`

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायतका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।कोशीका केही स्थानमा, मधेश र बागमतीलगायत बाँकी पहाडी भू(भागमा तथा बाँकी भू—भागका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखा अनुसार उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ ।
त्यस्तै, राति कोशी र मधेशलगायत बागमती र गण्डकीका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशीका थोरै स्थानमा तथा मधेशलगायत बागमती, गण्डकी र कर्णालीका पहाडी भू(भागका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च(पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पर्यटन बार्डले सुरु गर्‍यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम

काठमाडौँ, २२ जेठः नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो ।

काठमाडौँमा जारी हिमालयन ट्राभल मार्टको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले क्युआर सार्वजनिक गर्दै अनलाइन तालिमको औपचारिक शुभारम्भ गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल र नेपाल एयरलाइन्ससहित अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको तीनदिने मार्ट आज सम्पन्न हुँदैछ । नेपालका पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको यो अनलाइन तालिमले नेपालको पर्यटन उद्योगलाई दिगो, समावेशी र व्यावसायिक बनाउन सहयोग पु¥याउने मन्त्री पाण्डेको बताउनुभएको थियो ।

कार्यक्रममा विशेषतः ट्राभल एजेन्ट, गाइड, टुर अपरेटर, ट्रेकिङ कम्पनी तथा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरिएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन क्षेत्रका पेसाकर्मीहरूलाई डिजिटल क्षमताको विकासमा एउटा कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “युएनडिपीसँगको सहकार्यमार्फत हामी केवल ज्ञान आदान–प्रदान गरिरहेका छैनौँ, हामी दिगो, समावेशी र पेसागत पर्यटन उद्योगको जग बलियो बनाउँदैछौँ ।”

‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट –एसटिपी)’ अन्तर्गत तयार पारिएको यो तालिम नेपाल पर्यटन बोर्डको ‘इ–लर्निङ प्लेटफर्म स्पेसलिस्ट बेसिक लेभल’मार्फत निःशुल्क रूपमा प्रदान गरिने जनाइएको छ ।

अनलाइन पाठ्यक्रममा नेपालका भौगोलिक, सांस्कृतिक र जैविक विविधता, प्रमुख पर्यटन उत्पादनहरू जस्तै ट्रेकिङ, साहसिक यात्रा, सांस्कृतिक सम्पदा र वेलनेस पर्यटन, दिगो पर्यटनका सिद्धान्त र गन्तव्य संरक्षण, जिम्मेवार यात्रा अभ्यास, जलवायु लचकता, ग्राहक सेवा सीप र आगन्तुकसँगको प्रभावकारी संलग्नता जस्ता विषयवस्तु समावेश गरिएका छन् ।

नेपाल सरकारले घोषणा गरेको ‘पर्यटन दशक’ रणनीतिअनुसार सन् २०३२ सम्म ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई ध्यानमा राखेर मानव संसाधन विकासमा लगानी गरिँदै आएको बोर्डले जनाएको छ । यसै सन्दर्भमा बोर्डले युएनडिपीसँगको सहकार्यमा सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने ‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट’ले दुई हजार ५०० रोजगारी सिर्जना गर्ने तथा पाँच हजारलाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम दिने लक्ष्य लिएको जनाएको छ ।

विशेषगरी महिला र सीमान्तकृत समुदायहरूलाई लक्षित गरी स्थानीय तहमा पूर्वाधार सुधार, डिजिटल नवप्रवर्तन र गन्तव्यहरूको क्षमता विकासमार्फत परियोजना कार्यान्वयन गरिने बोर्डले जनाएको छ । परियोजनाले दिगो, समावेशी र स्थानीय स्रोतमा आधारित पर्यटन प्रवर्द्धन गर्दै आर्थिक वृद्धिमा टेवा पु¥याउने बोर्डको विश्वास छ ।
–––

आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, २२ जेठः आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ ।

आज गैरकानुनी रूपमा माछामार्नेविरुद्धको सङ्घर्ष दिवस पनि हो । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछामार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड छ । यसरी हरेक वर्ष एक करोड १० लाख देखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओले जनाएको छ ।

आहा ! अङ्गुरखेती

तनहुँ, २२ जेठः यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो ।

कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा रु ७०० देखि रु एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिनुभयो । “पहिलो वर्ष करिब नौ हजार ५०० बिरुवा रोपेका थियौँ । धादिङमा रु ३८ करोड ५० लाख र तनहुँ रु डेढ करोड गरी रु ४० करोड लगानी गरिसकेको छु”, उहाँले भन्नुभयो ।

यहाँ यस वर्ष पनि अङ्गुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ । उत्पादित अङ्गुर तनहुँ, पोखरा, काठमाडौँलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो वर्ष १८ लाख मूल्य बराबरको अङ्गुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ ।”

कार्कीका अनुसार फार्ममा हाल २०/२२ प्रजातिका अङ्गुर छन् । त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन् । खाने अङ्गुर प्रतिकिलोग्राम रु ३५० र वाइन बनाउने प्रतिकिलो रु २५० मा बिक्री गर्ने गरिएको छ । हाल दैनिक १०/१२ जना जनशक्ति अङ्गुर टिप्नका लागि खटाइएका छन् ।

फार्ममा रहेका २०/२२ प्रजातिका अङ्गुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिनुभयो ।

सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल रु एक हजार २०० मा बिक्रीका लागि बजारमा ल्याइएका व्यवसायी कार्कीले बताउनुभयो ।

धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अङ्गुरखेती गर्दै आएको उहाँले बताउनुभयो । वाइनका लागि अङ्गुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ । विशेष गरी जुस, वाइन तथा खानाका लागि अङ्गुरखेती गरिएको कार्कीको भनाइ छ ।

अङ्गुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ । चैत÷वैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ । मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन् । यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताउनुभयो ।

विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उहाँले सुनाउनुभयो । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट रु ५५ लाख बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताउनुभयो । “यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु । हालसम्म राम्रै भइरहेको छ । यहाँ आउने धेरैले आहा ! कति राम्रो अङ्गुरखेती भनेर प्रशंसा पनि गर्छन् । सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ”, उहाँले भन्नुभयो ।

प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’

काठमाडौँ, २२ जेठ – नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एकसय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“पहिलो चलचित्रमा प्राप्त गरेको मायाप्रति म निकै आभारी छु । समसामयिक विषयलाई समेटेर चलचित्र निर्माण गरेकै कारण दर्शकले रुचाउनुभयो, यसले हौसला र दायित्व दुवै थपेको छ । आगामी दिनमा थप राम्रो गर्ने प्रयास हुनेछ ।”

निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ निर्माण गर्ने घोषणा गर्नुभएको छ । उक्त चलचित्रको पटकथा सुशील पौडेलले तयार गरिरहनुभएको छ भने वसन्त निरौलाले निर्देशन गर्नुहुनेछ । उक्त चलचित्र आगामी भदौ आसपासमा छायाङ्कन गर्ने तयारी गरिएको श्रेष्ठले बताउनुभयो ।

उहाँले ‘लाज शरणम् २’ नामक चलचित्र पनि निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । डिजिटल प्रविधिमा चलचित्र हुने समयमा ‘लाज शरणम्’ ले प्रदर्शनको सय दिनु पूरा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उक्त चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतले अभिनय गर्नुभएको छ । कुमार कट्टेल (जिग्री) ले चलचित्रमा निर्देशन गर्नुभएको हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २२ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ तीन पैसा र बिक्रीदर १०० रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकिएको छ , यस्तै, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ८२ पैसा रहेको जनाएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । यस्तै, वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कका ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

कैलाली, २२ जेठः धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबामा बुधबारदेखि धुमधामका साथ गङ्गादशहरा मेला सुरु भएको छ ।
धार्मिक आस्थाको केन्द्रका रूपमा लिइएको यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा पर्वका अवसरमा मेलाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिनुभयो । पर्वका अवसरमा मन्दिरमा अहिले राति १२ः०० बजे जल चढाएर पूजाअर्चना सुरुआत गर्ने परम्परा छ ।

कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबामा पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरू यहाँ आउने गर्दछन् । बेहडाबाबा सुदूरपश्चिमको मात्रै नभई देशकै धरोहरका रूपमा परिचित छ । परापूर्वकालमा यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ ।

यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरूमा छ । यसैगरी, यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तालुहरूको सहजताका लागि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडानलगायत व्यवस्थापन गरेको व्यवस्थापन समितिले जनाएको छ ।

गङ्गादशहरा पर्वका अवसर पारेर बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत हजारौँको सङ्ख्यामा भक्तजनहरू आइसकेका छन् भने केही अझै आउने क्रम जारी छ । यहाँ हरेक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलिभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले विभिन्न चाहपर्वहरू जस्तै गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड मानिँदै आएकाले यसको महत्व बुझेर उपमहानगरपालिकाले यही जेठ २२ गते अर्थात् बिहीबार सार्वजनिक बिदासमेत दिएको बताउनुभयो । उपमहानगरपालिकाले बेहडाबाबामा आउने भक्तजनहरूको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको नगरप्रमुख हमालले बताउनुभयो ।

मेलामा यहाँका नेपाली मात्रै नभएर भारतका व्यवसायीहरूले समेत केही दिनअघि नै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन् । यस्तै, धाममा भक्तजनहरूलाई दर्शन तथा पूजापाठको व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ ।

विश्वकप लिग-२: नेपाल लगातार दोस्रो खेलमा विजयी

काठमाडौँ, २१ जेठः आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रनमा आउट भए ।यसैगरी, नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा तीन चौकाको सहयोगमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरे ।

ओपनर कुशल भुर्तेलले ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा एक चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा तीन चौका प्रहार गर्दै १९ रन बनाए । भीम सार्की २६ बलमा एक चौकाको सहयोगमा ११ रनमा आउट भए ।

नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एक÷एक विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलव एक ओभरमा २२५ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।

यसैगरी, कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए ।नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए ।यो जितसँगै नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ । पराजित नेदरल्यान्डस २१ खेलमा २६ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा यथावत् छ ।

पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा), २२ जेठः चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा रु ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् रु ४३ करोड ७४ लाख ४७ हजारले बढेको उहाँले बताउनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु सात अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार ३०० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी, रु पाँच अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार ९७६ किलोलिटर डिजेल आयात भएको छ ।

चालु आवको १० महिनामा रु दुई अर्ब ३४ करोड मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास, रु ५५ करोड ९४ लाख मूल्य पर्ने छ हजार ६० किलोलिटर एटिएफ र रु १९ करोड ६९ लाख मूल्य पर्ने दुई हजार १५२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ ।

सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश

काठमाडौँ, २१ जेठ : सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज नागरिकलाई प्रत्यक्ष असरपर्ने सार्वजनिक यातायात सेवामा बन्द हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन् गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सापकोटाविरुद्धको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश

काठमाडौँ, २१ जेठ : सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेमी, डा मनोजकुमार शर्मा र डा कुमार चुँडालको संवैधानिक इजलासले आज उत्प्रेषण आदेश जारी गर्दै रोकिएको प्रक्रियामा अनुसन्धान अघि बढाउन आदेश गरेको हो ।

पूर्वसभामुख सापकोटाविरुद्ध काभ्रेका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोपमा लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको थियो ।

सशस्त्र द्वन्द्वकालको मुद्दासँग जोडिएको यस मुद्दामा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतबाट २०६४ फागुन २७ मा पूर्णिमायाको रिट निवेदनमा जाहेरी दर्खास्त दर्ता गरी कानुनबमोजिम अरू कारबाही गर्नु भन्ने आदेश भएको थियो । आदेशको लिखित आउन बाँकी रहेको सर्वोच्च अदालतले जनाएको छ ।

आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणको आधार तयार गर्दै गण्डकी प्रदेश सरकार

गण्डकी, २१ जेठः गण्डकी प्रदेश सरकारले आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणको आधार तयार गर्ने भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पञ्चवर्षीय योजनाले तय गरेको रूपान्तरणकारी रणनीति बमोजिम उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना र आयात प्रतिस्थापन गर्न स्थानीय तह एवम् निजी क्षेत्र समेतको साझेदारीमा आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणको आधार तयार गरिने बताउनुभयो ।

बजेट तथा कार्यक्रमलाई दोस्रो पञ्चवर्षीय योजनाको रणनीतिक स्तम्भ, आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण, लैङ्गिक उत्तरदायी बजेट, जलवायु सूचक, दिगो विकास लक्ष्य सूचकका आधारमा साङ्केतीकरण गरी बजेट प्रणालीलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो ।

अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विनियोजन कुशलता र खर्च क्षमता सुदृढीकरण एवम् वित्तीय उत्तरदायित्व मूल्याङ्कन गरी आवश्यकता अनुसार सुधार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सुदृढ प्रादेशिक अर्थतन्त्र निर्माणका लागि आवश्यक रूपान्तरणकारी रणनीति अवलम्बन गरी हस्तक्षेपकारी कार्यक्रमको रूपमा इन्भेस्ट गण्डकी कार्यक्रममार्फत आन्तरिक र बाह्य लगानी आकर्षण गर्न लगानी सम्मेलन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखि ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूलमन्त्रका साथ अघि बढ्ने सरकारले प्रतिबद्धता गरेको छ । घरेलु उत्पादनमा आत्मनिर्भरता, युवामैत्री उद्यमशीलता, महिला सशक्तीकरण, प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहमा सुधार तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणात्मक सुधारका योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

भौगोलिक अवस्थिति अनुसारको विकास, साना तथा घरेलु उद्योग प्रवर्द्धन, जलविद्युत् परियोजना र वैकल्पिक ऊर्जामा लगानी, र निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी सिर्जनाको लक्ष्य नीति तथा कार्यक्रममा समेटिएका छन् ।

पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार मान्दै नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधार निर्माण, प्रवर्द्धन र अन्तरराष्ट्रिय बजारमा ‘ब्रान्डिङ’ गर्ने योजना समावेश छन् । कृषि तथा पर्यटन क्षेत्रको विकास गर्न प्रदेश तथा स्थानीय तहको साझेदारीमा हुने कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने जनाइएको छ ।

कृषि तथा पशुपक्षीजन्य उत्पादनलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, औद्योगिकीकरण, विविधिकरण र बजारीकरण गर्न सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको समन्वय तथा सहकार्यलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा भनिएको छ । राष्ट्रिय फल सुन्तलाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विगतदेखि सञ्चालन हुँदै आएको नयाँ बगैँचा स्थापना, पुरानो बगैँचा सुदृढीकरण र ग्रिनिङ रोगग्रस्त बोट हटाइ गुणस्तरीय बिरूवा रोपणलाई प्रभावकारी रूपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोदो, फापर, उवा, भाँगो, टुसा, निउरो, सिन्की, टिमुर, सिस्नो, सिलाम, कागुनो, जौलगायतका रैथाने बाली, मत्स्य तथा पशुपक्षीजन्य उत्पादनको ब्रान्डिङ तथा बजारीकरणलाई जोड दिइनेछ । भूमि बैंक स्थापना गरी बाँझो रहेको जग्गाको सदुपयोग गर्ने नीति अवलम्बन गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

सहकारी क्षेत्रमा देखिएका आर्थिक अपचलन नियन्त्रण गरी नियमन प्रणालीलाई प्रभावकारी बनाइने भन्दै नीति तथा कार्यक्रममा बचतकर्ताको रकम सुनिश्चित गरी प्रदेश सरकारको क्षेत्राधिकारभित्रका उद्देश्य मिल्ने सहकारीलाई समायोजन हुन प्रोत्साहित गर्ने र निष्क्रिय सहकारी संस्थालाई खारेज गर्ने नीति अवलम्बन गरिने उहाँले बताउनुभयो ।

दिगो वन व्यवस्थापन, जैविक विविधता, वातावरण तथा जलाधार क्षेत्रको व्यवस्थापनलाई उत्पादनसँग जोडी सुदृढ अर्थतन्त्र निर्माण गरिने र सरकारले दिगो वन व्यवस्थापनमार्फत वन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न वन व्यवस्थापकको क्षमता अभिवृद्धि गरिने जनाएको छ । मानव–वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न जनचेतना अभिवृद्धि, वन्यजन्तुको वासस्थान सुधार र वन्यजन्तु उद्धार र राहतलाई प्रभावकारी बनाइने उल्लेख गरिएको नीति तथा कार्यक्रममा मानव–वन्यजन्तु (बाँदर, बँदेल, दुम्सी आदि) द्वन्द्व न्यूनीकरणका लागि सफल अभ्यास तथा अनुभवको अनुसरण गरिने भनिएको छ ।

गण्डकी प्रदेशको पहिचान झल्कने गरी पोखरामा अन्तरराष्ट्रियस्तरको वनस्पतिक पर्यटकीयपार्क निर्माणको सुरूवात गरिने भएको छ । गण्डकी प्रदेशको पर्यटन विकास र प्रवर्द्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । पोखराको ब्राण्डिङका लागि ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ तथा ‘राउण्ड फेवा, भ्यू फेवा’ कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने प्रदेश प्रमुख भट्टले उल्लेख गर्नुभयो । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिले घरदेश, अनि परदेश’ कार्यक्रमलाई निरन्तरता दिइने उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुनाउनुभयो । गण्डकी प्रदेशलाई आरोग्य पर्यटन हवको रूपमा विकास गर्दै लगिनेछ ।

औद्योगिक विकास र विस्तारका लागि लगानीमैत्री एवम् प्रतिस्पर्धी वातावरण निर्माण, स्थानीय स्रोतसाधन र सीपको अधिकतम उपयोग र उद्यमशीलता विकास गर्दै औद्योगिक वस्तु तथा सेवाको उत्पादकत्व अभिवृद्धि गरिने उल्लेख छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लोकाहा खोला र तनहुँ तथा कास्कीको पूँडीटारलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न जग्गा प्राप्त गर्न सरकारसँग समन्वय गरिने प्रदेश प्रमुखले बताउनुभयो ।

घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, वितरण र नियमनका लागि ऐन जारी गरी कार्यान्वयनमा लगिने र नीति तथा कार्यक्रममा औषधिजन्य, उद्योगजन्य कच्चा पदार्थका रूपमा उत्पादन प्रयोजनार्थ गाँजा खेती गर्न कानुन निर्माण गरिने उल्लेख छ ।

पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश अभियानलाई निरन्तरता दिँदै रोक्न सकिने मातृ मृत्युदरलाई शून्यमा झार्न प्रदेशस्तरीय सुरक्षित मातृत्व मार्गचित्र तयार गरी कार्यान्वयन गरिने जनाइएको छ । नवजात शिशु मृत्युदर घटाउन तीनवटै प्रादेशिक अस्पताल र प्रदेश अस्पताल, लमजुङमा नवजात शिशु सघन उपचार सेवा तथा अन्य अस्पतालमा ‘स्पेशल न्यूवर्न केयर यूनिट’ सेवा विस्तार गरिनेछ ।

प्रदेश मातहतका अस्पताल आवश्यकताका आधारमा स्तरोन्नति गर्दै चिकित्सा विधाका शैक्षिक कार्यक्रम सञ्चालनको सुरूवात गरिने सरकारले जनाएको छ । स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र पहुँच विस्तार गर्न प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयलाई विशेष जोड दिइने भन्दै नीति तथा कार्यक्रममा स्वास्थ्य कार्यक्रमको उपयोगिता र प्रभावकारिता अभिवृद्धि गर्न स्वास्थ्य क्षेत्रको तहगत रणनीतिक खाका निर्माण गरी कार्यान्वयन गरिने उल्लेख छ ।

शैक्षिक गुणस्तर सुधारका लागि अध्यापकको क्षमता विकास, पूर्वाधार स्तरोन्नति, विद्यालय तथा सामुदायिक क्याम्पस समायोजन र नमुना विद्यालय कार्यक्रमलाई विशेष प्राथमिकता दिइने भनिएको छ । स्थानीय तहसँगको सहकार्यमा सञ्चालित विद्यार्थीका लागि वृत्त परामर्श, सीप परीक्षण र अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने प्रदेश प्रमुख भट्टद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका विद्यालय एवम् अन्य सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै रमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ । गण्डकी विश्वविद्यालयलाई विशिष्टिकृत प्राविधिक विश्वविद्यालयको रूपमा विकास गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा साविक गण्डकी प्रदेश विज्ञान प्रविधि प्रतिष्ठानद्वारा सञ्चालित वैज्ञानिक अनुसन्धानका कार्यक्रम गण्डकी विश्वविद्यालयबाट सञ्चालन गरिने भनिएको छ ।

महिला सशक्तीकरणका लागि हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक मूलप्रवाहीकरण तथा सारभूत लैङ्गिक समानता कायम गरिन उल्लेख छ ।

श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला र सामाजिक सुरक्षा लगायतका श्रम नीतिका आधारभूत मान्यतालाई स्थापित गरिने भनिएको छ । गण्डकी प्रदेशमा खेलकुद प्रवर्द्धन गर्न खेलकुद पूर्वाधार निर्माण, खेलाडी सम्मान र खेल पर्यटन विकास गरिने नीति तथा कार्यक्रमा उल्लेख छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय तहसँगको सहकार्यमा सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी बनाइने भन्दै नीति तथा कार्यक्रममा विदेशमा रहेका नागरिकको ज्ञान, सीप, अनुभव र पुँजीलाई प्रदेशको समुन्नतिमा योगदान पु¥याउन ‘मेरो प्रदेशः मेरो दायित्व’ कार्यक्रम सञ्चालन गर्न उत्प्रेरित गरिने भनिएको छ ।

प्रदेश राजमार्ग र प्रादेशिक सडक सञ्जालमा पर्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम’ एवम् सडक सञ्जाल नपुगेका गोरखाको चुमनुब्री र मनाङको नार्पा भूमि गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणलाई निरन्तरता दिइने गण्डकी प्रदेश सरकारले उल्लेख गरेको छ । प्रदेशका सबै घरधुरीमा निजी धारा जडान गर्ने लक्ष्य हासिल गर्न सङ्घ तथा स्थानीय तहसँग समन्वय गर्दै आयोजनामा दोहोरोपन नपर्ने गरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइने भनिएको छ ।

कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पु¥याउन सतह, भूमिगत, पाइप तथा पानीको स्रोतको कमी रहेका स्थानमा लिफ्टिङ, थोपा, फोहरा तथा नवीनतम् प्रविधिमा आधारित सिँचाइ कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उज्यालो गण्डकी प्रदेश अभियान सम्पन्न गरी विद्युत् सेवालाई भरपर्दो र नियमित बनाउनुका साथै विद्युतीय चुलो तथा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने भनिएको छ । सुशासनलाई नागरिकस्तरबाटै अनुभूति हुने गरी तहगत सामञ्जस्यता र अन्तरसम्बन्ध स्थापित गर्न नीतिगत सुधार, विकास क्रियाकलाप र सेवा प्रवाहलाई सुदृढ बनाइनेछ ।

प्रदेश र स्थानीय तहको साझेदारीमा ग्रामीण अर्थतन्त्र सुधार गर्न मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाइने प्रदेश प्रमुख भट्टले बताउनुभयो । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह र समुदायसँगको सहकार्यमा विपद्मा युवा कार्यक्रम सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो ।

प्रेस रजिष्ट्रार कार्यालयको सुदृढीकरण गर्दै आमसञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन सञ्चार माध्यमको दर्ता, नवीकरण एवम् प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइन उपलब्ध हुने व्यवस्था गरिने सरकारले जनाएको छ । प्रदेश आयोजना बैंकलाई कार्यान्वयनमा लगिने भन्दै नीति तथा कार्यक्रममा आवधिक योजना, मध्यमकालीन खर्च संरचना र बजेटका बीचमा कार्यगत सम्बन्धको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सभामुख घिमिरेसँग राजदूत अब्देलघानीबीच भेट

काठमाडौँ, २१ जेठ : सभामुख देवराज घिमिरेसँग नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा आर्थिक तथा श्रम सम्बन्ध र संसदीय आदानप्रदानबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र जोर्डन प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले दुवैतर्फबाट पर्यटन विकासको क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको बताउनुभयो । “नेपाल सगरमाथाको देश भएकाले जोर्डनी नागरिकलाई हिमाल आरोहणका लागि हामी प्रोत्साहित गर्दछौँ”, उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले सन् २०१७ मा दुई देशबीच द्विपक्षीय श्रमसम्झौता भएपछि जोर्डनमा करिब तीन हजार नेपाली कामदार विशेषगरी महिला कामदार घरेलु काम तथा गार्मेन्ट सेक्टरमा कार्यरत रहेको बताउनुभयो । “ठूलो सङ्ख्यामा नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा जोर्डनी जनता तथा सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । श्रम आप्रवासनका क्षेत्रमा थप सहकार्य गर्ने सम्भावनाको खोजी गरिनुपर्छ भन्ने मलाई लागेको छ”, उहाँले भन्नुभयो ।

सभामुखले नेपालमा हुने रासायनिक मल अभावका लागि जोर्डनसँग सहकार्य गर्न सकिने उल्लेख गर्दै नेपालको कृषिजन्य उत्पादनलाई आफ्नो मुलुकमा लैजानका लागि सहयोग गर्न राजदूतको ध्यानाकर्षण गराउनुभयो । उहाँले हाल नेपाल आर्थिक वृद्धिलाई तीव्र पार्न, दिगो विकास लक्ष्य हासिल गर्दै अल्पविकसित राष्ट्रबाट यथा समयमै स्तरोन्नति सुनिश्चित गर्न क्रियाशील रहेको बताउनुभयो ।

जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले दुई मुलुकबीच अन्तरराष्ट्रिय व्यापार सम्बन्ध वृद्धि गर्ने प्रचुर सम्भावना रहेको बताउँदै त्यसबाट दुवै मुलुकले फाइदा लिनसक्ने बताउनुभयो । उहाँले जोर्डनमा नेपाली कामदारलाई आफ्नो मुलुकले पारिश्रमिक र सामाजिक सुरक्षा सम्झौताबमोजिम प्रदान गरिरहेको जानकारी दिनुभयो । नेपाल र जोर्डनबीच १९६५ अगस्ट २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध प्रगाढ र सुदृढ रहेको बताउनुभयो ।

‘टेक एण्ड पे’ को विषय संशोधन गर्नेगरी छलफल भइरहेको छ’ – ऊर्जामन्त्री खड्का

काठमाडौँ, २१ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैंक तथा वित्तीय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत् क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा उहाँले बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताउनुभएको हो ।

“बजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,” मन्त्री खड्काले भन्नुभयो ।

ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । “उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,” उहाँले भन्नुभयो ।

ऊर्जा क्षेत्रका बाधक कानून र सोचलाई परिवर्तन गर्दै सरकार अगाडि बढ्न चाहेको उहाँको भनाइ छ । मन्त्री खड्काले नेपालमा भएका स्रोतको उच्चतम सदुपयोग गरेर गरिब तथा विपन्न नागरिकलाई समृद्धि बनाउने बाटोमा सरकार लागिरहेको बताउनुभयो ।

उहाँले मध्ये चमेलिया जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । “आयोजना समयमा सम्पन्न गर्न सकियो भने बढी लाभान्वित हुन पाइन्छ, जति लामो समय भए त्यति ब्याज बढ्ने र लाभ लिन समय लाग्ने, हुन्छ, समयमै काम सम्पन्न गर्नुस,” उहाँले भन्नुभयो ।

दार्चुलाका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री दीलेन्द्रप्रसाद बडूले आयोजना निर्माणसँगै सिङ्गोमुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रसारण लाईन निर्माणमा ल्याउन सके उत्पादित विद्युत् खेर नजाने बताउनुभयो । उहाँले आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल बैँकको अगुवाइमा निर्माण हुन लागेको उक्त आयोजनामा नबिल बैँकले पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । रु पाँच अर्ब ६६ करोड लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिनुभयो ।

अब हुलाक टिकटमा रायोको सागदेखि असला माछासम्म…

काठमाडौँ, २१ जेठ : सबैको जिज्ञासा हुन सक्छ, हुलाक टिकटमा केके पाइन्छ ? अब भने त्यस्तो टिकटमा रायोको साग, असला माछा, सुन्तलादेखि अछामे गाईसमेत देख्न पाइने भएको छ ।

हुलाक टिकट विभागले आजदेखि सुन्तला, पुत्का मौरी, रायो साग, नौमुठे गाई, असला माछा, खरी बाख्रा, भैँसी लिमे, पारकोटे आठ वटा रैथाने कृषिका आकृति र ब्रम्हलिन राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरण गरी नौ वटा नयाँ हुलाक टिकट आवरणमा प्रचलनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यी सबै प्रथम टिकट आवरणमा आज टाँचा लगाएसँगै यसको महत्त्व र आवश्यकतामाथि चर्चा गर्नुभयो ।

विभागमा केही महिनाअघि सञ्चारमन्त्री गुरूङले रायोको साग र लिमे भैँसीको गुणबारे निकै चर्चा गर्नुभएको थियो । आफू सानो छँदा भैँसी चराएका दिन अनि बारीमा छाता जस्तै ठूला पात भएका रायो साग खाएको क्षण निकै आनन्दित हुन्थ्यो भन्दै हुलाक सेवा विभागमा टिकट टाँचा लगाउने प्रसङ्ग सुनाउनुभएको थियो । उहाँले बाल्यकाल, साग र भैँसी चराउनुका अनुभव समयसँगै लोपोन्मुख हुँदै गएको प्रसङ्ग जोड्नुभएको थियो । लोपोन्मुख हुन लागेका यिनै रैथाने फलफूल, सागसब्जी, गाईभैँसी मात्रै नभई नेपालमा पाइने कलासंस्कृति र सम्पादहरूको संरक्षण गर्नुपर्ने जोड उहाँको छ ।

पछिल्लो समय लोपोन्मुख कला संस्कृति र सम्पादको संरक्षण गर्ने ऐतिहासिक दस्तावेजका रूपमा हुलाक टिकट भरपर्दो माध्यम बन्दै आएको छ । हुलाक सेवा विभागलाई मन्त्री गुरूङले दिनुभएको तिनै रैथाने बाली, वस्तु तथा सम्पदालाई महत्त्व दिएर आज नौ वटा हुलाक टिकटमा प्रथम आवरणमा टाँचा लगाएको हो ।

रैथाने कृषि आनुवंशिक स्रोतअन्तर्गत ‘लिमे भैँसी’ नेपालको स्थानीय जातका भैँसी हो । यो पश्चिम पहाडी भेगका जिल्ला कास्की, स्याङ्जा, पर्वत, बागलुङ तनहुँ र लमजुङमा बढी सङ्ख्यामा पाइने भएपनि नेपालको सबै पहाडी जिल्लामा पालिने गरेको हुलाक विभागका अधिकृत चन्द्रा थापाले बताउनुभयो । उहाँका अनुसार उक्त भैँसी कैलो रङको हुने र यसको छालाको रङ फिका खैरोदेखि कालोसम्मको हुन्छ । लिमेको दूध स्वादिलो तथा घृतांशको मात्रा बढी भएको हुनाले ग्रामीण क्षेत्रमा कृषकहरूले बढी मन पराएका छन् । यसका आँखी भौँ सेतो हुन्छन् । यसको चिउँडोमुनि र छाती वरपर हुने खैरो वा सेतो धर्से रौँ यिनीहरूको फरक छुट्याउने एक ठेट लक्षण रहेको उहाँले कार्यक्रममा उल्लेख गुर्नभयो । नेपालमा पहिचान भइसकेको भैँसीका नश्लहरूमध्ये लिमे भैँसीको शरीरको आकार र तौलका दृष्टिकोणले सबैभन्दा सानो नश्लको भैँसी हो रहेको छ । यो भैँसीको देशको सीमित क्षेत्रमा मात्र पालन गरिने भएकाले यसको क्षमताअनुसार संरक्षणका लागि ध्यान पुर्‍याउन आवश्यक छ रहेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, अर्को टिकटको आवरण हो सुन्तला । नेपालमा परापूर्वकालदेखि नै खेती गरिँदै आएको रैथाने फल सुन्तला हाल नेपालको सरकारले राष्ट्रिय फल घोषणा गरेको छ । सुन्तलाखेती नेपालको ६५ वटा जिल्लामा खेती गरिन्छ । हुलाक टिकटमा यसको फोटो राखेर राष्ट्रियस्तरमा प्रचारप्रसार गरी उत्पादन बढाउने र अन्तरराष्ट्रिय बजारमा प्रचारप्रसार गरी माग बढाउन सकिन्छ भन्ने हुलाक सेवा विभागको निष्र्कष छ ।

यसैगरी, लोपोन्मुख रैथाने कृषिमा परेको छ, पुत्का मौरी । पुत्का मौरी, मौरी प्रजातिमा पर्ने सबैभन्दा सानो आकारको मौरी हो । यी मौरीको शरीरमा खिल नहुनाले यसले अन्य मौरीले झैँ चिल्दैनन् । पथ्वीमा झण्डै ५०० यो प्रजातिका यी मौरीहरू पाइन्छन् । यी मौरीहरू संसारको उष्ण र उपोष्ण हावापानी पाइने क्षेत्रमा बसोबास गर्ने प्रजातिको मौरी हुन् । यी मौरीहरू वनजङ्गलका पुरानो धोद्रो मढुर रूखमा वा जमिनमनि गोला बनाई नेपालमा समुद्र सतहबाट हजार मिटर उचाइसम्मको क्षेत्रमा वसोबास गरेको पाइन्छ ।

पुत्का मौरी जलवाय परिवर्तनको प्रभावका कारण हजार मिटर उचाइभन्दा माथि पनि वसोवास गरेको भेटिन्छ । नेपालमा ‘मेलिपोना स्पेसिस्’ को पत्का मौरी पाइन्छ तर संरक्षणको अभावका कारण यो प्रजातिको मौरी लोपोन्मुख अवस्था रहेको छ । खासगरी नेपालको बाँके, बर्दिया र दाङ जिल्लामा पत्कामौरी पाइन्छ । मह उत्पादन कम भए पनि औषधिका रूपमा प्रयोग गर्न सकिने भएकाले यस मौरीको महको महत्त्व बढी छ ।

नेपालमा सरल र सर्वसुलभ रूपमा जहाँ पनि पाइने तरकारीका रूपमा रायोको सागको चर्चा बढाउन हुलाक टिकट विभागले हुलाक टिकट तयार पारेको छ । रायोको साग, बहुउपयोगी, स्वास्थ्यका लागि अनेकौँ फाइदैफाइदा भएको विशेष जाडो (हिउँद) महिनामा पाइने विभिन्न हरियो सागपातमध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो । यसको खेती नेपालको तराईदेखि उच्च पहाडसम्म नै गर्न सकिन्छ । प्रायः नेपालका सबै किसिमको माटोमा गर्न तर तराई र मध्यपहाडमा यो हिउँदेबाली हो भने उच्च पहाड जहाँ तुसारो र हिउँ पर्दछ त्यस्तो इलाकामा ग्रीष्म याममा खेती गरिन्छ । रायोको तरकारी औषधिय गुणले भरिपूर्ण हुन्छ । यसलाई उपभोग गर्दाजोर्नी र हड्डी बलियो बनाउँछ, भिटामिन प्रशस्तमात्रामा हुनाले, रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुनेक्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाका लागि रायोको साग लाभकारी हुन्छ । रायोको सागमा भिटामिन ए, सी र के प्रचुरमात्रामा, स्मरणशक्ति बढाउँछ, मुटु बलियो बनाउँछ, क्यान्सरबाट जोगाउँछ, डन्डीफोर कम गर्छ, गर्भवतीलाई लाभ गर्छ ।

त्यसैगरी अबदेखि हुलाक टिकटका रूपमा नौमुठे गाई (अछामे) पनि देख्न सकिन्छ । नेपालको राष्ट्रिय गाईलाई हिन्दूहरूको पहिचान, प्रतिष्ठा र सभ्यताको सङ्केतका रूपमा लिइन्छ । नेपालमा गाईका मुख्य नौ वटा प्रजातिमध्ये सात प्रजातिका गाई घरमा पालिन्छन् भने गौरीगाई र नीलगाई गरी दुई प्रजातीका गाई जङ्गलमा पाइन्छन् ।

घरमा पालिने गाईमध्ये गौरी गाई सबैभन्दा ठूलो प्रजाति हो भने नौमुठे गाई सबैभन्दा सानो प्रजाति हो । नौमुठे गाई उत्पत्तिस्थल अछाम जिल्लामा भएको मानिन्छ । त्यसैले यसलाई अछामी गाई पनि भनिन्छ । यस गाईलाई ‘नौ मुठे गाई’ भनिनुका कारण यसको उचाई लगभग नौ मुठी हुनु, हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने (करिब ८० सेन्टिमिटर) भएको भनिएको हुलाक सेवा विभागले जनाएको छ ।

भगवान् गोरक्षनाथले गौ संरक्षणका क्रममा अछामको देवीथुममा आइ सप्तऋषिहरूलाई पवित्र धार्मिक स्थल द्वादश ज्योतिर्लिङमध्येको वैद्यनाथ क्षेत्रमा नौमुठे गाईलाई संरक्षण तथा प्रवर्द्धन गर्न जानकारी दिएको किंवदन्ती रहेको विभागको अध्ययनले प्रष्ट पारेको छ ।

यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रूपमा लिइने र यस प्रजातिका गाईहरूले एक वेतमा करिब २०० लिटरसम्म दूध दिने गरेको विभागको अनुसन्धानले बताएको छ । धार्मिक पर्व तथा तीर्थ व्रतमा यसको दूधलाई विशेष रूपमा आवश्यक मानिन्छ । हाल यो गाईको प्रजाति लोपोन्मुख स्थितिमा रहेको छ । सहरीकरण, बजारीकरण र आधुनिकीकरणले नौ मुठे गाईको सङ्ख्या दिनानुदिन घटिरहेको छ । अछामबाट तीव्र बसाइँसराइका कारण पनि नौमुठे गाई संरक्षणको अभावमा छ । उन्नत जातका गाईको विकासले गर्दा पनि नौ मुठे गाई संरक्षणको ओझेलमा पर्दै गएको छ ।

त्यसैगरी नेपालको हिमनदी तथा चिसो पनि बहने खोलामा असला माछाको पनि टिकट आवरण प्रचलनमा आएको छ । असला माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति पाइने गर्छ । नेपालमा ६०० देखि तीन हजार ५०० मिटरको उचाइसम्म असला माछा पाइन्छ । असला माछा देश तथा विदेशमा पनि चर्चित छ । चर्चा र महत्त्व बढी भएकै कारण आलो माछा र सुकुटीको अत्यधिक माग बढेको छ । निकै स्वादिलो हुने भएकाले यसको माग बढेपछि यसको मूल्य पनि बढेको छ । अहिले ताजा माछाको प्रति किलो रू एक हजारभन्दा माथि र सुकुटी पारेकालाई प्रतिकिलो १० हजारसम्म छ । यो माछा जापान, अमेरिका, बेलायतलगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । विदेश पठाउनका लागि सुकुटीको माग धान्न गाह्रो परेको छ । सबैको रोजाइमा पर्न थालेसँगै खोलामा पाइने माछाको सङ्ख्यामा कमी आएको र जथाभावी ढङ्गले नदीमा माछा मार्ने कार्य बढेपछि नदी तथा यसका सहायक नदीहरूमा माछा पाउन मुस्किल रहेको विभागले उल्लेख गरेकोछ ।

यत्तीमात्र होइन अब भने हुलाक टिकटमा खरी बाख्राको आवरण पनि हेर्न सकिन्छ । हुलाक सेवा विभागले खरी बाख्राको टिकट आवरण अनावरण गरेसँगै यसको महत्त्व र अवस्था उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी भेगमा पाइने बाख्रालाई खरी बाख्रा भनिन्छ । यसलाई कतैकतै पहाड़ी बाख्रा वा औले बाख्रा पनि भनिन्छ । खरीबाख्रा पहाडी बाख्राभित्र पनि रङका आधारमा छ उपजाति वा उपप्रकार सेती, काली खैरी, घोर्ली, सिँगारी र धोबिनी रहेको छ ।

खरी जात नेपालको कूल बाखाको जनसङ्ख्याको ५० प्रतिशत बढी हिस्सा ओगटेको मानिन्छ । खरी बाख्रा फरकफरक रङका हुन्छन् । यो आकारमा सानो हुन्छ र यसलाई सामान्यतया पहाड़ी वा औले बाख्रा भनिन्छ । नेपालको पहाडी र भित्रीपहाडी क्षेत्रमा ३०० देखि एक हजार ५०० मिटरको उचाइमा पालिन्छ । आवश्यक बोकाको शारीरिक तौल ४० देखि ४५ केजी तथा बाख्रीको २५ देखि ३५ केजीसम्म हुन्छ । यी जातहरूले औसत १६ महिनामा पहिलो बच्चा जन्माउन सक्छन् र दुई वर्षको अन्तरालमा तीन पटक जन्म दिनसक्छ ।

आम किसान विदेशी बाख्रा भन्दैमा राम्रो हुन्छ भन्ने मानसिकताका नेपालमा पाइने रैथाने बाख्राको सङ्ख्या घट्दै गएको छ । “व्यावसायिक बाख्रापालनमा क्रस ब्रिडिङ गराउनेक्रम बढेकाले रैथाने बीउ हराउने खतरा बढ्दै गएको छ । रोगसँग लड्नसक्ने क्षमता बढी भएको र स्वादिलो मासुका लागि परिचित रैथाने बाख्राको बीउ कालान्तरमा अभाव हुनेतर्फ सचेत हुनुपर्छ,” विभागले भनेको छ ।

विभागका अनुसार खरी बाख्रामा रोगसँग लड्नसक्ने क्षमता बढी र कठोर हावापानीमा अनुकूल र कम भरण प्रणालीमा पनि उत्पादन गर्नसक्ने विषेशतार खाँदासमेत स्वादिलो हुन्छ । परम्परागत चरन व्यवस्थामा यो बाख्रापालन गर्न सकिन्छ । नेपालको हावापानी सुहाउँदो, उत्पादन खर्च कम लाग्ने यो रैथाने बाख्राको संरक्षण गर्न आवश्यक छ । हुलाक टिकेटमा खरी बाख्राको छाप राखेमा आम बाख्रा पाल्ने किसानलाई खरी जातको बाख्रापालनमा ध्यनाकर्षण हुने विभागको धारणा छ ।

यसैगरी अर्को मुलुकको तल्लोदेखि उच्च पहाडमा पाइने पारकोटे भैँसी पनि हुलाक टिकटमा पाइनेछ । यसको महत्त्व महसुस गर्दै आज हुलाक टिकट सार्वजनिक गरिएको हो । पारकोटे भैँसीहरू मुलुकको तल्लोदेखि उच्च पहाडभर छरिएर रहेका छन् भने मुख्यगरी मध्यपहाडमा बढीमात्रामा पाउन सकिन्छ ।

पारकोटे भैँसी मुख्यतः कालो रङको हुन्छ तर कहिलेकाहीँ खैरो र फिका खैरो रङमा पनि पाइन्छ । यो भैँसी लाम्चो अनुहार र चेप्टो टाउको भएको हुन्छ । सिंङ तरवार आकारको र शरीरको पछिल्लो भागतिर फर्केको हुन्छ । यसको मध्य कद र शरीरको लम्बाइ लिमेको दाजोमा अलि वढी हुन्छ । यसको शरीरमा कुनै पाटा वा धर्सा हुँदैन । यसको थुतुनो वा मुख कालो हुन्छ । यो नश्लका भैँसीहरूको शारीरिक लम्बाइ, काँधको उँचाइ, अस्थीको उँचाइ र छातीको गोलाई सरदर १२७ सेमी, १२४ सेमी, ११९ सेमी र १७७ सेमी पाइएको छ । यो भैँसीको शारीरिक तौल सरदर ४०७ केजी पाइएको छ । यो भैँसीको स्वभाव अर्ध–उदण्ड किसिमको हुने गर्छ ।

त्यसैगरी ब्रम्हलिन राष्ट्रशन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरण समेट हुलाक टिकटका रूपमा टाँचा प्रदान गरिएको छ । विसं १९९४ बागलुङमा जन्मिनुभएका महाराजले हिन्दूधर्म संस्कृति संरक्षणमा दिएको योगदान प्रशंसनीय रहेको हुँदा हुलाक टिकटमार्फत सम्मान प्रदान गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो । महाराजले आफ्नो जीवनकालमा नेपालका विभिन्न ४० वटा जिल्लामा आश्रम गुरूकुल, मठमन्दिर विद्यालयको स्थापना र स्तरवृद्धि स्थापना गरिएका धार्मिक तथा शैक्षिक संरचनाहरू निर्माण गर्नुभएको छ ।

पहिचान र संस्कृति एवं सम्पदालाई समेट्नेगरी विभागले तयार गरेको हुलाक टिकटमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरूङले टाँचा लगाउनुभएको हो । उहाँले आगामी दिनमा हुलाक विभागले राजनीतिक विषयबाहेकका अझै ओझेलमा परेका संस्कृति, सम्पदा, जनजीवन समेटिने रैथाने वस्तुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा सञ्चार सचिव राधिका अर्यालले हुलाक टिकट आफैँमा ऐतिहासिक दस्तावेज भएकाले यस्ता लोपोन्मुख रैथाने संस्कृतिको संरक्षण गर्नुपर्ने राज्यको दायित्व रहेको बताउनुभयो । महानिर्देशक पङ्गेनीले हुलाक टिकटमार्फत हराएकालाई संरक्षण, लुकेकालाई प्रचार र विभूतिलाई सम्मान गर्ने कार्यमा अग्रसर रहेको जानकारी दिनुभयो ।

नीतिमा उल्लेख भएपनि बजेटको अभावले कार्यान्वयनमा समस्या छ :मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नीतिमा धेरै कुरा उल्लेख गर्ने तर बजेट नहाल्दिने भएपछि कार्यान्वयनमा समस्या आउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रथम दिवसिय आवरणमा टाँचा लगाउने कार्यक्रममा उनले सञ्चार मन्त्रालयमा बजेटको कमि भएको भन्दै नीतिमा धेरै कुरा उल्लेख गर्ने तर पैसा नहाल्दिने हुँदा कार्यान्वयनमा समस्या हुने बताए ।

उनले भने, ‘अर्थमन्त्रालयले हाम्रो कुरा बुझ्दैन् रहेछ । अर्थ मन्त्रालयले बजेट ल्यायो, के ल्यायो भन्दा हामीलाई केही पनि छैन् जस्तै छ हाम्रो अवस्था, नीतिमा धेरै कुरा उल्लेख गर्ने पैसा नहाल्दिने भएपछि कसरी कार्यान्वयन हुन्छ । हामीले पैसा खोजेर काम गर्नुपर्ने अवस्था छ ।’
यस्तै, उनले सबै लोप हुदैँ गएको पशु र कृषिजन्य कुराहरुको संरक्षण गर्ने काम पनि हुलाक सेवा विभागले गर्नुपर्ने बताए ।
उनले भने, ‘सबै लोप हुदैँ गएको पशु र कृषिजन्य कुराहरुको संरक्षण गर्ने काम हुलाक सेवा विभागले गर्नुपर्ने छ किनभने पशु विज्ञान केन्द्र र कृषि ज्ञान केन्द्र के गरिरहेको छ थाहा छैन् । उनीहरुलाई पनि भन्नु पर्ने छ । यी सबै कुराको संरक्षण किन गर्नुपर्छ भने यति धेरै हाम्रो कृषिको प्रजातीहरु लोप भईसकेका छन् । त्यसकारण पनि हामीले यस्तो कुराहरुमा ध्यान दिनुपर्छ ।’

मानव समाज सभ्यताको बारेमा भावी पुस्ताको लागि काम लाग्ने कुरामा बढि ध्यान दिएर काम गर्नुपर्ने भन्दै उनले अर्को पालि कृषि, पशु, औषधी र जडिबुटिका क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताए । सोही कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले राष्ट्रसन्त स्वामी श्री परमानन्द सरस्वती महाराज र प्रकृतिलाई जोगाउने महत्वपूर्ण प्राणिको टिकटमा टाँचा लगाएको जानकारी दिएकी छन् ।

उनले भनिन्, ‘प्रकृतिलाई जोगाउने अनुशासित प्रयास जो हाम्रो मानव जीवनसँग प्रत्यक्ष संलग्न छन् । उनीहरु बिना हाम्रो जीवन छैन् । त्यो महत्वपूर्ण प्राणिको टिकटमा टाँचा लगाएका छौ । अर्को मानवलाई प्रकृतिसँग जोड्ने र फेरि प्रकृतिकै पूजा गर्न सिकाउने राष्ट्रसन्त स्वामी श्री परमानन्द सरस्वती महाराजको टिकटमा टाँचा लगाएका छौ । यी दुवै विषयको सारै महत्व भएको हुनाले यसको संरक्षणको लागि पनि टिकट बनाएको हो ।’

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको जानकारी दिए ।

उनका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३, चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० जौ चरुमा भेटी स्वरूप आएको १९ लाख ७४ हजार १ सय ९४, जिन्सीमा आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८, गोप्य दान मार्फत २२ हजार ४ सय ७२, दान पेटीकामा ३५ लाख ४४ हजार २ सय ९० गरी जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको छ ।

कोटिहोममा राखिएका ११ हजार कलश मध्ये अहिले सम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेको उनले जानकारी दिए । उनले कोटिहोम सकिना साथ पत्रकार सम्मेलन गरेर सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने उद्घोष गरे ।
‘कुनै पनि धर्म गुरुले यसरी महायज्ञको आय व्यय सार्वजनिक गरेको रेकर्ड छैन म नै पहिलो हो’ उनले भने, ‘यहाँ सङ्कलन भएको सम्पूर्ण रकमको अडिट सहित पत्रकार सम्मेलन गरेर सार्वजनिक हुन्छ अनावश्यक हल्लाको पछाडि नलाग्न सम्पूर्ण भक्तजनलाई म आग्रह गर्दछु ।’
उनले अहिले सम्म उठेको रकमले यहाँको पण्डाल खर्च पनि नपुग्ने बताउँदै यहाँहरूको सहयोग र सद्भावको खाँचो रहेको बताए ।
उनले कोटिहोममा जग्गा दान गर्ने क्रम पनि बढ्दै गएको जानकारी दिए । भोली नै स्याङ्जाबाट करिब ३ रोपनी जग्गा दान गर्ने जानकारी प्राप्त भएको उनले जानकारी दिए । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए । यसअघि अन्नपूर्ण गाउँपालिका १५ रोपनी जग्गा प्राप्त भइसकेको छ ।

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरे ।

पोखरामा महानगर पालिकाका मेयर, उपमेयर, प्रवक्ता प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षको साथ र सहयोगमा जेठ ३१ सम्म सञ्चालन हुने उनले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन् ।
पोखरा पछि कहाँ कहाँ हुदैछ कोटिहोम महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बुधवार पोखरा जारी कोटिहोमबाट अन्य प्रदेशमा पनि कोटिहोम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

काठमाडौं पछि पोखरामा भएको कोटिहोम देशभरका सातै प्रदेशमा गरिने उनले जानकारी दिए । उनका अनुसार २०८२ मङ्सिरमा कोसी प्रदेशमा ऐतिहासिक श्री कोसी कोटिहोम विराट ज्ञान महायज्ञमा, २०८२ फागुनमा २ नं प्रदेशमा श्री मिथिला कोटिहोम विराट ज्ञान महायज्ञ हुदैछ ।

त्यसै गरी २०८३ को वैशाखमा लुम्बिनी प्रदेशमा ऐतिहासिक श्री लुम्बिनी कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ मङ्सिरमा सुदूर पश्चिममा प्रदेशमा ऐतिहासिक श्री गोदावरी वैद्यनाथ कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ फागुनमा कर्णाली प्रदेशमा श्री कर्णाली कोटिहोम विराट ज्ञान महायज्ञ, २०८४ को वैशाखमा पोखरामा अति रुद्र विश्व कल्याण विराट ज्ञान महायज्ञ हुने भएको छ ।

यी सबै महायज्ञ पश्चात् २०८४ साउन र भदौमा काठमाण्डौमा विशाल १ हजार ८ कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको उनले जानकारी दिए । त्यस्तै २०८४ को माघ महिना चितवनमा कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको छ । त्यसै गरी ७७ जिल्लाका पवित्र तीर्थ स्थल, मन्दिर परिसर, आध्यात्मिक ऊर्जा सम्पन्न स्थलहरूमा १ सय ८ भागवत महापुराणको सङ्कल्प अनुरूप केही समय भित्र भागवत सप्ताह हवन रुद्राभिषेक यज्ञ शाल निर्माण र महायज्ञलगायतका कार्यक्रमहरू क्रमशः सञ्चालन गरिने भएको छ ।
कोटिहोमाको उत्तरार्ध तर्फ आउँदै गर्दा मानव सेवा फाउन्डेसनको आजीवन सदस्य बन्ने भक्तजनको सङ्ख्या बढ्दै गएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

मानव सेवा फाउन्डेसनको आश्रममा रहेका अनाथ वाल वालिकाको अभिभाव बन्न १ लाख, शिलालेखमा नाम लेखाउनका लागि ५० हजार र आजीवन सदस्य बन्नका लागि २५ हजार सहयोग गर्ने व्यवस्था रहेको छ ।आज चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको भजन प्रस्तुति रहेको थियो । विश्व वातवरण दिवसको अवसरमा सरसफाइ कार्यक्रम पनि सञ्चालन भएको छ । भोलि नै काठमाण्डौबाट ३० जना कवि आउने छन् भने चित्रकारहरू पनि सहभागी भएर विभिन्न खालका चित्र कोर्ने आयोजकले जनाएको छ ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ कमला पुलको माग गर्दै मधेस प्रदेशसभा भवन अगाडि धर्ना

सिरहा, २१ जेठ : सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सिरहा र धनुषा जोड्ने कमला पुललाई नसमेटेपछि कमला पुल निर्माण सङ्घर्ष समितिले आज मधेस प्रदेशसभा भवन अगाडि धर्ना दिएको छ ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा नयाँ कमला पुल निर्माणका लागि स्रोत सुनिश्चित गर्नुपर्ने सङ्घर्ष समितिको माग रहेको छ ।

हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि निर्माणाधीन पुल समयमै सम्पन्न गर्न आफूहरूले पटकपटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेकाले अब प्रदेश सरकारले पूर्वसहमतिअनुसार नयाँ कमला पुल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा छुट्टै शीर्षक बनाएर रकम विनियोजन गर्नुपर्ने सङ्घर्ष समितिका संयोजक प्रवीन यादवले माग गर्नुभयो ।

“जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत बजेटमा कमला पुललाई समट्न सकेन । एकपटक यहाँका जनतालाई सरकारले धोका दियो”, उहाँले भन्नुभयो, “केन्द्रीय सरकारले त बजेट दिएन, अब प्रदेश सरकारले नयाँ कमला पुल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा छुट्टै शीर्षक बनाएर विनियोजन गर्नुपर्छ । गत वर्ष अनसन बसेका सिरहाका युवासँग भएको सहमति मधेस प्रदेश सरकारले कार्यान्वयन गरेर देखाउनुपर्छ ।”

निर्माण पूरा नहुँदै जीर्ण बनेको पुल अलपत्र परेपछि गत वर्ष २०८१ को भदौमा सिरहाका १० जना युवा अभियन्ता नयाँ पुल निर्माण प्रक्रिया थाल्न माग गर्दै जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि पाँच दिनसम्म आमरण अनशनमा बसेका थिए । नयाँ कमला पुलको निर्माण गर्ने र त्यसका लागि सङ्घीय सरकारसमक्ष पहल गर्ने, त्यो पनि नभए सम्पूर्ण बजेट मधेस प्रदेश सरकारको स्रोतबाट व्यहोर्नेलगायत चारबुँदे सहमतिकासाथ अनशन तोडिएको विषय पुनःप्रदेश सरकारलाई स्मरण गर्न संयोजक यावदले आग्रह गर्नुभयो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा कमला पुललाई समेटी स्रोतको सुनिश्चित नगरेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुनःअनशन बस्न बाध्य हुने सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष नै मधेस प्रदेश सरकारले कमला पुल यथाशीघ्र सम्पन्न गर्न केन्द्रीय सरकारसँग ठोस पहल गर्ने सहमति भएको थियो । तर, त्यो पालना भएन । उधारो सहमतिमा सधैँ हामी बस्न सक्दैनौँ । हाताहाती चाहियो । यस विषयलाई गम्भीरतापूर्वक लिएन भने पुनःअनशनमा बस्न बाध्य हुनेछौँ ।”

मधेसको जीवनरेखासँग प्रत्यक्ष गाँसिएका विषयलाई सरकारले बेवास्ता गरिरहेको सिरहाका युवाको भनाइ छ । पुल निर्माण कम्पनी ‘लुम्बिनी विल्डर्स’ ले गत चैत महिनादेखि पुल पुनःनिर्माणको काम अलपत्र छाडेर हिँडेपछि उक्त जीण पुल बन्ने नबन्ने अनिश्चित भएको छ । पुल नबन्दा सिरहा र सप्तरीका मानिसलाई प्रदेश राजधानी जनकपुर आवतजावत गर्न सास्ती भोग्दै आउनुपरेको छ ।

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा महामन्त्री थापाको जोड

पाटन, (ललितपुर), २१ जेठः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीति दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो । सो अन्तरसंवादको समापन समारोहमा उहाँले असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिने बताउनुभयो । उहाँले लोकतन्त्र र बहिष्करणसँगसँगै जान नसक्ने उल्लेख गर्नुभयो ।

“अबको १० वर्षसम्मको अभियान के हुनसक्छ भनेर योजनाबद्ध रुपमा लाग्नुपर्छ, आजको छलफल विचार उत्तेजक र ज्ञानवद्र्धक पनि भएको छ,” महामन्त्री थापाले भन्नुभयो, “स्वर्गीय प्रदीप गिरीले भन्नुभएअनुसार राजनीतिज्ञहरु बौद्धिक रुपमा ठीक ठाउँमा हुँदाहुँदै कतिपय अवस्थामा भावनात्मक रुपमा ठिक ठाउँमा नहुन पनि सक्छन्, यसमा हामीले ध्यान दिनुपर्नेछ ।”

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सत्तामा पुग्न नेतृत्वले गरेको व्यवहार र सोचका कारण विभेदको अन्त्य नभएको बताउनुभयो । बहसमा मात्रै केन्द्रीत नभएर समस्यालाई समाधानमा लाग्नुपर्ने उहाँको भनाइ छ ।

पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले सुरु गरेको असमानता, छुवाछूत र विभेद्विरुद्धको अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो । “नेपालमा मात्रै विभेद छ भन्ने भाष्य पनि सही छैन, देशको आधा जनसङ्ख्या महिला हुँदा पनि स्वीजरल्याण्डमा त लामो समयसम्म मताधिकार नै दिइएको थिएन, पछि मात्रै भएको हो । यो सबै कुरा शिक्षा र चेतनाले फरक पार्दो रहेछ, हामीले यसलाई तत्कालै ध्यान दिनुपर्छ, नियम र कानुनले मात्रै हुँदैन” उहाँले भन्नुभयो ।

नागरिकको घरघरमा पुग्ने संस्था भनेको राजनीतिक दलहरू नै भएकाले छुवाछूतविरुद्ध बाँकी रहेको अवशेष हटाउन क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आईसीसीसी चावहिल शाखामा शैक्षिक मेला सम्पन्न, सय बढी बिद्यार्थीको सहभागिता

काठमाडौँ – इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट २०२५’ नामक शैक्षिक मेला भव्यताका साथ सम्पन्न भएको छ । हालै सम्पन्न मेलामा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी जानकारी दिइएको मेलामा सहभागी तथा अध्ययनका लागि क्यानडा जान इच्छुक बिद्यार्थी विबेक सापकोटाले बताए ।

उनले आँफु आइसीसीसीको चाबहिल शाखामा पुग्दा कैयौँ प्रश्न बोकेर पुगेको तर आइसीसीसीका सिनियर काउन्सलरहरुले आफ्ना सारा जिज्ञासाहरुको उत्तरले एउटा निर्णय लिन सहज भएको बताए । आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काका अनुसार मेलामा सापकोटाजस्तै कैयौँ बिद्यार्थीहरु पुगेको र उनीहरुले आफ्ना जिज्ञासाहरुको समाधार लिएर फर्किएको बताए । प्रवन्ध निर्देशक खड्काका अनुसार विदेश अध्ययनको योजना बनाएका करिब १ सय बढी बिद्यार्थीको मेलामा सहभागीता रहेको थियो ।

मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव पाउँदा बिद्यार्थीहरुले अनविज्ञता रहेका धेरै कुराहरुमा प्रस्ट बनेको प्रतिक्रिया दिएका थिए । बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म चलेको मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा बिद्यार्थीहरुलाई सल्लाह दिइएको थियो । मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आक्रषक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गरेका थिए ।

भारतबाट फर्किएका तीन जनामा कोरोना पुष्टि

बैतडी, २१ जेठ : भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । उहाँले भन्नुभयो, “भारतको विभिन्न सहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ ।”

कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड पुष्टि भएका तीनैजनाको स्याम्पल काठमाडौँ पठाएका छौंँ । काठमाडौँमा पिसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ ।” भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड सङ्क्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको छ ।

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल यही जेठ २७ देखि

कास्की, २१ जेठः देशको पर्यटकीय राजधानी पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ देखि ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगिता नेपाल भलिबल सङ्घ र राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्वीकृतिमा हुन लागेको हो । प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिम सहभागी हुनेछन् । जसमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश टिम र न्यू डायमण्ड युथ स्पोट्र्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता ‘लिग तथा नकआउट’ चरणमा सञ्चालन गरिनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रू छ लाख, उपविजेताले रू तीन लाख र तेस्रो हुने टिमले रू एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रू २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रू १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । एकेडेमीका अध्यक्ष कोइरालाले भलिबललाई लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगितामार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

“पोखरा खेलकुदको सहर त्यसमा पनि भलिबल लोकप्रिय छ । भलिबल खेल विकास गर्ने लक्ष्य राखेका छौँ । भविष्यमा यो प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउँदै लैजाने योजना छ”, कोइरालाले भन्नुभयो ।

अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइरालाले महासङ्घले वर्षभरी नै बृहत् खेलकुद महोत्सवका रूपमा विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलका रूपमा घोषणा गरेको थियो । भलिबल खेलको विकास र विस्तारका लागि पोखरामा पहिलोपटक प्रचण्ड कप भलिबल गर्न लागिएको हो ।

युवाका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

काठमाडौँ, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभएको छ ।

बागबजारस्थित ‘आइडिया स्टुडियो’ मा आयोजित ‘नवप्रवर्तक युवासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्व दिइएको बताउनुभयो ।

“युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न । परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ । असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू पनि ठीक होइन, त्यस्तो गर्नेहरू उल्टै पारिवारिक तनावमा परेका हुन्छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब युवाले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युवा विदेश जानेक्रम रोक्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले युुवाले रचनात्मकतामा निरन्तरता दिनुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको शतप्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताउनुुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुडियो’ को सम्वर्द्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरूको प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।

‘आइडिया स्टुडियो’ का संस्थापक डा छिरिङ लामा र काठमाडौँ मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउनुभएको थियो ।

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ, २१ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज जारी गर्नुभएको विज्ञप्तिमा त्रिविको उपकुलपतिको कार्यालयमा एक समूहबाट तोडफोड भएको तथा अन्य पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको हो ।

“त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट माननीय मन्त्रीज्यू उक्त घटनाका सम्बन्धमा सुक्ष्म अध्ययन गरिरहनुभएको छ”, प्रवक्ता सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “साथै मन्त्रीज्यूले यस्ता अनुशासनहीन र गैरकानुनी कार्यमा संलग्न जोसुकै भए पनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नुभएको छ ।”

मन्त्रालयले विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्था र लाखौँ विद्यार्थीको भविष्य निर्माणका लागि दैनिक पठनपाठन प्रणाली सञ्चालनमा क्रियाशिल रहनुपर्ने निकायमा कुनै पनि बहानामा यस्ता हिंसात्मक, गैरकानुनी र शैक्षिक क्यालेण्डरलाई बाधा पु¥याउने कुनै पनि कार्य सदैव निन्दनीय र भत्र्सना योग्य हुने जनाएको छ ।

मन्त्रालयले भविष्यमा कुनै पनि विश्वविद्यालय तथा शैक्षिक संस्थामा यस्ता अप्रिय घटना हुन नदिने गरी सम्बन्धित पक्षबाट स्वतःस्फूर्त रुपमा सावधानिपूर्वक प्रयत्न गर्न मन्त्रालयले सवैलाई आग्रह गरेको मन्त्रालयका प्रवक्ता सापकोटाले जनाउनुभएको छ ।

केन्द्रीय चलचित्र जाँच समिति सदस्यमा रंगपत्रकार गिरी नियुक्त

काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा रंगपत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गिरी २ वर्षका लागि सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका हुन् ।

करिब दुई दशकदेखि रंगपत्रकारितामा सक्रिय गिरी विभिन्न पत्रिका, नेपाल टेलिभिजन हुँदै पछिल्लो समय रातोपाटी डटकममा कार्यरत छन् ।

नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धी कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरी चलचित्र पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री

काठमाडौँ, २१ जेठ : गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिनुभएको हो ।

“जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भूकम्प र आगलागीको पूर्वानुमान हुँदैन”, उहाँले भन्नुभयो, “हामी मनसुनको पूर्वसन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ ।” विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिनुभयो ।

“विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अहिले बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ थियो । “मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्‍र्याे । समयमै पूर्वसूचना गराउन र उद्दारका लागि तयार अवस्थामा बस्न जरूरी छ । जेठ २८ गतेदेखि मनसुन सक्रिय हुने अनुमान छ”, उहाँले भन्नुभयो ।

यसपटक पहिलेकोभन्दा नेपाल प्रहरीको बजेट बढेको भन्दै तलब, पोशाक, महँगी भत्तामा कुनै समस्या नहुने उहाँको भनाइ थियो । यस्तै नेपाल प्रहरीको ऐन संशोधनका लागि सङ्घीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरू हुने गृहमन्त्री लेखकले बताउनुभयो ।

ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देविको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

गाडिमा सवार रहेकामध्ये दुई जना अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।उनका अनुसार विद्युतीय गाडीमा सवार १८ वर्षीय रानी कुमारी यादव (रामनगर) र १९ वर्षीय सरोज ठाकुर (दुर्गाभगवती गाउँपालिका–५, बडहर्वा) घाइते छन् ।

दुर्घटनापछि ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर–३ निवासी २१ वर्षीय आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

जनकपुर । लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ । आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलीसम्मका लागि स्थगित भएको छ ।

जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबीन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए । उनले अहिलेको जनमत नेतृत्वको सरकारले मधेश प्रदेशमा आर्थिक अनुसाशनको खुलेआम उलंघन गरेको आरोप लगाएका छन् । संघीय छानबीन समिति गठन गर्ने निर्णय १ महिना बढी भइसक्दा पनि गठन नभएकोले सांसद यादवले सरकार सदनप्रती उत्तरदायी नरहेको आरोप लगाएका छन् । उनले संसदले पनि मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचारलाई समर्थन गरेको आरोप लगाउँदै संसदीय छानबीन समिति गठन नगरेसम्म सदन अवरुद्ध गर्ने बताए ।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले भोली दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएका थिए । आजको बैठकमा प्रदेश प्रमुख सुमिन्त्रा सुवेदी भण्डारीले पाँचौ अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूची रहेको थियो । त्यस्तै, प्रदेश प्रमुखको कार्यालयबाट विधेयक प्रमाणीकरण पत्र र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूचीमा उल्लेख रहेको थियो । साथै दलका नेता÷प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिने पनि कार्य सूचीमा रहेको थियो ।

वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री

काठमाडौँ, २१ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु हो भन्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई आज धनगढीमा सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो, “मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो । त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो ।”

मन्त्री डा राणाले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसैका लागि वर्तमान सरकार कार्यरत रहेको धराणा पनि राख्नुभयो ।

कानुनमा सुधार गरेर हुन्छ या नयाँ नीति नियमहरू निर्माण गरेर लगानीमैत्री वातावरण निर्माण गरी स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनमा वर्तमान सरकार लागेको पनि उहाँले बताउनुभयो ।

मन्त्री डा राणाले सरकारको आर्थिक विकासको एजेण्डालाई थप प्रवर्द्धन गर्न आफूले परराष्ट्र मन्त्रालयमा अलग्गै आर्थिक कूटनीति महाशाखाको स्थापना गरेर कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउने कामका लागि सहजीकरण गरिरहेको जानकारी पनि दिनुभयो ।

मन्त्री डा राणाले कुनै पनि देशको आर्थिक विकासको इञ्जिन भनेको निजी क्षेत्र हो भन्ने मान्यतामा वर्तमान सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस रहेको स्पष्ट गर्दै लगानीमैत्री नीति तथा कानुनहरू निर्माण गरेर बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुनसुकै लगानीका लागि पनि राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्दछ, यो स्वाभाविक हो । त्यस्तै कुनै पनि देशमा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न स्वदेशी लगानीकर्ताहरूलाई पनि उचित वातावरण आवश्यक पर्दछ । यो वास्तविकता बुझेर वर्तमान सरकारले काम गरिरहेको छ ।”

मन्त्री डा राणाले सुदूरपश्चिम पर्यटन, संस्कृति, कृषि उपजलगायत धेरै क्षेत्रमा धेरै सम्भावना बोकेको प्रदेश हो भन्दै सो क्षेत्रमा बढीभन्दा बढी लगानी गरेर मुनाफा लिन निजी क्षेत्रलाई आह्वान पनि गर्नुभयो । साथै मन्त्री डा राणाले आफ्ना क्षेत्रमा ठूलो लगानी भित्र्याउनका लागि प्रदेश सरकार तथा स्थानीय नागरिकहरू पनि आफ्ना ठाउँबाट सशक्त रूपमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “यस क्षेत्रको विकासका लागि सबै एकजुट भएर लागौँ । विकासमा राजनीति शोभनीय हुँदैन । राजनीतिलाई आफ्ना ठाउँमा राखौँ र आफ्ना क्षेत्रको विकासका लागि एकमत बनाएर लागौँ ।”

‘समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो’ – प्रचण्ड

काठमाडौँ, २१ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।

छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औँ वर्षका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थविरुद्ध बृहत् शान्ति सम्झौतापश्चात् २०६३ साल जेठ २१ गते पुनःस्थापित संसद्बाट देशलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको बताउनुभएको छ ।

संविधानमा छुवाछूत तथा विभेदजन्य कार्यलाई गम्भीर सामाजिक अपराधका रूपमा व्याख्या गरेकोे उल्लेख गर्दै अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ, “दलित समुदायको समुचित उत्थानका लागि विशेष पहल, नीति तथा कार्यक्रम आवश्यक छन् ।”

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २१ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३९, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ३८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली स्थानीय प्रतिकिलो रु ४५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु १८, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडी प्रतिकिलो रु ५०, मकै बोडी प्रतिकिलो रु ७५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ५५, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ३५, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु २८०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७५, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५५, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (नेपाली) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १३०, लिची (भारतीय) प्रतिकिलो रु २०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ४५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौँ, २१ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ ।

“आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

कोटीहोम साच्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल

पोखरा । पोखरामा जारी कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए ।

पाण्डेको गीतमा महानायक हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको श्रीविजय कृष्णमूर्तिजीले बताए ।
उनले गण्डकीको कोटीहोम निकै सफल भएको दावी गर्दै अन्य प्रदेशमा पनि कोटीहोम गर्ने बताए ।

उक्त अवसरमा महानायक हमालले पवित्र मेलामा उपस्थिति जनाउने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । कोटिहोम दर्शन गर्दै गर्दा उपस्थित भक्तजन उत्साहित भएको पाएको भन्दै उनले सत्मार्गतर्फ लाग्न सके जीवनले सार्थकता पाउने स्पष्ट पारे ।

कोटीहोम साच्चिकै ऐतिहासिक रहेको भन्दै उनले जीवनलाई आनन्दित बनाउन यस्ता खालका कोटिहोम आवश्यक रहेको बताए ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । सोमबार महानायक राजेश हमालको सहभागिताका साथै राधिका दासीको प्रवचन सुन्न टाढाटाढाबाट भक्तजन पुगेका छन् ।

पोखरा स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

सिरहा- सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै रू एक लाख ७० हजार ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरका प्रमोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सिरहा नगरपालिका–१६ माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा मुद्दा मिलाइदिने भन्दै महतोले रकम लिएका थिए । विवेककी आमा रानीदेवी यादवले आफूसँग उनले २०८१ असार २७ मा रू एक लाख ७० हजार लिएको जाहेरीमा उल्लेख गरेको प्रहरूले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा प्रमोदलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत सिरहाबाट चार दिनको म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको भन्दै कसैले काम गराइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेमा प्रमाणसहित प्रहरीमा उजुरी गर्न प्रहरी नायब उपरीक्षक पासवानले आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारे प्रस्तुति गर्नुभएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लीलादेवी गड्तौला, आयोगका सदस्यहरु र सचिवहरु सहभागी हुनुहुुन्थ्यो ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने विश्वास दिलाउँदै अन्य काममा कुनै सरकारको दबाब र हस्तक्षेप नहुने स्पष्ट गर्नुभयो । “तपाईँहरु कसैको दबाबमा नपर्नुस् । स्वतन्त्र, निष्पक्ष र निडरताका साथ काम गर्नुस् र सरकारले कुनै हस्तक्षेप र दख्खल गर्दैन । आवश्यक सहयोग गर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । दुवै आयोगमा यही जेठ ४ गते पदाधिकारी नियुक्त भएका थिए ।

मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जोर्डनबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र राजदूत घानीको कार्यकालमा थप प्रगाढ हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले नेपाल र जोर्डनबीच भइरहेको सीमित व्यापार र नेपालको व्यापार घाटाका विषय उल्लेख गर्दै भविष्यमा व्यापार तथा लगानी बढाउन नेपालबाट कृषिजन्य वस्तुहरू निर्यात गर्ने र जोर्डनबाट मल आयात गर्न सकिने विषयमा सहकार्य हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

साथै, सन् २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारी भइरहेकाले नेपालमा विदेशी लगानीको प्रचुर सम्भावना रहेको र नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि विभिन्न नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गर्दै जोर्डनबाट नेपालमा थप लगानी भित्र्याउन आह्वान गर्नुभयो ।

नेपालले हालै मात्र सफलतापूर्वक सगरमाथा संवाद सम्पन्न गरेको विषय उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले सो संवादको मुख्य सन्देश विश्वव्यापी साझा वस्तुको संरक्षणका लागि सबैको सामूहिक कार्य जरुरी रहेको र जोर्डनको यो एक प्राथमिकताको क्षेत्र भएकाले दुई देशबीच यो विषयमा सहकार्य र सहयोग हुनेसक्ने बताउनुभयो ।

छलफलका क्रममा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत अब्देलघानीले नेपाल र जोर्डनबीच धेरै आयाममा समानता रहेको र आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धमा बलियो बनाउन प्रयास गर्ने बताउनुभयो । दुई देशबीच कूटनीतिक, व्यापारिक तथा लगानी सम्बन्धलाई थप प्रगाढ बनाउन सरकारी र व्यापारिक प्रतिनिधिबीच आदानप्रदान भ्रमणहरू, सांस्कृतिक भ्रमण आदानप्रदान, व्यापार तथा लगानी प्रवर्द्धनका लागि संयुक्त समितिको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको लागि जोर्डन श्रम बजारको एक प्रमुख गन्तव्य हुनसक्ने आँकलन गरी निर्माण उद्योग, तयारी पोसाकलगायत क्षेत्रमा प्रचुर सम्भावना रहेकोसमेत औँल्याउनुभयो ।

दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइराख्न मन्त्रालयले पूर्णरूपमा सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र व्यापार तथा लगानीको दायरा बढाउन राजदूत घानीको महत्वपूर्ण भूमिका रहने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल– बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

भद्रपुर (झापा), २१ जेठ : आर्थिक वर्ष २०८१÷८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । नेपालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन् ।

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् ।

काँकडभिट्टाबाट रु ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो ।

छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौँ, २१ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिको इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नेपाली जनताले गरेका थुप्रै ऐतिहासिक जनसङ्घर्ष, जनआन्दोलन, सामाजिक तथा सांस्कृतिक आन्दोलनले जातीय विभेद र छुवाछूत प्रथा उन्मूलनका लागि थुप्रै कानुनी व्यवस्था भएका छन्, तर समाजमा रहेको परम्परागत सोच, अशिक्षा, संस्कार र धर्मका नाममा जातीय भेदभाव र छुवाछूत पूर्णरुपमा उन्मूलन भएको छैन ।”

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने सङ्कल्प राखेको अध्यक्ष दाहालको भनाइ छ ।

उहाँले दिवससँगै सबैलाई जातको आधारमा हुने सबैखाले विभेद अन्त्य गर्न प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ । विसं २०६३ जेठ २१ गतेका दिन सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिएको छ ।

यो दिवस दलित समुदायको सम्मान र समानताको पहिचान स्थापित गर्ने, सामाजिक न्याय र मानवअधिकारको प्रवर्द्धन गर्ने अवसर भएको उल्लेख गर्दै जातीय विभेद र छुवाछूत विरुद्ध सङ्घर्ष गर्ने दायित्व केवल दलित समुदायको मात्र होइन, सम्पूर्ण मानव समुदायको साझा दायित्व र जिम्मेवारी हो, त्यसले मात्रै विभेदरहित न्यायपूर्ण, समावेशी र समतामूलक समाज निर्माण सम्भव हुने उहाँको भनाइ छ । “जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सभ्य, उन्नत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।

अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’

म्याग्दी (बेनी), २१ जेठः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारहरुको टोलीले साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण सङ्गीत समूहले आधार शिविरमा नेपाली सङ्गीतको झल्को दिने साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

हार्मोनियम, बाँसुरी, गीतारलगायतका नेपाली बाध्यबाधनका साधनको सङ्गीतमा फ्रान्सेली कलाकारहरुले राखेको साङुगीतिक प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएको अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले बताउनुभयो ।

“अन्नपूर्ण आधार शिविरमा पहिलो पटक यसप्रकारको साङ्गीतिक कार्यक्रम आयोजना गरिएको हो, फ्रान्सेली कलाकारहरुको समूहले राखेको यो प्रस्तुतिले आगामी दिनमा हामीलाई आधार शिविरमा साङ्गीतिक प्रस्तुतिका कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ”, अन्नपूर्ण पदमार्गका अभियन्ता समेत रहनुभएका गुरुङले भन्नुभयो ।

कलाकारहरुले नेपालीपन झल्कने सङ्गीत प्रस्तुत गर्नुका साथै फ्रान्समा प्रचलित नृत्य समेत प्रस्तुत गरेका थिए । अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत सङ्गीतमा नेपाली र विदेशी पर्यटकहरुले रुचिका साथ अवलोकन गरेका थिए ।

हीरक जयन्तीको अवसरमा आयोजित पदयात्राको नेतृत्व गर्दै आधार शिविर पुग्नुभएका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सङ्गीतको माध्ययमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा सघाउ पुग्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा आयोजित हीरक महोत्सवको अवसरमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ । साथै आधार शिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिताका साथै मौलिक नाचलगायतका कार्यक्रम सम्पन्न गरिएको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २१ जेठः नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९६ पैसा र विक्रीदर ३५६ रुपैयाँ ५२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।