`

स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ – स्वास्थ्यमन्त्री डा गौतम

Nepal One HD १४ पुष २०८२ १८:१०
जीवनशैली/स्वास्थ्य

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज भएको छलफलमा उहाँले स्वास्थ्य बीमालाई दिगो बनाउन विज्ञ सहितको समिति गठन गरी समस्या र चुनौतीहरू पहिचान गरी निराकरणको थालनी गरिएको बताउनुभयो ।

‘सरुवा रोग तथा नसर्ने रोगको वर्तमान अवस्था, स्वास्थ्य बीमाको कार्यान्वयन र यसको समस्या तथा चुनौतीलगायत समितिले यसअघि दिएका निर्देशनहरूको कार्यन्वयनको प्रगति अवस्था’ बारे केन्द्रित छलफलमा डा गौतमले स्वास्थ्य बीमा झन्झटिलो प्रक्रिया बनेकामा यसलाई हटाउन होइन मिलाउनमा लागिपरिरहेको बताउनुभयो ।

मन्त्री गौतमले भन्नुभयो, “स्वास्थ्य बीमा बोर्डमा आबद्ध प्रथम सेवा बिन्दुको व्यवस्थापन गर्नुपर्नेछ । बीमा ऐनको दफाहरूमा पनि धेरै परिमार्जन गर्नुपर्ने आवश्यकता छ त्यसमा पनि हामी विचार गर्देछौँ ।”

मन्त्री गौतमका अनुसार स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष लगायतसँग बृहत् छलफल गरी सुधारका कार्य द्रुत गतिमा अघि बढेको र स्वास्थ्य बीमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भई कार्य भइरहेको छ । यसैगरी मन्त्री गौतमले स्वास्थ्य बीमाबापत अस्पतालहरूलाई भुक्तानी हुन बाँकी सात अर्ब बक्यौता रकम अर्थ मन्त्रालयबाट निकासाका लागि पठाइएको बताउनुभयो ।

डा गौतमले स्वस्थ्य जीवनशैली तथा खानपानमा सुधार गरेर नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा सबैजना लाग्नुपर्ने र यसलाई थप प्रचार तथा प्रवद्र्धनको आवश्यकता औँल्याउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *