`

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता, खोजी गर्न कठिनाइ

काँक्रेविहार (सुर्खेत), ७ साउनः गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताउनुभयो । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ साउनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३८ रुपैयाँ कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ १७ पैसा र विक्रीदर ३५९ रुपैयाँ ७३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

उपसभामुख राना चीन भ्रमणमा

काठमाडौँ, ७ साउनः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा जानुभएको छ ।

मङ्गलबार राति उहाँ चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गर्नुभएको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने सम्मिलित हुनुहुन्छ ।

चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सो कार्यक्रममा उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुहुनेछ । उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिदै, यसरी उठाइदैछ आन्तरिक ऋण

काठमाडौँ, ७ साउनः सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात रु आठ अर्ब ५० करोड र रु एक अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।सरकारले चालु आवमा रु तीन खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यसरी उठाइदैछ, आन्तरिक ऋण

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोजसम्म रु एक खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार सो अवधिमा अवधिमा रु एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ ।

कार्यतालिका अनुसार कार्यालयले रु १० अर्ब बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ । यस्तै, पाँच वर्षे रु दुई अर्ब ५० करोडको नागरिक बचतपत्र रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ ।

यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा रु ८५ अर्ब आन्तरिक ऋण उठाउने कार्यतालिका छ । त्यसमा ट्रेजरी बिल मार्फत रु २५ अर्ब तथा विकास ऋणपत्र मार्फत रु ६० अर्ब उठाइनेछ । उक्त अवधिमा रु पाँच अर्ब बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको पाँच वटा ट्रेजरी बिल बिक्री गरिनेछ । यस्तै, रु १० अर्ब बराबरका तीन वर्षेदेखि १० वर्षे अवधिका छ वटा विकास ऋणपत्र बिक्री गरिनेछ ।

कार्यतालिका अनुसार, आगामी माघदेखि चैतसम्ममा रु एक खर्ब नौ अर्ब आन्तरिक ऋण उठाइनेछ । सो समयमा ट्रेजरी बिलमार्फत रु ५० अर्ब तथा विकास ऋणपत्रमार्फत रु ५६ अर्ब उठाइनेछ । यस्तै, पाँच वर्षे अवधिको रु दुई अर्ब ५० करोडको नागरिक बचतपत्र तथा रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ । कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्ममा रु ५५ अर्ब आन्तरिक ऋण उठाइनेछ ।

उक्त अवधिमा रु पाँच अर्ब बराबरका ११ वटा ट्रेजरी बिलमार्फत रु ५५ उठाइनेछ । सरकारले गत जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ रु ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगततर्फ रु चार खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

बजेटमा स्रोतका रूपमा राजस्वबाट रु १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट रु तीन खर्ब ६२ अर्ब, बाह्य ऋणबाट रु दुई खर्ब ३३ अर्ब र अनुदानबाट रु ५३ अर्ब जुटाउने उल्लेख छ । बजेटमा व्यवस्था भए अनुसार कार्यालयले आन्तरिक ऋण उठाउनका लागि विकास ऋणापत्र, टे«जरी बिल्स र वैदेशिक रोजगार वचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो ।

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौँ, ७ साउन : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।

यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यस्तै, आजै तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ । विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।

सङ्घीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमालेको निर्णय

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ ।

सो दलको सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सम्मान रहेको बताउनुभयो । “पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो”, गौतमले भन्नुभयो “यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटिको निष्कर्ष निकालेको छ ।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो । केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आगामी अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै गरेको छ ।

बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ । यो निर्णयले आगामी भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ ।

पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान मिसन-८४ मा जानुपर्ने र त्यसका लागि केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो । पार्टी केन्द्रीय कमिटीको औपचारिक निर्णय सार्वजनिक हुन भने बाँकी छ ।

पूर्वराष्ट्रपतिको हकमा भने भोलि जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झण्डा बोकेर हिँड्नु हुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले स्पष्ट पार्नुभयो । यो एमालेको मात्र विषय नभएर सबै पार्टीको लागि गम्भीरताको विषय भएको उहाँले बताउनुभयो । “पूर्वराष्ट्रपतिप्रति हामी सबैको गौरव छ, हामी अगाडि बढाउने छौँ”, उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी नहुने उहाँले स्पष्ट पार्नुभयो । पार्टी केन्द्रीय कमिटी बैठकमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारी अब कमरेड विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको घोषणा गरिसक्नु भएको उहाँले स्मरण गराउनुभयो ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयका विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्णवहादुर थापाले असहमति जनाउनुभएको थियो ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि २६४ जनाले पोलिटब्युरोसहित केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो । बैठकले उपाध्यक्ष पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । सोही बैठकले १५ जना पदाधिकारी र पोलिटब्युरोसहित २५१ केन्द्रीय सदस्य बनाउने बैठकले निर्णय गरेको छ ।

मन्त्री चौधरीको अध्यक्षतामा २८५ सदस्यीय अन्तरराष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन

भक्तपुर, ६ साउन : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ सदस्यीय अन्तरराष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ ।

आज राष्ट्रिय युवा परिषद्ले सानोठिमीस्थित परिषद्को कार्यालयमा आयोजना गरेको बहुपक्षीय सरोकारवालाको भेलाले मन्त्री चौधरीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो ।

हरेक वर्ष अगस्ट १२ तारिखमा विश्वव्यापी रूपमा मनाइने अन्तरराष्ट्रिय युवा दिवसलाई भव्य रूपमा आयोजना गर्ने उद्देश्यले परिषद् अध्यक्षसमेत रहेका मन्त्री चौधरीको नेतृत्वमा समिति गठन गरेको हो ।

साउन २७ गते हुने अन्तरराष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ मनाउन समिति गठन गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

समितिमा विभिन्न आठ मन्त्रालयका सचिवहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक, नेपाल स्काउटका प्रमुख आयुक्त, प्रदेश युवा परिषद्का उपाध्यक्षसहितका प्रतिनिधि रहनेछन् ।

समितिमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय निकायहरूका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरसरकारी संस्था महासङ्घ नेपाल, हिसान, प्याब्सन, एनप्याब्सनलगायतका विभिन्न निकायको प्रतिनिधि पनि हरने व्यवस्था गरिएको छ ।

समितिमा विभिन्न युवा तथा विद्यार्थी सङ्घ सङ्गठनका प्रतिनिधि, परिषद् सम्बद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद् आबद्ध सङ्घ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहने निर्णय भएको छ ।

समितिले सन् २०२५ का लागि संयुक्त राष्ट्रसङ्घले अघि सारेको मूल नारालाई नेपालीकरण गरी‘दिगो विकास र सुनौलो भविष्यको सार स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नारा तयार गरेको छ ।

मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक

काठमाडौँ, ६ साउनः मदन पुरस्कार गुठीले विसं २०८१ को मदन पुरस्कारका लागि छनोट भएका श्रेष्ठ पुस्तकहरूको सूची आज सार्वजनिक गरेको छ ।

गुठीले आज एक विज्ञप्ति जारी गरी पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएकामा त्यसमध्यबाट सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।

सूचीमा परेका पुस्तकहरुमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत)’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका छन् ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले ती सात कृतिमध्ये छानिएको एक कृतिलाई २०८१ सालको मदन पुरस्कार प्रदान गरिने जानकारी गराउनुभएको छ । उक्त पुरस्कारको राशि रु चार लाख रहेको छ ।

चीनमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा उल्लेखनीय प्रगति

चीनमा अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको अनिवार्य शिक्षामा समावेशीकरण उल्लेखनीय रूपमा सुधारिएको छ । हालसालै सार्वजनिक गरिएको तथ्याङ्कअनुसार, यस्ता बालबालिकाहरूको अनिवार्य शिक्षामा भर्ना दर ९७ प्रतिशत पुगेको छ । साथै, प्रत्येक वर्ष करिब ३० हजार जना अपाङ्गता भएका विद्यार्थी विश्वविद्यालयमा प्रवेश गरिरहेका छन् ।
यो जानकारी चीन अपाङ्गता भएका व्यक्तिहरूको महासंघका अध्यक्ष छेङ खाइले राज्य परिषद् सूचना कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो ।

खाइका अनुसार, अपाङ्गता भएका व्यक्तिहरूका लागि चीनको शैक्षिक प्रणाली निरन्तर सुधार हुँदै गएको छ । हाल देशभर माध्यमिक तहका व्यवसायिक विद्यालयहरूमा करिब ७५ हजार ८०० विद्यार्थी अध्ययनरत छन् भने ५९ हजार ८०० जना नियमित माध्यमिक विद्यालयहरूमा अध्ययन गरिरहेका छन् ।
संघकी उपाध्यक्ष ली डोङमेईका अनुसार, यस्ता विद्यार्थीहरूलाई शिक्षामा पहुँच सजिलो बनाउने उद्देश्यले सरकारद्वारा विविध पहलहरू सञ्चालनमा ल्याइएको छ ।

विद्यालयमा आवश्यक सहायक उपकरण उपलब्ध गराउने विशेष अभियान सञ्चालन गरिएको छ, जसबाट करिब एक लाख विद्यार्थीहरू लाभान्वित भएका छन् । साथै, विशेष विद्यालयका लागि मानकीकृत पाठ्यपुस्तक विकास गरिएको छ । यसका अतिरिक्त, श्रवणमा समस्या भएका विद्यार्थीहरूका लागि नौ विषयमा सांकेतिक भाषाको पाठ्यपुस्तक समेत तयार पारिएको छ ।
आर्थिक पक्षलाई ध्यानमा राख्दै, सन् २०२५ मा अनिवार्य शिक्षामा रहेका अपाङ्गता भएका विद्यार्थीहरूलाई सरकारद्वारा प्रति विद्यार्थी वार्षिक सात हजार युआन (झण्डै ९८० अमेरिकी डलर) भन्दा बढी अनुदान प्रदान गरिएको छ ।

त्यस्तै, आर्थिक रूपमा कमजोर परिवारका अपाङ्गता भएका बालबालिकाहरूलाई प्राथमिक विद्यालयदेखि उच्च माध्यमिक तहसम्म १२ वर्षसम्म पूर्ण रूपमा निःशुल्क शिक्षाको सुविधा प्रदान गरिएको छ ।

यी विविध कदमले अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा समावेशीता र पहुँचलाई अझ सुदृढ बनाएको देखिन्छ ।

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

पाकिस्तानमा हालको मनसुन वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। देशभर भएका अविरल वर्षा, आकस्मिक बाढी र वर्षासम्बन्धी विभिन्न घटनाहरूका कारण अहिलेसम्म कम्तीमा दुई सय एक्काइस जनाले ज्यान गुमाएका छन् भने पाँच सय ब्याना जनाभन्दा बढी घाइते भएका छन्। यो विवरण पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको हो।

यो तथ्याङ्क जुन २६ देखि जुलाई २१ सम्मको अवधिमा संकलन गरिएको हो। पछिल्लो चौबिस घण्टामात्रै पाँच जनाको मृत्यु र दश जना घाइते भएको जनाइएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्र पूर्वी पञ्जाब प्रान्त रहेको छ, जहाँ एक सय पैंतीस जनाको मृत्यु र चार सय सत्तरी जनाभन्दा बढी घाइते भएका छन्।

त्यस्तै, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा छयालीस जनाले ज्यान गुमाएका छन् र उनहत्तर जना घाइते भएका छन्। दक्षिणी सिन्ध प्रान्तमा दुई सय जनाभन्दा बढी प्रभावित भएका छन्, जसमा दुई सय बाइस जनाको मृत्यु भएको र चालीस जना घाइते भएका छन्। बलुचिस्तान प्रान्तमा पनि सोही कारणले सोलह जनाको मृत्यु र चार जना घाइते भएका छन्।

उत्तरी गिलगिट–बल्तिस्तान क्षेत्रमा भने कुनै मृत्यु भएको छैन, तर तीन जना घाइते भएको पुष्टि गरिएको छ। पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर क्षेत्रमा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। राजधानी क्षेत्र इस्लामाबादमा एक बालक घाइते भएको जनाइएको छ।

वर्षा अझै जारी रहेकाले अधिकारीहरूले सम्भावित जोखिम रहेका क्षेत्रहरूमा उच्च सतर्कता अपनाइरहेका छन्। बाढीको चेतावनी जारी गरिएको छ र राहत तथा उद्धार कार्यका लागि प्रान्तीय सरकारहरूसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा निगरानी र सहायता कार्य सञ्चालन भइरहेको छ।

अमेरिकामा नयाँ भन्सार शुल्कको प्रभावः ठूला बन्दरगाहमा भीड, साना बन्दरगाहमा मन्दी

अमेरिकाले चाँडै नयाँ भन्सार शुल्क लागु गर्न लागेको हुँदा व्यापारीले सामानहरू पहिले नै आयात गर्न थालेका छन् । यसले देशका ठूला बन्दरगाहहरूमा चाप अत्यधिक बढेको छ भने साना बन्दरगाहहरूमा काम घट्दै गएको छ ।

अमेरिकाको सबैभन्दा ठूलो बन्दरगाह लस एन्जलसमा एक महिनामा झण्डै नौ लाख सामान कन्टेनर भित्रिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो, र गत वर्षको सोही महिनाको तुलनामा करिब आठ प्रतिशतले बढी हो ।

बन्दरगाहका प्रमुखले जानकारी दिएका अनुसार व्यापारीहरूले चाडपर्वका सामानहरू अगाडि नै ल्याइरहेका छन् ताकि भन्सार शुल्क लाग्नु अघि छिटो सामान निकासी गर्न सकियोस् । तर यस्तो अवस्था लामो समय नटिक्ने र शुल्क बढेपछि सामानको मात्रा घट्ने अनुमान गरिएको छ ।
तर ठूला बन्दरगाहमा बढेको व्यापार साना बन्दरगाहहरूबाट स्थानान्तरण गरिएको हो । ओकल्यान्ड बन्दरगाहमा गत महिना सामानको आवतजावत अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी घटेको छ । यो गिरावट कुनै मौसमको असर नभई भन्सार शुल्कबारेको अन्योलताका कारण भएको हो ।

ढुवानीसम्बन्धी एक प्रतिवेदनमा ठूला बन्दरगाहहरूमा कामको अवस्था सामान्य भए पनि साना बन्दरगाहहरूमा दबाब बढेको भनिएको छ । व्यापारीहरूले जोखिम कम गर्नका लागि सिधै ठूला बन्दरगाहहरूमा सामान पठाउन थालेका छन् ।
यसको असर सिएटल र टाकुमा क्षेत्रका बन्दरगाहहरूमा पनि देखिएको छ, जहाँ नयाँ भन्सार शुल्क घोषणापछि करिब ३० प्रतिशतले सामानको ओसारपसार घटेको छ । यसले त्यहाँका कामदारहरूको कामको समय समेत घटाएको छ ।

विश्लेषकहरूका अनुसार यस्तो परिवर्तित ढुवानी प्रणालीले साना बन्दरगाहमा भर पर्ने क्षेत्रीय अर्थतन्त्रमा गहिरो असर पार्नेछ । ओकल्यान्ड बन्दरगाहबाट मात्रै करिब ९८ हजार मानिसको रोजगारी र ठूलो आर्थिक गतिविधि जोडिएको छ ।

यदि भन्सार शुल्क अझै बढ्यो र व्यापारिक समझदारी नभए, भने ठूला र साना बन्दरगाहबीचको असन्तुलन अझै गहिरिने सम्भावना देखिएको छ । यस्तो अवस्थाको सबैभन्दा ठूलो असर कृषकहरूमा पर्न सक्छ, किनभने ओकल्यान्डबाट आधाभन्दा बढी कन्टेनरहरूमा मासु, स्याउ, सुन्तला जस्ता कृषि उपजहरू एसिया निर्यात गरिन्छ ।

चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

चीनले सन् २०२५ को पहिलो छ महिनामा ६९ लाख ५० हजार नयाँ शहरी रोजगारी सिर्जना गरेको छ । यो सङ्ख्या वार्षिक रोजगारी लक्ष्यको ५८ प्रतिशत हो, जुन चीनले वर्षभरि पूरा गर्ने लक्ष्य राखेको छ ।

मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता छुई पेंगछेङका अनुसार, जुन महिनामा शहरी बेरोजगारी दर पाँच प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग मिल्दोजुल्दो हो ।

सरकारले रोजगारी प्रवद्र्धन गर्न ल्याएका विभिन्न सहयोगी नीतिहरूका कारण, चीनको रोजगार स्थिति स्थिर रहन सफल भएको छ, यद्यपि बाह्य परिस्थितिहरू चुनौतीपूर्ण रहेका छन् ।
यसका साथै, चीनको आर्थिक वृद्धिले रोजगारी बढ्नमा सकारात्मक प्रभाव पारेको देखिएको छ । सन् २०२५ को पहिलो छ महिनामा चीनको जीडीपी ५.३ प्रतिशत ले वृद्धि भएको छ । दोस्रो त्रैमासिक (अप्रिल–जुन) मा मात्र पनि ५.२ प्रतिशत को आर्थिक वृद्धि देखिएको छ ।

चीनले सन् २०२५ मा ५.५ प्रतिशत वरिपरिको शहरी बेरोजगारी दर कायम राख्ने र एक करोड २० लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने लक्ष्य बनाएको छ ।

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

भादगाउँ (भक्तपुर), ६ साउनः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइ नराख्ने बताउनुभएको छ ।

बिपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको विचार गोष्ठी र नेपाल तरुण दल मध्यपुरथिमि नगरसमितिको अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले कुलिङ पिरियड हटाउने प्रयास गरे वा समितिको सिफारिस विपरीत गर्न खोजिए आफूहरू सरकारबारे सोच्न बाध्य हुने बताउनुभयो ।

महामन्त्री शर्माले कुलिङ पिरियडका विषयमा जसले गलत गरे पनि कारबाही हुने बताउनुभयो । “कुलिङ पिरियडसम्बन्ध ज–जसले गलत गर्नुभएको छ, ती सबैलाई कारबाही हुन्छ र कुलिङ पिरियड दुई वर्षको ठाउँमा साढे दुई वर्ष होला तर हट्दैन”, उहाँले भन्नुभयो, “राष्ट्रियसभाबाट यसलाई समाधान गरिन्छ । कुलिङ पिरियडलाई प्रधानमन्त्रीको निर्देशनमा हटाउने प्रयास भएमा वा समितिबाट गरेको सिफारिसविरुद्ध काम भए कांग्रेसले यो सरकारलाई बचाइ राख्दैन ।”

उहाँले भूमि विधेयकको विषयमा छलफल चलिरहेकाले यसलाई समितिमा लगेर व्यापक सहमतिका साथ अगाडि बढाइने बताउनुभयो । महामन्त्री शर्माले अझै पनि देश बिपी कोइरालाको नीतिमा अगाडि बढेको भन्दै उहाँले कल्पना गरेअनुसारको विकासका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “देश अहिले पनि बिपीले देखाएको बाटोमै छ । उहाँलाई अन्य दल, राजतन्त्र र स्वयम् कांग्रेसले राम्रोसँग बुझ्न सकेको भए देश धेरै अगाडि हुन्थ्यो । दश वर्षे सशस्त्र द्वन्द्व, राजतन्त्रको विदाइ, देशका अगाडि विविध समस्या यो ढङ्गले आउने थिएनन्”, उहाँले भन्नुभयो ।

कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले विभिन्न खालका भ्रम र अफवाहलगायत चुनौतीलाई चिर्दै एक जुट भएर २०८४ को चुनावमा जानुपर्ने बताउनुभयो । उहाँले स्थानीय तथा केन्द्रमा कांग्रेसको बहुमतको सरकार बनाउने लक्ष्य साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस मध्यपुरथिमि सभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस भक्तपुरका पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुरथिमि उपसभापति अनिल श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो ।

नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो: नेता सिटौला

पाटन (ललितपुर), ६ साउनः नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा रहेको स्मरण गर्नुभएको छ ।

कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको ‘स्मृतिमा बिपी’ विचार गोष्ठीमा उहाँले कुनै पनि वैदेशिक राष्ट्रको हस्तक्षेप सहनुहुन्न भनेर राष्ट्र र राष्ट्रियताबारे कोइरालाको स्पष्ट धारणा रहेको बताउनुभयो । “राष्ट्र र राष्ट्रियता भनेको जनता हो, जनताको अधिकारबिना राष्ट्र र राष्ट्रियता रहँदैन भन्ने उहाँको सोच थियो । लोकतान्त्रिक शासन पद्धतिमा कसैसँग सम्झौता गर्नुभएन, नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुला परेर छोडिदिनुभयो”, सिटौलाले भन्नुभयो ।

उहाँले जननायक बिपी कोइरालालाई गतिशील नेताका रुपमा बुझ्नुपर्ने भन्दै फाँसीको मुद्दा अदालतमा रहँदा पनि आफ्नो घाँटी राजासँग जोडिएको भन्दै राजासँग सहकार्य गरेको बताउनुभयो । नेता सिटौलाले राष्ट्र र लोकतान्त्रिक व्यवस्थाका लागि बिपी राजासँग मिलेको उल्लेख गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले लोकतान्त्रिक व्यवस्था मासेका कारण राजतन्त्र र राजसंस्था बिदा भएको बताउनुभयो ।

पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले पञ्चायतकालमा कोइराला परिवारले दुःख, कष्ट भोगेर पनि कांग्रेसलाई बलियो बनाउँदै बहुदलीय व्यवस्था ल्याउन भूमिका खेलेको चर्चा गर्नुभयो । बिपीको लगनशीलता, त्याग र निष्ठालाई अनुशरण गर्दै व्यवहारिक रूपमा विकास र समृद्धिमा लाग्नुपर्ने धारणा कांग्रेस केन्द्रीय सदस्य राणाको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य जीतजङग बस्नेतले बिपीले गर्नुभएको योगदान, त्याग र तपस्यालाई वर्षमा दुई दिन सम्झनेभन्दा पनि हरेक दिन उहाँका सत्प्रेरणालाई अवलम्बन गर्दै देश र जनताका पक्षमा काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य धना खतिवडाले बिपीले परिकल्पना गरेअनुसारको लोकतान्त्रिक पद्धति, राजनीतिक स्वतन्त्रता, आर्थिक विकास र शासन पद्धतिमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, ललितपुर उपसभापति सुदर्शन घिमिरे, ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायतले बिपीको योगदान र कांग्रेस गर्नुपर्ने योगदानका विषय आफ्नो धारणा राख्नुभयो ।

रास्वपा र राप्रपाका नेतासँग सभामुखको छलफल, संसद् बैठकमा सहभागी हुन आग्रह

काठमाडौँ, ६ साउन : सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसद्मा निरन्तर सङ्घर्ष गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग आज छलफल गर्नुभएको छ । उहाँले रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईँहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसद्मा परेको छ । सभामुखका रूपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु ।”

उहाँले सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको कुरा उल्लेख गर्दै हाउस निरन्तर अवरोध हुँदा ती विधेयकलाई अगाडि बढाउन समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईँहरूको सैद्धानिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ ।”

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको उल्लेख गर्नुभयो । “सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको विन्दुमा पुग्न तपाईँहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ”, उहाँले भन्नुभयो ।

रास्वपा कार्यवाहक सभापति अर्यालले भन्नुभयो, “सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् ।”

राप्रपा उपाध्यक्ष तामाङ–भिजिट भिसा प्रकरणमा हामीले मुद्दा उठान गरिसकेका छौँ । तर, विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । वैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसद्लाई जानकारी दिएको छैन ।

अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

चितवन, ६ साउन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताउनुभएको छ । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आज यहाँ आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले बिपीले अँध्यारोबाट उज्यालोको खोजीमा सङ्घर्ष गरेकाले अहिले पनि कांग्रेसमा सङ्घर्ष आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिपीले आफ्नो मात्रै सोच्नुभएन जनताका लागि सोचेर सङ्घर्षमा हिँड्नुभयो । त्यसरीनै हामी हिँड्न जरुरी छ ।” बिपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उहाँले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, “कांग्रेसीको मनभित्र भएको भय बिपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो । यो पूरा गर्ने जिम्मेवारी तपाई हामीकै हो ।” अहिले भएको परिवर्तन बिपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै उहाँले यसलाई जगाई राख्न सक्नुनै बिपीको सच्चा अनुयायी भएको बताउनुभयो ।

उहाँले कांग्रेस आफ्नो जिम्मेवारीबाट कहिल्यौँपछि नहट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजतन्त्र, गणतन्त्रदेखि लोकतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाएको छ ।” जिम्मेवारीका हिसाबले कांग्रेस सही ठाउँमा रहेको बताउँदै उहाँले बिपीको विचारसहित गरेका कामहरूको प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्रको एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो । कांग्रेस एक हुँदा विपक्षी कमजोर बन्ने भन्दै उहाँले देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको छ भन्ने आभास तल्लो तहमा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू उमा रेग्मी, मधु आचार्य, टेकप्रसाद गुरुङ, अञ्जनी श्रेष्ठले कांग्रेस बिपीको विचारअनुसार हिँड्न युवाहरू अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, तरुण दलका केन्द्रीय सदस्य निर्मल पौडेल, नेपाली कांग्रेस चितवनका प्रवक्ता ज्ञानेन्द्र कार्कीलगायतले बिपीको योगदानबारे चर्चा गर्नुभयो ।

विसं २०७७ मा निर्माण सुरू गरिएको बिपी स्मृति भवनका आज औपचारिक रूपमा उद्घाटन गरिएको हो । स्व मैयादेवी श्रेष्ठले प्रदान गरेको १५ कट्ठा जग्गामा रु ६६ लाख ३५ हजारको लागतमा भवन निर्माण गरिएको हो ।

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

काठमाडौँ, ६ साउन: प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत आर्थिक वर्ष २०८१÷२०८२ मा विभिन्न निकायलाई दिएका निर्देशनको कार्यान्वयन प्रगति विवरण सात दिनभित्र माग्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले समितिबाट दिइएका निर्देशनको कार्यप्रगति सात दिनको समय दिएर माग गर्न निर्देशन दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले गत आर्थिक वर्षमा विभिन्न मितिमा भएका बैठकले विभिन्न निकायलाई दिएका निर्देशन कार्यान्वयनको विवरण माग गर्ने निर्णय गरिएको बताउनुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, कानुन मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।

बैठकले मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफल एवं संशोधनकर्ता सांसदसँग छलफल हुँदा विचाराधीन सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२, सामाजिक सञ्जाल विधेयक, २०८१ सँग अन्तरसम्बन्धित विषयहरू उठाएकाले समितिको आगामी बैठकमा त्यसबारे प्रष्ट पार्न सञ्चार मन्त्रालयलाई निर्देश गरेको छ ।

‘छलफलमा दुई विधेयकसँग अन्तरसम्बन्धित विषय उठाइएकाले उल्लेखित कुन विधेयकसँग सम्बन्धित रहेका छन् र कुन विधेयकले के कुरालाई प्रतिनिधित्व गर्छ भन्ने’ विषयमा समितिलाई प्रष्ट पार्न सञ्चार मन्त्रालयलाई निर्देश गरिएको जनाइएको छ ।

‘काउन्सिललाई स्वायत्त निकाय बनाउनुपर्छ’

बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्ता सांसदहरूले मिडिया काउन्सिललाई स्वायत्त, स्वतन्त्र र निष्पक्ष निकायका रूपमा स्थापित गर्नेगरी आवश्यक प्रबन्ध गरिनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले काउन्सिलमा सरकारको एकाधिकार नहुनेगरी स्वायत्त निकाय बनाउनुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो ।

संशोधनकर्ता सांसद भानुभक्त जोशीले मिडिया काउन्सिललाई नियमनको नाममा बढी हस्तक्षेपकारी नहुनेगरी स्वायत्त निकायका रूपमा स्थापित गरिनुपर्ने सुझाव दिनुभयो । उहाँले काउन्सिलको अध्यक्ष स्वतन्त्र व्यक्ति रहनेगरी विधेयकलाई समृद्ध बनाइनुपर्ने धारणा राख्नुभयो

संशोधनकर्ता सांसद शिशिर खनालले राज्यको चौथो अङ्गका रूपमा रहेको प्रेस जगत्लाई स्वतन्त्र, निष्पक्ष र जिम्मेवार बनाउन काउन्सिललाई स्वायत्त बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले विधेयकमा प्रस्तावित सिफारिस समिति बनाउँदा कार्यपालिका हाबी नहुनेगरी काउन्सिलले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्नेगरी व्यवस्था गरिनुपर्ने सुझाउनुभयो ।

संशोधनकर्ता सांसद लक्ष्मी तिवारीले काउन्सिललाई स्वतन्त्र र निष्पक्ष निकायका रूपमा भूमिका निर्वाह गर्नेगरी पदाधिकारी नियुक्ति हुनुपर्नेमा जोड दिनुभयो । संशोधनकर्ता सुशीला सिर्पाली ठकुरीले काउन्सिललाई नियमन गर्ने स्वायत्त निकाय बनाउनुपर्ने, निशा डाँगीले काउन्सिललाई मन्त्रालयको एउटा निकायका रूपमा नभई स्वतन्त्र बनाइनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, संशोधनकर्ता उर्मिला माझीले प्रेस स्वतन्त्रता कुण्ठित नहुनेगरी आमसञ्चारलाई चुस्त, दुरुस्त र जिम्मेवार बनाउनेगरी विधेयकलाई चाँडो पारित गरिनुपर्नेमा जोड दिनुभयो । संशोधनकर्ता सोविता गौतमले काउन्सिलको सिफारिस समिति स्वतन्त्र प्रकृतिको हुनुपर्ने र नियमनकारी संस्थालाई बढी स्वायत्त बनाउन जरूरी भएको उल्लेख गर्नुभयो । संशोधनकर्ता विमला सुवेदीले श्रमजीवी पत्रकारको पारिश्रमिक अनुमनको व्यवस्था गरिनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिल विधेयकमा धेरै विषय मिलेर आएकाले चाँडो टुङ्ग्याइनुपर्नेमा जोड दिनुभयो ।

समिति सभापति अम्मरबहादुर थापाले संशोधनकर्तासँगको छलफल सकिएकाले अब विज्ञहरूसँग छलफल र उपसमिति गठन गरी विधेयकमाथि दफावार छलफल गरेर विधेयकलाई चाँडै टुङ्गो लगाइने बताउनुभयो । आजको बैठकले मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफलका लागि उपसमिति गठन गर्ने निर्णयसमेत गरिसकेको छ । सात सदस्यीय उपसमितिको संयोजक र सदस्य अर्को बैठकबाट घोषणा हुने समितिका सभापति थापाले जानकारी गराउनुभयो ।

विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेका छौँः गृहमन्त्री लेखक

काठमाडौँ, ६ साउनः गृहमन्त्री रमेश लेखकले सरकार विपद् प्रतिकार्य, खोज, उद्धार र राहतलगायत काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) सङ्घ÷नेपाल ड्रोन सङ्घबीच आज मन्त्रालयमा भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले प्रयोगले विपद् प्रतिकार्यका क्रममा खोज, उद्धार र राहत (औषधि र पानीलगायत) ड्रोनमार्फत पु¥याउन सकिने अवस्था बनेको बताउनुभयो ।

गृहमन्त्री लेखकले विपद् पूर्वसूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरूरी रहेको बताउँदै पूर्वसूचना प्रणालीलाई चुस्तदुरुस्त बनाउने गरी काम भएको जानकारी दिनुभयो । “हामी विपद्को उच्च जोखिम भएको भूगोलमा छौँ । बाढीपहिरो, भूकम्प, चट्याङ र लूदेखि हिउँलाग्नेसम्मको जोखिममा छौँ”, मन्त्री लेखकले भन्नुभयो,“अब निजी क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्ति पनि विपद् प्रतिकार्यमा जोडिनुपर्छ भनेर समझादारी गरेका छौँ । यसले सकारात्मक परिणाम दिनेछ ।”

मन्त्री लेखकले विपद् प्रतिकार्य र व्यवस्थापनका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्ने काम भइरहेको बताउनुभयो । नागरिकको जिउधनको रक्षा गर्ने विषयसित जोडिएर राष्ट्रको महत्त्वपूर्ण दायित्व पालना गर्न अघि बढेकामा ड्रोन सङ्घलाई उहाँले धन्यवाद दिनुभयो ।

समझदारी पत्रमा प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) सङ्घबीच सहकार्य गरी खोज तथा उद्धार, राहत वितरण तथा अन्य सामग्री ढुवानी, विपद् प्रभावित क्षेत्रको निरीक्षण, भौगोलिक नक्शाङ्कन, क्षति मूल्याङ्कन र सूचना सङ्कलन तथा विश्लेषण कार्य गरिने उल्लेख छ ।

यस्तै, विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्राधिकरणले आवश्यकताअनुसार माग गरेमा ड्रोन सङ्घले निःशुल्क रूपमा उपकरण (पाइलटसहित) उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ । यस कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्नेछ ।

प्रचलित कानुन र ड्रोन उडानसम्बन्धी अनुमति लिएका ड्रोन र पाइलट विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्राधिकरणले गर्ने भनिएको छ । ड्रोन सञ्चालनका सन्दर्भमा आवश्यक मार्गनिर्देशन, समन्वय र सहजीकरणका लागि समन्वय समितिसमेत गठन गरिएको छ । जसमा प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख संयोजक रहनेछन् । प्राधिकरणको समन्वयमा गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले तत्काल ड्रोन उडान गर्ने÷गराउने गरी परिचालन गर्नेछ । उक्त समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने सर्त राखिएको छ ।

कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्य, प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनीयर दिनेश भट्ट, नेपाल ड्रोन सङ्घका अध्यक्ष राजबाबु महर्जनलगायत उपस्थित हुनुहुन्थ्यो । यसअघि मन्त्रालयले हेलिकप्टर एसोसियसनसँग पनि विपद् प्रतिकार्यका लागि निःशुल्क हवाई उद्धारलगायत विषय समेटेर समझदारी गरिसकेको छ ।

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौँ, ६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ–जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्रधिकरणलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित एनटिसी र एनटीएको २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर–जी विस्तार व्यापाक बनाउँदै फाइभ–जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिनुभएको हो ।

आफू मन्त्री भएलगत्तै पटक–पटक फाइभ–जी नेटर्वक सुरू गर्न भन्दै आएको स्मरण गराउँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले आफूले निर्देशन दिएको एक वर्ष पुगिसक्दा पनि कार्यसम्पादन नहुनु दुःखद् विषय भएको बताउनुभयो । उहाँले अब भने चाँडोभन्दा चाँडो नेटर्वक विस्तारमा गर्नुपर्ने बताउनुभयो ।

छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रूपले मात्रै जिल्लाभर पुग्नु प्रयाप्त नरहेको स्पष्ट पार्नुभयो । उहाँले फोर–जी नेटर्वक हरेक जनताका घरघरमा पु¥याउने काम प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । साथै, इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महसुस गर्नबाट वञ्चित रहने र डिजिटल सुशासन कायम गर्न चुनौती देखापर्ने हुँदा दूरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न मन्त्री गुरुङले आग्रह गर्नुभयो ।

त्यसैगरी उहाँले राजमार्गमा देखापर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटिए र एनटिसीलाई ध्यानाकर्षण गराउनुभयो । जहाँ जनतालाई अत्यन्त नेटर्वकको जरुरी हुन्छ, त्यहाँ सेवा विस्तारमा चनाखो हुन पनि मन्त्री गुरुङले जोड दिनुभयो ।

पर्यटन प्रवर्द्धन गर्न इन्टरनेट र टेलिफोन सुविधाको अत्यन्त जरुरी हुने उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटकीय गन्तव्यमा नेटवर्क विस्तार प्रभावकारी बनाउन आग्रह गर्नुभयो । “जहाँ जनतालाई अति आवश्यकपर्छ, त्यहाँ एनटिसी पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “यो वर्ष फाइभ–जी लन्च छिट्टै गर्नुपर्छ ।” उहाँले नेपाल टेलिकमको प्रचारप्रसार गतिविधि निकै कम भएको औँल्याउँदै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा प्रचार गरेर एनटिसीबारे जनतालाई सूसुचित गराउन अनुरोध गर्नुभयो ।

छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटिएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने अनुरोध गर्नुभयो । उहाँले सूचनाप्रविधिको क्षेत्रमा नवीन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजनासमेत बनाउन निर्देशन दिनुभयो । “सूचना प्रविधिको क्षेत्रमा नविन कार्य गर्ने युवालाई हौसला दिने खालका गतिविधिसमेत समेट्नुपर्छ”, सचिव अर्यालले भन्नुभयो, “यस्ता कार्यक्रम राख्नु समयको मागसँगै राज्यको दायित्व पनि हो ।”

एनटिएका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभ–जी नेटवर्क सञ्चालन गर्नेकार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अब केही समयमै बोलपत्र प्रक्रिया थालनी गरेर नेटर्वक विस्तार गर्ने उहाँले बताउनुभयो । एनटिसीका निमित्त प्रबन्ध निर्देशक सविना मास्के(प्रधान)ले पनि फोर–जी विस्तार निरन्तर कार्य भइरहेको र फाइभ–जी लन्च गर्ने तयारीमा जुटेको बताउनुभयो ।

एमाले केन्द्रीय कमिटी बैठकमा सङ्गठनात्मक व्यवस्थालगायत विषयमा छलफल जारी

काठमाडौँ, ६ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सङ्गठनातत्मक व्यवस्थालगायत विषयमा छलफल जारी छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज दोस्रो दिनको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि ५८ जनाले आफ्नो धारणा राखेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । हिजो पहिलो दिन ४९ जनाले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिवेदनमा अझै ७७ जनाले आफ्नो धारणा राख्न बाँकी छ । प्रचार विभाग प्रमुख गौतमले आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय, पार्टी सदस्यता र सङ्गठित सदस्यताको व्यवस्था गर्नेलगायत विषयमा धारणा राखेको गौतमले जानकारी दिनुभयो ।

“मातहतका कमिटी मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई संविधान अनुकूल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोड दिएर उठाइएको छ”, उहाँले भन्नुभयो, “सबैतिरको रिपोर्टिङअनुसार पार्टीको एक लाख ३९ हजार सदस्यता वृद्धि भएको छ । यो प्रतिशतका हिसाबले करीब २८ प्रतिशत हो ।”

प्रचार विभाग प्रमुख गौतमले बैठकमा सरकारको प्रभावकारिता, मूल्यवृद्धिलगायत विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उपाध्यक्षको विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव पोखरेलको साङ्गठनिक प्रतिवेदन यसअघि सचिवालय र पोलिटब्यूरो बैठकले पारित गरेका थिए । प्रचार विभाग प्रमुख गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण सम्बोधन गर्दै आजै बैठक समापन गर्नु हुनेछ । बैठक सोमबारदेखि सुरु भएको हो ।

अधिकारका कुराहरु उठाउँदै गर्दा निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु भुल्न हुँदैन – मन्त्री सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकारका कुराहरु गरिरहँदा आफ्नो जिम्मेवारीलाई भूल्न नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल टेलिकम वर्कर्स युनियनको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अधिकारका कुराहरु उठाउँदै गर्दा निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु भुल्न नमिल्ने धारणा राखे ।

उनले भने,‘हामीले अधिकारको कुरा गर्दै गर्दा के चाँही बुझ्नुपर्छ भने अधिकारसँगै जिम्मेवारीको पनि कुरा आउँछ । अधिकारका कुराहरु पनि उठाउनुपर्छ । तर त्यो सँगै निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु हुन्छन् ,तीनका बारेमा पनि सोच्नपर्छ ।’

त्यस्तै युनियन उठाएका विषय र मुद्दाहरु अत्यन्तै प्रष्ट एवम महत्वपूर्ण रहेको बताउँदै त्यसमा सरकार गम्भीर रहेको बताए ।

मन्त्री सिंहले मंगलबार नै बीपी कोइरालाको स्मरण गर्दै सिद्धान्त, आदर्शवादबाट विचलित नभइ दुःखकष्ट सहेर जनतालाई प्रजातान्त्रिक अधिकार दिलाउन बीपीले धेरै संघर्ष गरेको स्मरण गरे ।

माओवादीकेन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको विप्लवको भनाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी) केन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको बताएका छन् ।

मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले आँखा अगाडि माओवादी विग्रिदै गएको भन्दै विद्रोह गरेको बताएका हुन्

उनले भने, ‘हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन । विद्रोह गरेका हौ । माओवादी कसरी विग्रिदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु । त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि ?’

उनले देशमा दलाल पूँजीवादहरु र नेपाली जनताको बीचको अन्तरविरोधहरु हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए ।

नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो

काठमाडौँ, ६ साउनः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ८० दशमलव ९७ अङ्कले बढेर दुई हजार ९७३ दशमलव ७० बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ७९ प्रतिशतको वृद्धि हो ।

नेप्सेमा आज ३१९ कम्पनीको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर एक लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा रू २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ बराबरको कारोबार भएको छ । आजको कारोबार पछि बजार पुँजीकरण रू ४९ खर्ब ६२ अर्ब १२ करोड नाघेको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ६३, जीवन बीमा समूह चार दशमलव ३६ र लघुवित्त समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ । बैङ्किङ दुई दशमलव १०, विकास बैङ्क दुई दशमलव २६, वित्त एक दशमलव ९४, होटल तथा पर्यटन तीन दशमलव ४४ र जलविद्युत् समूह एक दशमलव ९० प्रतिशतले बढेको छ । त्यसैगरी, लगानी तीन दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा दुई दशमलव ५६, व्यापार एक दशमलव ०१ र अन्य समूह तीन दशमलव २६ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा एलबीबीएल डिबेञ्चर–२०८९ तीन दशमलव ९४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७१ करोड ८८ लाख ८५ हजार ७४५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सनराईज फोकस्ड इक्विटी फण्डको २२ लाख ३७ हजार ३९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

विपद् प्रभावितलाई अस्थायी आवास निर्माण गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक

काठमाडौँ, ६ साउनः गृहमन्त्री रमेश लेखकले तीव्र रुपमा अस्थायी आवास र निजी आवासको पर्वलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना गर्न सरकार सशक्त ढङ्गले लागिपरेको बताउनुभएको छ । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको उत्तर दिँदै गृहमन्त्री लेखकले २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति निम्तिएको भन्दै क्षति पुगेका आवास पुनर्निर्माण गर्न निर्माण प्रक्रिया अघि बढाइरहेको बताउनुभयो ।

प्रश्नकर्ता सांसद मायाप्रसाद शर्माले वर्षायाम र बाढी पहिरोको जोखिम बढेसँगै भूकम्पले जाजरकोटलगायत क्षति पुगेका आसपासका जिल्लामा पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारको योजनबारे प्रश्न उठाउनुभएको थियो । गृहमन्त्री लेखकले त्यसको जवाफ दिँदै निजी आवासमा क्षति पुगेका घरपरिवारलाई आवास निर्माणका लागि प्रतिघरपरिवार दुई किस्ता गरी रकम वितरण गरिएको जानकारी गराउनुभयो । आवास निर्माणका लागि प्रति परिवार रु ५० हजारका दरले जाजरकोटमा रु एक अर्ब ९१ करोड ९१ लाख ७५ हजार, रुकुम पश्चिममा रु एक अर्ब ६१ करोड १२ लाख, सल्यानमा रु सात करोड, बाजुरमा रु १० करोड ५० लाख, बझाङमा रु २५ करोड र जुम्लामा रु एक लाख ७५ हजार गरी कुल रु तीन अर्ब ९५ करोड ६५ लाख ५० हजार वितरण गरिएको बताउनुभयो ।

गृहमन्त्री लेखकले ‘विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि,२०८१’ जारी भई कार्यान्वयनमा रहेको उल्लेख गर्दै भूकम्पबाट प्रभावित कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७६ हजार ३०८ घरधुरीको ‘डिडिए’ विस्तृत क्षति आकलन) सम्पन्न भई तथ्याङ्क प्रमाणीकरण भइरहेको बताउनुभयो । तथ्याङ्क प्रमाणीकरणपश्चात् स्थानीय तहबाट लाभग्राही कायम गरी कार्यविधिअनुसार विस्तृत क्षति आकलनमा सूचीकृत भएका लाभग्राहीसँग सम्झौता गरी निजी आवास पर्वलीकरण तथा निर्माण गर्ने प्रक्रियामा छ । कार्यविधिले निजी आवासको हकमा भूकम्पबाट भएको क्षतिका आधारमा हिमाल, पहाड र तराईमा क्रमशः रु पाँच लाख, रु चार लाख र रु तीन लाख अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । साथै प्रबलीकरण गरी बस्न योग्य निजी आवासका लागि रु एक लाखसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ ।

गृहमन्त्री लेखकले बाढीपहिरोको उच्च जोखिममा भएका तथा नेपालको कुनै स्थानमा आवास बनाउने, जग्गा, घडेरी, उपलब्ध नभएका घरपरिवारका लागि बढीमा थप तीन लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । “निजी आवास निर्माणको काम द्रुतगतिमा अगाडि बढाउन जाजरकोट, अछाम र बझाङमा अस्थायी पुनर्निर्माण कार्यालय स्थापना भएको छ । यसलाई सरकारले प्राथमिकतामा राखेको छ,” उहाँले भन्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकबाट दुईवटा प्रस्ताव स्वीकृत भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

त्यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नुभएको थियो । यी दुवै प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन् ।

त्यस्तै, राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा गोपाल भट्टराई रहनेगरी मनोनयन गरिएकामा राष्ट्रियसभाले सहमति जनाएको छ । राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते आइतबार अपराह्न १ः१५ बजे बस्नेछ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले अन्नपूर्ण न्यूरो अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । अन्नपूर्ण न्यूरो अस्पतालले उपलब्ध गराउने सेवाहरु हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कहरुमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले छुट पाउनेछन् ।

नशा रोगसम्बन्धी सेवाको लागि लोकप्रिय रहेको अन्नपूर्ण न्यूरो अस्पतालले अन्य विशेषज्ञ सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ ।
आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर आफ्ना ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

सोच सोच भन्दै फेरी अभिनयमा फर्किइन् नायिका शिल्पा, भावनको गीतको सर्वत्र चर्चा

काठमाडौं । गायक रामचन्द्र काफ्ले र गायिका भावना आचार्यको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। गायिका आचार्य स्वयमको शब्द तथा संगीत सृजना रहेको सार्वनिजक गीतमा हेमन्त शिशिरको एरेन्ज रहेको छ ।

हिन्दु नारीहरुको महान पर्व तिज नजिकिँदै गर्दा सार्वजनिक गरिउको गीतको भिडियोमा गायिका भावनाले समयमा नै विबाह गर्न भन्दै रमाइलो शैलीमा महिला दिदी बहिनीहरुलाई आग्रह गरेकी छिन् । भिडियोमा नायिका शिल्पा पोखरेल र नबिन किशोरको जोडी खुबै सुहाएको छ । लामो समयपछि नायिका शिल्पा भावनाकै भिडियोबाट फेरी काममा फर्किएकी हुन् । भिडियोमा शिल्पा र नबिनका अलावा गायक काफ्ले र गायिका भावना स्वयमको पनि अभिनय देख्न सकिन्छ ।

निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । सौखिन तिमल्सेनको सम्पादन रहेको भिडियोको छायांकन बिनोद विष्टले गरेका हुन् । गायकनसँगसँगै अभिनयमा पनि औधी रुची राख्ने गायिका भावना पछिल्ला भिडियोमा आँफै पनि मोडलका रुपमा देखा पर्दै आएकी छिन् । भावनाका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरु बजारमा आइसकेका छन् ।

कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् । मंगलबार ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् ।

उनले भने, ‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो । नौ पटक सरकारको नेतृत्व गर्दा के दियौ के बदल्यौं, के पूरा गर्यौ वा किन गरेनौ ? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ ।’उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिवीको अवस्था, उत्पीडित जाती, दलितहरु माथिको दमन, अत्याचार उस्तै रहेको बताए ।

यसैगरी कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्लो समय राजनीतिक आन्दोलनमा युवा पुस्ताको मनस्थिति फरक रहेको बताए ।
‘हामीले बिर्सिनु हँुदैन हरेक क्रान्तिकारी आन्दोलन यो युगको बौद्धिक आन्दोलन हो ।सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो । त्यसको निष्कर्ष आफैंमा बौद्धिक निष्कर्ष हो । आजको राजनीतिक आन्दोलनमा युवाहरुको मनस्थिती फरक छ । युवाको मनस्थिति बुझ्न नसके यसको मूल्य हामीजस्तो दोस्रो पिंढीले तिर्नुपर्नेछ,’ उनले भने ।

राष्ट्रियसभा बैठक : ‘जलवायु परिवर्तनका असरहरू टार्न युवा र महिलाको सक्रिय सहभागिता आवश्यक’

काठमाडौँ, ६ साउनः राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले जलवायु परिवर्तन, बाढीपहिरो, महिला सहभागितालगायतका विषयमा आफ्ना धारणाहरु राख्नुभयो ।

नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सबै राजनीतिक धारहरू अलग भए पनि जनसेवा, राष्ट्रिय हित र एकताको लक्ष्य साझा रहेको बताउँदै सबै मिलेर जाुनपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा बाढीपहिरो र तराईमा पानीको अभावले जनताको दैनिकी सङ्कटमा परेको छ । कस्तो व्यवस्थापन कसरी गर्ने भन्नेमा सरकारको चासो जाओस् ।” सांसद भट्टले ‘कुलिङ अफ पिरियड’ प्रावधानमाथि अनावश्यक चलखेल देखिएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेणु चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन किन ढिलाइ भइरहेको छ भन्ने प्रश्न गर्नुभयो । उहाँले सामाजिक सञ्जालसम्बन्धी विधेयक, शिक्षा विधेयकमा पनि चासो नदिएको बताउनुभयो । सांसद चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन ढिलाइ भइरहेको कारणबारे प्रश्न गर्नुभयो ।

उहाँले सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल ल्याउनुपर्ने बताउँदै भन्नुभयो, “हुन त संविधानमा सुनिश्चित छ, तर ३३ प्रतिशत महिला उम्मेद्वारी सुनिश्चित गर्ने यो विधेयकको तत्काल आवश्यकता छ । विभिन्न प्रगतिशील आन्दोलनमा बराबर सहभागी भएर मिलेर अधिकार ल्यायौँ तर हिस्साका लागि अझै लड्न बाध्य छौँ ।”

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदन कुमारी शाहले जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले रसुवागढीको बाढी, डोल्पाको क्षति, मधेशको सुक्खा अवस्था र खाद्य सङ्कटको अवस्था जलवायु परिवर्तनले निम्तिएकाले योजना बनाएर कार्यक्रम गर्नुपर्ने बताउनुभयो । “जलवायु परिवर्तनका असरहरू टार्न अब युवा र महिलाको सक्रिय सहभागिता आवश्यक छ । सरकार विपद्मैत्री र जलवायु उत्तरदायी शासन प्रणालीतर्फ अग्रसर हुनुपर्छ ।”

ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ६ साउनः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरिया नगरपालिका–२ घर भई हाल काठमाडौँ–३२ बस्ने ३३ वर्षीय सुदीपकुमार यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये जुनुले स्लोभाकिया पठाइदिने भन्दै रु तीन लाख १० हजार र सुदीपले सर्बिया पठाइदिने भन्दै रु १८ लाख ५४ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौँ, ६ साउन : सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ ।कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा रु दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ ब्याज वितरण गरेको सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिनुभयो । कोषले गत आवमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गत चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म पाँच प्रतिशतले ब्याज दिएको हो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका छ लाख तीन हजार ४२६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक ७२० र स्वरोजगार ४२२ गरी कुल २३ लाख ९० हजार १४१ योगदानकर्ता सूचीकृत भएका छन् ।

कोषमा रु ८६ अर्ब ८६ करोड योगदान सङ्कलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत योगदानकर्तालाई रु १५ अर्ब ७७ करोड दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।

अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन २० जना कर्मचारी नियुक्ति

अर्घाखाँची, ६ साउनः अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ ।कार्यालयले वन्यजन्तु प्रभावित क्षेत्रलाई लक्षित गरी वन संवद्र्धन प्राणालीमा आधारित वन व्यवस्थापन कार्य गरिरहेका १० समूहको समेत लागत साझेदारीमा जिल्लामा पहिलोपटक २० स्थानका लागि हेरालु नियुक्त गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । कार्यालयले आगामी कात्तिक ५ गतेसम्मका लागि मकैबालीलाइ लक्षित गरी सञ्चार तथा पारिश्रमिक खर्च व्यहोर्ने गरी हेरालुलाई प्रभावित क्षेत्रमा आवश्यक सामग्रीसहित खटाएको छ ।

वन्यजन्तुबाट प्रभावित सन्धिखर्क नगरपालिकाको किमडाँडा र पटुवाथुम, पाणिनी गाउँपालिकाको पाली र अडगुरी, छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुङगा र अर्घातोष तथा मालारानी गाउँपालिकाको खनलगायतका स्थानमा उनीहरुलाई खटाइएको कार्यालयका सूचना अधिकारी केशव खड्काले बताउनुभयो । छवटा स्थानीय तहका १० क्षेत्रमा दुई–दुई जनाका दरले हेरालु राखिएको छ । हेरालुले मासिक रु १० हजार पारिश्रमिकसहित सञ्चारक खर्च पाउने छन् ।

शीतगङ्गा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० सामुदायिक वनले मासिक रु दुई लाख सहयोग गरेको छ । साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, सिमी, बोडी, फर्सी, काँक्रालगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतङ्क हुने भएकाले यस वर्ष परीक्षणका रूपमा हेरालु राखिएको हो । नियुक्त गरिएका कर्मचारीलाई बाँदर र बँदेल धपाउन तालिम पनि दिइएको थियो । हेरालुले दिनभर गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन निर्देशन दिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

४७औँ पुष्पलाल स्मृति दिवस देशभर मनाउन निर्देशन

काठमाडौँ, ६ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ ।

पार्टीले विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई समेत स्मृति दिवस मनाउन आग्रह गरेको हो । पार्टी निकट पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलिसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनमा नेपाली कम्युनिष्ट आन्दोलनको अवस्था, कार्यदिशा र चुनौतीबारे प्रस्तुति गर्नुहुनेछ ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीका भूमिकाबारे समीक्षा गरिने पार्टीले जनाएको छ ।

दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान तथा अन्तरक्रिया गरिने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । विसं २००६ मा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा पुष्पलालले समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो । विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिक रूपले सशक्त र प्रेरणादायी नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँको निधन २०३५ सालमा भएको थियो ।

बिपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः प्राडा शेखर कोइराला

काठमाडौँ, ६ साउनः बिपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुईवटा कुरा सम्झन्छु । एउटा उहाँ मेरो ठूलो बुबा हो र हाम्रो कोइराला परिवारलाई राम्रो संस्कार दिनुभएको छ । कोइराला परिवारको संस्कार ममा छ भन्न पाउँदा मलाई आजको दिनमा पनि गर्व लाग्छ । यो कुरा कोइरालाबाट आएको हो । उहाँको योगदानको फेरि अर्कै पाटो छ । त्यो कुनै बेलामा म चर्चा गरुँला । तर हामीलाई राजनीतिक र पारिवारिक संस्कार दिने कोही हो भने त्यो बिपी कोइराला नै हो ।

अर्को कुरा पनि छ, यो फेरि परिवारभित्रको योगदानको विषय मात्र हैन, हामी परिवारका सदस्यलाई उहाँले जे सिकाउनु भयो, उहाँको समीपमा जाने जो कोही, चोह त्यो कांग्रेसको कार्यकर्ता होस् वा कुनै व्यक्ति मात्र किन नहोस्, उहाँले हामीलाई जसैगरी उसलाई पनि एउटा मार्गनिर्देश गर्नुहुन्थ्यो । सबैलाई एकै किसिमको व्यवहार गर्ने उहाँको उद्भूत स्वभाव म सम्झन्छु बिपीको नाम आउँदा ।

अर्को कुरा, म लोकतन्त्रप्रतिको उहाँको विश्वास, त्यसका लागि उहाँको आजीवन लडाइँ र सम्झौताहीन व्यक्तित्वलाई एकैपटक स्मरण हुन्छ । जनताप्रतिको उहाँको विश्वास अत्यन्त उच्च थियो । उहाँले पटकपटक भन्नुहुन्थ्यो, २००७ सालको क्रान्ति अगाडि दुईवटा राजा भए, त्रिभुवन र ज्ञानेन्द्र । ज्ञानेन्द्रसँग राणा थिए, दरबार भयो, श्रीपेच भयो, आर्मीले सुरक्षा थियो । त्रिभुवनसँग यी सबै थिएन, भारतमा भागेर गएका थिए । त्यस्तो बेलामा पनि राजाका रुपमा त्रिभुवन नै स्थापित भए । त्यो किनभने जनक्रान्तिको साथ त्रिभुवनलाई रह्यो । बिपीको यो विश्लेषण पहिलोपटक सुन्दा मलाई अचम्म नै लाग्यो । जनताप्रति उहाँको कत्रो विश्वास हो ? त्यसकारण उहाँले तिनै जनताका लागि आफूलाई सधैँ समर्पित गर्नुभयो । जनता के चाहन्छन् ? उहाँ बुझ्न चाहनुहुन्थ्यो । लोकतन्त्रको ‘फ्रेम’ भित्र जनताको चाहनालाई राखेर उहाँले रणनीति बनाउनुहुन्थ्यो । म बिपी कोइरालाको नाम सम्झना साथ यी कुराहरु स्मरण गर्छु र सोच्छु अहिलेका हामीहरुले कसरी त्यो बाटो समात्ने र उहाँको सोच अनुसारले राजनीतिलाई ‘ड्राइभ’ गर्ने भनेर । यही सोचाइले नै मलाई अन्तरमनदेखि ऊर्जा जगाउँछ ।

अहिलेको समकालीन राजनीतिक अभ्यास बिपीले सोचे वा चाहेको जस्तो छैन । यो कुरा म प्रस्टसँग भन्दछु । कोही कसैको चित्त दुख्ला, त्यसमा मलाई मतलब भएन । तर, सत्य बोल्न प¥यो । सत्यको बोली फुट्यो भने न सुधारको बाटो बन्छ । बिपीले भन्नुहुन्थ्यो नि, ‘जब सत्यको मुख बन्द हुन्छ, तब मिथ्याको थुतुनो चल्छ ।’ हामीले मिथ्याको थुतुनो चल्न दिन त भएन नि । त्यसैले मैले बोल्छु । यो बिपीले हामीलाई दिएको संस्कार हो । यही नै हाम्रो ऊर्जा हो । नेतृत्वलाई गल्ती गर्दा औँला उठाउन सक्ने कार्यकर्ता चाहिन्छ भन्नुहुन्थ्यो बिपीले । मैले बाहिर बोल्दै हिँड्ने कुरा होइन, तर पार्टीको केन्द्रीय समितिको बैठकमा त्यही भएर सत्य बोलेँ । कोही साथीहरु रुष्ट पनि भए म बोल्दा । तर बुझ्नुपर्ने कुरा के हो भने मैले त्यहाँ सत्य बोलेको हो, सुधारको बाटो खोज्नका लागि गरिएको प्रयत्न थियो । यो बिपीले सिकाएको लाइन हो भन्ने ठानेको छु ।

बिपीले राजनीतिमा मूल्यको, नैतिकताको कुरा गर्नुहुन्थ्यो । अहिलेको समकालीन राजनीतिमा यी दुवै कुराहरु हराउँदै गएको देख्दछु । मूल्यबिनाको राजनीति, नैतिकता बिनाको राजनीति त खाली भीडतन्त्र हुन्छ । हामीले लोकतन्त्र खोजेको हो, यो भीडतन्त्र हुन थाल्यो कि भन्ने चिन्ता सबैमा देख्छु । नागरिकमा व्याप्त निरासाको प्रमुख कारण म यही ठान्छु । भीडतन्त्र हुँदा लोकतन्त्रका आधारभूत मान्यताहरु मर्छन् । लोकतन्त्रका आधारभूत कुराहरु मरे भने राजनीतिमा अराजनीतिक सोच हाबी भइदिन्छ । अहिलेको भीडतन्त्रले त्यही ‘रिजल्ट’ दिनेछ । म त यस कुरामा प्रस्ट छु । त्यसैले मैले बढी चिन्ता गरिरहेको छुँ । संवादहीनताको अन्त्य गरी लोकतान्त्रिक शक्तिहरुका बीचमा छलफल चलाउनुपर्ने देखेर मैले अग्रसरता लिएको पनि छुँ । तर यो मात्रै पर्याप्त म ठान्दिन । यसतर्फ साझा सोच बन्नुपर्छ, कम्तीमा लोकतान्त्रिक सोच भएका व्यक्तिहरु र शक्तिहरुमा । बिपी सधैँ संवादमा विश्वास गर्नुहुन्थ्यो । लोकतन्त्रलाई जीवन्त राख्नका लागि संवाद अनिवार्य हुन्छ भन्ने कुरा बिपीले हामीलाई सिकाएर जानुभएको छ । बिपीले सिकाएका यस्ता संस्कारगत कुराहरुको अनुसरणमा हामी गम्भीर हुनुपर्दछ भन्ने म ठान्दछु ।

अर्को कुरा, बिपी सधैँ सबैलाई आफ्नो विवेकको उच्चतम प्रयोग गर भनेर प्रेरित गर्नुहुन्थ्यो । ‘एक मुठी माटो छातीमा टाँसेर सोच, जे उत्तर आउँछ त्यही गर’ भन्नुहुन्थ्यो । उहाँले कहिले पनि मैले यस्तो सोचेको छु, त्यसै अनुसार गर भनेर निर्देशन दिनु भएन । कम्युनिष्टहरुले कार्यकर्तालाई ‘मेनिफेस्टो’ दिन्छन् । तर बिपीले आफ्नो विवेक प्रयोग गर्न प्रोत्साहन गर्नुभयो । यसको पछाडिको दर्शनलाई बुझेनौँ भने हामीले लोकतन्त्र पनि बुझ्दैनौँ, बिपीलाई पनि बुझ्न सक्दैनौँ । अब हामीले आफ्नो विवेकको प्रयोग गरेर वर्तमान अवस्थाको विश्लेषण गर्नसक्नु प¥यो, समस्याको पहिचान गर्नसक्नु प¥यो, समाधानका लागि साझा रणनीति बनाउन सक्नुप¥यो । यो बाटोमा हिँड्नका लागि हामीबीच जतिधेरै सहकार्य हुनसक्यो, त्यति छिटो हामीले बिग्रेको परिस्थितिलाई सम्हाल्न सक्दछौँ । मेरो प्रयत्न यसैतर्फ केन्द्रित छ, तर यसमा साथ त चाहिन्छ ।

बिपी कोइरालासँगका स्मरणहरु प्रशस्तै छन् । उहाँको स्मृति दिवसमा हामीले उहाँलाई सम्झने सम्मान व्यक्त गर्ने र उहाँको समाजवादी चिन्तनलाई नागरिक संस्कारका रुपमा स्थापित गर्नका लागि के गर्नुपर्छ, त्यो गर्नका लागि प्रतिबद्ध हुने हो । समाजवादी संस्कारसहितको समाजले मात्रै बिपीले परिकल्पना गरेको झैँ प्रजातान्त्रिक समाजवादको व्यावहारिक कार्यान्वयन सम्भव छ । यो गम्भीर विषय हो । आत्मनिर्भर गाउँ बनाउने, स्रोतसाधनको अत्यधिक सदुपयोग गर्ने, समाजवादी चरित्रको गाउँ बनाउने, ग्रामीण सभ्यता बोकेको समुदाय निर्माण गर्ने कुरा स्वयं समाजले मात्रै गर्न सक्छ । बिपीको समाजवादको सार पक्ष यही हो भनेर मैले बुझेको हुँ ।

उत्पादनको वृद्धिमा र न्यायपूर्ण वितरण प्रणालीमा पनि समाजका सदस्यहरुकै हस्तक्षेपकारी भूमिकाको खोजीले बिपीको समाजवादलाई कार्यान्वयन गर्न सकिन्छ भन्ने लाग्छ । उत्पादन वृद्धिका लागि सीप र ज्ञान चाहिन्छ । अहिलेको ‘जेन–जी’ पुस्तालाई त एआईले नै दुवै कुरा एकैपटक सिकाउन सक्छ । यो ठूलो अवसर हाम्रा अगाडि छ । यो अवसरलाई हामीले गुमाउनु हुँदैन । ‘तरुणहरु तिमी जे आट्छौँ, त्यो गर्न सक्छौँ’ भन्नुहुन्थ्यो बिपी । तरुणहरुप्रति उहाँको यति ठूलो विश्वास थियो । अहिलेका तरुणहरुप्रति पनि त्यही विश्वास हो उहाँको । अहिलेका तरुणहरुलाई असल मार्गनिर्देश हामी गर्छौं । त्यसकारण आत्मबल बढाउनु प¥यो सबैले ।

उहाँले विद्यार्थीहरुलाई ‘सिर्जनाका स्रोत’ ठान्नुहुन्थ्यो । हाम्रो राजनीतिले त्यो वातावरण बनाउनुप¥यो । यी धेरै कुराहरु यस्ता छन्, जो हामीले गम्भीर भएर सोच्ने र दायित्व ठान्ने हो भने गर्न सकिन्छ । तर खै के कुराले हाम्रा साथीहरु यस्ता कुराहरुमा अलमल गरेको देख्दछु । अलमलिनु जरुरी नै छैन । बिपीलाई स्मरण गरौँ, इमान्दार प्रयत्न गरौँ हामी गर्न सक्छौँ । बिपीलाई स्मरण गर्दा हामीले यो आत्मविश्वास जगाउन सक्यौँ भने हामीले उहाँलाई सही रुपमा सम्झेको ठहर्छ, हैन भने एउटा औपचारिकता मात्र हुन्छ । लोकतन्त्र राजनीतिक पद्धति मात्रै हैन, यो जीवनशैली हो । त्यसकारण यसलाई संस्कारका रुपमा ग्रहण गर्ने हो । त्यसकारण बिपीलाई स्मरण गर्ने कुरालाई हामीले औपचारिकताका रुपमा मात्र नलिऔँ । यसलाई लोकतान्त्रिक चेतको जागरण गर्ने दिनका रुपमा लिन सकौँ । आज म सबै लोकतन्त्रवादी साथीहरुलाई यही आग्रह र अपिल गर्न चाहन्छु । बिपीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

प्रधानमन्त्रीसँग चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

काठमाडौँ, ६ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुईपक्षीय समझदारी र दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा यसअघि भएका विकास सहकार्यका सम्झौता कार्यान्वयनलगायत विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याउनुुभयो । उहाँले हालैको आकस्मिक बाढीका कारण रसुवागढीस्थित दुई देशको नाकामा क्षति भएका भौतिक संरचनाको निर्माण गर्न प्राथमिकता दिएकामा चीन सरकारलाई धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको बताउनुुभयो । उहाँले नेपाललाई भूूपरिवेष्टितबाट भूूजडित बनाउन चीनसँगको किमाथाङ्कालगायत अन्य नाकाहरुको सञ्चालन र ‘बेल्ट एन्ड रोड इनिसियटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाहरू बिना अवरोध अघि बढ्नुुपर्नेमा जोड दिनुुभयो ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युुवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।

सो प्रतिनिधिमण्डलले चीन सरकारको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाका बारेमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसँग छलफल गरेको थियो ।

सो अवसरमा चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘बोनम्यारो ट्रान्सप्लान्टेसन’सम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यसैगरी, दुई देशबीच मानव संसाधन विकाससम्बन्धी समझदारीपत्र र रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी ‘माइन्युट’मा पनि हस्ताक्षर भएको थियो ।

ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का

काठमाडौँ, ६ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताउनुभएको छ ।
महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण कार्यक्रम’मा उहाँले ऊर्जामार्फत बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको बताउनुभएको हो ।

मन्त्री खड्काले बिपी कोइरालालाई नेपाली जनचेतना र अधिकारका प्रतीकका रूपमा स्मरण गर्नुभयो । “बिपी कोइराला अन्तरराष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व मात्र होइन, उहाँको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्”, मन्त्री खड्काले भन्नुभयो ।

उहाँले बिपीले आफ्नो व्यक्तिगत जीवनको सुख सुविधा र सुरक्षाभन्दा विचार तथा मूल्यलाई महत्व दिएको बताउनुभयो । मन्त्री खड्काले बिपी कोइरालाको दीर्घ सङ्घर्षले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो । “बिपीले जेल, यातना र आत्मनिवेदन सहनुभयो । तर, जनताप्रति विश्वास गुमाउनु भएन, आज पनि उहाँले देखाएको बाटो हाम्रो मार्गदर्शन हो”, उहाँले भन्नुभयो ।

राज्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्वबोध बिपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने उहाँको भनाइ थियो । मन्त्री खड्काले बिपीको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण गर्नुभयो ।

मन्त्री खड्काले बिपीको आत्मनिर्भर राष्ट्र निर्माणको सोचसँग ऊर्जा क्षेत्रको विकासलाई जोड्दै लगिएको बताउनुभयो । “आज हामी ऊर्जा उत्पादन, प्रसारण र विस्तारमा आत्मनिर्भरतातर्फ लम्किरहेका छौँ, बिपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक छ”, उहाँले भन्नुभयो ।

विपद्जन्य घटना : तीन महिनामा एक सय दुई जनाले ज्यान गुमाए

काठमाडौँ, ६ साउन : गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० जना हराइरहेका छन् । कुल पाँच सय १२ जना घाइते भएका छन्भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुनी विपद्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका मात्रै एक सय ५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । यो धेरैजसो रसुवा बाढीले क्षति पुर्याएको उहाँले बताउनुभयो ।

त्यसैगरी पहिरोका दुई सय सात घटनामा नौ र भारी वर्षाका एक सय तीन घटनामा दुई जनाको मृत्यु भएको छ । चट्याङका दुई सय २९ घटनामा २८, सर्पदंशका ६३ घटनामा पाँच, आगलागीका नौ सय ७६ घटनामा १४ जनाको मृत्यु भएको छ ।

यस्तै, हुरीबतासका दुई सय ७३ घटनामा आठ, जनावर आक्रमणका एक सय २१ घटनामा १२, लेक लागेका ३६ घटनामा ११ जनाको मृत्यु भएको पनि उहाँले बताउनुभयो । अन्यमा र डढेलोका एक सय ५८ वटा घटना, भूकम्पका चार, डुङ्गा पल्टिएका दुई, असिनापानीका दुई घटना भएको तर मानवीय क्षति नभएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

ती घटनाबाट सबैभन्दा बढी बाढीले एक हजार २५४ घर प्रभावित बनाएको छ । यस्तै पहिरोले दुई ४१, भारी वर्षाले पाँच सय ४७, चट्याङले दुई सय ६४, सर्पदंशले ७० र आगलागीले एक हजार ८९ परिवारलाई प्रभावित बनाएको पनि प्राधिकरणले जानकारी दिएको छ । डढेलोबाट २७, हुरीबतासबाट पाँच सय ३१, जनावरको आक्रमणबाट एक सय ८६, लेक लागेर ३२, डुङ्गा पल्टिएर पाँच, असिनापानी र हुुरीबाट ७७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ४३औं वीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु हुन्छन् भने दुइवटा पृष्ठभूमिबाट आएका पार्टीबीच फरक विचार हुनु स्वभाविक भएको भन्दै नेपाली काङ्ग्रेस र नेकपा एमाले फरक मतको बीचमा साझा मतको खोजी गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले परिस्थितीको जटिलताको बीचबाट एउटा गठबन्धनको सरकार बनेको छ । यो सरकारको सफलता फरक मतहरुको बीचको साझा मतबाट बन्ने हो । एउटै दलभित्र पनि दुई तीनवटा विचारहरु हुन्छन् भने स्वभाविक कुरा हो दुईवटा पृष्ठभूमिबाट आएका नेपाली काङ्ग्रेस र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बीचमा साझा मतको खोजी गर्नुछ ।’

यस्तै, उनले अहिले दुई पार्टीबीच उत्पन्न हुँदै गरेका समस्या दुईवटा कुराको सन्दर्भमा प्रधानमन्त्रीले गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘अहिले हाम्रो बीचमा उत्पन्न हुँदै गरेका समस्या दुईवटा कुराको सन्दर्भमा छ । यो दुइवटै कुराको हल हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले गम्भीरता राख्नुपर्छ । एउटा कुलिङ पिरियडको जुन विषय थियो यसमा जो दोषि छ त्यसलाई कारबाही गर्नुपर्छ ।’

साथै, भूमि विधेयकको सन्दर्भमा अलि बढि हतार गर्न खोजिएको र प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘भूमि विधेयकको सन्दर्भमा अलि बढि हतार गर्न खोजिएको, मन्त्रीले हतार गर्न खोजेको त्यसमा प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्छ । भूमि विधेयक पारित हुनुपर्छ तर पारित गर्ने भन्दै गर्दा हतारमा ल्याएर हुँ् । गहन छलफल गरेर गर्नुपर्छ

उनले वीपी कोइरालाले मेलमिलापको नीति ल्याएपछि राजसंस्थाको प्रतिनिधिका रुपमा राजा र लोकतन्त्रको प्रतिनिधिका रुपमा आफूलाई राखेर राजा र मेरो गर्धन जोडिएको छ भन्ने कुरालाई अपव्याख्या दरबारले नगरेको भए, आज नागार्जुनको डाँडामा बसेर यो लोकतान्त्रिक गणतन्त्रलाई हेरिराख्नु पर्ने अवस्था नेपालको राजसंस्थाको नआउने बताए ।

उनले भने, ‘वीपी कोइरालालाई जति छिटो र नजिकबाट बुझ्न सकिन्छ । त्यति छिटो देशको प्रगतीलाई सहज बनाउन सकिन्छ । बीपीलाई चिन्ने कुरामा नेपालको भिन्न भिन्न शक्तिहरुबाट कमजोरी भएको छ । नेपालका राजाहरुले पनि उहाँ बुझ्नलाई गरेको कमजोरी अर्को पाटो छ । बीपीले मेलमिलापको नीति ल्याएपछि राजसंस्थाको प्रतिनिधिका रुपमा राजा र लोकतन्त्रको प्रतिनिधिका रुपमा आफूलाई राखेर राजा र मेरो गर्धन जोडिएको छ भन्ने कुरालाई अपव्याख्या दरबारले नगरेको भए आज नागार्जुनको डाँडामा बसेर यो लोकतान्त्रिक गणतन्त्रलाई हेरि राख्नुपर्ने अवस्था नेपालको राजसंस्थाको नआउन सक्थ्यो ।’

पुस्तक बिक्रीबाट सङ्कलित रु १२ करोड आविष्कार केन्द्रलाई

झापा, ६ साउन : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आउनुभएका डा पुनले उक्त जानकारी दिनुभएको हो । उहाँले पुस्तक बिक्रीबाट रु १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताउनुभयो । उहाँको पुस्तकको मूल्य रु सात सय ५० छ ।

उक्त रकमलाई उहाँले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिनुभयो । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहनुभएका उहाँलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ ।

विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ रु ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरेको छ । नगरउपप्रमुख पवित्रा महतरा प्रसाईँले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उहाँको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले वैज्ञानिक महावीर पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै उहाँको पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउनुपर्ने बताउनुभयो ।

विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उहाँको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ । विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गर्नुभयो । “देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ”, उहाँको भनाइ थियो, “सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।”

उहाँले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिनुभयो । ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

चितवन, ६ साउन : अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आजबाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) रु पाँच सय २५ कायम गरिएको छ । मध्यम रु चार सय ९५ कायम भएको छ ।

चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट)को रु तीन हजार ८५५ र मिडियमको रु तीन हजार ६४५ कायम गरिएको छ ।

अध्यक्ष पोखरेलका अनुसार यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु पाँच सय १० पुगेको थियो । उहाँले भन्नुभयो, “हालसम्मकै उच्च रेट अण्डाको कायम भएको छ ।” यससँगै किसानले लागत मूल्य पाएको उहाँले बताउनुभयो । अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ ।

अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घटेर मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको जनाइएको छ । साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ ।” मूल्य बढ्दा किसान उत्साहित भएका छन् । एकिन तथ्याङ्क नभए पनि हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको अनुमान छ । यो सङ्ख्या पहिलाको तुलनामा झण्डै आधा कम हो ।

प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता

दमौली (तनहुँ), ६ साउन : जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन । मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आउनुभएको छ ।

म्याग्दे गाउँपालिका–१ गुणादीकी नवीनाको जन्म विसं २०६२ माघ ११ गते भएको थियो । विसं २०६८ मा उनीले आमा गुमाएकी थिइन् । बुबा पहिचान नभएकी नवीनालाई गाउँपालिकाले यसअघि नै अपाङ्गता भएको रातो कार्ड उपलब्ध गराइसकेको थियो । तर उहाँको नागरिकताको प्रमाणपत्र नहुँदा अपाङ्गता भत्ता भने पाउनबाट वञ्चित हुनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै पुगेर शारीरिक अपाङ्गता भएकी नवीनालाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो । उहाँको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरी औठाछाप लगाउन मात्र बाँकी राखिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो, “ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नबीनालाई नागरिकता दियौँ ।” उहाँले यस्ता कार्यले उहाँहरूको परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा विकास भएर जाने उल्लेख गर्नुभयो । उक्त अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्लेलगायतको उपस्थिति थियो ।

म्याग्दे–१ का अध्यक्ष वाग्लेले नविना नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट वञ्चित भएकामा सबैको पहल र प्रयासले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्न सकिएको बताउनुभयो ।