`

नेपाल–युएई भिडन्तः २ घन्टा अघि नै भरियो खेल मैदान

काठमाडाैं, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै  खेल परिसरमा दर्शकको भिड बढेको छ ।  

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा बिहान देखी दर्शक पुग्न सुरु गरेका छन । बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाईए पछि खेल मैदानमा पुरैमा भिड लागेको छ ।

क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण  टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० वाट सुरु हुनेछ। 
 

सन्दीपलाई कीर्तिमान बनाउने मौका 

काठमाडाैं, २ चैत ।  नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ। 

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्। यदि बिहिबार युएईविरूद्ध कम्तिमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान बनाउनेछन्।

अफगानिस्तानका रासिद खानले सन् २०१५ अक्टुबरमा ४४ खेलबाट १०० विकेटको कोशेढुंगा पार गरेका थिए।  

पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका सन्दीपले अन्तिम १० खेलमा मात्र २९ विकेट लिइसकेका छन्।  उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिइका छन्।
२२ खेलबाट ५० विकेट पूरा गरेका सन्दीपले थप १८ खेलबाट ४८ विकेट लिइसकेका छन्। यदि  युएईविरूद्ध कुनै विकेट नलिए बाँकी ३ खेलमा उनले २ विकेट लिए पनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन्।

सत्तारुढ गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपतिमा यादव र झा मध्ये एक निर्क्यौल गर्ने

काठमाडौं, २ चैत । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । 

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउ नसके पछि आज पनि बस्न लागेको हो  ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी बनाउने प्रयास हिजो असफल भए पछि आज बस्न लागेको हो ।

लक्ष्यभन्दा २० प्रतिशत कम राजस्व

काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को शुरूदेखि नै निराशाजनक रहेको राजस्व संकलन ७ महीना बित्दा पनि उस्तै छ । आयातमा कमी र आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले यस वर्ष राजस्व लक्ष्य प्राप्त गर्न नसक्ने निश्चितजस्तै देखिएको छ ।

आन्तरिक राजस्व विभागले गत फागुनसम्ममा लक्ष्यको ७९ दशमलव ६८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । सोही अवधिमा भन्सार विभागले लक्ष्यको ५७ दशमलव ९ प्रतिशत राजस्व संकलन गरेको देखिन्छ ।आन्तरिक राजस्व विभागले फागुन मसान्तसम्ममा ३ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस अवधिमा उसले २ खर्ब ८१ अर्ब रुपैयाँ संकलन गरेको देखिन्छ । यो लक्ष्यको ७९ दशमलव ६८ प्रतिशत हो ।

फागुनमा लक्ष्यको ८७ प्रतिशत मात्रै राजस्व संकलन भए पनि गतवर्ष भन्दा २ प्रतिशत बढी उठेको तथ्यांकले देखाउँछ । विभागले फागुनमा ३३ अर्ब ११ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा २८ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको छ । गतवर्ष फागुनमा विभागले २८ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको थियो । गतवर्षको तुलनामा आयकर ९ प्रतिशत, घर बहालकर १० प्रतिशत र आन्तरिकतर्फको मूल्य अभिवृद्धिकर ३ प्रतिशत कम संकलन भएको विभागको भनाइ छ । यसले समग्र राजस्व लक्ष्य प्रभावित भएको अधिकारीहरू बताउँछन् ।

फागुन मसान्तसम्ममा विभागले आयकर लक्ष्यको ७३ दशमलव ९८, घर बहालकर ७८ दशमलव ८१, ब्याजकर ८४ दशमलव ३६, मूल्य अभिवृद्धिकर ८३ दशमलव ३२ र अन्तस्शुल्क ८४ दशमलव ३६ प्रतिशत संकलन गरेको छ । फागुनसम्मको ब्याजकर गतवर्षको तुलनामा ४० प्रतिशत बढी छ । विभागले साउनदेखि फागुनसम्म ब्याजकर २३ अर्ब ८६ करोड ८५ लाख ३५ हजार रुपैयाँ उठाएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले अर्थतन्त्रमा देखिएको केही संकुचन र बाह्य प्रभावले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको बताए । वार्षिक लक्ष्य जहिले पनि महत्त्वाकांक्षी हुने गरेकाले त्यसमा आफूहरूको कुनै गुनासो नभएको पनि उनले बताए । अघिल्ला महीनामा भन्दा फागुनमा राजस्व संकलनमा देखिएको सुधारले उत्साहित भएको महानिर्देशक मैनालीको भनाइ छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

युएईलाई हराएर सोझै विश्वकप छनोट खेल्न नेपाललाई मौका

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज अन्तर्गत अन्तिम खेलमा बिहीबार नेपाल र युएई खेल्नेछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिबार बिहान ९ः३० बजेबाट सुरू हुने खेल नेपालका लागि फाइनल सरह हो।युएई विरूद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर मा सोझै छनोट हुनेछ।

 पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाएयता नेपालका लागि यो सबैभन्दा ठूलो सफलतासमेत हुनेछ। एक महिना अगाडिसम्म एकदिवसीय अन्तर्राष्ट्रियु राष्ट्रको मान्यता जोगाउनसमेत मुस्किल रहेको नेपाल शीर्ष तीनमा रहेर टेष्ट राष्ट्र सम्मिलित विश्वकप क्वालिफायरमा छनोट हुन एक कदम पछि छ। 

कुल ७ टिम सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा छ। ३५ खेल खेलेको नेपालले १८ मा जित र १५ मा हारसहित ३८ अंक जोडेको छ। नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। यदि नेपाल विजयी भएमा ४० अंक हुनेछ। तर कुनै कारण खेल नतिजाविहीन हुँदै अंक बाँड्नुपर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।

वर्षा वा कुनै कारण खेलको नतिजा नआए पनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपालले गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ। त्यसैले नामिबियालाई उछिनेर तेस्रो स्थानमा उक्लँदै ग्लोबल छनोटमा प्रवेश पाउन नेपाललाई युएईविरूद्ध निश्चित जित आवश्यक पर्नेछ।यदि युएईसँग पराजित भएमा भने नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने एसोसियट राष्ट्रहरू सम्मिलित ‘क्वालिफायर प्लेअफ’ खेल्नुपर्ने हुन्छ। यता युएईलाई भने अब विश्वकप छनोट खेल्न प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ। ओडिआई मान्यता जोगाउन क्यानडा र जर्सीलाई पछि पार्नुपर्ने हुन्छ।

नेपाल र युएईबीच हेड टु हेड

हालसम्म नेपाल र युएईबीच १२ वटा ओडिआई खेल भएका छन्। जसमा समान ६ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा युएईलाई हराएको छ। पहिलो खेलमा युएईलाई नेपालले ७१ रनमा अल आउट गरेको थियो। जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा सकेटिएको थियो। पछिल्लो समय उच्च फर्ममा रहेको नेपालले खेलेका ११ मध्ये १० खेलमा जित हात पारेको छ। जसमध्ये युएईसँग खेलेका लिग २ का ५ खेलमध्ये २ वटामा मात्र जित हात पारेको छ।

नेपालको टोली

रोहित पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी

के हो क्वालिफायररु
 

आगामी वर्ष भारतमा हुने एक दिवसीय विश्वकप (ओडिआई) खेल्ने १० मध्ये अन्तिम २ टोली छानिने छनोट प्रतियोगिता हो– ग्लोबल क्वालिफायर।

क्वालिफायरमा १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट शीर्ष २ टोलीले  विश्वकप खेल्ने अवसर पाउनेछन्।

सहभागी टोलीहरू विभिन्न तीन माध्यमबाट छनोट हुनेछन्। सुपर लीगको पुछारका पाँच राष्ट्र, विश्वकप लीग–२ को शीर्ष तीन राष्ट्र र प्ले अफका शीर्ष दुई राष्ट्रले यो छनोट खेल खेल्नुपर्नेछ।

आइसीसीका पूर्ण सदस्य १२ टेस्ट खेल्ने राष्ट्र र विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्यान्ड्स सम्मिलित प्रतियोगिता हो–सुपर लिग। नेदरल्यान्ड्सले आइसीसी क्रिकेट विश्वकप लिग च्याम्पियनसिप जितेको आधारमा सुपर लिग खेल्ने अवसर पाएको हो।

यी १३ मध्ये घरेलु टोलीसहित शीर्ष आठ राष्ट्र सोझै विश्वकपमा छनोट हुनेछन् भने पुछारमा रहेको पाँच टोली क्वालिफायरमा झर्नेछन्।

आयोजक राष्ट्रको नाताले भारत स्वतः विश्वकपमा छानिएको छ भने अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तानसहित ७ राष्ट्र विश्वकपमा पुगिसकेका छन्।

यो लिगबाट अब श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डमध्ये एक टोलीले विश्वकपमा सोझै स्थान बनाउनेछ। बाँकी तीन टोलीसहित आयोजक जिम्बाब्वे र नेदरल्यान्ड्सले क्वालिफायर खेल्नुपर्नेछ।

यसमा लिग २ का शीर्ष तीन टोली स्टकल्याण्ड, ओमान र नेपाल तथा नामिबियामध्ये एक टोलीले प्रतिश्पर्धा गर्न पाउँछन्।  बाँकी २ टोली प्लेअफ क्वालिफायरबाट आउनेछन्।

छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउँछन्। सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन्। शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्। 

क्वालिफायर खेल्ने देशहरू
–    श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डमध्ये ३ राष्ट्र
–     जिम्बाब्वे
–     नेदरल्यान्ड्स
–    स्टकल्याण्ड
–     ओमान
–   नेपाल र नामिबियामध्ये एक
–    प्लेअफ क्वालिफायरबाट २ राष्ट्र

प्ले अफ क्वालिफायर
 

क्वालिफायर खेल्न पाउने अन्तिम मौका भनेको प्लेअफ क्वालिफायर हो। यसमा ६ राष्ट्रबीच प्रतिस्पर्धा हुन्छ। 

विश्वकप लीग– २ को सात मध्ये तालिकाको पुछारमा रहेका चार टोली र एसोसियट राष्ट्रहरूबीच खेलिएको च्यालेञ्ज लिगका शीर्ष दुई टोली यसमा सहभागी हुनेछन्।

लीग–२ बाट अमेरिका, यूएई र पपुवा न्यूगिनीको स्थान पक्का भइसकेको छ। अब नेपाल र नामिबियामध्ये एकको प्लेअफ खेल्न पाउनेछन्। युएईसँग पराजित भएमा नेपालले यो प्ले अफ खेल्नुपर्नेछ। र जितेमा नामिबियाले खेल्नुपर्नेछ। यसमा च्यालेञ्ज लिगबाट आएका न्यु जर्सी र क्यानडा हुनेछन्। प्ले अफको शीर्ष–२ मा पर्ने राष्ट्रले क्वालिफायर खेल्ने अर्को मौका पाउनेछन्। साथै, यी शीर्ष २ राष्ट्रले आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पनि पाउनेछन्। पहिले नै ओडिआई मान्यता पाएको देशले शीर्ष दुई स्थान हात पारेमा यसभन्दा तलका दुई टोलीले ओडिआई मान्यता पाउनेछन्। प्ले अफ क्वालिफायर खेल्ने अमेरिका र नेपाल या नामिबिया मध्ये एक टोलीले लिग २ बाटै ओडिआई मान्यता सुरक्षित गरिसकेका छन्। यी राष्ट्रहरू शीर्ष २ मा परे भने यसपछिका अन्य दुई राष्ट्रले ओडिआई पाउछन्।

प्लेअफ क्वालिफायर खेल्ने देशहरू
–     अमेरिका
–     यूएई 
–     पपुवा न्यूगिनी
–     नेपाल र नामिबिया मध्ये एक
–     न्यु जर्सी 
–     क्यानडा

ब्याजदरबिरुद्धको आन्दोलनः उद्योग बाणिज्य महासंघले फिर्ता लिएपनि ब्यावसायीले नरोक्ने

काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्विकार गर्दै बैंक तथा बित्तिय संस्थाबिरुद्धको आन्दोलनलाई नरोकिने भएको छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन । 

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरे पछि उद्योग बाणिज्य महासंघले बैंक तथा बित्तिय संस्थाको ब्याजदर बिरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो  तर महासंघले फिर्ता लिएको जनाएपनि ४२ वटा ब्यापार संगठन आबद्ध बैंकको ब्यादर बिरुद्ध मुल संघर्ष समितिले भने ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् । 

‘बैक तथा बित्तिय क्षेत्रले केही महिना अघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखी १८  प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको’ उल्लेख गर्दैै बैकिङ आतंक बिरुद्ध आन्दोलन जारी रहने जनाएका हुन । संघर्ष समितिले उद्योगी ब्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघकाे निर्णय प्रति पनि आपत्ति जनाएका छन् ।

‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समुहले सम्पुर्ण उद्योग ब्यावसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहान्छौं, संघर्ष समितिको शान्तिपुर्ण बिरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं ।’ सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेकाे संयुक्त संघर्ष भनाइ छ ।  

मेलम्चीको विकल्पमा थप स्रोतको अध्ययन

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी सुनिश्चित गर्न मकवानपुरको सिस्नेरी, ललितपुरको ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी आपूर्ति गर्न योजना अगाडि बढाएको जानकारी दिए।

उनले भने “उपत्यकामा खानेपानी व्यवस्थापनलाई मेलम्चीमा मात्र भर पर्ने अवस्था छैन। भौगोलिक बनोट र बाढीपहिरोका कारण वा कुनै बेला सुरुङ मर्मत गर्नु पर्दा सो आयोजना बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउन खानेपानीको नयाँ विकल्प खोज्न आवश्यक देखिएको छ।” उपत्यकाको जनसङ्ख्या दिनदिनै बढ्दै गएकाले पनि खानेपानीको नयाँ विकल्पमा मन्त्रालयले काम सुरु गरेको उनको भनाइ छ।

गेलालका अनुसार सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने योजनाको सम्भाव्यता अध्ययन भई अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ। उपत्यका खानेपानी व्यवस्थापन बोर्डमार्फत सिस्नेरी खोला, खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी ल्याउन अध्ययन भइरहेको छ। साढे सात करोड रुपियाँको लागतमा बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) परामर्शदाताले आयोजनाको डीपीआर निर्माण गरिरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

मन्त्री नहुँदा दैनिक कामकाज नै प्रभावित

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा सत्तापक्षीय दलहरूबीच विवाद हुने डरले यतिबेला १६ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले लिएका छन् । जसका कारण अर्थ, गृह, शिक्षाजस्ता मन्त्रालय सुनसान छन् ।

पाँच मन्त्रीको भरमा सरकार चलेको छ । प्रधानमन्त्रीले मन्त्रीहरूलाई समेत मन्त्रालयहरूको थप जिम्मेवारी दिन कन्जुस्याइँ गरेका कारण यतिबेला १६ वटा मन्त्रालय अनिर्णयको बन्दी बन्न पुगेका छन् ।

प्रधानमन्त्रीसँग गृह, अर्थ, शिक्षा, वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र रक्षा मन्त्रालय रहेका छन् ।

मन्त्री दाहाल गत १० पुसमा प्रधानमन्त्री बनेका हुन् । त्यसपछि तीनवटा दलले सरकार छाडिसकेका छन् । उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने अवस्था छ । अर्थतन्त्र जटिल बन्दै गएको समयमा अर्थमन्त्रालयसहित १६ मन्त्रालय प्रधानमन्त्रीकै पोल्टामा छन् । अर्थतन्त्र संकुचन भएकाले मन्त्रिपरिषद्ले मन्त्री तथा उच्चपदस्थ कर्मचारीलाई अति आवश्यकबाहेकको अवस्थामा विदेश भ्रमण गर्नसमेत रोक लगाउनुपर्ने परिस्थिति बनेको छ ।

चालू आर्थिक वर्ष २०७९÷८० को आठ महिना बित्दासम्म कुल राजस्व संकलन निकै कमजोर अवस्थामा छ । ४३ दशमलव ५३ प्रतिशत मात्र प्रगति भएको छ, जबकि अबको चार महिनामा ५६ दशमलव ५३ प्रतिशत राजस्व संकलन गर्न असम्भव नै देखिने अर्थविद बताउँछन् । यो जटिल परिस्थितिमा दलहरूको ध्यान सत्ताको खेलमा मात्र केन्द्रित भएको देखिन्छ । यो समाचार राजधानी दैनिकमा छ ।

‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङको पद धरापमा

काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङको अयोग्यताको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले अयोग्य घोषित गर्न माग गरिएको अन्तरिम आदेश अस्वीकार गरे पनि मुद्दालाई समय तोकेर अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको हो । अदालतको आदेशसँगै मनाङेको प्रदेश सभा सदस्यको पदको न्यायिक परीक्षण हुने निश्चित भएको छ । पदीय हैसियत धरापमा परेको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको इजलासले अन्तरिम आदेश भने अस्वीकार गरेको छ । अन्तिम सुनुवाइकै क्रममा न्याय निरूपण उचित रहेको भन्दै अदालतले अन्तरिम अस्वीकार गरेको हो तर मुद्दामा लिखित जवाफ माग गर्ने र अन्तिम सुनुवाइका लागि पेस गर्ने समय निर्धारण गरेको छ ।

अदालतले मनाङेबारे तत्कालीन पुनरावेदन अदालतले गरेको फैसलामा पुनरावेदन परे वा नपरेको जानकारीसहितको मिसिल पेस गर्न पनि आदेश गरेको छ । संवैधानिक इजलासको आदेशमा भनिएको छ, “प्रत्यार्थी राजीव गुरुङउपर चलेको ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर यस अदालतमा कुनै निवेदन वा पुनरावेदन परेको भए सोसम्बन्धी मिसिल अवलोकनार्थ साथै राखी पेस गर्नू ।”

अदालतले बाटाका म्यादबाहेक सात दिनभित्र लिखित पेस गर्न आदेश गरेको छ । साथै लिखित जवाफ परेपछि वा पर्ने अवधि समाप्त भएको दुई हप्ताभित्र पेसी तोक्न पनि इजलासले आदेश गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मोर्चा बनाएर तेस्रो शक्ति बन्ने कसरत

काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गृहकार्यमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) जुटेका हुन्। हाललाई समाजवादी मोर्चा बनाएर अघि बढ्न खोजेका यी दलबीच भविष्यमा एकतासमेत हुन सक्ने बताइएको छ। उनीहरूले यसलाई राजनीतिमा तेस्रो धारको रूपमा पनि परिभाषित गर्न खोजेका छन्।

तीन दलको मोर्चा बने संसद्मा यो तेस्रो शक्ति बन्नेछ। यो शक्तिलाई हातमा नलिई कसैले पनि सरकार बनाउन नसक्ने अवस्था सिर्जना गर्न मोर्चा बनाउन लागिएको नेकपा एसका एक नेताले बताए। प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेकपा एसका १० र जसपाका १२ सांसद छन्। यी तीन दलको मोर्चा बने सांसदको यो संख्या ४४ पुग्नेछ। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसका ८९ र दोस्रो ठुलो एमालेका ७८ सांसद छन्। ‘तेस्रो धार निर्माण गरेर कांग्रेसलाई पनि यो धार बाहिर रहेर सरकार बनाउन नसक्ने र एमालेलाई पनि सरकार बनाउन कठिन बनाउने उद्देश्य राखिएको छ,’ स्रोतले भन्यो।

सत्ता गठबन्धनभित्रै रहेका जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले कार्यगत मोर्चा बनाएका छन्। उक्त मोर्चाबाट डराएका जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाका लागि आफू तयार भएको संकेत गरेपछि माओवादी केन्द्र र नेकपा एस त्यसतर्फ अग्रसर भएका हुन्। नेकपा एसका प्रवक्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संसद्मा तेस्रो शक्तिका रूपमा उपस्थित हुन समाजवादी मोर्चा निर्माणको पहल भइरहेको पुष्टि गरे। ‘संसद्मा बलियो तेस्रो शक्तिको आवश्यकता महसुस भएको छ, यसबारे विभिन्न दलसँग कुराकानी भइरहेको छ,’ उनले भने।

माओवादी केन्द्रले यसअघि नै यस्तो प्रस्ताव गरेको थियो तर जसपा र नेकपा एस राजी नभएपछि त्यो प्रस्ताव अघि बढ्न सकेको थियो। अहिले आएर नेकपा एस र जसपा सकारात्मक बनेपछि गृहकार्य अघि बढाइएको हो। केही दिनअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै समाजवादी केन्द्र निर्माण हुने र त्यसको घोषणाको तयारी भइरहेको बताएका थिए। त्यसलगत्तै नेताहरूले संसद्मा वैकल्पिक धार निर्माणको तयारी थालेका हुन्। उनीहरू संसद्को अंक गणितलाई समेत ध्यान दिएर अघि बढिरहेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

बढयो दूधको मुल्य, उपभोक्तालाई अब ९० देखी १३० रुपैयाँसम्म

काठमाडौं, २ चैत । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज देखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ ।

D संस्थानले बिहिवार देखी लागु हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मुल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मुल्य बढाई सकेका छन् ।  

‘मन्त्रिपरिषदले निर्णय अनुसार बृद्धी भएको मुल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको छ भने बिहिवार (आज) वाट उपभोक्ताले नयाँ मुल्य अनुसारको दुध पाउनेछन,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने ।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ । यसअघि सो दुधको मुल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा विक्रि गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाईएको छ । जसअनुसार अब देखी हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ । 

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैया बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।  

आज समानुपातिका सांसद सिफारिस गर्दै जसपा

काठमाडौं, २ चैत । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदबारे निर्णय गर्न बिहीबार बैठक बोलाएको छ। 

बिहीबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्नेछ। बैठक पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ बजे बस्ने छ। 

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। सोही  रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको  प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

सो निर्णयसँगै पार्टीको तर्फवाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ । 

जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्। 

तेस्रो जीतका लागि नेपाल युएईसँग आज भिडदै

काठमाडाै, २ चैत । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ ।

त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा बिहान देखी सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुन: युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रदैछ । 

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका थिए । सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो । घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।

लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुन: युएईसँग भिडन लागेको हो ।

सामान्य प्रशासन मन्त्रालयको कर्मचारी विवरण बुझाउन आग्रह

काठमाडौं, १ चैत – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । 

मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरूलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको हो । 

मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित उक्त परिपत्रमा भनिएको छ, ‘मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचनाबमोजिम कर्मचारीको पदपूर्ति सम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ ।’

उक्त परिपत्रमार्फत मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरणसमेत माग गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

धनगढी, १ चैत – सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ ।

विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए ।

रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा आन्तरिक विवादका कारण बुधबार मनोनयन दर्ता हुन नसकेको हो ।

अब सम्बन्धित क्याम्पसको निर्वाचन समितिले एक महिनाभित्र निर्वाचनका लागि अर्को मिति तय गर्न सक्ने रजिष्ट्रार पाठकले बताए । उनका अनुसार विश्वविद्यालयका अन्य १० वटा आंगिक क्याम्पसमा भने मनोनयन दर्ता भएको छ । साथै कुनै क्याम्पसहरुमा एकल तथा कुनै क्याम्पसमा तालमेल गरेर संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अगामी चैत ८ गते स्ववियु निर्वाचन हुँदैछ ।

महोत्तरीको बल्वामा आगलागी हुँदा एक जनाको मृत्यु, एक जना घाइते

महोत्तरी, १ चैत – महोत्तरीको वल्वा स्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ५० बर्षिय चन्दनदेवि र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी  घाइते भएका दुवै जनालाइ स्थानिय र प्रहरीले तत्काल उदार गरि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए ।

घाइते मध्य चन्दन देविको उपचारको क्रममा मृत्यु भएको छ भने जयकरण यादवलाइ थप उपचारको लागी काठमाडौं लगिएको छ ।

रामसागर यादवको घरको भान्सावाट एक्कासी लागेको  आगलागीवाट उन्को झण्डै ८० हजार बरावरको क्षती समेत भएको छ । यादवको भित्र राखेको भाडाकुडा र लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

२०८२ सम्म राइनासलाई बालमैत्री वडा घोषणा गरिने

लमजुङ, १ चैत – लमजुङको राइनास नगरपालिकालाई आगामी तिन वर्ष भित्रमा बालमैत्री नगर घोषणा गरिने भएको छ । 

नगरपालिकाले तिनवर्षमा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गरी २०८२ फागुन मसान्त सम्ममा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने जनाएको छ । 

नगरपालिकाले सोको लागि कार्यविधी निमार्ण गरी नगरसभाबाट पारितसमेत गरिसकेको छ । 

 १० वटा वडा रहेको राइनास नगरपालिकाका सवै वडामा बालमैत्री स्थानीय शासनका आवश्यक सुचक पुरा गरी प्रत्येक वडा र नगरलाई बाल मैत्री घोषणा गर्न नगरसभामा सहभागि जनप्रतिनिधि तथा सरोकारबालाहरूले प्रतिवद्धता जनाएका हुन् । 

नगरपालिकालाई बालमैत्री वनाउने सम्वन्धमा चालु आर्थिक वर्षबाट आवश्यक पूर्वाधार तथा कार्यविधि निमार्णसँगै अभिमुखिकरणका काम थालेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । 

नगरपालिकाले यसअघि नगरस्तरिय बालक्लव सञ्जाल गठनसँगै स्थानीय बालमैत्री शासन सञ्चालन प्रक्रिया सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरिसकेको छ । 

चैत्र मसान्तसम्म बालबालिकाको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसस्था, विज्ञ सहितको सहभागितामा स्थानीय बाल अधिकार समिति गठन गर्ने नगरपालिकाले जनाएको छ ।

बालमैत्री नगर घोषणाको लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन सँगै स्रोत साधन परिचालन गर्ने राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनालले बताए । 

नगरपालिकाका प्रमुख खड्गवहादुर गुरुङले बालमैत्री नगरपालिका घोषणाको लागि पालिका एक्लैको प्रयासले नहुने भन्दै सम्वन्धित संघसस्था, सरोकारबाला निकाय र नगरबासी सवैको साथ र सहयोगको आवश्यक पर्ने बताए  । 

बालमैत्री नगर घोषणामा केही चुनौती भएपनि बालबालिकाको अधिकार सुरक्षित र प्रत्याभूत गराउने कुरामा नगरपालिका प्रतिवद्ध रहेको नगरप्रमुख गुरुङको भनाई छ । 
 

बिहीबार बस्नेगरि सकियो सत्ता गठबन्धन दलको बैठक, के बिषयमा भयो छलफल ?

काठमाडौं, १ चैत – सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो । 

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको एक नेताले बताए ।

उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको बताइएको छ ।

वाल्मीकी आश्रम त्रिवेणी धाममा बृहत् रामायण ज्ञान महायज्ञ हुने

चितवन, १ चैत – चितवनको माणीस्थित वाल्मीकि आश्रममा रामायण ज्ञान महायज्ञ हुने भएको छ । आश्रमको प्रचारप्रसार र धार्मिक जागरणका लागि ज्ञान महायज्ञ हुने आयोजकले जनाएको छ । 

धार्मिक पर्यटकीय स्थल वाल्मीकि आश्रमको प्रचारप्रसारको लागि रामायण ज्ञान महायज्ञ सञ्चालन गर्न यसपुर्व नै सर्वपक्षीय भेला सम्पन्न भैसकेको विश्व सनातन धर्म पुनर्स्थापना जिल्ला समिति विनयी त्रिवेणीले जनाएको हो ।

भेलामा विश्व सनातन धर्म पुनर्स्थापना मूल समिति काठमाडौका अध्यक्ष दीपक रायमाझीले मर्यादा पुरुषोत्तम श्रीराम तथा जगत जननी सिताको धर्ती प्रवेश स्थल रहेको वाल्मीकि आश्रममा नै भगवान राम पुत्र लव, कुशको जन्मथलो भएर पनि आश्रम ओझेलमा परेबाट रामायण ज्ञान महायज्ञको आयोजना गरिएको बताए ।

त्रेता युगमा भगवान रामले जगत जननी सीतालाई त्याग पछि वाल्मीकि आश्रममै जीवन बिताउँदै भगवान राम पुत्र लव, कुशको जन्म र शिक्षादीक्षा प्राप्त गरेको धार्मिक भनाइ रहेको छ । हाल यो स्थल ओझेल र राज्यको नजर नपुगेको मानिन्छ । २०५४ साल चैत्रमा राम नवमीको अवसर पारि सीता माताको मन्दिर शिलान्यास गरी २०५६ साल चैत्र ३० गते धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा पछि हालसम्म पनि राम नवमीमा वार्षिक पूजाआजाको कार्यक्रम हुँदै आएको मूल समितिका कोषाध्यक्ष कमल उपाध्यायले जानकारी दिए ।

मूल समिति काठमाडौंका उपाध्यक्ष यमराज थानीले वाल्मीकि आश्रमलाई गुरु योजना अनुसार सुरक्षा र विकास गर्न आउँदो चैत्र ८ गतेदेखि १६ गतेसम्म रामायण ज्ञान महायज्ञ गरिने जानकारी दिँदै आश्रममा देखा परेको विद्यमान समस्या खानेपानी, शौचालय, बाटोघाटो, विधुत तथा अन्य पुर्वधार तयार पार्न स्थानीय सरकारलाई पनि अनुरोध गरिएको बताए।

विश्व सनातन धर्म पुनर्स्थापना मूल समितिको मुख्य एजेन्डा मध्ये एक आश्रम पुग्न झोलुङ्गे पुलको निर्माण भइसकेकोले अन्य पुर्वधार पूरा नभएको अवस्थामा मूल समिति र जिल्ला उपसमितिको सक्रियता बढ्दै जानुलाइ आश्रममा हुने विकास र धार्मिक चेतनाको अभिवृद्धि भएको पाइन थालेको छ ।

नक्कली लाइसेन्स बनाउने एक जना पक्राउ

काठमाडौं, १ चैत – नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा वीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-२५ बस्‍ने २४ वर्षीय पारस साह तुराह रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ‘ई’ वर्गको सवारी चालक अनुमती पत्र बरामद गरेको छ । पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

साहले ‘ई’ वर्गको सवारी चालक अनुमती पत्र लाई ए, बी, र सी वर्गको नक्कली सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आएको प्रहरीको आरोप छ ।

तल्लो लिखुलाई वन क्षेत्र उपयोग गर्न दिने सरकारको निर्णय

काठमाडौं, १ चैत । सरकारले तल्लो लिखु जलविद्युत् आयोजनालाई वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको छ । 

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको जानकारी दिइन् । 
 

बालिका बलात्कार प्रयास गरेको अभियोगमा अछामबाट दुई जना पक्राउ

धनगढी, १ फागुन – अछाममा बालिका बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको छ ।

जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका दुई जनालाई बालिकामाथि जवरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

२८ फागुनमा बयालपाटा अस्पतालमा उपचार गर्न आएकी पञ्चदेवल बिनायक नगरपालिकाकी १४ र १७ वर्षीया दुई दिदीबहिनीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अटो चालकहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौं, १ चैत । सरकारले उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको जानकारी दिइन् । 

पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिएको थियो । उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गर्ने निर्णय परिएको हो । 
 

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

जाजरकोट, १ चैत – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जाजरकोटको कुशे गाँउपालिका-८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैकिंग कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो ।

सोही आधारमा जाजरकोट प्रहरीले सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका रोकायालाई आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक सन्तोष रोका मगरले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । 

सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको कांग्रे केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् । 

यसका लागि प्रधानमन्त्री प्रचण्डले तयारी थालेका छन् । महतका अनुसार चैत ६÷७ गतेतिर विश्वासको मत लिने कुरा रहे पनि प्रधानमन्त्री स्वयंको निर्णयमा मिति तय हुनेछ । 

सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो । कांग्रेसले कति मन्त्रालय पाउने र कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुंगिनसकेको उनको भनाइ छ । 
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौ, १ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
आज पनि अमेरिकी डलर करिब एक रुपैयाँले वृद्धि भएको छ।   राष्ट्र बैंकका अनुसार आजको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ। 
यसअघि मंगलबार भने यसको खरिदमूल्य १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो ।

बुधबारका लागि एक युरोको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ २२ पैसाले बढेको हो साथै मंगलबार ४८ पैसाले र सोमबार ७५ पैसाले वृद्धि भएको थियो । मंगलबार यसको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २ रुपैयाँले बढेको छ । मंगलबार उक्त पाउण्डको खरिदमूल्य १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा कायम गरिएको थियो । 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४६ पैसामा पाइन्छ।

उता, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७ पैसा र बिक्रीमा ३५ रुपैयाँमा २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर, ३५ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा ताेकेका छ भने मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३५ पैसा र बिक्रीमा २९ रुपैयाँ ४८ पैसामा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ १८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ १४ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसामा किनबेच हुनेछ ।

३२ राष्ट्रले मात्रै खेल्दै आएको विश्वकप फुटबल अबदेखी ४८ राष्ट्रले खेल्ने

काठमाडौं, १ चैत । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रलेले सहभागिता जनाउने भएका छन्। 

फिफा काउन्सिलको गएराती बसेको बैठकको निर्णय अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुरयाउने निर्णय गरेको हो, जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन । यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता हुदैँ आएको थियो ।

रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। जसअनुसार हरेक समूहमा ४ टोली हुने छन् भने समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन्। यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन्। जसअनुसार २०२६ को विश्वकपमा अब कुल १०४ खेल हुनेछ।

२०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

शहीद स्मारक ए डिभिजन लिगः बुधवार दुई खेल हुदैँ 

काठमाडौं, १ चैत । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधवार दुई खेलहरू हुनेछन् ।

च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । 

उता, रङ्गशालामान्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

एकदिवसीय क्रिकेट बरियतामा नेपाल तीन स्थान माथी उक्लियो

काठमाडौं, १ चैत । नेपालले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ। 

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार राती सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथी उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेकाे छ ।  जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथी अर्थात १५ औं स्थानमा छ।

नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा छ भने दा अस्ट्रेलिया दोस्रो स्थानमा छ। 

झापामा भन्सार छली ल्याईएका अबैध कुखुरा नष्ट 

झापा, चैत १ । विभिन्न स्थानबाट भारततर्फबाट नेपाल ल्याइएको कुखुरा बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–र ४ बाट भन्सार छली गरी ल्याएको ८० केजी ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको हो । प्रहरीका अनुसार अन्दाजी २४ हजार मूल्य बराबरको कुखुरा नियन्त्रणमा लिएको छ ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका– ५ बाट अन्दाजी २० हजार रुपैयाँ मूल्य बराबरको रैथाने र बोइलर कुखुरा नियन्त्रणमा लिएको हो ।

यसरी नियन्त्रणमा लिइएका कुखुरा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख मुकेशकुमार सिंहको उपस्थितिमा खाल्डो खनेर नष्ट गरिएकाे छ।

सिकारीको बन्दुक पडकिदा एक किशोरको मृत्यु

सल्यान, १ चैत । सिकारीको भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु भएको छ । 

बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको गोलि लागेर मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा गोलि लागेर घाइते भएका चित्र बहादुर घाइते हुन पुगेका थिए । जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लिदै गर्दा बाटोमै मृत्यु भएको हाे ।

गोली प्रहार गर्ने आइते लाइ प्रहरी पक्राउ गरेको छ ।

यस्ताे छ बुधवारकाे हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, १ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २४ रुपैया, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १४० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५०  रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ तथा ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी ११० रुपैया केजी र हरियो धनिया ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३०० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

डोटीको बोगटान फुड्सिल बन्यो साक्षर पालिका

डोटी, १ चैत – डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ।

पालिकाका भित्र रहेका सात वटा वडालाई साक्षर घोषणा गरिएसँगै मङ्गलवार एक कार्यक्रमका बिच पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो।

मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले पालिकालाई साक्षर घोषणा गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समन्वय प्रमुख सिंहले यसलाई दिगो व्यवस्थापन तर्फ पालिकाले विशेष ध्यान दिनु पर्ने बताए।

बोगटान फुड्सिल गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए।

गाउँपालिका अन्तरगत वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदार अखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७.२ प्रतिशत साक्षर दर रहेको छ। त्यसै गरी वडा नम्बर ५ धिकांमाण्डौको ९६.८, वडा नम्बर ६ गगुडाको ९७.४ ५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको पालिकाले जनाएको छ।

आज देखी घटयो बाणिज्य बैंक, बिकास बैंक र फाइनान्सको ब्याजदर, कुनमा कति घटयो ?

काठमाडौं / वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएकाे ब्याजदर आज देखी लागु भएकाे छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, बिकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधवारवाट लागु भएकाे हाे ।

चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए । ‘सबै संस्थाको निर्णय अनुसार चैत १ गते देखी लागु हुने गरी ब्याजदर घटेकाे छ’ उनले भने । 

जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ । यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन भने यसअघि साधारण बचतमा न्यूनतम ६ ४२ देखि अधिकतम ८४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो भने मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्। 

संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ ।

यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ।

यसैगरी, चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर दिनेछन् ।

उता, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ। 

सङ्घले तीन महिना माथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरे अनुसार चैत १ गते देखी लागु हुने गरी ब्याजदर घटाएको हो ।

फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम भएकाे छ ।

महिलामाथि बलात्कार  गरेको कसुरमा एक युवकलाई सात वर्ष कैद

काठमाडौं, १ चैत – सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई मंगलबार सात वर्ष कैद सजाय भएको छ। 

सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय गरेको अदालतले जनाएको छ। आरोपितलाई सात वर्ष कैदका साथै पीडितका लागि ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा एक हजार तीन सय जम्मा गर्नुपर्ने फैसला भएको सप्तरी  अदालतले जनाएको छ।

तीनवर्ष अघि नै अदालतमा दर्ता भएको अभियोगको ३३औं पटकको पेशीमा फैसला भएको हो। आरोपितले २०७६ असोज ३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७६ असोज ६ गते उजुरी दिएका थिए। पीडितका अनुसार पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले बलात्कार गरेका थिए।

आरोपित २०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

सबै बैंकले ब्याजदर घटाउदा स्टान्डर्ड चार्टडले घटाएन

काठमाडौं, १ चैत । नेपालका सबै बैंकहरुले ब्याजदर घटाउँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाउन आनाकानी गरेको छ ।

सो बैंकले फागुन महिनामै कायम ब्याजदलाई निरन्तरता दिँदै चैत्र १ गतेदेखि लागु हुनेगरी सुचना सार्वजनिक गरेको छ ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको थियो । अन्य वाणिज्य बैंकहरुले सोहि अनुरुपमा नयाँ ब्याजदर सार्वजनिक गरेपनि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने पुरानै ब्याजदरलाई निरन्तरता दिएको हो । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६ंं.४२ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ  भने  मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकेर सुचना सार्वजनिक गरेको छ  । साे  बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज प्रदान गर्ने जनाएको छ । 

अन्य बैंकहरुले बचत खाताको न्यूनतम ब्याजदर ६.४२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको भएतापनि स्ट्यान्डर्ड चार्टर्डले भने बचत खातामा न्यूनताम ६.४२ प्रतिशत नै ब्याज नै कायम राखेर सुचना निकालेकाे छ ।

यसैगरी, साे बैंकले कर्जामा पनि आधारदरमा ५.७५ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ जबकी तर नेपाल बैंकर्स सङ्घले आधारदरमा अधिकतम पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्ने निर्णय गरेको थियो । 

बस्तीमा बालबालिकाले फेला पारेको मृगको उद्धार

नुवाकोट, १ चैत – विदुर नगरपालिका-२ शिवालयटोलमा फेला परेको मृगको उद्धार गरिएको छ। बालबालिकाले फेला पारेको मृग डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको हो। 

बस्तीमा मृग देखेपछि स्थानीयले वन कर्मचारीलाई खबर गरेका थिए। वनको टोलीले उद्धार गरी सुरक्षित बासस्थानमा छोडेको डिएफओ दीर्घनारायण कोइरालाले जानकारी दिए।

उक्त मृगलाई वनदेवी सामुदायिक वनको मन्दिरभन्दा माथि बाक्लो जंगलमा छाडिएको बताइएको छ।

स्युवियु निर्वाचनः पाँचथरका सबै क्याम्पसमा निर्बिराेध निर्वाचित

पाँचथर, १ चैत । पाँचथर जिल्लाका चारवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन् ।सदरमुकामको पाँचथर बहुमुखी क्याम्पस, कुम्मायकको यासोक क्याम्पस, मिक्लाजुङको रवि क्याम्पस र याङवरकको थर्पु क्याम्पसमा स्ववियुका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृतहरुका अनुसार जिल्लाका चारमध्ये सदरमुकामको पाँचथर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, दुईवटामा अनेरास्ववियु र एउटा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले स्ववियु अध्यक्षको नेतृत्व पाएका छन् ।सबै पदमा एकल उम्मेदवारी दर्ता हुनुका साथै दर्ता भएका उम्मेदवारमाथि दाबी विरोध नपरेकाले स्वतः निर्विरोध निर्वाचित भएको सूचना टाँस गरिएको पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुंगानाले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र संघीय विद्यार्थी युनियनका नेतृत्वले भागबण्डा गरेर क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदवारी दर्ता गराए पछि निर्बिराेध निर्वाचित भएका हुन । 

१२ बर्ष पछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं, १ चैत ।  इटालियन क्लब इन्टर मिलान १२ बर्ष पछि युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको इन्टर मिलान १२ बर्ष पछि क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो ।

सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्ने सम्भावना कायमै छ भने यसअघि नै बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलम पुगिसकेका छन् ।

हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी क्वाटरफाइनलमा

काठमाडौं, १ चैत । इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

प्रि–क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरले सिटी क्वाटर अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदान इतिहादमा गएराती भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले  थप एक एक गोल गरेर सिटीलाइ याे लिगकै सानदार जीत निकाले ।

इतिहाद स्टेडियममा मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको २२औं मिनेटमा हालान्डको पेनाल्टीबाट अग्रता लिएको थियो । दुई मिनेटपछि अर्थात २४ औं मिनेटमा नै हालान्डले केभिन डि ब्रुएनाको पासमा दोस्रो, पहिलो हाफको इन्ज्युरी समय अर्थात ४९औं मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा हल्यान्डले हयाट्रिक गरे ।

 हल्यान्डकाे गाेलकाे गति यतिमा नै रोकिएनन दोस्रो हाफको सुरुवाती ५३औं मिनेटमा म्यानुएल एकान्जीको पासमा, ५७औं मिनेटमा ले एकान्जीकै पासमा थप गोल गरेर एउटै खेलमा हल्यान्डले लगातार ५ गोल गरेर किर्तिमानी कायम गर्न सफल भए । 

योसँगै एउटै खेलमा पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए ।

यसैगरी, सिटीबाट एकै सिजन ३९ गोल गर्ने हालान्ड एक्ला खेलाडी पनि बनेका छन् ।