`

लम्कीचुहामा नालीमा एक जना मृत फेला

धनगढी, १२ चैत – कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।

उनलाई सोही नगरपालिका–८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

राजकुमारको भीड पाइरेसी साइट्समा लिक

मुम्बई, १२ चैत । शुक्रबारबाट रिलिज भएको अभिनेता राजकुमार राव र भूमि पेडनेकर स्टारर फिल्म ‘भीड’ पाइरेसीको मारमा परेको छ । भारतमा कोरोना महामारीको समयमा गरिएको लकडाउनको कथामा आधारित फिल्म ट्रेलर सार्वजनिक हुनासाथ चर्चामा आएको थियो ।

यो फिल्म केही पाइरेसी साइट्समा अनलाइन लिक भएको छ । फिल्म तमिलरकर्स, टेलीग्राम, मुवीरुल्स जस्ता साइटमा एचडी प्रिन्ट लिक भएको हो । अनलाइन लिक भएपछि निर्मातालाई राम्रो रकम घाटा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुभव सिन्हाको निर्देशकीय फिल्म लकडाउनको तीन वषपछि २४ मार्च अर्थात हिजो शुक्रबारबाट रिलिज भएको थियो । फिल्ममा भारतमा कोरोनाको समयमा लकडाउनको समयमा मानिसले भोगेका अनेक समस्यालाई देखाइएको छ । निर्देशक अनुभव समसामयिक मुद्धामा फिल्म बनाउनका लागि चिनिन्छन् ।

फिल्ममा राजकुमार र भूमिका अलावा पंकज कपूर, दीया मिर्जा, आशुतोष राणा, कृतिका कामरा, वीरेन्द्र सक्सेना, आदित्य श्रीवास्तव जस्ता स्टारको अभिनय छ ।

आकाशमै नेपाली विमानलाई ‘असुरक्षा’ हुने गरी उडान

उडिरहेको नेपाल एअरलाइन्सको विमान ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एअर इन्डियाको एउटा जहाजका पाइलटमाथि छानबिन सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

गत शुक्रवार क्वालालम्पुरबाट काठमाण्डू आउँदै गरेको नेपाल अयरलाइन्सको जहाजमा अचानक अर्को जहाज नजिक आएको खतराको सूचना प्रवाह भएको थियो।नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार काठमाण्डूमा अवतरणका लागि तयारी गरिरहेको नेपाल एअरलाइन्सको जहाजमा जोखिम हुने गरी एअर इन्डियाको जहाज नजिक आएको थियो।

“नेपाल एअरलाइन्सको विमान १५,००० फिट माथि उडिरहेको बेला १९,००० फिटमा उडिरहेको एअर इन्डियाको जहाजले एक्कासि उचाइ कम गरेर नेपाल एअरलाइन्सको निकट आएको पाइएपछि छानबिन समिति गठन गरिएको छ,” नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने।

“त्रिभूवन विमानस्थलको राडारमा पनि दुइटा विमान नजिकै देखिएपछि तत्कालै एउटालाई उचाइ बढाउन र अर्कोलाई कम गर्न भनिएको थियो।“

ठोक्किन सक्ने चेतावनी
नेपाल प्रवेश गर्ने जहाजहरू साधरणतया २०,००० फिट माथिबाट प्रवेश गर्ने र अवतरणको अनुमति पाएपछि क्रमशः उचाइ कम गर्दै विमानस्थलतर्फ अघि बढ्ने निरौलाले बताए। तर त्यतिबेला एअर इन्डियाको जहाजले अवतरणका लागि अनुमति पाइसकेको थिएन।

त्रिभूवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुई विमान कति नजिक थिए भन्ने विषय छानबिन समितिले अध्ययन गरिरहेको बताए।

“यति नै नजिक थिए भनेर अहिले नै भन्न सकिने अवस्था छैन तर नेपाल एअरलाइन्सको जहाजमा अलर्ट (चेतावनी) देखिएको रहेछ,” उनले भने।अधिकारीहरूका अनुसार विमानमा रहने ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम (टीसीएएस) प्रणालीले नजिकै रहेको विमानसँग ठोक्किन सक्ने खतरा भएमा विमानलाई सूचना दिन्छ।

नेपाल एअरलाइन्सको विमानका चालकहरूले त्यस्तो चेतावनी आफ्नो जहाजमा आएको जानकारी प्राधिकरणलाई गराएको प्रवक्ता निरौलाले बताए।“एनएसीको जहाजमा टीसीएस सक्रिय भएको रहेछ। त्यो भनेको विमानसँग अर्को विमान ठोक्किन सक्ने चेतावनी हो,” उनले भने।“यस्तो चेतावनी एअर इन्डियाको विमानमा पनि देखिनुपर्ने हो तर उक्त विमानले त्यसको जानकारी प्राधिकरणलाई गराएन।”

‘लापरबाही’को आशङ्कामा छानविन
निरौलाका अनुसार प्रारम्भिक विवरणहरूबाट एअर इन्डियाका पाइलटको “लापरबाही” देखिएको प्राधिकरणको निष्कर्ष छ।“एअर इन्डियाको लापरबाही जस्तो देखिन्छ। अब छानबिनबाट थप यथार्थ आउला,” उनले भने।

छानविन समितिमा रहेका व्यक्तिहरूको विवरण भने प्राधिकरणले सार्वजनिक गरेको छैन।त्रिभूवन विमानस्थलका प्रवक्ता सिटौलाका अनुसार प्रारम्भिक अध्ययनमा एअर इन्डियाको जहाजले अनुमति नलिई आफ्नो उचाइ कम गरेको देखिएको छ।

“हामीले घटनाको अनुसन्धान नसकिँदा सम्म त्यस समयमा विमानस्थलमा कार्यरत तीन जना एअर ट्राफिक कन्ट्रोलरलाई पनि काम नगर्न भनेका छौँ,” उनले भने।अनुसन्धान नसकिँदासम्म उक्त उडानसँग सम्बन्धित एअर इन्डियाका पाइलटलाई पनि नेपाल प्रवेश गर्न रोक लगाइएको विवरण आएका छन्।

तर त्यसबारे विमानस्थलका अधिकारीहरूले केही बताएका छैनन्।बीबीसीको जिज्ञासामा प्राधिकरणका प्रवक्ता निरौलाले त्यसबारे “बुझ्नुपर्ने” बताए।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

कान्तारा २ लाई ऋषभले मागे सय करोड पारिश्रमिक

मुम्बई, १२ चैत । कन्नड सुपरस्टार ऋषश शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ । होमेबल फिल्मस्को व्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन् ।

निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ । २० करोडको लागतमा बनेको फिल्मले गत वर्ष विश्वव्यापी रुपमा झण्डै ४ सय करोड बढी कमाई गरेको थियो । फिल्मको प्रिक्वेलको तयारी भइरहँदा ऋषभले निर्मातासँग सय करोड पारिश्रमिक मागेका छन् ।

फिल्मको पहिलो भाग कन्नड दर्शकलाई ध्यानमा राख्दै निर्माण गरिएको थियो । सोहीकारण फिल्मको बजेट पनि कम थियो । फिल्म रिलिज हुनासाथ यसको कथाबाट अन्य फिल्म उद्योगका मानिस पनि प्रभावित भएपछि अर्को भाषामा डब गरेर रिलिज गरिएको थियो ।

‘कान्तारा’का लागि ऋषभले ५ करोड मात्र पारिश्रमिक लिएका थिए । उनले लेखन, निर्देशनको कामसमेत गरेका थिए । फिल्म ब्लकबस्टर भएपछि निर्माताले ठूलो बजेटमा प्रिक्वेल बनाउने तयारी गरिरहेका छन् । त्यहीकारण ऋषभले पनि पारिश्रमिक सय करोड मागेका हुन् ।

नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन सक्दैन – प्रहरी महानिरीक्षक

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हालेपछि आयोजित विशेष समारोहमा उनले यस्तो बताएका हुन् । उनले

प्रहरी सङ्गठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको पनि उनले बताए । प्रहरीसामु समस्याका चाङहरू रहेको, सङ्गठनको दुर्वल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको उनले बताए ।

नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने भएकाले यसका लागि सामूहिक प्रयास आवस्यक पर्ने उनको भनाई छ ।
उनले व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

७ वर्ष जेठी मीनासँग दोस्रो विवाह गर्दै धनुष

मुम्बई, १२ चैत । तमिल फिल्म उद्योग यतिबेला चर्चामा छ । खास गरी तमिल सुपरस्टार धनुषले अभिनेत्री मीना विद्या सागरसँग विवाह गर्ने तयारी रहेको खबर बाहिर पछि तमिल उद्योग चर्चामा आएको हो । यी दुवै कलाकार एकल अभिभावकको भूमिका निभाइरहेका छन् ।

मीना साउथ फिल्मकी ठूलो स्टार हुन् । उनले तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी भाषाका फिल्ममा काम गरेकी छन् । मीना विधवा नारी हुन् । उनको पहिलो विवाह सन् २००९ मा विद्यासागरसँग भएको थियो । गत वर्ष विद्यासागरको कोरोनाका कारण निधन भएको थियो ।

मीनाको १२ वर्षकी छोरी छिन् । उनको हेरचाह मीनाले नै गर्दै आएकी छन् । मीना धनुषभन्दा ७ वर्ष जेठी छिन् । मीनाको उमेर ४६ हो भने धनुष ३९ वर्षका हुन् ।

धनुष आफैंमा डिभोर्सी अभिनेता हुन् । गत वर्ष उनले ऐश्वर्या रजनीकान्तसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए । धनुष तमिल फिल्मका ‘थलाइवा’ रजनीकान्तका पूर्व ज्वाइँ हुन् । धनुषको अर्की युवतीसँग अफेयर रहेको चर्चा चलेपछि ऐश्वर्यासँग सम्बन्धविच्छेद भएको थियो । यद्यपि यो कुराको हालसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

धनुषका दुई छोरा यार्थ र लिंगा छन् । ऐश्वर्यासँग सम्बन्धविच्छेद पछि धनुष प्रायः दुई छोराका साथ समय बिताइरहेका छन् । धनुषले मीनासँगको सम्बन्धबारे अफवाह भने पनि मीनाले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।

बल्खु खोलामा नवजात शिशुको शव फेला

काठमाडौं, १२ चैत – काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्छ – मन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्ने बताएका छन् ।

आइतबार सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।उनले काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्ने भन्दै विशेष योजना बनाएर सडकहरूको स्तरउन्नती गर्न निर्देशन दिए । उनले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन पनि दिए ।

उनले भने “विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतीका लागि तत्काल ठोस योजना बनाउनुप¥यो ।” उउनले भने, “जनताले कर तिरेका छन् । तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन ।सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ ।” सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उहाँको जोड थियो ।

उनले नयाँ बनेका सडकमा अनिर्वायरूपमा एकैपटक एउटा मोडालिटी विकास गरेर काम गर्नुपर्ने बताए ।

मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन, एमाले एक्लैले ५१ प्रतिशत ल्याउछ – ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने भन्दै उनले भने “बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।”

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए ।उनले एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह पनि गरे ।

सोनालीलाई अपहरण गर्न चाहन्थे क्रिकेटर शोएब

मुम्बई, १२ चैत । बलिउड अभिनेत्री सोनाली बेन्द्रे ९० दशकको लोकप्रिय अभिनेत्री हुन् । उनको लोकप्रियता भारतमा नभई विदेशमा पनि उत्तिकै थियो । पाकिस्तानमा उनको राम्रो फ्यान फ्लोइङ थियो । पाकिस्तानसँग जोडिएको एक किस्सा आज पनि उत्तिकै चर्चित छन् ।

केही समयअघि पाकिस्तानी क्रिकेटर शोएब अख्तरले एक अन्तरवार्तामा आफूले सोनालीलाई अपहरण गर्न चाहेको खुलासा गरेका थिए ।

शोएबका अनुसार सोनालीप्रति उनको ठूलो क्रम थियो । त्यहीकारण उनले एक टक शोमा स्पष्ट रुपमा आफूले सोनालीलाई प्रेमप्रस्ताव राख्नका लागि जे पनि गर्न तयार हुने, तर उनले अस्वीकार गरेमा अपहरणसम्म गर्न पछि नपर्ने खुलाएका थिए ।

शोएब कुनै समयमा सोनालीको ठूलो फलोअर थिए र उनको प्रेममा पागल नै थिए । उनले यही प्रेमका कारण पर्समासमेत सोनालीकै तस्वीर राख्थे ।

प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन

काठमाडौं, १२ चैत – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित नगरपालिका र गाउँपालिकाका लागि खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ । 

मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ । 

मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई गरिएको परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका/गाउँपालिकाले प्रचलित कानून हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्रको मितिले ७ दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनु हुनका साथै तहाँ कार्यालयबाट अन्यत्र खटाइएका कर्मचारीहरूलाई समेत सोही अवधि भित्र खटाइएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०७९/१२/०९ को निर्णयअनुसार अनुरोध छ ।’ 

मन्त्रालयले मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका/गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ ।

कञ्चनपुरमा झण्डै दुई लाख मुल्य बराबरका कपडा बरामद

कञ्चनपुर, १२ चैत-कञ्चनपुर प्रहरीले झण्डै दुई लाख मूल्यबराबरका कपडा बरामद गरेको छ ।आइतबार विशेष सुचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो ।

सलाई, अस्तर कपडा, नरिवल धुलो र प्लाष्टिक झिल्ली गरि करिब एक लाख ८७ हजार मुल्य बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडी, १२ चैत-भिरबाट लडेर  बैतडीमा एक पुरुषको ज्यान गएको छ ।पाटन नगरपालिका–४ बत्थीका ५० वर्षीय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । आइतबार दिउँसो एक बजे सोही वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

महरालाई  स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताए ।
 

गण्डकी प्रदेशमा चैत १५ गते सार्वजनिक बिदा

पोखरा, १२ चैत-गण्डकी प्रदेशले चैत १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकी छन् ।चैते दसैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो ।

नक्षेत्र फाउण्डेसनको आयोजनामा भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगिता हुँदै

काठमाडौं, १२ चैत ।  झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगिता हुने भएको छ । नक्षेत्र फाउण्डेसनको आयोजनामा भुटानी शरणार्थी शिविर भित्रै  आयोजना हुन लागेको प्रतियोगिताले  ओझेलमा परेको अवस्थामा प्रतिभाहरुको खोजी गर्न लागेको फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदी बताउँछन् । 

अध्यक्ष सुवेदीका अनुसार प्रतियोगीताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुनेछ । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन ,  महेश थुलुङ्ग ,  किशोर शिवाकोटी ,  सृष्टी हिङमाङ,  बलराम समाल मगर रहेका छन् । आयोजकका अनुसार प्रतियोगीतामा प्रथम हुने प्रतियोगीले नगद ३ लाख , द्धितिय हुनेले २ लाख र तेस्रो स्थान हाँसिल गर्नेले १ लाख  पाउनेछन् । 

त्यस्तै बिजेताहरु तिनै जनालाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ । प्रतियोगीताको फाइनल जुलाईमा हुनेछ । कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा) र डिस्काको पनि सहयोग रहेको छ ।

१५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगीताको निर्देशन गायक कमल राईले गर्दैछन् । जसका लागि उनी अमेरिकादेखि केही दिनमा नै नेपाल आउँदैछन् । कार्यक्रमको प्रायोजन रेड वान रियालिटी, मेनुका मेमोरियल फाउण्डेसन, बेस्ट मोरगेज, रिदम स्क्रिन, लगायतले गरेका छन् ।

मकर जितुमाया सुरी हाइड्रोपावरले १९ चैतदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, १२ चैत । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि उक्त आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । 

यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरिसकेको छ । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

यो मध्ये सामूहीक लगानी कोषमा ५ प्रतिशत अर्थात् ८० हजार कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्याइएको छ । साथै बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा २२ चैतसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन् । 
 
यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ दिएको छ ।
 


 

किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान

लमजुङ १२ चैत । राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ ।

उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षकमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि छनौट गरेको छ । 

कम्तिमा पनि ३ वटा दुहुनो गाइभैंसी पालेका किसानलाई गोठ सुधारमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ । व्यवसायीक रुपमा गाइभैंसी पालन गर्दै आएका, पशुफर्म दर्ता गरि नगरपालिकामा सुचिकृत भएका किसानबाट आवेदन माग गरिएको नगरपालिका पशु शाखा प्रमखु शिवबावु देवकोटाले बताए । एकजना किसानलाई गोठ सुधारका लागि नगरपालिकाले ४० हजार रुपैयाँ अनुदान दिइनेछ । गोठसुधार कार्यक्रम नगरपालिका र कृषकको ५०/५० प्रतिशत साझेदारी रहने छ । 

उक्त कार्यक्रमका लागि नगरपालिकामा ३८ जना कृषकले आवेदन दिएका थिए । 

आवेदन परेका पशुफर्मको अनुगमन समितिले स्थलगत अध्ययन गरि १२ जना कृषकलाई छनौट गरेको नगरपालिकाले जनाएको छ । गतवर्ष कुनैपनि अनुदानको कार्यक्रममा सहभागी नभएका, परम्परागत भन्दा पनि व्यवसायीक रुपमा, पशुफर्म दर्ता गरि नगरपालिकामा सुचिकृत भएका किसानलाई पहिलो प्राथमिकतामा राखेर अनुदानका लागि छनौट गरिएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए । 

 गोठ सुधार कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख बजेट बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए ।
नगरपालिकाले चालु आर्थिक वर्षमा गोठ सुधार, काउ म्याट वितरण, च्यापकटर, क्यान वितरण, मासु पसल सुधार कार्यक्रम, लोकलकुखुरा संरक्षण लगाएतमा अनुदान दिएको सुयलले बताए । 

अमेरिकी डलरको भाउ बढ्दा युरो घट्यो

काठमाडौं, १२ चैत । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसामा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबारको तुलनामा ३२ पैसाले बढेको हो ।

शुक्रबार उक्त डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ९३ पैसा तोकिएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोको एक रुपैयाँ पाँच पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा बायम गरिएको छ। 

शुक्रबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो। 
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ८ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९६ रुपैयाँ एक पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा तोकेको छ ।

आइतबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ७४ पैसा र बिक्रीमा २९ रुपैयाँ ८७ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा आज ४३० रुपैयाँ १९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ७७ पैसा तोकिएको छ।
 

यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौ, १२ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १९ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २८० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २०० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

ब्रोबाउली ८० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी १३० रुपैया केजी, रुख टमाटर १५० रुपैयाँ, रुख कटहर ९० रुपैयाँ, भुई कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ४० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १२ चैत। सगरमाथा जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यस आईपिओमा आवेदन दिनुपर्नेहुन्छ ।

यस कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ । यसमध्ये १० प्रतिशत ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत् अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर र कर्मचारीहरुका लागि ३ प्रतिशत १ लाख ३१ हजार ४० कित्ता सेयर सुरक्षित गरेको छ । 

बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर चैत ८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले सगरमाथा जलविद्युतलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ । 
 

संघीय संसदका दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं – संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पस गपिरनेछ ।

यस्तै सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत पनि गर्नेछन् । यस्तै राष्ट्रिय सभाको बैठकमा डा। वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्नेछन् ।

सेनाको हेलिकप्टरमार्फत गोरखा जाँदै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् । उनी दरबार क्षेत्र अवलोकन तथा गोरखकाली मन्दिर दर्शनका लागि त्यहाँ जान लागेका हुन् ।

उनी आज बिहान साढे ९ बजे सेनाको हेलिकप्टरमार्फत गोरखा जाने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

उनले त्यहाँ पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नेछन् । उनी करिब २ घण्टा गोरखामा रहने बताइएको छ ।

गान्धीलाई अरू दलहरूको पनि साथ, अर्को निर्वाचनमा भाग लिन नपाउने

भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले आफ्नो सांसद पद खारेज गर्ने निर्णय राजनीतिक रूपमा अभिप्रेरित भएको बताएका छन्।गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई मानहानिको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको सजाय तोकेको एक दिनपछि शुक्रवार भारतीय संसद्ले उनको सांसद पद खारेज गरेको थियो।

सत्ताधारी भारतीय जनता पार्टीले भने उनको सांसद पद खारेज गर्ने निर्णय संसदीय नियम अनुसार भएको बताएको छ।भारतीय सर्वोच्च अदालतको सन् २०१३ को एक फैसलाले कुनै पनि अपराधमा दुई वर्ष वा सो भन्दा बढी सजाय पाएका सांसदहरूको पद तत्कालै खारेज हुने उल्लेख गरेको छ।

शनिवार पत्रकार सम्मेलनमा बोल्दै गान्धीले भने, “म सांसद हुनबाट अयोग्य भए पनि मलाई कुनै फरक पर्दैन…जीवनभर अयोग्य भए पनि…म अघि बढिरहने छु, म रोकिने वाला छैन।”

अरू दलहरूको पनि साथ
राजनीतिक विषयमा कमै एक ठाउँमा देखिने गरेका भारतका विपक्षी राजनीतिक दलहरूमध्ये धेरैले सांसद पद खारेज गर्ने निर्णयको विरोध गर्दै यो मामलामा गान्धीलाई साथ दिएका छन्।

शुक्रवार १४ वटा राजनीतिक दलहरू भारतको केन्द्र सरकारले विपक्षीहरूलाई निशाना साँध्न अनुसन्धान निकायहरूको दुरुपयोग गरेको आरोप लगाउँदै सर्वोच्च अदालत पुगेका थिए।

कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले अदानी समूह माथि संसदीय छानबिन माग गरेका कारण गान्धीमाथि प्रतिसोध साँधिएको आरोप लगाए।नरेन्द्र मोदी यसअघि गुजरातको मुख्यमन्त्री भएका बेला गौतम अदानीसँग निकट सम्बन्ध सुरु भएको थियो र अहिले प्रधानमन्त्री हुँदा पनि त्यो जारी छ।

भारतकै ठूलो व्यवसायीक घरानामाथि यसअघि अमेरिकी “शर्ट सेलिङ” कम्पनी हिन्डनबर्गले धितोपत्रमा चलखेलको आरोप लगाएको थियो। अदानी समूहले यस्तो आरोप अस्वीकार गर्दै आइरहेको छ।

अर्को निर्वाचनमा भाग लिन नपाउने
“मेरो काम यो देशको प्रजातन्त्रको रक्षा गर्नु हो,” गान्धीले आफ्नो सांसद पद गुमेपछि भने।“त्यसको अर्थ देशका संस्थाहरूको रक्षा गर्नु हो, देशका गरिब मानिसहरूको आवाजको रक्षा गर्नु हो, प्रधानमन्त्रीसँगको सम्बन्धलाई दोहन गर्ने अदानी जस्ता मानिसहरूका बारेमा सत्य कुरा देशका जनतालाई बताउनु हो।”

“मैले सांसद पद गुमाएँ किनभने प्रधानमन्त्री नरेन्द्र मोदी अदानीबारे मेरो अर्को भाषणबाट डराएका छन्… म त्यो डर उनको आँखामा देख्न सक्छु।”गान्धीका समर्थकहरूले उनको सांसद पद खारेज हुनु भारतका लोकतान्त्रिक संस्थाहरू कमजोर भएको सङ्केत भएको दाबी गरेका छन्। यसको विरोधमा भारतमा सरकार विरुद्ध थप प्रदर्शनहरू तय गरिएका छन्।गान्धीले सजाय निलम्बन वा उन्मुक्ति नपाए आगामी वर्ष हुने आम निर्वाचनमा पनि भाग लिन पाउनेछैनन्।

‘अभिव्यक्ति स्वतन्त्रता होइन’
भारतीय जनता पार्टीले भने अदालतको आदेशमाथि प्रश्न उठाएको भन्दै गान्धीको दलको आलोचना गरेको छ।भारतका सङ्घीय श्रम मन्त्री भुपेन्द्र यादवले गान्धीले मोदी थर भएका जाती र पिछडावर्गका मानिसहरूको अपमान गरेको आरोप लगाए।

“कुनै पनि थरको अपमान गर्नु अभिव्यक्ति स्वतन्त्रता होइन,” उनले भने।तर कतिपय विज्ञहरूले भने गान्धीलाई तोकिएको सजायको अवधिबारे प्रश्न उठाएका छन्।मिसिगन विश्वविद्यालयका उपप्राध्यापक जोयोजीत पालले पहिलो पटक अभियोग सामना गरेका गान्धी जस्ता व्यक्तिका लागि अधिकतम सजाय तोकिनु “निकै अस्वाभाविक” भएको बताए।

“भारतमा राजनीतिज्ञहरू र सांसदहरू भाषण, सामाजिक सञ्जाल र सार्वजनिक बैठकहरूमा पनि उग्र देखिन्छन्। मोदीका प्रमुख चुनौतीकर्तालाई नै प्रतिस्पर्धाबाट बाहिर राख्ने यो स्तरको सजाय चाहिँ सुनिएको थिएन,” उनले भने।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

सङ्घका कर्मचारी, प्रदेशको खटनपटन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश प्रमुख सचिव सङ्घको हुने तथा तिनको खटनपटन प्रदेश सरकारले गर्ने प्रस्ताव अगाडि सारेको छ । मन्त्रालयले यति बेला सङ्घीय निजामती सेवा ऐनको मस्यौदा अन्तिम चरणमा पु(याएको छ । सो मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

अघिल्लो संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा पटक–पटक छलफल हुँदा पनि सबैभन्दा बढी पेचिलो यही विषय बनेको थियो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले ऐनको मस्यौदामा मन्त्रालयले सरोकारवालासँग राय लिने क्रममा विभिन्न सुझाव प्राप्त गरेको र तिनैका आधारमा मस्यौदालाई अन्तिम स्वरूप प्रदान गर्न लागिएको बताए ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश प्रमुख सचिव सङ्घले पठाउने तर सम्बन्धित प्रदेश सरकारले खटाउने गरी ऐन ल्याउन सके सङ्घ, प्रदेश र स्थानीय तीनै तहबीचको सम्बन्ध हुने, सबै कर्मचारीले अपनत्व महसुस गर्ने, कर्मचारी सहजै खटाएको ठाउँमा जाने बुझाइ मन्त्रालयको छ ।

अघिल्लो संसद्मा केही राजनीतिक दलले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश प्रमुख सचिव सङ्घअन्तर्गत हुनुपर्ने तथा केहीले प्रदेशअन्तर्गत हुनुपर्ने अडान लिएका थिए । त्यसैले पनि यो विषयमा सहमति जुट्न सकेको थिएन । मन्त्रालयले ऐनको मस्यौदा तयार गर्ने क्रममा अहिले मध्यमार्गी बाटो अपनाउन लागेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ऐनको मस्यौदा तयार गर्ने क्रममा विभिन्न सरोकारवालासँग पटक–पटक छलफल गराई मस्यौदा तयार पारिएको सार्वजनिक रूपमा नै बताउँदै आएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

दर्जनौं भीआईपी ओहोरदोहोर गर्ने सडकको बिजोग

ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरु भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही बाटो पार गरेर दैनिक मन्त्रीदेखि विदेशी राजदूतसहित दर्जनौं भीआईपी ओहोरदोहोर गर्छन् । तर बाटोको बारेमा के भइरहेको छ भन्ने कसैलाई जानकारी छैन । बाटो निर्माण हुनुभन्दा पछि शुरु भएको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

सडकको दुरावस्था हेर्न उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ उक्त क्षेत्रमा दुईपटक पुगेका छन्। चार दिनअघि उनी दोस्रोपटक दलबलसहित सो सडकखण्ड पुगेका थिए । मन्त्री श्रेष्ठले तत्काल सडक कालोपत्रे गर्न निर्देशन दिँदै फर्कने गरेका छन्। तर उपलब्धि हुन सकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले सो बाटोको बारेमा आफूले दैनिकजसो फलोअप गरिरहेको बताइन् । उनले भनिन्– ‘म यो क्षेत्रको सांसद भएपछि प्रतिनिधिसभामा विशेष समय लिएर सो सडक खण्डको बारेमा बोलेको थिएँ । तत्काल भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन गरी सो सडकको निर्माण भइरहेको बताउनुभएको थियो, अहिले काम भइरहेको छ । हामीले वैशाखसम्म काम सक्ने आश्वासन पाएका छौं ।’

हरेक साँझ बिहान सोही बाटो हिँड्ने गरेकी सांसद डा। कार्कीले शुरुमा ठेकेदार र अहिले सडकको कारण समस्या भएको बताइन्। उनले भनिन्– ‘समस्यै समस्या थियो, अहिले समाधान भइसकेको छ । सरकारले करिब २ करोड रुपियाँ बजेट विनियोजन गरेर पानीको पाइपलाइनको काम शुरु गरेको छ । त्यसलगत्तै सडकको काम शुरु हुन्छ ।’ उनले सडक निर्माणको विषयमा दबाब दिन आफूले सडक विभाग, मन्त्रालय, सिडियो र स्थानीय तहलाई निरन्तर दबाब जारी राखेको बताइन् ।

सडक कालोपत्रे नगर्दा स्थानीयलगायत आम सर्वसाधारणले ठूलो समस्या भोगिरहेका छन् । ‘हामीले पटकपटक अनुरोध गरिरहेका छौं, बाटोमा हिँड्न सक्ने अवस्था छैन, अब बनाउँछौं भन्छन् तर कहिले बन्छ भन्न सक्ने अवस्थामा छैन’ –ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्काले भने । ३ किलोमिटर उक्त सडक भत्काएर बनाउन थालेको वर्षौ बित्दा पनि कसैले बोल्न सकेका छैनन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

काठमाडौं, १२ चैत । चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न १५ औं साधारण सभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो ।
 

निर्देशक तथा कलाकार उत्तम केसीका अनुसार उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा राज बस्न्यात सर्वसम्मत भएका छन ।

यसैगरी, सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी, अमृतमान महर्जन चयन भएका छन् भने सह सदस्यमा भने सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ चयन भएका छन् ।
 

टिकटकका सीईओको स्विकारोक्ति: प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिककाे पहुँच छ

काठमाडौँ, १२ चैत । टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका छन् ।

अमेरिकी कंग्रेसमा जवाफ दिन पुगेका चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारी सीईओ शोउ जी चेउले प्रयोगकर्ताको डेटामा चीनमा रहेका प्राविधिकको पहुँच रहेको स्वीकार गरेका हुन् ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ऊर्जा तथा वाणिज्य समितिको सुनुवाईका लागि टिकटकका सिइओलाई बोलार्ईएको थियो, सिंगापुरका नागरिकसमेत रहेका उनले स्विकार गर्दै भने, हामी विश्वव्यापी अन्तरसञ्चालनमा आधारित छौँ र चीनमा पनि हाम्रा प्राविधिकहरु छन् । त्यसैले हो, चिनियाँ इन्जिनियरसँग विश्वव्यापी डेटाको पहुँच रहेको छ ।’

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेका बेला उनको यस्तो बयान आएको हो । उनको जवाफबाट अमेरिकी प्रतिनिधिहरु विश्वस्त हुन भने अझै सकेका छैनन ।

सुनुवाईका क्रममा टिकटकको डेटामा चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको समेत पहुँच रहेको अमेरिकी प्रतिनिधिहरुले आरोप लगाएका थिए तर उनले जवाफमा आफूले कम्पनीको जिम्मेवारी सम्हालेदेखि चिनियाँ कम्युनिष्ट पार्टीका कुनै पनि प्रतिनिधिले आफूसँग सम्पर्क नगरेको बताए ।

दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या

टीकापुर । कैलालीको धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या भएको छ । उपमहानगरमा दरबन्दीभन्दा धरै कर्मचारी थपिन पुग्दा त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि तलब खान पाएका छैनन् ।

उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि तलबभत्ता रोकिएको छ । कर्मचारी समायोजन ऐन, २०७४ अनुसार कायम गरिएको दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । उपमहानगरपालिकाले जथाभावी सरुवाको सहमति दिएपछि अहिले स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको छ ।

नगरप्रमुख गोपाल हमाललाई नियमित तलबभत्ता पाउनुपर्ने माग गर्दै कर्मचारीले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले सरुवा सहमति लिएर कर्मचारी आउँदा यो संख्या बढेर ५४ पुगेपछि समस्या भएको उनले बताए ।

असोजपछि कसैले पनि तलबभत्ता नपाएको उनले गुनासो गरे । लामो समयदेखि तलबभत्ता नपाएपछि उनीहरूले आइतबारदेखि कार्यालयमा हाजिर गर्ने तर काम नगर्ने चेतावनी दिएका छन् । नियमित तलबभत्ता नपाउँदासम्म कालोपट्टी बाँधेर धर्ना दिने कर्मचारीको चेतावनी छ ।

नगरप्रमुख हमालले ६ महिनादेखि स्वास्थ्य सेवाका कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेको स्वीकारे । संघीय सरकारसँग तलबभत्ता निकासा गर्न आवश्यक पहल भइरहेको उनको भनाई छ । अहिले संघीय सरकारले तलबभत्ताका लागि बजेट नपठाएको बताए । स्वास्थ्य सेवाका कर्मचारीले तलबभत्ता नपाएको भन्दै दुई पटक स्वास्थ्य मन्त्रालयमा गएर कुरा गरे पनि रकम प्राप्त नभएको बताए । दरबन्दीभन्दा बढी कर्मचारी हुँदा समस्या भएको उनले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

बीमकले विदेशमा शाखा खोल्न पाउने

नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९ जारी गरेसँगै नेपाली बीमकले विदेशमा शाखा विस्तार गर्ने बाटो खुलेको छ । बीमा प्राधिकरणले बिहीवार जारी गरेको गरेको उक्त निर्देशिकाको दफा ११ मा बीमकले प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न गर्न सक्ने भनिएको छ ।

अब प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा पनि आफ्नो कार्यालय खोली व्यवासाय विस्तार गर्न पाउने भएका छन् । विदेशमा आफ्नो शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न बीमकले प्राधिकरणको साथै जुन मुलुकमा त्यस्तो कार्यालय स्थापना गरिने हो सो मुलुकको नियामक निकायले निर्धारण गरेको पूजी कायम गर्नुपर्ने हुन्छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए। तर मन्त्रालय भागबन्डामा दलीय सहमति नजुट्दा दाहालले भनेअनुसार शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेन।

सहमति जुटाउन सत्ता गठबन्धन दलबीच दुईपक्षीय, बहुपक्षीय छलफल र आन्तरिक गृहकार्य भने भइरहेको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टी पदाधिकारी बैठकमा आइतबार साँझसम्म सत्ता गठबन्धन दलको बैठक राखेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताएका छन्।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका छन्। पार्टी पदाधिकारी बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पौडेलले भने, ‘पर्सि (सोमबार) सम्म क्याबिनेट विस्तार गरेर डेलिभरीका कुरामा अघि बढ्ने विषयमा छलफल भएको छ।’

पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई गठबन्धनका सबै दलसँग अलगअलग र सामूहिक छलफल गरी मन्त्रालय भागबन्डामा सहमति जुटाउन सुझाव दिएको जानकारी पौडेलले दिए। उनले भने, ‘छिट्टै क्याबिनेट विस्तार हुन्छ।’

प्रधानमन्त्री दाहाल प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई आठ मन्त्रालयसहित सरकारमा सहभागी गराउने योजनामा छन्। कांग्रेस त्यसका लागि करिबकरिब तयार रहेको देखिन्छ। कांग्रेसको कुल सिट संख्यालाई १० ले भाग गर्दा आउने भागफल बराबर मन्त्रालय दिनेरलिने तयारी छ। उसले पाउने मन्त्रालयमा भने बढी चासो रहेको माओवादीनिकट स्रोतको दाबी छ। प्रधानमन्त्री दाहाल कांग्रेसलाई अर्थ, परराष्ट्रसहितका मन्त्रालय दिने पक्षमा छन्।

त्यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्र अहिलेकै संख्यामा मन्त्रालय लिने तयारीमा छ। प्रतिनिधिसभाको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तत्काल सरकारमा सहभागी नगराउने रणनीतिमा गठबन्धनका अन्य दल रहेको स्रोतको दाबी छ। कांग्रेस, माओवादीलगायत दलका शीर्ष नेता प्रतिनिधिसभा सदस्यको वैशाखमा हुने उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउने पक्षमा छन्। यो समाचार नागरिक दैनिकमा छ ।

आजको मौसमः आज पनि मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, १२ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । 

गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानहरूमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

के अब नेपालीले भारतमा सजिलै सिमकार्ड खरिद गर्न पाउलान्?

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भारतमा मोबाइल फोनको सिमकार्ड खरिद गर्न नेपालीहरूले नपाइरहेको अवस्था निकट भविष्यमै समाधान हुने अपेक्षा आफूले राखेको बीबीसीलाई बताएकी छन्।

अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन यूनियनको एउटा कार्यक्रममा भाग लिन यसै साता नेपाली टोलीको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेकी मन्त्री शर्माले त्यहाँ आफ्ना समकक्षी र सञ्चार मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गरेकी थिइन्।

त्यस क्रममा उनले पछिल्लो समयमा भारत गएका बखत नेपालीहरूले सिमकार्ड खरिद गर्न भोग्नु परिरहेको झन्झटबारे कुरा उठाएकी थिइन्।नेपाल र भारतबीच खुला सिमाना छ र दुवै देशका नागरिकलाई एक अर्काको मुलुकमा जान प्रवेशाज्ञा चाहिँदैन।भारत सहित तेस्रो देशका नागरिकहरूले नेपालमा भने सहजै सिमकार्ड खरिद गर्नसक्ने नेपाली अधिकारीहरू बताउँछन्।

लाखौँको सङ्ख्यामा रोजगारी, अध्ययन एवं स्वास्थ्य उपचार जस्ता कामका लागि भारत पुग्ने गरेका नेपालीहरूले सिमकार्ड खरिद गर्न नपाएको गुनासो गर्दै आएका छन्।

समाधान गाह्रो नभएको मन्त्री शर्माको विश्वास
अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन यूनियनको कार्यक्रममा सहभागिता जनाएपछि नेपाली प्रतिनिधिमण्डलले भारतका सञ्चार राज्यमन्त्री देवुसिंह चौहानसहितको टोलीसँग द्विपक्षीय मुद्दाहरूमा छलफल गरेको थियो।

त्यसक्रममा नेपालीहरूले सहजै सिमकार्ड खरिद गर्न पाउनुपर्ने विषयमा आफूले ध्यानाकर्षण गराएको मन्त्री शर्माले बताइन्।

उनले भनिन्, “हामीलाई भारतमा जाँदा र बस्दा भिजा आवश्यक पर्दैन। तर उहाँहरूले भिजाको आधारमा मात्रै विदेशी नागरिकहरूलाई सिमकार्ड दिनेहुँदा हाम्रो औषधि उपचारदेखि पढाइलेखाई सबैमा जानेहरूलाई समस्या परेको छ। त्यो सिमकार्ड उपलब्ध गराउन सहज बाटो अवलम्बन गरिदिनुपर्‍यो भनेका छौँ।”उनले राहदानीका आधारमा नेपालीहरूले सिमकार्ड लिनसक्ने व्यवस्था मिलाउन कुरा उठाएको जानकारी दिइन्।

उनले थपिन्, “उहाँहरूले पासपोर्टहुँदा हामीले दिने गरेकै छौँ भन्नुभयो। तर बुझ्दा त्यस्तो पनि दिने गरेको रहनेछ। त्यसलाई फेरी हामीले ध्यानाकर्षण गराएका छौँ। सकारात्मक नै कुरा भएको छ। सिमको समस्या समाधान गर्न गाह्रो कुरा हो भन्ने मलाई लाग्दैन।”नयाँ दिल्लीले सन् १९५० को शान्ति तथा मैत्री सन्धिले नेपाल र भारतबीच ‘विशेष सम्बन्धको आधार तय’ गरेको बताउने गरेको छ।

उसका अनुसार उक्त सन्धिका प्रावधानले नेपाली नागरिकहरूलाई भारतीय नागरिक सरहकै सुविधा र अवसर उपलब्ध गराउँछ।काठमाण्डूस्थित भारतीय राजदूतावासको वेबसाइटमा राखिएको विवरणमा भारतमा झन्डै ८० लाख नेपालीहरू बस्ने र काम गर्ने गरेको उल्लेख गरिएको छ।

बीबीसी नेपालीले गएको डिसेम्बरमा भारतीय विदेश मन्त्रालयलाई नेपालीहरूले सिमकार्ड खरिद गर्न वा प्राप्त गर्न भोगिरहेको अप्ठेरोबारे इमेलमार्फत प्रश्न गरेको भएपनि उसले त्यसको जवाफ दिएको छैन।काठमाण्डूस्थित भारतीय राजदूतावासका अनुसार नेपालमा झन्डै ६ लाख भारतीयहरूको बसोबास छ। त्यसमा नेपालमा लामो समयदेखि बस्दै आएका व्यक्तिहरू, व्यवसायीहरू र निर्माण र अन्य रोजगारका क्षेत्रमा कार्यरत श्रमिकहरू पर्छन्।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा ठूलो सङ्ख्या भारतीयहरूकै छ।नेपालमा रहेका भारतीय वा घुम्न आउने पर्यटकहरूले सहजै नेपाली सिमकार्ड पाउने गरेको अधिकारीहरू बताउँछन्।

नेपाल टेलिकमका अनुसार भारतीय पर्यटकहरूले आधार कार्ड वा आफ्नो राहदानीका आधारमा सिमकार्ड प्राप्त गर्न सक्छन्। नेपालमा काम गरिरहेका भारतीयहरूले भारतीय राजदूतावासमा दर्ता भएको परिचयपत्र वा आधार कार्डका आधारमा नेपाली सिम खरिद गर्न सक्छन्।

तर कुनै पनि तेस्रो देशका नागरिकका लागि भने प्रवेशाज्ञा आवश्यक पर्छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

जब सञ्जय दत्त मातेर श्रीदेवीको कोठामा पुगे

एजेन्सी  – अभिनेत्री श्रीदेवी हामी छैनन्, तर उनीसँग जोडिएका धेरै किस्सा आज पनि सुनिन्छ र सुनाइन्छ । श्रीदेवीको अभिनेता सञ्जय दत्तसँग जोडिएको एक किस्सा रोचक छ । सञ्जय श्रीदेवीको ठूलो फ्यान हुन् । तर एक घटनाले श्रीदेवीले सञ्जयसँग जिन्दगीभर सहकार्य नगर्ने घोषणा नै गरेकी थिइन् ।

यो घटना फिल्म ‘हिम्मतवाला’को सुटिङसँग सम्बन्धित हो । फिल्मको सुटिङ मुम्बईमा भइरहेको थियो । यो कुरा थाहा पाएका सञ्जय श्रीदेवीलाई भेट्न मुम्बई पुगे ।

सञ्जय मातेर श्रीदेवीलाई भेट्न पुगेका थिए । तर, त्यहाँ सेटमा श्रीदेवीलाई उनले भेटेनन् । युनिटका एक सदस्यले श्रीदेवी आफ्नो कोठामा रहेको जानकारी दिए । यो कुरा सुनेका सञ्जय कोठामा पुगे । मातेर पुगेका सञ्जयलाई देखेपछि श्रीदेवी डराएर चिच्याउन थालिन् ।

यो घटनाको चर्चा निकै भएको थियो । यो समय सञ्जय सफलता पाउनका लागि संघर्षरत थिए । सञ्जय लोकप्रिय भएपछि उनले फिल्म ‘गुमराह’मा श्रीदेवीका साथ काम गरेका थिए । तर यो फिल्मको सुटिङ भइरहँदा उनीहरु बोलेनन् ।

यूके पुग्छ खोटाङमा उत्पादित कठुवा

खोटाङ, ११ चैत । खोटाङमा चदरा व्यवसाय लोपोन्मुख बनिरहँदा चदरा व्यवसायीले उत्पादन गरेको काठका सामानको माग भने बढ्दो छ । चदरा व्यवसाय सम्वन्धी सीप भएका पुस्ताको अन्त्या हुन लाग्दा काठका सामानको माग भने घटेको छैन । चदरा व्यवसाय सञ्चालन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका चन्द्रबहादुर बिक र ओमराज बिकलाई काठका सामान बनाउन भ्याइनभ्याई छ ।

बिकद्धयले खोलाको पानीले मोटर घुमाएर दारको काठबाट ठेका, ठेकी, कठुवा, तोङबाको भाँडो, दुधेरी, दही जमाउने भाँडो, कुरुवा, हर्पे, बटुका, स्ट्रे, गिलास, गम्भु लगायतका सामान उत्पादन गर्दैआएका छन् । उत्पादित स–साना कठुवा (टुक्से) काठ्माडौंदेखि यूकेसम्म पुग्ने गरेको छ । 

चन्द्रबहादुर काका र ओमराज भतिजा हुन् । उनीहरुले जालपाको कादेलस्थित लुम्झु खोलाको किनारमा चदरा उद्योग चलाइरहेका छन् । बिकद्धयले बिक्रीका लागि काठमा सामान तयार गर्न पर्दैन । बिक्रीका लागि बजार खोज्दै हिँड्न पर्दैन । काकाभतिजलाई ‘अर्डर’ अनुसारको सामान बनाउ नै भ्याइनभ्याइ हुने गरेको छ । चदरा व्यवसायबाट मासिक २५(३० हजार आम्दानी हुने गरेको ओमराज बताउँछन् । 

जालपाका बिक परिवारको पुर्खौली पेशा हो चदरा व्यवसाय । खोटाङमा हालसम्म चदरा व्यवसायलाई बचाउने सम्भवतः बिकद्धय मात्र बाँकी रहेको जालपाका वडाध्यक्ष दानबहादुर राई दावी गर्छन् । बिकद्धयले उत्पादन गरेका काठका कतिपय भाँडाकुँडा दिक्तेलबजारका कोसेली घर पशलमा विक्रीका लागि राख्ने गरिएको छ ।

 यद्यपी, उनीहरुले उत्पादन गरेको काठका अधिकांश सामान युके पुग्ने गरेको छ । युकेमा बस्ने किरात समुदाय उनीहरुको मुख्या ग्राहक हुन् । घुमन्ते चदरा व्यवसायीले विभिन्न ठाउँमा पुगेर काठका सामान बनाउँछन् तर जालपामा उत्पादित सामान ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको छ ।

सजिलो र परपर्दो पेशा
चन्द्रबहादुर र ओमराजले बाल्यवस्थामै बाबुबाजेबाट चदरा व्यवसाय सम्वन्धी सीप सिकेका हुन् । तर चन्द्रबहादुर मजदुरीको कामका लागि भारतसम्म पुगे । भवन निर्माण सम्वन्धी काम सिके । गाउँ फर्किएर पनि भवन निर्माण सम्वन्धी काम गरे । उमेर ढल्किदै गएपछि र भारी काम गर्न असहज हुन थालेपछि उनले दुई वर्षदेखि चदरा व्यवसायलाई नै निरन्तरता दिएका हुन् ।

ओमराजले पनि १४/१५ वर्षकै उमेरमा काठका भाँडाकुँडा बनाउन सिकेका थिए । पैसा कमाउने सपना बोकेर बैदेसिक रोजगारीका सिलसिलामा मलेसिया पुगे । विदेशमा गरेको दुःखले उनलाई आफ्नै गाउँमा पसिना बगाउने उत्प्रेरणा मिल्यो । चार वर्षदेखि ओमराज लम्झु खोलामा छाप्रो बनाउर चदरा व्यवसाय चलाउन तल्लिन छन् । 

चदरा व्यवसायीले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर पुगेर दारका काठ ल्याउने गरेका छन् । सामान बनाउने दारको रुखलाई प्रतिवटा १०/१५ हजारदेखि २४/२५ हजारमा खरिद गरेर ल्याउने गरिएको छ । उनीहरु दिनभर खोलामा बनाइएको छाप्रोभित्र छिनो प्रयोग गरेर काठका भाँडाकुँडा खोपिरहेका हुन्छन् । खाना त्यही बनाएर खान्छन् । साँझ परेपछि मात्र घर जाने गरेका छन् ।

कांग्रेस पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडाैं, ११ चैत – सत्ता साझेदार कांग्रेसको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । शनिबार कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको थियो । 

संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुग्नेबारे छलफल भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । प्रमुख सचेतक रमेश लेखकले संसदमा पेस भएका विधेयकबारे बैठकमा जानकारी गराएका थिए । 

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुस पश्चात् अहिलेसम्मको राजनीतिक घटनाक्रम ब्रिफ गरेका थिए ।

मधेशका ६ जिल्लामा जनमतले तोक्यो इन्चार्ज

जनकपुरधाम, ११ चैत – जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । शुक्रबार अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् ।

ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताए ।

पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् ।

त्यस्तै रौतहटमा बृजकिशोर यादव, सर्लाहीमा श्रीचन राय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्जकाे जिम्मेवारी दिइएकाे छ ।

पत्रकार महासंघ कैलालीले मोटरसाइकलमा प्रेस लेखेको हटाउँदै

धनगढी,११ चैत – रधनगढीमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको छ । पत्रकार महासंघ कैलाली शाखाले शनिबारबाट मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको हो ।

गाडीमा प्रेस लेख्न नपाइने, लेख्ने चाहनेले आफ्नाे काम गर्ने मिडियाकाे नाम उल्लेख गर्नु पर्ने पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जाेशीले बताए । 

यस कार्यलाई अभियानको रुपमा अघि बढाएको उनले बताए । गाडीमा प्रेस लेखेका सवार धनीले तत्काल हटाउन पत्रकार महासंघ कैलाली शाखाले आग्रह गरेको छ ।

बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु

बाजुरा, ११ चैत – बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो।

धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ।

सकियो झोल साबुन बनाउने तालिम

भक्तपुर, ११ चैत – झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एकदिने झोल साबुन बनाउने तालिम शनिबार सम्पन्न भएको छ ।

संस्थाको व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजनमा सम्पन्न तालिममा संस्थाका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछाले प्रशिक्षक दयालक्ष्मी त्वातीलाई तालिम सामग्री हस्तान्तरण गरी तालिम उद्घाटन भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गोसाईले सफाइको महत्वलाई झल्काउन सावुन बनाउने तालिम दिएको बताए । तालिमपछि व्यवसायीक बन्न औपचारिक रुपमा सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी व्यवसाय गर्नुपर्ने कुरालाई उनले जोड दिए ।

कार्यक्रमको उद्घाटनमा व्यवसाय प्रवद्र्धन उप–समितिका संयोजक नाती तुईतुई, संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवां, सचिव हरिकृष्ण दनेगुलु, व्यवसाय प्रवद्र्धन उप–समितिका सदस्य कृष्णमाया कवां र प्रशिक्षक दयालक्ष्मी त्वातीले पनि तालिमको महत्वको बारेमा आ–आफना विचार व्यक्त गरेका थिए । तालिममा १८ जना प्रशिक्षार्थीहरु सहभागी थिए । तालिमपछि उनीहरुलाई  प्रमाणपत्र पनि वितरण गरिएको थियो । 

सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं, ११ चैत – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । 
शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । 

प्रचण्डले आइतबार साँझसम्म मन्त्रिमण्डल बाँडफाटका विषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्रीले सवै दलसँग छलफल गरेका र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरूको नाम प्रस्ताव हुने पौडेलले जानकारी दिए ।

 बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकलाई टुङ्गाउन अन्य दलहरूसँग छलफल गर्ने निर्णय भएको उनले बताए ।