`

आज नारी दिवस : ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने नाराका साथ मनाइँदै

काठमाडौं, २४ फागुन । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्र संघवाट  ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ । नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ । 

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । धेरैजसो देशले यस दिन सार्वजनिक बिदा पनि दिने गरेकाे छ । नेपालमा पनि बिदा दिइने गरेकाे छ ।

कसरी सुरु भयो नारी दिवस ?

सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्‍यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

तर, अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गरिन् । सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो विषयलाई औपचारिक रुपमा प्रवेश गराइन्, जुन सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिला नेतृहरुको सहभागीता रहेको थियो । जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरुले सहमति जनाए ।

सो सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रुपमा नै मनाउन सुरु गरियाे । क्रमश: अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन सुरु गरे । यो आ-आफनो देशअनुसार मनाउने चलन क्रमश: बढ्दै गयो । 

सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन । सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो । सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र संघका सबै सदस्यले यसलाई संसारभर मनाउन थाले ।

आजको मौसम: कोशी र गण्डकी प्रदेशका पहाडी भुभागमा बर्षा हुने

काठमाडौं, २४ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

उता, देशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, राती भने  देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनले पुनः जनमतको सम्मान र जनताको चाहनालाई सम्बोधन गर्नेछ – प्रवक्ता डा महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनले पुनः जनमतको सम्मान गर्ने बताएका छन् । मंगलबार नुवाकोट जिल्लास्तरीय बाह्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै महतले यस्तो बताएका हुन् ।

उनले जनमत र राष्ट्रिय आवश्यकताअनुसार गरिएको गठबन्धनले बाटो बिराएर पछाडि फर्कन थालेकामा कांग्रेसको सक्रियताले पुनः लयमा ल्याउन सफल भएको बताए । उनले भने “राष्ट्रपतिको निर्वाचनले पुनः जनमतको सम्मान र जनताको चाहनालाई सम्बोधन गर्नेछ । आशा गराँै यो निश्चित गन्तव्यमा पुग्नेछ ।”

देशमा राजनीतिक स्थिरता र स्थिर सरकारको निर्माण गर्न बाटो खुला भएकाले विकास निर्माणमा केन्द्रित हुन बाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दललाई जनमतअनुसार एकजुट बनाएको उनको भनाई थियो ।

राष्ट्रपति निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण

काठमाडौं – आउँदो फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको छ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान केन्द्रपनि निर्माण गरिएको छ ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् ।

निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् ।

अर्घाखाँची प्रिमियर लिग सदरमुकाम सन्धिखर्कमा सुरु

अर्घाखाँची – चौथो अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता आजबाट अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ ।

अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा शुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका अध्यक्ष जीवनारायण कोइराला र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको पहिलो दिन आज एक खेल भएको छ । रोयल खाचिकोट र इलाभेन ब्रदर्श डिभर्नाको विचमा भएको पहिलो खेलमा रोयल खाचिकोटले इलाभेन ब्रदर्श डिभर्नालाइ १६ रनले पराजित गरेको छ  । खेलको म्यान अफ दि म्याच खाचिकोटका केशव गैरे बन्न सफल भए । उनले महवपूर्ण ३ विकेट लिएका थिए ।

स्थानीय खेलाडीहरूको प्रोत्साहन सहित दक्ष खेलाडीहरु उत्पादनको लागि आयोजना गरिएको प्रतियोगितामा चार टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद रु एक लाख प्राप्त गर्ने संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिएका छन् । 
 

संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो नबनाऊँ: भट्टराई

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्ने बताएका छन् । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि एमाले सांसद भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

उनले ट्विटरमा भनेका छन्,’संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्दछ। वास्तविक पीडितहरुले न्याय पाउनुपर्छ। परिपुरणको व्यवस्था र पुन:स्थापना हुनुपर्छ। न्याय मर्नु हुँदैन, अपराधीलाई उन्मुक्ति हुँदैन । दुवै आयोगलाई निकम्मा बनाउने अदालतलाई काम गर्न नदिने नियत के हो ?’

बुधबार १०० जना महिलालाई चन्द्रागिरिको टिकट २ सयमै

काठमाडौं – चन्द्रागिरि केबलकार प्रालिले भोलि बुधबार १ सय जना महिला यात्रुलाई २ सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको छ । ८ मार्चका दिन पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी कम्पनीले यस्तो घोषणा गरेको हो ।

कम्पनीकाअनुसार सर्वप्रथम टिकट लिने १ सय जना महिलाले यो अफर पाउने छन् । महिला दिवसको अवसर पारी विभिन्न व्यावसायिक संघसंस्थाले यस्तो छुट अफर ल्याउने गरेका छन् ।

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्केको छ ।

लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो ।

यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग समान २ र २ खेल खेलेको थियो ।

नेपालले पीएनजीसँगको दुई नै खेल तथा घरेलु टोलीसँगको एक खेल जितेको थियो ।

यसकारण बहराइन जाँदैछन् सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरे बहराइन जाने भएका छन् । सभामुख घिमिरे यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन त्यहाँ जाने भएका हुन् ।

उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेका हुन् । उनले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी हुनेछन् ।

लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

कैलाली, २३ फागुन – कैलालीमा लागूऔषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षका भरत विक पक्राउ परेका हुन् । उनको साथबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४सय २०मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

‘महामुर्ख’ को उपाधि जनकपुरका मेयरलाई

काठमाडौं – यस वर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई प्रदान गरिएको छ ।

होली पर्वको अवसरमा मिथिला नाटयकला परिषद (मिनाप)ले प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सव अन्तर्गत आज (मङ्गलबार ) महामुर्ख सम्मेलनमा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । उनलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको थियो ।

संचारकर्मी ऋषि धमलालाई पटमुर्ख, संचारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाललाई खबसुरता, शिक्षक संजय झा लोढाशंकर, बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्रि किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, मोनाष्टिक विद्यालयका डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधि प्रदान गरिएको थियो । 

नेपालको बिजुली बंगलादेशको बजारमा पुग्ने छ : प्रधानमन्त्री

काठमाडौं, २३ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र उत्पादित बिजुली भारतपछि बंगलादेशको बजारमा पुग्ने बताएका छन् । हालैमात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने उनले बताए ।

आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । 

प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे । उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेको बताए ।

प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना सुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उनले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताए । 

दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिकरूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले पुनः स्मरण गरे । सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उनको भनाइ छ ।

रवि लामिछानेको मुद्दा फैसलाको पूर्णपाठ सार्वजनिक, के छ फैसलामा ?

काठमाडौं, २३ फागुन – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दामा गरेको आदेशको पूर्णपाठ सार्वजनिक गरेको छ ।

अदालतले मंगलबार आदेशको पूर्णपाठ सार्वजनिक गरेको हो । अदालतले यसअघि उनको नागरिकता विवादसम्बन्धी मुद्दामा संक्षिप्त आदेश गरेको थियो । सर्वोच्चको उक्त आदेशसँगै लामिछानेको सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री पद खारेज भएको थियो ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई नदिइएको सर्वोच्चको ठहर छ। 

https://drive.google.com/file/d/1iE-MfLs9jiXlUaoqM49BFXMDLn_NDaJL/view

दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

धनगढी – दार्चुलामा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको जिल्ला अस्पताल दार्चुलामा उपचारका मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले बताए । 

आज बिहान मधेस प्रदेश ०३–००–०३४० नम्बरको जिप महाकाली नगरपालिका–४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा खसेको थियो । उनीहरू डुङरी मन्दिरमा पूजापाठ गर्न आएको बुझिएको छ । 

जिप दुर्घटनामा महाकाली नगरपालिका–२ बुढिचौराका २४ वर्षीय जिप चालक मोहनसिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन् । 

मख्खनराम नेगी, किरण कुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको छ। अन्य घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १० जना सवार रहेका थिए ।

नहरमा डुबेर कोहलपुरमा दुई जनाको मृत्यु

बाँके, २३ फागुन – कोहलपुर नगरपालिका-१३ बन्दास्थित नहरमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन्।

नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
 

नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण

काठमाडौं, २३ फागुन – नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।

फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच भएको मन्त्रालयले जनाएको छ ।

प्रभु क्यापिटलकाे ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने समय थप

काठमाडौं, २३ फागुन । प्रभु क्यापिटलले बिक्री खुला गरेको ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने समय थप गरिएको छ ।

फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फन्ड’ का इकाई बिक्री खुला गरेको हो । क्यापिटलका अनुसार समय अगावै सबै इकाई बिक्री भएमा समयअघि नै निष्कासन बन्द गरिनेछ । अब फागुन २८ गतेसम्ममा उक्त फन्डमा आवेदन दिन सक्नेछ ।

यस क्यापिटलले प्रभु म्युचुअल फन्ड अन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको छ । जसमध्ये इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई १४ प्रतिशत अर्थात १ करोड १२ लाख र १ प्रतिशत अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ । सर्वसाधरणले बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटलले उक्त इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो । यो १० वर्षे बन्दमुखी योजना हो ।

उक्त फन्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिने प्रभु क्यापिटलले जानाएको छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट  अनुमति लिएको हुनुपर्नेछ ।  

सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् । प्रभु स्माट फन्ड प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो म्युचुअल फन्ड योजना हो ।

छिमेकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २३ फागुन । छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

छिमेक लघुवित्तको चैत १० गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभामा कम्पनीले कुल २५.२६ प्रतिश लाभांश वितरण गर्नेछ । लघुवित्तले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर २२ प्रतिशत र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्ने छ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको छ।

फागुन २४ गते नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् । 
 

वालुवाटारमा माओवादी घटकहरुको बैठक जारी

काठमाडौं – माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित  छन । 

संक्रमणकालिन न्यायको सबालमा परिस्थीति बेग्लै हुन गएको भन्दै माओवादी नेताहरुको बैठक बसेको हो 

ए डिभिजन लिगमा दुई खेल हुदैँ

काठमाडौं, २३ फागुन । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत आज दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः३० चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन् । यी दुवै नव प्रवेशी क्लब हुन । 

च्यासल मैदानमा थ्री स्टार र फ्रेन्ड्स क्लबबीच दिउँसो २ः३० बजे नै प्रतिस्पर्धा हुनेछ ।
 

आज स्पोर्ट्स अवार्ड २०७८: काे काे छन त मनोनयनमा ?

काठमाडौं, २३ फागुन । १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७८ को आज मंगलबार हुँदैछ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।  स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा गरिनेछ । विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन् भने यस वर्षदेखि वर्ष युवा खेलाडीको विजेतालाई पनि पल्सर मोटरसाइकल दिइनेछ भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउने छन् ।

को को छन मनोनयनमा ?

पिपल्स च्वाइस विधा– क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी  

वर्ष पुरुष खेलाडी– फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल 

वर्ष महिला खेलाडी– भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल

वर्ष युवा खेलाडी– फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी। 

वर्ष प्रशिक्षक– फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट

सबै रेकर्ड ब्रेक्र गर्दै पठानले कमायो १ हजार ३५ करोड बढी

मुम्बई, २३ फागुन । शाहरुख खान अभिनित पठानले १०३६ करोड संकलन गरेको छ ।

गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो ।

सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।

बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानको किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।

हाेलीकाे दिन झन्डै २६ सय सवारी चालक माथी कारबाही 

काठमाडौं, २३ फागुन । ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा हिजो मात्रै २ हजार ५ सय ५६  सवारी चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशाषन उलङघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।

यसैगरी, रेड लाइट उलङघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सबारी चलाउने (लिडार गन) १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
 

कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला, कसैको दोष नभएर समयको दोष थियो – पल शाह

काठमाडौँ । अभिनेता पल शाहले कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा होलीको अवसरमा शुभकामना व्यक्त गर्दै अभिनेता शाहले बितेको एक वर्षलाई आफूले सिकाईको उर्बर समयको रुपमा लिएको भन्दै कसैलाई गाली नगर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन् – ‘नमस्कार सबैजनालाई ????सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो। बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य। साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ। र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस ।’

‘त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। ???? रङ्गिन र सुखमय होस जीवन! होलीको शुभकामना सम्पुर्णमा !❤️’

तराई मधेसका जिल्लामा सार्वजनिक बिदा 

काठमाडौं, २३ फागुन । आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिईएको छ । फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिईएको छ ।

रंगहरुको उत्सव फागु पुर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा  मिष्ठान भोजन खाएर मनाउने चलन छ 

नेपाल रेल्वेको करिब २० बिघा जग्गा वर्षौंदेखि अलपत्र

काठमाडौँ । सम्बन्धित मन्त्रालय र निकायको पहल नहुँदा पर्सा जिल्लाको सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको करिब २० बिघा जग्गा वर्षौंदेखि अलपत्र छ । ब्रिटिस भारतकै समयमा नेपालले खरिद गरेको सो जग्गा बर्सेनि अतिक्रमित हुँदै गए पनि संरक्षणका लागि तालुक मन्त्रालय र निकायले अहिलेसम्म कुनै ठोस पहल गरेको देखिँदैन । अहिले अर्बौं रुपियाँ पर्ने सो जग्गा नेपालले सन् १९२० मा खरिद गरेको थियो ।

रक्सौलस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको जग्गा संरक्षणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अनभिज्ञ देखिएको छ । सो जग्गा संरक्षणका लागि के–कस्तो प्रयास र पहल भइरहेको छ भन्ने जिज्ञासामा मन्त्रालयका सचिव केशवकुमार शर्माले अनभिज्ञता व्यक्त गरे । गोरखापत्रको जिज्ञासापछि आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले सो जग्गाबारे तत्काल आफू ‘अपडेट’ नरहेको स्वीकारे ।

एक शताब्दीअघि खरिद गरिएको सो जग्गा वर्षौंदेखि अतिक्रमित हुँदै आए पनि नेपाल रेल्वे कम्पनी लिमिटेडले जग्गा संरक्षणका लागि बल्ल अघिल्लो वर्षदेखि जुर्मुराउन थालेको देखिन्छ । सो जग्गा संरक्षण तथा नेपालले प्रयोग गर्न पाउनेगरी फुकुवाका लागि आवश्यक पहल गरिदिन कम्पनीले एक वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको देखिन्छ । पहिलो पत्रको कुनै सुनुवाइ नभएको देखिएपछि कम्पनीले मन्त्रालयलाई दोस्रो पत्र पठाएको थियो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रशासकीय अधिकृत तुलाबहादुर डाँगीले सो जग्गा संरक्षण तथा अतिक्रमित जग्गा फुकुवा गराउने कार्य सङ्घीय सरकारमार्फत मात्र हुन सक्ने बताउँदै सोका लागि आवश्यक पहल गरिदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पटक–पटक पत्राचार गरिए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएकोबारे आफूलाई जानकारी नभएको स्पष्ट पारे । नेपाल रेल्वे कम्पनी लिमिटेडको एक्लो पहल र प्रयासले सो जग्गाबारे केही गर्न नसक्ने उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

होलीको क्रममा भक्तपुरमा १८ जना पक्राउ

भक्तपुर, २३ फागुन । होलीको क्रममा भक्तपुरमा सोमबार १८ जना मानिसहरु पक्राउ परेका छन् ।

साथै एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार होलीको क्रममा कुनै अप्रिय घटना भने हुन भएन ।  उनका अनुसार भक्तपुरको होली शान्तिपूर्वक सम्पन्न भएको उनले जनाए । होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी अरनिको राजमार्ग अन्तर्गत जगाती लगायतका ठाउँं ठाउँंमा सवारी चेकिंग गरिएको थियो । 
 

मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै , साढे २० खर्ब पुग्यो

काठमाडौँ । मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघसम्म सरकारलाई ऋणको दायित्व करिब साढे २० खर्ब रूपैयाँ पुगेको हो । ऋणको दायित्व बढ्दै गएपछि मुलुकको अर्थतन्त्रमा चुनौती थपिएको विज्ञले बताएका छन् ।

असारयता सात महिनाको अवधिमा सार्वजनिक ऋण करिब ३२ अर्ब रुपैयाँ बढेको छ । माघ मसान्तसम्म सरकारको ऋण बढेर २० खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यसमा आन्तरिक ऋण ९ खर्ब ९६ अर्ब रुपैयाँ र वैदेशिक ऋण १० खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ ।

गत असार मसान्तसम्म ऋण २० खर्ब १३ अर्ब २ ९ करोड रुपैयाँ थियो । ब्याजदर वृद्धि, नेपाली मुद्राको अवमूल्यन भएका कारण ऋण बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले बताए । पुनर्निर्माणका लागि सरकारले धेरै ऋण लियो,’ गिरीले भने, ‘केही वर्ष ऋण अझै बढ्ने देखिन्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

खाद्यान्न आयात ३१.४ प्रतिशतले घट्यो

काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न (चामल, मकै, धान, गहुँ, जौ, कोदो) आयात भएको हो ।

अघिल्लो वर्ष सो अवधिमा ५० अर्ब ५३ करोड २२ लाख २३ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो ।यो वर्ष धानको उत्पादनमा सामान्य वृद्धिसँगै आयातमा लगाइएका प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी भएको हो । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र आयातमा एलसी (प्रतीतपत्र) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण खाद्यान्न आयातमा कमी भएको व्यवसायीको भनाइ छ ।

त्यसै गरी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध र धान चामल निर्यातमा भन्सार शुल्क बढाएका कारण खाद्यान्न आयातमा कमी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतले गत भदौ÷असोजमा धान र चामल निर्यातमा २० प्रतिशतसम्म भन्सार शुल्क लगाएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

‘घरबहाल व्यवस्था निर्देशिका’ कार्यान्वयनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ । काठमाडौंमा धेरै घर बहालमा दिने गरिएको तर अधिकांशले घरबहालमा लगाएबापत तिर्नुपर्ने कर नतिरेको गुनासो बढ्न थालेपछि व्यवस्थापनका लागि बनाएको नयाँ निर्देशिका महानगरले कार्यान्वयनमा ल्याएको हो ।

नयाँ नियमअनुसार घरबहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्ने र भाडामा दिनेरलिने दुवै पक्षले सम्झौतापत्रको एक–एकप्रति राख्नुपर्नेछ । एक प्रति सम्बद्ध वडा कार्यालयमा बुझाउनुपर्ने र घर बहालमा लिनेरदिनेको नाम थर, ठेगाना, नागरिकता नम्बर, परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्ने प्रावधान निर्देशिकामा छ ।

घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादरलगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ । सोहीअनुसार घरपेटीहरूले अहिले धमाधम डेरावालासँग सम्झौता गर्दै वडामा बहालकर बुझाउन थालेको महानगरका कर अधिकारीहरूले बताएका छन् ।

महानगरको राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले निर्देशिका आएपछि सम्झौता गर्ने क्रम बढेको र घरबहाल तिर्नेको संख्यामा समेत उल्लेख्य वृद्धि आएको जानकारी दिए । ‘९० दिनभित्र सम्झौतासहित बहाल कर तिर्न आउन भनिएको थियो । अहिले त्यसको प्रभाव राम्रै परेको छ,’ उनले भने, ‘सम्झौतासहित घरपेटीहरू घरबहाल कर तिर्न आउनुभएको छ । महानगरले सचेतनासमेत उत्तिकै फैलाइरहेकाले थप आउने क्रम बढ्ने अपेक्षा छ ।’

उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा महानगरले घरबहाल कर शीर्षकमा २ अर्ब रुपैयाँ हाराहारी राजस्व संकलन गरेको थियो । निर्देशिका लागू भइसकेकाले चालू वर्षमा यो शीर्षकमा ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने महानगरको अपेक्षा छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

काठमाडौं – संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले(माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर कांग्रेससहित आठ दलको नयाँ गठबन्धन बनेसँगै एमाले कांग्रेसलाई प्रधानमन्त्रीको प्रलोभन देखाउँदै मध्यावधिको पासो थाप्ने दाउमा लागेको हो ।

एमालेका महासचिव शंकर पोखरेलले मध्यावधिकै संकेत गरे । उनले भने, ”यो जनादेश एक प्रकारले भन्नुपर्दा राष्ट्रको आवश्यकता अनुसारको जनादेश होइन । चुनाव भयो भने एमालेका लागि कुनै समस्याको विषय छैन ।’

तर, मौकामा लाभ प्राप्त गरेका दलहरूका लागि फेरि अर्को चुनावमा के होला भन्ने शंका छ । राष्ट्रपतिको निर्वाचनपश्चात कांग्रेसकै नेतृत्वमा सरकार बन्यो भने ती दलहरूले कांग्रेसलाई साथ दिइहाल्छन् भन्ने महासचिव पोखरेलको भनाइले एमाले वर्तमान सत्ता गठबन्धन भत्काउने र नयाँ राजनीतिक कोर्समा अघि बढ्ने रणनीतिमा लागेको देखिन्छ ।

सातौं प्रधानमन्त्रीको प्रतीक्षा गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा साढे ३ वर्षसम्म धैर्यपूर्वक नबस्ने टिप्पणी पोखरेलको छ । उनले भने, ‘सत्ता राजनीति भनेको शक्ति संघर्षको खेल पनि हो । त्यसका बाछिटाहरू २५ गतेको राष्ट्रपति निर्वाचनपछि सतहमा आइहाल्छन् ।’माओवादीलाई छोड्दा कांग्रेसको नेतृत्वको सरकार बन्ने जिकिर उनको दाबी छ ।

‘संविधानमा त धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमायो भने त्यसपछि उपधारा ३ अन्तर्गतको सरकार बन्छ। त्यसैले ठूलो पार्टीको हैसियतमा सरकार बनाउने अधिकार कांग्रेसको हुन्छ। आफ्नो हातमा आएको सरकार छाडेर साढे तीन वर्षसम्म प्रचण्डको आदेश मानिरहने कुरा स्वीकार्य होला त ?,’ उनको प्रश्न छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

आज तराई मधेसमा होली, एक आपसमा रंग दलेर मनाईदै

काठमाडौं, २३ फागुन । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाईदैछ ।

पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ  भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहदैँ आएको छ। 

तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहदैँ आएको छ । 

आजको मौसमः कोशी गण्डकी र कर्णाली प्रदेश प्रदेशमा बर्षा हुने 

काठमाडौं, २३ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। साथै  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू– भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। 

१४ लाख भारुसहित महोत्तरीबाट ९ जना पक्राउ

काठमाडौं, २२ फागुन-महोत्तरीको जलेश्वरबाट प्रहरीले १४ लाख भारतीय रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा बजारमा अवैध रुपमा नेपाली नोटबाट भारतीय नोट सटही गर्ने ९ जनालाई सोमबार महोत्तरी प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका ३ का ४३ वर्षीय जितेन्द्र कुमार सिंह, वर्ष ४० का सुशिल साह, १९ वर्षीय धिरज मण्डल, ३२ वर्षीय जिलानी अंसारी, वर्ष ३४ का अकवर अंसारी, वर्ष ५६ का रामएकवाल मण्डल, जलेश्वर २ का ३४ वर्षीय सरोज कुमार साह, २७ वर्षीय आनन्द कुमार र भारत बिहार, मोतिहारी जिल्ला मोठलिईया हरसिद्दी थाना ३ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार महतो छन् ।

उनीहरुको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ १४ लाख ३७ हजार ६४० र नेपाली रुपैयाँ ८२ हजार २०५ बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसी सन्तोष पोखरेलले जानकारकी दिए ।

विदेशी विनियम ऐन २०१९ अन्तर्गत आवश्यक कारवाहीको लागि उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

राजधानीबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ

काठमाडौं, २२ फागुन-उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौंबाट २१८ जनालाई पक्राउ गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने एसएसपी श्रेष्ठले जानकारी दिए ।

काठमाडौं उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरिएको थियो । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला

बैतडी, २२ फागुन -पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । मृत भेटिनेमा जीवन बुडाल नाम रहेको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ ।  

मृतक बुडालका परिवारले पिकनिक मनाउन साथमा गएका गजेद्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट,  टेक खत्री र मोहन ठगुन्नाका नाममा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि प्रहरीले १२ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।  

अनुसन्धानका क्रममा प्रहरीले जीवन बुडालको शव नजिकबाट बिष्फोटक पदार्थ फेला पारेपछि हिरासतमा रहेका १२ जनामाथि विस्फोटक पदार्थ ऐन अन्तर्गत थप मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।  

जीवन बुडाल राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा सूचक पदमा कार्यरत थिए । बिदामा घर आएका बेला दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका बुडाल फागुन १३ गते दोगडाकेदार–४ जाडाबगडस्थित चमेलिया नदी किनारमा मृत फेला परेका हुन् ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धान टोली बैतडी पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीवनको शव पोष्टमार्टमपछि भीसेरा परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । 

दार्चुलामा चितुवा मृत फेला

दार्चुला, २२ फागुन – दार्चुलाको शैल्यशिखरमा एक चितुवा मृत फेला परेको छ । शैल्यशिखर नगरपालिका –२ स्थित कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीय शङ्कर जोशीले जानकारी दिए ।

पाँच फिट तीन इन्च लम्बाई र दुई फिट एक इन्च चौडाइ रहेको चितुवा सोमबार मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले बताए । चितुवाको टाउकोमा गहिरो चोट लागेको उनले बताए । 

चितुवा पानी पिउन घट्टेखोलामा आउँदा भिरबाट लडेर मरेको हुन सक्ने अनुमान गरिएको छ । चितुवालाई प्रहरी, सवडिभिजन वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयको रोहबरमा गोकुलेश्वर अस्थायी प्रहरी पोष्ट नजिक गाडेको बताइएको छ ।

यूएई विरुद्ध नेपालको शानदार जित

काठमाडौं, २२ फागुन-आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । यो जितसँगै अंक तालिकामा एक स्थान माथि उक्लिएको छ ।

त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो । नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो । यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ ।

त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ ।

यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ । यूएईको ३२ खेलमा ३१ अंक छ ।

लिङ्देनलाई भेटेर पौडेलले मागे राष्ट्रपतिमा भोट

काठमाडौं, २२ फागुन-राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन् । सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरुसँग भोट मागेका हुन् ।

जवाफमा अध्यक्ष लिङ्देनले संस्थागत निर्णय हुने जवाफ दिएका छन् । संस्थागत रुपमा राजतन्त्रको पक्षमा उभिदै आएको राप्रपा राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने निर्णय गरेको छैन ।

पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन हुने दुवै मत भएका कारण फागुन २४ गते मात्रै निर्णय लिने राप्रपाले जनाएको छ । राष्ट्रपति चुनावमा राप्रपासँग २४५० मतभार छ ।

राष्ट्रपति निर्वाचनः आज राती १२ बजे देखी मौन अबधि सुरु

काठमाडाैं, २२ फागुन ।  राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अधवि सुरु हुने भएको छ।आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मौन अबधि सुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि नागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था अनुसार मौन अवधि लागू हुनेछ ।

‘उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ,’ आयोग भनेकाे छ।


आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर तथा सजाय ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७० को दफा १७ बमोजिम सजाय हुने बताएको छ। राष्ट्रपतिका लागि  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।