`

आजबाट एकीकृत कारोबार सुरु गर्दै आँधिखोला र सिवाइसी लघुवित्त

काठमाडौं, २९ फागुन । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । 

दुवै कम्पनी एक आपसमा गाभिए पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । जसकाकारण धितोपत्र बोर्डलाई कारोबार रोक्का गर्न आँधीखोलाका कम्पनि सचिव बाबुराम कुवँरले धितोपत्र बोर्डलाई अनुरोध गरेका छन् ।

सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?

काठमाडौं । सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यमा बेवास्ता गरेको पाइएको छ । सचिव सहसिचव भइसक्दासमेत उनीहरूको सुरुको सेवा अवधिमा रहेका खरिदार, सुब्बालगायतको पदकै विवरण रहेको पाइएपछि राष्ट्रिय किताबखानाले सरकारका सचिव सहसचिवलाई आफ्नो पछिल्लो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

किताबखानाले सरकारका सचिव र सहसचिवसरहका कर्मचारीका लागि ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जनाएको छ । कर्मचारीको सरुवा वढुवा र पदस्थापन विज्ञताका अधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो ।

कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा। टोकराज पाण्डेले जानकारी दिए । सो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि भएको महानिर्देशक पाण्डेले बताए । निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको राष्ट्रिय किताबखानाले जनाएको छ ।

किताबखानाका अनुसार सचिव र सहसिचवको पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेसरहको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको छ । विवरण अद्यावधिक गर्न किताबखानाको वेभसाइडमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यवधिक गर्न सकिने किताबखानाले जनाएको छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिवसरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारी कार्यरत रहेका छन् ।

संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अधावधिक गर्न खोज्नुलाई सुधारका रूपमा हेरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

विद्युतीय चूल्होको प्रयोग बढ्न सकेन, अत्यन्त थोरै मात्रामा चूल्होको विक्री

काठमाडौं । सरकारले विद्युतीय चूल्होको प्रयोग बढाउने भनेर लामो समयदेखि अभियान चलाइरहेको छ । तर, सरकारबाट इन्डक्शन चूल्हो विक्री वितरणको अख्तियारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट अत्यन्त थोरै मात्रामा चूल्होको विक्री भएको पाइएको छ ।

कम्पनीको बागमती प्रादेशिक कार्यालयका अनुसार हालसम्म ४ हजार ५ सय थान इन्डक्शन चूल्हो विक्री भएको छ । कम्पनीले अहिले बागमती प्रदेशमा मात्रै इन्डक्शन चूल्हो विक्री गरिरहेको अधिकारीहरू बताउँछन् ।

नेपाल सरकारले २०७२ सालको भूकम्पको लगत्तै पछिबाट विद्युतीय चूल्हो प्रयोगलाई व्यापक बनाउन भन्दै अभियान थालेको थियो । त्यतिबेला एलपी ग्यासमा अत्यधिक भर पर्दा छिमेकी भारतबाट घोषित वा अघोषित रूपमा बारम्बार हुने नाकाबन्दीले अप्ठ्यारो पारेको, सिलिन्डर आयातमा ठूलो धनराशि बाहिरिएको, ग्यास सिलिन्डरको उच्च मूल्यले उपभोक्ता मारमा परेको जस्ता कारण इन्डक्शन चूल्हो प्रयोगमा जोड दिइएको थियो । यसको प्रयोगबाट स्वदेशमै उत्पादित बिजुलीले बजार पाउनुका साथै विदेशी मुद्रा जोगिने र उपभोक्ताले राहत पाउने सरकारको अपेक्षा थियो ।

तर, सरकारले अभियान शुरू गरेका यतिका वर्षसम्म पनि थोरै संख्यामा मात्रै विद्युतीय चूल्हो प्रयोगमा आउँदा अपेक्षित लक्ष्य प्राप्त हुन नसकेको जानकार बताउँछन् ।

ऊर्जाविद् जगन्नाथ श्रेष्ठले राज्य संयन्त्रमा इन्डक्शन चूल्हो प्रयोग बढाउने इच्छाशक्ति नै कमजोर रहेको बताए । ‘टाढाको कुरा छोडिदिउँ सिंहदरबारभित्रै सरकारले इन्डक्शन चूल्हो प्रयोग गराउन सकेको छैन । एलपी ग्यास प्रयोगमा प्रतिबन्ध लगाए पनि रोकिएको छैन । मुलुकको प्रमुख प्रशासनिक क्षेत्रमै यस्तो स्थिति भएपछि अन्यन्त्रको अवस्था के हुन्छ रु’ ऊर्जाविद् श्रेष्ठले भने ।

उनले इन्डक्शन चूल्होसम्बन्धी जानकारी र ज्ञानको पनि व्यापक अभाव रहेको बताए । सिंहदरबारभित्रका क्यान्टिन सञ्चालकहरूमा ठूलो परिमाणमा खाना पकाउन मिल्ने विद्युतीय चूल्हो हुन्छ भन्ने कुराको ज्ञानसमेत नभएको उनले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता

काठमाडौँ । सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा चलिरहेको छ।

वर्तमान सत्ता गठबन्धनमा रहेका बहुमत दलले त्यसबेला प्रधानन्यायाधीश जबरामाथि महाभियोग दर्ता गरेका थिए तर सात महिनासम्म प्रस्तावबारे कुनै निर्णय भएन। अदालत कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा चल्यो। असोज १७ देखि कार्कीले अवकाश पाएपछि पुनः हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी सम्हालेका छन् । महाभियोग लागेका प्रधानन्यायाधीश जबराले मङ्सिर २७ गते उमेरहदका कारण अवकाश पाएको तीन महिना पूरा भइसके पनि अझै प्रधानन्यायाधीश सिफारिस हुने अवस्था छैन।

प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नै सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा २८४(३)ले पद रिक्त हुनुभन्दा एक महिनाअघि सिफारिसको व्यवस्था गरेको छ। उक्त उपधारामा भनिएको छ, “संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा कुनै संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ।”

तर कार्यकाल सकिनुअघि सिफारिस त होइन सिफारिसको कार्यविधि समेटिएको संवैधानिक परिषद्सम्बन्धी ऐनको कानुनी शून्यता पूर्ति नै भएको छैन। कानुनी शून्यताको अवस्था भएको डेढ वर्ष पूरा भए पनि विधायिकी प्रक्रियाबाट साबिकको कानुनी व्यवस्था जगाउने कुनै ठोस प्रक्रिया अघि बढ्न सकेको छैन। सरकार र संसद् दुवैको प्राथमिकतामा विधेयक परेको छैन।

संवैधानिक परिषद्को सचिवालयको समेत हेर्ने प्रधानमन्त्री कार्यालयले कानुन अभावका कारण प्रधानन्यायाधीश सिफारिस नभएको जनाएको छ। प्रधानन्यायाधीश सिफारिसको ढिलाइबारे अधिवक्ता कपिलदेव ढकाललाई सूचना दिँदै कार्यालयले कानुन नबन्दासम्म सिफारिस नहुने स्पष्ट पारेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको तलब कति हुन्छ ?

काठमाडौं । बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने गर्छन्। ती सेवासुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्था गरिएको छ। उक्त ऐनले मासिक पारिश्रमिकलगायत अन्य सेवासुविधाको व्यवस्था गरेको छ।

ऐनअनुसार बहालवाला राष्ट्रपतिले पारिश्रमिकबापत प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रूपैयाँ पाउँछन्। राष्ट्रपतिका लागि पोसाक भत्ता वार्षिक २५ हजार रूपैयाँ दिने व्यवस्था हुन्छ। उपराष्ट्रपतिले भने मासिक पारिश्रमकि १ लाख ८ हजार ३० रूपैयाँ तथा पोसाकका हकमा वार्षिक २० हजार भत्ता बुझ्ने गर्छन्।

राष्ट्रपति–उपराष्ट्रपतिलाई मासिक पारिश्रमिक बराबर अतिरिक्त रकम दिने व्यवस्था पनि गरिएको छ। उक्त रकम भने अतिथि सत्कार तथा भैपरि आउने खर्च शीर्षकअन्तर्गत छुट्याइन्छ। राष्ट्रपति तथा उपराष्ट्रपतिले स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको खर्च नेपाल सरकारले बेहोर्ने व्यवस्था ऐनमा उल्लेख छ।

जसअनुसार राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नुपर्ने भए त्यसबापत तीन जनासम्मको खर्च नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था ऐनमा गरिएको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिकोे उपचार खर्चबापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति वा उपराष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी गर्ने व्यवस्था ऐनमा छ।

‘राष्ट्रपति तथा उपराष्ट्रपतिको आवासका लागि नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त गरिनेछ, घरको मर्मत र सम्भार नेपाल सरकारबाट हुनेछ तथा घरका लागि उपयुक्त फर्निचरको व्यवस्था नेपाल सरकारबाट हुनेछ’भनी ऐनमा उल्लेख छ।

राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि खाईपाई आएको एक महिनाको पारिश्रमिकबराबरको रकम प्रत्येक वर्ष उपलब्ध गराउने व्यवस्था पनि छ। ऐनअनुसार आफ्नो पदीय काममा सहयोग पुर्याउन राष्ट्रपतिले सात र उपराष्ट्रपतिले पाँचजना विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था छ। राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीका विषयमा पदमा रहँदा वा सेवानिवृत्त भएपछि पनि अदालतमा मुद्दा चलाइनेछैन भनी ऐनमा उल्लेख छ। यसैगरी २५ लाख रूपैयाँ बराबरको बिमाको व्यवस्था गरिएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिले स्वदेशमा भ्रमण गर्दा ३ हजार ३ सय रूपैयाँ तथा विदेश भ्रमणमा जाँदा २ सय ५० अमेरिकी डलर दैनिक भत्ता तोकिएको छ। युरोपियन मुलुकहरू, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमणमा जाँदा भने उल्लिखित दरमा ३३ प्रतिशत रकम थपेर दिने व्यवस्था पनि ऐनमा गरिएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिले प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट श्रेणीसरह ) एक(एकजना कर्मचारी राख्न पाउने व्यवस्था गरिएको छ। स्वकीय उपसचिव (रा.प. प्रथम श्रेणीसरह) राष्ट्रपतिका लागि २ जना तथा उपराष्ट्रपतिका लागि १ जना व्यवस्था गरिएको छ। यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उपस्वकीय सचिव (रा.प. द्वितीय श्रेणीसरह), स्वकीय अधिकृत (रा.प. तृतीय श्रेणी सरह), कम्प्युटर सहायक, फोटोग्राफर, प्रेस संयोजक (रा.प. अनंकित प्रथम श्रेणीसरह), सवारी चालक (श्रेणीविहीन) तथा कार्यालय सहयोगीको समेत व्यवस्था गरिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

आजको मौसमः देशको पहाडी भु-भागमा बर्षा हुने

काठमाडौं, ३० फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ। 

देशका  पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशलगायत तराईका एक दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। 

राती भने देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

युक्रेनको बख्मुत सहरमा तीव्र लडाइँका कारण ठूलो क्षति, संयौं मानिस मारिएको दाबी

युक्रेन र रुसले बख्मुत सहरमा जारी लडाइँ तीव्र बन्दा ठूलो मानवीय क्षति भएको जनाएका छन्। पूर्वी युक्रेनको उक्त सहरलाई महिनौँदेखि जारी युद्धका बीच मस्कोले कब्जा गर्ने प्रयास गरिरहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पछिल्ला केही दिनयता ११ सयभन्दा बढी रुसी सेनाले ज्यान गुमाएका छन् र द्वन्द्वका कारण धेरै मानिसहरू गम्भीर घाइते भएका छन्।रुसले भने पछिल्लो २४ घण्टामा २२० भन्दा बढी युक्रेनी सैनिकलाई मारिदिएको जनाएको छ।

दुवै पक्षले उल्लेख गरेको सङ्ख्याबारे बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न भने सकेको छैन।बख्मुतको रणनीतिक महत्त्व कम भएको तर क्रेमलिनलाई कुनै खालको सकारात्मक खबर दिन सङ्घर्षरत रुसी कमान्डरहरूका लागि केन्द्रबिन्दु बनेको विश्लेषकहरू बताउँछन्।

उक्त सहर कब्जा गर्दा रुसलाई पूरा डोनेट्स्क क्षेत्र नियन्त्रणमा लिने आफ्नो लक्ष्य निकट पुर्‍याउने छ।डोनेट्स्क पूर्वी र दक्षिणी युक्रेनका चार क्षेत्रहरूमध्ये एक हो जसलाई रुसले गत वर्ष सेप्टेम्बरमा नियन्त्रणमा लिएको थियो।

त्यहाँ जनमत सङ्ग्रह सञ्चालन गरेपछि धेरै देशहरूले त्यस कदम अनुचित भएको भन्दै आलोचना गरेका थिए।”यही मार्च ६ देखि, एक हप्ता भन्दा कम अवधिमा हामीले बख्मुत क्षेत्रमा मात्रै १,१०० भन्दा बढी दुस्मन सैनिकहरूलाई मार्न सफल भयौँ। यो बख्मुत सहर नजिक रुसले बेहोरेको ठूलो क्षति हो,” जेलेन्स्कीले आफ्नो नियमित भिडिओ सम्बोधनमा भने।

उनले करिब १,५०० रुसी सैनिकहरू सैन्य कारबाहीमा सामेल हुन नसक्नेगरी घाइते भएको जानकारी समेत दिए।रुसको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले “२२० भन्दा बढी युक्रेनी सैनिक” मारिदिएको छ।भाडाको सेना आपूर्ति गर्ने समूह द वाग्नर बख्मुतस्थित रुसी आक्रमणको केन्द्रमै छन्।

उक्त समूहका अगुवा येभगेनी प्रिगोजिनले बख्मुत कब्जा गर्न आफू र आफ्ना निजी सेनाको प्रतिष्ठालाई दाउमा राखेका छन्।उनले आइतवार सहरको अवस्था “निकै कठिन भएको र दुस्मन हरेक मिटरका लागि लडिरहेको” बताएका थिए।

“सहरको केन्द्र नजिक लडाइँ उग्र बनेको छ,” उनले टेलिग्राममा सार्वजनिक भ्वाइस सन्देशमा भनेका छन्।आफ्नो उद्देश्य अनुरूप बख्मुत कब्जा गरेपछि, “हामी पुनः नयाँ तयारी गर्नेछौँ” र “विभिन्न क्षेत्रहरूबाट नयाँ मानिसको भर्ती सुरु गर्नेछौँ”, उनले भने।

तर शनिवार एक अमेरिकी थिङ्क ट्याङ्क, इन्स्टिट्युट फर द स्टडी अफ वारले मस्कोको आक्रामक गतिविधि रोकिँदै गएको बताएको छ।”वाग्नर समूहका लडाकुहरू सम्भवतः सहरी क्षेत्रहरूमा बढ्दो रूपमा केन्द्रित हुँदै छन्, त्यसैले उल्लेख्य प्रगति गर्न गाह्रो भइरहेको छ,” उक्त संस्थाले बतायो।

आक्रमणअघि बख्मुतमा लगभग ७०,००० मानिसहरू बस्थे। यो सहर नुन र खनिज पदार्थ जिप्सम खानीका लागि र त्यहाँको ठूलो वाइनरीका लागि प्रसिद्ध थियो।रुसले जस्तै युक्रेनले पनि बख्मुतलाई राजनीतिक महत्त्व दिएको छ। राष्ट्रपति जेलेन्स्कीले त्यस सहरलाई प्रतिरोधको प्रतीकको रूपमा व्याख्या समेत गरेका छन्।

गत डिसेम्बरमा वाशिङ्गटनको भ्रमण गर्दा जेलेन्स्कीले यस सहरलाई “आफ्नो मनोबलको किल्ला” भएको बताउँदै यूएस कांग्रेसलाई बख्मुतको झन्डा दिएका थिए।बख्मुत र त्यसको वरपर हालसम्म २०,००० देखि ३०,००० रुसी सेनाहरू मारिएका वा घाइते भएको हुनसक्ने पश्चिमी अधिकारीहरूले अनुमान गरेका छन्।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

सुटिङ सेटमा कैयौं पटक ढिलो पुगेका छन् रणवीर सिंह

बलिउडमा यस्ता केही कलाकार छन्, जो सुटिङ सेटमा कहिल्यै पनि समयमा पुग्दैनन् । उनीहरूकै कारण कैयौंपटक निर्माताले तनावको अवस्था झेल्नु परेको छ । किनकि सुटिङ सेटमा यी कलाकार नपुगुन्जेलसम्म सुटिङका सबै काम रोकिएका हुन्छन् ।

सन् ९० को दशकमा अभिनेता गोविन्दाले त यो मामिलामा सबै हद पार गरेका थिए । सन् ९० को दशकमा गोविन्दाले आफ्नो अभिनयका कारण लाखौंको मन जिते । तर सुटिङ सेटमा ढिलो पुग्ने मामिलामा उनी अगाडि नै थिए । यहीकारण उनले कैयौं तनावको सामना गर्नुपरेको थियो ।

करीना कपूर, रणवीर कपूर, रणवीर सिंह, राजेश खन्नाको पनि सुटिङ सेटमा ढिलो पुग्ने बानी छ ।अभिनेता रणवीर सिंहको अभिनय शैलीबाट जोकोही प्रभावित छन् । उनी जे काम गर्छन्, लगाव दिएर गर्छन् । तर सुटिङ सेटमा भने उनी कैयौं पटक ढिलो नै पुगेका छन् ।

केही राजनीतिक नेतृत्वसहित कर्मचारीतन्त्रबाट समेत सङ्घीयता कार्यान्वयनमा बाधा अवरोध सिर्जना – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही राजनीतिक नेतृत्वसहित कर्मचारीतन्त्रबाट समेत सङ्घीयता कार्यान्वयनमा बाधा अवरोध सिर्जना हुने गरेको बताएका छन् ।

सोमबार नेपाल नगरपालिका सङ्घको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सङ्घीय निजामती ऐन र शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको बताए ।

केही राजनीतिक नेतृत्वसहित कर्मचारीतन्त्रबाट समेत सङ्घीयता कार्यान्वयनमा बाधा अवरोध सिर्जना हुने गरेको प्रसङ्ग निकाल्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेताका हैसियतले संविधानको मर्म र भावनाबमोजिम स्थानीय निकायलाई अधिकार सम्पन्न गर्ने पक्षमा आफू रहेको बताए ।

उनले आवश्यक कानूनी व्यवस्थासहित प्रदेश तथा स्थानीय सरकारलाई सुदृढ र प्रभावकारी बनाई देशमा सुशासन, समाजिक न्याय, दिगो शान्ति, समृद्धि र स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त रे ।

राइनासले आगामी शैक्षिक सत्रमा थप तीन कक्षामा स्थानीय पाठ्यक्रम लागू गर्ने

लमजुङ, २९ फागुन – लमजुङको राइनास नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय  पाठ्यक्रम लागू गर्ने भएको छ ।

आधारभूत तह अन्तरगत कक्षा १ देखि ५ सम्म स्थानिय पाठ्यक्रम निमार्ण गरिसकेको नगरपालिकाले थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।

 अगामी शैक्षिक सत्र २०८० देखि कक्षा ६, ७ र ८ मा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरेको नगरपालिकाले पाठ्यक्रम निमार्णलाई तिव्रता दिएको छ ।

 हाल पालिका भित्रका पाँचवटा सस्थागत र ३६ वटा सामुदायिक गरी ४१ विद्यालयमा कक्षा १ देखि पाँच सम्म स्थानीय पाठ्यक्रम अध्यापन भैरहेको राइनास नगरपालिका शिक्षा शाखा प्रमुख  पूर्णवहादुर अछामीले बताए । 

चालु शैक्षिक सत्रमा ६ देखि ८ सम्मको पाठ्यक्रम निमार्ण गरी आगामि शैक्षिक सत्रदेखि पालिका भित्रका सवै विद्यालयमा  कार्यान्वयनमा ल्याउने शिक्षा शाखा प्रमुख अछामीले बताए ।  

स्थानीय पाठ्यक्रम निमार्ण लेखनको लागि शैक्षिक क्षेत्रमा योगदान पुराएक व्यक्ति एवं स्थानिय शिक्षक सहितको नौ सदस्यीय समिति रहेको छ ।

 नगरप्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, सामाजिक विकास समिति संयोजक र शिक्षा शाखा प्रमुख सहितको सल्लाहाकार समिति रहेको छ । 
 
पाठ्यक्रम तयार पार्न समितिले प्रधानाध्यापक, अभिभावक, राजनीति संगठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागितामा सुझाव संकलन गरि सोही आधारमा विषयलाई प्राथमिकता दिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सयुल वताए । स्थानीय विषयबस्तुलाई समेटेर पालिका भित्रका सवै विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्न पाठ्यक्रम निमार्णलाई तिव्रता दिइएको सुयलको भनाई छ ।  

यसअघि कक्षा १–५ मा समाबेश भएका विषयवस्तुलाई कक्षा ६–८ मा विस्तृत रुपमा समेटिने शिक्षा शाखा अधिकृत पुर्णवहादुर नेपालीले वताउनुभयो । नेपालीका अनुसार विषयवस्तुतको विस्तृतीकरण, क्रियाकलाप, शिक्षण सामाग्री र मुल्यांकन विधिका वारेमा छलफल गरी मयौदा तयार गरिएको छ । 

जसमा नगरपालिकाको वस्तुस्थिती सँगै प्राकृतिक स्रोत सम्पदा, जैविक विविधता र पूर्वाधार विकास, धार्मिक/ऐतिहासिक र पर्यटकिय स्थल, परम्परागत पेशा, उद्यमशिता/प्रविधि, व्यवसाय र प्रयोग, पोषण/स्वास्थ्य जीवनशैली/सरसफाई र स्थानिय खेलकुद, प्रकोप व्यवस्थापन, वातावरण संरक्षण र वातावरण मैत्री विद्यालय लगायतका विषय समेटिएको छ । 

विशेषत स्थानीय आवश्यकता, सम्भावना, स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर कक्षा १–५ को पाठ्यक्रम निर्माण गरेको नगरपालिकाले सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनको विषयलाई मुख्य प्राथमिकता दिएको जनाएको छ । 

तिनै विषयवस्तुलाई अझ विस्तृत रुपमा समेट्दै, यसअघि छुटेका विषय र सरोकारबालाको सुझावलाई समावेश गरेर ६–८ पाठ्यक्रम निमार्णको तयारी तिव्र पारिएको निमार्ण समितिका सदस्य कृष्णराज ओलियाले बताए। 

स्थानीय पाठ्यक्रमले विद्यार्थीमा ज्ञान सिपको अभिवृद्धिसँगै नगरपालिकालाई समृद्ध पालिका बनाउन  तथा पालिकाको चिनारीमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको राईनास नगरप्रमूख खड्गबहादुर गुरुङले बताए 
 

नेपाल आउँदै हनी सिंह

काठमाडौँ – भारतका चर्चित गायक हनी सिंह काठमाडौं आउने भएका छन् । चैत २५ गते काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीमा आयोजना गरिएको सांगीतिक कार्यक्रमा उन िकाठमाडौं आउन लागेका हुन् । उक्त कार्यक्रम युनिफाइ नेपालको आयोजनामा हुन लागेको हो ।

साधारण टिकटको १ हजारदेखि माथि र भीआइपी टिकटको २ हजार रुपैयाँ भन्दा बढी हुन सक्ने युनिफाई नेपालका रविन श्रेष्ठले जनाएका छन् । कार्यक्रमको लागि आउने सिंहले धेरै चर्चित गीत र फिल्म समेत खेलेका छन् ।

दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं – दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ ।सोमबार साँझ दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

आज साँझ ६ बजेर ५६ मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्प जाँदा दैलेख आसपासका जिल्लामा महसुस गरिएको थियो ।

दार्चुलामा १९ वर्षीया युवती बलात्कृत

धनगढी, २९ फागुन – दार्चुलामा युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । आइतबार जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम युवतीलाई युवतीमाथि करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

उनले गत शुक्रबार राति १९ वर्षीया युवतीमाथि घरमै पसेर बलात्कार गरेको उजुरीपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइहरेको प्रहरीको भनाइ छ।

घरमा अरू कोही नभएको मौकामा बमले रातिको समयमा घरमै गएर जबरजस्ती करणी गरेको आरोप छ। शनिबार जिल्ला अस्पताल दार्चुलामा पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फिल्म ‘ए साथी सुन’को टिजर सार्वजनिक

काठमाडौं –वर्षा सिवाकोटी अभिनित फिल्म ‘ए साथी सुन’को टिजर सार्वजनिक भएको छ । यस फिल्मको टिजर आइतबार युट्युबमा सार्वजनिक भएको हो ।

फिल्म जेठ ५ गते रिलिज हुनेछ । बदलाको कथावस्तुमा आधारित यस फिल्ममा रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको छ ।

फिल्ममा बर्षा, रमेश, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, सुवास साह लगायतका कलाकारको अभिनय रहेको छ ।

टीकापुरमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

धनगढी, २९ फागुन – कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का तनविर अन्सारीका १८ महिने छोरा हारिसको सोमबार बिहान मृत्यु भएको हो।

सोही ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र.०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्न क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई

काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन्। 

पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्। 

पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको बधाई सन्देशमा उल्लेख गरिएको छ। द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने विश्वास लिएको मुर्मुद्वारा विज्ञप्तिमा उल्लेख छ। 

दुई कोरोनाका संक्रमित थपिए

काठमाडौं, २९ फागुन – नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा एक जनामात्रै संक्रमण मुक्त भएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा वर्षा जारी

काठमाडौं, २९ फागुन – काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। काठमाडौंमा परिरहेको वर्षा अझैँ २/३ घण्टा  जारी रहने महाशाखाको भनाइ छ।

राष्ट्रपति पौडेललाई चीनको बधाई 

काठमाडौं, २९ फागुन – उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ। 

काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका छन्। उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

दाङमा ४ वर्षीया नाबालिगमाथि बलात्कार

दाङ, २९ फागुन – दाङमा ४ वर्षीया नाबालिगमाथि बलात्कार भएको छ । बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको उनीमाथि आरोप छ। उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । 

जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । 

आजकाे हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, २९ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैया, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी १८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ६० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५०  रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी ११० रुपैया केजी र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

आईसीसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ् गर्दै नेपाल

काठमाडौं- आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै।

त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो।

धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ

धनगढी, २९ फागुन – कैलालीको धनगढीबाट नगदसहित चार जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरू समातिएका हुन् । जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आइतबार पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी–१ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका–५ का (होटल संचालक) ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन् ।

नेप्सेमा आजवाट दुई कम्पनिको कारोबार बन्द हुने

काठमाडौं, २९ फागुन । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ कम्पनीको आजवाट कारोबार रोक्का हुने भएको छ । 

फागुन २९ गते देखी सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजवाट कारोबार बन्द हुने भएको हो ।

सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी २ कम्पनीको कारोबार रोक्का हुनेछन् ।

क्यालिफोर्नियामा दुई डुंगा दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं, २९ फागुन – अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ ।

स्यान डियागोको ब्लाक बिचमा डुंगा दुर्घटना भएको त्यहाँस्थित अधिकारीहरूले जनाएका छन् । दुईवटामध्ये एउटा डुंगामा सवार भएकाहरू मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ ।

खोजी कार्य जारी रहेकाले मृतकको तथा घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। डुंगामा सवार नागरिक कुन कुन देशका थिए भन्ने स्पष्ट हुन सकेको छैन । डुंगामा सवार सबैजना बयस्क भएको बताइएको छ ।

स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्याण्डले यो दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना स्थलको ३ सय ६६ मिटरको आसपासमा पल्टिएको डुंगा र शवहरू भेटिएको थियो। घटना के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन ।

भर्ना बिबाद नसुल्टिदा आठ क्याम्पसको स्ववियु निर्वाचन प्रक्रिया अबरुद्ध

काठमाडौं, २९ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिदैँ जाँदा त्रिभुवन विश्वबिद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।

देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध हुन गएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको हो । 

उनका अनुसार काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका छन् ।

हाल अबरुद्ध भएको क्याम्पसको भर्ना बिबाद हल गरेर निर्वाचन प्रक्रिया अगाडी बढाउन क्याम्पस प्रमुखहरुलाई निर्देशन दिइसकेको छ । ‘हामी यसपटक सबै क्याम्पसमा स्ववियु निर्वाचनमार्फत नेतृत्व आउने छन, कुनै पनि क्याम्पसमा स्ववियुको नेतृत्व विना सञ्चालन हुन सक्दैन भन्नेमा सचेत छौं’, ‘त्यसैले रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिईसकेका छ, चाँडै ती क्याम्पसमा स्ववियु निर्वाचन हुनेछन ।’

उनका अनुसार देशैभरीका अन्य क्याम्पसमा भने उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएर निर्वाचन प्रक्रिया अघि बढिरहेका छन् । 

अदालतले निर्वाचन प्रक्रियामा रोक लगाएपछि पिएन क्याम्पसकाे स्ववियु निर्वाचन अन्यौलमा

पोखरा, २९ फागुन । उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पस (पिएन) मा स्ववियु निर्वाचनको तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ ।

न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले आईतबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउन आदेश दिएको हो  ।

क्याम्पसमा दर्ता गराएको संगठनको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा विप्लबी न्यौपानेले रिट दायर गरेकी थिइन् । सोही रिटको आधारमा उच्च अदालते सो आदेश जारी गरेको हो ।

गत फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रकाशन गरे पछि न्यौपाने अदालत गएकी थिइन ।

‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरि पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलतातर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागी मिति २०७९ चैत २ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिई उक्त छलफल हुने मिति २०७९ फागुन १२ २ गते सम्मको लागि निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरि दिइएको छ,’ न्यायधिस राजभण्डारीको आदेशमा उल्लेख छ ।

यसै त क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लागेकाले पनि निर्वाचन प्रक्रिया रोकिएको थियो भने उच्च अदालतको आदेशपछि पिएनमा स्ववियु निर्वाचनको अन्यौलता झन थप बढन गएको छ ।

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी

स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो ।

आम नेपालीहरूको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यले नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमले धेरै मानिसलाई लाभ पुगेको छ। तर, समयसमयमा सर्भरले भार बहन गर्न नसक्दा अस्पतालको विश्वसनीयता र बिरामीको धैर्य नै गुम्नेसम्मको अवस्था सिर्जना हुनुले स्वास्थ्य बिमाप्रतिको नैराश्यता मात्र नभई बिरामी जटिल समस्यामा परेका छन्।

आइतबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म सर्भर डाउन हुँदा देशभरिका लाखौं बिरामीले सास्ती भोग्नुपन्यो । यस विषयमा स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवाली भन्छन् ,’बेलाबेलामा यस्तो समस्या आइरहन्छ तर यति लामो समय समस्या आएको यो पहिलोपटक हो। नेपालको स्वास्थ्य बिमाको सर्भर तयार पार्ने कन्सल्ट्यान्सी जीआईटीसीलाई मात्र विस्तृत जानकारी हुन्छ ।’

अझैपनि एपीआई लिंकमा समस्या भएकाले फाइल पठाउन मिले पनि सहज भइनसकेको उनले बताए । शनिबार बिदा भएकाले आइतबार काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, भक्तपुरस्थित कोरियन अस्पताललगायतका देशैभरिका आम नागरिकको पहुँच हुने अस्पतालहरूमा बिहान ७ बजेदेखि नै टिकट लिनेको भीड थियो ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु भन्छन्, ‘सर्भर नै डाउन भएपछि हामीले केही गर्ने सक्दैनौँ ।’ सर्भर बिहान ४ बजेदेखि नचलेको भए पनि बिमा बोर्डको प्राविधिक शाखा १० बजेपछि खुला हुने हुँदा थप समस्या आयो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

भोली कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

धनगढी, २९ फागुन – राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने जनाएको छ ।

पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खख्डेहरा मनाउँछन् ।

म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरी

काठमाडौं, २९ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ ।

प्रिमियम लिगमा तेस्रो स्थानमा रहेको युनाइटेड लिगको पुछारमा रहेको साउथहेम्टनसँग बराबरीमा रोकिन पुगेको हो  ।

पहिलो हाफमा कार्लोस अल्कारेजलाई फल गरेपछि क्यासिमेरोले ३४ औ मिनेटमा सिंधै रातो कार्ड पाए । भिएआर चेकिङ पछि रातो कार्ड दिएर क्यासिमिरोलाई मैदानबाट बाहिर पठाउँदा पहिलो हाफमा नै युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो ।

त्यसपछि पनि केहि राम्रा मौका चुकाई गोल गर्न नसके पछि युनाईटेड तीन अङ्कबाट बञ्चित हुन पुग्यो ।  

बराबरीसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २६ खेलबाट ५० अंक पुगेको छ । युनाइटेड शीर्षस्थानको आर्सनलसँग १६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले पछि छ । साउथह्याम्टन २२ अंक जोडेर पुछारमा छ ।

२४ अर्ब उठाउन सरकारी निकाय असफल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि मात्रै विकास निर्माण कार्यमा ठेकेदारले लगेको मोबिलाइजेसनबापतको २४ अर्ब रुपैयाँ डुब्न लागेको भन्दै सो रकम उठाउन सरकारलाई निर्देशन दिएको थियो तर अख्तियारको सो निर्देशनअनुसार सरकारी राज्यकोषबाट गएको सो रकम उठाउन सरकारी निकाय असफल देखिएको स्रोतले जानकारी दिएको छ ।

त्यतिबेला ठेकेदारको भ्रष्ट र कामचोर चरित्रका कारण २४ अर्ब रुपैयाँ नोक्सान हुन लागेको भन्दै अख्तियारले सो रकम उठाउन गम्भीर चासो पनि दिएको थियो तर त्यसयता भने अख्तियारले सो रकम उठे नउठेको बारेमा खासै चासो नराख्दा सरकारी निकायलाई हाइसञ्चो भएको छ । सुरुका दिनमा अख्तियारले विभिन्न विकासे जिम्मेवारीमा रहेका मन्त्रालयलाई पत्र पठाउँदै मोबिलाइजेसनबापतको रकम उठाउन ताकेता पनि गरेको थियो । तर, सरकारी निकायले जिम्मेवारीपूर्वक ताकेता गर्न नसक्दा त्यति धेरै रकम फस्ने अवस्थामा पुगेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

थप पाँच अंकसहित आर्सनलको शिर्षस्थान कायमै

काठमाडौं, २९ फागुन । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शिर्षस्थान कायमै राखेको छ। 

आइतबार राती भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गर्दै शिर्षस्थान कायमै राखेको हो ।

सो जीतसँगै शीर्ष स्थानमा थप ५ अङ्कसहित आर्सनल उपाधीको होड कायमै राख्न सफल भएको छ । दोस्रो स्थानको सिटीसँगको अग्रता फराकिलो पार्न जित्नै पर्ने खेलमा आर्सनलले सो जीत हासिल गरेको हो ।

आर्सनलका लागि गाब्रियलले पहिलो हाफको २१ औ मिनेटमा पहिलो गोल गर्दै टिमालाई सुरुवाती अग्रता दिलाए। मार्टिनेलीले २६ औ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल मार्टिन ओडेगार्डका नाममा रह्यो।

उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। आर्सनलको सो जीतमा तीनै गोलका लागि लिएन्ड्रो ट्रोसार्डले एसिस्ट गरेका थिए।

यस जितसँगै शीर्षस्थानको आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ५ अंकले पछि पारेको छ । सिटीको ६१ अंक छ । पराजित फुलहम ३९ अंक जोडेर आठौं स्थानमा छ ।

राष्ट्रपतिको सपथ ग्रहणमा सभामुख उपस्थित नहुने

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे भने अनुपस्थित हुने भएका छन् ।

सभामुख घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका जानु अघि फागुन २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने जानकारी पौडेललाई गराएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराएर सभामुख घिमिरे गत २६ फागुनमा बहराइन गएका हुन् । उनी सो जानकारी गराउनका लागि बोहोराटारस्थित पौडेल निवास पुगेका थिए । 

विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ । गत फागुन १७ गते प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यसभित्र नेपाली कांग्रेसहितका दलहरूलाई सरकारमा सहभागी गराएर दाहालले विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि गठबन्धनका दलहरू सरकार विस्तारसहितको काममा लाग्ने र चैत ८ गते प्रतिनिधिसभाबाट दाहालले विश्वासको मत लिने तयारीमा जुटेको स्रोतको दाबी छ । सोही अनुसार सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि चैत ८ गतेसम्मका लागि सूचना जारी गरी स्थगित गरिएको छ । सत्तामा रहेका प्रमुख दुई दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि दुवै दल प्रतिपक्षमा बस्ने तर प्रतिपक्षमा बसेको कांग्रेस प्रधानमन्त्री दाहालले विश्वासको मत नलिएसम्म प्रतिपक्षमा बस्ने भएपछि संसद्का बैठक प्रभावित हुँदै आएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै

काठमाडौँ । रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो ।

मङ्सिरमा दुुई हजार ६६५ जना, पुसमा दुुई हजार ५०६ जना र माघ महिना दुुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ । आव २०७८÷७९ मा मङ्सिर महिनामा सात हजार ७१ जना, पुस महिनामा छ हजार ८९ जना, माघ महिनामा छ हजार ५४४ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क विभागसँग छ । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा कतारका लागि २६ हजार २२० जनाले श्रम स्वीकृति लिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीको नाै बर्षे लामो कार्यकाल आइतवार रातीवाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन । 

लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि तेस्रो कार्यकालका लागि पनि दोहोरयाएर निर्वाचित भएकी थिइन । पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी हुन ।

दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन।  

उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो र एक्ली नेपाली महिला पनि हुन् । नौ वर्षीय लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन, तत्कालिन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला पनि हुन ।

उनै राष्ट्रपति भण्डारी आफनो नाै बर्षे लामाे कार्यकाल सकेर साेमवार, शितलनिवासवाट बिदा हुदैँछिन्  ।

कामु प्रधानन्यायधिसले नवनिर्वाचित राष्ट्रपतिलाई पौडेल सपथ खुवाउने

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज सपथ ग्रहण हुदैँछ ।

राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ कार्यक्रमको सपथको सम्पुर्ण तयारी सकिएको छ । 

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद  पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनी प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।

आजको मौसमः कोशी, बाग्मती र गण्डकीको पहाडी भु–भागमा बर्षा हुने

काठमाडौं, २९ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ। 

देशका  पहाडी भू–भागका केहि स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।  

उता राती भने देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।  

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेतृत्वसँग भेट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेटवार्ता गरेकी छिन् । आइतब आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा उनले शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी हुन् ।

उनीसँगको भेटमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरू सहभागी रहेका थिए । उक्त सामूहिक भेटघाट र चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी छिन् ।

नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको छ – सभामुख घिमिरे

काठमाडौं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका प्रमुख राजनीतिक शक्तिहरूको मौलिक पहलले नेपालमा एक दशक लामो सशस्त्र विद्रोहको अन्त्य भई शान्ति स्थापना भएको बताएका छन् । आइतबार बहराइनको राजधानी मनामामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताए । उनले भने समावेशी सिद्धान्तलाई अङ्गीकार गर्दै सन् २०१५ मा जारी नेपालको संविधान कार्यान्वयनमा छ । यसैको परिणाम हाल हाम्रो सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुन सफल भएका छन् ।

नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको भन्दै उनले आफ्नो मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध नै शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताए ।