`

कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं, ११ फागुन  । कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर माघ २६ गतेदेखि लिलामी बिक्री खुला गरेको हो ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी तथा व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउने छन । उक्त सेयरमा न्यूनतम १३८ रुपैयाँ तोकिएको भए पनि सेयर खरिद गर्न इच्छुकहरुले सो भन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ । 

सो सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि लगानीकर्ताले  आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।  कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता 

महोत्तरी, ११ फागुन – कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतोको नाम  राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयसमेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । 

मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेका उनै कोइरीको नाम भने राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छ । 

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको २५ फागुनमा राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा कोइरीको नाम समावेश गरिएको छ । मतदाता नं. १३०१९७२४ उल्लेख गरिएको कोइरीको परिचयपत्र समेत निर्वाचन आयोगले आफ्नो वेबसाईटमा अध्यावधिक गरेको छ ।

क्रम संख्या २४७ रहेको कोइरीको परिचयपत्र विवरण र फोटोसहित सार्वजनिक गरिएको छ । उनी अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ ।

जनकपुर उच्च अदालतले २०७७ मा नै उनलाई पक्राउ गरेर थुनामा राख्ने आदेश दिएको थियो । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूसँग अन्तर संवाद कार्यक्रम जारी  (फोटो फिचर)

 काठमाडौं, ११ फागुन । पूर्व सांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालयको समन्वयमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का सदस्यहरूसँग अन्तर संवाद तथा बधाई कार्यक्रम भइरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा अन्तर संवाद कार्यक्रम भइरहेको छ । 



 

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राजनीतिक दलहरुमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । 

सिंहदरवारस्थिगत माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा पनि छलफल भएको छ । 

पाँच दलीय गठबन्धन ब्यूँताएर नयाँ राष्ट्रपति चयन गर्ने कि एमालेसहित गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको छ । 
 

काउलेपानीमा लालीगुराँस प्याकेज

लमजुङ १० फागुन । लमजुङको उत्कृष्ट पर्यटकीय गाउँ काउलेपानीमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानीको १२ महिने प्याकेजअन्तर्गत फागुन सुरु भएसँगै लालीगुराँस प्याकेज सुरु भएको हो ।

काउलेपानी होमस्टे व्यवस्थापन समितिले फागुन महिनालाई लालीगुराँस प्याकेज बनाएर प्रचारप्रसार गर्दा दैनिक होमस्टे भरिभराउ हुँदै आएको समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । वनमा लालीगुराँस लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँसमा भएकाले सोही प्याकेजलाई प्रचारप्रसार गरी होमस्टे प्रवर्द्धन गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

अध्यक्ष गुरुङका अनुसार चैत महिनामा काफलको मौसम सुरु हुने भएकोले गाउँमा आएका पर्यटकलाई काफल खुवाउने प्याकेज पनि छ । समितिका अनुसार वैशाखमा ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज छन् ।

यसैगरी भदौ महिनामा जात्रा प्याकेज, असोजमा चाडपर्व प्याकेज, कात्तिक महिनामा कटुस प्याकेज, मसिरमा दाई प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

काउलेपानीमा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक नै बढी आउने गर्दछन् । 

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

काठमाडौं, ११ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । 

बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,  ‘तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।

यस्तो छ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठ :

यस दीक्षान्त कवाजमा राष्ट्रिय सेवा दलको प्रमुख संरक्षकको हैसियतले सहभागी हुन पाउँदा हर्षित एवं गौरवान्वित महसुस गरेको छु। युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले वि.सं. २०२२ सालबाट “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने मान्यतासहित स्थापना भएको राष्ट्रिय सेवा दलको तालिममा छनौट भई तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुनुहुने क्याडेट छात्र÷छात्राहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।
देशलाई “जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी” युक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्यअंकित झण्डाप्रति सदैव अनुशासित भई देश र जनताको सेवा गर्ने युवाहरूको खाँचो पर्दछ। नेपाल सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।

नैतिकवान्, क्षमतावान् र देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको हो। राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईहरू निःस्वार्थ सेवाभावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमको दौरानमा हासिल गरेका ज्ञानले तपाईहरूलाई लक्ष्य प्राप्तिका लागि अभिप्रेरित गर्ने विश्वास लिएको छु। 
यस तालिममा तपाईहरूलाई सैनिक पोसाकमा विभिन्न सैनिक कला तथा समसामयिक विषयमा ज्ञान मात्र दिइँदैन विभिन्न प्राकृतिक भू–बनोट, संस्कृति, परम्परा र संस्कारबाट आई राष्ट्रिय सेवा दलको एउटै छानामुनि बसी एक–अर्काको भावना एवं संस्कृति, परम्परा, संस्कार र इतिहास बुझ्ने मौका पनि मिल्दछ। यसरी देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले तपाईहरूलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रि«य एकताको भावनामा थप प्रतिवद्धताको विकास हुने विश्वास लिएको छु।

आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता हो। यस कार्यक्रमको महत्व पनि राष्ट्रको उल्लेखित कार्यभार पूरा गर्ने जिम्मेवारीसँग जोडिएको छ। यस अवसरमा युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति नेपाल सरकार निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछु।

तपाईहरूले प्रदर्शन गरेको जोसिलो कवाज, कला र प्रस्तुतिहरूको अवलोकनले मलाई विगतमा मेलै राष्ट्रिय सेवा दल तालिम गर्दाको सुखद क्षणहरू स्मरण भइरहेको छ। हाल म प्रधानमन्त्रीको रूपमा कार्यरत रहँदा राष्ट्रिय दलको लक्ष्यअनुरूप अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउँदै यस तालिमबाट प्राप्त हुने ज्ञानले देशप्रति थप जिम्मेवारी र कर्तव्यबोधको उर्जा प्राप्त भएको छ। 

राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त देखिँदैन। हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या बिस्तार गर्नुपर्ने आवश्यकताप्रति नेपाल सरकार गम्भीर छ। आगामी दिनमा संख्या वृद्धि गरी तालिमको गुणस्तरमा समेत थप प्रभावकारिता ल्याइने प्रतिवद्धता व्यक्त गर्दछु।

युवाहरूको नेतृत्व विकासमा अग्रणी भूमिका खेल्ने राष्ट्रिय सेवा दल परिवार तथा नेपाली सेनालाई हृदयदेखि आभार व्यक्त गर्दछु। साथै तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेना, स्थानीय सरकार, विद्यार्थीहरू, तालिममा सहभागी गराउनहुने विद्यालय परिवार तथा आफ्ना छोरारछोरीहरूलाई यस तालिममा सहभागी गराउनुहुने आदरणीय अभिभावकज्यूहरूमा नेपाल सरकारको तर्फबाट आभार प्रकट गर्दछु।
अन्त्यमा, महत्वपूर्ण तालीम सफलतापूर्वक पूरा गरी दीक्षित हुनुभएका तपाई क्याडेट छात्र÷छात्राहरूको निरन्तर प्रगतिसहित उज्वल भविष्यको कामना गर्दछु, धन्यवाद।
 

क्रिकेटर सौरभको बायोपिकमा रणवीर कपुर

मुम्बई, ११ फागुन । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीको बायोपिक बन्ने भएको छ । फिल्ममा उनको भूमिका रणवीर कपुरले निभाउनेछन् । सौरभले आफ्नो बायोपिकको स्क्रिप्टका लागि अनुमति दिएका छन् । चाँडै नै यो फिल्मको सुटिङको काम सुरु हुँदै छ ।

फिल्ममा रणवीरबाहेक हालसम्म अन्य स्टार कास्ट फाइनल भइसकेका छैनन् । फिल्ममा अर्का पूर्व कप्तान एमएस धोनीको भूमिका पनि अन्य कलाकारमार्फत् देखाइनेछ ।

हाल रणवीर फिल्म ‘तू झूठी मे मेक्कार’को प्रमोसनमा व्यस्त छन् । प्रमोसनबाट स्वतन्त्र भएपछि उनी गांगुलीको बायोपिकमा लाग्नेछन् । सौरभको बायोपिक नेट वेस्ट सिरिजमा गांगुलीको प्रस्तुती र पत्नी डोनासँगको सम्बन्धमा लक्षित हुनेछ ।

सन् १९८३ पछि गांगुलीले २००३ मा भारतीय क्रिकेट टिमलाई आइसीसी वनडे वल्र्ड क्रिकेटको फाइनलमा लगेका थिए । यो काम गर्ने उनी पहिलो कप्तान हुन् । भलै त्यो समयमा भारतीय टिम अष्ट्रेलियासँग पराजित भएको थियो ।

गांगुलीले भारतीय क्रिकेट टिमलाई वीरेन्द्र सहवाग, मोहम्मद कैफ, युवराज सिंह, हरभजन सिंह र इरफान पठान जस्ता खेलाडी दिएका छन् ।

प्रि-ओपन सेसन नेप्से १.९१ अंकले ओरालो

काठमाडौं, ११ फागुन । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.९१ अंकले ओरालो लागेर २०७८ विन्दुमा आएको छ ।

यससँगै ३० कम्पनीको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ लाख ९३ हजार ५५३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १२ कम्पनीमा उकालो लागेको छ भने १५ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

आज भक्तपुर कप फुटबलको सेमिफाइनलका खेलहरू

भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप फुटबल–२०७९ को दुवै सेमिफाइनलका खेलहरू बिहीबार  हुँदै छ ।  पहिलो खेल आयोजक भक्तपुर युवा टीमकाविरूद्ध द हेलिङ होम एफसी र दोस्रो खेल केदारनाथ सुटर्सका विरूद्ध गोदावरी युनाइटेडबीच हुने जानकारी म्याच कमिसनर अनिल सुकुपायोले दिए ।

क्वाटर फाइनल खेलअन्तर्गत बुधबार भएको बनेपा ब्वाइज र द हेलिङ होम एफसीबीचको पहिलो खेलमा द हेलिङ होम एफसीले बनेपा ब्वाइजलाई ३–० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको हाे ।  खेलबाट द हेलिङ होम एफसीका देवराज तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने बनेपा ब्वाइजका सहिल केसी उदयीमान खेलाडी घोषित भए ।

त्यस्तै बुधबार नै सम्पन्न सीओबी युथ क्लब र गोदावरी युनाइटेडबीच भएको दोस्रो खेलमा गोदावरी युनाइटेटले सीओबी युथ क्लबलाई ३–१ गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । खेलबाट गोदावरी युनाइटेडका क्याप्टेन अरूण लामा उत्कृष्ट खेलाडी घोषित भए भने सीओबी युथ क्लबका मदन पौडेल उदयीमान खेलाडी घोषित भए ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको १० पैसाले वृद्धि भएको छ ।

बिहीबार यसको खरिदमूल्य १३२ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ८७ पैसा तोकिएको छ । यसअघि बुधबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो ।

बिहिबार युरोपियन युरोमा एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रुपैयाँ २७ पैसा तोकिएको छ । त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १६० रुपैयाँ ५७ पैसा पाइन्छ ।

अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ २३ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको खरिदमूल्य ९० रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ४१ पैसा तोकिएको थियो । 

त्यस्तै, बिहीबार साउदी अरेवियन रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा तोकिएको छ । यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाईन्छ । 

बिहीबार युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९२ पैसा रहेको छ । 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १४ पैसा र बिक्रीमा १० रुपैयाँ १८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ । 

कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४५ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४१ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५१ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
 

आत्मनिर्भर लघुवित्तको आजदेखि आईपीओ बिक्री खुला

काठमाडौ, ११ फागुन । आत्मनिर्भर लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको छ ।  

लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर निष्कासन गरिसकेको छ ।

यस्तै, कर्मचारीहरुका लागि जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

उक्त आईपिओमा सर्वसाधारण लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ । 

आवेदकहरुले यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जाउँछ ।
 

आगलागीमा घाइते भएकी महिलाको मृत्यु

सप्तरी ११फागुन । सप्तरीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्युु भएको छ ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाक‍ो बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् ।

साडीमा आगो सल्की छाति देखि मुनिसम्म जलेर गम्भीर घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

आगोले जलेर गम्भीर घाइते महिलाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल लगिएको थियो र  उपचारपछि साबिक घर खडक नगरपालिका ११ बनौली लगिएको थियोे  । पुनः अवस्था बिग्रेपछि बोदेबर्साईन स्थित नाईना हेल्थ केयर डियोलोजेसटिक प्रा.लि.अस्पतालमा उपचार गरे पनि निकाे भएकाे थिएन ।

उनको अबस्थामा सुधार नआएपछि थप उपचारको लागि पुनः गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता सिहले जानकारी दिए ।

बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं, ११ फागुन । इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा घरेलु टोली लाइप्जिगसँग १–१ गोलसँगै सिटी बराबरीमा रोकिएको हो ।

सिटीका रियाद महारेजले गोल गरे पनि घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काएका थिए ।

रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले लाइप्जिगलाई रियाद महारेजले इल्केए गुन्डोगानको पासमा २७औं मिनेटमा लिएको अग्रता सिटीले जोगाउन सकेन । ७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यद्धपी, बराबरी भए पनि दुवै टोली क्वाटरफाइनल पुग्ने सम्भावना भने जिबितै छ ।

५८ औं मिनेटमा छिरेका लुकाकुले मिलानलाई दिलाए जीत

काठमाडौं, ११ फागुन । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा इटालियन क्लब इन्टर मिलानले जीत हासिल गरेको छ ।  

घरेलु मैदानमा इन्टरले बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई १–० ले पराजित गरेको हो ।

मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टरले ७८औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा इन्टरले उठाउन सफल भयो । 

ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो समस्यामा पर्न पुगेको थियो । जसको फाइदा इन्टरले लिन सफल भयो । 

त्यसपछि निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी हुदाँ मिलानले गोल हानेकाे थियाे । उनी ५८औं मिनेटमा इडेन जेकोको स्थानमा मैदान छिरेका लुकाकुले गोल गर्दै इन्टरलाई जित दिलाए । 

स्वास्थ्य मन्त्री गिरी र डब्लुएओको प्रमुख टेड्रोस बिच भेटबार्ता

, स्विजरल्याड । विरामी सुरक्षा सम्बन्धि पाँचौ मन्त्री स्तरिय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका  स्वास्थ्य तथा जनसंख्या  मन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा  भेट गरेका छन् ।

 भेटमा मन्त्रि गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोग लागि धन्यबाद दिए ।

विशेष गरी खोप कार्यक्रम पोलियोलगायत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा गरेको  सहयोगको  साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यबाद दिए ।

भेटमा २०७२ सालको भुकम्प हैजा प्रकोप कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध पुर्याउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यबाद ब्यक्त गरे । 

मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणालीलगायतका हाल भैरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वय गर्ने कुरा राखेका थिए ।

विश्व स्वास्थ्य संगठनका समन्वय केन्द्ररहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तराष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिबृद्धिका लागि निरन्तर सहयोगका कुराहरूका विषयमा भेटमा छलफल भएको थीयो।
 

माओवादी कर्णालीद्धारा प्रमुख सचेतक र सचेतक चयन

सुर्खेत, ११ फागुन । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलका अनुसार प्रमुख सचेतकमा रणसिंह परियार र प्रमुख सचेतकमा मिलन खडकालाई चयन गरेको हो ।
 

राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

काठमाडौं, ११ फागुन । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम बिदेशीहरुले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् ।

बिहिवार सामाजिक सञ्जालमार्त रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन ।
 

‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’

नेयमारको एन्कल लिगामेन्टमा चोट, केही समय मैदान बाहिर

काठमाडौं, ११ फागुन । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फरवार्ड नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको स्थानिय अस्पतालले जनाएको छ ।

पीएसजीले आइतबार लिग वानको खेलमा लिलविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्दा नेयमारलाई चोट लागेको थियो । सो पछि उपचार हुदाँ नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको र उनले केही समय उपचार गर्नु पर्ने पिएसजीले जानकारी दिएको छ ।

दोस्रो हाफमा लिलका बेन्जामिन एन्ड्रेसँग ठोक्किँदा दाहिने एन्कलमा दबाब परेपछि उनी लडेका थिए । चोटकै कारण उनी ५१औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । 

खेलको १७औँ मिनेटमा नेयमारले पीएसजीका लागि दोस्रो गोल गरेका थिए । तर, नेयमार कति समय खेल बाहिर रहने हो ? त्यो भने पिएसजीले बताएको छैन

बिरगञ्जमा अनुमति नलिई सञ्चालन गरिएका तीन स्वास्थ्य संस्थामा शिलबन्दी

वीरगञ्ज, ११ फागुन । वीरगञ्ज महानगरपालिकाले अनुमति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको छ ।

वीरगञ्ज–४ विर्ता स्थित चित्रांश पोली हेल्थ क्लिनिक, प्याथोलोजी ल्याब र श्रीगणेश डाइग्नोस्टिक सेन्टरलाई शिल गरिएको हो ।

अनुमति नलिई सञ्चालन गर्नुको साथै प्याथोलोजी ल्याबमा म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको पाइए पछि शिलबदी गरिएको हो ।

महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था सञ्चालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र नेपाल प्रहरीका प्रतिनिधिको रोहबरमा तीनवटै स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको बिरग‌जका मेयर राजेशमान सिंहले बताए ।  

पाथिभरामा हिजो साँझ देखी हिमपात, फागुनमा परेको हिमपातले किसान खुसी

ताप्लेजुङ, ११ फागुन । ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा हिजो साँझ देखी सामान्य हिउँपात भएको हो । यस बर्ष यो वर्ष पहिलो पटक पाथिभरा क्षेत्रमा सामान्य हिउपात भएको हो ।

विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभए पनि हिजो साँझवाट भने सामान्य हिउपात भएको स्थानिय रामचन्द्र  घिमिरेले जानकारी दिए ।

उता, सदरमुकाम फुङलिङसहित केही ठाउँमा वर्षा भएकाले किसानलाई सामान्य राहत मिलेको उनको भनाई छ ।

यस वर्ष हिउँद लागेयता हिमपात र वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन नसकेकाले गहुँ, मकै, तोरीलगायत बालीनाली नफस्टाउने चिन्तामा परेका किसानहरुले बताउँदै आएका थिए । 

कलंकी–महाराजगन्जको विस्तारका लागि सरकारले बढायो सक्रियता

काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–महाराजगन्जको विस्तारका लागि नेपाल सरकारले सक्रियता देखाएको छ । चिनियाँ सहयोगमा विस्तार हुन लागेको कलंकी–स्वयम्भू–गोंगबु–महाराजगन्ज चक्रपथ सडक खण्डमा नेपाल पक्षले ‘साइट क्लियर’को काम सम्पन्न गरेपछि चिनियाँ पक्षले विस्तारका लागि जिम्मा लिने सम्झौतामा उल्लेख छ ।

नेपाल पक्षले साइट क्लियर गर्न ढिलाइ गरिरहेको अवस्थामा सरकारले सक्रियता देखाएको हो । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा विस्तार गर्न लागिएको सडकखण्डको आज ९बिहीबार० स्थलगत निरीक्षण गर्न लागिएको छ । निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकता’दयगत जानकारी लिन स्थलगत निरीक्षण गर्न लागिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठसँगै चिनियाँ राजदूत ‘छन् सङ’, काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत नेपालका लागि सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत आफूले गर्नुपर्ने साइट क्लियरको कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकेको छैन । यो समाचार राजधानी दैनिकमा छ ।

ओलीलाई एक्ल्याउने प्रयास

काठमाडौं । बालुवाटार बैठकमा पुरानै गठबन्धनलाई व्युँताउने विषयमा छलफल भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको हो। बैठकमा संविधानको रक्षाका लागि भए पनि पुरानै गठबन्धन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई कायमै राखेर निर्वाचनअघि (मंसिर ४) को पुरानो गठबन्धन व्युँताउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याउनेसम्मको तयारी भइरहेको स्रोतको भनाइ छ।

बैठकमा एमाले अध्यक्ष ओलीको प्रतिगमनका कुरा कोट्याउँदै कांग्रेस नेताहरूले पाँच दलीय गठबन्धनलाई फेरि व्युँताउनुपर्ने धारणा राखेका थिए। ‘राष्ट्रपतिको निर्वाचनसँगै पुरानो गठबन्धनलाई कसरी व्युँताएर नयाँ रणनीतिका साथ अगाडि लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको हो। यस विषयमा सबै नेताहरूले आ(आफ्नो राय राख्नुभएको थियो,’ बालुवाटार स्रोतले भन्यो।

राष्ट्रपति भने नेपाली कांग्रेसलाई नै दिएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो। कांग्रेस सभापति देउवाले राष्ट्रपतिमा एकीकृत समाजवादी र जनता समाजवादीको समेत समर्थन रहने दाबी गरेका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

हात्तिपाइले रोग बिरुद्ध अभियान आजबाट सुरु

काठमाडौं, ११ फागुन । आज देखी हात्तिपाइले रोग बिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको  छ ।

आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन अभियान सुरु हुन लागेको हो ।  जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ ।

यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, बिद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधी खुवाइनेछ ।

धरहराको लागत १२ करोड रूपैयाँ थपिने

काठमाडौं । निर्माणाधीन धरहरा परिसरमा केही पूर्वाधारका संरचना थप गर्नुपरेपछि धरहराको लागत १२ करोड रूपैयाँ थपिने भएको छ। निर्माणाधीन धरहरा परिसरमा केही संरचनाको डिजाइन परिवर्तन गर्दा थप १२ करोड रूपैयाँको व्ययभार थपिएको हो।

सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको लागत तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा भएको थियो। अहिले भने धरहराको डिजाइन परिवर्तन गरेर थप १२ करोड रूपैयाँको भेरिएसन गर्न लागिएको हो। अब धरहरा निर्माणको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने भएको छ।

धरहराको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहरा परिसरका संरचनाको डिजाइन थप÷घट भएकाले आयोजनाको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने बताए।

‘पछिल्लो समय धरहरा परिसरमा कप बिल्डिङ, प्रशासनिक भवन, मेकानिकल इलेक्ट्रिकल, प्लम्बिङको काम थपिएकाले पनि केही लागत बढेको हो,’ उनले भने ‘टेलिकमले पनि युटिलिटिज पाइप नहटाएकाले पनि केही डिजाइन परिवर्तन गर्नुपरेको हो।’

केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन तथा आवास) का आयोजना निर्देशक कोषनाथ अधिकारीले निर्माणाधीन धरहराको लागत केही वृद्धि हुने भए पनि रकम आफूलाई थाहा नभएको बताए। यो समाचार नागरिक दैनिकमा छ ।

एमालेको ‘मिसन ग्रासरूट’मा ‘हिन्दुराष्ट्र’को प्रस्ताव

काठमाडौं – ‘मिसन ग्रासरुट’ अभियानलाई सफल बनाउन आयोजित मकवानपुर जिल्ला कमिटी बैठक नेकपा (एमाले) स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीका नेताहरु समेतको सहभागिता रहने अभियान बैशाख ६ गते समापन हुनेछ । अभियानले जनताको घरदैलोसम्म पुगेर सदस्यता नवीकरण, वितरण र पार्टी कमिटीलाई सुचारु बनाउने निर्णय बैठकले गरेको छ ।

बैठकमा हिन्दुराष्ट्र कायम, नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव अगाडि बढाउन, समानुपातिक र आरक्षण वर्गीय आधारमा गर्न, पञ्चायतकालदेखि लाभको पदमा रहेका नेता र अन्यको सम्पत्ति छानबिन, एमालेको शत्रु र मित्र एकिन गरी तत्कालीन कार्यनीति प्रष्ट हुन छलफलका लागि प्रस्ताव पेश गरिएको छ ।

केन्द्रीय बन तथा वातावरण विभाग सदस्य, मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य, प्रचार विभाग प्रमुख एवम् प्रगतिशील पेशागत् कानुन व्यवसायी एसोसिएसन केन्द्रीय सदस्य ध्रुवप्रसाद चौलागाईंले नेपालको भावी राजनीति यी कुराहरुमा केन्द्रित रही अगाडि बढ्ने भएकाले यी कुराहरुमा प्रष्ट हुनु आवश्यक रहेको पार्टी जिल्ला कमिटी बैठकमा प्रस्तावका रुपमा पेश गर्दै उक्त प्रस्तावहरु पार्टी जिल्ला कमिटी र केन्द्रबाट अभियानमा खटिएका अभियानकर्तामार्फत् केन्द्रीय कमिटीमा छलफल गरी निष्कर्ष निकाल्न माग गरेका छ्न । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै

काठमाडौं, ११ फागुन । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् ।

हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो ।

क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने  कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु–१९ टोलीले  २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ । 

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने  यू–१९ विश्वकप खेल्ने मौका पाउने छन ।

त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले म‌‌‌गलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए ।  यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

नेपाली यू–१९ टोली:  

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान) , आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे,  हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा (बि), आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै,रामचन्द्र पौडेलको राष्ट्रपतिको उम्मेदवार

काठमाडौं, १० फागुन । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बिहान ११ बजेवाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटघाट पछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकवाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ । तर, नाम भने बैठकवाट सार्वजनिक नगरिए पनि बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् । 

आजको मौसम: बाग्मती र गण्डकी प्रदेशमा हिमपात हुने

काठमाडौं, ११ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश नं १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन अनुरोध गरेको छ ।

सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिए

सिरहा, १० फागुन। सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिएका  छन्।मिर्चैयास्थित ग्लोवल आईएमई बैंकबाट नौं लाख रुपैयाँ लिएर कल्याणपुर जाने क्रममा  मनि ट्रान्सफरका कर्मचारीबाट बुधबार अपरान्ह लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका हुन्।

कल्याणपुर नगरपालिका ११ मा रहेको राजाराम सव मनि ट्रान्सफरको लागि मिर्चैयास्थित ग्लोवल बैंकबाट ९ लाख रुपैयाँ लिएर जाँदै गरेकाे बेला कल्याणपुर सडक अन्तर्गत मिर्चैया नगरपालिका ३ काे वतहा खोला पुल नजिकैबाट रहेका चार जनाको समूहमा लुटेराहरुले लुटपाट गरेको इलाका प्रहरी कार्यालाय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए। 

उनले मोटरसाइकलमा रहेका लुटेराहरुले मनि ट्रान्सफरका कर्मचारीहरुलाई हात हतियार देखाएर कुटपीट समेत गरेको प्रहरीले बताए। उनले भने, ‘अलि एकान्तजस्तो ठाउँ रहेछ, एम्वुस थापेर बसेका लुटेराहरुले उनीहरुलाई हतियार देखाएर कुटपीट पनि गरेछन्,’ उनले भने । 

उनले रकम लुटिएको भन्ने थाहापाउना साथ सवै नाकाहरुमा खोजतलासको लागि प्रहरी परिचालन गरिएको जनाए। घटनाको बारेमा अनुसन्धान गरिरहेको बताए।

यस अघि पनि सो मनि ट्रान्सफरको २४ लाख रुपैयाँ  यहि क्षेत्रबाट लुटिएको थियो। 

जुही भनेपछि मरिहत्ते गर्थे सलमान, कसले दिएको थियो धोका ?

एजेन्सी – सन् ८० र ९० को दशककी अभिनेत्री हुन् जुही चावला । मोडलिङमा चर्चा बटुलेपछि बलिउडमा आएकी जुहीले सन् १९८७ मा रिलिज फिल्म ‘सल्तनत’बाट डेब्यू गरकेी थिइन् । यसपछि उनले बलिउडमा ‘डर’, ‘दीवाना मस्ताना’, ‘इश्क’,‘कयामत से कयामत तक’ जता हिट फिल्म दिइन् । उनले सन् १९९५ मा व्यापारी जय मेहतासँग गुपचुप विवाह गरिन् । तर, सायद कमैलाई थाहा होला कि जुहीलाई सलमान खान विवाह गर्न चाहन्थे ।

सलमान आजसम्म पनि सिंगल छन् । कुनै समय उनी जुहीको प्रेमी थिए । उनी जुहीसँग विवाह गर्न तयार थिए । तर जुहीका पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरेपछि विवाह हुन सकेन ।

सलमान जुहीलाई यति धेरै मनपराउँथे कि उनी जुहीको हात माग्न जुहीका पितालाई भेट्न गए । तर जुहीको पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरे । जुहीले जय मेहतासँग सन् १९९५ मा विवाह गरेकी थिइन् ।

बाल क्लबको सक्रियताले कुशेमा घट्दै बालविवाह

सुर्खेत,  १० फागुन  ।  जाजरकाेट कुशे गाउँपालिकामा बालविवाह रोक्नका लागि यहाँका बाल क्लवहरुको सक्रियता भारी मात्रामा बढेको छ ।  पालिका भित्रका सबै वडाहरुमा रहेको बाल क्लबको सक्रियतामा सबै खालका बालविवाह रोकिने क्रम बढेको छ । विद्यालय वा अन्य ठाउँमा समेत बालविवाह रोक्नका लागि आफूहरु सक्रिया रहेको जुरेली सामुदायिक बाल क्लबकी अध्यक्ष प्रतिमा रोकायले जानकारी दिइन् ।

बालविवाह रोक्दा आफूलाई धेरै ठाउँबाट दबाब समेत आएको उनको भनाइ छ । बालविवाह रोक्नका लागि काम गर्दा आफूलगायत आफ्ना घरमा रहेका आमा, बाबासँग समेत बिहे गरेर भागेकाहरुले बोलचाल बन्द नै गरेको प्रगतिशील बाल क्लव कुशे ४ का अध्यक्ष रविन्द्र आचार्यले बताए । 

बालविवाह रोक्नका लागि कुशे गाउँपालिकामा वडा बालअधिकार समिति, नागरिक समाज सञ्जाल , स्थानीय बालअधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समितिसमेत सक्रिय रहँदै आएको  प्रहरीले बताएको छ । प्रहरीले गरेको प्रहरी साझेदारी कार्यक्रममा समेत बाल क्लवको सक्रिय सहभागीता रहँदै आएको छ ।  कुशेमा ५२ वटा बालक्लब, ९ वटा बाल अधिकार समिति, १ वटा नागरिक समाज सञ्जाल बालविवाह रोक्ने काममा सक्रिय रहेको पहाडी क्षेत्र विकास अभियान बालसंरक्षण, बालअधिकार शासन परियोजना संयोजक जीतेन्द्रबहादुर बुढाले बताए ।

एक वर्षभित्र कुशेमा बाल क्लको सक्रियातका बिभिन्न निकायको सहयोगमा कुशे १ नम्वर ५ वटा बालविवाह रोकिएका छन् । त्यस्तै वडा नम्बर २ मा ३ वटा, वडा ३ मा १ वटा , वडा नम्बर ४ मा २ वटा , वडा नम्बर ५ मा १ वटा बालविवाह रोकिएको बुढाले बताए । त्यस्तै वडा नम्बर ६ मा १ , वडा नम्बर ७ मा ३ वटा , वडा नम्बर ८ मा ५ र वडा नम्वर ९ मा १० वटा बालविवाह रोकिएको उनले बताए । 

बुढाका अनुसार बाल क्लवकै सक्रियतामा गाउँपालिका भरी बालश्रम गर्न बाध्य पारिएका बालबालिकालाई श्रमबाट छुट्कारा समेत गराएको छ । वडा नम्वर २ मा ३ वटा , वडा नम्बर ३ मा वटा , वडा नम्बर ७ मा ५ वटा  , वडा नम्वर ८ मा ४ वटा र वडा नम्बर ९ मा २ वटा बालश्रमका घटनाहरु सार्वजानिक भएलगत्तै समस्य समाधान गरिएको गाउँपालिकास्तरीय बाल सञ्जालका अध्यक्ष दाना सिंहले जानकारी दिइन् ।

 बालविवाह गरेर बाल क्लवको सक्रियामा उक्त बिहे रद्द गरिएकामध्ये ९६.१५ प्रतिशत विद्यालयमा नियमित आउनेदेखि दैनिक शैक्षिक क्रियाकलापमा सहभागी भएको सञ्जालका अध्यक्ष सिंहले बताइन् । सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा कुशे गाउँपालिकाका-२ वटा वडाहरुमा बालमैत्री वडा घोषणा गरिएको छ ।

पालिकाको वडा नम्बर १ र ९ लाइ बालमैत्री स्थानीय शासन कार्यान्वन निर्देशिका २०७८ एवं घोषणा कार्यविधि २०७९ बमोजिम ५१ वटा सूचक पूरा गरी उक्त घोषणा गरिएको हो । त्यस्तै गाउँपालिकाले वडा नम्बर ५ र ४ लाई २०८० भित्र घोषणा गर्ने लक्ष्य राखिएको रमेश खड्का मगरले जानकारी दिए । 

रवीन्द्र मिश्रको प्रश्न – राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’सुधार्ने मौका पाउन नहुने ?

काठमाडौं – राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता मिश्रले यस्तो बताएका हुन् । उनले देश निरन्तर कमजोर हुँदै गर्दा राजा ज्ञानेन्द्रलाई राष्ट्रप्रमुखका रूपमा किन अघि नसार्ने भन्दै प्रश्न पनि गरे ।

राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रुमखमा ज्ञानेन्द्र शाहको नाम प्रस्ताव गरेका हुन् । देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको गल्ती सुधार्ने मौकापाउनुपर्ने उनको भनाई छ ।

यसबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :
यस्तो स्थितिमा राजालाई‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?

राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। संसारमै सबैभन्दा कम छ। धर्मसंस्कृतिमाथि धावा बोलिएको छ। देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ÷परिसक्यो।

यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ। राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो। तर त्यो कुशासनको केन्द्रविन्दू बनेको छ।

देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?

राजा ज्ञानेन्द्रले भने झैँ, ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।’  
 

किसान लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं, १० फागुन  । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको ७ प्रतिशतले हुने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको  बोनस शेयर तथा ०.३६८४ प्रतिशतले हुने १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र किसानको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । 
 

बाजुरामा भूकम्पको धक्का : विद्यालय, स्वास्थ्यचौकी र दुई घरमा क्षति

काठमाडौं बाजुरामा भूक्म्प जाँदा विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ । बुधबार दिउँसो हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्नेच्युटको भूकम्प गर्एको हो ।

भूकम्पले हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुर्याएको छ । भूकम्पले उक्त गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्यचौकी र रुगीन स्वास्थ्य चौकी भवनमा पनि क्षति पुगेको छ । यस्तै सोही गाउँपालिका–१ मा रहेको बाल विकास भवन पूर्णरुपमा भत्किएको छ ।

चाँगुनारायणको कुखुरा फार्ममा बर्डफ्लु भेटियो, एक हजार बढी कुखुरा नष्ट

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ रातोपाटीमा रहेको पोल्टी फार्मभित्रका कुखुराहरुमा बर्डफ्लु भेटिएको छ ।चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्टी फर्म, आदित्य पोल्टी फर्ममा बर्डफ्लु देखिएको हाे ।

पोल्टी फार्महरुमा बर्डफ्लु देखिए पछि पशु विभागको चिकित्सक श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मालगायतकाे टाेलीले कुखुरा र अन्डालगायत सामान समेत नष्ट गरेका छन् ।

जसअनुसार कुखुरा १०४८०, चल्ला १०५०, दाना १४७५ के.जी र अण्डा ४५२३ वटा नष्ट गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

स्पट फिक्सिङका आरोपी दुई खेलाडीलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौ, १० फागुन । नेपाली क्रिकेटमा स्पट फिक्सिङ आरोपमा पक्राउ परेका दुई जना पुर्व क्रिकेटरलाई धरौटीमा छाडन आदेश दिएको हो ।

पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पछि दुबै जनाले पुर्पक्षमा नबसी मुद्ध लडन पाउने भएका छन ।

काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । उक्त मुद्धामा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना अझै फरार छन् । 

सामुदायिक लघुवित्तको लाभांश वितरण घोषणा

काठमाडौं, १० फागुन । सामुदायिक लघुवित्र वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको फागुन ९ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थी ११.०५२ प्रतिशत नगद लाभांशदिने भएको छ । 

यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।


 

रिलिजको ३ महिनाअघि नै फास्ट एण्ड फ्युरियसको बुकिङ खुला

लसएन्जल्स, १० फागुन । हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ फ्रेन्चाइजीको १० औं भागले रिलिजअघि नै एक रेकर्ड बनाएको छ ।

फिल्मले रिलिजअघि एडभान्स बुकिङको मामलामा नयाँ रेकर्ड राखेको हो । यो फिल्म रिलिजको तीन महिना अघि नै बुकिङ सुरु भइसकेको छ । कुनै पनि स्टुडियोका लागि यो पहिलोपटक हो ।

फिल्मको ट्रेलरप्रति दर्शकको क्रेज देखेका कारण युनिभर्सल पिक्चरले पनि आफ्नो फिल्ममा दर्शकको उत्साह बढाउन कुनै कसर बाँकी राखेको छैन । यहीकारण उनले रिलिजभन्दा ९० दिन अघि नै एडभान्स बुकिङका लागि फिल्मले अवसर दिएको छ ।

फिल्म १९ मे, २०२३ मा रिलिज हुँदै छ । इङ्लिस, हिन्दी, तमिल, तेलुगुमा रिलिज हुने यो फिल्ममा विन डीजल जेसन मोमोआ, मिशेल रोड्रिग्जÞ, टाइरिस गिब्सन, क्रिस्टोफर ब्रिजेस, नथाली इमैनुएल, जोर्डाना बूस्टर, जोन सीनालगायतको अभिनय रहेको छ । 

देउवा र उपेन्द्र यादवबीचको भेटवार्तामा के के भयो ?

काठमाडौं, १० फागुन । कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । 

धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच राष्ट्रपतिलगायतका विषयमा छलफल भएको छ । 

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई राजनीतिक सरगर्मी बढेका बेला दुई शीर्षनेताबीच छलफल भएको हो । 

देउवालाई भेटेर धुम्बाराहीबाट अध्यक्ष यादव बाहिरिएका छन् । 
 

बडी सेमिङको शिकार बनिन् अनुष्का

मुम्बई, १० फागुन । साउथ फिल्मकी अभिनेत्री तथा ‘बाहुबली’ फेम अनुष्का शेट्टी हालका दिनमा चर्चामा छिन् । अनुष्का हालैमात्र बेगलुरुको एक मन्दिरमा आमाका साथ सेतो कमिज सुरुवालमा देखिएकी थिइन् । निकै सुन्दर देखिएकी अनुष्काको शरीर अन्य समयको भन्दा मोटो देखिएपछि उनी बडी सेमिङको शिकार बनेकी छन् ।

उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको बद्लिएको शरीर देखेर फ्यानहरु छक्क परेका छन् । कतिपयले भने उनको तस्वीरलाई ट्रोल बनाइरहेका छन् । अनुष्का बडी सेमिङको सिकार भएको पहिलोपटक होइन । यसअघि पनि उनको शरीरलाई लिएर सामाजिक सञ्जालमा भद्दा कमेन्ट पनि गरिएको थियो ।

कतिपयले उनले फिल्म ‘साइज जिरो’का लागि वजन बढाएको भने पनि अहिले उनले स्वास्थ्य कारण वजन नघटाएको बताइएको छ ।

अनुष्काले सन् २००५ को तेलुगु फिल्म ‘सुपर’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यसपछि ‘विक्रमार्कुडु’, ‘डन’, ‘अरुन्धति’, र ’सहित’ जस्ता कैयौं फिल्ममा अभिनय गरिन् । अनुष्का दक्षिण भारतको लोकप्रिय र सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीकी रुपमा चिनिन्छिन् । उनले अभिनेता प्रभासका साथ ‘बिल्ला’, ‘मिर्ची’, ‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबली २ः द कन्क्लूजन’मा सहकार्य गरिसकेकी छन् ।