`

बालुवाटारमा नेत्रविक्रम चन्द र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २२ माघ, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज साँज भेटवार्ता भएको हो । भेटका क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ ।

रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । 

राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की रहेका छन् ।

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण

सुर्खेत – शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सफल भएको  जनाएको छ । नवलपरासीका बर्दघाट नगरपालिका–४ का युवक २२ वर्षीय युवाले ४३ वर्षीया आमालाई आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली आएको थियो ।

टोलीमा प्रत्यारोपण केन्द्रका शल्य चिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. शोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलाजिष्ट डा. समीर दवाडी रहेको प्रदेश अस्पतालका निर्देशक डा. खड्काले जानकारी दिए । 

 खड्काको नेतृत्वमा सल्यचिकित्सक डा गणेश थापा, डा विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा.  पूजन बल्ल, डा जेनी बज्राचार्य, फिजिसियन डा कुलराज शाही, अपरेसन थिएटरका इन्चार्ज प्रभा रावल लगायतको टोली सहभागी भएको थियो ।  

सरकारमा जानु गलत थियो : रास्वपा नेता कार्की

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सरकारमा जानु गलत भएको बताएका छन् ।

रास्वपाको बैठकपछि प्रतिक्रिया दिँदै कार्कीले पार्टी सरकारमा जानु गलत भएको र अब कोर्स करेक्सन गर्ने बेला आएको बताए ।  पार्टीले सरकारलाई कायम राखेको समर्थन पनि फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

रास्वपाले आजै सरकारबाट बाहिरिने घोषणा गरिसकेको छ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृहमन्त्री त्यागेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको प्रस्ताव गरेकोमा लामिछानलेले उक्त प्रस्ताव अस्वीकार गर्दै सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख ढकाल शान्ति सुरक्षा बुझन जिल्लाको अनुगमनमा

सुर्खेत – कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाल शान्ति सुरक्षाको अवस्था बुझन जिल्ला-जिल्लामा पुगेका छन् ।भर्खरै मात्र प्रदेश प्रहरी प्रमुख भएकार आएका प्रहरी नायव महानिरीक्षक ढकालले माघ १२ गते जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए ।

१३ माघमा १० जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे भिडियोमार्फत जानकारी लिएका ढकालले माघ १५ गते नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश, सुर्खेत र तालिम केन्द्र (हाल नेपालगन्ज) बाँकेमा निरीक्षण गरेका थिए ।

माघ १६ गते नेपाल प्रहरी विषेश सुरक्षा गण, सुर्खेत (हाल नेपालगंज) बाँकेको निरीक्षण गरेका थिए । आइतबार स्थलगत रुपमा शान्ति सुरक्षाको अवस्था बुझन महानिरीक्षक ढकाल जाजरकोट पुगेका थिए । प्रदेशका सबै जिल्लामा पुगेको त्यहाँको अवस्था र नागरिकको अपेक्षासमेत बुझ्ने कार्यक्रम रहेको उनले जानकारी दिए। 

दरबन्दी अनुसारको प्रहरी कर्णाली प्रदेशमा नभएपनि भएको जनशक्तिले राम्रो काम गरेको समेत बताए । जिल्लाको सुरक्षा समितिको बैठकमा समेत सहभागी भएर जिल्लाको समग्र सुरक्षा तथा भुगोलमा विषयमा समेत जानकारी लिएका थिए ।

सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

बझाङ – सेती नदीमा हाम फालेका एक व्यक्ति मृत फेला परेका छन् । सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए । प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो ।

थापा छबिस पाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्षका छोरा हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ २९ गतेका लागि एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं – निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौं बैठक यही माघ २९ गते बस्ने भएको छ ।

गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो । एमालेको केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठिनक सुदृढीकरणबारे छलफल हुने जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने निर्णय गरेको हो।

त्यसैगरी पार्टीको सचिवालय बैठक यही माघ २६ गते बस्ने भएको तय भएको छ ।

माघ २७ मा राष्ट्रपतिले संघीय संसद्‍लाई सम्बोधन गर्ने

काठमाडौं, २३ माघ-संघीय संसद्‌को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद‍्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् ।


उक्त दिनको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्‌का दुवै सदनका सांसदहरुलाई २:४५ बजे नै सभामा निर्धारित पोसाकमा उपस्थित हुन उनको आग्रह छ । उनले राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने जानकारी दिए ।

नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ साल माघ २७ गते शुक्रबार दिनको ३ बजे संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताएका थिए ।

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

काठमाडौं, २२ माघ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जानकारी दिए । 

सरकारबाट बाहिरिने निर्णय गरेको भए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ । रास्वपासहितको समर्थनमा गत १० पुसमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको थियो । प्रचण्ड नेतृत्वको सरकार गठनमा अहम्भूमिका निर्वाह गरेको रास्वपा अन्ततः सरकारबाट बाहिरिएको हो । 

नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएसँगै लामिछाने सांसद, उपप्रधान तथा गृहमन्त्रीसहितका पद गुमाएका थिए । १३ माघमा सर्वाेच्च अदालतको संवैधानिक इजलासले उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दा बुझाएको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको हो । 

यसको दुई दिनपछि १५ माघमा अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । यसपछि सोही दिन प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई उपप्रधान तथा गृहमन्त्रीको शपथ खुवाउन आग्रह गरेका थिए ।

तर, प्रधानमन्त्री प्रचण्डले लामिछानेको राहदानी पनि विवादमा परेको र नागरिकतालाई अवैध ठहर गरेको अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल कसैलाई पनि गृहमन्त्री नबनाउने अडान कायम राखे । जस कारण आइतबार रास्वपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो । 
सभापति लामिछानेलाई गृहमन्त्री नबनाएपछि रास्वपा सरकारबाट बाहिरिने अवस्थामा आएको हो । तर, सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ । 

पत्रकार सम्मेलनमा सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । सरकारलाई दिएको समर्थन कायम राख्ने रास्वपाको निर्णयलाई प्रचण्ड सरकारलाई सुरक्षित राखेको छ । 

सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले यदी समर्थन फिर्ता लिएको भए प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो । तर, रास्वपाले समर्थन कायम राखेकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत भने लिनुपर्ने अवस्था भने आएन । 

नेपालको संविधान धारा १००को उपधारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । जस कारण रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै बाहिरिँदा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने देखिँदैन । 

रास्वपाबाट सरकारमा सहभागीहरुले आइतबार नै मन्त्रीबाट राजीनामा दिने तयारीमा छन् । 
 

विचौलियाका कारण किसान र उपभोक्ता मारमा परे – ज्ञानेन्द्र शाही

काठमाडौं – राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले विचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन् । 

६०० प्रतिशतभन्दा बढी नाफा लिएर विचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग उनले आग्रह गरे ।

बैंकले बढाएको अस्वाभाविक ब्याजका कारण साना व्यवसायी आत्महत्याको बाटो रोज्न थालेको भन्दै उनले यसतर्फ सरकारले हस्तक्षेपकारी नीति लिनुपर्ने बताए । 
 

राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ : केपी ओली

काठमाडौं, २२ माघ । सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने बताए ।

आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्दै र राजनीतिक निकास निकाल्दै प्रचण्ड नेतृत्वमा सरकार बनाएको उनको भनाइ छ । 

कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उनले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताए । 
 

रविको सांसद पद गुमेपछि आफूलाई निर्वाचित घोषणा गर्न उमेश श्रेष्ठको आयाेगसँग माग

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर भएपछि उपविजेता रहेका कांग्रेसका उमेश श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन् । 

१३ माघमा सर्वाेच्च अदालतले लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर गर्दै उनलाई सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो । 

सोही आधारमा आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले चितवन–२ बाट आफूलाई निर्वाचित भएको घोषणाको माग गर्दै  निर्वाचन आयोगमा निवेदन दिएका छन् । 
 

प्रदेश नं १ प्रदेशसभाको बैठक सोमबार बस्ने

काठमाडौं – प्रदेश नं १ प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्न संविधानमा व्यवस्था रहेको छ ।

एफएलएफ अवार्ड २०७९ को मनोनयन

काठमाडौं, २२ माघ । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको लिम्बु भाषा, सस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७९’को पाँचौं सस्करणको मनोनयनमा परेका कलाकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको छ ।

अवार्डमा फिल्मबाट अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टिकाराम लिम्बु माखिम, रुद्र पाहिम, तान्छोहाङ इङनाम, गायकमा सुसन साम्सोहाङ, टिका लिम्बु, सुमन लिम्बू, गायिकामा मेचु धिमाल, मनु नेम्वाङ, श्रेयसी चेम्जोङ, संगितकारमा मान तबेबुङ, बुद्धराज लिम्बु, सैलेन्द्र नाल्बो, कथामा सागर केरुङ, टिका माखिम, सहनिर्देशकमा छबि कटवाल, चन्द्रप्रसाद घिमिरे, शृङगारमा रबिना थापा तोलाङ्गी, अशोक मण्डल, निर्देशनमा दिनेश लिङदेन, टिकाराम लिम्बू, छायांकनमा सुमन योञ्जन, कौसल राना, इशक जबेगु मनोनयनमा परेका छन् ।

त्यसैगरि म्युजिक भिडियोबाट अभिनेत्रीमा पुष्पाञ्जली तिल्लिङ लिम्बू, केन्जल योङहाङ, रुबिना लिम्बू अभिनेतामा पुर्ण सेलिङ, शैलेन्द्र नाल्बो, नन्दमान तुम्बापो, गायकमा सम्भु फोम्बो, डि आर हाङ्स्रुम्बा, नोगेन हाङ्स्रुम्बा, गायिकामा निरन्ता नेम्वाङ, गंगा सिङजाङगो लिम्बू, रुक्सना लिम्बू, गीत तथा संगितमा रीता ठूली फोम्बो, शैलेन्द्र नाल्बो, येहाङ लावती, छायांकनमा सञ्जय आचार्य, भुपेन्द्र तुम्बाहम्फे, देवराज सिग्देल र निर्देशनमा हाङ चेम्जङ, दिनेश माङमु र सागर केरुङ छन् ।

उपसभामुख इन्दिरा राना मगरको प्रमुख आत्थियमा भएको कार्यक्रममा गायक तथा संगितकार संगम लिम्बु र निर्माता तथा गीतकार शैलेन्द्र कुमार नाल्बोलाई सम्मान गरिएको थियो । फाल्गुनन्द लिङ्देन फिल्म्स्का अध्यक्ष तथा निर्देशक दिनेश लिङ्देनको सभापतित्वमा सम्पत्र उक्त मनोनयन पत्र वितरण कार्यक्रमलाई चलचित्र पत्रकार संघको उपाध्यक्ष दीपज्योती थापाले सहजीकरण गरेकी थिइन् ।

अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बू भाषाविद याशेली योङहाङ र गायक तथा संगीतकार कुल्बा सुब्बा जुरी मण्डलमा छन् ।

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । सोमबार सोमबार निर्वाचन हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्तको आईपीओ खुल्याे

काठमाडौं, २२ माघ । बिपिडब्लु लघुवित्तले आइतबारदेखि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत ले हुन आउने ९७ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन पाउनेछन । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा फागुन ८ गतेसम्म मा आवेदन दिन सक्नेछन् भने यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ जारी गर्दैछ । सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्ने कम्पनीले जनाएको छ । यसमा फागुन २३ गतेसम्ममा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आईपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सोमबारदेखि रुपन्देहीमा नवयुवा कप फुटबल प्रतियोगिता

भैरहवा, २२ माघ । रुपन्देहीको ओमसतियामा सोमबारबाट १०औँ नवयुवा कप फुटबल प्रतियोगिता हुने भएको छ । नव युवा खेलकुद तथा सा‌ंस्कृतिक परिवार ठुठीपिपलको आयोजनामा स्थानीय कर्मडाडा मैदानमा १०औं संस्करणको रुपमा प्रतियोगिता आयोजन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

माघ २३ देखि फागुन ९ गते सम्म हुने प्रतियोगितामा जिल्ला भित्रका ११ र बाहिरका ५ टिम गरी १६ टिमको सहभागिता रहने छ । ओमसतिया गाउँपालिकाको मुख्य प्रायोजन तथा ओमसतिया गाँउपालिका वडा नम्बर १ को सहप्रायोजनमा हुने प्रतियोगितामा विजेताले २ लाख रुपैयाँ र उप विजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।

त्यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्बाधिक गोलकर्तालाई ८–८ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ सय रुपैयाँले पुरस्कृत गरिने आयोजक संस्था नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले जानकारी दिए । प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ ।

शुभम् पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २२ माघ । शुभम् पावर लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । सर्वसाधारणका लागि कम्पनीले माघ १८ गतेदेखि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । शुभम् पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि खुला गरेको आईपीओमा आवेदन नदिएका र कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा थप सेयर गरि माघ १८ गते आइपीओ निष्काशन गरेको थियो । सोहीअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो ।

यस कम्पनीले १० प्रतिशतले हुन्आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । सामुहिक लगानी कोष ५ प्रतिशतले हुनआउने २९ हजार ३० कित्ता र कर्मचारीहरुलाई २ प्रतिशतले हुने ११ हाजर ६१० कित्ता छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

सेलिब्रेटीले गलत पोशाक लगाएकै कारण मानिसहरुले सधैं सम्झिरहन्छन्

लसएन्जल्स, २२ माघ । सेलिब्रेटीका रुपमा पहिरन के लगाउने भनेर छनोट गर्नु ठूलो निर्णय हुनसक्छ । तपाईंसँग पोशाकको छनोटशैली, आकर्षक र स्मरणीय छ भनेर सुनिश्चित गर्न टिम हुनसक्छ । तर, कहिलेकाहीँ सेलिब्रेटीले गलत पोशाक लगाएकै कारण उनीहरुलाई मानिसहरुले सधैं सम्झिरहन्छन् । यसको पछिल्लो उदाहरण स्वीडिस गायिका जारा लार्सन बनेकी छन् ।

जाराले नर्वेजियन मेटल एक्ट बर्जमको एलबम कला प्रस्तुत गर्ने पहिरन लगाएपछि उनी समाचारको शीर्षक बनिन् । दुर्भाग्य, जाराले सहभागिता जनाइरहेको प्रोजेक्टको नेतृत्व नर्वेजियन संगीतकार क्रिस्टियन भार्ग भिकरनेसले गरिरहेका थिए । भिकरनेस नव–नाजीको विचार राख्न परिचित छन् । उनलाई एन्टी सिमिटिक र जिनोफोबिक पनि भनिन्छ । भिकरनेस प्रतिष्पर्धी ब्ल्याक मेटल व्याडका गितारिष्टको हत्या र नर्वेका चर्चमा आगजनी गरेको आरोपमा जेल जीवन बिताइसकेका व्यक्ति हुन् ।

हालैको एक अवार्ड शोमा उपस्थित जाराले सोही पहिरनमा टिकटकमा उपस्थिति जनाएपछि उनको विरोध भएको थियो । ‘मलाई यो लिंकको बारेमा केही थाहा थिएन र मेरो अनुहार राम्रो देखिन्छ भनेर त्यो डिजाइन मैले छनोट गरेकी हुँ’, २५ वर्षीया जाराले भनेकी छन्, ‘यो दुर्भाग्यपूर्ण थियो ।’ उनले बेल्जियम डिजाइनर राफ सिमोन्सले पहिरन डिजाइन गरेकाले आफूले केही थाहा नपाएको जनाएकी छन् ।

जारा एक उदाहरणमात्र हुन् । यसअघि धेरै सेलिब्रेटी अपमानजनक पहिरनका कारण आलोचनाको शिकार भएका छन् ।

सन् २०२२ को अगष्टमा टिकटकर एडिसन रायले प्रेयिङ ब्राण्डको होली ट्रिनिटी बिकिनीमा पोज दिएकी थिइन् । सेतो टु–पीसमा एउटा फर्ममा ‘पिता’, अर्कोमा ‘छोरा’ र तलको अगाडिको भागमा ‘पवित्र आत्मा’ लेखिएको थियो ।

केही क्रिस्टियनले उनको पहिरनमा आक्रोश पोख्दै उनीमाथि इश्वरको निन्दा र धर्मको अनादर गरेको आरोप लगाएका थिए । विरोधपछि एडिसनले इन्स्टाग्रामबाट तस्वीर हटाएकी थिइन् ।

सन् २०१४ मा ख्लो कार्दाशियनले भान्जीको जन्मदिनमा एक मूल अमेरिकी हेडड्रेस शैलीको युद्ध बोनोट लगाएकी थिइन् । उनको तस्बिर सार्वजनिक भएपछि आदिवासी समूहले आफ्नो पवित्र वस्तुलाई फेसनका रुपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका थिए । ख्लोले पुनः एक निकाब लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेपछि आलोचना खेप्नुपर्‍याे ।

त्यस्तै गायिका सेलेना गोमेजले एमटीभी मुभी अवार्डमा टिका लगाएपछि आलोचित भइन् । अधिकांशले निधारमा टिका लगाउनु हिन्दु धर्ममा धार्मिक परम्परा भए पनि यो फेसनको रुपमा होइन भन्दै विरोध गरेका थिए ।

तर, सेलेनाले आफ्नो गीत ‘कम एण्ड गेट इट’ ले हिन्दु भावना रहेको बताएकी थिइन् । उनले आफूले संस्कृतिको बारेमा धेरै कुरा सिकेको र त्यो सुन्दर रहेकाले त्यसलाई कार्यक्रममा देखाउन पाउनु आफ्ना लागि अवसर भएको दाबी गरेकी थिइन् । सन् २०१३ मै केटी पेरीले ‘अमेरिकी म्युजिक अवार्ड’मा निशर्त जापानी पहिरन गेशा लगाएपछि आलोचनाको शिकार भएकी थिइन् ।

सेलिब्रेटी स्टाइलिस्ट एलेक्स लङमोरका अनुसार सेलिब्रेटी लुक्स बनाउन निकै लामो प्रक्रिया लाग्छ । ‘भिन्न सेलिब्रेटीका भिन्न लुक्स छन् । त्यसकारण संगीतकार वा व्याण्डमा रहेका कोहीको व्यक्तित्व एकदमै ठूलो हुन्छ’, एलेक्स भन्छिन् । उनको अनुभवमा विशेषत ‘ए’ वर्गका स्टारहरुलाई सही बनाउन धेरै दबाब झेल्नुपर्दछ ।

‘उनीहरु विशिष्टता सिर्जना गर्न चाहन्छन् । उनीहरु अत्याधुनिक हुन चाहन्छन् । उनीहरु कथा सुनाउन चाहन्छन्, र समाचारको शीर्षक लिन चाहन्छन्’, उनी भन्छिन्, ‘पप स्टारसँग काम गर्नु भनेको ठूलो उत्पादन हो । यसमा धेरै तयारी गर्नुपर्छ । किनकी तिनीहरुले लगाएको पहिरन अरु कसैले लगाएको  देख्न सक्दैनन् ।’एलेक्सको अनुभवमा सेलिब्रेटीले लगाउने अपमानजनक पहिरनको वास्तविक चेकजाँच पनि हुँदैन । 

आज हरियो तरकारी र फलफूलको मुल्य कति

काठमाडौ, २२ माघ-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो । जसअनुसारनेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १९ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको  समितिले जनाएको छ ।


यसैगरी, ताजा छडी माछा प्रतिकेजी र बचुवा माछा २५० रुपैयाँ साथै मंगुरी माछा २८० रुपैयाँ केजी र रहु माछा ३५० रुपैयाँ केजीमा पाइन्छ ।  आइतबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ  १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, तोरी, जिरा र रायो साग ४० रुपैया, चमसुर, पालूगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो १०० रुपैयाँ, भारतीय सुकेको प्याज ३७ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ रहेको छ ।

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार

काठमाडौं, २२ माघ-नेपाल राष्ट्र बैंकले आइबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर ५५ पैसाले घटेको छ । यसको खरिददर आइतबार १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। यसअघि शुक्रबार अमेरिकी डलरको खरिद १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसामा भएको थियो। 

युरोपियन युरो आज एक रुपैयाँ २९ पैसाले ओरालो लागेको छ । यसको खरिदमा १४२ रूपैयाँ ८० पैसा र बिक्रीमा १४३ रूपैयाँ ४६ पैसा कायम गरिएको छ। शुक्रबार यसको खरिददर १४४ रूपैयाँ ९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो । 

यस्तै, बेलायती पाउण्डको खरिददर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७७ पैसा तोकिएको छ। अघिल्लो कारोबारको तुलनामा १ रुपैयाँ ५४ पैसाले घटेको छ । शुक्रबार यसको खरिददर १६१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ३१ पैसा तोकीएको थियो । 

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रूपैयाँ २४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ६७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३१ पैसा तोकिएको छ।

आइतबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८० पैसा र बिक्रीमा ३५ रूपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ २८ पैसा र बिक्रीमा ४३० रूपैयाँ २५ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ११ पैसा तोकिएको छ


छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ

मुम्बइ – बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन् । उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन् । अमिताभ उनकी छोरी श्वेतासँग बढी नजिक छन् । उनी श्वेतासँग व्यक्तिगतमात्र होइन, व्यावसायिक जीवनका हरेक कुरा सल्लाह गर्छन् ।

अमिताभ सन् २०१८ मा आफ्नो छोरीको पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी थिए । उनले त्यहाँ कुनै पनि फिल्ममा जोडिनुअघि छोरीसँग सल्लाह लिने गरेको खुलासा गरेका थिए । अमिताभ छोरीले जे भन्छिन्, त्यसलाई सत्य मान्छन् । अमिताभको बुझाईमा श्वेताको निरीक्षण शक्ति ठूलो छ । यतीमात्र होइन, घरका जोकोही परिवारका सदस्य उनको कुरा काट्दैनन् ।

अमिताभकी छोरी श्वेताको घर होस् या व्यापार या कुनै पनि व्यावसायिक विषयमा आफ्नो राय राख्छिन् । अमिताभका अनुसार उनकी छोरी एक कुशल कलाकार पनि हुन् । विशेषत उनमा मिमिक्रीको कला छ । अमिताभ आफ्नी छोरीले कुनै पनि फिल्म हिट वा फ्लप हुने घोषणा गर्दा त्यो पुग्ने दाबी गर्छन् ।

मुगुको पिनामा फोरजि टावर सञ्चालन 

मुगु – मुगुको छायानाथ रारा नगरपालिका वडा नं ७ पिना गाउँमा फोरजि सेवा सुचारु भएको छ ।  नेपाल टेलिकम मुगु शाखा र अन्य सरोकारवाला निकायको पहलमा फोरजि टावर सेवा सञ्चालनमा आएको हो । 

नेपाल टेलिकमले सो स्थानमा फोरजी सेवा सहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि स्थानीय हर्षित बनेका छन् ।  ल्लाका चार वटै स्थानीय तहमा फोरजी सेवा सहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा छायानाथ रारा नगरपालिका वडा नं ७ मा टावर सहित फोरजि सेवा सञ्चालनमा ल्याएको हो ।  हाल, खत्याड गाउपालिकाको खमाले टुजि सहित फोरजि सेवा सञ्चालन हुने अवस्थामा रहेको नेपाल टेलिकम मुगुले बताएको छ । 
जिल्लामा टावर निर्माण गर्ने सिसिएसआई कम्पनिले जिल्लाका ४ वटै स्थानीय तहका ९ वटा स्थानमा फोरजि सेवा सहित टावर निर्माण गर्ने जिम्मा पाएको र अन्य बाकि टावर सञ्चालनमा आउने अवस्थामा रहेको नेपाल टेलिकम मुगुका कार्यालय प्रमुख गणेश डिसिले बताए । 

नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले जिल्लाका एक सञ्चालन सहित बाँकि स्थानमा  टेलिफोन टावर जडानको काम थालिरहेको छ ।  निर्माणाधीन अवस्थामा रहेका बाँकी ८ वटा  पनि चाँडै सञ्चालन गर्ने तयारी गरिएको प्रमुख डिसिले बताए ।   

अहिले छायानाथ रारा नगरपालिकाको वडा नम्बर ७ , ८ का पिना , टोप्ला , झ्यारी चुगा गाउका स्थानीय फोरजि सेवा बाट लाभान्वित भएका छन् । नेपाल टेलिकमको टावरबाट फोरजि सेवा सञ्चालनमा आएको छायानाथ रारा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कर्ण बहादुर रावलले बताए । अहिले गाउँपालिकाका कुन कुन स्थानमा फोरजि चल्छ भनेर हेरीरहेको र कुनै ठाउँमा नचल्ने भेटिएमा तुरुन्त वैकल्पिक ब्यबस्था गर्ने कार्य भई रहेको छ ।

नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर   सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् । यसले गर्दा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा आउने आनतरिक तथा बाह्य पर्यटकहरु लाई पनि सहज हुने अपेक्षा गरिएको छ । 

विशेष गरेर  छायानाथ रारा नगरपालिका वडा नं ७ को पिना , ८ को टोप्ला झ्यारी , चुगा गाउका  स्थानीय नेपाल टेलिकमको नमस्ते मोवाईलको सेवा पाउन बाट बञ्चित भएका थिए ।

विगतका वर्षहरुमा फोन गर्न पनि अग्ला अग्ला डाडा धाउने स्थानीयहरु अहिले घर बाहिर रहेका आफ्ना आफन्त, परिवार लगायत देश विदेशमा भएका घटना , राजनितिक , समाचार सन्देश बारे जान्न अन्धकार बनेका थिए । फोरजि टावर सुचारु भए पश्चात सजिलै रुपमा टाढा टाढा रहेका साथि भाई ईष्ट मित्र सँग ईन्टरनेट मार्फत घरभित्रै बसेर कुराकानी गर्न पाएको छायानाथ रारा नगरपालिका वडा नं ८ टोप्लाका स्थानीय हरिकृष्ण विष्टले बताए । 
 

विकासले फेरिएको गदी, अब सबै सुबिधा गाउँमै

सुर्खेत – सामान्य उपचारका लागि हजारौ रकम खर्च गरेर सुर्खेत नेपालगन्ज जाने रुकुम पश्चिमको आठबिसकोट–३ खदी गाउँका बासिन्दा अहिले गाउँको स्वास्थ्य चौकी स्थापनासँगै उपचारमा सहजता भएको छ ।

गाउँमै उपचार हुननसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा चढेर काठमाडौं, दाङ, नेपालगन्ज लगायत शहरमा जानका लागि सडकको पहुँच भएपछि उहाँका स्थानीयबासीहरु खुसी भएका हुन ।  स्थानीय सरकार गठन अघि हिडेर सबै ठाउँमा जानुपर्ने बाध्यात रहेको सुनाउने  खदीगाउँबासीहरु अहिले बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुलीको पहुँच विस्तार भएपछि खुसी भएका छन्  । 

गउँलाई अहिले राप्ति राजमार्ग जोडिएको छ । गाउँबाट पाटागाउँ, रक्दा र दाजे जोड्ने सडक निर्माण  भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसंगै खदीका सबै बस्तीहरुमा सडक पुगेको वडाअध्यक्ष केशरमान विकले बताए । पाँच वर्षमा खदी आउने मुख्य सडक सहित अन्य चार सडक निर्माण भएको अध्यक्ष विकले जानकारी दिए ।

वडाध्यक्ष विकले भने, ‘पहाड कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।’ सडक स्तरोन्नति गर्नसके गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सकिन्छ । त्यस्तै एक घर एक धारा, शौचालय, प्रत्येक टोलमा मोटरे बाटो, बिजुली, ढल निकास र विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा राम्रो विकास भएको उनले बताए । प्रत्येक घरमा खानेपानीको पु¥याउने लक्ष्यका साथ वडाले काम गर्दै आएको र  विद्यालयमा पक्की भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएको जानकारी दिए ।जनप्रतिनिधि आएपछी खदीको दैनिकी बदलिएको स्थानीय बताउछन् । 

नुन लिनलाई दुई दिनको बाटो हिडेर सदरमुकाम जानुपथ्र्यो । बीचबाटोमै बास बस्नुपर्ने बाध्यता थियो । स्थानीय धनिराम बुढाले भने, ‘अहिले नुनदेखि सुनसम्म घरमै आइपुग्छ । पानी पधेँरो जाँदा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ। यो भुगोलमा सुन्तला, स्याउ, आलु, कोदो लगायतका अन्नबालिका लागि उत्तम भएकाले आधुनिक कृषि प्रणालीको अवधारणा अघि सारिएको बताएको छ । टुकी र दीयोको भरमा चलेको गाउँमा बिजुली पुगेपछी गाउँ नै झिलिमिलि बनेको छ । टुकी र दियोका भरमा जीवन निर्वाह गर्दै आएका खदीमा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । खदीमा केन्द्रीय प्रसारण लाईन पुगेपछी बत्ति बलेको हो ।

विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यस क्षेत्रमा पहिलो वर्ष बत्ती बाल्ने योजना रहे पनि भौगोलिक विकताका कारण ढिलाइ भयो । खदीका सबै घरमा बिजुली विस्तार गरिएको वडा अध्यक्ष  विकले बताए । पाँच सय घरधुरी रहेको सो गाउँ पालिकाकै उत्कृष्ट विद्यालयदेखि व्यवस्थित गाउँभित्र पर्छ ।

पालिकाको केन्द्रदेखि खदीसम्म विस्तारित बिजुलीले गाउँको मुहार फेरिदै गएको छ । सौर्य उर्जा र टुकी, दियोको भरमा जीवन निर्वाहगर्दै आएका स्थानीयलाई बिजुली पुगेपछी राहत महसुल गरेका छन ।

पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक

मुम्बई – अभिनेता शाहरुख खानको कमव्याक फिल्म ‘पठान’ले बक्सअफिसमा जोडतोडका साथ कमाई गरिरहेको छ । चार वर्षपछि पर्दामा फर्किएका शाहरुखले आफूलाई बलिउडको बादशाहका रुपमा साबित गरिसकेका छन् । यतीमात्र होइन उनले आफ्नो स्टारडम देशदेखि विदेशसम्म जिउँदो रहेको देखाइसकेका छन् ।

शाहरुख र उनको फिल्मप्रति फ्यानको क्रेज कतिसम्म छ भन्ने कुरा थाहा पाउन हालैको एक घटना हेरे पुग्छ । शाहरुखका एक फ्यानले आफ्नो परिवारलाई ‘पठान’ देखाउन बंगलादेशबाट १ सय ३० किलोमिटर यात्रा गर्दै भारत आइपुगेका छन् । ती फ्यान बंगलादेशको ढाकाबाट भारतको त्रिपुरा पुगेका हुन् ।

अगरतलास्थित रुपासी सिनेमाका मालिक सतदीपले ट्वीट गर्दै यो कुरा खुलाएका हुन् । ‘यो निकै रोचक कुरा छ । मानिसहरु बंगलादेशबाट परिवारका साथ पठान हेर्न भारत आइरहेका छन् । म सबैलाई धन्यवाद दिन चाहन्छु, जसका कारण एकपटक पुनः फिल्म हलमा बहार आएको छ’, उनले ट्वीटेका छन् ।

नेपाली भाषीलाई ‘बिदेशी’ भनेको भन्दै सिक्किमा आन्दोलन, ४८ घन्टे धर्ना जारी

झापा – सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ ।

भारतीय सर्वोच्च अदालतले नेपाल भाषीलाई ‘बिदेशी’भनेको भन्दै सो आदेश त्रुटी सच्चाउन माग गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वानसमेत गरेको छ ।

निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन रहेको छ । अदालतको सो आदेश बिरुद्ध चाम्लिङ आफैं धर्नामा सहभागी भएका थिए । शनिवार देखी भएको धर्ना आज पनि जारी रहनेछ ।

माओवादीको दुई महिने पार्टी सुदृढीकरण कायक्रम २६ माघ देखी

काठमाडौं – नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघ देखी सुरु गर्ने भएको छ । 

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघ देखि ५ फागुन प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ । 
सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ ।

राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड

काठमाडौं । सात दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने बताएको छ । इतिहासमै प्रमुख प्रतिपक्षी दलको समेत विश्वासको मत लिएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड गरेको हो ।

तर, नेकपा (एमाले)ले भने यसलाई प्रधानमन्त्रीले गठबन्धनको सहमति बाहिर गएर पाँच वर्ष नै प्रधानमन्त्री हुने चालबाजीका रूपमा लिएको छ । राष्ट्रपति एमालेकै हुने ठोकुवा गर्दै एमाले नेता विशाल भट्टराईले भने– ‘राष्ट्रपति एमालेकै हुन्छ । प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्रीको बार्गेनिङ गर्न यो तुरूप फाल्नुभएको हो । गठबन्धनबाट हाम्रो राष्ट्रपति पक्का छ ।’ तर उनले उम्मेदवारका विषयमा निर्णय गरिनसकेको बताए ।

शनिबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके मुद्दा मिल्नेहरूसँग सहकार्य गरेर जाने विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरू खुला रहेको उनले बताए । यो समाचार नेपादल समाचारपत्र दैनिकमा छ ।

यूएईमा नेपालीले जिते ८२ करोडको चिट्ठा

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए ।

उनले भने, “चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइभ हेर्दै थिएँ । ग्राहक आएपछि काममा लागेँ । काम सकिएपछि फेरि भिडियो हेर्दा थाहा भयो, २३ मिलियन दिरामको पुरस्कार मैले जितेछु।”

मध्यमवर्गीय परिवारका पालले यो पुरस्कार जित्दा खुसी भएको बताउँदै अहिले गर्दै आएको कामलाई निरन्तरता दिने प्रस्ट्याए । उनले भने, “म कतार आएको सात वर्ष भयो। पहिले हिमाल रेमिटको प्रतिनिधिको जिम्मेवारीमा थिएँ। केही समययता म इस्टर्न मनी एक्सचेन्ज सनैयामा कार्यरत छु। काम छोड्ने कुनै योजना छैन।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको उम्मेदवार उर्मिला अर्याल

काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने÷नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ ।

मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । नेकपा (माओवादी केन्द्र)की नेतृसमेत रहेकी अर्यालले सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति भएबमोजिम आइतबार आफूले उम्मेदवारी दिने जानकारी दिइन् । लामो समयसम्म नेकपा (एमाले)मा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी थिइन् ।

राष्ट्रिय सभामा उहाँ मधेश प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो । सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र)का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् ।

उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । सत्ताबाहिरका नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदको उपनिर्वाचन यही माघ २५ गते हुनेछ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रेस चौतारीको पुरस्कार वितरण आज

काठमाडौं – नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ ।

२२ माघ काठमाडौंमा हुन गईरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना तथा कार्यक्रम बिभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिए । 

उनका अनुसार बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठिन समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ । 

जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ । 

यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र  चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई दिन लागिएको चौतारीले जनाएको छ ।

नेकपा एसको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं – नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।

काठमाडौमा सुरु भएको सो पार्टीको केन्द्रिय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए । 

अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने क्रम जारी छ । बैठक आजसम्म पनि चल्नेछ । 
 

रास्वपाको बैठक ११ बजे पनि निरन्तर हुने

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षहिन अवस्थामा पुगेको थियो ।

प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिनेछ।

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार चयन गर्न बिपक्षी दलको बैठक बस्दै

काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि बिपक्षी दलहरुको बैठक आज पनि बस्ने भएको छ ।
 
शनिवार सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफनो पार्टीवाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका थिए । 

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । आफनो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरवारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन । 
यद्धपी, आजको बैठकमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी बिच छलफल हुनेछ । 

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन १ बजेवाट

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ ।संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । 

संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ ।

राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । 

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन् । यद्धपी, आज दुवैको तर्फवाट उम्मेदवार मनोयन भने हुनेछ । 

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

काठमाडौं – हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिउँसो भनेप्रदेश नं. १ का पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ।

 प्रदेश नं. १ को हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उता राती भने  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशका तराईका भू–भागमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोधसमेत महाशाखाले गरेको छ ।
 

मलेसियाका गृहमन्त्रीले गरे चन्द्रागिरि भ्रमण

काठमाडौं मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि भ्रमण गरेका छन् ।उनले आज काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा उनले एकीकृत पर्यटकीय पुर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पूर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको बताएका थिए । उनले उक्त परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पूर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त ग।ेका थिए ।

मिटरब्याजमा पैसा लगाएर आर्थिक शोषण गर्ने एक जना पक्राउ

जनकपुर – मिटर ब्याजको धन्दा गर्दै आर्थिक शोषण गर्ने दीलिप साह पक्राउ परेका छन् । गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजबाट ठगी एवं शोषण गरेको उजुरी परेको थियो । उजुरीपछि उनलाई जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १ मा रहेको आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट पुरानो पेस्तोल, गोली र तमसुकहरु पनि बरामद गरेको छ । उनको घर र पसलमा खानतलासी गर्दा पेस्तोसहित विभिन्न तमसुक फेला परेका हुन् । साहमाथि थप हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

बानेश्वरमा दुई जना मृत फेला

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा शनिबार साँझ दुई जनाको शव फेला परेको छ । मृत भेटिनेमा रामेछापको खाँडादेवी स्थायी घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी रहेका छन् ।

छोरीको घाँटी रे-टेर ह-त्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको ह-त्यापछि आ-त्मह-त्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक भोलि

नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पनि बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बसेको बैठकमा विकसित राजनीतिक परिस्थितिको बिषयमा नेताहरूबाट धारणा राख्ने क्रम भइरहेको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाइ छलफल सुरु भएको छ ।

बैठकमा सहभागी केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रुपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने छ ।

प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । बैठकमा विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका ती समूहका निष्कर्ष बोलिको बैठकमा निकालिनेछ ।