`

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुन: विश्वासको मत लिदैँ

हेटौडा, १० चैत । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।

बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाईएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । 

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्‍यार विश्वासको मत लिन लागेका हुन । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा बिबाद बढे पछि अन्तिम समयमा आएर बुधवार बोलाईएको बैठक स्थगित हुन पुगेको थियाे । 

नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पछि आपसी सहमतिमा बुधवार बोलाईएको बैठक सारेर शुक्रवार डाकिएको हो । शुक्रवार डाकिएको बैठकवाट भने पुन: विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गरेका छन् । 

आजको मौसम: चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, १० चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

उता राती भने गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जुही भनेपछि मरिहत्ते गर्थे सलमान, किन भएन विवाह ?

एजेन्सी – सन् ८० र ९० को दशककी अभिनेत्री जुही चावला । मोडलिङमा चर्चा बटुलेपछि जुही बलिउडमा आएकी थिइन् । उनले सन् १९८७ मा रिलिज फिल्म ‘सल्तनत’बाट डेब्यू गरकेी थिइन् । यसपछि उनले बलिउडमा ‘डर’, ‘दीवाना मस्ताना’, ‘इश्क’, ‘कयामत से कयामत तक’ जता हिट फिल्म दिइन् । उनले सन् १९९५ मा व्यापारी जय मेहतासँग गुपचुप विवाह गरिन् । तर, सायद कमैलाई थाहा होला कि जुहीलाई सलमान खान विवाह गर्न चाहन्थे ।

सलमान हिन्दी फिल्मको मस्ट एलिजिबल ब्याचलर हुन् । उनी आजसम्म पनि सिंगल छन् । कुनै समय उनी जुहीको प्रेमी थिए । उनी जुहीसँग विवाह गर्न तयार थिए । तर जुहीका पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरेपछि विवाह हुन सकेन ।

सलमान जुहीलाई यति धेरै मनपराउँथे कि उनी जुहीको हात माग्न जुहीका पितालाई भेट्न गए । तर जुहीको पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरे । ‘जुही निकै प्यारी छिन् । मैले उनको पितालाई के तपाईं जुहीको मसँग विवाह गरिदिनुहुन्छ ? भनेर सोधेको थिएँ । तर उहाँले अस्वीकार गर्नुभयो । शायद उहाँलाई म मन परिनँ होला । उहाँलाई कस्तो केटा चाहिएको थियो, मलाई थाहा भएन’, सलमानले भनेका छन् ।

जुहीले आफ्नो करियर उच्च स्तरमा पुगेको समयमा जय मेहतासँग सन् १९९५ मा विवाह गरेकी थिइन् । जय र जुहीको पहिलो भेट राकेश रोशनले गराएका थिए । त्यसपछि उनीहरु नजिकिए । जुहीले ६ वर्षसम्म आफ्नो विवाहलाई लुकाएर राखिन् । जब उनी पहिलोपटक गर्भवती भइन्, अनि मात्र उनले विवाह गरेको खुलासा भएको थियो ।

यस्तो हर्कत गरेपछि ३ हेलिकप्टर पाइलट निलम्वित

काठमाडौं नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन हेलिकप्टर पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलरसँग अश्लिल शब्द बोलेको भन्दै एक पाइलटलाई निलम्बन गरेको हो भने उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने अन्य दुई हेलिकप्टर कम्पनीका पाइलटलाई निलम्बन गरिएको हो ।

काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई र उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको हो ।

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै, हिँड्डुल गर्न थाले

काठमाडौं – नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरु गरेका छन् ।

उनले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको बताइएको छ । भण्डारी गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररतछन्।

बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । शून्यमा झरेको संक्रमण आज ह्वात्तै बढेको देखिएको हो । आज एकै दिन १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण देखिएको हो । चैत ७ र चैत ८ गते भने शून्य संक्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।

आज ३० जना सक्रिय संक्रमित रहेका छन् ।भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बबताइएको छ ।

चलचित्रकर्मी कल्याणकारी कोषबाट स्व अभिनेता राणाको परिवारलाई एक लाख सहयोग

काठमाडौं – चलचित्रकर्मी कल्याणकारी कोषले स्व अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचारको लागि सहयोगगरेको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषको सहयोग हस्तान्तरण गर्न बुधबार ललितपुरस्थित स्नेही काख नामक संस्थामै बोर्डका अध्यक्ष भुवन केसी र कोषका संयोजक वसुन्धरा भुसालले रु एक लाख सहयोग गरेका हुन् ।

राहत कोषमा रकम जुटाउन पहल भइरहेकै कारण सहयोग गर्दा सीमितता भएको भन्दै बोर्ड अध्यक्ष केसीले सरकारसँग बेलाबखतमा कलाकारलाई सहयोग गर्न सकिने कोषमा रकम जम्मा गर्न भनिरहेको बताए ।

विसं २०४१ मा बनेको चलचित्र ‘अन्याय’बाट अभिनयमा प्रवेश गरेका अभिनेता राणाले वसन्ती, बलिदान, दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाँया–२, सेतो बाघ, हवल्दार सुन्तली लगायतका चलचित्रमा अभिनय गरेका थिए । उनको निधन २०७५ माघ १८ गते निधन भएको थियो ।

दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजनाबद्ध कार्यक्रम बनाइरहेका छौं – मुख्यमन्त्री गिरी

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक स्थायित्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताएका छन् । बिहिबार लुम्बिनी प्रदेशसभा सचिवालयको आयोजनामा रुपन्देहीको लुम्बिनीमा भएको र्काक्रममा उनले यस्तो बताएका हुन् ।

उनले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको भन्दै राजनीतिक स्थायित्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताए । उनले लुम्बिनी प्रदेश सरकारले दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजनाबद्ध कार्यक्रम बनाइरहेको पनि बताए ।

परम्परागत शैलीमा काम गरेका कारण निर्माण उद्योगमा चुनौती थपियो – उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न विभिन्न कार्यदल गठन गरी काम थालिसकेको बताएका छन् । बिहिबार
एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सङ्गठन र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताका हुन् ।

उनले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताए । पर्याप्त लगानीबाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उनले बताउ ।

परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएको भन्दै उनले अब नयाँ शैलीमा काम गर्नुपर्ने बताए। उनले समयसापेक्ष ऐन, कानुन बनाउन नेपाल निर्माण व्यवसायी महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।

यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका २६ जना कारबाहीमा

काठमाडौं, ९ चैत । काठमाडौँको  कीर्तिपुरमा ट्राफिक प्रहरीले आज  (बिहिबार) विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई  कारवाही गरेको छ ।

 
उक्त चेकिङ्गमा १ सय १५  भन्दा बढी  सवारीसाधन चेक गर्दा १९ वटा ह्याण्डब्रेक ठिक नभएका र ७ वटा लाईटहरु दुरुस्त नभएका करिब २६ ओटा सवारीसाधनहरु फेला परे पश्चात चालकहरु कारबाहीमा परेका हुन।

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधनहरुलाई मर्मत गर्ने र तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाईएकाे छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको कीर्तिपुर क्षेत्रमा आज खटिएकाे थियाे । सवारी साधन चलाउदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न उक्त टोलि खटिएका हाे । 

 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्न यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई अनुरोध गरेका छन् । 
 

पहिलो कारोबारमै घट्यो कालिन्चोक दर्शनको मूल्य

काठमाडौं, ९ चैत  । बिहीबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

कालिन्चोक दर्शन लिमिटेडको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो। कारोबारको आधारमा पहिलो दिनमै कालिन्चोकको मूल्य घटेको छ । उक्त कम्पनीको छैटाैँ स्थानमा आएको र जम्मा ३.९४ प्रतिशतले यसको मूल्य बढेको हो । 

कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा नेप्सेले तोकेको हो । सेयर बजार बन्द भए लगतै ५.३० अंकले बढेर १३९.७० विन्दुमा अडिएको छ ।

नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । नेप्सेमा यस कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो ।
 

१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा हुने

काठमाडौं, ९ चैत । गायक तथा संगीतकार कालिप्रसाद बासकोटा सन् २०२३ कै पहिलो सांगीतिक कार्यक्रमका रुपमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’मा काठमाडौंका दर्शकमाझ गुञ्जिने भएका छन् । 

पछिल्लो फिल्म ‘फूलबारी’मा रहेको गीत ‘माया रैछ र’मा स्वर दिएका कालिप्रसाद ठमेलको सञ्चय कोष चोकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा १७ चैत शुक्रबार गुञ्जिन लागेका हुन् ।

कार्यक्रममा कालिप्रसादले नयाँ व्याण्ड ‘साथी भाइ’सँग लाइभ गीत गाउनेछन् । कन्सर्टमा कालिले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउनेछन् । उनले ‘साथीभाइ’ व्याण्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउनेछन् ।

कार्यक्रम पीभीइ नेटवर्कको प्रस्तुती र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको हो । कालिप्रसाद  ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुन् ।
 

२०८० सालमा बैंकका कर्मचारीहरुले ३५ दिन बिदा पाउने

काठमाडौं, ९ चैत । २०८० सालमा बैंकका कर्मचारीहरुले ३५ दिन बिदा पाउने भएका छन् ।नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मको लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन ।  


नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ । उक्त सूची अनुसार दशैँमा ६ दिन र तिहारमा ५ दिनसहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ । 

२०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुनेछ । जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् ।

यस्तै इन्द्र जात्रा, भोटाे जात्रा, गाईजात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ भने सीमित बैंकिङ कारोबारहरु फागु पूर्णिमामा पहाडी र हिमाली जिल्लामा हुने बिदाको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ ।फागु पूर्णिमाका दिनमा भने सीमित बैंकिङ सेवा भने उपलब्ध हुनेछ ।
 

दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी विजयी

दार्चुला, ९ चैत – सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का साझा उम्मेदवार कृष्ण धामी विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार भानबहादुर पाललाई ६९ मतले पराजित गरेका हुन् ।

हिजो राति अबेर सम्पन्न मत गणना अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धामीले कुल खसेको मतको दुई ७५ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी पालले दुई सय ६ मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, स्ववियुको सचिवमा नेविसंघका जवनसिंह डडाल २ सय ५३ मतसहित विजयी भएका छन् । डडालका प्रतिद्वन्द्वी अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धनसिंह धामीले २ सय ४० मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा भने साझा उम्मेदवार अनेरास्ववियुकी मनिषा डडाल विजयी भइन् । उनले २ सय ७० मत ल्याइन भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका विजया जोशीले २ सय १६ मत ल्याएको निर्वाचन समिति संयोजक धाना धामीले जानकारी दिइन् ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ९ चैत ।  नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ भने  युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।  

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ १८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९२ पैसा तोकिएको छ। 

त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४० पैसा र बिक्रीमा ८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ भने  क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ। 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा कायम गरिएको छ। 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५ रुपैयाँ २९ पैसा तोकेको छ।

यसैगरि, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ। 

मलेसियन रिंगिट एकको खरिदमा बिहिबार २९ रुपैयाँ ६२ पैसा र बिक्रीमा २९ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

आज कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ५१ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ४८ पैसामा किनबेच भएको छ।
 

यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य 

काठमाडौ, ९ चैत ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्दु्क २५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ११० रुपैया केजी, रुख टमाटर १६० रुपैयाँ, रुख कटहर ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

नेप्सेमा आज सानिमा र रिलाएन्स इन्सोरेन्सको कारोबार बन्द हुने 

काठमाडौं, ९ चैत । सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको आजको सेयर कारोबार रोक्का हुने भएको छ । 

दुबै कम्पनीले चैत ९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भए पछि नेप्सेले आजको सेयर कारोबार रोक्का गरेको हो । 

यसअघि भएको निर्णय अनुसार दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न गरी आजवाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्दैछन । 

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

दुवै कम्पनीको फागुन १२ गते सम्पन्न भएको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरे अनुसार आजवाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन ।

भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी

मुम्बई, ९ चैत । भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भएको छ ।निगमको घरवाट भएको सो चोरीका मामिलामा उनका पुर्व ड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ ।

गायककी बहिनि निकिताले मुम्बई प्रहरीमा उजुरी दिए पछि यो मामिला बाहिर आएको हो । 

अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो ।

निगमको डिजिटल लकरवाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो ।

निगमको घरवाट ठुुलो रकमको पैसा हराए पछि सिसिटिभी फुटेज हेरिएको थियो, जहाँ अगमकुमारले दुवै पटक ठुलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो ।  

पक्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरी समक्ष स्विकार गरेको  बिविसी हिन्दीले जनाएको छ 

रुपेन्देहीको तिलोत्तममा गुटखा विक्री गर्न प्रतिबन्ध, बिक्रि गरेकाे फेला परे ५० हजारसम्म जरिवाना

बुटवल, ९ चैत । तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। 

गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। 

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार  सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा बिक्रीमा प्रतिबन्ध लगाउँदै गुटखा विक्री गर्नेलाई जरिवानासमेत तोकिएको छ ।

उनका अनुसार नगरपालिका भित्र गुटखा बिक्री गरेको पाइएमा पहिलो पटक डिलर व्यवसायीलाई दस हजार, दोस्रोपटक विक्री गरेको भेटिएमा २० हजार, तेस्रो पटक भेटिएमा ५० हजार जरिवाना तोकेको छ । 

यसैगरी, अन्य व्यवसायीलाई पहिलो पटक कारबाही स्वरुप १ हजार पाँच सय, , दोस्रो पटकमा तीन हजार र तेस्रो पटकमा ५ हजार जरिवाना तोक्ने निर्णय भएको प्रशाशकीय अधिकृत अर्यालले जानकारी दिए ।

डोल्पा अस्पतालको पीडाः सडक ,पुल नहुँदा बाटो मै बिरामीको हैरानी

हेमन्त केसी, सुर्खेत , ९ चैत । जिल्ला अस्पताल डोल्पामा दुइ वटा एम्वुलेन्स छन्  तर अस्पताल सम्म जान र आउन भने पाउदैनन् ।

अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्वुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता रहेको छ । दुइ मध्य एक एम्वुलेन्स वर्ष दिन अघि देखि सञ्चालनमा छैन । अर्को एम्वुलेन्सले भेरी नदी पारी पट्टी सम्म मात्र सेवा दिने गर्दछ । झण्डै एक किलोमिटर टाढाको दुरीमा एम्वुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट विरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ । 

स्टेचरमा राखेर बिरामी लिन र  ल्याउन समेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठुलिभेरी नवराज थापाले बताए । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्स सम्म पुर्याउन समस्या हुँदै आएको छ । कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदा ,ल्याँउदै बाटोमै सुत्केरीसमेत हुने गरेको डाक्टर सुस्मिता जोसीले बताइन् ।

अस्पताल बिरामी लिन र ल्याउन भेरी नदी बाधक देखिएको छ । भेरी नदीमा पुल निर्माण नहुदा १ किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरको भरमा मुस्किलले अस्पताल सम्म बिरामी पुर्याउने गरिएको डाक्टर जोसीले बताइन् । अहिले झोलोङगे पुलको साहरामा बिरामी तथा यहाँका सर्वसाधारणहरु वाल्लो दुनैबाट पाल्लो दुनै जाने र आउने गरेका छन् ।

साँघुरो बाटो एक किलोमिटर हिडेर अस्पताल सम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामी समस्य समाधानका लागि प्रयास जारी राखेका छौँ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने । २५ शश्याको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिन समेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरण देखि अन्य सामग्री लिन समेत समस्या रहदै आएको छ ।

 
स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाइ जान र आउन मात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको माताहातमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोर भित्र दुइ वर्ष अघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

ठुलिभेरी , त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याएइका बिरामीले सबै भन्दा बढी सास्ती भोग्दै आएका छन् ।  त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिदै छ तर अस्पताल जाने र आउने सडक निर्माण तर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरु आक्रोषित भएका छन् । 

सुदुरपश्चिमका तीनवटा क्याम्पसमा अखिल बिजयी

काठमाडौं, ९ चैत । नेकपा एमाले निकट अनेरास्ववियूले तीनवटा क्याम्पसमा जीत हासिल गरेको छ ।

बुधवार सम्पन्न सुदुरपश्चिम विश्वबिद्यालय अन्तर्गतका तीनवटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले तीनवटा क्याम्पसमा जीत हासिल गरेको हो ।

अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पसमा रुपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित भएका हुन । 

जनकपुरका वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा 

जनकपुर, ९ चैत । जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षसहित वडा सचिव घुसकाृ रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले जनकपुरधाम–११ का वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले वडाध्यक्ष चौधरी र वडासचिव रायलाई जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

सो वडाका एक सेवाग्राहीसँग जग्गा दर्ता कायम गर्न सरजमिनका लागि भन्दै मागेको ५० हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको बर्दिवासबाट खटेको टोलीले दुवै जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका वडा अध्यक्षा र वडा सचिव माथी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको छ । 

दुर्गालक्ष्मीको स्ववियु सभापतिमा नेविसंघका महरा निर्वाचित

अत्तरिया, ९ चैत – कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ उम्मेदवार भुवन महरा सभापतिमा निर्वाचित भएका छन्। उनी नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौका साझा उम्मेदवार रहेका थिए ।

कुल ८ सय ७४ मत खसेकोमा महराले ३७४ मत पाएका थिए। स्वतन्त्र र अनेरास्ववियु (क्रान्तिकारी) सयुक्त प्यानलबाट उम्मेदवारी दिएका पुष्करराज जोशीले १७७ मत प्राप्त गरेका थिए । यस्तै स्वतन्त्र उम्मेदवार लोकराज ओझाले १६४, अनेरास्ववियुका उम्मेदवार पुष्पराज सुवेदीले १०५ र स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिएका सरोज ठगुन्नाले २१ मत प्राप्त गरेका थिए ।

निर्वाचनबाट सचिवमा महरा प्यानलबाटै ३९९ मत ल्याएर बम बहादुर बिक र कोषाध्यक्षमा सर्वाधिक ४०८ मत ल्याएर ज्योती शाहु निर्वाचित भए । 

त्यस्तै सदस्यमा महरा प्यानलकै भागरथी विष्ट, लाल बहादुर खत्री, सुनिल बोहरा, जित बहादुर महरा, दिपकराज अवस्थी, उषा कुमारी साउँद, अमृता विक र दिनेश खड्का निर्वाचित भए ।

मोफसलको सर्वाधिक राशी पुरस्कारको जीतपुर सिमरा गोल्डकप आज देखी

सिमरा, ९ चैत । मोफसल कै सर्वाधिक १० लाख राशी पुरस्कारको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता आजवाट सुरु हुदैँछ । 

आज देखी सुरु हुने खेलमा ए डिभिजनका पाँचवटा क्लवसहित मोफसलका १० चर्चित टिमहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । उनका अनुसार उदघाटन खेलमा भने आयोजक नव जनजागृति र बीएफसी चितवन भिड्ने छन् ।

चैत ९– १८ सम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।  विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २० हजार दिने जनाएको आयोजकले प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार छुटाएकाे छ ।

सो प्रतियोगितामा साबिक विजेता एनआरटीसहित ए डिभिजनका एपीएफ, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब प्रतिस्पर्धामा उत्रदै छन् भने मोफसलका बीएफसी चितवन, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११ हेटौंडा, वाग्मती युवा क्लब सर्लाही र आयोजक नव जनजागृति युवा क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

तीन उपसचिवलाई आठ वर्ष कैद

विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाइएको छ । एक उपसचिवलाई साढे दुई वर्ष कैद निर्धारण गर्दा दुई लेखा अधिकृतलाई नौ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले न्यूनतम साढे दुई वर्षदेखि नौ वर्षसम्म कैद र बिगोको दोब्बर जरिवाना असुलको आदेश भएको जानकारी दिनुभयो । विशेषले फागुन ३० गते कसुर ठहर गरेको थियो । दुई फरक–फरक मुद्दामा गरी अदालतले ११ जनालाई दोषी ठहर गरेको थियो ।

सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायकस्तरका कर्मचारीलाई दोषी ठहर गरेको थियो । अदालतले अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बुधबार सजाय निर्धारण गरेको हो ।

इजलासले उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार रुपियाँ बिगो र बिगोको दोब्बर जरिवाना गरेको छ । यस्तै उपसचिव विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद तथा पाँच करोड ८३ लाख ९२ हजार रुपियाँ बिगो असुलको आदेश गरेको छ । उपसचिव नयराज नेपाललाई आठ वर्ष कैद र छ करोड १७ लाख ६४ रुपियाँ बिगोको आदेश गरेको छ । दुवैसँग बिगोको दोब्बर जरिवाना असुलको आदेश गरेको छ ।

यस्तै लेखा अधिकृत कुमार कटवाललाई छ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपियाँ बिगो, टीकाराम अधिकारीलाई नौ वर्ष कैदको आदेश गरेको छ । अधिकारीलाई १४ करोड सात लाख ९६ हजार रुपियाँ बिगो असुलीको आदेश गरिएको छ भने बिगोको दोब्बर जरिवाना हुनेछ ।

यसैगरी लेखा अधिकृत सुरेश अधिकारीलाई नौ वर्ष कैद तथा १५ करोड तीन लाख ९९ हजार ९८६ रुपियाँ बिगो, लेखापाल देवराज नेपाललाई आठ वर्ष छ महिना कैद र ११ करोड २२ लाख ६३ हजार रुपियाँ बिगो असुलको आदेश अदालतले गरेको छ । अदालतले लेखापाल रुद्रप्रसाद दाहाललाई आठ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपियाँ बिगोको आदेश गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

काठमाडौं, ९ चैत – जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रवक्ता भोला दाहालले बताए ।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो । उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

काठमाडौं, ९ चैत – शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।

घरबारी बेचेर क्यान्सर उपचार

काठमाडौँ । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका बिरामीमा गरिएको अध्ययनअनुसार क्यान्सर उपचारमा घरजग्गा बेच्नुपर्ने अवस्था देखाएको हो । अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा एक्सन नेपालले गरेको अनुसन्धानमा १६ प्रतिशतले घरजग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेको पाइएको छ ।

यसैगरी बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झन्डै चार गुणा बढी उपचारमा खर्च गर्ने गरेको पाइएको थियो । प्रत्यक्ष मेडिकल खर्चअन्तर्गत सबैभन्दा बढी खर्च केमोथेरापीमा हुने गरेको पाइएको थियो । केमोथेरापीमा २८ प्रतिशत खर्च रहेको छ ।

अनुसन्धानअनुसार एक जना क्यान्सर बिरामीले रोगको पहिचान र उपचारमा नौ लाख ८१ हजार ३७० रुपियाँ खर्चने गरेका छन् । अध्ययनअनुसार नेपालमा क्यान्सर रोगको उपचार गराउनेमध्ये ४३ प्रतिशत बिरामीले आफ्नो प्रमुख आय कृषि भएको बताएका छन् ।

६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको पाइयो । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले मेडिकल खर्च, क्यान्सर पत्ता लगाउन र उपचार गर्न लाग्ने खर्च, उपचारका लागि यातायात, खाना तथा बास खर्च र क्यान्सरका कारण बिरामी तथा बिरामीको आफन्तको गुमेको आय अध्ययनमा समेटिएको बताए। उनले बिमा सुविधाले क्यान्सरको उपचार खर्च नसमेटेको हुनाले सरकारले बिरामीलाई राहत पुग्ने गरी अनुदानको रकम बढाउनुपर्ने बताए। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्ति र पर्यटन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयमा दलहरूको नजर गडेको छ ।

वर्तमान आठ दलीय सत्ता गठबन्धनमा २ दल थपिएर १० दलीय बन्न पुगेको गठबन्धनका अधिकांश दलहरूले महत्वपूर्ण मन्त्रालय रोज्न थालेपछि मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने देखिएको छ ।

संयुक्त सरकार भएकाले गठबन्धनमा सामेल दलहरूबीच शक्ति वितरणमा सहमति जुटाउन केही समय लाग्नसक्ने जिकिर गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का एक नेताले भने– ‘प्रधानमन्त्री एक्लैले चाहेर मात्रै हुँदैन । गठबन्धनमा धेरै दलहरू समावेश भएकाले सबैका राय सल्लाहअनुसार निर्णय लिनुपर्ने हुन्छ ।’

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गृह वा अर्थसहित भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य तथा आपूति मन्त्रालय लिने विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । यद्यपि, गठबन्धन दलहरूबीच छलफल जारी रहेकाले केही दिनमा निर्णयमा पुग्ने उनले बताए ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको दाबी गरेको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गृहसहित उपप्रधानमन्त्रीमा आफ्नो दलको दाबी कायमै रहेको दोहो¥याए ।

सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका नेताहरूले समेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई गृहमन्त्रालय आफैँले राख्नुपर्ने सुझाव दिने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठ उक्त मन्त्रालय नछाड्ने पक्षमा छन् ।

उता जसपाका अध्यक्ष उपेन्द्र यादव सम्भव भएसम्म सांसद भएर उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा आउने योजनामा हुनुहुन्छ । जसपाले बारा २ का सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएपछि उक्त निर्वाचन क्षेत्रमा उपेन्द्र आफैं उम्मेदवार हुने तयारीमा लागेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)को आगामी वैशाख १० गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न कार्यकारिणी समितिको बैठक बस्दैछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा मुख्यतः बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए । 
 

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्नेवारेमा पनि बैठकमा छलफल हुनेछ ।

आजको मौसमः कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं, ९ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा  र देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक रहल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने  देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

उपनिर्वाचन र सरकारमा सहभागिताका बिषयमा छलफल गर्न लोसपाले बोलायो बैठक

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी बैठक बोलाएको छ । आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोसपाले बिहीबारका लागि बैठक बोलाएको हो । उक्त बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुनेछ ।

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको भए पनि सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने हुनेछ ।

नेविसंघकै नेताले गरे केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन

काठमाडौं, ८ चैत – नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ ।त्रिभूवन विश्व विद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको अध्यक्षका लागि आधि दर्जन नेतालाई जिम्मेवारी दिएको पत्र सार्वजनिक भएपछि उनीसँग अवरुद्ध बनेका विद्यार्थी नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन् ।

नेविसंघ त्रिभुवन विश्व विद्यालय समिति अध्यक्ष विष्णु बहादुर बडैलाले केन्द्रीय अध्यक्षबाट नेविसंघ त्रिविको ऐतिहासिक गरिमा र ओजमाथि नै प्रहार हुने काम भएको बताए । शेर्पाको चिठ्ठी आतंकले उनको नेविसंघप्रतिको आस्था र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको बडैलाको आरोप छ ।


आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकियो

काठमाडौं – आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक विना निष्कर्ष सकिएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकबमा सरकार गठनको प्रक्रियाका बिषयमा छलफल भएको थियो ।

तर कुनै ठोस सहमति हुन सकेन । कांग्रेसले १० मन्त्रालयको दाबी गरेको छ भने एकीकृत समाजवादी र जसपाले ३ मन्त्रालय पाउनु पर्ने बताउदै आइरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी रहेका थिए ।

बिर्सनै नसक्ने घटनाबाट ‘प्रेमा’को जन्म : निर्देशक गोविन्दसिंह भण्डारी

काठमाडौं, ८ चैत । आधा दर्जन नेपाली फिल्ममा सह–निर्देशक रहेर काम गरेका निर्देशक गोविन्द सिंह भण्डारीले आफ्नो पूर्ण निर्देशकीय ‘डेब्यू’ फिल्म ‘रणवीर’बाट राम्रै चर्चा पाए । साउथ फिल्ममा काम गरिसकेका भण्डारीले साउथको एक्सन फ्लेभरलाई ‘रणवीर’मा प्रस्तुत गरेका थिए । अहिले यिनै गोविन्द प्रेमकथाको फिल्म ‘प्रेमा’लिएर आगामी चैत १७ (मार्च ३१)बाट दर्शकमाझ आउँदैछन् । फिल्ममा शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीको प्रमुख भूमिकामा अभिनय छ । फिल्मको तेलुगु, तमिल र हिन्दी भर्सन ओटीटीमा रिलिज हुँदैछ ।

पहिलो लेखन प्रेमा

लेखनका हिसाबले ‘प्रेमा’ भए पनि निर्देशन र रिलिजको हिसाबले ‘रणवीर’ पछि दोस्रो फिल्म हुनेछ । ‘प्रेमकथाले दर्शकलाई रोमान्टिक बनाउँछ र यसले मान्छेलाई जोड्ने काम गर्छ । कुनै न कुनै उमेरमा आफूभन्दा विपरित लिगसँग जोकोही आकर्षित हुने गर्छ’, उनी भन्छन्, ‘मैले प्रेमा र रणवीरको स्क्रिप्ट सँगै लेखेको थिएँ । पहिला प्रेमा बनाउन चाहन्थे, तर समय र परिस्थितिले गर्दा रणवीर बन्यो ।’

प्रेमाको जन्म

गोविन्दका अनुसार ‘प्रेमा’ वास्तविक व्यक्तिबाट प्रभावित भएर लेखिएको थियो । गोविन्दले जीवनको कुनै समयमा एक युवती भेटेका थिए, जोबाट प्रभावित भएर उनले ‘प्रेमा’ लेखे । ‘प्रेमाको वास्तविक चरित्र जुन युवतीमा पाएँ, त्यो चरित्रलाई समातेर अघि बढ्न सक्छु भन्ने लाग्यो । किनकी ऊ साधारण भएर पनि उसमा अरुलाई आफूतिर आकर्षण गर्ने क्षमता छ । मान्छेहरु बढी चमकधमक भएको वस्तुतिर आकर्षित हुन्छन् । तर प्रेमाको चरित्र आफैंमा शान्त सुशील हुँदा पनि उसमा आकर्षक व्यक्तित्व छ’, गोविन्द भन्छन्, ‘त्यो चरित्रलाई लिएर कथा भन्न मन थियो । मान्छेको जीवनमा केही घटना यस्ता हुन्छन्, जुन उसले कहिल्यै बिर्सन सक्दैन । प्रेमाको कथा पनि त्यस्तै घटनाबाट प्रभावित भएर लेखिएको हो ।’

प्रेमाको अर्थ

गोविन्दाका अनुसार ‘प्रेमा’ संस्कृतबाट आएको शब्द भए पनि यसलाई तेलुगूमा बढी प्रयोग गरिन्छ । जसको अर्थ ‘माया’ हो । नेपाली फिल्ममा जुनसुकै गीतमा ‘माया’ शब्द जोडिए जस्तै साउथका हरेक फिल्मका गीतमा ‘प्रेमा’ अनिवार्य जस्तै छ ।

पात्र भेट

गोविन्दले वास्तविक पात्रलाई नियमित रुपमा त भेटेनन् । तर जति भेट भयो, त्यो पात्रलाई जान्ने र बुझ्ने अवसरले उनलाई कथालाई अगाडि बढाउने बाटो देखाइदियो । ‘आम रुपमा कोही राम्री युवती देख्दा उसलाई जिस्क्याउने अथवा नराम्रो नजरले हेर्ने गरेको देखिन्छ । तर ‘प्रेमा’को वास्तविक चरित्रको सवालमा फरक अवस्था थियो । उसलाई कसैले पनि गलत अर्थ र गलत नजरले हेरेको र बोलेको सुनिनँ । सबैले सम्मानपूर्व उनको प्रशंसा गर्थे’, गोविन्दले सम्झिए, ‘त्यो मेरा लागि ‘सरप्राइज’ नै थियो । ’

डोभ एस–सिमेन्सबाट प्रभावित

गोविन्द भारतमा बस्दा उनले हलिउड फिल्म निर्देशक डोभ–एस सिमेन्सको बारेमा सुनेका र पढेका थिए । डोभ चिनियाँ फिल्म एकेडेमीका संस्थापक, हलिउड फिल्म इनिस्टिच्युटका संस्थापक र ग्लोबल फिल्म स्कुलका डिन तथा संस्थापक हुन् । डोभ प्रशिक्षणका लागि नेपाल पनि आइसकेका छन् ।

गोविन्दले डोभ एस–सिमेन्सले टु डे फिल्मस् स्कुलमा दिएको प्रशिक्षणको भिडियो कोर्षलाई अनलाइनमा हेरेर फिल्म मेकिङ सम्बन्धी प्रशिक्षण लिएका थिए । ‘सिमेन्सले ‘पहिलो फिल्म गर्दा बजेट सीमित राख्नु, काम यस्तो होस् कि निर्देशकको काम बढी देखियोस्’ भन्नुहुन्थ्यो । गीतलाई कोरियोग्राफी, एक्सनलाई फाइटमास्टर राखिदिँदा निर्देशकको काम के त ? त्यसकारण कथावाचनको शैली राम्रो हुनुपर्छ भन्नुहुन्थ्यो । चरित्र र सिमेन्सको भनाईलाई लिएर प्रेमा लेखेको हुँ’, उनले भने ।

यसरी छानिए कलाकार

गोविन्दको बुझाईमा स्क्रिप्ट लेख्दा एउटा ‘इमेज’ दिमागमा आउँछ । ‘प्रेमा’ लेखिरहँदा उनको दिमागमा पात्रको कपाल, अनुहार, उचाई र शरीरको वनावट बनाइसकेको थियो । शुभेक्क्षासँग उनले ‘रणवीर’मा काम गरिसकेका थिए । त्यसकारणले शीर्ष चरित्रमा शुभेक्क्षा ‘फिट’ छिन् भन्ने कुरामा उनी ढुक्क थिए । ‘म वास्तविक पात्र र फिल्मको पात्रसँग नजिक थिएँ । शुभेक्क्षासँग पहिला पनि काम गरिसकेको हुनाले शुभेक्क्षाले प्रेमा चरित्र निर्वाह गर्न सक्छिन् भन्नेमा म ढुक्क थिएँ’, गोविन्द भन्छन्, ‘शुभेक्क्षालाई सबै कुरा भनेर, स्क्रिप्ट पढ्न लगाएर, न्यारेसन सुनाएर ‘तिमी क्रिएटिभली स्क्रिप्ट मनपर्छ भने मात्र काम गर’ भनें ।’

गोविन्द नयाँ अनुहारसँग काम गर्न मनपराउँछन् । फिल्मका लागि चाहिने प्रमुख पुरुष पात्रका लागि उनले धेरैजनासँग अडिसन लिएका थिए । तर उनले सोचेको जस्तो पात्र फेला पार्न सकेका थिएनन् । त्यही बेला फिल्म सम्पादक कृष्ण भण्डारीले अरुण क्षेत्रीको नाम लिए । अरुण त्यो समयमा रेनाशा वान्तवा राईको फिल्म ‘आइ एम २१’मा काम गरिरहेका थिए । कृष्णले अरुणसँग कुरा गरेर उनको तस्वीर गोविन्दलाई पठाइदिए । तस्वीर हेर्दा उनले खोजकै जस्तो पात्र अरुणमा पाए । ‘तर तस्वीरमा भन्दा वास्तविकतामा मानिस फरक हुन्छन् । मैले अरुणको अडिसन लिनुभन्दा पनि सुटिङ हेर्ने बहानामा उसको काम हेर्छु भन्ने निर्णय लिएँ । सुटिङमा गएर हेर्दा अरुणको काम, शारीरिक हाउभाउ राम्रो लाग्यो । अनि उसलाई अडिसनमा बोलाएँ’, गोविन्दले सम्झिए ।

सृष्टिबाट प्रभावित गोविन्द

सृष्टिसँग गोविन्दको पहिलो सहकार्य हो । तर उनले सृष्टिका फिल्म भने हेरेका थिए । सृष्टिसँगको पहिलो सहकार्यबाटै उनी प्रभावित भएका रहेछन् । ‘सृष्टि काममा ध्यान दिने कलाकार हुन् । यो तरिकाले काम गर्ने मान्छेसँग मैले अहिलेसम्म सहकार्य गरेको थिइनँ’, गोविन्द भन्छन्, ‘सृष्टि प्रि–प्रोडक्सनअन्तर्गत वर्कसपमा नोट लिएरै बस्थिइन् । म बोलिरहँदा उनी नोट गरिरहेकी हुन्थिइन् । उसले के लेखिरहेको छ भन्ने हामीलाई थाहा पनि हुँदैन थियो । उनी समयमै सुटिङ सेटमा आउँथिइन् । कतै ढिलो हुने अवस्था भएमा खबर गर्थिइन् । उसको फिल्म हेरिसकेको हुनाले काम गर्न गाह्राे हुँदैन भन्ने अनुभव भयो ।’

व्यस्त बन्दै हिट गीतका एरेन्जर नरेन्द्र वियोगी

काठमाडौँ । तपाईं हाम्रो जनजिब्रोमा झुण्डिइरहेका पर्ख पर्ख मायालु, पिरिम नलाउने, जुनको साथी तारा, रेवन चश्मा,  लगायतका दर्जनौँ गीतका एरेन्जर हुन् नरेन्द्र वियोगी । प्युठानको गौमुखी  गाउँपालिकाका वियोगीको सिंहदरबार पूर्वी गेट नजिकै रेकडिङ स्टुडियो छ । जहाँ उनी आफ्नो अधिकांश समय बिताउँछन् । बिहान ८ बजेदेखि राति १० बजेसम्म वियोगी आफ्नो वेभ स्टुडियोमा कसरी राम्रो काम गर्न सकिन्छ भन्ने धुनको खोजीमा नै हुन्छन् । 

पार्टनरसिपमा दुई वर्षदेखि स्टुडियो चलाइरहेका वियोगी आफूले एरेन्ज गरेका हरेक गीतमा मिक्सिङ र मास्टरिङको काम पनि आफैँ गर्छन् । अहिले उनलाई थाहा छैन आफूले एरेन्ज गरेका र मिक्सिङ र मास्टरिङ गरेका गीतहरू कति पुगे भन्ने एकीन संख्या । तर, करोड क्लबमा पुगेका करिब १० वटा गीतहरु उनी मुखाग्रै भन्न सक्छन् । मंगलम फिल्मको पर्ख पर्ख मायालु र दीपक शर्माको शब्द तथा संगीतमा तयार पिरिम नलाउने जस्ता कैँयौ रोमान्टिक गीतमा जोडिन पाउँदा उनी निकै खुशी छन् । 

वियोगीलाई यो संयोग लोकप्रिय गीतकार तथा संगीतकार शर्माले नै जुराइदिएका हुन् । संगीतकार शर्मा र एरेन्जर वियोगी दुवै प्रतिभावान र पर्दा पछाडीका हिरो जसरी अहोरात्र आफ्नो संगीतिक धुन भर्ने लगायतका काममा व्यस्त भइरहँदा पनि उनीहरूको दैनिक भेटघाट अनामनगरमा नै हुन्छ । कयाैँ हिट गीतमा सहकार्य गरेका  संगीतकार शर्मा र एरेन्जर वियोगी दुवैले सांगीतिक क्षेत्रको संघर्षपछिको अहिलेको सफलतामा खुशी छन् । करोड क्लबमा आफ्ना गीतहरु जोडीन पाउनु भनेको आँफैमा ठूलो सफलता भएको वियोगी बताउँछन् । 

वियोगीलाई एउटा गीत एरेन्ज गर्न एक दिन लाग्छ । तर, कहिलेकाहीँ दुईदेखि तीनदिनसम्म पनि लाग्न सक्ने उनी बताउँछन् । उनीसँग वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ कलाकार तथा गायक हरिवंश आचार्य,  संगीतकारहरु राजु सिंह, राजनराज सिवाकोटी, वसन्त सापकोटा, गैरे सुरेश, दीपक शर्मा, वरिष्ठ गीतकर कृष्णहरि बराल, भिम बिस्ट, मानसराज, ध्रुव बिस्को, शंकर थापा स्माइल, डिपी खनाललगायतका कलाकर्मीसँग काम गरेकाे अनुभव छ ।  

प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा लाओसमाथि नेपालको जित

काठमाडौं, ८ चैत – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लावसमाथि जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराएको हो । नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे ।

खेलको पहिलो हाफमा नवीन लामाको कर्नरमा हेडमार्फत अनन्तले खेलको ३०औं मिनेटमा गोल गरेका हुन् भने खेलको ५६औं मिनेटमा नवयुगले गोल गरे । 

आजको जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । 

वैतडीका तीन क्याम्पसमा नेविसंघको ऐतिहासिक जित

बैतडी, ८ चैत – सुदूरपश्चिम विश्व विद्यालय अन्तरगतका बैतडीका तीन वटा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् ।

जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको हो ।

नेविसंघका अध्यक्ष कपिल केसीले यसलाई जिल्लामा नेविसंघको ऐतिहासिक जित भएको बताएका छन् । यसले दिनरात नभनेर आफू खटेको मिहिनेतको प्रतिफल प्राप्त भएको रूपमा लिएको उनले बताए ।

त्रिभुवन विश्व विद्यालय अन्तरगतका पुर्चुडी बहुमुखी र सिगास शिक्षा क्याम्पसमा नेविसंघले नै जित हासिल गरेको थियो । 
 

३० हजार घुस लिएको अभियोगमा रोजगार विभागका सुब्बाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, ८ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले बुधबार विशेष अदालत काठमाडौंमा पाण्डेविरुद्ध ३० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सूचारु गर्नका लागि सेवाग्राहीसँग तीस हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा छानिबन हुँदा उनले उक्त रकम लिएको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर आयोगले छानबिन गरेको थियो ।

नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आज आफ्नो कार्यकक्षमा बोलाएर बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।