`

सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं, ११ चैत – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । 
शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । 

प्रचण्डले आइतबार साँझसम्म मन्त्रिमण्डल बाँडफाटका विषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्रीले सवै दलसँग छलफल गरेका र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरूको नाम प्रस्ताव हुने पौडेलले जानकारी दिए ।

 बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकलाई टुङ्गाउन अन्य दलहरूसँग छलफल गर्ने निर्णय भएको उनले बताए ।

बायर्न म्युनिखका मुख्य प्रशिक्षक नागेल्समन बर्खास्त

काठमाडाैं, ११ चैत । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक युलियन नागेल्समन बर्खास्तीमा परेका छन् ।

पछिल्लोपटक बायर लेभरकुसेनसँग २–१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका थिए । लेभरकुसेनसँग पराजित भएपछि बायर्नले शीर्ष स्थान गुमाएको थियो भने बोरुसिया डर्टमन्ड शीर्ष स्थानमा उक्लिन पाएको थियो । 

नागेल्समनले सन् २०२१ देखी बायर्नको प्रशिक्षण सम्हाल्दै अाएका थिए । उनको प्रशिक्षणमा बायर्नले गत सिजनकाे बुन्डेस लिगाको उपाधि जितेको थियो भने त्यो बायर्नले उपाधि जितेको लगातार १०औँपटक थियो ।

बायर्नले अब आउँदो अप्रिल १ मा डर्टमन्डविरुद्ध खेल्दैछ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भने बायर्नले म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

युलियनको बर्खास्ती पछि बायर्नमा अब थोमस टुचेलले प्रशिक्षणको जिम्मेवारी पाउने सम्भावना देखिएको छ ।

जवान देखिन प्लास्टिक सर्जरी गरेका थिए शाहरुख खानले

काठमाडौं – आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्युटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ । तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन् ।

अभिनेता शाहरुख खान उमेरले बुढो भए पनि उनको अनुहारमा त्यो देखिएको छैन । शाहरुखले बोटक्स ट्रिटमेन्ट गराएका छन् । उनले जवान देखिनका लागि कैयौं इन्जेक्सन पनि लिएका छन् ।

आमिर खान – आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट त्यसै भनिएको होइन । उनी हरेक चिजमा आफ्नो पर्फेक्सन देखाउँछन् । बलिउडमा आफ्नो अभिनयको जादू देखाएका आमिर खान उमेरले भलै ५७ वर्षका भए, तर उनी अहिले पनि जवान देखिन्छन् । आमिरले अनुहारको दाग र डन्डीफोर हटाउन कस्मेटिक सर्जरी गराएका थिए ।

अग्रता जोगाउन नसक्दा दक्षिण कोरिया कोलम्बियासँग बराबरीमा

काठमाडौं, ११ चैत । अग्रता जोगाउन दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरीमा रोकिएको छ । 

दुई गोलको सहज अग्रता जोगाउन नसक्दा कोलम्बियासँग कोरिया २–२ को बराबरीमा रोकिन पुगेको हो ।

घरेलु मैदानमा सम्पन्न खेलको दशौँ मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा सनले कोरियाको अग्रता दोब्बर पारेकासमेत थिए । 

तर दोस्रो हाफको सुरुवाती ४६औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै कोलम्बियालाई २–१ को अवस्थामा ल्याए । त्यसको तीन मिनेटपछि फेरी जोर्गे करास्कलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

काठमाडौं, ११ चैत । उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको सफल परीक्षण गरेको जनाएको छ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले परिक्षण सफल भएको सो ड्रोनले पानीभित्र आणविक आक्रमण गरी सुनामी उत्पन्न गर्नेसहित पानीजहाज तथा बन्दरगाहहरु ध्वस्त गर्न सक्ने क्षमता राख्दछ । 

गत मंगलबार दक्षिणी हामग्योंङ प्रान्तस्थित समुद्रमा गरिएको अभ्यासका क्रम उक्त ड्रोनले ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टा १२ मिनेटसम्म सफलतापूर्वक काम गरेको थियो । अब कुनै पनि बन्दरगाह वा तटीय क्षेत्रमा उक्त ड्रोन प्रक्षेपण गर्न सकिने केसीएनएको दावी छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले ड्रोन परीक्षणलाई दिशानिर्देश गरेको र अब वासिङटन तथा दुश्मन देशहरूलाइ उत्तर कोरियाको आणविक क्षमताको महसुस गराउन ड्रोनको सफल परिक्षण गरेर सन्देश दिइएको उतर कोरियाली मिडियाले जनाएका छन् ।

उता, दक्षिण कोरियाका योनहाप समाचार एजेन्सीलेका अनुसार समुद्री क्षेत्रमा नक्कली शत्रुहरु माथि निशाना लगाउनका लागि उत्तर कोरियाले उक्त ड्रोन परीक्षण गरेको प्रारम्भिक प्रतिक्रिया दिएको छ । 

देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय

काठमाडौँ । देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ (४८ दशमलव ९८ प्रतिशत) र महिला एक करोड ४९ लाख ११ हजार २७ (५१ दशमलव ०२ प्रतिशत) छ ।जनगणनामा जुनसुकै काम जति पनि अवधिका लागि गरेका वा काम खोजेका १० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिलाई मात्र आर्थिक रूपमा सक्रिय व्यक्तिअन्तर्गत राखिएको छ । यसअन्तर्गत दुई करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्ति पर्छन् । त्यसमध्ये ६५ दशमलव ५ प्रतिशत अर्थात् एक करोड ५६ लाख ८९ हजार ७७७ जना मात्रै आयआर्जनमा संलग्न देखिएको हो । बाँकी ८२ लाख ११ हजार १२ जना भने आर्थिक रूपले निष्क्रिय छन् अर्थात् उनीहरू आयआर्जनमा संलग्न छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एक दर्जन बढी आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

काठमाडौँ । विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ । त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेको थियो ।

विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । सोहीअनुसार ४४ वटा आङ्गिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न भइसकेको छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाले पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र अन्य क्याम्पसमा पनि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसहरूमा आउँदो वैशाख ५ भित्र निर्वाचन सम्पन्न गर्नैपर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

जनसङ्ख्याको असमान भौगोलिक वितरण, बढ्दो जनघनत्व

पछिल्ला जनगणनाहरूले भौगोलिक हिसाबले जनसाङ्ख्यिक वितरण असमान बन्दै गएको देखाएका छन् । तराईको जनसङ्ख्या लगातार बढ्दो र पहाडी तथा हिमाली क्षेत्रको जनसङ्ख्या लगातार घट्दो देखिएको छ । २०७८ सालको जनगणनाअनुसार हाल तराईमा कुल जनसङ्ख्याको ५३.६१, पहाडमा ४०.३१ र हिमाली क्षेत्रमा ६.०८ प्रतिशतले बसोबास गर्ने देखिएको छ ।

जनगणनाअनुसार नेपालको प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १९८ जना बसोबास गर्छन् । २०६८ सालमा यो सङ्ख्या १८० मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौँ जिल्लामा (५ हजार १६९ जना प्रतिवर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ ।

जनगणनाअनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसङ्ख्या काठमाडौँ जिल्लामा रहेको छ । काठमाडौँमा २० लाख ४१ हजार ५८७ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा ५ हजार ६५८ जनाको बसोबास छ । मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसङ्ख्या भएका जिल्ला हुन् । कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा पर्छन् ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै जनसङ्ख्या वाग्मतीमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णालीमा ५.७९ प्रतिशत छ । यसै गरी मधेसमा दोस्रो ठुलो जनसङ्ख्या रहेको छ । २०७८ सालमा जनसङ्ख्या आकारको हिसाबले तेस्रो, चौथो, पाँचौँ र छैटौं प्रदेशमा क्रमशः कोसी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

एमाले नेतृत्वको सरकार धमाधम सङ्कटमा

काठमाडौँ । १० पुसमा एमालेको पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि प्रदेशमा गठित एमाले नेतृत्वको सरकार धमाधम सङ्कटमा पर्दै गइरहेको छ ।

संघीय संसद्को दोस्रो ठूलो दल एमालेको पहलमा ३२ सिटको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछि एमालेले कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएको थियो । माओवादी केन्द्रले बाग्मती र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउँदा नेपाल समाजवादी पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पाएको थियो ।

जसमध्ये एमालेले पाएको चार मुख्यमन्त्रीमध्ये सुदूरपश्चिम प्रदेशको नेतृत्व एमालेले राष्ट्रपति निर्वाचनअगावै गुमाइसकेको छ । सो प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्दा उनले विश्वासको मतसमेत पाइसकेका छन् ।

सुरुमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गुमाएको एमाले राष्ट्रपति निर्वाचनपछि गण्डकी, लुम्बिनी र कोसी प्रदेशको नेतृत्व पनि गुमाउने अवस्थामा पुगेको छ । यद्यपि, संसदीय अंकगणितका कारण कोसी प्रदेशको मुख्यमन्त्री भने जोगिने झिनो सम्भावना भने कायमै छ । आजको राजधानी दैनिकमा समाचार छ ।

थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिडदै

काठमाडौं, ११ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओस बिच प्रतिस्पर्धा हुनेछ ।

गत ८ गते देखी सुरु भएको  थ्री नेसन्स कप को दोस्रो खेलमा भुटान र लाओस बिच खेल हुन लागेको हो । 

नेपालले लाओसलाई २–० ले पराजित गर्दै उदघाटन खेलमा बिजय हासिल गरिसकेकाे छ भने दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते भिडनेछन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

अलग्गै खलिस्तान देश बनाउन खाेज्ने अमृतपाल नेपाल पस्न सक्ने भन्दै सिमानामा भारतीय सुरक्षा अलर्ट

काठमाडौं, ११ चैत । भारतले खालिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ । 

पछिल्लो दिनमा लन्डन र सन फ्रान्सिसको लगायतमा भारतमा समेत खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकमा सिमाना सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । 

वारिस दे पञ्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर पत्ता लगाएको भारतीय सुरक्षा अधिकारीले उनी सोही क्षेत्रवाट नेपाल पस्ने सक्ने आशंकमा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको हो। भारतीय सुरक्षा स्रोतलाई उद्यृत गर्दै भारतीय सञ्चार माध्यमले जनाए अनुसार उत्तराखण्डबाट नेपालभित्र पस्न सक्ने आशंकामा नेपाल–भारत सीमामा यतिखेर अलर्ट जारी गरिएको छ  भने पछिल्ला दिनमा शंका लागेका मुख्यतः शिख समुदायका मानिसहरुलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाईएको छ ।

अमृतपाल सिंह सम्पर्क बिहिन भएपनि खलिस्तान समर्थकहरुलाई भने भारतीय प्रहरीले देशैभरीवाट धमाधम पक्राउ गरिरहेको छ भने हिंसा भडकने सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सिमा भित्र केही दिन इन्टनेटसमेत पनि अबरुद्ध गरेको थियो । 

अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समुहले आक्रमण गरी आफ्नो सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले अमृतपाल विरुद्ध कारवाही सुरु गरेको हो । प्रहरीले उनी माथी लूकआउट नोटिस तथा विना धरौटीको पक्राउ पुर्जी जारी गरेको छ । 

उता, अमृतपाल माथी धरपकड हुने थाले पछि पश्चिमा मुलुकमा रहेका खलिस्तान समर्थकहरुले भारतीय नियोगमा राखिएका झन्डाहरु निकालेर खलिस्तानी झन्डासमेत राखेका थिए । खलिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यतः बेलायत र अमेरिकासँग आपत्ति जनाईसकेको छ । 
 

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

काठमाडौं, ११ चैत । फ्रान्समा पेन्सन सुधार सम्बन्धी बिषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित हुन पुगेको छ ।  

शुक्रवार बकिंघम प्यालेसले बेलायती राजा चार्ल्स र रानी क्यामिलाको आइतवार देखि बुधबारसम्म हुने भनिएको राजकीय भ्रमण अन्तिममा आएर स्थगित भएको हो ।

फ्रान्स सरकारले त्यहाँका नागरिकका लागि पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि पेरिससहितका सहरमा विशाल प्रदर्शन गर्दै आएका छन,  पछिल्लो समय सो प्रदर्शन हिंसात्मक बन्दैसमेत गएपछि बेलायती राजपरिवारको भ्रमण अन्तिममा स्थगित गर्नु परेको हो ।

फ्रान्सको चार दिने भ्रमण सकेर बेलायती राजपरिवार पेरिसवाट जर्मनी यात्रा गर्ने भ्रमण तालिका थियो । प्रददर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्स र बेलायत सरकारबीच वार्तामार्फत् राजपरिवारको भ्रमण स्थगित गरिएको बेलायतस्थित बकिंघम प्यालेसका प्रवक्ताले जानकारी दिए । उनका अनुसार अर्को अनुकुल मिति उपलब्ध भएपछि चार्ल्सले फ्रान्स भ्रमण गर्नेछन् ।

फिफा बरियतामा सुधारः महिला फुटवल तीन अंक उक्लिदै सयौं स्थानमा

काठमाडौं, ११ चैत । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार जारी गरेको वरियतामा नेपाली टोलीले तीन स्थान सुधार गरेको हो ।

यसअघिको वरियतामा १ सय तीन स्थानमा रहेको नेपाल त्यसमा तीन अंक सुधार गदैै सयौं स्थानमा आईपुगेको छ ।

गत महिना नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेलपछि भएको फिफा वरियतामा नेपालको सुधार गर्न सफल भएको हो । नेपाल र भारतबीच गत फागुन ३ गते पहिलो मैत्रीपूर्ण खेलमा २–२ र दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएका कारण बरियतामा सुधार ल्याउन सफल भएको हो । ओलम्पिक छनोटको तयारीका क्रममा प्रशिक्षण रहेको नेपाली टोलीलाई यस वरियता सुधारले उत्साह थपिदिएको छ ।  

महिला फुटबलमा छिमेकी भारत भने नेपाल भन्दा ३९ अंक अगाडी अर्थात यस अघि कै यथास्थान ६१ औं स्थानमा छ भने दक्षिण एसियाका अन्य देश भने नेपाल भन्दा पछाडी परेका छन । जसअनुसार बंगलादेश १ सय ४० औं, श्रीलंका १ सय ५५ औं, माल्दिभ्स १ सय ५९ औं, पाकिस्तान १ सय ६१ औं र भुटान १ सय ७८ औं स्थानमा छन् । 

महिला फिफा वरियतामा अमेरिका शीर्षस्थानमा रहदा जर्मनी दोस्रो, स्विडेन तेस्रो, इङ्ल्यान्ड चौथो र फ्रान्स पाँचौं स्थानमा छ । 

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन् । 

तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरिक्षक सिंहसहितका उच्च अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममार्फत शुक्रबार साँझ बिदाइ गरिएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरुको सामुहिक बिदाइ गरेका हुन । 

यसरी अवकास पाउनेमा प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डेलगायत रहेका छन् ।
 

आजको मौसमः चारवटा प्रदेशमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुर पश्चिम प्रदेशका तराईका एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गठबन्धन सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्छ, त्यसैले अब भत्कदैन – माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताए । विगतमा दुई तिहाईको सरकार पनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको भन्दै उनले यो गठबन्धनले सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने हुँदा गठबन्धन भत्किने सम्भावना नरहेको बताए ।

उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जनसङ्गठन विस्तार गर्न निर्देशन दि पनि दिए ।

कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार छैन – ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको बताएका छन् । शुक्रबार बिर्तामोडमा नेकपा ९एमाले० झापाले आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक नरहेको भन्दै उनले यस विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरे ।

“प्रदेशको नामाङ्कन ठीक ढङ्गले भएको छ”, उनले भने, “मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको हो त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन ।”

अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यलयमा अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने बताए । उनले अवकाश हुन लोका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिए ।

अभिनेत्री बेनिशा हमाल बनिन् निर्देशक

काठमाडौं नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी बेनिशा चलचित्र ‘मिसिङ ब्राइड’मार्फत निर्देशनमा पाइला चाल्न लागेक िहुन् ।

उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको यस चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीको अभिनय रहेको छ ।यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।

मोदीलक्षित टिप्पणीका कारण राहुल गान्धीको सांसद पद गुम्यो

फौजदारी मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएका भारतका एक जना वरिष्ठ विपक्षी नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको छ। संसद्को तल्लो सदनको कार्यालयले गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई दोषी ठहर गरेको एक दिनपछि उक्त निर्णय सुनाएको हो।

उनी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद निर्वाचित भएका थिए।उनी हाल ३० दिनका लागि जमानतमा छन् र अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

प्रदर्शन र विरोध
गान्धीको कंग्रेस पार्टीले उक्त आदेश ‘त्रुटिपूर्ण भएको र त्यो कायम नरहने’ जनाएको छ।शुक्रवार कंग्रेसको नेतृत्वमा विपक्षी नेताहरूले राजधानी दिल्लीमा र्‍याली निकालेका थिए।संसद् भवन बाहिरको विजय चोक क्षेत्रमा व्यापक सुरक्षाकर्मी उपस्थित रहेका थिए। विपक्षी नेताहरूले बोकेको ब्यानरमा ‘लोकतन्त्र खतरामा छ’ लेखिएको थियो।

टेलिभिजन च्यानलहरूले केही संसद्हरूलाई नियन्त्रणमा लिइएको उल्लेख गरेका छन्। प्रदर्शनकारीहरू राष्ट्रपति भवनतर्फ र्‍याली लिएर जाने प्रयासमा रहेका विवरण आएका छन्।कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले गान्धीले शुक्रवार संसद्‌मा बोल्न अनुमति मागेको तर त्यसलाई अस्वीकार गरिएको बताए।

प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, “यदि अवस्था यस्तै रहिरह्यो भने निरङ्कुशता र तानाशाही यो देशमा छिट्टै आउनेछ।”कंग्रेसले आगामी दिनमा थप प्रदर्शनहरू गर्ने जनाएको छ। उसले सरकारका ‘काला कर्तुतहरू’ पर्दाफास गरेकोमा गान्धीलाई निशाना बनाइएको जनाएका छन्।

मुद्दा के हो?
फौजदारी मानहानी अभियोगमा बिहीवार एउटा स्थानीय अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो।गान्धीलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी र्‍यालीमा दिएको प्रतिक्रिया सन्दर्भमा दोषी ठहर गरेको थियो।न्यायाधीशले आदेश सुनाउँदा कंग्रेस पार्टीका सांसद गान्धी अदालतमा उपस्थित थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा गान्धीले किन सबै चोरहरूको साझा थर ‘मोदी’ हुँदो रहेछ भन्ने प्रश्न गरेका थिए।त्यसबेला उनले फरार हिरा व्यापारी निरभ मोदी र भारतीय क्रिकेट बोर्डका पूर्व प्रमुख ललित मोदीलाई सङ्केत गरेका थिए।

उक्त मुद्दा सत्तारूढ भारतीय जनता पार्टीका एक जना सांसद पुर्नेश मोदीको उजुरीका आधारमा दायर भएको थियो। उनले गान्धीको टिप्पणीले पूरै मोदी समुदायलाई अपमान गरेको बताएका थिए।गान्धीका वकिलहरूले उचित कानुनी प्रक्रिया अवलम्बन नगरिएको जनाएका छन्। उनीहरूले गान्धीको भाषण प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित रहेकाले उजुरीकर्ता पुर्नेश मोदी नभई प्रधानमन्त्री मोदी हुनु आवश्यक रहेको तर्क गरेका थिए।

कतिपयले आफूहरू अदालतको आदेशबाट अलमलमा परेको बताएका छन्।एक जना कानुनविद् गौतम भाटियाले ट्विटरमा कुनै पनि व्यक्तिले आफू प्रत्यक्ष रूपमा जोडिएको पुष्टि नगरेसम्म सामान्यीकरण गरिएको टिप्पणीकै आधारमा कारबाही गर्न नमिल्ने बताए।

उनले भने, “यदि एउटा मानिसले सबै वकिल चोर हुन् भन्यो भने मैले एक जना वकिलका हिसाबले उनी विरुद्ध मानहानि दायर गर्न सक्दिन जबसम्म म त्यो मैमाथि लक्षित हो भनेर पुष्टि गर्न सक्दिन।”

कंग्रेसले के भनिरहेको छ?
कंग्रेस पार्टीले गान्धीले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ। उसले भनेको छ, “हामी लड्नेछौँ र जित्नेछौँ।”गान्धीले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन्। तर एउटा ट्वीटमा उनले महात्मा गान्धीको उद्धरण उद्धृत गर्दै लेखेका छन्, “मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो भगवान् हो र अहिंसा त्यसलाई हासिल गर्ने विधि।”

अदालतको आदेशमाथि प्रश्न उठाएकोमा सत्तारुढ भारतीय जनता पार्टीका नेताहरूले गान्धी र उनको दलको आलोचना गरेका छन्।सङ्घीय श्रम मन्त्री भुपेन्दर यादवले गान्धीले अन्य पिछडिएको वर्ग (ओबीसी)मा सूचिकृत जातका सदस्यहरूलाई अपमान गरेको बताए।तर कैयौँ विपक्षी दलहरू गान्धीको समर्थनमा उभिएका छन्।

भारतको फौजदारी मानहानि सम्बन्धी कानुन ब्रिटिसकालीन हो जसअन्तर्गत बढीमा दुई वर्षसम्म जेल वा जरिवाना वा दुवै हुनसक्छ।अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले उक्त कानुन स्वतन्त्रताको सिद्धान्तको विपक्षमा रहेको र आफ्ना आलोचकहरूको आवाज बन्द गर्न नेताहरूले प्रयोग गर्ने गरेको बताउँदै आएका छन्।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

बाघको आक्रमणबाट कञ्चपुरकी एक महिलाको मृत्यु

धनगढी, १० चैत – नेपालको कैलाली-कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र बाघको आक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गाउँका स्थानीयसंग गएकी कंचनपुको पुनर्वास नगरपालिका- १० मदनटोलकी अन्दाजी वर्ष ३२ वर्षीया कलसा सार्कीमाथि बाघले आक्रमण गरेको हो ।

मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

उनको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८ को पुर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए। सार्कीसंग अन्य महिला भने बाघको आक्रमणबाट भागेर बच्न सफल भएका छन् ।

भारतीय प्रहरीले घटनाको मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

एसईईमा मनाङबाट ५२ जना सहभागी हुँदै

लमजुङ, १० चैत । शैक्षिक सत्र ०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । मनाङमा छात्रा ३९ र छात्र २३ परीक्षामा सहभागी हुनेछन् ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनी बताउँछन् ।

उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । खुलातर्फबाट छ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका छन् ।

लोकप्रियबाट ६ खुलासहित गरी १७ छात्रा र सात छात्रले परीक्षा दिने छन् । प्रकाशज्योतिबाट ९ छात्रा र ८ छात्र तथा अन्नपूर्णबाट तीन छात्रा र दुई छात्र परीक्षामा सहभागी हुने छन् ।

लोकप्रिय र प्रकाशज्योतिका एक–एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्न अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ । त्यस्तै, ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ ।

दाङमा सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा

दाङ, १० चैत – दाङमा आजदेखि सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा आएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो ।

अध्यक्ष सुरेश हमालका अनुसार पहिलो चरणमा गाडी दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जसम्म चल्नेछ । अहिले एउटा गाडीले मात्रै सेवा दिने र समयपछि अन्य गाडी थप गर्ने तयारी रहेको हमालले जानकारी दिए ।

१३ जना यात्रु क्षमता भएको गाडीो भाडा पाँच सय रुपैयाँ तय गरिएको छ । गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगञ्जका लागि छुट्ने र दिउँसो ३ बजे नेपालगञ्जबाट फर्किनेछ ।
 

व्यवसायीले गरे गोदावरी नगरपालिका घेराउ 

कैलाली, १० चैत – कैलालीको अत्तरिया बजारका व्यवसायीले गोदावरी नगरपालिका घेराउ गरेका छन् । अत्तरिया बजार क्षेत्रका व्यवसायीले पसल अगाडी निर्माण गरेका टिनका पाली नगरपालिकाले हटाउन थालेको भन्दै नगरपालिका घेराउ गरेका हुन् ।

शुक्रबार बिहान अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाउन सुरु गरेको थियो । व्यवसायीले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रम नहटाएर बिना कारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै अवरोध गरेका थिए ।

व्यवसायी दुर्गा कडायतले पसल अगाडी पाली नबनाएर बर्षातको पानी पसल भित्र जाने गरेको बताइन् । उनले नगरपालिकाले खोला नालाको अतिक्रमण नहटाउने तर, व्यवसायीले पसल अगाडी निर्माण गरेका पालीमात्रै हटाउने कार्य गलत भएको बताइन् ।

व्यवसायीले तत्काल पाली नहटाइदिन माग गरेका छन् । यता नगरपालिकाले भने सडक अतिक्रमण हटाउने काम नरोकिने बताएको छ । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यपालिकाबाट निर्णय गरेर सडक किनाराका अतिक्रमण हटाउने निणय भएको बताए ।

उनले ७ दिने सूचना जारी गरिएपनी अतिक्रमण हटाउन अटेर गरिएपछि नगरपालिकाले जेसीवी चलाउन बाध्य भएको बताए । यसअघि अतिक्रमण हटाइएका ठाउँमा पुनः अतिक्रमण हुन थालेको प्रवक्ता भट्टले बताएका छन् ।

मोवाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

भक्तपुर, १० चैत । प्रहरीले मोवाइल चोरी गर्ने र सोही चोरीको मोवाइल खरिद गर्नेलाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोवाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्ने बर्ष २२ को जिनलाप घिसिङ तथा चोरीको मोवाइल किनबेच गर्ने लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु नै बस्ने बर्ष ३० को रामशरण अछामीलाई पक्राउ गरेको हो । 

यसअघि फागुन २४ गते राति १ बजेको समयमा भक्तपुरको कमलविनायकमा पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोवाइल चोरी भएको उजुरी परेको थियो ।

 प्रहरी वृत्त जगाती भक्तपुरले निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनीको २२ थान मोवाइल चोरी भएकोमा चोरी भएका मोवाईलहरु मध्ये फागुन ८ गते विभिन्न कम्पनीका ८ थान मोवाइलसहित चोरी कार्यमा संलग्न जिनलाप घिसिङ पक्राउ परेका थिए ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

साथै, फागुन १४ गते काठमाडौं बुढानिलकण्ठमा रामकुमार दंगालले सञ्चालन गरेको चाहना मोवाइल मार्ट तथा फागुन १६ गते जोरपाटीको अशोक सापकोटाले सञ्चालन गरेको सापकोटा मोवाइल सेन्टरमा समेत निज जिनलाप घिसिङले चोरी गरेको अनुसन्धानको क्रममा खुल्न आएको भक्तपुर प्रहरी परिसका सूचना अधिकृत बसन्त पाठकले बताए ।        
 

धनगढीमा तीनदिने विश्व नेपाली नारी साहित्य सम्मेलन सुरु,यि देशका साहित्यकार सहभागी

नारी श्रष्टामय बन्यो धनगढी

धनगढी, १० चैत-भाषा, साहित्य र संस्कृति संरक्षण, सम्वर्द्धनका लागि धनगढीमा तीनदिने विश्व नेपाली नारी साहित्य सम्मेलन सुरु भएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शुक्रबारदेखि सम्मेलन सुरु भएको हो । एक समारोहबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मेलन उद्घाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, भुटान, बर्मा लगायतका देशका साहित्यकार सहभागी छन् । उद्घाटन समारोहमा सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने प्रख्यात सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ । छलीया नाच, रानाथारु, डंगौरा थारुका सांस्कृतिक प्रस्तुति, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटीबाट आएका कलाकारहरुले स्थानीय सांस्कृतिक प्रस्तुति गरेका थिए ।

देशभित्र र बाहिरबाट महिला साहित्यकारहरूको आगमन भइरहेसँगै धनगढी नारी श्रष्टामय बनेको हो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले साहित्यले समाजका थुप्रै समस्यालाई उजागर गर्दै समाधानतर्फ डोर्‍याइरहेको बताए । 

सुदूरपश्चिमाञ्चल साहित्य समाजले साहित्य कार्यक्रमहरुका माध्यबाट सुदूरपश्चिमसहित विश्व नेपाली समाजलाई जोडन खोजेको उनले बताए । ‘हाम्रो कला सांकृति, पहिचान, प्राकृतिक स्रोत र साधनको उपयोगमा साहित्यको ठूलो भूमिका छ,’ उनले भने । उनले प्रदेश सरकार सुदूरपश्चिम साहित्य समाजसंग सहकार्य गरेर जान तयार रहेकोसमेत उनले बताए ।

साहित्य क्षेत्रले यहाँको कला संस्कृतिलाई थप वृहत बनाउन मद्दत पुग्ने भन्दै उनले ‘साहित्य क्षेत्रसँग म जोडिएको छु र निरन्तर तपाईहरुसंग जोडिएर अगाडि बढन चाहन्छु ।’ धनगढीमा शुक्रबारदेखि सुरु भएको महोत्सव सोमबारसम्म चल्नेछ ।

खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

धनगढी, १० चैत -छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ । 

शुक्रबार दोस्रो दिनको खेलमा क्यामरुनको एभिनर फुटबल क्लवले ‘ए’ डिभिजन क्लव खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

धनगढी रंगशालामा शुक्रबार भएको खेलमा विदेशी टोली एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए ।  

एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई सेमिफाइनलको यात्रा तय गराए । उनले खेलको ६६ औं र  ७२ औं मिनेटमा गोल गरेका थिए । 
एभिनरले सेमिफाइनलमा बागमती युवा क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच हुने खेलको विजेतासंग खेल्ने छ ।

शनिबार नेपाल पुलिस क्लव र भारतीय क्लव जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुने छ । 

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।

अध्यक्ष र उपाध्यक्षबीच आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत ल्याउन होडबाजी, सेवाग्राही मर्कामा 

सिरहा, १० चैत । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको विवादमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गराउन तानातान गरिरहेका छन् । गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष ममताकुमारी यादवको व्यक्तिगत विवादका कारण दुवैले आ–आफनो पक्षको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन तानातान गरिरहेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत हाजिर भए पनि पालिकाभित्रको अन्तरविवादका कारण विकास निर्माणलगायतका कामकाज पूर्णरुपमा ठप्प हुँदा सेवाग्राही मार्कामा परेका छन्। समान्य प्रशासन मन्त्रालयले २०७९ फागुन १४ को पत्रानुसार प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले बरियारपट्टी गाउँपालिकामा हाजिर गरेका थिए ।

तर, सिंह विवादित व्यक्ति रहेको जानकारी मन्त्रालयमा पुगेपछि सोही दिन अर्का अधिकृत सुजितकुमार यादवलाई बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाइयो । मन्त्रालयले पठाएका यादव गाउँपालिकामा हाजिर भए पनि उपाध्यक्षले कामकाज गर्न अवरोध गरिरहेको कर्मचारीहरु बताउँछन् । 

प्रमुख प्रशासकीय अधिकृतको रुपमा मगाएका अशोक कुमार सिंहको ठाउँमा सुजित यादवलाई पठाएर मन्त्रालयले गल्ती गरेको बरियारपट्टी गाँउपालिकाका उपाध्यक्ष ममता कुमारी यादवको आरोप छ  । 

‘आफूहरुले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएको सिंह नै यहाँ हाकिम भएर बस्नुपर्छ. । हामीले मगाएका अशोक सिंह हाकिमको रुपमा नरहे आफुहरुले कसैको कुरा स्वीकार गर्ने पक्षमा छैनौँ,’ उनले भनिन्, ‘पालिका चलाउनसक्षम व्यक्ति चाहिन्छ, जुन उहाँमा छ ।’

अशोककुमार सिंह २०७५ देखि २०७७ सालसम्म बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे ।   उनको कार्यकालमा गाउँ कार्यपालिकासँग विवाद भएको कुरा जिल्ला प्रशासन हुँदै मन्त्रालयसम्म पुगेको थियो । तत्कालीन समयमा अशोक कुमार सिंह र अध्यक्ष सन्तोष महतो तथा अन्य सदस्यहरुबीच हात हालाहालसम्म हुन पुगेको थियो ।

‘कार्यालयको कामकाजमा ढिलासुस्ती गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंहलाई सम्झाइबुझाइ गरेको कुरालाई व्यक्तिगत रुपमा लिएर अझ समस्या सृजना गर्न खोजेको थियो,’ अध्यक्ष सन्तोष कुमार महतोले भने, ‘अशोक कुमारको रबैयालाई गाउँ कार्यपालिकाले निगरानीमा राखेर कडाइ गर्न खोज्दा विवाद भएको थियो ।’

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सिंहको रबैया ठिक नभएको ठम्याईका साथ कार्यपालिकाको अनुरोधमा मन्त्रालयले अन्यत्र सरुवा गरेको अध्यक्ष महतोको भनाइ छ । 

पहिलो कार्यकालमा विवाद चर्काएका प्रमुख प्रशासकिय अधिकृतलाई फेरि पनि पालिकामा ल्याएर उपाध्यक्ष ममता कुमारी यादवले सुल्झेको विवादमा मलजल गरेर चर्काएका अध्यक्ष  महतोको आरोप छ । 

प्रमुख प्रशासकीय अधिकृत राजगीर महतोलाई उपाध्यक्ष पक्षले पावर र पहुँचको प्रयोग गरेर गोप्य रुपमा सरुवा गराएको बरियारपट्टी गाउँपालिका–३  का वडाध्यक्ष विनोदकुमार यादवले बताए । ‘हाकिम फेर्नै थियो भने विवादित व्यक्तिलाई नल्याएर हुन्थ्यो, ‘वडाध्यक्ष यादवले भने, ‘उपाध्यक्ष पक्ष बहुमतमा छ । बहुमत हुँदैमा जे पनि गर्न मिल्दैन । जनप्रतिनिधिले जनताको विकास गर्नका लागि चुनिएको हो । पुराना विवादलाई बल्झाएर पालिकाको काम कारबाहीमा अवरोध सृजना गर्न हुँदैन ।’ 
 

हाउस हेल्पको खुट्टा छुन्छिन् अभिनेत्री रश्मिका

मुम्बई, १० चैत । दक्षिण भारतीय फिल्मकी अभिनेत्री रश्मिका मन्दाना अभिनयसँगै सुन्दरताका लागि पनि लोकप्रिय छिन् । नेसनल क्रस रश्मिकाले फिल्म ‘गुड बाइ’मार्फत बलिउडमा पाइला चालिसकेकी छन् । उनी चाँडै नै अभिनेता रणवीर कपुरका साथ फिल्म ‘एनिमल’मा देखिँदैछन् ।फिल्म ‘पुष्पा’ अभिनेत्री रश्मिकाले हालै एक अन्तरवार्तामा आफू जहिल्यै घरमा काम गर्ने (हाउस हेल्प)को खुट्टा छुने गरेको खुलासा गरेकी थिइन् ।

‘घर फर्किएर सबैको खुट्टा आदर भावले छुने मेरो बानी हो । म आफ्नो हाउस हेल्पको पनि खुट्टा छुन्छु किनकी म कसैलाई पनि विभेद गर्न चाहन्नँ । म एक व्यक्तिको रुपमा जोकोहीलाई पनि सम्मान गर्छु’, उनले भनेकी छन् ।

कामको कुरा गर्दा रश्मिका पछिल्लोपटक थलपति विजयको फिल्म ‘वरिसु’मा अभिनय गरेकी थिइन् । यो फिल्म ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज भएको थियो । 

बायोग्राफी लेख्दै महावीर पुन

काठमाडौं, १० चैत । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला बायोग्राफी लेख्न व्यस्त छन् । उनी बायोग्राफीबाट प्राप्त पैसालाई आविस्कार केन्द्रमै खर्च गर्नका लागि बायोग्राफी लेख्न व्यस्त भएका हुन् ।

उनले आफूले बायोग्राफी लेख्ने भन्ने कहिल्यै नसोचेको बताए । ‘मैले मेरो जीवनी लेख्ने सोचेकै पनि थिइनँ । मेरो बायोग्राफी लेख्नका लागि कति मान्छेहरु मलाई नसोधी भेट्न आए । मैले त्यो बेला मेरो जीवनी नलेख्नु, मलाई चाहिँदैन नै भनिदिएँ’, महावीरले भने, ‘अहिले आएर केन्द्रका लागि दुई चार पैसा आउँछ भने किन नलेख्ने भनेर केही समययता दैनिक रुपमा बायोग्राफी लेखिरहेको छु । बायोग्राफी आविस्कार केन्द्रप्रति समर्पित हुनेछ ।’

उनले कुनै कार्यक्रममा जानै पर्ने अवस्था आएमा मात्र आफू पुग्ने गरेको र त्यो बाहेकको समय बायोग्राफीमै दिएको बताए । उनका अनुसार तीन महिनाभित्र उनको बायोग्राफी पाठकले पढ्न पाउनेछन् । कुनै प्रकाशन गृहबाट बायोग्राफी बजारमा आउँछ भन्ने निश्चित नभइसकेको उनले खुलाए ।

उपनिर्वाचनका लागि दल दर्ता गराउदै लोसपा

काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गराउने भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको हो ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेकाले दल दर्ता गराउने, बारा क्षेत्र नं २ मा उम्मेदवारी दिने लोसपालेनिर्णय हो ।

अमेरिकी डलरको भाउ घट्दा युरो बढ्यो

काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
बिहीबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज ६३ पैसाले घटेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार उक्त डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य  १३२ रुपैयाँ ५६ पैसा तोकिएको थियो । बुधबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा तोकिएको छ। 

बिहिबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको थियो। बिहिबारको तुलनामा आज युरो ४८ पैसाले बढेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य १६२ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९२ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ १९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ र बिक्रीमा ९६ रुपैयाँ ४४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८ पैसा र बिक्रीमा ३६ रुपैयाँ २४ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा, मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ७३ पैसा र बिक्रीमा २९ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिदमा आज ४२९ रुपैयाँ ८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५ पैसा पाइन्छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८१ पैसा तोकिएको छ।
 

आजको हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, १० चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ११० रुपैया केजी, रुख टमाटर १५० रुपैयाँ, रुख कटहर ९० रुपैयाँ, भुई कटहर २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

छिमेक लघुबित्तको साधरण सभा आज, बोनस सेयर बाडिने

काठमाडौं, १० चैत । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा आज बस्दैछ । 

बाग्मती प्रदेशको राजधानी हेटौडामा बस्ने सो साधारण सभाले बोनस सेयर र लाभांस पारित गर्ने कार्यतालिका रहेको छ । 

बैंकका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर तथा  कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गरिनेछ ।

आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँलाइ बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउन लागेको छिमेकीले बोनस सेयर जारी गर्ने र वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने सम्बन्धि विशेष प्रस्तावसमेत पारित गर्ने जनाएको छ ।

स्थानीय तहले फर्काएका ३० उपसचिव ‘घर न घाटका’

काठमाडौं । नगरपालिकामा ‘निमित्त’ झिक्न केन्द्र सरकारले खटाएका ५० उपसचिव (प्रमुख प्रशासकीय अधिकृत) मध्ये ३० जनालाई विभिन्न स्थानीय तहहरूले हाजिर नगराई फर्काइदिएका छन्। स्थानीय तहले फर्काएका उपसचिवहरूलाई संघीय मामिला मन्त्रालयले समेत हाजिरी गराएको छैन, जसबाट एक महिनादेखि उनीहरू घर न घाटका भएका छन्।

शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ५६ उपसचिवमध्ये ५० उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ र फागुन १६ गते विभिन्न स्थानीय तहमा पहिलो पोस्टिङ ग¥यो।

लामो समयदेखि विभिन्न स्थानीय तहमा कार्यरत निमित्त कर्मचारी झिक्न मन्त्रालयले एकैपटक ठुलो संख्यामा विभिन्न उपसचिवलाई स्थानीय तहमा खटाएको थियो। एकैपटक ५० जना उपसचिवलाई स्थानीय तहमा खटाएको विषयलाई मन्त्रालयले ठुलो उपलब्धिका रूपमा प्रचार गरेको थियो।

तर ५० मध्ये आधाभन्दा धेरै ठाउँमा स्थानीय तहले केन्द्रले पठाएका कर्मचारी फर्काएका छन्। ‘संघीय सरकारले मलाई मोरङको रतुवामाई नगरपालिकामा सरुवा ग¥यो। सरुवा गरेको ठाउँमा म गए तर त्यहाँको मेयर नागेश्वरप्रसाद सिंह गन्जाईले हाजिरी गराउन मानेनन्। ‘तपाईँ काठमाडौँमै फर्कनुहोस् भने,’ फागुन ३ को लटमा सरुवा भएका नारायण न्यौपानले भने, ‘त्यसपछि म काठमाडौँ आएँ। संघीय मामिला मन्त्रालयसँग सम्पर्क गरे। तर मलाई संघीयले पनि हाजिरी गराएको छैन। अहिले म यता न उताको भएको छु।’

यस्तो बिचल्लीमा न्यौपाने मात्र परेका छैनन्, ३० उपसचिव यस्तै सकसमा छन्। मन्त्रालयले समेत हाजिरी नगराएका उपसचिवहरूको दैनिकी भनेको अहिले सिंहदरबार आउने, मन्त्रालय अगाडि जम्मा हुने र साँझ घर फर्कने मात्र भइरहेको छ। स्थानीय तहले फर्काएका उपसचिवहरू अहिले ठुलो संख्यामा मन्त्रालय वरिपरि भेटिन्छन्।

उनीहरूको काम भनेको मन्त्रालयका सचिव, सहसचिव तथा मन्त्रीसँग भेट्न खोज्ने र भेटेपछि गुनासो पोख्ने मात्रै रहेको छ। यस विषयमा मन्त्री तथा सचिवले चासो नदेखाएको उनीहरूको भनाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रभु साहको आम आदमी र माओवादी समाजवादी बिच एकीकरण हुने

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुदैँछ । 

शुक्रवार बिहान ११ बजे हुने अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए । 

नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन । 

आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

काठमाडौं। नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ ।

२०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् । 

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् । 
 

सभामुखको विशेषाधिकार कटौती प्रस्ताव

प्रतिनिधि सभाका सभामुखले प्रयोग गर्दैआएका केही नियमित र विशेषाधिकारमा कटौती गर्ने गरी प्रतिनिधि सभा नियमावली मस्यौदामा संशोधन दर्ता भएका छन्। दलीय प्रतिनिधित्वका आधारमा गठित समितिले सहमतिमा टुङ्गो लगाएका विषयमा सांसदहरूले संशोधन दर्ता गरेका हुन्। सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले सभामुखको अधिकार कटौतीका पक्षमा संशोधन दर्ता गरेका हुन्।

सभामुखले नियमावलीअनुसार गर्ने स्पष्ट किटान भएका काम कारबाही कार्य व्यवस्था परामर्श समितिको निर्णयमा गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ। कांग्रेस र एकीकृत समाजवादीका सांसदहरूको संशोधनको भाषा करिब हुबहु भए पनि माओवादी केन्द्रका सदस्यहरूको भने केही फरक छ तर आशय भने सत्तारूढ सांसद सबैको एउटै छ।

प्रस्तावित नियमावलीको नियम १३ (४) मा सो व्यवस्था थप गर्न माग गरिएको छ। प्रस्तावमा भनिएको छ, “यस नियमावलीमा सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्य व्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ।” कांग्रेसका रामहरि खतिवडा, राजेन्द्रकुमार केसी, सञ्जय गौतम, एकीकृत समाजवादीका अम्मरबहादुर थापा र भानुभक्त जोशी, माओवादी केन्द्रका माधव सापकोटा, नारायणी शर्मा, जनता समाजवादी पार्टी, (जसपा)का रेखा यादवको प्रस्ताव अधिकार कटौतीको पक्षमा छ। नियमावलीअनुसार सभामुखले गर्ने काम कारबाही कार्य व्यवस्था परामर्श समितिको निर्णयबाट गर्नुपर्ने प्रस्ताव उनीहरूले गरेका छन् तर समितिले निर्णय गर्न नसके वा सहमति नभएमा के गर्ने भन्नेमा संशोधन प्रस्ताव मौन छन्।

प्रस्तावित व्यवस्थाअनुसार नियमावली पारित भएमा दैनिक कार्यसूची प्रकाशनको अधिकार पनि सभामुखमा रहने छैन। अहिले कार्य व्यवस्था परामर्श समितिमा हुने दलीय परामर्शका आधारमा सभामुखको निर्देशनमा महासचिवले कार्यसूची तय गर्ने अभ्यास छ। सभामुखले गर्ने सबै काम कारबाही समितिको निर्णयमा हुने अवस्था भए नियमावलीले दिएका विशेषाधिकार सभामुखमा रहने छैनन्। नियमावलीको व्याख्याको एकल अधिकार पनि समितिकै निर्णयका आधारमा गर्नुपर्नेछ।

बैठकमा हुने छलफलको समयावधि निर्धारण, शून्य र विशेष समयको निर्धारणलगायतका निर्णय पनि समितिबाट भएपछि मात्र सभामुखले तय गर्न पाउनुहुनेछ। सभामा तत्कालै कुनै निर्णय सभामुखले लिनुपर्ने अवस्थामा कसरी अघि बढ्ने, बैठक स्थगितको अवस्था आएमा सभाध्यक्षले विशेषाधिकार प्रयोग गर्न पाउने वा नपाउने विषयमा संशोधन प्रस्ताव मौन छन्।

नियमावलीको व्याख्या र बाधा अड्काउ फुकाउने अधिकार सभामुखलाई किटान गरिएका छन्। यस्ता अधिकार प्रयोगमा पनि कार्य व्यवस्थाको निर्णय चाहिने आशयसहित सत्तारूढ दलका सदस्यहरूको संशोधन दर्ता भएका हुन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।

अबदेखि खाद्यबालीको पनि बीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘खाद्यान्न बाली बीमालेख’ जारी गरेसँगै अब कृषि बीमालेखअन्तर्गत खाद्यान्न बालीको पनि उत्पादनको आधारमा बीमा हुने भएको छ । प्राधिकरणका अनुसार उक्त बीमालेखमा बालीहरू धान, मकै, जौ, गहुँ र कोदो समेटिनेछ ।

यी खाद्यान्न बालीको बीमालेखले विभिन्न आठ प्रकारको क्षतिको रक्षावरण गर्नेछ, जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भूमिजन्य, चट्याङजन्य, रोग तथा किराजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति परेका छन् ।

बीमालेखले रक्षावरण गरेको जोखिमका कारण खाद्यान्न बाली क्षति भएमा क्षति भएको ३ दिनभित्र बीमितले बीमकलाई टेलिफोन, एसएमएस, ईमेलमध्ये कुनै एक माध्यमबाट जानकारी गराउनु पर्नेछ ।

अतिरिक्त सुविधाअन्तर्गत खाद्यान्न बाली बीमा गराएका बीमितले २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पाउनेछन् । बीमा अवधिमा आत्महत्याबाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनस् ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा बीमकबाट बीमितले २ लाख रुपैयाँ भुक्तानी पाउनेछन् ।

एकै क्षेत्रफलमा लगाइएको खाद्यान्न बालीको आंशिक रूपमा बीमा गर्न भने पाइने छैन । धान र कोदो बालीको हकमा रोपेको ३० दिनभित्र बीमा गरिएको हुनुपर्नेछ । मकै, गहुँ र जौ बालीको हकमा बीउ छरेको ७ दिनपछि ३० दिनभित्र बीमा गरेको हुनुपर्नेछ ।

प्राधिकरणले बीमालेखअनुसार धान, मकै र गहुँ बालीको हकमा बीमांक रकमको ५ प्रतिशतका दरले तथा जौ र कोदो बालीको हकमा बीमांक रकमको ३ प्रतिशतका दरले बीमाशुल्क कायम हुने व्यवस्था गरेको छ ।

शिखर इन्स्योरेन्सका कृषि तथा लघु बीमा शाखाका सहायक प्रबन्धक सार्थकराज पाण्डे खाद्यबालीको उत्पादनको आधारमा बीमालेख जारी हुने भएसँगै किसान उक्त बीमालेखबाट लाभान्वित हुने बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा, प्रधानन्यायाधीश नियुक्ति अन्योल

काठमाडौं । राजनीतिक कोप भाजनका कारण न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । एक वर्षको बीचमा न्यायालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाले उमेर हदका कारण अवकाश पाए । तर, न्यायालयमा न्यायाधीश नियुक्ति हुन सकेको छैन ।

सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम (कामु) प्रधानन्यायाधीशबाटै न्यायालय चलिरहेको छ । संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा रोकिँदा कानुनी रिक्तताका कारण प्रधानन्यायाधीश तत्काल नियुक्त हुनसक्ने अवस्था छैन ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई पटकपटक अध्यादेशमार्फत संशोधन गरेको थियो । ओली सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भयो भने त्यही अध्यादेशका कारण पुरानो ऐनका कतिपय प्रावधान पनि निष्क्रिय हुन पुगेको छ । जसका कारण हाल प्रधानन्यायाधीश नियुक्तिमा पनि जटिलता देखिएको हो ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधनका लागि संसद्मा विधेयक दर्ता गरेको छ । तर, सो प्रक्रिया अझै अगाडि बढ्ने सम्भावना नभएकाले प्रधानन्यायाधीश नियुक्ति अनिश्चित छ । अध्यादेशका कारण बैठक बस्न सक्ने ऐनसमेत निष्क्रिय भएकाले सो प्रक्रिया पुनः सक्रिय बनाउनका लागि संसद्बाट विधेयकमार्फत पारित गरेपछि मात्रै सक्रिय हुन्छ ।

सरकारले पटकपटक ल्याएको अध्यादेशले संवैधानिक परिषद्को गणपूरक संख्या र निर्णय प्रक्रिया किटान गरेको संवैधानिक परिषद्सम्बन्धी ऐनको दफा ६ खारेज गरेको थियो । कानुन व्याख्यासम्बन्धी ऐनअनुसार खारेज भएका ऐन स्वतः जाग्दैन, त्यसका लागि संसद्मा विधेयक लगेपछि मात्रै ब्युँतन्छ ।

यदि, सो अध्यादेशलाई संसद्ले स्वीकार गरेको भए नयाँ प्रावधान लागू हुन्थ्यो । तर, अध्यादेश संसद्ले पारित नगरेपछि निष्क्रिय भइसकेको छ । त्यसैले, दफा ६ फेरि ब्युँतिन सकेन । तत्कालीन ओली सरकारले ८ वैशाख २०७७, ३० मंसिर २०७७, २१ वैशाख २०७८ र ३ साउन २०७८ मा गरी चारपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

संवैधानिक परिषद्सम्बन्धी कानुनी रिक्तताको परिपूर्तिका लागि भन्दै देउवा सरकारले २२ असार २०७९ मा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको थियो । अब नयाँ संसद्को अधिवेशबाट संवैधानिक परिषद्सम्बन्धी ऐनलाई विधेयकका रूपमा संशोधन गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट जगाउनुपर्ने छ । तत्काल त्यो अवस्था भने देखिँदैन । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।