`

वीरगञ्ज नाका हुँदै छ खर्ब २५ अर्बको आयात र एक खर्ब एक अर्बको निर्यात

काठमाडौँ, ८ साउन : वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो ।

गत आवमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु एक खर्ब ९१ अर्ब ८८ करोड रकमको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल रु ५७ अर्ब ६८ करोडको रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आवमा आयात र निर्यातमा दुवैमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । “गत आवमा आयात र निर्यात दुवैमा उल्लेखीय सुधार भएको देखिन्छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुनसक्छ ।”

गत आवमा मेसिनरी तथा तिनका पार्टपुर्जा रु ३६ अर्ब ६३ करोड मूल्यका आयात गरिएका छन् । रु ३४ अर्ब ४१ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन् । सोही अवधिमा रु २८ अर्ब ५३ करोड मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।

गत आवमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ । रु एक खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ । अघिल्लो आवमा यो नाका हुँदै रु ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरिएको थियो । सो आवको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशतअर्थात् रु ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा प्रशोधित भटमासको तेल रहेको छ । गत आवमा रु ६१ अर्ब ४५ करोड मूल्य पर्ने रु २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो ।

जबकी अघिल्लो आवमा रु नौ करोड मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो । त्यसैगरी गत आवमा रु नौ अर्ब २६ करोड मूल्य पर्ने चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ । अघिल्लो आवमा रु १० करोड मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।

गत आवमा रु सात अर्ब ६९ करोड मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ । अघिल्लो आवमा रु आठ अर्ब ५९ करोड मूल्य पर्ने आठ करोड ८० लाख १० हजार ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो ।

गत आवमा रु पाँच अर्ब ३७ करोड मूल्य पर्ने चार करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ । अघिल्लो आवको सोही अवधिमा रु आठ अर्ब ५९ करोड मूल्य पर्ने सात करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो ।

२ वर्षको ठेक्का लागेको पुल नौ महिनामै तयार,प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाइ धन्यवाद दिए ।

उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ८ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ८५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ३५ र मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो रु ७०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो रु ७०, तोरीको साग प्रतिकिलो रु ४५, हरियो प्याज प्रतिकिलो रु २००, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु १७०, पुदिना प्रतिकिलो रु २१०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १४०, आँप (दशहरी) प्रतिकिलो रु १४०, तरभुजा प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ३५, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ४५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ५०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गतका तीनवटा समितिका बैठक बस्दै छन्।बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन र पारित गर्ने सम्बन्धमा छलफल हुने छ।त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ।

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

काठमाडौँ, ८ साउनः चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उहाँले बताउनुभयो । सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् ।

वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन् । उहाँका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८/२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो ।

मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउराका लागि जाने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको जनाएको छ ।

वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ । बाघको आक्रमणबाट ३७ र अजिङ्गरबाट दुई वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पु-याएको छ । निकुञ्जका अनुसार गत आवमा मात्रै १३ वटा घरको अन्न भण्डारमा हात्तिले क्षति गरेको छ ।

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

काठमाडौँ, ८ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।निर्वाचन आयोगले जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनेकोमा एकल उम्मेदवारी परेपछि निर्विरोध घोषणा गरेको हो।

अध्यक्षमा विकास उप्रेतीसहित विभिन्न पदमा पदाधिकारी चयन भएका छन्, तर दुई पक्षबीचको विवादले निर्वाचन फरक मितिमा हुने भएको छ।
अमेरिका । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक/एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो । आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । सङ्घका अगुवाहरुले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले बुधबार जनाएको छ ।

निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल, युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन् ।

त्यसैगरी राष्ट्रिय समन्वय परिषद्को महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा सङ्गीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुङ्गाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना, महिला संयोजकमा सावित्रा सिवाकोटी, युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी)सँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने सन्दर्भमा विवाद उत्पन्न भएपछि आइसिसीले एनसिसी अमेरिकाको निर्वाचन गराउन विशेष निर्वाचन समिति गठन गरेको थियो । वासु फुलाराको नेतृत्वमा रहेको अर्को पक्षीय निर्वाचन आयोगले भने आगामी अगस्ट १७ र १८ तारिखमा निर्वाचन मिति घोषणा गरेको छ ।

सङ्घ अमेरिकाको कानुनी संरचनाअनुसार सामाजिक संस्था स्वरूपमा दर्ता भएकाले आइसिीससँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशन बाध्यकारी नभएको जनाउँदै उक्त पक्षले छुट्टै निर्वाचन प्रक्रियाको तयारी गरेको हो ।

यसरी दुई पक्षीय मतभेदका कारण गैरआवासीय नेपाली सङ्घ अमेरिकाको निर्वाचन छुट्टाछुट्टै मितिमा हुन लागेको छ । आइसिसीको विवाद र गुटबन्दीको असर एनसिसी अमेरिकाको निर्वाचन प्रक्रियामा समेत स्पष्ट रूपमा देखिएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा गुनासो व्यवस्थापन इकाई स्थापना गरिने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाइका लागि गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ।गुनासो व्यवस्थापन इकाईले सेवाग्राहीका गुनासोहरू सुनुवाइ गरी समाधान गर्नेछ र यसका लागि गुनासो सहजकर्ता तोकिनेछन्।सेवाग्राहीले विभिन्न माध्यमबाट गुनासो गर्न सक्नेछन् र गुनासोको प्रकृतिअनुसार तत्काल वा निश्चित समयभित्र सम्बोधन गरिनेछ।

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ । मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखाअन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाइको रूपमा समेत कार्य गर्ने जनाइएको छ ।

एक प्रभावकारी संयन्त्रको रूपमा गुनासो व्यवस्थापन कार्य गर्न उक्त शाखाको प्रमुखलाई गुनासो सहजकर्ता तोक्ने र निजलाई सहयोग गर्न मन्त्रालय वा अन्य मन्त्रालय तथा निकायमा फाजिलमा रहेका कर्मचारीमध्येबाट अतिरिक्त समूहमा दरबन्दी राखी कामकाज गर्ने गरी एक जना शाखा अधिकृत र दुई जना कम्प्युटर सीपमा दखल भएका नायब सुब्बा वा कम्प्युटर अपरेटरलाई जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ ।

सेवाग्राहीले विभिन्न सञ्चार साधन वा आफैँ उपस्थित भई लिखित वा मौखिक गुनासो गर्ने वा पत्राचार गरी/गुनासो पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

गुनासो सहजकर्ताले प्राप्त गुनासाको अध्ययन गरी कारबाही गर्नुपर्ने वा नपर्ने वर्गीकरण गरी तत्काल प्रक्रिया अगाडि बढाउने, कुनै निर्धारित विधि र प्रक्रिया पूरा गर्नु पर्ने वा नपर्ने, सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

सहजकर्ताले तत्कालै सम्बोधन गर्न नसक्ने भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव भए सम्बोधन गर्ने, नसक्ने भए महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने भनिएको छ । त्यहाँबाट पनि सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा आवश्यकताअनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका माथिल्लो तहका अधिकारीसँग समन्वय गरी सात दिनभित्र सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।

नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासा सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा उच्च व्यवस्थापन समूहको बैठकमा छलफल गरी निर्णय भए बमोजिम मन्त्रिस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गर्ने प्रबन्ध गरिने मन्त्रालयले जनाएको छ ।

विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा

पर्सा । विदेशी मुलुकबाट आहारपूरक (डाइटरी सप्लीमेन्ट)को आयातले स्वदेशी उद्योग समस्यामा परेका छन् । विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन् ।

मानव शरीरमा सन्तुलित आहारको कमीलाई परिपूर्ति गर्नका लागि डाइटरी सप्लीमेन्ट लिने गरिन्छ । बारा-पर्सा औद्योगिक कोरिडोरमा आहारपूरक ‘जयश्री हेल्थ केयर’ उद्योग सञ्चालन गर्दै आएका साकेत क्यालले विदेशी मुलुकबाट आयातित यस्ता उत्पादनका काण स्वदेशी उद्योगलाई समस्या भएको बताए ।

आफूले रु. ४० करोड लगानी गरेर आहारपूरक उद्योग सञ्चालनमा ल्याए पनि जथाभाबी आयात गरिने वस्तु र स्वदेशमा आवश्यक सहयोग नहुँदा समस्या भएको उहाँको गुनासो छ । सञ्चालक क्यालले भने, “राज्यका निकायबाट आवश्यक सहयोग र समन्वय नहुँदा स्वदेशी उद्योग मर्कामा पर्दै आइरहेका छन् । विदेशबाट भित्रिएका गुणस्तरहीन आयातित सप्लिमेन्टले जनस्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छन् । यसतर्फ सरोकार भएका निकायको ध्यान जान जरुरी छ ।”

आहारपूरक सामग्रीको नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो, तर कार्यालयसँग पर्याप्त मात्रामा जनशक्ति र प्राविधिक नहुँदा पनि आवश्यक समन्वय गर्न समस्या भइरहेको छ ।

जयश्री हेल्थ केयर उद्योगका सञ्चालक क्याल विदेशबाट जभाभावी आयात हुँदै आएका यस्ता सामग्री दर्ता नहुने र कतिपय अवस्थामा स्वीकृतिबिना भित्रिने गरेकाले आवश्यक कानुनी प्रबन्ध गरेर व्यवस्थित गराउनुपर्ने बताउँछन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्वदेशी उद्योगलाई सरकारले प्रवर्द्धन र संरक्षण गर्ने खालको नीति अवलम्बन गर्नुपर्ने बताए । “स्वदेशी उद्योगले भोग्नुपरेका कानुनी र अन्य प्रक्रियागत झन्झन्टको अन्त्य गर्दै सहजीकरण गर्न जरुरी छ”, उनले भने, “उद्योगीले कच्चापदार्थमा छुट पाउनुपर्ने माग राख्दै आइरहनुभएको छ । यसको सम्बोधन गरिनुपर्छ ।”

सरकारले औषधि उद्योगलाई एक प्रतिशत भन्सार महसुलमा कच्चापदार्थ र प्याकेजिङ सामग्री ल्याउन दिए पनि आहारपूरकलाई भने २० देखि ४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धि कर लाउँदै आएको व्यवसायीको भनाइ छ । औषधिको कच्चापदार्थ जस्तै आहारपूरक कच्चापदार्थ आयातमा सहजीकरण गर्न जरुरी रहेको कतिपयको भनाइ छ ।

यहाँ रहेको जयश्री हेल्थ केयर उद्योगले हाल करिब ५० जनालाई रोजगारी दिँदै आएको छ । करिब ३१ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको उद्योगले आवश्यक कच्चापदार्थ ल्याएर यहाँ करिब ४० प्रकारका आहारपूक उत्पादन गर्दै आएको छ । यस उद्योगले गत आवमा मात्रै करिब रु. ६० लाख मूल्य बराबरको डाइटरी सप्लिमेन्ट बिक्री गरेको जनाएको छ ।

गत वर्ष नेपालमा करिब रु. डेढ अर्ब बराबरको आहारपूरक सामग्री आएकाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरे आफूहरूजस्ता धेरै उद्योगले आयात प्रतिस्थापनमा सहयोग गर्न सक्ने उद्योगी क्यालको भनाइ छ ।

प्रतिनिधिसभा बैठकः दुई विधयक प्रस्तुत हुने

काठमाडौँ, ८ साउनः प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

आजै तीन वटा संसदीय समितिका बैठकसमेत बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ ।

अन्तरराष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ । प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०२ रुपैयाँ, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १०को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ एक पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ११ पैसा र बिक्रीदर ४५४ रुपैयाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ३३ पैसा र विक्रीदर ३५९ रुपैयाँ ८९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

१३ दिनसम्म रोकिएको चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनःसञ्चालन

रसुवा, ७ साउनः ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पु¥याएपछि १३ दिनसम्म रोकिएका भन्सार प्रक्रिया पुनःसञ्चालनमा आएको छ ।भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक ट्रक तथा कन्टेनरलाई गत असार २४ गतेको बाढीले बगाउनुका साथै क्षति पुगेर जोगिएका माल सामान पल्टी गराई सुरक्षित ठाउँमा राखिएको र सडक सञ्चालन भएसँगै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले बताउनुभयो ।

स्थानीय प्रशासनको पहलमा टिमुरेदेखि स्याफ्रुबेँसीसम्म क्षति भएको सडक मर्मत सुधार भएसँगै भन्सार प्रक्रिया पूरा गरेका ३४ वटा मालवाहक ट्रक तथा कन्टेनर एवं १९ वटा विद्युतीयकार काठमाडौँतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार भने गत आवमा जाँचपास भइसकेका र चालकको अभावमा जाँचपास भए पनि भन्सार हातामै राखिएको थियो । आयातकर्ताले ढिलोगरी लाने गरेका कारण बाढीको चपेटामा परेको बताइएको छ । भन्सार जाँचपास भएका माल सामानमध्ये केही नेपालका विभिन्न भागमा निर्माणाधीन जलविद्युत् आयोजनाका भएको भन्सार कार्यालयले जनाएको छ ।

भक्तपुरमा पृथक गठामङ्गल पर्व, आज साँझ राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर, ७ साउन : प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य रूपमा उपत्यकामै पृथक शैलीमा मनाएका छन् ।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यसपर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्‍याइ जलाएर पर्व मनाएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षसरूपी गठामङ्गल बनाई बाहिर कपडाले मोडेर विभिन्न रङ लगाई राक्षसको स्वरूप बनाएर टोलटोलमा घुमाएर परम्पराअनुसार जगाति लगेर विसर्जन गरिएको छ । यसप्रकारको राक्षसरूपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय भेलुखेलका बाबुरत्न द्यौलाले बताउनुभयो ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मनपराउने राक्षसका रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको बताउनुभयो ।

उहाँका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाइलो गर्ने, चाडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने डा श्रेष्ठले बताउनुहुन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउनुहुन्छ ।

यौनसँग सम्बन्धित पर्व

भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षसरूपी गठामङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाई दुई वटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरू गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौँदेखि चल्दै आएको उहाँ बताउनुहुन्छ ।

यहाँका बासिन्दाले राँको बालेर भूत भगाउने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याइन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्दहरूको प्रयोग गर्ने छुट रहेको उहाँ बताउनुहुन्छ ।

घण्टाकर्णको दाहसंस्कार गरी फर्किंदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाँले घर सेक्ने प्रचलन पनि छ भने घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ ।

आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायत विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैदेखि गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू गरिन्छ ।

शक्तिपीठमा घुइँचो

त्यसैगरी, भक्तपुरका विभिन्न शक्ति पीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

नेवार समुदायले आज बिहानै स्नानगरी शुद्ध भएर घरघरमा लिपपोत गरी विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाइँ सकिएको पर्वका रूपमा पनि गठेमङ्गललाई ‘सिनाज्या ब्यङ्केगु’ अर्थात् रोपाइँ सकिएको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ ।

“युनेस्कोबाट बहिर्गमनको तयारीमा अमेरिका- के कारण ?”

संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट सन् २०२६ को अन्त्यसम्ममा बाहिरिने निर्णयमा पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीति अन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको बताएको छ ।

किन अमेरिका युनेस्कोबाट बहिर्गमन गर्दैछ ?

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार युनेस्कोले सामाजिक र सांस्कृतिक विषयमा ‘विवाद सिर्जना गर्न सक्ने’ नीतिहरू अघि बढाएको भन्दै चिन्ता व्यक्त गरिएको छ । विशेषतः प्यालेस्टाइनलाई सदस्यता प्रदान गरिएको निर्णयले अमेरिकाको आधिकारिक नीतिसँग असमञ्जस्य देखिएको बताइएको छ ।
वाइट हाउसका प्रवक्ता अन्ना केलीले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको चाहनालाई ध्यानमा राख्दै सबै अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहभागिता पुनरावलोकन गरिरहेका स्पष्ट पार्नुभयो । उहाँका अनुसार, यस्ता निर्णयहरूमा अमेरिकाको राष्ट्रिय हितलाई सधैं प्राथमिकता दिइनेछ ।

अन्य अन्तर्राष्ट्रिय प्रतिक्रिया

युनेस्कोका महानिर्देशक औड्रे अजोउले अमेरिकी निर्णयलाई ‘दुःखद’ बताउँदै, संस्थाले यस किसिमको परिस्थितिको लागि आवश्यक तयारी गरिसकेको जानकारी दिनुभयो ।
उहाँले बहुपक्षीयता, सहकार्य र सांस्कृतिक संरक्षणका क्षेत्रमा युनेस्कोको भूमिकालाई दोहो¥याउँदै, विगत केही वर्षमा संस्थाले संरचनात्मक सुधार र विविध वित्तीय स्रोतहरू विकास गरेको उल्लेख गर्नुभयो । साथै, उहाँले अमेरिकी निर्णयले युनेस्कोका अमेरिकी साझेदार संस्थाहरूमा प्रत्यक्ष असर पार्न सक्ने चेतावनी पनि दिनुभयो ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले युनेस्कोप्रति फ्रान्सको दृढ प्रतिबद्धता व्यक्त गर्दै, विज्ञान, संस्कृति, शिक्षा र विश्व सम्पदाको संरक्षणमा युनेस्कोको योगदानको उच्च मूल्यांकन गर्नुभयो ।

इतिहासमा यस्ता बहिर्गमन

अमेरिकाले विगतमा पनि तीन पटक युनेस्कोबाट बहिर्गमन गरेको छ । सन् १९८४ मा राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा, सन् २०१७ मा राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा र यसपटक सन् २०२६ मा हुने बहिर्गमन दोस्रोपटक हुनेछ । सन् २०२३ मा पूर्वराष्ट्रपति जो बाइडेनले अमेरिका पुनः युनेस्कोमा फर्किने निर्णय गर्नुभएका थिए ।

सिङ्गै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिनुहुन्न’ : अर्जुननरसिंह केसी

काठमाडौँ, ७ साउनः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिन नहुने बताउनुभएको छ ।

आज नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्यसमिति, महालेखा परीक्षकको कार्यालयले आयोजना गरेको नवौँ विभागीय अधिवेशन तथा नवनियुक्त, पदोन्नति प्राप्त कर्मचारीलाई स्वागत, अवकाश प्राप्त कर्मचारीलाई बिदाई एवं सम्मान कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटा समितिबाट पारित भइसकेको कुलिङ पिरियडको व्यवस्था सिङ्गै सदन झुक्याउने गरी अर्को आउँछ भने त्यो भन्दा ठूलो धोका अरु के हुन्छ ? भोलिका दिनमा कसैले देशलाई नै खतरा हुने गरी संशोधन गरे त्यसको जवाफदेही को हुन्छ ?”

नेता केसीले निजामती सेवा ऐनलाई परिर्वतन गरी प्रशासनिक सेवा, नागरिक सेवालगायत राख्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यो विषय अहिले राष्ट्रियसभामा पुगिसकेको छ । हाम्रो हातमा पनि छैन । तर मेरो विचारमा निजामती सेवा ऐन परिर्वतन गर्न जरुरी छ ।”

अबदेखि पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौँ, ७ साउन : प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ ।

पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यसरी मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले   जानकारी दिनुभयो ।

गएको असारमै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो ।

प्रवक्ता घिमिरेले जघन्य अपराधका घटना वा त्यस्ता तस्बिर र भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने जनाइएको छ ।

कांग्रेसभित्रै आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा

जलेश्वर (महोत्तरी), ७ साउनः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभएको छ । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–१ मा नवनिर्मित ‘‘जलेश्वर बहुउद्देश्यीय भवन’’ को समुद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री सिंहले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र हाल नेपाली कांग्रेस पार्टी भित्रै द्वन्द्व बढेको कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको प्रष्ट्याउनुभयो ।

उहाँले पार्टीभित्रै एक अर्काभित्र आरोप प्रत्यारोप र हिलो छ्याप्ने कामले सङ्गठन कमजोर हुँदै गएको र यसको प्रत्यक्ष असर सङ्घीय लोकतान्त्रिक व्यवस्थामा पर्ने औँल्याउँदै यस्तो परिस्थितिमा आजको आवश्यकता पार्टीलाई बलियो बनाउनु रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले अहिले पार्टीका सबै नेता कार्यकर्ताले सङ्गठन सुदृढीकरण तथा सहकार्य र समन्वयमा पार्टीलाई बलियो बनाउँदै लैजानुको विकल्प नरहेको बताउनुभयो । नेता सिंहले मधेसमा अहिले खानेपानी र सिँचाइको हाहाकार रहेकाले यसको लागि सङ्घीय सरकारले ठोस कदम चाल्ने निर्णय गरिसकेको र कुनै न कुनै वैकल्पिक उपाय निकालिने बताउनुभयो ।

अन्त्यमा मन्त्री सिंहले सङ्घीय सहरी विकास मन्त्रालयको सहयोगमा जलेश्वरमा नवनिर्मित ‘जलेश्वर बहुउद्देश्यीय भवन’ ले जलेश्वर नगरपालिका क्षेत्रभित्रका जनताका लागि बहुउपयोगी सावित होस् भन्ने आशा व्यक्त गर्नुभयो ।

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

काठमाडौँ, ७ साउन : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३१ अर्ब ४० करोड ४७ लाख बजेट विनियोजन गरेको छ ।

क्यानले आज पत्रकार सम्मेलनमार्फत स्वीकृत बजेट तथा कार्यक्रमबारे संक्षिप्त जानकारी दिएको हो । अघिल्लो वर्ष रु ३४ अर्ब १२ करोड १६ लाख विनियोजन गरेको क्यानले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७१ करोड ६९ लाख बजेट घटाएको छ ।

क्यानले पुँजीगततर्फको बजेट भने बढाएर रु १२ अर्ब ३९ करोड ७० लाख पु¥याएको छ । गत वर्ष रु एघार अर्ब ५२ करोड २५ लाख विनियोजन गरिएको थियो । यस्तै कार्य सञ्चालनतर्फ रु ६ अर्ब १५ करोड ६७ लाख विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्ष रु ६ अर्ब ५२ करोड ७१ लाख विनियोजन भएको थियो । वित्तीय व्यवस्थापनका लागि रु १२ अर्ब ८५ करोड १० लाख बजेट विनियोजन गरिएको क्यानले उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले पुँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउनेतर्फ क्यान केन्द्रित रहेको बताउनुभयो । उहाँले प्राधिकरणको आम्दानी बढाउन विमानस्थल शुल्क, यात्रुसेवा आदि विषयमा पुनरावलोकन हुन जरूरी भएको बताउनुभयो ।

महानिर्देशक अधिकारीले क्यानको स्रोत खुम्चिएको र हरेक वर्ष बजेट घटिरहेको भन्दै स्रोत व्यवस्थापनमा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भैरहवा र पोखरा अन्तररष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत, ७ साउनः अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित हुनुभएको छ । महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित हुनुभएको हो ।

सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डस्का सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरुको सशक्तीकरण र महिला स्वास्थ्य, पुर्नजीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताउनुभयो ।

सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तीकरणमा काम गर्न प्रेरणा मिलेको बताउनुभयो । महिलाको सशक्तीकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एशियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिनुभयो । “यो क्षण म जीवनभर सम्झिरहने छु”, उहाँले भन्नुभयो, “यो साँच्चिकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लड्र्समा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तीकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।”

बङ्गलादेश, भारत, पाकिस्तान र नेपाललगायतका ग्रामीण भेगमा अनेक कष्ट सहेर बाचिँरहेका महिलाहरु पीडित नभइ योद्धा भएको उहाँको भनाइ छ । दक्षिण एशियाभर नेपालका पहाडदेखि ढाकाका सडक र भारत, पाकिस्तानको ग्रामीण केन्द्रविन्दुसम्म महिलाहरूले विशाल चुनौतीको सामना गरिरहेको उहाँले उल्लेख गर्नुभयो । शिक्षामा सीमित पहुँच, लैङ्गिक पूर्वाग्रह, बालविवाह, स्वास्थ्य सेवाको अभाव र आर्थिक निर्भरता अझै धेरैका लागि वास्तविकता भएको स्मरण गर्नुभयो ।

आयोजक पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक तथा खाद्य अभियन्ता सुजन कटवाल एमबिईले हाउस अफ लर्डस्मा सम्मानित हुनुहुने कोइराला सम्भवतः प्रथम नेपाली महिला भएको जानकारी दिनुभयो । दक्षिण एसियालगायत विश्वभरका महिलाको सशक्तीकरणमा उहाँले पु¥याउनु भएको योगदानलाई सम्मानित गर्ने यो कार्यक्रममा आयोजकको भूमिका निर्वाह गर्न पाएकोमा खुसी उहाँले खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरु तथा दक्षिण एसियामा महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय महिला सहभागी थिए ।

कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाइँदै ,एक हजार नौ सयलाई रोजगार दिइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाउन लागिएको छ । पूर्वाधारलाई प्राथमिकतामा राखेर सञ्चालन हुँदै आएको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि उत्पादनसँग जोडेर कार्यान्वयन गरिने भएको हो । चालु आर्थिक बर्षमा पूर्वाधारका कार्यक्रम कटौति गरिएको छ ।

कर्णाली आर्थिक बर्ष २०७६÷०७७ देखि सुरु भएको मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णालीका सात सय तीन वडामा सञ्चालन भएको थिए । कर्णालीका सात सय १८ वडामध्ये १५ वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको थिएन । हरेक बर्ष कर्णाली सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा साथ आउने उक्त कार्यक्रम पूर्वाधार बिकासमा केन्द्रित हुँदै आएको थियो ।

लागत धेरै र प्रतिफल न्यून भएकाले पूर्वाधारका कार्यक्रम कटौती गरेर उत्पादन लक्षित कार्यक्रममा कार्यान्वयन गर्ने गरी चालु आर्थिक बर्षमा योजना बनाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालले जानकारी दिए । ‘अतिरिक्त सीप तथा उद्यम विकास र कृषिका कार्यक्रममार्फत रोजगारीको अवसर सिर्जना गर्ने गरी कार्यक्रमको ढाँचा परिवर्तन गरिएको छ’ ढकालले भने, ‘सिंचाइ, खानेपानी, सहकारी र उद्योग विशेष कार्यक्रम कार्यान्वन गर्न लागिएको छ ।’

यो कार्यक्रम मार्फत कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा एक हजार ९ सयभन्दा बढी व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले राखेको छ । हुम्ला, डोल्पा र मुगु जिल्लाका वडामा योजना कार्यान्वयनका लागि २० लाख बजेट पठाइएको छ कर्णालीका सबै स्थानीय तहमा एक अर्ब १४ करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।

रड काट्ने क्रममा करेन्ट लागेर कामदारको मृत्यु

इनरुवा (सुनसरी), ७ साउनः सुनसरी सदरमुकाम इनरुवा–३ मा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीका ४० वर्षीय नन्दकुमार चौधरी रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक योगराज खतिडाले जानकारी दिनुभयो ।

माथिल्लो तलामा रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएर नन्दकुमार चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अर्का कामदार श्रवण चौधरी गम्भीर घाइते हुनुभएको छ । श्रवणलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरीले जनाएको छ । घर निर्माणमा १२ जनाको समूहले काम गर्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ खतिवडाले बताउनुभयो ।

‘मधेसको खडेरी सङ्कट समाधान गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक’

काठमाडौँ, ७ असारः मधेसी आयोगले मधेस प्रदेशमा देखिएको खडेरीको सङ्कट समाधान गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वयको आवश्यकता औँल्याएको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी खानेपानी जस्तो आधारभूत आवश्यकताबाट मधेस प्रदेशका बासिन्दा वञ्चित हुनु मानव अधिकारसँग जोडिएको विषय भएकाले त्यसतर्फ गम्भीर हुन ध्यानाकर्षण गराएको हो । लामो समयसम्म वर्षा नभइ खडेरी परेका कारण मधेस प्रदेशका अधिकांश जिल्लामा भूमिगत जलस्रोतको सहत निरन्तर घटेको, चुरे दोहन र जवलायु परिवर्तनको असरले पानीको सङ्कटलाई थप जटिल बनाएको आयोगका सचिव नरेशराज खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मधेसमा कयौँ स्थानमा स्थानीय तह र प्रदेश सरकारको समन्वयमा दमकल र ट्याङ्करमार्फत खानेपानी वितरण गरिए पनि त्यो पर्याप्त नभएको जनाउँदै आयोगले खानेपानीको अभाव भएका क्षेत्रमा तत्काल सो सुविधा पु¥याउन आग्रह गरेको छ । आयोगले खडेरीका कारण बालीनालीमा क्षति व्यहोरेका किसानलाई राहत प्याकेजको घोषणा गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न तथा सिँचाइका लागि तत्काल डिप बोरिङ जडान गरी वैकल्पिक सिँचाइको व्यवस्था गर्न माग गरेको छ ।

मधेस–प्रदेशलाई अन्नको भण्डार मानिए पनि मध्यवर्षा आइपुग्दासमेत ५० प्रतिशत भन्दा कम मात्रै रोपाइँ हुनुले खाद्य सङ्कटको जोखिम बढाएको आयोगले जनाएको छ ।

‘खानेपानीको वैकल्पिक व्यवस्था गर्नुस्’

यसैबीच, आमजनता पार्टीका अध्यक्ष एवं रौतहटका सांसद प्रभू साहले खडेरीका कारण बालीनाली लगाउन नपाएको मात्र नभइ खानेपानीकै हाहाकार भई कतिपय स्थानमा काकाकुलको अवस्था सिर्जना भएकाले तत्काल सरकारलाई त्यसमा ध्यान दिन माग गर्नुभएको छ ।

“राज्यले अप्ठयारोमा परेका किसानलाई सिँचाइ र खानेपानीको वैकल्पिक व्यवस्था गर्नुपर्छ”, उहाँले रासससँग भन्नुभयो, “मुलुकमा ७६१ वटा सरकार भए पनि किसानलाई तत्काल राहत दिन ती सरकारबीच सहयोग र समन्वयको अभावका कारण जनताले राहत पाउन नसकेका हुन् ।”

खानेपानी जनताको आधारभूत मौलिक हक भएको जनाउँदै सांसद साहले कतिपय गाउँमा खानेपानी ट्याङ्की भए पनि समयमै मर्मतसम्भार हुन नसक्दा समस्या थप जटिल बनेको बताउनुभयो । किसानालाई समयमै मलखाद र सिँचाइको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै उहाँले सुक्खा क्षेत्रको वर्गीकरण गरी किसानलाई राहत दिने विभिन्न सेवामा छुट/सहुलियत दिन माग गर्नुभयो ।

सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री

काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसका कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गर्नुभयो ।

“पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो”, अध्यक्ष ओलीले भन्नुभयो, “जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो थरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरूको सङ्गठनलाई गतिशील रूपमा हाँक्नसक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै विरासत बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन ।”

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

लोकतन्त्र बलियो बनाउन पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काइएन : महासचिव पोखरेल

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा नफर्काइएको बताउनुभएको छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागले आज यहाँ आयोजना गरेको पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक कार्यक्रममा उहाँले पूर्वराष्ट्रपति भण्डारी एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिकमा सक्रिय हुने दलीय कोणबाट मात्र नहेरेर समग्र राष्ट्रको लोकतान्त्रिक र भविष्यसँग जोडेर हेर्नुपर्ने उहाँको भनाइ थियो । “उहाँ हाम्रो पार्टीको आन्दोलनमा आउँदा हामीलाई फाइदा पनि पुग्थ्यो होला । तर लोकतन्त्रको मूल्यलाई कमजोर बनाएर दललाई बलियो बनाउने कुरा राम्रो होइन”, महासचिव पोखरेलले भन्नुभयो, “लोकतन्त्रको मूल्य स्थापित गर्ने कुरा लोकतान्त्रिक पार्टीको कर्तव्य हो भनेर बुझ्नुपर्दछ । स्वाभाविक रूपमा प्रभावशाली व्यक्ति पार्टीमा जोडिने कुरा पार्टीका लागि लाभको विषय हुनसक्ला तर राष्ट्रका लागि केही हुन्छ भन्ने कोषबाट पनि हामीले सोच्नुपर्दछ ।”

महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी आफैँ राजनीतिमा सामेल नभएर राजनीतिकको अभिभावकको भूमिमा रहनुपर्ने बताउनुभयो ।

“राजनीति बिग्रन थाल्यो भने सपार्ने हो तर आफैँ दलीय राजनीतिकमा आउने होइन । लोकतन्त्रलाई सही दिशामा अघि बढाउने कुरामा उहाँको भूमिका रहन्छ, उहाँ घरमा चुप लागेर बस्नुुहुन्छ भनेर पार्टीको अपेक्षा होइन”, महासचिव पोखरेलले भन्नुभयो, “उहाँले मुलुकलाई सही दिशा दिन सक्नुहुन्छ । सामाजिक भूमिकामा सक्रिय बन्न सक्नुहुन्छ भन्ने पार्टीले अपेक्षा गरेको छ ।”

पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकले संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय गरेको जानकारी दिनुभयो ।

सरकार र व्यवसायीबीचको अविश्वास अन्त्य गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली व्यवसाय क्षेत्रका समस्याको समाधान सरकारी नीतिगत सुधार र व्यवसायीको सक्रिय सहकार्यबाट मात्र सम्भव हुने बताएका छन् ।

व्यवसायीक क्षेत्रका समसामयिक विषयमा आयोजित संवाद तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हाल देखिएका समस्याहरु राज्य र निजी क्षेत्र दुवैको भूमिकाका कारण आएको उल्लेख गर्दै त्यसको समाधान पनि संयुक्त प्रयासबाटै खोजिनुपर्ने बताएका हुन्

‘आज जति पनि व्यवसायीक क्षेत्रका समस्या छन् त्यो हाम्रै कारणले आएका हुन् र हामीले नै समाधान गर्नुपर्ने हुन्छ,’ मन्त्री भण्डारीले भने, ‘हामीले बनाएको बजार प्रणाली, सञ्चालन भईरहेका व्यवसायका आधारमा समाधानको बाटो तय गर्नुपर्छ ।’
उनले नेपाली बजारमा एमआरपी (अधिकतम खुद्रा मूल्य) प्रणालीको आवश्यकता औंल्याउँदै गुणस्तर र उपभोक्ता हितका लागि यसको कार्यान्वयन अपरिहार्य भएको धारणा राखे ।

‘आजको नेपाली बजार आफ्नो वस्तुको सुनिश्चित बजारका लागि एमआरपी चाहियो । हाम्रो एमआरपी नहुँदाखेरि वस्तुको गुणस्तरको कुरा, त्यसको बजारको कुरामा समस्या आयो भन्नु भएको छ । अब त्यसलाई सहजै रुपमा एमआरपीलाई स्वीकार्य गर्यौं तर त्यसलाई हाम्रै तहबाट पूर्ण रुपमा कार्यान्वयन गरेर यसको समाधान दिन्छौं ।’

साथै व्यवसाय र नाफाको सन्दर्भमा मन्त्री भण्डारीले राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई स्पष्ट गर्दै व्यवसायबाट मुनाफा हुँदैन भने राज्यले के पाउने भन्दै प्रश्न गरे । उनले व्यवसायले फाइदा कमाएपछि मात्र राज्यले आश गर्न सकिने बताए ।
मन्त्री भण्डारीले देशको समृद्धि र व्यवसायिक समृद्धि एकअर्कासँग गाँसिएको भन्दै सरकार र निजी क्षेत्रबीच आपसी अविश्वास हटाउनुपर्नेमा जोड दिए । उनले कानुनी र नीतिगत सुधारका लागि व्यवसायीहरुको सुझाव र योगदान आवश्यक रहेको बताउँदै सरकार त्यसका लागि खुला रहेको बताए ।

उनले भने, ‘हामी यतिबेला यो परस्थितीको जगबाट अब नेपालको पूँजी बजारलाई उर्जावान कसरी बनाउने ? व्यापार वृद्धि कसरी गर्ने ? देश बलियो भए पो व्यवसाय पनि बलियो बन्छ । देश समृद्ध बने पो व्यापार पनि समृद्ध बन्छ । व्यापार समृद्ध भए देश पो समृद्ध हुन्छ । त्यसैले व्यवसायीले सरकारलाई विरोधी देख्ने, सरकारले व्यवसायीलाई विरोधी देख्ने मानसिकताबाट पहिला अन्त्य हुनुपर्छ । तब मात्र समस्याको सहि किसिमबाट समाधान दिन सकिन्छ । के गर्नुपर्ने हो कानुनमा सुधार या नीतिमा सुधार यसका लागि राज्य तयार छ ।’

कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना :अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना रहेको बताएका छन् ।बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउँनेगरी काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री तर देशको अवस्था राम्रो छैन् । जनतामा निराशा छ । परिणाम आउने काम भइरहेको छैन कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मृत्युवरण गरेको छ । त्यो समाजले हटाउन सकेको छैन । त्यहाँ कम्युनिष्ट पार्टीहरू पनि छन् तर उनीहरु अभियान चलाउँदैनन् । हामीले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न सामाजिक जागरण मात्र होइन् त्यस्ता प्रवृत्ति बोक्नेहरुको विरुद्धमा भण्डाफोर गर्ने अभियान चलाएको छैनौं ।’त्यस्तै, उनले अहिले देशको सबैभन्दा ठूलो रोग व्यक्तिवाद रहेको पनि धारणा राखे ।

‘अहिले भएको सबैभन्दा ठूलो रोग व्यक्तिवादको रोग हो । आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो । सामुहिकताको भावनाको अभाव छ । सामुहिक छलफल गरेर निष्कर्षमा पुग्ने भावनाको अभाव हो ।’ उनले त्यस्तै, सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्य हुन लाग्दा उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइ रहेको टिप्प्णी गरे । जुन एउटा षड्यन्त्रको सिकार भएको उनको धारणा छ ।

‘कम्युनिष्ट आन्दोलन करिब करिब अन्त्य भएको जस्तो देख्छु तर कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु । त्यो पनि एउटा ठूलै षड्यन्त्रको सिकार हो ।’ उनले भने,उनले नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्ने धारणा पनि राखे ।

अध्यक्ष यादवले नेपालमा यति धेरै कम्युनिष्ट नेताहरु हुँदा हुँदै कहिले राप्रपा त कहिले कांग्रेसकोपछि लाग्नु पनि एउटा षड्यन्त्र भएको बताए ।

‘पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक’:अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरू एकजुट हुनु पर्ने भन्दै दलाल पुँजीवाद सबै मिलेर लाग्नु पर्ने बताए । उनले संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै जनयुद्धमार्फत जनतालाई गोलबन्ध गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराए ।

उनले भने, ‘संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई माक्र्सले जनताको साथ र विद्रोह बिना कागजका खोस्टा मात्र हुन् भनेका थिए। नेपालमा पनि संविधान सभाको बहस पहिले देखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन। माओवादी केन्द्रले जनयुद्धको सुरुवात गरी जनतालाई गोलबन्ध गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो ।’

साथै, उनले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरे ।

वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्ने पनि उनको भनाई छ । अध्यक्ष प्रचण्डले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान पनि गरेका छन् ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लपले अमेरिकाले नेपाललाई स्वतन्त्र र स्वाधिन भएको हेर्न नचाहने बताए । अमेरिकाको चाहाना नेपालमा आफ्नो एउटा अखडा बनाउने रहेको बताउँदै उनले विभिन्न साम्राज्यवाद देशहरुले आफ्नो खेलमैदान नेपाललाई बनाउन चाहेको समेत तर्क गरे ।

उनले भने, ‘अमेरिकाले नेपाललाई स्वतन्त्र र स्वाधिन भएको हेर्न चाहँदैन् । अमेरिकाको चाहाना नेपालमा आफ्नो एउटा अखडा बनाउने छ । यो हामीले राम्रोसँग बुझेका छौं । नेपाललाई विभिन्न साम्राज्यवाद देशहरुले आफ्नो खेलमैदान बनाउन चाहेका छन् ।’
दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ आफूले जानेको भन्दै उनी आक्रोसित पनि भए । महासचिव विप्लपले गणतन्त्रमा अहिले झारपात पलाएको तर कुन फूल हो को दलाल हो भन्ने कुरामा जनता अलमलमा परेको भन्दै अब कुन फूल हो कुन झारपात हो प्रचण्ड र माधवले भन्न सक्नुपर्ने धारणा राखे ।

कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त नहुने नेपालको दाबी

कीर्तिपुर (काठमाडौँ), ७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राख्नुभएको छ ।

पुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गर्नुभएको उल्लेख गर्दै उहाँले आफूले पनि नेकपा (एमाले)को नेतृत्व गर्दा सही विश्लेषण गरी गणतन्त्रमा जाने निर्णय गरेको जानकारी दिनुभयो ।

“त्यतिबेला उक्त निर्णयविरुद्ध धारणा राख्नेहरू थिए”, उहाँले भन्नुभयो, “त्यसअघि मदन भण्डारीले पनि परिस्थितिलाई ठीक ढङ्गले बुझ्नुभएको थियो । तपाईँहरूले पनि ठिक ढङ्गले बुझ्नुपर्छ । निराशा फैलाउने काम कसैले गर्नु हुँदैन ।”

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलाल नोकरशाही पुँजीवाद हाबी भएको बताउनुभयो ।

पार्टीका नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका सबै उपलब्धि पुष्पलालको योगदानको जगमा भएको बताउनुभयो । आफूले कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा काम गर्नका लागि एकीकृत समाजवादीसँग एकता गरेको बताउँदै आफूलाई समयसापेक्ष काम दिन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । “आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली !”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेख्नुभएको छ ।

कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।

पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । पुष्पलाल नेकपाका संस्थापक महासचिव हुनुहुन्थ्यो । उहाँको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

काठमाडौँ, ७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न प्रकारले विस्तारित भइरहेको बताउनुभयो । मुलुकमा निरङ्कुशताविरुद्धको सङ्घर्षमा जनतालाई सङ्गठित गर्न कम्युनिष्ट पार्टी स्थापनामा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

कम्युनिष्ट आन्दोलनको विकाससँगै क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ ।” अध्यक्ष नेपालले पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक, वैचारिक रचना र कार्यक्रममा नेपाली जनताको मुक्ति र समाजिक विकासका लागि महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही पुष्पलालले सङ्घर्षको यात्रामा अविराम क्रियाशील श्रेष्ठले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गरेर समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तरविरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्र्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गरेको उहाँको विचार व्यक्त गर्नुभयो ।

कुशल सङ्गठक पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गरेको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवादी व्यवस्था कार्यान्वयनका लागि जोड दिनुभयो ।

‘मलाई बचाउनु दाइ’ भनेर दाजुलाई म्यासेज लेखेका हरिप्रसाद पाँच दिनदेखि सम्पर्कविहीन

खोटाङ- वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन हुनुभएको हो ।

सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहनुभएका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ । “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरू सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ ।

काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुग्नुभएका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै आउनुभएको थियो । कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताउनुभयो । “मलाई साउन–१ गते राति म्यासेज गरेको थियो । फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ । म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो !”, उहाँले भन्नुभयो, “केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो । अहिले फोन पनि लाग्दैन । कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन । केगरी खोज्ने अन्यौलमा परेको छु ।”

म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताउनुभयो । “सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !”, उहाँले भन्नुभयो, “नेपाली दूतावासले चासो दिएको छैन । जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो ।”

हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिनुभयो । “हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ । कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ । अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन । यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु ।” काठमाडौँमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आउनुभएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए । एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुग्नुभएका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन् ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीच एकता हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक प्रगति र जनताको समृद्धिका लागि सबै वामपन्थी शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी प्रवेश कार्यक्रममा उहाँले वामपन्थी शक्तिबीचको धुर्वीकरणले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बताउँदै कम्युनिष्ट पार्टीका भूमिकाबारे उल्लेख गर्नुभयो ।

समाजवादी क्रान्तिको विश्लेषण गर्दै अध्यक्ष नेपालले शक्ति तथा सङ्गठन विस्तारका लागि कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजवादी क्रान्तिलाई पूरा गर्न वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीसँग एकताका प्रयास भएको जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्ट आदर्श अवलम्बन गर्ने पार्टी तथा नेतृत्वमा आएको वैचारिक विचलनले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा सङ्कट देखापरेको बताउनुभयो ।

मुलुकमा जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक व्यवस्था परिवर्तन भए पनि सामाजिक रूपान्तरण हुन नसकेको बताउँदै उहाँले सुशासन कायम हुन नसकेकै कारण समाजमा भ्रष्टाचार, गरिबी, बेरोजगारी बढेको विचार व्यक्त गर्नुभयो ।

मुलुकको आवश्यकताअनुसार माक्र्सवादलाई परिमार्जन गर्नुपर्ने बताउँदै अध्यक्ष नेपालले आफ्नो पार्टीले अङ्गिकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गर्नुभयो ।

एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल

काठमाडौं ७ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट २०२५’ को आयोजनाका विषयमा छलफल भएको छ । अध्यक्ष श्रेष्ठले २०२५ अक्टोबर ११–१२ (असोज २५–२६, २०८२) मा काठमाडौंमा गर्न लागेको समिट सफल पार्नका लागि महासंघ अध्यक्ष ढकाललाई भेटवार्ताका क्रममा आग्रह गरे ।

एनआरएनए आइसीसीको हालै बसेको पाँचौं वैठकले नेपालको आर्थिक समृद्धिको लक्ष्यलाई सफल पार्नका लागि एनआरएन डेको अवसरमा समिट गर्ने निर्णय गरेको थियो । श्रेष्ठले सम्मेलनले नीतिगत रूपान्तरण, सरकारको लगानी प्रवर्द्धनप्रति प्रतिबद्धता तथा निजी क्षेत्रलाई सशक्त साझेदारको रूपमा उभ्याउने पहल गर्ने वताए ।

पछिल्लो समय सरकारले लगानीका लागि वातावरण बनाउन भन्दै गरेका कानुनी सुधार, एकद्वार प्रणालीको कार्यान्वयन, पूर्वाधार र ऊर्जा क्षेत्रमा साझेदारीको विस्तार तथा डिजिटलाइजेशन र सेवा प्रवाहमा भएको सहजताका प्रयासहरूले अन्तर्राष्ट्रिय तथा एनआरएन लगानीकर्ताहरूका लागि नेपाल आकर्षणको केन्द्र बन्न थालेको समेत वताए ।

सम्मेलनको प्रमुख उद्देश्यहरूमा नेपालमा लगानीमैत्री वातावरण प्रवर्द्धन, रोजगारी सिर्जना तथा औद्योगिकीकरणलाई सहयोग, विज्ञान र प्रविधि स्थानान्तरण, एनआरएनलाई दीर्घकालीन साझेदारको रूपमा सुदृढीकरण तथा सरकार–निजी क्षेत्र–डायस्पोरा त्रिपक्षीय सहकार्यको निर्माण रहेको अध्यक्ष श्रेष्ठले बताएका थिए ।

सो अवसरमा उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले एनआरएन लगानी सम्मेलनलाई निजी क्षेत्रले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले एनआरएनहरूलाई नेपालमा दीगो रूपमा लगानी गर्ने तथा नीतिगत पहलहरूमासमेत साझेदारी गर्नका लागि आग्रह गरे । यसका लागि नेपालमै लगानीका पर्याप्त अवसरहरू प्रोजेक्ट पाइपलाइन तथा राम्रो प्रतिफलको अवस्था बनेको पनि वताए ।

साथै, उनले उद्योग वाणिज्य महासंघ र एनआरएनएबीच रणनीतिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ सम्भावनाहरू उजागर गर्न सकिने विश्वास व्यक्त गरे । यसमा एनआरएनहरू एकजुट भइ आउनु पर्ने सुझाव पनि दिए ।

अक्टोबरमा हुन लागेको सम्मेलनमा एनआरएन लगानीकर्ता, नेपाली लगानीकर्ता, विकास साझेदार, नेपाल सरकारका नीतिनिर्माता र सरोकारवाला निकायहरूको सहभागिता हुने जनाइएको छ ।

तीन संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । आज संसदीय समितिको बैठक बस्दैछ । बुधबार सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

आज बिहान १० बजे बस्न लागेको सार्वजनिक लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ

यस्तै, दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।

साथै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ । बैठक भने बिहान ११ बजे बस्दैछ ।

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर (झापा), ७ साउनः जिल्लामा गत आर्थिक वर्ष २०८१÷८२ (साउन–असार)मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त एक वर्षको अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय ८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ एक हजार छ सय नौ र वाणिज्यतर्फ एक हजार छ सय ६५ उद्योग नवीकरण गरिएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१÷८२ मा उद्योगतर्फ तीन सय २४ र वाणिज्यतर्फ दुई सय ३७ गरी पाँच सय ६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा एक सय ५२ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताउनुभयो ।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्या भन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईको भनाइ छ । उहाँका अनुसार कार्यालयले आव २०८१÷८२ मा विभिन्न शीर्षकमा रु दुई करोड ९१ लाख ५० हजार ९०० राजस्व सङ्कलन गरेको छ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट (बागलुङ), ७ साउनः अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिनुभयो । उक्त खण्डमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको छ ।

वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताउनुभयो । करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ७ साउन: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३८, काउली स्थानीय प्रतिकिलो रु १००, स्थानीय काउली (ज्यापू) प्रतिकिलो रु १२०, काउली तराई प्रतिकिलो रु ७०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ३० र मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (जाजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ४०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो रु ७०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु २२०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ३५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु २००, गान्टे मुला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १४०, आँप (दशहरी) प्रतिकिलो रु १४०, आँप (कलकत्ते) प्रतिकिलो रु १४०, अङ्गर हरियो प्रतिकिलो रु २५०, अङ्गर कालो प्रतिकिलो रु ३५०, हरियो तरबुजा प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु ४५, नास्पाती (लोकल) प्रतिकिलो रु ४०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२० र लप्सी प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु १३०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

कम्युनिष्ट आन्दोलनका अग्रदूत पुष्पलाल, जसले नेपालमा साम्यवादको बीउ रोपे

काठमाडौँ, ७ साउन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गर्नुभएको थियो । त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ ।

पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सार्नुभएको थियो । कम्युनिष्ट घोषणापत्र लेखेपछि उहाँकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो ।

भारत, कलकत्तास्थित श्यामबजारको एक बङ्गालीको घरमा नेकपा पार्टी स्थापनाको घोषणा भएको थियो । नेकपाको पुष्पलाल संस्थापक महासचिव हुनुहुन्थ्यो । नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ रहनुभएको थियो ।

एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानले पुष्पलालले नेपालको कम्युनिष्टलाई एकीकृत गरेर नेपालमा कम्युनिष्टको विजारोषण गरेको बताउनुभयो । उहाँले पुष्पलालले विसं २०२७ मा अगाडि सारेको विचारलाई २० वर्षपछि नेपालका राजनीतिक दलले अनुशरण गरेको बताउनुभयो ।

“पुष्पलालले विसं २०२७ मा नेपालमा प्रजातन्त्र पुनःबहालीका लागि नेपाली कांग्रेससँग कार्यगत एकता गरेर जानुपर्दछ भन्नुभएको थियो, हामी उग्रपन्थी थियौँ, कांग्रेससँग मिल्ने भनेर हामीले पुष्पलाल दक्षिणपन्थी भनेर आलोचित गरेका थियौँ”, नेता न्यौपानेले भन्नुभयो, “जनमत सङ्ग्रहपछि हामीभित्र पनि उग्रपन्थ कम हुँदै भयो, २०४५ सालमा पुष्पलालले अगाडि सारेको कुरालाई नेपालमा रहेको प्रजातान्त्रिक पार्टीले मोर्चा नबनाइकन राजालाई ठाउँमा पनि ल्याउने सकिदैन र पञ्चायतको पनि अन्त्य गर्न सकिदैन भन्नेमा हामी पनि पुग्यौँ ।” सोही निर्णयका आधारमा २०४६ सालमा नेपाली कांग्रेससँग मोर्चा बनाउने निर्णय भएको उहाँको भनाइ छ । सोही मोर्चाकै कारण नेपालमा प्रजातन्त्रको पुनःबहाली भएको उहाँले उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रका सचिव राम कार्कीले पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई नेपालभित्र सुरुवात गर्ने नेताको रुपमा रहनुभएको बताउनुभयो । पुष्पलालले नेपालको कम्युनिष्ट पार्टीको घोषणापत्रमा नेपाली समाजको विशेषतालाई उजागरण गर्नमा प्रयास गरेको भन्दै उहाँ सैद्धान्तिक र वैचारिक रुपमा नेपाललाई बाटो देखाउने काम गरेको बताउनुभयो ।

“पुष्पलालले कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र ल्याउनुपर्छ भन्नुहुन्थ्यो, उहाँकै नीतिअनुसार नै मुलुकमा कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र आएको हो”, उहाँले भन्नुभयो ।

नेकपा (एकिकृत समाजवादी) का नेता डा बेदुराम भुसालले पुष्पलालले नै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेको बताउनुभयो । पुष्पलालले गठन गरेको कम्युनिष्ट आन्दोलनलाई एकता गर्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धासुमन हुने उहाँको भनाइ छ । “कम्युनिष्ट पार्टीबीच एकता विभाजन भए पनि अब फेरि पनि एकताबद्ध बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

पुष्पलालको स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ ।

पार्टीले मातहतका सबै जिल्ला कमिटीलाई स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ । पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

काठमाडौँ, ७ साउनः नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गर्नुभएको हो ।

यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैरयोगदानमा आधारित उपदान तथा अन्य अवकाश खाता कोषमा हस्तान्तरण भएको छ । हाल बैंकमा कार्यरत करिब दुई हजार कर्मचारीको उपदान एवं अवकाशसँग सम्बन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अब कोषले गर्नेछ ।

चालु आर्थिक वर्ष २०८२/८३ देखि नेपाल सरकारले साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोष नागरिक लगानी कोष लगायतका अन्य कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरे बमोजिम आर्थिक ऐन, २०८२ मा भएको संशोधन अनुरूप बैंकले आफूले सञ्चालन गर्दै आएको अवकाश कोष नागरिक लगानी कोषमा हस्तारण गरेको हो ।

गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू सम्वत २०८३ साल असार मसान्तभित्र नागरिक लगानी कोषलगायत कोषमा आबद्ध हुनुपर्ने व्यवस्थाको जानकारीसमेत गराएको छ ।

देशभर मनसुनी वायुको प्रभाव, कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना

काठमाडौँ, ७ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।