” खोजिँदैछ त्यसले “संसद्को औचित्य समाप्त गरिदिने खतरा” भएको जनाएका छन्।

सामाजिक सञ्जाल ट्विविटरमा उनले लेखेका छन्, “सभामुखको भूमिकाको स्रोत संविधान हो। नियमावली सुधारका प्रयासहरुले प्रधानमन्त्रीय नेतृत्व र संसद्को आधारभूत प्रणालीलाई अवरुद्ध गर्नु हुँदैन। कार्य व्यवस्था परामर्श समिति परामर्शका लागि बनेको हुन्छ। न त यसले सभामुखलाई आदेश दिन सक्छ, न सभामुखले यसप्रति जवाफदेही वहन गर्नुपर्दछ।”

अधिकार कटौतीको उद्देश्य
यो संशोधनका पछाडि एउटा रोचक पक्ष छ – अहिले प्रमुख संवैधानिक पदहरू सत्तापक्षीय दलहरूसँग भए पनि प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षजस्ता महत्त्वपूर्ण विधायिकी पदहरूमा प्रतिपक्षमा रहेको नेकपा एमालेबाट निर्वाचित नेता छन्।

सभामुखको यो अधिकार कार्यव्यवस्था परामर्श समितिलाई दिँदा सत्तापक्षले चाहेको विषय मात्रै संसद्‌मा अघि बढाउन सहज हुने देखिन्छ। सबै दलहरूको प्रतिनिधित्व रहने २१ सदस्यीय यो समितिमा अधिकांश अवस्थामा सत्तापक्षको बहुमत हुन्छ।

सभामुख प्रतिपक्षबाट निर्वाचित भएका कारण भूमिकामा आशङ्का गर्दै सत्तापक्षले उनको अधिकार खोस्न लागेको आशङ्का पूर्वसभामुख दमननाथ ढुङ्गानाको छ।

“अहिले एमालेबाट निर्वाचित भएका सभामुखप्रति अविश्वास देखियो तर सभामुख त फेरि पनि कुनै न कुनै दलबाट निर्वाचित भएर आउने हो। यसरी अविश्वासबाट संस्थाको विकास कहिल्यै हुँदैन,” उनले भने।

ट्विटरमा आफूले गरेको एउटा पोस्टको अर्थ लगाउँदै उनले बीबीसीसँग भने, ” कार्यव्यवस्था समिति संसद्को ठेकेदार होइन। सुझबुझपूर्ण निणय होस् भन्नाका लागि उक्त समितिको सहयोग आवश्यक छ। तर निर्णयकर्ताको स्थानमा आफूलाई स्थापित गर्न खोज्नु हुँदैन।”

सत्तापक्षलाई ‘झस्काउने’ सभामुखको निर्णय
आफूहरूसँग सल्लाह नगरी सभामुखले संसद् बैठक राखेको आरोप सत्तापक्षीय सांसदहरूले लगाएका छन्। यसअघि चैत्र ९ गतेका लागि राख्ने भनिएको प्रतिनिधिसभा बैठक सभामुखले १२ गते तोकेपछि सत्तापक्ष सभामुखसँग “झस्किएको” नेपाली कांग्रेसका सांसदहरू बताए।

सङ्गठन विस्तार अभियानमा आफ्नो दलका सांसदहरू व्यस्त रहेको भन्दै एमालेको आग्रहपछि सभामुखले बैठकको मिति १२ गते राखेको बताएका थिए। तर त्यस्तो निर्णय लिनुअघि सत्तापक्षलाई जानकारी नदिइएको कांग्रेस र माओवादीका सांसदहरूको गुनासो छ।

“हामीले कार्यव्यवस्थाबाटै निर्णय गर्नुपर्छ भनेका छौँ। उहाँलाई कतिसम्म दिन सकिन्छ भन्ने विचार गर्नुपर्छ। धेरै अधिकार दिन त उहाँ पनि दलभन्दा माथि उठेर आउनुपर्‍यो नि,” जनमत पार्टीकी सांसद अनिता देवीले भनिन्।

सबै दलहरूलाई समान व्यवहार गर्नुपर्ने विषयमा सभामुख पनि सचेत हुनुपर्ने पूर्वसभामुख ढुङ्गानाको सुझाव छ।“सभामुखले पनि हरेक सदस्यलाई दलभन्दा माथि उठेर हेर्नुपर्छ र सांसदले पनि पार्टीको दृष्टिकोणले हेर्नु भएन,” उनी भन्छन्।

कतिपयले सभामुखको अधिकार कटौतीको प्रस्तावले यो पद आलङ्कारिक बन्न सक्ने बताएका छन्। तर ढुङ्गाना सभामुख सरकारको सिफारिसमा मात्रै काम गर्ने राष्ट्रपति जस्तो सभामुख आलङ्कारिक हुनै नसक्ने बताउँछन्। “सभामुख त सदनमा पनि सदन नचलेको समयमा पनि आफैँ निर्णय गर्ने अधिकारी हो,” उनले भने।

एमालेको आपत्ति
नेकपा एमालेका सचेतक महेश बर्तौला सभामुखको अधिकार कटौती गर्ने प्रस्तावमा आफ्नो दलको आपत्ति रहेको बताउँछन्।

“सभामुखको अधिकारमै अङ्कुश लगाएर सिङ्गो कार्यपालिकालाई कसरी संसद्प्रति उत्तरदायी बनाउन सक्छौँ,” बर्तौलाले भने।सत्तारूढ दलका सांसदहरूको संसद्का गतिविधिमा सरकारको छाया पर्ने उनको दाबी छ।

“सभामुख भनेको फुटबलको रेफ्री जस्तो हो। खेल चल्दाचल्दै पनि निर्णय गर्नुपर्छ। कार्यव्यवस्थाबाट निर्णय गरेर मात्रै काम गर्ने कुराले सदनको नेतालाई विश्वास नगरेको भयो,” उनले भने।

“बरु सभामुखले गलत गरे त्यसका लागि पनि कानुनी व्यवस्था छ त,” सभामुखविरुद्ध महाभियोग लगाउन सकिने व्यवस्थाबारे सङ्केत गर्दै बर्तौला भन्छन्।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान

भक्तपुर, १३ चैत – भक्तपुरका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सोमबार एक भव्य समारोहवीच सम्मान गरिएको छ । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरले संस्थामा सदस्य रहेका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

संस्थाकोतर्फबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सदस्य जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् । विजुक्छेंले जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । संस्थाले प्रत्येक वर्ष संस्थाका सदस्य ७० वर्ष नाघेका बृद्धबृद्धालाई वर्षमा एकपटक यसरी नै सम्मान गर्दै आएको जनाएको छ ।

कार्यक्रममा जनाइए अनुसार संस्थाले २०६९ सालबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम थालेको थियो । वर्षमा एक पटक गरी गतवर्षसम्म ६ सय ७१ जेष्ठ नागरिकलाई सम्मान गरिसकेको कार्यक्रममा जनाइयो । तीमध्ये स्वास्थ्यलगायतको विविध कारण ३५ जना जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी हुन नसकेको कार्यक्रममा बताइयो । सोमबार थप एक सय १५ जना सदस्य जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

संस्थाले ६० वर्षमाथिका व्यक्तिहरुलाई जेष्ठ नागरिकको मान्यता दिएको छ । तर पनि सम्मान भने ७० वर्षमाथिकालाई मात्रै गर्दै आएको छ । संस्थामा पाँंच सय ९७ जना जेष्ठ नागरिकहरु सदस्य रहेको जानकारी गराइएको छ । उनीहरुबाट ४२ करोड ८० लाख रुपैयाँं बचन भएको जनाइएको छ । 

संस्था भक्तपुरकै सवैभन्दा ठूलो सहरकारी संस्था हो । यसमा कुल १६ हजार दुई सय १० सदस्य रहेका छन् । संस्थामा दुई अर्व ७० करोडको पुँजी रहेको जनाइएको छ । 
कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले बृद्धबृद्धाहरुको उचित स्याहारसुसारका लागि आदर निकेटनको आवश्यकताबारे चर्चा गर्नुभयो । अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका जेष्ठ नागरिकहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको उनंले बताए । त्यसकारण त्यस्त जेष्ठ नागरिकहरुको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका संयोजक डा रत्नसुन्दर लासिवाले सहभागी जेष्ठ नागरिकहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी गराए । उनंले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना जेष्ठ नागरिकहरुलाई सचेत रहन आग्रह गरे । 

संस्थाका अध्यक्ष रुद्रनारायण लाखाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद दुमरुले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम अघि सहभागी जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सुविधा पनि प्रदान गरिएको थियो । उनीहरुका लागि त्यहाँं प्रेसर जाँच, हाडजोर्नी, डेण्टल र जनरल स्वास्थ्य सेवा उपलव्ध गराइएको थियो । साथै निशुल्क औषधि पनि वितरण गरिएको थियो । 

मोरङमा महिलाको शंकास्पद मृत्यु

विराटनगर, १३ चैत – मोरङको पथरीशनिश्चरे नगरपालिका–३ किरात चोकमा आफ्नै घरभित्र सोमबार एक जना महिला मृत फेला परेकी छन् । 

शंकास्पद अवस्थामा ४१ वर्षीया शारदा सुन्दास बिहान ११:४० बजेतिर मृत फेला परेकी हुन् । घटना शंकास्पद देखिएपछि शारदाका पति ६८ वर्षीय बलबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले बलबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो । 

घटनास्थलको प्रकृति हेर्दा कुटपिट गरेर ह-त्या गरेजस्तो देखिएपछि घटनालाई शंकास्पद मानेर मृतकका पतिलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

प्रहरीका अनुसार शारदा बलबहादुरकी कान्छी पत्नी हुन् । उनीहरूका सन्तान नरहेको प्रहरीले जनाएको छ । 

महेन्द्रनगरबाट भन्सार छलिको सामान बरामद

कञ्चनपुर, १३ चैत – महेन्द्रनगर बजार क्षेत्रबाट झण्डै २ लाख रुपैयाँको अवैध मालसामान बरामद भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आइतबार साँझ उक्त परिमाणको सामान बेवारिसे अवस्थामा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार भन्सार छलेर ल्याइएको सलाई, कपडाको अस्तर, नरिवलको धुलो र प्लास्टिकको झिल्ली गरी १ लाख ८७ हजारभन्दा धेरै रकम बराबरको मालसामान बरामद भएको हो । 

उक्त सामान बरामद गरी गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं, १३ चैत – मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ । 

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने भएको हो । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक कांग्रेस पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्नेछ ।

धनगढीको १८ नम्बर वडा कार्यालयमा तालाबन्दी

धनगढी, १३ चैत-धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । विद्यालय व्यवस्थापन समितिमा सिफारिसको विषयलाई लिएर स्थानीयहरूले सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाको फागुन ३० गतेको बोर्ड बैठकले स्थानीय खप्तडी आधारभूत विद्यालय व्यवस्थापन समितिमा सुवास बस्नेत र सामैला विकलाई सिफारिस गरेको थियो ।

सिफारिस गरिए पनि वडा कार्यालयले सुवास बस्नेतलाई स्थानीय चन्द्रोदय माध्यमिक विद्यालयमा पठाएपछि त्यसको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीयले बताएका छन् ।

बस्नेतका समर्थकसहित स्थानीयहरूले उपमहानगरपालिको निर्णय वडा कार्यालयले नमानेको भन्दै तालाबन्दी गरिएको बताएका छन् ।
 

आज एकै दिन ६९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १३ चैत-नेपालमा कोरोना भाइरसको बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको हो । 

यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको छ । भारतमा संक्रमण बढिरहेको अवस्थामा खुला सिमानाकाका कारण नेपालमा पनि संक्रमण बढेको हो ।

अचाक्ली शुल्क वृद्धिको गुनासोपछि भक्तपुरको मातृभूमि स्कुलमा अनुगमन

मध्यपुर, १३ चैत-अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा लोकन्थलीमा रहेको मातृभूमि स्कूलमा अचाक्ली शुल्क वृद्धि गरेकोबारे पत्रपत्रिकामा आएको गुनासोको आधारमा अनुगमन गर्‍यो ।

अनुगमनमा अध्यक्ष रामकृष्ण प्रजापतिले नयाँ भर्ना पचास हजार, डिपोजित पचास हजार, पूर्व प्रथामिकको मासिक शुल्क पन्ध्र हजार, प्रथामिक स्कूलमा बीस हजार, निमाबिमा एकाइस हजार र माबिमा बाइस हजार र यातायात तीन हजार रुपैयाँ, बार्षिक शुल्क पच्चीस हजार शुल्क निर्धारण गर्दा ३३ प्रतिशतदेखि ५० प्रतिशतसम्म शुल्क वृद्धि गरेएको गुनासो आएको बताए ।

उनले विद्यालयकले शुल्क निर्धारण गर्दा अभिभावक भेला राखी, व्यवस्थापन समितिले निर्णय गरी नगरशिक्षामा शुल्क प्रस्ताव पेश गरी शुल्क निर्धारण समितिले निर्णयपछि स्वीकृति लिई मात्र शुल्क उठाउनुपर्नेमा स्वीकृति विना नै बढाएकोले नियम कानुन अनुरसार नभएकोले र कानुनलाई उल्लंघन गरे विद्यालयलाय अप्ठ्यारो हुने बताए । उनले विद्यालयले अभिभावकहरुलाई चित्त बुझाएर अभिभावकले तिर्न सक्ने क्षमतालाई मध्य नजर गरी र मुद्रास्फिति अनुसार केही मात्र शुल्क बृद्धि गर्नुपर्नेमा मनपरी शुल्क वृद्धि गरी शिक्षालाई व्यापारिकरण गर्दा भोलि विद्यालय नै बन्द हुनसक्ने भएकोले ज्ञानको मन्दिरलाई तुहाउन नहुने बताए ।

उनले प्रतिस्पर्धाको समयमा सरकारी विद्यालयहरु राम्रो हुँदै गएको अवस्थामा संस्थागत विद्यलायले मनपरि शुल्कबृद्धि गरे बिद्यालयको भविष्य समाप्त हुने बाटोतर्फ दोहरिन सक्नेतर्फ सचेत पारे ।

विद्यालयका प्रिसिपल प्रकृति केसी पन्तले भर्ना शुल्क, डिपोजित, मासिक शुल्क, यातायात र बार्षिक शुल्कमा पाँच पाँचहजारका दरले वृद्धि गरेको स्विकार गरी पूर्वाधार र सुविधा अनुसार अभिभावकहरुको सरसल्लाहमा शुल्क बृद्धि गरेको र पूर्वाधार तयार नगरे विद्यार्थीहरू काठमाडौंको महंगो विद्यालयमा लानेसम्मको कुरा आएपछि पूर्वाधारसंगै शुल्क वृद्धि गरेको बताइन् । उनले केही केही अभिभावकको गुनासोलाई हेरेर कुरा गर्नुभन्दा विद्यालय निरिक्षण गरी गरी गुनासो गरे राम्रो हुने बताइन् । 

अनुगमनमा निर्वमान् अध्यक्ष मणिरत्न बज्राचार्य, वरिष्ठ उपाध्यक्ष राम सुवाल, सहसचिव राजकुमार लघुको सहभागिता रहेको थियो भने विद्यालयको पुरा निरीक्षण गरेको थियो । 

मेयर बालेन शाहविरुद्ध प्रदर्शन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)विरुद्ध सोमबार प्रदर्शन भएको छ ।

सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेनविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको हो । 

काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउन उर्दी जारी गरेपछि उनीहरु आन्दोलित हुँदै आएका छन् ।

आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरुले प्रदर्शन गरेका हुन् । 
 

‘अलिकति’ भन्दै आए बानीका प्रधान र रोशा फुयाल

सफल युवा निर्देशक दीपकराज सुनार निर्देशित म्युजिक भिडियो ‘अलिकति’ सार्वजनिक भएको छ । गायिका बानीका प्रधान र रोशा फुयालको सुमधुर स्वरमा रहेको बालमनोविज्ञानलाइ प्रस्तुत गरिएको गीतमा लोकप्रिय गीतकार हर्क साउदको शब्द रचना र कल्याण सिंहको संगीत रहेको छ भने गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् ।

गीतको भावअनुसार भिडियोलाई त्यतिकै सबल र सक्षम बनाउन सफल देखिएका छन निर्देशक सुनार ,बालकलाकार अपेक्षा शेरचनको जिवन्त अभिनयले गर्दा भिडियो दमदार बनेको छ । अपेक्षाको आमाको भूमिकामा देखिएकी छिन मोडेल सिर्जना घिमिरे सिनियर सिनेमाटोग्राफर हरि घलेको छायांकन ,कमल एक्चाई मगरको सम्पादन, सिद्धान्त शर्मा पौडेलको ब्यबस्थापनमा बनेको भिडियोलाइ निर्मात्री उर्मिला शेरचन (अनु )ले निर्माण गरेकी हुन् ।

ट्रिनिटी डान्स स्टुडियोको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । थुप्रै चलचित्रमा कोरियोग्राफी गरिसकेका निर्देशक दीपकराजकोको निर्देशनमा यसअघि दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भइसकेका छन

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु

मोरङ, १३ चैत । कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा धनपालथान गाउँपालिका ७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हाे 

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उपचारकै क्रममा विराटनगरस्थित कोशी अस्पतालमा उनको मृत्यु भएको हो । तीव्र गतिका कारण र्आतवार राती मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं । बैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो । बैठकमा मुख्यतः  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेकाे उपनिर्वाचनको उम्मेदवारलगायतका बिषयमा छलफल हुनेछ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ ।

प्रधानमन्त्री र सभामुख बिचमा भेटवार्ता जारी

काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार  भेटवार्ता जारी छ।

प्रधानमन्त्री र सभामुख बिचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताईएको छ ।
 

२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले उक्त ट्रेजरी २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख १२ गते परिपक्व हुनेछ  भने ९१ दिनको लागि ११ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ ।

यसैगरी, १८२ दिनको लागि ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो  भने यो ट्रेजरी असोज ९ गते परिपक्व हुनेछ ।

उता, बैंकले एक वर्षको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत १३ गते परिपक्व हुनेछ ।

अमेरिकी डलरको कारोबार स्थिर, युरोकाे भाउ बढ्याे

काठमाडौं, १३ चैत ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

साेमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा कायम गरिएको छ । अघिल्लो दिन आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

 
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ३९ पैसाले बढेर युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो । 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर सोमबार १६१ रुपैयाँ ६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिदमूल्य १६० रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ५३ पैसा कायम भएकाे थियो ।

 
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८० पैसा र बिक्रीमा ९६ रुपैयाँ २३ पैसा रहेकाे छ । 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर सोमबार ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा,  मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ७४ पैसा र बिक्रीमा २९ रुपैयाँ ८७ पैसामा काराेबार हुनेछ ।

कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७९ पैसामा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ८८ पैसा तोकिएको छ।
 

यस्तो छ आजकाे हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, १३ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना २०० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी १३० रुपैया केजी, रुख टमाटर १३० रुपैयाँ, रुख कटहर ९० रुपैयाँ, भुई कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३२० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

युरो–२०२४ छनोटमा इंग्ल्याण्डको दोस्रो जीत 

काठमाडौं, १३ चैत । इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ।युक्रेनमाथि २–० को सहज जित निकाल्दै इंग्ल्याण्डले दोस्रो जीत निकालेको हो । 

वेम्बलीमा गएराति भएको छनोट खेलमा इङ्ल्याण्डको जितमा ह्यारी केन र बुकायो साकाले गरेको १–१ गोल नै काफी हुन पुग्यो । 

खेलको पहिलो हाफको ३७ औं मिनेटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई सुरूआती अग्रता दिलाएका थिए भने त्यसको तीन मिनेटपछि हेन्डर्सनको पासमा साकाले गोल गर्दै इङ्ल्याण्डलाई पहिलो हाफमै २–० को अग्रता दिलाए।

यता लगातार दोस्रो जित निकालेको इङ्ल्याण्डले समूह सीमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने यसअघि इङ्ल्याण्डले पहिलो खेलमा इटालीलाई हराएको थियो।

रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६–० को जीतमा 

काठमाडौं, १३ चैत । युरो–२०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६–० ले हराएको छ । जुन जीतमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । कतार विश्वकपपछि पोचुगलको यो लगातार दोस्रो जित हो । यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई  ४–० ले हराएको थियो । 

पहिलो हाफमा रोनाल्डोले नवौँ मिनेटमा गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो भने १५औँ मिनेटमा जोओ फेलिक्सले पोर्चुगलको अग्रतालाई दोब्बर बनाइदिए । 

पोर्चुगलको गोलको बर्षा गर्ने क्रम रोकिएन, पुनः  १८औँ मिनेटमा बर्नार्डो सिल्भाले तेस्रो गोल गरे भने ३१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेर पहिलो हाफमा नै खेल ४–० को स्थीतिमा पुग्यो । 

उता, दोस्र्रो हाफको ७७औँ मिनेटमा ओटाभियोले थप गोल गरे भने त्यसको १० मिनेट पछि अर्थात ८९औँ मिनेटमा राफेल लियोले अर्को गोल थपेर अन्ततः खेल ६–० को अवस्थामा रहन पुग्यो । 

जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’ मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलले ६ अंक जोडेको छ भने  एक अंक जोडेको लक्जमबर्ग पाँचौँस्थानमा रहेको छ ।

एनएमबी बैंकले ४ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

काठमाडौं, १३ चैत । एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्ने भएको छ। 

बैंकका अनुसार चैत २१ देखि २४ गतेसम्म ऋणपत्र जारी गर्न लागिएको हो ।  बैंकले कुल चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो।

१००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ र बढीमा १६ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ भने १० बर्ष अवधिको ऋणपत्रमध्ये ६०  प्रतिशत प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ। 

बाँकी ४० प्रतिशत आमसर्वसाधारणलाई बिक्री खुला गरिने छ। यस भित्र सामूहिक लगानी कोषलाई पनि आरक्षित छ।

भारतले गर्यो अहिलेसम्मकै ठुलो रकेट प्रक्षेपण

काठमाडौं, १३ चैत । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले हालसम्मकै ठूलो रकेट एलभीएम–३ प्रक्षेपण गरेको छ । बीबीसीका अनुसार आइतवार प्रक्षेपण गरिएको रकेटमार्फत भारतले ३६ वटा भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।

आइतवार बिहान ९ बजेको समयमा आन्ध्र प्रदेशको श्रीहरीकोटाको सतिस धवन अन्तरिक्ष स्टेसनबाट  ४३ दशमलव ५ मिटर लामो रकेटको प्रक्षेपण गरिएको हो ।
यो रकेटले ५ हजार ८०५ केजीको ३६ भू–उपग्रह ४५० किलोमिटरमाथि रहेको पृथ्वीको तल्लो कक्षमा छाडिने जनाइएको छ ।

सलमानलाई ज्यानको धम्की दिने २१ बर्षिया युवा पक्राउ

मुम्बई, १३ चैत । बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिने एकजना युवा पक्राउ परेका छन् । 

मुम्बर्ई प्रहरीको एक अपरेशनमाफर्त अभिनेता खानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई पक्राउ गरिएको हो । 

मुम्बई प्रहरीले राजस्थान प्रहरीसँग मिलेर गरेको ज्वाइन्ट अपरेसनमार्फत जोधपुरबाट २१ वर्षीय विश्नोई पक्राउ परेका हुन । मुम्बई प्रहरीको अनुसन्धानपछि आरोपितलाई पञ्जाब प्रहरीसमक्ष सुम्पिदैछ ।

सलमान खानलाई केही दिन अघि इमेलमार्फत उनले धम्की दिएको आरोप छ । इमेलमा भनिएको थियो– ‘तिम्रो हालत पनि सिद्धू मूसेवालाको जस्तै हुनेछ ।’

सलमानलाई यो धम्की एक साता अघि दिइएको थियो । धम्कीपछि उनको घरको बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने अवस्था ठिक नभएको भन्दै फयानहरुलाई नभेटन पनि प्रहरीले सलमानलाई सुझाव दिएको थियो ।

विश्व बैंकले नेपाललाई १६ अर्ब आर्थिक सहायता प्रदान गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई थप पौने १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) आर्थिक सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको फ्ल्यागसिप विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरेको हो। यस चालू आवमा विश्व बैंकले कुल ६५ अर्व २० करोड रुपैयाँको प्रतिबद्धता गरिसकेको छ।

विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको निरन्तरता स्वरूप नेपाल सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमले स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने शिक्षकको सीप विकासमा सघाउनेछ। कार्यक्रममार्फत उच्च आधारभूत तथा माध्यमिक तहमा अंग्रेजी, गणित र विज्ञानका शिक्षकको सीप अभिवृद्धि हुनेछ।

यो परियोजनाका लागि विश्व बैंकले १ सय २० मिलियन अमेरिकी डलर सहायता प्रतिबद्धता गरेको हो। यो प्रतिबद्धता अनुदान ऋण हो । विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमको कार्यान्वयन शिक्षा मन्त्रालयमार्फत भइरहेको छ।

नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसका अनुसार गुणस्तरीय शिक्षामा लगानी मानव पुँजी विकासका लागि महत्त्वपूर्ण रहेकाले विश्व बैंकले यस्तो सहयोग गर्न लागेको हो। फारिसले भने, ‘यो सहायताले नयाँ शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको लक्ष्यलाई साथ दिन्छ।’ यसले नयाँ संघीय राज्यको महत्त्वाकांक्षा हासिल गर्न सहयोग हुने अपेक्षा गरिएको छ।

सहायताले आधारभूत तहमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीप सुधार गर्न सघाउनेछ। यस्तै, कोभिड– १९ र अन्य महामारीका कारण विद्यालय बन्द हुँदा परेको असर सम्बोधन गर्न, पुर्नरुत्थान तथा गतिशीत सिकाइ योजना कार्यान्वयन गर्न र डिजिटल शिक्षणलाई सुदृढ गर्ने सरकारको कार्यक्रमलाई सहयोग गर्ने बताइएको छ।

सहायताले बालिका, अपांगता भएका विद्यार्थी र निम्न सामाजिक–आर्थिक अवस्थाका विद्यार्थीमा छात्रवृत्तिका कार्यक्रममार्फत समन्यायिकता हासिल गर्ने लक्ष्य लिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सम्पत्ति विवरण गोप्य राख्ने १५ हजार कर्मचारी र जनप्रतिनिधिलाई कारबाही सिफारिस

काठमाडौं । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण बुझाउन अनिच्छा गर्ने १५ हजार ४ सय ९ जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको हो ।

सम्पत्ति विवरण बुझाउन पटकपटक ताकेता गर्दा पनि बुझाउन अनिच्छा गर्ने ती कर्मचारी तथा पदाधिकारीको सम्पत्तिका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने कानुनी प्रावधान छ । भ्रष्टाचार निवारण ऐनको दफा ५० अनुसार सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले आर्थिक वर्ष शुरू भएको ६० दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्छ । तर, विवरण पेस नगरी गोप्य राख्न खोज्ने हजारौं कर्मचारी तथा जनप्रतिनिधिहरू अख्तियारको छानबिन घेरामा पर्न सक्ने देखिएको हो ।

राष्ट्रिय सर्तकता केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा संघीय सरकारमा कार्यरत विभिन्न राष्ट्रसेवक ९ हजार ७ सय ९७ जना र स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि गरी ५ हजार ३ जना र प्रदेश सरकारका ५ सय ७४ जना रहेका छन् ।

सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक ५ हजार १६ जना र त्यसपछि निजामती कर्मचारी २ हजार ४ सय ८४ जना रहेका छन् । त्यसपछि जनप्रतिनिधि, सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी, प्रहरी, राजनीति नियुक्ति लिने तथा जनप्रतिनिधिहरू गरी ७ हजार ५ सय जनाले पनि सम्पत्ति विवरण नबुझाएको सर्तकता केन्द्रले जानकारी दिएको छ ।

सर्तकता केन्द्रका प्रवक्ता सहसचिव ज्ञानेन्द्रराज सुवेदीले सम्पत्ति विवरण नबुझाउनेहरूको सम्पत्तिका बारेमा अख्तियारले छानबिन गर्न सक्ने बताउनुभयो । ‘कानुनअनुसार तोकिएको ठाउँमा निश्चित समयमा सम्पत्ति विवरण नबुझाउनेहरूको सम्पत्तिका बारेमा अख्तियारले छानबिन गरी भ्रष्टाचारमा कारबाही गर्न सक्छ’ –केन्द्रका प्रवक्ता सुवेदीले भने ।

सर्तकता केन्द्रले भने राष्ट्रिय सतर्कता केन्द्र कार्यसञ्चालन नियमावली २०६५ को नियम १०२ अनुसार सम्पत्ति विवरण नबुझाउनेलाई ५ हजार रुपियाँ जरिवाना गर्न माग गर्दै अख्तियारसमक्ष सिफारिस गरेको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

ब्याजदर घट्दा सरकारलाई सस्तोमा अल्पकालीन ऋण

बैंक, वित्तीय संस्थाहरूसँग तरलताको अवस्था सहज हुन थालेपछि सरकारको आन्तरिक ऋण सस्तो हुन थालेको छ । बैंकहरूले ब्याजदर घटाएर लगानी गर्न थालेपछि सरकारले १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउने औजार ट्रेजरी बिल्सको औसत ब्याजदर माघ महीनामा चालू आर्थिक वर्ष ९आव० कै न्यून विन्दुमा झरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको माघमा २८ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर ५ दशमलव ९ प्रतिशतमा झरेको छ । यसअघि गत मङ्सिरमा ट्रेजरीको औसत ब्याजदर चालू आवकै उच्च ९ दशमलव ४५ प्रतिशतसम्म पुगेको थियो । ९१ दिनको ट्रेजरीको औसत ब्याजदर पनि ९ दशमलव ७९ प्रतिशतमा झरेको छ ।

यो ट्रेजरीको ब्याज पुसमा १० दशमलव ८९ प्रतिशतसम्म पुगेको थियो । १२८ र ३६४ दिन अवधिको ट्रेजरीको ब्याजदर भने अझै दोहोरो अंकमा छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

दूषित पानी पिउँदा तनहुँमा तीन सय पचासजना बिरामी

दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करीब तीन सय ५० जना बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दूषित भएकाले उक्त सङ्ख्यामा बिरामी भएका हुन् ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेले पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको जानकारी दिनुभयो । उपभोक्तले ट्यांकीमा शव देखेपछि मनोविज्ञानमा असर परी वान्ता गर्ने गरेको र सबैजना विरामी भएको घिमिरले बताउनु भयो । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो । उहाँल तत्कालको लागि मूलको पानी दुर्गन्धित ट्याङ्की नराखी बैकल्पिक व्यवस्था पालिकाले गर्न लागेकोे जानकारी दिनुभयो ।

ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताउनुभयो । नामथर वतन नखुलेकी महिलाको लाश सडेगलेको अवस्थामा भेटिएको हो प्रहरी निरीक्षक शर्माले बताउनुभयो । ट्याकीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्यांकी जाँच गर्ने क्रममा लाश देखेर प्रहरीमा खबर गरेका थिए ।

घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको टोलीले जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

मृतकको लाश पोष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको घटना स्थल पुगेका प्रहरी उपरीक्षक विष्टले बताउनु भयो । केही समय अगाडि ती महिलाको कसैले हत्या गरी ट्यांकीमा फालेको हुन सक्ने अनुमान प्रहरीको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध

मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा तीन सय फिट नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इन्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध र त्रिभुवन अन्तर्राष्ट्रिय वमानस् थलस् िथत टावर मा कार्यर त तीन जना एटीसीलाई कार बाही गरि एको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘एयर इन्डियाका चालक दललाई थप कारबाहीका लागि भारतीय नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा विभागलाई पत्राचार गरेका छौँ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खालिस्तान अभियन्ता अमृतपाल सिंह नेपाल पसेको आशङ्का

काठमाडौँ । गृह मन्त्रालयले नेपाल-भारत सीमा क्षेत्रका भूभागमा उच्च सतर्कता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल-भारत सीमा क्षेत्र ‘हाई अलर्टमा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

भारतमा खालिस्तान नामक अलगै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल आएको वा आउन सक्ने सम्भावना बढेको भन्दै त्यस्तो निर्देशन दिइएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत सीमित प्रहरी अधिकारीहरू नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेका छन् । सो विषयमा विशेष ब्युरोले आजै मात्र कार्यभार सम्हालेका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई रिपोर्ट गरिसकेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

नेपाल टेलिकमको ग्राहक घट्यो

काठमाडौँ । नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो ।

गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस महिनासम्ममा आइपुग्दा १ करोड ९६ लाख २२ हजार ६ सय ५४ मा सीमित भएको हो । मंसिरदेखि पुससम्मको एक महिनामा मात्रै ३ हजार ३ सय २९ जना ग्राहक गुमाएको हो ।

टेलिकमको टेलिफोन ग्राहक पनि २ करोड १३ लाख २५ हजार ३ सय ५१ बाट २ करोड ९ लाख ८० हजार २ सय ३८ मा सीमित भएको छ । टेलिकमको सबैभन्दा बढी ग्राहक जीएसएम मोबाइलको ग्राहक घटेको छ । मंसिरसम्ममा २ करोड १ लाख ८६ हजार १ सय ६० रहेकोमा पुसमा आइपुग्दा १ करोड ९८ लाख ४२ हजार ७ सय ३२ रहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजवाट सुरु

काठमाडौं, १३ चैत । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजवाट सुरु हुने भएको छ ।

हरेक बर्ष हुदैँ आएको सो संयुक्त बैठक याे पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो । यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो । 

नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ । 

नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन भने अमेरिकी सेनाकाे नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन । जसकाे कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्  ।

सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ ।
 

आजको मौसमः तीनवटा प्रदेशमा पानी पर्ने

काठमाडौं, १३ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

पूर्वी नवलपरासीमा भेटियो एकै स्थानमा नौ वटा बेवारिसे बम

काठमाडौं – पूर्वी नवलपरासीमा एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम फेला परेको छ । विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा आज दिउँसो बेवारिसे अवस्थामा नौ वटा बम फेला परेको हो । बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए । बम देखे जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेको प्रहरीले जनाएको छ । सो घटनाबारे जानकारी पाएपछि दुम्कीवासका प्रहरी निरीक्षकको टोली त्यस स्थानतर्फ गएको जनाइएको छ ।

लम्कीचुहामा नालीमा एक जना मृत फेला

धनगढी, १२ चैत – कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।

उनलाई सोही नगरपालिका–८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।