नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको छ – सभामुख घिमिरे
काठमाडौं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका प्रमुख राजनीतिक शक्तिहरूको मौलिक पहलले नेपालमा एक दशक लामो सशस्त्र विद्रोहको अन्त्य भई शान्ति स्थापना भएको बताएका छन् । आइतबार बहराइनको राजधानी मनामामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताए । उनले भने समावेशी सिद्धान्तलाई अङ्गीकार गर्दै सन् २०१५ मा जारी नेपालको संविधान कार्यान्वयनमा छ । यसैको परिणाम हाल हाम्रो सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुन सफल भएका छन् ।
नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको भन्दै उनले आफ्नो मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध नै शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताए ।
