`

विपद्मा निर्णय होइन, कार्यान्वयन प्राथमिक हो : मन्त्री खड्का

काठमाडौं । मधेशप्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिंचाई एवं खानेपानी समेतको समस्या भएपछि सरकारले ‘विपद्’ को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री खड्कालाई बुधबार बुझाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले प्रतिवेदन बुझ्दै कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्ने र राहतदेखि सिंचाईंका कामहरु शुरु गर्न निर्देशन दिए । ‘अब ढिलो गर्नु भनेको जनताको भरोसा गुमाउनु हो। यो विषय सरकारको कार्यसूचीको पहिलो प्राथमिकतामा हुनेछ ।’

तराई मधेश देशको अन्नको भण्डार रहेको भएपनि समयमै पानी नपर्दा सिंचाई देखि खानेपानीको अभाव हुनु गम्भीर चिन्ताको विषय रहेको भन्दै ऊर्जामन्त्री खड्काले “विपद्लाई योजनामा होइन, किसानको खेतमा सिंचाई सुविधा पुग्नेगरी कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘आजै प्रधानमन्त्रीलगायत सम्बन्धित पक्षसँग कार्यदलले बुझाएको प्रतिवेदनको बारेमा छलफल गरी कार्यान्वयन गराउन लाग्ने छु । सिंचाई सुविधा नहुँदा तराइमा मात्र नभई देशमै अन्नको संकट हुने हुँदा पीडित किसानलाई तत्काल सिंचाई, बिउ–विजनलगायतको सेवा उपलब्ध गराउनु राज्यको पहिलो दायित्व भएकोले द्रूत गतिमा काम गर्न सबै लाग्नुस् ।’

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सह सचिव सुशील चन्द्र आचार्यको नेतृत्वमा कृषि तथा पशुपंछी मन्त्रालयका सहसचिव, कृषि विभागका महानिर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकसहितको ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

सो कार्यदलले तयार गरेको प्रतिवेदनले मधेश प्रदेशमा भूजलको गिरावट, साना तथा मझौला सिंचाइ संरचनाको जिर्ण अवस्था, प्राविधिक जनशक्तिको अभाव, र सिँचाइको असमान पहुँच लगायतका विषयहरूलाई गम्भीर संकटका रूपमा उजागर गरेको छ । यससँगै स्थानीय तहसँगको समन्वय, कृषि मन्त्रालयसँगको सहकार्य र नीति कार्यान्वयनमा लचकता आवश्यक रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयले तत्काल लागू गरिने केही प्राथमिक कार्यक्रमहरूको खाका पनि सार्वजनिक गरेको छ। जसमा खानेपानी आपूर्तिका लागि पानी ट्याङ्कर परिचालन, साना तथा मझौला ट्युववेलहरूको मर्मत र पुनःसञ्चालन, सिंचाइ सामग्रीको सरल आपूर्ति प्रक्रिया निर्माण, भूजल रिचार्ज प्रविधिमा जोड र आधुनिक सिंचाइ विधिहरू जस्तै ड्रिप तथा माइक्रो इरिगेसन प्रणालीको विस्तार जस्ता विषय समावेश छन् ।

ऊर्जा मन्त्री खड्काले यस कार्ययोजनालाई विपद्‌ व्यवस्थापनका साथ विकासको अवसरमा रूपान्तरण गर्ने एउटा मोडेलको रूपमा व्याख्या गरे । उनले भने, ‘अब हामी बहानाभन्दा समाधान चाहन्छौं। पीडितलाई पानी पु¥याउने काममा ढिलाइ गर्नु गम्भीर अपराध हो ।’

प्रतिवेदन तयार पार्ने कार्यदलले प्रदेशका प्रभावित जिल्लाहरूमा स्थलगत अध्ययन गर्दै स्थानीय प्रतिनिधि, किसान, उपभोक्ता समिति तथा सरोकारवाला निकायसँगको छलफलबाट तथ्य संकलन गरेको जनाएको छ । प्रतिवेदनअनुसार मधेशको सुख्खा समस्यालाई ‘नीति निर्माणदेखि कार्यान्वयनसम्म पुनरावलोकन गर्नुपर्ने’ आवश्यकतासमेत औंल्याइएको छ ।

आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने :मन्त्री पाण्डे

काठमाडौँ, १४ साउन : राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवर्द्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले पर्यटन क्षेत्रको दीर्घकालीन तथा समावेशी विकासका लागि आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै नीतिगत संरचना विकास गर्नुपर्ने निष्कर्ष निकालेको हो । स्वास्थ्य, वातावरण, पर्यटन, शिक्षा तथा स्थानीय तहका प्रतिनिधिहरू रहनेगरी उपसमिति गठन गर्दै उक्त अवधारणा निर्माणको प्रक्रियालाई औपचारिकता दिने निर्णय भएको सहसचिव इन्दु घिमिरेले जानकारी दिनुभयो ।

आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणापत्र तयार गर्नका लागि पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल पर्यटन बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ, होटल एशोसिएसन नेपाल र नेपाल स्पा एण्ड वेलनेस एसोसिएसनका प्रतिनिधिहरू सदस्यका रूपमा रहनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाका उपसचिव उपसमितिका सदस्य सचिव तोकिएका छन् । परिषद्को यो निर्णयले नेपालमा नयाँ सभावनाका रूपमा देखा परिरहेको आरोग्य पर्यटनको समृद्धि र नीतिनिर्माणमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

बैठकमा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका पर्यटनमन्त्री, अन्य प्रदेशका मन्त्रालयका प्रतिनिधिलगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो । हालै जारी भएको पर्यटन नीतिमा पर्यटनमन्त्रीको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय पर्यटन परिषद् रहने व्यवस्था गरिएको छ ।

पर्यटन नीतिको रणनीतिअन्तर्गत पर्यटकीय गन्तव्य र वस्तुको विविधीकरण र विस्तार गर्ने सन्दर्भमा परम्परागत तथा प्राकृतिक चिकित्सा, ध्यान, योग र आरोग्य (वेलनेस) पर्यटनको प्रवद्र्धन गर्न सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरिने उल्लेख छ । परिषद् बैठकले पर्यटन नीति, २०८२ को कार्यान्वयनका लागि कार्ययोजनामा उल्लेख भएका आआफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषय कार्यान्वयनलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

उद्योग मन्त्रालयद्वारा तीन जना विज्ञ सदस्य नियुक्त

काठमाडौँ, १४ साउन : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जना ‘बोर्ड अफ ट्रेड’ मा विज्ञ सदस्य नियुक्त गरेको छ । निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुशकुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई ‘बोर्ड अफ ट्रेड’ को विज्ञ सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्र अनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको मन्त्री दामोदर भण्डारीको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार यो नियुक्ति २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गरिएको हो । विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार गर्ने, निजी क्षेत्रको सक्रियता, नीतिनिर्माणमा समन्वय र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउने बोर्ड अफ ट्रेडको भूमिकालाई महत्त्वपूर्ण आधारका रूपमा लिइएको मन्त्रालयले जनाएको छ ।

चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाचको रौनकता

काठमाडौँ, १४ साउन : चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाचको रौनकता छाएको छ । विगत ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएपछि लोप हुन लागेको पशुपति क्षेत्रको एउटा जात्राले पुनर्जीवन पाएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोल स्थानीयवासीको साथ र सहयोगले नै यो जात्रालाई पुनर्जीवन दिन सकिएको बताउनुहुन्छ ।

जयबागेश्वरी मन्दिर, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनरुत्थान श्रावण शुक्ल पञ्चमीमा पुनर्जीवन दिइएको हो । कोषका साथै दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको सक्रियताबाट यो पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको स्थानीय श्रीकृष्ण डङ्गोलले बताउनुभयो । श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो जात्रा सञ्चालन हुने जनाइएको छ ।

जात्रा शुभारम्भका दिन जयवागेश्वरीबाट पशुपतिनाथ मूल मन्दिरसम्म लाखे नचाएर जात्रा गरिएको छ । पशुपति क्षेत्रका सबै टोल एवं घरघरमा लैजान चाहनेका लागि प्रदर्शन गर्ने तयारी गरिएको छ । जात्रा चलाउनेमा प्रायः युवा, युवतीको बाहुल्यता देखिन्छ ।

पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुःख नदिऊन् र मृतकको आत्माले चिर शान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घरघरमा प्रदर्शन गरिने प्रचलन रहिआएको छ ।

विगतमा ४५ वर्षसम्म रोकिएको यो ऐतिहासिक परम्परालाई अब कहिल्यै लोप हुन नदिने कोष, स्थानीयवासी एवं आयोजक संस्था दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता छ । यो जात्रासँगै पशुपति क्षेत्रमा अन्य जात्रा पनि क्रमशः हुने परम्परा छ ।

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता, डिजिटल रूपान्तरण र प्रादेशिक समन्वयमा जोड

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीमार्फत श्रम प्रशासन, आन्तरिक तथा वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, सीप विकास, र संस्थागत सुधारका क्षेत्रमा केन्द्रित २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

गोष्ठीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले डिजिटल सेवा प्रणाली, समन्वित संरचना, र नतिजामूलक कार्यशैलीमार्फत श्रमिकमाथिको विश्वास बहाली गर्ने स्पष्ट संकेत दिएका छन् ।

मन्त्री भण्डारीले समीक्षा समापन गोष्ठीमा बोल्दै श्रम मन्त्रालय विकासे मन्त्रालयजस्तो नभएको उल्लेख गर्दै मन्त्रालयलाई फेसलेस र पेपरलेस सेवा प्रणालीमा रूपान्तरण गर्नु अबको आवश्यकता भएको बताए।

‘मन्त्रालय अन्तर्गतको सेवा प्रवाहलाई डिजिटल प्रविधिमा आधारित फेसलेस र पेपरलेस प्रणालीमा लैजानुको विकल्प छैन,’ उनले भने, ‘सबैको सहयोगले मन्त्रालयमाथि लाग्दै आएका आरोपहरू चिर्न केही हदसम्म सफल भएका छौं ।’

मन्त्री भण्डारीले संविधानको अनुसूचीले तोकेका साझा अधिकारका विषयलाई मध्यनजर गर्दै प्रदेश सदरमुकाममा रहेका श्रम तथा रोजगार कार्यालयहरूलाई प्रादेशिक संरचनामा लैजान निर्देशन दिए । उनले प्रादेशिक संरचनाले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूको अनुगमन तथा सहयोग गर्नसक्ने गरी कार्य अघि बढाउनुपर्ने स्पष्ट पारे ।

कार्यक्रम समापन गर्दै सचिव डा. पुष्करले दीर्घकालीन राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ प्राप्तिका लागि बहुपक्षीय साझेदारी आवश्यक रहेको भन्दै संस्थागत संरचनामा परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले सेवा प्रवाह नागरिकले अनुभूति गर्न सक्ने गरी नतिजामूलक बनाउनु मन्त्रालयको प्राथमिकता हुनुपर्ने बताए ।

श्रम सचिव पुष्करले सिमित स्रोत–साधनबीच मन्त्रालयले जनमुखी सेवा प्रवाहमा सन्तोषजनक उपलब्धि हासिल गरेको बताउँदै अब मन्त्रालयले चमत्कारी (मेजिक) परिणाम ल्याउनेतर्फ अग्रसर हुनुपर्ने औंल्याए। उनले भने, ‘अब हामी जनता र श्रमिक केन्द्रित दृष्टिकोणका साथ दृढतापूर्वक अघि बढ्नुपर्छ ।’

मन्त्रालयले प्रस्तुत प्रतिबद्धताहरूमा श्रम ऐन र नियमको प्रभावकारी कार्यान्वयन, श्रमिक अधिकार संरक्षण, श्रम निरीक्षण प्रणालीको सुधार, न्यूनतम ज्यालादेखि स्वास्थ्य परीक्षणसम्मका कार्यक्रमहरू, आन्तरिक रोजगार दशक कार्यान्वयन, वैदेशिक रोजगारमा डिजिटल तथा ऋणजाल न्यूनीकरण, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धन, सामाजिक सुरक्षा कोषमा समावेशीकरण, र डिजिटल सेवा प्रणालीमार्फत सहज पहुँच सुनिश्चित गर्ने कार्यक्रमहरू समावेश छन् ।

समीक्षा कार्यक्रममा मन्त्रालयले वर्तमान श्रम तथा रोजगार कार्यालयलाई प्रादेशिक संरचनामा रूपान्तरण गर्ने योजना पनि सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरी सेवा प्रवाहलाई एकीकृत र प्रभावकारी बनाउने उद्देश्यले यो योजना अघि सारिएको हो ।

मन्त्रालय अन्तर्गतका निकायहरूको आ–आफ्नै संरचना निर्माण हुँदा राज्यकोषमा अनावश्यक भार पर्ने, सेवाग्राहीलाई फरक–फरक स्थानमा जानुपर्ने अवस्था सिर्जना भएकोले एकीकृत सेवा अवधारणा ल्याइएको हो ।

समग्रमा, श्रम मन्त्रालयको समीक्षा गोष्ठीले नीति, कार्यक्रम र प्रविधिमा आधारित सुधारात्मक कदममार्फत श्रमिक हितको संरक्षण र रोजगार प्रवद्र्धनतर्फ मन्त्रालयको स्पष्ट प्रतिबद्धता प्रस्तुत गरेको छ। यो कदमले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई मजबुत पार्दै सेवा प्रवाहलाई जनमुखी बनाउने अपेक्षा गरिएको छ ।

मन्त्रालयद्धारा श्रावण १३ र १४ गते मातहतका सम्पूर्ण केन्द्र, विभाग, बोर्ड, श्रम न्याधिकरण, मन्त्रालयका शाखाहरुको गत आर्थिक बर्षका क्रियाकलापहरुको बिाष्यमा बार्षिक समीक्षा गरिएको थियो ।

गुल्मीका २२ हजार बढी नागरिक बाढीपहिरोको उच्च जोखिममा

तम्घास (गुल्मी), १४ साउन : वर्षायाम सुरू भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गतवर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकैपरिवारका पाँच, मुसिकोटमा पनि एकै परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो ।

त्यसैगरी विसं २०७६ मा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित भए । उनीहरूको पुनःस्थापनाको काम अझै सकिएको छैन् । २०६४ सालमै मुसिकोटमा छ जनाको पहिरोमा परी मृत्यु भयो । यसवर्ष पनि यहाँका नागरिक बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्याकङ्अनुसार जिल्लामा यसवर्ष २२ हजार ४०० नागरिक बाढीपहिरोको जोखिममा छन् । सबैभन्दा धेरै मुसिकोट नगरपालिकाका १० स्थानमा बाढी र १६ स्थानमा पहिरो गरी कूल २६ स्थानका नागरिक जोखिममा छन् । मुसिकोटको समुद्र, कालीरहलगायतका स्थान बडिगाढ नदीको बाढीको जोखिम छ ।

त्यसैगरी सिम्ले, तोलादी, दजाकोटलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । रेसङ्गा नगरपालिका–३, ६, १० र १४, सत्यवतीको ठूलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा, अश्लेवा, मदानेको अग्लुङ, निपाने, रघवाफेदी, पैयापाटा, बाँझकटेरी, म्यालपोखरी, पुर्कोटदह, धुर्कोटको नयाँगाउँ, गोपे, रातामाटा, अजिमिरकोट लगायतका स्थान पहिरोको उच्च जोखिममा छन् ।

त्यसैगरी छत्रकोटको कोटाग्दी, टुनिखर्क, चुरचुरे, बुटिल, मथुरे, हर्दिनेटा, रुरुक्षेत्रको रिमुवा, रिडी बजार, कालीगण्डकीको पूर्तिघाट, इस्माको अगारे, कँडेनी, हस्तिचौरलगायतका स्थान पहिरोको उच्च जोखिममा छन् ।

विपद्को पूर्वतयारीका लागि जिल्लामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । पहिरो गइसकेपछि प्रभावित नागरिकलाई नजिकैको विद्यालय वा खाली चउरमा सार्ने गायतका तयारी गरिएको गैरेले जानकारी दिनुभयो ।

लामाको उपस्थितीमा बानियाँले गरे पदभार ग्रहण

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएसँगै इन्द्र बहादुर बानियाँले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित दलका नेता बानियाँलाई निवर्तमान दलका नेता बहादुरसिंह लामाले खादा,माला लगाएर पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए ।

२०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता चयन भइ प्रदेशको मुख्यमन्त्री बनेका थिए । आज सम्पन्न दलको निर्वाचनमा इन्द्र बहादुर बानियाँले लामालाई दलको नेतामा पराजित गर्दै नेतामा निर्वाचित भएका हुन् ।

तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरि आयो बाढी, उच्च सर्तकता अपनाउन आग्रह

काठमाडौं । चीनको तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरिपनि बाढी आएको छ । बुधबार राती साढे २ बजे देखि बाढी आएकाले तल्लो तटिय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका नदि किनारका बासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुब प्रसाद अधिकारीले बाढीका कारण रसुवागढी–स्याफ्रुबेंसी सम्मको बाटो विभिन्न स्थानमा क्षती भएको जानकारी दिए । उनका अनुसार रसुवाको गासाइँकुण्ड गाउँपालिकाको स्याँफ्रुबेंसी वडा नं ५ र उत्तरगया गाउँपालिकाका केहि क्षेत्रहरु उच्च जोखिममा रहेकोले ती क्षेत्रहरुलाई हाइ अर्लटमा राखिएको छ ।

त्यसबाहेक तल्लो तटिय क्षेत्रमा पर्ने सबै स्थानहरुमा पनि सर्तकता अपनाउन भनिएको छ ।बाढीले हाल सम्म मानविय क्षति गरेको कुनै खबर नभएको उनले बताए ।

रसुवागढी–स्याँफ्रुबेंसी सम्मको सड्क यस अघि असार २४ गतेको बाढीले बगाएर क्षति भएपनि विभिन्न स्थानमा मर्मत सम्भार भएको र अहिले फेरी बाटो भत्कीएको छ । यस अघिको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको थियो । साहि स्थानमा अस्थायी रुपमा निर्माण गर्न लागिएको बेली ब्रिज निर्माणको काम समेत आजको बाढीले अबरुद्ध गरेको छ ।

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी

काठमाडौं । बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपको पूर्वी तटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ । जसले गर्दा रुस, जापान, गुआम, हवाई र अलास्का सहित प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी गरिएको छ ।

एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट गरे अनुसार, भूकम्प ५२.५६ उत्तर अक्षांश र १६०.१० पूर्वि देशान्तरमा गएको थियो र ५५ किलोमिटर गहिराइमा थियो । अमेरिकी राष्ट्रिय मौसम सेवाले सुनामी अलर्टहरूको श्रृंखला जारी गरेको छ र सुनामी अलर्टहरू, जसमा अट्टुदेखि अमेरिकाको समल्गा पाससम्म अलास्काको अलेउटियन टापुहरूको लागि सुनामी सल्लाह समावेश गरिएको छ । जसमा रूस र जापानको लागि सम्भावित सुनामीको खतरा रहेको जनाएको छ ।

जापानमा १ मिटरसम्म र रूसमा ३ मिटरभन्दा बढी अग्ला सुनामीका छालहरूको चेतावनी दिइएको छ । हवाई, गुआम र उत्तरी मारियाना टापुहरूको लागि पनि सुनामी सम्बन्धी सुचना जारी गरिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार, भूकम्प रूसको पेट्रोपाभ्लोभस्कबाट १३६ किलोमिटर पूर्व–दक्षिणपूर्वमा आएको थियो ।यसैबीच, जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि १ मिटरको सुनामी जापान पुग्न सक्ने बताएको छ ।

युएसजीएसका अनुसार, प्रशान्त प्लेट प्रतिवर्ष लगभग ७७ मिमीको दरले उत्तर अमेरिकी प्लेटको सापेक्षमा पश्चिम–उत्तरपश्चिम सर्दै जाँदा उथले उल्टो गल्तीको परिणामस्वरूप भूकम्प आएको हो । जबकि उत्तर अमेरिकी प्लेट उत्तर अमेरिकी महाद्वीपभन्दा बाहिर पश्चिमतिर फैलिएको छ ।
एएनआइ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १४ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ४५ र मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १८०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु ११०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ४०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो रु ७०, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३९०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १३००, सौफको साग प्रतिकिलो रु १८०, पुदिना प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्दह) प्रतिकिलो रु १८५, आँप (दशहरी) प्रतिकिलो रु १८५, आँप (चोसा) प्रतिकिलो रु १५०, तरबुजा प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २४०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १८, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५०, किवी प्रतिकिलो रु ७००, आभोकाडो प्रतिकिलो रु ६५० र लप्सी प्रतिकिलो रु ४५ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३८०, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु ६५, लसुन हरियो प्रतिकिलो रु १३०, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

भोटेकोसीमा भीषण बाढी, तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह

त्रिशूली (नुवाकोट), १४ साउनः आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदै

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तनको लागि आज मतदान हुने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त भएको दलको नेताको पदका लागि कांग्रेसले मतदानको प्रक्रिया अघि बढाएको हो।

कांग्रेस प्रदेश कार्यसम्पादन समितिले आज बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्दै दिउँसो २ बजेबाट मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ । निर्वाचन प्रक्रियालाई सफल रूपमा सम्पन्न गर्न तीन सदस्यीय समिति गठन गरिएको छ, जसको संयोजकत्वमा प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ छन् भने सदस्यमा सहमहामन्त्री ऋषिराम घिमिरे र जीवन डंगोल रहेका छन् ।

मंगलबारको दल बैठकमा लामाविरुद्ध २२ सांसदले मत दिएका थिए, जुन संख्या कांग्रेस संसदीय दलभित्र स्पष्ट बहुमत हो ।
लामाको पक्षमा १५ सांसद मात्र देखिएका थिए । लामालाई हराउँदै बलियो बनेको यो समूहको नेतृत्व प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका छन्। यही समूहबाट नयाँ नेताको उम्मेदवारीमा बलियो दाबेदारी रहेको बुझिएको छ।

२०७९ पुस १३ मा भएको निर्वाचनमा भने लामा आफैले बानियाँलाई पाँच मतले पराजित गरेका थिए। तर, अहिले परिस्थितिमा ठूलो उलटफेर आएको देखिन्छ। लामाविरुद्धको अविश्वास प्रस्ताव दर्तासँगै कांग्रेसका पाँच मन्त्रीहरूले राजीनामा दिएका छन्, जसमा मंगलबारमात्रै खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्यामबहादुर खड्का पनि थपिएका हुन्। बाँकी चार मन्त्रीलाई लामा सरकारले पदमुक्त गरिसकेको छ।
यद्यपि, लामाले स्पष्ट रूपमा भनेका छन्, ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनु पर्ने कुनै कानुनी बाध्यता छैन।’

आजको मतदान परिणामले दलभित्रको शक्ति सन्तुलन मात्र होइन, मुख्यमन्त्रीको स्थायित्वमा समेत गम्भीर असर पार्ने निश्चित छ। कांग्रेस बागमती प्रदेशको यो सत्ता संघर्षले अबको राजनीतिक दिशा स्पष्ट पार्नेछ ।

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

काभ्रेपलाञ्चोक, १४ साउनः डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ । सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाउनुभएकी उहाँलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले बताउनुभयो ।

यसअघि गत शुक्रबार दिउँसो महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो ।
महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची छन् । वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुने अवस्था नभएकाले हेलिकप्टरबाट गर्भवतीको उद्धार गर्नुपर्ने बाध्यता छ ।

पालिका अध्यक्ष जिम्बाले दुर्गम क्षेत्रमा राष्ट्रपति–महिला उत्थान कार्यक्रम प्रभावकारी बनेको बताउँदै ग्रामीण भेगका धेरै महिला त्यसबाट लाभान्वित भएका जानकारी दिनुभयो ।

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बुधबार राष्ट्रिय सभा अन्तरगत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।

बैठक बिहान १०ः३० बजे सिंहदरवारको समितिको बैठक कक्ष बस्दैछ । आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १४ साउन : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । पहाडी भूभागका केही स्थान तथा तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु

त्रिशूली (नुवाकोट), १४ साउनः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताउनुभएको छ ।

त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिनुभएको हो ।

गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो ।“गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ”, मन्त्री दाहालले भन्नुभयो, “रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।”

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना, १५ जनाको निधन

काठमाडौँ, १४ साउनः गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य दुई हजार ४५६ घटना भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा २४३ वटा चट्याङको घटना रेकर्ड भएको छ । चट्याङमा परेर २८ जनाको ज्यान गएको छ । एक सय ६९ जना घाइते हुँदा चट्याङका कारण दुइृ सय ८३ घरपरिवार प्रभावित भएका छन् ।

सो अवधिमा सर्पदंशका ६६ घटना हुँदा आठ जनाको ज्यान गएको छ भने कुल ६४ जना घाइते हुँदा ७३ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका मात्रै एक सय ३४ घटना हुँदा १२ जनाको ज्यान गएको छ । कूल ६२ जना घाइते हुँदा दुई सय छ परिवार प्रभावित भएका छन् । लेक लागेर १२ जना, हावाहुरीका कारण १२ जनाको ज्यान गएको छ ।

यस्तै, पहिरोका मात्रै २४१ घटना हुँदा १२ जनाको निधन भएको छ । हावाहुरीका कारण २७६ घटना हुँदा आठ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । मंगलबार मात्रै बाढीका आठ, पहिरोका १६, आगलागीका पाँच, जनावर आक्रमणका तीन घटना भएका छन् ।

नेपाली सेनाका साथ जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

जुम्ला-सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिको भगवती मन्दिरमा पूजाआजा गर्नेका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिनुभयो ।

बडीमालिका जाने टोली सुरक्षार्थ सिमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय गरिएको छ । बडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । बडिमालिकाबाट टोली यही साउन ३२ अर्थात् १७ दिनपछि जिल्लामा फर्किने प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

रेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार मङ्गलबार जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँच वटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडिमालिका हिँडेको टोलीलाई स्थानीय र सुरक्षाकर्मीलगायतले बिदाइ गरेका छन् । यहाँका जानकार रमानन्द आर्चायका अनुसार परम्परादेखि हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन छ ।

डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालिका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ । नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिरसहित बिदाइ गरेका थियो । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी पाँच वटा पूजाका सामानहरू पेटारो नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको संस्कृत जानकार आर्चायले बताउनुभयो ।

बडीमालिका जाने टोली सुरक्षार्थ सिमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय गरिएको छ । बडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । बडिमालिकाबाट टोली यही साउन ३२ अर्थात् १७ दिनपछि जिल्लामा फर्किने प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

बडिमालिकामा वर्षमा एकपटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिसुष्णताको विकाससँगै धार्मिक पर्यटनलाई उजागर गरेको जिल्ला समन्वय समितिका प्रमुख गोरीनन्द आर्चायले जानकारी दिनुभयो ।

नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने बर्खे नाच सुरु

गलेश्वर (म्याग्दी), १४ साउनः म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नेवार समुदायको तीन सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच मङ्गलबारदेखि सुरु भएको छ ।

पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब तीन सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृतिको अभिन्न अङ्ग मानिएको वर्षे नाच भित्रिएको जानकारहरु बताउँछन् । यसरी बेनीमा भित्रिएको बर्खे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । नेपाल भाषा मंकाखलको आयोजना तथा यूवा सङ्गठन ल्यामपुचको व्यवस्थापनमा सदरमुकाम बेनीबजारमा लाखे नाच सुरु गरिएको हो ।

घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा बर्खे नाच भएको हो । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलाठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी स्वरुपकी घण्टाकर्णकी श्रीमतीलाई लाखेको सङ्ज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीमा प्रसिद्ध छ ।

हरितालिका तीजको दिनसम्म देखाइने विभिन्न नाचलाई बर्खे नाच भनिन्छ । साउन १३ गतेदेखि सुरु भएको बर्खे नाचअन्तर्गत भदौ १० गते हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाउने तयारी भएको नेपाल भाषा मंकाः खलः अन्तर्गतको ल्यामपुचःका पूर्वअध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । यही साउन ९ गते घण्टाकर्ण चतुदर्शीका दिन दानवको प्रतीक घण्टाकर्णको प्रतिमालाई कालीगण्डकी नदीमा विर्सजन गरेपछि बर्खे नाचका लागि तयारी सुरु गरिएको थियो ।

बेनीमा लाखे नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि रोपाइँ नाच, हनुमान नाचलगायत धेरै जनशक्ति भएका नाचहरु भने नियमित हुन सकेका छैनन् । बर्खे नाचको सुरुवात लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको दिन साँझमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।

हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइए राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् ।

बर्खे नाचअन्तर्गत लाखेनाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र रथयात्रासहित विविध नाच देखाइने नेपाल भाषा मंका खलःका उपाक्ष्यक्ष कुबिरकुमार श्रेष्ठले बताउनुभयो । बर्खे नाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलन छ । बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खे नाच देखाउँदै आएको पाइन्छ ।

ऐतिहासिक महत्व बोकेको यो नाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । घण्टाकर्ण पर्वको अवसरमा बेनीस्थित संगम चोकमा घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमा गरी म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर बिसर्जन गर्ने परम्परा छ ।

तीजको दिनमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको नेपाल भाषा मंका खलःका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

पोखरा, १४ साउन :
रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर
महिला हामी एक भई उठौँ जागेर …

गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्नुहुन्छ उहाँ । उहाँका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ ।

नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उहाँले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम सुरु भइसकेको छ । केही गीतमा मौलिकता झल्किन्छ भने केही गीत आधुनिक शैलीका छन् । पछिल्लो समय तीजका गीतमा आधुनिकता हावी हुँदा यसको मौलिकता हराउने पो हो कि भन्नेमा गायिका कोइराला चिन्ता व्यक्त गर्नुहुन्छ । त्यसै सिलसिलामा उहाँले यस पटक पनि ‘उठाँै जागेर’ बोलको तीज गीत ल्याउनुभएको छ ।

कोइरालाको आफ्नै स्वर, शब्द र लयमा सजिएको यस गीत तीजको मर्म र महिलामाथि भइरहेको प्रहारविरुद्धलाई उठान गरिएको छ । गीतमार्फत महिलालाई अधिकार र सम्मानका लागि एकजुट हुन आह्वान गरिएको छ ।

तीज गीतमा बढ्दो विकृतिप्रति चिन्तित कोइरालाले हरेक वर्ष मौलिक भाकाका गीतहरू सिर्जना गर्दै आफ्नो कर्मलाई निरन्तरता दिँदै आउनुुभएको छ । यो वर्षको ‘उठाँै जागेर’ उहाँको पहिलो प्रस्तुति हो । बाँकी तीन गीतको रेकर्डिङ सकिएको र छिट्टै बजारमा आउने तयारीमा रहेको उहाँको भनाइ छ । “मैले यसपटक राम–सीताको गाथा जस्ता धार्मिक प्रसङ्ग, छोरीको इच्छाविपरीत विवाह गरिदिने सामाजिक पीडा, माइतीको सम्झनालाई गीतमा उतारेकी छु”, उहाँले भन्नुभयो, “तीजका गीत महिलाका सुख, दुःख, बेदना र सामाजिक चेतना बोल्ने सशक्त माध्यम हुन्, तर आजभोलि बजारमा आउने अधिकांश गीत महिलाको अस्मितामाथि धावा बोल्दै वस्तुकरण गर्न खोजेको जस्तो देखिन्छ ।”
उहाँले आफू तीज संस्कृति र सङ्गीतको संरक्षणमा आफू एक्लै भए पनि निरन्तर लागिरहने बताउनुभयो । “लोक संस्कृति जोगाउनु केवल पुराना गीत संरक्षण मात्र होइन, यो हाम्रो सामूहिक पहिचान र अस्तित्वको आधार हो । यसले हामीलाई आफ्नो इतिहास र पुर्खाको ज्ञानसँग जोड्दै सामाजिक एकतालाई बलियो बनाउँछ । हाम्रो मौलिक कला, ज्ञान र जीवनशैलीलाई बलियो पार्दै भावी पुस्तालाई मौलिक चिनारी हस्तान्तरण गर्न लोक संस्कृतिको संरक्षण अपरिहार्य छ”, उहाँले भन्नुभयो ।

कोइरालाको मौलिकताको खोज केवल शब्द र सन्देशमा मात्र सीमित छैनन्, परम्परागत मौलिक घर, चौतारी, कुवा पँधेरो, गोठ, खेतबारीको मौलिकपन पनि भेटिन्छ । समय बदलिए पनि महिलाका लागि आज समाज सुरक्षित हुन नसकेको र महिलामाथि शोसन दमन र विभेद उस्तै रहेको अनुभव सुनाउँदै उहाँले मौलिकताभित्र सशक्तीकरण र विद्रोहका गीत गाएर सामाजिक जागरण ल्याउन सकिने विचार राख्नुभयो ।

तीजको सन्दर्भ, परिवेश र विषयवस्तुभन्दा बाहिर गएर केवल चर्चाका लागि गीत बनाउने प्रवृत्ति हावी भएकाले यसलाई निरुत्साहित गर्न सर्जक मात्र नभइ सञ्चारमाध्यम र सरोकारवाला निकायले विशेष भूमिका खेल्नु आवश्यक रहेको उहाँको भनाइ छ । “अहिले तीज गीतमा छाडापन बढ्नुको मुख्य कारण नै भाइरल हुने होड र व्यापारीकरण हो, टिकटक र युट्युबमा छिटो चर्चा पाउनकै लागि सर्जकहरूले तीजको मौलिक मर्म बिर्सेर अपाच्य शब्द र भड्किलो नाचलाई प्राथमिकता दिएका छन्, यो गलत हो”, उहाँले भन्नुभयो । पहिले चेलीको दुःख पोख्ने माध्यम बनेको तीज गीत, अहिले सतही मनोरञ्जन र पैसा कमाउने साधनमा सीमित बन्नु दुर्भाग्यपूर्ण भएको उहाँको बुुझाइ छ ।

विसं २०१५ चैत १७ गते कास्कीमा जन्मनुभएकी कोइराला नेपाली लोक सङ्गीत र साहित्यकी एक अग्रणी साधक बनेर मौलिक सङ्गीतमा रमाउनुभएको छ । विसं २०४५ देखि निरन्तर नेपाली गीत सङ्गीतमा सक्रिय उहाँले हालसम्म आठ सयभन्दा बढी गीत सक्नुभएको छ भने ८० भन्दा बढी एल्बम रेकर्ड गराउनुभएको छ । उहाँले हम्काइलो, ऐना हेरेर, पाइन खबर, फूलको बास्ना जस्ता कैयौँ कालजयी गीत गाइसक्नुभएको छ ।

उहाँको विशेषता भनेको गीतमा सामाजिक र राष्ट्रिय महत्वका विषयलाई उठाउनु हो । उहाँका सिर्जनामा दरबार हत्याकाण्ड, भूकम्प, कोरोना महामारी, हवाई दुर्घटना जस्ता राष्ट्रिय एवं प्राकृतिक विपत्तिदेखि लिएर बढ्दो राजनीतिक विकृति, दाइजो प्रथा, पारिवारिक कलह, जुवातासको असर र छोरीहरूले भोग्नुपरेका पीडा जस्ता सामाजिक मुद्दाहरू उठान हुने गर्दछन् । उहाँका गीत केवल मनोरञ्जनका लागि होइनन्, समाजलाई झक्झकाउने र सकारात्मक परिवर्तनको सन्देश दिने ऐना रुपमा लिन सकिन्छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १४ साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ १५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४८ पैसा र बिक्रीदर २१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४५५ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ०२ पैसा र विक्रीदर ३६१ रुपैयाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, १४ साउन : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुनेछ । यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०ः३० बजे बस्दैछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

सुख्खाग्रस्त क्षेत्रमा राहत दिनेलगायत विषयमा आठ बुँदे निर्णय

जनकपुरधाम, १३ साउनः मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुख्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहतदिने लगायत विषयमा आठबुँदे निर्णय गरेको छ ।

मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित आज यहाँ बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो ।

बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शाङ्कन गरी समितिमा पेस गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिने, स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य एवं समन्वयमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।

यस्तै, डिप बोरिङ तथा स्यालो ट्युबवेल जडान गर्नुपर्ने आवश्यकता भए दोहोरोपना नहुनेगरी प्राथमिकता दिने र त्यसका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने, वैकल्पिक कृषिको प्रवर्द्धनमा निजी, विकास साझेदार तथा सरकारको दीर्घकालीन योजना सञ्चालनमा जोड दिने निर्णय भएको छ

साथै चुरे संरक्षण तथा प्रवर्द्धनमा जोड दिने, सात दिनभित्र सुख्खाग्रस्त क्षेत्रको विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना तयार गरी समितिमा पेस गर्नेलगायत निर्णय भएका निमित्त सचिव खंगले जानकारी दिनुभयो ।

वृहत एकताको पक्षमा सहयोग गर्ने एनसीसीलाई हाम्रो साथ : एनआरएनए अध्यक्ष श्रेष्ठ

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठल वृहत एकताको पक्षमा रहेर र वैधानिक रुपमा अधिवेशन गरेका राष्ट्रिय समन्व्य परिषद् एनसीसीलाई मान्यता दिने प्रष्ट पारेका छन् । तर, अवैधानिकरुपमा संघको सचिवालय कब्जा गरेको केसी समूहले एनसीसीको निर्वाचन गराए पनि कुनै पनि हालतमा अक्टोबरमा आइसीसीको अधिवेशन हुनै नस्कने प्रष्ट पार्दै उनीहरुसँग सहकार्य गर्ने र एकताको वातावरण विथोल्ने एनसीसीलाई मान्यता नदिने बताए । ‘केही साथीहरुलाई लागेर मात्रै हुँदैन, देशको कानुन, नियम र सर्वोच्च अदालतको परमादेशलाई पनि मान्नुपर्छ होला’ उनले भने ।

गत मे महिनामा एनआरएनए उच्चस्तरीय समितिले काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनद्वारा नयाँ आइसीसी निर्वाचित भैसकेकाले अब अक्टोबरमा गराउने भनेको चुनाव वैधानिक नहुने पनि श्रेष्ठले बताए । केसी पक्षले अहिलेसम्म एनआरएनएको तालुकदार निकाय, परराष्ट्र मन्त्रालय, सँग कुनै पनि समन्वय नगरी एकतर्फी रुपमा एनसीसीको अधिवेशन गराएर प्रवासमा बस्ने नेपालीहरुलाई फुटाउने काम गरेको पनि उनको भनाई छ ।

अहिले विभिन्न देशमा भइरहेको राष्ट्रिय समन्वय परिषद्हरुको चुनावलाई नजिकबाट नियाली रहेको उनले बताए । उनले निर्वाचन भएका र हुन लागेका एनसीसीहरुले आफू नेतृत्वको कार्यसमितिसँग सहमति गरेर गएमा स्वीकार गरिने पनि प्रष्ट पारे ।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको निर्वाचनबाट सर्वसम्मत अध्यक्ष भएका श्रेष्ठले सुरु देखि नै एकताको पक्षमा आफुलाई उभ्याए पनि संघको सचिवालय कब्जा गरेर बसेको केसी समूहका कारण त्यो सम्भव नभएको उनको भनाई छ । उक्त समूहले अक्टोबरमा आइसीसीको अधिवेशन गर्ने भन्दै धमाधम एनसीसीहरुको चुनाव गराइरहेको विषयमा जानकार रहेका अध्यक्ष श्रेष्ठले आफ्नो कार्यसमिति अहिले पनि एकताको पक्षमा रहेकाले एनसीसीहरुको चुनावका सन्दर्भमा आफू प्रष्ट रहेको बताए । ‘अहिले पनि म दुईवटा समानान्तर एनसीसी बनाउने पक्षमा छैन । तर केही साथीहरुले त्यो अभ्यास गर्नु भएको छ, यो कुरा स्वीकार्य छैन ।’

उनले स्पष्ट शब्दमा भने ‘एनसीसीहरुले अक्टोबरमा केसी समूहले गर्ने भनिएको अधिवेशनमा प्रतिनिधि र सदस्यता शुल्क पठाउनहरुलाई मान्यता दिन सकिँदैन ।’ उनले एनसीसीहरु स्वायत्त रहेको र अदालतको अन्तिम फैसला नआउँदासम्म तटस्थ बस्न पनि अनुरोध गरेका छन् ।

केही देशका एनसीसीले सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको किनारा नलाग्दासम्म दुवै पक्षसँग सहकार्य गर्ने एमओयु गरेर अधिवेशन गराएको पनि अध्यक्ष श्रेष्ठले बताए । केही सामाजिक सञ्जालहरुमा फलानोलाई श्रेष्ठले बधाई दिए भन्दै आएका समाचार र सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको पनि उनले बताए । उनले भने ‘एकताको पक्षमा लाग्न फेरि पनि साथीहरुलाई आग्रह गर्छु ।’

श्रेष्ठले सर्वोच्च अदालतले गरेको फैसला आफूले मान्ने बताउँदै अहिले एनसीसीहरुलाई फुटाउने भन्दा पनि एक ढिक्का बनाएर एनआरएनहरुको अधिकारका लागि नेपाल सरकारसँग पहल गर्नु पर्ने बेला रहेको जनाए ।अहिले सम्म झन्डै ४० देशमा एनसीसीहरुको चुनाव सम्पन्न भएकोमा आधि भन्दा बढी वैधानिक आइ सीसी संग निकट रहेको उनले जनाए । सम्पूर्ण विवरण केही दिनमा सार्वजनिक गर्ने पनि श्रेष्ठले बताए ।

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

नवलपुर (नवलपरासी), १३ साउनः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् । एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता हुनुभएको हो । “साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उहाँले भन्नुभयो, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।”

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिनुभयो ।

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्न : मुख्यमन्त्री लामा

हेटौँडा, १३ साउन : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ ।

सञ्चारमाध्यमहरूलाई आज प्रतिक्रिया दिँदै उहाँले सरकार र संसदीय दल फरक भएकाले संसदीय दलमा विश्वास गुमे पनि सरकारबाट भने राजीनामा नदिने स्पष्ट पार्नुभयो । उहाँले गठबन्धन दलहरूको पनि समर्थन रहेकाले राजीनामा नदिने बताउनुभयो ।

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताउनुभयो ।

संसदीय दलका सचिव कृष्ण तामाङले गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहनुभएका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएउनुभएको बताउनुभयो ।

उहाँका अनुसार उहाँहरूले नयाँ संसदीय दलको नेताको रूपमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँलाई अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो ।

भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा प्रतिनिधिसभा सदस्यहरूको जोड

काठमाडौँ, १३ साउन : प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासलाई उस्तै समस्याको रूपमा लिन नहुनेमा जोड दिइएको थियो ।

सांसद प्रतिमा गौतमले वन क्षेत्रभित्र पर्ने खाली जग्गा वन क्षेत्रभित्रै राख्नुपर्ने बताउँदै हदबन्दी छुट जुन प्रयोजनको लागि लिएको हो सोही प्रयोज जग्गाको प्रयोग हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भूमि र वनको विषयमा प्रदेश र स्थानीयसँग समन्वय गर्नुपर्छ, सुकुम्बासीको नाममा राजनीति गर्ने गरी विधेयक ल्याउनुहुँदैन ।”

सांसद विनिता कठायतले भूमिसम्बन्धी विधेयक सामान्य जनताका निम्ति वा पहुँचवालाका लागि ल्याइएको हो भनेर प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले वास्तविक सुकुम्वासी र भूमिहीन दलित कति छन् भन्नेबारे स्पष्ट तथ्याङ्क हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद सोविता गौतमले भूमिसम्बन्धी ऐनमा हालसम्म १६ पटक संशोधन भइसकेको उल्लेख गर्दै विधेयकमा चरणबद्ध संशोधन पनि नीतिगत भ्रष्टाचारको निरन्तरता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरू जोसँग भूमि छैन, निरीह छ, तिनलाई राज्यले संरक्षण गर्नुपर्छ । उनीहरू सरकारले भूमि सरकारले दिनुपर्छ, तर त्यसो भन्दै गर्दा राज्यले स्ष्ट लक्ष्य र आवश्यकताअनुसार कानुन बनाउनुपर्छ ।”

रूसको आक्रमणमा युक्रेनमा २५ जनाको मृत्यु, शान्तिप्रक्रियामा विश्वास घट्दै

एकातिर युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण हवाई आक्रमण गर्दै कम्तीमा २५ जनाको ज्यान लिएको केही घण्टामै, रुसले शान्ति प्रक्रिया प्रतिको प्रतिबद्धता जनाएको छ । मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदीसमेत परेका छन् ।

यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि सुरु भएका थिए । यदि सो समयसीमाभित्र रुसले आक्रमण रोक्न अस्वीकार गरेमा, कडा आर्थिक प्रतिबन्ध लागु गरिने चेतावनी दिइएको छ ।

जेलमा गरियो आक्रमण, दर्जनौं कैदी मारिए

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दक्षिणी जापोरिझिया क्षेत्रको एक कैदीगृहमा जानाजान आक्रमण गरिएको आरोप लगाउनुभएको छ । सो आक्रमणमा १६ कैदीको ज्यान गएको र ४० भन्दा बढी घाइते भएको बताइएको छ ।
“यो योजनाबद्ध हमला हो, दुर्घटनावश होइन । रुसले त्यहाँ सर्वसाधारण कैदी रहेको कुरा थाहा नपाउने कुरा सम्भव छैन,” राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभयो ।
रुसी प्रवक्ता दिमित्री पेस्कोभले यस्ता आरोप अस्वीकार गर्दै भन्नुभयो,“रुसी सेनाले कहिल्यै सर्वसाधारणलाई लक्षित गर्दैन ।”

अस्पतालमाथि आक्रमण, गर्भवती महिलासहित तीनको मृत्यु
युक्रेनी वायुसेनाले जनाएको अनुसार, रुसले ३७ ड्रोन र दुई मिसाइल प्रक्षेपण गरेको थियो, जसमध्ये ३२ ड्रोनहरू मारिएका छन् । यद्यपि, डनिप्रो क्षेत्रमा रहेको क्याम्यान्स्के सहरको एक अस्पतालमाथिको आक्रमणमा २३ वर्षीया गर्भवती महिला डायना सहित तीन जनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिनुभयो । खार्किभ क्षेत्रमा गरिएका छुट्टाछुट्टै हमलामा ६ जनाको मृत्यु भएको छ।

मानव अधिकार उल्लङ्घनको आरोप
युक्रेनी मानवअधिकार आयुक्त द्मित्रो लुबिनेत्सले जेलमाथिको आक्रमणलाई ‘युद्ध अपराध’को संज्ञा दिनुभयो ।“कैदीले पनि जीवन र सुरक्षाको अधिकार गुमाउँदैनन्,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो ।

युद्ध चौथो वर्षमा प्रवेश
रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा, रुसी सेनाले नयाँ गाउँहरू कब्जामा लिएको दाबी गरेको छ । युक्रेनले यथासम्भव आक्रमण रोक्ने प्रयास गरिरहेको छ, यद्यपि रूसी फौज केही नयाँ क्षेत्रमा समेत अघि बढेको देखिएको छ ।

“अष्ट्रेलियाका सहरहरूमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै”

एक नयाँ अध्ययन अनुसार, अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थजस्ता ठूला सहरहरूमा अब मौसमजन्य विपत्ति अझ तीव्र र बारम्बार हुने सम्भावना बढेको छ ।

न्यु दक्षिण वेल्स विश्वविद्यालयले सार्वजनिक गरेको अध्ययन अनुसार भविष्यमा यस्ता सहरहरूमा ठूलो क्षति पु¥याउने आकस्मिक मौसमी घटनाहरू बढ्नेछन्, जसले घर, गाडी, खेती र सौर्य उपकरणहरूमा गम्भीर असर पु¥याउन सक्छ ।

विश्लेषक टिम राउपाकका अनुसार, जलवायु परिवर्तनले तातो हावा र बादलहरू छिटो बन्ने वातावरण बनाउँछ, जसले शक्तिशाली आँधीबेहरी र भारी वस्तु खसाल्ने खालका मौसमी परिस्थिति निम्त्याउँछ । अहिले २० वर्षमा एकपटक मात्र हुने यस्तो घटना अब तीन वर्षमै दोहोरिन सक्छ ।

सन् १९६७ देखि २०२३ सम्म अष्ट्रेलियामा बीमाले तिर्नुपरेको क्षतिको करिब २० प्रतिशत यस्ता मौसमी दुर्घटनाका कारण भएको पाइयो । खासगरी देशको पूर्वी भाग यस्तो जोखिममा बढी देखिएको छ ।

यस्ता घटनाहरूले सौर्य ऊर्जा विस्तारमा चुनौती थपे पनि, यसले पूर्वाधार बलियो बनाउने चेतना ल्याउनुपर्ने देखिएको विज्ञहरूले जनाएको छ ।
अध्ययनकर्ताहरूले घरहरूको संरचना बलियो बनाउने, सवारी साधनका लागि सुरक्षित स्थानको व्यवस्था गर्ने र निर्माण मापदण्डमा वातावरणीय सुरक्षा सुनिश्चित गर्ने उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

राउपाकले भन्नुभयो,“हामीले प्रदूषण घटाउनु आवश्यक छ । साथै, हाम्रो सहर र बस्तीको संरचना यस्ता प्राकृतिक संकटबाट जोगिन सक्ने किसिमले विकास हुन जरुरी छ ।”

समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने :नेता विश्वकर्मा

काठमाडौं । समाजवादी मोर्चाले अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी गणतान्त्रिक व्यवस्थामा लान आफूलाई नयाँ ढङगले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ मंगलबार नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अव मोर्चालाई सुदृढ गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, ‘समाजवाद मोर्चालाई अव अहिलेको बस्तुस्थितीमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्यो भन्नेमा पुगेका छौं । नयाँ ढङगले आफूलाई प्रस्तुत गर्नुपर्यो र आफ्ना सिमाहरुको निर्ममतापूर्वक अन्त्य गरेर आफूलाई नयाँ ठाउँमा उठाउनु पर्यो उनले देशको अवस्था जटिल रहेको भन्दै जनता निरासावादको शिकार भइरहेको बताए

‘अहिले देशको स्थिति जटिल अवस्थामा छ । एउटा गणतन्त्रलाई थ्रेड गर्ने प्रवृति र हर्कतहरु अगाडि आइरहेका छन् । अहिलेका राज्यका सञ्चालकहरुको तरिका हेर्नुभयो भने बडो डरलाग्दो छ । निरासाबादको शिकार देश भएको छ । जसका कारण युवाहरु पलायन छन् । राज्यको पैसा विदेश पलायन भइरहेको छ । देशमा के होला भन्ने ठुला प्रश्न नेपाली जनताका दिमागमा छन्,’ उनले भने ।

पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

काठमाडौँ, १३ साउन : पशुपति क्षेत्रमा ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि फेरि सुरू हुने भएको छ । जयवागेश्वरी मन्दिर, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनःरुत्थान गर्न लागिएको स्थानीय श्रीकृष्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो । दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदाप्रेमीहरूको सक्रियताबाट यो पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिन लागिएको उहाँले सुनाउनुभयो । श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो नाच सञ्चालन हुने जनाइएको छ ।

पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुःख नदिऊन् र मृतकको आत्माले चिरशान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घर–घरमा समेत प्रदर्शन गरिने प्रचलन रही आएको छ ।

विगतमा ४५ वर्षसम्म रोकिएको यो ऐतिहासिक परम्परालाई अब कहिल्यै लोप हुन नदिने स्थानीयवासी एवं आयोजक संस्था दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता छ ।

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

काठमाडौँ, १३ साउन : गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गर्नुभएको छ ।

आज मन्त्रिस्तरको निर्णयबाट सिरहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध : प्रधानमन्त्री ओली

सुदूरपश्चिम, १३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउनका लागि योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, स्थायित्व कायम गर्नेगरी काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशमा स्थिरता, स्थायित्व, विकास, सुशासन ल्याउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ, आगामी चुनावसम्म यो सरकार जान्छ ।” रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माणबाट सरकारको विकासप्रतिको चाहाना एवं तीव्रता दिने कुरालाई झल्काएको उल्लेख गर्दै उहाँले यो आयोजनाको तेस्रो चरणको काम पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले १२० वर्षदेखिको परम्परागत सीपबाट सुरू भएको यो सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीयको जनसहभागिता र सरकारको समन्वयबाट आजको यो सफलता प्राप्त भएको बताउनुभयो । देश विकासका लागि प्रतिबद्ध रहेका उहाँले यो सिँचाइ आयोजना निर्माणबाट नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । यस आयोजनाले ग्रामीण जीवनशैली परिवर्तन कृषि उत्पादनमा वृद्धि ऊर्जामा आत्मनिर्भर खाद्य सुरक्षामा टेवा पु¥याउन सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो सिँचाइ आयोजनाको तेस्रो चरणको काम अघि बढाउन विश्व बैंकसँग ऋण लिने निर्णय गरेको छ ।” उहाँले मधेसमा देखिएको सुक्खाग्रस्त समस्याका साथै खानेपानीको अभाव समाधान गर्न ५०० वटा डिप बोडिङ जडान गर्न लागेको जानकारी दिनुभयो । चुरे संरक्षणका लागि चुरे क्षेत्रमा मत्स्यपालन र पोखरी निर्माण गरी पानी रिचार्ज हुनसक्ने भएकाले सरकारको ध्यान यसतर्फ गएको उहाँले बताउनुभयो ।

सुनकोशी मरिन डाइभर्सन, भेरी बबै सिँचाइ आयोजना, तम्मोर डाइभर्सनलगायत महत्त्वपूर्ण आयोजनाको निमार्ण पूरा गर्न सरकारले ध्यान दिएको उहाँले बताउनुभयो । सामाजिक संस्कृति, सभ्यता मूल्यमान्यताविपरीत एकथरीले जथाभावी गाली गर्ने, सामाजिक सञ्जालमा खाली लेख्ने, हरेक विकासका काममा विरोध गर्ने गरेकोप्रति उहाँले असन्तुष्टी व्यक्त गर्नुभयो ।

ऊर्जा जल स्रोत सिँचाइमन्त्री दिपक खड्काले दुई ठूला दल एक ठाउामा उभिएर काम गर्दा राजनीतिक परिवर्तन र देश विकासको सवालमा प्रतिफल दिइरहेको बताउँदै हरेक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यो सिँचाइ आयोजनामा निर्माण भएको विद्युत् गृहबाट वार्षिक राम्रो आम्दानी हुने देखिएको उल्लेख गर्नुभयो ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सिँचाइ आयोजनाको निर्माण भएबाट मुलुकले समृद्धिको आधार तय गरेको अनुभव भएको सुनाउनुभयो । उहाँले सुदूरपश्चिम जलस्रोतमा धनी भए पनि यसको सही सदुपयोग हुन नसकेकाले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्रीले प्रदेशका महत्त्वपूर्ण सडक सञ्जाल, गेटा विश्वविद्यालय र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको बाँकी खण्डको निमार्णका लागि पर्याप्त बजेट छुट्याउन व्यावस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले पहिलो तथा दोस्रो चरणमा निर्माण भएको नहरसहितको सिँचाइ प्रणालीबाट १४ हजार ३०० क्षेत्रफल जग्गामा सिँचाइ पुगेको र विद्युत्गृहबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिनुभयो । सिँचाइ प्रणालीबाट स्थायी रूपमा सिँचाइ सुविधा उपलब्ध हुँदा धान, गहुँ र मकैको उत्पादकत्व वृद्धि भएको जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले यो सिँचाइ आयोजनाको कर्णाली नदीमा रहेको मुख्य मुहान (इन्टेक) को स्थलगत निरीक्षण अनुगमन गर्नुभएको थियो । प्रधानमन्त्रीको स्थलगत निरीक्षण टोलीमा ऊर्जा जल स्रोत तथा सिँचाइमन्त्री खड्का, सुदूरपश्चिमका मुख्यमन्त्री शाह, मन्त्रालय र सिँचाइ विभागका पदाधिकारीहरूको सहभागीता रहेको थियो ।

आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण सुरू गरिएको यो आयोजनाको पहिलो चरण २०७४/०७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/०८१ मा सम्पन्न भएको हो । अद्यावधिक गुरुयोजनाअनुसार २०८२ मसान्तसम्म रु २० अर्ब ५८ करोड ५६ लाख बराबरको (६९.५५ प्रतिशत) काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यो सिँचाइ आयोजनाअन्तर्गत पहिलो र दोस्रो चरणमा गरी १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । साथै सिँचाइ प्रणालीअन्तर्गत नै जानकी गाउँपालिका–९ कटाँसेमा निर्माण पूरा भएको विद्युत्गृहबाट चार दशमलव ७१ मेगावाटको विद्युत् उत्पादन भएको छ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

सिँचाइ आयोजनाको लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको छ । यसका शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र आयोजनाको सिञ्चित क्षेत्र २० हजार ३०० हेक्टर हुनेछ । तेस्रो चरणको काम पूरा भएमा यो सिँचाइ आयोजनाबाट कूल ३८ हजार ३०० हेक्टर क्षेत्रफलको जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने आयोजना कार्यालयका प्रमुख प्रेम घिमिरेले जानकारी दिनुभयो ।

दिसामा पाइने कीटाणु भेटिएपछि तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

भक्तपुर, १३ साउन : यहाँको झौखलेका केही खानेपानी उद्योगमा प्रदूषित पानी बिक्री गरेको पाइएपछि तालाबन्दी गरिएका उद्योग आजदेखि सञ्चालनमा आएका छन् ।बजारमा बिक्री हुँदै आएको पानीमा दिसामा हुने कीटाणु कोलिफार्म भेटिएपछि चाँगुनारायण नगरपालिकाले बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै नगरपालिका–३ झौखेलमा सञ्चालित पाँचवटा पानी उद्योगमा तालाबन्दी गरेको थियो ।

नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीले त्यस्ता उद्योगलाई बिक्री वितरणमा प्रतिबन्द लगाउँदै तालाबन्दी गरिएकामा सम्पूर्ण रूपमा शुद्धता सुनिश्चित गरिएपछि आजदेखि सञ्चालन गर्न दिइएको बताउनुभयो ।

त्यहाँका उद्योगको पानी प्रदूषित रहेको गुनासो आएपछि यही साउन ९ र ११ गते उपप्रमुख बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, प्राविधिक, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको टोलीले उद्योगको अनुगमन गरी नमूना सङ्कलन गरेको थियो । नमूना परीक्षणपछि कोलिफार्म भेटिएको थियो । त्यसलगत्तै नगरपालिकाले ती उद्योगबाट पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।
यस्ता उद्योगमा अक्वा कर्णाली खानेपानी, जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर प्रालि, झौखेल खानेपानी उच्च वेभरेज प्रालि, एसएन टप वेभरेज प्रालि, ओके मिनिरल वाटर खानेपानी उद्योग, झौखेल खानेपानी उद्योग रहेका छन् ।

नगर उपप्रमुख बुढाथोकीले भन्नुभयो, “हामीले पानीको पुनः परीक्षण गर्यौँ, आज आएको रिपोर्टमा पानी शुद्धीकरण गरेको पाइयो, त्यसैले सञ्चालनका लागि अनुमति दिएका हौँ । फेरि यस्तो भटिए कानुनअनुसार कारबाही गर्नेछौँ ।”उहाँले सबै पानी उद्यागलाई नगरपालिकामा दर्ता एवं नवीकरण गर्न र शुद्धतामा ध्यान दिन आग्रह गरिएको बताउनुभयो ।

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

पाटन (ललितपुर), १३ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा उहाँले कांग्रेस र नेकपा (एमाले)बीच भएको सातबुँदे सहमतिको एउटा महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विसं २०४८ मा कांग्रेसको सरकार आएपछि निजीकरण र उदारीकरणको नीति ल्याएको हो, त्यसपछि कांग्रेसले धेरै गाली खायो, गिरिजाप्रसाद कोइरालाले धेरै गाली खानुभयो, तर पनि हामी नीति क्षेत्रलाई उद्योग र व्यापार सञ्चालन गर्न सहयोग गर्न तयार छौँ, व्यापार व्यापारीले गर्ने हो, उद्योग उद्योगीले गर्ने हो, सरकारले उद्योग व्यापार गर्ने हैन, सरकारले के सहयोग गर्नुपर्छ, त्यो सहयोग गर्न तयार छौँ ।”

सभापति देउवाले लामो सशस्त्र द्वन्द्व, २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ को महामारी, रूस–युक्रेनबीच भएको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बाबजुद पनि मुलुकको आर्थिक स्थायित्व कायम रहन सक्नुमा २०४८ पछि कांग्रेसको सरकारले बसालेको दरिलो अर्थतन्त्रको जग भएको दाबी गर्नुभयो ।

सभापति देउवाले वर्तमान अवस्थामा अर्थतन्त्रका बाह्य सूचकहरू, सरकारको चालु खाता र शोधनान्तर बचत निरन्तर बढ्दै गएको, विदेशी मुद्रा सञ्चितिमा उल्लेखीय सुधार भएको, रेमिट्यान्स उच्च दरमा वृद्धि भएको, मुद्रास्फिति करिब चार प्रतिशतमा सीमित भएको, निजी क्षेत्रमा भएको कर्जा प्रवाह चार दशमलव छ प्रतिशतले वृद्धि भएको र गत वर्षको तुलनामा आयात १३ दशमलव एक प्रतिशत र निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भएको जानकारी गराउनुभयो ।

“विद्युत् उत्पादन तथा वितरण, वित्तीय तथा बिमा, खानी तथा खनिज पदार्थ उत्खनन क्षेत्रको योगदानको कारण आर्थिक वृद्धि हुने सङ्केत देखा परे पनि अर्थतन्त्रको वास्तविक क्षेत्र उत्पादन, रोजगारी, उद्योग व्यवसायको अवस्था, लगानी अभिवृद्धि लगायत सूचकहरूमा अपेक्षित सुधार गरी निजी क्षेत्र र आम नागरिकको विश्वास जित्न अझै प्रयत्न गर्नुपर्नेछ,” सभापति देउवाले भन्नुभयो, “विकास खर्च शीर्षकमा विनियोजित बजेटको ठूलो हिस्सा खर्च गर्न नसक्ने प्रवृत्तिले निरन्तरता पाइरहेको छ, यसलाई अन्त्य गर्न संरचनागत, संस्थागत, प्रकृयागत सुधार एवं आवश्यक ऐन कानुन र कार्यविधि यथाशीघ्र बनाएर पुँजीगत खर्च समयमै गर्ने परिपाटी बसाल्न आवश्यक छ ।”

सभापति देउवाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरिएको मौद्रिक नीतिअनुसार ब्याजदर घटेकाले बैंकमा जम्मा भएको ठूलो रकम कर्जा प्रवाहमा विस्तार भई औद्योगिक व्यवसाय तथा सर्वसाधारण जनतामा केही उत्साह जगाउने विश्वास व्यक्त गर्नुभयो ।

“रेमिट्यान्समा हामी परनिर्भर हुनुपर्ने अवस्थाका कारण कृषि र उद्योगलाई यसले गम्भीर असर पु¥याएको छ, तसर्थ, रेमिट्यान्सलाई उत्पादनसँग जोड्ने वित्तीय र मौद्रिक नीति प्रभावकारी बनाउन अति आवश्यक छ,” उहाँले भन्नुभयो, “वर्तमान अवस्थामा सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउने उद्देश्यले सहकारी प्राधिकरणको व्यवस्था गरिएको छ, कतिपय सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत रकम यथाशीघ्र फिर्ता दिलाउन प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाललगायत माध्यमबाट नकारात्मक भाष्य सिर्जना गर्ने कार्यले लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको भन्दै यसलाई सुधार गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले नेपालको कानुन, सरकारको बजेट र मौद्रिक नीतिले निजी क्षेत्रको उत्साह थपेको भन्दै लगानीका लागि उपयुक्त अवसर सिर्जना गरेको धारणा राख्नुभयो ।

विकास बैंकर्स सङ्घका अध्यक्ष सुयोग श्रेष्ठले स्थानीय सरकारबाट हुने असहयोगका कारण लगानी गर्न समस्या भएको भन्दै यसका लागि सहज वातावरण बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अर्थतन्त्रको दिगोपनाका लागि रेमिट्यान्समा मात्रै भरपर्न नहुनेमा जोड दिनुभयो ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिफिन)का अध्यक्ष उपेन्द्र पौडेलले नेपालमा पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सक्नेगरी पूर्वाधार क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगारीमा प्रवर्द्धन गर्न बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिइरहेको बताउँदै उनीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले बजेट सकारात्मक आएको र अर्थतन्त्रलाई चलायमान बनाउनेगरी सरकारबाट राम्रो काम भएको बताउनुभयो । उहाँले अर्थतन्त्रको सबै सूचकहरू राम्रो हुँदै गर्दा सबैतिर सकारात्मक बहस हुँदै गएको र लचक मौद्रिक नीतिले पनि ब्याजदरलाई कम गराउन भूमिका खेलेको बताउनुभयो ।

धितोपत्र बोर्डका पूर्वकार्यकारी अधिकृत नीरज गिरीले नेपालको पुँजी बजारमा लगानीको वातावरण बनेको भन्दै धितोपत्र ऐनलाई समयसापेक्ष संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचना अनिवार्य भइसकेको भन्दै रु २५ करोडभन्दा कम पुँजी भएका कम्पनीका लागि छुट्टै स्टक एक्सचेञ्जको व्यवस्थापन गरिनुपर्छ भन्नेमा जोड दिनुभयो ।

नविल बैकका पूर्वकार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले उत्पादन, रोजगारीमा कमी आउँदै विगत चार वर्षदेखि सुस्त अवस्थामा रहेको अर्थतन्त्र चलायमान बन्दै गइरहेको भन्दै विदेशबाट प्राप्त हुने रेमिट्यान्सलाई सही रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

चार्टर एकाउन्टेन्ट अनलराज भट्टराईले विद्युत् क्षेत्र, यातायात तथा भण्डारण, वित्तीय क्षेत्रले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिँदै रोजगारीको अभिवृद्धि गरेको भन्दै आर्थिक रूपान्तरणबाट सबै नेपालीको जीवनस्थर उकास्न सहयोग पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । बैंक तथा वित्तीय संस्था सुधार कार्यदलका सदस्य चार्टर एकाउन्टेन्ट भुवन दाहालले निजी क्षेत्रलाई पूर्वाधार निर्माणको क्षेत्रमा प्रोत्साहन गर्नसक्ने गरी नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

विभागका प्रमुख कर्णबहादुर बुढाले पार्टीमार्फत सरकारलाई उपयुक्त सुझाव उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।

मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन

जनकपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि आवश्यक गृहकार्य सुरु गर्न प्रदेशभरिका वितरण केन्द्रहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसंग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्येनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न निर्देशन दिएका छन् ।

उनले सिँचाईको समय एक महिना मात्र बाँकी रहेकाले तीव्र गतिमा स्थान छनोट, ट्रान्सफर्मर जडानलगायतका कार्यहरु अगाडि बढाउन निर्देशन दिएका छन् । किसानले बोरिङ जडान गर्न माग गर्नु भन्दा पहिला नै सम्बन्धित स्थानिय तह र निकायहरुसंग समन्यव गरेर बोरिङ जडान गरिसक्न उनले निर्देशन दिए । आवश्यक परेको खण्डमा उनले बोर्डरबाट थप ट्रान्सफर्मरसमेत मगाउने बताए ।

बोरिङ जडान भएपश्चात न्यूनतम शुल्क तोकेर स्थानीय तह र अन्य निकाहरुसंँग सो रकम असुल उपर गर्नेगरी बिजुली प्रदान गर्ने शाक्यले जानकारी दिए । ८ रुपैयाँ तिरेर ल्याएको बिजुली निःशुल्क दिन नसक्ने भन्दै उनले थोरै रकम भएपनि लिएर मात्र बिजुली दिने स्पष्ट पारे ।

समिक्षा अधिकारी र सचिन भट्टराईको तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक

मौलिकता, संस्कृति र सिर्जनशीलतालाई आत्मसात् गर्दै गायिका समिक्षा अधिकारी र गायक-सर्जक सचिन भट्टराईको स्वरमा सजिएको बहुप्रतिक्षित तीज गीत ‘कस्की छोरी होला’ भर्खरै समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत विश्वव्यापी रूपमा सार्वजनिक भएको छ।

विगत केही वर्षदेखि तीज गीतको नाममा छाडापन र मौलिक संस्कारमा आघात पुर्‍याउने सिर्जनाहरूले बजार ढाकिरहेको बेला, ‘कस्की छोरी होला’ एक सशक्त, मौलिक र भावनात्मक तीज गीतको रूपमा दर्शक-श्रोतामाझ प्रस्तुत भएको छ। गीतमा गायक सचिन भट्टराईले शब्द तथा संगीत दिएका छन् भने लोकप्रिय गायिका समिक्षा अधिकारीको सशक्त स्वरले गीतलाई विशेष बनाएको छ।

गीतको म्युजिक भिडियो मौसम हिमालीको निर्देशनमा तयार भएको हो। भिडियोमा सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बि.सी. को अभिनय देख्न सकिन्छ। छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका हुन्। एच.बी.एन. किस्मतको एरेन्जमेन्ट रहेको गीतमा नेपाली नारीको सम्मान, परम्परा र संस्कृतिको झल्को प्रस्ट देखिन्छ।

गीत सार्वजनिक भएसँगै, गायक सचिन भट्टराईले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्: “मेरो आफ्नै शब्द-संगीतमा रहेको गीत, मेरो र समिक्षा अधिकारीको आवाजमा, चर्चित गायक–मोडल अर्जुन सापकोटा, सुनिल न्यौपाने, मीना बर्तौला र जुना विश्वकर्माको अभिनयमा तयार पारिएको नयाँ तीज गीत ‘कस्की छोरी होला’ हेरेर कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिकृया दिन नभुल्नु होला।”

गीतले मौलिक संगीतको संरक्षण, महिला सशक्तिकरणको सन्देश, र नेपाली तीजको सांस्कृतिक मूल्यलाई उजागर गर्ने अपेक्षा गरिएको छ। ‘कस्की छोरी होला’ ले श्रोताको मन छुने मात्र होइन, तीज गीतको नयाँ मापदण्ड पनि स्थापित गर्ने विश्वास लिई सार्वजनिक गरिएको हो।सचिनका बनैमा स्याउला छ, युके लान्छु रेलीमै, छड्के छाता, चिन्न सकिन, छायाँ सिसाको लगायतका गीतहरू दर्शक श्रोताले सर्वाधिक रुचाएका गीत हुन् ।

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक नयाँ दिल्लीमा सम्पन्न

काठमाडौँ, १३ साउनः नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नुभएको थियोभने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गर्नुभएको थिए।

बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा २०१९ मा आयोजित ११ औँ नापी विभागका अधिकारी सम्मिलित समिति बैठकको कार्य प्रगतिको समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण र मर्मतसम्भारकासँग सम्बन्धित संयन्त्रका कामलाई अझ प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।

बैठक सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको छ । दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा र सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो । यसलाई सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मत र अन्य प्राविधिक कार्यहरू गर्ने कार्यादेश छ ।

कर्णालीमा जोखिममा रहेका १६ हजार घरधुरीको विपद् बिमा

कर्णाली । कर्णाली प्रदेशमा रु ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरुको प्राकृतिक विपद् बिमा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘घर बिमा शुभारम्भ कार्यक्रम’मार्फत पहिलो चरणमा यहाँका १५ स्थानीय तहका २१३ वडाका १६ हजार ७२ घरको विपद् बिमा भएको सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहसँगको सहकार्यमा बीमक कम्पनीद्वारा घरको मूल्याङ्कन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाइएका १५ स्थानीय तहका १६ हजार ७२ घरको घरलाई बिमा योजनामा समावेश गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकको निजी आवासीय घरको प्राकृतिक विपद्लगायत भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीमा आर्थिक सुरक्षाको प्रत्याभूत गर्न प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत ‘घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१’ यहाँको मन्त्रिपरिषद्बाट विसं २०८१ फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको छ । यसले जनतालाई विपद्मा सरकार हाम्रो साथमा छ भन्ने प्रत्याभूत गराउनेछ ।”

मुख्यमन्त्री कँडेलका अनुसार थोरै रकममा नागरिकको सम्पत्ति सुरक्षा हुनेगरी प्रदेश सरकारले नवीनतम कामको थालनी गरेको छ । घर बिमा जस्तै प्रदेशमा कृषि, पशुु बिमा कार्यक्रमको प्रभावकारी सञ्चालनको आवश्यकता रहेको बताउँदै उहाँले क्षतिपूर्ति दिनेभन्दा बिमा कार्यक्रममार्फत सुरक्षा अपनाउने काममा स्थानीय तह अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । कम रकममा बिमा गराउँदा त्यसले हाम्रो जोखिम टार्न सहयोग पुग्छ भन्नेमा नागरिकस्तरमा सचेतना फैलाउनुपर्ने उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका नागरिकको आर्थिक अवस्था, भौगोलिक विकटता र विपद् जोखिममा ध्यान दिँदै नागरिकको समस्यालाई प्राथमिकतामा राखेर सरकारले घर बिमा कार्यक्रम शुभारम्भ गरिएको बताउनुभयो । उहाँले सुगममा मात्र नभई विपद् पर्दाको समयमा दुर्गममा गएर पनि काम गर्न बिमा कम्पनीलाई सुझाउनुभयो ।

कार्यविधिबमोजिम घर बिमा कार्यक्रममा आबद्ध हुन प्रदेशका स्थानीय तहलाई सूचना गरिएकामा १० जिल्लाका २३ स्थानीय तहले प्रतिबद्धतासहितको पत्राचार गरेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधिको दफा ३ (४) बमोजिम नेपाल बिमा प्राधिकरणले छनोट गरी पठाएका २३ वटा स्थानीय तहमा २३ वटा बीमक कम्पनी खटाई निजी आवासको मूल्याङ्कन सुरु गरिएको थियो ।

कार्यविधिको दफा ५ को (२) बमोजिम प्रतिघर अधिकतमा रु २० लाखसम्मको मात्र प्रदेश सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था रहेको र सो भन्दा माथि भए स्वयं धरधनीले व्यहोर्नुपर्ने जानकारी पनि सचिव शाहीले दिनुभयो । प्रिमियमबापत जम्मा रु ९८ लाख २४ हजार ८९३ भुक्तानी भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सल्यान शारदा नगरपालिकाका कार्यवाहक प्रमुख सुुस्मिता सापकोटा, जाजरकोट बारेकोट, सुर्खेत बराहताल र कालीकोट महावै गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी, भीमबहादुर भण्डारी र खेमबहादुर सिंहलगायतले कर्णाली जस्तो विपद् जोखिमयुक्त प्रदेशमा गरिएको घर बिमा कार्यक्रमले नागरिकको सुरक्षामा थप बल मिलेको बताउनुभयो । प्रदेश सरकारले थालनी गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाकोतर्फबाट आवश्यक समन्वय गर्ने उहाँहरूले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका उपसचिव उत्तम गौतमले चालु आव २०८२/८३ मा घर बिमा कार्यक्रममा रु तीन करोड ५० लाख छुट्याएको बताउँदै अघिल्लो आर्थिक वर्ष घर बिमामा समावेश नभएका स्थानीय तहलाई चालु आर्थिक वर्षमा समावेश गरिने जनाउनुभयो ।

उहाँका अनुसार कार्यविधिको दफा ४ बमोजिम घर बीमालेखले भूकम्पबाट हुने क्षति, अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने, चट्याङजन्य, आकाशीय सामाग्रीजन्य, धक्काजन्य, स्वजलन, बाढी तथा डुबानबाट क्षतिग्रस्त घर, हुलदङ्गा तथा आतङ्कवादजन्य जोखिम तथा अन्य प्राकृतिक विपद्ले क्षतिग्रस्त घर समेट्ने उल्लेख छ ।

घर बिमा गर्ने स्थानीय तहमा शारदा नगरपालिका सल्यानले चार हजार ७०७, ठाँटीकाँध गाउँपालिका दैलेखले ५२६, सुर्खेत गुर्भाकोट नगरपालिकाका ९१६, लेकबेंसी नगरपालिकाका २६५, बराहताल गाउँपालिकाका दुई हजार चार ६९, रुकुमपश्चिम त्रिवेणी गाउँपालिकाका ३३९, सानीभेरी गाउँपालिकाका २१२ घरधुरीको बिमा गरिएको छ ।

त्यसैगरी, तिलागुफा नगरपालिका कालीकोटका ६५५, पलाता गाउँपालिकाका ६४३, महावै गाउँपालिकाका ६८०, डोल्पा जगदुल्ला गाउँपालिकाका ६४०, जुम्ला सिञ्जा गाउँपालिकाका एक हजार ५४५, हुम्ला खार्पुनाथ गाउँपालिकाका ६६१, मुगु छायाँनाथ रारा नगरपालिकाका एक हजार ३११ र जाजरकोट बारेकोट गाउँपालिकाका ७३३ घरधुरीको प्राकृतिक विपद् घर बिमा गरिएको छ ।

नागपञ्चमीको दिन नागपोखरीमा भक्तजनहरुको भिड (फोटोफिचर)

आज नागपञ्चमीको दिन काठमाडौंस्थित नागपोखरीमा भक्तजनहरुको भिड लागेको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । तस्बिर – नेपाल वन एचडी

नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ । ययसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

आज काठमाडाँैको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिएको छ ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।