`

सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर। पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ ।भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोेग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ । यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको वनबासा बजार सुनसान हुँदा यता नेपालतर्फका पसलहरुमा चहलपहल बढेको हो ।

गड्डाचौकी र आसपासका क्षेत्रमा केही समययता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार जाँचमा कडाइका साथै रु १०० भन्दा बढीको सामान आयात गर्दा भन्सार राजश्व बुझाउनुपर्ने विषयमा सतर्कता बढाएपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको हो ।

महेन्द्रनगरका व्यवसायी इन्द्रबहादुर बमले सीमामा भएको भन्सार कडाइका कारण यता नेपालतर्फको महेन्द्रनगर बजारमा किनमेल बढेको बताउनुभयो । उहाँले मानिसहरु पहिले भारतीय बजारमा सामान सस्तो पाइनेभन्दा स्थानीयहरु बजारका लागि पारि जाने गरेकोमा अहिले त्यस्तो नहुने रहेछ भन्ने तथ्य पनि उनीहरुले बझ्न थालेको बताउनुभयो ।

“सामान सस्तो भए पनि भन्सारदेखि जाँदा मोटरसाइकलमो तेलको मुल्य जोड्ने हो भने बराबरजस्तै हुन्छ”, उहाँले भन्नुभयो, “सीमामा भन्सारले कडाइ गरे नेपालमा व्यवसाय गर्न मानिसहरुको आकर्षण बढ्छ ।” उहाँले सामान्य घरायसी सामान खरिद गर्न पनि पारि बजार जाने प्रचलनजस्तै रहेको बताउनुभयो ।

विगतका तुलनामा बजारमा गतिविधि बढे पनि भन्सार कडाइमा सुरक्षा निकायदेखि उद्योग वाणिज्य सङ्घको समेत सशक्त भूमिका हुनुपर्ने उहाँको भनाइ छ । उहाँले पछिल्लो समय पुनः घरका लागि पुजाका लागि भनेर सामान ल्याउन खोज्नेहरु सलबलाउन थालेको पनि बताउनुभयो ।

उता सीमावर्ती भारतीय बजार वनबासा सदियौँदेखि नेपाली उपभोक्ताहरुमा आश्रित बजार हो । नेपाली भन्सारमा कडाइ हुँदा वनबासा बजारको व्यापार भने प्रभावित बनेको भारतीय व्यापारीहरुको भनाइ छ ।

“गर्मी याममा पङ्खादेखि फ्रिज, कुलर खरिदका लागि नेपालबाट दैनिक मान्छेहरु यहाँ आउँथे”, वनबासाका एक बिजुली पसलेले भने “सीमामा कडाइ हुँदा अहिले त यहाँका धेरैको व्यापार चौपट हुने अवस्था छ । हाम्रो बजार नै लगभग नेपालतर्फबाट त्यहाँका स्थानीयहरु नै हुने गर्दथे । तर अहिले आउन नै छोडेका छन् । आए पनि सानोतिनो सामान किनेर गइहाल्छन् । नेपाल भित्र्याउँदा भन्सार लाग्छ सामानको मूल्य आखिर उस्तै पर्न जानेछ भन्ने गर्दछन् ।”

उनले नेपाल–भारत सीमामा दशकौँदेखि किसनमेलका लागि आवतजावत हँुदै आएकाले सीमामा भन्सार तिरेर भए पनि वातावरण सहज हुनुपर्नेमा जोड दिनुभयो । कञ्चनपुरस्थित सशस्त्र प्रहरी बल ३५ नंं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले कृषकका लागि मल ल्याउने विषयमा सहजीकरण गरिने भएपनि अन्यको हकमा भन्सार दाखिला नै गरेर मालसमान ल्याउनुपर्नेमा जोड दिनुभयो ।

“सीमामा भन्सार कडाइ गर्दा अहिले भन्सार दाखिला बढेको छ”, उहाँले भन्नुभयो, “पहिलेको जस्तो सीमावर्ती बजारमा आउने जाने क्रम पनि भन्सार क्षेत्रमा घटेको देखिन्छ ।” भारतबाट उपभोक्ताले रु १०० भन्दा बढीको मालसामान ल्याउँदा भन्सार लाग्ने विगतको व्यवस्थालाई कार्यान्वयन कडाइका साथ गर्दा नेपाल बजारमा व्यापारिक हिसाबले पनि चहलपहल बढेको उहाँको भनाइ छ ।

वनबासाबाट साइकलमा क्यारिङ गरेर मालसमान महेन्द्रनगर र आसपासका बजारसम्म पु¥याउने गतिविधि पनि बन्द भएको छ । “विवाह, व्रतबन्ध, आदि पूजाआजा तथा घरायसी प्रयोजनका लागि भन्दै सामान ल्याउने तर भन्सार दाखिला नगर्ने विगतको क्रियाकलाप अब हुनुहुँदैन”, उहाँले भन्नुभयो, “व्यापारिक हिसावलाई व्यवहारिक हो भन्न मिल्दैन ।” गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामानका साथै लत्ताकपडा, इलेक्ट्रिक सामानलगायतका हुने गरेको छ ।

नेपाल–भारत मैत्री सङ्घका महासचिव माधव जोशीले सीमामा भएको कडाइले केही समय नागरिकलाई असहज भएकोजस्तो देखिए पनि समग्रमा राज्यलाई फाइदा पुगेको बताउनुभयो । “भन्सार कडाइले नेपालतर्फ व्यापार बढ्नु र पारि प्रभावित हुनु स्वभाविक हो”, जोशीले भन्नुभयोे “अहिलेको कडाइले नेपालमा उत्पादन भएका वस्तुको प्रयोग बढ्यो । स्वदेशी उत्पादले बजार पाउनु र कारोबार बढ्नु राम्रो हो ।”

उहाँले व्यापारका साथै स्वदेशमा रोजगारीसमेत बढ्ने भएकाले भन्सार कडाइलाई नियमनकारी निकायलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । “कोरोना महामारीका बेला पनि नेपाली वस्तु उपयोग गरेर जीवनयापन गरेकै हुन”, उहाँले भन्नुभयो, “अहिले भारतबाट आयात कम हुँदा भन्सारको राजस्वमा असर गरेपनि समग्रमा राज्यको राजस्व घट्दैन । विगतमा दैनिक उपभोग्य सामान घरका लागि ल्याउने नाममा भइरहेको तस्करी अहिले नियन्त्रण भएको छ ।”

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भारतमा मजदुरी गरेर फर्किरहेका नेपाली नागरिकहरुलाई सीमामा कडाइका नाममा सास्ती दिन नहुने बताउनुभयो । “भारतमा मजुदरी गरेर फर्किरहेका दाजुभाइहरुसित पनि सर–सामानहरु हुन्छ, भन्सार दाखिलाका नाउँमा उहाँहरुले दुखः पाउनुहँुदैन ।” अध्यक्ष मल्लले भन्नुभयो, “क्यारिङ्क गरेर सामान ल्याउने विषयमा पनि कडाइ गर्नुपर्ने देखिन्छ ।”

ऊर्जामन्त्री श्रेष्ठद्वारा मौसमी सूचना प्रवाह र विपद् पूर्व तयारीको अवस्थाबारे जानकारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्व तयारीको अवस्थाबारे जानकारी लिएका छन् ।

उनले बुधबार जल तथा मौसम विज्ञान विभाग पुगी मौसम अवस्था, विशेष तथा चौबिस घण्टा पूर्वानुमान, ती नदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढीसम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए ।

यस्तै, चालु आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीन नदिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए । उनले मनसुन सुरु हुने समय नजिकिँदै गएकाले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशनसमेत दिए ।

मन्त्री श्रेष्ठले विभागलाई मौसमको अध्ययन केन्द्र बनाउनुपर्ने र त्यहाँबाट प्राप्त सूचना र तथ्याङ्कलाई सरकारी निकाय र अन्य सेवाप्रदायकले लाभ उठाउनुपर्ने बताए । उनले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक र कर्मचारीको कामप्रति धन्यवाद दिँदै कर्मचारीलाई प्रोत्साहनका कार्यक्रम ल्याउनेसमेत बताए ।

उक्त कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी र विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराएकी थिइन् ।

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेश सरकारले आज (बिहीबार) तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ ।बागमती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

ऐनको दफा (१) को उपदफा (३) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको एक सय ८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो । जसअनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयन भएको एक सय ८० दिन पुगेकाले त्यस वर्ष पहिलो प्रदेश भाषा दिवस मनाइएको वाग्मती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।

सोहीअनुसार यस वर्ष तेस्रो प्रदेश भाषा दिवस मनाउन लागिएको हो । यस अवसरमा आज बिहान भक्तपुरको दूधपाटीबाट भक्तपुर दरबार क्षेत्र–दत्तात्रेय–कमल विनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म र्‍याली गरिने पर्यटन कार्यालय, काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले बताए । र्‍यालीपछि मूल समारोहअन्तर्गत लन्चा फल्चा भत्क्यापाटीमा विशेष कार्यक्रम गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए ।
यस अवसरमा आज वाग्मती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ ।

तीनकुनेको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौँको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने बताए । शत्र रोपनी जमिनमा रु १२ अर्बभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने न्यौपानेले बताए ।

क्यान्सरसहित अतिविशिष्टिकृत सेवा अस्पतालले दिने छ । उनले भने, “विश्वका सुविधासम्पन्न अस्पतालले दिन सक्ने सेवा यही दिने गरी ठूलो लगानीमा अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालन गर्दैछौँ ।” तीन सय श्ययाको यस अस्पतालले प्रमुख रुपमा क्यान्सरको उपचार गर्ने छ भने यससँगै सबै खालका विशेषज्ञ सेवा अस्पतालले दिने छ । विश्वका विभिन्न देशमा अध्ययन गरेका अनुभवी विशेषज्ञ चिकित्सकहरुले अस्पतालबाट सेवा दिने छन् ।

नेपाली लगानीको निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल यो हुने उनले बताए । यस अस्पताल सञ्चालनमा आएसँगै भारतलगायतका देशहरु जाने बिरामीले सोहीअनुरुपको सेवा नेपालमा पाउने प्रा डा न्यौपानेको दाबी छ ।

यस्तै चितवन मेडिकल कलेजको नेतृत्वमा हेटौँडामा सिएमसी हेटौँडा अस्पतालको निर्माण थालिएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा अवस्थित, राजमार्गसँगै १९ कट्ठा जमिनमा निर्माण थालिएको हो ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रताप देवकोटाले विसं २०८४ को दशैँबाट सेवा सुरु गर्ने गरी एक सय श्यया अतिविशिष्टिकृत अस्पताल सञ्चालन गर्न लागिएको बताउनुभयो । रु दुई अर्ब ५० करोड हाराहारी लगानी हुने अनुमान गरिएको छ ।

सिएमसीको नेतृत्वमा स्थानीय समेत साझेदार रहेको यस अस्पताल सुरु भएसँगै मकवानपुर र आसपासका जिल्लाका बासिन्दा लाभान्वित हुने उनले बताए। सँगै स्थानीयले रोजगारीको अवसर पाउने भएका छन् । हाल ती क्षेत्रका बिरामी विशिष्टिकृत सेवाका लागि भरतपुर, काठमाडौँ र भारतसमेत जानुपर्ने बाध्यता रहेको छ ।

बीस वर्षअघि भरतपुर महानगरपालिका–१० मा स्थापना भएको चितवन मेडिकल कलेजले सात सय श्ययाबाट सेवा दिँदै आएको छ । नेपालका मेडिकल कलेजहरुमा धेरै बिरामी हेर्नेमध्यको एक यस अस्पतालले त्रिभुवन विश्वविद्यालयका स्वास्थ्यका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ। हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ ।हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन ।

बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताउनुभयो । हिउँ परेसँगै आसपासका नाँगा डाँडाकाँडा फेरि हिउँले सेताम्मे भएको उहाँको भनाइ छ ।

गर्मीयाम सुरु भइसक्दा पनि मुक्तिनाथमा बेमौसमी हिमपातले दर्शनार्थी भक्तजनलाई मुक्तिनाथ यात्रामा असजह भएको स्वास्थ्यकर्मी घर्तीले उल्लेख गर्नुभयो । मुक्तिनाथ क्षेत्रमा योसँगै यस वर्ष आठौँ पटक हिमपात भएको हो ।

यसलाई स्थानीय जानकारकर्ताले जलवायु परिवर्तनको प्रभावका रूपमा विश्लेषण गरेका छन् । वसन्त ऋतुको समयमा पालुवा पलाएर मौसम पनि गुल्जार हुने समयमा मौसम प्रतिकूल बन्नु र हिउँ पर्नु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिङ्गा, झारकोट, लुप्रा र पुराङ रानीपौवालगायत गाउँमा हिउँदयामको बिदाइ र बर्खायामलाई स्वागत गर्दै ‘धछ्याङ’ पर्व मनाइसकिएको छ । बेमौसमी हिमपातले अन्नबाली र विशेष गरी स्याउका फूलहरू नष्ट गर्ने चिन्ता बढेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

यस वर्षको हिउँदयाममा यहाँ पटक पटक हिउँ परे पनि वैशाख महिनामा हिउँ पर्नु अनौठो भएको वारागुङ—१ का खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले उल्लेख गर्नुभयो । हिउँदयाममा परेको हिउँ कृषकका लागि फाइदाजनक भए पनि बेमौसमी हिमपातले कृषि र पर्यटन क्षेत्रलाई असर पु¥याउने उहाँले बताउनुभयो ।

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ । बाँकीलाई पनि प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

“रोङमा भूमिहीन दलित चार, भूमिहीन सुकुमवासी ६९ र एक हजार ७८४ अव्यवस्थित बसोबासी छन्”, अध्यक्ष स्याङ्बोले भने, “वडा नं १ का १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सकिएको छ । बाँकीको काम अन्तिम चरणमा छ । लगत सङ्कलन, प्रमाणीकरण र नक्साङ्कनको कार्य सकिएको छ । त्यसैले अव्यवस्थित बसोबासी हटाइने भन्ने हल्ला निराधार हो ।”

सङ्घीय सरकारले भूमि आयोग विघटन गरेपछि नयाँ आयोग गठन प्रक्रियाका कारण केही ढिलाइ हुनसक्ने भन्दै गाउँपालिकाले प्रमाणपत्र पाउन बाँकी नागरिकलाई नआत्तिन आग्रह गरेको छ । “सामाजिक सञ्जालमा फैलिएको भ्रम गलत हो । प्रचलित कानुनबमोजिम जग्गाधनी प्रमाणपत्र वितरण कार्यले निरन्तरता पाउनेछ । मापदण्ड पुगेका ऐलानी तथा अन्य जग्गामा बसोबास गरिरहेका नागरिकलाई हटाउने वा संरचना भत्काउने कुनै योजना छैन । भ्रमपूर्ण प्रचारमा नलाग्न आग्रह छ”, गाउँपालिकाले एक सूचना जारी गरी आश्वस्त पारेको छ ।

अध्यक्ष स्याङ्बोले गाउँपालिका नागरिकको आवासको हकप्रति प्रतिबद्ध रहेको बताउँदै सामाजिक सञ्जालमा भनिए झै घर भत्काउने हल्लाबाट त्रस्त नहुन आग्रह गरे ।

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

सुनसरी। धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।केही वर्ष अघिसम्म उजाड र सुनसान जङ्गलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि हाल लोकप्रिय पर्यटन गन्तव्यका रूपमा परिचित बनेको हो । विशेष गरी पार्कभित्र बनाइएको आकर्षक पानीको फोहरा (वाटर फाउन्टेन) ले धेरैलाई आकर्षित गरिरहेको छ ।

सिराहाको धनगढीमाई नगरपालिकाबाट यहाँ घुम्न आउनुभएका हरिनारायण चौधरीले धरान धेरैपटक आए पनि उक्त पार्क पहिलोपटक घुम्दा निकै रमाइलो लागेको बताउनुभएको थियो । “सामाजिक सञ्जालमा देखेको र सुनेको थिएँ, यसपटक यही आएर हेर्दा निकै रमाइलो लाग्यो । निकै सुन्दर प्राकृतिक पार्क रहेछ भन्ने अनुभूति भयो”, उहाँले भन्नुभयो, “धरानका अन्य स्थान पनि घुम्ने योजना थियो, तर यहाँको वातावरणले अन्त जानै मन लागेन ।”

चौधरीले प्राकृतिक संरचनाको संरक्षण र सौन्दर्यकरण गर्न सके यस्ता बगर क्षेत्रसमेत उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्ने सन्देश यस पार्कले दिएको बताउनुभयो । “श्रमदानबाट निर्माण गरिएको यस्तो पार्कले नयाँ अनुभूति दिलाएको छ । चारैतिर फूल, चौतारा र हरियालीले सजिएको देख्दा निकै राम्रो लागेको छ । यसबाट देशका अरू क्षेत्रले पनि सिक्नुपर्छ”, उहाँले भन्नुभयो ।

पहिले ‘ओशो पार्क’, बिपी पार्कका रूपमा चिनिने उक्त क्षेत्र हाल ‘श्रम संस्कृति पार्क’ नामले परिचित छ । श्रमदान अभियानमार्फत विकास गरिएको यस पार्क आसपासमा दर्जनौँ सानाठूला पार्क निर्माण भएका छन् । एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक पार्कलगायत संरचना यहाँ रहेका छन् । साथै, गोर्खाली भूपू लाहुरेहरूले निर्माण गरेको ‘गोर्खा चौतारी’ समेत पर्यटकको अर्को आकर्षण स्थल बनेको छ ।

पार्क क्षेत्रमा हरियाली वातावरणसँगै विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाले ढाकिएका बगैँचाले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । पार्कभित्र स्थानीय जनजीवन झल्काउने प्रतिमा राखिएका छन्, जसले पर्यटकको ध्यान तान्ने गरेको छ ।

सर्दु, खर्दु र निसाने खोलाको बगर क्षेत्रमा निर्माण गरिएको पार्कमा फलफूलका बिरुवा, विश्रामस्थलका रूपमा चौतारा तथा आकर्षक बगैँचा निर्माण गरिएका छन् । साथै, धरानको पहिचान झल्काउने काठ काट्ने आराको नमूना तथा किरात संस्कृतिसँग सम्बन्धित चिन्डोको आकृतिमा धारा निर्माण गरिएको छ । विभिन्न दाताले आफ्ना आफन्तको सम्झनामा बस्न मिल्ने संरचनाहरू निर्माण गरिदिएका छन् ।

यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सजिलो भएको छ । झापाबाट साथीहरूसहित घुम्न आउनुभएका जयन्ती जिमीले पार्कको तीव्र विकास भएको देख्दा खुसी महसुस भएको बताउनुभयो । “एकै स्थानमा श्रमदानमार्फत विभिन्न संरचना निर्माण गरिएकाले पार्क निकै आकर्षक बनेको छ”, उहाँले भन्नुभयो, “ पाँच÷छ वर्षअघि पहिलोपटक आउँदा चारैतिर जङ्गल, झाडी र खोला मात्र देखेको थिएँ, यसपटक त परिवर्तन गरेर चारैतिर फूल, चौतारा र हरियाली रहेछ । निकै खुसी र रमाइलो लाग्यो ।”

पार्क निर्माणसँगै आसपास क्षेत्रमा होटल तथा खाजा पसलको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । स्थानीय होटल व्यवसायी सुरज गुरुङका अनुसार पार्क बनेपछि व्यापारमा उल्लेख्य वृद्धि भएको छ । “पहिले बगर छेउमा चारपाँचवटा मात्र खाजा घर थिए, अहिले दुई दर्जनभन्दा बढी सञ्चालनमा आएका छन्”, उहाँले भन्नुभयो ।

दैनिक सयौँ पर्यटक धरान, पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापालगायत जिल्लाबाट तथा विदेशबाट समेत आउने गरेका छन् । “एकै स्थानमा धेरै आकर्षक पार्क भएकाले बिहान आएका पर्यटक दिनभर यहीँ बिताउने गरेका छन्”, गुरुङले भन्नुभयो ।

पार्क संरक्षण समितिका अध्यक्ष पुनेन्द्रप्रसाद लिम्बूका अनुसार उक्त स्थान पहिले पैदलमार्गका रूपमा मात्र प्रयोग हुँदै आएको थियो । हाल दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक आउने गरेका छन् भने बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।

धरान उपमहानगरपालिकाका तत्कालिन प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा सुरु भएको श्रमदान अभियानबाट उक्त क्षेत्रको विकास गरिएको हो । स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरूको सहयोग र श्रमदानमार्फत पार्क निर्माण गरिएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्कमा हाल २५ देखि २८ जनाले रोजगारी पाएका छन् । हाल पार्क क्षेत्रमा तीनवटा टिकट काउन्टर सञ्चालनमा रहेका छन् भने रोपिएका बोटबिरुवाको संरक्षणका लागि कर्मचारी खटाइएको छ ।

खोलाको किनार क्षेत्रमा पार्क रहेकाले बर्खायाममा आउने बाढीले केही संरचनामा क्षति पु¥याउने समस्या रहेकाले खोलाको व्यवस्थापन गर्न सके पार्क अझ व्यवस्थित बन्ने उहाँको भनाइ छ ।

पार्क क्षेत्रलाई अझ रमणीय र आकर्षक बनाउन थप भौतिक पूर्वाधारका कामहरू भइरहेका छन् । यहाँ पार्क बन्नुभन्दा अगाडि २०७५÷७६ सालमा पूर्वसांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट रु २० लाखमा यस क्षेत्रमा रहेका ओशो पार्क र बिपी पार्क निर्माण गरिएका थिए ।

त्यसैगरी, पूर्वसांसद कृष्णकुमार राईको कोषबाट रु १० लाख सहयोगमा बिपी पार्क क्षेत्रमा घिर्लिङ अवशेषसम्म जाने सिँढी निर्माण गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ती संरचना निर्माण गरिएकाले स्थानीय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पु¥याएको सांसद जयकुमार राईले बताउनुभयो ।धरान उपमहानगरपालिका–१३ स्थित फुस्रे चोकबाट श्रम संस्कृति पार्क पुग्न कोशी प्रदेश सरकारको रु ४० लाख सहयोगमा करिब एक किलोमिटर सडक कालोपत्र भएपछि पर्यटकलाई आवतजावतमा सहज छ ।

अनौपचारिक रूपमा विप्रेषणको काम र कारोबार नगर्न/नगराउन अनुरोध

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ ।त्यहाँस्थित दूतावासले सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरणको राजदूतावासमा उपलब्ध गराउन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, “सम्पति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम वा कारोबार (हुण्डी) गरेका वा सङ्कलित रकम नेपाल नपठाएको गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था भएबमोजिम राजदूतावासले सोसम्बन्धी जानकारी राजदूतावासमा उपलब्ध गराउन सूचना प्रकाशित गर्दै आएको छ ।”

नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२ चैत १३ मा स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वीकृत बुँदा नं ४५ मा एकीकृत डिजिटल सम्पत्ति दर्ता प्रणालीको स्थापना गर्ने, सोमा जोखिममा आधारित सङ्केत्त प्रणाली लागू गर्ने तथा सन्देहात्मक कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाइने दूतावासले जनाएको छ ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपात साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा मधेश र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

माछापुच्छ्रे सम्वाद : पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

गण्डकी। अन्नपूर्ण जलवायु सम्मेलनअन्तर्गत पोखरामा सम्पन्न जलवायु परिवर्तन र हिमालसम्बन्धी दुईदिने माछापुच्छ्रे संवाद १५ बुँदे ‘माछापुच्छ्रे घोषणापत्र –२०८३’ जारी गर्दै आज सम्पन्न भएको छ ।

वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकासहित विभिन्न सङ्घसंस्थाहरूद्वारा संयुक्त रुपमा आयोजित ‘माछापुच्छ्रे संवाद’ कार्यक्रमपश्चात् आज घोषणापत्र जारी गरिएको हो । सो घोषणापत्रमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र अनुकूलनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएका छन् ।

जलवायुजन्य प्रकोपको जोखिममा रहेको गण्डकी प्रदेशको पर्यावरण र समुदायको उत्थानशीलता अभिवृद्धि गर्न सबै क्षेत्रबाट पहल गर्ने उल्लेख गर्दै घोषणापत्रमा वन क्षेत्रले कार्बन सञ्चिति र उत्सर्जन न्यूनीकरणमा खेलेको भूमिकालाई स्वीकार गर्दै वन संवर्द्धन प्रणालीमा आधारित व्यवस्थापनमार्फत वातावरणीय सेवाको निरन्तरता सुनिश्चित गर्ने जनाइएको छ ।

कृषि र वन क्षेत्रमा रहेका अवशेष, पातपतिङ्गर र मिचाहा प्रजातिलाई बायोचार र बायोकम्पोष्टमा उपयोग गर्दै वन डढेलो न्यूनीकरण र माटोको उर्वरा शक्ति बढाउने कार्यक्रमलाई प्रोत्साहन गर्ने सहमति गरिएको छ । हिमालय पर्वत शृङ्खलामा भइरहेका शृङ्खलाबद्ध प्रकोपका कारण हुने विपद् जोखिम न्यूनीकरण गर्न मौसम सूचना केन्द्र र पूर्वसूचना प्रणालीको विस्तारमा जोड दिइएको छ ।

जलवायु परिवर्तनका असरबारे सुसूचित समुदाय निर्माण गर्न विद्यालयस्तरको पाठ्यक्रम विकास र तथ्याङ्क अभिलेखीकरणमा ऐक्यबद्धता जनाइएको छ ।

जलवायु उत्थानशीलताका लागि आदिवासी, जनजाति एवं स्थानीय समुदायको परम्परागत ज्ञान, सीप र अभ्यासलाई वैज्ञानिक प्रविधिसँग जोड्दै सम्मान र संरक्षण गर्ने घोषणपत्रमा प्रतिबद्धता व्यक्त गरिएको छ । वातावरणमैत्री भू–उपयोग, प्रकृतिमा आधारित पर्यटन, र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्वको अभ्यासलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

घोषणापत्रमा २०६९ साल वैशाख २३ गते सेती नदीमा आएको विनाशकारी बाढीको स्मरण गर्दै जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको अध्ययन र अनुसन्धानका लागि ‘अन्नपूर्ण जलवायु विपद् स्मृति केन्द्र’ (एबीसीडी) स्थापना गर्न आह्वान गरिएको छ । जलवायुु परिवर्तनका सङ्कटासन्नतालाई सम्बोधन गर्न तीनै तहका सरकारको समन्वयमा शैक्षिक एवं अनुसन्धान संस्था, संरक्षण साझेदार र निजी क्षेत्रबीचको सहकार्यलाई बढावा दिन प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्मेलनमा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका सहसचिव डा महेश्वर ढकाललगायत विभिन्न विषयसम्बद्ध विज्ञहरूले विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्रीको पहलमा चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’

तनहुँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग गरिएको छ ।

उहाँको पहलमा वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले चार थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।

उक्त सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले आज गाउँपालिकाका शिक्षा अधिकृत निर्मला कुँवरलाई हस्तान्तरण गर्नुभयो ।

स्मार्ट बोर्डले विद्यालयमा डिजिटल शिक्षा प्रणाली विस्तार गर्न सहयोग पुग्ने शिक्षा अधिकृत कँुवरले बताउनुभयो । स्थानीय तहमा प्रविधिमैत्री शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त सहयोग गरिएको रास्वपा सभापति बास्तोलाले बताउनुभयो ।

नेपाल ‘ए’ले बिहीबारदेखि त्रिकोणात्मक शृङ्खला खेल्ने

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ ।बिहीबारदेखि सुरु हुने उक्त शृङ्खला यही वैशाख २८ गतेसम्म चल्ने क्यानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन् ।

खेल तालिका अनुसार नेपाल ‘ए’ले बिहीबार पहिलो खेल स्कटल्याण्ड, वैशाख २५ गते दोस्रो खेल अमेरिकासँग, वैशाख २६ गते तेस्रो खेल स्कटल्याण्डसँग र चौथो खेल वैशाख २८ गते अमेरिकासँग खेल्नेछ ।

बिहीबार बागमती प्रदेशमा सार्वजनिक बिदा

मकवानपुर। बागमती प्रदेश सरकारले भोलि बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ ।

जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नीति आवश्यकः वनमन्त्री चौधरी

काठमाडौँ। वन तथा वातावरणमन्त्री गीता चौधरीले अब बन्ने जलवायु परिवर्तन नीति यस क्षेत्रका चुनौती र समस्या समाधानका लागि मार्गचित्र बन्नुपर्नेमा जोड दिनुभएको छ ।मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय जलवायु परिवर्तन नीति (२०८३) तर्जुमा राष्ट्रिय कार्यशाला गोष्ठीमा उहाँले उक्त नीति वैज्ञानिक, व्यवहारिक, समावेशी र कार्यान्वयनयोग्य बनाउन सुझावका लागि सबैको सक्रिय सहभागिताको अपेक्षा गर्नुभयो ।

मन्त्री चौधरीले जलवायु नीतिमा ग्रामीण क्षेत्रका जनताले भोग्नुपरेका जलवायुका असरलाई सम्बोधन गर्ने विषय उल्लेख गरिने बताउनुभयो ।कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भइरहेको अवस्थामा अन्तरराष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी तयारी गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

वन र प्राकृतिक स्रोतलाई जनताको आयआर्जनसँग जोड्ने गरी नीति ल्याइने बताउँदै मन्त्री चौधरीले जनताका परम्परागत सीप र अभ्यासलाई वैज्ञानिक अध्ययन र ज्ञानसँग जोड्नु जरुरी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले जनतालाई लाभ हुने र प्रत्यक्ष रुपमा छुने गरी जलवायु नीति तयार गरिने बाताउँदै सरोकारवाला सबैका सुझाव सङ्कलन गरिने अवगत गराउनुभयो । उहाँले पछिल्ला समय मुलुकमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएको बताउँदै यसबाट हुने आर्थिक र सामाजिक क्षति सम्बोधन गर्ने विषय पनि नीतिमा समेटिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका साथै जलवायुका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरुले राय सुझाव दिनुभएको थियो ।

हाल राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ कार्यान्वयनमा रहेकामा यस नीतिको बुँदा नम्बर १३ (ड) अनुसार हरेक पाँच वर्षमा पुनरावलोकन तथा मूल्याङ्कन गरिने व्यवस्था भएबमोजिम नीति कार्यान्वयनको अवस्था मुल्याङ्कन गरी आवश्यक समीक्षा, संशोधन एवं अद्यावधिक गर्न आवश्यक भएकाले नयाँ राष्ट्रिय जलवायु परिवर्तन नीति (२०८३) तर्जुमा अगाडि बढाइएको हो ।

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषणजस्ता सेवाको स्तरोन्नति गरिने बताउनुभएको छ ।

उहाँले आज जल तथा मौसम विज्ञान विभागको स्थलगत अनुगमन गर्नुभएको थियो । सो क्रममा मन्त्री श्रेष्ठले विभागको वस्तुस्थितिका बारेमा अवलोकन पनि गर्नुभएको थियो ।

उहाँलाई विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले विभागको कामहरूबारे जानकारी गराउनु भएको थियो । उहाँले विभागको पछिल्लो पूर्वानुमान प्रभावकारी भएको र अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त छलफल गरेको हो । छलफलमा सहभागी पूर्वमहान्यायाधिवक्ताहरुले शासकीय स्वरुप, निर्वाचन प्रणाली, सङ्घीय संरचना, न्यायपालिकाको पुनःसंरचना, संवैधानिक निकायको सङ्ख्या तथा समावेशितालगायत विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो ।

पूर्वमहान्यायाधिवक्ता डा युवराज सङ्ग्रौलाले संविधान संशोधनको उद्देश्य र आवश्यकता स्पष्ट रूपमा परिभाषित गर्न कार्यदललाई सुझाव दिनुभयो । उहाँले स्थानीय तहलाई गैरदलीय बनाउने, प्रदेश प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सकिने तथा केही अन्तरराष्ट्रिय अभ्यास अध्ययन गर्नुपर्ने बताउनुभयो ।

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले संविधान वा कानुनभन्दा त्यसको कार्यान्वयन गर्ने सोच र आचरण महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शासकीय स्वरुप परिवर्तन आवश्यक नरहेको धारणा राख्दै विज्ञसँगै सांसदलाई मन्त्री बन्न पाउने व्यवस्था उपयुक्त हुने उल्लेख गर्नुभयो । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, प्रदेशको सङ्ख्या घटाउने तथा मन्त्रालयमा दोहोरोपन हटाएर गाभ्नुपर्ने राय पूर्वमहान्यायाधिवक्ता भण्डारीले व्यक्त गर्नुभयो । न्याय परिषद् तथा संसदीय सुनुवाइको संरचनामा पनि पुनर्विचार गर्न सकिने उहाँको भनाइ थियो ।

पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सांसद मन्त्री बन्न नहुने, न्यायपालिकाको पुनसंंरचना आवश्यक रहेको तथा संवैधानिक इजलासको औचित्यमाथि पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादवले संविधान कार्यान्वयन, राज्य निर्माणमा नेतृत्वको चरित्र र नैतिकताको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले संवैधानिक आयोगको सङ्ख्या पुनरावलोकन गर्न सुझाव दिनुभयो ।

पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले हाल प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, संसद्प्रति उत्तरदायित्व, न्यायपालिकाको पुनःसंरचना तथा उच्च अदालतलाई थप सुदृढ बनाउने विषयमा सुझाव प्रस्तुत गर्नुभयो । प्रदेशको सङ्ख्या घटाउनुको सट्टा प्रदेश संरचनालाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको धारणा थियो ।

पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शासकीय स्वरुपबारे स्पष्ट राजनीतिक धारणा आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई थप शक्तिशाली बनाउनुपर्ने र समावेशितालाई संविधानको मूल आधारका रूपमा निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

संविधानसभा सदस्य सुरेश आले मगरले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा आफ्नो धारणा राख्नुभयो । उहाँले न्यायपालिकाको पुनसंंरचना आवश्यक रहेको उल्लेख गर्दै संवैधानिक आयोगको सङ्ख्या मात्र घटाएर समस्या समाधान नहुने बताउनुभयो । संस्थाको प्रभावकारिता नेतृत्व र पदाधिकारीको इमान्दारितासँग जोडिने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य परशुराम तामाङले अन्तरराष्ट्रिय सम्झौता, मधेसी, मुस्लिम तथा आदिवासी समुदायका सवाल संविधान संशोधनको बहसमा समेटिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेशलाई प्रभावकारी बनाउन बाझिएका अनुसूची हटाउनुपर्ने, निर्वाचन प्रणालीमा दल, समुदाय र व्यक्तिको छनोट सुनिश्चित गर्ने व्यवस्थाको आवश्यकता तथा राष्ट्रियसभामा प्रतिनिधित्वको ढाँचा पुनरावलोकन गर्नुपर्ने सुझाव दिनुभयो ।

पूर्वकानुन सचिव राजीव गौतमले शासन प्रणाली स्पष्ट हुनुपर्ने, संवैधानिक आयोगको सङ्ख्या पुनरावलोकन गर्नुपर्ने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी र छोटो बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले न्यायाधीशको कार्यसम्पादन मूल्याङ्कन तथा प्रदेश प्रमुखको भूमिकालाई थप स्पष्ट र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यदलका संयोजक शाहले १० वर्षपछि संशोधनको अवधारणा, राजनीतिक दलबीच बढ्दो बहस र पछिल्लो नवपुस्ता (जेनजी आन्दोलन) बाट आएको भ्रष्टाचार अन्त्य र सुशासनको मागले संविधान संशोधनको आवश्यकता महशुस भएको स्पष्ट पार्नुभयो । उहाँले प्राप्त सुझाव बहसपत्र तयारीका लागि महत्वपुर्ण भएको बताउनुभयो ।

ज्येष्ठ नागरिकमन्त्री वादीसँग राजदूत माओमिङबीच शिष्टाचार भेट

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा नेपाल र चीनबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सो मन्त्रालयले जनाएको छ

त्यस अवसरमा मन्त्री वादीले नेपाल ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै चीनसँगको सहकार्यलाई सामाजिक विकास, महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, ज्येष्ठ नागरिक सेवा र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका क्षेत्रमा विस्तार गर्न सकिने बताउनुभयो । उहाँले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप परिणाममुखी बनाउन मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

भेटमा स्थानीय नेपाली महिलाद्वारा उत्पादित सामग्रीको प्रवर्द्धन तथा बजार पहुँच, नमूना ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना, अपा¬ङ्गता भएका व्यक्तिहरूका लागि विशेष सेवा तथा सहायक सामग्री उपलब्धता गराउनेबारे छलफल भएको थियो ।

राजदूत माओमिङले नेपाल र चीनबीच रही आएको ऐतिहासिक, मैत्रीपूर्ण तथा पारस्परिक विश्वासमा आधारित सम्बन्धलाई उच्च महत्त्व दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, सशक्तीकरण र समावेशी विकासका क्षेत्रमा नेपाल सरकारसँगको सहकार्यलाई थप सुदृढ गर्दै लैजाने विश्वास दिलाउनुभएको थियो ।

भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सरकारको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को दफा २१ को उपदफा (२) बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो। यसका लागि मिति २०७३/०२/३१ र २०७४/०१/२१ मा तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको थियो।

तर तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सम्झौता बमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा निर्माण गरिएका संरचना समेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ।

अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र जारी हुने

पाल्पा । अबदेखि पाल्पाबाटै हलुका सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ।मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र जारी गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले पहिलोपटक हलुका सवारी चारपाङ्ग्रे साधनको सवारी चालक अनुमतिपत्र वितरण सेवा दिन थालेको हो। सो सेवा प्रवाह हुन थालेपछि उक्त कार्यका लागि बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको छ।

सेवा थप भएसँगै हलुका सवारीसाधन चारपाङ्ग्रे (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्र्याक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख टीकाराम न्यौपानेले जानकारी दिए । प्रमुख न्यौपानेले भने, “लाइसेन्सका लागि मङ्गलबारदेखि अनलाइन आवेदन फाराम खुला गरेका छौँ, छिट्टै लिखित परीक्षा लिइ ट्रायल (परीक्षण) लिन सुरु गर्नेछौँ।”

वि.सं. २०७५ मा स्थापना भएको कार्यालयले ब्लुबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरण सेवा दिँदै आएको छ। यातायात कार्यालयबाट छिटो लाइसेन्स प्राप्त हुन थालेपछि ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा कमी आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र खड्काले बताए।

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्यो

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्।

पछिल्लो ६ महिनायता लीलाधर र उनको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन । घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै बोटको फेदमा पैसा बुझाउँछन् । यो देखेर यहाँका किसान दङ्ग छन् ।

भारतीय केराको आयात रोकिएपछि यहाँका स्थानीय केराको मूल्य बढेको छ । जाडो मौसममा प्रतिदर्जन रु ६० र गर्मी मौसममा प्रतिदर्जन रु ७० देखि ८० मा बिक्री हुँदै आएको केरा आजभोलि दर्जनको रु १०० पर्न थालेको छ ।

बजार जाने झन्झट नहुने र बारीमै केराको मूल्य बढी पाउँदा निकै खुसी लागेको जैसी बताउँछन् । दर्जनमा हिसाब हुने गाउँघरमा व्यापारीले किसानको बारीबाट नै केरा उठाएर थैलो भर्छन् । यहाँका किसानको दैनिकी धान्ने अर्को स्रोत केरा हो। नयाँ पुल आसपासका क्षेत्रमा केराखेती विस्तार हुँदै गइरहेको छ।

बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसान ईश्वरीप्रसाद शर्माले पनि पछिल्लो समय केराले राम्रो मूल्य पाएको बताउनुहुन्छ । बजारमा भारतीय केरा र नेपालको तराईको केरा आउँदा स्थानीय जातका केरा बिक्री गर्न कठिन हुने गरेको भए पनि पछिल्लो समय केराको माग उच्च रहेको उनले बताए।

“योबेला केरा फलाउन सकेको भए निकै राम्रो मूल्यमा बिक्री हुने रहेछ”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान मोतीप्रसाद शर्माले भने, “अघिल्ला वर्षको तुलनामा यो वर्ष केराको माग उच्च छ ।” माग र मूल्य दुवै बढेकाले केराखेती गरेका किसानले राहतको महसुस गरेको उनले बताए।

वर्षात्को समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर यहाँका किसानले केराखेती गर्दै आएका छन् । “मकै र कोदोको मूल्य हिसाब गर्दा वर्षमा १८ हजार कमाई हुन्थ्यो, लगाउने गोड्ने दुःख त कति हो कति”, शर्माले भने, “समयमा पानी र मल दिएपछि राम्रो फल्ने केराले अहिले मेरो दैनिकी नै बदलिएको छ ।”

पछिल्लो समय गाउँका किसानले परम्परागत खेतीलाई परिवर्तन गरेर केराखेती गरेका छन् । मोतीप्रसाद शर्माले जस्तै जैमिनीका किसानले बाँझो जग्गा र खेतीयोग्य जमिनमा केराखेती गरेका छन्। किसानले केराका लागि आवश्यक मलको जोहो गर्न गाईभैँसी पालेका छन् । खानेपानीका लागि प्रयोग भइरहेको पानीलाई बचत गरेर केरामा सिँचाइ गर्छन्।

यहाँका किसानले स्थानीय रामरेखे लोकल, मालबोक, मुङ्ग्रे, ध्रुसे, फुस्रे, जहाजी, चिनीकेरालगायत केराखेती गरेको जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्माले बताए। कसैले व्यावसायिक खेती गरेका छन् भने केहीले आफ्नो धेरैथोरै जग्गामा दुई चार बोट मात्रै केरा लगाएरै अम्दानीसँग जोडिएका छन्।

बजारमा पनि पछिल्लो समय स्थानीय केराकै माग धेरै छ । स्थानीय जातको केरा पकाउनका लागि कुनै विषाधीको प्रयोग गर्न नपर्ने र खाँदा स्वादिलो भएकाले केराको माग उच्च रहेको बागलुङ बजारका व्यवसायी सागर सुवेदीले बताए ।

“यहाँको केरा पाकेपछि पनि लामो समय टिक्छ, घाटा हुँदैन”, सुवेदीले भने, “तराई र भारतको केराभन्दा व्यवसायी र उपभोक्ता दुवैलाई यो केरा फाईदा हुनेखालको छ ।” पछिल्लो समय केराको मूल्य बढाएरै किसानलाई भुक्तानी दिने गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो एक वर्षयता बागलुङ बजारमा केराको माग स्थानीय केराले नै धानेको छ।

बजारमा स्थानीय केराको मूल्यप्रति दर्जन रु १२० देखि १८० सम्ममा बिक्री हुने गरेको छ । एकद रुपमा तराईबाट आउने केराको मूल्य भने प्रतिदर्जन २५० भन्दा धेरै छ। बागलुङ बजारमा दर्जन बढी होलसेल व्यपारीमार्फत दैनिक १०० कार्टुनभन्दा धेरै भारतीय केरा भित्रिने गरेको थियो।

एक हजार ३०० देखि एक हजार ६०० प्रतिकार्टुन तिरेर यहाँका व्यवसायीले केरा खरिद गर्ने गरेका थिए । तर अहिले त्यो सबै माग स्थानीय केराले धानेको स्थाय थोक व्यवसायी खिमबहादुर केसीले बताउनुभयो । “यति नै भनेर तथ्याङ्क राखिएको त छैन तर दैनिक दुई लाख माथि केराको खरिदमा बाहिरिने गरेको थियो”, केसीले भने, “मागेजति त पुगेको छैन, तर अहिले लोकल केराले अभाव हुन भने दिएको छैन।”

बागलुङका स्थानीय सरकारले पनि केराखेतीको प्रवर्द्धन लागि विभिन्न कार्यक्रम बनाएका छन् । जैमिनी नगरपालिकाले ‘शेरा जाउँ केरा खाउ’ अभियान नै घोषणा गरेको छ । किसानलाई बीउ मल र बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

ऊर्जा संकटले विश्व अर्थतन्त्रमा थप चुनौती, पेट्रोलकाे मूल्य उकालो

काठमाडाैँ । इरानसँगको युद्ध सुरु भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिक रूपमा बढेको छ। पछिल्लो विवरणअनुसार पेट्रोलको मूल्य करिब ५० प्रतिशतले वृद्धि भएको छ भने मात्र एक हप्ताको अवधिमा प्रति ग्यालोन ३१ सेन्टले बढेर औसत ४.४८ डलर पुगेको छ। यसले दैनिक जीवनयापन र यातायात खर्चमा ठूलो असर पारेको छ।

विशेषज्ञहरूका अनुसार मूल्य वृद्धिको मुख्य कारण विश्वव्यापी ऊर्जा संकट हो, जसमा कच्चा तेलको आपूर्ति र वितरण प्रणाली गम्भीर रूपमा प्रभावित भएको छ। फारस खाडीस्थित महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलडमरूमा उत्पन्न तनावका कारण तेल ट्यांकरहरू आवागमन गर्न नसक्दा आपूर्ति श्रृंखला अवरुद्ध भएको छ। विश्वको करिब एक-पाँचौं कच्चा तेल यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यहाँको अवरोधले विश्वभर प्रभाव पारेको हो।

यसअघि अप्रिल महिनामा युद्ध केही शान्त हुने संकेत देखिँदा बजारमा आशावाद फैलिएको थियो र पेट्रोलको मूल्य केही समयका लागि घटेको पनि थियो। तर द्वन्द्व पुनः तीव्र भएपछि कच्चा तेलको मूल्य फेरि बढ्न थालेको र त्यसको प्रत्यक्ष असर पेट्रोल पम्पसम्म पुगेको हो।

विश्लेषकहरूले यो अवस्था लामो समयसम्म जारी रहेमा मुद्रास्फीति अझ बढ्ने, ढुवानी लागत महँगिने र विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना हुने चेतावनी दिएका छन्। उपभोक्ताहरूले इन्धन खर्च बढ्दा अन्य वस्तु तथा सेवामा पनि मूल्य वृद्धि अनुभव गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

स्वास्थ्यमन्त्री मेहता र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।

मन्त्री मेहताले वर्तमान सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्य योजनाको मार्गचित्रमार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गरिन् ।

मन्त्री मेहताले खोप तथा प्रतिरक्षणका लागि विश्वव्यापी गठबन्धन, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धको विश्व कोष र प्रतिजैविक प्रतिरोधविरुद्धको कार्यक्रम जस्ता बहुपक्षीय कार्यक्रममार्फत प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास समेत व्यक्त गरिन्।भेटका क्रममा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन मिति २०८३ असार २२ गतेदेखि फिर्ता लिएको ब्यहोरासहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको उल्लेख गरिएको छ ।

सो पत्र प्राप्त भएसँगै सम्बन्धित निकायलाई जानकारी गराइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालय ललितपुरमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने भएको हो ।बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम: भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ ।

पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले रु एक सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको छ ।

यसरी नेपालतर्फको बजारमा चहलपहल बढ्नुका साथै व्यवसायमा पनि वृद्धि भएपछि नेपाली व्यवसायीहरू खुसी भएको बताएका छन् । उनीहरूले वर्षौँदेखि सुनसान रहने बजारमा पनि अहिले व्यापारिक गतिविधि बढ्न थालेको जानकारी गराएका हुन् ।

धनगढीका स्टेशनरी व्यवसायी विजयराज पन्तले पहिलेको तुलनामा व्यापारिक गतिविधि केही बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले नेपाली उपभोक्ताहरु दुई किलो चिनी लिन पनि सीमापारि जान्थे, अहिले पारिका बजार नगई चिनीलगायतका सामान नेपाली बजारबाटै खरिद गर्दा सकारात्मक प्रभाव परेको छ ।” उहाँका अनुसार पहिलेको तुलनामा हालका दिनहरूमा चहलपहल बढेको भए पनि अपेक्षित सुधार भने भइनसकेको अनुभव सुनाउनुभयो ।

धनगढीका उपभोक्ता कृष्णबहादुर चौधरीले घरमा छोरीको विवाहको तयारीस्वरुप तयारी कपडा किन्न सीमापारि बनगाउँ बजार पुगेर फर्किँदा सीमामा सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सीमामा प्रहरी अधिकारीसँग विवाद भयो र ल्याइएका समानको आफूले भन्सार तिरेर लैजान बाध्य भएँ ।”

सीमापारिको बनगाउँ बजारबाट छोरीको विवाहमा चाहिने रु १२ हजार ४०० को तयारी लुगा भित्र्याउँदा भन्सार कार्यालयले सात हजार ९४५ रुपैयाँ कर लिएको उहाँले सुनाउनुभयो । तर सीमा क्षेत्रमा प्रहरीको सम्झाइबुझाई भन्दा पनि दबाब बढी हुने गरेको उहाँको अनुभव छ ।

विदेशबाट आयात हुने समानमा अधिकतम् खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गरिएपछि भन्सार कार्यालयको काम केही प्रभावित पनि भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सेनाले पेट्रोलिमय पदार्थमा ५० प्रतिशत छुट दिने सरकारको निर्णयले चैत महिनाको तुलनामा यो महिना पेट्रोलियममा मात्र ३० प्रतिशतले राजस्व सङ्कलन प्रभावित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमआरपी (अधिकतम खुद्रा मूल्य)को जाँच पासमा समस्या सृजना हुँदा पनि राजस्व प्रभावित हुन पुगेको छ ।” एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिने व्यवस्थामा कडाइ गरिँदा धेरै नेपाली उपभोक्ता किनमेलका लागि सीमापारिका बजारसम्म जान रोकिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भन्सार शुल्क उठाउन कडाइ गरिएपछि सीमापारि जानेहरू हाल शून्यप्रायः छन्, धेरैजसो नेपाली उपभोक्ताहरु पर्ख र हेरको अवस्थामा बसिरहेको पाइन्छ । तर अहिलेका लागि भने उनीहरु नेपाली बजारमै किनमेल गरिरहेका छन् ।”

यात्रुले रु एक सयभन्दा बढीको मालवस्तु ल्याउँदा भन्सार लाग्ने पुरानै व्यवस्थालाई कार्यान्वयन गर्न अहिले कडाइ मात्र गरिएको उहाँले बताउनुभयो । भन्सार कार्यालयले भित्रिने मालवस्तुमा बढीमा ३९ प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको छ ।

राजस्व चुहावट नियन्त्रण गर्न रु एक सयभन्दा बढीका मालवस्तुमा कडाइका साथ भन्सार लिने कार्यले सकारात्मक प्रभाव देखिएको कतिपय नेपाली व्यापारीको प्रतिक्रिया छ । उनीहरु चुहावट नियन्त्रण गर्न सीमामा बस्ने कार्यालय र कर्मचारीलाई थप सशक्त र सक्रिय बनाउनुपर्ने बताउँछन् ।

सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताहरू मालवस्तु खरिद गर्न सीमापारि पुग्नुपर्ने सामान्य जस्तै थियो । तर अहिले भने भन्सारमा कडाइ गरिएपछि साइकलमा मालवस्तु भित्र्याउनेहरूको गतिविधि ह्वात्तै घटेको छ ।

कैलालीको पहलमानपुरका तेजनारायण चौधरी सीमामा मालवस्तु ल्याउन कडाइ गरिएपछि चोर नाकाबाट अवैध चोरी हुने क्रम पनि बढ्ने आशङ्का गर्नुहुन्छ । अहिले यदाकदा उपभोक्ताहरूले यस्तो बाटो प्रयोग गरिरहेको पनि उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “भारतमा बनेको लुगा धुने एक पोका निर्मा पाउडरको नेपाली बजारमा रु १५० सम्म मूल्य पर्न थालेको छ, पहिले यो पाउडर रु १०० मा पाउँथ्यो । यो समान चोर नाकाबाट भित्रिएको हुनसक्ने आशङ्का छ ।”

भन्सारमा कडाइ गरिएपछि भारतको सीमावर्ती बजार बनगाउँमा चहलपहल घटेको छ । नेपाली उपभोक्तालाई लक्षित गरेर सञ्चालन गरिएको उक्त बजारमा किनमेल गर्नेमध्ये झण्डै ९० प्रतिशत उपभोक्ता यसअघिसम्म नेपाली थिए । बजारमा नेपाली मुद्रामा कारोबार पनि सहज रूपमा हुने गरेको छ ।

यसरी दिनहुँ मालबस्तुमा भन्सार महसुल लिने कार्य राम्रो भए पनि विवाह, व्रतबन्ध र कतिपय घरायसी प्रयोजनका लागि भित्र्याइने सामानहरूमा भन्सार महसुल लिने कुरा केही व्यावहारिक बनाउनुपर्ने स्थानीय नागरिकको सुझाव छ ।

“व्यापारिक हिसाबले ल्याइने समानमा भन्सार शुल्क कडाइका साथ लिनुपछ”, तेजनारायण चौधरीले भन्नुभयो, “तर विवाह, व्रतबन्ध र घर खर्चका लागि ल्याइने समानमा भन्सार शुल्क लिने कुरा व्यावहारिक नभएकाले यसमा केही पुनर्विचार गर्नु जायज हुन्छ । यसो हुँदा हाम्रो वारिपारिको व्यापारिकमात्र नभएर अन्य सम्बन्धका साथै धेरै कुराहरूमा पनि सहज हुन जानेछ ।”

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (नरिवल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली ज्यापू प्रतिकिलो रु ८०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ११०, मकै बोडी प्रतिकिलो रु ९०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १७०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीसाग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २४०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु १३०, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १३०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ४५०, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

गण्डकी। पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ ।

किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

महानगरभित्रका एक हजार बढी किसानहरूबाट २१ हजार किलोग्राम धानको बीउ माग भएको जनाउँदै उहाँले मागअनुसारको बीउ भने उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

उहाँका अनुुसार पोखरामा अत्यधिक रूपमा पोखरेली जेठो बुढोको माग हुने गरेको छ । महानगरपालिकाले वितरण गर्न लागेको मध्ये दुई हजार किलो राम धान र अन्य पोखरेली जेठो बुढोको बीउ भएको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाले यहीँका किसानबाट प्रतिकिलो दुुई सय रुपैयाँमा धानको बीउ किनेर ५० प्रतिशत अनुदानमा एक सय रुपैयाँमा उपलब्ध गराउने गरेको छ ।

किसानलाई धानको बीउ उत्पादनका लागि प्रोत्साहन गरिँदै आएको जानकारी दिँदै कडरियाले महानगरभित्र वडा नं १३, २३, २६, २९, ३० लगायतका किसानले बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो ।

महानगरपालिकाले स्थानीय अनदी, पहेँलेजस्ता धानको संरक्षणका लागि जैविक स्रोत संरक्षण अभियानमार्फत उत्पादित धानको बीउ ल्याएर किसानलाई उपलब्ध गराउने गरिएको पनि शाखाका प्रमुख कडरियाले जानकारी दिनुभयो ।

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा। रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवा खेलिरहेका १५ जना छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ परेकाहरू विभिन्न जिल्ला तथा रुपन्देही क्षेत्रका रहेको जनाइको छ । उहाँका अनुसार घटनास्थलबाट ९५ हजार ५०० रुपैयाँ, १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद गरिएको छ । पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

खोटाङ। जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ ।जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो ।

प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको अतिक्रमण हटाउने योजनासमेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । स्थानीय तहलाई पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको ‘हार्ड’ र ‘सफ्ट’ दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ ।

गृह मन्त्रालयको यही वैशाख १६ गतेको निर्देशनको आधारमा उक्त विवरण मागिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयो । “अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा राज्यको नाममा ल्याउन सरकारले पहल थालेको छ । जिल्लामा यसको लगत सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “लगत सङ्कलनको काम सम्पन्न गरेपछि संरचना भत्काउन थाल्छौँ । त्योभन्दा अगाडि सबै नागरिकलाई आफ्नो संरचना हटाउन आग्रह गर्छौँ ।”

जिल्लामा सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिका र बराहपोखरी गाउँपालिकामा सरकारी जग्गा अतिक्रमण भएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिकामा त्रिधार्मिकस्थल हलेसी र बराहपोखरी गाउँपालिकामा बराहतालको जग्गा अतिक्रमण भएको जनाइएको छ ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा यसअघि पनि अतिक्रमित जग्गा खाली गराउन पहल थालिएको थियो । राजनीतिक दलको संरक्षणका कारण हलेसीको अतिक्रमित जग्गा खाली गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउँदै आउनुभएको थियो ।

गुठी संस्थानले यसअघि हलेसी महादेव मन्दिरको नाममा रहेको जग्गा अतिक्रमणबारे छानबिन प्रक्रिया अघि बढाए पनि संचरना भने अहिलेसम्म हटाइएको छैन । विसं २०७२ मा गुठी संस्थानले हलेसी महादेवको नाममा रहेको जग्गा सरकारी अतिक्रमण गर्ने २९ जना स्थानीयवासीको नाममा म्याद तामेली गरेर पठाउन जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेको थियो ।

बराहपोखरी–१ बराहपोखरीमा पर्ने बराहतालको नाममा रहेको सार्वजनिक जग्गा २७ जना व्यक्तिले अतिक्रमण गरेको बताइएको छ ।बराहतालको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर स्थानीयले बनाएका घरटहरा बराहपोखरी गाउँपालिकाले यसअघि जेसिभि लगाएर भत्काए पनि पुनः सोही ठाउँमा उनीहरुले घरटहरा निर्माण गरेर बसेका जनाइएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।

बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धका तथा अन्य विविध विषयमा छलफल हुने छ ।

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौँ। अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक रूपमा ‘मित्रता शहर’ सम्झौता भएको छ ।
विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले सम्झौताका लागि आवश्यक समन्वय गरेको भन्दै पर्यटन व्यवसायी तथा अभियन्ता डिएन घिसिङलाई धन्यवाद दिनुभयो ।

दुवै पक्षले यस सहकार्यलाई स्थानीय तहमा अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्नुभएको छ । “यस ऐतिहासिक सम्झौताले दुई नगरबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएको छ”, सम्झौतामा भनिएको छ ।

ललितपुरको गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक सम्पदाले समृद्ध क्षेत्रका रूपमा परिचित छ । त्यस्तै, विन्डम सिटी आधुनिक पूर्वाधार, बहुसांस्कृतिक समाज र दिगो शहरी विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन्छ । सम्झौतामा दुवै पक्षले भविष्यमा आपसी भ्रमण, सांस्कृतिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नेपाली मूलका उद्यमी, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । उपस्थित सहभागीहरूले सम्झौतालाई नेपाल र अष्ट्रेलियाबीचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई स्थानीय तहमा अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन् ।

कार्यक्रममा वक्ताहरूले शिक्षा, पर्यटन, संस्कृति, वातावरण संरक्षण, आर्थिक विकास तथा समुदाय विकासका क्षेत्रमा सहकार्यले दुई सहरलाई दीर्घकालीन फाइदा पुग्ने अपेक्षा गरिएको छ ।सम्झौताले नेपाल र अष्ट्रेलियाबीच विगत ६६ वर्षदेखि कायम रहेको कूटनीतिक सम्बन्ध स्थानीय तहमा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

बाग्मती प्रदेशमा मन्त्रालय सङ्ख्या १४ बाट आठ बनाइयो

मकवानपुर। बाग्मती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठ वटा कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले मन्त्रालय सङ्ख्या घटाइएको हो भने अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय रहनेछन् ।

यसअघि प्रदेशको प्रशासनिक संरचनालाई सुदृढ र मितव्ययी बनाउन पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा रहेको प्रशासनिक संरचना पुनरावलोकन समितिले हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठमा सीमित गर्न सरकारलाई सुझाव दिएको थियो ।

समितिले मन्त्रालयको सङ्ख्या मात्र बढेको, तर कार्यसम्पादनमा प्रभावकारिता नदेखिएकाले व्यापक पुनर्संरचनाको आवश्यकता औँल्याएको थियो । यस्तै, साङ्गठनिक आवश्यकता र कार्यबोझभन्दा पनि आन्तरिक दलीय सन्तुलन मिलाउन मन्त्रालय विस्तार गरिएको समितिले ठहर गरेको थियो ।

निर्णयअनुसार अब आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय रहनेछन् ।

मन्त्रालयअन्तर्गतका कार्यालय पनि घटाइने भएको छ । हाल रहेका एक सय ९८ वटा कार्यालयमध्ये करिब ५० वटा घटाइने सरकारको तयारी छ । यसबाट चालु खर्चतर्फ करिब रु पाँच अर्बसम्म कटौती हुने अनुमान गरिएको मन्त्री तामाङले बताउनुभयो । जनताको करबाट उठेको रकमलाई अधिकतम पुँजीगत क्षेत्रमा खर्च गर्ने लक्ष्यका साथ यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

“यो निर्णय आगामी आर्थिक वर्षदेखि लागू हुनेछ । हालको मन्त्रिपरिषद् भने चालु आर्थिक वर्षको अन्त्यसम्म यथावत् रहनेछ भने साउन १ गतेदेखि नयाँ संरचना कार्यान्वयनमा आउने छ”, प्रवक्ता तामाङले भन्नुभयो ।

मन्त्रिपरिषद् बैठकले मन्त्रालय मातहत रहने कार्यालयका कर्मचारीको व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) का लागि समिति गठन गरेको छ ।

समितिको संयोजकमा मुख्यमन्त्री कार्यालयको कानुन महाशाखाका प्रदेश सचिव रहनेछन् भने सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सदस्यसचिव रहने व्यवस्था गरिएको छ । समितिले आवश्यक अध्ययन गरेर आगामी साउन १ गतेभन्दा अगावै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने जनाइएको छ ।बैठकले काठमाडौँको थानकोटस्थित त्रिभुवन पार्क सञ्चालक समितिको अध्यक्षमा चन्द्रबहादुर गोपालीलाई नियुक्त गरेको छ ।

अब भक्तपुरवासीको घरघरमै राहदानी पुर्‍याइने, राहदानी लिन प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

भक्तपुर। जिल्ला हुलाक कार्यालयले अब जनताको घरदैलोमै राहदानी अर्थात् पासपोर्ट पुर्‍याउने भएको छ । राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला हुलाक कार्यालयकी प्रमुख सीता साम्बाले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै ‘जनताको घरदैलो सेवा’ सञ्चालनमा आएको हो ।

भक्तपुरमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइने भएको छ ।

प्रजिअ ढकालले नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत ‘जनताको घरदैलो सेवा’ अवधारणा लागू गर्दै अब हुलाक कार्यालयबाट जनताको घरदैलोमै राहदानी पुर्‍याउने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन तथा सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै आउनुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

आज सम्झौता भएसँगै यो सेवा कार्यान्वयनमा आएको बताउँदै प्रजिअ ढकालले सेवाग्राहीको राहदानी हुलाकका कर्मचारीमार्फत सुरक्षित रूपमा घरघरमा पुर्याइने बताउनुभयो ।

जिल्ला हुलाक कार्यालयकी प्रमुख साम्बाले सम्झौता कार्यान्वयनमा आइसकेको बताउँदै बुधबारदेखि हुलाकको एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर फाराम भराउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताको घरदैलो सेवा स्वेच्छिक हो, जिल्ला प्रशासन कार्यालयमा लिन जान चाहनेले त्यही फाराम भर्नु पर्नेछ, हुलाकबाट लिन चाहनेले थप एउटा फाराम भर्नु पर्नेछ, घरघरमा पुर्‍याउनका लागि भने हुलाक ऐनअनुसार दस्तुर भने तिर्नुपर्नेछ ।”

राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीको नाम, ठेगाना, सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाइने र त्यसको एकसाताभित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने उहाँले जानकारी दिनुभयो । नियमानुसार यस सेवाका लागि लाग्ने हुलाक दस्तुरबापत रु ५५ शुल्क भने सेवाग्राहीले आफैँ व्यहोर्नुपर्ने उहाँले जानकारी दिनुभयो

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा तोकिएको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको केही स्थानहरूमा, मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

२२ दिनमा भएका विपद्मा ४१ जनाको मृत्यु, दुई सय चार घाइते

काठमाडौँ। वैशाख महिनाको २२ दिनमा विपद्जन्य घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि हालसम्म विभिन्न प्रकृतिका आठ सय ६८ वटा विपद्का घटनामा परेर ४१ जनाको मृत्यु भएको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई सय चार जना घाइते भएका र एक हजार १०९ परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी चट्याङबाट १२ जनाको ज्यान गएको छ ।

यस्तै, आगलागीबाट आठ, हुरीबतासका कारण छ, लेक लागेर पाँच, जनावरको आक्रमणबाट तीन, सर्पदंश, डुङ्गा पल्टिँदा र पहिरोबाट दुई÷दुई जना र वन डढेलोबाट एक जनाको मृत्यु भएको हो । २२ दिनमा सबैभन्दा बढी आगलागीका तीन सय चार वटा घटना भएका छन् भने चट्याङका एक सय पाँच, हुरीका एक सय ६१, वन डढेलोका एक सय ३० घटना भएका छन् ।

प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ९२ जनाको उद्धार गरिएको छ । हाल प्रिमनसुनको समयमा पनि विपद्का घटना भइरहेको र मौसम बदली कायम रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सबैमा अपिल गरेको छ ।यस्तै, पूर्वतयारीका योजना बनाएर आवश्यक तयारीमा रहन पनि सबैमा अनुरोध गरिएको छ ।

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौँ। केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् ।
सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वर्षासँगैको पहिराका कारण अवरुद्ध भएका केही राजमार्ग मङ्गलबार साँझदेखि केही पूर्णरुपमा सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन् ।”

यसैगरी इलामस्थित इलाम रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्रि कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने ४०० बेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षका निर्माण आयोजनाको काम द्रुत गतिमा अघि बढाउन र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न भनेको हो ।

आयोजना कार्यान्वयनमा देखिएका अवरोधहरू तत्काल पहिचान गरी समाधान गर्न सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय गर्न मन्त्रालयले परिपत्र गरेको जनाएको छ ।

“मूल्य समायोजन सम्बन्धमा सम्झौतामा भएको व्यवस्थाअनुरुप मूल्य समायोजन गरिने हुँदा सो व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउनुहुन र उक्त व्यवस्था कार्यान्वयनमा कुनै समस्या भएमा वा मन्त्रालयबाट सहजीकरण हुनुपर्ने विषय भए तत्काल मन्त्रालयमा पठाउनुहुन निर्देशन छ”,परिपत्रमा भनिएको छ ।

कुनै आयोजनाको कार्य गतिविधि सुरु नभएमा सम्बन्धित आयोजना प्रमुख र निर्देशक जिम्मेवार हुने तथा निर्माण स्थलमा उल्लेख्य प्रगति नभएको खण्डमा सम्बन्धित कार्यालय प्रमुख जिम्मेवारी हुने गरी व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको अग्रसरताले निर्माण क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गरी विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा लिइएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताउनुभएको छ ।

इराकमा प्रदूषणका कारण सयौँ बिरामी अस्पताल भर्ना

तेहरान। इराकमा हालै आएको तीव्र धुलो आँधीका कारण देशभर ठूलो मात्रामा स्वास्थ्य समस्या देखिएको छ ।इराकको स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रान्तहरूमा कम्तीमा एक हजार १३३ जना मानिसहरूमा श्वासप्रश्वासमा समस्या (दम घुट्ने अवस्था) देखिएको हो । यी सबै घटना वायुमण्डलमा अत्यधिक धुलो र सूक्ष्म कणहरू मिसिँदा उत्पन्न भएको प्रदूषणका कारण भएको बताइएको छ ।

मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार यी सबै बिरामीहरूलाई सामान्यदेखि मध्यम अवस्थाको श्वास समस्या भएको थियो र समयमै उपचार दिइएकाले कुनै पनि मृत्यु भएको छैन ।

धेरैजसो बिरामीहरूलाई प्राथमिक उपचारपछि अस्पताल तथा स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ, जसले स्थिति नियन्त्रणमा रहेको संकेत गर्छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्र अल–मुथन्ना प्रान्त हो, जहाँ ५७६ जना प्रभावित भएका छन् । त्यसपछि नजफ प्रान्तमा ३०० जना र राजधानी बग्दादमा करिब २०० जना मानिसहरू प्रभावित भएका छन् । यी क्षेत्रहरूमा धुलोको घनत्व अत्यधिक बढेपछि दृश्यता घटेको र हावा श्वास लिन असहज बनेको रिपोर्ट गरिएको छ ।

विशेषज्ञहरूका अनुसार इराक लामो समयदेखि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देशमध्ये एक हो, जसलाई संयुक्त राष्ट्रसङ्घले पनि संवेदनशील क्षेत्रको रूपमा वर्गीकृत गरेको छ ।

पछिल्ला वर्षहरूमा धुलो आँधीहरू अझ धेरै बारम्बार र अझ तीव्र रूपमा देखिन थालेका छन्, जसले जनस्वास्थ्य मात्र होइन, दैनिक जीवन, यातायात र वातावरणीय अवस्था समेत प्रभावित गरिरहेको छ ।

यस प्रकारका प्राकृतिक धुलो आँधीहरूले देशको स्वास्थ्य प्रणालीमा अचानक दबाब सिर्जना गर्ने, अस्पतालहरूमा बिरामीको सङ्ख्या बढाउने र श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन जोखिम बढाउने देखिएको छ ।

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ। पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले आज जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरिएको छ ।

ती गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शङ्कास्पद लिङ्कहरू पठाइन्छन् । प्रयोगकर्ताले ती लिङ्कमा क्लिक गरेपछि व्यक्तिगत विवरण सङ्कलन गरी बैङ्क खातामा अनधिकृत पहुँच पु¥याई ठूलो मात्रामा रकम चोरी गर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोले यस्ता साइबर अपराधबाट जोगिनका लागि केही महत्त्वपूर्ण सुझावहरू पनि दिएको छ । शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्ने, बैङ्किङ कारोबारका लागि सधैँ आधिकारिक ‘वेबसाइट’ वा ‘एप’ मात्र प्रयोग गर्ने, आफ्ना गोप्य बैङ्किङ विवरण कसैसँग पनि साझा नगर्ने तथा कुनै पनि संदिग्ध गतिविधि देखिएमा तत्काल प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैङ्कमा जानकारी गराउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

साइबर अपराधको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्यूरोले उल्लेख गरेको छ ।

साइबर ब्यूरोको नाम लिएर ठगी गर्ने चार जना पक्राउ

साइबर ब्यूरो भोटाहिटीको टोलीले साइबर ब्यूरोको नाम लिएर अनलाइन घोटाला (ठगी) गर्ने गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दीपक लिम्बू, सुनसरी धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका–१३ का २८ वर्षीय सजल राई तथा सुनसरी इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “साइबर ब्यूरो भोटाहिटीको नाम दुरूपयोग गरी ट्रूकलरमा समेत साइबर ब्यूरो देखिने बनाई पीडितलाई फोन सम्पर्क गरी डर, त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई बिद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भनी पीडित व्यक्तिहरूको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।”

प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उक्त कार्यमा निज चार जनाको संलग्नता खुल्न आएकाले साइबर ब्यूरोबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय, धरानको समन्वय एवं सहयोगमा पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगीअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता गिरीले बताउनुभयो ।