`

नेपाललाई जितका लागि १७५ रनको लक्ष्य

काठमाडौँ, ५ असारः स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्याण्ड्सले नेपालसामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।स्कटल्याण्डको ग्लासगोमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७४ रन बनायो ।

नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र ५ छक्का हाने । त्यस्तै रोइलेफ भान डर मिर्वेले २१ बलमा ३६ रन बनाए । आर्यान दत्तले अविजित १७ रन तथा सकिव जुल्फिकरले ११ बलमा १४ रन जोडे ।

बलिङतर्फ नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक एक लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

एनआरएनए सचिवालय तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न आइसीसीले दियो निर्देशन

काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले बालुवाटारस्थित केन्द्रीय सचिवालय तत्काल नवनिर्वाचित कार्यसमितिलाई हस्तान्तरण गर्न संघका कार्यकारी निर्देशक (सिइओ) र अन्य कर्मचारीहरुलाई लिखित निर्देशन दिएको छ।

संघका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बाबुराम (बी आर) लामाले संघका कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत, आइटी र लेखा प्रमुखलाई छुट्टा छुट्टै पत्र लेखी संघको आर्थिक, प्रशासनिक तथा आइटी सम्बन्धी सम्पूर्ण कारोबार तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन्।

पत्रमा सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिले गत मे ३ र ४ तारिख (तदनुसार बैशाख २० र २१ गते ) काठमाडौँमा एकताको महाधिवेशन आयोजना गरेको र उक्त महाधिवेशनले महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति (आइसिसी) निर्वाचित गरी सो कार्यसमितिले तत्काल काम थाली सकेको उल्लेख छ। अहिले श्रेष्ठ नेतृत्वको कार्यसमिति बाहेक एनआरएनएनमा अर्को कुनै पनि वैधानिक कार्यसमिति कायम छैन। त्यसैले अनधिकृत व्यक्तिहरुको निर्देशन नमान्न र वैधानिक कार्यसमितिले दिएको निर्देशनको अनिवार्य रुपमा पालना गर्न पत्रमा भनिएको छ।

“यो निर्देशन अनुसार आआफ्नो जिम्माको विवरण संघको कार्यसमितिलाई अविलम्व नबुझाए त्यसलाई अति गम्भीर प्रकृतिको अनुशासन उल्लङ्घनको रुपमा लिएर आइसीसीले स्पष्टीकरण सोध्ने, कानूनी कारवाही थाल्ने वा सेवाबाट बर्खास्त गर्ने सम्मको कदम चाल्न सक्नेछ,” पत्रमा भनिएको छ।

सचिवालयका सम्पूर्ण कर्मचारीहरुले नवनिर्वाचित आइसीसीको निर्देशन पालना गर्ने र विना कुनै व्यवधान नगदी, जिन्सी, आइटी लगायत सम्पूर्ण कारोबार वैधानिक रुपले गठित नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने आफुहरुले अपेक्षा गरेको एनआरएनए आइसिसीका नवनिर्वाचित महासचिव बाबुराम (बी आर) लामाले बताए।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, ५ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत नौ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याएको र आर्थिक अनियमितता गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रक्रियाबिना परिषद्को रकम खर्च गरेको, सवारीसाधन खरिद बिक्रीमा अनियमितता गरेको तथा मिलेमतोमा अन्य हिनामिना गरेको पाइएकाले आवश्यक अनुसन्धान गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन कार्यकारी निर्देशक ठाकुरविरुद्ध रु ५१ लाख ७१ हजार ८८८ बराबरको बिगो माग दाबी गरेको छ । यस्तै, परिषद्का लेखापाल सावित्री गिरीविरुद्ध रु ३० लाख ७२ हजार ८४४, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुङ्गानाविरुद्ध रु १० लाख एक हजार ८७६, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंहविरुद्ध रु १४ लाख ९९ हजार, सवारी चालक बिक्कीकुमार चौधरीविरुद्ध कैद सजायको मात्रै माग दाबी गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बवितादेवी साहविरुद्ध रु २० लाख ९९ हजार, निर्माण व्यवसायी जितेन्द्रकुमार यादवविरुद्ध रु दुई लाख र प्रतिवादी बलराम ठाकुरको श्रीमती इन्दुलेखाकुमारी ठाकुर विरुद्ध रु ४५ लाख २२ हजार ८४५ बराबरको बिगो मागदाबी गरिएको छ । उनीहरुबाट बिगोबमोजिमको रकम असुली र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

काठमाडौँ, ५ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुलुकको संस्कृति र सम्पदाको सही सदुपयोग गर्न सके देश समृद्ध हुने बताउनुभएको छ ।
सांस्कृतिक संस्थानको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देश समृद्धिको बाटोमा अघि बढिरहेको र त्यसका लागि सम्पदाको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्पदा र संस्कृतिलाई सदुपयोग गर्न सक्ने खुवी प्रस्तुत गर्न सके देश समृद्ध राष्ट्रको रुपमा र सुखी राष्ट्रको रुपमा अघि बढ्न सक्छ ।” मन्त्री पाण्डेले भूकम्पपछि फेरि उही अवस्थामा देश आएको र कोभिड–१९ का कारणले अर्थतन्त्र कमजोर भए पनि अहिले विस्तारै चलायमान हुँदै गएको बताउनुभयो । राजनीतिक द्वन्द्वबाट मुलुक शान्तिमा रुपान्तरण भएको तथा नेपालले कुनै भोकमरी नभोगेको उल्लेख गर्दै उहाँले अब देश अगाडि बढ्न कसैले नरोक्ने बताउनुभयो ।

सांस्कृतिक संस्थानले पछिल्लो समयमा उत्कृष्ट काम गरिरहेको र मन्त्रालयले आवश्यक साथ दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । सो क्रममा मन्त्री पाण्डेले यहाँ निर्मित सेमिनार भवनको समेत उद्घाटन गर्नुभयो । उहाँले सांस्कृतिक संस्थान राष्ट्रिय दीर्घसाधना सम्मानबाट नेपालको पहिलो नृत्य निर्देशक भैरबहादुर थापालाई सम्मान प्रदान गर्नुभयो ।

सो क्रममा संस्थानले नाट्यतर्फ लोकनाथ ढकाल, नृत्यतर्फ मिथिला शर्मा, बादनतर्फ पञ्चनारायण महर्जन, गायनतर्फ चन्द्रकला शाह र कर्मचारी नर्सिङलाल श्रेष्ठलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा गीति नाटक मुनामदनसहित विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने

कास्की, ५ असारः पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेटमा नवलपुर फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा नवलपुरले कास्कीलाई पाँच विकेटले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर फाइनलमा स्थान बनाएको हो । नवलपुरले अब उपाधिका लागि शुक्रबार समूह ‘ए’ को विजेता स्याङ्जासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘बी’ मा नवलपुर, कास्की र पर्वतले समान दुई÷दुई खेल जित हात पारेर समान चार÷चार अङ्क भए पनि ‘रनरेट’का आधारमा नवलपुर शीर्षस्थानमा उक्लदै फाइनलमा पुगेको हो ।

खेलमा कास्कीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४८ रन बनायो ।कास्कीका लागि मुस्कान थापाले ३६ रन, रोहित चन्दले ३५ रन र कप्तान सुवास भण्डारीले अविजित ३७ रनको योगदान दिए । नवलपुरका काशिस सुवेदी र हिमाल न्यौपानेले दुई÷दुई विकेट लिए भने सुदीप अर्यालले एक विकेट लिए ।

जितका लागि १४९ रनको लक्ष्य पछ्याएको नवलपुरले १५ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । अविजित पौडेलले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ३३ रन बनाएर जित सुनिश्चित गराएका थिए ।

यसैगरी रिजन काफ्ले ३७, सुदीप अर्यालले २१ र कमल परियारले छ बलमा १७ रनको उत्कृष्ट योगदान दिए । कास्कीका कृष्ण पौडेलले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा चार विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ नवलपुरका अपराजित पौडेल घोषित भए ।यसैगरी आज नै सम्पन्न लिग चरणअन्तर्गत पर्वत र गोरखाबीचको खेलमा पर्वत विजयी भएको छ । पर्वतले ४९ रनले गोरखालाई हराउँदै सान्त्वना जित निकाल्न सफल भयो ।

टस जितेर गोरखाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पर्वतले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै ४८ रनको योगफल तयार ग¥यो । खेलमा जितका लागि १४९ रनको लक्ष्य पछ्याएको गोरखाले १७ ओभरमा ९९ रन मात्र बनाउन सफल भयो ।

प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु दुई हजारसहित ट्रफी प्रदान प्रतियोगिताका संयोजक ऋषिराम गौतमले बताउनुभयो ।

अस्ट्रेलियाको जनसङ्ख्या वृद्धि ३ वर्षकै न्यून

सन् २०२४ मा अस्ट्रेलियामा शुद्ध आप्रवासन ३० प्रतिशतले घटेको छ । उसले देशको जनसङ्ख्या वृद्धिलाई तीन वर्षको न्यूनतामा पुर्‍याएको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कले अस्ट्रेलियाको राष्ट्रिय जनसङ्ख्या २०२४ मा एक दशमलव सात प्रतिशत अर्थात चार लाख ४५ हजार नौ सयले बढेर दुई करोड ७४ लाख पुगेको देखाएको छ ।

यो सन् २०२३ को गिरावट हो भने सन् २०२१ पछि अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमानाहरू बन्द भएपछि क्यालेन्डर वर्षको सबैभन्दा कम वृद्धि दर हो । सन् २०२३ मा अस्ट्रेलियाको जनसङ्ख्या दुई दशमलव चार प्रतिशतले बढेको थियो ।

एबिएसको तथ्याङ्कअनुसार सन् २०२३ र सन् २०२४ को बीचमा जनसङ्ख्या वृद्धिमा आएको गिरावट पूर्ण रूपमा अस्ट्रेलियाको शुद्ध आप्रवासीहरूको सङ्ख्यामा आएको तीव्र गिरावटबाट प्रेरित थियो ।

सन् २०२४ मा करिब पाँच लाख ९४ हजार नौ सय मानिस विदेशबाट अस्ट्रेलिया बसाइँ सरेका थिए र दुई लाख ५४ हजार दुई मानिस बसाइँ सरेका थिए, जसको परिणामस्वरूप तीन लाख ४० हजार सात सय ५० को शुद्ध विदेशी बसाइँ सरेको थियो ।

यो सन् २०२३ को तुलनामा ३५ दशमलव सात प्रतिशतले घटेको छ भने विदेशी आप्रवासनले अस्ट्रेलियाको जनसङ्ख्यामा पाँच लाख ३० हजार छ सय २० जना थपेको थियो ।

एबिएसले सन् २०२३ को तुलनामा सन् २०२४ मा अन्तर्राष्ट्रिय आगमन १९ दशमलव पाँच प्रतिशतले कम भएको र प्रस्थान २२ प्रतिशतले बढेको बताएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजको सत्तारुढ लेबर पार्टीले सन् २०२४ मेमा अस्ट्रेलियाको नेट माइग्रेसन इन्टेकलाई २०२४–२५ आर्थिक वर्षमा दुई लाख ६० हजारमा घटाउने लक्ष्य राखेको छ ।

एबिएसका अनुसार सन् २०२४ मा अस्ट्रेलियाको जनसङ्ख्यामा प्राकृतिक वृद्धिले एक लाख पाँच हजार दुई सय मानिस थपेको थियो भने करिब दुई लाख ९२ हजार चार सय जन्म र एक लाख ८७ हजार तीन सयको मृत्यु भएको थियो ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू

काठमाडौँ, ५ असारः स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो ।

त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्याण्ड्स ३९ रनले पराजित भएको थियो । त्यसपछि नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा भीम सार्कीको डेब्यू

नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा नेपालका खेलाडी भीम सार्कीले डेब्यू गरेका छन् । सार्कीलाई उपकप्तान दिपेन्द्रसिंह ऐरीले डेब्यू क्याप हस्तान्तरण गरेका हुन् । उनी टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालका ५२औँ खेलाडी हुन् । जारी सिरिजमा यसअघि किरण ठगुन्ना र रुपेश सिंहले डेब्यू गरेका थिए ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान ऐरी, कुशल भूर्तेल, लोकेश बम, आसिफ शेख, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।

सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव भड्काउने प्रयास भयो : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव भत्काउने प्रयास भइरहेको बताएका छन् ।बिहीबार पोखरामा नेपाल पत्रकार महासंघले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामाजिक सञ्जाललाई नियमन नगर्ने हो भने नेपालको राजनीतिका मात्रै धार्मिक र सामाजिक सद्भाव पनि जोखिममा पर्ने बताए । त्यसकै लागि सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी ऐन ल्याउन लागेको उनले प्रष्ट पारे ।

सामाजिक सञ्जाल नियमन ऐनको पत्रकारहरूले नै विरोध गरेको प्रति गुरुङले आश्चर्य व्यक्त गरे । सो ऐनले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई थप सुरक्षित र व्यवस्थित गर्ने उनको धारणा छ ।

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक सरकारले ल्याएरै छाड्न उनले बताए । सामाजिक सञ्जालका सेवा प्रदायक कम्पनीलाई सरकारको दायरमा आउन आग्रह गरिएको भए पनि नआएका बताउँदै उनले सरकारको दायरामा आउने कम्पनी कारबाहीमा पर्ने चेतावनी दिए । नेपालले कस्तो कानुन बनाउँछ भन्ने कुरामा विदेशी कम्पनीलाई टाउको नदुखाउन उनले आग्रह गरे ।

फरक प्रसङ्गमा अदालतले नै सञ्चारमाध्यममा छापिएका समाचार हटाउन र बाँकी समाचार पनि नछाप भनि आदेश दिने कुरा लोकतन्त्रमा सुखद नभएको बताउँदै अदालतले त्यो आदेशलाई खारेज गरेर सुखद सन्देश दिएको उनको धारणा छ । ‘सबै आफ्नो मर्यादामा बस्नु पर्छ, सबैको आफ्नो सीमा हुन्छ, सबै अराजक बन्दा सकारात्मक सन्देश जाँदैन’, उनले भने ।

गुरुङले पत्रकारले न्यूनतम पारिश्रमिक पाउनु पर्ने र त्यसको लागि सरकारले काम गरिरहेको बताए । त्यसैको लागि सरकारले सञ्चार सम्बन्धी विधेयक ल्याउन लागेको गुरुङले जानकारी दिए । श्रमजीवीको ऐनले नसमेटेका कुरालाई समेत त्यो ऐनमा समेट्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रेस जगतलाई मर्यादित र व्यवस्थित बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको उनले बताए । यसमा कुनै शङ्का नगर्न उनले आग्रह गरे । ‘हाम्रो प्रेस स्वतन्त्रता खोस्ने कुनै नियत छैन, हामी लोकतन्त्र र प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध छौँ’, उनले भने ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलको सुरक्षा चिन्तालाई सम्बोधन गर्दै रुस इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न तयार रहेको बताउनुभएको छ ।

विशेष विवरणहरू खुलासा नगरी उहाँले रुसले यस विषयमा इजरायली र अमेरिकी अधिकारीहरूसँग विस्तृत छलफल गरेको र आफ्ना इरानी समकक्षहरूलाई प्रस्तावहरू पठाएको पुष्टि गर्नुभयो ।
“सामान्यतया, शान्तिपूर्ण आणविक ऊर्जामा इरानको चासो पूरा गर्न र एकै समयमा आफ्नो राष्ट्रिय सुरक्षाको बारेमा इजरायलको चिन्तालाई सम्बोधन गर्न सम्भव छ”, उहाँले भन्नुभयो ।
पुटिनले रुसले इरानको आणविक गतिविधिहरू वरपर चलिरहेको तनावको ‘सम्भावित समाधान’ प्रस्ताव गरेको उल्लेख गर्नुभयो तर अन्तिम निर्णय संलग्न देशहरूको राजनीतिक नेतृत्वमा रहेको कुरामा जोड दिनुभयो ।

उहाँले रूस र इरानबीचको उच्च स्तरको विश्वासले कृषि र औषधिमा प्रयोगसहित आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगमा उत्पादक सहयोगका लागि अनुमति दिने बताउनुभयो ।

पुटिनले बुसेहर आणविक ऊर्जा संयन्त्रको निर्माण कार्य सम्पन्न गर्नेसहित इरानको नागरिक आणविक कार्यक्रममा रुसको लामो समयदेखि रहेको संलग्नतालाई पनि स्मरण गर्नुभयो । मूल रूपमा जर्मन फर्महरूद्वारा डिजाइन गरिएको यो परियोजना पछि रुसको राज्य आणविक निगम, रोसाटमद्वारा पूरा गरिएको थियो ।

“यो एउटा चुनौती थियो, किनकि हामीले जर्मन डिजाइनलाई रूसी मापदण्डमा अनुकूलन गर्नुप¥यो । तर हामी सफल भयौँ र प्लान्ट सफलतापूर्वक सञ्चालन भइरहेको छ” उहाँले भन्नुभयो ।
उहाँले रुसले बुसेहरमा दुई अतिरिक्त रिएक्टर एकाइहरू निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको र हाल दुई सयभन्दा बढी रूसी विशेषज्ञहरू साइटमा काम गरिरहेको पुष्टि गर्नुभयो । जारी निर्माण प्रयासमा सुरक्षा सुनिश्चित गर्न मस्कोले इजरायली अधिकारीहरूसँग सम्झौता गरेको उहाँले बताउनुभयो ।

जुन १३ मा इजरायलले इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै अपरेसन ‘राइजिङ लायन’ सुरु गरेपछि इजरायल र इरानबीच तनाव बढेको छ । इरानले जवाफी हमला गरेर प्रतिक्रिया दिएको छ । पछिल्ला दिनहरूमा दुवैतर्फबाट आक्रमण जारी रहँदा दुवै पक्षले हताहत भएको रिपोर्ट गरेका छन् ।

पहिरोले अरनिको राजमार्ग बन्द

चौतारा (सिन्धुपाल्चाक), ५ असारः भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ । पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ । सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको उहाँले बताउनुभयो ।

यसैबीच लगातारको अविरल वर्षासँगै भोटेकोसी–२ को लिपिङ बजारमा पहिरो जाँदा तीन घरमा क्षति पुगेको छ । पहिरोका कारण स्थानीय पदम श्रेष्ठ, फूलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

उत्तर कोरियाद्वारा इरानमाथि इजरायली आक्रमणको निन्दा

उत्तर कोरियाले बिहीबार इरानमाथि इजरायलले हालै गरेको हवाई आक्रमणलाई आक्रमणको ‘घृणित कार्य’ भन्दै निन्दा गरेको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले मध्यपूर्वमा नयाँ युद्धको खतरा खडा गरेकोमा इजरायलको निन्दा गर्दै इरानविरुद्ध इजरायलको सैन्य आक्रमणबारे ‘गम्भीर’ चिन्ता व्यक्त गरेका छन् ।

उत्तर कोरियाले इरानमाथि इजरायलको आक्रमणलाई ‘आक्रामकताको घृणित कार्य’ भनेर निन्दा गर्दै यसले सार्वभौम राज्यको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र ‘मानवता विरुद्धको अक्षम्य अपराध’ उल्लङ्घन गर्दछ भनेको छ ।

“विश्वले देखेको हालको गम्भीर अवस्थाले स्पष्ट रूपमा प्रमाणित गर्दछ कि इजरायली एकाइ विश्वव्यापी शान्ति र सुरक्षालाई नष्ट गर्ने मुख्य अपराधी हो”, अधिकारीलाई उद्धृत गर्दै केसिएनएले भन्यो ।

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

सिरियाली युद्धका क्रममा आफ्नो देश छोडेर भागेका २० लाखभन्दा बढी सिरियाली नागरिक स्वदेश फर्केका छन् ।

बशर अल असदलाई सत्ताच्युत गरिएपछि आफ्नो देशको युद्धका क्रममा आफ्नो देश छोडेर भागेका २० लाखभन्दा बढी सिरियाली नागरिक स्वदेश फर्केको बिहीबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगका प्रमुख फिलिप्पो ग्रान्डीले बताउनुभएको छ ।

सन् २०११ मा असदले सरकार विरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सुरु भएको सिरियाली गृहयुद्धले आधा जनसङ्ख्यालाई आन्तरिक वा बाह्य रूपमा विस्थापित गरेको थियो ।

गत बर्षको डिसेम्बर ८ मा इस्लामिक शक्तिहरूको विद्रोहबाट असद सत्ताच्युत भएपछि विस्थापित नागरिकको पुनः आगमनको आशा जागेको छ ।

“डिसेम्बरयता २० लाखभन्दा बढी सिरियाली शरणार्थी र विस्थापितहरू घर फर्केका छन्,” ग्रान्डीले छिमेकी लेबनानको भ्रमणका क्रममा एक्समा लेख्नुभएको छ ।

उहाँले भन्नुभयो, “बढ्दो क्षेत्रीय तनावका बीच यो आशाको सङ्केत हो ।”

“हामीलाई अस्थिरता र विस्थापनको अर्को लहर होइन, राजनीतिक समाधान चाहिएको छ भन्ने यसले के प्रमाणित गर्छ,” उहाँले भन्नुभयो ।

चौध वर्षको युद्धपछि फर्केका थुप्रै मानिसहरूले आफ्नो घर र सम्पत्ति नराम्ररी बिग्रिएको वा नष्ट भएको वास्तविकताको सामना गर्नुपरेको छ।

हालै सिरियामाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध हटेसँगै नयाँ अधिकारीहरूले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेका छन्, जसमा संयुक्त राष्ट्रसङ्घले ४०० अर्ब डलरभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।

यसै महिनाको सुरुमा यूएनएचसीआरले सन् २०२५ को अन्त्यसम्ममा विदेशबाट १५ लाख सिरियाली र आन्तरिक रुपमा विस्थापित २० लाख व्यक्ति फर्कन सक्ने अनुमान गरेको थियो ।

बजेटमा कृषिलाई उपेक्षा गरेको सांसदहरुको टिप्पणी, अर्को बैठक असार ६ गते बस्ने

काठमाडौँ, ५ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद किरणकुमार शाहले बजेटले कृषिलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा सांसद शाहले कृषि अनुदान वृद्धि गरी कृषि उत्पादन प्रवद्र्धनमा बजेटले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले हरित पूर्वाधार, हरित ऊर्जा, युवालक्षित कार्यक्रम, वन संरक्षणलाई ध्यान दिन माग गर्नुभयो । साथै उहाँले किसानका लागि अनुदान, कृषिको आधुनिकीकरण, पशुपालनको व्यवसायीकरण तथा पशुपक्षीको उपचार वडास्तरमा व्यवस्था सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका सांसद नागिना यादवले कानुन मन्त्रालयको बजेट अत्यन्तै कम भएको र यसले कानुन निर्माण र सुशासन प्रवद्र्धनमा असर पुग्ने धारणा राख्नुभयो । उहाँले सङ्घीयताको कार्यान्वयन, विधिको शासन र सुशासन प्रवद्र्धन गर्न पर्याप्त बजेट जरुरी भएको उल्लेख गर्नुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खाँनले बजेटले कृषि र किसानलाई नसमेटेको जिकिर गर्नुभयो । उहाँले कृषि क्षेत्रको विकास, किसानलाई समयमा मलखादको व्यवस्था गर्न जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले किसान कार्ड, चक्लाबन्दी, सिँचाइको व्यवस्था गरी कृषि उत्पादन प्रवद्र्धनमा ध्यान दिन आग्रह गर्नुभयो ।

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले स्व शास्त्रीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाका सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नुभएको थियो ।

विसं १९९३ मा अर्घाखाँची जिल्लामा जन्मनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउद्योगमन्त्री शास्त्रीको यही असार २ गते निधन भएको थियो । नेपाली कांग्रेसकातर्फबाट २०४८ र ०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट दुवै पटक उहाँ निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ६ गते बिहान ११ बजे बस्नेछ ।

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

काठमाडौँ, ५ असारः सांसदहरुले नेपालमा भएका काठको सदुपयोग नगरी विदेशबाट काठ आयात गर्न नहुनेमा विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकका विषयमा छलफल गर्नुहुँदै सांसद देवप्रसाद तिमल्सिनाले नेपालका राम्रा काठ सदुपयोग नभई मलेसियादेखि काठ ल्याउनु उपयुक्त नभएको बताउनुभयो । उहाँले पहाडी जिल्लामा रहेका अदालतका जीर्ण भवन निर्माणका लागि बजेट विनियोजन नभएकामा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नारायणप्रसाद आचार्यले तीन वटै तहका सरकारको समन्वयमा बजेट खर्च गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । सांसद सूर्यमान तामाङ (दोङ)ले रासायनिक मलमा चालु आर्थिक वर्षभन्दा आगामी वर्षका लागि रु १८ करोड कम गरेको उल्लेख गर्नुभयो ।

सांसदहरु भानुभक्त जोशी, प्रतीक्षा तिवारी, सुरेन्द्रराज आचार्य, बिजुला रायमाझीले कृषि प्रधान देशमा कृषिमा कम बजेट राखिएको, नेपालको वन तस्करको धन हुन पुगेको, वन मन्त्रालयको बजेट कार्यान्वयन हुन नसक्ने देखिएका बताउनुभएको थियो ।

यसैगरी उहाँहरुले आवश्यक नभएको स्थानमा बजेट राखिएको र बजेट चाहिने ठाउँमा नराखिएको, चुरेको दोहन नरोकिएको, प्लाष्टिकले खेतीयोग्य जमिनमा असर गरेको, पाउनुपर्नेले कृषि अनुदान नपाएकाले यसतर्फ सरकारेको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

शास्त्रीको निधनमा राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौँ, ५ असारः राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।सभाअध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उहाँहरुको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरेको छ ।

विसं २०१३ चैत १० गते मुस्ताङमा जन्मनुभएका संविधानसभा सदस्य जुहारचनको ६९ वर्षको उमेरमा यही जेठ २९ गते निधन भएको थियो । स्व जुहारचन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट संविधानसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो ।

यस्तै, विसं १९९३ मा अर्घाखाँचीमा जन्मनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउद्योगमन्त्री शास्त्रीको यही असार २ गते निधन भएको थियो । नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।

सभाको आजकै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यसअघि, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही असार ९ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।

‘फास्ट ट्रयाक’ धनुषा र सिरहा जोड्ने बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ: मन्त्री दाहाल

काठमाडौँ, ५ असारः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला नदीको नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै उहाँले कमला नदीमा नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने बताउनुभयो । मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी सडकअन्तर्गत कमला पुल निर्माणको जिम्मेवारी पाएको कम्पनी लुम्बिनी बिल्डर्ससँँगको ठेक्का प्रक्रिया तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी भएको उहाँले उल्लेख गर्नुभयो ।

“समयमै निर्माण सम्पन्न भएन, अब नयाँ निर्माण कम्पनीलाई जिम्मा दिन्छौ”, उहाँले भन्नुभयो, “अब नयाँ मूल्याङ्कन गरेर जसरी पनि पुल निर्माण हुन्छ, फास्ट ट्रयाकबाट अघि बढ्छाँै ।”

निर्माण कम्पनी र बिमा कम्पनीबीचको अदालती प्रक्रिया लम्बिएपछि काम ठप्प भएको अवस्था छ । “यो पुल बनाउन अब तीन गुणा बढी रकम लाग्न सक्छ । पुल निर्माणका लागि हामीले अन्तिम पटक अनुरोध ग¥याँै”, उहाँले भन्नुभयो, “निर्माण नगरेको अवस्थामा कम्पनीसँग ठेक्का तोड्दै कारबाही गर्र्दै कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।”

साथै महाकाली नदीमा तीन वर्षभित्र पुल निर्माण गर्ने गरी २०७४ सालमा सम्झौता भए पनि हालसम्म काम हुन नसकेको छैन । उक्त पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग सम्झौता तोड्ने निर्णय भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस्ः सांसद भण्डारी

काठमाडौँ, ५ असारः नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकहरुको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा भाग लिँदै सांसद भण्डारीले संसदभित्र भएका असहमतिलाई छलफल गर्दै समाधानतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “यो देशमा विधिको शासन, जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौँ भनेर आएको पनि ३४ वर्ष पूरा भयो । यही उद्देश्यका निम्ति धेरैले ज्यान गुमाए, धेरै अपाङ्ग भए । जुन दिन संसद्मा छलफल गर्ने हो त्यसमा हामीहरुको बीचमा असहमति रहनुहँुदैन । कोही कुर्सीमा बसेका छन् कोही भँुइमा बसेका छन् कोही बोलिरहेका छन् यो के हो ? यसको समाधानका लागि सरकारलाई आग्रह गर्दछु ।”

सांसद भण्डारीले समाज युवाविहीन हँुदै गएकाले विदेशिने युवालाई रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “युवाहरु शिक्षा र रोजगारीका नाममा बाहिर गइरहेका छन्, हामी युवाविहीन हँुदैछाँैै । गाउँघरमा बिरामी हुँदा, मृत्यु हुँदा शव बोक्ने मानिससमेत छैन । त्यसैले यस विषयमा हामी गम्भीर हुनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालले सङ्घीय सरकारले प्रदेश र स्थानीय ततहलाई अधिकार हस्तान्तरण नगरेसम्म मुलुकको विकासले गति लिन नसक्ने दाबी गर्नुभयो । उहाँले सत्तामा हुँदा गुणगान गाउने र सत्ताबाट बाहिरिएपछि सत्तोसराप गर्ने गलत राजनीतिक संस्कारलाई परिवर्तन गर्न जरुरी भएको बताउनुभयो ।

उहाँले विकास विरोधी कानुनलाई समयसापेक्ष बनाउन सकेको खण्डमा मुलुकको आर्थिक समृद्धि सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रुपा सोशी (चौधरी) ले नेपाललाई चामलमा आत्मनिर्भर बनाउन आवश्यक मलखादको व्यवस्था र कृषकलाई प्रोत्साहनका कार्यक्रम ल्याउन माग गर्नुभयो । कृषि उत्पादन प्रवर्द्धनका लागि नेपालमा ११ लाख मेट्रिक्टन मल आवश्यक रहेको भन्दै सोको व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले कृषि बिमाको प्रभावकारी कार्यान्वयन, विषादी परीक्षणलाई ध्यान दिन माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सांसद शेरबहादुर कुँवरले कानुन मन्त्रालयका लागि बजेट कम विनियोजन भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कानून निर्माण, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन, न्याय निरुपण गर्न सक्छौकी सक्दैनौ । जनतालाई चाँडो न्याय दिन विशेष ध्यान दियनुपर्छ ।”

उहाँले वन पैदावारसम्बन्धी उद्योग व्यवसाय प्रवर्द्धनलाई बजेटले समेट्न नसकेको उल्लेख गर्नुभयो । काठ व्यवस्थापनका लागि नीतिगत सुधार आवश्यक भएको उहाँको भनाइ थियो । सांसद कुँवरले कृषि क्षेत्रको विकास, जडीबुटी प्रशोधन केन्द्र, उद्योगधन्दा, कलकारखाना सञ्चालनतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले वन संरक्षण, जडीबुटी सङ्कलन र प्रशोधन आदि विषयलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले वन र निकुञ्जसम्बन्धी ऐन संशोधन गरिनुपर्नेमा जोड दिनुभयो । सांसद झाले मधेस केन्द्रित बजेट हरेक वर्ष घटाइने गरेकोमा गुनासो गर्दै कृषि, वन आदि विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी, हीरा, जवाहरात तथा हस्तकलामा लगाएको विलासिता कर र मूल्य अभिवृद्धि करको विरोध गर्दै देशभरका सुनचाँदी व्यवसायीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा आज पत्रकार सम्मेलन गर्दै सरकारले व्यवसायीका सुझाव बेवास्ता गर्दै एकपक्षीय कर नीति लान खोजेको आरोप लगाएका हुन् ।

संयुक्त महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘विलासिता करको नाममा बहु तहमा कर लगाइँदा प्रत्यक्ष रूपमा २ प्रतिशत देखिए पनि व्यवहारमा उपभोक्ताले ६ प्रतिशतभन्दा बढी मूल्य तिर्नुपरेको अवस्था छ ।’

सुनको अन्तर्राष्ट्रिय मूल्यमा निरन्तर वृद्धि भइरहेको वर्तमान अवस्थामा, सरकारले थप करको भार थोपर्दा बजारमा गम्भीर महामन्दी उत्पन्न हुने खतरा रहेको व्यवसायीहरूको दाबी छ ।

महासंघले यस्तो कर प्रणालीले पसलअनुसार खुद्रा मूल्य फरक हुन सक्ने र उपभोक्ता झन्झटमा पर्ने खतरा रहेको उल्लेख गरेको छ । साथै, सुनलाई नेपालका धर्म, संस्कृति, र सामाजिक संस्कारसँग गाँसिएको वस्तु भएकाले यसमा ‘विलासिता कर’ लगाउनु कुनैपनि हिसाबले न्यायोचित नरहेको संघहरूको तर्क छ ।

महासंघहरूका अनुसार हिरा तथा अन्य बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटले गहना बनाउँदा संयुक्त करको भार १९ प्रतिशतसम्म पुग्नेछ । यसले उपभोक्तालाई करीब ३८ हजार रुपैयाँसम्म थप मूल्य तिर्ने अवस्थामा पु‍र्याउने अनुमान गरिएको छ ।

करको यस्तो भारले भारतसँगको खुल्ला सिमानाबाट गहनाको अवैध आयातलाई प्रोत्साहन गर्ने र स्वदेशी व्यवसाय तथा लाखौं मजदुरको रोजगारी धरापमा पार्ने महासंघको चेतावनी छ । महासंघद्वारा आयोजित असार ४ गतेको राष्ट्रिय भेलाले चारबुँदे घोषणा–पत्र पारित गरेको छ । प्रमुख निर्णयहरूमा सरकारलाई असार मसान्तसम्मको अल्टिमेटम दिई २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट फिर्ता लिन आग्रह गर्ने, त्यस अवधिसम्म आन्दोलन स्थगित गर्दै रचनात्मक कार्यक्रम सञ्चालन गर्ने तथा माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष अर्जुन रसाइलीले संयुक्त रूपमा सरकारलाई पुनर्विचार गर्न अपिल समेत गरेका छन् ।

‘मोहर’ को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक

काठमाडौं । नायक पल शाह र नायिका नीति शाहले चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टीमले एक विशेष कार्यक्रमकाबीच उक्त गीत सार्वजनिक गरेको हो ।

गीतमा पल र नीति रोमान्टिक देखिएका छन् । ‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाइँ र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ । यो चलचित्र साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् ।चलचित्रमा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।दिपेन बस्न्यातको छायांकन रहेको यो चलचित्रमा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

काठमाडौँ, ५ असारः उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने भन्दा पनि देखेका सपनालाई पूरा गर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका दृष्टिकोणले नयाँ उदाहरण स्थापित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट आकार, अनुमान र प्रस्तावका दुष्टिले मात्र होइन कार्यान्वयनमा दृष्टिले पनि उपयुक्त थियो भन्ने अभिलेख होस भन्ने सोच र सङ्कल्पका साथमा बजेट प्रस्तुत भएको छ ।” आगामी आर्थिक वर्षको अन्त्यसम्म मुद्रास्फीति ५.५ प्रतिशतमा राख्न छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गरी बजेट कार्यानवयन हुने समेत उल्लेख गर्नुभयो ।

“बजेटमार्फत मुलुकको अर्थतन्त्र चलायमान हुनेछ, बजेट कार्यान्वयनपछि हामी सुदृढ राष्ट्रिय अर्थतन्त्रको निर्माणको दिशामा एक कदम अघि बढेको हुनेछौँ, सोही अठोट र सङ्कल्पसहित प्रस्तुत बजेट आएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

आगामी आवको बजेट नयाँ योजनाको भन्दा पनि विगतमा सुरु भएका योजना पूरा गर्ने गरी आएको उल्लेख गर्दै उहाँले विगतमा घोषणा गर्ने गरेका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रि रहेको उल्लेख गर्नुभयो ।

तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएको जानकारी अनुसार बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहेकाले आजका लागि सारिएको हो ।

सुचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

काठमाडौं । अबदेखि सूचना प्रविधि उद्योगले विदेशमा अधिकतम १० लाख अमेरिकी डलर सम्मका परियोजनामा लगानी गर्न सक्नेछन् ।नेपाल राष्ट्र बैंकले बुधवार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ मा चौथो संसोधन गर्दै विदेशमा लगानी गर्न चाहने आईटी कम्पनीहरुलाई लगानी गर्ने सीमा तोकिदिएको हो ।

‘विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्लो तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुनेछ,’ संशोधित विनियमावलीमा उल्लेख गरिएको छ ।

यसअघि सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को वजेटमार्फत नेपालीलाई विदेशमा लगानी गर्न वाटो खोलेको थियो । नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने बजेटमा उल्लेख छ ।

औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्र÷ उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने गरी विनियवली संसोधन भएको हो ।

यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरिनेछ र यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।

सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता

इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् ।

जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ ।

अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उहाँले बताउनुभयो ।

रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले इजरायल छाड्न चाहने इटालियाली नागरिकका लागि उडान उपलब्ध गराइएको बताउनुभएको छ ।

ग्रीसले आफ्ना १०५ जना नागरिक र केही विदेशी नागरिकलाई स्वदेश फर्काएको जनाएको छ ।

इजिप्टको शर्म अल शेखबाट सी–१३० र सी–२७ ग्रीक वायु सेनाको विमानमार्फत एथेन्स पु¥याइएको दूतावासले जनाएको छ ।

विमानमा ग्रीक नागरिक र उनीहरूका परिवारका साथै अल्बानिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, फ्रान्स, जर्मनी, जर्जिया, हङ्गेरी, इटाली, लिथुआनिया, रोमानिया, स्वीडेन, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका थिए ।

पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले पोल्याण्डको पहिलो समूह आफ्नो देश फर्कन सफल भएको र बिहीबारका लागि अर्को उडान तय भएको बताउनुभएको छ ।

सोफियामा ८९ जना बुल्गेरियालीसहित १४८ जनालाई उद्धार गरिएको एउटा निजी विमान बुधबार राति अवतरण गरेको छ ।

गत शुक्रबार इरानको आणविक र सैन्य केन्द्रलाई लक्षित गरी इजरायलले अकस्मात अवाइ आक्रमण चलाएपछि विदेशीहरू देश छोड्न हतारिएका छन् ।

युद्ध सुरु भएदेखि नै दुवै देशका आवासीय क्षेत्रहरूमा घातक आक्रमणहरू भएका छन् र विदेशी सरकारहरूले आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न कोसिस गरिरहेका छन्।

त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।

दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकालेको थियो ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ३९ रनको जित निकालेको स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको छ ।नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्दैछन् । समान दुई अंक भए पनि तालिकामा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ५ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३१, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो भारतीय प्रतिकिलो रु ४४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ६५, मूला रातो प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २२, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी मूल्य प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ४२, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३८, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ७०, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ४५, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३५ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा रु ८०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १८, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ६०, धनियाँ प्रतिकिलो रु ५५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलियो

चितवन ५ असारः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलिएका छन् । सङ्कलन गरिएका २३२ अण्डामध्येबाट २०२ वटा बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार सङ्कलन गरिएका अण्डामध्ये २० वटालाई प्रयोगशालामा छुट्टै राखिएको थियो । यसबाट १९ बच्चा कोरलिएको छ । अन्य अण्डालाई प्रजनन केन्द्रमा प्राकृतिक रुपमा राखिएको थियो । गत वैशाख १६ गते राप्ती नदी किनारमा रहेका गोहीका गुँडबाट सङ्कलन गरी अण्डा ल्याइएको थियो । निकुञ्जले १८ गँुड पहिचान गरी तीमध्ये सात गुँडबाट अण्डा सङ्कलन गरेर केन्द्रमा बच्चा कोरल्नका लागि ल्याएको थियो । सातवटा गुँडमा रहेका २३२ अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याईएको थियो ।

सङ्कलन गरेर ल्याइएका अण्डामध्ये २१२ अण्डालाई प्राकृतिक रुपमा कोरलिनका लागि छोडिएको थियो । गत आर्थिक वर्षमा राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ गुँडका २४७ अण्डा निकालिएको थियो ।

प्राकृतिक रुपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरु र अन्य जनावारसँगै मानवीय गतिविधिबाट हानिनोक्सानी हुने, नदीमा बाढी आउँदा बगाउने हुँदा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गर्ने गरिन्छ । निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । यहाँ हुर्किएका गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।
–––

वडा अध्यक्षमाथि भएको आक्रमणप्रति हेटौंडा उपमहानगरपालिको गम्भीर ध्यानाकर्षण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेमाथि भएको संघातिक आक्रमणप्रति हेटौंडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार दिउँसो वडाध्यक्षको कार्यकक्षमा पसेर एक समूहले उनलाई शारीरिक रूपमा आक्रमण गर्नुका साथै दुई थान मोबाइल लुटपाट गरेको थियो । घटनापछि उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी यस्ता आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ ।
नगर प्रमुख मिना लामाले जनप्रतिनिधिमाथिको आक्रमणले उनीहरूको मनोबल गिराउने भन्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्नुभयो। उहाँले यस्ता लुकिछिपी गरिने आक्रमणहरूलाई राजनीतिक गतिविधि नभई अराजक क्रियाकलापको संज्ञा दिइन् ।

वडाध्यक्ष न्यौपानेले पनि आफूलाई लक्षित गरी गरिएको आक्रमण योजनाबद्ध भएको भन्दै संलग्न समूहलाई चाँडो पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरे ।

उपमहानगरले संघीय, प्रदेश र स्थानीय तहमा रहेको कानुनी संरचनाको परिधिमा रही दोषीलाई कारबाही गर्न, पत्रकारिताको नाममा भइरहेका यस्ता गतिविधिमा नियन्त्रण गर्न तथा संलग्न पक्षविरुद्ध प्रचलित कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेको छ ।

आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।बिहीबार विहान ८ बजे सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।

बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

बाम नेता साह माओवादी केन्द्रमा प्रवेश

चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।बुधबार नेता साह चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गरेका हुन् ।बारा जिल्लाको कलैया पमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए ।

त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए ।२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हालेका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बनेका थिए ।

राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।

पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेशमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

नवलपुर (नवलपरासी), ५ असार : निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकोमा बाढीले डाइभर्सन बगाएको बताउनुभयो । त्यस्तै लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उहाँको भनाइ छ । यसखण्डमा यातायात आवागमनमा सहजता नभएसम्म वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न नेपालले आग्रह गर्नुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान उहाँले आग्रह गर्नुभएको छ । त्यस्तै काठमाडौँबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान नेपालले आग्रह गर्नुभयो । त्यसैगरी, साना सवारीसाधन भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

साथै, पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णयता बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ

कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।

६ वर्षीय बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा आएन

तनहुँ, ५ असारः बन्दीपुर गाउँपालिका–२ कुवादीका ६ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमण परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरी बालकको ज्यान लिएपछि सिद्धथान सामुदायिक वनमा बाख्रासहितका पाँचवटा खोर राखेर पासो थाप्ने काम गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक दिनेश ढकाल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरणराज रिजाल र वन्यजन्तु प्राविधिक थिरुलाल थारूको डार्टिङ टोलीले त्यस क्षेत्रमा निगरानी बढाइरहेको छ ।

डार्टिङ टोलीले चितुवा भेटेको अवस्थामा बेहोस बनाएर अन्यत्र स्थानान्तरण गर्ने योजना रहेको डिभिजन वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डार्टिङ टोलीले चितुवाको पदमार्ग र दिशा भेटिएकाले छिट्टै नियन्त्रणमा लिन सकिनेमा विश्वस्त रहेको जनाएका छन् ।”

बन्दीपुरमा चितुवा आक्रमणमा परी चालु आर्थिक वर्षको साउनदेखि यता ११ महिनाको अवधिमा तीन बालबालिकाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने बालक दुई र एक बालिका रहेका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ फागुन ९ गतेदेखि आठ वर्षको अवधिमा १२ बालक र पाँच बालिकाले ज्यान गुमाइसकेका छन् ।

जिल्लाका भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणले मानवीय क्षति भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षको अवधिमा २१ जना घाइते भएका छन् । घटना भएपछि स्थानीयवासीलाई साँझपख घरबाहिर ननिस्कन र सतर्कता अपनाएर बस्न तथा चितुवा देखिए तुरुन्त सम्पर्क गर्न स्थानीयलाई आग्रह गरिएको डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिनका लागि सोही ठाउँ आसपासमा पासो राखिएको अर्का वन अधिकृत नवीन विश्वकर्माले बताउनुभयो । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लैदुक्लै छाड्न नहुने विश्वकर्मा बताउनुहुन्छ ।

साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम अत्यधिक हुने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरिएको कार्यालय प्रमुख शरदकुमार अधिकारीले बताउनुभयो ।

चैते धान थन्क्याउने चटारोमा तनहुँका किसान

डुम्रे (तनहुँ), ५ असारः जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ ।

जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ । तर, भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका कुल नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले भन्नुभयो, “मनसुन सुरु भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन् । चैते धान थन्क्याउनासाथ असारे धान (वर्षे धान) रोप्ने चटारो हुन्छ । जिल्लाका चैते धानखेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्याननभ्याई छ ।”

मनसुन सुरु हुनासाथ वर्षेधान मात्रै हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको उहाँले बताउनुभयो । तनहुँ धानखेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उहाँको भनाइ छ । अधिकृत परियारका अनुसार उक्त क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक वर्ष २०८०÷८१ मा ३७ हजार ९४२ मेट्रिकटन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिकटन चैते धान उत्पादन भएको जनाएको छ ।

चैते धान प्रवद्र्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । थन्क्याउने कार्य चलिरहेकाले चालु आर्थिक वर्षको तथ्याङ्क आउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।”

भानुको चुँदीफाँट, खहरेफाँट, सतीघाटफाँट, व्यासको घाँसीकुवाफाँट, साँगेफाँट, कलेस्तीफाँट, माझफाँट, गजौडेफाँट, शिशाघाटफाँट, म्याग्देको गुणादीफाँट, थर्पुफाँट, पसलेफाँट, सेराफाँट र शुक्लागण्डकीको ढोरफिर्दीफाँट, भिमादको बुडुवाफाँटलगायतका विभिन्न पालिकाका फाँटमा धानखेती हुने गरेको छ । चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, ५ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६० पैसा र बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २८ पैसा र बिक्रीदर २१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६० रुपैयाँ १६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

भारतसँग सीमा जोडिएका सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर, ५ असारः भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो ।

“भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,” सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भन्नुभयो, “एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ ।”

सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा मात्रै पोजेटिभ आएको छ । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामीको स्वास्थ्य अवस्थामा बिहानको तुलनामा सुधार आएको बताउनुभयो । उहाँ पुनः कोरोना भाइसको सङ्क्रमण बढ्न थालेपछि आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामी पहिलो भएको बताउनुभयो ।

भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले मास्कको प्रयोगलाई बढावा दिने, स्यानिटाइजरको प्रयोग गर्ने कार्यसँगै स्वास्थ्यसम्बन्धीका सावधानी अपनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन कोरोनाको सङ्क्रमणमा परेका व्यक्तिहरुले क्वारेन्टिन वा होमआइसुलेसनमा इमान्दारिपूर्वक बस्नुपर्ने उहाँ सुझाव दिनुहुन्छ । भारतसँग सीमा जोडिएका प्रदेशका पाँचवटा क्षेत्रमा ‘हेल्थ डेस्क’ मार्फत शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गर्दै आएका छन् । गत जेठ २१ देखि यही असार ४ गतेसम्म सीमानाका हुँदै फर्केका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये कोरोना सङ्क्रमण पुष्टि भएका १६ जना निको भएका छन् । अझै सातजना होम आइसुलेसनमा बसेर उपचार गरिरहेका छन् ।

सुरक्षा व्यवस्थालाई मजबुत बनाउन दुई प्रदेशको सीमानामा प्रहरी चौकी

रामपुर (पाल्पा), ५ असारः लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको हो ।

कालीगण्डकी करिडोर प्रयोग गर्ने बढ्दै जाँदा चोरी निकासी तथा अवैध गतिविधि नियन्त्रण गर्न, निस्दी गाउँपालिका–१ र २ का स्थानीयलाई शान्ति सुरक्षा दिलाउन, सवारी दुर्घटना न्युनिकरण, अपराधिक क्रियाकलाप रोक्नका लागि दुई प्रदेशको सीमा नाकामा प्रहरी चौकी स्थापना गरी सेवा दिन थालिएको हो । भाडाको घरबाट सञ्चालित चौकीका लागि निस्दी गाउँपालिकाले आवश्यक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।

गाउँपालिकाले एउटा मोटरसाइकल समेत उपलब्ध गराउने भएको छ । यहाँ स्थापना भएको प्रहरी चौकीसँगै पाल्पामा हाल १९ स्थायी प्रहरी चौकी र ६ अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् । प्रहरी प्रधान कार्यालयले गत वैशाखमा स्वीकृत प्रदान गरेसँगै अस्थायी पोष्ट स्थापनाका लागि आवश्यक तयारी गरेर चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले लुम्बिनी प्रदेशको पाल्पा र गण्डकीको नवलपुरका सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सहज हुने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौँ, ५ असारः परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहनुहुने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो । इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्नु हुन मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नु हुनसमेत सूचनामा उल्लेख छ । इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै त्यहाँ रहनुभएका नेपाली नागरिक हालसम्म सुरक्षित रहनुभएको र निजहरुको हितको रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ ।

स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि हाल इजरायल र इरानको हवाईमार्ग बन्द रहेका कारण तेस्रो मुलुक हुँदै नेपाल फर्कनु परेमा तेस्रो मुलुकको ‘ट्रान्जिट भिसा’ लिनुपर्ने अवस्था आउन सक्ने भएकाले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

इजरायल र इरानमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर÷सेल्टरबाट बाहिर ननिस्कनु हुन मन्त्रालयले अनुरोध गरेको छ । साथै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रुपमा लिन र पालना गर्न अनुरोध गरिएको छ ।

मन्त्रालयले नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहन, परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गरेको छ । सङ्कट आइपरेमा उद्धार तथा सहायता र ‘ट्रेकिङ’ गर्न सहजताका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अभिभको ‘वेबसाइट’मा राखिएको ‘अनलाइन लिङ्क’मा दर्ता गरी आफ्नो विवरण फाराम यथाशीघ्र भर्नु हुन अनुरोध गरिएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ, ५ असारः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हँुदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ ।

वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्राल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल गर्ने कार्यसूची छ ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् । माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरुले बताउँदै आउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछ ।

हेटौँडा उपमहानगरपालिका–१ का वडा अध्यक्षमाथि आक्रमण

मकवानपुर, ४ असार : हेटौँडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि उहाँकै कार्यकक्षमा साङ्घातिक आक्रमण भएको छ । भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण गरेको हो । उनीहरूले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको समूहले वडाअध्यक्ष न्यौपानेलाई कालो मोबिल छ्यापेको थियो । वडा कार्यालयमा बसिरहेका अध्यक्ष न्यौपानेलाई नम्बर नखुलेका दुई वटा मोटरसाइकलमा आएका तीन÷चार जना व्यक्तिले कुटपिट गरी मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता अर्यालका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सुकुम्बासीसम्बन्धी समस्याको व्यवस्थापन गर्ने विषयमा भएको जग्गाको विवादले अध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा भूमिहीन सुकुम्बासी लेखिएको खाली रेकर्डफाइल फेलापरेको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो ।

घटनामा संलग्नको पहिचानका लागि सिसिटिभी क्यामेराको दृश्य विश्लेषण तथा फरार व्यक्तिको खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो । आक्रमणबाट अध्यक्ष न्यौपानेको टाउकामा चोट लागेको छ ।

घटनापछि हेटौँडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडाअध्यक्ष घटनास्थल पुग्नुभएको थियो । वडाअध्यक्ष न्यौपानेमाथि भएको सङ्घातिक आक्रमणप्रति हेटौँडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

घटनापछि हेटौँडा उपमहानगरले पत्रकार सम्मेलन गर्दै यस्ता आपराधिक गतिविधिको भत्र्सना गरेको छ । उपमहानगरले सङ्घीय, प्रदेश र स्थानीय तहमा रहेको कानुनी संरचनाको परिधिमा रही दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१ का वडाअध्यक्ष न्यौपानेमाथि भएको अभद्र व्यवहारप्रति नेपाली कांग्रेस मकवानपुरले आपत्ति जनाएको छ । वडा कार्यालयमै जबर्जस्ती प्रवेश गरी एक समूहले न्यौपानेमाथि दुव्र्यवहार र दुव्र्यवस्थित व्यवहार गरेपछि कांग्रेस मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी, ४ असार : यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका प्राकृतिक तातोपानीका मुहान जलविद्युत् आयोजनाका कारण सङ्कटमा परेका छन् ।कालीगण्डकी नदीमा निर्माण सुरु भएका र निर्माण हुन लागेका जलविद्युत् आयोजनाको सुरुङबाट पानी बग्ने भएपछि किनारमा रहेका तातोपानीको मुहान सुक्ने र आर्थिक, सामाजिक, वातावरणीय रुपमा असर पुग्ने स्थानीयवासीको चिन्ता छ ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा आज आयोजना भएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा प्रभावित क्षेत्रका बासिन्दाले तातोपानीको मुहानमा असर नपुग्ने गरी आयोजना बनाउन सुझाए ।

भुरुङ तातोपानीका अनिल हिराचनले विगतमा खोला गहिरिँदा, धार परिवर्तन हुँदा र थुनिँदाको असर तातोपानीको मुहानमा देखिएको अनुभव सुनाउनुभयो । उहाँले कालीगण्डकीको पानी सुरुङमा हालेपछि पर्यटकीयस्थल तातोपानीको भविष्य सङ्कटमा पर्ने बताउनुभयो ।

अर्का स्थानीयवासी आत्मा तुलाचन र अमृतमान शेरचनले अन्य आयोजनाको सुरुङ निर्माणका क्रममा जमिनमा हुने कम्पनका कारण प्रभावित क्षेत्रका पानीका मुहान सुक्ने समस्या देखिएको बताउनुभयो । तातोपानीको मुहानमा असर पर्ने सुनिश्चितता गरेरमात्र जलविद्युत् आयोजना बनाउन उहाँहरुले आग्रह गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिका–३ र ४ को सिमाना सुकेबगरमा बाँध, चार किलोमिटर ३१९ मिटर सुरुङ र वडा नं २ को सुकेबगरमा भूमिगत विद्युत्गृह प्रस्ताव गरिएको आयोजनाबाट अन्नपूर्णको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुनेछ । आयोजना प्रभावित क्षेत्रमा भुरुङ र पाउद्वार तातोपानीको कुण्ड रहेका छन् ।

बेनी–जोमसोम सडक, अन्नपूूर्ण चक्रीय पदयात्रा र मुुस्ताङ भ्रमणमा जाने पाहुनाहरुले स्नान गरेर थकान मेटाउने र विभिन्न रोगहरुको उपचारका लागि स्नान गर्ने तातोपानी कुण्ड गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोत र स्थानीय होटल व्यवसायीको आयआर्जनको माध्यम हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल नेतृत्वका आइएमई ग्रुपको अगुवाइमा हाइड्रो सपोर्ट प्रालीले यसअघि ५३.५३ मेगावाट प्रस्ताव गरिएको आयोजनाको क्षमता बढाएर ६६.३ मेगावाट बनाउन पूरक वातावरणीय मूल्याङ्कन गर्न लागिएको हो ।

स्थानीय जनप्रतिनिधि र बासिन्दा तथा अगुवाले तातोपानी कुण्डलाई असर नपुग्ने वैज्ञानिक आधार नभएसम्म आयोजना अघि नबढाउन आग्रह गर्दै जलविद्युत् आयोजनाका कारण असर पुगेमा त्यसको जिम्मेवारी आयोजनाले लिनुपर्ने अडान राखेका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ फगामका शुरत केसी र दुर्गादत्त सुवेदी, वडा नं २ ठूलोबगरका विष्णु परियार र लोकबहादुर पुर्जाले आयोजनाका कारण उत्पन्न हुने विपद्को जिम्मेवार आयोजनाले लिनुपर्ने बताउनुभयो । भुरुङ–तातोपानीका अमृतमान शेरचनले कालीगण्डकीको सभ्यता र संस्कृतिलाई बचाउनुपर्ने बताउनुभयो ।

हाइड्रो सपोर्टका अध्यक्ष चन्द्र ढकालले तातोपानी कुण्ड र स्थानीय जनजीवनमा असर नपर्ने र आयोजना बन्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले आयोजनाकातर्फबाट तातोपानीको मुहान बचाउने प्रतिबद्धता जनाउनुभयो ।

वातावरणीय असर न्यूनीकरण र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत रु नौ करोड ७० लाख २४ हजार विनियोजन गरेको जानकारी गराइएको थियो । कूल रु १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार ७३० लागत अनुमान गरिएको आयोजनाको ०.७५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने प्रस्ताव गरिएको छ । सुकेबगरमा बाँध र नागढुङ्गामा अडिट सुरुङ निर्माण सुरु गर्न संरचना तयार पारिएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले आयोजनाको सामाजिक उत्तरदायित्वको बजेट खर्च गर्ने प्रस्तावित विधिलगायत विषयमा चार बँुदे असहमति पेस गर्नुभएको थियो ।

यसअघि १४ मेगावाट क्षमताको मिस्त्रीखोला क्यासकेट जलविद्युत् आयोजनाका कारण पाउद्वार तातोपानी कुण्ड सङ्कटमा पर्ने भन्दै स्थानीयवासीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले स्थानीयवासीका पक्षमा फैसला गरेपछि उक्त आयोजना निर्माण प्रक्रिया रोकिएको छ ।