`

इसिबी प्रमुख भन्छन् – एआईबारे नीतिगत ढिलाइले युरोपको भविष्य खतरामा पर्न सक्छ

युरोपेली केन्द्रीय बैङ्कका प्रमुख क्रिस्टिन लागार्डले कृत्रिम बौद्धिकता (एआई) लाई अँगाल्न गरिएको ढिलाइले महाद्वीपको भविष्यलाई ‘खतरामा’ पार्न सक्ने बताउँदै यसलाई अपनाउन देखिएका अवरोधहरू द्रुत रूपमा हटाउनुपर्ने बताएका छन्।

“हामीलाई यो परिवर्तनलाई अँगाल्न रोक्ने सबै अवरोधहरू हटाउनु अब धेरै ढिलो गर्नुहुँदैन,” उनले ब्राटिस्लाभा सम्मेलनमा भने। “एआई अपनाउने लहरलाई पार गर्न हामीले युरोपको भविष्यलाई खतरामा पार्ने जोखिम उठाउनु गलत हुनेछ।

एआई प्रविधिका समर्थकहरू युरोपेली नेताहरु भन्छन्, “अहिले युरोप, संयुक्त राज्य अमेरिका र चीनभन्दा पछाडि परेको छ र यो अत्यधिक नियमन, नवीनताको कमी र कम लगानीका कारण भएको हो।“युरोपले पहिले नै एआईमा पहिलो मूभर हुने अवसर गुमाएको छ,” लेगार्डले भने ।

“यदि यूरोपेली महाद्वीपले अझैपनि आफ्ना प्रमुख उद्योगहरूमा निर्णायक रूपमा प्रविधि प्रयोग गर्यो भने युरोपले ढिलो सुरुवातलाई प्रतिस्पर्धात्मक किनारामा बदल्न सक्छ,” उनले भने ।

उहाँले युरोपमा द्रुत रूपमा अपनाउन सकिने खण्डित नियमहरू देखि ऊर्जाको उच्च लागतसम्मका धेरै अवरोधहरूबारे चर्चा गर्दै भने, “यसले एआईलाई शक्ति प्रदान गर्ने विशाल तथ्याङ्क केन्द्रहरू चलाउन महँगो बनाउँछ।”

“थप खुट्टा तान्नुको परिणाम ‘एआई मोडेलहरूमा दौड हार्ने’ भन्दा बढी हुन्छ,” लेगार्डले भने । उनले भने , “हामीले अन्ततः हाम्रा धेरै क्षेत्र र उद्योगहरूको लागि प्रतिस्पर्धाको थप घाटाको सामना गर्नुपर्नेछ।”

रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन

सर्लाही । युरोपको रोमानिया कार्यअवसरका लागि पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका – ६, निवासी सलिन करीब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए ।

शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताईएको छ । प्रहरी प्रशासनलाई उद्धृत गर्दै उनले सो कार १८ वर्षीय रोमानियन युवकले चलाएको बताए ।

हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने तयारी भइरहेको र घटनाबारे परिवारलाई औपचारिक रूपमा जानकारी गराइएको बताइएको छ ।

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित

तनहुँ, ९ मङ्सिरः बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।”

उहाँका अनुसार वैशाखमा तीन हजार २९७, जेठमा तीन हजार ३४२, असारमा दुई हजार ७६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८३२, असोजमा तीन हजार ७८६ र कात्तिकमा चार हजार ६२७ जनाले भ्रमण गरेका छन् ।

त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा एक हजार ८९८, जेठमा दुई हजार १३५, असारमा दुई हजार ११५, साउनमा दुई हजार ४५१, भदौमा एक हजार ९८२, असोजमा पाँच हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् । कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देख्न सकिन्छ ।

विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्, उहाँले भन्नुभयो ।

म्याग्दी नदीमा पानीको सतह घटेपछि पर्खाल निर्माण सुरु

म्याग्दी, ९ मङ्सिर-सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ ।सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण थालिएको हो ।

हिउँद सुुरु भएर नदीमा पानीको सतह घटेपछि निर्माण व्यवसायीले काम थालेको आयोजनाका इन्जिनियर नरजङ गुरुङले जानकारी दिनुभयो । “ठेकेदारले पहिलो चरणमा खोलालाई डाइभर्सन गराउन थालेका छन्”, उहाँले भन्नुभयो, “खोला डाइभर्सनको काम सकेपछि नदी किनारमा पक्की पर्खाल निर्माणको काम सुुरु हुुन्छ ।”

म्याग्दी नदी किनारमा एक सय ६५ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माणका लागि रु पाँच करोड ९७ लाख ५० हजार ६२४ कुल लागत अनुमान गरिएकामा २०८२ साल वैशाख १० गते रु चार करोड २१ लाख ५९ हजार ६९९ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको म्याद आगामी २०८३ असार २० गतेसम्म छ ।

भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ ।

आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्युरोड, कालीपुुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण भएको छ । यस वर्ष बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा रहेका म्याग्दी, पर्वत र मुस्ताङमा छवटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुुरमान श्रेष्ठले बताउनुभयो ।

ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । ती आयोजनाको कुल लागत अनुमान रु २० करोड २९ लाख ७६ हजार ८३९ रहेको छ ।

बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा एक सय दुई, रघुगङ्गा गाउँपालिका–३ स्थित गायत्री मन्दिर संरक्षणका ५३ मिटर र पर्वतको जलजला गाउँपालिका–३ बौरस्थित कालीगण्डकी नदी किनारमा ८० मिटर, कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको केन्द्र लामाखेतस्थित कालीगण्डकी नदीमा एक सय २९ मिटर लामो पर्खाल निर्माण गर्न लागिएको हो । मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न बस्तीमा पनि नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।नदी कटानका कारण उच्च जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि योजना माग भएअनुसार कार्यालयबाट ती आयोजना छनोट गरी कार्यान्वयनमा लगिएको कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो ।

एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

काठमाडौँ, ९ मङ्सिर : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।

करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

साढे आठ वर्षमा पनि बनेन कञ्चनपुरको हुलाकी सडक

महेन्द्रनगर (कञ्चनपुर), ९ मङ्सिरः तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो ।

तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । कूल ६२ किमी सडकमध्ये हालसम्म ५० किमी मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन चरणमध्ये दोस्रो चरणको करिब १२ किमी हुलाकी सडक कालोपत्र हुन नसकेको बताउनुभयो ।

“दोस्रो २२ किमीको काममा एक हजार १०० मिटर भारतसँगको सीमा विवादका कारण निर्माण छाडेको हो । सोसहित १२ किमी कालोपत्र भएको छैन”, उहाँले भन्नुभयो, “२२ किमीको निर्माण अन्तिम चरणमा पुगेको छ ।”

त्यसैगरी सोही सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणका लागि चालु आवमा रु २५ करोड बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीलगायत अन्य जिल्लासम्मको आवागमनमा सहज भएको छ ।

“वर्षौंसम्म हिलो र धुलो खाएर यात्रा गर्नुपरेको छ”, बेलौरीका शिक्षक केशव विष्टले भन्नुभयो, “अढाई वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुप¥यो ।”

मुलुकको विकासका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा उपाध्यक्ष डा स्वर्णिम वाग्लेलेको जोड

तनहुँ, ९ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि राजनीतिक दल, नागरिक समाजलगायत सरोकार भएका निकायले एकापसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जिल्लाको व्यास नगरपालिका–१ स्थित रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा सोमबार उहाँले मुलुकको विकासका लागि सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य गरी अआपसी सहकार्य बढाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“जिल्लालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीयवासीले देखाएको कार्य अनुकरणीय छ”, उहाँले भन्नुभयो, “सबै कुरा सरकारले मात्रै गर्न सक्दैन्, आफ्नो क्षेत्रको विकासका लागि राजनीतिक दल, आमनागरिक पनि एकजुट भएर लाग्न आवश्यक छ ।”

जेनजी आन्दोलनपछि मुलुक नयाँ मोडमा गएको चर्चा गर्दै डा वाग्लेले राजनीतिमा देखिएको विकृतिलाई सङ्ल्याउँदै अघि बढ्न आफ्नो पार्टीले पटकपटक प्रतिनिधिसभामा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्नुभयो । युवा विदेश पलायन हुनेलाई न्यूनीकरण गर्दै स्वदेशमा बसेर गरिखाने वातावरण सिर्जना गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा डा वाग्लेले धर्मशाला निर्माणार्थ रु २५ हजार सहयोग गर्नुभएको थियो । महायज्ञका मूल पण्डित कपिलदेव भट्टले वाग्लेलाई टीका, दोसल्ला र प्रमाणपत्रले सम्मान गनुभयो ।

र्मशाला, होम कुण्ड र शिवलिङ्ग कुण्ड निर्माण गर्ने उद्देश्यले यही मङ्सिर ६ देखि १३ गतेसम्म महायज्ञको आयोजना गरिएको महायज्ञका मूल समारोह समितिका संयोजक अभिमानसिं बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञबाट करिब रु दुई करोडभन्दा बढी दान सङ्कलन गर्ने अपेक्षा गरिएको छ ।

बागमती प्रदेशको १३ जिल्लामा दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता थप

मकवानपुर, ९ मङ्सिरः बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ । विसं २०७९ मङ्सिरमा भएको निर्वाचनमा प्रदेशको मतदाता सङ्ख्या ३४ लाख २२ हजार ८६९ थियो ।

मकवानपुर जिल्लामा गत २०७९ को निर्वाचनमा तीन लाख दुई हजार २४ जना मतदाता रहेकामा राष्ट्रिय परिचयपत्रको तथ्याङ्कबाट सात हजार ६३३ जना र प्रदेश निर्वाचन कार्यालयमा दर्ता भएका छ हजार ९७० जना नयाँ मतदाता थप भएका बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग

काठमाडौँ, ९ मङ्सिरः पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ । विभागका अनुसार भक्तपुरको मध्यपुरथिमिमा रहेको हलेसी मार्ट प्रालिलाई रु दुई लाख जरिवाना गरेको छ । सोही स्थानका ओम शिवशक्ति सेरामिक प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को (१) बमोजिम कारबाही गरिएको हो । विभागले काठमाडौँ र भक्तपुरका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको हो ।

त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।

उपभोक्ता संरक्षण ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, विक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहायबमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना गर्न सक्नेछन् ।

विभागले काठमाडौँ १६ क्षेत्रपाटीको होम मेड स्पाइन्स एण्ड टीसपलाई रु २० हजार, जिकेएसएस इन्टरप्राइजेज प्रालि गट्ठाघरलाई रु १० हजार, आशिष टे«ड लिङ्क क्षेत्रपाटीलाई रु १० हजार जरिवाना गरेको छ ।

विभागले आइके सर्जिकल सप्लायर्स क्षेत्रपाटी काठमाडौँलाई रु ५५ हजार जरिवाना रकमसहित २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिएको छ । सिटी मिनरल वाटर एण्ड वेभरेज प्रालि टोखा–८ काठमाडौँलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य सात वटा उद्योग तथा फर्मलाई भने सामान्य निर्देशन दिइएको छ ।

मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै

काठमाडौँ, ९ मङ्सिरः मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । उहाँले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो ।

विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उहाँ नियुक्त हुनुभएको थियो । मुख्यसचिवका रूपमा उहाँले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गर्नुभयो ।

उहाँको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले स्पष्ट पार्नुभयो । यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ ।

एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उहाँको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ । योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ ।

सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ । उहाँको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ ।उहाँको कार्यकालमा अन्तरराष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०९ पैसा र बिक्रीदर नौ रुपैयाँ १३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ०५ पैसा र बिक्रीदर २० रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ १० पैसा र बिक्रीदर ३९ रुपैयाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३४ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०२ पैसा र बिक्रीदर २२ रुपैयाँ ११ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४६५ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३७७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ५२ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ६४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटासहित सात जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, ९ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा अर्जुनप्रसाद सापकोटासहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

कोरोना महामारीको समयमा व्यक्तिगत सुरक्षा सामग्री (स्वास्थ्य सामग्री) खरिदमा अनियमितता गरेको आरोपमा हेटौँडास्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा सापकोटा र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजसहित सात जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा कोभिड–१९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिदका लागि आह्वान गरेको बोलपत्रमा कम मूल्य कबोल गर्ने फार्मलाई पन्छाएर बढी मूल्य कबोल गर्ने फार्मलाई ठेक्का दिएको र सो बाट राज्यलाई रु ३१ लाख १७ हजार ८९ गैरकानुनी हानी पुगेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

सो अनियमिततामा संलग्न भएको आरोपमा डा सापकोटा, तत्कालीन लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर राजेश्वर रञ्जितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो, तत्कालीन बायोमेडिकल इञ्जिनियर राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत नेत्र नरसिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका प्रोप्राइटर नवराज श्रेष्ठविरुद्ध समान रु ३१ लाख १७ हजार ८९ बराबरको बिगो मागदाबी गरिएको छ ।

अख्तियारले निज सातै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ समेतको कसुरजन्य कार्य गरेको हुँदा उक्त कसुरमा संलग्न निज प्रतिवादीउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

काठमाडौँ, ९ मङ्सिरः गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन् । प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छाडिएको जनाएको छ ।

एक सय १३ जनामाथि अनुसन्धान भइरहेको जनाउँदै ३३ जनालाई धरौटीमा छाडिएको छ भने पुर्पक्षका लागि ४३ जनालाई थुनामा पठाइएको छ । आगजनी, तोडफोड, आपराधिक उपद्रवसँगसम्बन्धी एक सय चार वटा जाहेरी दर्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । त्यसमा व्यक्तिगत २२, सरकारी कार्यालय आगजनी र तोडफोड गरेको ६६, संस्थागत एवं व्यापारिक प्रतिष्ठानमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आगजनी र तोडफोड गरेका सम्बन्धमा १६ वटा जाहेरी दर्ता भएका छन् ।

प्राप्त जाहेरी दर्खास्त सङ्ख्या ४२ रहेका छन् । त्यसमा तीन जना प्रहरी कर्मचारी रहेका छन् । पहिचान नखुलेको सात जनाको डिएनए परीक्षण प्रक्रिया अघि बढेको छ । हराएका भनिएकाको हुलिया प्राप्त भएको छ । आन्दोलनका क्रममा भवन संरचनाको क्षति सम्बन्धमा २२८ वटा मुचुल्का सम्पन्न भएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय दुई कैदीबन्दीलाई पक्राउ गरी दाखिला गरिएको छ । हालसम्म ८३ नाल हतियार बरामद तथा दाखिला गरिएको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म ६४ राजनीतिक दल दर्ता

काठमाडौँ, ९ मङ्सिरः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ।

आयोगका अनुसार यही मङ्सिर १ गते १२, मङ्सिर २ गते पाँच, मङ्सिर ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए । सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल दर्ता भएका थिए । आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएकामा निर्वाचन प्रयोजनका लागि बुधबारसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा ब्राजिलको बेलेममा सम्पन्न भएको छ । यही नोभेम्बर १०–२१ तारिखसम्म आयोजना भएको सम्मेलनको निष्कर्षमा सहमति हुन नसक्दा निर्धारित समय लम्बिएको हो । सदस्य राष्ट्रहरूबीच जीवाष्म इन्धनको मुद्दा, अनुकूलन वित्त, जलवायु न्यायलगायत विषयमा सहमति हुन नसक्दा एक दिन समय लम्बिएको थियो ।

सम्मेनलस्थलमा अधिकारकर्मी र आदिवासी समुदायले आफ्ना हकअधिकार तथा जीवाष्म इन्धन अन्त्यको मागसहित विशाल प्रदर्शन गरेका थिए । अन्तिम साता सम्मेलनस्थलमा भएको आगलागीले केही समय कार्यक्रम सञ्चालनमा अवरोधसमेत पुगेको थियो ।

यस सम्मेलनमा देखिएको विश्वभरबाट रहेको सहभागिता, छलफल र निष्कर्ष हेर्दा उपलब्धि औसत रहेको जानकारहरूको भनाइ छ । संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिका पेरिस सम्झौताबाट बाहिरिएको घटनाले पनि सम्मेलन तुलनात्मक रूपमा उत्साहजनक देखिएन ।

अर्काेतर्फ रुस–युक्रेन युद्धले सम्पूर्ण युरोप र रुसबीच देखिएको ध्रुवीकरण, इजरायल–गाजा भयानक युद्धको भर्खरै समाप्तीलगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको द्वन्द्वका बीच यो सम्मेलन भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तन कार्यकारी सचिव साइमोन स्टिलले सम्मेलन समापनमा सम्बोधन गर्दै यस वर्ष एउटा देश पछाडि हटेको विषयले ठूलो ध्यान खिचेको बताउनुभयो । उहाँका अनुसार तीव्र राजनीतिक हावाहुरीबीच पनि १९४ देशहरू जलवायु सहयोगका पक्षमा ठोस र अविचल समर्थनसहित ऐक्यबद्ध रूपमा उभिएका छन् ।

उहाँले सम्मेलनमा एक दशमलव पाँच डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा राष्ट्रहरू एकसाथ उभिएका भन्दै पेरिस सम्झौता प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो । कार्यकारी सचिव स्टिलले हालको भू–राजनीतिक तनाव, विभाजन र जलवायु अस्वीकारले अन्तरराष्ट्रिय सहकार्यलाई असर पारे पनि १९४ देशहरूको ऐक्यबद्धता जलवायु कार्यका लागि महत्वपूर्ण आशाको स्रोत भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी अहिले जलवायु लडाईं जितिरहेका छैनौँ, तर हामी निःसन्देह अझै पनि यसमा छौँ र लडिरहेका छौँ ।” सम्बोधनमा उहाँले जलवायु सहनशीलता, स्वच्छ ऊर्जा र न्यायोचित रूपान्तरणसम्बन्धी नयाँ सहमतिलाई कोप–३० को महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार रूपान्तरणको मार्ग अपरिवर्तनीय भइसकेको छ । नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी जीवाष्म इन्धनको भन्दा दोब्बर भएको तथ्यले यसलाई पुष्टि गर्छ ।

कार्यकारी सचिव स्टिलले कोप–३० ले अगाडि सारेको कार्यसूचिअन्तर्गत स्वच्छ विद्युत् ग्रिडका लागि एक ट्रिलियन डलर, सयौँ मिलियन हेक्टर वन, भूमि तथा महासागर संरक्षण तथा पुनःस्थापना र ४० करोडभन्दा बढी मानिसलाई जलवायु–प्रतिरोधसक्षम बनाएको प्रगति उल्लेख गर्नुभयो ।

दैनिक जीवनमा बढ्दो महँगी, प्रदूषण, जलवायु–विपद्का जोखिम र ऊर्जा मूल्य वृद्धिजस्ता चासोहरूलाई यस सम्मेलनले सम्बोधन गर्न सुरु गरेको उल्लेख गर्दै उहाँले दुष्प्रचारले विश्वव्यापी जलवायु प्रयासलाई कमजोर पारेको चेतावनी दिनुभयो । सम्बोधनमा उहाँले धेरै मुलुकहरूले जीवाष्म इन्धनको निर्भरता घटाउने, वित्तीय योगदान बढाउने र जलवायु–विपद्को प्रतिक्रिया क्षमता विस्तार गर्ने मागलाई समर्थन गरेको बताउनुभयो ।

यद्यपि सबै विषयमा अपेक्षित जति छिटो प्रगति नभएको स्वीकार गर्दै कार्यकारी सचिव स्टिलले कोप–३० ले मार्ग स्पष्ट बनाइदिएको बताउनुभयो । अबको प्राथमिकता राष्ट्रिय जलवायु योजना (एनडिसिज) हरूको शीघ्र कार्यान्वयनमा केन्द्रित हुनुपर्नेछ । कार्यकारी स्टिलले सम्मेलनमा प्रस्तुत ‘मुटिराओ’ (सामूहिक प्रयासको भावना) अब भविष्यका वर्षमा पनि निरन्तरता पाउनुपर्ने बताउनुभयो ।

जलवायु विज्ञ मञ्जित ढकालले विश्व भू–राजनीतिक अवस्था, जलवायु परिवर्तनका घटनामा उल्लेख्य वृद्धि, पेरिस सम्झौताको १० वर्षलगायत विषम परस्थितिमा भएको कोप–३० सम्मेलन भएको बताउनुभयो । यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा रहेर सम्मेलनमा सहभागी राष्ट्रहरुले सहकार्य गरी जलवायुका असर समाधान गर्ने एकमत देखिएको सन्देश दिन सफल भएका उहाँले बताउनुभयो ।

त्यस्तै, अतिकम विकसित राष्ट्रहरुले उठाएको अनुकूलन सहयोग तीनगुणा बढाउनुपर्ने विषय समेटिएको विषय सकारात्मक छ भने अर्काेतिर नेपाल, भूटान कीजिगिस्तानलगायत मुलुकहरूले उठाएको हिमालका विषय समेट्नुपर्ने भन्ने आवाजलाई एक हदसम्म सम्बोधन भएको छ । कार्बन उत्सर्जन घटाउने विषयमा भने तेल उत्पादन गर्ने राष्ट्रहरुको दबाबका कारण ठोस उपलब्धि हुन नसकेको विज्ञ ढकालले उल्लेख गर्नुभयो ।

नेपालका लागि कति उपलब्धिमूलक ?

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिनुभएका कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारका अनुसार सम्मेलनमा नेपालले आफ्ना मुद्दा उजागर गर्ने सन्दर्भमा फलदायी भएको छ । उहाँले सम्मेलनको मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै विकसित राष्ट्रहरूले विगतमा गरेका जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभएको थियो ।

विश्वव्यापी बढ्दो तापक्रमलाई नियन्त्रण गर्न १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्य साकार पार्न उदाउँदो अर्थतन्त्रसहित सबै पक्षहरूले रचनात्मक रूपमा संलग्न हुनुपर्नेमा उहाँको जोड थियो । मन्त्री डा परियारले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादको सन्दर्भ स्मरण गराउँदै युएनएफसिसिसी प्रक्रियामा हिमालसम्बन्धी एजेन्डालाई तुरुन्तै समावेश गराउन आग्रह गर्नुभएको थियो ।

जलवायु परिवर्तनका असरबाट प्रभावित नेपालजस्ता मुलुकका लागि जलवायु वित्तमा वृद्धि, सहज पहँुच, प्रक्रिया सरलीकरण र प्रविधि हस्तान्तरणजस्ता विषयमा पनि नेपालले जोड दिएको थियो ।

त्यस्तै, वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कोप–३० सम्मेलनको पूर्वसन्ध्यामा गत कात्तिक २० र २१ गते भएको ‘लिडर समिट’मा नेपालका तर्फबाट वक्तव्य दिँदै पृथ्वीको सुरक्षाका लागि सबैले मिलेर कार्य गर्नुपर्ने बताउनुभएको थियो । उहाँले हिमालय क्षेत्र नेपालको पहिचान मात्र नभई अर्बौं जनताका लागि जैविक विविधता, स्वच्छ हावा र पानीका प्रमुख स्रोत भएको बताउँदै यसको सुरक्षाका लागि सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको थियो ।

सचिव डा मिश्रले नेपालमा जलवायु सङ्कट तीव्र बन्दै गएको उल्लेख गर्दै यस वर्षमात्र बाढी, पहिरो, खडेरी, हिमताल फुट्ने घटना र वन डढेलोका कारण तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाउनुपरेको अवगत गराउनुभएको थियो ।

वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले सम्मेलनमा नेपालका जलवायुका मुद्दा उजागर गर्ने, संरक्षण र अनुकूलनमा भएका राम्रा अभ्यास तथा प्रयासका बारेमा विश्वजगतलाई अवगत गराउने काम भएको बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा नेपालले जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा ६, जलवायु वित्त, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरण तथा जलवायु न्यायलगायतका विषयका मुद्दा उठाएको थियो ।

नेपालले खासगरी सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको छ । पेरिस सम्झौताअनुसार विश्वसमुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरे पनि सन् २०५० भन्दा पहिले हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ ।

साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान अध्ययनले गरेका छन् । तसर्थ यस विषयको संवेदनशीलतालाई बुझेर हिमाल संरक्षणका लागि प्रभावकारी कदम चाल्न समयमै विश्वको ध्यान जान जरुरी छ ।

आज सीता र रामको पूजा गरी विवाह पञ्चमी मनाइँदै

काठमाडौँ, ९ मङ्सिरः त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिने हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत रहेको छ ।

सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव: मन्त्री खरेल

चरिकोट, ८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दोलखाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उहाँले राज्य संयन्त्रलाई सरकारले हस्ताक्षेप नगर्ने तर प्रभावकारी बनाउन मद्दत गर्ने बताउनुभयो ।

मन्त्री खरेलले सुशासनका लागि खर्च कटौती गर्ने नीतिसहित काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री सुशीला कार्कीले कम खर्च र मितव्यता अपनाउँदै काम गर्ने र ‘जेनजी’ का माग पूरा गर्न स्पष्ट निर्देशन दिएको उहाँले बताउनुभयो ।

मन्त्री खरेलले देशको राजधानी, भारत र चीनबाट समेत नजिक भएर पनि दोलखाको विकास नभएको भन्दै यसमा राजनीतिक खिचातानी मुख्य कारण रहेको धारणा राख्नुभयो । अब पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर जिल्ला मात्रै होइन देश विकासमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

“दोलखा जलविद्युत्, हिमाल, धार्मिकस्थल, जल, जङ्गल, जडीबुटीले भरिपूर्ण हुँदाहँुदै बाह्य पर्यटकको थलो किन बन्न सकेन् ? उत्तर खोज्दा सबैले मम भन्नुपर्ने बेला आएको छ । यति हुँदाहँुदै पर्यटकीय हिसाबले किन पछाडि भयौँ ? यो कुरालाई राजनीतिभन्दा माथि उठेर सोच्ने र दोलखालाई शिरमाथि राखेर काम गर्न आवश्यक छ”, मन्त्री खरेलले भन्नुभयो ।

साउदी अरबमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू खुकुलो पारेको छ । साउदी अरबमा कार्यरत विदेशी कूटनीतिज्ञ र प्रिमियम भिसाधारकहरूले एएफपीसँग भने, “सरकारले हालैका दिनहरूमा रक्सी बिक्रीको बारेमा कुनै बयान नदिएको भए पनि स्रोतका अनुसार तथाकथित प्रिमियम आवासीय दर्जा भएका गैर–मुस्लिम व्यक्तिहरूले अब रियादमा रहेको देशको एकमात्र मदिरा पसलमा रक्सी किन्न पाउनेछन् । यो यस पहिले कूटनीतिज्ञहरूका लागि मात्र खुला रहने गरेको थियो।”

एएफपीले कुरा गरेका चार व्यक्तिहरूले नाम नबताउने शर्तमा (साउदी अरबको कडा कानुनका कारण सरकारले घोषणा नगरेको कुरा सार्वजनिक गर्दा समस्या हुने भएकोले) नियमहरू परिवर्तन भएको बताए । उनीहरू कूटनीतिक स्रोत र प्रिमियम भिसा स्थिति दुबै भएका केही बासिन्दाहरू थिए।
“मैले यसको बारेमा साथीहरूबाट सुनेको थिएँ । मैले पनि खरीदका लागि प्रयास गरे । म दुई दिनअघि त्यहाँ गएको थिएँ र मेरा लागि खरिद खुला थियो,” नाम नबताउने सर्तमा एक प्रिमियम भिसाधारकले एएफपीसँग भने । उनले भने, “यसले मलाई कालो बजारबाट किन्नुको सट्टा धेरै पैसा बचायो। मूल्यहरू उचित छन् र हामी अन्ततः साउदी अरबमा रक्सी किन्न सक्ने भएका छौँ ।”

एएफपीले रिपोर्टमा टिप्पणीको लागि साउदी अधिकारीहरूसँग सम्पर्क गरेको थियो तर उनीहरूले समाचार प्रकाशित हुने बेलासम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
सन् २०१९ मा सुरु गरिएको साउदी अरबमा प्रिमियम रेजिडेन्टको स्थिति विदेशीहरूको चयन समूहको लागि उपलब्ध छ । यसका लागि एक पटकका लागि आठ लाख रियाल रियाल (झण्डै दुई लाख १३ हजार अमेरिकी डलर) को एक पटक भुक्तानी आवश्यक पर्छ । त्यसपछि उनीहरूका लागि विभिन्न आवश्यकताहरू पूरा गर्न साउदी नागरिक र अन्य सामान्य विदेशी पर्यटक, व्यवसायी तथा श्रमिकको तुलनामा सहज हुने गर्छ ।

भिसाले मानिसहरूलाई स्थानीय ‘प्रायोजक’ बिना नै साउदी अरबमा बस्न, काम गर्न र स्वतन्त्र रूपमा लगानी गर्न अनुमति दिन्छ । अन्य गैर–नागरिकहरूलाई साउदी अरबमा बस्नको लागि एक प्रकारको ‘साक्षी’ आवश्यक छ।एक प्रिमियम रेसिडेन्सी–धारक विदेशीले एएफपीलाई बताए, “एक विदेशी व्यक्तिले मैले रक्सी किन्नुअघि मरोजस्तै पहिचान भएका एक विदेशी व्यक्तिले पनि खरीद गरेको थिए।”

“यसले ै मेरो लागि काम वास्तवम ग¥यो, यो धेरै सजिलो छ,” उनले भने।एक पश्चिमा कूटनीतिज्ञले एएफपीसँग प्रिमियम रेसिडेन्सीको पहिचान भएका व्यक्तिहरूले पछिल्ला केही दिनहरूमा सहजै मदिरा किन्न सकेको बताएका थिए।

उनले भने, “प्रवासीका ह्वाट्सएप ग्रुपहरूमा यही समाचारहरू आइरहेका छन्।”एक कूटनीतिज्ञले एएफपीलाई भनिन्, “मदिरा पसल खचाखच भरिएको थियो, जब उनले मानिसहरुलाई ३० बोतलसम्म मदिरा लिएर बाहिर निस्किरहेको मैले देखेको थिएँ।”

मदिरा नियमहरू स्पष्ट रूपमा खुकुलो भएको लगभग दुई वर्ष पछि साउदी अरबले सन् २०२४ जनवरीमा विशेष गरी गैर–मुस्लिम विदेशी राजदूतहरूलाई सेवा प्रदान गर्न राजधानीको कूटनीतिज्ञहरूको आवागमन हुने क्षेत्रमा आफ्नो पहिलो र एक मात्र रक्सी पसल खोलेको थियो ।

“त्यस समयमा कुनै आधिकारिक घोषणा भएको भने थिएन, दुई छुट्टाछुट्टै स्रोतहरूले एएफपीसँग पुष्टि गरे।
साउदी क्राउन प्रिन्स र वास्तविक शासक मोहम्मद बिन सलमान शक्तिमा आएपछि साउदीले अर्थव्यवस्थालाई विविधीकरण गर्ने र पर्यटक र अन्तर्राष्ट्रिय व्यापारलाई आकर्षित गर्ने योजना अनुसार निरन्तर परिवर्तनहरू गरिँदै आएको छ।

अहिले महिलाहरूलाई गाडी चलाउन अनुमति दिइएको छ, विदेशी पर्यटकहरूलाई स्वागत गरिएको छ र पुनः सिनेमा घरहरू खुलेका छन्।तथापि, इस्लामको जन्मस्थान र यसका दुई सबैभन्दा पवित्र शहरहरूको घर रहेको राज्यमा मदिरालाई खुला गर्ने बिषयले चर्चा पाउने बिषय बनेको छ । अहिले पनि यो स्वदेशी मुश्लिमहरूको लागि खुला गरिएको छैन ।

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ

वीरगञ्ज (पर्सा), ८ मङ्सिर: स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट रु १५ लाख बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार निजको साथबाट स्रोत नखुलेको रू एक हजार दरका ७९० थान नोट अर्थात् सात लाख ९० हजार र रु पाँच सय दरका एक हजार ३०१ थान नोट अर्थात् रु छ लाख ५० हजार बरामद गरिएको हो । यस्तै, रु १०० र ५० का अन्य रकमसमेत बरामद गरिएको छ ।

प्रवक्ता बस्नेतले पक्राउ परेका पटेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

एनआरएनएमा बृहत् एकता अत्यावश्यक भई सकेको छ: उपाध्यक्ष सुनील साह

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सुनील साहले नेपालमा हालै भएका राजनीतिक परिवर्तनको कारणले पनि गैर आवासीय नेपाली संघमा बृहत् एकता अत्यावश्यक भई सकेको बताएका छन्।

आफू सधैँ सहमतिको पक्षमा, जहिले पनि मिल्नु पर्छ भन्ने पक्षमा रहेको साहले बताए । “नेपालको अहिलेको परिस्थितिमा हामीले पुनर्निर्माणमा सहयोग गर्नु पर्ने छ। एनआरएनएले काठमाडौँस्थित ट्राफिक प्रणालीको पुनर्निर्माणमा सहयोग गरेको छ। तर हामी एकताबद्ध भयौँ भने अझ बलियो सहयोग गर्न सक्छौँ,” उनले भने।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनले गत मे महिनामा महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो। त्यसैले हाम्रो भनाइ चाहिँ एकता महाधिवेशनको म्यान्डेट अनुसार नै सहमति हुनु पर्छ भन्ने हो। एनआरएन नागरिकताको कार्यान्वयनको लागि, नेपालको विकास र समृद्धिको लागि पनि हामी मिलेर गयौँ भने मात्र हामीले आफ्नो लक्ष प्राप्त गर्न सक्छौँ,” उनले भने।

सङ्घलाई एकताबद्ध बनाउन एनसीसी अमेरिकाको गहन भूमिका रहने बताउँदै एनसीसी अमेरिकाका पूर्व अध्यक्ष रही सकेका साहले एनसीसी र केन्द्रमा पनि एकता कायम गर्न आफूले सक्दो प्रयास गरिरहेको जनाए।

संघका केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा गत १ नोभेम्बरमा तयार गरिएको सहमति पत्रको मस्यौदाले एनआरएनएलाई पुनः साझा मञ्चमा ल्याउने इमानदार प्रयास गरेको बताउँदै साहले उक्त मस्यौदाले सङ्घलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैर राजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रूपमा सुदृढ बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको जनाए ।

“संघको १० औँ महाधिवेशन पछि गठित विभिन्न समितिहरूको अस्तित्वलाई स्वीकार गर्दै विगतमा एनआरएन अभियन्ताहरूको योगदानलाई पनि हामीले सम्मान गर्नु पर्दछ । अदालतमा रहेका मुद्दाहरूलाई आपसी सहमतिमा फिर्ता लिएर संस्थागत एकताको दिशामा ठोस कदम चल्न सकिन्छ,” उनले भने ।

” एनआरएनए कुनै व्यक्ति वा समूहको मात्रै सङ्गठन होइन, यो विश्वभरका नेपालीहरूको साझा संस्था हो। त्यसैले व्यक्तिगत इगो र विगतका तीता मिठा घटनाक्रमलाई बिर्सेर संस्था र मातृभूमिको सर्वोपरि हितका लागि एकताबद्ध हुनुको विकल्प छैन,” साहले भने।

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौँ, ८ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र सम्बद्ध पक्षलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकामा बधाई दिनुभएको हो ।

यो उपलब्धि नेपाली खेलकुदकै लागि ऐतिहासिक र गौरवको विषय भन्दै प्रधानमन्त्री कार्कीले दृष्टिविहीन महिला क्रिकेट टोलीलाई थप उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।“तपाईँहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण यो उपलब्धि प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “तपाईंहरू हरेक खेलाडी र अफिसियल यस उपलब्धिको हकदार हुनुहुन्छ । अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस् ।”

प्रधानमन्त्री कार्कीले आफ्नै पहलमा खेलाडीले देखाएको प्रतिभा सराहनीय रहेको उल्लेख गर्दै यसमा सरकारले लगानी गर्न सकेमा अझै प्रगति हुने बताउनुभयो । अब सरकारका तर्फबाट गर्न सकिने सहयोगबारे सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्ने उहाँको प्रतिबद्धता थियो ।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलङ्कामा भएको प्रतियोगितामा दोस्रो भएको हो । उहाँहरूले साधनस्रोत सम्पन्न मुलुकका टोलीलाई जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्ने क्षमता रहेको बताउनुभयो ।

सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

मङ्गलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा उनले आज यहाँ आएको अवसरमा निरीक्षण भ्रमण गरेका हुन् । मन्त्री अर्यालले आजै लुम्बिनी पुगेर मायादेवी मन्दिरको दर्शन गर्दै त्यहाँको समग्र वस्तुस्थितिबारे पनि जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा मन्त्री अर्यालसँग गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख र जिल्लाका प्रहरी प्रमुखको उपस्थिति रहेको थियो ।

मन्त्री अर्याललाई प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जाँच चौकीको भौतिक प्रगति तथा उपलब्ध हुने सेवाबारे जानकारी गराएका थिए । हालसम्म जाँच चौकीको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत पुगेको जानकारी गराइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालको भैरहवास्थित सीमा सुरक्षा गुल्म, पुगेर समग्र सीमा सुरक्षा तथा वस्तुस्थितिबारे जानकारी लिएका छन्। त्यस क्रममा उनले नेपाल–भारत सीमामा हुनसक्ने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि कठोर भएर र नेपाली नागरिकलाई सीमामा हुन सक्ने हैरानीबारे सचेत रहँदै सहज वातावरण बनाउन निर्देशन दिए ।

मन्त्री अर्यालले सीमाबाट हुनसक्ने अवैध ओसारपोसार, अवान्छित गतिविधि नियन्त्रणका लागि पनि जिल्ला सुरक्षा प्रमुखलाई निर्देशन दिए ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त

जेनेरेटिभ एआई भविश्यमा मेरी शेलीद्वारा लिखित उपन्यास ‘फ्रान्केस्टाइन’ को प्रमुख पात्र (राक्षस) जस्तै समस्या बन्न सक्ने संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बताउनुभएको छ।

शक्तिशाली विशाल प्रविधि कम्पनीले विश्वमा एआइको प्रयोगलाई बिस्तार गरिसकेका र यसको विकासले मानव अधिकारका बिषयलाई छाँयामा पार्न सक्ने उहाँले बताउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले भन्नुभयो, “जेनेरेटिभ एआईसँग ‘ठूलो आशा’ छ तर विशुद्ध राजनीतिक वा आर्थिक फाइदाका लागि गरिने हेरफेरले समाजलाई विकृत गर्न र विचलित गर्न सक्छ।”

उहाँले भन्नुभयो, “गोपनीयता, राजनीतिक सहभागिता, अभिव्यक्ति स्वतन्त्रताजस्ता धेरै मानवअधिकारमाथि खतरा उत्पन्न हुनसक्ने सम्भावना विद्यमान समयमा नै स्पष्ट अनुभव गर्न थालिएको छ।

“उचित सुरक्षा र नियमहरू बिना, एआई प्रणालीहरू आधुनिक समयको ‘फ्रान्केस्टाइन’ को राक्षसमा परिणत हुने सम्भावना छ,” उहाँले थप्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तले ‘आजको चेतावनी भोलिको लागि ‘हानिमा परिणत हुन सक्छ’ र यसले उदीयमान प्रविधिहरूको प्रतिबद्धतालाई कमजोर पार्न सक्छ र अप्रत्याशित परिणामहरू निम्त्याउन सक्छ।”

“यस्तो परिणाम रोक्न सरकारहरूको जिम्मेवारी हो।टर्कले जेनेरेटिभ एआई बाहेक कर्पोरेट शक्तिको बढ्दो एकाग्रता र ‘सीमित’ व्यक्ति वा संस्थामा व्यक्तिगत र कर्पोरेट सम्पत्तिको ठूलो संचय’ हुनुबाट उत्पन्न हुनसक्ने खतरालाई पुष्टि पारेको छ।

“केही अवस्थामा यो सम्पूर्ण देशको अर्थतन्त्रभन्दा बढी हुन्छ”, उहाँले भन्नुभयो, “जब शक्तिलाई कानूनले सीमित गर्दैन, यसले दुरुपयोग र अधीनता निम्त्याउन सक्छ।”

पोखरा–मुग्लिन सडक विस्तार : विजयपुर पुलको प्रगति ७० प्रतिशत, सेतीको ५३

गण्डकी – पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजनाअन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।

उक्त सडक योजनाको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको छ ।

शनिबारदेखि पुलमा ‘गिर्डर लञ्चिङ’ को काम भइरहेको उहाँले बताउनुभयो । “अहिलेसम्म चार वटा गिर्डर लञ्चिङ भइसकेको छ, अझै ११ वटा गिर्डर लञ्चिङ गर्न बाँकी छ”, प्रमुख कुँवरले भन्नुभयो, “गिर्डर लञ्चिङपछि पुलको स्लाब र दुवैतर्फको सडक ढलान हुन्छ ।” आउँदो बिहीबारसम्मलाई बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द गरेर ‘गिर्डर लञ्चिङ’ को काम गरिएको हो ।

सडक ठेक्काअन्तर्गत उक्त पुल निर्माण भइरहेको हो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नति गरिरहेको छ । यस खण्डमा विजयपुर खोलासँगै सेती नदीमा पुल निर्माण भइरहेको छ । पोखरा–९ र १० लाई जोड्ने गरी सेती नदीमा निर्माणाधीन उक्त पुलको भौतिक प्रगति ५३ प्रतिशत पुगेको प्रमुख कुँवरले बताउनुभयो ।

गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलको प्रगति न्यून देखिएको हो । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार वटा जगको काम पूरा भइसकेको छ । चार वटा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख कुँवरले जानकारी दिनुभयो । छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा ‘सिग्नेचर’ पुल बन्ने उहाँको भनाइ छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो ।

५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका हुन् ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । “पश्चिम खण्डमा विजयपुर खोला र सेती नदी पुल मात्र निर्माणको चरणमा छ, अन्य पुल बनेर पनि सञ्चालनमा आइसकेका छन्”, प्रमुख कुँवरले भन्नुभयो ।

पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति झण्डै ६१ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत पुगेको प्रमुख कुँवरले बताउनुभयो । कूल ३८.८८ किमी दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र, २९.६१ किमिमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको जनाइएको छ ।

भोजपुर कारागारका कैदीबन्दीलार्ई ‘स्मार्ट कार्ड’

टक्सार (भोजपुर) – यहाँको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलार्ई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो ।

कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले कैदीबन्दीलार्ई नागरिक सेवामा पहुँच बढाउने र अभिलेखमा उनीहरूको पहिचान सुनिश्चित भई प्रशासनिक काममा समेत सहज हुने बताउनुभयो ।

महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए

जलेश्वर (महोत्तरी) – महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा २५ हजार २५४ मतदाता थपिएका हुन् ।

कार्यालयमा उपस्थित भएर तीन हजार ९३९ जना पुरुष र दुई हजार ८८९ जना महिला गरी जम्मा छ हजार ८२६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । यस्तै, १८ हजार ४२६ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाईनमार्फत नामावली दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो ।

दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको महोत्तरीमा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलार्ई मध्यनजर गर्दै आयोगले नामावली संकलन गरेको थियो ।

जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन हुने महासचिव पोखरेलको दाबी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेको बताएका छन् ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकाले मङ्सिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताए । “महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहेर हुने छन”, उनले भने ।

महासचिव पोखरेलले अनुसार पार्टीको भावी कार्यदिशा, संरचना र विधानसम्बन्धी महत्वपूर्ण निर्णयहरू महाधिवेशनमै अन्तिम रूप पाइसकेका छन् । उनले पार्टीको ११औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने बताए । “यो महाधिवेशन प्रतिगमन विरुद्धको निर्णायक राजनीतिक प्रक्रिया हुनेछ”, उनले भने ।

महासचिव पोखरेलले महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन हुने दाबी गरे । त्यसका लागि तलसम्म लाग्न पोखरेलले आग्रह गरे ।

उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनःनिर्माण जस्ता मूल राजनीतिक सवाललाई एजेण्डामा केन्द्रित गर्ने दाबी गरे । उनले युवा पुस्ता, विशेषतः जेन–जेड मैत्री संरचना निर्माणमा महाधिवेशनमा जोड दिइने र महिलाको सहभागिता तथा नेतृत्व भूमिकामा उल्लेख्य वृद्धि हुने बताए ।

काठमाडौँ विश्वविद्यालय र साथसाथै फाउण्डेशनबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ – काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्स र साथसाथै फाउण्डेशनबीच जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारी पत्रमा हस्तक्षर भएको छ ।

आज भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्राध्यापक डा वेदमणि दाहालले वातावरणीय पक्षलाई सामाजिक–आर्थिक दृष्टिकोणसँग जोड्न साथसाथै फाउण्डेशनसँगको सहकार्य अत्यन्त महत्वपूर्ण भएको बताए । उनले संयुक्त अनुसन्धान डिजाइन तथा कार्यान्वयनलगायत सहकार्यका मुख्य क्षेत्रहरू विस्तृत रूपमा स्पष्ट पारे ।

स्कुल अफ साइन्स उपप्राध्यापक स्मृति गुरुङले दुई पक्ष मिलेर व्यावहारिक समाधानमार्फत जलवायु न्यायका मुद्दा उठाउने सक्ने बताए ।

साथसाथै फाउण्डेशनका उपाध्यक्ष डा सिद्धार्थ बज्र बज्राचार्यले आफूहरुले दिगो पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायलाई सशक्त बनाउँदै त्यस क्षेत्रका काम गर्दै आएको र संस्थाले अहिलेसम्म गरेका कामहरुको बारेमा प्रकाश पारे।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले आफूहरुले विशेषगरी जलवायु न्यायका स्थानिय विषयलाई अन्तरराष्ट्रिय फोरममा उठाएको उल्लेख गरिन्। साथसाथै फाउण्डेशनले स्थापना कालदेखि नै जलवायु परिवर्तन र वातावरणसँग सम्बन्धित विभिन्न विषयमा खोज, अनुसन्धान, नीति निर्माणमा सहयोग तथा नेपालका एजेण्डालाई अन्तरराष्ट्रियस्तरमा उठाउँदै आएको छ ।

अध्यक्ष कार्कीले यसअघि काठमाडौँ विश्वविद्यालय र फाउण्डेशनको बीचमा कोप–२८ र विश्व वातावरण दिवसको दिन नेपाल कोल एक्जिट कार्यक्रम कार्यान्वयन गरिएको र त्यसलाई निरन्तरता दिइने बताइन् ।

‘जेनजी आन्दोेलनका क्रममा क्षतिग्रस्त भवनको पुनःनिर्माणमा जुट्यो सरकार’

काठमाडौँ, ८ मङ्सिरः सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त घर र संरचनाको पुनर्निर्माण अघि बढाएको छ । क्षतिग्रस्त सरकारी र निजी संरचनाको पुनःनिर्माणमा सरकारले औपचारिक रूपमा काम अघि बढाएको सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

सिग्देल अनुसार आन्दोलनका क्रममा करिब दुई हजार २०० घर एवं संरचनामा क्षति पुगेको थियो । जसमध्ये एक हजार ३०० सरकारी भवन छन् । मन्त्रालयले क्षतिग्रस्त संरचनामध्ये ६०० सङ्घीय भवन पुनःनिर्माणको जिम्मा लिएको छ । तीमध्ये २०० देखि २५० भवनको विस्तृत इञ्जिनियरिङ मूल्याङ्कन अघि बढाइएको हो । दुई महिनाभित्र डिजाइन र लागत अनुमानसहितको प्रतिवेदन तयार हुने अपेक्षा मन्त्रालयको छ ।

सचिव सिग्देलले प्रतिवेदन प्राप्त भए लगत्तै पुनर्निर्माण प्रक्रिया सुरु हुने बताउनुभयो । त्यसका लागि आवश्यक बजेट पुनःनिर्माण कोषमार्फत परिचालित हुनेछ ।मन्त्रालयअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान फ्लडलाइट जडान र १० हजार दर्शक क्षमताको प्यारामिटर निर्माणको पहिलो चरण पूरा भएको छ । दोस्रो चरणका लागि अर्थ मन्त्रालयमा बहुवर्षीय ठेक्का स्वीकृतिका लागि प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।

यद्यपि बजेट अभावले धेरै आयोजना प्रभावित भएको सचिव सिग्देलले बताउनुभयो । अहिले रु ६१ अर्ब ७६ करोड बराबरका आठ हजार १४० वटा आयोजना रोक्कामा परेपछि भुक्तानी, प्रगति र खरिद प्रक्रियामा समस्या देखिएको मन्त्रालयले जनाएको छ ।

पुराना क्रमागत आयोजनासमेत रोक्का सूचीमा परेकाले समस्या थप गम्भीर बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार सरकारले मूल्याङ्कन, डिजाइन र पुनःनिर्माण प्रक्रियालाई प्राथमिकतामा राखे पनि बजेट फुकुवाको प्रक्रिया चुनौती बनेको छ ।

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

चरिकोट, ८ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी फागुन २१ मै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भन्दै चुनावको माहोल बनाउन यहाँका कार्यालय प्रमुखलार्ई निर्देशन दिनुभएको छ ।जिल्ला समन्वय समितिको सभा हलमा आज भएको कार्यक्रममा उहाँले सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले चुनाव हुँदैन कि भनेर फैलाइने भ्रमलाई चिर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री खरेलले भन्नुभयो, “चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भइरहेको छ । आवश्यक स्रोतसाधनदेखि जनशक्ति जुटाउने काम भइरहेका छन् । त्यसैले भ्रम र कसैको दबाब एवं प्रभावमा नपरी मतदान केन्द्रमा गइ मत दिन वातावरण बनाउन लाग्नुस् । यसमा सबैको सहयोग आवश्यक छ ।”

उहाँले फागुन २१ गते चुनाव होला र ! भनेर कुनै संका नगर्न कर्मचारी, राजनीतिक दल, सुरक्षा निकाय र निर्वाचन कार्यालयहरूलाई आग्रह गर्नुभयो । मन्त्री खरेलले जनताले कुनै गुनासो नगर्ने गरी नियमित सेवा प्रवाहमा समेत ध्यान दिन सबै कार्यालय प्रमुखलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मतदान हुने स्थलको अनुगमन गरी अवस्था बुझ्ने काम निरन्तर भइरहेको बताउनुभयो । उहाँले जिल्लामा हाल एक लाख ६३ हजार १३३ जना मतदाता रहेका र विगतमा ९४ वटा मतदान केन्द्र रहेका जानकारी गराउनुभयो ।

‘अब आउने संसद्को बैठक नयाँ भवनबाटै बस्ने गरी काम भइरहेको छ’ :मन्त्री घिसिङ

काठमाडौँ, ८ मङ्सिर: सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो बैठक बस्ने गरी सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको कामलाई तीव्रता दिइएको जनाउनुभएको छ ।राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज उहाँले संसद् भवनको प्रगतिबारे जानकारी गराउँदै तीव्रताका साथ काम भइरहेको बताउनुभएको हो ।

मन्त्री कुलमान घिसिङले भन्नुभयो,“अब आउने सांसदले नयाँ संसद् भवनमै पहिलो बैठक बस्नुपर्छ भनेर लागिपरेका छौँ । अनुगमन संयन्त्र बनाएर नियमित रूपमा कामको मूल्याङ्कन भइरहेको छ । निर्माण पक्ष र कन्टलटेन्टहरूसँग निरन्तर जानकारी लिएर सुझावका आधारमा काम गराइरहेका छौँ ।”

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले १२ वटा भवनमध्ये अधिकांशको ‘सिभिल वर्क’ पूरा भइसकेको र भवनको भित्री सजावटको काम भइरहेको बताउयनुभयो । उहाँका अनुसार त्यसको भौतिक प्रगति करिब ३० प्रतिशत सम्पन्न भएको छ । ‘कन्फ्रेन्सिङ’ प्रणालीको करिब ७० प्रतिशत काम पूरा भएको छ । हालसम्म सङ्घीय संसद् भवनको समग्र ८७ प्रतिशत मात्र सम्पन्न भएको छ ।

निर्माणाधीन उक्त भवनको विसं २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । १५१ रोपनी जग्गामा १२ वटा भवन निर्माण भइरहेका छन् ।

हाल ‘फिनिसिङ’ र ‘मेकानिकल इलेक्ट्रिकल’ प्रणाली जडानको काम तीव्र गतिमा भइरहेका छन् । एउटाबाहेक सबै भवनको छाना जडान सकिएको छ । संसद् भवनको डोम क्षेत्रमा निर्माण जारी रहेको र एक महिनाभित्र डोमको माथिल्लो सिलिङ पूरा हुने सचिव सिग्देलले जानकारी दिनुभयो ।

“फ्लोर–सिलिङ, एलुमिनियम विन्डोज, पेन्टिङ, स्यानिटरी, फायर फाइटिङ, इलेक्ट्रिकल, हिटिङ–भेन्टिलेसनलगायत काम एकसाथ अगाडि बढाइएको छ । बाहिरी संरचनामा बगैँचा, भित्री सडक बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो,“निर्माण व्यवसायीको नगद प्रवाहमा केही समस्याका कारण निर्माणमा ढिलाइ भएको छ । यसका अतिरिक्त परियोजना अत्यन्तै ठूलो तथा जटिल छ । निर्माणस्थल सेनाबाट चरणबद्ध रूपमा हस्तान्तरण हुन ढिलाइ भएकाले निर्माण ढिलाइ भएको हो ।”

सचिव सिग्देलले भवनमा जडान हुनुपर्ने धेरै सामग्री तथा ‘कन्फ्रेन्सिङ–सेक्युरिटी’ प्रणाली विदेशबाट आयात गर्नुपर्ने र भारतीय प्राविधिक तथा कामदार अभावले पनि समस्या थपेको धारणा राख्नुभयो । करिब रु एक अर्बभन्दा बढी लागतको उपकरण परीक्षण भइरहेको उहाँले बताउनुभयो ।
चैत वैशाखमा सञ्चालन गर्ने गरी निर्माण कार्य अघि बढाउनुपर्नेमा मन्त्रालयले जोड दिँदै आएको छ । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि पाँचौँ पटकका लागि यही वर्षको पुससम्मका लागि म्याद थप गरिएको थियो ।

नयाँ सङ्घीय संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गर्दै आएको थियो । ‘जेनजी’ प्रर्दशनका क्रममा उक्त भवन क्षतिग्रस्त भएपछि नयाँ भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

जेनजी आन्दोलनमा सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

काठमाडौँ, ८ मङ्सिरः जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन ।

अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उहाँले उनीहरुलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताउनुभयो । अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो ।

परिसरमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी परेको छ । त्यसमध्ये २२ व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत÷व्यापारिक प्रतिष्ठानको रहेको परिसरले जनाएको छ ।

आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । त्यसमध्ये सात जनाको अझैसम्म पहिचान छैन । सो समयमा हराएका सात जनाको हुलिया प्राप्त भएको प्रहरीले जनाएको छ ।

“चुच्चेपाटीको भाटभटेनीमा सात वटा कङ्काल फेला परेका हुन्, जसले आशङ्का गर्नुभएको छ, फेला परेको शव पूर्णरुपले जलेकाले डिएनएनको नमुना पाउन सकिएन”, उहाँले भन्नुभयो, “पहिचानका लागि अन्य ठाउँमा पठाउने कि भनेर लागेको छाँै, सो शवको पहिचान नभएसम्म त्यसको यकीन गर्ने आधार देखिएन ।”

यसबीचमा विभिन्न कसुरमा १५४ वटा दर्ता भएको, २६७ जनालाई पक्राउ गरिएको, ८७ जना हाजिर जमानीमा छुटेका, ११३ जना हिरासतमा रहेको, ३३ जना धरौटीमा छुटेका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

स्पिनरले राम्रो प्रदर्शन गर्दा जीत सहज भयोः कप्तान लामिछाने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो । जनकपुर सामू सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्वपूर्ण रह्यो ।

जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले स्पिनरका कारण जित सम्भव भएको बताए । उनले भने, ‘हाम्रो स्पिन बलिङ राम्रो भयो, हामीले कम रनको लक्ष्य दिएपनि बलिङ राम्रो हुँदा जित सम्भव भयो ।’

लामिछानेले स्पिनर नरेन भट्टको प्रशंसा गरे । उनले भने, ‘नरेन आज जुन खालको बलिङ गर्यो, त्यो उत्कृष्ट थियो, उसले पावरप्ले र अन्तिमतिर पनि राम्रो बलिङ गर्यो ।’

विराटनगरको लगातारको तेस्रो जित टिम सन्तुलित भएकाले पनि सम्भव भएको उनको भनाइ थियो । जनकपुरलाई पराजित गर्ने क्रममा लामिछानेले एक्लैले चार विकेट लिएका थिए ।
जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपलले आगामी खेलमा ब्याटिङमा सुधार गर्दै लैजाने बताए ।

सरकारद्वारा विशेष आर्थिक क्षेत्र मापदण्ड खारेज, भाडादर मासिक रु ५ कायम

काठमाडौँ, ८ मङ्सिरः नेपाल सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर रु २० बाट घटाएर रु ५ कायम गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले जानकारी दिनुभयो ।

बैठकले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’ को सदस्यता लिन स्वीकृति प्रदान गरेको मन्त्री पुनले बताउनुभयो ।

नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्र नै केही कार्यालयका पद मिलान तथा दरबन्दी थपघट गर्न समेत बैठकले स्वीकृति दिएको छ । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको छ ।

गत भदौ २३ र २४ का जेनजी आन्दोलनका घाइतेको उपचार तथा राहतका व्यवस्था गर्ने, सरकारद्वारा सञ्चालनमा रहेको सहायता कक्षमा सह–सचिव तथा उप–सचिवबाहेक १० जना स्वयंसेवक खटाउने र उनीहरूलाई चार महिनासम्म मासिक रु १५ हजारका दरले खाजा खर्च उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । साथै ‘भूमिसम्बन्धी अध्यादेश, नवौँ संशोधन २०२२’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने संरक्षित क्षेत्र तथा जैविक मार्गका एकीकृत भू-परिधि आयोजना लगायतका कार्यक्रमका लागि अधिकृत तहका ३७ दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी, ८ मङ्सिरः लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धीपत्र समावेश छन् ।

बैठकमा सभामुख तुलबहादुर घर्तीले प्रदेशसभा सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्नुहुने कार्यसूची छ । त्यसपछि दलका तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले बताउनुभयो । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयक प्रदेशसभामा पेस गर्नका लागि स्वीकृति दिएको छ ।

लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका लागि पेस गर्न केही विजनेस तयारी गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेस गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेशसभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

कास्की, ८ मङ्सिरःमध्यपहाडी(पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।

यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङहुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन् ।“हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ । कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ ।” इञ्जीनीयर सुवेदीले भन्नुभयो । उहाँका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ । इञ्जीनीयर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ ।

विसं २०७९ साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो । यस खण्डको तेस्रो पटक थपिएको म्याद विसं २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताउनुभयो ।

“तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ । निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो । कार्यालयबाट पटक पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ ।” सुवेदीले भन्नुभयो ।

सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन् । लामो समय धुलो र हिलोको सास्ती बेर्होन परेका उनीहरु फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन । पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

मध्यपहाडीको हरिचोक–याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभइ साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन् ।

विश्व कराते च्याम्पियनसिप खेल्ने खेलाडीलाई एनआरएनएको सहयोग

काठमाडौं ।गैरआवासीय नेपाली संघ एनआरएनएले सिनियर विश्व कराते च्याम्पियनसिप २७ औँ संस्करणमा सहभागी हुने नेपाली टोलीलाई ट्रयाकसुट प्रदान गरेको छ ।एनआरएनए स्पोर्टस एकेडेमीले ललितपुरको कोरियन बार्बिक्यूमा एक कार्यक्रमको आयोजना गरी नेपाली टिमलाई ट्रयाकसुट प्रदान गरेको हो ।

नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले सहभागिता जनाउँदै छन् । एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने कराते महासंघले जनाएको छ ।अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् । तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठ पनि टोलीसँगै इजिप्ट जाने छन् ।

टोलीलाई शुभकामना दिँदै एनआरएनएका उपाध्यक्ष एवं खेलकुद विभागका प्रमुख मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले नेपाली खेलाडीहरूलाई सहयोग गर्न संस्था सदैव तयार रहेको बताए ।आगामी दिनमा करातेलाई मात्रै नभई अन्य खेलका खेलाडीहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले मिसन २०२६ र २०२८ को ओलम्पिक गेमका लागि विदेशमा हुने प्रशिक्षणमा एनआरएनए सहकार्य गर्न तयार रहेको पनि बताए ।

यसैगरी सरकारले फागुनमा दसौँ राष्ट्रिय खेलकुदको मिति तोकेकोमा स्वागत गर्दै उक्त प्रतियोगितामा एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गर्ने र त्यसका लागि तयारी सुरु गरिसकेको जानकारी दिए ।उनले भने ‘हामी विभागीय टिमको हिसाबले आठौँ राष्ट्रिय देखि जोडिएका छौँ, त्यति बेला १६ र नवौँ राष्ट्रिय गेममा २४ पदक जितेका थियौँ, अब दसौँमा पनि राम्रो तयारीका साथ सहभागिता जनाउँछौँ ।’

यसैगरी, बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले कराते खेलको विकासका लागि आफू सधैँ क्रियाशील रहने बताए । उनले खेलाडीहरूमा अनुशासन पहिलो सर्त रहेको पनि बताए । उनले केही खेलाडीले पदक जित्दा जस लिने मात्रै काम गर्नु राम्रो नहुने उल्लेख गरे ।

यसैगरी, राष्ट्रिय खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामाले शुभकामना दिँदै अहिले विभिन्न योजनाका साथ काम भइरहेको जानकारी दिए । उनले आफू प्रचारमुखी भन्दा पनि नतिजामुखी कामका विश्वास राख्ने भन्दै स्थानीय तहका केही विद्यालयमा पाइलट प्रोजेक्टको रूपमा पाठ्यक्रम तयार पारेर सुरु गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा खेलाडी एरिका गुरुङले विश्व च्याम्पियनसिप खेल्न पाउनु नै आफूहरूको ठूलो सफलता भएको बताइन् । उनले खेलको नतिजाका आधारमा मात्रै मूल्याङ्कन नगर्न आग्रह गर्दै भनिन् ‘खेलाडी मैदानमा उत्रिएपछि कि जित्छ, कि सिक्छ ।’कार्यक्रममा गैरआवासीय नेपाली संघका सिइओ रविकिरण अधिकारीले स्वागत गर्दै नेपालको शिर उँचो बनाउने काम खेलाडीबाट भएको उल्लेख गरे । उनले खेलाडीहरूको सफलतामा एनआरएनए पनि सधैँ सहयोग गर्न तयार रहेको बताए ।

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ : ऊर्जा मन्त्री घिसिङ

काठमाडौँ । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए।

मन्त्री घिसिङले गृह मन्त्रालयले हाल दुई महत्त्वपूर्ण विषय—एनआरएन नागरिकता तथा विदेशी भूमिबाट मतदान अधिकार—बारे गृहकार्य गरिरहेको बताए । उनले निर्वाचन आयोगसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै भने, “ विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूको भोटिङ राइट्स कार्यान्वयनका लागि अध्यादेश जारी गर्न सरकारले काम गरिरहेको छ । निर्वाचन आयोगबाट समयाभावको कुरा आएको छ, तर कुनै पनि हालतमा विदेशमा रहेका नेपालीले भोट गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ।”

उनले मतदानका लागि खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षासम्बन्धी पक्ष र त्यहाँका सरकारसँगको सहकार्यसम्बन्धी चुनौतीहरूबारे पनि जानकारी दिए। “राष्ट्रभक्ति देखाउने भनेका विदेशमा रहेका नेपाली नै हुन्। त्यसैले यो अधिकार कार्यान्वयनका लागि राष्ट्रपतिसमक्ष समेत आफ्नो धारणा राखेको छु,” मन्त्री घिसिङले भने।

ब्रिटिस गोर्खाहरूले उठाउँदै आएका वंशजको नेपाली नागरिकताको निरन्तरताबारे मन्त्री घिसिङले लन्डनमै आफूले उक्त मागको स्पष्ट रूपमा समर्थन गरेको स्मरण गरे। “वंशजको नागरिकताको निरन्तरताले देशलाई घाटा होइन, फाइदा गर्छ। लगानी बढ्छ। सरकारले गम्भीर रूपमा हेर्नुपर्छ,” उनले भने। दोहोरो नागरिकताको विषय भने निर्वाचित संसद्ले मात्र सम्बोधन गर्न सक्ने उनले बताए। मन्त्री घिसिङले गैरआवासीय नेपालीको सीप, स्रोत र लगानीलाई देशमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै गैरआवासीय नेपालीबिच एकता र साझा एनआरएनए निर्माण गर्न पनि आग्रह गरे।

‘मताधिकार कुनै हालतमा रोक्न मिल्दैन’

एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने कार्यमा अब ढिलाइ गर्न नहुने बताए। “यस पटक नभए पनि अर्को पटक अनिवार्य रूपमा लागू गर्नै पर्छ। पाइलट प्रोजेक्टबाट भए पनि सुरु गर्नुपर्छ,” उनले भने। उनले एनआरएन नागरिकता तथा त्यससँग सम्बन्धित समस्याहरू समाधानका लागि नियमावली निर्माण गर्ने काम अघि बढाउनुपर्ने उल्लेख गरे। “गैरआवासीय नेपाली ऐन परिमार्जन गर्न सके धेरै समस्या समाधान हुन्छ,” उनले भने ।

संघका पूर्व अध्यक्ष कुल आचार्यले आफू गैरआवासीय नेपाली नागरिकता लिने पहिलो व्यक्ति भएको स्मरण गर्दै नागरिकता लिएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि यसको कार्यान्वयन नभएको भन्दै दुख व्यक्त गरे। “एनआरएन नागरिकतालाई नेपालको कुनै प्रणालीले चिन्दैन। यसले देशलाई घाटा पुर्‍याइरहेको छ। पुँजी पलायन बढेको छ, लगानी रोकिएको छ,” आचार्यले भने। उनले मन्त्रिपरिषद्लाई अध्यादेशमार्फत समस्या समाधान गर्न आग्रह गर्दै एनआरएन नै नेपाल समृद्धिको प्रमुख आधार बन्न सक्ने बताए।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले वंशजको नेपाली नागरिकता सुनिश्चित गर्नुपर्ने धारणा राखे। उनले नेपालले वैदेशिक लगानी आकर्षित गर्ने भने पनि गैरआवासीय नेपालीलाई नेपालमै लगानी गर्न सहज वातावरण बनाउन नसकिएको उल्लेख गरे। “ विश्वका १२३ देशले दोहोरो नागरिकता दिन्छन्। नेपालमा पनि दिन सकिन्छ,” उनले भने। वरिष्ठ अधिवक्ता डा नारायण घिमिरेले गैरआवासीय नेपाली ऐन २०६४ मा रहेका त्रुटिका कारण समस्या जटिल बनेको बताउँदै एकीकृत अध्यादेश वा कम्तीमा मतदान कार्यविधि बनाएर नै अघि बढ्न सकिन्छ भने।

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष डा केशव पौडेल, अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, एनआरएन नागरिकता लिएका सुरेश राज गौतम, राधा पौडेललगायतका वक्ताले एनआरएन नागरिकतालाई व्यावहारिक रूपमा लागू गर्न सरकारसँग आग्रह गरे। “यो याचना होइन, अधिकार हो,” राधा पौडेलले भनिन्। जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसनका अध्यक्ष डा यादव पण्डितले भने, ” एनआरएनसम्बन्धी मुद्दाहरूको कुरा गर्दा प्रशासन यन्त्र तथा नेताहरू सबै सहमत देखिन्छन् तर बारम्बार हामीलाई चिट भएको अनुभव भएको छ। मन्त्रिपरिषद्ले निर्णय गरी दियो भने पनि समस्या समाधान भई हाल्छ, अध्यादेश ल्याउनु पनि पर्दैन। मन्त्रीजीलाई यो अवसर पनि हो। हामी कतिपयले अझै नेपाली नागरिकता बोकी रहेका छौँ। बेलायत र अमेरिकाका नेपाली नागरिकहरूलाई दूतावासमा गएर मतदान गर्ने वातावरण बनाउन आग्रह गर्दछु । ”
संघका उपाध्यक्ष विश्वास दीप तिगेला, सल्लाहकार विष्णु सुवेदी, एनआरएनए एनसीसी थाइल्यान्डका सञ्जय ढकाल, एनआरएनए युकेका प्रवक्ता डा कुल प्रसाद कँडेल लगायतले जेन जी आन्दोलनबाट आएको सरकारले साहसिक निर्णय गर्दै गैरआवासीय नेपालीका माग सम्बोधन गर्नुपर्ने धारणा राखे। कार्यक्रममा राज आचार्य, रितादेवी प्रधान, विनय शाह, आङ्गछिरिंग शेर्पा लगायतका वक्ताले आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको सभापतित्व गरिरहेका एनआरएनए आइसिसीका उपाध्यक्ष तथा नागरिकता निरन्तरता समितिका संयोजक बुद्धि सागर सुवेदीले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन नहुँदा विदेशमा रहेका नेपालीको सम्पत्ति तथा लगानी नेपालले उपयोग गर्न नसकेको बताए। उनले भोटिङ अधिकार तुरुन्त कार्यान्वयन गर्नुपर्ने र वंशजको आधारमा नागरिकता सुनिश्चित गर्न संविधान संशोधन आवश्यक भएको बताए।

कार्यक्रम एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष तथा समितिका सदस्य सचिव दीपक गौतमले सञ्चालन गरेका थिए भने एनसीसी फ्रान्सकी पूर्व अध्यक्ष गीता खनाल थापाले सबैलाई स्वागत गरिन् । संघका पूर्व अध्यक्ष आर के शर्माले कार्यक्रमको सफलताको कामना गर्दै सन्देश पठाएका थिए।

तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, ८ मङ्सिरः म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न रु ४० लाख बजेट विनियोजन भएको छ ।

सम्भाव्यताको अध्ययन गर्नका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यसहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारी सहितको टोलीले ताल निर्माणस्थलको गत हप्ता स्थलगत निरीक्षण गरेको छ ।

टोलीले प्रस्तावित ताल निर्माणस्थलको भौगोलिकस्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

उहाँका अनुसार ताल निर्माणका लागि उपयुक्त देखिएको र जलस्रोत व्यवस्थापन तथा सुरक्षाका उपायका बारेमा पनि विस्तृत छलफल भएको छ । ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल र जलजला क्षेत्र धार्मिकस्थलका रूपमा मात्र नभइ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने आयोजना कार्यालय पोखराका प्रमुख श्रेष्ठले बताउनुभयो ।

हम्पाल र जलजलाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका रमणीय भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । हिन्दू धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख भएको कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्यता प्राडा जगन्नाथ रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ । यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिकग्रन्थहरूमा बताइएको छ । पहाडका टाकुरामा अवस्थित जलजलाको खोचमा सिम छ । खोचको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल देखिन्छ ।

बोझो, सतुवा, चिराइतो, अमिली, ब्राह्मी (भोलटाप्रे), पाषणभेद, जेठीमधु, पदमचाल्नु, निरमसी, जटामसी, टिमुर, सिल्टिम्मुरलगायत जडीबुटी पाइने जलजला जैविक विविधतायुक्त स्थल हो । यहाँको पाखामा मृगको बथान भेटिन्छन् । डाँफे, मुनाल, कालिज, च्याखुरा, गिद्ध, लुइचे, हुकेचरा, दुम्सी, लाटोकोसेरो आदि पक्षी अवलोकन गर्न पाइन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र पर्वतको मोदी गाउँपालिकातर्फबाट जलजलालाई पदमार्गले जोडिएको छ । पर्वतको जलजला गाउँपालिकाको लेकफाँट, शालिजातर्फबाट जलजलासम्म कच्ची सडक पुगेको छ ।

सिरहा लहानबाट १ हजार १५ किलो गाँजा सहित २ जना पक्राउ

सिरहा । सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक लहानबाट १ हजार १५ किलो लागूऔषध गाँजा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

नियमित चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले उनीहरुको सामान जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ ।पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।