`

कञ्चनपुरका चार पालिकामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ । आइतबार कञ्चनपुरका चार वटा पालिकाले सार्वजनिक बिदा दिएका छन ।रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका, बेलडाडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीले पालिकाले हरेक समुदायका पर्वलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पालिकाले राना थारुको प्रमुख पर्व तीजका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।

“बहुधार्मीक बहुसांस्कृतिक हाम्रो मुलुकमा यस्ता चाडपर्वहरुले सामाजिक एकता तथा भातृत्वलाई कसिलो बनाउन छ,” उनले भने, “पर्वलाई तडकभडक नगरी आर्थिक मितव्ययी बनाउन आग्रह गर्दछु ।”

लालझाडी गाउँपालिकाले साउन ११ र १३ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाले रानाथारु समुदायका महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वका अवसरमा सार्वजनिक बिदा दिएको बताए । बेलौरी र पुनर्वास नगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएको छ ।

रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरेका छन् । रानाथारु समुदायका जानकारहरूका अनुसार तीज आउनु अगावै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने प्रचलन छ । यसलाई राना समुदायले ‘सानको डोला’ भन्ने गर्दछन् ।

“अन्य समुदायले श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाइको दीर्घायुका लागि तीजको व्रत बस्छन्”, रानाथारु समुदायका अगुवा प्रेमवती रानाले भने, “हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छ ।” उहाँका अनुसार रानाथारु समुदायका महिलाले माइतीघरमा व्रत बसेर तीज मनाउने प्रचलन छ ।

तीज रानाथारु समुदायको महान् पर्व हो । हिन्दु धर्मावलम्वीहरुले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन रहिआएको छ भने रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको उनको भनाई छ ।

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको स्थानीय चेतराम रानाले बताउनुभयो । तीज आउनु पूर्व नै मनोरञ्जनका रूपमा सानको डोला (पिङ) खेल्ने प्रचलन छ ।

यो पर्वमा रानाथारु समुदायका दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै मांगलिक गीत गाउने गर्छन् । तीजमा महिला दिनभरि पानीसमेत नखाएर आफ्नो दाजुभाइको दीर्घायुका कामना गर्दै व्रत बस्ने गर्दछन् ।

संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छ: मन्त्री पाण्डे

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्रसँग सम्बन्धित रहेर कार्य गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताएका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आज भएको एक छलफलमा मन्त्री पाण्डेले समन्वय, साझेदारी र सहकार्यमार्फत काम गर्दा धेरै प्रगति गर्न सकिने बताए ।

मन्त्री पाण्डेसँग आज प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ परिषद् सदस्यहरूले नेपाली ललितकलाका विविध विषय तथा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेका थिए । हालको कार्यसमितिको दुईवर्षे कार्य विवरणमा उत्साहजनक दृष्टिकोण देखिएको बताउँदै उहाँले मन्त्रालयसँग सम्बन्धित सबै कुरामा सक्दो सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

सो क्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समय निकालेर प्रतिष्ठानको कुरा विस्तृतमा सुनिदिएकोमा मन्त्री पाण्डेलाई आभार व्यक्त गर्दै प्रतिष्ठानको ऐन समयानुकूल परिवर्तनका लागि मन्त्रालयले सार्थक पहल गर्नुपर्नेमा जोड दिए ।

उपकुलपति लालकाजी लामाले संस्कृति सम्पदाको मूल्य ललितकलाले नै स्थापित गरेकाले सोको सर्वांगीण विकासका लागि यसबाट प्राप्त रोयल्टीको निश्चित रकम यस क्षेत्रको विकासका लागि छुट्याउनुपर्ने धारणा राखे ।

छलफलमा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले दुई वर्षमा सम्पन्न गरेका कार्य, त्यसको परिणाम तथा आगामी दिनमा गरिने कार्यक्रमको विस्तृत जानकारीसहित नेपाली ललितकलाको क्षेत्रको अवधारणा, विकास, उत्थान, प्रवर्द्धनका लागि गरिनुपर्ने कानुनी, रणनीतिक, कार्यक्रमिक तथा योजनागत कार्यहरूका बारेमा जानकारी दिएका थिए।

छलफलमा प्रतिष्ठानका कुलपति हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, बहुआयामिक तथा अन्य सिर्जनात्मक (बहुआयामिकं) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, शिल्प-हस्तकला विभाग प्रमुख अरुणा हिङ्माङलगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीद्वारा मटिहानीको पुल र प्रसूति गृह भवनको उद्घाटन

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिकामा बिग्ही नदीमा निर्माण गरिएको ५० मिटर लामो पुलको उद्घाटन गर्नुका साथै प्रसूति गृह भवनको पनि उद्घाटन गरेका छन् ।

शुक्रबार महोत्तरीको मटिहानी पुगेर प्रधानमन्त्री ओलीले करिब ७ करोड ५८ लाख लागतमा कालिका कन्सट्रक्सन प्रालि भरतपुरले निर्माण गरेको मटिहानीलाई जनकपुरसँग जोड्ने सडक सञ्जाल अन्तर्गतको ५० मिटर लामो बिग्ही पुलको उद्घाटन गरे ।
त्यस्तै, प्रधानमन्त्री ओलीले मटिहानी नगरपालिका–६ मा निर्माण सम्पन्न भएको प्रसूति गृह भवनको पनि उद्घाटन गरेका छन् । एक करोड अठासी हजार रुपैंयाँ लागतमा निर्माण भएको सो भवनमा अपरेशन, डिलेभरी, एनआइसीयू, ओपिडी, फार्मेसी लगायतका सुविधा रहेको छ ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, श्रममन्त्री शरतसिंह भण्डारी, प्रदेश प्रमुख सावित्री भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, शिक्षा मन्त्री रानी शर्मा तिवारीलगायतको उपस्थिति रहेको थियो ।प्रधानमन्त्री ओली मटिहानीको उद्घाटन पश्चात महोत्तरीकै बलबा नगरपालिका पुगेका छन् ।

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका, जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लस एन्जलस, साउन ९ गते । अमेरिकी अन्तरिक्ष संस्था नासा र निजी कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको आगामी ‘मानवयुक्त मिसन’ सन् २०२५ जुलाई ३१ मा प्रक्षेपण गर्ने तयारी गरेका छन् ।

नासाले बिहीबार दिएको जानकारीअनुसार, यो मिसन फ्लोरिडास्थित नासाको केनेडी अन्तरिक्ष केन्द्रबाट अमेरिकी पूर्वी समय अनुसार दिउँसो १२ः०९ बजे प्रक्षेपण गरिनेछ । अन्तरिक्ष यानले शनिबार, अगस्ट २ तारिखको बिहान करिब ३ बजे आईएसएसमा डक गर्ने अपेक्षा गरिएको छ । “क्रू-११“ नाम दिइएको यस मिसनमा नासाका अन्तरिक्ष यात्री जिना कार्डम्यान र माइक फिन्के, जापानको एयरोस्पेस अनुसन्धान संस्थान (जेएएकसए) का किमिया युई तथा रसियाको रोस्कोसमोस अन्तरिक्ष संस्थाका ओलेग प्लातोनोभ सहभागी हुनेछन् ।

यो मिशन नासाको ‘कमर्शियल क्रू कार्यक्रम’ अन्तर्गत स्पेसएक्ससँगको सहकार्यमा सञ्चालन हुन लागेको ११औं मानवयुक्त अभियान हो । कमर्शियल क्रू कार्यक्रम संयुक्त राज्य अमेरिका स्थित अन्तरिक्ष संस्था नासाले सुरु गरेको एक विशेष पहल हो, जसको उद्देश्य निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सम्म मानवसहितको यात्रा सुरक्षित, भरपर्दो र लागत–प्रभावी तरिकाले सम्पन्न गर्नु हो ।

यस कार्यक्रम अन्तर्गत नासाले स्पेसएक्स र बोइङ जस्ता निजी कम्पनीहरूलाई आफ्नो अन्तरिक्ष यान विकास गर्न प्रोत्साहन दिएको छ, जसबाट सरकारी मात्र नभई व्यावसायिक साझेदारमार्फत पनि अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने सुविधा सुनिश्चित गरिएको छ । यसले अमेरिका भित्रैबाट अन्तरिक्ष यात्राको स्वदेशी क्षमतामा वृद्धि गर्दै आएको छ, साथै अन्तरिक्ष अन्वेषणलाई दिगो र प्रतिस्पर्धी बनाउने दिशामा ठोस कदम हो ।

कांग्रेस अझै कमजोर छ, निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता छ :सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेस अझै बलियो हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा स्व.दुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले काङ्ग्रेस लोकतान्त्रिक समाजवादी पार्टी भएपनि अझै बलियो हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि व्यवहारमा सबै पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी भइसकेपछि, काम गर्न अलि समस्या भएपनि विस्तारै बानी पर्छ । पार्टी लोकतान्त्रिक समाजवादी पार्टी हो । तर अझै पनि त्यती बलियो भइ सकेका छैनौ ।’

अहिलेको संविधान एकदमै राम्रो भएपनि यो व्यवस्थामा बहुमत ल्याउनको लागि कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने, सम्झौताहरु गर्नुपर्ने खालको अवस्था रहेको बताए ।उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो छ । तर यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने । सम्झौताहरु गर्नुपर्ने खालको अवस्था छ । आज संविधान सबैका लागि स्वीकार्य भएको छ, केही कुरामा संविधान संशोधन गर्नुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । त्यो स्वभाविक कुरा हो, आवश्यकता अनुसार संविधानको संशोधन हुन्छ नै ’स्व. दुण्डिराज शास्त्री एकदमै विद्वान र सिद्धान्तमा एकदमै अडिक रहने मान्छे भएको भन्दै उनले सन्तुलित समाजवादको लागि धेरै लडाइ गरेको पनि उनको भनाई छ ।

सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले स्व.दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, समाजवादी चिन्तक भएको भन्दै उनको निधनले धेरै नै ठूलो क्षती भएको बताए । उनले भने, ‘स्व. दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा हुनुहुन्थ्यो । उहाँ समाजवादी चिन्तक, सहज र सरल पनि हुनुहुन्थ्यो । पार्टीभित्र कहिले काही विवादको रेखा देखा परेपनि उहाँसँगको सम्बन्ध सधैँ राम्रो नै थियो । त्यसकारण आज यसरी शोक मनाउनु पर्दा एकदमै दुःख लागेको छ । उहाँको निधनले धेरै नै ठूलो क्षति भएको छ ।’

मुख्यमन्त्री लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदको हस्ताक्षर

हेडौँंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेस प्रदेशसभाका एक सदस्यले बताएका छन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।

आर्थिक वर्ष ०८२÷०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदबीच विवाद चुलिएको थियो । उनको कार्य शैलीप्रति कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत चर्चा पाएको थियो । उनलाई हटाउन कांग्रेसभित्रै आवाज उठ्दै आएको थियो ।

कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री रहन्छन् । अविश्वासको प्रस्तावले सार्थकता पाए बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तन हुनेछ । बागमती प्रदेशमा कांग्रेसबाट ३७ जना निर्वाचित सदस्य छन् । कांग्रेस बागमती प्रदेशसभाको सबै भन्दा ठूलो दल हो ।

बागमती प्रदेश सभापति इन्द्र बाँनियाले लामाप्रति असन्तुष्टि बढेको प्रतिक्रिया दिएका छन् । २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर भएको उनको दाबी छ ।

यता लामा नेतृत्व बागमती प्रदेश सरकारका चारजना मन्त्रीले राजीनामा दिएका छन् । सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा पदबाट राजीनामा दिएका हुन् ।

एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि अमरले दिए उम्मेदवारी, यस्ता छन् अमरका एजेन्डा

गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि अमर पौडेलले एनसिसी सदस्य पदका लागि न्यू साउथ वेल्स स्टेटबाट उम्मेद्धवारी दर्ता गराएका छन् । अष्ट्रेलियामा रहेका आम नेपाली युवाहरुमाझ लोकप्रिय, सहयोगी र मनकारी युवाका रुपमा आफ्नो छुट्टै छवी बनाउन सफल अमरको उम्मेद्धवारीले माहोल नै भिन्न बनाएको छ ।

अमरको यो निर्णयले अष्ट्रेलियाको नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सिड्नीमा बसोबास गर्दै आएका नेपाली युवाहरु बताउँछन् । निर्वाचनको पूर्व सन्ध्यामा अमरले भने हिजोका अनुभव र आजको सक्रियता जोडेर, हामी सबैको सहभागितामा बलियो नेपाली डायस्पोरा निर्माण गर्नु अहिलेको आवश्यकता हो। सन् २०१६ मा विद्यार्थी भिषामा अष्ट्रेलिया प्रबेश गरेका अमरले आईओई इन्जिनियरिङमा स्नातक र अष्ट्रेलियाबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् ।

हाल व्यवसायि इन्जिनियर र उद्यमीका रुपमा सिड्नीमा रहेर सिंगो अष्ट्रेलियामा रहेका नेपालीहरुमाझ लोकप्रियता कमाइरहेका अमर भोलीका दिनमा आँफु गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको नयाँ कार्यसमितिमा बसेर फरक र प्रभावकारी ढंगले काम गर्न चाहान्छन् । उनले भोलीका दिनमा आँफु कार्यसमितिमा रहेर काम गर्ने मौका पाएको खण्डमा उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने कुरामा जोड दिए । अमरले शिक्षा, आप्रवासन, ट्राभल र होस्पिटालिटी, रियल स्टेट र आईटी ट्रेनगं इन्स्टीच्यूट क्षेत्रका विभिन्न व्यवसायहरू अष्ट्रेलियाका विभिन्न राज्यहरू र विदेशसम्म सञ्चालन गरिरहेका छन्। विद्यार्थी जीवनदेखि नै अष्ट्रेलियामा रहेका नेपालीहरुलाई बसोबास, खानपान र आर्थिक सहयोगमा सहजीकरण गर्दै आएको अनुभव पनि उनको परिचय हो । सहयोगी, मिलनसार , भद्र र सहयोगी मन नै अमरलाई अमर गराउंने सुत्रहरू हुन ।

अष्ट्रेलियामा सबै बर्ग, तह र तप्काका ब्यक्ति ब्यक्तित्वहरू माँझ राम्रो पहिचान बनाएका अमर आगामी दिनमा पनि सामुदायिक हितका लागि निरन्तर क्रियाशील रहने अठोटसहित गैर आवासिय नेपाली संघमा आफ्नो उपस्थितीले आफ्नो संस्थालाई थप मजबुत बनाउने कुरामा जोड दिन्छन् । २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ। जसका लागि अमरले सक्रियताका साथ तिब्र गतिमा प्रचार प्रसार गरिरहेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा अमरले आफ्ना एजेन्डाहरु सुनाउँदै भने अष्ट्रेलिया पुगेका बिद्यार्थीहरुलाई साथ सर्मथन दिनु मेरो मुख्य उदेश्य रहनेछ । अष्ट्रेलिया पुगे लगत्तै अप्ठ्यारोमा परेका बिद्यार्थीलाई वार्षिक रुपमा काउन्सिलिगं गर्ने, आवश्यक परेको खण्डमा स्वास्थयउपचारसम्मको सहयोग गर्ने उनले बताए । त्यस्तै अष्टेलियामा रहेर पनि व्यापार व्यबसाय गर्न नसकिरहेकाहरुलाई अमरले सेमिनार र विभिन्न कार्यक्रम मार्फत अघि बढ्ने हौसला दिने बताए । सन्जीव गोर्खाली ढकालको प्यानलबाट उम्मेद्धवारी दिएका हुन् ।

जसपाका पूर्ण बस्नेत भन्छन् – पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भैसक्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसकेको बताएका छन् ।

सक्रिय राजनीतिमा फर्कने नदिने एमालेको केन्द्रीय कमिटिको निर्णयका विरुद्ध शुक्रबार पत्रकार सम्मेलनमार्फत भण्डारीले कानूनी उपचारमा जाने वा राजनीतिक लडाईको उद्घोष गर्ने आँकलन भइरहँदा बस्नेतले भण्डारीको पार्टी सदस्यता प्राप्तिको राजनीतिक र कानूनी लडाई अन्त्य भइसकेको दाबी गरेका हुन् ।

बस्नेतले भने, ‘विद्या भण्डारीलाई पार्टीमा नल्याउने भनि एमालेको केन्द्रीय समितिको बैठकले राजनीतिक निर्णय गरिसकेको छ । अब भण्डारी तत्काल एमालेको राजनीतिमा फर्कने कुनै सम्भावना रहेन । जहाँसम्म यसबारे उनले कानूनी उपचारको बाटो खोज्ने कुरा छ । एमालेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय राजनीतिक मात्र हैन यो पूर्णतः कानूनी निर्णय पनि हो । यसउपर कहीँ कतै पुनरावेदन गर्ने ठाउँ हुँदैन ।’

आगामी एमालेको केन्द्रीय समिति वा महाधिवेशनबाट विद्याबारे निर्णय गर्न सकिने सम्भावना पनि भण्डारीका पछिल्ला गतिविधिले टर्दै गएको बस्नेत बताउँछन् । बस्नेत विद्याको सक्रिय राजनीतिबारे अब एमालेको बैठकको एजेण्डासमेत बन्ने सम्भावना देख्दैनन् ।
सरकारको भ्रष्टाचार, असफलता र अलोकप्रियतालाई छोप्न र रास्वपाको हस्ताक्षर अभियानबाट जनताको ध्यान डाइभर्ट गर्न यो सबै एमालेले जानीबुझी खेलेको खेल र प्रपञ्च होइन भने विद्या भण्डारीको एमाले राजनीतिक जीवनमा लगभग पूर्ण बिराम लागिसकेको बस्नेतको ठोकूवा छ ।

विद्या भण्डारीले पत्रकार सम्मेलन गरेर पोख्ने गुनासो र देखाउने घुर्कीेले केही पार नलाग्ने उनको भनाइ छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ९ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३३, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३९, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ८५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ४० र मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, टाटे सिमी प्रतिकिलो रु ६५, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो रु ७०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ३५, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो रु ७०, तोरीको साग प्रतिकिलो रु ४५, हरियो प्याज प्रतिकिलो रु २५०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु १७०, पुदिना प्रतिकिलो रु २१०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्दह) प्रतिकिलो रु १४०, आँप (दशहरी) प्रतिकिलो रु १४०, तरबुजा प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ३५, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ४५ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ५५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

म्याग्दी । यहाँको धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार शिविरदेखि स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण गरेको हो ।

विनियोजित बजेट रु ४९ लाख तथा समुदायको रु पाँच लाख बराबरको श्रमदानबाट करिब साढे छ किलोमिटर पदमार्ग निर्माण गरिएको धौलागिरि हिमाल आरोहण पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव कुलबहादुर घर्तीले जानकारी दिए ।उनका अनुसार, सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा पदमार्ग निर्माण गरिएको हो । पदमार्गसँगै दुई वटा काठे पुल र दुई वटा चौतारा समेत निर्माण गरिएको छ ।

पदमार्गमा भ्रमणमा आउने पर्यटकको सहजताका लागि चार ठाउँमा सूचना बोर्ड र पाँच ठाउँमा सङ्केत बोर्ड राखिएको सचिव घर्तीले जानकारी दिए । आरोहण, धौलागिरिको फन्को मार्न र आधार शिविरसम्म पदयात्राका लागि आउने पर्यटकको सुविधाका लागि पदमार्ग, पुललगायतका पूर्वाधार निर्माण गरिएका हुन् । करिब एक किलोमिटर ढुङ्गाको सिँढी निर्माण गरिएको गाउँपालिकाका सवइञ्जिनियर जनक धानुकले जानकारी दिए ।

“अप्ठेरो र साँघुरो घोरेटो बाटोलाई फराकिलो बनाइएको छ, स्वीसदेखि जापनिज क्याम्प क्षेत्रमा ग्लेसियरको कारण कठिन मानिएको ठाउँमा पदमार्ग बनाइएको छ, पुरानो जीर्ण पदमार्गलाई सुधार गरेपछि पर्यटक आवतजावत गर्न सजिलो भएको छ”, उनले भने । धौलागिरि पदमार्गअन्तर्गत दोभानमा बाढीले भत्किएको पदमार्ग समेत पुननिर्माण गरिएको छ भने चौरवनको फेदीमा पदमार्ग निर्माण गरिएको छ ।

यस पदमार्गअन्तर्गत इटाली आधार शिविरदेखि छेउवन जोड्ने म्याग्दी खोला, तलेत्रेखोला, कैँचीभिरे खोला लगायत आधा दर्जन बढी स्थानमा झोलुङ्गे पुलको अभाव छ ।

यस पदमार्गअन्तर्गत भिर र जङ्गलको जोखिमपूर्ण बाटोलाई फराकिलो बनाएर सुरक्षित र स्तरीय बनाउने कामलाई प्राथमिकतामा राखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।उनले गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएको बताउँदै यस वर्ष एक वडा एक पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले अभियान सञ्चालन गर्ने जानकारी दिए ।

एमालेमा रोक लगाइएपछि आज विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दैछिन् । उनले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।

त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ ।

टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित

काठमाडौं । टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको सान्त्वना जित हासिल गरेको छ ।ढाकास्थित शेरे बंग्ला क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७४ रनले हराएको हो ।१ सय ७९ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.४ ओभरमा १ सय ४ रनमा समेटियो । बंगलादेशका मोहम्मद सैफुद्दिनले ३४ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३५ रन जोडे ।

ओपनर मोहम्मद नइम १० रनमा आउट हुनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।पाकिस्तानका लागि सलमान मिर्जाले ३, मोहम्मद नवाज र फहिम असरफले समान २ तथा हुसेन तलत, सलमान आ र अहमद दानियालले समान १ विकेट लिए ।त्यसअघि शेरे बंग्ला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

पाकिस्तानका साहिबजाद फर्हानले ४१ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय इनिङ खेले ।
हसन नवाज १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३३ रनमा आउट भए । सइम अयुब २१, मोहम्मद नवाज २७ रनमा आउट हुँदा कप्तान सलमान आगा १२ रनमा अविजित रहे ।बंगलादेशका तस्किन अहमदले ३, नसुम अहमदले २ तथा मोहम्मद सैफुद्दिन र सरिफुल इस्लामले समान १ विकेट लिए ।

दिनरात लगातार कामको चापले थकित छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जामा लेख्दै उनले थकित भएकाले हिजो (बिहीबार) बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको जानकारी दिएका हुन् ।

‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ ।’

प्रधानमन्त्री ओलीले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरि प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोलामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रमसमेत छ ।
प्रधानमन्त्रीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्नेसमेत कार्यक्रम तय भएको जनाएका छन् ।

चितवन र मकवानपुरका किसानलाई साढे सात करोड बढीको अनुदान दिइँदै

भरतपुर (चितवन), ९ साउन : चितवन र मकवानपुरका किसानलाई लक्षित गर्दै रु सात करोड ५० लाखभन्दा बढीको कृषि अनुदान वितरण गरिने भएको छ । ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ’ चितवनले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु सात करोड ६४ लाख ३९ हजार बराबरको कृषि अनुदानका लागि बिहीबार प्रस्ताव आह्वान गरेको हो ।

चितवन र मकवानपुरमा सञ्चालित तरकारी, धान, केरा, माछा, मौरी जोन तथा उद्यमशीलता कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो । यस कार्यालयले चितवनका पाँच र मकवानपुरका दुईवटा जोन हेर्दै आएको छ । यी क्षेत्रमा चालु आवमा कार्यक्रम सञ्चालन गर्न ५० देखि ८५ प्रतिशत अनुदानका कृृषि कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरिएको रेग्मीले बताउनुभयो ।

कार्यालयले सबैभन्दा बढी यस वर्ष सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतमा अनुदान दिँदैछ । यहाँबाट सञ्चालित सातवटै जोन क्षेत्रमा सिँचाइका कार्यक्रम सञ्चालन गर्नेगरी सूचना आह्वान गरिएको छ । कार्यक्रमले सिँचाइका लागि रु दुई करोड ७५ लाख २५ हजार बजेट प्रस्ताव माग गरेको छ । यस बजेटबाट एक सय ५५ वटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार गर्ने लक्ष्य राखिएको छ ।

चितवन र मकवानपुरमा सञ्चालित धान जोनमा रु दुई करोड ६४ लाख छ हजार, तरकारी जोनमा रु एक करोड एक लाख ८० हजार, माछा जोनमा रु ९५ लाख ३८ हजार, मौरी जोनमा रु ८७ लाख १५ हजार बराबरको कृषि कार्यक्रमका लागि प्रस्ताव माग गरिएको छ । त्यसैगरी, कार्यालयले जोन क्षेत्रसहित अन्य क्षेत्रमा पनि उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न रु एक करोड ६० लाख, व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमका लागि रु १८ लाखको प्रस्ताव आह्वान गरेको छ । यसका लागि ५० प्रतिशत किसानले व्यहोर्नुपर्ने हुन्छ ।

कार्यालयले तरकारी जोन क्षेत्रमा सिँचाइसहित प्राङ्गारिक उन्मुख कृषि प्रवर्द्धन, आलुबाली, उन्नत प्रविधिका लागि गोलभेँडाको ग्राफ्टिङ बेर्ना वितरण, जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण, थोपा सिँचाइ प्रणाली जडान, बेमौसमी तरकारी उत्पादनका लागि स्थायी टनेल निर्माणका लागि प्रस्ताव आह्वान गरेको हो । यी कार्यक्रम सञ्चालन गर्न ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने कार्यालयले जानकारी दिएको छ ।

यी कार्यक्रम भरतपुर महानगरपालिकाका वडा नं ४ देखि ९ र ११ देखि २८ नं वडा एवं मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाको वडानं १ देखि ५ नम्बर वडामा लागू हुनेछ । चितवन र मकवानपुरको धान जोन क्षेत्रका लागि कार्यालयले बीउ उत्पादन, ढुवानीका लागि साधन खरिद, पोष्ट हार्भेस्ट क्षति न्यूनीकरण, प्याकेजिङ, लेबलिङ, बजारीकरण सहयोग, धान मिल सञ्चालन, सामूहिक नर्सरी तथा सिकाइ केन्द्र सञ्चालन गर्नका लागि प्रस्ताव आह्वान गरिएको छ । यी कार्यक्रम चितवनको रत्ननगर नगरपालिकाको ३ देखि ९ वडा, खैरहनी नगरपालिकाको ९ देखि १३ वडा, राप्ती नगरपालिकाको १ देखि ४ र ६, मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नं ६, ७, ८, १२, १६, १७, १८ र मनहरी गाउँपालिकाको ३ देखि ९ वडामा लागू हुनेछन् ।

केरा सुपरजोन क्षेत्रमा केराको परिकारको विविधिकरण, उन्नत प्रविधिका लागि टिस्युकल्चर बिरुवा वितरण, केराको सकर वितरण, कृषि यान्त्रिकीकरण, पाँच बिघाभन्दा बढी केराखेती गर्ने किसानलाई फार्म हाउस निर्माण, केराको राइपनिङ च्याम्बर निर्माणका लागि किसानलाई प्रस्ताव आह्वान गरेको छ । केरा सुपरजोन क्षेत्र भरतपुर महानगरपालिका–१, ५, ८, १७, १९ र २३ देखि २८, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकाको १ र ३ देखि ९ र कालिका नगरपालिकाको १ देखि ८ नम्बर वडालाई तोकिएको छ ।

यसैगरी गत वर्षदेखि सञ्चालनमा आएको माछा जोनमा माछाका उन्नत प्रविधि प्रदर्शन, माछा झिक्नका लागि प्रयोग हुने महाजाल, नर्सरी, नर्सरीका लागि चरा प्रतिरोधात्मक जालीमा अनुदान, माछाको नर्सरी व्यवस्थापन, कृषि यान्त्रिकीकरण, माछाको ह्याचरी सुदृढीकरण तथा सञ्चालन, पुरानो पोखरी मर्मतका लागि किसानसँग प्रस्ताव माग गरिएको छ । माछा जोन माडी नगरपालिकामा सञ्चालित छ । मौरी जोनका लागि सुपरसहितको घार वितरण, सुरक्षित प्याकेजिङका लागि सिसाको जार वितरण, कृषि यान्त्रिकीकरण, महको बजारीकरणमा सहयोग, महघर स्थापना, मौरी स्थानान्तरण तथा मह सङ्कलनका लागि ढुवानी साधन र मह सङ्कलन घर निर्माणका लागि माग गरिएको कार्यालयले जनाएको छ ।

यी कार्यक्रम भरतपुरका केही वडा, कालिका, खैरहनी, राप्ती, रत्ननगर नगरपालिका र मकवानपुरको राक्सिाराङ गाउँपालिकाको केही वडामा सञ्चालित हुनेछ । कार्यालयले यी कार्यक्रममा समावेश हुनका लागि ३५ दिनभित्र कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । यसका लागि सम्बन्धित निकायको कृषि समूह, सहकारी, संस्था, समिति तथा कृषि फार्म दर्ता, नवीकरण गरेको प्रमाणपत्र, जग्गा भाडामा भएमा सम्झौतापत्रलगायत कागजपत्रसहित निवेदन पेस गर्न अनुरोध गरिएको छ ।

यस वर्ष म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी, ९ साउन : म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ । एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग र कीराको समस्या नदेखिएकाले आलुको उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु १० करोड मूल्यबराबरको आलु पोखरा, काठमाडौँलगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार भएको छ ।

नियमित वर्षा भएकाले सिँचाइ, मौसम अनुकूल र रोग कीरा नदेखिएकाले उत्पादन बढेको अन्नपूर्ण गाउँपालिका–७ का वुद्धिवीर पुनले बताउनुभयो । उहाँका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो ।

गत वर्षमा एक हजार तीन सय रोपनीमा सञ्चालन भएको खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत एक हजार ८५ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । कार्यक्रममार्फत तीनवटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराएको केन्द्रले जनाएको छ । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।

वीरगञ्जको घण्टाघरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त !

वीरगञ्ज (पर्सा), ९ साउन : औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्ज महानगर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आइरहेको छ । अत्यधिक तीनपाङ्गे्र अटोरिक्सा र जभाभावी बाटो काट्ने पैदलयात्रीका कारणले यहाँको ट्राफिक व्यवस्थापनमा दिनानुदिन समस्या थपिँदै आइरहेको छ ।

वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्रु जुनसुकै ठाउँबाट पनि बाटो काटिरहेको दृश्य सामान्य जस्तै लाग्छन् । पैदलयात्रीलाई सहज रूपमा वारपार गर्न राखिएका जेब्राक्रसको चिह्न मेटिएर देख्न पनि मुस्किल पर्ने गरेको छ । वीरगञ्ज मीनाबजारका सीताराम साह वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्री बेपर्वाह ढङ्गले सडक वारपार गर्ने बताउनुहुन्छ ।

“घण्टाघर चोकमा त सर्वसाधारण जहाँ मन लाग्यो । त्यहीबाट बाटो काटेको दृश्य सामान्यजस्तै लाग्छ”, उहाँले भन्नुभयो, “जसलाई जहाँबाट बाटो काट्न मन लाग्यो । त्यहीबाट बाटो काट्ने प्रवृत्तिले सवारीचालक हैरानी भोग्दै आइरहेका छन् ।” साहले वीरगञ्जको घण्टाघरचोक, नयाँ बसपार्कलगायत स्थानमा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउनुपर्ने बताउनुभयो ।

“सबैभन्दा पहिला त यहाँ सडकमा पर्याप्त मात्रामा जे्रबाक्रस बनाउन आवश्यक भइसकेको छ”, उहाँले भन्नुभयो, “घण्टाघरमा जडान भएको ट्राफिक लाइटले पनि काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या थपिरहेको छ ।” घण्टाघरचोकमा भएको जेब्राक्रसमा पनि बाँस राखिएको छ । जसले पैदलयात्रीलाई आवतजावत गर्न समस्या भइरहेको छ । सोही जेब्राक्रस भएकै ठाउँबाट सवारीसाधन चलाउने भएकाले बाँस राख्नुपरेको ट्राफिक प्रहरी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले सीमित जनशक्ति र पैदलयात्रीमा जनचेतनाको अभावको कारणले जभाभावी ढङ्गले बाटो काट्ने समस्या रहेको बताउनुभयो । “घण्टाघरचोकमा वरपर रेलिङ नहँुदा पनि जभाभावी बाटो काट्ने सर्वसाधारणलाई नियन्त्रण गर्न मुस्किल परिरहेका छन्”, उहाँले भन्नुभयो, “भएका रोड फर्निचरहरू पनि नियमित रूपमा मर्मतसम्भार नहुँदा समस्या भइरहेको छ ।”

कार्यालयले घण्टाघरचोकमा ट्राफिक व्यवस्थापनको लागि दुई जना र जिल्ला प्रशासन कार्यालय पर्सा जाने मोडतर्फ थप एक गरी जना ट्राफिक प्रहरी खटाउँदै आइरहे पनि ट्राफिक नियमको पालना भने प्रभावकारी रूपमा हुन सकिरहेको छैन । पर्सा जिल्लामा गत आवमा सवारी दुर्घटनामा परेर ४७ जनाको मृत्यु भएको छ । जबकि आव २०८०/८१ मा भने यहाँ जिल्लाभरिमा ५३ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । वीरगञ्ज महानगर र सडक विभागले पनि यहाँको ट्राफिक लाइट व्यवस्थापन र सञ्चालनमा भने ध्यान दिन सकिरहेको छैन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख राजकुमार सिलवालले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सीमित जनशक्तिको कारणले पनि समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्सामा कार्यरत १०–१५ जना प्रहरीको अन्य स्थानमा रवाना भइसकेको छ । सीमित जनशक्तिले पनि काम गर्न समस्या छ । यद्यपि हामीले जहाँजहाँ ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । सो ठाउँको समाधानका लागि आवश्यक कदम अघि बढाउनेछौँ ।”

प्रमुख सिलवालले सडकमा सवारीसाधन गुडाउने ठाउँमा बिहेको टेन्ट लगाउने खालका चुनौती रहेको पनि बताउनुभयो । “ट्राफिक प्रहरीले कारबाही गर्दा पनि विभिन्न खालका गुनासा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापन ट्राफिक एकलको प्रयासले मात्र समाधान गर्न नसकिने रैछ । अन्य सरोकारवाला निकायले पनि उत्तिकै समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी भइसकेको छ ।” उहाँले पछिल्लो समय पथलैया क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार गरेको दाबी गर्नुभयो ।

श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री

वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताएका छन् ।
बिहीबार पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले श्रीसिया नदीमा दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै त्यसको तत्काल र दीर्घकालीन समाधानका लागि आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘प्रदूषण नियन्त्रणका लागि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा, खानेपानी मन्त्रालयको सहलगानी आयोजना अन्तर्गत आवश्यक बजेट विनियोजन गरी कार्य योजना निर्माण गरी अघि बढाइने छ । नदीको संरक्षण र प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने छ ।’यसैगरी उनले वीरगञ्ज महानगरपालिकाले श्रीसिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि जतिसक्दो चाडो आवश्यक प्रस्ताब पेश गर्न समेत आग्रह गरे ।

मन्त्री यादवले स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको सहकार्यमा मात्र प्रदूषण नियन्त्रणमा दीगो समाधान सम्भव हुने तथा नदी प्रदूषण नियन्त्रणका लागि खानेपानी मन्त्रालयका तर्फबाट आवश्यक सबै पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाले आवश्यक प्रस्ताब पेश गर्ने जानकारी गराउनु हुँदै मन्त्रालयबाट थप आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।

उक्त छलफल कार्यक्रममा, उद्योग बाणिज्य संघका प्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरतकुमार बम लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

आज महोत्तरी र बारा जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारमहोत्तरी र बारा जाँदै छन् । आज उनले महोत्तरीको मटिहानी नगरपालिका(८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने , वडा नं ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने पनि कार्यक्रम रहेको छ ।

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ । बैठक आज बिहान ११ ः ४५ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ ।

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ ।

त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिनुभएको हो ।

देशभर मनसुनी वायुको प्रभाव कमजोर, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा , युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७१ पैसा र बिक्रीदर २१ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४५४ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६३ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ८९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंककले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १:०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सो विधेयक, २०८१ असार ४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । सो विधेयकलाई राष्ट्रिय सभाले २०८१ चैत ४ गते पारित गरेको थियो ।

यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

संविधानमा व्यवस्था गरेअनुरुप काम गर्न ढिला भयोः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि देशमा उल्लेख्य प्रगति भए पनि संविधानले व्यवस्था गरेका मौलिक हकलाई कार्यान्वयन गर्नबाट राजनीतिक नेतृत्व चुकेको बताउनुभएको छ ।

‘नेपाल खबर डट कम’को १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष परिसंवादमा अध्यक्ष दाहालले अब संविधानको परिमार्जन गर्ने समय आएको बताउनुभयो ।

“आर्थिक सूचक राम्रा छन् भनिएका बेला दैनिक हजारौँको सङ्ख्यामा युवा पलायन हुनु र देशले कुनैबेला निर्यात गर्ने खाद्य वस्तु अहिले अर्बौं रुपैयाँमा आयात हुने अवस्था किन आयो भन्ने विषयमा गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले सुशासन कायम गर्नु देशको सर्वाधिक ठूलो चुनौती भएको उल्लेख गर्दै भ्रष्टाचारका कारण पनि नकारात्मक भाष्य फैलाउनलाई सहयोग पुगेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले माओवादी केन्द्रलाई अहिले पनि निजी क्षेत्र विरोधी शक्तिका रूपमा लिने गरिएको जिकिर गर्दै आफूले भने शान्ति प्रक्रियामा आएदेखि नै निजी क्षेत्रको अपरिहार्यताबारे बोल्ने गरेको र पदमा रहेका बेला निजी क्षेत्रसँग सर्वाधिक समय छलफल गरेको बताउनुभयो । “उदारवादले मात्र न्याय गर्दैन भनेका हौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सन् १९९० को तुलनामा मुलुकले मानव विकासका विभिन्न सूचकमा अभूतपूर्व फड्को मारेको उल्लेख गर्दै त्यसलाई जनतासम्म पु¥याउनु र तैपनि जनता निराश हुनुका कारणलाई सुक्ष्म ढङ्गले केलाएर सम्बोधन गर्नु सबै राजनीतिक शक्तिको कर्तव्य भएको बताउनुभयो ।

पोखरा विमानस्थल सञ्चालनका सम्बन्धमा होटल सङ्घद्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको यथोचित सञ्चालनका लागि होटल सङ्घ पोखरा नेपालको टोलीले आज अर्थमन्त्री र युएईका राजदूतसँग छुट्टाछुट्टै भेट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि सङ्घको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका विभिन्न सहरबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडानको पहलका लागि आग्रह गरेको हो ।

भेटमा अर्थमन्त्री पौडेलले पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने बताउनुुभएको होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं होटल सङ्घ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिनुुभयो ।

अर्थमन्त्रीले भेटको क्रममा पोखरा नयाँ पुल सुरुङमार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी गराउनुुभएको थियो । उक्त मार्गको डिपिआर तयार भइसकेको र चालु आर्थिक वर्षको बजेटमा केही रकम समेत छुटिएको जानकारी मन्त्री पौडेलले गराउनुुभएको थियो ।

भेटमा अर्थमन्त्री पौडेलसँग चालु बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पु¥याउनसमेत आग्रह गरिएको थियो । नारायणगढ–बुटवल सडक र स्तरोन्नतिको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तीव्रता दिन मन्त्री पौडेलसँग सङ्घको टोलीले आग्रह गरेको थियो ।

यसैगरी सङ्घको टोलीले काठमाडौँस्थित संयुक्त अरब इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखरा–दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

भेटमा राजदूत अब्दुल्लाले पोखरा दुबई उडानका लागि आफूले फ्लाइ दुबईसँग कुरा राख्ने आश्वासन दिनुुभएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । पोखराको पर्यटन प्रवर्द्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा राजदूत सकारात्मक रहनुुभएको अध्यक्ष सुवेदीले बताउनुुभयो ।

मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडाँै, ८ साउनः सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भन्नुभयो, “मधेसमा मौसमी सङ्कटका कारण समस्या भोग्नुपरेको छ । यसका लागि तत्काल समस्या समाधान गर्न यो घोषणा गरिएको हो ।” मधेसमा अहिले खडेरी परेपछि खानेपानीको समेत अभाव देखिएको उल्लेख गर्दै उहाँले सरकारले मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल जनताको घरमा खानेपानी पु¥याउने र जनजीवनमा आएका समस्या समाधान खोज्नेतर्फ अग्रसर भएको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले मधेसको समृद्धिबिना नेपालको समृद्धि अपुरो रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र आवश्यक विकासका पूर्वाधार निर्माण गर्न जरुरी भएको प्रष्ट पार्नुभयो । वातावरणको संरक्षण गर्दै विकासको समृद्धि हासिल गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्रिपरिषद् बैठकले रुकुम (पूर्वी भाग) को सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय गरेको छ । यस्तै यही साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाको चौथो अधिवेशनमा सहभागी हुन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृति प्रदान गर्ने, जापानको टोकियोमा आगामी भदौ ९ देखि १३ गतेसम्म आयोजना हुने एसिया प्यासिफीक ग्रुप अन मनी लाउन्ड्री (एपिजी) मा ७ सदस्यीय प्रतिनिधिमण्डल तथा चीनको मकाउमा आगामी भदौ १८ देखि १९ गतेसम्म आयोजना हुने एफएटिएफ÷आइसिआरजी÷एपी ज्वाइन्ट ग्रुप, फेश टु फेश मिटिङमा पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने गरी सहभागी हुन सचिव फणीन्द्र गौतमलाई स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी यही साउन १३ देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने सिएआरइ÷फर साउथ एसिया प्रोजेक्ट कम्प्लेसन एण्ड डिसिमेनिसन वर्कसपसम्बन्धी कार्यक्रममा सचिव गोविन्दबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, सासेक विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फण्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड) बाट नेपाल सरकारलाई प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने, यही साउन १२ र १३ गते जापानको ओसाकामा आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन सचिव डा रामप्रसाद घिमिरेलाई स्वीकृति दिने, लोकमान्य गोल्छा, काठमाडौँ (हाल नेपालका लागि पोल्याण्डका अवैतनिक महावाणिज्यदूत)लाई पोल्याण्ड सरकारबाट प्रदान गरिने अफिसर्स क्रस अफ द अण्डर अफ मेरिट पदक ग्रहण गर्न स्वीकृति दिने समेत बैठकले निर्णय गरेको छ ।

यस्तै रुपन्देही जिल्ला साविक सिलौटिया गाविस–६ को सरकारी प्रकृतिको ० ९–० बिघा जग्गा प्रशासकीय भवन निर्माणका लागि मर्चवारी गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने, महोत्तरी जिल्ला साविक औरही गाविस–५ को ०–१५–१० बिघा जग्गा प्रशासकीय भवन निर्माणका लागि औरही नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने, नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका लागि सिद्धान्त स्वीकृत गर्ने, नेपाल विद्युत् प्राधिकरणलाई सिन्धुपाल्चोकको जुगल गाउँपालिका र बाह्रबीसे नगरपालिकामा बलेफी करिडोर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनको ९ दशमलव ८७५७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, लालुपाते हाइड्रोपावर कम्पनी प्रालिलाई मनाङको नासो गाउँपालिकामा रहेको दाना खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वनको ४ दशमलव ८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।

सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहिबार फिर्ता पठाइएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।दुवै सदनबाट पारित भइ आएको सो संशोधन विधेयक प्रमाणिकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष आएको थियो ।

बेँसीसहर-चामे सडकमा भिरबाट मर्स्याङ्दीमा अटोरिक्सा खस्दा ६ जना घाइते

लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् ।
बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर-६ खरखरे भिरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो ।

गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङ तथा नुवाकोटको तादी गाउँपालिका-२ की ४५ वार्षीया सुस्मिता तामाङ र अटोरिक्सा चालक मस्र्याङ्दी-४ का ३० वर्षीय टोपबहादुर लामा घाइते भएका छन् । स्यानुमाया गुरुङ र सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।अन्य घाइतेको बेँसीसहर-८ स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभा सभापति देउवाले बहुमत ल्याउने वातावरण सृजना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

“अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधित्व भएको छ । कुनै एक पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ”, उहाँले भन्नुभयो, “बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ । एकताको सुरुवात धादिङबाटै गर्नुहोस् ।”

कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो । स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शशाङ्क कोइरालालगायत केन्द्रीय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, पूर्वसभापति रमेश धमलासहित नेताहरुले श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै स्व नेता उप्रेतीका विगतका सङ्घर्ष सम्झदै प्रशंसा गर्नुभयो ।

विसं १९८५ मा धादिङको नौबिसेमा जन्मिनुभएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

जलवायु कदम ऐच्छिक नभएर कानुनी दायित्व हुने अन्तरराष्ट्रिय अदालतको निर्णय

काठमाडौँ, ८ साउनः अन्तरराष्ट्रिय अदालत (आइसिजे) ले जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रहरूको कानुनी दायित्वबारे ऐतिहासिक फैसला सुनाएको छ । उक्त परामर्शयुक्त फैसलाले जलवायु परिवर्तनको सामना गर्न राष्ट्रहरूको कर्तव्यलाई स्पष्ट रूपमा अन्तरराष्ट्रिय कानुनमार्फत पुष्टि गरेको हो ।

आइसिजेले जीवाश्म इन्धन उत्पादन, अनुमति तथा अनुदानलाई ‘अन्तरराष्ट्रिय अपराध सरहको कार्य’ ठहर गर्न सकिने चेतावनीसमेत दिएको छ । अदालतले जलवायु कदम अब ऐच्छिक नभएर कानुनी दायित्वको रुपमा व्याख्यासमेत गरेको छ ।

अदालतले वातावरणीय क्षति रोक्ने, हालका र भावी पुस्तालाई जलवायु सङ्कटको असरबाट जोगाउने तथा अन्तरराष्ट्रिय सहकार्यको कानुनी दायित्व रहेकोसमेत औँल्याएको छ । जलवायु सन्धिहरू र अन्तरराष्ट्रिय अभ्यासका आधारमा अब जीवाश्म इन्धनको प्रयोग घटाउनु, उत्सर्जन रोक्नु र प्रभावित मुलुकलाई सहयोग गर्नु राष्ट्रहरूको कानुनी जिम्मेवारी भएको अदालतले ठहर गरेको छ ।

अदालतले सहकार्यलाई जलवायु सङ्कट समाधानको आधार मानेको छ र सन्धि तथा यसको कार्यान्वयनलाई यसको स्पष्ट अभिव्यक्ति भनेको छ । अदालतले अब जीवाश्म इन्धनलाई तत्काल बन्द गर्न राष्ट्रहरूलाई कानुनी आदेश दिएको छ । जलवायु विज्ञहरुले यो निर्णय साना द्वीप राष्ट्र, प्रशान्त समुदाय, युवापुस्ता र भावी पुस्ताको जीवनरक्षाको अवसरका रुपमा लिएका छन् ।

अदालतको उक्त निर्णय जलवायु न्यायको निम्ति ऐतिहासिक भएको लवायुविद् मञ्जित ढकाल बताउनुहुन्छ । यो निर्णयले धेरै समयदेखि जलवायु सङ्कटबाट प्रताडित राष्ट्रहरू र समुदायहरूको मागलाई कानुनी मान्यता दिएको, धनी र उच्च उत्सर्जन गर्ने राष्ट्रहरूले अब कानुनी रूपमा आफ्नो उत्तरदायित्व पूरा गर्न बाध्य हुने उहाँको भनाइ छ । उत्सर्जन कटौती, जीवाश्म इन्धनको विस्तार रोक्नु र प्रभावित राष्ट्रलाई वित्तीय सहयोग, अनुकूलन सहायता तथा राहत प्रदान गर्नु अनिवार्य हुने अदालतको ठहर छ ।

देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभइ सङ्कल्प बन्नुपर्ने बताउनुभएको छ ।‘नेपाल खबर डटकम’को १०औँ वार्षिक दिवसका अवसरमा आयोजित आर्थिक सम्मेलन ‘राइजिङ नेपाल समिट’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले समृद्धि केही सीमित व्यक्तिले नाफा कमाउने कुरा मात्र नभइ सामाजिक न्याय समानता र विश्वासको स्रोत भएको बताउनुभयो ।

समृद्धिका लागि राष्ट्रिय पुँजीको निर्माण तथा रुग्ण उद्योगको पुनःव्यवस्थापन र पुनःउत्थान गरिनुपर्ने र प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई श्रृङ्गार गरेर पर्यटनको विकासलाई अघि बढाउनुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो । पाल्पाली करुवा, भोजपुरे खुकुरी र पाटनका ढलौटका उत्पादनलाई ब्राण्डिङ गरी उपहार सामग्रीका रुपमा अन्तरराष्ट्रिय बजारमा लैजान सकिने उहाँको भनाइ थियो । उहाँले युवा उद्यम बढाउन आवश्यक नीति बनाउने तथा श्रम पलायनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीका आर्थिक सलाहकार एवं पूर्वअर्थमन्त्री युवराज खतिवडाले अहिले निरपेक्ष गरिबी निकै घटेको, ४ प्रतिशतभन्दा कम राष्ट्रिय गरिबी रहेको र ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धिको तथाङ्कले आर्थिक अवस्था सुदृढ हुँदै गएको देखिने बताउनुभयो । पछिल्लो तीन वर्षमा निजी क्षेत्रबाट लगानी घटेको तथा विदेशबाट लगानी नआएकाले केही समस्या देखिएको उहाँले बताउनुभयो ।

व्यावसायिक वातावरणमा नेपालले प्रसस्त प्रगति गरेको अन्तरर्राष्ट्रिय प्रतिवेदनले देखाएको उल्लेख गर्नुभयो । विगतमा जस्तो सुरक्षा, मजदुर, लोडसेडिङ तथा तरलताका समस्या समाधान भएको आर्थिक सलाहकार खतिवडाले बताउनुभयो । निजी र सार्वजनिक क्षेत्र एकअर्काको प्रतिस्पर्धी नभइ परिपुरक भएको उहाँले बताउनुभयो । समृद्धिको लाभ सबैले पाउनुपर्छ भन्ने अवधारणाअनुसार सरकार चलिरहेको उहाँले बताउनुभयो ।

“समाजवाद उन्मुख भनिएका कारण लगानी आएन कि भन्ने भाष्य निर्माण गर्नुहुँदैन”, आर्थिक सलाहकार खतिवडाले भन्नुभयो । भाडामा जमिन दिने तथा हदबन्दीमा लचकता ल्याउन सरकारले सहजीकारण गरिरहेको उहाँले बताउनुभयो । निजी क्षेत्रले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उहाँको भनाइ थियो । आर्थिक सल्लाहकार खतिवडाले आर्थिक मुद्दामा राजनीतिक दलबीचको अन्तर साघुरो हुँदै गएको जिकिर गर्दै यसलाई आर्थिक विकासको सकारात्मक वातावरणका रुपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको विषय प्रस्तुत गर्दै नेपाल उद्योग वाणिज्य महासङ््घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले थुप्रै कानुनी सुधार गरेको उल्लेख गर्नुभयो । देशमा लगानीको वातावरण छैन भन्ने नकारात्मक भाष्यलाई सच्याउन महासङ्घलगायतले घरेलु पुँजी परिचालनका लागि रु १० अर्बको कोष खडा गरेको उहाँले बताउनुभयो । लगानीको वातावरण बनेको प्रमाणका रुपमा मध्यपूर्वको लगानी अगाडि बढेको, राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिले साथ दिएको र घरेलु लगानीलाई प्रवर्द्धन गर्ने कुरामा प्राथमिकता दिएकाले यसलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको उहाँको भनाइ थियो । “कानुन र नीति जस्तै सरकारी निकायको ऋण शैली र प्रवृत्ति उद्योग मैत्री होस्”, उहाँले भन्नुभयो ।

चलचित्र ‘रियाल रिङ्गेट’को प्रचार अभियान कलेज कलेजमा, गायक रामचन्द्र र कवि नाथनको साथमा कविता र गीतको प्रस्तुति

काठमाडौं – यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ ले प्रदर्शन पूर्वको प्रचारमा विशेष जोड दिइरहेको छ। चलचित्रको प्रचार टोली अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फरक शैलीमा प्रचार अभियान सञ्चालन गरिरहेको छ।

क्याम्पस क्याम्पसमा भइरहेको यो प्रचारमा चलचित्रका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको सक्रिय सहभागिता रहेको छ। उनीहरू हालसम्म विनायक सिद्ध कलेज, द इनसाइट भिजन एसएस कलेज, साइपाल एकेडेमी लगायतका शिक्षण संस्थामा पुगेका छन्।

यो प्रचार अभियानको विशेषता भनेको कविता र गीतको संयोजन हो। कवि रायनले आफ्नै लेखनका मार्मिक कविताहरू प्रस्तुत गर्दा गायक काफ्लेले त्यसमा सङ्गीत र स्वरको स्पर्श थपेर विद्यार्थीहरूलाई भावनात्मक रूपमा छोइरहेका छन्। विद्यार्थीसँग प्रत्यक्ष संवाद, कविता वाचन र गीतमार्फत चलचित्रको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरिँदैछ।

कवि रायनले चलचित्र ‘रियाल रिङ्गेट’ का लागि विशेष कविता रचना तथा वाचनसमेत गरेका छन्, जुन चलचित्रमा पनि समावेश छ। नेपाली चलचित्रमा कमै मात्र प्रयोग हुने कविता विधालाई यस चलचित्रले विशेष प्राथमिकता दिएको देखिन्छ।

यसैबीच, चलचित्रको ट्रेलर पनि सार्वजनिक भइसकेको छ, जसमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्नुपरेका सङ्घर्ष र पीडाको चित्रण देखाइएको छ। निर्देशक विभोर पोखरेलका अनुसार, चलचित्रले नेपाली श्रमिकहरूको वास्तविक कथा बोल्ने प्रयास गरेको छ। चलचित्रको नाम ‘रियाल रिङ्गेट’ नै कतार, साउदी अरब र मलेसिया जस्ता नेपालीका प्रमुख श्रम गन्तव्य राष्ट्रहरूलाई सङ्केत गर्छ।

चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ भने सङ्गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको योगदान रहेको छ।

विश्वभरका पशुको कल्याणका लागि महायज्ञ गर्न ओडिसाका पण्डित पशुपतिमा

काठमाडौँ, ८ साउनः विश्वभरका सबै पशुलाई पशुपतिनाथले कल्याण गरुन् भन्ने कामनासहित पशुपति क्षेत्रमा राम कथा महायज्ञ सञ्चालन भइरहेको छ ।
पशुपतिनाथले विश्वभरका सबै पशुको कल्याण गर्ने भन्दै भारतको ओडिसास्थित विश्व सनातन ट्रष्टले पशुपति क्षेत्रमा आएर राम कथाको आयोजना गरिरहेको हो ।

पशुपति क्षेत्रमा आएर महायज्ञ गर्दा पशुपतिनाथबाट विश्वभरका पशुको उन्नति हुने भन्दै गत आइतबारदेखि राम कथा महायज्ञ सुरु भएको हो ।

महायज्ञ गर्न भारतका विभिन्न स्थानबाट करिब दुई सयजना भक्तजन काठमाडौँमा आएका छन् । पशुपति क्षेत्रस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालामा पण्डित काशीनाथ मिश्रले राम कथा वाचन गरिरहनुभएको छ ।

यो महायज्ञ आगामी शनिबारसम्म सञ्चालन हुने ट्रष्टले जनाएको छ । यसबाट धार्मिक पर्यटन प्रवर्द्धन भएको कथास्थलमा भेटिनुभएकी मनिषा निरौलाले बताउनुभयो ।

महायज्ञमा दैनिक करिब पाँच सयजना सहभागी हुने गरेका छन् । दिउँसो ३ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म कथा वाचन भइरहेको छ ।

ट्रष्टले सनातन धर्म, संस्कृतिको संरक्षणका लागि नेपाल, भारत, अमेरिका, क्यानडा, बेलायतलगायत देशमा यस्तो यज्ञ आयोजना गरिरहेको ट्रष्टका अध्यक्षसमेत रहनुभएका पण्डित मिश्रले बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

लुम्बिनी, ८ साउनः लुम्बिनी प्रदेश सरकारले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनाको औचित्य प्रमाणित गर्न नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ ।

संवैधानिक र कानुनी सुधार, सुशासन र पारदर्शिता, विकास परियोजना, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, कृषि र रोजगार, पयर्टन, संस्कृति र वातावरण तथा जनतासँगको संवादलगायत काममा प्रदेश सरकार सक्रिय रहेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा ‘एक वर्षे कार्यकालका उपलब्धि’ विषयक कार्यक्रम आयोजना गरी एक वर्षका उपलब्धि सार्वजनिक गर्नुभएको हो । सरकार गठन भएको एक वर्षको अवधिमा प्रदेश सरकारले ७६ बुँदे उपलब्धि सार्वजनिक गरेको छ ।

सङ्घीयताको सवलीकरण र प्रदेशलाई सक्षम बनाउन शासकीय सुधार, नीति तथा कानुन निर्माणसँगै त्यसको कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकारले सफलता हासिल गरिरहेको जनाइएको छ ।

सङ्घीयताको संस्थागत अभ्यासमा प्रदेशले अग्रणी भूमिका निर्वाह गरेको, सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएका नीति तथा कार्यक्रमले प्रदेशलाई सङ्घीय अभ्यासको ढाँचामा उभ्याउने प्रयास गरिएको उहाँले बताउनुभयो ।

एक वर्षको अवधिमा सरकारले आफ्ना काम जनस्तरसम्म पुर्‍याउँदै विकासप्रतिको नागरिकको अपेक्षा सम्बोधन गर्न सफल भएको, सुशासन, पारदर्शिता र जवाफदेहितालाई नागरिकस्तरमा अनुभूत गराउन प्रदेश सरकारले अहम भूमिका निर्वाह गरिरहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

सरकारले चालु खर्चलाई घटाउँदै विकास खर्चलाई बढाएर लैजाने सन्दर्भमा अनावश्यक चालु खर्च न्यून गर्दै लगिरहेको छ भने पूर्वविशिष्ट श्रेणीका पदाधिकारीलाई दिँदै आइएको सेवासुविधा पनि कटौती गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारको खर्च गर्ने क्षमतासँगै आम्दानीसमेत निरन्तर बढ्दै गइरहेका बताउँदै उहाँले यो एक वर्षको उपलब्धि मानिएको उल्लेख गर्नुभयो ।

यस अवधिमा आर्थिक वर्ष २०८०/८१ मा कुल खर्च ६६ दशमलव १४ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८१/८२ मा ७२ दशमलव शून्य नौ प्रतिशत पुगेको छ । प्रदेश सरकारले गरेको नीतिगत सुधार एवम् प्रभावकारी अनुगमनका कारण प्रदेशको आन्तरिक आम्दानी बढ्दै गएको मुख्यमन्त्री आचार्यले धारणा राख्नुभयो ।

उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ५० करोड आन्तरिक राजस्व बढेको छ । अघिल्लो वर्ष रु चार अर्ब ५० करोड राजस्व सङ्कलन भएकामा गत आवमा रु पाँच अर्ब ६४ करोड राजस्व सङ्कलन भएको हो ।

गौरवका आयोजनामा फड्को
प्रदेशका गौरवका आयोजनासहित प्रदेशस्तरीय अन्य आयोजना तथा कार्यबाट स्वास्थ्य, शिक्षा, प्रशासनिक सुधार र सडक सञ्जालमा उल्लेखनीय प्रगति हासिल भएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई मुलुककै नमुना अस्पताल बनाउने लक्ष्यका साथ १२ तलाको एक हजार दुई शय्याको अस्पताल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ ।

हालसम्म २७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको उक्त अस्पताल पाँच वर्षभित्र पूर्णरूपमा सञ्चालनमा ल्याउने योजनाकासाथ प्रदेश सरकार अघि बढिरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।

करिब रु छ अर्ब १८ करोड लागतमा विसं २०८५ पुससम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कार्यारम्भ भएको उक्त अस्पतालको एक वर्षमा भौतिक प्रगति २७ प्रतिशत पुगेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

यस अस्पतालले नेपालको उत्कृष्ट भौतिक पूर्वाधारसहित अत्याधुनिक सेवा सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ । साथै, यो आयोजनाले बुटवल–भैरहवा क्षेत्रलाई समग्र आर्थिक केन्द्र (हव)का रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास सरकारले लिएको छ ।

प्रदेश राजधानीको एकै परिसरमा प्रदेश सरकार र प्रदेश सभाको कार्य सञ्चालन भइरहेका छन् । प्रदेशको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेका छन् । अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

नदी सभ्यतामा आधारित व्यवस्थित राजधानी बनाउने उद्देश्यले सहरको निर्माण अघि बढिरहेको छ । राजधानीको समग्र विकासअन्तर्गत नयाँ बस्ती क्षेत्रमा १५० बिघा क्षेत्रफलमा ‘ल्याण्डपुलिङ्ग’ अवधारणामा आयोजना सुरु हुने तयारीमा रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

शैक्षिक क्षेत्रमा प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै बाँकेमा प्राविधिक विश्वविद्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने विद्यार्थी सङ्ख्यामा पनि वृृद्धि हुँदै गएको छ । हाल विभिन्न सङ्कायमा गरी २१० विद्यार्थी अध्ययनरत छन् ।

सूचना प्रविधिको विकाससँगै प्राविधिक विषयमा विद्यार्थीको रुची बढेको छ । प्रदेशले लुम्बिनीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने उद्देश्यसहित लुम्बिनी प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याएको हो । अघिल्लो वर्ष ३३ जना विद्यार्थी भर्ना भएकामा एक वर्षको अवधिमा यो सङ्ख्या २१० पुगेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।

सडक पूर्वाधार विकासमा प्रदेश सरकार योजनाबद्ध हिसाबले अगाडि बढिरहेको छ । रामपुर–कपुरकोट सडकलाई प्राथमिकतामा राखेर प्रदेश गौरवको आयोजनाका रूपमा कार्यान्वयनमा ल्याइएको छ ।

रामपुर–कपुरकोट सडक आयोजनाअन्तर्गत पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पा जिल्लामा कालोपत्र, सडक स्तरोन्नति र संरचना निर्माणमा महत्त्वपूर्ण प्रगति हासिल भएको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार हालसम्म कुल ४४ दशमलव ४० किमी सडकमा कालोपत्र सम्पन्न, तीन दशमलव आठ किमीमा ग्राभेल सडक सम्पन्न र २१ दशमलव १५ किमी सडक कालोपत्र गर्ने तयारीमा रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले उपलब्धिहरूको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार सङ्घीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नुभयो ।

“सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौँ”, उहाँले भन्नुभयो, “जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ, सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।”

उहाँका अनुसार चालु खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको बताउँदै उहाँले यसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले कानुन निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । जनताले मूल्याङ्कन गर्न सक्नेगरी पारदर्शी रूपमा काम भएका बताउँदै उहाँले अब बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरू यसै अधिवेशनमा पेस गरेर पारित गरिने जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदी व्यापार सम्झौताका लागि बेलायतमा

लन्डन, ८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार व्यापार सम्झौताका लागि बेलायत प्रस्थान गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बिहीबार बेलायतमा स्वागत गर्ने तथा यसअघिको घोषणा बमोजिम बेलायत–भारत व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

मोदीले बेलायतमा आफ्नो छोटो प्रवासका क्रममा राजा चाल्र्स तृतीयलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि मोदीको यो चौथो बेलायत भ्रमण हो ।

स्टार्मर र मोदीले गत महिनाको एयर इन्डियाको विमान दुर्घटनाबारे पनि छलफल गर्ने सम्भावना छ । पश्चिमी भारतको अहमदाबादबाट उडान भरेपछि लन्डन जाने विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।गत मे महिनामा स्टार्मर र मोदीले बेलायतको अर्थतन्त्रमा वार्षिक चार अर्ब ८० करोड पाउन्ड ९छ अर्ब ५० करोड डलर० थप गर्ने गरी स्वतन्त्र व्यापार सम्झौता गरेका थिए।

“भारतसँगको हाम्रो ऐतिहासिक व्यापार सम्झौता बेलायतका लागि ठूलो जीत हो”, स्टारमरले बुधबार राति एक विज्ञप्तिमा भने ।

स्टारमरको एक वर्ष पुरानो सरकारले वर्षौँको स्थिर वृद्धि र उच्च मुद्रास्फीतिले कमजोर पारेको अर्थतन्त्रलाई उक्साउन सङ्घर्ष गरिरहेको छ । भारत र बेलायतले यो सम्झौताले दुई देशबीचको व्यापारलाई २५ अर्ब ५० करोड अर्ब पाउन्डले बढाउने अपेक्षा गरेका छन् ।

बेलायत र भारत क्रमशः छैटौँ र पाँचौँ ठूलो विश्वव्यापी अर्थतन्त्र हुन् । यी दुई मुलुकबीचको व्यापार सम्बन्ध लगभग ४१ अर्ब पाउन्ड छ र लगानीले दुवै देशमा छ लाखभन्दा बढी रोजगारीबाट लाभान्वित हुनेछन् ।

बुधबार भारत छोड्दा मोदीले साझेदारीले ‘पछिल्ला केही वर्षमा महत्त्वपूर्ण गति हासिल गरेको’ बताए । “हामीसँग दुवै देशमा समृद्धि, वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले हाम्रो आर्थिक साझेदारीलाई अझ बढाउने अवसर हुनेछ”, उनले भने ।

यो सम्झौताले भारतमा ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरणहरूसहित बेलायतका सामानहरूको आयातमा कर कटौती गर्नेछ । बदलामा बेलायतले भारतबाट फ्रोजन झिँगेमाछासहित कपडा, जुत्ता र खाद्य उत्पादनहरूमा शुल्क कटौती गर्नेछ ।

द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द

बैङ्कक, ८ साउन । थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाली सेनाको रकेटले दुई देशको सीमा क्षेत्रमा प्रहार गरेको ‘नागरिक लक्षित आक्रमण’ मा कम्तिमा तीन जना घाइते भएको थाई सेनाले बताएको छ ।

सामाजिक सञ्जालमा उप–रक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ ।

सूचना विभागका महानिर्देशक तथा विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज प्लाङ्कुरले पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।

स्थानीय मिडियाले सुरिन प्रान्तको विवादित ता मुएन थोम मन्दिर नजिकै बाट लडाइँ सुरु भएको रिपोर्ट गरेको छ । कम्बोडियाली सेनाले थाई सीमामा आक्रमण गरेको थाई सेनाले जनाएको छ ।

कम्बोडियाले ता मुएन थोम भग्नावशेषबाट करिब दुई सय मिटर पूर्वमा थाइल्यान्ड सैन्य आधारतिर गोली हानेको सेनाको फेसबुक पेजलाई उद्धृत गर्दै बैंकक पोस्टले जनाएको छ । थाई सेनाले दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोएङ जिल्लामा छ वटा एफ–१६ लडाकू जेट तैनाथ गरेको बताएको छ ।

द नेसनको रिपोर्टअनुसार सुरिन प्रान्तको ता मुएन थोम मन्दिर वरपरको क्षेत्रमा गोली चल्दा दुई थाई सैनिक घाइते भएका छन् । द्वन्द्वबाट प्रभावित क्षेत्रहरूमा ता मुएन थोम मन्दिर, ता क्वाई मन्दिर, चोङ बोक, प्रेह विहार, चोङ एन मा र चोङ चोम रहेका छन् ।

उबोन रत्चथानी प्रान्तको चोङ एन मा सीमा नजिकै भएको विस्फोटमा पाँच थाई सैनिक घाइते भएको एक दिनपछि आक्रमण भएको जनाइएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाई सेनाले ओड्डर मिन्चे प्रान्तको ता मोने थोम र ता क्राबे मन्दिरहरूमा कम्बोडियाली सैन्य स्थानहरूमा आक्रमण गरेको र आफ्नो आक्रमणलाई मोम बेइ क्षेत्रमा विस्तार गरेको बताएका छन् ।

नोमपेन पोस्टका अनुसार उनले ‘कम्बोडिया सधैँ शान्तिपूर्ण रूपमा मुद्दाहरूको समाधान गर्न कटिबद्ध रहेको तर यस अवस्थामा हामीसँग यस सशस्त्र आक्रमणको विरुद्ध बलपूर्वक जवाफ दिनु बाहेक कुनै विकल्प नभएको’ बताएका छन् ।

यसैबीच, कम्बोडियाको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै थाइल्यान्डले अत्यधिक सङ्ख्यामा सेना तैनाथ गरेको, भारी हतियार प्रयोग गरेको र कम्बोडियाको क्षेत्र जबरजस्ती कब्जा गर्ने प्रयासमा हवाई आक्रमण गरेको आरोप लगाएको छ ।

बिहीबार देखि लागु हुने गरी बुधबार सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल बुन्सिन पाडक्लाङले सीमा बन्द गरी सुरिनको मन्दिरका भग्नावशेषहरू बन्द गर्न आदेश दिएको बैङ्कक पोस्टले जनाएको छ ।

बुधबार थाई सरकारले कम्बोडियाका राजदूत हुन सारोउनलाई निष्कासन गरी थाई राजदूतलाई फिर्ता बोलाइएको बैङ्क पोस्टले जनाएको छ ।सीमाको थाईतर्फका क्षेत्रका गाउँलेहरूलाई यस क्षेत्र खाली गर्न आदेश दिइएको छ ।

गत महिना कम्बोडियाका पूर्व प्रधानमन्त्री तथा सिनेटका वर्तमान अध्यक्ष हुन सेनले थाई प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्रासँगको विवादित सीमासम्बन्धी कुराकानी चुहावट गरेको आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले सिनावात्रालाई प्रधानमन्त्रीबाट निलम्बन गरेको थियो ।

एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचविखनलाई विस्तार गर्न सहज वातावरण बनेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रविधिको दुरुपयोग गरेर अपराधका प्रकृतिसँगै मानव बेचविखनका प्रकृतिहरु बदलिएको बताएका हुन् ।

संसदमा प्रस्तावमा गरिएको मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ माथि आफ्नो धारण राख्दै उनले भने, ‘प्रविधिको दुरुपयोगले अपराधका प्रकृतिहरु बदलिएका छन् । बदलिएका अपराधका प्रकृतिहरुलाई कसरी हामीले नियन्त्रण गर्ने महत्वपूर्ण कुरा छ । प्रविधिले मानव बेचविखनलाई विस्तार गर्न वातावरण सहज बनेको अवस्था छ ।’

उनले वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) गर्ने विधेयकले काम गर्नुपर्ने बताए । उनले भने, ‘मानव तस्करी र बेचविखन दुई तरिकाले भइरहेको छ ।

एउटा अवैधानिक समुद्र पार, बोर्डर पार र स्थानीयरुपमा पनि भइरहेका होलान् । वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको छ । खाडि मुलुकमा पुगेका महिलाहरु एकदमै यौन शोषणमा पर्नुभएको र ठुलो दुख खेप्नु परेको छ । वैधानिकरुपमा भिजिट भिषा लगायत अन्यका रुपमा बेचिरहेका छन् । त्यसलाई यो ऐनले कसरी नियन्त्रण गर्छ हेर्न जरुरी छ ।’उनले युवाहरु गाउँबाट सहर पस्दा नै बेचिन सुरु हुने भन्दै एउटै युवा पटक पटक बेचिने गरेको बताए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू

काठमाडौं । साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

निर्णयहरुमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई मलेसियामा हुने नेपाल आदिवासी जनजाति महासंघको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ । कार्यक्रम साउन १८ गतेका लागि तय गरिएको छ ।

यसैगरी जापानको टोकियोमा भदौ ९–१३ सम्म हुने ब्कष्ब एबअषष्अ न्चयगउ यल ःयलभथ ीबगलमभचष्लन (ब्एन्) कार्यक्रममा ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने मन्त्री गुरुङले बताए ।थाइल्याण्डको बैंककमा साउन १३–१५ गते आयोजना हुने ऋब्च्भ् ायच क्यगतज ब्कष्ब ध्यचपकजयउ मा सचिव गोविन्दबहादुर कार्की सहभागी हुनेछन् ।

जापानको ओसाकामा साउन १२–१३ मा हुने नेपाल दिवस कार्यक्रममा सचिव डा. रामप्रसाद घिमिरेले सहभागी हुनेछन् ।
यसैगरी सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजनाका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट बाट प्राप्त १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरिएको छ ।

नेपालका लागि पोल्याण्डका अवैतनिक महावाणिज्यदूत लोकमान्य गोल्छालाई पोल्याण्ड सरकारले प्रदान गर्न लागेको इााष्अभचगक ऋचयकक या तजभ इचमभच या ःभचष्त पदक ग्रहण गर्न स्वीकृति दिइएको छ ।

रुकुम (पूर्व) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय भएको छ ।यसैगरी मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाएको छ ।नेपाल स्काउटसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गरिएको छ ।

बलेफी कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका र बाह्रबिसे नगरपालिका क्षेत्रभित्र पर्ने ९.८७५७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न विद्युत प्राधिकरणलाई अनुमति दिइएको छ ।दाना खोला जलविद्युत आयोजना निर्माणका लागि मनाङ जिल्लामा ४.८ हेक्टर राष्ट्रिय वन क्षेत्र लालुपाते हाईड्रोपावर कम्पनीलाई उपयोग गर्न स्वीकृति दिइएको छ ।

एनआरएनए अष्ट्रेलिया नर्दन टेरीटोरी : नयाँ कार्यसमितिका लागि सन्दीप भुषालको उम्मेद्धवारीले पायो सर्वत्र चर्चा

काठमाडौँ । गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालको नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी परेको छ ।

निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा भुषाले उम्मेदवारी दर्ता गराएका हुन् । भुषाल लामो समयदेखि स्वयम सेवकका रुपमा काम गरी समुदायको बिचमा लोकप्रियता हाँसिल गरिसकेका उम्मेद्धवार हुन् । उनले उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने कुरामा जोड दिएका छन्।

नर्दन टेरीटोरीमा अध्यक्ष पदका लागि भवानी पौडेल, उपाध्यक्षमा रविन भुषाल, सचिवमा आकाश बुढाथोकी तथा युथ कोअर्डिनिडेरमा अनुपम ढुंगाना बलियो दाबेदारका रुपमा देखिएका छन्। नर्दन टेरीटोरी राज्यमा २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ।

नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए ।

उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको बताउँदै गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको बताए ।

उनले लेखेका छन्,‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।’