`

गोविन्दे हात्तीको आक्रमणबाट एक इजरायली नागरिकको मृत्यु

काठमाडौं- चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेका छन् ।उनलाई शुक्रबार दिउँसो ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको जनाइउको छ ।

प्रतिलिपी अधिकार विधेयक फिर्ता लिन सरकारको स्वीकृति

काठमाडौं, १२ फागुन । सरकारले प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिएको छ  । 

मन्त्रिपरिषद् बैठकले संघीय संसद सचिवालयमा दर्ता भइ हाल राष्टिय सभामा विचाराधीन रहेको प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको हो । 
 

प्रधानन्त्रीको आग्रहः सर्बदलीय सरकारमा सहभागी हुनुहोस 

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन । 

वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन ।

‘अब तपाईहरु सबै सर्बदलीय सरकारमा सहभागी हुनु परयो भन्ने प्रधानमन्त्रीको भनाई थियो,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले भने । उनका अनुसार २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा पछि नयाँ मन्त्रीमण्डल गठन हुनेछ ।

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय

काठमाडौँ आगामी राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने ८ दलले निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठदलीय बैठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलको उक्त बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको एसका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

व्यक्तिगतरूपमा कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा कांग्रेस पार्टीले नै छनोट गर्ने उनले बताए। बैठकपछि प्रधानमन्त्री प्रचण्डले पनि आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको र यसलाई सबै दल मिलेर अगाडि बढाउनुपर्ने बताए । उनले भने आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको र यसलाई सबै दलहरु मिलेर जाऔँ र राष्ट्रको समृद्धि, राष्ट्रिय स्वाधीनतालगायतका विषयमा एकताबद्ध भएर जानुपर्छ, सत्ता समीकरणको विषयमा पनि एकताबद्ध भएर जाऔँ ।”

बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी भएका थिए ।

प्रधानमन्त्रीले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भयो’

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन ।प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै दाहालले सो टिप्पणी गरेका हुन ।

‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरू भएको छ। हामीले जनताको चाहना अनुसार अघि बढौं भन्नुभयो। हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो’, नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बैठक पछि भने। उनका अनुसार नेकपा एसका नेता ज्वालाका अनुसार कांग्रेसलाई समर्थन जनाउने भनिए पनि उम्मेदवारको बारेमा भने कुनै निर्णय भएको छ्रैन् ।

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन जनाउने सहमति पछि विश्व प्रकाशले भने , ‘पिजंडा अन्तत भत्कने भयो’

काठमाडौं, १२ फागुन । सात राजनीतिक दल बिच राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएसँगै कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले ‘पिंजडा भत्केको’ टिप्पणी गरेका छन ।

भावी राष्ट्रपतिको बिषयलाई लिएर राजनीतिक दलहरु बिच रस्साकस्सी चलिरहेको बेला साँझ ७ दलको बसेकाे बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै शर्माको सो टिप्पणी आएको हो ।
  
‘पिंजडा अन्ततः भत्किने भयो, रास्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय ’ उनले छोटो टिप्पणी गरेका छन् । 


प्रधानमन्त्री निवासमा बसेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने निर्णय लगत्तै शर्माको यो टिप्पणी बाहिर आएको हो । 

छायानाथले थाल्यो सार्वजनिक जग्गा मिचेर बनाईएका अवैध संरचना भत्काउन

मुगु १२ फागुन -छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाईएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

पटक पटक सुचना जारी गदै सार्वजनिक जग्गा मिचेर बनाईएका संरचना हटाउन आग्रह गरेको भएपनि स्थानीयले अटेरी गरेपछि शुक्रबार छायाँनाथ रारा नगरपालिकाले आफै अवैध संरचना भत्काउन थालेको हो ।

गत असोज १४ गते पहिलो ३५ दिने सुचना जारी गदै गमगढी बजार साघुँरो भएको र सार्वजानिक जग्गा मिचेर बनाईएका संरचना घर,भरयाङ्ग, बार्दली,रेलिङ्ग,लगायत हटाउन आग्रह गरेको थियो । त्यस पछि अर्को सुचना मंसिर ९ गते र अर्को सुचना पुस २१ गते लगत्तै सर्वदलिय बैठक बसेर रेखाकंन गरेर सार्वजनिक जग्गा बनाईएका संरचनाको चिन्ह लगाउने काम गरिनुका साथै अवैध संरचना हटाउन अर्काे सुचना जारी गरिएकाे थियाे ।

फागुन ५ गते अन्तिम सुचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरेको भएपनि स्थानीयले कुनै चासो नराखी अटेरी गरेपछि नगरपालिका बाध्य भएर आफै संरचना भत्काउन लागेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुुख बिष्णु कुमार भामले बताए ।

उनका अनुसार यो कार्य कुनै आग्रह पुर्वग्रह नभई सुन्दर गमगढी बजार बनाउनको लागी हो । सार्वजनिक जग्गा मिचेर बनाईका संरचना हटाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएपछि स्थानीय प्रशासनको सहयोगमा आफै नगरपालिकाले अवैध संरचना भत्काउने काम गरेको बताए । अहिलेलाई सार्वजानिक जग्गा मिचेर बनाईएका संरचनाहरु घर,भ¥याङ्ग, बार्दली,रेलिङ्ग,लगायतका भत्काउने कार्य भएको छ ।

‘घरहरुको लागी पुन सम्बन्धित घरमा १५ दिने सुचना टाँस गरेका छौ’ उनले भने । १५ दिनसम्म पनि सार्वजनिक जग्गामा भएका घर नहटाएमा नगरपालिकाले डोजर लगाएर भत्काउने नगर प्रमुख भामको भनाई छ । गमगढी बजारमा सार्वजानिक जग्गा मिचिर बनाईएका संरचना नगरपालिकाले भत्काउन थालेपछि स्थानीय खुसि भएका छन ।

साघुँरो बजार, बजारमा आवत जावत गर्न समस्या र आगलागीको जोखिम लगायत एम्बुलेन्स दमकल बजारमा लिन समस्या हुने बजारमा सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउन थालेपछि बजारको सडक फराकिलो भएको र अब सहज हुने भएको स्थानीय दिपेश जंङ्ग शाहीले बताए ।

यो कार्य अघिल्लो  कार्यकालमा पनि सार्वजनिक जग्गामा भएका संरचना हटाउने भन्दै रेखाकंन गरिएको थियो तर त्यो सम्भव हुन सकेकाे थिएन । 

शुक्रबार अदालत चोककाे छत्त रावलको घर बाट अवैध संरचना भत्काउन गरिएको र पहिलो दिन कृष्ण चोकसम्म भत्काउने कार्य भएको छ । भोली तल्लो बजारमा रहेका अवैध संरचना भत्काउने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
 

बालुवाटारमा पहिलो पटक ७ दलको बैठक, कांग्रेस र नेकपा एसको दावी कायमै

काठमाडौं,  १२ फागुन-भावी राष्ट्रपतिको निर्वाचनको बिषयमा सहमति खोज्नका लागि गर्न बालुवाटारमा बसिरहेको बैठकमा ७ दल जम्मा भएका छन । 


बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निकाल्न नसकिरहेको बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी साँभ ७ दलको बैठक बसेको हो । 

बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले घनिभुत छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । भावी राष्ट्रपतिका लागि नेकपा एस र नेपाली कांग्रेसले आफनै दावी नछाडे पछि राष्ट्रपति चयनमा सकस परिरहेकाे छ ।

साईराम पिक्चर्सको अर्को सशक्त प्रस्तुती ‘मैँ राजा तिमी रानी’ बजारमा

काठमाडौँ । वैँशालु उमेरमा जो कोहीलाई पनि प्रेम गर्ने र रमाइलो गर्ने इच्छा जाग्छ । तर कतिका प्रेम सफल हुन्छन् त कतिका प्रेमहरु सम्झनामा सिमित हुन्छन् । तर गायक हिमालको पछिल्लो प्रस्तुती मैँ राजा तिमी रानीमा देखाइएको एक प्रेमील जोडीको सफल रोमान्टिक प्रेम कहानीले यतिबेला दर्शकहरुको मन जितिरहेको छ ।

गायक हिमाल सागरले ए होर मायाको सफलतासँगै ‘मैँ राजा तिमी रानी’को भिडियो रिलिज गरेका छन् । हिमाल र अनु चौधरीको स्वर रहेको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको छ ।

पुष्कर खत्रीको मिक्स र मास्टरिगं रहेको गीतको भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । बिक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने भिडियोको सम्पादन मिन रावलले गरेका हुन् ।

जसको कलरिगं विकाश दाहालले गरेका हुन् । शम्सेर श्रेष्ठको निर्माणमा तयार भएको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो । भिडियो रिलिज गरिए लगत्तै भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको निर्मण यूनिटले जनाएको छ । हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको यो रमाइलो भिडियो

सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस गर्ने

काठमाडौं, १२ फागुन । सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

साथै नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाजेमि तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्मानीय राष्टपतिसमक्ष पेस गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
 

आकस्मिक सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सरकारले आकस्मिक रुपमा दिने सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले वार्षिक रुपमा स्वीकृत गरेको बिदाबाहेक सरकारबाट आकस्मिक रुपमा लिने सार्वजनिक बिदाको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायतका सेवा प्रवाह गर्न  निर्देशन दिएको हो । 

राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । 
 

गहुँको समर्थन मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

काठमाडौं, १२ फागुन । सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो । 
 

सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने सरकारको तयारी

काठमाडौं, १२ फागुन । सरकारले सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने तयारी गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सुुचारु गर्ने निर्णय गरेको हो ।

यसका लागि कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्नेछ ।

सार्वजनिक बिदामा काम गरेका कर्मचारीलाई सट्टा विदा दिनेगरी अत्यावश्यकीय कार्यालय खोल्ने तयारी गरिएको हो । 
 

जंगली हात्तीकाे आक्रमणमा मकवानपुरमा एककाे मृत्यु

मकवानपुर, १२ फागुन । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ ।

बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको हो ।

सो घटना पछि बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँले भनेका छन, ‘हात्ती नियन्त्रण, सुरक्षा र राहत कार्य यथाशिघ्र अघि बढाउन निकुन्ज, प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसंग अनुरोध गर्दछु ।

डि मारियाको ह्याट्रिकमा युभेन्ट्सकाे सहज जित

काठमाडाैं, १२ फागुन । अर्जेन्टिनी स्टार एन्जल डि मारियाको ह्याट्रिकमा सानदार जित निकाल्दै युभेन्ट्स युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्डको दोस्रो लेगमा ३–० ले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुग्न सफल भएको हो । 

नान्टेसमा बिहीबार राति भएको खेलको पाँचौं मिनेटमा डि मारियाले निकोलो फाजिओलीले पासमा गरेको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता दिलाएका थिए ।

पेनाल्टी बक्समा मारियाले गरेको प्रहारलाई हातले रोके रेफ्रीले निकोलस पालोइसलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसपछि १० खेलाडीमा सिमित भएको नान्टेस बिरुद्ध उनले पेनाल्टी सुटआउटमार्फत २–० को अग्रता दिलाए ।

डुसान भ्लाहोभिचको पासमा  ७८औं मिनेटमा डि मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । 

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

काठमाडाैं, १२ फागनु । क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्ड चरणबाटै बाहिरिएको छ ।

बिहीबार राति शुरुवाती भएको खेलमा घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुदाँ युरोपाबाट बाहिरिन पुगेको हो । 

खेलको १७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।

४७औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए ।

बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक सुरु

काठमाडौं – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक वालुवाटारमा सुरु भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शिर्ष नेतृत्वको उपस्थिति रहेको छ ।

नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पद आफनो पार्टीलाई दिनु पर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शिर्ष नेताहरुको बैठक सुरु भएको हो । 

लमजुङमा हात्तीपाईले रोग बिरूद्द खोप अभियान सुरू

लमजुङ १२फागुन – लमजुङ जिल्लाका आठबटै पालिकाहरुले हात्तीपाईले विरुद्धको औषधी खुवाउने कार्यक्रम शुरुवात भएको छ । 

जिल्लामा हात्तीपाईले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरुमा अझै पनि हात्तीपाईले रोगका विरामीहरु देखिएकोले यसपटक औषधी खुवाइएको हो ।

लमजुङमा यस बर्ष १४ चरणमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो । 

फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोललमा स्वास्थ्य सस्था तथा बुथमार्फत हात्तिपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।

 अभियान अन्तर्गत यसवर्ष दुई वर्ष मुनिका बालवालिका र गर्भवती महिला वाहेक जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जना लाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधि खुवाउने अभियानमा जिल्लाभर ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।

सबै पालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमवाट औषधी खुवाउने कार्यक्रममा हात्तीपाईले रोग निवारण गर्नको लागि सबैलाई औषधी खान आब्हान गरिएको छ ।  

चक्रपथ बिस्तार गर्न चिनियाँ पक्ष तयार

काठमाडौं । लामो समयदेखि रोकिएको दोस्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार हुने भएको छ। यसअघि चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै चक्रपथ विस्तारको काम अघि बढ्न सकेको थिएन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोस्रो चरणको चक्रपथ विस्तारको काम चिनियाँ पक्षले छिट्टै गर्ने प्रतिवद्धता गरेको बताएको छ। यो खण्डको सडक महाराजगन्ज, स्वयम्भू लगायतका केही स्थानमा बाहेक अन्य ठाउँमा कुनै अवरोध छैन। चिनियाँ पक्ष भने साइट क्लिरेन्स नभएको भन्दै काम अघि बढाउन तयार भएको छैन।

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार कलंकी महाराजगन्ज सडक खण्डको अनुगमन गर्दै दोस्रो चरणको चक्रपथ विस्तारको काम छिट्टै सुरु हुने बताएका छन्। ‘दोस्रो चरणको चक्रपथ विस्तार गर्ने सम्बन्धमा नेपालका लागि चीनको राजदूतज्यूसँग पटक पटक छलफल भइसकेको छ,’ उनले भने ‘हामी दूवै पक्षबीच छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ।’ मन्त्री श्रेष्ठले सो खण्डमा केही स्थानमा रहेका विवादहरू सल्टाएर विस्तारको काम अघि बढ्ने सहमति भएको दाबी पनि गरे। ‘अहिले स्वयम्भू स्तुपा क्षेत्रको डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको छ,’ उनले भने ‘अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’

मन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न खालका विवादको कारणले दोस्रो चरणको चक्रपथ विस्तारको काम हुन नसकेको बताए। ‘नेपालका लागि चीनको राजदूतज्यू र हाम्राबीच छलफल गरेर छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ,’ उनले भने ‘चिनियाँ पक्ष र हाम्रो मन्त्रालय दुवैपक्षबाट अध्ययनको काम पनि भइसकेको छ। अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’ मन्त्री श्रेष्ठले ठूला खालका समस्याहरू लगभग समाधान भइसकेकाले अब विस्तारको कामले गति लिने दाबी गरे। ‘हामीले चीन सरकारसँग सकेसम्म महाराजगन्जदेखि धोवीखोलासम्मको सडक विस्तार गर्नका लागि अनुरोध गरेका छौं। चिनियाँ पक्षले भने महाराजगन्जसम्म मात्रै विस्तार गर्ने कुरा गरिरहेका छन्।’ यो समाचार नागरिक दैनिकमा छ ।

बिबाहका लागि जम्मा गरेको ५ लाखसहित ४ घर आगलागीमा

सप्तरी १२ फागुन । सप्तरीको बोदेबर्साईन नगरपालिका १० खडकपुरमा बिहीबार आगलागी हुदाँ २५ लाख बराबरको क्षति भएको छ ।

स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घरमा आगलागी हुदाँ चारवटा घर जलेर नष्ट भएको छ ।

आगलागीमा परि पालानु यादवले छोरीको बिबाहका लागि जोहो गरि राखेको नगद ५ लाख, गरगहना, मोबाइल, टेलिभिजन, लत्ताकपडा अन्नपात, भाँडाकुँडा, फर्निचरका सामान जलेर नष्ट भएको छ ।

छोरीको विबाहका लागि किनमेल गर्न बजार गएको समयमा दिउँसो २ बजे आगलागी हुँदा घरमा भएको सम्पुर्ण सामान जलेर खरानी भएको पिडित यादवले बताए । आगलागीमा छिमेकी गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएको हो । आगलागीमा ३ वटा बाख्रासमेत जलेको स्थानीयक‍ो भनाइ रहेको  छ ।

 राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बरुणयन्त्र,स्थानीयबासी र प्रहरीको सहयोगमा २ घण्टापछी नियन्त्रणमा आएको स्थानीयले जनाएको छ । आगलागीको कारण बारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिनिनिसभा बैठक बस्दै

काठमाडौं, १३ फागुन ।  प्रतिनिधिसभा बैठक अपरान्ह १ बजे बस्ने भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ । सो बिद्येयक माथी संसोधन हाल्ने ७२ घन्टाको समयसिमा आज सकिदैछ ।

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै

काठमाडौं, १२ फागुन । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् ।बुधवार साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई बुधवार बिदाई गरेको थियो ।

क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने  कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु–१९ टोलीले  २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ । 

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने  यू–१९ विश्वकप खेल्ने मौका पाउने छन ।

त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले देव खनाललाई कप्तान चयन गरेका थिए ।  यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

नेपाली यू–१९ टोली:  

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान) , आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे,  हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा (बि), आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

राष्ट्रिय गौरवको आयोजनाप्रति सरकारी बेवास्ता, बजेटमा व्यापक अनियमितता

काठमाडौं । सरकारले समयमा नै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न नसक्दा आयोजनाको कन्तविजोग भएको छ ।अझ अचम्म त के छ भने ती आयोजनाको लागत ३ खर्ब रुपैयाँबाट बढेर १३ खर्ब रुपैयाँभन्दा बढी पुग्दा पनि आयोजना अलपत्र छन् ।

बजेटमा व्यापक अनियमितता भएको स्रोतको दाबी छ । सरकारले सशक्त अनुगमन गर्न नसक्दा ठेकेदार कम्पनीसँग मिलिमतोको आशंका गरिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९९८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको तथ्यांकअनुसार विभिन्न ११ वटा आयोजनाको मात्रै लागत ३ खर्बबाट बढेर १६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको पाइएको छ ।

लागत बढेर १६ खर्ब पुग्दा झनै कन्तविजोग
सरकारले हालसम्म घोषणा गरेको राष्ट्रिय गौरवका २५ वटा आयोजनामध्ये माथिल्लो तामाकोसी र गौतमबुद्ध विमानस्थल मात्रै सम्पन्नको सूचीमा परेका छन् ।पोखरा विमानस्थल सम्पन्न भएको भए पनि यसको प्राविधिक पक्षका कारण २ प्रतिशत काम अझै बाँकी छ ।

मेलम्ची आयोजना पनि सकिएको आयोजनामा परेको छ । तर, यसको सेवा अहिले निकै कमजोर छ ।मेलम्ची आयोजना प्राकृतिक प्रकोपमा परेका कारण पुनः मर्मत गरेर सुरु भएको बताइएको छ ।यो समाचार राजधानी दैनिकमा छ ।

सत्ता गठबन्धनमा चरम अविश्वास

काठमाडौँ । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्।एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास चुलिए पनि अर्को समीकरण बन्न सकेको छैन।

नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच बुधबार साँझ भएको भेटमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने समझदारी बनेको दाबी गरिएको थियो।अन्य दलहरूसँगको छलफलपछि बिहीबार साँझ बस्ने पाँच दलको बैठकमा नयाँ सहमति गर्ने नेताहरूले बताएका थिए। तर बिहीबार पाँच दलको बैठक बस्न सकेन।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बिहीबार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सँग दुईपक्षीय र बहुपक्षीय छलफल गरे।साँझ कांग्रेस र एमालेबाहेक माओवादी केन्द्र, नेकपा एस र जसपाको बैठक बस्यो। बैठकले कांग्रेस र एमालेसँग कुरा गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको छ।

दाहालले शुक्रबार बिहान कांग्रेसका नेता र दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्नेछन्। पछिल्लो समय दाहाललाई भेट्न बालुवाटार धाउँदाधाउँदै ओली हैरान भएका छन्।दाहालको दोहोरो चरित्रका कारण पनि ओली रुष्ट छन्। तर ओली माओवादी केन्द्र पुस १० गतेको सहमति छाडेर कांग्रेससँग मिल्न नजानेमा ढुक्क छन्।

उनले बिहीबार आयोजित एक कार्यक्रममा यस्तै आशयको अभिव्यक्ति दिए। माओवादी केन्द्र, जसपा र नेकपा एसले शुक्रबार दाहालले ओलीसँगको छलफल गरेपछि कांग्रेससहित चार दलको बैठक बस्ने समझदारी गरेका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सरकारी कार्यालय बिदामा खोल्ने तयारी

काठमाडौं । सरकारले अत्यावश्यक सरकारी कार्यालय शनिवारबाहेक अन्य सार्वजनिक बिदाका दिन खोल्ने तयारी गरेको छ ।पछिल्लो समय सार्वजनिक बिदा धेरै भएको भन्दै जनगुनासो आएपछि बिहीवारको मन्त्रिपरिषद् बैठकमा अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने विषयमा छलफल भएको हो ।

एक जना मन्त्रीले दिएको जानकारीअनुसार सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीलाई थप सुविधा वा अन्य कुनै व्यवस्था गरेर कार्यालय खोल्ने तयारी छ ।

सरकारले अत्यावश्यक कार्यालय कुनकुन हुन् भनेर सूची तयार गर्नेछ । सार्वजनिक बिदाका दिन राहदानी विभाग, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालयअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय, खुला राख्ने सरकारको तयारी हो ।

‘सार्वजनिक बिदा धेरै भए’ भनेर सार्वजनिक कार्यक्रममा बोलेको केही दिनमै फागुन १ गते जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना भएको थियो ।

दाहाल नेतृत्वको सरकारले २ महीनामा पूर्वनिर्धारितबाहेक ३ दिन सार्वजनिक बिदा दिइसकेको छ ।गत माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको भोलिपल्ट शोक मनाउन भन्दै सरकारले सार्वजनिक बिदा घोषणा गरेको थियो ।यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउने अन्तिम तयारी

काठमाडौं । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा विगतको चुनावी गठबन्धनका आबद्ध दलहरू एकाकार हुन थालेका छन् ।वर्तमान सात दलीय सत्ता गठबन्धन दलहरूबीच राष्ट्रपति पदको विषयमा फरक मत देखिएसँगै पुराना सत्ता सहयात्रीहरू एक ठाउँमा उभिन लागेका हुन् ।

पुरानो गठबन्धन ब्युँताउनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद र जनता समाजवादीका शीर्ष नेताहरू अन्तिम तयारीमा रहेको नेताहरूले बताएका छन् ।राष्ट्रपतिको उम्मेदवार टुंग्याउने अन्तिम घडीमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता निकै बढेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले निरन्तर छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार चार दलबीच भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए ।उनले चार दलबीच धेरै विषयमा कुरा भएको बताउँदै अब फेरि एक ठाउँमा बसेपछि सहमतिको खाका तयार हुने विश्वास व्यक्त गरे।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कांग्रेस सभापति देउवासहितका नेताहरूले तत्कालीन पाँच दलीय गठबन्धनका सबै दलका नेताहरूसँग चरणबद्ध छलफलपछि विगतको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति बनाउनुपर्नेमा नेताहरूको जोड छ ।

राप्रपा कार्यसम्पादन समितिको बैठक अपरान्ह १२ः ३० बजे

काठमाडौं, १३ फागुन । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२ः३० बजेका लागि बोलाएका हुन्।

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच भावी राष्ट्रपतिको बिषयमा सहमति हुन नसकिरहेको बेला सोही सत्तारुढ गठबन्धनका एक घटक राप्रपाले बैठक बोलाएर ‘पोजिसन क्लियर’ गर्न खोजेको बुझिएको छ । 

राप्रपा भित्र पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कि सत्ताको सहयोगी दल नेकपा एमालेलाई समर्थन गर्ने भन्नेमा दुई धार देखा परे पछि एकै धारणा बनाउनका लागि बैठक बोलाउन लागिएको राप्रपाका एक नेताले बताए । उनका अनुसार सो पार्टीका नेता पशुपतिशमशेर राणा पक्षधर कांग्रेसका उम्मेदवारका पक्षमा उभिने संकेत पाए पछि अध्यक्ष लिङदेनले साझा धारणा बनाउनका लागि बैठक बोलाएको हुन् । 

माधव नेपालको नाममा सहमति खोज्न तीन दलले कांग्रेस र एमालेसँग आज छलफल गर्दै

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपति प्रस्ताव गर्दैै नेपाली कांग्रेस र नेकपा एमालेसँग आज छलफल गर्ने भएका छन् ।

हिजो साँझ बसेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी नेपाल बिच भएको भद्र सहमति अनुसार भावी राष्ट्रपतिका लागि नेपालको नाममा सहमति खोज्न कांग्रेस र एमालेसँग छलफल गर्ने भएका हुन् ।

माओवादी संसदीय दलको कार्यालयमा बसेकाे तीन दलको बैठकले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएकाे थियो, सोही सहमति अनुसार अन्य दलसँग सहमति खोज्नका लागि छलफल हुन लागेको नेताहरुले बताएका छन ।

‘राष्ट्रपतिका लागि माओवादीले भन्दै आएको राष्ट्रिय सहमतिको पात्रका लागि माधव नेपालजी पनि एक पात्र हुनुहुन्छ । उहाँको नामलाई पनि सहमतिका लागि एउटा एजेन्डाका रूपमा अघि सार्ने  बैठकमा छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सञ्चारकर्मीसँग भने, ‘भोलि अन्य दलहरूसँग छलफलमा उहाँको नाम पनि एउटा एजेन्डाको रूपमा रहनेछ ।’ उनका अनुसार भावी नेपालको नाम प्रस्ताव गरेर कांग्रेस र एमालेसँग सहमति खोजिने भएको हो ।

नेकपा एसको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिका लागि पार्टीको तर्फवाट उम्मेदवार दिने औपचारिक निर्णय गरिसकेको छ । नेकपा एसमात्रै यस्तो पार्टी हो, जसले भावी राष्ट्रपतिका लागि पहलकदमी गर्ने औपचारिक निर्णय गरेर बसेकाे छ । जसअनुसार नेकपा एसले आफनो पार्टी (माधव नेपाल)को नाममा सहमति खोज्नका लागि हिजो साँझ नेकपा माओवादी र जसपा बिच छलफल गरेको हो ।

सो छलफल सकारात्मक भए पछि कांग्रेस र एमालेसँग छलफल गर्न लागिएको हो ।
 

प्रचण्ड र ओली बिच दिउँसो ‘निर्णायक’ बार्ता हुने

काठमाडौं / प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक बार्ता हुने भएको छ ।

अध्यक्ष प्रचण्डका अनुसार सो छलफल दिउँसो हुने भनिए पनि समय भने प्रचण्डले सार्वजनिक गरेका छन । नेकपा एसका नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडी सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बिच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन । 

‘सबैसँग छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले सञ्चारर्कीसँग बुधवार भने, ‘भोलि (आज)  एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’
 
सो अघि बिहान नेपाली कांग्रेससँग बिहान ८ बजे छलफल हुने बुझिएको छ ।

नेकपा एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, १३ फागुन । राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी चलिरहेको बेला नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने अजेन्डालाई प्राथमिकता राखेर छलफल गर्नेछ । 

बुधवार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो । 

सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले र प्रधानमन्त्री प्रचण्डसँग छलफल हुने बुझिएको छ ।

आजको मौसमः प्रदेश १ र गण्डकी प्रदेशमा हिमपात हुने

काठमाडौं, १३ फागुन । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने  प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमान शाखाले अद्यावधिक रहन सर्बसाधारणलाई अनुरोधसमेत गरेकाे छ।

सञ्चालनमा नआउँदै बिग्रियो रारा तालकाे मोटरबाेट

मुगु, ११ फागुन  कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रेत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन । 

पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबाेट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबाेट करिब आधा बितिसक्दा पनि सञ्चालनमा नआउँदै बिग्रिनुका साथै रारातालको छेउमा थन्किएको छ । 

दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटर बुट सञ्चालन नआउँदा  रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो । उक्त बुट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।

विशेष गरेर उक्त मोटर बुट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारको लागि मोटरबाेट ल्याइएको थियो । उक्त मोटरबाेट सञ्चालनमा नआउँदा राजस्वमा न्यून संकलन हुनु, पर्यटकलाई थप आकर्षण नहुने जस्ता विभिन्न पक्षलाई हेरिएको छ ।  

गत ७ महिनाअघि पूर्व वार्डेन दाहाल हुँदा मोटरबाेट प्रयोग नगरिनुका साथै स्टोरबाटै झिकिएन । तर, उनकाे सरुवा भएपछि रारा राष्ट्रिय निकुञ्जमा कार्यभार सम्हालेका वर्तमान वार्डेन विश्वबाबु श्रेष्ठलाई मोटरबाेट सञ्चालन, रेस्क्युको लागि डुँगा चालकले अनुरोध गरे ।  मोटरबाेटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएकाे मोटरबाेट  हेर्दा भित्रि भाग तर्फ तीनवटा प्वाल परेर फेला परेकाे डुंगा नाईके राजेश रावलले जानकारी दिए ।  उक्त बुट सिल स्काई कम्पनि बाट ल्याईएको हो ।  

गैरकानुनी रूपमा युक्रेन नपस्, दुतावास जिम्मेवार हुदैँन- बर्लिनस्थित नेपाली दुतावास

काठमाडौ, १० फागुन । युद्धग्रस्त मुलक युक्रेनमा अहिले पनि नेपाली जाने गरेको पाइएको छ।

युक्रेन मामिलासमेत हेर्दै आएको जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार अहिले पनि नेपालीहरू विभिन्न माध्यमबाट युक्रेन पुग्ने गरेका छन्।

त्यहाँबाट सिमावर्ती युरोपेली मुलकमा प्रवेश गर्न पाइने आशामा नेपालीहरू जोखिम मोलेर युक्रेन पसिरहेको दूतावासको भनाइ छ।

विगत १ वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ। युद्ध चर्किएसँगै युक्रेनमा रहेका ६ सयभन्दा बढी नेपालीलाई गैरआवासीय नेपाली संघ तथा विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाको समन्वयमा दूतावासले त्यत्तिबेला उद्धार गरेको थियो।

युद्ध चर्किएपछि त्यत्तिबेला उनीहरूलाई युक्रेनसँग जोडिएका छिमेकी मुलुकहरूले मानवीयताको हिसावले सुरक्षित रहन प्रवेश दिएका थिए। तीमध्ये कतिपय नेपाल फर्किएका थिए भने केही नेपालीहरू पोल्याण्ड, पोर्चुगललगायतका मुलकमा बसेका थिए।

तर, अहिले भने यस्तो सुविधा छिमेकी मुलुकहरूले दिएका छैनन्।

दूतावासका अनुसार गत जनवरी तेस्रो सातादेखि युक्रेनसँग सिमाना जोडिएका युरोपेली मुलकहरूले युक्रेनमा रहेका नेपालीलगायत अन्य देशका नागरिकहरुलाई आफ्नो देश प्रवेश गर्न नदिने घोषणा गरिसकेका छन्।

तर, नेपालीहरू भने पहिला जस्तै युरोप प्रवेश गर्न पाइने आशामा जोखिम मोलेर युद्धग्रस्त मुलुक युक्रेन पुग्ने गरेका छन्। विभिन्न प्रलोभनमा परी नेपाली युक्रेन छिर्न थालेको दूतावासको भनाइ छ।

‘यस्तो विषम परिस्थितिमा पनि विभिन्न प्रलोभनमा परी वा स्वेच्छाले यूक्रेनको यस्तो जटिल अवस्थाबाट फाइदा लिइ युरोपका अन्य मुलुकमा प्रवेश गरी पलायन हुने मनासायका साथ अझ पनि केही नेपालीहरू गैर–कानूनी रुपमा युक्रेन प्रवेश गरिराखेको बुझिएको छ,’ बर्लिनस्थित नेपाली दूतावासको भनाइ छ।

गैरकानूनी तरवरले युक्रेन प्रवेश गर्ने नेपालीलाई त्यहाँबाट सिमावर्ती देशमा जान सम्बन्धित मुलकको युक्रेनस्थित दूतावास वा सिमानामा रहेको अध्यगामनबाट भिसाको आवश्यकता पर्दछ। तर, गत जनवरीदेखि यी प्रक्रिया सबै बन्द भइसकेका छन्।

‘युक्रेनमा हाल अन्तर्राष्ट्रिय उडान समेत स्थगित भएको सन्दर्भमा यस राजदूतावासबाट यात्रा अनुमति जारी भइ त्यहाँबाट बहिर्गमन हुनसक्ने अवस्था पनि नभएकोले कुनैपनि नेपाली नागरिकले कसैको प्रलोभनमा परी वा स्वेच्छाले कुनै पनि माध्यमबाट युक्रेन प्रवेश नगर्न यस राजदूतावास सबैलाई अनुरोध गर्दछ,’ दूतावासले विज्ञप्तिमार्फत भनेको छ।

दूतावासले गैरकानूनी तरवरले युक्रेन प्रवेश नर्गन चेतावनी दिएको छ। जोखिम मोलेर युक्रेन पुगि समस्यामा परे त्यस्ता व्यक्तिलाई कुनै पनि सहयोग गर्न नसकिने दूतावासले जनाएको छ।

‘यस्तो अवस्थामा पनि यो सूचनालाई वेवास्ता गरी गैर कानूनी रुपमा युक्रेन प्रवेश गरेमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिका लागि सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने जानकारी गराइन्छ,’ दूतावासले भनेको छ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनु पर्छ: महासचिव देब गुरुङ

भक्तपुर, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देब गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताएका छन् ।

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा  गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए । उनले सरकार परिवर्तनका लागि गठबन्धनको स्वरुप परिवर्तन हुन सक्ने भएता पनि राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल बिदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जाने बताए ।

राष्ट्रपति सर्वमान्य, संविधानको रक्षक र मूलुकमा परिवर्तन भएको गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वधिनताको रक्षकसँगै सबै दलको साझा व्यक्तिको चयनतर्फ लाग्नु पर्नेमा गुरुङले जोड दिए ।

बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरुको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने तर्फ स्वयम दलहरु नै लागि परेकाले निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्नेमा गुरुङले जोड दिए ।

पछिल्लो समय सरकारमै बसेर गणतन्त्र समाप्त गर्ने योजनाहरु बाहिर देखिएको बताउँदै गुरुङले नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापामा देखाएको हर्कतले यसै संकेत गरेकाे उनकाे भनाई छ । 

रास्वपाका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको गुरुङको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्रले संविधानको उल्लंघन गर्दै बाहिर ल्याएको वक्तव्य तर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेर निरन्तरता दिनेहरुको समुहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै समयमै यस तर्फ ध्यान दिनु पर्ने गुरुङले बताए ।

धनुषामा ९७ करोड बराबरको कम धान उत्पादन

जनकपुरधाम, ११ फागुन । उत्पादनको दृष्टिकोणले सबैभन्दा बढी उत्पादन हुने धनुषा जिल्लामा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ९७ करोड १९ लाख ८९ हजार २ सय मुल्य बराबरको ३२ हजार ७ सय ६० मेट्रिक टन कम धान उत्पादन भएको छ ।

कृषि ज्ञान धनुषाका अनुसार चालु आर्थिक वर्ष साउनदेखि पुससम्मको तथ्यांक हेर्दा  किसानहरुले बर्खे धान ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा धान खेती गरेकोमा १ लाख ४६ हजार २ सय ८० मेट्रिक टन धान उत्पादन गर्न सकेको छ । तर, त्यही किसानहरुले अघिल्लो वर्ष सोहीअवधिमा ५५ हजार ८ सय ६ हेकटर क्षेत्रफल धान खेती गरेकोमा १ लाख ७९ हजार मेट्रीक टन धान उत्पादन भएको थियो । जुन यस वर्ष भन्दा ५७ करोड १९ लाख ८९ हजार २ सय रुपैयाँभन्दा बढी अर्थात ३२ हजार ७ सय ६० मेट्रिक टन बढी धान उत्पादन देखिन्छ । 

गतवर्ष यस वर्ष क्षेत्रफल घटाएर किसानहरु माछापालन शुरु गरेको, समयमा मल खाद्य नपाएको तथा सिँचाईको अभाव भएकोले यस वर्ष धनुषामा कम धान उत्पादन भएको बागवानी विकास अधिकृत प्रदिपकुमार यादवले बताए । जिल्लामा ७ लाख किसानहरु व्यावसायिक रुपमा धान खेती खेती गरी आर्थिक लाभ लिँदै आएको छ । जिल्लाको १८  पालिकामध्ये गणेशमान चारनाथ नगपालिका, मिथला नगरपालिका, बटेश्वरनाथ नगरपालिका र क्षेश्वरनाथ नगरपालिकाबाहेक १४ स्थानीय तहका किसानहरुले व्यावसायिक रुपमा धान गर्दै आएका छन् । 

धान खेती गर्ने किसानहरुलाई सरकारले ५० प्रतिशत अनुदानमा स्यालो, टयूबेललगायतका कृषिऔजारहरु उपल्बध गराउँदै आएको छ । कृषि विभागले धनुषा जिल्लामा डिजिटल सर्वे गर्दा धेरै ठाउँका किसानहरु आफनो जग्गामा माछा पोखरी खनेकाले धान खेती गर्ने क्षेत्रफलमा कमी आएको छ ।

नेपाल सरकारले सोना मन्सुली धानको खेती गर्न लगाए पनि यो धानले उत्पादन बढी दिने र खाना खान स्वादिलो हुने भएकोले सरकारी प्रतिबन्धको उपेक्षा गर्दै किसानहरु अत्यधिक मात्रामा यो धान नै लगाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको धानबाट वर्ष भरि खाना नपुगने भएकाले भारत माथिको परनिर्भरता बढदै गएको छ ।

सेल्फीले फर्काउला अक्षयको भाग्य ?

मुम्बई, ११ फागुन । सन् २०२३ सुरु भएको दुई महिना पुग्दै छ । यो दुई महिनामा बलिउडमा विगत दुई वर्षयता नभएको सुखद परिणाम देखियो । गत जनवरीमा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएपछि यसले दुई वर्षयता नदेखिएको बक्सअफिस माहोललाई कमव्याक गराइदियो । शाहरुख पछि अक्षय कुमार नयाँ फिल्म लिएर दर्शकमाझ फर्कदैछन् ।

विगतभन्दा बढी मेहनत

अक्षयको फिल्म ‘सेल्फी’ भोलि अर्थात फेब्रुअरी २४ बाट रिलिज हुँदैछ । पछिल्लो कैयौं हप्तादेखि अक्षय फिल्मको प्रमोसनमा व्यस्त छन् । उनले फ्यानसँगै सेल्फी लिएर गिनिज बुकमा नाम लेखाइसकेका छन् । त्यसो त यसअघि पनि अक्षयले आफू अभिनित फिल्मको प्रमोसन नगरेका होइनन्, तर यसपटकको प्रमोसनमा उनले बढी नै मेहनत गरेका छन् । कारण हो, खराब बनेको वर्ष २०२२ ।

हरेक वर्ष झैं सन् २०२२ को सुरुवात पनि कैयौं आशाका साथ भएको थियो । सन् २०२२ मा अक्षयको मात्रै पाँच फिल्म रिलिज भए । प्रायः हरेक वर्ष बढीमा उनका चार फिल्म रिलिज हुँदा सन् २०२२ मा पाँचौं फिल्म रिलिज हुने नयाँ कुरा थिएन । तर पाँच फिल्मले बक्सअफिसमा भने फ्लप नै भए । अक्षयको करियरमा सायदै यदी दुःखद क्षण यसअघि थिएन, जुन एकै वर्ष आफ्ना पाँच फिल्म फ्लप हुनुले देखायो ।

सीमाभन्दा खराब २०२२

अक्षयका लागि सन् २०२२ भन्दा अघि सन् १९९८ खराब वर्ष थियो, जब उनको सो वर्ष रिलिज तीन फिल्म फ्लप भए । डिसेम्बर, १९९७ मा रिलिज फिल्म ‘आरजु’बाट अक्षयको फिल्म फ्लप हुने सिलसिला शुरु भएको थियो । जुन डिसेम्बर, १९९९सम्म चल्यो । यो समय उनका लागि निकै समस्याग्रस्त समय थियो । यस्तै शैली उनले सन् २०२२ मा भोगे । सन् २०२२ मा उनी अभिनित ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘कठपुतली’ र ‘राम सेतु’ फ्लप भए ।

सेल्फीले फेर्ला भाग्य ?

आज अक्षयसँग कैयौं फिल्म छन् । तर यसका बाबजुद पाँच फिल्म फ्लप हुँदा पनि उनको ब्राण्डमा कुनै असर परेको छैन भन्ने कुरालाई नकार्न सकिँदैन । तर धेरै दर्शकमा अक्षयले ‘सेल्फी’मा केही कमाल गरिरहेका छन् भन्ने आशा कायमै छ ।

उद्योगमा आफ्तो स्टारडम र ब्राण्ड भ्यालूलाई कायमै राख्नका लागि अक्षयको नयाँ फिल्म ‘सेल्फी’हिट हुन आवश्यक छ । सन् २०२३ मा यदी उनले राम्रो सुरुवात गरे भने त्यसको फाइदा अक्षयको आउने अन्य फिल्मलाई पनि फाइदा हुनेछ ।‘सेल्फी’ सन् २०१९ मा रिलिज मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’को हिन्दी रिमेक हो । 

नियम उल्लंघन गर्ने सवारीबाट माघसम्म ४० लाख बढी राजश्व संकलन

लमजुङ ११ फागुन  । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारी नियम उल्लंघन गर्ने सवारी तथा यातायातका साधनहरुबाट चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४० लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार चालु आर्थिक बर्षको शुरु देखि माघ मसान्तसम्म नियम उल्लंघन गर्ने कूल ५ हजार ९ सय ५० सवारी साधनलाई कारबाही गरी जरिवानाबाट ४० लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयले पुसमा सबैभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । उक्त महिनामा १ हजार १०० सवारी कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालय, लमजुङका अनुसार गत आर्थिक बर्षमा सवारी नियम उल्लंघन गर्ने ५ हजार ४ सय ७६ सवारी साधनबाट ३४ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

यसैगरी आर्थिक बर्ष २०७६/७७ मा ४ हजार ८ सय २५ सवारी साधन बाट ३१ लाख ७२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक बर्षको १२ महिनामा भन्दा यस आर्थिक बर्षको सात महिनामा बढी राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय लमजुङको रेकर्डमा देखिएको छ ।

यस आर्थिक बर्षमा ८ सय १९ बटा ट्रक, ३ सय ५४ बटा वस, १ हजार ५ सय १५ जीप कार भ्यान जस्ता सवारी साधन, ४ सय ८ बटा ट्रयाक्टर, २ हजार ८ सय ५४ मोटर साईकललाई सवारी उल्लंघन गरे बापत जरिवाना गरेको थियो ।

नेविसंघ महोत्तरीको विवाद चुलिँदै

महोत्तरी, ११ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीको विवाद चुलिन थालेको छ । छलफल नै नगरी जिल्लाका नेताहरुले अध्यक्षका लागि सुनिल सुमनको नाम केन्द्रमा पठाएपछि विवाद चुलिन थालेको हो । 

केन्द्रबाट  जिल्ला अध्यक्षका लागि तीन जनाको नाम पठाउन पत्राचार गरे पनि जिल्लाका नेताहरुले सुमनको नाम मात्र पठाएपछि विवाद बढेको हो । 
यस विषयमा बुधबार नै २३ जना विद्यार्थी नेताले सामूहिक रुपमा विज्ञप्ति निकालेर विरोध जनाइसकेका छन् । नेविसंघको लोकतान्त्रिक इतिहास र गरिमा नै चोट पुगेको उनीहरुको भनाइ छ । 

नेविसंघका केन्द्रीय सदस्य विजय रायसहितले निकालेको विज्ञप्तिमा आफुखुसी मनोमानी वा केही सीमित व्यक्ति र स्वार्थको समूहको प्रभावमा परेर सुमनको मात्र एकल नाम पठाउने निर्णय तत्काल सच्याउन माग गरिएको छ । साथै उनीहरुले विद्यार्थीहरुको भेला बोलाउन पनि माग गरेका छन् । 

स्ववियु निर्वाचन नजिकिँदै गर्दा नेविसंघको आन्तरिक विवादले जिल्लाका दुईवटा क्याम्पसमा हुने आसन्न  निर्वाचनलाई समेत असर पर्ने देखिएको छ ।
केन्द्रले तोकेको अध्यक्ष सुमनलाई विद्यार्थी नेताहरुले स्वीकार गर्न नसक्दा क्याम्पसका एकाइ कमिटी समेत प्रभावित हुने अवस्था सिर्जना भएको हो  । क्याम्पसका एकाइ सभापतिहरुले समेत सुमनको संयोजकत्वको सम्बन्धमा आपत्ती जनाएका छन् ।

विद्यार्थीको असन्तुष्टिलाई माउ पार्टी कांग्रेससका  केही नेताहरुले समेत समर्थन जनाएका छन् । कांग्रेस महोत्तरीका पूर्वसचिव बजरंग नेपालीले विद्यार्थी नेताहरुको असन्तुष्टि जायज रहेको वताए । 

तर, केन्द्रमा नाम पठाउने जिम्मेवारी पाएका जिल्ला सभापति नागेश्वर यादवले भने सुनिल सुमनको नाम विधिवत् रुपमा पठाएको दाबी गरे । ‘हामीले छलफल गरेर नै सुमनको नाम पठाएका हाँै । अब उहाँहरुले किन असन्तुष्टि जनाउनु भयो, मलाई थाहा छैन,’ उनले भने । 
 

कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षणमा मेयर बालेन, कुलमान र मन्त्री श्रेष्ठ, स्वयम्भूका संरचना नभत्काइने

काठमाडौं, ११ फागुन । उपप्रधान तथा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले बिहीबार कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण गरेको छ । 

मन्त्री श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकार निर्देशक कुलमान घिसिङसहितको टोलीले कलंकी–महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो । 

निरीक्षणपछि मन्त्री श्रेष्ठले कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको काम चाँडै सुरु हुने र यसमा चीन सरकार सहमत भइसकेको जानकारी दिए ।

उनले सो सडकखण्डमा पर्ने स्वयम्भूका संरचनाहरु नभत्काइकन सडकको डिजाइन परिवर्तन गर्ने सहमति भएको जानकारी दिए । तर, बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु भने सारिने उनले बताए । 
 

बारामा सार्वजनिक स्थानमा डिजे बजाउन प्रतिबन्ध

बारा, ११ फागुन । जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने भएको छ । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको हो ।

जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यालय मातहतका सबै कार्यालय र युनिटलाई डिजे नियन्त्रणमा लिन बुधवार साँझ निर्देशन दिएको छु’ प्रहरी उपरीक्षक बोगटीले भने ‘बिहिवारदेखि डिजे बजाएको भेटिएमा प्रहरीले नियन्त्रणमा लिनेछ ।’

प्रहरी उपरीक्षक बोगटीले सार्वजनिक स्थानमा डिजे बजाएको पाइएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन् । डिजेका कारण समाजमा पर्ने असरप्रति सचेत हुन आग्रह गर्दै प्रहरी उपरीक्षक बोगटीले त्यसको प्रयोग नगर्न समेत अपिल गरेका छन् ।

गाडीमा ठुला स्पिकर राखेर चर्को आवाजमा गित बजाउने क्रम बढ्दो अवस्थामा रहेपनि नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो ।