`

मणिलेक क्याम्पस मेलौलीको सभापतिमा नेविसंघका भट्ट निर्वाचित 

बैतडी, ८ चैत – बैतडीको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट प्यानलसहित विजयी भएका छन् । नेविसंघका भट्टले ७० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका धनीदत्त भट्टले ४४ मत ल्याए । 

मणिलेक क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने नेविसंघ एक्लै प्रतिस्पर्धामा थियो ।

सो क्याम्पसको स्ववियु सचिवमा नेविसंघकै निरज भट्ट ६८ मत ल्याएर विजयी भएका छन् भने संयुक्त प्यानलकी मीना भट्टले ४३ मत ल्याएकी छन् । 

यस्तै कोषाध्यक्षमा नेविसंघकी सुशीला नेगी विजयी भएकी छन् । नेगीले ७१ मत ल्याइन् भने उनका निकटम् प्रतिस्पर्धी संयुक्त प्यानलकी सावित्री पार्कीले ४० मत ल्याइन् । 

यस्तै सदस्यमा नेविसंघका दिनेशसिंह साउँद ६६ मत, पूजा चन्द ७२ मत, सुनिता भट्ट ६७ मत र मनोजदत्त ओझा ७१ मत ल्याएर विजयी भएका छन् । 

मणिलेक क्याम्पसमा १२० जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति संयोजक गगनराज पाण्डेयले बताए ।

धनगढीमा हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको तयारी पूरा

धनगढी, ८ चैत – यही चैत्र १० गते धनगढीमा हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नारी साहित्य सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन् गर्ने जानकारी दिए । उनले सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा समारोहमा साहित्यिक प्रतिभा झमक घिमिरेलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ ।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुनेछन् ।

सम्मेलन आयोजनाका लागि मुल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमितिहरू गठन भएका छन् । सम्मेलनमा सञ्चालन गरिने अन्तरसंवाद सत्रहरूको टुङ्गो लागिएको छ ।

यस्तै कार्यक्रम मूल आयोजक समितिका संयोजक बरिष्ठ लोक गायक यज्ञराज उपाध्ययले धनगढीलाई बौद्धिक बहसको नगरिका रूपमा स्थापित गर्न यो कार्यक्रमको आयोजना गरिने बताए । यसले यहाँको भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको उनले बताए ।

यस्तै साहित्यकार रामलाल जोशीले सम्मेलनमा कला, संस्कृति, राजनीतिक परिवेसलगायत थुप्रै विषयमा प्यानल डिस्कसन हुने बताए । उनले साहित्य सम्मेलन सुदूरपश्चिमका लागि एक ब्राण्ड बनिरहेको बताए ।

सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो

काठमाडौं, ८ चैत शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ ।

आयोगले चैत्र १८ गते हुने सामान्य लिखित परीक्षाको लागि उम्मेदवारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

आयोगले गत पुस २५ गते ६८६ रिक्त दरबन्दीको लागि स्थायी शिक्षकको विज्ञापन खुला गरेकोमा पुस १८ गते दिउँसो १ बजेदेखि हुने परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

चितवनमा हरेक वर्ष चैतेदसैंमा मनाइने विक्रमबाबा मेला सुरु

चितवन, ८ चैत – हरेक वर्ष चैतेदसैंमा मनाइने विक्रमबाबा मेला सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मंगलबार पूजा भएपछि मेला सुरु भएको हो ।

मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् । साथै घैलाघारी सामुदायिक वनले पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको छ । यस वर्ष चार लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको छ ।

केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भूजेलका अनुसार पूजा व्यवस्थापनका लागि २८ सदस्यीय समिति गठन गरिएको छ । मन्दिरमा पूजा गर्ने समय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय गरिउको छ ।

बागमती प्रदेशसभा बैठक चैत १० गतेसम्मका लागि स्थगित

मकवानपुर, ८ चैत – बागमती प्रदेशसभाको आजका लागि अपराह्न गरिएको बैठक स्थगित छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आज बस्ने भनिएको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकोमा नेपाली कांग्रेसको अनुरोधमा स्थगित गरिएको हो ।

कांग्रेसको आज  बैठकमा उपस्थित हुन नसक्ने अनुरोधपछि चैत १० गतेको समय माग भएअनुरुप सत्ता पक्ष र प्रतिपक्षको सहमतिमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

गत पुस २६ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनबाट मन्त्रिपरिषद् गठन भएको र राप्रपाका मन्त्रीहरूले फागुन १६ गते मन्त्री पदबाट राजीनामा दिई पार्टीको तर्फबाट दिइएको समर्थन फिर्ता लिएको थियो ।

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौं, ८ चैत – सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ । 

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठक आधा घण्टादेखि जारी रहेको जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् । 

बैठकमा, सरकार गठनको प्रक्रिया एवम् यसको प्रक्रियाबारे छलफल भएको भइरहेको बताइएको छ ।

खुम्बुमा लेक लागेर मृत्यु भएका पर्यटकको शव उद्धारमा अझै कठिनाई

सोलुखम्बु, ८ चैत । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव उद्धारमा कठिनाई भएको छ ।

बाक्लो हिमपात तथा प्रतिकुल मौसमका कारण सोमवार लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्को शव उद्धारमा कठिनाई भएको हो । 

खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटलमा सुतेकै अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दिपक श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले शव उद्धारमा समस्या भइरहेको छ । उनका अनुसार हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ । जसका कारण  शव उद्धारमा समस्या भएको छ ।  

खुम्बु क्षेत्रमा हिमपात भईरहेको र मौसम सहज हुने बितिक्कै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए ।

अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते 

लाहोर, ८ चैत । अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ ।

पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।

उत्तरी पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट निकै ठूलो क्षति पुगेको छ ।  मुख्यतः भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको हुन पुगेका छ । 
स्वात उपत्यकामा रहेका अस्पतालमा ठूलो संख्यामा घाइतेहरु भर्ना भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

मंगलवार राति पौने ११ बजे पाकिस्तान र ताजकिस्तानको सीमा क्षेत्र नजिक केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गए पछि भौतिक क्षति भएको हो । क्षतिको थप बिवरण अझै आइसकेको छैन । यद्धपी, सो भुकम्पमा परी ५ जनाको मृत्यु भएको जनाइएको छ । 

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीदेखि चीन, ताजकिस्तान, उजवेकिस्तान, किर्गिस्तानलगायतका मुलुकमा महसुश भएको छ ।

अफगानिस्तानको भुकम्प नयाँ दिल्लीमा महशुश

नयाँ दिल्ली, ८ चैत । भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ ।  

भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महशुश गरिएको हो ।  

भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०ः१७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो। 

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समाचारमा जनाइएको छ।

तीन महिनापछि मृत भेटिएका सशस्त्र जवानकाे शव परिवारले बुझे

लमजुङ ८ चैत । मर्स्याङ्दी नदीमा खसेर हराइ रहेका एक जना सशस्त्र प्रहरीका जवान तीन महिनापछि मृत भेटिएका छन् ।     

                                             
 गत पुस १५ गते मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर मर्स्याङ्दीमा खस्दा सशस्त्र प्रहरी जवान ३२ वर्षीय अनन्त महत मर्स्याङ्दीमा खसेका थिए ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेपछि नै महत बेपत्ता थिए । बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार उनी पिसाव फेर्न बाहिर निस्किएर सडक छेउमा गएका थिए । रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोटका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर मनाङको चामे जाँदै थिए ।

सशस्त्र  प्रहरी कार्यालयका प्रमुख मानबहादुर शाहिका अनुसार राइनास नगरपालिका ६, धमिलीकुवा छेउ मर्स्याङ्दी नदीमा एउटा युवकको शव फेला परेपछि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो । उनको शव परिवारले सनाखत गरेको उनले बताए ।

तत्काल स्ववियु निर्वाचन गराउन १७ क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको पत्र

काठमाडौं, ८ चैत । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन नसकेका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्रचार गर्दै निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरेका हुन ।  

‘देशभरिका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको हो ? तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ,’ सदस्य सचिव अधिकारीले लेखेको पत्रमा उल्लेख छ ।

निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका सात र उपत्यका बाहिरका १० आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखलाई निर्देशन दिदैैँ बिबादका कारण खोज्दै सहमति जुटाउन पनि निर्देशन दिएका छन ।  

उपत्यकाका आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, विश्व भाषा क्याम्पस  र आयुर्वेद क्याम्पसमा निर्वाचत हुन सकेको थिएन । उपत्यकाका क्याम्पस मध्ये आर आर क्याम्पसले बिद्यार्थी संगठनलाई वार्ताका लागि बोलाईसकेको छ । 

यसैगरी,  उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, पोखरा नर्सिङ क्याम्पस, चितवन इञ्जिनियरिङ क्याम्पस, कृषि क्याम्पस चितवन,  पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । 

पृथ्वी नारायण क्याम्पसमा अदालतको आदेशका कारण रोकिएको भए पनि अन्य क्याम्पसमा भने सहमति हुन नसक्दा तालाबन्दीसमेत भएका थिए । सो क्याम्पसको बिबाद हल गरी तत्काल निर्वाचन गराउन बिश्वविद्यालयले निर्देशन दिएको हो । 

त्रिविका उपत्यकाका २२ मध्ये १५ वटा आंगिक र उपत्यकाबाहिर ४० मध्ये ३० क्याम्पसमा भने गत चैत ५ गते नै निर्वाचन सम्पन्न भई नेतृत्व चयन भईसकेको छ ।

सुदरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन हुदैँ, ४ क्याम्पसमा अझै टुंगाे छैन

धनगढी, ८ चैत । सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदै छ ।

विश्विद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान हुन लागेको हो ।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भएपनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेकाे थिएन । तर, केन्द्रीय क्याम्पसले अागामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन । बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि बिद्यार्थी संगठन र क्याम्पस प्रशासन अझै छलफलमा छन् । 

राजेन्द्र लिङदेन भन्छनः हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

काठमाडौं, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले सो सुझाव दिएका हुन । 

‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङदेनले टविट गर्दैै भनेका छन, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईं स्वयमलाई थाहा छ।’

आज भैरहवा क्याम्पसमा चुनाव: अनेरास्ववियु एक्लै, अन्य संगठन गठबन्धन बनाएर भिडदै

भैरहवा, ८ ।  बुधवार हुन गईरहेको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनाबी प्रतिसपर्धा गर्दैछन् ।

पुर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गईरहेको छ । 

स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थि संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन(अनेरास्ववियु)ले सिंगल प्यानल सहित चुनाबी प्रतिसपर्धामा होमिएको छ ।

चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानल सहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ ।

सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भन्डारीले आफ्नो उम्मेदवारी निस्क्रीय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनाबी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् । 

यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थि संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थि संगठन र नेकपा माओवादी पाटि निकटको विद्यार्थि संगठन अखिल –क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिसपर्धा गर्दैछन । 

अर्का उम्मेदवार अनुप द्वीवेदीलाई जनमत पाटि निकटको विद्यार्थि जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थि युनियन र स्वतन्त्र मधेशी युनियनले समर्थन गरेको छ  भने देवानलाई लोसपा निकटको लोकतान्त्रीक विद्यार्थि संघ र नेपाली कांग्रेस निकटको नेविसंघले समर्थन गरेको छ । 

यसैगरी अध्यक्षमा नेकपा एस निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनका अजय भन्डारी , नेकपा माओवादी विप्लप निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजले पनि अध्यक्षमा प्रतिसपर्धा गदै छन् । 

बिहान ८ बजेदेखि शुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थिलाई निर्वाचनमा सहभागी गराईने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए । 

विक्रम सम्वत २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपुर्ण र पुरानो क्याम्पसको रुपमा परिचित रहेको छ। 

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिदैँ

हेटौडा, ८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । 

सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन । 

मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत लिने भएपछि चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाईएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितकाे उनले भारी मतसहित विश्वासको मत पाएका थिए । उनको बिपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

आज लिने विश्वासको मतमा राप्रपाले नदिने जनाए पनि सत्ता साझेदार नेकपा एमाले भने अझै अनिर्णित अवस्थामा रहेको छ । केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको गठबन्धन भत्किए पछिको परिस्थीतिले एमालेलाई माओवादी केन्द्रका मुख्यमन्त्री जम्मरकट्टेललाई मत दिने कि नदिने भन्ने अन्यौल बढाएको हो । 

गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । 

प्रदेश सरकारले दोस्रो पटक विश्वासको मत लिन लागेको यो पहिलो पटक हो । 

भारुको विनिमय दरमा विचलन

विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपियाँ भारु लिँदा ६ रुपियाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपियाँमा ५ रुपियाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपियाँ बराबर भारतीय एक सय हुन्छ ।

सीमा क्षेत्रका नेपाली बजारमा भारु बढी भित्रिएपछि अभाव समाप्त हुनुका साथै भारतीय नोटको माग पनि घटेकाले कम मूल्यमै भारुको लेनदेन हुन थालेको स्थानीय व्यवसायी सीताराम गुप्ताले बताए । उनले विगतमा स्थानीयले १६३ देखि १६८ रुपियाँसम्म तिरेर सय रुपियाँ लिने गरेकोमा हाल १५५ रुपियाँमै सय रुपियाँ भारु पाउन थालेको बताए ।

तस्करी र हुन्डीबाट मागभन्दा बढी भारु नेपाल भित्रिँदा केही महिनायता सीमावर्ती बजारमा भारु कमजोर भएको स्थानीय व्यवसायीको आकलन छ । सुन तस्करी र नेपालगञ्जका क्यासिनोका कारण पनि बजारमा भारु नोट आपूर्ति बढेको हुन सक्ने अर्का व्यवसायी जावेद राईले बताए ।

“अहिले नेपाली रुपियाँ बलियो हुनुमा बजारको मागभन्दा बढी अवैध रूपमा भारु भित्रिनु मुख्य कारण हो,” राईले भने । केही महिनाअघिसम्म नेपाल राष्ट्र बैङ्कको नेपालगञ्जस्थित शाखा कार्यालय र त्यहाँका मुद्रा सटही काउन्टरमा भारतीय मुद्रा किन्नेको भीड लाग्थ्यो ।

माग धेरै हुँदा त्यति बेला भारतीय मुद्राको अभाव हुन्थ्यो र बढी कमिसन दिएर मात्र बजारमा सटही गर्न पाइन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । अहिले भारु बजारमा धेरै भित्रिएपछि भारु लिनेहरू नभेटिँदा बिक्री भाउ घटेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्याउने तयारी

काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पु¥याउने गृहकार्य थालेको छ । गठबन्धनका एक नेताका अनुसार विश्वासको मत दिएका सबै दललाई सरकारमा ल्याउन तीन मन्त्रालय थप्न लागिएको हो ।

संविधानअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन नपाइने भएकाले संविधानभित्र रहेर मन्त्रालय थप्ने तयारी भइरहेको जिकिर गर्दै ती नेताले नेपाल समाचारपत्रसँग भने– ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय विभाजन हुने सम्भावना रहेको छ ।’

भागबन्डा मिलाउनकै लागि थपिने यी तीन मन्त्रालयले देशलाई भने वार्षिक १५ करोड रुपियाँ व्ययभार थपिने छ । मन्त्रालय विभाजन र वितरणका सन्दर्भमा घनीभूत छलफलको चरणमा नपुगे पनि प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरूसँग छलफल शुरू गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताए ।

‘संयुक्त सरकार भएकाले आपसी सहमति खोजेर सरकारलाई पूर्णता दिने कुरामा शीर्ष नेताहरूबीच सहमति हुन्छ’, उनले नेपाल भने –‘मन्त्रालय कसले कुन लिने र कतिवटा लिनेदिने भन्ने कुरा सहमतिबाटै हुन्छ । मागदाबी सबैको ठूलै छ । यद्यपि, हामी भागबण्डामै अल्मलिएर सहमतिको बाधक बन्नुहुन्न । माओवादी त्यो बाधक बन्दैन ।’

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच छलफलमा सांसदको सिट संख्याको आधारमा कांग्रेसलाई ८, माओवादीलाई ४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई २–२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीलाई १–१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने गरी खाका तयार हुँदैछ । तर, नेपाली कांग्रेसले १० र नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्रालयलाई आफ्नो बटम लाइन बनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत गठबन्धनमा सहभागी गराएर मन्त्रालय दिनुपरेको खण्डमा कांग्रेसले ८ र एकीकृत समाजवादीले २ मन्त्रालयमा चित्त बुझाएर विभाग तथा संसदीय समितिहरूमा जिम्मेवारी लेनदेन गर्न सकिने विषयमा पनि छलफल भइरहेको बताइएको छ । त्यसै गरी जनमतले उपप्रधानमन्त्रीसहित २ र जसपाले उपप्रधानमन्त्रसहित ३, लोसपाले पनि २ मन्त्रालयको अपेक्षा गरेका छन् । त्यसमा सहमति नभए भागबन्डा मिलाउन ३ मन्त्रालय थपिनेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमाम छ ।

गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धनका बीचमा मन्त्रालय भागबन्डाको कसरत सुरु भएको छ । गठबन्धन आबद्ध दलहरूले हैसियतभन्दा बढी मन्त्रालय दाबी गर्न थालेपछि प्रधानमन्त्री दबाबमा पर्न थालेका छन् ।

संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित २५ सदस्यीय हुने व्यवस्था छ । हाल सरकारमा प्रधानमन्त्री, १ उपप्रधानसहित ५ फुल मन्त्री र एक राज्यमन्त्रीसहित सात जना छन् । अब संविधानअनुसार प्रधानमन्त्रीले १८ जना मन्त्री सरकारमा थप राख्न पाउँछन् ।

हालको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा, आमजनता पार्टी, नेपाल समाजवादी पार्टी छन् । प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुने सम्भावना प्रवल छ ।

हाल गठबन्धन आबद्ध दलहरूका बीचमा मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर आन्तरिक छलफलसमेत सुरु भइसकेको छ । प्रधानमन्त्री प्रचण्ड सांसदको संख्याका आधारमा मन्त्री बाँडफाँट गर्नेगरी मापदण्ड बनाउन तयार छन् । स्रोतका अनुसार वर्तमान गठबन्धनको मुख्य तथा निर्णायक दल नेपाली कांग्रेसले नौ मन्त्रालयमा दाबी राखेको छ । कांग्रेसले गृह मन्त्रालयमा मुख्य जोडबल गरिरहेको छ । तर, प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसलाई अर्थ मन्त्रालयसहित सात मन्त्रालय दिने सोचमा छन् ।

यसैगरी, माओवादी केन्द्रले हाल लिइरहेको मन्त्रालयमा केही हेरफेर गर्नेगरी अध्यक्षसमेत रहेका प्रचण्डले तयारी गरिरहेका छन् । माओवादी केन्द्रले हाल लिएको भौतिक मन्त्रालय छाडेर गृहमा आँखा लगाएको छ भने आफैंसँग रहेको सञ्ंचार छाड्ने मनस्थिति प्रधानमन्त्रीको छैन । गृह मन्त्रालय लिएर हालकै संख्यामा माओवादीलाई मनाउन प्रचण्ड तयार छन् ।

यसैगरी, जनता समाजवादी पार्टीले चार मन्त्रालयमा दाबी गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले कुरा मिले मात्रै सरकारमा जाने बताए । नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय पाउनुपर्ने बताइरहेको छ । नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालय आफ्नो दलले पाउनुपर्ने दाबी गरिरहेको छ । यसैगरी, नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाउनुपर्ने बताइरहेको छ भने जनमत पार्टीले पनि दुई मन्त्रालयको दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री प्रचण्ड यी दुवै दललाई एक–एक मन्त्रालय मात्र दिन तयार छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादीको दाबी पनि दुई मन्त्रालयमा छ । प्रधानमन्त्री प्रचण्ड सो दललाई पनि एउटा मन्त्रालय दिन तयार छन् । प्रभु शाह अध्यक्ष रहेको आमजनता पार्टीका तर्फबाट शाह आफैं मन्त्री बन्नुपर्ने भन्दै लबिइङमा छन् । यस्तै, बाबुराम भट्टराई नेतृत्वको दल समाजवादी पार्टीले पनि एउटा मन्त्रालयको माग गरिरहेको छ । यसैगरी, रास्वपा पनि सरकारमा जाने सम्भावना छ । सो दलले उपप्रधानसहित चार मन्त्रालयमा दाबी गरिरहेको स्रोत बताउँछ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

स्टार्ट अप विनाधितो कर्जा पाउने बाटो खुला

स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले स्टार्ट अप कार्यविधि स्वीकृत गरेपछि उद्यमशीलता प्रवर्द्धन र प्रतिभा पलायन रोक्न सहयोगी हुने ठानिएको कार्यक्रम पहिलोपटक कार्यान्वयनमा आउन लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १४ प्रकारका उद्यमलाई विनाधितो सहुलियत ब्याजमा ऋण सुविधा उपलब्ध गराउने गरी स्टार्ट अप कर्जा कार्यविधि तयार गरी स्वीकृतसमेत गरेको हो । कार्यविधिअनुसार स्टार्ट अप अन्तर्गतको सहुलियत कर्जा पाउन तोकिएका उद्यम सञ्चालन भएको ७ वर्ष ननाघेका हुनुपर्नेछ ।

५० लाख रुपैयाँभन्दा बढी चुक्ता पूँजी नभएको, व्यवसायको कुल आय वार्षिक ५० लाखभन्दा बढी नभएको, स्थिर पूँजी २ करोडभन्दा माथि नभएको, उद्यममा पूर्णकालीन कर्मचारी १० जनाभन्दा धेरै नभएको लगायत सरकारले तोकेको ७ ओटा मापदण्डमध्ये कम्तीमा पाँचओटा मापदण्ड पूरा गरेपछि सहुलियत कर्जा पाइने कार्यविधिमा उल्लेख छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

फ्रान्सको राष्ट्रिय टिमको कप्तानमा एमबाप्पे

काठमाडौं, ८ चैत । किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् ।

यसअघिका कप्तानगोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोपियन फुटवलमा नयाँ चमात्कार देखाउने विश्वास गरिएको छ । 

हाल एम्बाप्पे पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबबाट व्यवसायिक फुटबल खेल्छन्, जहाँ लियोनेल मेस्सीसहितका विश्व चर्चित खेलाडीहरु आबद्ध रहेका छन । 
 

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने कानुन ल्याउँदै

काठमाडौं । अदालतको आदेशबिनै सरकारले अब कानुन बनाएरै व्यक्तिको फोन रेकर्ड गर्नसक्ने व्यवस्था ल्याउन लागेको छ । दुई वर्षअघि मात्रै सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रता हक जोखिममा परेको भन्दै तीव्र आलोचना भएपछि सो विधेयक त्यतिकै थाती रहेको थियो । तर, अहिले सरकारले पुनः दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत् व्यक्तिको फोन रेकर्ड गर्न सक्नेगरी कानुन ल्याउन लागेको हो ।

हाल कुनै व्यक्तिको ‘लोकेसन’ ट्र्याक अदालतको आदेश लिएपछि मात्रै गर्नुपर्ने व्यवस्था छ । तर, सरकारले ल्याएको विधेयक मस्यौदामा भने ‘जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्नेलगायतका पहिचान खुल्ने तथा सेवासम्बन्धी अन्य विवरण अनुसन्धानका लागि सेवाप्रदायकबाट प्राप्त गर्नसक्ने’ भन्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधेयकको दफा ७७ मा सेवाप्रदायकको प्रणालीमा सिधै पहुँचसम्बन्धी व्यवस्थाको उपदफा १ मा ‘नेपालको सार्वभौमसत्ता, अखण्डता एवं राष्ट्रिय हितविपरीत तथा राज्यद्रोह, अपराध वा संगठित अपराध वा फौजदारी अपराधलगायतका क्रियाकलाप गरेको विषयमा नेपाल सरकारको अधिकारप्राप्त अनुसन्धान गर्ने अधिकारीले जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्नसक्नेलगायत पहिचान खुल्ने सेवासम्बन्धी विवरण अनुसन्धान गर्न पाउने भनिएको छ ।’ यसका लागि अदालतको आदेशसमेत जरुरी नहुनेगरी मस्यौदा तयार पारिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल, पहिलो खेल नेपाल र लाओसबिच हुने

काठमाडौं, ८ चैत । आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुदैँछ । 

दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । उक्त खेल साँझ ५ बजेवाट सुरु हुनेछ ।

नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए। आज हुने खेलमा नेपाली राष्ट्रिय टिममा सात नयाँ खेलाडी थपिएका छन्। 

नेपाली टोलीका मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेलेले नेपाली खेलाडीमा धेरै क्वालिटीका भएकाले बिजय हासिल गर्न कठिनाई नभएको बताए । आफूले छोटो समयमा खेलाडी छनोट गर्न गाह्रो भएको उनको भनाई छ । एन्फाले गत साता मात्र इटालीका अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।
 

उता, टोलीका कप्तान किरण चेम्जोङ छोटो तयारीमा प्रतियोगिता खेल्नु परेकाले चुनौती रहेको बताए । उनका अनुसार प्रशिक्षक पनि यसैसाता आएको र टिम पनि नयाँ नयाँ खेलाडी मिलाउनु परेकाले उनीहरुका साथ मैदानमा उत्रन पर्दा चुनौती महशुश गरेको चेम्जोङको भनाई छ ।

हिजो मात्र नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा गरिएको थियो । इटालियन प्रशिक्षक अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटदै २३ सदस्सीय टिम घोषणा गरेका हुन । 

नेपाली राष्ट्रिय फुटबल टोली:

गोलकिपरः अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ
 

रक्षकः पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ
 

मिडफिल्डरः सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा 
 

स्ट्राइकरः दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी

उप निर्वाचनका लागि आजवाट दल दर्ताको प्रक्रिया सुरु

काठमाडौं, ८ चैत । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजवाट सुरू गर्दैछ ।

बैशाख १० गते हुन गईरहेको उपनिवा उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरे अनुसार आजवाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा–२ रिक्त हुन पुगेको थियो । 

यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ । सोही रिक्त स्थानमा पदपुर्तिका लागि निर्वाचन आयोगले बैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो । 
 

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, ८ चैत । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक वालकुमारीस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।  

मुख्यतः बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन । 

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज देखी राजनीतिक दल दर्ताका लागि आब्हान गरेको छ । सो बारेमा पनि छलफल हुने बताईएको छ । 
 

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं, ८ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।  

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी रअसिना सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी स्ववियुको मतदान

अत्तरिया, ७ चैत – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार हुने स्ववियु निर्वाचनको तयारी भएको निर्वाचन समितीले जनाएको छ । निर्वाचनको लागी तीन वटा मतदान स्थल बनाइएको छ ।

मत पत्र छापाईदेखी अन्य सुरक्षाको तयारी समेत पुरा भएको समितिले जनाएको छ । मुख्य तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । बिहान ८ बजेदेखी ४ बजेसम्म मतदान गर्न सकिने छ ।

क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन् । निर्वाचनमा सभापतिको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन् । 

नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्वबियु एकल प्यानलसहित चुनाबमा जाने भएको छ । यस्तै २ जनाले स्वतन्त्र टिमसहित उम्मेदवारी दिएका छन् ।

जिब्रोले आखाँ पनि छुन्छन् प्रवीण

एजेन्सी – इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ इडनवर्गअनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ । यस हिसाबले उनको जिब्रो औषतभन्दा साढे दुई सेन्टिमिटर लामो हो ।

आफ्ना साथी र परिवारलाई देखाउन थालेपछि प्रवीणलाई आफ्नो जिब्रो साथीहरुकोभन्दा ठूलो लागेको थियो । त्यसपछि उनले जिब्रोबाट नाकको टुप्पोलगायत शरीरका अन्य अंग छुन थाले । झन्डै उनले आखाँ छुन्छन् ।

रकम अभावमा उनले आफ्नो जिब्रो आधिकारिक रूपमा गिनिज रेकर्डबाट मापन गर्न सकेनन् । तर, देशकै सबैभन्दा लामो जिब्रो भएको भन्दै उनले आफ्नो नाम भारतको लिम्का बुक अफ रेकर्डमा भने दर्ता गराउन सफल भएका छन् ।

केही वर्षअघि प्रवीणले एक मिनेटमा २१९ पटक जिब्रोले नाक छोएपछि एसिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।

गिनिज रेकर्डअनुसार हाल क्यालिफोर्नियाको सालिनासका निक स्टोबर संसारकै सबैभन्दा ठूलो जिब्रो भएका व्यक्ति हुन् । उनको जिब्रोको लम्बाई १० दशमलब १ सेन्टिमिटर छ । योे प्रविणको भन्दा ० दशमलब ८ सेन्टिमिटर छोटो हो ।

आमिरसँग सहकार्य चाहन्छिन् मिसेल

मुम्बई, ५ चैत । आफ्नो अभिनयले विश्वभरका दर्शकमाझ प्रभाव पार्न सफल कुनै अभिनेता या अभिनेत्री अर्को देशको कलाकारको फ्यान भए पनि त्यो भन्दा रोचक के हुन सक्ला ? सन् २०२३ को ओस्कार अवार्डमा ‘वेस्ट एक्ट्रेस’ अवार्ड विजेता अभिनेत्री मिशेल योह बलिउड अभिनेता आमिर खानको ठूलो फ्यान हुन् । उनले एक अन्तरवार्तामा बोलेको यो कुराको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’बाट ओस्कार जितेकी मिसेल आमिरसँग फिल्ममा काम पनि गर्न चाहन्छिन् । ‘मैले आमिर खानसँग काम गरेको छैन, तर हामी दुवै एनजिओको ब्राण्ड एम्बासेडर हौं । जसलाई लिभ टु लभ भनिन्छ । यो पर्यावारण बचाउनका लागि बनाइएको हो । म आमिरको कामको प्रशंसक हुँ । उनी एक अविश्वसनीय अभिनेता मात्र होइनन, एक खुला हृदयका मानिस पनि हुन् । आशा छ उनीसँग चाँडै सहकार्य हुनेछ’, मिसेलले भनेकी छन् ।

मिसेलले यसपटक ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिलाको इतिहास रचेकी छन् । उनले आमिरको फिल्म ‘३ इडियट्स’ मात्र हेरेकी छन् ।

राप्ती बबई क्याम्पसको निर्वाचन स्थगित

दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ। अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको हो। 

आइतबार निर्धारित मितिअनुसार मतदान भइरहेकोमा एउटै व्यक्तिसँग धेरै परिचयपत्र भेटिएपछि अनेरास्ववियुले विरोध जनाएको थियो। त्यसपछिसो करिब २ बजेदेखि मतदान कार्य अवरुद्ध भएको थियो ।

निर्देशिकाअनुसार स्थगित भएको क्याम्पसमा ५ चैतबाट ३० दिनभित्र निर्वाचन गराउनुपर्ने हुन्छ । सोही अनुसार अर्को मिति तय हुन सक्ने अनुमान गरिएको छ । 

कस्तो रहला आज रातिको मौसम?

काठमाडौं, ७ चैत – मंगलबार राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राति बागमती, मधेश र कोशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावा-हुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

जैविक विविधताबाट समृद्ध मुलुक बनाउन सकिन्छ – विज्ञ

काठमाडौं, ७ चैत – नेपालको जैविक विविधताकाबारेमा अध्ययन अनुसन्धान हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल इन्जिनियरिङ कलेज   (नेक) प्राकृतिक श्रोत व्यवस्थापन संकायको आयोजनामा राजधानीमा सुरु भएको फिल्ड कोर्स अन कन्जरभेसन वायोलोजी एण्ड ग्लोबल हेल्थ विषयको पाँंचदिने तालिमको उदघाटन समारोहमा यस विषयमा जोड दिइएको हो । 

कार्यक्रममा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशक डा महेश्वर ढकालले नेपालका प्राकृतिक श्रोतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान गर्न विश्वलाई नै आह्वान गर्न सकिने बताए । नेपालका प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको अध्ययन अनुसन्धानबाटै मुलुकको आर्थिक श्रोत मजबुत बनाउन सकिने सम्भाबना पनि उनले औंल्याए ।

मुलकुको प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको महत्वबारे लामो चर्चा गर्दै उनले प्राकृतिक श्रोतसाधन तथा जैविक विविधमा हामी अनुशाशित हुनुपर्ने बताए । ‘यहाँं अनुशाशितको अर्थ हामी प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको संरक्षण र सम्वद्र्धनमा इमान्दारितापूर्वक लाग्नु हो’, उनले भने । 

कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा युनिभर्सिटी अफ बासिंगटनबाट आएका मुख्य प्रशिक्षक प्राडा राइन्डल काइजले तालिममा प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानको प्रयोगात्मक विधिबारे चर्चा गरे । साथै उनले यस अवसरमा प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि जानकारी दिने बताए । साथै उनले तालिममा प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अनुसन्धानका सैद्धान्तिक कुराकानी पनि जानकारी गराइने बताए ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक लक्ष्मण खनालले छोटा अवधिको तालिमले अनुसन्धानका विविध विषयहरुबारे जानकारी प्राप्त गर्न नसकिने भन्दै यस्ता तालिमको निरन्तरताको आवश्यकताबारे चर्चा गरे । 

आयोजक नेकका भाइस प्रिन्सिपल दुर्गा भण्डारीले प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानबाटै मलुकको आर्थिक, शैक्षिक वैज्ञानिक उन्नति गर्न सकिने सम्भाबनाबारे चर्चा गरे । यही कारण कलेजले आफना मात्रै नभई विभिन्न कलेजका विद्यार्थीहरुलाई सहभागी गराई यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । 

नेकको प्राकृतिक श्रोत व्यवस्थापन संकाय प्रमुख डा नारायण कोजूले प्राकृतिक श्रोत साधनमा विश्वले गरेको अनुभबको आदानप्रदान गरी कार्यक्रम चल्ने जनाए । 

तालिममा पाँंचवटा विश्वविद्यालयका १० वटा शिक्षण सस्थाहरुबाट ४२ विद्यार्थी सहभागी भएको जनाइयो । तालिममा स्नातक उतीर्ण १७ जना र  स्नातकोतर अध्ययनरत २५ विद्यार्थी सहभागी भएको जनाइयो ।  

तालिमको क्रममा त्रिवि, काठमाडौं विश्वविद्यालय, त्रिवि अन्तरगतका आंगिक क्याम्पस तथा आयोजक नेककै गरी ६ जना विभिन्न विषयका अनुसन्धानकर्मीहरुले अनुसन्धान विधि, प्रयोगबारे जानकारी गराइने बताइयो । 
 

स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे

काठमाडौं, ७ चैत – स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे निर्वाचित भएका छन् । शाखाको मंगलबार राजधानीमा भएको छैटौं साधारणसभा तथा पाँंचौ अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँं कार्यसमिति चुनिएको हो । 

शाखाको उपाध्यक्षमा सावित्री वस्नेत, सचिवमा कृष्णराज तिमिल्सिना, सहसचिवमा अनिल पाण्डे र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान चुनिएका छन् । निर्वाचित पदाधिकारीलाई केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले अविर तथा फुलमाला प्रदान गरी बधाई दिएका थिए । यसअघि अधिवेशनको उदघाटन केन्द्रिय अध्यक्ष बास्तोलाले गरेका थिए ।  
 

दाङबाट जनावरको सुकुटीसहित एक जना पक्राउ

दाङ, ७ चैत-दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित आज मङ्गलवार एक जना पक्राउ परेका छन् ।

राजपुर गाउँपालिका–७ का ४९ वर्षीय कमानसिंह विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका विकलाई जङ्गली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारी निलम्बनमा

काठमाडौं, ७ चैत-नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।

ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म निलम्बन गरेको हो ।

सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ केजी बढी सामान बाकेको थियो । उक्त सूचना पाएपछि चालक दलका तीनजना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुको रूपमा यात्रा गराएको पनि पाइएको निरौलाले बताइएको छ ।
 

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं, ७ चैत-पेरिस डाडामा आयोजित नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय स्कूल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले अर्थशास्त्र लगायत विषयमा आफ्ना नेताहरूलाई प्रशिक्षण तालिम आयोजना गरेको हो।

७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिन थालिएको हो। मंगलबार माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमको उद्घाटन गरेका छन्। 

७ देखि ११ सम्म चल्ने तालिममा भोलिदेखि दर्शन अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम दिन लागिएको माओवादीले जनाएको छ। माओवादीले माघ २६ गतेदेखि चैतभर २ महिने संगठनात्मक सुदृढीकरण अभियान चलाइरहेको छ।

महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय

महोत्तरी, ७ चैत-महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ।

जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा भएको हो।

जलेश्वर-२ स्थित रामप्रसाद चौधरीको घरमा अवैध सामान स्टोर गर्ने गरेको सूचनापछि प्रहरीको निगरानीमा रहेका सूर्यनारायण साहको उक्त सामान सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सामान ओसारपसारमा सग्लन तीन जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सितामाढी बिहार घर भएका प्रभात कुमार, विभु कुमार र साजन कुमार महतो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी सरोज राइले जानकारी दिए।

उनीहरूलाई थप अनुसन्धानको लागी जिल्ला भन्सार कार्यालय मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आजै भन्सार छली गरेर ल्याएको ७६० केजी खैनी पनि बरामद गरेको छ।

कति छ आज हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौ, ७ चैत-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २४ रुपैया, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना २०० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

ब्रोबाउली ८० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी १२० रुपैया केजी, रुख टमाटर १५० रुपैयाँ, रुख कटहर ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

मोडल गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, ७ चैत – चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

सुमन परियार र सुनिता हमाल ठकुरीको स्वरमा रहेको गीतमा रमेश विजीको शब्द रहेको छ। गीतमा सुमन परियारले नै संगित भरेका छन्।

शिवजी क्षत्री निर्देशित गीतको म्युजिक भिडियोमा भट्टलाई पछिल्लो समयकी चर्चीत मोडल अस्तिता रनपालले साथ दिएकी छन्।  

शिवजी डान्स सेन्टरका निर्देशकसमेत रहेका क्षत्रीले गीतको कथावस्तु नविन रहेको र यसमा आफूहरूले ठूलो मिहिनेत गरेको बताए। ‘हामी सांगीतिक क्षेत्रमा केही फरक र नविन गर्न चाहन्छौं। हामीले यसअघि पनि थुप्रै गीत निर्देशन गरिसकेका छौं। हाम्रा प्रस्तुतिहरूलाई दर्शकले औधि रुचाउँदै आउनु भएको छ। विगतमा झैँ यस गीतलाई पनि यहाँहरूले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने।

यस्तै मोडल भट्टले यो आफ्नो अभिनय जीवनको नविन र विशिष्ट प्रयास भएको बताए। ‘मैले गीतका लागि अभिनयमा निकै मिहिनेत गरेको छु। यसअघि उत्कृष्ठ अभिनय गरेवापत राष्ट्रकै एतिहासिक रारा म्युजिक अवार्डबाट राष्ट्रपतिको हातबाट सम्मानित हुने अवसर पाएको छु,’ उनले भने।

युट्युव लिंक

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला

काठमाडौं, ७ चैत त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन्।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन्।

नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजित तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरि वडैलालाई जिम्मेवारी दिइएको उनले बताए।

उता वडैलाले संगठनले दिएको जिम्मेवारी आफूले पुरा गर्ने बताएका छन्। ‘मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएको छ। म सधैँ त्रिविमा संगठन निर्माणमा क्रियाशील थिए। यो जिम्मेवारीले मलाई संगठनलाई थप गतिशील बनाउन प्रेरेरित गरेको छ’, उनले भने।

आज नेप्से आज बन्द रहने

काठमाडौं, ७ चैत – घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। 

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।