`

स्युवियु निर्वाचनः पाँचथरका सबै क्याम्पसमा निर्बिराेध निर्वाचित

पाँचथर, १ चैत । पाँचथर जिल्लाका चारवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन् ।सदरमुकामको पाँचथर बहुमुखी क्याम्पस, कुम्मायकको यासोक क्याम्पस, मिक्लाजुङको रवि क्याम्पस र याङवरकको थर्पु क्याम्पसमा स्ववियुका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृतहरुका अनुसार जिल्लाका चारमध्ये सदरमुकामको पाँचथर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, दुईवटामा अनेरास्ववियु र एउटा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले स्ववियु अध्यक्षको नेतृत्व पाएका छन् ।सबै पदमा एकल उम्मेदवारी दर्ता हुनुका साथै दर्ता भएका उम्मेदवारमाथि दाबी विरोध नपरेकाले स्वतः निर्विरोध निर्वाचित भएको सूचना टाँस गरिएको पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुंगानाले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र संघीय विद्यार्थी युनियनका नेतृत्वले भागबण्डा गरेर क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदवारी दर्ता गराए पछि निर्बिराेध निर्वाचित भएका हुन । 

१२ बर्ष पछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं, १ चैत ।  इटालियन क्लब इन्टर मिलान १२ बर्ष पछि युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको इन्टर मिलान १२ बर्ष पछि क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो ।

सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्ने सम्भावना कायमै छ भने यसअघि नै बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलम पुगिसकेका छन् ।

हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी क्वाटरफाइनलमा

काठमाडौं, १ चैत । इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

प्रि–क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरले सिटी क्वाटर अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदान इतिहादमा गएराती भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले  थप एक एक गोल गरेर सिटीलाइ याे लिगकै सानदार जीत निकाले ।

इतिहाद स्टेडियममा मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको २२औं मिनेटमा हालान्डको पेनाल्टीबाट अग्रता लिएको थियो । दुई मिनेटपछि अर्थात २४ औं मिनेटमा नै हालान्डले केभिन डि ब्रुएनाको पासमा दोस्रो, पहिलो हाफको इन्ज्युरी समय अर्थात ४९औं मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा हल्यान्डले हयाट्रिक गरे ।

 हल्यान्डकाे गाेलकाे गति यतिमा नै रोकिएनन दोस्रो हाफको सुरुवाती ५३औं मिनेटमा म्यानुएल एकान्जीको पासमा, ५७औं मिनेटमा ले एकान्जीकै पासमा थप गोल गरेर एउटै खेलमा हल्यान्डले लगातार ५ गोल गरेर किर्तिमानी कायम गर्न सफल भए । 

योसँगै एउटै खेलमा पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए ।

यसैगरी, सिटीबाट एकै सिजन ३९ गोल गर्ने हालान्ड एक्ला खेलाडी पनि बनेका छन् ।
 

रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा

काठमाडौं, १ चैत । क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दै अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो । 

मंगलबार राति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै क्लबलाई १–० को अग्रता दिलाए । 

 २१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले अर्को गोल गरेपछि अल नासर पहिलो हाफमा नै २–० को अन्तरले अग्रता लियो । 

पहिलो हाफको ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर जिततर्फ अग्रसर बन्यो  तर ६९औं मिनेटमा अभाका अब्देल फटाह एडामले जवाफी गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

त्यसपछि गोल हुन नसके पनि अल नासरले ३–१ को जीत हासिल गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न पुग्यो । 

सोलर बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाइयो

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाएको करिब एक महिनापछि सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाएको छ । कामपाले ७ वर्षअघिको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भन्दै सो होर्डिङ बोर्ड हटाएको जनाएको छ ।

कामपा राजस्व विभागले शहरलाई कुरूप हुन नदिन होर्डिङ बोर्ड हटाएको जनाएको छ । करिब एक महिनाअघि दरबारमार्गको सडकमा राखेको पार्किङ हटाएपछि आन्दोलित भएका त्यहाँका व्यापारी मंगलबार विज्ञापन हटाएपछि थप आक्रोशित भएका छन्।

सोलारबत्तीको पोलको प्रचार समग्री हटाउन खोज्दा विवाद भएको थियो । तर, कामपा प्रहरीले आदेश पालना गर्नुपर्ने जनाउँदै सबै पोलबाट प्रचार सामग्री हटाएको थियो। सर्वोच्चले २०७२ भदौ १६ गते सबै शहरको सौन्दर्य कायम गर्न पोल, पर्खाललगायत सबै क्षेत्रबाट सबै प्रकारका पोस्टर, पम्प्लेट, बोर्ड, पचलगायतका वातावरणमा प्रत्यक्ष असर गर्ने सामाग्री नराख्न आदेश दिएको थियो ।

कामपा नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले सर्वोच्चको आदेशअनुसार सोलार बत्तीको पोलमाथि राखिएको बोर्ड हटाइएको जानकारी दिए । उनले भने, ‘ुशहरलाई कुरूप हुन नदिन र वातावरण स्वच्छता कायम गर्न बोर्ड हटाएका हौं।’

कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख महेश काफ्लेले दरबारमार्ग विकास बोर्डले एक वर्षदेखि नवीकरण नगरी बिजुलीको पोलमा प्रचार सामग्री राखेको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

उपराष्ट्रपति निर्वाचनः गए राती देखी मौन अबधी सुरु

काठमाडौं। उपराष्ट्रपति मंगलबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवाको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन । 

यसैगरी यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित र हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न पनि नपाइने आयोगले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट प्रमिला कुमारी यादव र रामसहाय प्रसाद यादव तथा जनमत पार्टीबाट ममता झासहित चार जना उम्मेदवार रहेका छन् । 

प्रमिलाले भने आफूले उम्मेदवारी फिर्ता गर्दै आफनै पार्टीका जसपाका आधिकारिक उम्मेदवार रामसहायलाई सघाउने घोषणा गरिसकेको भए पनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकाले आयोगकाे रेकर्डमा भने उम्मेदवारी कायमै रहेको छ ।

उपराष्ट्रपतिको निर्वाचन शुक्रवार हुदैँछ । 

यस्तो छ भारत र नेपालमा मुद्रास्फीतिको अन्तर

काठमाडौं – हालैका महीनामा भारतमा थोक महंगी दर ओरालो लागिरहेको छ । फेब्रुअरीमा समेत यो क्रमले निरन्तरता पाएको त्यहाँको वाणिज्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।तथ्यांकअनुसार जनवरीमा ४ दशमलव ७३ प्रतिशत रहेको थोक मूल्यमा आधारित मुद्रास्फीति सूचकांक (डब्ल्यूपीआई) फेब्रुअरीमा ३ दशमलव ८५ प्रतिशतमा ओर्लिएको छ ।

उक्त अवधिमा उक्त सूचक ४ प्रतिशत रहने अनुमान अर्थशास्त्रीहरूले गरेका थिए । कच्चा तेल र प्राकृतिक ग्यास, गैरखाद्य वस्तु, खाद्य वस्तु, खनिज, कम्प्युटर, इलेक्ट्रोनिक्स र अप्टिकल प्रडक्ट, केमिकल र केमिकल प्रडक्ट, इलेक्ट्रिकल उपकरण र सवारीसाधन आदिको भाउमा आएको कमीका कारण डब्ल्यूपीआई अपेक्षा गरिएभन्दा धेरै घटेको बताइएको छ ।

यससँगै डब्ल्यूपीआई घटेर २५ महीनायताकै न्यूनस्तरमा आइपगेको छ । नेपालमा पनि विगत २ महीनामा डब्ल्यूपीआई घट्दो क्रममा छ । माघमा थोक महँगी ९ दशमलव ६७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अघिल्लो महीना यो सूचकांक ९ दशमलव ८२ प्रतिशत थियो भने गतवर्षको सोही अवधिमा १० दशमलव ३४ प्रतिशत थियो । अर्थात् दुई देशमा डब्ल्यूपीआई दरमा भिन्नता यस अवधिमा क्रमशः ५ दशमलव शून्य ९, ५ दशमलव ८२ प्रतिशत र माइनस ३ दशमलव ११ प्रतिशत रहेको पाइन्छ ।

गत महीना भारतमा उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति अर्थात् सीपीआई अपेक्षाकृत धेरैले घट्यो । फेब्रुअरीमा सीपीआई ६ दशमलव ४४ प्रतिशतमा ओर्लिएको छ । सीपीआई अघिल्लो महीनाको तुलनामा घटेको भए पनि यो लगातार दोस्रो महीना ६ प्रतिशतभन्दा माथि छ । यसले अधिकांश श्रेणीमा वस्तु तथा सेवाको मूल्य उच्च नै छ भन्ने संकेत गरेको
छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

दस वर्षयताकै लामो खडेरी अन्त्य

काठमाडौँ । यस वर्षको मनसुनअघिको याम सुरु भएको छ । पूर्वमनसुन भनेर पनि चिनिने यस यामले नेपालमा मनसुन भिœयाउने वातावरण बनाउँछ । यससँगै नेपालमा परेको १० वर्षयताकै लामो खडेरी अन्त्य भएको छ ।

यसपालि गत असोजयता फागुनको मध्यमा मात्र वर्षा भएको थियो । त्यसयता वर्षाले केही दिनको अन्तरालमा निरन्तरता दिएको छ । यस वर्ष सुरुवातमै हल्कादेखि मध्यम वर्षा हुन थालेकाले मनसुनका लागि राम्रो सङ्केत गरेको छ तर यसको निरन्तरता सन्तोषजनक नरहेको अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

तथापि वर्तमान अवस्थामा मनसुनपूर्वको वर्षाले हिउँदमा नभएको वर्षाको तुलनामा राहत प्रदान गरेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मनसुनअघिको यामको सुरुवाती अवस्थामै देशका सबै भेगमा आलोपालो गरी हल्कादेखि मध्यम वर्षाको क्रम दोहोरिएको छ ।

सोमबारयताका लागि पनि वर्षाको हिसाबले पहाडी भेगलाई सुखद रहेको उहाँले बताउनुभयो । मनसुनमा नेपालको पूर्वी भेगबाट पूर्वीय जलवाष्पयुक्त वायुका कारण वर्षायाम भित्रन्छ । त्यो वायुले पश्चिमी वायुको जलवाष्पलाई पूर्ण रूपमा निस्तेज नपारेसम्म मनसुनपूर्वमा पश्चिमी वायुकै प्रभाव कायम रहन्छ ।

अहिले त्यही क्रममा पश्चिमी वायुको प्रभाव बलियो रहेकाले पनि देशका विभिन्न स्थानमा दोहोरिएर वर्षा भइरहेको हो । यो वर्षासँगै आउने तापक्रमको सापेक्षित आद्र्रताले नेपालमा गर्मी बढाउने मौसमविद् बताउनुहुन्छ । तराईमा हावाहुरी, वर्षाअघि मेघगर्जनसहित चट्याङ पर्ने क्रम मनसुन सुरु नभएसम्म जारी रहने गर्छ । मौसमविद् श्रेष्ठका अनुसार कर्णालीदेखि गण्डकी, बागमती हुँदै पूर्वी पहाडी भेगमा आउँदो दुई दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहन भनिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

माओवादी एकता प्रयासमा धक्का !

काठमाडौँ । विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए। दाहालविरुद्ध मुद्दा लगाएर द्वन्द्वकालीन घाउ ब्युँताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर प्रतिकार गर्ने उद्घोष गरेका थिए। तर संक्रमणकालीन न्यायबारे उनीहरूले मंगलबार गर्ने भनेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तक्र्रिया अचानक स्थगित भएको छ। कार्यक्रम समय र स्थान व्यवस्थापन हुन नसक्दा स्थगित भएको बताइए पनि माओवादीका विभिन्न घटकका नेताहरू नै आउन आनाकानी गरेपछि स्थगित गर्नुपरेको स्रोतको दाबी छ।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्तिसम्झौताबारे संयुक्त पत्रकार सम्मेलन, नागरिक अगुवा तथा बुद्धिजीविसँग छलफल र अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मंगलबारको कार्यक्रम तय भएको थियो। यसअघि माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा मोहन वैद्य, गोपाल किराती, धर्मेन्द्र बास्तोला अनुपस्थित भएका थिए। नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले स्थान र समय व्यवस्थापन गर्न नसकिएका कारण मंगलबारको अन्तरक्रिया कार्यक्रम स्थगित भएको बताए। स्रोतले भने एकआपसमा कुरा मिल्न नसक्दा अन्तक्र्रिया कार्यक्रम स्थगित भएको दाबी गर्दै यसले एकता प्रयासमा बाधा निम्त्याउन सक्ने बतायो। दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा परेपछि विभिन्न समूहमा विभक्त पूर्वमाओवादी नेताहरू एक ठाउँमा उभिने कसरतमा लागेका थिए। तर दुईवटा संयुक्त कार्यक्रम गर्न नपाउँदै उनीहरूको प्रयासमा धक्का पुगेको स्रोतले बतायो।

मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ। फागुन २३ गते बसेको माओवादीका आठ घटकको बैठकले शान्तिप्रक्रियालाई टुंगो लगाउने विस्तृत शान्तिसम्झौतालाई नै धरापमा पार्ने काम हुन थालेको भन्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। त्यसपछि २६ गते बसेको दोस्रो बैठकले संयुक्त पत्रकार सम्मेलन र संक्रमणकालीन न्यायका विषयमा नागरिक अगुवासँग अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो। तर संयुक्त पत्रकार सम्मेलनमा प्रस्तुत गरिने विज्ञप्तिको मस्यौदा भाषामा कुरा नमिलेपछि मोहन वैद्य, धर्मेन्द्र बास्तोला र गोपाल किराती अनुपस्थित भएका थिए।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा तयार मस्यौदालाई प्रधानमन्त्री दाहालले आफूअनुकूल बनाएपछि वैद्य, किराती र बास्तोला चिढिएका हुन्। ‘प्रधानमन्त्री दाहालले महराले बनाएको मस्यौदा संशोधन गरेको भन्दै उहाँहरू असन्तुष्ट हुनुहुन्छ,’ स्रोतले भन्यो। तर वैद्य, किराती र बास्तोलाले पत्रकार सम्मेलनमा अनुपस्थित हुनुको कारण खोलिसकेका छैनन्।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, बास्तोला नेतृत्वको नेकपा बहुमत र किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले मंगलबारका लागि तय गरिएको कार्यक्रममा पनि उपस्थित हुन नसक्ने जानकारी नेकपा माओवादी केन्द्रलाई गराएका थिए।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल सहभागी नभएको विषयमा पनि वैद्यलगायतले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ। पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेललगायतका नेता उपस्थित थिए। पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल, वैद्य, किराती र बास्तोला सहभागी नभएपछि त्यसको औचित्यमा प्रश्न उठेको बताइएको थियो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, १ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

बैठकमा आसन्न उपराष्ट्रपति निर्वाचन,  चितवन र तनहुँमा हुने उपनिर्वाचन, समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ । 
 

आजको मौसमः देशका पहाडी भु–भागमा बर्षा हुने

काठमाडौं, १ चैत ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।  

राती भने  देशको पहाडी भू(भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

उडिरहेको भारतीय विमानमा यात्रुको मृत्यु

उडानकै क्रममा विमानभित्र एक यात्रुको मृत्यु भएपछि भारतीय निजी वायुसेवाको एउटा विमानले पाकिस्तानमा आकस्मिक अवतरण गरेको छ।दिल्लीबाट सोमवार दोहाका लागि उडेको इन्डिगो विमानमा उक्त दुःखद घटना भएको थियो।

मृतक नाइजिरियाका नागरिक भएको बताइएको छ।विमानचालकले ती यात्रुले “सास फेर्न छोडेको र उनको नाडीको गति हराएको” जानकारी दिएपछि विमान कराचीतिर मोडिएको कराचीस्थित विमानस्थलले जनाएको छ।भारत र पाकिस्तानबीच प्रत्यक्ष हवाई उडान छैन।

कटु सम्बन्ध
भारत र पाकिस्तानबीच कटु सम्बन्ध छ। सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान भारतबाट विभाजित भएको थियो। त्यसपछि ती दुईबीच तीन पटक युद्ध भइसकेको छ।सन् २०१९ को जुलाईमा पाकिस्तानले गैरसैनिक उडानहरूका लागि पुनः आफ्नो हवाईक्षेत्र पूरा खोलिदिएको थियो।

भारतसँग तनाव चर्किएपछि पाँच महिनाका लागि पाकिस्तानले आफ्नो आकाशमा विमान उडाउन निषेध गरिदिएको थियो।

चार घण्टापछि दोहा उड्यो विमान
इन्डिगोको उक्त विमानमा १६३ यात्रुहरू थिए। सोमवार मध्यराततिर उक्त विमानले जिन्ना टर्मिनल इन्टरन्याश्नल एअरपोर्टमा अवतरण गरेको थियो।पाकिस्तानको नागरिक उड्डयन निकायका अनुसार उडिरहेको विमानमा ६० वर्षे यात्रुले निकै असहज महसुस गरेपछि विमानचालकले कराचीको एअरट्राफिक कन्ट्रोललाई सम्पर्क गरेर चिकित्सक र एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेका थिए।

कराचीमा परीक्षण गर्दा विमानस्थलको मेडिकल टोलीले अकस्मात् बिरामी परेका ती यात्रु जीवित नरहेको घोषणा गर्‍यो। कराचीबाट चार घण्टापछि विमान आफ्नो गन्तव्यतिर फेरि उड्यो।इन्डिगोले एउटा विज्ञप्ति जारी गर्दै विमानमा यात्रुको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीले दिए बधाई

काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिएका छन् । मंगलबार राष्ट्रपति सीले एक सन्देशमार्फत राष्ट्रपति पौडेललाई बधाई दिएका हुन् ।

सन्देशमार्फत नेपाल–चीन हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै शान्तिपूर्ण सहअस्तित्वको राम्रो उदाहरण प्रस्तुत हुँदै आएको उल्लेख गरेका छन्। सन्देशमा उनले दुई देशबीच रहीआएको मित्रता र पारस्परिक सहयोग निरन्तर विकास भइरहेको बताएका छन् ।

गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके जनताले विकल्प खोज्छन् – कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके जनताले विकल्प खोज्न बाध्य हुने बताएका छन् ।गलबार नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेट तन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरे । उनले भने, ‘राजनीतिक दलका नेता र विभिन्न लेशक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छ ।’ 

राप्रपा नेपालले आगामी दिनमा संगठन निर्माण र जनसंघर्षलाई सँगसँगै लैजाने योजना रहेको भन्दै थापाले देशको प्रत्येक वडा तहसम्म संगठन विस्तार गर्ने तथा २०८०साल फागुन ७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ राप्रपा नेपाल अघि बढिरहेको स्पष्ट पारे ।

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले सम्मानित

काठमाडौं, ३० फागुन – जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए अभियानमा स्थापना कालदेखि गरेको योगदानको कदर गर्दै  सम्मानित गरिएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाल एसोसियसनबीच एकतासहित आयोजना भएको दुबै संस्थाको संयुक्त वार्षिक भेलामा सम्पादक बगाले सम्मानित भएका हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबास युएईका कार्यवाहक राजदुत बिशाल भट्टराई,एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खाली, एनआरएनए युएइका प्रमुख संरक्षक रमेश श्रेष्ठ,एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाले  प्रमाणपत्र र ट्रफीले सम्मान गरिएको थियो ।

विगत लामो समयदेखि गैरआवासीय नेपालीका विषयमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै संस्थाले सम्पादक बगालेलाई सम्मान गरेको हो ।

सम्मानित बगालेले बिगत १५ बर्ष देखि जनसवाल राष्ट्रिय दैनिकमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारका विषयलाई प्रमुखताका साथ स्थान दिदै आएका छन् । दुःख कष्ट, अपाङ्गता, शिक्षा, स्वास्थ्य, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि थुप्रै कार्यहरुमा उनको ठुलो योगदान रहदैं आएको छ ।

फिल्म स्टुडियो बनाउन चाहन्थे सतीश

मुम्बई, ३० फागुन । बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको गत मार्च ९ मा निधन भयो । उनका भतिज निशान्तले सतीशको अन्तिम संस्कार गरे । उनले सतीशको अस्थीलाई हरिद्वारमा विसर्जन गरिसकेका छन् ।

हालैमात्र निशान्तले काका सतीशको अन्तिम इच्छाको बारेमा खुलासा गरेका छन् । जुन इच्छालाई सतीशले पुरा गर्न सकेनन् ।

‘काका एउटा ठूलो फिल्म स्टुडियो बनाउन चाहनुहुन्थ्यो । अब त्यो चाहनालाई बोनी कपूर र अनुपम खेरले पुरा गर्दै हुनुहुन्छ । किनकी उहाँहरु काकाको परिवार सदस्य जस्तै हुनुहुन्छ’, निशान्तले भनेका छन् ।

निशान्तका अनुसार सतीश सन् २०२१ मा रिलिज फिल्म ‘कागज’को सिक्वेल बनाइरहेका थिए । यो फिल्म अहिले सम्पादन चरणमा छन् । भलै सतीशले फिल्मको काम पुरा गर्न नपाए पनि सतीशले त्यो कामलाई पुरा गर्ने योजना बनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान ११ बजे

काठमाडौं, ३० फागुन – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

बैठक भोलि  बिहान ११ बजेलाई डाकिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछिको अवस्थाको समीक्षासँगै सरकारमा आफ्नो सहभागिताबारे छलफल हुने बताइएको छ । 

त्यस्तै उपराष्ट्रपति निर्वाचन, अब चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ ।

राष्ट्रपतिको स्वकीय सचिवमा डा. चालिसे नियुक्त 

काठमाडौं, ३० फागुन – राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् ।

यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए । 

डोटीमा जिप दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं, ३० फागुन – डोटीमा जिप दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका-६ सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा हुँदा एक जनाको मृत्यु र ५ जना घाइते भएका छन्।  

दुर्घटनामा गम्भीर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-७ की ६५ वर्षीया धौलीदेवी विष्टको मृत्यु भएको हो। उनी र ३२ वर्षीय विष्णु बोहराको उपचारको लागि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको थियो। 

त्यहीँ उपचारको क्रममा धौलीदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। घाइते ९ वर्षीया टंककुमारी उपाध्याय, २४ वर्षीया दुर्गादेवी विष्ट लगायत तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्नेछ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्ने तयारी गरेको बताएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताए ।
‘प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्ने तयारी गरिरहेको छ। यसको समाधानमा हामीले विलम्ब गर्नु हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कर्मचारी प्रशासन र जनअपेक्षाबिच ठूलो खाडल छ । बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्नेगरि आयोग गठनको तयारी गरिएको छ। केही समयभित्रै आयोग बन्छ। त्यसको नेतृत्व प्रधानमन्त्रीले नै गर्नेगरि व्यवस्था गर्न खोजिएको छ। आयोगमा विज्ञहरु रहने व्यवस्था गरिनेछ ।’  

प्रधानमन्त्रीले कर्मचारी प्रशासनमा ओभरस्टापिङ कटौती गरिने बताए ।  ‘ओभरस्टापिङको समस्या छ। डुल्बिलेकशनको समस्या छ। अनावश्यक संरचनाहरू छन्। तिनीहरू कटौती गरेर प्रशासनयन्त्र चुस्त बनाउनुपर्छ। त्यसका लागि आयोग गठन आवश्यक छ,’ उनले भने, ‘आयोगको अन्तिम प्रतिवेदन कुरेर कार्यान्वयनमा जान हामीसँग समय छैन  । आयोगले काम गर्दै पनि जाने, दिएका सुझावहरू कार्यान्वयन पनि गर्दै जाने व्यवस्था गर्नुपर्छ । अन्तिम प्रतिवेदन आएपछि मात्र कार्यान्वयन जाने समय हामीसँग छैन, अनुसन्धान पनि गर्दै जाने, काम पनि गर्दै जाने विधि अपनाउनुपर्छ ।’

प्रधानमन्त्रीले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताए । ‘मैले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, संसदमा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा मैले जेजति कुरा भनेको छु। तिनीहरू फेरिँदैनन्। कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ,’ उनले भने, ‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर यसको अर्थ सरकारको नीति फेरिँदैन । हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेको छ सामाजिक न्याय, सुशासन र समृद्धि। त्यसमा हामी दृढ भएर अगाडि जान्छौँ। मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन, त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस्।’ 

पर्यटकको रोजाइमा शान्ति स्तूपा

लमजुङ, लमजुङको बेसीशहर नगरपालिका ४ स्थित पुरानकोट गढीमा निर्माण भएकोक बौद्ध धर्मावलम्विहरुको पवित्र धार्मिकस्थल शान्ति स्तुपा पर्यटकको रोजाई बनेको छ ।

निर्माण सम्पन्न चरणमा पुगेको सो स्तुपामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि शान्ति स्तुपा पर्यटकको रोजाई बन्न थालेको हो ।

स्तुपाको ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको प्राविधिक ईन्जिनियर हरिश्चन्द्र बस्नेतले जानकारी दिए । बेसीशहरबाट ऐतिहासिक, पर्यटकीय क्षेत्र गाउँशहर कालिका मन्दिर, काउँलेपानी हुदै पुरानकोट गढी स्थित शान्तिस्तुपा पुगिन्छ । 

निर्माण कार्यको अन्तिम चरणामा पुगेको स्तूपामा दैनिक आन्तरि तथा बाह्य पर्यटक समेत आउने गरेका छन् । वडा नं. ३ का वडा अध्यक्ष चित्रबहादुर दनाईका अनुसार गाँउशहरको कालिका मन्दिर र काउलेपानीमा घुम्दै रमाउँदै पर्यटकहरु शान्ति स्तुपासम्म पुग्ने गर्छन् ।

धार्मिक तथा प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा शान्ति स्तुपा निर्माण गर्ने सोचका साथ नगरपालिकाले एक करोड ४९ लाख र नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको दुई करोड ७७ लाख रुपैयामा शान्ति स्तुपाको निर्माण भइरहेको बेसीशहर नगर प्रमुख गुमानसिंह अर्यालले बताए।

निर्माण कार्य अन्तिम चरणमा पुगेको र निर्माणधिन अबस्थामा पनि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको नगरप्रमुख अर्यालको भनाई छ । स्तुपाको सबै काम सकिएको र स्तुपाको वरिपरी ढुङ्गा छाप्न मात्र बाँकी रहेको छ ।

वरिपरी लालिगुराँशको जंगल र दायाबाया तर्फ यशोब्रम्हा शाहको दरबारको भग्नावेश रहेको छ । 

यशोब्रम्हा शाहको राजारानीको भग्नावेशका रुपमा रहेको दरबार सरंक्षणका लागि बेसीशहर नगरपालिका ३ ले समेत दुई लाख बजेट विनियोजित गरेको छ । 

पर्यटकलाई खाना तथा खाजाका लागि नगरपालिकाले क्यान्टिन निर्माणगरी भाडामा दिने तयारी समेत गरेको छ । बेसीशहर नगरपालिकाले शान्तिस्तुपासम्म पुग्ने मोटरबाटोका लागि २१ लाख खर्च गरेको छ ।

बेसीशहरबाट–काउलेपानि–पुरानकोट गढीसम्म १६ किलोमिटर रहेको छ । शन्ति स्तुपासँगै पार्क, भ्यू टावर र वरिपरी रहेको प्रकृती सुन्दरताले पर्यटक बढाउन सहयोग पु¥याउने नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले बताइन ।

 शान्ति स्तुपाको वरिपरी लालिगुराशको जंगल भएकोले यो फुल्ने सिजनमा शान्ति स्तूपामा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटका आउने विश्वास बेसीशहर नगरपालिकाको छ ।

अवैध गोलिया काठसहित चालक र ट्याक्टर नियन्त्रणमा

झापा, अवैध गोलिया काठसहित झापा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार मेचीनगर नगरपालिका–२ स्थित सरस्वती टोलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ६३१९ नम्बरको ट्याक्टरलाई चेकजाँचका लागि रोकेका थिए । 

सो ट्याक्टरमा आवश्यक कागजात बिना कदम र सिरिस जातको अन्दाजी १६० क्यु फिट गोलिया काठ फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

बरामद गरिएको काठ,ट्याक्टर र चालक मेचीनगर २ निवासी २२ वर्षीय सर्बन राईलाई आवश्यक कारबाहीको लागी जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइएको प्रहरीको भनाइ छ ।

निर्माता श्रीधर भन्छन्- बहावको कथा फरक लाग्यो

काठमाडौं, ३० फागुन । नेपालमा पछिल्लो समयमा सञ्चारकर्मबाट फिल्म लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मी तथा पत्रकारको सूची लामै छ । यो सूचीमा निर्माता श्रीधर पौडेल पनि पर्छन् । फिल्म ‘गोपी’मार्फत फिल्म निर्माणमा हात हालेका श्रीधरको दोस्रो फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिजको तयारीमा छ ।

निर्माता श्रीधरले एबीसी टेलिभिजन, नयाँपत्रिका, कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र शुक्रबार साप्ताहिकलगायतका विभिन्न पत्रपत्रिकामा फोटोपत्रकारिता विधामा लामो अनुभव संगालिसकेका छन् । उनले करिब सय बढी नेपाली फिल्मको पोस्टर फोटोग्राफी पनि गरिसकेका छन् ।

फिल्म ‘बहाव’ले ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई प्रमुख विषय बनाएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ ।

निर्माता श्रीधरका अनुसार लकडाउनको समयमा निर्देशक कँडेलले उनलाई यो फिल्मको कथा दिएका थिए । ‘स्क्रिप्ट मैले पढेपछि कथा फरक लाग्यो । किनकी मैले यसअघि फरक कथाको गोपी पनि बनाएको थिएँ । त्यहीकारण बहावको कथाले मलाई छोयो’, उनले भने, ‘फिल्ममा हामीले सुरक्षालाई अहिलेसम्मका फिल्मभन्दा केही फरक रुपमा प्रस्तुत गरेका छौं । उनको प्रेमी, विद्रोही र पागलपन भावले दर्शकलाई प्रभावित पार्नेमा म ढुक्क छु ।’

श्रीधरले निर्माण गरेको फिल्म ‘गोपी’ नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त गरिसकेको छ । पहिलो फिल्म निर्माणताका आफूले सिकेका कुरालाई फिल्म ‘बहाव’मा प्रस्तुत गरेको उनी सुनाउँछन् । ‘फिल्मको महत्वपूर्ण पाटो त्यसको कथा हो । बहावको कथा अनुसार नै चरित्र पनि छनोट गरेका छौं’, श्रीधर भन्छन् ।

फिल्म सुटिङका लागि चितवन जाने तयारीमा रहँदा श्रीधर अस्वस्थ भए । आफू अस्वस्थ भए पनि उनले आफ्नो कारण फिल्मको काम रोक्न चाहेनन् । उनले निर्देशक प्रमोदलाई पूर्ण विश्वास गरेर सबै कामको जिम्मेवारी दिएका थिए ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा सुरक्षा र कमलसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
 

डा. अरुणा कार्कीको आत्मवृत्तान्त ‘श्वेत लिली’बिमोचन

क्यान्सरलाई जितेकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अरुणा कार्कीको आत्मवृत्तान्त समेटिएको ‘श्वेत लिली’को राजधानीमा बिमोचन भएको छ । डा कार्कीले पुस्तकमा रेडियो थेरापीका बाछिटा, क्यान्सरको चपेटा, आफैं डाक्टर आफैं बिमारी लगायत महत्वपुर्ण १० वटा शीर्षकमा आफ्नो अनुभव समेटेकी छन् ।

डा कार्कीले पुस्तकमा बिरामीलाई फुलको रुपमा चित्रित गर्दै जति गोड्न सक्यो उति राम्रो हुने सन्देश दिन खोजेकि छन् । अरुणाले उपचारका क्रममा छोरीबाट उपहारका रूपमा पाएको लिली फूलको महत्वलाई मनछुने गरि पुस्तकमा पस्केकी छन् ।कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, डा शशि आचार्य, साहित्यकार सुलोचना मानन्धर, भरत प्रधान र सुम्निमा तुलाधरले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए ।

जीवन भोगाईका क्रममा विभिन्न रोगको पीडा भएपनि सकारात्मक सोच र समयमै उपचार पाए रोगलाई जितिने विषयवस्तु पुस्तकमा उल्लेख भएको छ । पुस्तक लोकार्पण कार्यक्रममा डा कार्कीकी जेठी छोरी रंगकर्मी आकांक्षा कार्कीले कविता वाचन गरेकी थिइन् । जुन कवितालाई धेरैले रुचाएका थिए ।

सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी

काठमाडौं, ३० चैत ।  काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ । 

मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो । 

शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त्रालयले अस्पताललाई अगाडि बढाइरहेको बेला सो अस्पतालले आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ । 

यसैगरी अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १ जना, ६ औं तहका सिष्टर ४ जना, पाँचौ तहका स्टाफ नर्स ५६ जना र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायक पाँचौ तह ३ जना माग गरेको छ । 

यसैगरी, अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट १ जना, ७ औं तहकै ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।
 

डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ

केरला । भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन ।

महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।

भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर एक होटलमा लगेका थिए । सो होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए, त्यही नग्न तस्विर खिचेर सो पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुब्यर्हार गरेका हुन । त्यसपछि पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे पछि महिला डाक्टर प्रहरीकोमा गएकी थिइन । उनको उजुरीको आधारमा निशमलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार बाबुलाई आईपीसीको धारा ३७६  (बलात्कार) र सूचना प्रविधि ऐन २००० को धारा ६७ ए (इलेक्ट्रोनिक रूपमा यौनजन्य कार्य) अनुसारको सामग्री प्रकाशन वा प्रसारण गरेकोमा सजाय अन्तर्गत मुद्दा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
 

अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमताका ३ वटा पनडुब्बी खरिद गर्ने

काठमाडौं, ३० चैत । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति भएको हो । साे सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका ३ वटा पनडुब्बी खरिद गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजले संयुक्त पत्रकार सम्मेलन गर्दै त्रिपक्षीय नयाँ सम्झौताको जानकारी दिएका हुन् । अष्ट्रेलियाले सन् २०३० भित्र अरु २ वटा पन्डुब्बी पनि खरिद गर्न सक्ने जनाइएको छ ।

अष्ट्रेलियाले खरिद गर्ने ति पनडुब्बी नयाँ पुस्ताको हतियार बाहक हुने र त्यसले क्षेत्रीय शक्ति सन्तुलन बनाएर राख्ने अमेरिकाकाे दावी छ ।

इण्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि डेढ वर्ष अघि त्रिदेशीय सुरक्षा छाता ‘औकस’ बनाएका ३ देशले नयाँ सुरक्षा सम्झौता गरेका हुन । 

कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।

समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता  डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।

झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन ।

दुई जीत निकालेर नेपाली यु–२० महिला टोली स्वदेश फर्कियो

काठमाडौं, ३० चैत । एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ ।

एसियन कप छनोटको दोेस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राती २ बजे स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । 

समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेकाे छ ।  नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि समान ६–० को जित निकाल्दै स्वदेश फर्किएको हो । 

युएईले नाम फिर्ता लिएपछि समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड मात्र प्रतिस्पर्धामा थिए ।

सचिव र सहसचिवलाई ७ दिन भित्र ब्यक्तिगत बिवरण अद्याबधिक गर्न किताबखानाको निर्देशन

काठमाडौं, ३० फागुन ।  संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलालाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ ।

निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताबखानाले जनाएकाे छ। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेकाे छ।  

सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि शुरूमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अधाबधिक भए नभएकाे बुझन  बिवरणवारे जानकारी लिन खाेजिएकाे स्रोतले बतायो । 

विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने छ ।

हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।

लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर, ३० फागुन – कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको बेदकोट नगरपालिका–७ बाट लागूऔषध चरेशसहित मदनदेव भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई ०.०७२ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउगरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
 

सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो 

सप्तरी, ३० चैत  । सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिककुमार मण्डलको पोखरीमा डुबेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएको हो ।

घरेलु मैदानमै सालेरनिटानासँग बराबरीमा रोकियो मिलान

काठमाडौ, ३० चैत । एसी मिलान इटालियन सिरी ‘ए’ मा मिलान सालेरनिटानासँग बराबरीमा रोकिन पुगेको छ ।

घरेलु मैदानमा मिलान सालेरनिटानासँग १–१ गोलको बराबरी रोकिन पुगेको हो ।

सोमबार राति भएको खेलमा मिलानले पहिलो हाफको पहिलो मिनेटमा स्माइल बेनाकरको पासमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थियो तर त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा बचाउन सकेन । 

६१औं मिनेटमा सालेरनिटानाका बोउला डियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

यस बराबरीसँगै मिलानले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४८ अंक जोडेर चौथो स्थानमा छ । सालेरनिटाना २६अंक जोडेर १६औं स्थानमा छ ।

ए डिभिजन लिगमा आज तीन खेल

काठमाडौं, ३० चैत  । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार तीन खेल हुँदैछ। 

लिगको चौथो चरणअन्तर्गत आज दुई खेल दशरथ रंगशाला र एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। 

एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ भने संकटा तीन खेलबाट ४ अंक जोडेर आठौँ स्थानमा छ। 

यस्तै सोही समयमा दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा छ भने फ्रेण्ड्स तीन खेलमा १ अंक जोडेर १२ औँ स्थानमा छ।

दशरथ रंगशालामै साँझ साढे ५ बजे मछिन्द्र र नेपाल पुलिस भिड्ने छन्। दुवै टोलीलाई पहिलो जित निकाल्ने दबाब छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव राम प्रसाद थपलिया

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव राम प्रसाद थपलियाले जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार तथ्याङ्क कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्।

तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनसँगै केन्द्रीय तथ्याङ्क विभागबाट ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’रूपान्तरण भएको निकाय राष्ट्रिय योजना आयोग मातहतबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत पुर्‍याइएको थियो।

तथ्याङ्क ऐन २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐन अनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था छ ।
 

विर अस्पातालका पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो 

काठमाडौं, ३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्र्तगत कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाईएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्।

गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को घ) बमोजिम हटाईको हो । यो सुचना आजको गोरखापत्रमा प्रकाशित छ ।

सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, ३० चैत । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । 

कम्पनिका अनुसार गत फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको आइपियो अन्तिम दिन अर्थात मंगलबार कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले भर्न सक्ने छन् । 

उक्त कम्पनीले कम्पनीले गत फागुन २६ गते सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । 

सो कम्पनिले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको पछि सर्वसाधारणका लागि आईपियो निष्काशन खुला गरेको हो । जसअनुसार सर्वसाधारणका लागि चार लाख २४ हजार ८ सय ८५ कित्ता छुटाईएको छ ।

सो कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

बिकास बैंकहरुले घटाए ब्याजदर, भोली देखी लागु हुने

काठमाडौं, ३० फागुन ।  बदलिदो परिस्थीतिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले चैत १ अर्थात देखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । 

जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।

उता, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । 

बढ्यो रासायनिक मलको मूल्य

काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरी भाउ बढाएको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकभन्दा महँगो हुनेछ ।

यसको प्रत्यक्ष असर किसानलाई पर्नेछ । यसअघि समयमा मल नपाएका कृषक थप मारमा पर्नेछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलको मूल्य बढाइएको जानकारी गराएको हो । कृषिप्रधान मुलुकमा सरकारले मलको भाउ बढाएर किसानमाथि अन्याय गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार २६ फागुनअघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ ।

बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यसअघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो । याे खबर राजधानी दैनिकमा छ ।

कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा 

धनगढी, ३० फागुन – कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा रहेको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो।

पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन्।