`

कर्णालीमा जोखिममा रहेका १६ हजार घरधुरीको विपद् बिमा

कर्णाली । कर्णाली प्रदेशमा रु ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरुको प्राकृतिक विपद् बिमा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘घर बिमा शुभारम्भ कार्यक्रम’मार्फत पहिलो चरणमा यहाँका १५ स्थानीय तहका २१३ वडाका १६ हजार ७२ घरको विपद् बिमा भएको सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहसँगको सहकार्यमा बीमक कम्पनीद्वारा घरको मूल्याङ्कन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाइएका १५ स्थानीय तहका १६ हजार ७२ घरको घरलाई बिमा योजनामा समावेश गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकको निजी आवासीय घरको प्राकृतिक विपद्लगायत भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीमा आर्थिक सुरक्षाको प्रत्याभूत गर्न प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत ‘घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१’ यहाँको मन्त्रिपरिषद्बाट विसं २०८१ फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको छ । यसले जनतालाई विपद्मा सरकार हाम्रो साथमा छ भन्ने प्रत्याभूत गराउनेछ ।”

मुख्यमन्त्री कँडेलका अनुसार थोरै रकममा नागरिकको सम्पत्ति सुरक्षा हुनेगरी प्रदेश सरकारले नवीनतम कामको थालनी गरेको छ । घर बिमा जस्तै प्रदेशमा कृषि, पशुु बिमा कार्यक्रमको प्रभावकारी सञ्चालनको आवश्यकता रहेको बताउँदै उहाँले क्षतिपूर्ति दिनेभन्दा बिमा कार्यक्रममार्फत सुरक्षा अपनाउने काममा स्थानीय तह अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । कम रकममा बिमा गराउँदा त्यसले हाम्रो जोखिम टार्न सहयोग पुग्छ भन्नेमा नागरिकस्तरमा सचेतना फैलाउनुपर्ने उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका नागरिकको आर्थिक अवस्था, भौगोलिक विकटता र विपद् जोखिममा ध्यान दिँदै नागरिकको समस्यालाई प्राथमिकतामा राखेर सरकारले घर बिमा कार्यक्रम शुभारम्भ गरिएको बताउनुभयो । उहाँले सुगममा मात्र नभई विपद् पर्दाको समयमा दुर्गममा गएर पनि काम गर्न बिमा कम्पनीलाई सुझाउनुभयो ।

कार्यविधिबमोजिम घर बिमा कार्यक्रममा आबद्ध हुन प्रदेशका स्थानीय तहलाई सूचना गरिएकामा १० जिल्लाका २३ स्थानीय तहले प्रतिबद्धतासहितको पत्राचार गरेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधिको दफा ३ (४) बमोजिम नेपाल बिमा प्राधिकरणले छनोट गरी पठाएका २३ वटा स्थानीय तहमा २३ वटा बीमक कम्पनी खटाई निजी आवासको मूल्याङ्कन सुरु गरिएको थियो ।

कार्यविधिको दफा ५ को (२) बमोजिम प्रतिघर अधिकतमा रु २० लाखसम्मको मात्र प्रदेश सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था रहेको र सो भन्दा माथि भए स्वयं धरधनीले व्यहोर्नुपर्ने जानकारी पनि सचिव शाहीले दिनुभयो । प्रिमियमबापत जम्मा रु ९८ लाख २४ हजार ८९३ भुक्तानी भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सल्यान शारदा नगरपालिकाका कार्यवाहक प्रमुख सुुस्मिता सापकोटा, जाजरकोट बारेकोट, सुर्खेत बराहताल र कालीकोट महावै गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी, भीमबहादुर भण्डारी र खेमबहादुर सिंहलगायतले कर्णाली जस्तो विपद् जोखिमयुक्त प्रदेशमा गरिएको घर बिमा कार्यक्रमले नागरिकको सुरक्षामा थप बल मिलेको बताउनुभयो । प्रदेश सरकारले थालनी गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाकोतर्फबाट आवश्यक समन्वय गर्ने उहाँहरूले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका उपसचिव उत्तम गौतमले चालु आव २०८२/८३ मा घर बिमा कार्यक्रममा रु तीन करोड ५० लाख छुट्याएको बताउँदै अघिल्लो आर्थिक वर्ष घर बिमामा समावेश नभएका स्थानीय तहलाई चालु आर्थिक वर्षमा समावेश गरिने जनाउनुभयो ।

उहाँका अनुसार कार्यविधिको दफा ४ बमोजिम घर बीमालेखले भूकम्पबाट हुने क्षति, अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने, चट्याङजन्य, आकाशीय सामाग्रीजन्य, धक्काजन्य, स्वजलन, बाढी तथा डुबानबाट क्षतिग्रस्त घर, हुलदङ्गा तथा आतङ्कवादजन्य जोखिम तथा अन्य प्राकृतिक विपद्ले क्षतिग्रस्त घर समेट्ने उल्लेख छ ।

घर बिमा गर्ने स्थानीय तहमा शारदा नगरपालिका सल्यानले चार हजार ७०७, ठाँटीकाँध गाउँपालिका दैलेखले ५२६, सुर्खेत गुर्भाकोट नगरपालिकाका ९१६, लेकबेंसी नगरपालिकाका २६५, बराहताल गाउँपालिकाका दुई हजार चार ६९, रुकुमपश्चिम त्रिवेणी गाउँपालिकाका ३३९, सानीभेरी गाउँपालिकाका २१२ घरधुरीको बिमा गरिएको छ ।

त्यसैगरी, तिलागुफा नगरपालिका कालीकोटका ६५५, पलाता गाउँपालिकाका ६४३, महावै गाउँपालिकाका ६८०, डोल्पा जगदुल्ला गाउँपालिकाका ६४०, जुम्ला सिञ्जा गाउँपालिकाका एक हजार ५४५, हुम्ला खार्पुनाथ गाउँपालिकाका ६६१, मुगु छायाँनाथ रारा नगरपालिकाका एक हजार ३११ र जाजरकोट बारेकोट गाउँपालिकाका ७३३ घरधुरीको प्राकृतिक विपद् घर बिमा गरिएको छ ।

नागपञ्चमीको दिन नागपोखरीमा भक्तजनहरुको भिड (फोटोफिचर)

आज नागपञ्चमीको दिन काठमाडौंस्थित नागपोखरीमा भक्तजनहरुको भिड लागेको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । तस्बिर – नेपाल वन एचडी

नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ । ययसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

आज काठमाडाँैको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिएको छ ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

सेवा दिने चिकित्सक नहुँदा बिमा ‘रेफरल प्रणाली’बाट नागरिकलाई सास्ती

काठमाडौँ, १३ साउन : काभ्रेपलाञ्चोक जिल्लामा बिमा ‘रेफरल प्रणाली’अन्तर्गत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइँदा नागरिकले निकै सास्ती ब्यहोर्नुपरेको छ । प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि जिल्लास्थित दलका नेताले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ध्यानाकर्षणसमेत गराएका छन् ।

स्वास्थ्य बिमा बोर्डले जिल्लाको पाँच सरकारी स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकेको थियो । त्यसमध्ये धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) र पाँचखाल पिएचसीले प्रथम सेवा बिन्दु सञ्चालन गर्न सकेका छैनन् । चिकित्सक अभावका कारण पनौती नगरपालिकामा रहेको (पिएचसी)मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा समस्या देखिएको छ । उक्त केन्द्रले स्वास्थ्य बिमाको नियमित सेवामा प्रतिकूल प्रभाव परिरहेको जनाउँदै सोमबारदेखि दैनिक ४० जनालाई मात्र रेफरल दिने व्यवस्था गरिएको जानकारी दिएको छ । केन्द्रका निमित्त प्रमुख डा प्रज्वल लुइँटेलका अनुसार चिकित्सक अभावकै कारण सेवा दिन कठिनाइ भई स्वास्थ्य बिमाअन्तर्गत रेफरलमा समस्या उत्पन्न भएको छ ।

स्थानीयले दैनिक रूपमा स्वास्थ्य बिमाको सेवा लिने गरेकाले रेफरल प्रणाली सीमित हुँदा थप चुनौती हुने देखिएको छ । हालसम्म उक्त केन्द्रले करिब एक हजारलाई रेफरल सेवा दिएको जनाइएको छ । पनौतीमा रहेको अर्को खोपासी पिएचसीले दुई हजार बढीलाई रेफरल सेवा दिएको छ । साउन १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु हेरफेर भएपछि जिल्लामा तोकिएको पाँचमध्ये पनौतीका दुई पिएचसीमा सेवाग्रहीको भीड लाग्दै आएको छ ।

यसैबीच प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि काभ्रेपलाञ्चोकस्थित नेपाली कांग्रेससहित विभिन्न दलको यसअघि २०८२ साल असार मसान्तसम्म प्रथम सेवा बिन्दुको रूपमा स्वास्थ्य बिमा सेवा प्रदान गर्दै आएको धुलिखेल अस्पताललाई नै स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु कायम गर्न माग गर्दै सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको नेतृत्वमा जनप्रतिनिधिसहितको टोलीले मन्त्री पौडेललाई धुलिखेल अस्पताल प्रथम सेवा बिन्दु कायम नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा भौतिक पूर्वाधारको व्यवस्था, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था मिलाई प्रथम सेवा बिन्दुबाट दिने सेवा सञ्चालन गर्नका लागि निर्देशन दिन भनिएको ध्यानाकर्षणपत्र बुझाएको हो ।

यस्तै धुलिखेलमा रहेको १५ शय्याको प्रादेशिक अस्पताल सञ्चालनमा ल्याई धुलिखेलमा रहेको सम्पूर्ण स्वास्थ्य चौकीको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण एवं जनशक्तिको व्यवस्था गरी गुणस्तरीय सेवा प्रवाहका लागि यथाशीघ्र पहलकदमी गर्न पनि ध्यानाकर्षणमा माग गरिएको छ । “अन्यत्र पूर्वाधार तयार नगरी धुलिखेल अस्पतालको प्रथम सेवा बिन्दु हटाउँदा लाखौँ नागरिक प्रभावित बनेकाले मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हौँ, उहाँले धेरै स्थानमा समस्या देखिएको छ, कस्ताखालको समस्या हो बुझेर समाधान गर्दै जाने आश्वासन दिनुभएको छ”, हुमागाईँले भन्नुभयो ।

धुलिखेल अस्पतालको सेवा हटाउँदा काभ्रेपलाञ्चोक र आसपास तथा पूर्वी तराईका जिल्लासमेतका तीन लाखभन्दा बढी सेवाग्राही प्रभावित भएको जनाइएको छ । टोलीले अस्पतालमा सेवा सञ्चालन नहुँदासम्म धुलिखेल पिएचसीलगायतका स्वास्थ्य केन्द्र र धुलिखेलको नगर अस्पताल तत्काल सञ्चालनमा ल्याउन पहल गरिदिन अनुरोध गरिएको हुमागाईँले बताउनुभयो ।

टोलीसँग भेटका क्रममा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न धेरै सामुदायिक र सरकारी अस्पतालको प्रथम सेवा बिन्दु हटाइएको जानकारी दिँदै ती अस्पतालमा रेफरल सेवाअन्तर्गत विशेषज्ञ सेवा प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको दायित्व भएको संविधानमा नै उल्लेख छ, जनशक्ति, उपकरणलगायतका पूर्वाधार सहयोग गर्न मन्त्रालय तयार भएको र स्थानीय तहले पनि सेवा दिन तदारुकता दिनुपर्छ ।”

विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा बिन्दुका रूपमा सुचीकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये मेथिनकोट अस्पताल तथा सुन्थान र खोपासी पिएचसीले मात्र सेवा दिँदै आएका छन् । विसं २०७६ देखि नै सूचीकृत भए पनि सेवा दिन आलटाल गर्दै आएका धुलिखेल र पाँचखालले पूर्वाधार र जनशक्तिको कारण देखाउँदै सेवा दिन नसकिने भन्दै सूचना नै जारी गरिसकेका हुन् । अस्पतालका सेवाग्राहीले अब सेवा लिनका लागि प्रथम सेवा बिन्दु तोकिएका सरकारी स्वास्थ्य संस्थाबाट रिफरल (प्रेषणपत्र) लिनुपर्छ । गत असार १० गते स्वास्थ्य बिमा बोर्डले निर्देशन जारी गरेर साउन १ गतेदेखि तोकिएको प्रथम सेवा बिन्दुबाट आकस्मिक अवस्थामा बाहेक प्रेषण पुर्जी (रिफलर पत्र) अनिवार्य लिएरमात्र आउनुपर्ने निर्णय गरेको थियो ।

अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

काठमाडौँ, १३ साउन :गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक सञ्चालन गर्न अहिले जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी सारुले बताउनुभयो ।

त्यसैगरी दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाब बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालयले वर्षात्को समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक मानिसलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा एक सय ८० भन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

त्यसैगरी, बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण जेउडे मोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताउनुभयो ।

आज बिहान पहिरो खसेपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेलाबेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युत्को पोल पनि जोखिममा रहेको उहाँले बताउनुभयो ।

भेरी नदीमा पानीको सतह बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ । भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भन्नुभयो, “जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ । प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।”डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सहत केही बढेकाले सर्तक रहन आग्रह गरेको बताउनुभयो ।

बागमती प्रदेशमा बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा असहमति, दुई सांसदको समर्थन फिर्ता

हेटौंडा । बागमती प्रदेश सभामा सांसद मिना पराजुली र माया श्रेष्ठले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन् ।

आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको विषयवस्ताबारे जानकारी नदिएको र त्यसप्रति असहमति रहेकाले समर्थन फिर्ता लिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नगराई हस्ताक्षर गराइएको सोमा हाम्रो असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।’यस घटनाले बागमती प्रदेशको राजनीतिक परिवेशमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।

तनहुँमा नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्यामा बृद्धि

काठमाडौँ, १३ साउन :डुम्रे (तनहुँ)जिल्ला प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । अभिभावक वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएसँगै बसाइँसराइ गर्नेगरी परिचयपत्र लिने बालबालिकाको सङ्ख्यामा बृद्धि भएको हो ।

जिल्ला प्रशासन कार्यालको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०८१ / ८२ मा दुई सय ९३ बालिका र तीन सय १३ बालक गरी छ सय छ बालबालिकाले नाबालक परिचयपत्र लिएका थिए । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले छ सय जनाले नयाँ नाबालक परिचयपत्र लिएका छन् भने छ जनाले प्रतिलिपि लिएका जानकारी दिनुभयो । अभिभावक बैदेशिक रोजगारीमा गएपछि परिवारलाई लैजाने क्रमसँगै नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्या विगतका वर्षमा भन्दा बढेको जनाइएको छ ।

आव २०८० / ८१ मा पाँच सय २९ बालबालिकाले नाबालक परिचयपत्र लिएका छन् । सो अवधिमा पाँच सय १५ बालबालिकाले नयाँ नाबालक परिचयपत्र लिएका थिए भने १४ जनाले प्रतिलिपि लिएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७९ /८० मा चार सय ३९ बालबालिकाले नाबालक परिचयपत्र लिएका थिए । कोभिड महामारीका कारण वैदेशिक रोजगारीमा जाने क्रम यस्तो परिचलपत्र लिनेक्रम कम भए पनि पछिल्लो समय बढ्ने क्रममा रहेको छ ।

आव २०७८÷७९ मा दुई सय ७८, आव २०७७÷७८ मा एक सय ८६ बालबालिकाले नाबालक परिचयपत्र लिएका तथ्याङ्कमा उल्लेख छ । अभिभावकसँगै बालबालिकाको पनि बसाइँसराइ हुने भएकाले नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्या बृद्धि हुनसक्ने प्रजिअ अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार बालबालिकासहित स्वदेशभन्दा बढी वैदेशिक बसाइँसराइ बढ्दो क्रममा छ । यसले नाबालक परिचयपत्र लिने बालबालिकाको तथ्याङ्क नै बढिरहेको छ । स्वदेश केही पनि छैन भन्ने भ्रमले पनि पूर्ण रूपमा बसाइँसराइ गर्नेगरी नाबालक परिचयपत्र बनाउने क्रम बढेको छ ।

उहाँले भन्नुभयो, “सामाजिक सञ्जाललगायत एकापसमा कुराकानी गर्दा नेपालमा केही छैन भन्ने नकारात्मक सोचले विक्षिप्त भएर विदेशिने क्रम बढेको छ । जसले तथ्याङ्कमा बालबालिकाको नाबालक परिचयपत्र बन्ने क्रम बढ्दो देखिन्छ ।” स्वदेशमा पनि गरे सहज छ भन्ने सोचको विकास गर्नुपर्ने अवस्था रहेको उहाँको बुझाइ छ । युवालाई स्वदेशमै रहनेगरी शिक्षा, स्वास्थ्यसँगै शैक्षिक तथा सीपका आधारमा रोजगारीको व्यवस्थापन आवश्यक रहेको प्रजिअ अधिकारील औँल्याउनुभयो ।

उहाँले भन्नुभयो “स्वदेश आमनागरिकलाई आवश्यक सेवासुविधाको विकास भइरहेको छ । तर, अहिले युवामा बढी राजनीतिक, सामाजिक तथा पारिवारिक भविष्यको चिन्ताले विदेशिने गरेका पाइन्छन् । यस्ता कार्यलाई रोक्न वा न्यूनीकरणका निम्ति प्रोत्साहित तथा स्वदेशमै रहने वातावरण बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्ने अवस्था छ ।”

बेलायतमा पशुपतिनाथ मन्दिर : साउनभर भक्तजनको चहलपहल, भजन र नाचगान

लन्डन । पछिल्लो समय विदेशमा बसोबास गर्ने नेपालीहरुले विदेशमै मन्दिरहरु स्थापना गरी धार्मिक गतिविधिहरुमा अग्रसर हुन थालेका छन् ।साउन महिना सुरु भएयता बेलायतस्थित साउथ इष्ट लण्डनको प्लमस्टिडमा हिन्दु धर्मावलम्वी नेपालीहरुद्वारा स्थापित पशुपतिनाथ मन्दिर विशेष कार्यक्रमहरुको आयोजना भइरहेको छ ।

बेलायतको पहिलो हिन्दु मन्दिर भएकाले श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । विशेषगरी चाडपर्वका अवसरमा मन्दिरमा पूजा आराधना र भजन–किर्तनको आयोजना हुने गरेको छ । बेलायतका नेपाली बस्ती भएका अन्य क्षेत्र अल्डरसट, बर्मिङ्घम, वेम्लीलगायत स्थानका स्थानीयहरुको विशेषगरी मन्दिरहरुमा भीड लाग्ने गर्दछ ।

यसैगरी अहिले साउन महिनाभरी उक्त पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा भइरहेको छ । साथै यस महिनाभरी हरेक दिनजसो भजन–किर्तन, पूजापाठ हुने गरेको काठमाडौं,धुमवाराही घर भई हाल बेलायत बस्दै आएका पण्डित निलहरी घिमिरेले जानकारी दिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सोमबारमा ब्रतहरुमध्य साउन महिनाको सोमबारको ब्रत मात्रै लियो भनेपनि वर्षभरीको पूण्य प्राप्त हुने बताए ।

उनले भने,‘अन्य महिनाका सोमबार मध्ये साउनको सोमबारको ब्रत मात्रै लियो भनेपनि वर्षभरीको पूण्य प्राप्त हुन्छ भन्ने पुरानो कथा अनुसार हामी दोस्रो हप्ताको साउन महिनाको सामूहिक पूजा मन्दिरमा आयोजना गर्ने तयारीमा छौं ।’
त्यस्तै उनले बेलायतमा राम, राधाकृष्ण र स्वामी नारायण मन्दिर जस्ता अन्य मन्दिरहरु रहेतापनि सबैभन्दा बढि चहलपहल पशुपतिनाथमा नै हुने गरेको बताए । उनको अनुसार मन्दिरमा विषेशगरी जनै पूर्णिमा, तीज, दशै, शिवरात्री जस्ता पर्वहरुमा धेरै भक्तजनहरुको भीडभाड हुनेगर्छ ।

उनले भने,‘बेलायतमा अहिले एकदमै धेरै चाप भएको मन्दिर नै यही हो । भक्तजनहरुले पनि बेलायतमै रहेका राम, राधेकृष्ण, स्वामी नारायण मन्दिरमा भन्दा यहाँ धेरै नै चहलपहल हुने गरेको बताउनुहुन्छ । यहाँ नेपाली समुदाय पनि ठूलो छ । टाढा टाढाबाट आउनुहुन्छ । जनै पूर्णिमा, दशै, शिवरात्रीमा हजारौं भक्तजनहरु आउनुहुन्छ । तीजमा पनि धेरै भीडभाड हुनेगर्छ ।’पण्डित घिमिरेका अनुसार जुनसुकै देशमा जाँदा पनि नेपालीहरुलाई एकजुट हुने थलो खड्किने गरेकाले धार्मिक आस्थाको केन्द्रको स्थापना हुनु आवश्यक छ । विदेशमा पनि मन्दिर निर्माण हुनु आवश्यक रहेको उनले औंल्याए ।

‘मैंले बुझे अनुसार कुनैबेला थाइल्यान्डमा मन्दिर निर्माण गरियो । जसका कारण नेपाली बोल्न नजान्ने बच्चाहरुलाई नेपाली बोल्ने वातावरण बन्यो । सोही स्थानको अनुभवलाई लिएर बेलायतमा पनि मन्दिर निर्माणको अभियान सुरु भएको हो,’ उनले भने ।
हाल पशुपतिनाथ मन्दिर रहेको स्थानलाई फराकिलो बनाउनुपर्ने र सामूदायिक हलको आवश्यक रहेकाले आफूहरुले अभियान बनाउने योजना बनाइरहेको बताए । बेलायतको प्रमुख धर्म क्रिश्चियन रहेकाले ४६.३० प्रतिशत मानिसहरु क्रिश्चियन धर्ममा आबद्ध छन् भने हिन्दु धर्म मान्ने १.८ प्रतिशतमा छन् ।

थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु, तीन जना घाइते

एएफपी । थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् ।

प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजार हो, जहाँ आक्रमणकारीले दिउँसो १२:३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हानी आत्महत्या गरेका थिए ।

घटनाको कारण व्यक्तिगत विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश राखेका थिए । “उक्त जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको हो,” प्रहरी अधिकारी सायाम बुनसोमले पत्रकारहरूलाई बताए ।

ओर तो कोर बजार बैंककको चाटुचाक बजार नजिकै पर्छ, जुन पर्यटकहरूबीच अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ । थाइल्याण्डमा बन्दुक नियन्त्रणका कानुनहरू कमजोर भएकाले यस्ता सामूहिक गोलीकाण्ड समय–समयमा हुँदै आएका छन् ।

सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना पोखरामा सुरक्षित अवस्थामा भेटिए

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सोमबार राति भेटिएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सोमबार बिहान १० बजे उर्मिला हायु सहित १६ जना परिवारका सदस्य केही दिनदेखि गाउँबाट सम्पर्कविहीन भएको सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा उनीहरु शनिबार बिहानको राती १ बजे सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ३ का वर्ष २५ को जिवन भन्ने नविन बिकले चलाउने गरेको मधेश प्रदेश ०४– ००१–००८१ नम्बरको इभी भ्यानमा सिन्धुली जिल्लाको गोलन्जोर स्थित बलेनी भन्ने ठाउँबाट चढी खनियाँखर्क–सिन्धुली–हेटौँडा–मुग्लिन हुँदै पोखरा पुगेर त्यहाँको लेक साईडको होटल जननीमा बसेका थिए ।
आइतबार सो होटलबाट चेक आउट गरी हिडेका उनीहरुलाई सोमबार प्रहरीले दुइवटा घरबाट फेला पारेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी खोज तलास गर्दा सोमबार राति कास्कीको पोखरा महानगरपालिका वडा नं. ३० स्थित सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा ४ जना समेत गरी सबै १६ जना फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले गाउँ छाड्नुको कारण अहिलेसम्म खुलाइएको छैन । थप अनुसन्धान जारी छ । १८ जनाको संयुक्त परिवारमध्ये दुई जना यसअघि नै काठमाडौंमा रहेको पुष्टि भइसकेको छ। बाँकी १६ जना भने कुनै जानकारी नदिई गाउँ छाडेर हिँडेपछि प्रहरी र स्थानीय प्रशासनले सोमबार बिहानबाट खोजी थालेका थिए ।
सो परिवारले केही दिनअघि मात्रै सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेको थिए। त्यसपछि उनीहरू एक्कासि सम्पर्कविहीन भएका थिए ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भू-भागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसै गरी, आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

मन्त्री खड्काद्वारा महाकाली सिँचाइ आयोजनाको नहर अवलोकन

काठमाडौँ, १३ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छ ।

उहाँले सोमबार कञ्चनपुरमा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणाधीन नहरको अनुगमन तथा निरीक्षण गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

मन्त्री खड्काले आयोजनाको वर्तमान कार्यप्रगति सराहनीय रहेकाले भन्दै तोकिएको लक्ष्य हासिल गर्न अझ प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले निरीक्षणका क्रममा महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना भएको बताउनुभयो ।

“किसानको खेतमा पानी पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध छ, कुनै कमजोरी हुन दिइने छैन”, मन्त्री खड्काले भन्नुभयो । राष्ट्रिय गौरवको आयोजनालाई समयमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

टनकपुर ब्यारेजमार्फत प्राप्त पानी प्रयोग गरी सञ्चालनमा ल्याइएको उक्त आयोजनाले कञ्चनपुरको ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनबस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

हालसम्म ३० किलोमिटर मूल नहर र करिब १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छ भने करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ । आयोजनाको समग्र भौतिक प्रगति हाल २४ दशमलव २२ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३ दशमलव ९७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

मन्त्री खड्काले महाकाली सिँचाइ आयोजनाजस्ता योजनाले स्थानीय उत्पादन क्षमतामा वृद्धि गरी राष्ट्रिय समृद्धिमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “भौगोलिक दूरी, ढिलासुस्ती वा प्रविधिगत चुनौतीले हामीलाई रोक्न सक्दैन, हामी योजनाबद्ध ढङ्गले अघि बढेर लक्ष्यमा पुग्नुपर्छ”, उहाँले भन्नुभयो ।

निरीक्षण भ्रमणमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटे बाघका लागि प्रख्यात गन्तव्य

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटे बाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ । निकुञ्जमा पाटे बाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन् । विश्वको दुर्लभ मानिने बाह्रसिंगाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटे बाघका लागि पनि प्रख्यात मानिएको छ ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा पर्याप्त आहारा, बासस्थानकोे उचित व्यवस्थापनले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ रहेकामा सन् २०१८ मा १६, सन् २०२१ मा १९ र सन् २०२२ मा उक्त सङ्ख्या बढेर ३६ पुगेको हो ।

निकुञ्ज कार्यालयको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको सूचना अधिकारी वाग्लेले बताए । निकुञ्जका अनुसार थोरै क्षेत्रफल रहेको शुक्लाफाँटामा बाघको सङ्ख्या धेरै हो ।

“यहाँ बाघका लागि आहारा र वासस्थानको उचित वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, वाग्लेले भने, “निकुञ्जमा कोर एरिया व्यवस्थापन प्रभावकारी छ, यहाँ १०० बढी पानीका ताल छन् त्यस कारण बाघको आहारा बढेकाले सङ्ख्यामा वृद्धि भएको हो ।”

उनले शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसे मैदान, चौधर नदी, रानी ताल र सिकारी तालजस्ता तालतलैया र निकुञ्जभित्र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको बताए । उनका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रूपमा बाह्रसिंगा, रतुवा, चित्तल र बँदेल छन् ।

“निकुञ्जभित्र जैविक विविधताले भरिपूर्ण प्राकृतिक ताल र कृत्रिम तालहरू पनि छन्”, सूचना अधिकारी वाग्लेले भने, “यसले वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन ।” निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ ।

वाग्लेले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात भए पनि यसको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनुलगायत समस्याले यहाँ उलेख्य पर्यटक आउन नसकेको बताए ।

“जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो । थोरै क्षेत्रफलमा यहाँ धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ”, उनले भने, “यहाँ आउने हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो ।” उनले शुक्लाफाँटा पर्यटनको ठूलो सम्भावना बोकेको गन्तव्य भएको बताए ।

“यहाँ भारतीय पर्यटकको ठूलो सम्भावना छ तर नाकामा असहजताका कारण सम्भावना भएअनुसार पर्यटक आउन सकेका छैनन्”, सूचना अधिकारी वाग्लेले भने, “यस क्षेत्रको प्रचारप्रसारका साथै निजी क्षेत्रको लगानी हुन जरुरी छ ।” उनले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरे पनि सोअनुसारको ‘टुरप्याकेज’को व्यवस्था हुन नसक्दा पर्यटकको कमी हुने गरेको धारणा राखे ।

“विदेशी पर्यटकलाई हवाई भाडामा पनि झण्डै दोब्बर छ । सबै देशका नागरिकलाई समान भाडादर हुनुपर्नेमा त्यसो हुन सकेको छैन, त्यस कारण पनि पर्यटक काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर फर्किने गरेका छन्”, वाग्लेले भने, “पर्यटक लक्षित विभिन्न टुरप्याकेज बनाउनुका साथै निजी क्षेत्रको लगानी बढाउन जरुरी छ ।”

सूचना अधिकारी वाग्लेका अनुसार निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगा छन् भने ४४ वटा पाठे बाघ छन् । विश्वकै सबैभन्दा ठूलो घाँसे मैदानका रूपमा निकुञ्जको विशेषता रहेको उनको भनाइ छ ।

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ, १३ साउनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

‘अन्तरराष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौतीका रूपमा रहेकाले ती चुनौतीको सबै मिलेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो । “बाघ संरक्षणबाट पर्या–पर्यटनको विकासमा टेवा पुग्न सक्छ । बाघ संरक्षित क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी आर्थिक लाभ लिन सकिन्छ”, उहाँले भन्नुभयो ।

उपराष्ट्रपति यादवले विश्वमा बाघको छाला, दाँत र हाडका लागि गरिने अवैध सिकारका कारण बाद्धको सङ्ख्या बट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै तीव्र रूपमा बढ्दो वनजङ्गल फँडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारणबाट हुने वन विनाशले बाघको बासस्थान बर्सेनि सङ्कटमा परिरहेको बताउनुभयो ।

शुभकामना सन्देशमा भनिएको छ, “बाघ संरक्षणमा पछिल्लो दशकमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ, यो सफलता सरकार, स्थानीय समुदाय, सङ्घसंस्था र अन्तरराष्ट्रिय साझेदारहरूको प्रयासबाट सम्भव भएको हो । संरक्षित क्षेत्रहरूको सन्तुलित व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, जनचेतना, जनसहभागितालगायत महत्त्वपूर्ण कदमबाट नेपालमा बाघको सङ्ख्या बढ्दै गएको हो, नेपालमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि उत्तिकै थपिएका छन् ।”

उपराष्ट्रपति यादवले बाघको अस्तित्व जोगाउनु एउटा प्रजातिको रक्षामात्र नभई सो विषय वातावरणीय सन्तुलनसँग जोडिएकाले सबैको सहकार्य र समन्वयबाट संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “बाघले जैविक विविधता कायम राख्न सहयोग गर्दछ, अन्तरराष्ट्रिय बाघ दिवसले हामी सबैलाई बाघ संरक्षणको साझा जिम्मेवारीसहित एकजुटताका साथ अघि बढ्न अभिप्रेरित गर्न सकोस् । दिवसले बाघ संरक्षणको महत्त्वपूर्ण अभिभारालाई दत्तचित्त र सक्रियताका साथ पूरा गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

बाघ एउटा सुन्दर र पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण वन्यजन्तुमध्येको एक हो । विश्वभरी यसको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखलाई ‘अन्तरराष्ट्रिय बाघ दिवस’ का रूपमा मनाइन्छ ।

मानिसलाई वन्यजन्तुप्रति संवेदनशील बनाउँदै तिनको संरक्षणमा स्वःस्फूर्त सहभागिताका लागि अन्तरराष्ट्रिय बाघ दिवसले अभिप्रेरित गर्ने उपराष्ट्रपति यादवले विश्वास व्यक्त गर्नुभयो । सरकार र सरोकार भएका सबैलाई बाघको संरक्षणका लागि योजना र कार्यक्रम तर्जुमा गर्नमा बाघ दिवसले सहयोग पु¥याउने उहाँले धारणा राख्नुभयो ।

मधेस प्रदेशमा विज्ञहरूले दिए कृषि बाली परिवर्तन गर्ने सुझाव

काठमाडौँ। मधेस प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् । काठमाडौँमा सोमबार आयोजित जलवायु न्यायसम्बन्धी कार्यक्रममा विज्ञहरूले जलवायु परिवर्तनका कारण समस्या थप बढ्दै जाने भन्दै सोहीअनुसार बाली विकास गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा कृषि विज्ञ डा कृष्ण पौडेलले मधेसलगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुँदै आएकामा खडेरीले समस्या पर्दै आएको र यस खाद्य सुरक्षा जोखिम बढ्ने भएकाले सुक्खा स्थान अनुकूल खेती गर्नुपर्ने बताए । उनले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको भन्दै गम्भीर भएर सोच्नुपर्ने बताए ।

“कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएको छ । हानिकारक ग्यासको उत्सर्जनले बढेका तापक्रमले खडेरीलगायत समस्या निम्तिएकाले समस्या समाधान हुने गरी सरकारले काम गर्नुपर्छ”, डा पौडेलले भने,“कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेअनुसार धेरै ‘डिप बोरिङ’ बनाउँदा दीर्घकालमा समस्या झन् बढ्न सक्छ । यो उपयुक्त उपाय होइन ।”

वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पतिसमेत प्रभावित भएकाले ती क्षेत्रका मुद्दा उजागर हुनुपर्ने बताए । उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मुद्दा उठाउन बाटो देखाएको बताए ।

वरिष्ठ अधिवक्ता राजु चापागाईँले जलवायु न्यायका लागि सरकारलगायत सरोकार भएकाहरूले भावी पुस्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने बताए । उनले दुई पुस्ताबिचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राखे।

सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले जलवायु परिवर्तनबाट विशेष गरी महिलाहरू अन्यायमा परेको बताए । उनले सुक्खा भएसँगै पानीका लागि लामो यात्रा गर्नुपर्दा महिलाहरू नै बढी प्रभावित हुने गरेको उनको भनाइ छ । सञ्चारिका समूह र एक्सनएडको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

विश्व बाघ दिवस हरेक वर्ष जुलाई २९ मा मनाइन्छ, जसले पाटेबाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउँछ।नेपालमा बाघको संख्या बढेसँगै व्यवस्थापन, मानव-बाघ द्वन्द्व र बासस्थान जस्ता चुनौती देखिएका छन्।हाल नेपालमा ३५५ बाघ रहेको अनुमान छ, जसले बाघको संख्या धान्ने क्षमता र मानव-बाघ सहअस्तित्वका कार्यक्रमको आवश्यकतालाई जोड दिन्छ।
काठमाडौँ । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।

उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ ।

नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, वासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरी सिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठुला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्ने क्रम पनि बढेको छ ।

बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ चार सय

वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) चार सय हाराहारी रहेको बताएका छन् ।

नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।

जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहालले अध्ययनको प्रारम्भिक प्रतिवेदनले नेपालमा बाघको सङ्ख्या धान्ने क्षमता चार सय हाराहारी रहेको जानकारी दिए । उनले भने, “त्यसैले अहिले बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो वासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।” उनले बाघको सङ्ख्याको अनुपातमा हाल संरक्षणको क्षेत्रफल कम नभएको तर्क गर्दै वासस्थानको गुणस्तरीयता बढाउनुपर्नेमा जोड दिए ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का निर्देशक तथा बाघ विषयमै विद्यावारिधि गरेका डा चिरिञ्जीवीप्रसाद पोखरेलले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्त्व रहेको उल्लेख गरे । उनले बाघ निश्चित क्षेत्रफल ओगटेर बस्ने र अर्को भालेसँगको जुधाइ, आहाराको खोजी, जङ्गलभित्रका खोला पोखरी सुक्दा खानेपानीको खोजीलगायत कारण मात्र वासस्थानबाट बाघ जङ्गल बाहिर आउने गरेको बताए ।

मानव–बाघ सहअस्तित्वका कार्यक्रम आवश्यक

“बाघले आफ्नो आनीबानी परिवर्तन नगर्ने भएकाले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले संरक्षित क्षेत्रमा जानेलगायत आनीबानी परिवर्तन गर्नुपर्छ”, निर्देशक डा पोखरेलले भने, “मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा समुदायमा जनचेतना जगाउने र आर्य आर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँ ।” उनले पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो ।

विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठुलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताए । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।

उनले भने, “वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्न सके वन्यजन्तु बाहिर निस्किँदैनन् र स्थानीयलाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सकिन्छ । यसमा सरोकारवाला सबै लाग्नुपर्छ ।” बाघ समस्या नभएको र यसको व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ ।

विश्वमा बाघको सङ्ख्या पाँच हजार ३५७

नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार २०० मा सीमित भएको थियो ।

विश्ववन्यजन्तु कोषको तथ्याङ्कअनुसार त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर सन् २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको थियो । सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर पाँच हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इन्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्यान्डमा एक सय ८९, भुटान १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२ चीनमा २० भियतनाममा पाँच र लाओसमा दुई वटा बाघ रहेका छन् ।

निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले छिमेकी मुलुक भारतका राष्ट्रिय निकुञ्जमा रहेका बाघको घनत्व हेर्दा नेपालको बाघको सङ्ख्या धेरै भयो भन्न नमिल्ने बताए । गुणस्तरीय घाँसेमैदान, पानीको स्रोत र आहारा वृद्धि गरी बाघको सङ्ख्या अहिलेकै क्षेत्रफलमा थप गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको तर्क छ ।

मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि आफूहरूले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै उनले भने, “विभागले विभिन्न निकायसँग मिलेर बाघ र मानव सहअस्तित्वका विभिन्न कार्यक्रम गरिरहेको छ । बाघ जङ्गलको भित्री भागमा रहिरहेका लागि गुणस्तरीय आहाराको वृद्धि र स्थानीयलाई पनि जीविकोपार्जनका लागि जङ्गलको भित्री भागमा जान बाध्य नहुने अवस्थाका लागि प्रयास गरिरहेका छौँ ।”

देशभरका खोरमा १८ समस्याग्रस्त बाघ

बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खास गरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।

हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक/एक बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठुलो रकम खर्च हुँदै आएको छ ।

बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त यस्ता बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई वन्यजन्तु कूटनीतिमार्फत उपहारस्वरूप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणी उद्यानमा व्यवस्थापन गरी आयआर्जन गर्न सकिने, केही उपाय नलागे मार्नुपर्नेलगायत विकल्प माथिसमेत बहस सुरु भएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७८ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७२ पैसा र बक्रीदर १०८ रुपैयाँ १९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ तीन पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६० पैसा र बिक्रीदर २१ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५५ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ नाै पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ३९ पैसा र विक्रीदर ३६० रुपैयाँ ९५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, १३ साउन : सङ्घीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । सार्वजनिक भएको कार्यक्रमअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोेत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखासमिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराउनुभएका सांसदहरुसँग छलफल गर्ने कार्यसूची छ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

साथै लेखासमितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको उपस्थितिमा सरकारका सबै सचिवहरुसँग छलफल गर्ने कार्यक्रम छ । विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ । सार्वजनिक नीति था प्रत्यायोजित विधायन समितिमा कानुन, न्याय तथा संसदीय मामिलामनत्रीसँग छलफल गर्ने कार्यसूची छ ।

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै,कसरी मनाइन्छ गुरहीरु

थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् ।

यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उहाँले बताउनुभयो ।

पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ । यसैबीच घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा गुरही असरैना कार्यक्रम गरिने नगर भलमन्सा कार्यसमितिका सचिव अमन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ । गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहहरुले सार्वजनिक बिदासमेत दिएका छन् ।

कसरी मनाइन्छ गुरहीरु

गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ । पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । ‘गुरही’ एक प्रकारको गाइने कीराको प्रतीक रहेको बताउँदै यसले वातावरणलाई दूषित बनाउने कीटाणु र लामखुट्टेलाई आफ्नो आहारा बनाउने थारु अगुवा पञ्चराम चौधरीले जानकारी दिनुभयो । यही गाइने कीराको प्रतीकका रूपमा कपडाको गुरही (पुतली) बनाएर पूजा गरी मनाइने भएकाले यस पर्वको नाम गुरही रहन गएको उहाँको भनाइ छ ।

पर्वको केही दिनअघिदेखि थारु समुदायमा घर आँगन लिपपोत गरी सफा बनाइन्छ । पर्वको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भइन्छ । महिलाले रङ्गीचङ्गी कपडाका टुक्राहरूबाट ‘गुरही’ अर्थात् पुतली बनाउँछन् । केटाहरूले बाँस वा जुटको प्रयोग गरी गुरही पिट्ने (कोर्रा) लट्ठी बनाउँछन् ।

साँझपख गाउँका मानिस, विशेषगरी बालबालिका र युवती, नयाँ कपडा लगाएर ढकियामा भुजा, मकै, केराउ, चना र कपडाको गुरही लिएर गाउँको चोक वा चौराहामा भेला हुन्छन् । गाउँको अगुवा (भलमन्सा) ले दुबोमा गाँठो पारेर पूजाको सुरुआत गर्छन् । त्यसपछि युवतीले ल्याएका गुरहीलाई एक ठाउँमा राखेर पूजा गरिन्छ । भाइबहिनीबीचको माया प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले गुरिया फाल्ने गर्छन् र भल्मन्साको आदेशमा दाजुभाइले उक्त गुरियालाई लट्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन् ।

ठटाउने बेला उनीहरू ‘देऊ घुघरी’ ‘लेउ घुघरी’ को नारा लगाउँछन् । यसलाई ‘गुरही असरैना’ भनिन्छ । यसरी गुरही पिट्दा गाउँघरमा रहेका रोगव्याधी र दुष्ट आत्माहरू भाग्छन् भन्ने विश्वास रहेको नगर भल्मन्सा अध्यक्ष बुधराम चौधरीले बताउनुभयो । उहाँका अनुसार गुरही पिटिसकेपछि युवतीले आफूले ल्याएको भुजा, चना, मकैजस्ता गेडागुडी प्रसादका रूपमा सबैलाई बाँड्छन् ।

‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्टि गर्छन् । त्यसो गरेमा गाउँघरमा रहेको रोगव्याधी र सङ्कट पानीसँगै बगेर जाने र सुखलाभ प्राप्त हुने विश्वास छ । कोहीले कपडाको टुक्रा सङ्कलन गरेर घरतिर घरको ढोकामा बाँध्ने गरिन्छ । यसोगर्दा घरमा रहेको दुःख, कष्ट, सर्प बिच्छीहरू घरबाट निस्केर जाने जनविश्वास रहेको नगर भलमन्सा अध्यक्ष चौधरीले बताउनुभयो ।

नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, १३ साउनः नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखि गोरखनाथ उठेपछि नागमुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

“नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ”, उहाँले भन्नुभयो ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको डा भट्टराईले बताउनुभयो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि रहेको डा भट्टराईले बताउनुभयो ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दयागरी किसानकी छोरीलाई छोडिन् ।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास रहिआएको धर्मशास्त्रविद् प्रा डा भट्टराईले जानकारी दिनुभयो ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखि गोरखनाथ उठेपछि नागमुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहँुदैन भन्ने मान्यता छ ।

आज काठमाडाँैको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

सुख्खा पहिराले पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

दमौली (तनहुँ), १२ साउन : मुग्लिन पोखरा सडकखण्डअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो ।

सडकको बीच भागमा ठूला ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाएर हटाएर राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

काठमाडौँ, १२ साउन: नक्कली सुन देखाइ रु २१ लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर ठिमि–८ बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ तथा नुवाकोट मेगङ गाउँपालिका–८ घर भई हाल भक्तपुर चागुनारायण–८ सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार नक्कली सुन देखाइ प्रतितोला रु एक लाख १० हजारमा दिन्छु भनी प्रलोभनमा पारी गत फागुन २५ गते ओखलढुङ्गाका ढकबहादुर बुढाथोकीबाट रु १२ लाख र जेठ २७ गते दोलखा भीमेश्वर–५ का अर्जुन बस्नेतबाट रु नौ लाख ५० हजार लिई फरार रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट सुनजस्तो देखिने पहेलो धातु (एक केजी) एक थान बरामद गरिएको थियो । दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

यसैगरी काठमाडौँ महानगरपालिकाको कर्मचारी हुँ भन्दै रु १३ लाख २५ हजार असुली गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बस्ने २८ वर्षीय राजु लामा रहेका प्रहरीले जनाएको छ ।

लामाले काठमाडौँ महानगरपालिका–३१ स्थित वडा एरियामा आफू काठमाडौँ महानगरपालिकाको सरसफाई कर्मचारी हुँ भन्दै प्रत्यक घरबाट रकम उठाउने गरेकाले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा निज महानगरपालिकाको कर्मचारी नभएको, तर पटकपटक गरी हालसम्म रु १३ लाख २५ हजार असुली गरेको र निजको साथबाट नगद रु छ हजार ५००, रसिद, बिलबिजक पाँच थान, कोटेश्वर बेष्ट कन्सर्नको महसुल कार्ड नौ थान, नेपाल फूलबारी सेवा प्रालिको सरसफाइ शुल्क कार्ड दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।

एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

काठमाडौँ । विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा समस्याको समाधानका लागि निर्माण गरिएको एआई च्याटबट र कल सेन्टर प्रणालीको काम अन्तिम चरणमा पुगेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को पहलमा केही हप्ताभित्रै संयुक्त अरब इमिरेट्स (युएई) बाट पाइलट प्रोजेक्टको रूपमा उक्त सेवा सुरु गर्न लागिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीचको सहमतिमा ‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणालीलाई एकीकृत गर्ने कार्य अन्तिम चरणमा पुगेको एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मन्त्रालयको प्राविधिक टोली समक्ष एनआरएनएको प्राविधिक टोली (टेक्निकल टिम) ले प्रणालीको नमुना ‘डेमो’ प्रस्तुत गरेको थियो । मन्त्री भण्डारीसँगको छलफलमा यो प्रणालीलाई पाइलट प्रोजेक्टको रूपमा युएईबाट सुरु गरी क्रमशः अन्य देशहरूमा विस्तार गर्ने सहमति भएको एनआरएनएका कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाले बताए ।

‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणाली एकीकृत भएपछि दूतावासहरूमा फोन नउठ्ने समस्याको समाधान हुने अपेक्षा गरिएको छ । डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा, परामर्शलगायत विभिन्न समस्याहरूको समाधान हुन सक्ने एनआरएनए अध्यक्ष श्रेष्ठले बताए । साथै जनशक्ति अभावमा पनि काम गर्न सहज हुने बताउँदै त्यसका लागि लाग्ने लागत एनआरएनले व्यहोर्ने पनि जनाइएको छ ।

सो अवसरमा मन्त्री भण्डारीले संसारभर रहेका नेपालीहरूको सेवा गर्नु नेपाल सरकारको दायित्व भएको बताउँदै यसलाई चाँडै नै सार्वजनिक गरेर सेवा सुरु गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । प्रणालीलाई एकीकृत गर्नका लागि सबै दूतावासहरूसँग परराष्ट्र मन्त्रालयमार्फत आफूले समन्वय गर्ने पनि उनले स्पष्ट पारे ।

अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

न्यूयोर्क । क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआई १०० मा समावेश गरिएको छ। यो प्रतिष्ठित सम्मान उनलाई शुक्रवार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो।

विराटनगरमा जन्मिएका रिजाल कृत्रिम बौद्धिकता (एआई), वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको सङ्गममा एक प्रखर व्यक्तित्वका रूपमा उदाएका छन्। विश्वका प्रमुख वित्तीय प्रविधि (फिनटेक) कम्पनीहरूलाई प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने क्रस रिभर बैङ्कमा उनी संस्थाको डेटा र एआई रणनीति अगाडि बढाउने जिम्मेवारीमा छन्।

रिजालले आफ्नो करियर सिटिग्रुपबाट सुरु गरेका थिए । त्यसपछि उनले क्रस रिभरको क्वान्टिटेटिभ स्ट्राटेटिज विभाग स्थापना गरी नेतृत्व गरे र पछिल्लो समयमा प्रमुख डेटा तथा एआई अधिकृत पदमा नियुक्त भएका हुन्। उनले न्युयोर्क युनिभर्सिटीबाट वित्तीय इन्जिनियरिङमा स्नातकोत्तर डिग्री लिएका छन् र हाल फ्रान्सस्थित इडी एचइसी बिजनेस स्कुलबाट क्वान्टिटेटिभ फाइनान्समा विद्यावारिधि गर्दै छन्।

एआई १०० अवार्डले कृत्रिम बौद्धिकता र डेटा विज्ञानको प्रयोगमार्फत व्यापारमा रूपान्तरण ल्याउने अग्रणी नेताहरूलाई सम्मान गर्छ। विजेताहरूको छनोट प्रभाव, नवप्रवर्तन, र जटिल उद्योगहरूमा एआई समाधानलाई मापनयोग्य रूपमा लागू गर्ने क्षमताका आधारमा गरिन्छ।

कार्यक्रम आयोजकहरूले रिजाललाई ‘वित्तीय सेवामा एआईको भविष्यलाई मूर्तरूप दिन सक्ने एक साहसी र बहु-विषयगत नेता’ को रूपमा चित्रण गर्दै उनको कथाले आजको एआई नेतृत्व कति विश्वव्यापी भइसकेको छ भन्ने कुरालाई उजागर गर्छ भन्ने देखेको बताए ।

अमेरिकाभरिका शीर्ष एआई नेताहरूले मन्तव्य व्यक्त गरेको उक्त सम्मेलनको आयोजना कृत्रिम बुद्धिमत्ता सम्बन्धी अग्रणी विश्लेषण संस्था, एआइएम रिसर्चले गरेको थियो।

कुलमान घिसिङ, ज्ञानेन्द्र शाही, आनी छोइङ्ग लगायतलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ सम्मान

न्यूयोर्क – हामी नेपाली ग्लोबल नामक संस्थाले आइतबार बेलुका एक भव्य समारोहबीच समाजको विभिन्न क्षेत्रमा योगदान पु-याएका नौ जना व्यक्तित्व तथा एक संस्थालाई ग्लोबल हिरो अवार्ड’ द्वारा सम्मानित गरेको छ।

उक्त अवार्डबाट सम्मानित हुने हरुमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही, चर्चित गायिका तथा समाज सेवी गायिका आनी छोइङ डोल्मा, गायक सञ्जय श्रेष्ठ, महिला फुटबलर सावित्रा भण्डारी (साम्बा), लेख तथा समाजसेवी पासाङ शेर्पा, अधिवक्ता केशवराज सेडाईं, उद्यमी पासांग लामा, पत्रकार ऋषि धमला तथा न्यूयोर्कमा नेपाली समुदायका लागि कार्यरत संस्था अधिकार छन्।

नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूले गरेको योगदानको उच्च कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले बताए।

अवार्ड समारोहलाई सम्बोधन गर्दै कुलमान घिसिङले १८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे। “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पुरायौं। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ,” उनले भने। एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको उनले जनाए।

“सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र निराशालाई आशामा बदल्नको लागि उज्यालो नेपाल अभियान लिएर अगाडी बढेको छु। तपाईं सबैको साथको लागि अनुरोध गर्छु,” घिसिङले भने। “आगामी दिनमा तपाईंहरुले गरेको यो सम्मान मेरो आत्मबलको श्रोत हुने छ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले स्वर्ग जस्तो देश, विविधता भित्र एकताको देश नेपाल आज विश्वको गरीबतम मुलुकको रुपमा चिनिएको तर यो स्थितिबाट मुलुकलाई माथि उठाउनु पर्ने बताए। ” तपाईंहरुको सीप र क्षमतालाई शक्तिमा बदल्नु छ। एक पटक नेपाल फ़र्किउँ, नेपाल फर्कने वातावरण हामी बनाउँछौं,” उनले भने। सांसद शाहीले वंशजको नागरिकता खारेज गर्न पाईदैन भन्दै उनले एक पटक देश बनाउन आत्मा साक्षी राखेर अगाडी बढ्न पनि आह्वान गरे। “मैले पनि राजनीतिमा प्रवेश गर्छु भनेर सोचेको थिइन। तर पोखरीमा फोहर छ भनेर डिलमा बसेर हेर्ने होइन, पोखरी सफा गर्न त्यहाँ भित्र छिर्नै पर्छ,” उनले भने।

चर्चित गायिका आनी छोइंग डोल्माले यो संस्थाले देश विदेश जहाँ रहे पनि आफ्नो देश र समाजको उन्नतिको लागि योगदान गर्ने नेपालीहरुलाई सम्मान गरेर हौसला बढाएको बताइन् । देश विदेश जहाँ रहे पनि मातृभूमिको सक्दो सेवा गर्न र नेपालको उन्नतिमा हातेमालो गर्न उनले सबैलाई आग्रह गरिन्।

हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, उपाध्यक्ष सुनिता खत्री लगायतले अवार्ड प्रदान गरेका थिए। कार्यक्रममा रोचक सांगीतिक प्रस्तुति पनि गरिएको थियो। राजनीति, धर्म, जाति वा वर्ग भन्दा माथि उठेर संसारभरि रहेका नेपालीहरुलाई एकजुट गर्ने उद्देश्यले ‘हाम्रो नेपाली ग्लोबल’ स्थापना गरिएको उक्त संस्थाले जनाएको छ।

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

कीर्तिपुर (काठमाडौँ), १२ साउन: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण व्यवसायीले त्यहाँ पहिलो चरणको काम एक महिनाभित्र सम्पन्न हुने जानकारी दिएका छन् । आज त्यहाँ पुगेको सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको टोलीलाई प्यारापिट र फ्लडलाइटसहितको स्तरोन्नति कार्यअन्तर्गत पहिलो चरणको काम एक महिनामा सकिने जानकारी दिइएको हो ।

समितिका सभापति ठाकुर गैरे नेतृत्वको टोलीलाई सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल तथा मन्त्रालयका तर्फबाट निर्माणको प्रत्यक्ष अनुगमन गरिरहेका सहसचिव चक्रवर्ती कण्ठ तथा निर्माण व्यवसायीले कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।

जानकारीअनुसार पहिलो चरणका प्याराफिट र फ्लडलाइटसमेत गरी दुवैतर्फ करिब ८० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिइएको थियो । “पहिलो चरणको निर्माण सकिएपछि १० हजार र दोस्रो चरणमा २५ हजार दर्शक अटने गरी सिट क्षमता विस्तार गरिने छ । सिट ढलानतर्फ पहिलो चरणमा गर्नुपर्ने १२ मध्ये १० वटा ब्लकको ढलान भइसकेको छ । ढलान सम्पन्न भएका ठाउँमा सिटहरू जडान गरिएको र अन्तिम चरणका एक हजार ७०० सिट भारतबाट आउँदै छन्”, सचिव सिग्देलले भन्नुभयो । रङ्गशालमा रातिसमेत खेल सञ्चालन गर्ने उद्देश्यले जडान हुन लागेका छ वटा फ्लडलाइटका लागि जमिनमुनि गर्नुपर्ने सबै कार्य सम्पन्न भएको र भारतबाट तीन वटा स्ट्याण्ड ल्याइसकिएको उहाँले बताउनुभयो ।

त्यसमा जडान हुने ४२० वटा बत्ती युरोपबाट ल्याइँदै गरेको पनि जानकारी गराइएको थियो । रङ्गशाला निर्माणका लागि पहिलो र दोस्रो चरण गरी कुल रु छ अर्ब लागत अनुमान गरिएको छ ।

प्रथम चरणलाई सम्पन्न गरेर नेसनल प्रिमियर लिगको दोस्रो संस्करण त्रिवि क्रिकेट मैदानमै खेलाउने लक्ष्य राखिएको छ । संसदीय टोलीलाई जमिनको स्वामित्व रहेको त्रिभुवन विश्वविद्यालयका चासोलाई सम्बोधन गर्नुपर्ने विषयमा जानकारी दिइएएको थियो । “लिजमा जमिन लिई क्रिकेट मैदान सञ्चालन गर्न क्यान र विश्वविद्यालयबीच भएको सम्झौता आगामी वैशाखमा सकिने भएकाले त्रिविका चासो सम्बोधन गर्दै छलफल गराउनुपर्ने जानकारी पनि दिएका छौँ”, मन्त्रालयका सचिव सिग्देलले भन्नुभयो ।

संसदीय टोलीलाई खेलकुद मन्त्रालयका पदाधिकारीका साथै क्यानका सचिव पारस खड्कालगायतले स्वागत गर्नुभएको थियो । अनुगमन टोलीमा सभापति गैरेका साथै समिति सदस्यहरू तुलसाकुमारी दाहाल, दीलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमिलसेना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, लासप्रसाद साँवा लिम्बू, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा तथा हितराज पाण्डे हुनुहुन्थ्यो ।

अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समिति सभापति गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबहालीकै दिन उद्घोष भएअनुसार काम भइरहेको बताउनुभयो । रङ्गशालाबारे देशभर चासो रहेकाले आफूले त्यहाँ भइरहेको कार्यप्रगतिबारेजानकाी लिएको र प्रतिकूल मौसमका बाबजुद निर्माण कार्य एक महिनाभित्र सम्पन्न हुने दिशातर्फ अघि बढिरहेको पाइएको जानकारी दिनुभयो ।

क्यान सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदानले धेरै खेलप्रेमीको सपना बोकेको बताउँदै दोस्रो चरणको एनपिएल त्रिवि मैदानमा फ्लडलाइटमा खेल्ने लक्ष्य पूरा गर्नेगरी काम भइरहेको बताउनुभयो । साथै देशका विभिन्न स्थानमा सिन क्रिकेट मैदानका लागि कार्य सुरु भएको खड्काको भनाइ थियो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच भेटवार्ता, संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता तथा छलफल भएको छ ।

बैठकमा दुवै पार्टीका नेताहरुले समाजवादी मोर्चाको भोलि हुने बैठकलाई कसरी सफल र उपलब्धिमूलक बनाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए ।

‘सामुदायिक शिक्षा सम्बन्धी विधेयक अड्किएको छ, संघीय निजामति सेवा सम्बन्धी विधेयकमा षड्यन्त्र भएको छ,’ उपाध्यक्ष ज्वालाले भने, ‘निजामति विधेयक राष्ट्रिय सभामा पुगेपछि फेरि दयनीय अवस्थामा फर्काउने षड्यन्त्र भइरहेको छ ।’

उनले संसदमा दुवै पार्टीका सांसदहरुले सशक्त भूमिका निर्वाह गर्ने विषयमा समेत छलफल भएको बताए ।सरकारका क्रियाकलाप र देखिएका नकारात्मक प्रवृत्तिहरु विरुद्ध संसदमा कसरी प्रभावकारी ढंगले प्रस्तुत हुने भन्नेबारे पनि विस्तृत छलफल भयो,’ ज्वालाले भने ।

खगराज गौतमद्वारा विजयी उम्मेदवारहरुलाई शुभकामना तथा धन्यवाद ज्ञापन – निर्वाचनलाई सेवा यात्राको नयाँ प्रारम्भको रूपमा लिने घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि हालै सम्पन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार खगराज गौतमले आफूलाई समर्थन गर्ने सम्पूर्ण नेपाली समुदायप्रति गहिरो आभार प्रकट गरेका छन्। निर्वाचनमा उल्लेखनीय मत ल्याएर उप-विजेता बनेका गौतमले एक भावुक र प्रेरणादायी धन्यवाद सन्देशमार्फत आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्— “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रमा आधारित सामाजिक योगदानलाई निरन्तरता दिने।

निर्वाचनपछिको सार्वजनिक अभिव्यक्तिमा गौतमले मतदाताद्वारा प्रदान गरिएको अमूल्य मतलाई केवल मत संख्यामा सीमित नभइ “भरोसा, आशा र सपना” को प्रतिबिम्बका रूपमा वर्णन गरे। उनले लेखेका छन्,

“तपाईंहरूको प्रत्येक मत मेरा लागि केवल एक सङ्ख्या थिएन, त्यो तपाईंहरूको विश्वास, आशा र मैले बोकेका सपनाप्रतिको समर्थनको एक जीवन्त प्रतीक थियो।”

गौतमले महासचिव पदमा निर्वाचित नहुनुलाई व्यक्तिगत पराजय नभई समुदायको माया जित्ने अवसरको रूपमा लिए। निर्वाचन प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको सुन्दर उत्सव भन्दै उनले नवनिर्वाचित अध्यक्ष सुभाष लामिछानेसहित सम्पूर्ण कार्यसमितिलाई बधाई दिएका छन् र भविष्यमा रचनात्मक सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्।

समाजसेवामा अनवरत सक्रियता

गौतमले प्रष्ट पारेका छन् कि पदमा नपुगे पनि आफू गैरआवासीय नेपाली संघको अभियान र जापानस्थित नेपाली समुदायका हकहितको पक्षमा सधैं समर्पित रहनेछन्। उनले भने,

“अब चुनावी प्रतिस्पर्धा सकिएको छ र सहकार्यको नयाँ अध्याय सुरु भएको छ। पदमा रहनु वा नरहनुले मेरो समाजसेवाको भावनामा कुनै कमी आउने छैन।”

उनले यो निर्वाचन यात्रालाई “अन्त्य नभई, नयाँ शुरुवात” को रूपमा व्याख्या गर्दै एनआरएनए जापानलाई अझ सक्षम, प्रभावकारी र समावेशी बनाउने साझा यात्रामा सबैलाई साथ र हातेमालोको आह्वानसमेत गरेका छन्।

समर्थनदाताप्रतिको नमन

गौतमले आफूलाई हौसला दिने, समर्थन गर्ने, मतदान गर्ने र शुभेच्छा प्रदान गर्ने सम्पूर्ण दिदीबहिनी, दाजुभाइ र मित्रहरूलाई शिर निहुराएर धन्यवाद दिएका छन्। उनले लेखेका छन्,

“म यो यात्रालाई अन्त्य नभई, नयाँ शुरुवातको रूपमा लिएको छु — जहाँ हामी सबै मिलेर, हातेमालो गर्दै, एनआरएनए जापानलाई अझ सक्षम, प्रभावकारी र समावेशी बनाउने दिशामा अग्रसर हुनेछौँ।”

निष्कर्ष

यस सन्देशमार्फत खगराज गौतमले समाजप्रतिको आफ्नो उत्तरदायित्व र सेवाभावमा कुनै कमी नआउने स्पष्ट संकेत दिएका छन्। निर्वाचन परिणामको सम्मान गर्दै उनले समावेशी सोच, सहकार्य र पारदर्शितामा आधारित भविष्यको एनआरएनए निर्माणमा योगदान गर्ने आशा बाँडेका छन्।

उनको यो भावनात्मक र संयमित अभिव्यक्तिलाई जापानस्थित नेपाली समुदायले सकारात्मक रूपमा लिएको देखिएको छ। धेरैले उनलाई ‘हारे पनि मन जित्ने उम्मेदवार’ को रूपमा समेत चर्चा गरिरहेका छन्।

मधेश प्रदेशमा घरधुरी बिमा र नागरिक बिमा कार्यक्रम सुरु

जनकपुर – मधेश प्रदेश सरकारले नेपालमै पहिलो पटक कुनै प्रदेशमा नभएको ऐतिहासिक कार्यक्रमको शुरुवात गरेको छ । मधेश प्रदेश सरकारले ‘घरधुरी बिमा’ र ‘नागरिक बिमा’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले अघि सारेको यस योजनामार्फत पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिक बिमाको दायरामा ल्याइएको छ ।

बिमा कार्यक्रमअन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बिमा सुरक्षा सुनिश्चित गरिएको मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
घरधुरी बिमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी–हुरीलगायत प्राकृतिक विपद्बाट हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराइनेछ । उक्त बिमामा प्रति घरधुरी अधिकतम ५ लाख रुपैयाँको बिमा सुविधा रहेको छ ।

त्यस्तै, नागरिक बिमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता, र दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्नेछ । नागरिक बिमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा बसोबास गर्ने जो कोहीले पनि यस बिमाको लाभ लिन सक्ने छन ।

यतिसम्म की भारतमा पनि दुर्घटनामा परेर मृत्यु हुन पुगेको खण्डमा नागरिक बिमा तहत मधेश प्रेदेश सरकारले तोकिएको बिमा कम्पिनीबाट १० लाख रुपैयाँ उपलब्ध गराइने मुख्यमन्त्री सिंहको भनाइ छ ।

त्यस्तै, सरकारले बिमा दाबी प्रक्रिया पारदर्शी र सहज बनाइएको जनाएको छ । पीडितले बिमा दाबी गर्न साक्ष्यसहित निवेदन, प्रहरीको प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय तहको सिफारिस तथा प्रदेश नागरिक भएको प्रमाण पेश गर्नुपर्नेछ ।

यस्तो कार्यविधिले राहत प्रक्रिया सरल हुने विश्वास लिएको मुख्यमन्त्री सिंहको दाबी छ । घरधुरी बिमा र नागरिक बिमा कार्यक्रम साउन १ गतेदेखि नै लागु भइसकेको छ ।

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ ।
बेपत्ता हुनेमा एकै परिवारका १६ जना रहेका छन् । केही दिनदेखि बेपत्ता उनीहरूको पत्तो लाग्न सकेको छैन । बेपत्ताको खोजीमा रामेछाप र सिन्धुली प्रहरी जुटेको छ ।

एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए ।
बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए ।

छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् ।

हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ । जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ । घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन् ।
हराएको हायु परिवारका सदस्यहरू ः
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
४) वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजात हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की शान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०)वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) वर्ष १४ को बेगबहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाती)
१६) वर्ष ४ की रियासा हायु ( नातिनी )

‘कर्मचारीले अनुमानको भरमा काम गर्न हुँदैन’-मन्त्री हांगाम

काठमाडौँ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले राष्ट्रसेवक कर्मचारीले अनुमानको भरमा काम गर्न नहुने बताएका छन् ।कृषि विकास निर्देशनालय, कोशी प्रदेश विराटनगरद्वारा आज यहाँ आयोजित ‘वार्षिक प्रगति समीक्षा गोष्ठी’को उद्घाटन गर्दै उहाँले कर्मचारीले अनुमानको भरमा काम गर्दा राज्यले अपेक्षित लाभ लिन नसक्ने बताए ।

मन्त्री हाङगामले यस्ता समीक्षा गोष्ठीमा कर्मचारीले प्रस्तुत गर्ने तथ्यांक पुष्टि हुने किसिमको हुनु पर्ने निर्देशन दिँदै सरकारले कृषि क्षेत्रमा गर्ने लगानीबाट किसानले लाभ प्राप्त गर्नुपर्नेमा जोड दिए।

उनले वितरण प्रणाली सुधार गर्न मातहतका कर्मचारीलाई निर्देशन दिँदै भने, “रासायनिक मल वितरणमा समस्या देखिएको छ, यो किन र कसरी भइरहेको छ, ध्यान दिनुपर्ने नभए समिति बनाएर पनि यसलाई व्यवस्थित गर्न मन्त्रालय तयार छ ।”

कार्यक्रममा निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले कोशी प्रदेशको नक्सा र कार्यालयको अवस्थिति, संगठन संरचनालगायतका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कोशी प्रदेशका सबै जिल्लास्थित कृषि ज्ञान केन्द्र, बाली संरक्षण प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला, बीउ विजन प्रयोगशाला, कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका प्रमुखले आ–आफ्ना कार्यालयका वार्षिक प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १२ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताउनुभएको छ । आज वीर अस्पतालको १३६ आँै वार्षिकोत्सव समारोहमा उहाँले उक्त अस्पताललाई सुधार्न राज्यले सबै सुधारका प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “नेपालको स्वास्थ्य क्षेत्रको तस्बिर वीर अस्पताल हेरे पुग्छ । वीरलाई सुधार्न सकियो भने मात्र स्वास्थ्य क्षेत्रको सुधार हुनेछ । त्यसैले यहाँ आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले हदैसम्मको प्रयास गर्नेछ ।”

उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताउनुभयो । “स्वास्थ्य क्षेत्र सुधार नभएको होइन, तर पूर्ण रूपमा सुधार हुन सकेको छैन । त्यसैले यसमा सबै गम्भीर बन्नुपर्छ”, पौडेलले भन्नुभयो ।

उहाँले भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बिमा रकम फरफारक गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले अस्पतालको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्दै बहिरङ्ग सेवा (नयाँ तथा पुरानो) अनलाइनमा समेत गरी छ लाख ४७ हजार २१५ जना, आकस्मिक सेवा ३५ हजार १४१ र अन्तरङ्ग सेवा २१ हजार २२४, शल्यक्रिया सेवा २६ हजार ४४६ ले लिएको जानकारी गराउनुभयो । अस्पतालमा दैनिक करिब दुई हजार ५०० सयभन्दा बढीले सेवा लिने गरेका उहाँले बताउनुभयो ।

अस्पतालमा सघन उपचारका लागि बहु–विशिष्टिकृत ७२ सघन उपचार श्यया तथा ३८ ‘हाइ–डिपेन्डेन्सी युनिट’ रहेका छन् । डा शर्माले वीर अस्पताल देशको गौरवका रूपमा रहेको बताउँदै यस संस्थालाई केन्द्रीय रिफरल तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सबैको एकता तथा प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक शीर्षकमा वार्षिक बजेटको कमी, स्वास्थ्य बिमा बोर्डबाट समयमै सोधभर्ना नहुनु तथा बढ्दो कमर्चारी परिवर्तनका साथै प्राविधिक जनशक्तिको स्वीकृत दरबन्दीको कमीले अस्पतालमा चुनौती थपिएको छ ।”

विसं १९४६ साउन १२ गते स्थापना भएको यो अस्पताल १५ श्ययाबाट सुरु भएकामा हाल स्वीकृत क्षमता ९६० रहेको छ । अस्पतालले हाल २२ वटा क्लिनिकल विभाग तथा तीन वटा क्लिनिकल युनिट (आँखा स्वास्थ्य, गाइनोकोलोजी, मानसिक रोग)मार्फत आधारभूत, विशेषज्ञ तथा अति विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ ।

लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

दीगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति’ विषयक दुई दिने अन्तरराष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा यहाँ भएको गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति र कूटनीति विस्तारमा जोड दिएको छ भने लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । विश्वका सङ्कटग्रस्त संवेदनशील क्षेत्रमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्र स्थापना गर्नुपर्ने गोष्ठीले निष्कर्ष निकालेको छ ।

प्रकृतिप्रति करुणा र अन्तरनिर्भरतासम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवर्द्धन गर्ने, कूटनीतिज्ञका लागि ‘माइन्डफुलनेस’ आधारित तालिम कार्यक्रम सुरु गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरूको धारणा छ ।

यस्तै, बौद्ध मूल्य र नैतिक सिद्धान्तसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलमा एकीकृत शान्ति पर्यटनलाई प्रवर्द्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने विज्ञहरूको निष्कर्ष छ ।

बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागितामा अन्तरराष्ट्रिय बौद्ध शान्ति संस्था निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्द्वको पूर्वानुमान, गलत सूचना पहिचान तथा ध्यान निर्देशित गर्ने उपकरणसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकासलाई प्रवर्द्धन गर्नुपर्नेमा पनि गोष्ठीले जोड दिएको छ ।

यस्तै, ग्लोबल पीस इन्डेक्सको नमुनामा आधारित ‘लुम्बिनी शान्ति सूचकाङ्क’ स्थापना गरी बौद्ध मूल्यमा आधारित शान्ति सूचकको मूल्याङ्कन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । विश्वविद्यालय र सरकारी निकायको सहकार्यमा बौद्ध भिक्षु थिङ्क ट्याङ्क गठन गरी वैश्विक सङ्कटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने गोष्ठीले घोषणा गरेको छ । हरेक वर्ष ‘लुम्बिनी अन्तरराष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ गर्ने, अन्तरराष्ट्रिय कानुन र द्वन्द्व समाधानका लागि बौद्ध कानुनी दर्शनको अध्ययन र प्रयोग प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थासँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ ।

गोष्ठीमा बुद्ध शिक्षा र विश्व कूटनीति, करुणा र द्वन्द्व समाधान, बौद्ध सिन्द्धान्तमा आधारित दीगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा छलफल भएको थियो । कूटनीतिक एवम् पूर्वराजदुत प्राडा लोकराज बराल, भारतका पूर्वराजदूत डा अमरेन्द्र खटुवा, पूर्वराजदूत रुचि घनश्याम, पूर्वराजदूत टङ्क कार्कीलगायतका विज्ञले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा ५८ जना विद्वानले विभिन्न एजेण्डामा रहेर छलफल गरेका थिए ।

गोष्ठीमा पूर्वराजदूत, विभिन्न विश्वविद्यालयका उपकुलपति, बौद्ध विद्वान तथा अनुसन्धानकर्ताले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आगामी वर्षमा पनि गोष्ठीलाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट

गत आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादन मूल्याङ्कनमा मधेस प्रदेशका आठ जिल्ला प्रहरी कार्यालयमध्ये पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट भएको छ ।मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले गत आवमा भएको कार्यसम्पादन सम्झौताबमोजिम जिल्ला प्रहरी कार्यालय पर्सा कार्य सम्पादन सम्झौताबमोजिम सर्वोत्कृष्ट जिल्ला भएको जानकारी दिनुभयो ।

“मधेस प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरुबीच भर्चुअल माध्यमबाट गत आवको वार्षिक कार्यसम्पादन सम्झौता अनुसार कार्य प्रगति विवरणको समीक्षा गरिएको थियो”, उहाँले भन्नुभयो, “सो समीक्षामा कार्यसम्पादन सम्झौताबमोजिम पर्सा जिल्ला सर्वाेकृष्ट भएको छ ।” मधेस प्रदेश प्रहरी प्रमुख चतुर्वेदीले अन्य मातहत कार्यालयलाई समेत वार्षिक कार्यसम्पादन सम्झौताबमोजिम आफ्नो लक्ष्यअनुसार पूरा गर्नुपर्ने कार्यहरुमा गम्भीरतापूर्वक काम गर्न निर्देशन दिनुभयो ।

४० बुँदामा केन्द्रित कार्यसम्पादनलाई आधार बनाएर गरिएको मूल्याङ्कनमा पर्सा प्रहरी ९०.१९ प्रतिशत अङ्कको साथमा सर्वाेत्कृष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा गत आवमा करिब रु ६० करोड मूल्यका भन्सार छली तथा बिलबिजक नभएका सामान बरामद गरिएको जनाइएको छ ।

मिश्रले सङ्गठनको टिमवर्कका कारण यो सफलता हात पार्न सकेको बताउनुभयो । प्रमुख मिश्रले पर्साको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै भन्सार छली तथा तस्करी नियन्त्रण, फरार प्रतिवादी र मानव बेचबिखन ओसारपसार जस्ता अभियान सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो । “गत आवभरिमा विभिन्न अदालतबाट भएका फैसलाको फरार भएका एक हजार ५११ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयन गरिएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका फरार प्रतिवादीको ७३ वर्ष दुई महिना कैद तथा रु तीन करोड ५५ लाख १२ हजार ९५६ जरिवाना समेत असुलउपर गरेका छौँ ।”

वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ, १२ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौँ–तराई÷मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले उक्त सडकले काठमाडौँलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको हो ।

“द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ । । हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

उहाँले काठमाडौँ–तराई÷मधेश द्रूतमार्ग मुलुकको रणनैतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको बताउनुभएको उल्लेख गर्नुभएको छ ।

फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश

माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो । फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता गरे । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने–‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’

फिल्म ‘राम नाम सत्य’का लागि केही महिनादेखि आयुषले मिहिनेत पनि गरिरहेका छन् । फिल्मका निर्देशक माइकल चन्दले भने–‘आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन् ।’
साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ ।
यो फिल्ममा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरुको लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ । तेज विक्रम केसी हेड अफ प्रोडक्सन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर नविन जंग शाह हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्मलाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।

विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढायो

काठमाडौँ । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुनेगरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ ।सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदरलाई बढाएर १.५ प्रतिशत पु¥याएको छ ।
उनले भने, ‘वल्र्ड बैंकले गएको यहीँ जुलाईदेखि इन्ट्रेस्ट रेट बढाएको छ । त्यो चाहिँ हामीले ४० वर्षभित्र तिर्ने गरि लिने गरेका थियौँ । अहिले म्याच्युरिटी अवधि पनि २४ मा थप ६ वर्ष गरेर ३० वर्ष भएको छ । यसअघि यस्तो अवधि ४० र ३८ वर्षे दुइटै दुई खालको थियो । अब ३० वर्षमा बनाइएको छ ।’
नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रुपमा बढेको उनको भनाइ छ । उनले भने, ‘अब किन बढ्यो त भन्दाखेरि हामी धनी भएर हो । हामी धनी भएको कारणले बढेको हो, कारण अरु केहि पनि छैन । गरिब राष्ट्रहरूको सूचीमा नेपाल सबभन्दा लो लेभलमा थियौँ । त्यो तल क्याटगरीबाट हामी अलिकति माथि आएका छौँ ।’

हालै विश्व बैंक र एसियाली विकास बैंकले आ—आफ्नो स्ट्राटेजी पनि ल्याएकाले ती स्ट्राटेजीहरूसँग सामञ्जस्यता मिलाउने गरि विकास सहायतालाई अघि बढाउने उनको भनाइ छ । उनले भने, ‘कन्ट्री पार्टनर फेमबर्क भनेर वल्र्ड बैंकले ल्यायो कन्ट्री पार्टनर्स स्ट्राटेजी भनेर एडीबीले ल्यायो । ती दुईवटा डकुमेन्ट पनि हामीसँगकै सहकार्यमा बनेको थियो । त्यो डकुमेन्टहरुमा पनि जुन कुराहरु प्रायोरिटी भनेर उल्लेख त्यसैलाई आधार बनाएर विकास सहायता अघि बढ्ने हो । नेपालको विकास सहायतामा उनीहरुकै ८०% योगदान छ ।’

नेपालले लिने सबै विकास सहायतालाई छनोटपूर्ण बनाउन प्रोजेक्ट रेडिनेस फिल्टर जारी गरेको उनले जानकारी दिए । उनले परियोजनाको गुणस्तर र प्रतिफलमा केन्द्रित भएर मात्रै फिल्टर ल्याएको बताए । उनले भने, ‘कतिपय चाहिँ हिजो कुनै मन्त्रालयले जति सजिलै प्रोजेक्टहरू एप्लाई गर्न खोजेमा त्यो अब नहुन सक्छ । बढी प्रोजेक्ट लिइहाल्ने जुन चाहना हुन्थ्यो, त्यो चाहनामा ब्रेक लाग्ने भएको छ ।

वैदेशिक सहायता लिने र दिने दुवै पक्षमा सहमति नभई कार्यान्वयन नहुने भएकाले यसमा नेपालले प्राथमिकताका आधारमा वैदेशिक सहायता पाउन नसकिने बताए । उनले भने, ‘वैदेशिक सहायताको कता कता आलोचना पनि गरेको देखिन्छ । हाम्रो प्राथमिकता हुनु प¥यो नि हामीले भने ठाउँमा लाउनु प¥यो भन्ने गुनासो आउँछ ।’ यो सम्झौता वार्ता (नेगोसिएसन)बाट तय हुने भएकाले नेपालले भने जस्तो मात्रै विकास सहायता आउन सम्भव नरहेको उनले बताए । उनले भने, ‘यो नेगोसिएसनमै आधारित हो । हाम्रो कोसिस हाम्रो प्रायोरिटीमा लगाउने हो ।’

कार्यक्रममा उपसचिव डोलेन्द्र शर्माले नेपालमा वैदेशिक सहायता परिचालनका अभ्यासबारे प्रस्तुतीकरण दिएका थिए । कतिपय अवस्थामा वैदेशिक सहायता प्रतिबद्धताअनुसार आउन सम्भव नहुने बताए । उनले भने, ‘हामी एमसीसीको कुरा ग¥र्यौँ, यो वर्ष पनि करिब सात अर्ब जति हामी एमसीसीको लागि राखेका छौँ । यदी एमसीसीले निरन्तरता नपाएको भए त्यो वैदेशिक सहायता कार्यान्वयनमा देखिँदैन थियो ।’

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारी साधन लन्च हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने भएको छ ।

सोमबार नाइमाले पत्रकार सम्मेलनको आयोजनागरी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने जानकारी दिएको हो ।
आयोजकका अनुसर भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छ ।

प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मगि गाडीहरु सार्वजनिक हुनेछन् । यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ ।

प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।
कार्यक्रममा नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो २०२५ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन्।

यसका साथै प्रर्दशनीको पांचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसन हुनेपनि जानकारी दिइन् ।
नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्। प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ ।

जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

काठमाडौँ, १२ साउन : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथिको छलफावार छलफल अन्तिम चरणमा पुर्‍याएको छ ।समितिको आजको बैठकमा सो ऐनको परिच्छेद ९ अन्तर्गत विभिन्न दफामाथि छलफल भएको सभापति तुलसाकुमारी दाहालले जानकारी दिनुभयो ।

“विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा पुगेको छ, अबको दुई/तीन वटा बैठकमा दफावार छलफल सक्छौँ”, उले भन्नुभयो ।

विसं २०८१ जेठ २१ गते सदनमा प्रस्तुत भएको सो विधेयक प्रतिनिधिसभाबाट २०८२ जेठ ५ गते पारित भएको थियो ।

सरकारले जलस्रोतको उपयोग, संरक्षण, एकीकृत र समन्वयात्मक विकास गर्न तथा जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने जल तथा मौसमजन्य प्रकोप र विपद्को प्रभावलाई न्यूनीकरण गर्न उक्त ऐन ल्याएको हो ।

प्रधानमन्त्री ओलीले दू्रतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल लिने भएका छन् ।

आइतबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको हो ।

खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।

छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।