एउटा दललाई बहुमतसहित विजयी गराएर इतिहास रच्नुपर्नेमा रवि लामिछानेको जोड
तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान समयमा मुलुकलाई निकाश दिन निर्वाचन प्रमुख माध्यमका रूपमा रहेको बताएका छन् । शुक्रबार यहाँका मतदातालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत आम मतदाताले एउटा दललाई बहुमतसहित विजयी गराएर इतिहास रच्नुपर्नेमा जोड दिए।
सभापति लामिछानेले एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आएकाले सक्षम र नेतृत्व लिनसक्ने व्यक्ति र दल छनोट गर्न आममतदातालाई आग्रह गरे। चुनावी प्रचारका लागि भेटघाट गर्दै उहाँ आज रिडी हुँदै तम्घास आएका हुन् ।
लामिछानेले आफूहरू देश बदल्ने अभियानमा सहभागी भएकाले यस अभियानमा सहकार्य र समन्वय गरी साथ दिन आनागरिकलाई आग्रह गरे । उनले अहिले गलत नेतृत्व छाने देशले दुःख पाउने धारणा राख्नुभयो । उहाँले सदरमुकाम तम्घासमा रहेको सहिद शमशेरबहादुर खत्रीको शालिकमा माल्यार्पण गरेका थिए ।
रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नं १ मा सागर ढकाल र २ मा गोविन्द पन्थी उम्मेदवार भएका छन् । जिल्लामा कूल दुई लाख २९ हजार ५४९ मतदाता छन्।
