`

लमजुङको मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी

लमजुङ ५ चैत -लमजुङको सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ ।

आइतबार साँझ सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा नेविसंघका विशाल थापा ७१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत ल्याए ।

सचिवमा नेविसंघका अभिषेक पौडेल ६९ मत ल्याएर विजयी भए । अनेरास्ववियुका रोशन परियार ४९ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा नेविसंघका ज्योति सार्की ६७ मत ल्याएर निर्वाचित भएका छन् । अनेरास्ववियुका सगुन अधिकारीले भने ४९ मत ल्याए ।
कूल १ सय १९ मत खसेकोमा नेविसंघबाट सदस्यमा किरण श्रेष्ठ, तीर्थराज थापा, मनिषा थापा विजयी भएका छन् ।

 समानुपातिकतर्फ सदस्यहरुमा हसना मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनिष पौडेल र विज्ञान कोइराला निर्वाचित भएका छन् ।

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ, ५ चैत-दाङमा आइतबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानको नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेका दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । दुर्घटनामा उनकी श्रीमती सन्ध्या र दुई वर्षीया छोरी राष्ट्रियता गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा राजनको केहीबेरअघि ज्यान गएको प्रहरीले जनाएको छ ।

घोराहीदेखि लमही जाँदै गरेको प्रदेश ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

डोटीको केदार ज्योतीपुञ्ज क्याम्पसमा नेविसंघको प्यानल विजयी

डोटी, ५ चैत-डोटीमा रहेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस विपिनगरमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

आइतबार सम्मपन्न स्ववियुको निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानल विजयी भएको हो । 

स्ववियु अध्यक्षमा नेविसंघका निर्मल बम ४८ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारीका सुरेन्द्र साउदले ४१ मत प्राप्त गरेका छन् । 

त्यस्तै सचिवमा नेविसंघका सरोज साउद ४७ मत सहित विजयी भए भने उनका प्रतिद्वन्दी अनेरास्ववियुका एकम भाटले ३९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा पनि नेविसंघकै यसोदा कलेल ४६ मत सहित विजयी भएन भने उनका प्रतिद्वन्दी मञ्जिय ताडीले ३९ मत प्राप्त गरिन् । त्यस्तै सदस्यहरुमा नेविसंघकी रमिता बोहरा, अस्मिता बोगटी र हिरा पुन मगर सहित निर्वाचित भएकी छन् ।
 

बैतडीको नवप्रभात संयुक्त क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानल विजयी

बैतडी, ५ चैत-बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुको टीम विजयी भएको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी भएकी छन् । उनले अखिल क्रान्तिकारीकी कविता चन्दलाई ११ मतले पराजित गर्दै विजयी भएकि हुन् ।

घटालले ७१ मत ल्याइन् भने चन्दले ६० मत ल्याइन्। सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए । अनेरास्ववियु एक्लै चुनाव लडेको थियो । 

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

काठमाडौं, ५ चैत त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् । 

९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् । विष्टले ७३१ मत ल्याएका थिए । 

दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसका उम्मेदवार विजयी

दाङ, ५ चैत दाङमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थी नेता विजयी भएका छन् ।

गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापतिमा निर्वाचित भएका हुन् । यादवले ६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत ल्याए ।

सभापति पदमै अखिल क्रान्तिकारी वैद्यनिकटका विशाल यादवले चार मत प्राप्त गरेका छन् । कुल १७९ मतदाता रहेको क्याम्पसमा जम्मा ११३ मत खसेको थियो ।

स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र वैद्यनिकट अखिल क्रान्तिकारीले एक्ला–एक्लै मनोनयन दर्ता गराएका थिए भने अखिल क्रान्तिकारीले गठबन्धन गरेको थियो ।

सचिवमा एकीकृत समाववादी निकट अनेरास्ववियुकी पुष्पा खड्का ७० मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

अखिल छैठौंकी पुष्पा धितालले ३८ मत पाइन् । कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघ विजयी

काठमाडौं, ५ चैत – काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भएका हुन् ।

उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका छन् ।

तनहुँको सहिदकृष्ण क्याम्पसमा नेविसंघको प्यानल विजयी

तनहुँ, ५ चैत – जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ स्थित सहिदकृष्ण क्याम्पसमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ । 

निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो । सभापतिमा विष्णुबहादुर अधिकारीले २७ मत र प्रतिस्पर्धी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गरे । सचिवमा नेविसंघकै शालिग्राम पोख्रेलले २७ मत र उनका प्रतिस्पर्धी अनेरास्ववियुका ओमबहादुर महतले १० मत प्राप्त गरे ।

सदस्यहरूमा विना विक ३०, थमनबहादुर भुजेल ३०, दिपिका काफ्ले ३१ र प्रमिला पौडेल ३१ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा भने अखिल (क्रान्तिकारी)की सुष्मा माकिम यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

धनगढी, ५ चैत-धनगढीमा चैत्र दोस्रो साता हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने छ ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने जानकारी दिएका छन् ।

समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ । अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ ।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुनेछन् ।

सम्मेलन आयोजनाका लागि मुल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमितिहरू गठन भएका छन् । सम्मेलनको तयारी तीब्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताए । सम्मेलनमा सञ्चालन गरिने अन्तरसंवाद सत्रहरूको टुङ्गो लगाउने काम भइरहेको बताए ।

यस्तै कार्यक्रम मूल आयोजक समितिका संयोजक बरिष्ठ लोक गायक यज्ञराज उपाध्ययले धनगढीलाई बौद्धिक बहसको नगरिका रूपमा स्थापित गर्न यो कार्यक्रमको आयोजना गरिने बताए । ‘यसले उहाँको भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न सहयोग पुर्‍याउने हाम्रो विश्वास छ । हामीले हाम्रा अतिथिहरूलाई यहाँका विशेष पहिचान बोकेका झाकि र कला, संस्कृति देखाउने छौं । यसले हाम्रो संस्कृतिलाई विश्वभर छरिएर रहेका नेपाली भाषि साहित्यकारहरूले बुझ्ने अवसर पाउनु हुनेछ,’ उनले भने ।

उनले प्यानल डिस्कर्षनमा कला, संस्कृति, राजनीतिक परिवेसलगायत थुप्रै विषयमा प्यानल डिस्कसन पनि हुने बताएका छन् ।

सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

बैंक, लघुवित्त र सहकारीको बृहत समीक्षा बैठक गर्छौं : प्रधानमन्त्री

काठमाडौं, ५ चैत्र-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ ।’

बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक रहेको बताउँदै उनले त्यसपछिमात्र व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सकिने धारणा राखे ।’केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु । बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं,’ उनले भने ।

बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि डोटी बहुमुखी क्याम्पसको निर्वाचन बीचैमा रोकियो

डोटी, ५ चैत-डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान स्थगित भएको हो ।

मत पेटिकालगायत अन्य सामग्री तोडफोड भएकाले मतदान गर्न गराउन सम्भव नभएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले बताए ।

मतदाताको परिचयपत्रसमबन्धी सामान्य विवाद भइरहेकै समयमा केही व्यक्तिभित्र प्रवेश गरी मतपेटिका तोडफोडको कँडेलले जानकारी दिए । करिब ७५ प्रतिसत मतदान सम्पन्न भइसकेको अवस्थामा विवाद भएको निर्वाचन समितिले जनाएको छ ।डोटी बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या ८०९ रहेको छ ।

सुनको भाउकाे नयाँ रेकर्ड

काठमाडौं, ५ चैत । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे मूल्य पछिल्लो रेकर्डभन्दा २ हजार ५०० रुपैयाँ बढी हो।
 
यसअघि गत १९ माघमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

आइतबार र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो। शुक्रबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

धान खरिदमा लक्ष्य प्राप्त भएन

जनकपुरधाम, ५ चैत । प्राथमिक खरिद समितिको निर्णय झन्झटिलो भएकोले यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड प्रादेशिक कार्यालय जनकपुरले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन । 

नेपाल सरकारले सो कार्यालयलाई यसवर्ष १५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा हालसम्म ३० लाख १६ हजार १७४ मुल्य बराबरको ९६४ दशमलव २५ क्वीन्टल धान मात्र खरिद गरेको छ । 

संघीय सरकारले यसवर्ष सो कार्यालयलाई किसानहरुसँग सोना मन्सुली धान प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँमा खरिद गर्न निर्देशन दिएको छ । 

कृषि ज्ञान केन्द्र धनुषाको प्रमुख शंकर साहको संयोजकत्वमा गठित समितिले धान खरिद गर्दा किसानहरुले जग्गा धनिको लालपुर्जा र बैंकमा खाता खोलेको हुनुपर्ने नियम अनिवार्य लागु गरेपछि किसानहरुले झन्झटिलो प्रक्रियाको कारण खाद्य व्यवस्थालाई धान नबेची निजी व्यापारीलाई धान बेचेकाले यसपालि लक्ष्य प्राप्ति हुन नसकेको सो कार्यालयका सूचना अधिकारि रामपुकार मण्डलले बताए ।

अघिल्लो आर्थिक वर्षमा १५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको १६ हजार ६६८ क्वीन्टल धान खरिद भएको थियो । स्थानीय गल्ला व्यापारीले किसानहरुसँग उद्यारोमा धान खरिद गर्दा किसानहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडलाई धान बेच्दा नगदमा रकम आउने गरेको भएपनि यसवर्ष धान विक्रि गर्ने प्रक्रिया झन्झटिलो भएकोले अधिकाश किसानहरु मारमा परेका छन् । जबकि अरु जिल्लामा रहेको सो कार्यालयहरुले एउटा किसानसँग बढीमा ६५ क्वीन्टल सम्म धान खरिद गरेको देखिन्छ । यसवर्ष जिल्लामा १ लाख ७६ हजार मेट्रिकटन धान उत्पादन भएको छ । 
 

इङवा हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन पाउने

काठमाडौं, ५ चैत । इङवा हाइड्रोपावरको आईपीओमा बैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ । यता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा २० चैतसम्मका लागि आवेदन दिने म्याद थप गरिएको छ ।

उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेमा समयअगावै निष्काशन तथा बिक्री बन्द गरिने कम्पनीले जनाएको छ। उक्त हाइड्रोपावरले २९ फागुनमा  दुई चरण गरेर आईपीओ निष्काशा गरेको थियो । 

पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँअंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । दोश्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ ।

उक्त आईपीओ आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउपालिका- ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 

दाङमा नेकपा एसका असन्तुष्टले गरे पार्टी परित्याग, पार्टी छाडने पुर्व मन्त्रीका पिएसम्म

दाङ, ५ चैत । नेकपा एकीकृत समाजवादीका जिल्ला तहका नेताले पार्टी परित्यागकाे घोषणा गरेका छन् । 

नेकपा एस दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले एस परित्याग गरेका हुन । यसरी पार्टी परित्याग गर्नेमा चाैधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायत छन् ।

यसरी पार्टी परित्याग गर्नेहरुमा मिना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरा, केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंकले साताको पहिलो कारोबार दिन आइतबारका लागि विदेशी विनिमयदर सार्वजनीक गरेको छ । 

आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा तोकिएको छ।  

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६० रुपैयाँ ६९ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा,  क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १० पैसा र बिक्रीमा ९६ रुपैयाँ ५४ पैसामा कारोबार भइरहेको छ।

 
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीमा २९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

उता, कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३ पैसामा किनबेच हुनेछ ।

भैरहवा क्याम्पसको निर्वाचन चैत ८ गते

बुटवल, ५ चैत । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ । 

विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठक पछि आज हुनुपर्ने निर्वाचन चैत ८ गते सारिएको क्याम्पस प्रमुख अनिल कुमार झाका अनुसार ले बताए । 

आन्तरिक बिबादका कारण सो क्याम्पसमा तालाबन्दी भएको थियो । रुपन्देहीका अरु क्याम्पस भने मतदान सुरु भएको छ।

कलाकार संघमा निरौला बिजयी

काठमाडौं, ५ चैत ।  चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्।

शनिवार भएको निर्वाचनमा उम्मेदवार रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला अध्यक्ष निर्वाचित भएका छन्।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी निर्वाचित भएका छन भने महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन्।

ृउता, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएकी छिन ।

सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन्।

बिहारको ग्रिड प्रयोग गरी भारतमा बिजुली बेच्ने मोडालिटी बन्दै

काठमाडौं । नेपाल र भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य भारतीय राज्यमा बिजुली निर्यातको मोडालिटी तय गर्ने निर्णय गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रवार सम्पन्न समितिको १४औं बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महीनाभित्र तयार गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षतामा बैठक बसेको थियो ।

‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात गर्नेछ । यसका लागि एक महीनाभित्र दुवै पक्षले मोडालिटी टुंगो लगाउनेछन् । यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् विक्रीका लागि थप बजार सुनिश्चित भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

बिहारसँग कटैया (बिहार)–कुशाहा (नेपाल) र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । गत फागुन पहिलो साता सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १०औं बैठकले कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३ भित्र र अप्रिल/ मे २०२३ मा निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।

विद्युत् आदानप्रदान समितिको बैठकले विद्युत् आदानप्रदान सम्झौताअन्तर्गत आयातनिर्यात हुने विद्युत्को प्रतियुनिट दर भारु ७.२१ (११ रुपैयाँ ५४ पैसा) तय गरेको छ । आर्थिक वर्ष सन् २०२२ // २३ को लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत् आदानप्रदान दर तय गरिएको हो ।

विद्युत् आदानप्रदान सम्झौताबमोजिम नेपाल विद्युत् प्राधिकरणले भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेको बेला विद्युत् आयात गर्दै आएको छ । प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेको बेला सबैभन्दा बढी बिहारबाट बिजुली आयात गर्छ । नेपालसँग बिहार र उत्तर प्रदेश १३२ केभी प्रसारण लाइनमा जोडिएका छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रहरीमा ३० वर्षे सेवावधि हटाउन प्रस्तावको मस्यौदा तयार

काठमाडौं । नयाँ आइजिपीको नियुक्ति हुन केही दिन बाँकी रहँदा गृह मन्त्रालयले नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्नेगरी नयाँ प्रहरी ऐन ल्याउने तयारी गरेको छ। प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवावधिका कारण वर्तमान नेतृत्व बिदा भएर नयाँ नेतृत्व आउने बेलामा सरकारले उक्त व्यवस्था हटाउने योजनासहित नयाँ प्रहरी ऐन ल्याउन लागेको हो।

प्रहरी ऐन, २०१२ प्रतिस्थापन गर्न ‘नेपाल प्रहरी ऐन, २०७९’ को मस्यौदा तयार गरिएको छ। ३० वर्षे सेवावधि हटाउन सर्वोच्च अदालतको फैसला बाधक भएका कारण मौजुदा प्रहरी ऐन प्रतिस्थापन गर्न नयाँ ऐनको मस्यौदा तयार गरिएको हो। ‘नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्न नयाँ ऐनको मस्यौदा बनेको छ।

यसलाई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ’, गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने, ‘अर्थले सहमति दिएपछि कानुन मन्त्रालयमा पठाउनुपर्छ। कानुनले रायसुझाव दिएपछि लोकसेवा आयोगमा पठाउनुपर्छ। अर्थ, कानुन मन्त्रालय र लोकसेवा आयोगको सहमतिपछि मन्त्रिपरिषद्मा पेस हुन्छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि संसद्मा प्रस्तुत गर्नुपर्ने भएकाले केही समय लाग्छ।’

सहसचिव बस्नेतका अनुसार ऐन संशोधन मस्यौदामा नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवावधि हटाइएको छ। ‘अहिलको सेवावधि वैज्ञानिक छैन भन्ने आवाज धेरैतिरबाट आएकाले हटाउन प्रस्ताव गरिएको छ’, उनले भने।

केपी ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री भएका बेला २०७६ सालमा पनि ३० वर्षे सेवावधि हटाउने प्रस्तावसहित नेपाल प्रहरी ऐन संशोधन मस्यौदा संसद्मा पेस गरिएको थियो। त्यसबेला उक्त मस्यौदा संसद्ले फिर्ता पठाएपछि ऐन संशोधन हुन सकेको थिएन ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी नियमावली, २०७१ को दफा १२७ मा आइजिपीको पदावधि ४ वर्ष उल्लेख भए पनि ऐन संशोधन मस्यौदामा पदावधि तीन वर्ष हुने व्यवस्था गरिएको छ। मस्यौदामा अहिले कायम रहेको आइजिपीको उमेरहद ५८ वर्ष यथावत् राखिएको छ। संशोधन मस्यौदामा एआइजिपीको उमेरहद र पदावधि थपघट गरिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

थाहै नपाई राष्ट्रपतिको सवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वसन्तपुरस्थित देवी कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्न आउँदा र फर्किंदा बाटो खाली भएन । आमनागरिक र सामान्य सवारीसँगै राष्ट्रपति वसन्तपुर आउजाउ गरेपछि धेरैले राष्ट्रपतिका विगतका सवारी र सडक अवरुद्ध सम्झिए ।

दशमी तिथिमा कुमारीघरमा विशेष पूजाआजा हुने गर्छ । पूजाको भोलिपल्ट एकादशीको दिन कुमारीको प्रसाद राष्ट्राध्यक्षबाट ग्रहण गर्ने परम्परा छ ।राष्ट्रपति पौडेल शीतलनिवासबाट अपराह्न ४ बजे राष्ट्रपति भवन, पानीपोखरी, लाजिम्पाट, कान्तिपथ, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, नेपाल वासुसेवा निगम, नयाँसडक हुँदै कुमारी मन्दिर वसन्तपुर पुग्नुभएको थियो । तर राष्ट्रपतिको सवारीमा न बाटो खाली गरियो न त सडकमा आउजाउ गर्नेलाई राष्ट्रपतिको सवारी छ भन्नेसम्म जानकारी रह्यो ।

राष्ट्रपति सवार गाडीको अघि र पछि गरी दुईवटा मात्र सुरक्षा निकायका गाडी थिए । राष्ट्रपतिको सवारीभन्दा झन्डै २० मिनेटपहिले नै सडक खाली गरी सर्वसाधारणको आउजाउ ठप्प पार्ने गरिएकोमा राष्ट्रपति पौडेलको सवारीलाई भने धेरैले अनौठो माने । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदा नै रामचन्द्र पौडेलले सवारीका बेला आफूले बाटो खाली नगराई आफ्नो सवारीले सर्वसाधारणलाई असर पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर निर्वाचित भएपछि पशुपतिको दर्शन गर्न जाँदा भने सडक खाली गराइएको थियो ।

यस कार्यको आलोचना निकै भएको थियो । तर शनिबार भने त्यस्तो नभएकोमा सुरक्षा निकायको बेग्लै तर्क छ । कुमारीघर जाँदा उनको सवारी निजी भएको र सोहीअनुसार सवारीका बेला बाटो खाली नगरिएको सुरक्षा निकायको तर्क रहेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीका अनुसार अति विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रोटोकल’अनुसार नै सडक खाली गराइएको हुन्छ ।

सवारीपूर्व सुरक्षा समितिको बैठक बस्ने र त्यसको निर्णयअनुसार अति विशिष्ट व्यक्तिको सवारीको सुरक्षा तथा सडक व्यवस्थापन (सडक खाली गराउने)बारे निर्णय हुन्छ । राष्ट्रपति कुमारीको दर्शन गर्न आउँदा र फर्किंदा सामान्य सुरक्षा व्यवस्थापन गर्ने गरी सडक खाली नगरिएको चौधरीले बताए । राष्ट्रपति पौडेलले आफ्ना हरेक सवारी सामान्य गर्न आग्रह गरेअनुसार शनिबारको सवारी सामान्य गरिएको राष्ट्रपति पौडेलका स्वकीय सचिव खिला कार्कीले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

बिराटनगरमा आज बिहानै देखी निषेधज्ञा सुरु

विराटनगर, ५ चैत । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज बिहान देखी केही स्थानमा लगाएको निषेधाज्ञा सुरु भएको छ ।

कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै आज निषेधाज्ञा जारी गरेको हो । 

चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सुचनामा उल्लेख गरेका छन् । 
 

निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोक देखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् । 

आजको मौसमः आज पनि पानी पर्ने

काठमाडौं, ५ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी  भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

उता राती भने  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

देशको पहाडी  भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ्ग र  हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

स्ववियु निर्वाचनः आज बिहान ८ बजे देखी मतदान सुरु हुदैँ

काठमाडौं, ५ चैत । स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ ।

त्रिभुवन बिश्वबिद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

काठमाडौं  उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजे देखी मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन बिश्वबिद्यालयले कार्यतालिका यसअघि नै सार्बजनिक गरिसकेको छ । 

पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गरिने

काठमाडौँ, ४ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बस्न लागेको केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यसअघि सानेपास्थित केन्द्रिय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक वानेश्वरस्थित संसद भवनमा बोलाईएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक बस्न लागेको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकवाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो।

यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो । 

चिकित्सकविरुद्ध बढ्दै उजुरी

काठमाडौँ । नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ ।

काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले निर्णय भएका २० उजुरीमध्ये पाँच उजुरी कारबाही गरिरहनु नपर्ने देखिएको जानकारी दिँदै केही उजुरीमा चिकित्सकमाथि कारबाही भएको जानकारी दिए । तीमध्ये तीनवटामा चिकित्सकलाई सचेत गराइएको छ । यस्तै चार उजुरीका आधारमा सम्बन्धित अस्पताललाई निर्देशन दिइएको छ । छ उजुरीमा भने थप कारबाही गर्नुपर्ने उल्लेख छ । उनले दुईवटा उजुरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत कारबाही अगाडि बढाउनुपर्ने अवस्था रहेको जानकारी दिए ।

काउन्सिलले १४३ जना चिकित्सकको नाम दर्ता सूचीबाट हटाएको छ । उनीहरूको प्रमाणपत्र नक्कली प्रमाणित भएका कारण नाम दर्ता सूचीबाट हटाइएको काउन्सिलले जनाएको छ । काउन्सिलका इथिकल बोर्डका संयोजक डा. कालुसिंह खत्रीले काउन्सिलमा परेको उजुरीमध्ये १० देखि १५ प्रतिशत चिकित्सकले कुनै न कुनै रूपमा गल्ती गरेको देखिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अध्ययन अनुमतिपत्र लिने दोब्बर

काठमाडौँ । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको सङ्ख्या सात हजार ६१८ थियो । शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको सङ्ख्या बढेको हुन सक्ने बताए ।

माघ महिनामा जापानका लागि १५८ जनाले एनओसी लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट दुई करोड ८९ लाख ४२ हजार रुपियाँ राजस्व आर्जन भएको थियो ।

फागुनमा अस्ट्रेलियाका लागि दुई हजार ६१० जनाले र क्यानडाका लागि एक हजार ६६० जनाले एनओसी लिएका थिए । माघमा अस्ट्रेलियाका लागि तीन हजार ५१७ जना र क्यानडाका लागि दुई हजार २४८ जनाले एनओसी लिएका थिए । सो महिना ३६ देशका लागि यस्तो लेटर जारी भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

पाँच किलो नुन ल्याउन अढाई हजार खर्च

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका-४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका-१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदाजाँदा २ हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो ।

नरहरिनाथ गाउँपालिकाबाट मान्म आउनजान दुई दिन लाग्छ । बुढाले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म आउन ५ सय रुपैयाँ गाडी भाडा तिरे । त्यहाँबाट मान्मसम्म आउन थप ३ सय रुपैयाँ गाडी भाडा लाग्यो । ‘मान्मसम्म आउँदा जाँदा मेरो करिब २ हजार ५ सय रुपैयाँ खर्च भयो,’ केही दिनअघि मान्ममा भेटिएका उनले भने, ‘पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ । त्यही नुन ल्याउन अढाइ हजार रुपैयाँ खर्च भयो ।’ कालिकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने आयोडिनयुक्त एक किलो नुनको मूल्य नौ रुपैयाँ पर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

रुपेन्देहीमा १८ लाख बराबरको अबैध कपडा बरामद

बुटवल, ४ चैत  । रुपन्देहीमा १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।

मायादेवी गाउँपालिका– ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद भएको हो ।

रुपेन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवको ग १ त ४६२५ नम्बरको ट्याक्टर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामर गरिएको हो ।

प्रहरीका अनुसार महिलाले लगाउने लुगा देखी पुजाका लागि प्रयोग हुने लत्ताकपडाहरु  बरामद भएका छन । बरामद गरिएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

चैत १० गते भित्र सरकारलाई पुर्णता दिने गरी प्रधानमन्त्री छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ ।

प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो सृंससद भवनमा भएको छलफल पछि चैत १० गते भित्र सरकारलाई पुर्णता दिने वारेमा छलफल गरेका छन । 

प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र चैत १० गते भित्रमा सरकारले पूर्णता पाउने गरी छलफल सुरू गरेका छन् । ‘विश्वासको मत लिए पछि सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको छ,’ लगानी बोर्डको बैठक पछि प्रधानमन्त्री दाहालले भने, ‘ विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता पाउनेछ,’ दाहालले भने । उनका अनुसार सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रीमण्डल विस्तारका लागि भागबन्डा गर्ने कार्य विश्वासको मत लिए पछि अघि बढनेछ । 

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि एक दर्जन भन्दा बढी मन्त्रालय रिक्त रहेका छन । तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भए पछि सरकारी काम कारबाही सहज ढंगले अघि बढन सकेको छैन्। 

तीनवटा पार्टी सरकारवाट बाहिरिए पछि प्रधानमन्त्री दाहालले वन तथा वातावरण , युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहेका छन् ।

यसैगरी, अर्थ, कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्‌ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको नेतृत्व हाल रिक्त रहेका छन । 

देशैभरीका सांसदलाई शितल निवासमा राष्ट्रपतिको चियापान

काठमाडौं, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरु बिच आज बिहान शितल निवासमा भेटघाट हुने भएको छ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरुलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन ।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा आएका छन्  । 

राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामुहिक रुपमा सांसदहरुलाई भेटघाट गर्न खोजेका हुन ।

रवी लामिछानेले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई

काठमाडौं – रास्वपाका सभापति रवी लामिछानेले उपराष्ट्रपति पदमा निर्वाचित भएका रामसहायप्रसाद यादवलाई बधाई दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले उपराष्ट्रपति यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनले लेखेका छन् – ‘मुलुकको उपराष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामसहायप्रसाद यादव ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

शुक्रबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन् ।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्।यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसदका १०४ र प्रदेशसभाका १६९ जना सदस्यले मत दिएका थिए ।

आफ्नै चक्रव्यूहमा यसरी फसेको थियो युएई

बादलले कीर्तिपुर मैदानमाथिको आकाश छोपिसकेको थियो। पानी पर्छ कि पर्दैन भन्ने कौतूहलताका कारण खेलाडीदेखि दर्शकसम्मले पटक पटक आकाशतर्फ हेरिरहेका थिए।

पानी पर्ने सम्भावनाबारे ज्ञात नेपाल र यूएईका खेलाडीहरू त्यही अनुरूप मैदानमा रणनीति बुन्दै गरिरहेका थिए।पानी दर्की हालेमा भाग्न अप्ठेरो हुनसक्ने खतरालाई मोल्दै १५ हजार समर्थकहरू दर्शक दीर्घामा हुटिङ गरिरहेका थिए।

‘जुनसुकै बेला जे पनि हुनसक्ने’ एउटा रोमाञ्चक क्रिकेट भिडन्तको प्रत्यक्षदर्शी बन्ने अवसर उनीहरूले खेर फाल्न चाहेको देखिएन।त्यस्तो अवस्थामा मैदानभित्र यस्तो नाटकीय अवस्था सृजना हुँदै गयो जुन नेपाली क्रिकेटमा लामो समयसम्म स्मरणयीय रहनेछ।

कुनै कथाकारलाई रच्न दिएको भए पनि सायदै उनले यति रोचक पटकथा कोर्न सक्ने थिए।यूएईको नेपाल विरुद्धको उच्च शक्ति प्रदर्शन, थामिनसक्नुको दर्शक, नेपालका लागि हालसम्मकै विशाल लक्ष्य, बादल र वर्षाको लुकामारी, पानी बोकेर मैदान प्रवेश गर्ने नेपाली सन्देशबाहक खेलाडीहरूको हतारो, दर्शकलाई संयमता अपनाउन राष्ट्रिय खेलाडीहरूले गरेको अपिल, यूएईको गुनासै गुनासो अनि मधुरो प्रकाशका कारण अम्पायरहरूले गरेको निर्णय।

यी सबै परिघटनाका माझ जित निकाल्दै नेपाली टोली विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्न सफल भयो।र, दर्शकहरूले सामूहिक स्वरमा गाए “रातो र चन्द्र सूर्य……जङ्गी निशान हाम्रो।” उक्त गीतमा नेपाली खेलाडीहरू मैदानमै धेरै बेर नाचिरहे, रमाइरहे।

चार छक्कापछि बल गायब
दिउँसोको पारिलो घाममा यूएईले छक्काको वर्षा गर्दै ३११ रनको लक्ष्य नेपाल सामु तेर्स्याउँदा लागेको थियो खेल अब नेपालको हातबाट छुट्यो।त्यति धेरै रन नेपालले पछ्याउन सकेको इतिहास पनि त थिएन।लाग्थ्यो यूएईले नेपालसँग लगातारको हारको रिस अन्तिम खेलमा पोख्दै थियो।

आसिफ खान एक्लैले ११ छक्का प्रहार गरे र कम बलमा छिटो शतक प्रहार गर्ने चौथो खेलाडी बन्न सफल भए।चार दिनअगाडि मात्र नेपाल सामु ७१ रनमा अलआउट हुनुपर्दाको चोट यूएईलाई कम्ती थियो होला र?४९औँ ओभरमा त खानले सन्दीप लामिछानेको बलमा लगातार चार छक्का हानिदिए।

सहन नसकेका दर्शकहरू पनि के कम। चौथो छक्का खाएपछि दर्शकले त्यो बल फिर्ता नै गरेनन्।त्यसपछि अम्पायरले अर्को बल ल्याउनु पर्‍यो। त्यो नयाँ बल भने उडेर मैदान पार भएन।

मैदानमा ढल्दै विपक्षी
पानी पर्ने सङ्केत देखेपछि रणनीतिक खेल सुरु भयो। यूएईले ढिलो बलिङ गर्ने रणनीति अपनायो।किनकि पानी परिहाल्यो र खेल रोकियो भने डक वर्थ लुइस प्रणाली (डीएलएस) मार्फत हुने जित हारको फैसलामा यूएई अगाडि थियो।

अम्पायरले त्यसको सचेत गराए पनि युएईका खेलाडीहरूले जानाजान ढिलो बलिङ गरिनै रहे।युएईले साढे तीन घण्टा भित्र बलिङ गरिसक्नुपर्ने थियो। तर चार घण्टा बितिसक्दा पनि छ ओभरको खेल अझै बाँकी थियो।

खेल डीएलमार्फत आफ्नो पक्षमा आओस् भनेर उनीहरूले निकै प्रयास गरे। खेलाडीलाई चोट लागेको भन्दै दुई पटक त मैदानमा नै उपचार गर्नुपर्ने अवस्था उनीहरूले सृजना गरे।युएईका खेलाडीहरूले दर्शकहरूले बोतल फ्याँकेको भन्दै अम्पायरसँग गुनासो गर्दै पनि समय घर्काउन खोजे।

पानी ‌‌ओसार्ने खेलाडीको हतारो
हरेक घट्दो ओभरले डिएलएसको गणित फेरिरहेको थियो।त्यसको जानकारी र नेपाली ब्याटिङको रणनीति मैदानमा रहेका ब्याटरहरूलाई बुझाउने काम मैदान बाहिर रहने १२औँ खेलाडीको थियो।त्यस बेला ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसीको व्यस्तता हेर्न लायकको थियो।

ओभर सकिनासाथ उनीहरू १०० मिटर दौडका स्प्रिन्टर जसरी मैदानमा पुग्थे। प्रशिक्षकको सन्देश पुर्याउँथे र फर्किन्थे।एक पटक त जीसी ओभर नसकिँदै मैदानमा छिरे। अम्पायरले रोकेपछि उनी बीचबाटै फर्किनुपर्‍यो।यो क्रम यति धेरै पटक दोहोरियो कि त्यस्तो हुन नदिन जगेडा अम्पायर विनय झाले हस्तक्षेप नै गर्नुपर्‍यो।

सन्देश चाहिँ के थियो? खेलपछि कप्तान रोहित पौडेलले भने – “हरेक ओभरको फरक स्थिति थियो। मुख्यतः विकेट नगुमाइकन खेल्ने सन्देश थियो। “

फास्ट बलर, स्लो ओभर
लगातार तीव्र गतिका बलरहरू उतारेर यूएईले अर्को रणनीति अपनायो।त्यसबाट दुई फाइदा उनीहरूले उठाए। एउटा त यसले खेलको समय लम्ब्याउने काम गर्‍यो।अर्कोतर्फ मौसमका कारण मैदानको प्रकाश मधुरो भइसकेको थियो। त्यस्तोमा नेपाली खेलाडीहरूलाई तेज बलरको सामना गर्न गाह्रो हुन्थ्यो।

यो रणनीति सफल देखियो। क्रिजमा रहेका आरिफ शेख र गुलशन झा रन जोड्न सङ्घर्ष गरिरहेका थिए। यूएई नेपालको रन रेट रोक्न सफल देखियो।दबावको यो बेला ४० ओभरमा आरिफको विकेट लिन पनि पाहुना टोली सफल भयो।डीएलएसमा नेपालको लक्ष्य फेरी बढ्यो।

ती चार बाउन्ड्री
खेलको खास पटाक्षेप चाहिँ ४२औँ ओभरमा भएको हो।गुलशन झाले उक्त ओभरमा २० रन जोडेर यूएईको सपना चकनाचुर पारिदिए।बलिङ गर्न आएका मोहम्मद वासिमलाई झाले ओभरको तेस्रो बलमा छक्का हाने।

त्यसपछिको लगातार तीन बलमा तीन चौका ठोकिदिए।यसपछि एकाएक खेल नेपालको पक्षमा ढल्कियो। डीएलएसमा नेपाल अगाडि आयो।

मुस्तफाको महँगो मिस फिल्ड
इपीएल, डिपीएल देखि पीपीएलसम्मको नेपाली फ्रेञ्चाइज प्रतियोगिता खेलिसकेका रोहन मुस्तफा नेपाली क्रिकेटमा परिचित नाम हुन्।बाउन्ड्री लाइनमा फिल्डिङ गर्ने मुस्तफालाई दर्शकहरूले बारम्बार जिस्काइरहे।

गुलशनले ४२ ओभरको अन्तिम बलमा प्रहार गरेको सट लङ अफमा बसिरहेका मुस्तफाले सहजै जोगाउन सक्थे।बल सिधै उनको हातमा आएको थियो।

तर लगातार तीन बाउन्ड्री कटिसकेको अवस्थामा दबावमा परेका मुस्तफाले मिस फिल्ड गर्न पुगे र बल चौकामा परिणत हुन पुग्यो।मैदानबाहिर बसिरहेका उनका साथीहरूको निराशा त्यति बेला हेर्न लायकको थियो।

४५औँ ओभरमा के भयो?
पहिले ढिलो बलिङ गरेको यूएईलाई त्यसपछि आपत् पर्‍यो। उनीहरू आफ्नै चक्रव्यूहमा फस्न थालेका देखिन्थे।डीएलएसमा पछि पर्नासाथ यूएईका खेलाडीहरू एकाएक हतारिए।४५ ‍औँ ओभरमा यूएईले स्पिनरको प्रयोग गर्नै लागेको थियो। तर कथा अर्कै तिर मोडिन पुग्यो।

खराब प्रकाशका कारण अम्पायर बुद्धि प्रधान र श्रीलङ्काका रवीन्द्र विमलसिरीले छलफल गरे र खेल अगाडि बढाउन नसक्ने निर्णय गर्दै बेल झारिदिए।युएईका खेलाडीहरू अलमल्लमा देखिए।

तनाव
निर्णयमा असन्तुष्ट देखिएका यूएईका खेलाडीहरूले मैदानमा केही बेर अम्पायरसँग विवाद गरे।खासमा त्यहाँ के विषयमा विवाद भयो त? दर्शकहरूलाई लाग्न सक्छ उनीहरू खेल पूरै ५० ओभर खेल्न पाउनुपर्छ भन्दै विवाद गरिरहेका थिए।

तर त्यो साँचो होइन।क्रिकेटमा अम्पायरको निर्णयमा विवाद गर्न पाइँदैन। गरिहाले कडा जरिवानाको सामना गर्नुपर्ने हुन्छ।युएईका खेलाडीहरू बीचमा एक जना खेलाडी रन आउट भएको भए पनि आफूहरूको पक्षमा निर्णय किन गरिएन भन्ने विषयमा अम्पायरसँग उल्झिएका रहेछन्।

तर विवादको अर्थ के रह्यो र? नेपाली खेलाडी र दर्शकहरू खुसीयालीमा झुम्न थालिसकेका थिए।बीबीसी नेपालीबाट साभार गरिएको हो ।

राष्ट्रसंघको मानवअधिकार परिषद्‌मा कान्तारा

मुम्बई, ३ चैत । दक्षिण भारतीय फिल्म ‘कान्तारा’ले एउटा ठूलो अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ ।

स्वीटजरल्याण्डको जेनेभामा रहेको संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा यो फिल्म प्रदर्शनमा आउने भएको छ । यो फिल्म आज शुक्रबार परिषद कार्यालयको हल नम्बर १३ को पाथे बालेक्सर्टमा प्रदर्शन गरिन लागिएको हो ।

फिल्म प्रदर्शनका लागि लेखक, निर्देशक तथा अभिनेता ऋषभ शेट्टी जेनेभा पुगेर आफ्नो ओरल सबमिसन पुरा गरिसकेका छन् । सेन्टर फर ग्लोबल अफेयर्स एण्ड पब्लिक पोलिसि(सीजीएपीपी)ले सामाजिक सञ्जालमा फिल्म प्रदर्शनको बारेमा जानकारी दिएको छ ।

‘रिसभ शेट्टी जेनेभामा युएनएचआरसी सेशनमा वातावरण, मौसम र संरक्षणका विषयमा भारतीय फिल्मको भूमिकाका बारेमा बोल्नेछन् । सीजीएपीपीका निर्देशक अनिन्ध सेनगुप्ताले सेशनको समयमा उनलाई भेट्नेछन्’, पोलिसिले ट्वीट गरेको छ ।

‘कान्तारा’को कन्नड भर्सन र हिन्दी भर्सन गत वर्षको नोभेम्बर ३० र अक्टोबर १४ मा रिलिज भएको थियो । फिल्ममा ऋषभसँगै सप्तमी गौडा र किशोर कुमारको प्रमुख भूमिकामा अभिनय थियो ।

विमल सुवेदीको नाटक भारतको थिएटर अवार्डको ४ विधामा मनोनयनमा

काठमाडौं, ३ चैत । विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘ महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को ४ विधामा मनोनयनमा परेको छ । विमल सुवेदीकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, संगीत, कोरियोग्राफी र लाइट गरी ४ विधामा मनोनयनमा परेको हो । विमल सुवेदी स्वयं पनि निर्देशन विधामा मनोनयनमा परेका छन् । 

भारतभर मञ्चन हुने नाटकहरूमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ ४ सय ९५ बाट छानिएर उत्कृष्ट १० मा परेको हो । यसरी छानिएका १० नाटक यही मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुनेछन् ।

जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले फिल्म बनाउने सिलसिलामा तयार गरेको जनाएका छन् । उनले ९ वर्षअघि फिल्म बनाउने सिलसिलामा यसको कथा तयार गरेको तर विविध कारणले फिल्म नबनेपछि यही कथालाई नाट्य रुपान्तरण गरेको उनको भनाइ छ । 

‘यो भुटानी शरणार्थीको कथा हो जो आफ्नो पुख्र्यौली थलो छाड्न बाध्य भएर विश्वका धेरै देशमा पुगे । नाटकले घर बन्ने प्रक्रियादेखि बनेको घर भताभुङ्ग भएको अवस्थासम्मलाई अभिव्यक्त गर्ने प्रयास गरेको छ,’ विमलले भने । 

नाटककार सुवेदीले नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने आफ्नो उद्देश्य रहेको र आफूले लेखन तथा निर्देशन गरेको नाटक भारतभरका नाटकमध्ये उत्कृष्ट १० मा पर्नाले आफू त्यो अभियानमा एक कदम अघि बढेको महसुस भएको बताएका छन् । 

‘यो उपलब्धि समग्र नेपाल र नेपाली रंगमञ्चका लागि गर्वको विषय हो । नेपाली कथा विश्व घुम्नुपर्छ र हाम्रो दर्शनलाई आफ्नै हिसाबले अभिव्यक्त गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यो नाटकको यात्राले मलाई त्यो मान्यतामा अडिग रहन प्रेरित गरेको छ,’ विमल भन्छन् । 

पर्फमिङ आर्टका विभिन्न विधामध्ये विश्वभर नै सिनेमाका विधामा प्रशस्त अवार्ड हुने गरेका छन् । तर नाटकमा भने यस्ता कार्यक्रम न्यून हुन्छन् । यसरी न्यून हुने प्रतियोगितामा नेपाली कथा अन्तिम प्रतिस्पर्धामा पुग्नु दुर्लभ अवसर भएको पनि उनको ठम्याइ छ ।

 
सँगसँगै यो कथाले नेपाली भाषी भुटनिजको बोल्ने भएकोले यो नाटक अन्तर्रिष्टय मञ्चमा मञ्चन हुनुले यो समुदायको दबाइएको आवाजलाई अझ बुलन्द गर्नेछ ।  

विमलले यो नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरेका हुन् । नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटर मिलेर तयार गरेको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्टस् ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । यो नाटक नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा प्रदर्शन हुँदैछ । 

विमल सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेसन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामाको हलमा मञ्चन भएको थियो । विमलले लेखन तथा निर्देशन गरेका नाटक नेपाल भारत, चीन, पाकिस्तान, थाइल्यान्डबाहेक बेलायत र युरोपका विभिन्न देशमा मञ्चन भइसकेका छन् ।

विमलले सन् २०१६ मा भारतमा अन थिएटर अवार्ड प्राप्त गरेका थिए । उनी यो अवार्ड पाउने कम उमेरका नाट्यकर्मी हुन् । उनले सन् २०२२ मा मलेसियामा  इन्टरनेसनल हेरिटेज अवार्ड पनि प्राप्त गरेका छन् ।
 

राष्ट्रपति पौडेल र एनआरएनएका प्रतिनिधिबीच भेट

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र एनआरएनएका प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति पौडेललाई भेट गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

उक्त भेटवार्तामा पौडेलले एनआरएनएको अहम भूमिका हुने बताए । उनले नेपालको साहित्यिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गरे ।

राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै सङ्घले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पाँंच उत्कृष्ट सर्ट भिडियो मेकर पुरस्कृत

भक्तपुर, ३ चैत । भक्तपुरमा भएको छोटो भिडियो बनाउने प्रतियोगितामा उत्कृष्ट पाँंचजना भिडिया बनाउनेहरु पुरस्कृत भएका छन् । उनीहरूलाई ख्वप मावी देकोचा भक्तपुरका भ्वाइस प्रिन्सिपल विष्णुप्रसाद किसीले पुरस्कार प्रदान गरे । 

प्रतियोगितामा गंगा शाक्य, सारु लामा, सरोज शिल्पकार, मिलान भुजेल  र सुष्मिता तामाङको भिडियो उत्कृष्ट हुन सफल भयाे । प्रतियोगितामा मानविकी संकायअन्तर्गत राजनीतिशास्त्रका विभिन्न विषयहरुमा अध्यनरत २४ जाना विद्यार्थीहरू सहभागी भएका थिए ।

वीरगन्ज उपमहानगरपालिकाले क्रिकेटर आसीफ र आरीफलाइ माेटरसाइकल दिने

वीरगञ्ज, ३ चैत । वीरगन्ज उपमहानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ । 

आइसीसी क्रिकेट विश्वकप लिग–२ मा देशकाे शिर उचाेँ राखेकाे भन्दै बिरगञ्जका क्रिकेट आसीफ शेष र आरीफ शेषलाई उपमहानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । बिरगञ्ज निवासी उनीहरू सहोदर दाजुभाइ हुन् । 

विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने उनले जनाएका छन् ।

उपमहानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्‍याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ । 

राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक भूमिका निर्वाह गर्छु – नवनिर्वाचित उपराष्ट्रपति

काठमाडौं – नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आफूले राष्ट्रिय एकतालाई मजबुद बनाउने बताएका छन् । शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने बताए ।

उनले भने “मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।”

उनी ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन् ।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्। यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसदका १०४ र प्रदेशसभाका १६९ जना सदस्यले मत दिएका थिए ।