`

स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

काठमाडौं, २१ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ। 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिने भएको हो।

आज प्रकाशित हुने मतदाता नामावलीमाथी फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुदैँछ ।

एक हजार २६ करोड संकलनसहित पठान किर्तिमानीमा

काठमाडौं, २१ फागुन ।  शाहरुख खान अभिनित पठानले १०२६ करोड संकलन गरेको छ ।

गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो ।

सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।

बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानकाे किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।
 

अमेरिकी डलर र युरोको भाउ घट्यो

काठमाडौं, २१ फागुन। साताकाे पहिलाे दिनकाे काराेबार अर्थात आइतबार डलरसँगै युरोको भाउ पनि घटेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा  र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ। यसअघि शुक्रबार डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो । 

आइतबार युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ८२ पैसा  र बिक्रीदर १३९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । शुक्रबार युरोको खरिददर १३९ रुपैयाँ ९८ पैसा  र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६२ पैसा तोकिएको छ। यसअघि शुक्रबारको कारोबारमा बेलायति पाउण्डको खरिदमूल्य १५७ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य १५८ रुपैयाँ ४५ पैसा तोकिएको छ । 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९० पैसामा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ २३ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसामा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १५ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६५ पैसामा किनबेच भएको छ।
 

विश्व शान्तिका लागि नेपालमै पहिलो पटक रिद्धिसिद्धि गणेश महायज्ञ

सप्तरी, राजविराज नगरपालिका वडा नम्बर १३ मा श्री १०८ श्री रिद्धिसिद्धि गणेश महायज्ञको मंगलबारदेखि सुरु भएको छ ।

विश्व कल्याणका लागि नेपालमै प्रथम पटक महायज्ञ सुरु भएको मूल आयोजक समितिको संयोजक योगेन्द्र देवले बताएका छन् । फागुन १ गतेदेखि सुरु भएको महायज्ञ २४ गतेसम्म चल्ने छ । महायज्ञमा ४० देखि ५० लाखसम्म खर्च हुने आयोजकको भनाई छ ।

महायज्ञमा नेपाल भारतको एक दर्जन पण्डितहरू सहभागी रहेका छन् । महायज्ञको पहिलो दिन करिब दुईसय महिला तथा बालिकाले कलसश भरेर यज्ञ स्थलमा राखेका छन् । आफूले भरेको कलशको दिनहुँ पुजा गर्दैआएका छन् ।

सोही वडामा गणेश मन्दिरमा गणेशको मुर्ति स्थापना गरेपछि विश्व शान्ति गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको स्थानीय भैरव चौधरीले जानकारी दिए ।

यस्तो छ आजकाे हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, २१ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर र भारतीय सुन्तला ११० रुपैयाँ, अनार २८० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैया, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ५०  रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ४० रुपैयाँ, भान्टा लाम्चो ९० रुपैयाँ, भिण्डी १२० रुपैया केजी र हरियो धनिया २० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

सार्कको नयाँ महासचिवमा बंगलादेशी कुटनितिज्ञ

काठमाडौं, २० फागुन ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशी कुटनीतिज्ञ गोलाम सरवार हुने भएका छन ।

श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन । हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने छन् ।

रोलक्रम अनुसार अफगानिस्तानवाट सार्कको महासचिव हुनु पर्ने भए पनि सार्क सदस्य राष्ट्रले तालिबानी सरकारलाई मान्यता नदिए पछि नेपालको पहलमा बंगलादेशले सो अवसर पाएको हो ।

सार्क राष्ट्रको हैसियतमा सबै बिदेश मन्त्रालयलाई कुटनीतिक पत्राचार गरेर सार्क महासचिवमा बंगलादेशी कुटनीतिज्ञले नेपालले मान्यता दिलाइको हो  । सार्क बिदेश मन्त्रीहरुको बैठकले अनुमोदन गर्नुपर्ने भए पनि बिदेशी मन्त्रीस्तरीय बैठक बस्न नसके पछि पत्राचार मार्फत बंगलादेशी कुटनीतिज्ञले नेपालले मनाउन सफल भएको हो, परराष्ट्र स्रोतले भन्यो ।  

राष्ट्र बैकले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ ।

आन्तरिक ऋण उठाउन  राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । 

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र  १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो ।

यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ । 

जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत  २१  गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ । 

आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेवाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।

चेल्सीकाे सहज जीत 

काठमाडाै, २१ फागुन । प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेकाे छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए ।

चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७ औं स्थानमा सिमित छ ।

पिएसजीकाे नान्टेसमाथि ४–२ काे सानदार जीत, शिर्षस्थान कायमै

काठमाडाै, २१ फागुन । पिएसजीले  नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ ।पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २–० ले अग्रता लियो ।

३१औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउदै  खेललाई २–१ को स्थितिमा ल्याए । लगतै ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को जित दिलाए । यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले २६ खेलबाट ६३ अंक बटुलेको छ । नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ 

चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण

लमजुङ २१ फागुन । लमजुङको बेसीसहर नगरपालिका–३ गाउँसहर क्षेत्रको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण गरिएको छ ।

उक्त क्षेत्र चट्याङको उच्च जोखिम भएकाले जनधनको सुरक्षा गर्न गाउँमा अर्थिङ टावर राखेर सुरक्षित बनाइएको स्थानीय अजय मजाकोटीले बताए । 

गाउँको ६ ठाउँमा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको स्थानीय देवी श्रेष्ठले बताइन।

१७ लाख ६३ हजार डिम्याट खाता बन्दै गरिँदै

काठमाडौं । धितोपत्र कारोबारका लागि खोलिएका हितग्राही (डिम्याट) खातामध्ये ३२ प्रतिशत निष्क्रिय रहेको पाइएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म खोलिएका ५५ लाख ७७ हजारभन्दा बढी हितग्राही खातामध्ये १७ लाख ६३ हजारभन्दा बढी निष्क्रिय छन् ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ती खातामा कुनै पनि कम्पनीको शेयर नरहेको र लामो समयदेखि खाता नवीकरण समेत नभएको बताए। उनका अनुसार एक जना व्यक्तिले दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ ।

कुनै पनि लगानीकर्ताले दुईओटा हितग्राही खाता खोलेको खण्डमा दुवै खाता सञ्चालनमा रहेको हुनुपर्ने सीडीएससीका प्रवक्ता न्यौपानेको भनाइ छ ।हाल निष्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा नभएको न्यौपानेले जानकारी दिए ।

वार्षिक सय रुपैयाँ तिरेर नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार हाल निष्क्रिय रहेका खाता पुनः सञ्चालनका लागि नवीकरण लागत पनि बढी हुने भएकाले ती खाताहरू बन्द गराउँदा नै प्रभावकारी हुने न्यौपानेको भनाइ छ ।

घरमै बसेर नवीकरण गर्न सकिने व्यवस्था भएको अवस्थामा लामो समयदेखि नवीकरण नभई निष्क्रिय रहेका ती खाता सञ्चालनमा लगानीकर्ताले समेत चासो नदिएको उनको बुझाइ छ ।

ुनिष्क्रिय खाता कायम राखेर संख्या मात्र बढाउनुको अर्थ छैन,’ उनले भने, ‘नियामकको निर्देशनबमोजिम आगामी दिनमा निष्क्रिय खाता बन्द गराउने तयारी भइरहेको छ ।’ नियामक निकाय नेपाल धितोपत्र बोर्डका अनुसार सीडीएससीले आवश्यक ठाने निष्क्रिय हितग्राही खाता बन्द गरिदिन सक्छ ।

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही खातामध्ये ३२ प्रतिशत निष्क्रिय हुनुको पछाडि एकै परिवारका धेरै सदस्यको नाममा खोलिएको हुनसक्ने अनुमान लगाए ।यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कर्मचारीको न्यूनतम तलब सबै कटौती गरेर ३४ हजार बनाउन सिफारिस

काठमाडौँ । अबदेखि कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ ।उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ ।

निजामती सेवा र निजामती सेवाबाहिरका कतिपय कर्मचारीका पद मर्यादाक्रममा माथि भए पनि तलब भने कम मात्र पाउँदै आएका थिए । त्यस्तै मर्यादाक्रममा तल परेको तर तलब धेरै भएको पदमा तलब वृद्धि गर्दा तलब मिलान गरेर वृद्धि गर्न पनि सुझाव दिइएको छ ।

आयोगका सदस्य एवं पूर्वसचिव विमल वाग्लेले सरकारले आगामी दिनमा कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम मिलान गरेर मात्र तलब वृद्धि गर्न सरकारलाई सुझाव दिएको बताए । अहिले निजामती सेवाबाहिरका सेवाका कतिपय कर्मचारीका पदमा मर्यादाक्रम नमिलाई सरकारले एकमुष्ट रूपमा तलब वृद्धि गर्दै आएको थियो ।

उहाँका अनुसार निजामती र निजामतीबाहिरका नमिलेका १९ वटा पदमा तलब मिलान गरेर तलब वृद्धि गर्न सरकारलाई सिफारिस गरिएको छ ।तलब दिने निकायको क्षमता अभिवृद्धि गरी निजामती सेवाको तल्लो तहको न्यूनतम तलब मासिक ३४ हजार रुपियाँ पुग्नेगरी तलब वृद्धि गर्न आयोगको सुझाव छ ।

अहिले निजामती कर्मचारीको तल्लो तहका कर्मचारीलाई सरकारले मासिक ३४ हजार रुपियाँ तलब दिन सक्ने अवस्था नभए पनि जीवन निर्वाह गर्न पुग्ने आवश्यक तलब दिनुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

उनले भने, “सरकारले तलब दिन सक्नेगरी सरकारको क्षमता वृद्धि गर्न, राजस्व वृद्धि गर्ने र अनावश्यक खर्च कटौती गरी न्यूनतम तलब ३४ हजार रुपियाँ दिन सरकारलाई सुझाव दिइएका छौँ ।”

त्यस्तै प्रतिवेदनमा अर्थतन्त्रको सङ्क्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकका कर्मचारीको सेवा सुविधाको अवस्था, कर्मचारीको उपचार खर्च, कर्मचारी आवाससम्बन्धी व्यवस्था, यातायात सुविधासम्बन्धी व्यवस्था, वैदेशिक अनुदानको परिचालन र अहिले कर्मचारीतन्त्रमा देखिएको विकृतिबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आगामी दिनमा सरकारले तलब वृद्धि गर्दा आयोगको सिफारिसलाई आधार मानेर मात्र तलब वृद्धि गर्नुपर्ने सिफारिस छ ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

बालाजु बसपार्क घटनामा ६२ जनाविरुद्ध मुद्दा चलाउने तयारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले बालाजु र नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा संलग्न ६२ जनामाथि मुद्दा चलाउने तयारी गरिरहेको छ। यातायात मजदुर सङ्गठनले यही फागुन १ गते गरेको आन्दोलन एक्कासि उत्तेजित हुँदा प्रदर्शनकारीले बालाजु प्रहरी वृत्तको दुईवटा सवारीसाधन, ट्राफिक पोस्टमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए।

प्रहरीका सवारीसाधन तथा ट्राफिक पोस्ट तोडफोड गर्ने ३५ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा, ल्होत्से मल तोडफोड तथा लुटपाटमा संलग्न १७ जनाविरुद्ध डाँका तथा लुटपाट कसुरमा र अन्य १० जनाविरुद्ध अभद्र व्यवहार कसुरमा ६२ जनामाथि मुद्दा चलाउने तयारी भइरहेको परिसरले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले बालाजु तथा बसपार्क तोडफोड, लुटपाट तथा आगजनी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

८ दलीय गठबन्धनमा दलैपिच्छे उपप्रधानमन्त्री आकांक्षी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्। बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित आठ दलीय गठबन्धनका सांसदको अभिमुखीकरण कार्यक्रमपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार तुरुन्तै हुने बताएका थिए।

त्यस दिन जे भने पनि उनी राष्ट्रपतिको निर्वाचन कुरिरहेका छन्। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ।राष्ट्रपति निर्वाचनअघि नै सरकार विस्तारका लागि निर्वाचन आयोगले स्वीकृति दिने तयारी गरे पनि प्रधानमन्त्री दाहालले सरकार पुनर्गठन त्यसअगाडि नहुने संकेत गरेका छन्।

उनले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि नै लिन खोजेका छन्।जहिले मन्त्रिपरिषद पुनर्गठन गरे पनि दाहालसामु दलहरूलाई कसरी समेट्ने भन्ने चुनौती खडा भएको छ।आठ दलीय गठबन्धनलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने हुँदा उपप्रधानमन्त्रीको संख्या आठ जना पुग्ने सम्भावना देखिएको छ।

पुस १० मा एमालेसहित सात दल सम्मिलित समीकरणमा ४ जना उपप्रधानमन्त्री थिए।अहिले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मात्रै उपप्रधानमन्त्री छन्। उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री पनि हुन्।आठ दलमध्ये माओवादी केन्द्रले यसअघि नै उपप्रधानमन्त्री लिइसकेकाले बाँकी सात दलले पनि उपप्रधानमन्त्री मागिरहेका छन्।

आठ दलमध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई उपप्रधानमन्त्री दिनुपर्ने बाध्यता छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि उपप्रधानमन्त्री मागिरहेको बताइएको छ।यो समाचार नागरिक दैनिकमा छ ।

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सबारीसाधान चल्ने

चितवन, २१ फागुन ।नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुदैँ आएको नागरिक मुग्लिङ सडक खण्डमा आज देखी नियमित सवारी साधान आबातजावत हुने भएको हो ।

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतवार देखी नियमिति रुपमा सडक सञ्चालन गरिन लागेको हो ।

उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए । ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्य छैन् निर्बाधा रुपमा चल्न सक्नेछन्’ उनले  भने ।

गत पुस ५ गतेदेखि  बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुदैँ आएको थियो ।

सुदुरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ

धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । 

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन् ।

उनले पठाएको पत्र अनुसार आइतबार दिउसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए ।  

‘मुख्यमन्त्रीज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भने, ‘त्यसै अनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिइसकेको छु ।’

माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रिय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलिय सहमतीको लिखित हस्ताक्षर बिना बिश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पारेकी छिन । दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन । तीन दलसँग प्रदेश सभामा ३४ प्रदेश सभा सदस्य रहेको छन् । प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ । 

यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले पनि कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिनु अघि  मन्त्रालयमा भागबन्डा लगाउनु पर्ने सो पार्टीको भनाई छ । ‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन,’ नाउपाकी अध्यक्ष रिञ्जता श्रेष्ठले फेसबुकमा लेखेकी छन् । सो अनुसार मन्त्रालय भागबन्डा टुंग्याए पछि मात्रै शाहलाई विश्वासका मत दिने अध्यक्ष श्रेष्ठको भनाई । 

नागरिक उन्मुक्ति पार्टीले समेत प्रदेश मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको अवस्थामा प्रदेश सरकारलाई दुई तीहाई समर्थन हुने छ । 

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको रावल नेतृत्वको सरकार ढलेको थियो । 

रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए । 

आजको मौसमः देशका पहाडी भुभागमा बर्षा हुने, हिमाली भेगमा हिमपात हुने

काठमाडौं, २१ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती भने  कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

फेवाताल डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु

फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।

अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 

राजदेवी मन्दिरबाट चोरिएका गहनासहित पाँच जना पक्राउ

जनकपुर, २० फागु्न – क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित राजदेवी मन्दिरबाट चोरी भएका मूर्ति तथा सुन चाँदी र पितलका गरगहना, पेस्तोललगायत हातहतियारसहित पाँच आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

फागुन १४ गते राति उक्त मन्दिरको ताल्चा फोरेर बहुमूल्य सरसामानहरु चोरी गरिएको थियो । शनिबार पत्रकार सम्मेलन गरी चोरीमा संलग्न भनिएका व्यक्तिहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहम्मद, विदेह नगरपालिका ४ सुन्दरपुर बस्ने २१ वर्षीय मोहम्मद हबगुल्लाह साह, सोही नपा ४ बस्ने २२ वर्षीय नर्सुद्दिन साह र ३० वर्षीय सरिफ मुसलमान तथा कमला नगरपालिका ७ बस्ने २२ वर्षीय रमेशकुमार महतो रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

आरोपीहरुको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने १ थान गोली, १३ थान मोबाइल, ११ हजार ५ सय नगद, मूर्ति, मुकुट आदि गरी करिब २ केजी चाँदी, पूजामा प्रयोग हुने सुन चाँदीका गरगहना, भाँडा वर्तनसँगै ताल्चा फोड्न प्रयोग हुने फलामको छेनी, घन, खुकुरीलगायतका सामानहरु बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

रमदैयास्थित राजदेवी मन्दिरमा जडान गरिएको सीसी टिभी क्यामराको फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष अनुसन्धान टोलीले शुक्रबार विदेह नगरपालिका ४ का सरिफ मुसलमानलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि सरिफकै सूचनाको आधारमा भारततर्फ भाग्दै गरेका रजाक मोहम्मद, हबगुल्लाह शाह,रमेश महतो तथा नर्सुद्दिन शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईं – दुर्गा प्रसाई

काठमाडौं, २० फागुन ।  राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका ब्यावसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि ‘राजतन्त्र जिन्दावाद’ को नारा नलगाउन आग्रह गरेका छन ।

उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाउ’ भन्दै गरिरहेको नाराबाजी रोक्दै बानेश्वरमा आयोजित प्रदर्शनवाट प्रसाईले सो नारा लगाउन रोक लगाएका हुन ।

राजतन्त्रको पुर्नस्थापना चाहने हो पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राख्दै उनले नाराबाजीमा रोक लगाएका हुन ।

‘राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु पर्‍यो नि । हामीसँगै आउनु पर्‍यो । भिडनुपर्‍यो । हामीलाई साथ दिनुपर्‍यो । राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईं । म राजा देखाएर सांसद बनेर जान्न ।’

हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।

पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईंले हाल सो पार्टी पनि परित्याग गरी उनी अलग अभियानमा सक्रिय छन् ।

पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु

पाल्पा, २० फागुन – पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको रैनदेवी छहरा ७, बल्ढेङगढीस्थित कन्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो ।

१७ वर्षीय भिमबहादुर रानाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रैनदेवी छहरा ७ र ८ को सिमाना भएर बग्ने कन्चन खोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा राना डुबेका थिए । 

राना रैनदेवी छहरा–७, बल्ढेङगढी जोग दमारका बासिन्दा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

आम जनता पार्टीले रामचन्द्र पौडेललाई समर्थन गर्ने

काठमाडौं, २० फागुन – आम जनता पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

आजपा प्रवक्ता चन्द्र भूषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने बताए । ‘राष्ट्रिय एकताको साझा प्रतीक बन्नी देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवं विश्वास सहित जीतको अग्रिम बधाई एवं शुभकामना समेत व्यक्त गर्दछु,’ साहले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौथो राष्ट्रपति (राष्ट्राध्यक्ष) पदका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ्ले उम्मेदवारी दिएका छन् ।

६ तलामाथिबाट खसेका माधव नेपालका भाइ सरोजको निधन

काठमाडौं, २१ फागुन -नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको निधन भएको छ।नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर घाइते भएका थिए । ६ तलामाथिबाट खसेका नेपालको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचारका क्रममा ज्यान गएको हो।

पार्टीका नेता बिजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्‍याएकोमा उनलाई पछि अन्नपूर्ण न्युरो लगिएको थियो ।

फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार

गण्डकी, २० फागुन पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले ५ जनाको सकुशल उद्धार गरिएको बताए उनका अनुसार एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ ।

पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो । डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

तलब कम हुदाँ बित्तिय अराजकता बढयो, सन्तुलनमा ल्याउनु पर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएको बताएका छन्  ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन  ।

प्रधानमन्त्रीले भने, ‘तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलवमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागिसमेत सहयोग पुग्नेछ। शासन व्यवस्था भनेकै आखिरमा दण्ड र पुरस्कारको असल अभ्यास नै हो। हाम्रो कर्मचारी प्रशासनमा समेत त्यो कुरा लागू गर्नुपर्दछ,’ उनले भने । 

कर्मचारीहरूको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आउने र अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहने उनको भनाई छ । 

‘तलवले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा कि त विदेसिनुपर्ने कि त वित्तीय अराजकता वा लामो हात गर्ने ठाउँमा पुगेका उदाहरण पनि हामीकहाँ छन्। त्यसैले आजको परिस्थिति र आवश्यकताअनुसार कर्मचारीहरूको तलवमान र सेवासुविधामा पुनर्विचार गर्न आवश्यक छ।’

उनले सरकार उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा रहेको पनि जानकारी दिदै प्रतिवेदनले त्यसलाई समेत मद्दत पुग्ने प्रधानमन्त्रीको भनाई छ ।

‘देशका लागि कति कर्मचारी आवश्यक हो, कुन कुन संरचना आवश्यक हो, त्यसको उचित अध्ययन गरेर निर्मम निर्णय लिन आवश्यक छ। यसो नगर्दा राज्यलाई ओभरलोड हुने तर परिणाम नदेखिने समस्या झेलिरहनुपर्ने हुन्छ,’ प्रधानमन्त्रीले भने ।

सो अवसरमा प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानुनी विषयहरू संघीय निजामति ऐनमा नै व्यवस्था गर्ने र व्यवहारिक सुझावहरू तत्काल कार्यान्वयनमा लैजाने बताए । 

प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक लिलामणि पौडेलले नेपालको अर्थतन्त्रको संक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकहरूमा कर्मचारीहरूको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धि नयाँ प्रस्ताव, उपचार खर्च, विदासम्बन्धि व्यवस्था, कर्मचारी आवाससम्बन्धि व्यवस्था, यातायात सुविधासम्बन्धि व्यवस्था र वर्तमानमा देखिएका बेथितिहरूको नियमनसम्बन्धि व्यवस्था, कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलव र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने बिकल्पहरू, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव, सामाजिक सुरक्षा भत्ता र राजश्व छुट सम्बन्धि नयाँ व्यवस्थाका लागि प्रस्ताव, वैदेशिक अनुदानको परिचालनसम्बन्धि राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नियमन, कर्मचारीहरूको कार्यबिवरणको मूल्यांकन लगायतका विषयहरू प्रतिवेदनमा समेटिएको बताए । 

गत भदौ ६ गते पूर्व मुख्यसचिव पौडेलको संयोजककत्वमा विमल वाग्ले र शिवदेव पाण्डे सदस्य रहनेगरि गठन भएको आयोगलाई ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो।

लमजुङमा नौ दिने पदमार्ग पहिचान: हनी हन्टिङ, झरना, गुफा देखी भेडिगोठसम्म

लमजुङ २० फागुन – दोर्दी गाउँपालिकाले उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान गरेको छ ।पदमार्गमा भीडीगोठहरु भएकाले दोर्दी गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ को अवधारणा अघि सारेको छ ।

मानव बस्ती नभएका र होटलहरु समेत नरहेको अवस्थामा भीडीगोठमै बास बस्न मिल्ने गरी व्यवस्थापन गर्ने अवधारणा अघि सारिएको छ । ‘हामी भेडिगोठलाई आधारभूत सुविधाहरुसहित सेल्टरको रुपमा विकास गर्न चाहन्छौं दोर्दी  गाउँपालिका अध्यक्ष युवराज अधिकारीले भने ।

उनले गाउँपालिकाले ४ दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए । गाउँपालिका अन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ रहेको र मानवबस्ती साथै सडक सञ्जालभन्दा टाढा रहेकाले यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुने बताए ।

अधिकारीका अनुसार दोर्दी गाउँपालिका ४ को नौथरसेराबाट सुरु भएर इलमपोखरी, लिपेलेक हुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने पदयात्रा गर्न सकिन्छ । 

यस्तै, नौथर सेराबाट इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा ८ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमेपोखरी, कुम्रोडाँडा, बाह्रपोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेंसीसहरसम्मको ११ दिनको पदयात्रा पनि गर्न सकिन्छ ।

अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालीगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढी साथै हिमश्रृंगखलालगायतको दृश्यावलोकन गर्न सकिन्छ । ती क्षेत्रमा हालसम्म पदमार्गको पहिचान, पोखरीको पुनःसंरचनाका साथै प्रचारप्रसार तथा भेडीगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको अधिकारीको भनाइ छ । 

अबैध व्यापारले नेपाली उद्योगी व्यवसायी संकटमा, धैर्य गर्न महासंघकाे आग्रह

रुपन्देही- रुपन्देहीका उद्योगी व्यवसायीले खुला सिमाका कारण व्यवसायमा ठूलो असर परेको बन्दै केन्द्रिय स्तरबाट सिमा व्यवस्थापन गर्नुपर्ने बताएका छन ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुले अहिले को विषम परिस्थितीमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएकोे बताए । उनीहरुले खुला सिमामका कारण भइरहेको अबैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेकोले  सिमा नाकालाई व्यवस्थित गर्दै सिमाबाट हुने अबैध व्यापारले सिमावारिका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई  कम गर्ने गरी ठोस नीति अवलम्वन गर्नुपर्ने बताए ।

नियम पूर्वक भन्सार गरेर आएका सामानले अबैध समानासँग प्रतिस्पर्धा गर्न असम्भव भएकोले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाबाट समेत बढी संख्यात्मक मात्रामा अबैध सामान भित्रिदा एकातिर सीमा वारीका व्यवसाय शुन्य भएको र सरकारको राजश्व समेत कम उठेकोले यस्मा सरकार गम्भिर हुनु पर्ने बताए । सम्भावना देखेर राज्यले गरेको लगानी भन्दा बढि कयौँ गुणा लगानी निजी क्षेत्रले जोखिम मोलेर गरेपनि सरकारको उदासिनताका कारण निजी क्षेत्रको लगानी धरापमा पर्ने गरेको उनीहरुले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही समय आर्थिक अवस्थामा संकट परेकोले सधै यस्तै नरहने औल्याउदै उद्योगी व्यवसायी नआत्ति धैर्य गर्न आग्रह गरे । नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउदै उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने भएकोले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवश्था आएकोले घटाउने तर्फ महासंघ लागेकाे बताए । हामीले पटक पटक बचतमा ब्यजदर नबढाउन माग गरिरहेका छाै अहिले बैंकको ब्याज नतिर्ने भन्ने सन्देश जनस्तरमै गएको बताउदै उनले निजि क्षेत्र यसमा नलाग्न आग्रह गरे ।

उत्पादनमूलक व्यवसायलाई अन्य उद्योग भन्दा कम व्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था  कार्यान्वयन गर्नुपर्ने, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र औद्योगिक विकास र उत्पादनमूलक उद्योग स्थापनामा सरकारबाट ठोस कदम चाल्नुपर्ने, राष्ट्रबैंकको यर्थाथपरक नितिको अभावले कर्जा र तरलतामा समस्या देखिएकोले ध्यान दिनु पर्ने, बैंक तथा वित्तिय संस्थाद्वारा कर्जाको व्याजदरमा मनोमानी तवरले वृद्धि गर्दै आएका छन् यसलाई नियन्त्रण गर्नुपर्ने, पर्यटकिय हिसाव तथा अन्तराष्ट्रिय बिमानस्थल संचलानलाई मध्येजनजर गरी रुपन्देही जिल्ला भित्र रात्रीकालीन बजार एवम् सवारी साधन सञ्चालनको व्यवस्थित गर्नुपर्ने, स्थानीय, प्रादेशीक एवं संघिय सरकारद्वारा लागू गरिएका कर एकीकृत रुपमा एकद्वार प्रणाली मार्फत दाखिला गर्ने व्यवस्था मिलाइउनु पर्ने ब्यावसायीकाे माग छ ।,

जिल्ला सदरमुकाममा रहेको भीम अस्पतालको सेवा प्रवाह र आवश्यक पूर्वाधार तथा  थप स्तोरउन्नती सहित कम्तीमा १५० सैयाको अस्पतालको रुपमा विकसित गरी अन्तराष्ट्रिय विमानस्थलको दिगो संचालन, लुम्बिनीको पर्यटकिय विकास एवं यस क्षेत्रको समग्र आर्थिक विकासको लागि विमानस्थल निरन्तर संचालन र राष्ट्रिय ध्वजावाहक विमानहरुबाट उडानसंचालन गर्न जोड दिए । निर्माणको सुरुवात हुन लागेको आएसीपी छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि पहल गर्नुपर्ने, निमार्ण जन्य सामाग्री उत्खनन् गरी निर्यात बाट देशको बढ्दो व्यापार घाटामा कमी ल्याउन सकिने भएकोले यस तर्फ पनि सरकारले ध्यान दिनु पर्ने अध्यक्ष न्यौपानेले भने । 

आज बानेश्वरमा दुर्गा प्रसाईको प्रदर्शन हुने

काठमार्डौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।ब्यावसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंकाे बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो ।

 
पुर्ब राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापावाट सुरु भएकाे अभियानले बुटबल हुदैँ देशका बिभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियनले आर्थिक अन्याय र बेथितिको विरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी  दिएका छन् ।

नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याँजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपील साे अभियानकाे छ ।

दुधको मुल्य ९.५० रुपैयाँ बढयो, आज उपभोक्ता मुल्य तोकिने

काठमाडौं, २० फागुन । अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ ।कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मुल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो। 

जसअनुसार दुधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समय देखी दुधको मुल्य बढाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए । 

नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।

रारा जाँंदै हुनुहुन्छ ? चिन्ता नगर्नुहोस्, अब सुविधासम्पन्न रिसोर्टमा बस्न पाइन्छ

काठमाडौँ । मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ ।धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । 


मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याएको जनाएका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरीय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ । स्थानीय जनतालाई समेत उनीहरुको जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य रहेको जनाइएको छ ।

रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले हाललाई ५ करोडको पुँंजीमा २० कोठाको हलसहित रिसोर्ट सञ्चालनमा ल्याइएको अध्यक्ष शाहले जनाए । मुगुको रारामा  २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहेको अध्यक्ष शाहले जानकारी गराए । मगुको रारा ताललगायतको पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याएको उनले जनाए ।


रिसोर्ट सञ्चालकमध्येका एक इन्जिनियर कृष्णभक्त दुवालका अनुसार रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ । अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले सख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो । यही विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जनाए ।

रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका छन् । बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भैसकेको छ । यही आवश्यकता र श्रृजित अवसरका कारण रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानसहित तीन ठाउँंमा होटल निर्माण गरी सेवा सुरु गरेको जनाइएको छ ।

नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म रहेका विभिन्न पेशामा आबढ्व रहेकाहरुको लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमूना होटल प्रारम्भ गर्ने योजना तथा कायक्रम रहेको सञ्चालकहरुले जनाएका छन् । सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना यसको रहेको उनीहरुले जनाए । यसअघि रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गरिएको थियो ।


नेपोली लाजियासँग १० ले पराजित, अपराजित यात्रामा ब्रेक

काठमाडौं, २० फागुन । इटालिएन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्योहेरेको छ ।

पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित पराजित भएको हो । घरेलु मैदानमा दोस्रो हार ब्योहोरेको नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १–० को हार बेहोरेको थियो  ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोली नेपोलीलाई ६७ औ मिनेटमा लाजियोका मेटिएस भेसिनोले गरेको गोल नै निर्णायक बन्यो । यो गोलको जवाफ फर्काउन नसक्दा नेपोली हारमा चित्त बुझाउन बाध्य भयो । 

२५ खेलमा २१ जित र २ बराबरी र २ हारको नतिजासँगै  शीर्षस्थानमा रहेको नेपोलीको २५ खेलबाट ६५ अंक छ भने लाजियोको ४८ अंकसहित दोस्रो स्थानमा छ ।

सर्वोच्चको आदेशसँगै प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट भोली दर्ता हुने

काठमाडौं, २० फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिए पछि दुईं बर्ष पछि अर्थात आइतवार रिट दर्ता गरिन लागेको हो । 

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन ।

दर पिठ भए पछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उनीहरू पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रिट लिएर पुगेका थिए । सोही रिटमा सुनवाई गर्दै न्यायधिसद्धय कार्की र फुयाँलले मुद्धा दर्ता गर्न आदेश दिएका छन ।

शुक्रबार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलिपि लिई रिट आइतवार मुद्धा दर्ता गरिने अधिवक्ता ज्ञानेन्द्रराज आरणले सञ्चारकर्मीलाई जानकारी दिए । 

राखेप सदस्य सचिव घिसिङ अस्वस्थ्य

काठमाडौं, २० फागुन । राष्ट्रिय खेलकुद परिषद् (राखेपं) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् । 

गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहे पछि पुर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको राखेपले जनाएको छ ।

अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार साँझ डिचार्ज गरिएको छ । उनलाई चिकित्सकले केहि दिन आराम गर्न सल्लाह दिए पछि उनी घरमा नै आराम गरिरहेका छन् ।

निर्माणधिन अवस्थामा रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र

खोटाङ । खोटाङमा निर्माणधिन अवस्थामा रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्युत प्राधिकरणको सव–स्टेशन लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको छ । निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् भने कतिपय उपकरण पानीले भिज्दा बिग्रीने भए पनि खुला आकाशमा राखिएको छ ।

खुला चौर भरी थुपारिएका महङ्गा उपहकरणहरु काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको छ भने क्वाटर र कन्ट्रोल बिल्डिङको निर्माणको काम पनि पूरा भएको छैन । विराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा नलगिएको बताइएको छ ।

भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रसारण लाइन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्ने गरी २०७३ साल भदौमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रसारण लाइनको काम पूरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको छ ।

अलपत्र परेको सव–स्टेशन निर्माण पूरा भएर सञ्चालनमा आए जिल्लामा देखिइरहेको विद्युत सम्बन्धी केही समस्याहरु अन्त्य हुने प्राधिकरण खोटाङ शाखाका प्रमुख विजयराज रेग्मीले बताए । प्रमुख रेग्मीले भने, ‘‘अहिले बाक्सीला क्षेत्रमा विद्युतमा समस्या आएमा हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, रावा बेसी गाउँपालिका क्षेत्रलगायत जिल्लाका अन्य ठाउँमा पनि विद्युत जाने समस्या छ । एक ठाउँमा विद्युत बिग्रिदा जिल्लाका धेरै ठाउँमा विद्युत काट्नु पर्ने अवस्था छ । त्यसैले बाक्सीलामा सव–स्टेशन सञ्चालनमा आए यस्ता समस्याको समाधान हुने थियो ।’’

सव–स्टेशनको बाँकी काम पूरा गर्नका लागि स्थानीय सरकार पटक–पटक विद्युत प्राधिकरण पुगेको छ । तर, काम सुरु गर्ने प्रतिवद्धता पाएपनि व्यवहारमा लागू नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन आफ्नो वेबसाइटमा पनि अनिवार्य

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुुपर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभागले यसअघि म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरे मात्रै हुनेमा अब भने आफ्नो वेबसाइटमा अनिवार्य राख्नुुपर्ने व्यवस्था गरेको हो । विभागले सूचना प्रकाशित गर्दै व्यवस्थाबारे जानकारी गराएको छ ।

विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था गरिएको छ । अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृतिबमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आआफ्नो संस्थाको वेबसाइटमा अनिवार्य राख्नुपर्ने भएको छ । यस कामको नियमित अनुगमनसमेत हुने भएको छ । त्यसो गरेको नपाइएमा कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या बल्ल १० हजार

काठमाडौँ । वार्षिक दुई हजार चिकित्सक (डाक्टर) उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या भने बल्ल १० हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको सङ्ख्या भने ३२ हजार २१८ पुगेको छ।

काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको जानकारी दिए। नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिँदै उनले तीमध्ये १० हजार ८० जनाले विशेषज्ञ डाक्टरका रूपमा उपाधि प्राप्त गरेको बताए। विशेषज्ञ डाक्टरमध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन्।

काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्ण अधिकारीले सबैभन्दा बढी विशेषज्ञ डाक्टर दर्ता भएकामध्ये ‘इन्टरनल मेडिसिन’मा एक हजार ८८ जना रहेको बताए। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९९४, जनरल सर्जन ९४७, अर्थोपेडिक्स ८०५, बालरोग विशेषज्ञ ७८१, जनरल प्राक्टिस ४५१ र रेडियोलोजी एन्ड इमेजिङमा ६६३ जनाले विशेषज्ञता हासिल गरेको उनले जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना बढेको छ । प्रतिनिधिसभाको बैठक चैत ५ सम्म स्थगित भएसँगै अब यो अधिवेशनमा संसद्को कामकारबाही धेरै दिन नहुने देखिएको छ । अगामी जेठ १५ गते सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने हुँदा वैशाखको दोस्रो हप्तापछि नै बस्ने गरी बर्खे अधिवेशन बोलाउनुपर्ने अवस्था छ । संसद्को हिउँदे अधिवेशन चैत महिनासम्म हुने भए पनि अझै नियमावली पारित हुन नसक्दा संसद्को अधिवेशन संसदीय गतिविधिविनै सकिने सम्भावना देखिएको हो ।

गत पुस २५ देखि अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा नियमावली नबनेसम्म प्रतिनिधिसभाले गति लिन नसक्ने भएका कारण संसद् प्रभावहीन हुन थालेको संसद्का एक अधिकारीले बताए । प्रतिनिधिसभा नियमावली नबन्दा संसदीय समिति गठन हुन सकेका छैनन् भने कार्यव्यवस्था परामर्श समितिको पनि गठन हुन सकेको छैन । ‘प्रधानमन्त्री र मन्त्रीसँग संसद्मा हुने प्रश्नोत्तर पनि नयाँ नियमावलीबमोजिम गर्ने भनिए पनि नियमावली हुँदा सबै काम रोकिएको हो’, ती अधिकारीले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

आजको मौसमः कोशी र गण्डकीका पहाडी भुभागमा बर्षा हुने

काठमाडौं, २० फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  साथै देशका उच्च  पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती भने  कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशका  पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

महोत्तरीको बर्दिबासमा दिनदहाडै चोरी हुन थालेपछी व्यवसायीहरुमा असुरक्षित महसुस

महोत्तरी, २० फाल्गुन – महोत्तरीको बर्दिबास सहरमा दिनदहाडै चोरी हुन थालेपछी ब्यापारीहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।

मंगलबार प्रदिप सेन्चुरीको सुनचाँदी पसलवाट सुन  चोरी गर्ने ब्यक्तीलाइ प्रहरीले समेत पक्राउ गर्न नसक्नुले असुरक्षित महसुस भएको ब्यापारीले बताए ।

यसैबीच आज सुनचाँदी व्यवसायीहरुले इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा ब्यवसायीले जिल्ला सुरक्षा कार्यालयको भुमिकामाथी नै प्रश्न उठाएका छन् ।

सुन जोखाउनु छ भन्दै सुनको डब्बा नै लुटेर मोटरसाइकलमा फरार हुने ब्यक्तीको हुलिहा सहित प्रहरी र स्थानिय सरकारलाइ ध्यानाकर्षण गराउँदा पनि यस्को सुनुवाई हुन नसकेको व्यवसायीहरुको गुनासो छ ।

व्यवसाय संचालनको क्रममा लुटपाट हुनु आफैमा निन्दनीय भएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका माहासचिव बिनोद भण्डारीले जिल्लाको कमजोर सुरक्षा अवस्थाको चित्रण भएको बताए ।

दोषीलाई तत्काल पक्राउ गरि कानुनी दायरमा ल्याउन पनि व्यवसायीहरुले सम्बद्ध निकायसगँ माग गरेका छन् । 

पछिल्लो समय बर्दिबासमा साना तथा ठुला व्यवसायीहरुका सटर फुटाएर चोरी भएका घटनाहरु बाक्लिदै गएका छन् । कहिलेकाही त एकै रातमा ३ वटासम्म पसल चोरी हुने गरेको व्यवसायीहरुको गुनासो छ ।

यता  उद्योग वाणिज्य संघ बर्दिबासले चोरीका घटनाहरुको बिषयलाई गम्भीरतापूर्वक लिएको वताएको छ । बाणिज्य संघका माहासचिव उत्तम श्रेष्ठले चोरीलाइ कसरी न्यूनीकरण गर्ने भन्ने बिषयमा विभिन्न चरणमा छलफल समेत भैइसकेको बताए ।

सिसिटिभी जडान देखि बर्दिबास सहरलाइ सुरक्षित वनाउन सुरक्षा निकाय र स्थानिय सरकारसँग गहन छलफल भैइरहेको अध्यक्ष बिष्णु खडकाको भनाइ छ ।

भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने सरकारको मुख्य लक्ष्य – उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको मुख्य लक्ष्य सुशासन स्थापित गर्ने रहेको बताएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कमर्स दोलखाको आयोजनामा भएको दोलखा महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनले बताए ।

उनले सरकारले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्न मन्त्रालयका सचिवदेखि स्थानीयस्तरका कर्मचारीहरूलाई समेत सचेत गराउने अभियान चलाउने योजना बनाएको बताए । उनले भने“देशमा अर्थतन्त्रको अवस्था सन्तोषजनक छैन, व्यापार घाटामा छ यसका लागि अब हामीले उत्पादनमा वृद्धि गराएनाँै भने आर्थिक मन्दी मात्र नभई जीवनयापनमा समेत समस्या सृजना हुनेछ”