`

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढेhttps://nepalonehd.com/252593

मुस्ताङ, १ साउनः उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । सडक तथा हवाई यातायात सहज भएपछि मुस्ताङ भ्रमण गर्नेहरु बढेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मुस्ताङमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी गरी कूल सात लाख पाँच हजार ७७९ पर्यटक आएका छन् । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ५५ दशमलव तीन प्रतिशत अर्थात दुई लाख ५१ हजार ४५३ ले बढी हो । आव २०८०/८१ मा मुस्ताङमा कूल चार लाख ५४ हजार ३२६ पर्यटक आएका थिए ।

आव २०८१/८२ मा आन्तरिकतर्फ पाँच लाख ५५ हजार ३२६ र बाह्यतर्फ एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन् ।

यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता लगायतका कारण पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बढेको जानकार बताउँछन् । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड यहाँका महत्वपूर्ण धार्मिक पर्यटक गन्तब्यका रुपमा अंग्रपंक्तिमा पर्दछन् ।

मुस्ताङका ऐतिहासिक तथा धार्मिक गुम्बा, मठमन्दिर, माने, छोर्तेन, मानव निर्मित गुफा, मुस्ताङी सांस्कृतिक राजाको दरबार, कालिगण्डकी करिडोर, तालतलैया पर्यटकीय गन्तव्यमा पर्छन् ।

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

गण्डकी, १ साउनः पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०÷८१ को तुलनामा गत आवमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा गत आव २०८१÷८२ दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार सात सय ८६ र अन्य देशका एक लाख २० हजार तीन सय २७ पर्यटक रहेका छन् । एक वर्षको अन्तरमा ५५ हजार एक सय ३३ पर्यटक बढेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । गत आवमा सबैभन्दा बढी चैत महिनामा ४४ हजार नौ सय ७७ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका थिए । सबैभन्दा कम साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक उक्त आएका थिए ।

यस्तै भदौमा १३ हजार दुई सय ७९, असोजमा ३० हजार सात सय ३२, कात्तिकमा ३३ हजार तीन सय १०, मङ्सिरमा १४ हजार ११, पुसमा १४ हजार ३३, माघमा नौ हजार ३४, फागुनमा १९ हजार चार सय ७०, वैशाखमा ४१ हजार आठ सय ५३, जेठमा ३१ हजार नौ सय ५५ र असारमा १९ हजार सात सय ४९ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले बताउनुभयो ।

दुई मुख्य पर्यटकीय याम असोज–कात्तिक र चैत–वैशाखमा पदयात्राका लागि बढी पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । सोही याममा धार्मिक भ्रमणमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहने गरेको प्रमुख डा कडरियाले बताउनुभयो । पर्यटक आगमन दरमा बर्सेनि वृद्धि भइहेको उहाँको भनाइ छ । आव २०७९÷८० मा एक लाख ७२ हजार एक सय आठ पर्यटक यस क्षेत्रमा भित्रिएकामा पछिल्लो आवमा आइपुग्दा एक लाख बढी पर्यटक थपिएका हुन् ।

कोभिड–१९ महामारीका बेला थलिएको यस क्षेत्रको पर्यटन पुनः पुरानै लयमा फर्किएको आयोजना प्रमुख डा रविन कडरियाले बताउनुभयो । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य हो । वर्षात् र जाडोयाममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । कार्यालयले अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ ।

प्रधानसेनापतिद्वारा सहायकरथी झा र राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १ साउनः प्रधानसेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायकरथीमा बढुवा हुनुभएका धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापतिले उहाँलाई बढुवा भएको पद सहायकरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । नेपाल सरकार मन्त्रिपरिषदले उहाँलाई गत असार ३० गते सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सेनाले सहायकरथी झालाई काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग आयोजना प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि उहाँ गत चैत १२ देखि सोही आयोजनाको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

काठमाडौँ–तराई/मधेस द्रूतमार्गको असार मसान्तसम्म भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ ।

आयोजनाअन्तर्गत सात वटा सुरूङमध्ये प्याकेज नं २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरूङको ‘ब्रेकथ्रु’ सम्पन भएको र बाँकी निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा रहेका जम्मा ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकामा हालसम्म पाँच वटा पुल निर्माण भइसकेका छन् । यसअघि झासँग कटारी–ओखलढुङगा, वेनी –जोमसोम, मुसिकोट बुर्तीबाङ सडक आयोजनाको नेतृत्व गरी जिम्मेवारी पुरा गरिसक्नुभएको अनुभव छ ।

यसैगरी, सहायकरथीमा बढुवा हुनुभएका दिवाकरविक्रम राणा र प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति हुनभएका मोहित पौडेललाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ, १ साउनः नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ ।

श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिक न्यूनतम पारिश्रमिक रु १७ हजार ३०० थियो ।

आजदेखि लागू हुने गरी भएको सहमतिअनुसार मासिक आधारभूत पारिश्रमिक रु १२ हजार १७० र महङ्गी भत्ता रु सात हजार ३८० हुनेछ । मन्त्रालयका अनुसार श्रमिकले दैनिक आधारभूत पारिश्रमिक रु ४७० र महङ्गी भत्ता रु २८४ प्राप्त गर्नेछन् भने प्रतिघण्टा आधारभूत पारिश्रमिकरु ६३ र महङ्गी भत्ता रु ३८ हुनेछ । आंशिक समयमा मात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम पारिश्रमिक रु १०७ हुने सहमति भएको छ । उक्त सहमति चिया बगानबाहेकमा श्रमिकको हकमा लागू हुने मन्त्रालयको भनाइ छ ।

सहमतिपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले सबै पक्षलाई धन्यवाद दिनुभयो । “श्रमिकको न्यूनतम पारिश्रमिक तोकेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार ढङ्गले लाग्नुपर्छ ।”

न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक तथा श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले लामो समयदेखिको परामर्श, समन्वय र गहिरो छलफलपछि सहमति जुटेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहमतिको स्वागत गर्नुभयो । उहाँले भन्नुभयो, “दिगो श्रम सम्बन्ध कायम राख्न न्यूनतम पारिश्रमिकमा सहमति आवश्यक थियो, पारदर्शी छलफल र सबै पक्षको लचकताको माध्यमबाट प्राप्त सहमति हामी सबैका लागि स्वीकार्य र सन्तुलित छ ।”

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसिसि)का प्रतिनिधि जनक चौधरीले उक्त सहमति श्रमिक वर्गको जित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक हाम्रो आवाज समेटिँदै न्यूनतम पारिश्रमिकमा सहमति जुटेको छ, अब यसको कार्यान्वयन सुनिश्चित गर्न सशक्त निगरानी गरिनेछ ।”

छलफलमा मन्त्रालयका तर्फबाट संयोजक सहसचिव प्रदीप कोइराला, रोजगारदाता पक्षबाट उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका दीपक श्रेष्ठ, तथा श्रमिक सङ्गठनका तर्फबाट जनक चौधरी सहभागी हुनुहुन्थ्यो ।

सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीचको समन्वय र सहकार्यबाट सम्भव भएको यो सहमति नेपाली श्रम क्षेत्रलाई थप न्यायपूर्ण, मर्यादित र व्यवस्थित बनाउने दिशामा एक ऐतिहासिक उपलब्धि भएको बताइएको छ ।

चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुल्नु सकरात्मक रहेको बताएका छन् । बिहीबार समाज डेन्टलको २५ वार्षिक उत्सव समारोहमा बोल्दै उनले चिकित्सा क्षेत्रमा थुप्रै समस्या हुँदा पनि नीजि क्षेत्रबाट संस्थाहरु खुलिरहेको बताएका हुन् ।

उनले भने, ‘चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु छन् तर जति विकास भयो त्यति बढ्दै जान्छ । आज जस्तो अवस्था भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुलिरहेको अवस्था छ । संस्था बढेपछि जनशक्ति बढेपछि समस्या बढ्छन् । त्यसैले उल्झन बढ्ने गरी हैन सहजीकरणको लागि कानूनी प्रवर्धन गर्नुपर्छ ।’

उनले जनशक्ति भए पनि उपत्यका बाहिर जान कोही नचाएको बताए । जसले गर्दा उनले सुदुरपश्चिम, कर्णाली, मधेश प्रदेश लगायत क्षेत्रमा चिकित्सकको कमी रहेको बताए ।

‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’

कैलाली, १ साउनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका–१६ रामपुर कैलालीले आज यहाँ आयोजना गरेको बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महामहोत्सव, २०८२ को उद्घाटन गर्दै उहाँले मन्दिरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

धनगढी बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगङ्गा नदीमा पुल निर्माणमा भएको ढिलाइका कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर त्यसलाई अगाडि बढाउन आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाई निर्देशन दिनुभएको छ ।

साथै मुख्यमन्त्री शाहले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको पहलमा प्रदेश सरकारले करिब रु १३ करोड बजेट यस क्षेत्रको विकासका लागि विनियोजित गरेको बताउनुभयो ।

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणमा तीव्र वृद्धि भएको रिपोर्ट गरेको छ । इजरायली नाकाबन्दीका कारण मार्च र जुनको बीचमा यो दर दोब्बर भएको एजेन्सीले जनाएको छ ।

बुधबार विज्ञप्तिमा ५७ प्रतिशत आवश्यक चिकित्सा आपूर्ति समाप्त भएको जनाउदै युएनआरडब्लुएले चिकित्सा क्षेत्रले संसाधनहरूको गम्भीर अभावको सामना गरिरहेको जनाएको छ ।

एजेन्सीले बालबालिकाहरू उनीहरूको आँखामुनि मरिरहेको चेतावनी दिँदै उनीहरूको उपचारका लागि चिकित्सा आपूर्ति वा दिगो खानाको अभाव रहेको बताएको छ ।

नाकाबन्दीले रक्तचाप, एन्टी–परजीवी र एन्टी–फङ्गल उपचार, आँखा सङ्क्रमण उपचार, छाला उपचार र वयस्कहरूका लागि मौखिक एन्टिबायोटिकहरूका लागि औषधिहरूको पूर्ण अभाव निम्त्याएको छ । युएनआरडब्लुएले गाजामा सेवाहरू प्रदान गर्न जारी राख्नु झन् झन् कठिन हुँदै गएको कुरामा जोड दिएको छ ।

जनवरी १९ देखि सुरु भएको दुई महिनाको युद्धविरामपछि इजरायलले मार्च १८ देखि गाजाविरुद्ध आफ्नो सैन्य अभियान पुनः सुरु गरेको छ ।

इजरायली सेनाले गाजा पट्टीभरका विभिन्न क्षेत्रलाई लक्षित गरेर युद्धविरामको बारम्बार उल्लङ्घन गर्दा गाजाले अहिले अभूतपूर्व मानवीय विपत्तिको सामना गरिरहेको छ ।

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

काठमाडौँ, १ साउनः सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका प्रमुख तथा सदस्यहरुले पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन सुझाव दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य, रसुवा हिमवाढी एवं समग्र विपद् व्यवस्थापनका सन्दर्भमा राजनीतिक दलहरुसँग आज आयोजना गरेको अन्तरक्रियामा नेताहरुले विपद् जोखिम न्यून गर्न जागरण अभियान तथा स्वयंसेवकीय भूमिका निर्वाह गर्न आफ्ना पार्टीहरु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्यले विपद् पश्चात नागरिकले सरकार छ भन्ने भरोसा खोज्ने भएकाले प्रतिकार्यलाई गम्भीरतापूर्वक लिएर तयारी गर्न सुझाव दिनुभयो । उहाँले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) को विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले रसुवा बाढीमा सरकार, प्राधिकरण र सुरक्षा निकायले राम्रो प्रतिकार्य गरेको उल्लेख गर्दै उद्धार जनशक्तिलाई तालिम एवं खोज तथा उद्धार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) को विपद् व्यवस्थापन विभागका प्रमुख सूर्य सुवेदीले राजनीतिक पार्टीलाई विपद् व्यवस्थापनमा संलग्न गराउन सरकार र प्राधिकरणले पर्याप्त पहल गर्नुपर्ने औँल्याउँदै प्राधिकरणलाई प्रधानमन्त्री कार्यालय मातहत राखी साधनस्रोत र अधिकार सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ¥यापिड एक्सन टोलीका प्रमुख साजन शमाले विपद् पूर्वतयारी तथा व्यवस्थापनलाई नियमित तालिकाका रुपमा लिन सुझाव दिँदै सूचना प्रवाहलाई तीव्र बनाउन र आवश्यक सामग्रीको भण्डारका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले विपद्मा जनताले राज्यको अभिभावकत्व खोज्ने भएकाले पूर्वतयारी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रमान श्रेष्ठले सबै नागरिकले विपद्मा जोगिन तालिम लिने वातावरण बनाउन सुझाव दिँदै विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा नेपालमा हुने विपद्बाट जोगिने उपायसम्बन्धी विषयहरु राख्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता एवं मधेस प्रदेशसभाका सदस्य मनिषकुमार सुमनले मधेसमा सुक्खाका कारण अकालको अवस्था सिर्जना हुने खतरा बढेको उल्लेख गर्दै विपद्मा जनताले आफ्ना आफन्त र छिमेकीपछि राजनीतिक नेता–कार्यकर्तालाई खोज्ने गरेको अनुभव सुनाउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रसुवा बाढीमा बर्दियाका पाँच युवा बेपत्ता भएको जानकारी दिँदै सीमा क्षेत्रमा बनेका बाँधका कारण तराईमा डुबान हुने भएकाले समयमै बाँध खोल्न प्राधिकरणले पहल गर्नुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विपद् व्यवस्थापनमा राज्यको विशेष जिम्मेवारी हुने भएकाले नीतिगत अवरोध फुकाउन सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रममा सहभागी सबैजसो नेताले जोखिम हस्तान्तरणका लागि बिमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने प्राधिकरणको धारणामा समर्थन गर्दै बिमा दिगो समाधानको उपाय भएको बताउनुभयो ।

छलफल कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्टले मनसुन प्रतिकार्य प्राधिकरणको मुख्य प्राथमिकता रहेको जानकारी गराउँदै विपद्पश्चातको पुनर्निर्माण, नीतिगत तथा संरचनागत सुधार, पूर्वसूचना प्रणालीको विश्वसनीयता वृद्धि, विपद्को मूलप्रवाहीकरण, स्वयंसेवकको तालिमलगायतमा काम गरिरहेको बताउनुभयो ।

सहसचिव अर्जुनकुमार बमले रसुवा हिम–बाढीलगायत मनसुन सुरु भएपछिका मुख्य प्रतिकार्यहरु, विपद् पश्चातको पुनःनिर्माण एवं नीतिगत तथा संरचनागत सुधारमा राजनीतिक दलहरुबाट प्राधिकरणले गरेको अपेक्षालगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । सहसचिव रोशनीकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

सिमकोट, (हुम्ला), १ साउनः खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ । खार्पुनाथ–१ र २ लाई जोड्न लालीबगरको लिगेमा कर्णाली नदीमा रहेको तुइन हटाएर नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ ।

नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै यो स्थानमा रहेका तुइन हटाइएको छ । लालीबगरको लिगेमा कर्णालीमा झोलुङ्गे पुल निर्माण भएपछि वडा १ र २ नागरिकलाई आवतजावत गर्न सहज भएको वडा–२ का वडाध्यक्ष चन्द्रविर रावलले बताउनुभयो ।

विसं २०७८ मा दुल्लीकुना लालीबगरको सडक निर्माण गर्ने क्रममा लिगेमा झोलुङ्गे पुल भत्किएपछि खार्पुनाथ गाउँपालिकाले उक्त स्थानमा तुइन निर्माण गरेको थियो । तुइनको सहारामा कर्णाली वारपार गर्नेहरु अहिले झोलुङ्गे पुल भएर यात्रा गर्दैछन् । झोलुङ्गे पुल निर्माण भएर प्रयोगमा आएपछि सिङ्गो गाउँपालिका तुइन मुक्त भएको छ ।

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा

पाटन (ललितपुर), १ साउनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका विषयमा कांग्रेसले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले हरेक छलफलको टिपोट गरी स्थानीय सरकारसम्म कार्यान्वयनका लागि जोड दिने बताउनुभयो ।

“युवालाई प्रविधिमार्फत समस्याको समाधान गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सृजना गर्नतर्फ जोड्नुपर्छ, नागरिकका समस्याको बारेमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा छलफल हुने गरेको छ, यसलाई कार्यान्वयन र नतिजासँग जोड्नुपर्छ, सरकारमा गइसकेपछि के गर्ने हो, के गर्ने हैन भन्ने विषयमा हुने छलफल महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले छलफलबाट प्राप्त हुने नीतिगत ज्ञानको कार्यान्वयनबाट नतिजा ल्याउनुपर्छ भन्नेमा जोड दिनुभयो । “नीतिगत सम्भावनाले उजागर गर्ने विषयमा धेरै बहस भएको छ, कृषि क्षेत्रका विषयमा विस्तारै फरक तरिकाले बहस सृजना गर्दै जानुपर्ने छ, प्रदेश र स्थानीय तहमा धेरै ठाउँमा हाम्रो नेतृत्व छ, प्रत्येक स्थानीय तहमा आफ्नो क्षेत्रभित्र रोजगारी सृजना गर्ने, उद्यमशीलता विकास गर्ने नीति हुनुपर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले कांग्रेसले विरोधको राजनीतिमा भन्दा उत्पादन, रोजगारी, उद्यमशीलता र सम्भावनाको क्षेत्रमा ध्यान दिँदै छलफल बहसमार्फत समृद्धिको राजनीतिमा ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले बजार अनुकुलको शिक्षा र ज्ञान अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिँदै नयाँ पुस्तामा समस्या सृजना गर्नेभन्दा समाधान गर्नसक्ने ज्ञान र सीपको विकास गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले मुलुकको आवश्यकता र विश्वव्यापी परिवर्तनअनुसार जनशक्ति तयार गर्न शिक्षामा आमूल परिवर्तन ल्याउनुपर्ने भन्दै पुरानो शिक्षा नीतिले समस्या ल्याएको बताउनुभयो । उहाँले सातै प्रदेशमा रोजगारीको सृजना गर्नेगरी औद्योगिक विकास गर्दै नेपालको सम्भावनाअनुसार नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले नीति राम्रो बनाएर पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या हुने उल्लेख गर्दै तुलनात्मक लाभ हासिल गर्ने र रोजगारी सृजना गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य उदयशम्शेर राणाले भारत तथा चीनसँग प्रतिस्पर्धा गर्न सक्ने गरी सूचना प्रविधि र कृषि क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले किसानले उत्पादन गरेको सामग्रीलाई खेर जान नदिने गरी बजार व्यवस्थापन गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

कांग्रेसको आर्थिक नीति तथा योजना विभाग प्रमुख प्रा डा गोविन्दराज पोखरेलले युवा केन्द्रित आर्थिक नीतिका बारेमा धारणा राख्नुहुँदै राज्य अभिभावक बनेर सम्भावना र अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वतन्त्र उद्यमीहरुको संस्था उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाले उद्यमीका मुद्दा सबैको भएकाले राजनीतिक मुद्दामा उद्यमशीलताका कुरा समेटिनुपर्नेमा जोड दिनुभयो । ‘प्रदेश तथा स्थानीय तहको बजेटमा युवाको स्थान’ विषयमा आफ्नो धारणा राख्दै अर्थशास्त्री एवं सुशासन विज्ञ डा प्रकाश छत्कुलीले युवा लक्षित योजनालाई आवधिक योजना र वार्षिक बजेटमा समावेश गर्दै सुरक्षाको प्रत्याभूति दिएर जवाफदेही हुनेगरी लैजानुपर्नेमा जोड दिनुभयो ।

नेपालमा युवाको क्षमता विकास र रोजगारी विषयमा धारणा राख्दै विभागका सदस्य विनयकुमार कुसियतले युवालाई प्रविधिसँग जोडेर शिक्षा, ज्ञान, क्षमता विकास र रोजगारीमा जोड्दै आर्थिक सशक्तीकरणका साथै उद्यमशीलतातर्फ ध्यान दिन सुझाव दिनुभयो ।

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त

युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । उहाँ सन् २०२२ मा रुसको पूर्ण मापदण्डको आक्रमण सुरु भएपछि देशको पहिलो नयाँ सरकार प्रमुख बन्नुभएको छ ।

स्विरिडेन्को युक्रेनको सरकारमा नयाँ भूमिका लिने अधिकारीहरूको समूहमध्ये एक हुनुहुन्छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धले थकित राष्ट्रलाई नयाँ ऊर्जा दिन र रुसको निरन्तर आक्रमणको सामना गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयासमा मन्त्रिपरिषद्को फेरबदल गर्नुभएको छ ।

तर घरेलु स्तरमा मन्त्रिपरिषद्को यो पुनर्गठनलाई कुनै ठूलो परिवर्तनका रूपमा लिइएको छैन किनकि जेलेन्स्की युद्धको अवधिमा अझै पनि आफ्नो प्रभावकारिता र वफादारी प्रमाणित गर्ने अधिकारीहरूमा निर्भर हुनुहुन्छ । युद्ध अहिले चौथो वर्षमा छ ।

युक्रेनको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने सरकार प्रमुख प्रधानमन्त्री डेनिस स्मिहलको प्रतिस्थापनसहित शीर्ष सरकारी पदहरू फेरबदल गर्न जेलेन्स्कीले बिहीबार नामाङ्कन पेश गर्नुभयो ।

संसदीय वेबसाइटका अनुसार स्मिहल अब रक्षामन्त्री बन्नुहुनेछ ।

मन्त्रिपरिषद्मा अन्य परिवर्तनहरू अपेक्षित छन्, तर प्रधानमन्त्रीका रूपमा स्विरिडेन्कोको नियुक्ति मुख्य चर्चाको विषय बनेको छ ।

उहाँले अमेरिका–युक्रेन खनिज सम्झौताको वार्तामा मुख्य भूमिका खेल्नुभएको थियो । सम्झौताले किएभका लागि सर्तहरू स्वीकार्य छन् भन्ने सुनिश्चित गरेको थियो । स्विरिडेन्कोले प्रायः पश्चिमी साझेदारहरूसँग उच्च–स्तरीय वार्तामा युक्रेनको प्रतिनिधित्व गर्दै आउनुभएको छ । यसमा रक्षा सहयोग, आर्थिक पुनरुत्थान र पुनर्निर्माणमा केन्द्रित छ ।

सांसद र सहकर्मी अधिकारीहरूले उहाँलाई राष्ट्रपति कार्यालयप्रति वफादारीको प्रतिष्ठा भएको एक लगनशील कार्यकारीका रूपमा वर्णन गर्छन् ।

मङ्गलबार, जेलेन्स्कीले स्विरिडेन्को र डिजिटल रूपान्तरण मन्त्री मिखाइलो फेडोरोभसँग एक तस्बिर पोस्ट गर्नुभयो, जसमा उहाँले आगामी छ महिनाका लागि फोकस घरेलु हतियार उत्पादन बढाउने, युक्रेनका रक्षा बलहरूका लागि सबै प्रकारका ड्रोनहरूको पूर्ण ठेक्का, आर्थिक सम्भावनाहरू खुलाउन नियमहरू सहज बनाउने र सामाजिक सहायता कार्यक्रमहरूको डेलिभरी सुनिश्चित गर्ने हुने लेख्नुभएको छ ।

स्मिहलले मङ्गलबार प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सन् २०२० मार्च ४ मा नियुक्त भएपछि उहाँले पाँच वर्षभन्दा बढी समयसम्म यो पद सम्हाल्नुभएको थियो ।

युक्रेनी विश्लेषकहरू र स्थानीय सञ्चारमाध्यमहरूले स्मिहललाई विरलै एक स्वतन्त्र राजनीतिक व्यक्तित्व वा जेलेन्स्कीको प्रतिकूलका रूपमा चित्रण गरेका छन् । स्विरिडेन्को जस्तै, उहाँ पनि राष्ट्रपति र उहाँको टोलीप्रति वफादार मानिनुहुन्छ ।

रक्षामन्त्रीका रूपमा उहाँको नयाँ पदको अर्थ उहाँले पूर्ण रूपमा सरकार छाड्नुभएको छैन बरु शक्तिशाली भूमिकामा मन्त्रिपरिषद्मा बसिरहनुभएको छ । रक्षा मन्त्रालयले सबैभन्दा ठूलो बजेट सञ्चालन गर्छ र युद्धका कारण उल्लेखनीय महत्त्व राख्छ ।

स्मिहलले रुस्टेम उमेरोभलाई प्रतिस्थापन गर्नुहुनेछ । उमेरोभले सुधारलाई अगाडि बढाउन खोजेको भए पनि आफ्नो कार्यकालमा युक्रेनको रक्षा खरिद प्रणालीमा आन्तरिक उथलपुथल र निरन्तर निष्क्रियता देख्नुभएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा उहाँको सक्रिय भूमिकाका बावजुद, आलोचकहरूले मन्त्रालय खराब व्यवस्थापनबाट ग्रस्त रहेको बताएका छन् ।

जनकवि थापाले सुरु गर्नुभएको ऋतु पत्रिका ‘डाँफेचरी’को पुनःप्रकाशन

काठमाडौँ, १ साउनः विसं २०१० मा जनकवि केशरी धर्मराज थापाले प्रकाशन सुरु गर्नुभएको अनुसन्धानमूलक लोक साहित्य, संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनःप्रकाशन सुरु भएको छ ।

थापाको १०१औँ जन्मजयन्तीका अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो । पत्रिका लोकार्पण एवं ‘सम्झनामा धर्मराज थापा’ साङ्गीतिक समारोहमा प्रा डा चूडामणि बन्धु, प्रा डा दयाराम श्रेष्ठ ‘सम्भव’, संस्कृतीविद् डा जगमान गुरुङ, प्रा रमा शर्मा, पूर्वमन्त्री राधाकृष्ण मैनालीलगायतका अतिथिहरुले सामूहिक रुपमा सार्वजनिक गर्नुभयो । सो अवसरमा उहाँहरुले धर्मराज थापाको गायन एवं साहित्यक योगदानका बारेमा चर्चा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले सबै नेपालीको हृदयमा बस्न सफल जनकवि धर्मराज थापाको जीवनका झझल्कोलाई समेटेर पत्रिकाको पुनःप्रकाशन गरिएको बताउनुभयो । उहाँले थापाको काव्य र सङ्गीत आज पनि नेपाल र नेपालीको आत्मा र संस्कृतिभित्र जिउँदो रहेको बताउँदै उहाँका सिर्जनालाई राज्यका तर्फबाट खोज तथा अनुसन्धान र संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस अवसरमा वरिष्ठ कलाकारहरु प्रेमराजा महत, विकासजङ्ग राणा, सीता श्रेष्ठ र सन्देश श्रेष्ठले जनकवि केशरी थापाका गीतसहित आआफ्ना सृजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

किशोर अवस्थादेखि नै कविता, दोहोरी भजन र मौलिक गीतमा रुचि राख्नुहुने धर्मराज थापा नेपाली गीतसङ्गीतको आधिकारिक आवाज हुनुहुन्थ्यो । ‘घर मेरो टाढा’, ‘कोही न हाँस्ने कोही न रुने’, ‘माथि माथि सैलुङ्गे डाँडा’, ‘आज मादल बजेको किन’, ‘धुरुधुरु नरोउ आमा’, ‘हाम्रो तेञ्जीन शेर्पाले’, ‘नेपालीलाई लैजाने हो नयाँ नौलो बाटो’, ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’जस्ता अमर कालजयी गीतहरू गाएर नेपाली जनताको हृदयमा अमिट छाप छोड्नुभएको छ ।

उहाँको पहिलो रेकर्ड भएको गीत ‘माथि माथि सैलुङ्गे डाँडा’ थियो । उहाँँको जन्म १९८१ साउन १ गते कास्की जिल्लाको बाटुलेचौरमा भएको थियो भने निधन २०७१ असोज २९ गते काठमाडौँमा भएको थियो ।

ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभइ समृद्धिको आधार हो : मन्त्री खड्का

काठमाडौं। उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभइ मुलुकको समृद्धिसँग गाँसिएको विषय भएको उल्लेख गरेका छन्बिहीबार काठमाडौंमा आयोजित उर्जा जलस्रोेत तथा सिँचाइ मन्त्रालय विद्युत विकास विभागको ३२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निमार्णकार्यलाई त्रिबता दिनको लागि काम गरिरहेको बताए।उनले उर्जा क्षेत्र विकासका लागि व्यक्तिगत भन्दा सामूहिक अधिकार बढी आवश्यक हुने जानकारी दिए। खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको पनि बताए।

‘हामीले भाषण धेरै ग¥यौं, अब साँचिकै काम गर्ने समय हो। यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भए पनि अघि बढ्नुपर्छ। ऊर्जा अब केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो,’ उनले भने।
मन्त्री खड्काले देशभरको हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे। उनले वर्तमान सरकारको प्राथमिकता ‘देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने’ रहेको उल्लेख गरे।

‘कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिसकेका छौं, यो युग चलाउन ऊर्जा अनिवार्य छ। त्यसैले हामीले उत्पादन मात्र होइन, प्रशारण र वितरणतर्फ पनि विशेष ध्यान दिनुपर्छ,’ उनले भने।खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने स्पष्ट संकेत दिए। उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै स्थायीत्व र प्रभावकारिता आउने दाबी गरे।

यो वर्ष ४३२ मेगावाट जलविद्युत् तथा ३५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर योगदान दिने निजी तथा सरकारी पक्षप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले भने,‘मुलुकको समृद्धि सरकार वा मन्त्री मात्रको दायित्व होइन, यो साझा प्रयास हो। त्यसैले सबै तह र तप्काले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ।’

समारोहमा ऊर्जा मन्त्रालयका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, ऊर्जा तथा जलस्रोत आयोगको सचिवालका प्रमुख सचिव दिनानाथ मिश्र, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, स्वतन्त्र विद्युत उत्पादकहरुको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाङ्गी, सल्लाहकार, विभागीय प्रमुखहरू, विभिन्न विद्युत कम्पनीका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रज तथा विशेषज्ञहरूको उपस्थिति रहेको थियो।

विद्युत विकास विभागका महानिर्देशक नविन राज सिंहको अध्यक्षतामा सम्पन्न सो समारोहमा विद्युत विकास विभागले प्रकाशन गरेको ‘विद्युत प्रवद्र्धन स्मारिका-२०८२’ लाई प्रमुख अतिथि ऊर्जामन्त्री खड्काले विमोचन गरे।

कार्यक्रममा सेवानिबृत कर्मचारीहरु मधु प्रसाद भेटवाल (सचिव पदबाट अवकाश), अरुण कुमार झा (उपमहानिर्देशकबाट अवकाश) र सरिता प्रधानलाई सम्मान गरिएको थियो। त्यसैगरी आर्थिक वर्ष २०८१÷०८२ मा निर्माण सम्पन्न गरेका २० वटा विद्युत आयोजनाहरुका प्रवद्र्धकहरुलाई सम्मान गरिएको थियो।

खानेपानी विभागले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी

काठमाडौं । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी गरेको छ विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको दाबी गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा विभागको वित्तिय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक वर्षमा विभागले कुल ९० दशमलब १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको जनाइएको छ ।विभागको अद्यावधिक विवरणअनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाँकेले ९७ दशमलब ८३, रामेछापले ९६ दशमलब ९१ प्रतिशत, रुपन्देहीले ९५ दशमलब ९४, म्याग्दीले ९५ दशमलब ६२ तथा कास्कीलेले ९५ दशमलब ४२ प्रतिशत प्रगति हासिल गरी उत्कृष्ट परेका छन् ।
समयमै योजना कार्यान्वयन, अनुगमन तथा अन्तरसंस्थागत समन्वयले गर्दा विभागले उल्लेख्य सफलता हात पार्न सफल भएको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।उनले भने, ‘विभागको वित्तीय प्रगती ९० प्रतिशत पुगेको छ । यो विभाग सहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो । रकमान्तरमा सहयोग गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालयलगायत सबैमा विभाग अनुग्रहित छ ।’

उनले आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयनका लागि विभाग प्रतिवद्ध रहेको समेत स्पष्ट पारे । उनले आम उपभोक्ता समिति, निर्माण व्यवसायीलाई समेत धन्यवाद व्यक्त गरे ।विभागले मुलुकभरका खानेपानी तथा ढल व्यवस्थापन परियोजनाहरूमा देखाएको तीव्रता र परिणाममुखी कार्यप्रगति यो उपलब्धिको मुख्य कारण भएको मन्त्री यादवले जानकारी दिए ।उनले भने, ‘जनताको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हो । हामी परिणाम देखिनेगरी काम गर्छौं प्रगति अङ्कमा मात्र होइन, जनताको जीवनस्तरमा देखिनुपर्छ । आज जुन कुरा विभागले देखाएको छ ।’खानेपानीका क्षेत्रमा विशेषगरी ग्रामीण भेगमा पहुँच नपुगेका क्षेत्रहरूमा सेवा विस्तारमा गरिएको प्रयास र काम पनि प्रसंशनीय रहेको उनको भनाइ छ ।

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी

काठमाडौँ, १ साउनः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताउनुभएको छ ।

वार्षिक उपलब्धिसम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले केही दिनदेखि आफ्नो र परिवारका सदस्यकोसमेत नाम जोडी सुनियोजित ढङ्गबाट ‘अडियो रेकर्ड’ सार्वजनिक भएकामा आपत्ति व्यक्त गर्नुभयो ।

भूमिसुधारमन्त्री अधिकारीले आवश्यक ऐन, नियम, कानुनसहित कार्यसंयन्त्र निर्माण गरी देश र जनताका पक्षमा राम्रो काम गरिरहेको मन्त्रीका विषयमा यस किसिमको अफवाह फैलाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सो ‘अडियो रेकर्ड’का विषयमा यथार्थ छानबिन होस् भन्ने पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको एक वर्षको अवधिमा भूमि व्यवस्था, सहकारी र गरिबी निवारणका क्षेत्रमा धेरै राम्रा काम दाबी गर्दै उहाँले यसबीचमा भएका राम्रो कामको सरहना गरी धन्यवाद दिनुको सट्टा मन्त्रीकै चरित्रमाथि आँच पु¥याउने काम भएकामा खेद व्यक्त गर्नुभयो ।

विवादित उक्त ‘अडियो रेकर्ड’ र जग्गा प्रकरणका सन्दर्भमा सत्यतथ्य समाचार बाहिर ल्याउन आमसञ्चरकर्मीसँग अनुरोध गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “चरित्र हत्या गर्ने उद्देश्यका साथ अडियो रेकर्ड सार्वजनिक भएको छ । आफूसहित परिवारका सदस्यलाई जोडेर सार्वजनिक गरिएको ‘अडियो रेकर्ड’का बारेमा यथार्थ छानबिन होस् । जिम्मेवार आमसञ्चारमाध्यमले पनि विषयको गहिराइमा पुगेर सत्यतथ्य समाचार सम्प्रेषण गरिदिनुपर्‍यो । त्यसमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु ।”

केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

रसुवा १,साउनः गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ ।

केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ ।

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।

न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३९ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई ) ९० रुपैयाँ , बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५५ रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४५ रुपैयाँ, तने बोडी प्रतिकिलो २५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो २०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ७० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीतो करेला प्रतिकिलो २० रुपैयाँ, लौका प्रतिकिलो २५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो ३५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३० रुपैयाँ, घिरौला प्रतिकिलो ४० रुपैयाँ, झिगुनी प्रतिकिलो ४५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ३५ रुपैयाँ, भिण्डी प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ४५ रुपैयाँ, रायोसाग प्रतिकिलो ११० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो १३० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो २६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, कुरिलो प्रतिकिलो २५० रुपैयाँ, निगुरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७५ रुपैयाँ, सजिवन प्रतिकिलो २२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३३० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पुदीना २०० रुपैयाँ ,तामा १२० रुपैयाँ र गुन्द्रुक ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३४० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार प्रतिकिलो ३ ५० रुपैयाँ, आँप (माल्द) प्रतिकिलो १३० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १३० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ , रुखकटहर प्रतिकिलो ४५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ४० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।

आजदेखि नयाँ आर्थिक वर्ष सुरु

काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।

सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ ।
नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ ।

तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ । करको दरमा भएको परिवर्तनसमध्ये आज लेखि नै कतिपय व्यवस्था लागु भइसकेका छन् । विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरु हुनेछ ।

वाग्मती प्रदेश : प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

बागमती, १ साउनः वाग्मती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले बुधबार प्रमाणीकरण गर्नुभएको हो ।

दुवै विधेयक यही असार २३ गते बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो ।

देवघाटमा साउने मेला, भक्तजनको भीड

नारायणगढ (चितवन), १ साउनः देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ ।

भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । सोमबार अधिक भक्तजन आउने अपेक्षा छ । भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्।बिहीबार कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक-२०८१ को सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ।

यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बन्धी अध्ययन प्रतिवेदन-२०८२ माथि छलफल गर्ने कार्यसूची छ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयक- २०८१ मा सैद्धान्तिक छलफल हुने छ।

साउने संक्रान्तिमा प्रधानमन्त्रीको शुभकामना,साउने धरती झैं सबैका मनमा हरियाली छाओस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साउने संक्रान्ति पर्वको अवसरमा शुभकामना दिएका छन्।बिहीबार सामाजिक सञ्जालमार्फत उनले साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् भन्दै शुभकामना दिए।

उनले भने,आज साउने संक्रान्ति। साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस्। साउने संक्रान्तिको शुभकामना ’

एमालेको सचिवालय बैठक आज बस्दै , विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा व्यापक छलफल र निर्णयहरू हुनेछन् ।

यस्तैm बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन् .त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।सचिवालय बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको कार्यसूची पनि तय गर्नेछ ।

लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्नेमा मुख्यमन्त्री शाहको जोड

कैलाली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले लगानीकर्तामा विश्वासको वातावरण सिर्जना प्रदेश सरकार गम्भीर रहेको र यसमा सम्बद्ध सरोकार भएका सबैको सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सरकार यतिबेला आगामी असोज १ र २ गते आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेकाले अत्यावश्यकबाहेक अन्य बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिनुभयो । “यसमा प्रमुख सचिव डा कमलप्रसाद पोख्रेलले मातहतका निकायमा परिपत्र गरिहाल्नुस् । काम गर्ने क्रममा विभिन्न कानुनी जटिलता आउन सक्छन्, त्यसैले प्रदेश कानुन सचिव डा वीरेन्द्रकुमार मिश्रले तत्तत् निकायमा समन्वय गरी एक हप्ताभित्र कानुनी समस्या पहिचान गर्नुहोला”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री शाहले लगानी तथा विकास सम्मेलन सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि एक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, मुख्यमन्त्री शाहसहितको टोलीले आज कोशी प्रदेश सरकारका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । ‘भर्चुअल’ माध्यमबाट भएको छलफलमा लगानी सम्मेलनबारे अनुभव आदानप्रदान एंव नीति तथा कानुनसम्बन्धीबारे अन्तरक्रिया भएको थियो । कोशी प्रदेशले कोशी प्रदेश लगानी सम्मेलन २०८२, वैशाख १८ र १९ गते सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, विषयगत मन्त्रालयका मन्त्री, प्रमुख सचिव, विषयगत मन्त्रालयका सचिव, सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनका समिति तथा उपसमितिका संयोजक तथा सदस्यहरु र कोशी प्रदेशबाट कोशी प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा मोहन सुवेदी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव राजु गुरागाईं र कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइरालालगायतले अनुभव आदानप्रदान गर्नुभएको जनाइएको छ ।

छाउगोठमा सर्पदंश लागेर मृत्युभएकी कमलाका परिवारलाई आर्थिक सहयोग

कञ्चनपु- छाउगोठमा सर्पदंश लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईंका परिवारलाई नेपाली कांग्रेस प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क) कञ्चनपुरले आज आर्थिक सहयोग प्रदान गरेको छ ।

पार्टीका प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क) का सभापति झङ्करबहादुर खडका(पुरन)को अगुवाइमा रहेको टोलीले रु २१ हजार पाँच मृतकका आश्रित परिवालाई प्रदान गरेको हो ।

कार्यसमितिका पदाधिकारीले मानवीय सेवा भावनाले स्वस्फूर्त रूपमा सङ्कलन गरेको रकम मृतकका श्रीमान् पुरन दमाईं, छोरा आयुष, आशिष र आदित्यलाई संयुक्त रूपमा प्रदान गरिएको सभापति खड्काले बताउनुभयो । उहाँले रुढीवादी परम्पराका कारण घरपरिवारका सदस्यको ज्यान जोखिममा पर्ने कूरीतिलाई बढावा दिने काम सभ्य समाजका लागि सैह्य नभएको बताउनुभयो ।

“छाउपडीजस्तो ‘कु’ प्रथाको अन्त्यगरी छाउगोठ विस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ”, उहाँले भन्नुभयो, “मृतकका परिवारजनमा संवेदना प्रकट गर्दछौँ ।”

समाजमा जरो गाडेर बसेको छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ मात्रै भत्काएर नहुने भएकाले रुढीवादी विचारले ग्रसित मानसिकतालाई परिवर्तन गर्न सचेतनाको आवश्यकता रहेको प्रदेशसभा कार्यसमितिका उत्तमराज भट्टले बताउनुभयो ।

कर्णाली प्रदेशसभा ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित

कर्णाली- कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनकोबुधबार बसेको ३१औँ बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १३० बमोजिम पारित गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिनुभयो ।

मुख्यमन्त्री कँडेलले पारितका लागि सभामा प्रस्ताव गरेसँगै उक्त स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको थियो । सभामुख गुरुङले सभाको अर्को बैठक आगामी साउन १५ गते दिउँसो ३ बजे हुने जानकारी दिनुभयो ।

प्रशासनिक सङ्घीयता सुदृढ बनाउने आफ्नो प्राथमिक कार्यभारः नवनियुक्त मन्त्री न्यौपाने

काठमाडौँ- नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक सङ्घीयतालाई सुदृढ बनाउने आफ्नो प्राथमिक कार्यभार रहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रशासनिक सङ्घीयता सुदृढ नभई सङ्घीयता बलियो हुन नसक्ने धारणा राख्नुभयो । मन्त्री न्यौपानेले भन्नुभयो, “हाल तीनै तहका सरकारले कर्मचारी व्यवस्थापनमा जुन खाले समस्या भोगिरहेका छन्, तिनको अन्त्यमा ध्यान दिनुपर्ने आवश्यकता छ । यसमा सबैले लाग्नुपर्ने आवश्यकता छ ।”

जनतालाई कुनै पनि सास्ती नहुने गरी छिटोछरिता र गुणस्तरीय सेवा प्रवाहमा सहयोग पु¥याउन कर्मचारीले इमान्दारपूर्वक प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

जनतालाई परिवर्तन र सुधारको अनुभूति हुनेगरी कार्यसम्पादन गर्ने विश्वास दिलाउँदै मन्त्री न्यौपानेले सङ्घीय निजामती ऐन सङ्घीय संसद्को चालु अधिवेशनबाटै पारित हुने दृढता व्यक्त गर्नुभयो । जनतालाई पर्न गएका सबै खालका समस्या समाधान, सुशासन र पारदर्शितालाई आफूले अलि बढी ध्यान दिने बताउँदै उहाँले आफ्नो नैतिक निष्ठाबाट जुनसुकै अवस्थामा अलग नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री न्यौपानेले भन्नुभयो, “कुनै पनि खालको बेथिति अन्त्य गर्न जनताका गुनासा सुन्नुपर्छ । फाइल अड्केको र भनसुनका आधारमा काम हुन्छ भन्ने जनगुनासा रहेकाले त्यसखाले गतिविधि रोक्न संयन्त्र निर्माण गरी अघि बढ्नेछु ।”

मन्त्रालयका सचिव सचिव रविलाल पन्थीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन, स्थानीय पूर्वाधारमा सहजीकरण तथा सुशासन र सेवाप्रवाह मुख्य कार्य भएको बताउनुभयो ।

रासससँग कुराकानी गर्दै उहाँले मन्त्रालयका सेवा प्रवाहलाई चुस्तदुरुस्त तुल्याउन कानुनसम्मत् ढङ्गले कार्य गर्ने तथा कर्मचारी सरुवालाई व्यवस्थित गर्ने कार्य मन्त्रालयले गर्दै आएको बताउनुभयो ।
मन्त्रालय मातहत निजामती अस्पताल, राष्ट्रिय किताब खाना, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानजस्ता विभाग छन् । सङ्घीय निजामती सेवामा सङ्घमा हाल करिब ५३ हजार, प्रदेश सेवामा २२ हजार र स्थानीय सेवामा करिब ६० हजार कर्मचारी कार्यरत छन् । सामान्य प्रशासन मन्त्रालयमा भने हाल १४८ जना कर्मचारी कार्यरत रहेको जानकारी दिइयो ।

प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यका लागि आवश्यक वातावरण बनाउन मन्त्रालयले विभिन्न कोणबाट भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ ।देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो,एक हजार ५५ वटा पिल्लर गाडियो

कास्की, १ साउनः पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सीमाङ्कनपछि सुरु भएको पोल गाड्ने काम सम्पन्न भएको छ ।सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमास्तम्भ गाड्न सुरु गरिएको थियो । फेवाको तालघरमा एक हजार ५५ वटा पिल्लर गाडिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले फेवाताल किनारमा एक हजार ५५ वटा पोल गाड्न सीमाङ्कन गरेको थियो । प्रमुख आचार्यले प्राविधिकले सीमाङ्कन गरेको स्थानमा पोल गाड्ने काम सकिएसँगै अब दोस्रो चरणमा तालघर क्षेत्रमा परेका तथा तालको ६५ मिटर क्षेत्रभित्रका कित्ताको वर्गीकरणको काम सुरु गरिने बताउनुभयो । “फेवा किनार (तालघर) मा पहिलो चरणमा पोल गाड्ने कार्य बुधबार सकिएको छ । यसबाट फेवा ताल संरक्षणको दिशामा ऐतिहासिक प्रगति भएको छ । दोस्रो चरणमा जगाको कित्ता वर्गीकरण गरेर कुन मुआब्जा पाउने र कुन कित्ता बदर हुने निक्र्योल गर्नेछौँ”, उहाँले भन्नुभयो ।

प्राविधिक टोलीले रेखाङ्कन गरेका स्थानमध्ये सम्भव भएका ठाउँमा पोल गाडिएको तथा भिरालो भू–भागमा आवश्यक चिह्न दिइएको छ ।

महानगरले फेवाताल संरक्षण अभियानअन्तर्गत तेस्रो चरणमा मुआब्जा योग्य कित्ताको क्षतिपूर्तिका लागि सिफारिस गर्ने र मुआब्जा प्राप्त गरेपछि मात्र जग्गा खाली गरिने जनाएको छ । पछिल्लो अध्ययनअनुसार फेवातालको क्षेत्रफल छ दशमलव ३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी तीन पैसा तीन दाम) कायम भएको छ । यसअघि फेवा तालको सीमाङ्कनका लागि अत्याधुनिक डिजिपिएस प्रविधि र ड्रोन सर्भेको प्रयोग गरिएको थियो ।

फेवातालको चार किल्लामा पिल्लर गाडेपछि पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन योगदान पुग्ने विश्वास गरिएको महानगरप्रमुख आचार्यले बताउनुभयो ।

सर्वोच्च अदालतले विसं २०८० असार ४ गते फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना हटाउन नेपाल सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकाका नाममा उत्प्रेषण परमादेश जारी गरेको थियो ।बर्खायामको उच्चतम पानीको विन्दुदेखि ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन आदेश गरिएको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १ साउनः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ सात पैसा र बिक्रीदर १४ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३५ पैसा र बिक्रीदर २१ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ३८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ९३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

यस्तै, यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

वीरगञ्ज (पर्सा), १ साउनः वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ । पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि बुधबार वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको हो ।

गहवामाई मन्दिरको व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले वीरगञ्जसहित समग्र मधेश प्रदेशमा अकाशेपानी नपरेर पानीको हाहाकार भएसँगै पर्जन्य (वृष्टि) यज्ञ गरिएको बताउनुभयो ।

“यहाँ आकाशेपानी नपरेपछि खानेपानी र सिँचाइको चर्काे समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “धार्मिक परम्पराअनुसार भगवान् इन्द्रको यज्ञ र हवन गरेपछि पानी पर्ने विश्वास रहेको छ । गहवामाई मन्दिर प्राङ्गणमा अहिले पाँच जना पुरोहितले पूजापाठ तथा यज्ञ गरेका छौँ । धार्मिक परम्परा र विधिमार्फत यज्ञ गरेकाले पनि छिट्टै आकाशेपानी पर्ने विश्वास लिएका छौँ ।”तराई मधेशमा पर्याप्त पानी नपर्दा दैनिक जनजीवनसमेत प्रभावित हुँदै आइरहेको छ ।

उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य

दाङ, १ साउनः उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८१/८२ मा अदालतमा परेका मुद्दामध्ये एक हजार २४३ मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालतका सूचना अधिकारी मधुसूदन पन्थीका अनुसार एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक हजार ४३ र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ४१४ गरी जम्मा एक हजार ४५७ थान मुद्दामध्ये एक हजार २४३ मुद्दा फर्छ्यौट भएका छन् । हाल २१४ मुद्दा विचाराधीन छन् ।

उक्त अवधिमा कुल सङ्ख्याको ८५ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन्, जुन लक्ष्यभन्दा ४२ प्रतिशत बढी रहेको जनाइएको छ । गत आवमा ८७१ मुद्दा फर्छ्यौट गर्ने अनुमानित लक्ष्य रहेको सूचना अधिकारी पन्थीले जानकारी दिनुभयो । “अदालतमा एक वर्ष नाघेका सबै मुद्दा फैसला भएका छन् । बाँकी रहेका मुद्दामा छ महिना नाघेका ४५ र छ महिनाभित्रका १६९ मुद्दा छन्”, बुधबार आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो ।

वार्षिक प्रगति विवरणमा मुद्दा दर्ता सङ्ख्या र फर्छ्यौट सङ्ख्या अदालतको एक दशकयताकै सबैभन्दा धेरै रहेको छ । उपलब्ध तथ्याङ्कलाई हेर्दा आव २०७२/७३ मा ९४९ मुद्दामा ५६५ अर्थात् ५९ दशमलव ५३ प्रतिशत, २०७३/७४ मा ९३१ मुद्दामा ५५४ अर्थात् ५९ दशमलव ५०, २०७४/७५ मा ७८९ मध्ये ६०५ अर्थात् ६७ दशमलव ६७ प्रतिशत मुद्दा फैसला भएका थिए ।

यस्तै, आव २०७५/७६ मा ८०१ मुद्दामा ६०६ अर्थात् ७५ दशमलव ६५ प्रतिशत, २०७६/७७ मा ५८० मुद्दामा ४०७ अर्थात् ७० दशमलव १७, २०७७/७८ मा ७८२ मा ५१९ अर्थात् ६६ दशमलव ३६ प्रतिशत मुद्दाको फैसला भएको थियो । यसैगरी आव २०७८/८९ मा ९९३ मुद्दामा ६०४ अर्थात् ६०दशमलव ८२ प्रतिशत, २०७९/८० मा एक हजार ५२ मा ५३३ अर्थात् ५० दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्यौट भएका देखिन्छन् । आव २०८०/८१ मा एक हजार ४९९ मुद्दामध्ये एक हजार ८५ अर्थात् ७२ दशमलव ३८ मुद्दा फर्छ्यौट भएको थिए ।

उच्च अदालतका मुख्यन्यायाधीश राजेश्वर तिवारीले एक दशकयताकै बढी मुद्दा दर्ता र मुद्दा फैसला गरिएको बताउनुभयो । “न्यायपालिकाकोे पञ्चवर्षीय रणनीतिक योजनाअनुसार मुद्दा व्यवस्थापन पद्धतिअनुसार मुद्दालाई सरल, सामान्य र विशेष मार्ग गरी तीन प्रकारले विभाजन हेर्ने भन्ने थियो । छ महिना, एक वर्ष र १८ महिनाभित्र फर्छ्यौट गरी सक्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार कार्यसम्पादन गरिएको हो । यसरी काम गर्दा एक वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झरेकोे छ । छ महिना नाघेका ४५ र छ महिनाभित्रका १६९ मुद्दा विचाराधीन छन्”, उहाँले भन्नुभयो ।

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

दक्षिण कोरियाको निर्यात मात्रा लगातार बढ्दै

दक्षिण कोरियाको निर्यात मात्रा जून महिनामा लगातार पाँचौँ महिनासम्म बढेको छ, जुन विश्वव्यापी रूपमा विद्युतीय सामग्रीको बलियो मागका कारण भएको हो । कोरियाको केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, निर्यात मात्रा सूचकांक अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.८ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि फेब्रुअरीदेखि निरन्तर कायम छ ।

कम्प्युटर, विद्युतीय तथा अप्टिकल उपकरणहरूको बाह्य आपूर्ति जून महिनामा १०.४ प्रतिशतले बढेको छ, जसले लगातार चार महिनासम्म दोहोरो अंकको वृद्धि देखाएको छ । तेलजन्य र फलामजन्य उत्पादनहरूको निर्यातमा पनि दोहोरो अंकको वृद्धि भएको छ भने रासायनिक वस्तु र सवारीसाधनसम्बन्धी उपकरणहरूको निर्यात एकल अंकले बढेको देखिन्छ ।

निर्यात मूल्य सूचकांक पनि अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशतले बढेको छ, जुन मे महिनामा देखिएको २.० प्रतिशतको घटबढपछि सुधारको सङ्केत हो । सोही अवधिमा आयात मात्रा सूचकांक ११.२ प्रतिशतले र आयात मूल्य सूचकांक २.९ प्रतिशतले वृद्धि भएको छ ।

हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ ।हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै, सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो ।

एक रिपोर्टअनुसार, हुवावेले यो वर्षको दोस्रो त्रैमासिकमा एक करोड २५ लाख मोबाइल बिक्री गर्दै १८.१ प्रतिशत बजार हिस्सा लिएको छ ।यो उन्नति हुवावेका लागि ठूलो सफलता मानिएको छ । कम्पनीले विगतमा अमेरिकी प्रतिबन्ध र भ्रष्टाचार छानबिन जस्ता चुनौतीहरूको सामना गरेको थियो ।
साथै, चीनको समग्र मोबाइल बजार भने घटेको देखिएको छ ।

यस वर्षको दोस्रो त्रैमासिकमा मोबाइल बिक्री चार प्रतिशतले घटेर ६ करोड ९० लाखमा झरेको छ ।एक अनुसन्धानकर्ता आर्थर गुओका अनुसार, “चीन–अमेरिका व्यापार सहमति भए पनि आर्थिक अवस्था कमजोर छ ।”

उहाँले भन्नुभयो,“मानिसहरूको खर्च गर्ने विश्वास अझै कम छ, त्यसैले मोबाइलको माग चाँडै बढ्ने सम्भावना छैन ।”ता, हुवावे र अमेरिका बीच लामो समयदेखि विवाद चलिरहेको छ ।
अमेरिकाले हुवावेलाई जासुसीको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो, जसलाई कम्पनीले अस्वीकार गर्दै आएको छ ।

सन् २०१९ यता, अमेरिकी प्रविधिको पहुँच गुमेपछि हुवावेले आफ्नै प्रविधि र उपकरण विकास गर्न थालेको हो । यसैबीच, एप्पलको बिक्री घटेको देखिएको छ।
पछिल्लो रिपोर्टअनुसार, एप्पल चीनको मोबाइल बजारमा १३.९ प्रतिशत हिस्सा मात्र राख्दै ९६ लाख मोबाइल बिक्रीमा सीमित रह्यो ।
एप्पल अहिले चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ ।

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौँ, ३२ असार : चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।

प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो । हाल उक्त आङ्गिक, गैरनाफामूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ । बैठकमा मेडिकल कलेजलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणका विषयमा पनि छलफल भएको थियो ।

चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिकसत्रका लागि शिक्षण शुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ ।

कार्यदलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालाई हस्तान्तरण गर्नुभयो । बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजीकरणमा जानुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन

सुदूरपश्चिम, ३२ असारः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लागानीमैत्री वातावरण बनाउन देखिएका नीतिगत एवं कानुनी जटिलताको पहिचान गर्न कानुन मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ ।

धनगढीमा आज आयोजित अन्तरक्रियामा मुख्यमन्त्रीले लगानीको वातावरण बनाउन देखिएका कानुनी जटिलतालाई अध्यादेशमार्फत र त्यो सम्भव नभए सङ्कल्प प्रस्तावबाट संशोधन गर्न सकिने बताउनुभयो ।

प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको तयारीका क्रममा नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले गरेको अन्तरक्रियामा मुख्यमन्त्रीले भन्नुभयो, “काम गर्ने क्रममा आउनसक्ने कानुनी जटिलताका बारेमा सम्बन्धित निकायसँग समन्वय गरी एक हप्ताभित्रमा कानुनी समस्या पहिचान गर्नुहोला ।”

लगानी तथा विकास सम्मेलनको आयोजनाले प्रदेशको आर्थिक, समाजिक र पूर्वाधार विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले केन्द्रको कानुनसँग नबाझिने गरी प्रदेशले भइरहेका कानुनलाई लगानीमैत्री बनाएर सहजीकरण गर्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशमा साझेदारी व्यवसाय ऐन, सहकारी ऐन, पर्यटनसँग सम्बन्धितलगायत कतिपय मौजुदा ऐनमा देखिएका जटिलतालाई संशोधन गरेर सहजीकरण गर्नुपर्ने देखिन्छ ।” लगानी तथा विकास सम्मेलनको तयारीका क्रममा प्रदेश सरकारले आजै कोशी प्रदेश सरकारसँग ‘भर्चुअल’मार्फत अन्तरक्रिया गरेको छ ।

त्यस क्रममा अनुभव आदान प्रदान एवं नीति तथा कानुनकाबारेमा छलफल भएको जनाइएको छ । कोशी प्रदेश सरकारले गत वैशाखमा लगानी सम्मेलन गरिसकेको छ ।

पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत

काठमाडौँ, ३२ असारः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा भएको बताउनुभएको छ ।
सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिद्वारा आज आयोजित नेपाल कानुन पत्रिका (पुरानो अङ्क) ‘प्रधानन्यायालय, २०१०’ विमोचन गर्दै उहाँले भन्नुभयो, “आधुनिक न्यायप्रणाली गर्विलो र समृद्ध बनाउन जरुरी छ, पुराना मुद्दाको फैसला खोजीगरी सङ्ग्रह गर्ने कामको सुरुवात भएको छ, यसले निन्तरता पाउनुपर्छ ।”

उहाँले विगतमा न्यायिक चेतनास्तरका बारेमा अध्ययन गरी तयार गरेर राख्दा कानुनको अध्येता, विश्वविद्यालय र कानुनका विद्यार्थीका लागि उपयोगी भएको बताउनुभयो । सर्वोच्च अदालतका न्यायाधीश तथा सम्पादन तथा प्रकाशन समितिका प्रमुख हरिप्रयास फुयाँलले कानुनी इतिहास नेपालको कानुनी इतिहासको मूल आधार भएको बताउनुभयो ।

“भारतमा मुगल आउनुअघि नेपालको कानुनी इतिहासको जानकारी छैन, पुराना कानुनी मूल्यमान्यता जरुरी छ”, उहाँले भन्नुभयो, “नेपालको कानुनी इतिहासका दस्तावेजहरु सबै जर्गेना गर्न जरुरी छ ।” विसं २०११ र विसं २०१२÷०१३ सम्मको प्रकाशन चैतसम्मसक्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा टुङ्गिएको जानकारी दिइएको छ । आव २०८०/०८१ मा मुद्दाहरुको लगत ४१ हजार २३८ भएकामा १५ हजार ५५२ (३७.६४ प्रतिशत) फर्छ्यौट भएको थियो । यस आवमा कूल मुद्दाको लगत ४० हजार ७४० मध्ये १६ हजार ६०१ (४०. ७५ प्रतिशत) फर्छ्यौट भई २४ हजार १३९ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।

नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली

काठमाडौँ, ३२ असार : नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँ मन्त्रालय पुग्नुहुँदा मन्त्रालयका सचिव रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो ।

पदबहाली गरेपछि उहाँले सङ्घ प्रदेश र स्थानीय तहमा हुने सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न सङ्घीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गर्नुभयो ।

नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रममा सङ्घ प्रदेश र स्थानीय तहका सङ्गठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

काठमाडौं नगर सभाको १७ औँ अधिवेशनबाट दुई वटा विधेयक स्वीकृत

काठमाडौं । काठमाडौं महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम दुई वटा विधेयक स्वीकृत गरेको छ ।

बुधबार भएको उक्त बैठकले काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौं महानगरपालिका सम्पदामैत्री भवन संरक्षण एंव निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको नगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् ।

यसको साथै, उनले आज नगरसभामा प्रस्तुत भएका ९ वटा कार्यसूची मध्य, कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा भएको प्रस्तावहरु संशोधन सहित पारित भएको र प्रस्ताव नम्बर ५, ६ र ७ पेश मात्र भएको घोषणा गरेका छन् ।