नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित
काठमाडौँ। आजदेखि सुरुआत भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गर्दै जित हासिल गरेको हो । नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो ।
स्कटल्याण्डका लागि ओपनर फिन्ले म्याक्राथले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ७३ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।त्यस्तै, ज्याक जार्भिसले ४५ रन जोड्दा मार्क वाट ३७, ब्रण्डन म्याकमुलन २१, म्याथु क्रस २२ तथा ओलिभर डेभिडसन १७ रनमा आउट भए । नेपाल ‘ए’ का लागि रशिद खानले ३ विकेट लिँदा शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान २/२ विकेट लिए । त्यसमाथि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको थियो ।
नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ६५ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाएका हुन् । त्यस्तै, ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे । सन्दीप जोरा ३४, पवन सर्राफ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए । दीपक डुम्रेले अविजित २३ रन बनाए ।
स्कटल्याण्डका लागि ब्राण्डलि करी र सफियान सरिफले समान २/२ विकेट लिए भने ओलिभर डेविडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १/१ विकेट लिए । अब नेपाल ए ले आफनो दोस्रो अभ्यास खेल भोलि अमेरिकासँग खेल्नेछ ।
