`

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ६.११ अंकले ओरालो

काठमाडौं, १४ फागुन । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ६.११ अंकले घटेको छ । यससँगै सूचक २०१६.५३ विन्दुमा आएको छ ।

४ कम्पनीको २२ लाख १ हजार १३० रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार कुल ४ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ३५ को मूल्य घटेको छ र १ कम्पनी स्थिर रहेको छ । 

यसैगरी १३ उपसूचकहरुमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौ, १४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ४०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो । नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँ केजीमा पाइन्छ ।  

त्यस्तै, आइतबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, पुदीना ३५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, ब्रोबाउली ३० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँ रहेको छ ।
 

माउन्ट ग्लोरीमा यसरी फहराइयो चन्द्र सूर्य

काठमाडौं, १४ फागुन ।  माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । व्यावहारिक, सैद्धान्तिक र वैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको अभिभावक दिवस सम्पन्न भएको हो ।

टोखा – ५, श्रीटोल बसुन्धरामा रहेको विद्यालयले प्रिन्सिपल तथा प्रोफेसर गणेश श्रेष्ठ, टोखा -५का पूर्व वडाध्यक्ष,  विभिन्न विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ।

सो अवसरमा साना साना नानी बाबुहरुले चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा उठाउँदै देशभक्ती गीत गाउँदा अभिभावकहरु चाखपूर्ण स्टेजतिर हेरिरहेका थिए ।  जब कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जियो तब अभिभावकको ताली बजिरहँदा स्टेजमा अभिनय गरिरहेका बालबालिकाहरुले चन्द्र र सूर्य बोकेर छाती फुलाइरहेका थिए । चन्द्र र सूर्य अंकित झण्डा बोक्दा उनीहरु गर्व महसुस गरेको बुझ्न सक्न्थ्यिो । 

कार्यक्रममा बोल्दै माउन्ट ग्लोरीका प्रिन्सिपल गणेश श्रेष्ठले बिद्यालयले वैज्ञानिक शिक्षा पद्धतीलाई आत्मसाथ गर्नु आजको आवश्यकता भएको  बताए  । उनले भने, ‘विद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको मागअनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्धतीअनुसार स्कुल अघि बढ्ने कुरामा हामी प्रतिवद्ध छौँ ।’

कार्यक्रमकै अवसरमा  सिगिङ सुपरस्टारको सिनियरतर्फ  ८ मा अध्ययनरत छात्रा सारा राईले उपाधि जितिन् भने  जुनियर तर्फ कक्षा ४ का श्रेयान्स पुडासैनी प्रथम भए । सारा यही सिजनको भ्वाइस अफ किड्समा ब्लान्ड अडिसन पार गरेकी प्रतियोगी हुन् । भ्वाइसको मञ्चमा साराको प्रस्तुतीको चर्चा भएको थियो ।

आर्सनलकाे शीर्षतालाई कायमै

काठमाडाैं, १४ फागुन । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले महत्वपूर्ण जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ ।

दोस्रो हाफमा घरेलु टोली लेस्टर सिटीमाथि १–० को महत्वपूर्ण जित निकाल्दै आर्सनलले शिर्षता कायमै राखेको हो । ब्राजिली युवा विंगर गाब्रिएल मार्टिनेलीले गोल गरेर योगदान गरेका थिए । 

दोस्रो हाफको शुरु ४६औं मिनेटमा लियान्द्रो ट्रोससार्डको पासमा मार्टिनेलीले गोल गरेका हुन । 

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको २४ खेलबाट ५७ अंक सहित शिर्ष स्थानमा छ भने पराजित लेस्टर २४ अंक जोडेर १४औं स्थानमा छ ।

म्यानचेस्टर सिटीकाे ४–१ को फराकिलो जीत

काठमाडाैं, १४ फागुन । घरेलु टोली सिटी बर्नमाउथमाथि म्यानचेस्टर सिटीले सानदार जित हात हासिल गरेको छ ।इंग्लिस प्रिमियर लिग बर्नमाउथमाथि सिटीले ४–१ को फराकिलोृ जीत हासिल गरेको हो ।

भिटालिटी स्टेडियम बर्नमाउथमा शनिबार राति भएको खेलमा सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरेका थिए भने बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काए ।

१५औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट अग्रता लिएको सिटीले २९औं मिनेटमा हालान्डको गोलबाट अग्रता दोब्बर पार्यो ।४५औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी पहिलो हाफमा नै ३–० को आरामदायी स्थितिमा अघि बस्यो । 

५१औं मिनेटमा बर्नमाउथका क्रिस मेपामले आत्मघाती गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।त्यसपछि ८३औं मिनेटमा जेफर्सनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । 

यो जितसँगै सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ । पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औं स्थानमा छ ।

रोनाल्डोकाे साउदी प्रो लिगमा अर्को ह्याट्रिक 

काठमाडौं, १४ फागुन ।  क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन ।

रोनाल्डोले हयाट्रिक गरे अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले सजिलै पराजित गरयो । 

प्रिन्स सुल्तान विन अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियममा अभामा शनिबार राति भएको खेलमा रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । 

खेलको १८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाए भने २३औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अल नासरलाई २–० को अग्रता दिलाए । ४४औं मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै हयाट्रिक गरे । उनको हयाट्रिकमा एमनको पासले भुमिका खेल्यो ।

रोनाल्डोले आफ्नो करिअरको ६२औं  तथा अल नासरका लागि दोस्रो तथा ह्याट्रिक पूरा गरेका हुन् । 

यस जितसँगै अल नासर १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
 

‘वेलकम ३’ मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए

मुम्बई, १३ फागुन । बलिउड फ्यानहरुको सबैभन्दा मनपर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरुका लागि अब एउटा ठूलो खबर आएको छ । 

वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय, परेश र सुनिलको त्रिकुटसँगै एक जोडी पनि आउँदै गरेको खबर छ ।

‘वेलकम ३’ मा अक्षयसँगै सञ्जय दत्त र अर्शद वारसी पनि देखिने भएका छन । सञ्जय र अरशदलाई ‘मुन्नाभाई’ एकदमै मन पर्छ । 

सञ्जय र अरशदले ‘मुन्नाभाई’ जस्ता धेरै लोकप्रिय र ब्लकबस्टर फिल्म दिएका छन् । यी जोडीले ‘धमाल’ फ्रेन्चाइजमा पनि सँगै काम गरेका थिए । सञ्जय र अरशदको जोडीलाई पर्दामा फेरि एकसाथ हेर्नका लागि फ्यानहरू विगत केही वर्षदेखि पर्खिरहेका थिए । 

युक्रेनी सैनिकको सम्मान बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए

लन्डन, १४ फागुन । प्रधानमन्त्री ऋषि सुनक रुस विरुद्धको लडाइँमा युक्रेनीहरूको बलिदानीलाई सम्मान गर्न बिहान डाउनिङ स्ट्रिटमा सैन्य कर्मचारीहरूसँग सामेल भएका छन् । 

सो अवसरमा प्रधानमन्त्री सुनकसँगै बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्य र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिसमेत सहभागी भएका छन् ।  

‘हाम्रो महादेशमा युद्ध सुरु भएको एक वर्ष पूरा भएको बेला म सबैलाई हाम्रा युक्रेनी साथीहरूको साहस र बहादुरीलाई प्रतिबिम्बित गर्न आग्रह गर्दछु,’ सुनकले डाउनिङ स्ट्रिटमा जम्मा हुनु अघि भने, ‘युक्रेनीहरूले २४ घण्टा वीरतापूर्वक आफ्नो देशको रक्षार्थ लडेका छन्। यस भयानक द्वन्द्वमा बेलाइत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएकामा मलाई गर्व छ।’ 

यसअघि प्रधानमन्त्री सुनकले शुक्रबारको जी–७ बैठकमा अन्तररार्ष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गरेका थिए । रूस र युक्रेन  बिच युद्द सुरू भएकाे एक बर्ष नाघेकाे छ ।

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन् ?

काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन्।संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ।

राष्ट्रिय पार्टी नभएको र पछिल्लोपटक एमालेले दलको मान्यता दिएर पार्टी एकीकरणसहित राष्ट्रपतिमा गरेको प्रस्तावलाई अस्वीकार गर्दा मुलुकको चौथो कार्यकालका लागि तेस्रो व्यक्ति राष्ट्रपति हुनबाट उनी चुकेको भनिए पनि एमालेसँग विश्वस्त हुन नसक्दा उनी राष्ट्रपतिको प्रस्तावबाट पछि हटेका हुन्।एमालेका केही सांसदले मत हाल्दैनन् भन्ने सूचनालाई आधार मानेर उनले राष्ट्रपतिको प्रस्तावलाई पन्छाएका हुन्।

जानकारहरूका अनुसार शुक्रबार बिहान नेपाल निवास कोटेश्वरमा राष्ट्रिय अनुसन्धान विभागको हवाला दिएर एमालेका आठ संघीय सांसद र १५ प्रदेश सांसदले मत हाल्दैनन् भन्ने जुन सूचना दिइयो, अन्तत त्यही कारणले शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच भएको भेटघाटमा अविश्वास उत्पन्न भयो।‘मैले हार्ने चुनाव किन लड्ने  ? माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० ले नेपाली कांग्रेसलाई सहयोग गर्नेगरी अघि बढिसके।

राष्ट्रपति कांग्रेसले जित्छ, कांग्रेससँग प्रतिस्पर्धा गरेर हार्नुपर्ने अवस्था आउँछ भनेर नेपाल बाहिरिए,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्षले विश्वास दिलाउने आधार दिन्छु भन्दा पनि उनले मानेनन्।’ राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएलगत्तै एमालेले नेकपा एसलाई समेत पत्राचार गरेर पार्टीका रूपमा स्वीकार गरेको छ।यो समाचार नागरिक दैनिकमा छ ।

राप्रपा बाहिरिएपछि धरमरायो गण्डकी सरकार

पोखरा । केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा पनि नेकपा (एमाले) नेतृत्वको सरकारमाथि संकट उत्पन्न हुने भएको छ ।सत्तारुढ दल राप्रपाका मन्त्रीहरुले केन्द्रमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै त्यसको असर गण्डकीमा पनि परेको हो ।

गण्डकी प्रदेश सभामा राप्रपाबाट २ सदस्यको प्रतिनिधित्व छ ।राप्रपाबाट सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका पञ्चराम गुरुङ सरकारमा छन् । अर्का सांसद बिन्दु पहाडी हुन् । दुवै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् ।

संसदीय दलका नेता एवं मन्त्री पञ्चराम गुरुङले केन्द्रको निर्णय शिरोपर गर्नुपर्ने भन्दै त्यस’ आइतबार निर्णय आउने जानकारी दिए । उनले भने, ‘हामीहरु केन्द्रको निर्णयको शिरोपर गर्नुपर्ने हुन्छ ।अब के कसरी जाने भन्ने’दयगत बैठक बसेर निर्णय लिन्छौं ।’ सम्भवत राप्रपाले आइतबार राजीनामा बुझाएर सरकारबाट बाहिरिने संकेत गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहीरहनु अनुपयुक्त हुने ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने र प्रदेश सरकारमा पनि यसैबमोजिमको दृष्टिकोणले रहेकोले समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरेको थियो ।सत्तारुढ राप्रपा सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वको सरकार संकटमा पर्नेछ ।

गण्डकीमा गत २५ पुसमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीका १ सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८ ९२० बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संसदमा विश्वासको मत लिंदा ३१ सदस्यले पक्षमा मतदान दिएका थिए ।

६० सदस्यीय प्रदेश सभामा ३६ सिट प्रत्यक्ष तथा २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य चुनिएका छन् ।जसमध्ये नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो । दोस्रो स्थानमा रहेको एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र १ ९पछि एकीकृत समाजवादीमा प्रवेश० सदस्य छन् । बहुमतका लागि ३१ सिट आवश्यक पर्छ ।

गण्डकीमा हाल ७ सदस्यीय मन्त्रिमण्डलमा सुरुआतमै बिस्तारित ४ सदस्यीय मन्त्रिमण्डलमा सत्तारुढ राप्रपाबाट स्याङ्जाका पञ्चराम विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।यो खबर आजको राजधानी दैनिकमा छ ।

रामचन्द्र पौडेल देउवाको रोजाइमा कसरी परे ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीको १४औं महािधवेशनमा सभापति उम्मेदवार बन्न चाहन्थे।१३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए।

त्यही बलमा पौडेलले १४औं महाधिवेशनमा देउवाविरुद्ध फेरि सभापतिमा प्रतिस्पर्धा गर्न चाहेका थिए। त्यो वातावरण बनाउन इतरसमूहको नेतृत्व गर्दै पौडेल देउवाको सबैभन्दा आलोचकका रूपमा प्रस्तुत भए। तर १४औं महाधिवेशनको सँघारमा २०७८ मंसिर २३ गते पौडेललाई इतरपक्षका नेताहरू नै सभापतिको उम्मेदवारमा स्वीकार गर्न तयार भएनन्। विशेषगरी १४औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिको प्रतिस्पर्धामा उत्रिने अडान लिए। इतरपक्षका शेखर कोइरालासहितका केही युवा नेता पनि पौडेललाई नेता मान्न हिच्किचाए।

पौडेललाई सिंह र कोइराला दुवैले सभापतिको उम्मेदवार मान्न चाहेनन्।राजनीतिक जीवनको उत्तराद्र्धमा पुगेका पौडेललाई निकटस्थहरूले नै सभापतिको उम्मेदवार हुन असहयोग गरे। त्यसबाट बिरक्तिएका पौडेल सक्रिय राजनीति मात्र होइन, कांग्रेससँग पनि अलग हुने निष्कर्षमा पुगे।मंसिर २४ गते सुरु हुने पार्टीको १४औं महाधिवेशनमा समेत सहभागी नहुने निष्कर्षमा पौडेल पुगे।

सक्रिय राजनीतिबाट विश्राम लिने पौडेलको तयारीको सूचना पाएलगत्तै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा मंसिर २३ गते साँझ नै पौडेल निवास पुगे।देउवाले भेटमा पार्टी र मुलुकका लागि पौडेलको सक्रियता चाहिएको भन्दै स्वास्थ्यको ख्याल गर्न सुझाए।

लोकतान्त्रिक आन्दोलनमा पौडेलले पुर्‍याएको योगदान मूल्यांकन गर्ने बताउँदै देउवाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरे। पौडेल निकटस्थहरूले पनि उनलाई महाधिवेशनमा सहभागी हुन आग्रह गरे। पौडेल १४औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भए। तर महाधिवेशनको अन्य प्रक्रियामा उनी सहभागी भएनन्।

त्यसपछि पौडेलकै समर्थक र शुभेच्छुकले उनको आलोचना गरे। पहिलो चरणबाट सभापति निर्वाचित हुन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनबाट देउवा पुनस् सभापतिमा निर्वाचित भए।

त्यसपछि देउवाविरोधी गुटका नेताहरू पौडेलसँग टाढिँदै गए। तर देउवाले पौडेललाई सत्ता साझेदार दलहरूको संयन्त्रको संयोजक बनाउँदै राजनीतिक सक्रियतामा उनलाई जोड्दै गए। गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसे।

पार्टीको १३औं महाधिवेशनमा पनि सभापतिका लागि देउवासँग पौडेल प्रतिस्पर्धामा उत्रिएका थिए। सभापतिको निर्वाचनमा उनी पराजित भए।त्यसपछि संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पनि देउवाले पौडेललाई पराजित गरे।

सधैं ‘लभ र हेट’को सम्बन्धमा रहेका यी दुई नेतामध्ये पौडेल अहिले देउवाकै चाहनामा मुलुकको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवार बन्न पुगेका छन्।अहिलेको समीकरणमा कुनै उलटफेर नभए २००१ असोज ३० गते तनहुँको रिस्ती–२ बाहुन पोखरामा जन्मेका पौडेल मुलुकको तेस्रो राष्ट्रपति बन्ने निश्चितप्रायस् छ। राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको ३१ हजार बढी मतभार अहिले उनको पक्षमा छ।

पौडेललाई राष्ट्रपतिमा अघि सार्ने देउवाको निर्णयले कांग्रेसभित्रको एकतालाई बलियो बनाएको छ।देउवा पाँचपटक प्रधानमन्त्री बन्दा पौडेलले एकपटक पनि अवसर नपाएको भन्दै पार्टीभित्रैबाटै आलोचना हुँदै आएको थियो।यो खबर आजको नागरिक दैनिकमा छ ।

हवाई कम्पनीले बक्यौता नतिरे उडान तालिका स्वीकृत नहुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नगर्ने भएको छ ।

चैत १८ गतेदेखि लागू हुने गर्मीयामका उडान तालिकाअनुसार आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीलाई नयाँ तालिकाका लागि स्वीकृति लिनुअघि अनिवार्य बक्यौता तिर्न निर्देशन दिएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नयाँ तालिका स्वीकृतिका लागि सबै विमानस्थलमा बक्यौता नतिरे उडान अनुमति नपाइने निर्णय भएको हो ।

विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापत विभिन्न विमान कम्पनीले बुझाउनुपर्ने शुल्क समयमा नतिरेपछि प्राधिकरणले उडान तालिका स्वीकृति लिँदा नै कडाइ गर्न लागेको उनले बताए ।

हेलिकोप्टर र हवाई कम्पनीले बुझाउन बाँकी बक्यौता रकम यही फागुन १६ गतेभित्र बुझाउन निर्देशन जारी भएको उनले बताए ।प्राधिकरणका अनुसार हवाई सेवातर्फ नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर, गुण एयरलाइन्स, सीता एयरलाइन्स र सौर्य एयरलाइन्सले बक्यौता तिर्न बाँकी छ ।

त्यस्तै हेलिकोप्टरतर्फ एयर डाइनेस्टी, अल्टिच्युड, हेली एभरेस्ट, माउन्टेन हेलिकोप्टर्स, फिस्टेल एयर, सिम्रिक एयर, मनाङ एयर, कैलाश हेलिकोप्टर, श्री एयरलाइन्स, प्रभु हेलिकोप्टर्स र मुस्ताङ हेलिकोप्टरको बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तिब्र

सुर्खेत , १४  फागुन । जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचनामा जोडले तिबता िाएकाे छ । जसअनुसार खानेपानी , शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरु पढ्ने वातावरण सिर्जना गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयूक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकाहरुलाई सुरक्षित वातावरणमा गुणस्तरिया शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिइ निर्माण गरिएको अभियानका बरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए । 

सन् २०१९ बाट सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्मा नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले जानकारी दिए । निर्माण भएका विद्यालयहरुमा वडा नम्वर ३ मा २ वटा , वडा नम्वर ५ मा १ वटा र वडा नम्वर ६ मा २ वटा रहेका छन् भने १७ वटा विद्यालय मर्मत गरी पढन योग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिए ।

यसैगरी, पालिका भित्र व्यवस्थित , सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरु समेत समेत निर्माण गरिएको छ । पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ । 

विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन समेत गरिएको छ । विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको उनले जानकारी दिए ।

पहिलो पटक क्यानको साधारण सभा कर्णाली प्रदेशमा

सुर्खेत, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजवाट कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ ।

क्यानको वार्षिक साधारणसभा आइतबारदेखि पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुन लागेको हो  ।

दुई दिनसम्म सञ्चालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक–एकजना गरी करिब ८७ जना सहभागी हुने छन्।  साधारणसभामा चालु वर्षको प्रस्तावित बजेट, कार्ययोजना र वर्षभरी भएका उपलब्धी बारे छलफल हुनेछ। 

 
हिजो गरिएको  पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादनमा क्यान लागिरहेको र त्यसका लागि पहिलो पटक कर्णाली प्रदेशमा साधारणसभा आयोजना गरिएको जनाएका थिए । 

एमालेकाे पत्र पाए पछि नेकपा एसले भन्यो, ‘सम्बादको ढोका खुल्यो

काठमाडाैं / नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर सम्बादको ढोका खोलेको बताएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन्  ।

 ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ,’ पत्र पाए पछि खतिवडाले भने, ‘राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ  राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण  निर्माण हुन सक्दछ ।’

नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका  राष्ट्रपतिका उमेदवार  सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेखेका थिए । सो पत्र पाए पछि जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक सम्बादको ढोका खोलेका बताएका हुन ।
 

आजको मौसमः बाग्मती र गण्डकी प्रदेशमा बर्षा हुने

काठमाडौं, १४ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


उता, राती भने  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रभु साह नेतृत्वको आम आदमी पार्टीले पौडेललाई समर्थन गर्ने

काठमाडौं, १३ फागुन । प्रभु साह नेतृत्वको आम आदमी पार्टीले रामचन्द्र पौडेललाई समर्थन जनाउने भएको छ ।

सो पार्टीका प्रचार बिभाग प्रमुख चन्द्रभुषण साहले साँझ एक बिज्ञप्ति जारी गर्दै पौडेललाई समर्थन गर्ने जनाएका हुन । 

‘नेपालको राजनीतिमा बिगतमा भए गरेका घटना परिघटना एबम अभ्यासलाई दृष्टीगत मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो पार्टी आम जनता पार्टीका समर्थन रहने बिषय सबैमा सहर्ष जानकारी गराउन चाहान्छौं,’ प्रचार बिभाग प्रमुख साहले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उहाँ राष्ट्रिय एकताको प्रतिक बनि देश र जनताको सर्बोपरी हित बमोजिम आफनो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एबम बिश्वाससहित जीतको अग्रिम बधाई एम शुभकामनासमेत ब्यक्त गर्दछु ।’ 

आम आदमी पार्टीसँगै राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेललाई समर्थन जनाउने दलको संख्या ९ पुगेको छ ।

पौडेल कांग्रेससहित नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने यसअघि नै निर्णय लिईसकेका छन।  
 

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा टरेको छैन – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा अहिले पनि नटरेको बताएका छन् । शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको उनको भनाई छ ।

उनले भने, ‘हिजो संसदका आठ दलबिच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसदको सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसदका अरू दलहरूबिच पनि समझदारीका साथ अगाडि बढेका छौँ। यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ, यो एकप्रकारले राष्ट्रिय सहमति नै हो।’

नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त नभएको उनले बताए । उनले भन ‘फागुन ७ गते संविधानले नचिनेका नारा लागे। त्यो गम्भीर कुरा छ। हिजो जसरी संसद विघटन गरियो, संविधानमाथि आक्रमण गरियो। त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन। त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ।’

‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का

मुम्बई, १३ फागुन । ‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का भएको छ । 

अब अक्षयलाई ‘राजु’ को आइकोनिक चरित्रमा देख्न पाउनेछन् ।  ‘हेरा फेरी ३’ मा अक्षय कुमार हुनेछन् या छैनन्, यो रहस्य केही दिनअघि मात्रै टुङ्गिएको थियो ।

तर अक्षयका फ्यानका लागि खुसीको खबर यहीँ सकिएन । अक्षय ‘हेराफेरी ३’ मा मात्र नभई परेश र सुनीलसँगै ‘वेलकम’ र ‘आवारा पागल दीवाना’ को सिक्वेलमा पनि देखिने दाबी गरिएको छ । यद्यपी यी दुई फिल्मको बारेमा थप जानकारी बाहिर आएको छैन।

युक्रेनलाई दुई अर्ब डलर बराबरकाे सैन्य सहायता दिने अमेरिकाकाे घाेषणा

बासिङटन डिसी । निरन्तर सहयोग गर्दै आएको अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ। 

युक्रेनमाथी रुसले आक्रमण गरेको वार्षिकीको दिन अमेरिकाले युक्रेनलाई दुई  अर्ब डलरको नयाँ सैन्य सहायतागर्ने घोषणा गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले जानकारी दिए । गत साता अप्रत्यासित रुपमा अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन पुगेका थिए, त्यसको केही दिनमा अमेरिकाले सो घोषणा गरेको हो । 

‘सयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ, सुलिभानले सीएनएनसँग भने । यद्यपि उनले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण भने दिन चाहेनन ।  

यसै साताको प्रारम्भमा किभ पुगेका अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलव्ध गराउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसमक्ष प्रतिबद्धता जनाए थिए। 

अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता नभएको जनाएको छ ।

सामाजिक सञ्जालबाट अलग्गिने सेलेनाको घोषणा

लसएञ्जल्स, १३ फागुन । हलिउडकी प्रख्यात गायिका, अभिनेत्री तथा निर्मात्री सेलेना गोमेजका हालका दिनमा चर्चामा छिन् । उनले हालैमात्र सामाजिक सञ्जालमा एउटा रेकर्ड बनाएकी छन् । उनी इन्स्टाग्राममा सर्वाधिक फलो गर्ने महिला बनेकी छन् । उनले काइली जेनरलाई पछि यो मामलामा पछि पारेकी छन् । उनले इन्स्टाग्राममा रेकर्ड राखिरहँदा सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् ।

सेलेनाको इन्स्टाग्राममा २ सय ८३ मिलियन फलोअर छन् । जबकी काइलीको इन्स्टामा ३ सय ८० मिलियन फलोअर छन् । सेलेनाअघि यो रेकर्ड काइलीको नाममा थियो ।

यद्यपि यी सबै सफलताका बावजुद पनि सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् । ‘म धेरै खुशी छु । म धन्य पनि छु । सारा विश्वमा मेरा राम्रा साथी र राम्रा फ्यान छन् । म यो भन्दा बढी खुशी हुन सक्दिनँ । म ठीक छु । म जस्तो छु, मलाई मनपर्छ । मलाई चिन्ता छैन’, उनले भनेकी छन् ।

३० वर्षीया सेलेनाले आफू सामाजिक सञ्जालबाट टाढिन लागेको स्पष्ट पारेकी छन् । ‘म सामाजिक सञ्जालबाट टाढिँदैछु । किनकी यो थोरै मूर्खतापूर्ण हुन्छ । म ३० वर्षको भएँ । म तपाईंहरुलाई धेरै माया गर्छु । म चाँडै तपाईहरुलाई भेटन आउँदैछु । मलाई अहिले हरेक कुराबाट ब्रेक लिनुछ’, उनले भनेकी छन् ।

सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने कुरा पहिलोपटक होइन । उनले यसअघि पनि कैयौं पटक मानसिक स्वास्थ्यलाई हवाला दिँदै सामाजिक सञ्जालबाट ब्रेक लिईसकेकी छन् । सन् २०१४ मा गायिकाले आफूलाई बाइपोलर भएको खुलासा गरेकी थिइन् । यो डिप्रेसनभन्दा एक तहमाथि हुन्छ । यद्यपि उनले हार मानिनन् र यो मानसिक रोगसँग लामो समय लडिन् ।

प्रधानमन्त्रीको पहलमा आगलागीका २ घाइते हेलिकप्टरवाट काठमाडौंमा

काठमाडौं। आगलागीमा परेर सिकिस्त भएका अछामकाे पञ्चदेवल विनायक नगरपालिका दुईजना युवाहरूलाई  प्रधानमन्त्री कार्यालयकाे पहलमा थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ। 

गत ११ फागुनमा  घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका–८ काेसेडी निवासी हिमराज राेका मगर र पिरम राेकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएकाे थियाे। 

घाइतेमध्येहिमराजकाे शरीर ८० प्रतिशत भाग जलेकाे छ भने पिरमकाे ३६ प्रतिशत जलेकाे छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपील गरेका थिए। 

प्रधानमन्त्री कार्यालयले घटनाकाे संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयकाे समन्वयमा नेपाली सेनाकाे हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएकाे हाे।

युएईमाथि नामिबियाको सहज जित, ३९ अंकका साथ तेस्रो स्थानमा

काठमाडाैं, १३ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ ।

जीतसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग–२ समाप्त गरेको छ ।


जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाउँदै जीत हासिल गरेको हो । नामिबियाको जितमा माइकल भान लिंगेनले ५३ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । नामिबिया कै बेन सिंकोगोले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । टांगेनी लुंगामेनी र जेरार्ड इरास्मसले २–२ विकेट लिए । लो ह्यान्डरे लरेन्सले ५९ बलमा ६ चौकासहित ४७ रन बनाउन सफल भए ।

दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । युएईका कप्तान सिपी रिजवानले १ सय ४० बलमा २ चौकासहित सर्वाधिक ६० रन बनाए । 

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । 

दोस्रो भक्तपुर कप फुटबलको उपाधि हिलिङ होमकाे पोल्टामा

भक्तपुर,  १३ फागुन । दोस्रो भक्तपुर कप–२०७९ हिलिङ होम एफसीले जितेको छ ।हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनलमा ५—४ गोलले हिलिङ होम एफसी विजेता बनेको हो ।

निर्धारित समयसम्म दुवै टीमले दुई दुई गोल गरी खेल बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले तीन गोल गर्न सफल भई विजय हात पारेको थियो । भक्तपुर युवा टीमको आयोजनामा भएको फाइनल खेलमा पहिलो गोल विजेता हिलिङ होम देवराज तामाङले गरेका थिए ।

खेल सुरु भएको सातौ मिनेटमै गोल गरेकामा जवाफी गोल पराजित केदारनाथ सुटर्सले खेल सुरु भएको ३४ औं मिनेटमा फर्काएका थियाे । सुदर्शन श्रेष्ठले गोल फकाई खेललाई बराबरीमा ल्याउन सफल भएको थियो ।

खेलको ४३ औ. मिनेटमा विजेता हिलिङ होम एफसीका देवराज तामाङले दोश्रो गोल गरी टीमलाई अगाडि वढाएका थिए । जवाफी गोल खेलको ६६ औ मिनेटमा पराजित केदारनाथ सुटर्सका सतिश सुवालले गरेपछि खेल बराबरीमा टुंगियाे ।

प्रतियोगितामा विजयी हुन सफल हिलिङ होम एफसीले नगद पुरस्कार एक लाख २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए भने दोश्रो हुन सफल केदारनाथ सुटर्सले नगद ६० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । 

सेल्फी सुपरफ्लप भएपछि अक्षयकुमार तनाबमा

मुम्बई, १३ फागुन । अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ शुक्रबारबाट हलमा रिलिज भएको छ ।

बैभन्दा खराब अवस्थामा पनि अक्षय जस्ता स्टारको फिल्मबाट सम्मानजनक कलेक्शनको अपेक्षा गरिएको थियो तर ‘सेल्फी’ यी सबै अपेक्षाहरू भन्दा धेरै कम कलेक्सन गरेर सबैलाई निराशा बनाई दिएको छ ।

‘गुड न्युज’ र  ‘जुग्जुग जियो’ जस्ता फिल्म बनाएका राज मेहताले ‘सेल्फी’ को निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँगै इमरान हाश्मी पनि छन् । दुई ठूला नाम भए पनि फिल्मले यति हलुका सुरुवात गर्दछ भन्ने कसैले सोचेको पनि थिएन । बक्स अफिस रिपोर्टका अनुसार ‘सेल्फी’ले शुक्रबार मात्रै २.५ करोड कमाएको छ । 

अक्षयको करियरको सबैभन्दा खराब फ्लप मध्ये एक, ८१० तस्विरले ले २००९ मा २ करोड भन्दा कम ओपनिङ गरेको थियो। यसपछि अक्षयको कुनै पनि फिल्मले यस्तो खराब सुरुवात गरेको थिएन । त्यसपछि सेल्फी रहन पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

यतिखेर अक्षयकुमार तनाबमा रहेका छन।  

दोस्रो भक्तपुर कप फुटबलको उपाधि हिलिङ होमकाे पोल्टामा

भक्तपुर,  १३ फागुन । दोस्रो भक्तपुर कप–२०७९ हिलिङ होम एफसीले जितेको छ ।

हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनलमा ५—४ गोलले हिलिङ होम एफसी विजेता बनेको हो ।

निर्धारित समयसम्म दुवै टीमले दुई दुई गोल गरी खेल बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले तीन गोल गर्न सफल भई विजय हात पारेको थियो । भक्तपुर युवा टीमको आयोजनामा भएको फाइनल खेलमा पहिलो गोल विजेता हिलिङ होम देवराज तामाङले गरेका थिए ।

खेल सुरु भएको सातौ मिनेटमै गोल गरेकामा जवाफी गोल पराजित केदारनाथ सुटर्सले खेल सुरु भएको ३४ औं मिनेटमा फर्काएका थियाे । सुदर्शन श्रेष्ठले गोल फकाई खेललाई बराबरीमा ल्याउन सफल भएको थियो ।

खेलको ४३ औ. मिनेटमा विजेता हिलिङ होम एफसीका देवराज तामाङले दोश्रो गोल गरी टीमलाई अगाडि वढाएका थिए । जवाफी गोल खेलको ६६ औ मिनेटमा पराजित केदारनाथ सुटर्सका सतिश सुवालले गरेपछि खेल बराबरीमा टुंगियाे ।

प्रतियोगितामा विजयी हुन सफल हिलिङ होम एफसीले नगद पुरस्कार एक लाख २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए भने दोश्रो हुन सफल केदारनाथ सुटर्सले नगद ६० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । 

प्रियंका गान्धीको स्वागतमा २ किमी लामाे गुलाबकाे सडक

भारत, १३ फागुन । भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई करिब २ किलोमिटरसम्म गुलाबको फूलका सडक बनाएर सजाएर स्वागत गरिएको छ। 

वाड्रा पार्टीको तीन दिने ८५ औं अधिवेशनमा भाग लिन शनिबार छत्तीसगढको नयाँ रायपुर पुग्दा उनका समर्थकले २ किलोमिटरसम्म सडकमा गुलाब बिच्छयाएर स्वागत गरेका हुन । उनीहरुका अनुसार गान्धीको स्वागतमा ६ हजार किलोभन्दा बढी गुलाबको फूल प्रयोग गरिएको थियो ।  

प्रियंकाको स्वागतका लागि एयरपोर्ट अगाडिको सडकमा गुलाफको फूलको बाक्लो तह बिछ्याइएको थियो । गुलाब फूलले सजिएको सडकका दुबै छेउमा परम्परागत भेषभुषामा सजिएका लोक कलाकारहरुले पनि आफ्नो प्रस्तुति प्रस्तुत दिएका थिए ।

गान्धी मुख्यमन्त्री बघेलसँगको कारमा एयरपोर्टबाट निस्किएकी थिइन् । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, प्रदेश कांग्रेस प्रमुख मोहन मरकम र अन्य पार्टी नेताहरूले प्रियंका गान्धी वाड्रालाई स्वागत गरेका छन ।  

बाँस्कोटाको टिप्पणीः ”रंग फेर्ने प्रतियोगितामा छेपारोले प्रचण्डसँग हार्छ’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रंग फेर्ने प्रतियोगितामा छेपारोले पुष्पकमल दाहाल प्रचण्डसँग हार्ने टिप्पणी गरेका छन् । एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि एमाले नेता बास्कोटाले सो टिप्पणी गरेका हुन् ।

‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ,’ बाँस्कोटले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।’

एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्ड प्रति आक्रोशित बाँस्कोटाले एमालेले अब आफनै लयमा हिडनु पर्ने पनि बताएका छन् । ‘एमाले  आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको औपचारिक निर्णय

काठमाडाैं, १३ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । 

शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिए ।

‘आठ दलको सहमति अनुसार कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ, पार्टीवाट उपराष्ट्रपति को हुने त्यो भने टुंगिएको छैन’ उनले भने । 

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै बसेको जसपाको बैठकले समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । कांग्रेस उम्मेदवारलाई औपचारिक रुपमा समर्थन गर्ने जसपा नेपाल पहिलो पार्टी हो । 

इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा

काठमाडाैं, १३ फागुन । आयोजक दक्षिण अफ्रिका आठौं संस्करणको आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो । 

केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो । 

अब आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खेल्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई ५ रनले हराउँदै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो । 

आर्सनल ६५ हजार र म्यानचेस्टर ७५ हजार पाउण्ड जरिवाना

काठमाडाैं, १३ फागुन । फुटबल संघ (एफए) ले इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । 

गत महिना इमिरेट्स स्टेडियममा प्रिमियर लिग अन्तरगतको खेलमा आफ्ना खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै एफएले दुवै क्लबलाई जरिवाना गरेको हो ।

आर्सनललाई ६५ हजार पाउन्ड र सिटीलाई ७५ हजार पाउण्ड जरिवाना गरिएको एफएले जनाएको छ।

आर्सनलले एफए कपमा अक्सफोर्ड युनाइटेडविरुद्ध खेलमा पनि अनुशासन कायम नगरेको भन्दै थप २० हजार पाउन्ड जरिवाना तोकिएको छ ।

 आर्सनल र सिटीले खेलको दौरान विभिन्न समयमा रेफ्री एन्थोनी टेलरलाई घेरेको अभियोगनमा उक्त जरिवाना तोकिएको हो ।

सिटीले खेल ३–१ ले आफ्नो पक्षमा पारेको थियो तर सिटीका एर्लिङ ब्राउट हालान्डले पेनाल्टी पाएपछि आर्सनलले विरोध गरेको थियो, यो निर्णय भिएआरले उल्ट्याएको थियो ।

एडरसनको चुनौती र पछि एडी एकेटियाहलाई फाउल गरेपछि आर्सनललाई पहिलो हाफमा पेनाल्टी दिने निर्णयमा पनि सिटी असन्तुष्ट बन्दै रेफ्रीको आलोचना गरेको थियो । सो आलोचना पछि टोली माथी छानबिन भएको थियो । 

आर्सनल २३ खेलबाट ५४ अंक जोडेर शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी २४ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । 

प्रवक्ता मोहन श्रेष्ठका अनुसार  पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक  केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ  । 

राष्ट्रपतिको निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

राष्ट्रपतिको उम्मेदवार चयन गर्दै नेपाली कांग्रेस

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।  

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाईएको हो । 

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।  राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ । 

हिजो बसेको ७ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्टपतिमा समर्थन गर्ने निर्णय गरे पछि आज उम्मेदवार चयन गर्न लागेको हो । 

गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए ।

सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क ।

बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीय बसाइँ सर्न बाध्य भएका हुन् । स्थानीय नेत्र थापाले भने, “गाउँमा १३ घर थियौँ, सडक, बिजुलीलगायतका पूर्वाधार त थिए तर पानीको समस्या थियो । त्यसमाथि बाँदरलगायतका जङ्गली जनावरले दुःख दिन थालेपछि गाउँ छाड्न सबै बाध्य भए । अब तीन घर मात्र बाँकी रहेका छौँ ।”

बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका हुन् । धनकुटा नगरपालिका–९, माहाङमा करिब ५० परिवारको बसोबास छ । सबैको आर्थिक उपार्जनको माध्यम कृषि हो तर माहाङमा अहिले आधाभन्दा बढी जमिन बाँझो छ । यहाँको समस्या पनि जङ्गली जनावरको आतङ्क नै हो । बाली सखाप पारेपछि घर वरिपरिबाहेक अन्य क्षेत्रमा खेती गर्न छाडेको स्थानीय रविन घिमिरेले बताए ।

उनले भने, “बसाइँ सरेर जान सक्ने अवस्था भएका गए तर अवस्था नै नभएका भने गाउँमा बसेका छन् तर पहिले गरेको खेतीको क्षेत्र घटाएका छन् ।” जङ्गलसँगै जोडिएका बस्तीमा वन्यजन्तुले बर्सेनि सताउँदै आएको छ । यो समस्या एक क्षेत्रमा मात्र नभई समग्र जिल्लाभर नै रहेको छ । जिल्लाका सातै पालिकामा जङ्गली जनावरको आतङ्क बढेको स्थानीयको गुनासो छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

दुई महिनामै भत्कियो सत्ता गठबन्धन

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ।

पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ।साथै उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आठ दलको बैठकमा नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएको हो । गठबन्धन बैठकमा प्रतिनिधिसभाको ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। ‘संसद्को ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको छ,’ उनले आठ दलीय बैठकपछि पत्रकारसँग भने, ‘राष्ट्रपतिमा कांग्रेसले सार्ने उम्मेदवारलाई जिताउन सबै दल लाग्ने सहमति भएको छ।

निर्वाचनअघिको गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्ने हामीबीच समझदारी बनेको छ।’तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ संसदीय प्रक्रिया अघि बढाएपछि कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन निर्माण भएको थियो।

प्रमुख राजनीतिक दलका साथै विभिन्न पक्षसँगको दुई पक्षीय र बहुपक्षीय छलफलपछि शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्को ठुलो दलको हैसियतमा कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको लोसपा नेता राजेन्द्र महतोले जानकारी दिए।

आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिका लागि राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको बताउँदै नेता महतोले भने, ‘हाम्रो उम्मेदवारका पक्षमा राष्ट्रिय सहमति नजुटेकाले बैठकमा सहभागी दलहरूबीच कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ।’

बैठकमा कांग्रेसलाई राष्ट्रपति र उपराष्ट्रपति आफ्नो पार्टीलाई दिने सहमति भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। जसपा स्रोतका अनुसार सांसद रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने अध्यक्ष यादवको तयारी छ।यो खबर आजको नागरिक दैनिकमा छ ।

मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज मनोयन

काठमाडौं, १३ फागुन । मुलकको तेस्रो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले बिहान १० बजे देखी  दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ ।

शुक्रवार साँझ आठ दल बिच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन कायम गरे पछि राजनीतिक परिस्थिति बदलिए पछि नेकपा एमालेले भने राष्ट्रपति निर्वाचनमा के गर्छ ? भन्ने अझै अन्यौल कायम छ । यद्धपी एमालेले भोली सचिवालय बैठक बोलाएर निर्णय लिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।  

आजको मौसमः तीनवटा प्रदेशमा हिमपात हुने

काठमाडौं, १३ फागुन । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू्–भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ। 
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  महाशाखाले जनाएको छ । 

प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, १३ फागुन । नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । 

सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो । 

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको  भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ । बैठक बिहान ९ बजे बस्नेछ । 
 

परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आगलागी, दुई बालकको ज्यान गयो

काठमाडौं- पाँचथरमा आगलागीमा परेर दुई बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी भएको थियो ।

आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर ज्यान गएको हो । प्रहरीका अनुसार परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आगलागी भएको हो । आगलागीमा मतान घर पूर्णरूपमा जलेको जनाइएको छ ।

मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय प्रधानसेनापति

काठमाडौँ प्रधानसेनापति प्रभुराम शर्माले पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने बताएका छन् ।शुक्रबार सैनिक कमान्ड तथा स्टाफ कलेजमा २९आँै समूहको कमान्ड तथा स्टाफ तालिम दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित पार्ने भए पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने उनले बताए । मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय रहने बताए ।