`

रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका रवी बोपराले लगातार तीन अर्धशतक जोडेका छन् ।

बोपराले तेस्रो अर्धशतक विराटनगर किङ्ग्सका विरूद्ध पूरा गरेका हुन् । उनले २९ बलमा ३ छक्का र दुई चौकाको मद्दतमा ५० रन पार गरे । ३८ बल खेलेका बोपरा चार छक्का र तीन चौकाको मद्दतमा ६५ रन जोडेर आउट भए ।

यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सका विरूद्ध पनि अर्धशतक जोडेका थिए । योसँगै बोपरा जारी एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडीसमेत बनेका हुन् ।

त्यसैगरी पोखरा एभेञ्जर्सका कुशल भुर्तेलले दुई अर्धशतक जोडेका छन् । भुर्तेल, बोपरासँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमकै हरमित सिंह, विराटनगर किङ्ग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक जोड्नेको सूचीमा छन् ।

कर्णालीका मार्क वाटमात्रै जारी प्रतियोगितामा हालसम्म शतक हिर्काउने खेलाडी हुन् ।

जेनजी आन्दोलनका सहिदः “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”

काठमाडौँ – “मिठो मानेर चिया खाइदिनुहोस् है ! छोराको आत्मा खुसी हुन्छ । मङ्सिर १० गते । आज उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको चिया र मालपुवा बाड्दै हुनुहुन्थ्यो ।

सडकमा रहेका असहायहरुको खोजी गर्दै चिया खुवाउँदै हुनुहुन्थ्यो । जेनजी आन्दोलनमा सहिद हुनुभएका रसिक खतिवडा खत्रीको आज जन्मदिन हो । रसिक जीवित भएको भए जन्मदिनमा सधँै आफैँले चिया पकाएर बिस्कुट, मालपुवा, दुनोट केही न केही खानेकुरा बाँड्न सङ्कटा, बसन्तपुर पुग्नुहुन्थ्यो ।

छोराले जन्मदिन मनाउने शैली हेर्दै आएका पुरुषोत्तम दम्पत्तीले उहाँले संसार छोडे पनि चिया खुवाउन वसन्तपुर पुगेको बताउनुभयो । “उ यसरी नै आफ्नो जन्मदिनमा सडकका असाहयहरुलाई खाजीखोजी चिया खुवाउँथ्यो”, आमा रचनाले स्मरण गर्दै भन्नुभयो, “दीनदुःखी देख्नै नसक्ने मेरो छोरोको के गल्ती थियो ? अनाहकै ज्यान गुमायो ।”

छोराको सम्झनामा रचनाको रुनुबाहेक अरु कुनै विकल्प छैन । रसिकले गरेका हरेक राम्रा बानी र व्यवहार मात्रै आफ्नो आँखाभरि फनफनी नाच्ने गरेको उहाँ बताउनुहुन्छ । जति दिन बित्छ, रचनाको कोखले छोरो खोजिरहन्छ । चिच्याएर रुनु पनि कति रुुनु ? रचनाका अनुसार छोराको सम्झनामा रुँदारुँदै आँसु सुकिसकेको छ । मन भने चर्किरहन्छ । आज रसिक बाँचेको भए, २३ वर्षमा टेक्नुहुन्थ्यो । बल्लतल्ल हुर्काएको छोरोले बिना कसुर ज्यान गुमाउनु पर्दा राज्यसँग रचनाको थुप्रै प्रश्न छन् । उहाँ भन्नुहुन्छ,“किन मारियो मेरो छोरो ? के गल्ती थियो उसको ?”

रचनाको जीवनमा आक्रोश, प्रश्नहरु र छोराको स्मरणहरु मस्तिस्कमा नाचिरहन्छन् । बुबा पुरुषोत्तमले छोराको दयालु स्वभाव भुल्न सक्नुहुन्न । उहाँ रसिक बित्नुभन्दा १२ दिनअघिको घटना सम्झिनुहुन्छ । त्यो दिन कान्छो छोरोलाई जस्तै गरी मायाले हुर्काएको कुकुर बित्यो । एक दशकदेखि आँखा अगाडि नाचिरहने कुकुर अचानक मरेर जाँदा मानव संवेदना हो, रुनु स्वभाविक थियो । कुकुर बितेपछि रुँदै बसिरहेका आमा बाबालाई फकाउने छोरा रसिक हुनुहुन्थ्यो । उहाँले त्यतिबेला जीवन हो, आउँछ–जान्छ, स्वीकार्नु पर्छ भन्ने आशयमा आफूहरुलाई सम्झाउँदाको परिपक्कता पुरुषोत्तमको हृदयमा सधँै छापजस्तै रहनेछ ।

उहाँका एक मात्रै २२ वर्षे छोराले भदौ २३ गतेको जेनजी आन्दोलनमा सहिद हुनुभएको छ । छोरो गुमाउँदाको घाउ आलै छ । आलो घाउमा मल्हम लगाउने आधारहरु खोज्दै पुरुषोत्तम जेनजी आन्दोलनका सहिदलाई न्याय दिलाउन सङ्घर्षरत अभियानमा हुनुहन्छ । “छोरो दिवङ्गत भएको अर्को दिनदेखि नै हामी सहिद घोषणा गर्नुपर्ने र राज्यले सम्मान दिनुपर्ने आवाज चर्काउँदै आएका थियौँ । अहिलेसम्म निरन्तर लागेका छौँ”, उहाँ भन्नुहुन्छ, “२२ वर्षे छोराले जुन परिपक्कताका साथ जीवन हो आउँछ जान्छ, भनेको थियो त्यसैलाई स्वीकार गरेर न्यायको पक्षमा लागिरहेको छु ।” पुरुषोत्तमका अनुसार जेनजी आन्दोलनका सहिदका परिवारले केही राहत पाए पनि आहत भने जीवनभर नमेटिने बताउनुभयो । उहाँहरुको अहिलेको एउटै एउटै माग छ, “दोषिलाई कारबाही गर्नुपर्छ । अनि मात्रै सहिदले न्याय पाउँछन् ।”

रसिक २०६० माघमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० मा जन्मिनुभएको थियो । होटेल म्यानेजमेन्ट विषय अध्ययरत रसिकको सपना स्वदेशै बसेर व्यवसाय गर्नु थियो । कलिलो तन, रसिलो भावसँगै अन्याय पटक्कै सहन नसक्ने विद्रोही स्वभावले रसिकलाई परिवार र साथीभाइ माझ सधैँ यादगार बनाएको छ । उहाँका बुबा पुरुषोत्तमका अनुसार सानैदेखि रसिकमा अन्याय सहने स्वभाव थिएन । एक दिन बाटोमा हिँड्दै कसैले एक महिलालाई जिस्क्याएछ । ती युवती कराउँदै थिइन् । बाटोमा आउने–जानेले खासै वास्ता गरेका थिएनन् तर बुबाको हात समाउँदै बजार हिडिरहेका रसिकले आँखा छलेर ती युवतीलाई परेको समस्या के हो भन्दै सोध्नपुग्नु भएछ । बुबा पुरुषोत्तमले विवादमा नफस भन्दै सम्झाउँदा पनि रसिकले कसैलाई अन्याय परेको छ भने साथ दिनुपर्छ भनेर सम्झाउनु भएको पुरुषोत्तम सम्झनुहुन्छ ।

बुबा पुरुषोत्तम छोरा रसिकको गुणगान गाएर थाक्नुहुन्न । विगतको स्मरण गर्दै उहाँले रसिकको कोमल हृदयको समेत प्रशंसा गर्नुहुन्छ । उहाँको ज्याकेट पसल थियो । त्यतिबेला रसिक सानै हुनुहुन्थ्यो । सानो बालक र निर्मल हृदयका हुनुहन्थ्यो । एक दिन पसलबाट दुई÷चार वटा ज्याकेट निकालेर साथीभाइलाई बाँड्नुभएछ । पुरुषोत्तम यो देखेर रिसाउनु पनि भयो । किन यस्तो गरेको ? भन्ने प्रश्न गर्दा भावुक आँखा बनाएर रसिकले भन्नुभएछ, “बुबा मेरा साथीहरुसँग ज्याकेट किन्ने पैसा छैन । जाडो छेक्ने लुगा छैन । हामीले सहयोग नगरे कसले गर्ने ?”

त्यो बालकको निर्दोष र कमलो भाव देखेर रिसाउनु भएका पुरुषोत्तम नरम हुनुभयो र छोराको उदार मनबाट प्रभावित हुनुहुभयो । रसिकको व्यवहारले घरमा धेरैलाई पाठ सिकाएको छ । आमा रचनालाई रसिक छोराभन्दा बढी साथी हुनुहुन्थ्यो । आमालाई चिया पकाएर खुवाउने उहाँको बानी थियो । अहिले चिया पकाउँदा र चिया शब्द सुन्दा पनि छोरा रसिककै झल्को आउने गरेको रचना बताउनुहुन्छ । गत भदौ २३ गते रसिकले बिहान खाना खाएर आन्दोलनमा जाने तयारी गर्दैगर्दा आमा–बुबाले नजान भनेर धेरैपटक रोक्न खोज्नुभएको थियो । जोसिला र ऊर्जाशील रसिकले “यो हाम्रो पुस्ताको आन्दोलन हो, जानुपर्छ”, भनेर बानेश्वरतिर निस्किनु भयो । उहाँले जाँदाजाँदै भन्नुभएछ, “मामु म आएर चिया पकाएर खुवाउँछु है । पीर नगर्नु ।” बुबा पुरुषोत्तम र आमा रचनाले छोराले चिया खुवाउने बाचा गरेको सम्झदै भावुक हुनुहुन्छ ।

छोराको निधन भएपछि आमा रचनाका आँखा ओभानो छैनन् । बुबा पुरुषोत्तम भने बलियो मन बनाएर छोराको सपना पुरा गर्न लाग्नुभएको छ । गितार बजाउँदै, ¥याप गीत गाउनले रसिकको रसिलो स्वभावले खतिवडाको परिवार रङ्गमञ्च जस्तै रसिलो हुन्थ्यो । “उसलाई बालेनको गीत निकै मन पथ्र्याे”, पुरुषोत्तमले भन्नुभयो,“गितार बजाउन निकै रहर गथ्र्यो ।”

जेनजी आन्दोलनको प्रदर्शनीका क्रममा भदौ २३ गते नै दिउसो गोली लागेर ज्यान गुमाएका रसिकले संसार छोडे पनि आमाबुबाको लागि छोरो संसारमा नरहेको विश्वास छैन । घटना भएको दिन साथीहरुले गोली लागेर ढलेका रसिकको ज्याकेट र मोबाइल घरमा पु¥याइदिएका थिए । साथी क्याफेमा छ भन्दै झुटो बोसेर आमा रचनालाई वास्तविकता लुकाएछन् । त्यतिबेलासम्म पनि रचनालाई छोरो यस संसारमा नरहेको भन्ने कुनै सुइँको नै थिएन । तर, पछि अस्ट्रेलियामा रहेकी छोरीले छोराको अवस्थाबारे भिडियो पठाएपछि भने रचनाले अन्धकार महशुस गर्नुभयो ।

बुबा पुरुषोत्तम नेपाल टेलिकमका कर्मचारी हुनुहुन्छ । भदौ २२ गते छोराको अन्तिम भेट गरेर उहाँ काठमाडौँ बाहिर जानुभएको थियो । छोराको अचानक संसार छोडेको खबर अहिले पनि उहाँलाई सपना जस्तै लाग्ने गर्दछ । उहाँ भन्नुहुन्छ, “उसको र मेरो त्यही दिन अन्तिम भेट थियो ।”

छोराछोरीको लागि एउटा बुबा आमाले जीवनभर सङ्घर्ष गरेको हुन्छ । उनीहरुको उज्ज्वल भविष्यको लागि सबै दुःख सहन गर्छ । जसका लागि दुःख गरेको हो उ नै नरहँदा आफूहरुलाई पीडाको भारीले थिचेजस्तो भइरहेको पुरुषोत्तम बताउनुहुन्छ । रसिक बाँचेको भए यतिबेला अस्ट्रेलियामा दिदीसँगै हुनुहुन्थ्यो । होटेल म्यानेजमेन्टका विद्यार्थी रहेका रसिकले विदेशबाट कमाइ गरेर नेपालमा आई ठूलो रेष्टुरेन्ट खोल्ने सपना बुन्नुभएको थियो । उद्योग व्यवसायमा युवाहरुको प्रशस्त सम्भावना देखेका रसिकको इच्छामा पुरुषोत्तम सहयोगी हुनुहन्थ्यो । तर, अब भने रसिकको निधनसँगै सपना रोकिएको छ ।

राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने  व्यवस्थाले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्ने धारणा व्यक्त गरेकी छन् । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशका सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थालाई हटाएर अनावश्यक राजनीति गर्ने बाटो बन्द गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था आयो, यो राम्रो होइन, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ ।’

विश्वविद्यालयहरू पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । ‘हरेक कुरामा सरकारमाथि भर पर्ने कुराले विश्वविद्यालयलाई स्वायत्त हुन दिँदैन’, उनले भनिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति महावीर पुनले अध्यादेश वा अन्य कानुनी प्रबन्ध गरी प्रधानमन्त्री उपकुलपति रहने व्यवस्था हटाउने सन्दर्भमा विज्ञहरूसँग छलफल भइरहेको  जानकारी दिइन् ।

सभाले विश्वविद्यालयको आर्थिक वर्ष २०८२/८३ को विश्वविद्यालयको नीति कार्यक्रममा प्राज्ञिक तथा प्रशासनिक पक्षलाई पुनःरसंरचना गरिने निर्णय गरेको छ । यसैगरी विश्वविद्यालय मातहतका प्रादेशिक कार्यालयलाई क्षमतायुक्त बनाउँदै क्रमशः प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको छ ।

सो प्रयोजनका लागि उच्चस्तरीय त्रिवि पुनःसंरचना आयोग बनाई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक, भौतिक तथा प्रशासनिक कामको मूल्याङ्कन गरी आवश्यकताअनुसार समायोजन वा खारेज गर्ने कामअघि बढाउने नीति त्रिवि सभाले पारित गरेको छ ।

यसैगरी मानव संसाधन तथा जनशक्ति विकास, शैक्षिक तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत सुधार, सूचना प्रविधिमार्फत डिजिटल रुपान्तरण र अनुसन्धानका लागि स्रोतसाधनको व्यवस्था गरिने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।

त्रिविको नियमित तालिकाअनुसार गत असारमा पारित गरी कार्यान्वयन प्रक्रियामा जानुपर्ने नीति कार्यक्रमका सन्दर्भमा यसअघि विवाद सिर्जना भएपछि रोकिएको त्रिवि सभा बैठक आज बसेको हो ।

निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन रहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भाग लिन निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गराउने समय आजबाट समाप्त हुन लागेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन् । पहिले दर्ता भईसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ । त्यस अनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन रहेको छ ।

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको १४० औँ बैठक बस्ने भएको छ ।

बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ११०, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३१, आलु सेतो प्रतिकिलो ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रहेको छ ।

यस्तै, गाँजर (लोकल) प्रतिकिलो १४०, गाँजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ७०, बन्दा (तराई) प्रतिकिलो ६० काउली स्थानीय प्रतिकिलो ५५, काउली (तराई) प्रतिकिलो ५०, सेतो मूला (लोकल) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो ६५, तने बोडी प्रतिकिलो १६०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १९०, टाटे सिमी प्रतिकिलो रु १३०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५५, परवर (लोकल) प्रतिकिलो रु ९०, परवर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ३५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो ११०, भिन्डी प्रतिकिलो ९०, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ६५ र पिँडालु प्रतिकिलो रु ८०, स्कुस प्रतिकिलो रु २० कायम गरिएको छ ।

साथै, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकेजी रु २००, चमसुर प्रतिकिलो रु १५०, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु २००, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु १०००, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ७०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ६५०, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १३० र गुन्द्रुक प्रतिकिलो ३०० तोकिएको छ ।

त्यस्तै, स्याउ (झोले) प्रतिकिलो रु २००, स्याउ (फुजी) प्रतिकिलो रु २८०, केरा (दर्जन) १३०, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, तरबुजा हरियो प्रतिकिलो रु ७५, मौसम प्रतिकिलो रु ८०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, निबुवा प्रतिकिलो रु ४०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु ९०, अम्बा प्रतिकिलो ८० र लप्सी प्रतिकिलो ६५, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ४५०, किबी प्रतिकिलो रु २००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु २५० तोकिएको छ ।

जेनेस सलुशनको सहयोगमा जेन जी युवालाई सीप सिकाउँदै कागेश्वरी मनोहरा नगरपालिका

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाले जेन जी पुस्ताका युवाहरूलाई रोजगारमूलक सूचना प्रविधि सम्बन्धी सीप सिकाइ रहेको छ।बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा नगरपालिकाले सञ्चालन गरेको १० दिने डिजिटल साक्षरता प्रशिक्षण सम्पन्न भएको छ।१० दिने तालिममा डिजिटल मार्केटिङ, साइबर सेक्युरिटी, क्लाउड र आइटीका पछिल्लो ट्रेन्ड बारे प्रशिक्षण दिनुका साथै प्रयोगात्मक अभ्यास पनि गराइएको थियो।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले यो नगरपालिकालाई देशकै आइटी हब बनाउने उद्देश्य लिएर जेनेस सलुशनसंगको सहकार्यमा इनोभेसन सेन्टर सुरु गरेको बताए। उनले नगरपालिका जेन जी पुस्ताको लागि अवसर सिर्जना गर्न लागि परेको पनि बताउँदै आइटी तालिम लिएका युवाहरूले राम्रो रोजगार पाएको र केही ‘सेल्फ इम्प्लोइड’ भएर काम गरिरहेको पनि बताए। उनले सबै सहभागीहरूलाई बधाई दिँदै सहकार्यका लागि जेनेस सलुशन टिमलाई धन्यवाद पनि दिए।

मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले १० दिनको तालीमले सहभागीहरूलाई नयाँ सीप सिक्ने र आफ्नो आगामी करियर के हुने भन्ने निधो गर्न सहयोग पुग्ने बताए। अहिले पनि विदेशमा बनेका सफ्टवेयरहरू नेपालमा प्रयोग भई रहेको भन्दै अब मुलुक लाई चाहिने सफ्टवेयर नेपालमै उत्पादन गर्न सक्ने जनशक्ति तयार गर्नु पर्ने बताए। नगरपालिकाको शिक्षा शाखा प्रमुख पुष्प राज ढकालले स्वागत गर्दै अहिलेको युग सूचना प्रविधिको युग हो भन्दै आइटीको सीप भएका युवाहरूले धेरै अवसर पाउन सक्ने बताए।

युवाहरूलाई सूचना प्रविधि सम्बन्धी सीप सिकाइ रोजगार प्राप्त गर्न सघाउने उद्देश्यले आयोजित तालीममा ४० जना युवाहरू सहभागी भएका थिए।
जेनेस सलुशनका कैलाश बडू, सम्पन्न श्रेष्ठ, विश्रान्त कटवाल, वरिष्ठ अधिकृत आस्था जोशी, सुजु श्रेष्ठ, वरदान खड्का क्षेत्री, निर्मल बस्ताकोटी, कृतिका कपाली, सन्तोष ताम्राकारले प्रशिक्षण सञ्चालन गरेका थिए।

यसै गरी नेपाल प्रहरीको साइबर ब्युरोका वरिष्ठ सब इन्स्पेक्टर जीत बहादुर बुढाले साइबर सेक्युरिटी र साइबर कानुनका बारेमा प्रस्तुति दिएका थिए। त्यस्तै सेल पे का निमेश अधिकारी, जब स्नाइपर प्रा लिका सह संस्थापक इ उज्ज्वल कोइरालाले पनि प्रशिक्षण दिएका थिए भने दीपक राज सिलवालले सहजीकरण गरेका थिए।

तालिमका सहभागी विशाल खड्का र मनीषा कोइरालाले तालिम निकै उपयोगी भएको बताउँदै यो अवसर दिएकोमा नगरपालिका तथा जेनेस सलुशनलाई धन्यवाद दिए। सबै सहभागीहरूलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

यसै वर्ष अगस्ट महिनामा जेनेस सलुशन र कागेश्वरी मनोहरा नगरपालिकाबिच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो। हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन्।

जेनेस सलुशनका अफिसहरू नेपाल, बङ्गलादेश, नाइजेरिया, फिनल्यान्डसहित १० भन्दा बढी देशहरूमा रहेका छन्। कम्पनीले विश्वभरका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ।

बागमती प्रदेश सरकारका १०० दिन : स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्।

मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ।

क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण भेगमा पोर्टेबल अल्ट्रासाउन्ड सुविधा तथा आयुर्वेद औषधि उत्पादनमा १० नयाँ उत्पादन क्षमता विस्तार गरिएको उनले जानकारी दिए।

जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार र मनहरी–९ की मिठुमाया सुनारलाई मुख्यमन्त्रीको व्यक्तिगत लगानीमा निर्माण गरिएको घर हस्तान्तरण स्वास्थ्य–सामाजिक क्षेत्रमा गरिएको अर्को महत्वपूर्ण कार्य रह्यो।

कृषि तथा पशुपालन क्षेत्रमा अविरल वर्षाबाट भएको क्षति न्यूनिकरणका लागि राहत कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्रीले बताए। लम्पी स्किन रोगविरुद्ध ९६ हजार ३४७ डोज खोप वितरण, २२ पशु अस्पताल भवन निर्माण, भेटेरिनरी सेवा विस्तार, कृषि थोक बजार निर्देशिका निर्माण तथा मकवानपुर–सिन्धुलीलाई खोरेत–मुक्त क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख छ।

उद्योग, व्यापार तथा श्रम क्षेत्रका उपलब्धिमा २ हजार ६६७ नयाँ उद्योग–व्यापार दर्ता, ७१२ व्यवसाय अनुगमन, ‘एक वडा–एक उद्यम’ कार्यक्रम कार्यान्वयन, ३५ लाख कागजात डिजिटाइजेसन अभियान तथा यातायात कागजातमा जरिवाना छुट र पुनर्निर्माण व्यवस्था लागू गरिएको धोरणगत सुधार समेटिएको छ।

युवा, खेलकुद तथा पर्यटन क्षेत्रका उपलब्धिमा ५० योजनाको लागत अनुमान तयार, आठ पर्यटन पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण, ५३७ नयाँ गाइड, होटल तथा एजेन्सी दर्ता, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट हस्तान्तरण, पाँच सय विद्यार्थीलाई साइबरक्राइम तथा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्रीले जानकारी दिए।

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर २२ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

साथै, जापानी येन १० को खरिददर नौ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १९ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३९ रुपैयाँ २६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यसैगरि, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५७ पैसा रहेको छ ।

आज कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ । यस्तै, राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन

लण्डन । बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’को छायांकन लन्डनबाट सुरु भएको छ ।फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन् । फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स नेपाल’ न्यौपानेको कम्पनी हो ।

अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशीका अलवा विदेशी कलाकार नादेशि हप्किन्सको फिल्ममा मुख्य भुमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको फिल्ममा सौरभ लामाको डिओपी र ईश्वर सिन्केमानाको छायांकन रहनेछ । फिल्मका प्रोडक्सन म्यानेजर रबिन भारती हुन् ।

निर्माण पक्षका अनुसार फिल्मको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत छायाँकन नेपालमा गरिनेछ। केही समयअघि निर्माण टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो।सार्वजनिक पोस्टरमा कलाकारको लुक्स हेर्दा फिल्म बक्सिङ खेल वा एक्सन विधामा आधारित रहेर निर्माण हुन लागेको अनुमान लगाउन सकिन्छ ।

नेपाल र श्रीलंकाबीच व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार लागि आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ ।नेपाल र श्रीलङबीच कुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुवै देशले लाभ लिन सक्नुपर्ने विषयमा छलफल भएको थियो ।

राजदूत डेल्पितीयासंग चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल श्रीलंकाबीचको व्यापारको आकार बार्षिक औषतमा मुुस्किलले २ दशमलव ५ मिलियन अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताए ।नेपालले १ दशमलव ४० मिलियन अमेरिकी डलर बराबरको बस्तु आयात गर्दा शुन्य दशमलव ७० मिलियन डलरको मात्रै निर्यात गरिरहेको अध्यक्ष अग्रवालले बताए ।

दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, हवाई सेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृषि तथा जलविद्युत, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा दुईपक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूत समक्ष चेम्बरले प्रस्ताव गरेको थियो

चेम्बरले सातामा कम्तिमा एउटा उडान श्रीलङका–लुम्विनी एवं लुम्विनी श्रीलङका सीधा हवाई सेवा संचालन गरेर पर्यटकहरु आर्कषित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलङकका बौद्ध धर्मावलम्वीहरुलाई नेपालमा आर्कषित गर्न सकिने अध्यक्ष अग्रवालले बताए ।

यस्तै श्रीलङका भ्रमणका लागि जाने नेपाली पर्यटकहरुलाई फ्रि भिषाको व्यवस्था गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत डेल्पितीयाले नेपालसंग व्यापार अभिवृद्धिबारे सम्भावनाका विभिन्न विकल्प तथा व्यापार सहजीकरणका लागि आफुले पहल गरिरहेको बताइन् । श्रीलंकामा आगामी जुनमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर पदाधिकारी समक्ष उनले आग्रह गरिन् ।

जर्नेल नेतृत्वकाे ‘जय मातृभूमि पार्टी’ले पायो आधिकारिकता

काठमाडौँ । ’जय मातृभूमी पार्टी’ले आधिकारिकता पाएको छ । राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरुको राष्ट्रिय सुरक्षा जागरण महाअभियान सहित एकीकरण गरी बनेको ’जय मातृभूमि पार्टी’लाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाण पत्र प्रदान गरेको हो । २०८२ मंसिर ९ गते मंगलबार आयोगका सचिव महादेव पन्थले नेपाली सेनाका पूर्व उपरथी(जर्नेल) एवं पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीलाई प्रमाण पत्र हस्तान्तरण गरे ।

प्रमाण पत्र ग्रहण पछि नेपालवादको सिद्धान्त लिएर नेपालभरका जनतामाझ जाने अध्यक्ष कार्कीले बताए । उनले भने, ’हामी पूर्व सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आबद्ध भएका छौँ । देशभर ८ लाख भन्दा बढी छौँ । जनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिन्छौँ । हामीलाई जनतामाथि विश्वास छ ।’

अध्यक्ष कार्की पूर्व मेजर जर्नेल समेत हुन् । उनी ४० वर्ष नेपाली सेनामा इमानदारीपूर्वक कार्यरत रहे । ’देशकै अवस्था देखेर हामीहरु राजनीतिमा होमिनु परेको हो । कुशासनले देशै नरहला कि भन्ने अवस्था आइसकेको अवस्थामा मातृभूमि र नागरिकको सुरक्षाको लागि हामी आएका छौं। सचेत नागरिक जागरुक हुन आवश्यक छ’ उनले भने ।

पार्टीका महासचिव गोविन्द गिरीले विचार मिल्ने शक्ति सँग एलाइन्स गरेर फागुन २१ मा हुने भनिएको निर्वाचनमा जाने सम्भावना बलियो रहेको बताए । उनले भने, ’हाम्रो पार्टीमा विभिन्न क्षेत्रबाट कुशलता पूर्वक राष्ट्रको सेवा प्रदान गरेका अवकाश प्राप्त योग्य नेताहरु र विभिन्न बिषय विज्ञहरु हुनुहुन्छ, उहाँहरुलाई काँध थाप्ने जेनजी साथीहरु पनि हुनुहुन्छ । अवसर पाउँदा मुलुकको नेतृत्व गर्न सक्ने क्षमतामा राख्छौँ ।’
यो दलको दर्ता नम्बर २२१ रहेको छ । जय मातृभूमि पार्टीको चुनाव चिह्न बच्चा काखमा लिएकी आमा रहेको छ ।

अपहरण रोक्न ‘सबै कानुनी उपाय’ अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले मङ्गलबार उत्तरी नाइजेरियामा सामूहिक अपहरणमा भएको वृद्धिको निन्दा गर्दै अधिकारीहरूलाई आक्रमण रोक्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन तत्काल कदम चाल्न आग्रह गरेको छ।

राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता थमिन अल–खितानले जेनेभामा एक पत्रकार सम्मेलनमा भन्नुभयो, “उत्तर–मध्य नाइजेरियामा अपहरणका घटनामा भएको वृद्धिका घटनाले हामी स्तब्ध भएका छौँ ।”

उहाँले भन्नुभयो, “त्यस्ता घृणित आक्रमणहरू रोक्न र जिम्मेवारहरूलाई जवाफदेही बनाउन सबै कानुनी उपायहरू अपनाउन हामी नाइजेरियाली अधिकारीहरूलाई आग्रह गर्दछौँ ।”

केही दिनमै करिब ३५० स्कुले बालबालिकासहित सयौँ नाइजेरियालीहरूको अपहरणले देशमा व्याप्त निरन्तर सुरक्षा सङ्कटको बारेमा चर्को बहस सुरु भइरहेका समय उहाँको टिप्पणी आएको हो।

“नाइजर, केब्बी, क्वारा र बोर्नो राज्यमा नोभेम्बर १७ यता कम्तीमा ४०२ जना अपहरणमा परेका छन्,” खितानले भन्नुभयो । उहाँका अनुसार अपहरितमध्ये ८८ जना मात्र मुक्त भएका छन् वा अपहरणकारीबाट भागेका छन्।

उहाँले नाइजेरियाली अधिकारीहरूलाई अझै पनि कैदमा रहेका सबैलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ती सुनिश्चित गर्न र थप अपहरण रोक्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “उनीहरूले अपहरणको छिटो, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्दछ र जिम्मेवारहरूलाई न्यायको दायरामा ल्याउनुपर्छ।”
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियामा बढ्दो सुरक्षा त्रासका कारण देशका केही भागहरूमा विद्यालय बन्द हुने क्रम सुरु भएको छ।

एक दशक पहिले उत्तरपूर्वी बोर्नो राज्यको चिबोक शहरबाट इस्लामिक लडाकुहरूले लगभग ३०० स्कुले छात्राहरूलाई अपहरण गरेपछि नाइजेरियाले सामूहिक अपहरणको श्रृङ्खलाहरूको सामना गरिरहेको छ । ती अपहरणहरू प्रायः फिरौती भुक्तानीको खोजीमा आपराधिक गिरोहहरूले गर्ने गरेका छन्।

बोर्नो राज्य लामो समयदेखि चलिरहेको इस्लामिक विद्रोहको केन्द्र पनि हो । सन् २००९ देखि हालसम्म बोर्नोमा भएका विद्रोही गतिविधिका कारण ४० हजारभन्दा बढी व्यक्तिको ज्यान गुमिसकेको छ।

महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी

महेन्द्रनगर, ९ मङ्सिर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा ओदालीका दमाईं नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जोखीकार्य जारी राखेको भए पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।“दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल छन्,” प्रवक्ता बोहराले भन्नुभयो, “बेपत्ताको खोजीकार्यमा जुटिरहेको भए पनि अवस्था अझै अज्ञात छ ।”

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको १० लाखसहित सम्मान

काठमाडौँ, ९ मङ्सिरः दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नगदसहित सम्मान गरेको छ ।त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा एक कार्यक्रमका बीच आज क्यानले उक्त टोलीलाई रु १० लाख नगदसहित सम्मान गरेको हो ।

दृष्टिविहीन महिला टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ ।सम्मान कार्यक्रममा क्यानका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो । श्रीलङ्कामा हालै सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

काठमाडौँ, ९ मङ्सिर : पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ । यस अवधिमा प्रवेश शुल्कबापत उक्त रकम असुली भएको हो । अघिल्लो वर्षको मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो साँझसम्म टिकट बिक्रीबापत रु सात करोड ७१ लाख सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनअघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले हप्ताको सातै दिन सञ्चालन हुने गरेको छ । “अघिल्लो मङ्सिर ९ देखि अहिलेसम्म चार लाख ६९४ जना नागरिकले चढिसकेका छन्, जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन”, उहाँले भन्नुभयो, “बिहान १०ः३० देखि ३ः०० बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ, छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखिएको पनि उहाँको भनाइ छ । हालसम्म धरहरा चढेकामध्ये करिव २८ सय विदेशी नागरिक हुन् ।

ऐतिहासिक धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने छन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोखिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो । अघिल्लो मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।

धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार निर्धारण गरिएको छ ।

तनहुँमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

दमौली (तनहुँ), ९ मङ्सिरः तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा आज टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।     मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नंम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको टिपर ठोक्किएको थियो । दुर्घटनामा घाइते चन्दलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुख आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुरुङ्गा (झापा), ९ मङ्सिर – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।विशेष अदालत काठमाडौँमा आज उनीहरूविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो । राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणि आपागाईं, तत्कालीन नायब सुब्बा रवीनकुमार राजबंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहालमाथि मुद्दा दर्ता गरिएको उल्लेख छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजालसहित राहदानी बाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुङ्गेल र बलराम महतोमाथिसमेत भ्रष्टाचारको आरोप लगाइएको छ ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा विनोद कुँवरको राहदानीमा जन्म मिति ५ वर्ष घटाइएको उल्लेख छ । उनको नागरिकतामा १९७६/१०/१३ जन्म मिति र राहदानीमा १९८१/१०/१३ उल्लेख छ ।

सिमान्त विश्वकर्माको जन्म मिति २ वर्ष बढाइएको देखाइएको छ । उनको नागरिकतामा २००४/०९/०३ र राहदानीमा जन्म मिति २००२/०९/०३ जनाइएको उल्लेख छ । गोविन्दप्रसाद ढुङ्गेलको जन्म मिति ५ वर्ष घटाएको उल्लेख छ । उनको नागरिकतामा १९८१/०७/२६ गते र राहदानीमा जन्म मिति १९८६/०७/२६ रहेको उल्लेख छ ।त्यस्तै बलराम महतोको जन्म मिति ८ वर्ष घटाइएको उल्लेख छ । उनको नागरिकतामा जन्म मिति १९८२/१०/२४ र राहदानीमा १९९०/१०/२४ रहेको उल्लेख छ ।

लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्यो । काठमाडौंका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन् ।यस अघि तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक रहेको थियो ।

जापानमा अनावश्यक लागत कटौती घटाउन नयाँ विभागको स्थापना

जापानले १३५ अर्ब डलरको प्रोत्साहन प्याकेजको चिन्ता कम गर्न मङ्गलबार सरकारको गलत लागत कटौतीका लागि सरकारी दक्षता विभागको स्थापना गरेको छ।

अमेरिकी प्रविधि उद्यमी एलन मस्कले वर्तमान् डोनाल्ड ट्रम्प प्रशासनको पालामा स्थापना गरेको जस्तै यो जापानको आफ्नै संस्करण भएको सरकारी अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री साने ताकाइचीले गत हप्ता अर्थतन्त्रलाई बढावा दिन ठूलो सरकारी खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । देशको ठूलो ऋणको बोझ बढाउने डरका बाबजुद यो आर्थिक रूपमा जिम्मेवार रहेको बताएका थिए।

“हामी बाँचिरहेको समयलाई ध्यानमा राख्दै वित्तीय स्थिरता सर्वोपरि, महत्त्वपूर्ण छ । जनताले देखिरहेका छन् हामी यसको लागि निरन्तर काम गरिरहेका छौँ,” जापानी अर्थमन्त्री सत्सुकी कातायामाले एक संक्षिप्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

जापानको सरकारी दक्षता विभाग भनेर चिनिने यस पहलको अनावरण गर्दै प्रधानमन्त्री ताकाइचीले भन्नुभयो, “आर्थिक अपचलन कम गर्नका लागि उच्च सार्वजनिक चासो देखिएको छ।”

एलन मस्कको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा प्रविधि विशेषज्ञहरूको टोली रहेको यस्तै कार्यक्रमले व्यवस्थित अनियमिततालाई भत्काउन र राष्ट्रको २० लाखभन्दा बढी बलियो निजामती सेवालाई हस्तक्षेप गरी सही मार्गमा डो¥याउन सहयोग पुर्‍याएको थियो ।

जापानी टोलीमा करिब ३० जना सरकारी अधिकारी रहने यो कार्यक्रमले सरकारी संस्थामा सुधार गर्ने लक्ष्य रहेको कातायामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेष कर उपाय र छुटहरूको समीक्षा गर्ने जिम्मेवारी रहेको यस कार्यालयले नीतिगत प्रभाव कम भएका कार्यक्रमहरूको समीक्षा गर्नेछ।”

‘ग्रामीण स्वास्थ्य र शिक्षाका संरचना सुदृढमा केन्द्रित छौँ’ – मन्त्री भण्डारी

कर्णाली – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षाको संरचना सुदृढ गर्नेतर्फ प्रदेश सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

आज सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका– १ देवस्थलस्थित १५ शय्या क्षमताको नवनिर्मित नगर अस्पतालको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले स्वास्थ्य र शिक्षाका कारण बसाइसराइको दर बढिरहेको हुँदा ग्रामीण क्षेत्रका स्वास्थ्य र शिक्षाका संरचना सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो । सोही अनुरूप स्थानीय तहमा मेडिकल अधिकृत खटाइएको उहाँले जनाउनुभयो ।

मन्त्री भण्डारीका अनुसार दार्मा गाउँपालिका बाहेक सल्यान र रुकुमपश्चिमका सबै स्थानीय तहमा मेडिकल अधिकृत खटाइएको छ । आवधिक निर्वाचनका माध्यमबाट जनताले जनप्रतिनिधिको परीक्षा लिने गरेको उल्लेख गर्दै उहाँले जनताप्रति उत्तरदायी हुन र सोही अनुरूप सार्वजनिक सेवा प्रवाह गर्दा गुणस्तरीय एवं पहुँचयोग्य बनाउँदै सुदृढीकरण तर्फ ध्यान दिन अपिल गर्नुभयो ।

कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भीमप्रकाश शर्माले प्रदेश सरकारको सहयोग प्राप्तिसँगै मन्त्रालयले अस्पतालका लागि मेडिकल अधिकृतसहितको जनशक्ति व्यवस्थापन गरेकोप्रति कृतज्ञता प्रकट गर्नुभयो । सामान्य उपचार नपाइरहेको यो भूमिमा नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा पाउन राम्रो कुरा भएको जनाउँदै उहाँले अस्पतालको स्तरोन्नतिका लागि आफ्नो तहबाट पहल गर्ने बताउनुभयो ।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले अस्पताल सञ्चालन गर्ने नगरवासीको सपना पूरा भएको बताउँदै स्वास्थ्य उपचारका लागि वर्षौँदेखि सास्ती खेपिरहेका नागरिकले राहत प्राप्त गर्ने जनाउनुभयो । अस्पतालको विकासका लागि नगरपालिका निरन्तर लागिपरेको उहाँको भनाइ थियो ।

कोशीका मुख्यमन्त्रीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।

समाजका संयोजक साहेब अहमद (गुड्डु) नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठन गर्न प्रदेश सरकारसँग माग गरेको हो ।

ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस्था सञ्चालनमा रहेको उल्लेख गर्दै यी संस्थाले मुस्लिम बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आएकाले आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभावमा ती संस्थालाई काम गर्न गाह्रो भएकाले बोर्ड गठन गर्न आवश्यक भएको उल्लेख गरिएको छ ।

संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति–२०७६ ले मदरसा शिक्षालाई मूलधारमा ल्याउने नीति प्रदेश सरकारले अघि सार्नुपर्ने समाजका संयोजक साहेब अहमदले माग गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायले राखेको माग आफूले गम्भीर रूपमा लिएको र त्यसलाई सम्बोधन गर्नका लागि प्रयास गर्ने बताउनुभयो । उहाँले मुलुक बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक भएको चर्चा गर्दै प्रदेश सरकार सबै धर्म संस्कृतिको रक्षा गर्न प्रतिबद्ध भएको उल्लेख गर्नुभयो ।

बन्दैछ प्रतिनिधिसभा निर्वाचनको वातावरण, यस्तो छ निर्वाचन आयोगको तयारी

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बन्दै गएको छ । निर्वाचन आयोगमा दर्ता कायम रहेका नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिएसँगै राजनीतिक क्षेत्रबाट निर्वाचनमा संलग्नता नहुने हो कि भन्ने प्रश्नसमेत अन्त्य भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक र कानुनी क्षेत्रबाट आवाज उठाउँदै आएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि आज आयोगमा निर्वाचनका लागि पार्टी दर्ता गरेसँगै त्यो आशङ्का अन्त्य भएको छ । उक्त पार्टीले ६६ औँ नम्बरमा पार्टी दर्ताका लागि निवेदन दिएपछि थप राजनीतिक वातावरण सृजना भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले अधिकांश दलले निर्वाचनमा भाग लिने विश्वास लिँदै आएको बताए । कतिपय दल निर्वाचनको विपक्षमा भन्ने कुरा बाहिर आए पनि अब त्यो आशङ्का मेटिँदै गएको उनको भनाइ छ । आयोगका प्रवक्ता भट्टराईले भने, “निर्वाचनका लागि मुख्य पक्षहरू राजनीतिक दल, उम्मेदवार, मतदाता र सरोकार भएकाहरू हुन् । ती सबैबाट निर्वाचनको वातावरणका लागि काम भइरहेको छ । सरकार र आयोगको त मुख्य जिम्मेवारी नै भयो । त्यसकारण अब निर्भयपूर्वक निर्वाचन हुन्छ भन्ने सन्देश दिन आवश्यक छ ।”

आयोगको स्वीकृत कार्यक्रमअनुसार निर्वाचन प्रयोजनाका लागि यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । नयाँ दल दर्ताको निवेदन दिएका दलले स्वीकृति पाइ दर्ता प्रमाणपत्र लिने क्रम पनि जारी छ । प्रमाणपत्र पाएलगत्तै ती दलले निर्वाचनमा सहभागी हुन धमाधम निवेदन दिइरहेका छन् ।

मङ्गलरबारसम्म आयोगमा दर्ता कायम रहेका १३२ राजनीतिक दलमध्ये नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले निर्वाचनका लागि दल दर्ता गराइसकेका छन् । ती दलमध्ये हालसम्म ६८ दलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार रहेको निवदेन दिएको आयोगले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम रहेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट मिति (कट अफ डेट) निर्धारण गरी आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेलाई मताधिकार हुने निर्णय गरिसकेको छ । उक्त मितिसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेभसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने जनाइएको छ । उक्त नाममा विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदताको अन्तिम नामावाली सार्वजनिक गर्नेछ ।

यस्तै, निर्वाचनका लागि सरकार र निर्वाचन आयोगको गृहकार्यमा तर्जुमा भएको एकीकृत निर्वाचन सुरक्षा योजनाको कार्यान्वयन हुन थालेको छ । आयोगले माग गरेभन्दा करिब रु दुई अर्ब कम भए पनि नेपाल सरकारबाट रु चार अर्ब ९६ करोड ६६ लाख स्रोत सुनिश्चित गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार आयोगलाई बजेटको शीर्षकगत बाँडफाँटको विवरण आउन बाँकी रहेको छ भने प्राप्त स्रोतका आधारमा आयोगले पनि पुनः ‘बजेटिङ’ गर्नेछ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापनका लागि खरिद प्रक्रिया र अन्य तयारी भइरहेको आयोगले जनाएको छ ।

विगतका निर्वाचनमा बचत भएको रकम सरकारलाई फिर्ता भएको स्थितिमा यस पटक निर्धारित रकममा अपुग भएमा सरकारबाट थप रकम प्राप्त हुनेमा आयोग विश्वस्त रहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सँगसँगै जारी राखेको आयोगले जनाएको छ । आगामी फागुन २० गते राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ अर्थात् १९ सदस्यमध्ये १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

राष्ट्रियसभा निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यसूची रहेको छ ।

रुकुम पश्चिममा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको बोलेरो जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

पुनका अनुसार दुर्घटनामा गम्भीर घाइते चदाराको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नलगाड नगरपालिका–८ जाजरकोटका १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ९ का १४ वर्षीय कमल सुनार रहेका छन् । दुवैको नगर अस्पतालमा उपचार भइरहेको छ ।

अमेरिकाद्वारा सुडानका युद्धरत पक्षलाई युद्धविराम प्रस्ताव ‘पूर्व सर्तबिना’ स्वीकार गर्न आग्रह

अमेरिकाले सुडानमा युद्धरत पक्षलाई युद्धविरामको पछिल्लो प्रस्तावलाई ‘पूर्व सर्तबिना’ स्वीकार गर्न आग्रह गर्नुभएको छ।राष्ट्रपति डोनाल्ड ट्रम्पका अफ्रिकी प्रतिनिधिले मङ्गलबार मध्यस्थकर्ताहरूको तर्फबाट वाशिङ्गटनले प्रस्तुत गरेको सुडानको युद्धविराम प्रस्तावमा सहमत हुन आग्रह गर्नुभएको छ। समाचार तयार पार्दासम्म कुनै पनि पक्षले प्रस्ताव स्वीकार नगरेको उहाँले बताउनुभएको छ।

“हामी दुवै पक्षलाई बिना कुनै पूर्व शर्त प्रस्तुत मानवीय युद्धविरामलाई स्वीकार गर्न अपिल गर्दछौँ,” मसाद बोउलोसले युएईको राजधानी अबुधाबीमा एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

“उनीहरूले अमेरिकी नेतृत्व र मध्यस्थकर्ताको पहलमा प्रस्तुत गरिएको विशिष्ट प्रस्तावलाई स्वीकार गरून् भन्ने चाहन्छौँ,” उहाँले थप्नुभयो ।

सुडानका सेना प्रमुख अब्देल फताह अल–बुरहानले बुलोसले प्रस्तुत गरेको पछिल्लो प्रस्तावको आलोचना गरेको केही दिनपछि अबुधाबीमा युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशसँगको संयुक्त पत्रकार सम्मेलनमा उहाँले यो आग्रह गर्नुभएको हो ।

बुरहानले अमेरिकाका साथै साउदी अरब, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) पनि समावेश रहेको (क्वाड समूह)ले प्रस्तुत गरेको पछिल्लो युद्धविराम योजनाको आलोचना गर्नुभएको थियो । उहाँले युएई सदस्य रहुन्जेल कुनै पनि प्रस्ताव निष्पक्ष आउन नसक्ने दावी गर्नुभएको थियो ।

युएईमाथि सेना समर्थित सरकारसँग लडिरहेको युद्धरत सुडानी अर्धसैनिक बललाई हतियार दिएको आरोप लगाइएको छ।युएईले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।

निर्वाचनमा दलहरूले महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैङ्गिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त रहेको बताएकी छिन् ।

‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज यहाँ उद्घाटन गर्दै उनले कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले महिलामाथि बढी देखिने लैङ्गिक हिंसाबाट पुरुषसमेत प्रताडित हुने सामाजिक यथार्थलाई बुझ्नुपर्ने आवश्यकता औँल्याइन् । प्रविधिको प्रयोगले सचेतना बिस्तार, सूचनामा पहुँच र प्रतिवेदन प्रणाली सुदृढ बनाउन सक्ने भएकाले यस वर्षको नाराले सान्दर्भिकता बोकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले कुनै पनि धर्म, संस्कृति वा परम्पराले महिलामाथि हिंसा गर्न समर्थन नदिने स्पष्ट पार्दै संविधान तथा कानुनी संरचनाले पनि महिलालाई समान अधिकार प्रदान गरे पनि व्यवहारिक कार्यान्वयनमा चुनौती रहेको बताइन् । महिलाको निर्णायक तहमा प्रतिनिधित्व बढाउनुपर्ने र त्यसका लागि निर्वाचनमा महिलाको सम्भावित सहभागिता बढाउन दलहरूले महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

यसैगरी हिंसाले महिलाको जीवनमा मानसिकलगायत बहुआयामिक चोट पु¥याउने भएकाले पीडितको संरक्षण, राहत र पुनःस्थापना राज्यको प्राथमिकतामा रहनेसमेत प्रधानमन्त्री कार्कीको भनाइ थियो । “सोह्र दिने अभियानले हरेक वर्ष दृश्यात्मक परिवर्तन ल्याउनुपर्छ, कानुनी आधारहरू पर्याप्त छन्, कार्यान्वयन नै मुख्य हो । यसमा सबै लाग्नुपर्छ”, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले प्रविधिको सही उपयोग, सशक्त कानुनी कार्यान्वयन र सकारात्मक व्यवहार परिवर्तनमार्फत लैङ्गिक हिंसा समाप्तिका लागि सबै पक्षलाई आग्रह गरिन् ।

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्

नेपालगन्ज – गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सहिद परिवारलाई दोषीमाथि कारबाही नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । प्रदर्शनका क्रममा काठमाडौँमा मृत्युवरण गरेका बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ को धम्बोजी निवासी सहिद आयुष थापाका परिवारले दोषीमाथि अविलम्ब कारबाहीको माग गरेको छ ।

सहिद आयुष थापाका बुबा ४५ वर्षीय सुशील थापाले भन्नुभयो, “जसले मेरा छोरा लगायतका छोराछोरी माथि गोली हाने त्यसका दोषीलाई छानबिन गरेर कारबाही हुनुपर्छ ।” उहाँले एक मात्र छोराको स्मरण हुँदा आफूलाई एक्लो भएको महसुस हुने गरेको बताउँदै दोषीमाथि कारबाही भए छोराको आत्माले शान्ति पाउने बताउनुभयो । “मेरो छोरो त मैले पाउँदिन तर दोषीमाथि कारबाही भए हामीलाई पनि सन्तोष हुन्थ्यो”, थापाले भन्नुभयो ।

नेपालगन्जको आदर्श कलेजबाट दश जोड दुई पास गर्नुभएका आयुष पढ्नका लागि छिटै फ्रान्स जाने तयारीमा हुनुहुन्थ्यो तर जेनजी प्रदर्शनपछि त्यो सपना मात्रै भयो । थापाले मुलुकमा सुशासन भइदिए हुन्थ्यो भन्ने कुरामा छोराले पहिलेदेखि नै भन्ने गरेको उल्लेख गर्नुभयो । पढाईमा समेत अब्बल रहनुभएका आयुष खेलकुदमा पनि रुची राख्नुहुन्थ्यो । सिधा र शान्त स्वभावका आयुष आफ्नो काममा मात्रै बढी केन्द्रित हुने गरेको बुबाको भनाइ छ ।

आफ्नो छोराको मृत्यु भएको कुरा दोस्रो दिन मात्रै थाहा पाउनुभएका थापाले सुरुमा छोरा अस्पतालको आइसियुमा भएको भन्ने खबर पाउनु भएको थियो । भदौ २४ गते बिहान १० बजे मात्रै छोरोको मृत्यु भएको खबर पाएको बताउनुभयो । “मृत्यु भएको खबर थाहा पाउँदा त म झसङ्गै भए” आयुषका बुबा सुशील थापाले भन्नुभयो । गाउँमा पहिल्यै आयुषको मृत्युको खबर पुगिसकेको रहेछ तर आफूले पछि मात्रै थाहा पाएको उहाँले बताउनुभयो । “मृत्युको खबर थाहा पाउँदा संसार नै अन्धकार भएजस्तो भयो, दिमागले राम्रोसँग काम गरेन” भावुक हुँदै उहाँले भन्नुभयो । अब उहाँसँग सन्तानमा एक छोरी मात्र हुनुहुन्छ ।

आयुषका हजुरबुबा ७२ बर्षीय टोपबहादुर थापाले “दोषीमाथि कारबाही भए यस्ता घटना नदोहोरिन सक्छन्” भन्नुभयो । उहाँले दोषीमाथि कारबाही नभए पुनः यस्ता घटना दोहोरिन सक्ने भन्दै दोषी पत्ता लगाएर सजाय हुनुपर्ने माग गर्नुभयो । “दोषी जोसुकै हुन् मेरा नाति, नातिनालाई गोली हान्नेमाथि छिटोभन्दा छिटो कारबाही हुनुपर्छ” हजुरबुबा थापाले भन्नुभयो ।

सहिद आयुष थापाका मामा अङ्कित थापा सबैभन्दा मिल्ने साथी हुनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझी स्थायी घर भएका उहाँ अहिले काठमाडौँको टोखामा बस्नुहुन्छ । मिल्ने साथी हुनुभएका आयुषका मामा अङ्कितले सहिदले गरेको बलिदान खेर जान नहुने धारणा राख्नुभयो । उहाँले अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही आवश्यक भएकामा जोड दिदै जेनजी आन्दोलनबाट सबैभन्दा पीडित सहिद परिवार भएको बताउनुभयो ।

मिलनसार स्वभाव भएका सहिद आयुष देशप्रेमी भएको उल्लेख गर्दै उहाँले सुशासनको पक्षमा दृढ रहेको बताउनुभयो । जेनजी आन्दोलनमा सहभागी भइरहँदा आयुषसँग अन्तिममा सुरक्षाका विषयमा कुरा भएको स्मरण गर्दै अङ्कितले भन्नुभयो “कति आमाका एउटा मात्रै छोरा वा छोरी छन्, उहाँले गरेको त्याग खेर जानु हुँदैन ।”

आयुषले विदेशमा गएर पढेर त्यहाँको सीप ल्याएर नेपालमा नै उद्यम गर्ने सपना देखेको उल्लेख गर्दै साथी समेत रहनुभएका मामा अङ्कितले भान्जाले देखेको सपना वास्तविकतामा परिणत हुन नपाएको गुनासो गर्नुभयो । “हामी मामा भान्जा मात्रै थिएनौँ, साथीसाथी पनि हौंँ, सँगै कोठामा बस्थ्यौं र सँगै काम गरिरहेका हुन्थ्यौँ तर अहिले त म एक्लो जस्तै भएको छु” मामा अङ्कितले भन्नुभयो ।

जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गरेका परिवारलाई सरकारका तर्फबाट किरिया खर्चका लागि रु. पाँच लाख र अन्य रु. १० लाख गरेर रु. १५ लाख प्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले आयुष थापा र शुलभराज श्रेष्ठको सम्झनामा सहिद गेट र आयुष सुलभ मार्गका रुपमा सडकको नामाकरण गर्न लागिएको बताउनुभयो । सहिद थापा नेपालगन्ज–१ का रहेकाले वडा कार्यालयले गेट निर्माण र सडकको नामाकरण गर्न लागेको उहाँको भनाइ छ ।

बाँकेको खजुरारोड शिव मन्दिरदेखि आयुषको घर हुँदै विशालनगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गरिने र विशाल चोकमा सहिद गेट निर्माण गरिने तयारी सुरु भएको वडाध्यक्ष रिजालले बताउनुभयो । “वडाबाट निर्णय गरिसकेको छौँ, माघमा रकम रकमान्तर गरेर सहिद गेट र राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने पनि तयारी गर्दैछौँ” उहाँले भन्नुभयो । गेट निर्माण र प्रतियोगिताका लागि करिब रु १५ लाख बजेट आवश्यक हुने उल्लेख गर्दै वडाध्यक्ष रिजालले सो कामबाट जेनजी आन्दोलनका सबै सहिदप्रति सम्मान हुने धारणा व्यक्त गर्नुभयो । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागेर नेपालगन्ज–१ का आयुश थापा र सुलभ श्रेष्ठको मृत्यु भएको थियो । दुबै जना एउटै वडाका सहिद हुनुहुन्थ्यो ।

‘महिला हिंसाको कुरा मात्र गर्ने होइन, सशक्तीकरणमा ध्यान दिऔँ’ – उपसभामुख राना मगर

काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताएकी छिन् । राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा उनले लैङ्गिक हिंसा बढिरहेको बताउँदै सानैदेखि महिला पुरुषबीच एकअर्कालाई सम्मान गर्न सिकाए लैङ्गिक हिंसामा कमी आउने बताइन् ।

उपसभामुख राना मगरले पछिल्लो समय महिला तथा किशोरीमा साइबर आक्रमण अत्यधिक देखिएको भन्दै यसविरुद्ध सचेतना र उनले हिंसा रोक्न पुरुषको पनि साथ हुनुपर्नेमा जोड दिइन् ।

उनले भने, “१६ दिने अभियानमा महिलाको गीत मात्र गाउने र हिंसाको कुरा मात्र गर्ने होइन, महिलालाई कसरी सशक्त बनाउने भनेर सोच्नुपर्छ । अभियान मनाउने मात्र होइन, सधैँ सबै महिलाहरु एक भएर जाग्नुपर्छ । महिलामैत्री संरचनाको विकास, महिला सशक्तीकरणका कार्यक्रम, नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता छ ।”

नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रतिनिधि प्रहरी उपरीक्षक९एसपी०वसन्धुरा खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न साहस, ऐक्यबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याइन् ।

उनले भनिन्, “लैङ्गिक हिंसा बढ्दो छ, तर यसलाई रोक्न प्रहरी मात्र काफी छैन, सबैको सामूहिक प्रयास जरुरी छ । सामाजिक सञ्जालमार्फत हिंसा बढी देखिने गरेको छ । यस विषयमा नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ ।” एसपी खड्काका अनुसार २०८१र८२ मा नेपाल प्रहरीमा लैङ्गिक हिंसासम्बन्धी १८ हजार ९२६ वटा उजुरी आएका छन् ।

चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै

भारत–चीन सीमा सन् २०१७ को डोकलाम गतिरोध र सन् २०२० को गलवान उपत्यकाका घटनापछि तुलनात्मक रूपमा शान्त देखिए पनि चीनले तिब्बत क्षेत्रमा भारतीय सीमा नजिक सैन्य पूर्वाधार विस्तारलाई निरन्तर अघि बढाइरहेको छ ।

पिपुल्स लिबरेसन आर्मी (पिएलए) ले वास्तविक नियन्त्रण रेखा (एलएसी) वरिपरि आफ्ना सुविधा, रसद केन्द्र र कनेक्टिभिटी संरचना क्रमशः विस्तार गर्दै आफूलाई थप बलियो बनाइरहेको छ ।

हालै चीनले तिब्बतमा करिब चार हजार ३०० मिटर उचाइमा नयाँ मानव रहित हवाई वाहन (युएभी) परीक्षण केन्द्र निर्माण गरेको छ । यसले पिएलएलाई उच्च–उचाइ र कठोर मौसममा ड्रोन परीक्षण गर्न सहज बनाउने अपेक्षा छ । सात सय २० मिटर लम्बाइको धावन मार्ग, ह्याङ्गरहरू तथा प्रशासनिक भवनहरू रहेको यो पूर्वाधार न्गारीस्थित पिएलए रसद केन्द्रको दक्षिणपूर्वमा अवस्थित छ ।

तिब्बती पठारको कठोर भूभाग, चिसो मौसम, उचाइ रोगको जोखिम र सीमित स्थानीय आपूर्तिका कारण सैन्य गतिविधि कठिन मानिन्छ । सैनिकहरूलाई पूरक अक्सिजन, जमेको पानी पगालेर प्रयोग गर्ने आवश्यकता तथा सवारी साधनका लागि इन्सुलेटेड ग्यारेज अनिवार्य हुन्छ । हेलिकप्टरहरूको पेलोड क्षमता पनि उल्लेख्य रूपमा घट्छ । यिनै चुनौतीबीच चीनले व्यापक सडक, हवाई तथा रेल पूर्वाधार विकासलाई प्राथमिकता दिइरहेको छ ।

अमेरिकी वायु सेनाको ‘चाइना एरोस्पेस स्टडिज इन्स्टिच्युट’ (सिएएसआई) ले सन् २०२५ मा प्रकाशित प्रतिवेदनमा तिब्बतमा कमजोर यातायात पूर्वाधार पिएलएको सीमितता भए पनि पछिल्ला वर्षमा तीव्र गतिमा विस्तार हुँदै प्रभावकारी रसद संयन्त्र सक्षम बनाइएको उल्लेख गरेको छ । चीनले आफ्नो १४औँ पञ्चवर्षीय योजनाअन्तर्गत तिब्बतमा सम्बन्धित पूर्वाधारका लागि ३० अर्ब अमेरिकी डलर विनियोजन गरेको छ ।

डोकलामपछि भारतसँगको सीमा नजिक चीनले राजमार्ग, सहायक सडक तथा पुलहरू तीव्र गतिमा विस्तार गरिरहेको भारतीय थिङ्क–ट्याङ्क ओआरएफले पनि जनाएको छ । विशेषगरी जी–३१४, जी–६८४, जी–६९५ र जी–२१६ जस्ता मार्गहरूले सैन्य परिचालन क्षमतालाई उल्लेखनीय रूपमा सहज बनाएको बताइन्छ । पाङ्गोङ त्सो क्षेत्रमा सन् २०२१ र सन् २०२४ मा बनेका दुई पुलले सैनिक आवत–जावतलाई झनै छोट्याइदिएको छ ।

यस्तै, सन् २०१७ देखि सन् २०२३ बीच तिब्बत र सिन्जियाङमा कम्तीमा ३७ सैन्य वा दोहोरो प्रयोगका विमानस्थल र हेलिपोर्ट निर्माण गरिएका छन् । सीमापट्टि करिब ६०० भन्दा बढी ‘सीमावर्ती गाउँ’ निर्माण गरी प्रशासनिक र रसद उपस्थिति विस्तार गरिएको सिएएसआईकै अध्ययनले जनाएको छ ।

तिब्बत सैन्य जिल्लामा तीन संयुक्त–हतियार ब्रिगेड, आठ सीमा रक्षा रेजिमेन्ट तथा विस्तारित रसद संरचनाले पिएलएको परिचालन क्षमता थप सुदृढ बनेको छ । कठिन भूभागमा पनि ड्रोनमार्फत आपूर्ति पुर्‍याउने, आवश्यकताअनुसार प्याक जनावर प्रयोग गर्ने जस्ता उपायहरू चीनले अवलम्बन गरेको छ ।

विश्लेषकहरूका अनुसार चीनले तिब्बत र सिन्जियाङमा दोहोरो प्रयोग हुने पूर्वाधार निर्माणलाई रणनीतिक रूपमा उपयोग गर्दै भारतसँगको भविष्य सम्भावित द्वन्द्वका लागि आफूलाई योजनाबद्ध रूपमा तयार पारेको सङ्केत गर्छ । विशेषज्ञहरूका अनुसार तीव्र गतिमा बढिरहेको चिनियाँ पूर्वाधार क्षमताले भारतलाई आफ्नो सीमा क्षेत्रमा विकासको गति अझ बढाउन बाध्य बनाउने देखिन्छ ।

दाङमा १४ हजारभन्दा बढीले मतदाता थपिए

दाङ – दाङमा १४ हजार बढी मतदाथा थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको कार्यक्रम अवधिमा कार्यालयमा उपस्थित र अनलाइनमार्फत उक्त सङ्ख्यामा नामावली दर्ता भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष दुई हजार ११७ र महिला दुई हजार ३३५ गरी पाँच हजार २८२ जनाले कार्यालयमा उपस्थित भई फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रका आधारमा नौ हजार ७१७ ले अनलाइनमार्फत नामावली दर्ता गराएको छन् । यी दुवै गरी पनि १४ हजार २९९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिका क्षेत्रमा मतदाता थपिएका कार्यालयले जनाएको छ ।

यसअघि गत कात्तिक महिनासम्मको विवरणमा जिल्लामा चार लाख १६ हजार ८६८ जना मतदाता रहेको थिए ।

स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, मधेसका स्थानीय तहविरुद्ध धेरै उजुरी

वीरगञ्ज (पर्सा) – स्थानीय तहमा हुने बेथितिसम्बन्धी सबैभन्दा धेरै उजुरी मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेका पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहसम्बन्धी मुलुकभरबाट १९ हजार ९३३ उजुरी परेकामा त्यसमा सात हजार ७२ अर्थात् ३५ दशमलव ४८ प्रतिशत उजुरी मधेस प्रदेशका मात्रै छन् । उजुरीमध्ये अधिकांश सार्वजनिक खरिदसँग सम्बन्धित छन् ।

आयोगमा परेकामध्ये सबैभन्दा कम उजुरी गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित छन् । उक्त प्रदेशका स्थानीय तहसँग सम्बन्धित एक हजार ४२० अर्थात् सात दशमलव १२ प्रतिशत उजुरी मात्रै छन् ।

मधेस प्रदेशका स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरसँग सम्बन्धित १७३ वटा र पर्साकै छिपरमाई गाउँपालिकासँग सम्बन्धित १२६ वटा उजुरी छन् । बाराको सुवर्ण गाउँपालिकासँग सम्बन्धित २३०, पचरौता नगरपालिकासँग सम्बन्धित १९२ वटा परेका छन् ।

प्रतिवेदनमा उल्लेख भएअनुसार स्थानीय तहहरूले विधि र प्रक्रिया मिचेर मनपरी खरिद गर्ने प्रवृत्ति देशैभर देखिन्छ । यस्तो प्रवृत्तिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदन, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले उजागर गर्र्र्दै आएका छन् ।

पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्री स्थानीय तहमा मनपरी ढङ्गले सार्वजनिक खरिद गर्ने प्रवृत्ति रहेको दाबी गर्नुहुन्छ । “स्थानीय तहमा हुने खरिदमा धेरै विकृति देखापरेका छन्, यो प्रवृत्ति झन् झन् मौलाउँदै गएको छ”, उहाँले भन्नुहुन्छ, “स्थानीय तहमा खरिद प्रक्रिया बुझेको जनशक्ति नभएर हो वा किन हो, आर्थिक अनुशासनहीनताको अवस्था देखिएको छ ।”

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले पनि आव २०८०/८१ मा सार्वजनिक खरिद ऐन, २०६३ विपरीत स्थानीय तहमा खरिद प्रक्रियामा त्रुटि भएको औँल्याएको छ ।

प्रतिवेदनले आव २०८०/८१ मा मुलुकभरका ५५४ स्थानीय तहले प्रतिस्पर्धा नगराई विभिन्न निर्माण कार्य, औषधि खरिद, परामर्श एवं वस्तु तथा सेवा खरिद गरी रु सात अर्ब २१ करोड ४४ लाख ४८ हजार खर्च लेखेको देखाएको छ । जबकि स्थानीय तहले पनि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सीमित नहुने गरी खरिद गर्नुपर्ने, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ मा रु १० लाखसम्म सोझै खरिद गर्न सकिने र नियम ८४ अनुसार १० लाखभन्दा बढीको खरिद कार्य सिलबन्दी दरभाउ पत्र र रु २० लाखभन्दा माथि बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ ।

पूर्वकार्यवाहक महालेखापरीक्षक खत्री स्थानीय तहका जनप्रतिनिधिले जबर्जस्ती ढङ्गले सार्वजनिक खरिद प्रक्रिया अघि बढाउन कर्मचारीलाई दबाब र प्रभावमा पार्ने गरेकाले पनि यस्तो समस्या देखिएको बताउनुहुुन्छ । “एकातिर स्थानीय तहसँग दक्ष सार्वजनिक खरिदसम्बन्धी व्यवस्था बुझेका कर्मचारी न्यून सङ्ख्यामा रहेका छन् । अर्काेतर्फ प्रक्रिया मिच्ने प्रवृत्तिले पनि यस्ता खालका समस्या झनै बल्झिने गरेका हुन् । यस्तो विकृति अन्त्यका लागि कडाइका साथ अघि बढ्न जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो ।

यस्तो अवस्थामा सार्वजनिक खरिद अनुगमन कार्यालय र महालेखापरीक्षकको कार्यालयले स्थानीय तहलाई खरिद ऐन, खरिद नियमावलीको विषयमा तालिम दिन जरुरी रहेको जानकारहरू बताउँछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्साका १४ पालिकाका उजुरीको सङ्ख्या उल्लेखनीय रहेका छन् । आयोगको हेटौँडा कार्यालयका अनुसार आव २०८१/८२ मा वीरगञ्ज महानगरसम्बन्धी १७३ वटा उजुरी परेका छन् । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले अख्तियारमा परेका उजुरी समयमै फर्छ्यौट नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको गुनासो गर्नुभयो । “कतिपयले दुःख दिने र काम रोक्ने नियतले पनि उजुरी दिने गर्छन् । त्यसैले अख्तियारले उजुरीलाई छिटो कारबाही प्रक्रियामा अघि बढाए सहज हुने थियो ।”

गत आवमा छिपरमाई गाउँपालिकामा १२६, पोखरिया नगरपालिकामा ३४, बहुदरमाई नगरपालिकामा २७ र पकहाँ मैनपुर गाउँपालिकामा २३ वटा उजुरी परेको छ । त्यस्तैगरी पर्सागढीमा पाँच, ठोरीमा तीन, जगरनाथपुरमा पाँच, धोबिनीमा १६, विन्दवासिनीमा नौ, सखुवाप्रसौनीमा चार र कालिकामाईमा छवटा उजुरी परेका छन् ।

यस्तै, पटेर्वा सुगौली र जिराभवानी पालिकामा भने कुनै उजुरी परेको छैन । आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी विमोचन घिमिरेले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरैजसो उजुरी आउने गरेको बताउनुभयो । “स्थानीय तहमा विशेष गरेर सार्वजनिक खरिद र निर्माण प्रक्रियासम्बन्धी उजुरी धेरै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “गलत लागत तयार पार्ने, खरिद प्रक्रिया र कानुनको परिपालन नगर्ने समस्या छ । यस्तै, उपभोक्ता समितिले जिम्मा लिएका काम अर्काे ठेकेदारमार्फत गराउने गलत प्रवृत्तिको पनि विकास भइरहेको छ । जसले धेरैजसो समस्या उत्पन्न भइरहेका छन् ।”
आयोगको हेटौँडा कार्यालयमा गत आर्थिक वर्षमा १२ जिल्लाका स्थानीय तहविरुद्ध एक हजार ९५६ वटा उजुरी दर्ता भएका छन् । हेटाँैडा कार्यालय मातहत पर्ने १२ जिल्लामध्ये सबैभन्दा धेरै उजुरी रौतहट, बारा र पर्साका रहेका छन् । गत आवमा रौतहतका स्थानीय तहसम्बन्धी ५३० वटा उजुरी परेका छन् ।

यस्तै, बाराका स्थानीय तह सम्बन्धित ४९३ वटा र पर्साका स्थानीय तहसम्बन्धी ४३१ वटा उजुरी परेका छन् । १२ जिल्लामध्ये रामेछापका स्थानीय तहसम्बन्धी उजुरी शून्य रहेको छ ।

हेटौँडा कार्यालय मातहत मधेस प्रदेशका तीन जिल्ला र बाग्मती प्रदेशका नौ जिल्ला पर्दछन् । रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र रामेछाप कार्यालयको मातहत रहेका छन् ।

चितवनमा दुर्घटनामा वृद्धि :गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

चितवन, ९ मङ्सिरः गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २१ पुरुष छ जना महिला र बालबालिका दुई जना रहेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो । यस्तै ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन् । यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन छन् ।

उहाँका अनुसार चार महिनामा भएको सवारी दुर्घटनामा तीन सय ३३ वटा सवारीसाधन परेका छन् । तीमध्ये दुई सय एक मोटरसाइकल छन् । यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३० , ट्रक, ट्याङ्कर २४, बस १५, टेम्पो १४ रहेका छन् । यस्तै टिपर दुई, माइक्रोबस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चार छन् ।

गत आवको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएको थियो । गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको छ । गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने चार सय १४ जना घाइते भएका थिए ।

दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम गरिरहेको थापाले बताउनुभयो । फराकिला सडकमा तीव्रगतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चालउँदा अहिले दुर्घटना बढेको उहाँले बताउनुभयो । सडकअनुसार सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उहाँले जानकारी दिनुभयो ।

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

महेन्द्रनगर, ९ मङ्सिरः कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ का ४५ वर्षीया धाना विष्टको आज विहान मृत्यु भएको हो ।

हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गरेको अवस्थामा उनलाई हात्तीले गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

जङ्गली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनी र झोलुङ्गे पुल प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी अझै फरार

बागमती, ९ मङ्सिरः मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन्भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् ।

गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म दुई सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो । कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताउनुभयो ।

प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी आझै फरार छन् । फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै फरार छन् । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताउनुभयो । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताउनुभयो ।

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री

मुस्ताङ – यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा रु ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ । केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गत वर्षभन्दा चालु वर्ष आलु उत्पादनको क्षेत्र १८ हेक्टर वृद्धि भएको हो । त्यसैगरी, गत वर्षको तुलनामा चालु आवमा यहाँ प्रतिहेक्टर करिब दुई मेट्रिक टन आलु उत्पादन वृद्धि भएको छ ।

चालु आवमा जिल्लाका किसानले फार्म गेट औसत मूल्य प्रतिकेजी रु ६५ मा बिक्री भएकाले सोहीअनुसार कुल उत्पादन मूल्यको लेखाजोखा गरिएको केन्द्र प्रमुख गुरुङको भनाइ छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको संयुक्त समन्वय र सहकार्यमा स्थानीय तहका कृषि प्राविधिकको उपस्थितिमा गरिएको क्रपकटिङ विधिबाट आलु उत्पादनको लेखाजोखा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार माथिल्लो मुस्ताङ, मध्यमुस्ताङ र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी त्यहाँका विभिन्न आलु उत्पादनकर्ता किसानको खेतबारीमा पुगेर धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्याङ्क सङ्कलन गरी औसत उत्पादनको मापन गरिएको छ ।

गत वर्ष जिल्लाका पाँच स्थानीय तहमा गरी कुल चार सय ६० हेक्टर क्षेत्रमा आठ हजार ४९६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष यहाँ प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार गत वर्षको तुलनामा चालु वर्षमा १३ दशमलव ७६ प्रतिशत स्याउ उत्पादन भएको छ ।

त्यसैगरी, गत वर्ष चालु वर्ष एक हजार १६९ मेट्रिक टन आलु उत्पादन वृद्धि भएको केन्द्र प्रमुख गुरुङले बताउनुभयो । गत वर्ष मुस्ताङमा प्रतिकेजी रु ६० मा आलु बिक्री भएकामा चालु वर्ष रु पाँच वृद्धि भई रु ६५ मा बिक्री भएको उहाँको भनाइ छ । चालु आवमा यहाँका पाँच स्थानीय तहमा उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउ प्रयोजनका रूपमा खपत भएको हो । यहाँ घरायसी प्रयोजन र होटल रेष्टुराँमा एकतिहाइ आलु खपत हुने गरेको केन्द्र प्रमुख गुरुङले जानकारी दिनुभयो । यहाँ स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती गर्ने गरिएको छ ।

हिमाली जिल्ला उच्च भूगोलको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुन्छ । मुस्ताङको आलु तरकारी, उसिनेर तथा साँधेर खाने प्रचलन छ । यहाँ उत्पादन गरिने लोकल सेतो आलु सहरबजारका उपभोक्ता तथा जिल्लामा आएका पर्यटकले औधी रुचाउने गर्छन् । सहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस् मुस्ताङी आलु आमउपभोक्तामाझ स्थापित भइसकेकाले पनि मुस्ताङी आलुको माग अधिक छ । पछिल्लो समय कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङी स्याउपछि आलुको माग बढेको घरपझोङ–४ जोमसोमका किसान अजित थकालीले बताउनुभयो ।

इसिबी प्रमुख भन्छन् – एआईबारे नीतिगत ढिलाइले युरोपको भविष्य खतरामा पर्न सक्छ

युरोपेली केन्द्रीय बैङ्कका प्रमुख क्रिस्टिन लागार्डले कृत्रिम बौद्धिकता (एआई) लाई अँगाल्न गरिएको ढिलाइले महाद्वीपको भविष्यलाई ‘खतरामा’ पार्न सक्ने बताउँदै यसलाई अपनाउन देखिएका अवरोधहरू द्रुत रूपमा हटाउनुपर्ने बताएका छन्।

“हामीलाई यो परिवर्तनलाई अँगाल्न रोक्ने सबै अवरोधहरू हटाउनु अब धेरै ढिलो गर्नुहुँदैन,” उनले ब्राटिस्लाभा सम्मेलनमा भने। “एआई अपनाउने लहरलाई पार गर्न हामीले युरोपको भविष्यलाई खतरामा पार्ने जोखिम उठाउनु गलत हुनेछ।

एआई प्रविधिका समर्थकहरू युरोपेली नेताहरु भन्छन्, “अहिले युरोप, संयुक्त राज्य अमेरिका र चीनभन्दा पछाडि परेको छ र यो अत्यधिक नियमन, नवीनताको कमी र कम लगानीका कारण भएको हो।“युरोपले पहिले नै एआईमा पहिलो मूभर हुने अवसर गुमाएको छ,” लेगार्डले भने ।

“यदि यूरोपेली महाद्वीपले अझैपनि आफ्ना प्रमुख उद्योगहरूमा निर्णायक रूपमा प्रविधि प्रयोग गर्यो भने युरोपले ढिलो सुरुवातलाई प्रतिस्पर्धात्मक किनारामा बदल्न सक्छ,” उनले भने ।

उहाँले युरोपमा द्रुत रूपमा अपनाउन सकिने खण्डित नियमहरू देखि ऊर्जाको उच्च लागतसम्मका धेरै अवरोधहरूबारे चर्चा गर्दै भने, “यसले एआईलाई शक्ति प्रदान गर्ने विशाल तथ्याङ्क केन्द्रहरू चलाउन महँगो बनाउँछ।”

“थप खुट्टा तान्नुको परिणाम ‘एआई मोडेलहरूमा दौड हार्ने’ भन्दा बढी हुन्छ,” लेगार्डले भने । उनले भने , “हामीले अन्ततः हाम्रा धेरै क्षेत्र र उद्योगहरूको लागि प्रतिस्पर्धाको थप घाटाको सामना गर्नुपर्नेछ।”

रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन

सर्लाही । युरोपको रोमानिया कार्यअवसरका लागि पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका – ६, निवासी सलिन करीब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए ।

शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताईएको छ । प्रहरी प्रशासनलाई उद्धृत गर्दै उनले सो कार १८ वर्षीय रोमानियन युवकले चलाएको बताए ।

हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने तयारी भइरहेको र घटनाबारे परिवारलाई औपचारिक रूपमा जानकारी गराइएको बताइएको छ ।

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित

तनहुँ, ९ मङ्सिरः बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।”

उहाँका अनुसार वैशाखमा तीन हजार २९७, जेठमा तीन हजार ३४२, असारमा दुई हजार ७६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८३२, असोजमा तीन हजार ७८६ र कात्तिकमा चार हजार ६२७ जनाले भ्रमण गरेका छन् ।

त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा एक हजार ८९८, जेठमा दुई हजार १३५, असारमा दुई हजार ११५, साउनमा दुई हजार ४५१, भदौमा एक हजार ९८२, असोजमा पाँच हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् । कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देख्न सकिन्छ ।

विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्, उहाँले भन्नुभयो ।

म्याग्दी नदीमा पानीको सतह घटेपछि पर्खाल निर्माण सुरु

म्याग्दी, ९ मङ्सिर-सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ ।सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण थालिएको हो ।

हिउँद सुुरु भएर नदीमा पानीको सतह घटेपछि निर्माण व्यवसायीले काम थालेको आयोजनाका इन्जिनियर नरजङ गुरुङले जानकारी दिनुभयो । “ठेकेदारले पहिलो चरणमा खोलालाई डाइभर्सन गराउन थालेका छन्”, उहाँले भन्नुभयो, “खोला डाइभर्सनको काम सकेपछि नदी किनारमा पक्की पर्खाल निर्माणको काम सुुरु हुुन्छ ।”

म्याग्दी नदी किनारमा एक सय ६५ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माणका लागि रु पाँच करोड ९७ लाख ५० हजार ६२४ कुल लागत अनुमान गरिएकामा २०८२ साल वैशाख १० गते रु चार करोड २१ लाख ५९ हजार ६९९ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको म्याद आगामी २०८३ असार २० गतेसम्म छ ।

भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ ।

आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्युरोड, कालीपुुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण भएको छ । यस वर्ष बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा रहेका म्याग्दी, पर्वत र मुस्ताङमा छवटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुुरमान श्रेष्ठले बताउनुभयो ।

ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । ती आयोजनाको कुल लागत अनुमान रु २० करोड २९ लाख ७६ हजार ८३९ रहेको छ ।

बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा एक सय दुई, रघुगङ्गा गाउँपालिका–३ स्थित गायत्री मन्दिर संरक्षणका ५३ मिटर र पर्वतको जलजला गाउँपालिका–३ बौरस्थित कालीगण्डकी नदी किनारमा ८० मिटर, कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको केन्द्र लामाखेतस्थित कालीगण्डकी नदीमा एक सय २९ मिटर लामो पर्खाल निर्माण गर्न लागिएको हो । मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न बस्तीमा पनि नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।नदी कटानका कारण उच्च जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि योजना माग भएअनुसार कार्यालयबाट ती आयोजना छनोट गरी कार्यान्वयनमा लगिएको कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो ।