`

चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

काठमाडौं । आजबाट नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमार्फत पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमाको प्रतिक्रिया पाएको यो चलचित्रलाई शुक्रबारदेखि नै प्रदर्शकले उत्साहजनक शो दिएका छन् ।

निर्देशक सिमोश सुनुवारले विषयसँग मिल्दो शिर्षक र नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँने बताए ।
‘हाम्रो सिनेमाको कथा प्रेम कथानक छ, तर हामीले विषयसँग मिल्दो शिर्षक ‘जन्ते बाख्रो’ राखेका छौँ । यसले नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँछ र हाम्रो परम्परासम्म पुर्याउँछ भन्ने विश्वास छु,’ निर्देशक सुनुवारले भने ।
उनले चलचित्रको कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए । सिनेमा हेर्न आइपुगेका दर्शकबाट सिनेमाको प्रचार हुनेमा उनी विश्वस्त छन् ।

चलचित्रले मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा ३ शो, सिभिल मलमा ३ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो, राइजिङ्ग मलमा १ शो, सिटी स्क्वायरमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा २ शो, वुटवलमा २ शो, दमौलीमा ३ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा २शो, विर्तामोडमा ३ शो, विरगंजमा १, पोखरामा ३ शो र चितवनमा ३ शो रहेको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा २ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिके सिनेमाजमा २ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ४ शो र कालिमाटीमा ३ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो, बानेश्वरमा रहेको आइएनआईमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो, नैकापमा रहेको डीएम सिनेमाजमा १ शो, भक्तपुरमा रहेको सुर्यविनायक सिनेमाजमा १ शो रहेको छ ।

पोखरामा रहेको मिडटाउनमा १ शो, सिमरामा रहेको आइएनआइ केएसआर मुभिजमा ३ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा २ शो, विराटनगरमा रहेको सिटी सिनेमामा २ शो, धरान र बुटवलमा रहेको रहेको फ्रेन्ड्स सिनेमामा १ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा १ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा १ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा १ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा १ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ३ शो, इटहरीमा रहेको इलाइट सिनेमामा ३ शो रहेको छ ।

सिनेमामा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला

काठमाडौं । छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ ।कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा .१०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि विक्री खुला गरेको हो ।

लगानीकर्ताहरुले आगामी असार १२ गते सम्म हकप्रद शेयरकालागि आवेदन दिन सक्नेछन् । गत जेठ २ गते कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरेको थियो ।

जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य मानिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

यस कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत आयोजनामा गरिएको ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालिन ऋण भुक्तानी गर्नका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कोटिहोममा आज देशभरबाट चित्रकार र कविको जमघट

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज देशभरबाट चित्रकार र कविको जमघट भएको छ ।कोटिहोमको दर्शन सँगै यहाँको अवस्थाको चित्रण र कविता माध्यबाट सन्देश दिन देशभरबाट चित्रकार कवि आएका महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोमम आएका चित्रकार र कविहरूले आफ्नो कलाको माध्यमबाट कोटिहोमको वर्णन गरेका थिए । कोटिहोममा आएका चित्रकारहरूले कोटिहोममा देखिएका दृश्य, धार्मिक पुरातात्त्विक सम्पदा, देवी देवताहरूको चित्र कलात्मक ढङ्गले कोरेका थिए । चित्रकलाले कोटिहोममा आएका भक्तजनलाई आकर्षित गरेको थियो ।

देशभरबाट आएका चित्रकारहरूको संयोजन गरेका श्याम फूयालले कोटहोममा कोरिएका चित्रहरू मानव सेवा फाउन्डेसनलाई प्रदान गर्ने जानकारी दिए । यसै गरी कोटिहोममा सहभागी कविहरूले श्रुतीमधुर स्वरमा सनातन हिन्दु धर्म संस्कृतिका बारेमा उजागर गरेका थिए ।

कोटिहोममा बिहिबार नेपालकी कान्छी वाचीका देवी अनुराधा पाण्डेयको उपस्थिति रहेको छ । कोटिहोमको औपचारिक सुरुवात हुनु भन्दा पहिले प्रारम्भमा आएर प्रवचन गरेकी अनुराधा पाण्डेय बिहिबार कोटिहोम आएकी हुन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २३ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७९, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५८, बन्दा (लोकल) प्रतिकिलो रु १६, काउली स्थानीय प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३२, तने बोडी प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४२, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ५५, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४२, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३२, पालुङ्गो साग प्रतिकिलो रु ४०, प्याज हरियो प्रतिकिलो रु ७५, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७५, चुकुन्दर प्रतिकिलो रु ७५, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ७५, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५५, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १४, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १४०, लिची (भारतीय) प्रतिकिलो रु २२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८५, हरियो धनियाँ प्रतिकिलो रु ४५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

जनकपुर, २३ जेठः मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले राससलाई जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान : सभापति देउवा

महेन्द्रनगर (धनुषा)- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान भएको बताउनुभएको छ ।

कांग्रेसका दिवङ्गत नेता ठाकुरप्रसाद ढुङ्गानाको  स्मृति दिवसको अवसरमा  धनुषाको धनुषाधाममा आयोजित सालिक अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा उहाँले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार २०८४ सालसम्म टिक्ने दाबी गर्नुभयो ।

सभापति देउवाले संविधानसम्मत ढङ्गले बनेको सरकारलाई कमजोर पार्ने प्रयास अनुचित भएको भन्दै गठबन्धन स्थायीत्वको बाटोमा अघि बढिरहेको बताउनुभयो । पछिल्ला दिनमा प्रतिनिधिसभामा देखिएको अवरोधप्रति विरोध जनाउँदै उहाँले भन्नुभयो, “गठबन्धन सरकार संविधानअनुसार नै बनेको हो ।”

आर्थिक वर्ष २०८२/८३ को बजेटबारे सभापति देउवाले सरकारले ल्याएको बजेट सन्तुलित, समावेशी र उत्पादनमुखी रहेको बताउनुभयो । समग्र आर्थिक विकासमा बजेटले योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “बजेटले विकास, रोजगारी र समावेशी योजनालाई प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो ।

डेरी सञ्चालन गरी समुदायको धारण बदल्न सफल ललित

कञ्चनपुर, २३ जेठ : शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध बेच्न सुरू गर्दा धेरैले उहाँको निर्णयलाई हल्कासँग लिएका थिए । दूध बेचेर पनि कमाइ हुन्छ र ? भनेर अनेक तर्कवितर्क गरिन्थ्यो । तर समयले प्रमाणित गरिदियो, साँचो लगनशीलता र मेहनतले कहिल्यै धोका दिँदैन ।

“सुरूमा साथीभाइले हाँसो गरे, परिवारले पनि चिन्ता व्यक्त गरे”, ललित भन्नुहुन्छ, “म व्यावसायिक कार्य गर्न दृढ थिएँ, मेहनत गर्छु, केही न केही गर्छु भन्ने अठोट लिएर अगाडि बढेँ, यही अठोटले आज दुग्ध व्यवसायीका रूपमा चिनायो ।”

सुरूमा गाउँगाउँ घुमेर ललितले ५० लिटर दूध साइकलमा बोकेर महेन्द्रनगर बजारमा लगेर बेच्नुहुन्थ्यो । हाल ललितले झलारी बजारमा डेरी व्यवसाय सुरू गरी दैनिक एक हजार १०० लिटर दूध खपत गर्नुहुन्छ । दुई सय किसानले ल्याएको दूध उहाँको डेरीमा खरिद हुने गरेको छ ।

रु दुई करोड ५० लाख डेरी व्यवसायमा उहाँले लगानी गर्नुभएको छ । डेरीबाट दूध, दही बिक्री गर्ने कार्यसँगै लालमोहन, पेँडा, बालमिठाइ, रसबरी, मिल्क केक, लज, लस्सी, मोही, नौनी र घ्यू उत्पादन गरी बिक्री हुने गरेको छ । वर्षमा रु तीन करोडभन्दा बढी डेरी व्यवसायको कारोबार हुने गरेको छ । व्यवसायकै कमाइबाट उहाँले रु एक करोड २० लाखमा बजार क्षेत्रमा तीनतले घर निर्माण गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “दुई दशकअघि व्यवसायी बन्ने सपना सफल भएको छ ।” डेरी व्यवसायमा पाँच जनालाई उहाँले रोजगारी पनि दिनुभएको छ ।

“सुरूमा व्यवसाय सञ्चालन गर्दा ५० लिटर दूध बिक्री गर्न पनि समस्या हुन्थ्यो, स्थनीय बजारमा खपत हुँदैन्थ्यो”, उहाँले भन्नुभयो, “महेन्द्रनगर पुर्याएर बेच्न थालेपछि खपत बढ्दै गयो, त्यसपछि सय लिटर दूध खरिद गरी बेच्न थालेँ, दूध बिक्री गरेको रु ३० हजार रकमले केही फर्निचर खरिद गरेँ, काउन्टर बनाएँ, भाँडाकुँडा स्थानीयले निःशुल्क दिए, पछि फिर्ता गरेँ ।”

निरन्तर व्यवसाय बढ्दै गएको र त्यसपछि चुलोमा दाउरा बालेर दूध तताउने कार्यसँगै मिठाइ बनाउन थालेको उहाँले बताउनुभयो । ललितले आम्दानी बढेपछि क्रिम सेप्रेटर मेसिन खरिद गरेँ । फ्रिजको निकै आवश्यक थियो, त्यो पनि खरिद गरेँ । त्यसपछि २०७६ सालमा रु २० लाख पशुपन्छी क्षेत्रीय निर्देशनालयबाट अनुदान रकम पाएपछि व्यवसायलाई अगाडि बढाउन सहज भएको उहाँ बताउनुहुन्छ ।

अहिले बैंकबाट रु ८० लाख कर्जा लिएर डेरी मिनी प्लान्ट जडान गरी आधुनिक रूपमा व्यवसाय गर्न थालेको उहाँले बताउनुभयो । बैंकबाट लिएको कर्जामध्ये रु २० लाख उहाँले चुक्ता गर्नुभएको छ । सरकारले पारदर्शी रूपमा सहुलियतपूर्ण रूपमा बैंकबाट कर्जा उपलब्ध गराउने कार्यसँगै विद्युत्, मेसिन र आधुनिक प्रविधिको विकासमा सहुलियत पुर्याउनुपर्ने उहाँ बताउनुहुन्छ । प्याकेजिङ, लेबलिङ, स्टोरिङ गर्ने तौरतरिका सिकाउनका लागि तालिम दिनुपर्ने ललितको माग छ ।

ललितले झलारी बजारमा मात्र नभएर कैलालीको धनगढीमा पनि डेरी व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँका माइला दाजुले धनगढीको डेरी पसल सञ्चालन गर्दै आउनुभएको छ । गुणस्तरीय डेरी प्रोडक्ट उपलब्ध गराउँदै आएकाले ग्राहकको विश्वास बढ्दा कारोबार पनि बढ्दै गएको उहाँले बताउनुहुन्छ ।

स्थानीय बजारमा नै डेरी सञ्चालन गरी स्वरोजगारको सृजना गर्दै जीवनशैली मात्र नभएर समुदायको धारण बदल्न ललित सफल हुनुभएको वडाध्यक्ष लालबहादुर ऐर बताउनुहुन्छ । “स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहित गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “डेरी व्यवसाय आत्मनिर्भरताको मेरुदण्डका रूपमा रहेको छ ।”

गाउँका हिलाम्मे र धुलाम्मे सडकमा कालोपत्र भएपछि स्थानीय खुसी

तुलसीपुर (दाङ), २३ जेठ : तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ । “पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो”, स्थानीय नन्दकुमार पुनले भन्नुभयो, “अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ ।”

कालोपत्र नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो । अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताउनुभयो । “सुकाएका कपडामा पनि धुलैधुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो”, उहाँले भन्नुभयो । सोही ठाउँको आठ सय मिटर सडक कालोपत्र भएको हो ।

त्यसैगरी, तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यतिमात्र होइन, वर्षात्मा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको स्थानीय डिला केसीले बताउनुभयो । “वर्षात्मा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको छ ।” जहाँ साढे तीन सय मिटर सडक कालोपत्र भएको हो ।

यी दुवै सडकका लागि रु ८६ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उहाँले यो ठाउँमा कालोपत्र गरिएको बताउनुभयो । “सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्र गर्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसले निकै सहज बनाएको छ ।” यस वर्षमात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको बताउनुभयो । आवश्यकतानुसार नयाँ ट्रयाक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्यसमेत गरिएको उहाँको भनाइ छ ।
–––

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट

कर्णाली, २३ जेठ : उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।उच्च अदालत सुर्खेतद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अदालतको काम कारबाहीका सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया’ मार्फत गत वर्षबाट सरी आएका एक सय ६२ र चालु आवमा दर्ता भएका छ सय १३ गरी छ सय नौ मुद्दामा ७८ दशमलव ५८ प्र्रतिशत मुद्दा फर्छ्योट भएको अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब ७९ प्रतिशत फछ्र्योट भए पनि यो वर्षको मसान्तसम्म ८५ प्रतिशत मुद्दा फर्छ्योट गरिने लक्ष्य राखिएको छ ।

न्यायाधीश भण्डारीले पुनरावेदनअन्तर्गत देवानी ८५, सरकारवादी फौजदारी पाँच सय ४१, दुनियावादी फौजदारी ४४ गरी छ सय ७०, रिट ९४ र सुरु मुद्दा ११ गरी सात सय ७५ मुद्दामा छ सय नौ फछ्र्योट भएको र एक सय ६६ फर्छ्योट हुन बाँकी रहेको जनाउनुभयो ।

त्यसैगरी, प्रतिवेदनअन्तर्गत मुलुक फौजदारी कार्यविधि संहिताको ७३ नम्बरबमोजिम एक सय ३५ र मुलुकी देवानी कार्यविधि संहिताको एक सय ५७ नम्बरबमोजिम १७ मुद्दा गरी एक सय ५२ मा एक सय २९ फर्छ्योट र १५ फर्छ्योट हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

मुद्दाको विषयअनुसार जबर्जस्ती करणीसम्बन्धी एक सय ३१, ज्यान मार्ने कसुरका एक सय आठ, लागुऔषधका ७३, विवाहसम्बन्धी ६१, चोरीका ४५, वन तथा वन्यजन्तुसम्बन्धी १७, जातीय छुवाछूतसम्बन्धी ३१, हातहतियार खरखजनाका छ, मानव बेचबिखन तथा ओसारपसारका पाँच, रिट निवेदन ९४ र अन्य दुई सय चार मुद्दा दर्ता भएको न्यायाधीश भण्डारीले बताउनुभयो ।

अन्तक्र्रियामा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले चालु आर्थिक वर्षमा एक हजार मुद्दा दर्ता हुने र सात सय १२ मुद्दा फर्छ्योट हुने लक्ष्य राखिएको बताउनुभयो । उहाँले कर्णालीमा न्यायालयले सम्पादन गर्ने मुद्दासम्बन्धी समाचार कम मात्र आउने गरेको बताउँदै गहिरो अध्ययन–अनुसन्धानबाट न्यायसम्बन्धी समाचार सम्प्रेषण गर्न कर्णालीका पत्रकारहरूलाई अनुरोध गर्नुभयो । न्यायालय संविधान र कानुनबाट मात्र प्रभावित हुने बताउनुभएको कामु मुख्य न्यायाधीश भट्टराईले भीड वा अन्य कुनै दबाबमा अदालत नडगमाउने प्रष्ट्याउनुभयो ।

दिगो पर्यटन विकासका लागि सामूहिक रणनीति फराकिलो बनाउने निष्कर्षसहित सकियो ‘हिमालयन ट्राभल मार्ट’

काठमाडौँ, २३ जेठ : दिगो पर्यटन विकासमा हिमालय मुलुकहरूबीच सामूहिक प्रयास तथा अन्तरराष्ट्रिय रूपमा गन्तव्य प्रवर्द्धनको रणनीतिलाई फराकिलो बनाउने निष्कर्षसहित अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौँ संस्करण काठमाडौँमा बिहीबार सम्पन्न भएको छ ।

यही जेठ २० देखि २२ गतेसम्म भएको पर्यटन मार्टमार्फत विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास लिइएको छ ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घसंस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा मार्ट आयोजना गरेको हो । मार्टमा ३० भन्दा बढी मुलुकबाट १०० भन्दा बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी सात सय प्रतिनिधिको सहभागिता थियो ।

मार्टको ठमेलस्थित एलओडी नाइट क्लबमा आयोजित एक कार्यक्रमकाबीच समापन गरिएको हो । मार्टमा सहभागी पाहुनाले विभिन्न साङ्गीतिक प्रस्तुतिका साथै डिजेको बेजोड प्रस्तुतिको आनन्द लिएका थिए । कार्यक्रममा मार्टमा सहभागी विदेशी प्रतिनिधिसहित पाटा नेपालका अध्यक्ष खेम लकाई, नेपाल वायुसेवा निगमका संथागत निर्देशक अनिल घिमिरे, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत, पर्यटन व्यवसायीलगायतको उपस्थिति थियो ।

मार्टमा ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयमा सम्मेलन तथा पर्यटनका विविभन्न विषयमा समूहगत छलफल गरिएको थियो । बोल्ने विज्ञहरूले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविकतायुक्त नेपालको अथाह पर्यटकीय सम्भावनाको उजागर गरी विश्वभरका पर्यटक आकर्षण गर्न समन्वय र सहकार्य जरूरी भएको खाँचो औँल्याए ।

मार्टका संयोजक एवं पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तरराष्ट्रिय स्रोत बजारहरूमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले पर्यटन मेला आयोजना गरिएको बताउनुभयो । सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हँुदै आएको एचटीएम नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।

सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ता र विचारकले आध्यात्मिक, साहसिक र लक्जरी पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गरेका थिए । यस्तै बिटुबी कार्यक्रमअन्तर्गत यस वर्ष एचटीएमले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ भन्दा बढी विक्रेता सहभागी भएको पाटा नेपालले जनाएको छ ।

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

काठमाडौँ, २३ जेठ : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ ।

विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार ड्यासबोर्ड सार्वजनिक गरिएको हो । ड्यास बोर्डबाट कामपा क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पिएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकाङ्कको विवरणलाई वास्तविक समयमा हेर्न सकिने कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सीता राईले जानकारी दिनुभयो ।

यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाउन सकिन्छ, कामपा स्वस्थ्य सहरका लागि थालेका प्रयत्नमध्ये यो एउटा महत्त्वपूर्ण प्रयास हो प्रमुख राईको भनाइ छ ।

वायु गुणस्तरको अवस्थालाई विभिन्न छवटा रङले अवस्था सङ्केत गरिएको छ । जसमा हरियो रङ राम्रो अवस्थाको सङ्केत हो । पहेँलो रङ मध्यम, सुन्तला रङ बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका, मुटुरोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो । रातो रङले अस्वस्थ्य अवस्थाको सङ्केत गर्छ । यो सबैका लागि अस्वस्थ्य अवस्था हो । खासगरी संवेदनशील वर्गका व्यक्तिहरू यसबाट जोगिनुपर्छ ।

वैजनी रङले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर हुनसक्ने सङ्केत गरिएको छ । यस्तै गाढा खैरो रङ जोखिमपूर्ण अवस्था हो । यसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुनसक्छ । खासगरी पहिले नै समस्या भएकाहरूका लागि बढी असर हुनसक्छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी भन्नुहुन्छ, “ड्यास बोर्डबाट प्राप्त हुने तथ्याङ्कले सहरी जनस्वास्थ्य समस्या समाधानका लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न आधार दिनेछ ।”

वायु गुणस्तर सूचकाङ्कलाई रङ सङ्केत दिएर स्वास्थ्य सावधानी सूचना बोर्ड राखिने छ । वायु प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ बोर्डमा छ । यसबाट सवारी साधन प्रदूषण जाँचको प्रगति विवरण हेर्न सकिन्छ । क्षेत्रपाटी चिकित्सालय, लैनचौर, कलङ्की चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदूषण मापनयन्त्र जडान गरिएका छन् ।

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २३ जेठ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९७ पैसा र बिक्रीदर २१ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २३ जेठ : सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।

यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ, २३ जेठः हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च–पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔँ: उद्योगमन्त्री भण्डारी

बैतडी, २२ जेठः उद्योग, वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बैतडीको देहिमाडौँमा आयोजित इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै उहाँले उद्यमीलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गर्नुभयो ।

सरकारले उद्योगमैत्री नीतिहरू लागू गरिरहेको बताउँदै युवा तथा महिला उद्यमीका लागि सहुलियतका कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । सीमावर्ती भारतीय बजारबाट सामान प्रशस्त आयात भइरहेकामा सोहीअनुरूप निर्यातजन्य उत्पादनमा जोड दिन उद्यमीलाई आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले विकास निर्माणका आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल–भारत सिमानाका झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको र आगामी दिनमा हुने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला थप प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

उहाँले जिल्लाको आर्थिक, भौतिक तथा पर्यटकीय विकासका लागि आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । आफूले जिल्लावासीसँग गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेको मन्त्री भण्डारीको भनाइ छ ।

उहाँले बैतडीसहित सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताउनुभयो । “प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो”, उहाँले भन्नुभयो, “स्रोतसाधनको उपयोग र जनसाङ्ख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो, प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसर विद्यमान छन् ।”

यहाँ प्रशस्त वन स्रोत, वन उत्पादन, जडीबुटी तथा औषधिजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् । यसको उपयोग गर्दै आर्थिक विकासमा जोड दिनु जरुरी छ । सरकारले उद्योगमैत्री बजेट ल्याएको मन्त्री भण्डारीको दाबी छ । इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला यही जेठ २६ सम्म सञ्चालन हुनेछ ।

मबाट सरकारी एक टुक्रा जमिन कसैलाई दिने निर्णय भएको छैन : अध्यक्ष नेपाल

चन्द्रपुर (रौतहट), २२ जेठः नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नभएको बताउनुभएको छ ।

गृहनगर रौतहटको गौरमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो कार्यकालमा राष्ट्रलाई नोक्सान हुने कुनै पनि निर्णय नगरेको बताउनुभयो । “म प्रधानमन्त्री हुँदा कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न निर्देशन दिएको छैन”, उहाँले भन्नुभयो–“सबै हेर्ने न्याय जीउँदै भएकाले न्यायभन्दा ठूलो र सत्यभन्दा ठूलो कुरा केही हुँदैन ।”

अध्यक्ष नेपालले कसैमाथि आरोप लगाउन नचाहेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही पनि नभएकाले अब कानुनी प्रक्रियाबाट नै अगाडि बढ्ने बताउनुभयो । अहिलेसम्म आफुले कुनै खराब नियतबाट राष्ट्रलाई हानी हुने गरी लाभ उठाएर भ्रष्टाचार नगरेको उहाँको भनाइ थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर गरेपछि उहाँ आजै काठमाडाँै फर्कनुभएको छ ।

लुम्बिनीमा प्रदेशमा आगामी तीन वर्षमा रू १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण

लुम्बिनी, २२ जेठ: लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र रू १० अर्ब पु¥याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री आचार्यले प्रतिवेदनका सुझावलाई आगामी बजेट र कार्यक्रममार्फत कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“गत वर्षको तुलनामा डेढ अर्ब रुपैयाँले आन्तरिक राजस्व बढाएका छौँ, कानुनी अड्चन फुकाउँदै र दायरा फराकिलो बनाउँदै तीन वर्षमा १० अर्ब राजस्व सङ्कलन सम्भव छ”, उहाँले भन्नुभयो ।

कार्यदलले प्रदेशको राजस्व संरचना, अधिकार, परिचालन र सम्भावित स्रोतबारे अध्ययन गरी प्रतिवेदनमार्फत सुझाव दिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२÷८३ मा स्थानीय तहसँग बाँडफाँट समेत गरी रू पाँच अर्ब ९० करोड, २०८३÷८४ मा रू छ अर्ब ६७ करोड र २०८५÷८६ मा रू १० अर्ब दुई करोड राजस्व सङ्कलनको हुने प्रक्षेपण गरिएको छ ।

राजस्वको दायरा फराकिलो पार्न कार्यदलले विभिन्न रणनीतिक क्षेत्र पहिचान गरेको छ । जसमा प्राकृतिक स्रोत तथा निर्माण सामग्री (ढुङ्गा, गिटी, माटो, बालुवा आदि), पर्यटकीयस्थल, क्यासिनो, होर्डिङ बोर्ड, डिजिटल डिस्प्ले, सडक बत्ती तथा सामाजिक सञ्जालमा गरिने विज्ञापन, प्लास्टिक प्याकेजिङमा प्रयोग हुने बट्टा र पाउच, सवारी कर, कृषिजन्य आयलगायत क्षेत्रको दायरा विस्तार गरी कर प्रणालीलाई प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, घरजग्गा रजिष्ट्रेसन कार्य प्रदेश सरकार मातहत ल्याउने, मालपोत मूल्याङ्कनमा प्रदेश प्रतिनिधित्व सुनिश्चित गर्ने, आन्तरिक ऋण उठाउने कानुनी आधार तयार गर्ने, कर तथा गैरकर राजस्व ऐन संशोधन गर्ने, चालु खर्चमा मितव्ययिता अपनाउने र प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउनेजस्ता ठोस कदमहरू सिफारिस गरिएको छ । मुख्यमन्त्री आचार्यले प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयलाई स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिनुभयो ।

गत २०८१ कात्तिक ४ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा तीन जना प्रदेशसभा सदस्य, योजना आयोग, सबै मन्त्रालयका सचिव सदस्य रहनुभएको थियो । प्रदेशमा राजस्वको विद्यमान अवस्थाको अध्ययनगरी राजस्वको वर्तमान समष्टिगत अवस्था, राजस्व परिचालनका आधार र दायरासहित सम्भावित स्रोतको पहिचानगरी राजस्व अभिवृद्धिका लागि सुझाव दिनेगरी कार्यदल गठन गरिएको थियो ।

मुख्यमन्त्री सिंहसँग एडिबी टोलीको भेट

जनकपुर, २२ जेठः मधेस–प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) मूल्याङ्कन अन्तिम चरणमा पुगेको जनाएको छ । यो मूल्याङ्कन एशियाली विकास बैंक (एडिबी)को प्राविधिक सहयोगमा स्वमूल्याङ्कन विधिबाट अगाडि बढाइएको हो ।

आज जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा एडिबीका प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेटगरी मूल्याङ्कनको प्रगतिबारे जानकारी गराएको हो । एडिबी निर्देशक श्रीनिवासन जनार्दनमको नेतृत्वमा आएको टोलीले हालसम्मको मूल्याङ्कन प्रक्रिया, नतिजा र आगामी कार्ययोजनाबारे छलफल गरेको हो ।

छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, साथै एडिबीका वरिष्ठ अधिकृत जुलीका र कृष्ण पाठकको उपस्थिति थियो ।

प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनको लक्ष्यसहित सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका लागि यो मूल्याङ्कन अघि बढाएको हो ।

नेपालमा यसअघि गण्डकी प्रदेशले पिएफएम मूल्याङ्कन पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्याङ्कन अन्तिम चरणमा पुगेको एडिबी प्रतिनिधिमण्डलले जनाएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

काठमाडौँ, २२ जेठः नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । हङ्कङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङ्कङले आज मैत्रीपूर्ण खेल खेलेका हुन् ।

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

कैलाली, २२ जेठः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयले घोषणा गरेका १२ सहरलाई व्यवस्थित बनाउन योजना बनाएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले त्यसलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले जोड दिइरहेको बताउनुभयो । उहाँले यसै वर्ष सहरी विकास नीति पारित भएको समेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सहरी विकास नीति मन्त्रिपरिषद्बाट पारित भइसकेपछि अब त्यसलाई संसद्मा लैजान विधेयकको तयारी अन्तिम चरणमा पुगेको छ ।”

सहरी विकास ऐन आइसकेपछि सहरको व्यवस्थित रुपमा विकास गरिने उहाँले बताउनुभयो । राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संयुक्त सरकार बनेको उपप्रधानमन्त्री सिंहले उल्लेख गर्नुभयो ।

कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषय उपयुक्त नभएको उहाँले बताउनुभयो । “अध्यागमनका कर्मचारीले गल्ती गरेकै कारण अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरुद्ध गर्नु ठीक होइन”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो छ : मन्त्री शाही

काठमाडौँ, २२ जेठः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि मन्त्री शाहीले जलवायु अनुकूलन आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

“जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तीनै तहका सरकारले साझारुपमा जलवायु मैत्री विकास आयोजना अघि बढाउनुपर्छ, बढी कार्वन उत्सर्जन गर्ने राष्ट्रले जलवायु वित्त र प्रविधि हस्तान्तरणमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सरकारले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा जलवायु परितर्वनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको जानकारी दिँदै मन्त्री शाहीले भन्नुभयो, “हाम्रा सेता हिमाल कालापहाडका रुपमा देखिन थालेका छन् । हिमाली जनजीवन, कृषि प्रणाली, जैविक विविधता र जलस्रोतमा असर पर्दै गइरहेको छ । केही समय अघि सगरमाथा संवाद आयोजना गरी यसबारे विश्वको ध्यानाकर्षण गराइएको छ ।”

नेपालसहित विश्वभर आज अन्तरराष्ट्रिय वातावरण दिवस मनाइएको जानकारी दिँदै मन्त्री शाहीले वातावरण स्वच्छता कायम गर्न नेपालमा ४० माइक्रोनभन्दा मुनिका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको बताउनुभयो । राससको तस्बिर प्रदर्शनीमार्फत नेपालका सम्पूर्ण हिमशृङ्खला र पर्यटकीयस्थलको झलक प्रस्तुत भएको उहाँको भनाइ थियो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

युएई जाने नेपाली श्रमिकको तलब बढ्यो

काठमाडौँ, २२ जेठः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ ।

मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताउनुभयो । उहाँले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताउनुभयो । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने बताइएको छ ।

“युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “तोकिएकोभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुनेछैन ।”
युएई जाने नेपाली कामदारको हितमा यो निर्णय उपलब्धिमुलुक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तारेमाम लिएर आए गायक दिनेश उदय र गायिका निर्मला देवी बस्नेतले

बहुचर्चित नायक पल शाह र मोडल नारायणी खत्रीले खेलेको दोहोरी गीत तारेमाम यतीबेला चर्चाको शिखरमा छ । सांस्कृतिक सुगन्ध, प्रेमिल दृश्य र मिठो लयले भरिएको यस गीतको भिडियोले सामाजिक सञ्जालमा छोटो समयमा नै उल्लेखनीय लोकप्रियता हासिल गरिरहेको छ। गीतका मोडलद्धय पल र नारायणीको लोभलाग्दो अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् ।

युट्युब, फेसबुक र टिकटकमा यो भिडियो भाइरल बन्दै गएको छ, जहाँ दर्शकले ‘यस वर्षको उत्कृष्ट सांस्कृतिक दोहोरी गीत’ भन्दै प्रशंसा गर्न पनि पछि परेका छैनन् । सार्वजनिक गीतका गीतका गायक हुन् – हिमालयन होटलका सञ्चालक तथा उद्यमी दिनेश उदय । जसले पहिलो पटक दोहोरी गायनमा हात हालेका हुन्। दिनेश उदयको स्वरमा आत्मीयता र स्पष्टता छ, जुन संगीतकार खेम सेन्चुरीले रचना गरेको लयमा गज्जबसँग मेल खाएको छ। चर्चित उद्यमी दिनेश उदयसँगै गायनमा निर्मला देवी बस्नेतको स्वर सुन्न सकिन्छ । पछिल्लो समय चर्चामा रहेकी गायिका निर्मलाको स्वर सुमधुर मात्र होइन, भावपूर्ण पनि छ।

यसअघि उनले गाएको ‘तिमीलाई पछेउरी किन्दिउला’ गीत करोड क्लबमा प्रवेश गरेर चर्चा कमाएको थियो। ‘तारेमाम’ उनको अर्को सशक्त प्रस्तुति बन्ने देखिएको छ। ‘तारेमाम’ गीतको विशेष पक्ष भनेको नेवारी भाषा, भेषभूषा र संस्कृतिको प्रस्तुति हो। शब्दकार नेत्र अर्यालले गीतका हरफहरूमा नेवारी भाषाका विभिन्न शब्दहरू प्रयोग गरेका छन् — ‘तारेमाम’ जस्तै मिठा शब्दहरूले मात्र नभएर, गीतमा बोलिने शैली, भाव र रङ्गले पनि नेवारी संस्कृतिको सुगन्ध फैलिएको छ। गीतको भिडियोमा पल शाह र नारायणी खत्रीलाई नेवारी पोशाकमा प्रस्तुत गरिएको छ। उनीहरूको प्रेमकथा होटलको परिवेशभित्रै विकसित भएको छ, जसले दर्शकलाई परम्परागत शैलीमा आधुनिक प्रेम देख्ने अवसर दिएको छ। गीतको निर्माता पृथ्वी इन्टरटेन्मेन्टका सञ्चालक पृथ्वी थकाली हुन्। उनले पछिल्ला केही वर्षदेखि नेपाली मौलिक संगीतमा लगानी गर्दै आएका छन्। तारेमाम गीतले पनि पृथ्वी इन्टरटेन्मेन्टको सांस्कृतिक संगीतप्रतिको समर्पणलाई पुष्टि गरेको छ।

जसको निर्देशन मौषम हिमालीले गरेका हुन् । भिडियोमा विशेषगरी होटलको भव्यता, भेषभूषा, चरित्रको रसायन र कथाको बहाव सँगसँगै अघि बढाइएको छ। पल शाहको दमदार अभिनय र नारायणी खत्रीको नारीत्वले सजिएको यो प्रेम कथा दर्शकलाई सादगी र सौन्दर्यको बीचको मधुर सन्तुलनमा पुर्‍याउँछ। उनीहरूको आँखा–आँखाको संवाद, मौन हाँसो, र नेवारी भेषमा देखिएको रसायनले दृश्यहरूलाई भावनात्मक बनाएको छ। सार्वजनिक गीतले लोकसंगीतमा फ्युजन, व्यावसायिकता र प्रविधिको युगमा पनि ‘तारेमाम’ जस्तो मौलिक प्रस्तुति दर्शकका लागि ताजगीको अनुभूति हो। यस गीतले नेपाली लोक संस्कृतिको बहुजातीय समावेशीकरणलाई सम्मान गरेको छ, जसले सांगीतिक एकता र संस्कृति संरक्षणमा टेवा पु¥याएको छ।

नेपालमा राजावादीहरुले गरेको आन्दोलनको कुनै अर्थ छैन : सभापति देउवा

जनकपुरधाम, २२ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ । जनकपुरधामस्थित विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भन्नुभयो– “राजतन्त्र कहिलै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।”

वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्र्टीको सहमतिअनुसार कार्य गरिरहको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताउनुभयो ।

कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुगाङ््नाको आज धनुषाधाममा आयोजित ६२आँै स्मृतिसभा, शालिक अनावरण र उहाँका बारेमा लेखिएको पुस्तकको विमोचनसहितका कार्यक्रममा सहभागी हुन सभापति देउवा आज जनकपुरधाम आउनुभएको हो ।

सप्तकोशीमा अभ्यास गर्दै गर्दा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता

इटहरी (सुनसरी), २२ जेठः सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएको जानकारी दिएको छ ।

बेपत्ता हुनेमा दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेको कार्यालयले जनाएको छ । उहाँहरू विपद्का बेला नदीमा फसेका व्यक्तिहरुको उद्धार गर्ने तरिका सिक्नका लागि अभ्यास गर्दै हुनुहुन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ताको खोजीमा तीव्रता दिएको छ । आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ ।”

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ : मन्त्री गुरुङ

भक्तपुर, २२ जेठः सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा लागिरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उहाँले सरकारले एक वर्षभित्र सबै क्षेत्रमा देशभरी फोरजी सेवा पु¥याउने बताउनुभएको हो । उहाँले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई पूर्ण रुपमा सञ्चालनमा ल्याएर हुलाक टिकट, लेबल–स्टिकर, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्रलगायत महत्वपूर्ण कागजपत्र यही छपाई गर्नेगरी तयारी गरेको बताउनुभयो ।

विसं २०८४ मा हुने निर्वाचनको एक वर्ष अगाडि नै एमालेले पार्टीको महाधिवेशन गर्ने पार्टीले तयारी गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “निर्वाचन भएको करिब तीन वर्ष भयो, चुनावपछिको ६० प्रतिशत कार्यकाल सकियो । अब २०८४ सालमा हुने निर्वाचनको एक वर्ष अगाडि नै महाधिवेशन गरेर पार्टीलाई अझै बलियो बनाएर निर्वाचनमा जाने तयारीमा जुटेका छौँ ।”

पार्टीलाई सुधार र संशोधन गरेर लैजानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टीमा हावी हुँदै गएको व्यक्तिवादी स्वार्थ र दक्षिणपन्थी अवसरवादलाई निमिट्यान्न पार्नु आजको टड्कारो आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमालेको नीति, सिद्धान्त र एजेण्डा राम्रो छ, तर आन्तरिक जीवन जसरी चलिरहेको छ त्यसलाई सुधारेर अगाडि बढ्नु जरुरी छ, पार्टीभित्र हावी हँुदै गएको व्यक्तिवादी स्वार्थ, अराजकता र दक्षिणपन्थी अवसरवादको अन्त्य हुनु जरुरी छ ।”

निर्वाचनमा अन्तरघात गर्नेहरुलाई छुट नदिइ कारबाही गरेर जानुपर्नेमा त्यसो गर्न नसकिएको उहाँको भनाइ थियो । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटले पार्टीभित्र रहेका कमजोरीलाई प्रष्ट देखाएको जिकिर गर्दै मन्त्री गुरुङले त्यसलाई सुधारेर जानुपर्ने बताउनुभयो ।

चार परियोजनाको एक खर्ब १७ अर्ब लगानी स्वीकृत

काठमाडौँ, २२ जेठः लगानी बोर्डको ६४औँ बैठकले विभिन्न चार परियोजनाका लागि एक रू खर्ब १७ अर्ब ४० करोड लगानी स्वीकृत गरेको छ । आज बसेको बोर्ड बैठकले बझाङको माथिल्लो सेती जलविद्युत् परियोजना (२१६ मेगावाट), बकान खोला जलविद्युत् परियोजना (४४ मेगावाट) तथा छिलुङ खोला जलविद्युत् परियोजना (४३.२ मेगावाट) क्षमताका परियोजनाको रु ५९ अर्ब ७६ करोड लगानी स्वीकृत गरेको हो ।

त्यस्तै मुक्तिनाथ केबलकार परियोजना (८१.०४१ किमी) को रु ५७ अर्ब ६४ करोड बराबर लगानी स्वीकृत भएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

त्यस्तै आजको बैठकले बझाङको माथिल्लो सेती जलविद्युत् परियोजना तथा मुक्तिनाथ केबलकार परियोजनाको परियोजना विकास सम्झौता (पिडिए) को शर्तलगायत विषयमा प्रस्तावक कम्पनीसँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा अलग अलग वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, बैठकले लगानी बोर्डको कार्यालयमा आह्वान नगरिएको परियोजना प्रस्तावका रुपमा प्राप्त आइसिटी पार्क परियोजनालाई स्वीस च्यालेञ्जको अवधारणाअनुरुप प्रतिस्पर्धा गराई अगाडि बढाउने निर्णय गरेको छ । साथै बैठकले पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना (८०० मेगावाट) को भारतीय जलविद्युत् कम्पनी एनएचपिसी लिमिटेडबाट प्राप्त अन्तिम विस्तृत परियोजना प्रतिवेदन जानकारी लिँदै परियोजना सम्बन्धमा विभिन्न वित्तीय ढाँचाबारे थप अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

यसैगरी आजको बैठकबाट नेपालमा रेलमार्गसम्बन्धी क्षेत्रमा सहकार्य गर्न कोरियन रेल बोर्ड कर्पोरेसनसँग समझदारी गर्न समझदारीपत्रको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णयसमेत गरिएको छ ।

जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा : डा मिनेन्द्र रिजाल

काठमाडौँ, २२ जेठः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिनुभएको छ ।अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनको असर हिमशृङ्खलामा परेको औँल्याउनुभयो । उहाँले हिमालको समृद्ध देशको रुपमा रहेको नेपाल जलवायु परिवर्तनको असरले हिउँ पग्लिने र हिमतालले फुट्ने खतरा रहेको बताउनुभयो ।

“जलवायु परिवर्तनका कारण हिमशृङ्खला जोखिममा छन् । हिमताल फुट्ने जोखिम बढेर गएको छ । यी विषयलाई बढी उजागर गर्नुपर्ने आवश्यकता छ, हिउँ पग्लिएर कालो चट्टानको रुपमा मात्र देखिन्छ । यसलाई गम्भीर भएर सोच्नुपर्छ, नेता रिजालले भन्नुभयो ।

राससको तस्बिर प्रदर्शनीले नेपालका पहमशृङ्खलालाई राम्रोसँग नियाल्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा सुन्दर हिमशृङ्खलाहरु छन् । सबैजना एकपटक पुग्नुपर्छ । हिमाल हाम्रो छानो नै हो । तस्बिरले हिमालको सुन्दरतालाई देखाउने प्रयास गरेको छ ।”

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेता रिजाललाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदर्शनीमा राखिएका तस्बिरले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न तस्बिरले सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य सेवाका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरे अनुसार मन्त्रालयले काम अघि बढाइरहेको छ ।

ऐनको प्रारम्भिक मस्यौदा निर्माणको काम भैरहेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । ऐनले संघीयतापछि स्वास्थ्य सेवाका कर्मचारीहरुको सेवा सुविधाका सम्बन्धमा प्रष्टता ल्याउने अपेक्षा गरिएको छ ।

यसैगरी, २०३५ साल पुरानो औषधी ऐनलाई प्रतिष्थापन गर्दै मन्त्री पौडेलले औषधी तथा स्वास्थ्य सामग्री ऐन ल्याउने तयारी अघि बढाएका छन् । औषधीका क्षेत्रमा आएका परिवर्तन र समेट्न नसकेका क्षेत्रलाई नयाँ ऐनमा समावेश गर्ने गरी मन्त्रालयले मस्यौदालाई अन्तिम रुप दिएको छ भने नियमावली तयार भैरहेको छ । लगत्तै कानून मन्त्रालयको राय लिएर मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी मन्त्रालयको छ ।

मन्त्री पौडेलले रामराजा प्रसाद सिंह अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तर गर्ने गरी प्रतिष्ठान ऐन ल्याउने गरी तयारी अघि बढाइरहेका छन् । कानून मन्त्रालयको राय प्राप्त भए पछि संसद लैजाने तयारी छ ।

यसबाहेक सार्वजनिक प्रतिबद्धता अनुसार मन्त्री पौडेलले एकीकृत विकास समिति ऐन, एकीकृत प्रतिष्ठान ऐनको तयारी अघि बढाइरहेका छन् । यसैगरी आमाको दूध प्रतिष्थापन गर्ने वस्तु ऐन २०४९ लाई संसोधनका लागि कानून मन्त्रालयको राय प्राप्त भए पछि संसदमा लैजाने तयारी छ ।

मन्त्री पौडेलले प्रत्यायन ऐन, सूर्तीजन्य पदार्थ ऐन २०६८ संसोधन गर्न बनेको विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयकको काम समेत अघि बढाइरहेका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक समेत आफ्नो पूर्व प्रतिबद्धताअनुसार अघि बढाउन मन्त्री पौडेलले गृहकार्य गरिरहेका छन् ।मन्त्री पौडेलले घटदो जनसंख्या तथा बढ्दो चुनौतीको अवस्थालाई सम्बोधन गर्न नयाँ नीति ल्याउने घोषणा गरेका थिए । सोहीअनुसार नयाँ नीति ल्याउने गृहकार्य समेत अन्तिम चरणमा पुगेको छ ।

संघीयता आएको लामो समयदेखि संसोधन हुन नसकेका तथा नयाँ परिस्थितीमा आवश्यक ऐन कानूनका माध्यमबाट सुशासन दिने लक्ष्यमा मन्त्री पौडेलले काम अघि बढाइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मधेश प्रदेश सभामा संसदीय छानबीन विशेष समिति गठन

जनकपुर । मधेश प्रदेश सभाले संसदीय छानबीन विशेष समिति गठन गरेको छ । विगत लामो समयदेखि जनता समाजवादी पार्टी नेपाललगायतका प्रमुख प्रतिपक्षका सांसदहरुले उठाउँदै आएको आर्थिक अनियमितता, संसदीय विकास कोषको रकम अपचलन, मुख्यमन्त्री सतिश कुमार सिंहको भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंगको भेटलगायतका विषयहरु लिएर विरोध गर्नुका साथै छानबीन समिति गठन गर्न माग गर्दै आएका थिए ।

हिजो (बुधबार) बैठक बस्ने बित्तिकै प्रमुख प्रतिपक्षले अवरोध गरेपछि बैठक आजका लागि स्थगित गरिएको थियो ।बजेट ल्याउने समय एकदम नजिक भएकोले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सरकारका आर्थिक वर्ष २०८१/०८२ को विकास योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेश सभा बेठकमा सांसदहरुबाट उठेको गुनासोहरुलाई मध्येनजर गर्दै सत्यतथ्य छानबीन गर्न प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम संसदीय छानबीन विशेष समिति गठन गरिएको जानकारी दिए ।

छानबीन विशेष समितिमा सांसद केशव राय, सांसद कुमरकान्त झा, सांसद किरण कुमारी, सांसद सम्भुकुमार साह, सांसद रोहबर अन्सारी, सांसद रमिता प्रधान, सांसद कनिश पटेल, सांसद उर्मिला देवी सिंह, सांसद कन्चन विच्छा र सांसद बिमला अन्सारी तरन्नुम रहेका छन् ।

सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

किमाथाङ्का । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ ।
बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेको छ ।

यसैबीच, केही दिन अघिको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि २५० घर विद्युत्विहीन भएका छन् । बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । बाढीका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ ।

समीक्षा अधिकारीको आँखा जुध्योमा प्रिन्सिका र दीप

पोखरा । कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै गएका छन् । एक पछि अर्को गर्दै अभिनयमा आइरहेका काफ्ले यति वेला उनीद्धार अभिनीत आँखा जुध्यो सैयौ चोटि गीतको भिडियो युटुवमा आएको छ ।

उनीद्धार अभिनीत आँखा जुध्यो सैयौ चोटि डिटिएम मिडिया युटुवमा आएको हो । उक्त गीतमा दीप काफ्लेलाई प्रिन्सिका श्रेष्ठले साथ दिएकी छन् ।गायक सञ्जय देवकोटा र गायिका समीक्षा अधिकारीको आवाज रवीन्द्र लामिछानेको शब्द सङ्गीत र अर्जुन कँडेलको निर्देशन रहेको गीत यति वेला निकै चर्चित रहेको छ ।

दीप काफ्ले मोडल मात्र होइनन् गायक सँगै चर्चित कुशल कार्यक्रम सञ्चालक पनि हुन् । उनको कार्यक्रम सञ्चालन गर्ने शैली प्रति सबै प्रभावित हुने गरेका छन् ।उनै गायक तथा चर्चित कार्यक्रम सञ्चालक यति खेर पोखरमा जारी गण्डकी कोटिहोममा कार्यक्रम सञ्चालन गरिराखेका छन्।

उनी जब मञ्चमा आएर राधे राधे भन्दै कार्यक्रम सञ्चालन गर्न तम्सिछन् अनि भक्तजन उनैको स्वर स्वर मिलाएर राधे राधे भन्दै उनको सञ्चालकिय क्षमता प्रति आकर्षित हुन्छन् ।

‘तपाईँहरूको माया साथले नै म स्थानमा आएको छु’ दीप काफ्ले भन्छन्, ‘मेरा हरेक गीत र अभिनयलाई यहाँले देखाएको माया प्रति आभार व्यक्त गर्दै यो म्युजिक भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला।’ उनले एक दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयसँगै गायकीमा पनि उनी अव्बलनै मानिन्छन् ।

कोटिहोममा खालि समय भयो कि उनी भक्तजनलाई भुलाउनका लागि भजन गाउन थालिहाल्छन् । उनले गाएका भजनले पनि भक्तजन प्रभावित हुने गरेका छन् । उनले गायनसँगै कोटिहोममा छम छम नाचेर भक्तजनको मन जितेका छन् ।

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

चितवन, २२ जेठः चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् ।सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन् । धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निरास भएका हुन् ।

खैरहनी नगरपालिकाका–१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न हुनुहुन्छ । दुई बिघामा चैते धान लगाउनुभएको उहाँ समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धानखेती नगर्ने निर्णयमा हुनुहुन्छ ।

समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग छलफल गरिएको उहाँले बताउनुभयो । राप्ती नगरपालिका–५ का धर्मराज कँडेल पनि धानको मूल्य नपाएपछि निरास हुनुहुन्छ ।
जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका कँडेल धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिनुहुन्छ ।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धानखेती हुने गरेको छ । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएका बताउनुभयो । स्थानीय व्यवसायी र सरोकार भएकाहरूबीचमा छलफल जारी रहेको जानकारी दिँदै उहाँले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो ।

चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धानखेती भएको छ । गत वर्ष नौ हजार ५०० हेक्टरमा चैते धान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो ।

आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

दोधारा चाँदनी (कञ्चनपुर), २२ जेठः कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छभने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिकाको प्रमुख धार्मिक गन्तव्य भकुण्डामा लाग्ने मेलाका लागि पालिकाले एक दिन सार्वजनिक बिदा दिएको बताउनुभयो । उहाँका अनुसार बेलौरी नगरपालिकास्थित वडा नं ५ मा रहेको प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहरा मेला लाग्ने गर्छ । “यो क्षेत्रको ऐतिहासिक नक्टाबाबालाई प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने हाम्रो उद्देश्य छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “यसको महत्वलाई दृष्टिगत गरेर हामीले हरेक वर्ष गङ्गादशहरा एक दिन बिदा दिने गरेका छौँ ।”

नक्टाबाबा मन्दिरमा परापूर्वकालदेखि नै ठूलो मेला लाग्ने गरेको बेलौरी नगरपालिका–५ का वडाअध्यक्ष लालबहादुर चौधरीले बताउनुभयो । “रानाहरूको भाषामा नक्टाबाबा भनेर चिनिने यस स्थानमा गङ्गादशहरामा हरेक वर्ष ठूलो मेला लाग्नेगर्छ”, उहाँले भन्नुभयो, “नेपाल र छिमेकी मुलुक भारतका गरी एक लाख बढी दर्शनार्थीहरू यहाँ आउने गरेका छन् ।”

वडाध्यक्ष चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको बताउनुभयो ।
मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट र छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट यहाँ दर्शनार्थीहरू आउने गरेका छन् ।

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

पर्वत, २२ जेठः पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भएको छ । पुल निर्माण हुने स्थानमा रहेका विद्युत्का उपकरण हटाउने काम भइरहेको इञ्जिनियर मिश्रले जानकारी दिनुभयो । बैसठ्ठी मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति रु सात करोड ५० लाखमा ठेक्का सम्झौता भइसकेको छ ।

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ, २२ जेठःराष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले प्रकृतिमुखी जीवनशैली अवलम्बनमा जोड दिनुभएको हो ।

“प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको, विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।

‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको सन्दर्भमा आजको दिन हामी सबैले आ–आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवजन्तुबीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई देशको संविधानले दिएको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिन भएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्ने तर्फ हामी सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा प्लाष्टिकको प्रयोगबाट हुने प्रदूषणलाई न्यूनीकरण गर्दै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई एकजुट भएर लाग्न राष्ट्रपतिले अनुरोध गर्नुभएको छ ।

वातावरण संरक्षण तथा सम्वद्र्धनको गहन अभिभारामा संलग्न सरकारी तथा गैरसरकारी निकाय एवं विकास साझेदारलगायत सम्बद्ध सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको वातावरणीय असरलाई कम गर्न नेपालले विभिन्न राष्ट्रिय एवं अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयनका लागि आजको दिनले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २२ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३९, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५१, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ३९, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ५५, बन्दा (लोकल) प्रतिकिलो रु १७, काउली स्थानीय प्रतिकिलो रु ४५, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३२, तने बोडी प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३२, परबर (लोकल) प्रतिकिलो रु ५५, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ७५, च्याउ (कन्य) प्रतिकिलो रु १९०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७५, चुकुन्दर प्रतिकिलो रु ७५, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ७५, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५५, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १८, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १४०, लिची (भारतीय) प्रतिकिलो रु २०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८५, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहिबार दिनको १ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् ।

यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने छन् ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भद्रपुर (झापा), २२ जेठः दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए ।

उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनापछि बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्रीद्वारा आइसिसी विश्वकप लिग-२ विजयी खेलाडीलाई बधाई

काठमाडौँ, २२ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिनुभएको हो ।

गए राति भएको शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । त्यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो ।