राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय
काठमाडौँ आगामी राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने ८ दलले निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठदलीय बैठकले सो निर्णय गरेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलको उक्त बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको एसका नेता प्रकाश ज्वालाले जानकारी दिए ।
व्यक्तिगतरूपमा कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा कांग्रेस पार्टीले नै छनोट गर्ने उनले बताए। बैठकपछि प्रधानमन्त्री प्रचण्डले पनि आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको र यसलाई सबै दल मिलेर अगाडि बढाउनुपर्ने बताए । उनले भने आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको र यसलाई सबै दलहरु मिलेर जाऔँ र राष्ट्रको समृद्धि, राष्ट्रिय स्वाधीनतालगायतका विषयमा एकताबद्ध भएर जानुपर्छ, सत्ता समीकरणको विषयमा पनि एकताबद्ध भएर जाऔँ ।”
बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी भएका थिए ।
