`

विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर

काठमाडौँ, २१ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काको विज्ञापन प्रकाशनका सम्बन्धमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

सो गाउँपालिकको आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो ।

बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रुपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगको आरोप छ ।

आयोगले सो गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध रु तीन लाख १६ हजार चार सय बराबरको बिगो माग दाबी गरेको छ ।

आयोगका अनुसार प्रेस काउन्सिल नेपालले २०७९ चैत २३ गतेको पत्र अनुसार उक्त बोलपत्रको सूचना प्रकाशित नभएको पाइएको छ । खरिद आशयको सूचना सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नभएको देखिएको छ ।

पत्रिका व्यवस्थापन प्रणालीको पिडिएफ अभिलेखमा समेत कुनै सूचना प्रकाशित भएको नदेखिएको आयोगको ठहर छ । बोलपत्र आह्वानको सूचना सौर्य दैनिकमा एक–एक प्रति मात्रै प्रकाशन गरे गराएको, प्रेस काउन्सिलमा बुझाइएको विवरणमा समेत उल्लेख नभएको, पिडिएफमा समेत नभेटिएको आयोगको आरोप छ ।

सार्वजनिक तवरमा वितरण नगर्ने गरी एक–एक प्रति प्रकाशित गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पाँच जनाविरुद्ध कैद र बिगो असुल उपरको माग दाबीका साथ मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

काठमाडौँ, २१ जेठः आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।

यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो । बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा संयुक्त राष्ट्रसङ्घले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ ।

आज पनि विश्वका कैयौं बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन् । सन् २०१५ मा पारित २०३० का लागि दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि स्पष्ट लक्ष्य तय गरेको छ । लक्ष्य १६.२ अन्तर्गत सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा र दुव्र्यवहार विरुद्ध कठोर कदम चाल्ने योजना समेटिएको छ ।

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २१ जेठः सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ ।

राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

काठमाडौँ, २१ जेठः सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना मजबुत बनाउँदै जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शैक्षिक संस्था तथा सरोकारवाला पक्षहरू एकढिक्का भई लाग्न अत्यावश्यक औँल्याउनुभयो ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना उहाँले जातीय विभेद वा छुवाछूत कुनै वर्ग विशेषको मात्र समस्या नभइ यो सम्पूर्ण समाज, राष्ट्र र मानव सभ्यताको नै साझा चुनौती भएको बताउनुभयो । उहाँलेसबैले आआफ्नो क्षेत्रबाट समानताको पक्षमा आवाज उठाउँदै समतामूलक समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यो दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।

उहाँले भन्नुभएको छ, “नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै सामाजिक न्याय, समावेशी लोकतन्त्र र समतामूलक समाज निर्माणको आधार तय गरे व्यवहारमा अझै छुवाछूत, विभेद, बहिष्कार, हिंसा र अन्यायका रूप उन्मूलन हुन बाँकी छन् ।”

राष्ट्रिय दिवसले हामी सबैमा आत्मसमीक्षा, सामाजिक उत्तरदायित्व र संवेदनशीलता बोध गराउँदै सामाजिक न्यायको पक्षमा अग्रसर रहन थप प्रेरणा प्रदान गरोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।

विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौँ, २० जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिनुुभएको छ ।स्पेनको सेभिलामा यही जुन ३० देखि आगामी जुलाई ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले आह्वान गर्नुभएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छ प्रणालीगत सुधारका लागि पनि आग्रह गर्नुभयो ।

विभिन्न राष्ट्र प्रमुख÷सरकार प्रमुख सहभागी भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले घट्दो विकास सहायता र लगानीका बीच विकासोन्मुख मुलुकले आन्तरिक स्रोतबाट मात्रै धान्न नसक्ने भएको प्रभावकारी विश्व सहकार्यमा जोड दिनुुभयो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथै नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँ तारामण्डल शोले वैज्ञानिकहरूलाई ब्रह्माण्डीय रहस्य खोल्न सहयोग

वैज्ञानिकहरूले एउटा अप्रत्याशित स्रोतबाट सौर्यमण्डलका धेरै रहस्यमध्ये एक खोलेका छन्ः सोमबार जनताका लागि खुला गरिएको तारामण्डल शो ।अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा गत शरद ऋतुमा विशेषज्ञहरू ‘एन्काउन्टर्स इन द मिल्की वे’ तयार गर्न कडा मेहनत गरिरहेका थिए । यो ताराहरू र अन्य आकाशीय वस्तुहरूको चालद्वारा आकार पाएको हाम्रो घर आकाशगङ्गाको गहिरो अध्ययन थियो ।

उनीहरूले ओर्ट क्लाउड भनिने क्षेत्रलाई चित्रित गर्ने दृश्यलाई ठीक गरिरहेका थिए । यो प्लुटोभन्दा धेरै टाढाको क्षेत्र हो र यो सौर्यमण्डलको गठनबाट हिउँले भरिएको अवशेषले भरिएको क्षेत्र हो । धूमकेतुहरू यस बादलबाट पृथ्वीतर्फ दौडन सक्छन्, तर वैज्ञानिकहरूले यसको वास्तविक आकार कहिल्यै देखेका छैनन् ।एक साँझ ओर्ट क्लाउडको दृश्य हेर्दा वैज्ञानिकहरूले तारामण्डलको गुम्बजमा प्रक्षेपित केही अनौठो कुरा देखे । “त्यहाँ किन कुण्डली छ ?”, सङ्ग्रहालयका ज्याकी फाहर्टीले भन्नुभयो ।

अर्बौं धूमकेतुहरू मिलेर बनेको ओर्ट क्लाउडको भित्री भाग हाम्रो मिल्की वे आकाशगङ्गाको आकार जस्तै दुई लहरदार हातहरू भएको बार जस्तो देखिन्छ । वैज्ञानिकहरूले लामो समयदेखि ओर्ट क्लाउडलाई गोलाकार वा च्याप्टो खोलाको आकारको भएको, अन्य ग्रहहरू र आकाशगङ्गाको धक्का र तानाबाट विकृत भएको ठानेका थिए । तारामण्डल प्रदर्शनीले भित्र अझ जटिल आकार हुन सक्ने सङ्केत गर्‍यो ।

सङ्ग्रहालयले सोका लागि ओर्ट क्लाउड डेटा प्रदान गर्ने शोधकर्तालाई सम्पर्क गर्‍यो । उनीहरू पनि कुण्डली देखेर पनि चकित भए ।“यो वास्तवमा भएको एक प्रकारको संयोगजन्य दुर्घटना हो”, साउथवेस्ट रिसर्च इन्स्टिच्युटका डेभिड नेस्भोर्नीले भन्नुभयो । अनुसन्धानकर्ताहरूले केही नयाँ कुरामा ठक्कर खाएको महसुस गरेपछि उनीहरूले यस वर्षको सुरुमा द एस्ट्रोफिजिकल जर्नलमा आफ्ना निष्कर्षहरू प्रकाशित गरे ।

“यो कुण्डली ‘बाहिरी सौर्यमण्डलको हाम्रो बुझाइमा एक उल्लेखनीय परिवर्तन’ हो”, अध्ययनमा संलग्न नभएका राइस विश्वविद्यालयका ग्रह वैज्ञानिक आन्द्रे इजिडोरोले इमेलमा भन्नुभयो ।इजिडोरोका अनुसार आकाशीय वस्तुहरूको चालका डेटा र सिमुलेशनको प्रयोग गरेर गरिएको यो खोज अवलोकनद्वारा पुष्टि गर्न गाह्रो हुनेछ । तर टाढाका धूमकेतुहरूको कक्षाको बारेमा थप जान्नाले वैज्ञानिकहरूलाई केही सुराग दिन सक्छ ।

तारामण्डल शो तयार गर्दा सङ्ग्रहालयका विशेषज्ञहरूले ब्रह्माण्डको आन्तरिक कार्यप्रणालीमा झ्यालको अपेक्षा गरेका थिएनन् । सङ्ग्रहालयका जोन पार्करका अनुसार अभिनेता पेड्रो पास्कलले वर्णन गरेको यो शोमा धेरै जीवन्त दृश्यहरू छन् जसले ओर्ट क्लाउडभन्दा दर्शकहरूलाई बढी आकर्षित गर्न सक्छ, जसमा मिल्की वेसँग धनु मिनी आकाशगङ्गाको चलिरहेको मिश्रण समावेश छ ।

शोका दृश्यहरू जतिसुकै आकर्षक र सुन्दर भएता पनि ङ्ंग्रहालय यसलाई वैज्ञानिक रूपमा सटीक बनाउन प्रतिबद्ध थियो । यसैले केही नयाँ कुरामा ठक्कर खाने उत्तम अवस्था सिर्जना भएको सङ्ग्रहालयका कार्टर एमार्टले बताउनुभयो । “तपाईँले के फेला पार्न जाँदै हुनुहुन्छ भन्ने तपाईँलाई कहिल्यै थाहा हुँदैन”, एमार्टले भन्नुभयो ।

युक्रेनलाई नेटो शिखर सम्मेलनमा आमन्त्रण : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जुन महिनाको उत्तरार्धमा नेदरल्याण्ड्सको हेगमा आयोजना हुने नेटो शिखर सम्मेलनमा युक्रेनलाई औपचारिक रूपमा आमन्त्रण गरिएको जानकारी दिनुभएको छ ।

शिखर सम्मेलन जुन २४ देखि २६ सम्म हेगमा हुने छ, जहाँ रुसद्वारा युक्रेनमा गरिएको आक्रमण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन गरेको आह्वान मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ ।

“हामीलाई नेटो शिखर सम्मेलनमा आमन्त्रण गरिएको छ । मलाई लाग्छ, यो महत्वपूर्ण कुरा हो,” राष्ट्रपति जेलेन्स्कीले सोमबार भिलनियसमा नेटोका महासचिव मार्क रुटेसँगको भेटपछि भन्नुभयो ।

राष्ट्रपति जेलेन्स्कीले केही दिनअघि चेतावनी दिँदै भन्नुभएको थियो,“यदि युक्रेन नेटो शिखर सम्मेलनमा उपस्थित हुँदैन भने, त्यो पुटिनका लागि विजय हुनेछ ।”

ट्रम्प प्रशासनको समयमा युक्रेनले प्राप्त गर्ने सैन्य सहयोगप्रति अनिश्चितता बढिरहेका बेला राष्ट्रपति जेलेन्स्की युरोपेली साझेदारहरूसँग समर्थन सुनिश्चित गर्न प्रयासरत हुनुहुन्छ ।युक्रेनले रूससँग सम्भावित शान्ति सम्झौताका अवस्थामा सुरक्षा प्रत्याभूति चाहेको बताइएको छ, जुन प्रस्तावलाई मस्कोले ‘स्वीकार्य छैन’ भनेको छ ।

भूकम्पको त्रासबीच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार

पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् ।कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेको सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनले जानकारी दिनुभयो ।

जेलबाट भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केही सुरक्षाकर्मीसमेत छन् । घटना स्थानीय समयअनुसार बिहान करिब १ः३० बजे भएको हो ।“भूकम्पको कारण कैदीहरूमा त्रास फैलिएको थियो,” मेमनले भन्नुभयो ।घटनापछि प्रान्तीय सरकारको जेल सेवा प्रमुखलाई पदबाट हटाइएको उहाँले जानकारी दिनुभयो ।

पाकिस्तानका जेलहरू प्रायः भीडभाड, खराब अवस्था, भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका कारण बदनाम छन् । साथै, न्यायिक प्रक्रिया ढिलो हुने भएकाले कैदीहरू लामो समयसम्म थुनामा बस्न बाध्य हुने गरेको बताइएको छ ।

सिन्ध मौसम विज्ञान कार्यालयका कार्यकारी प्रमुख आमिर हैदर लघारीले एएफपीसँग कुरा गर्दै कराचीमा पछिल्ला तीन दिनमा २० भन्दा बढी भूकम्पका धक्का मापन गरिएको जानकारी दिनुभयो ।

आँबुखैरेनीका छात्राको खातामा आठ लाख जम्मा

दमौली (तनहुँ), २० जेठ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको खातामा रु आठ लाख १९ हजार रकम जम्मा गरिदिएको छ । छात्रा बचत खाता कार्यक्रमअन्तर्गत पालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ८१९ छात्राहरूको खातामा उक्त रकम जम्मा गरिदिएको हो ।

शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकाले यसै आर्थिक वर्षदेखि छात्रा बचत खाता कार्यक्रम सुरू गरेको थियो । विद्यार्थीमा बचत गर्ने बानीको विकास गर्ने उद्देश्यसहित सुरू गरिएको यो कार्यक्रमअन्तर्गत कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने ८१९ छात्राको बैंक खाता खोली प्रतिविद्यार्थी रु एक हजारका दरले रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

कुमारी बैंक आँबुखैरेनी शाखामा सबै विद्यार्थीको खाता खोलेर उक्त रकमको चेक सोमबार बैंकका प्रबन्धलाई हस्तान्तरण गरिएको छ । चुमानले भन्नुभयो, “सबै छात्राहरूको बैंक खाता खोलेर प्रतिविद्यार्थी रू एक हजारका दरले रकम जम्मा गरिदिएका छौँ । सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”

शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाल बचत खाता सञ्चालनको मुख्य उद्देश्य भनेको सानैदेखि बचत गर्ने बानीको विकास, रूचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पु¥याउने रहेको चुमानले बताउनुभयो । विद्यार्थीको खाता सञ्चालनबापत प्रत्येक विद्यार्थीले वार्षिक रु ३५ हजार बराबरको स्वास्थ्य बिमा प्राप्त गर्नेछन् ।

यसैगरी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिबापत रु सात लाख ९० हजार वितरण गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण कार्यक्रमअन्तर्गत ७९ जना विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारका दरले रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रूपान्तरणलाई अभियानकै रूपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

बागमती प्रदेशसभाको बैठक : दुई विधेयक पारित

मकवानपुर, २० जेठ : बागमती प्रदेशसभाको आज बसेको बैठकले दुई वटा विधेयक सर्वसम्मतिबाट पारित गरिएको छ । सो बैठकबाट पारित गरेको विधेयकमा क्रमशः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ रहेका छन् ।

प्रदेशसभाका प्रमुख भुवनकुमार पाठकले उक्त विधेयक सोे बैठकमा निर्णयार्थको लागि प्रस्तुत गर्नुभएको थियो । सो बैठकमा स्वास्थ्यमन्त्री किरण थापा मगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरियोस् भने प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रदेश कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सो बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ माथि विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी उहाँले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइयोस् भने प्रस्ताव पेस गर्नुभएको थियो ।

राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णालीको जित सुरूआत

कर्णाली, २० जेठ : ‘टिबी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ दोस्रो दिन पाहुना टोली सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित निकालेको छ ।

सुर्खेत वीरेन्द्रनगरस्थित कालुङचोक खेल मैदानमा सोमबारदेखि सुरू भएको उक्त प्रतियोगितामा आज सुदूरपश्चिसँग भएको खेलमा कर्णालीका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि कर्णालीले पहिलो जित निकालेको हो । पचास ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो । कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राख्नुभयो ।

चार ओभर बलिङ गर्नुभएका विपिनले दुई ओभर मेर्डन राख्दै दुई रन खर्चिएर पाँच विकेट लिन सफल हुनुभयो । दसौँ ओभरमा बलिङ गर्न आएका उहाँले एक रन मात्रै खर्चिनुभयो । बाह्रौँ ओभरमा एक रन दिएर एक विकेट लिनुभएका उहाँले चौधौँ ओभरमा मेर्डनसहित एक विकेट लिँदा सोह्रौँ ओभरमा मेर्डनसहित तीन विकेट लिनुभयो ।

सुदूरपश्चिमका ओपनरविक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क छुन सकेनन् । सुदूरपश्चिमका अविरल विकले नौ, आहन थलालले पाँच र हिमाल दुयालले दुई तथा सचिन भट्टले एक रन बनाउनुभयो । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो । कर्णालीका कप्तान विपिनले पाँच विकेट लिँदा विजय बोहराले तीन तथा नवीन न्यौपानेले दुई विकेट हात पार्नुभयो ।

जवाफी ब्याटिङ थालेको कर्णालीले १८.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाउँदा नमनसिंह थापा र भूपेन्द्रजङ्ग शाहीले नटआउट समान नौ रन बनाउनुभयो । नवीन न्यौपानेले सात रन बनाउँदा ओपनर कस्तुप खड्काले चार रन बनाउनुभयो भने कैलाश खड्का र रोशन शाहीले समान एक–एक रन बनाउनुभएको थियो ।

कर्णालीसँगको खेलमा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो हार हो । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको अध्यक्ष डा सन्तोष पौडेल निर्वाचित

काठमाडौँ, २० जेठः नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको अध्यक्षमा डा सन्तोष पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।महासङ्घको पाचौँ राष्ट्रिय अधिवेशनले डा पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष मण्डलका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

डा पौडेल यसअघि महासचिव हुनुहुन्छ । यस्तै, उपाध्यक्षमा रामहरि ढकाल र अमृता बराल, महासचिवमा भीमराज सिह, उपमहासचिवमा खगराज पोखरेल, चार सचिवमा रूपा केसी, अनुप केसी, हरेन्द्र यादव र चन्द्रबहादुर सुनार निर्वाचित हुनुभएको छ ।

यस्तै, निर्वाचन आयोग अध्यक्षमा नारायण पौडेल, लेखा आयोग अध्यक्ष डा शेषानन्द सञ्जेल, अनुशासन आयोग अध्यक्षमा चिन्तामणि ज्ञावली, सल्लाहकार परिषद्को अध्यक्षमा शारदा खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

विश्वविद्यालयलाई नवप्रवर्तन र अध्ययन केन्द्रका रूपमा विकास गर्न आवश्यक छ:महासचिव पोखरेल

काठमाडौँ, २० जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विश्वविद्यालयलाई नवप्रवर्तन र अध्ययन केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले केन्द्रीय विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित ‘आव २०८२/८३ बजेट, विज्ञान प्रविधि र नवप्रवर्तन विषयक’ अन्तरक्रियामा उहाँले विश्वविद्यालयबाट गरिएका अध्ययन व्यावहारिक जीवनमा प्रयोग नै हुन नसकेका भन्दै यस्तो बताउनुभएको हो ।

“हाम्रा रिसर्चहरू व्यवहारिक जीवनमा प्रयोग नै भएका छैनन् । कहिलेकाहीँ अन्तरराष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय त बनेको छ, तर हाम्रो देशले के पायो ? भन्ने कोणबाट हेर्दा अवस्था राम्रो छैन”,महासचिव पोखरेलले भन्नुभयो, “हाम्रा रिसर्च हाम्रो उत्पादन, उत्पादकत्व वृद्धि, हाम्रो सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुरासँग जोडिएर हाम्रा अध्ययन अनुसन्धानले सार्थक परिणाम दिन सकेका छैनन् । आगामी आवको बजेटले त्यसतर्फ जोड दिन खोजेको छ ।”

उहाँले स्याटेलाइट राख्न सके सूचना प्रविधिलाई सरल र सस्तो बनाउन सकिने धारणा राख्नुभयो । महासचिव पोखरेलले कानुनी रूपमा नैसूचना प्रविधिको क्षेत्रमा बाहिर लगानी गर्न खुला गरिएको उल्लेख गर्दै बाहिरबाट ल्याउने सूचना प्रविधिका वस्तुमा पनि सरकारले भन्सार करमा उल्लेखनीय मात्रामा छुट दिँदै आएको बताउनुभयो । “सूचना प्रविधिका क्षेत्रमा राज्यको तर्फबाट रु १० अर्बदेखि रु १२ अर्बसम्म कारोबार भएको देखिए पनि अनौपचारिक रूपमा रु ७० अर्बदेखि रु ८० अर्बसम्म बराबरको रहेको पाइन्छ । यसरी सूचना प्रविधि क्षेत्रको कारोबारलाई अनौचारिकबाट औपचारिक बनाउने प्रक्रिया बजेटमार्फत सरकारले गरेको छ । बजेटले सूचना प्रविधिको क्षेत्रमा जनशक्ति, पूर्वाधार र उद्योगका रूपमा प्रवर्द्धन गर्ने कुरा बजेटमा समेटिएको छ । । अब यसबाट लाभ लिनसक्नुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सङ्गीता सिंह र सूचना प्रविधिविज्ञ डा आर के दाहालले बजेटमा सूचना प्रविधि र नवप्रवर्तनमा समेटिएका विषयवस्तुबारे प्रस्तुति गर्नुभएको थियो ।

प्रस्तुतिमा सांसद ईश्वरी घर्ती, प्राडा श्रीरत्न बज्राचार्य, डा भेषराज थापा, चन्द्रविलास भूर्तेल र एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले टिप्पणी गर्दै आगामी आवको बजेटमा नवप्रवर्तन र स्टार्टअपका क्षेत्रमा युवालाई आकर्षण गर्नेगरी विनियोजन गरिएको बताउनुभयो ।

सात बुँदे घोषणापत्र जारी गर्दै थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न

महेन्द्रनगर (धनुषा), २० जेठः जनकपुरधाममा दुई दिने थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । थारु अन्तरराष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घ संस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन आयोजना भएको थियो । सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्मेलनमा महासभाको अवधारणा, उद्देश्य, सङ्गठनात्मक सिद्धान्त तथा हाल थारु समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा सात बुँदे घोषणापत्रबारे जानकारी दिइएको थियो ।

घोषणापत्रमा आतङ्कवादको कडा भत्र्सना गर्दै थारु समुदायको भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तरराष्ट्रिय पहल तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेश गरिएको छ ।

त्यसैगरी, थारु अन्तरराष्ट्रिय महासङ्घको नेपाल च्याप्टर गठन गर्ने निर्णय भएको छ । च्याप्टर गठन गर्ने कार्यको संयोजकमा श्रवण थारुलाई चयन गरिएको छ । सम्मेलनले अन्य देशमा पनि सङ्गठन विस्तार गर्दै थारु समुदायका अधिकार र पहिचान संरक्षणमा समन्वयकारी भूमिका खेल्ने विषयमा पनि छलफल गरेको जनाइएको छ ।

अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि

गण्डकी, २० जेठ (रासस) : पचहत्तर वर्षअघि आजकै दिन अर्थात् सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बामे सरेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ ।

मङ्गलबार अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाइरहँदा यस क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को तथ्याङ्कअनुसार गत आवमा उक्त क्षेत्रमा पर्यटकको सङ्ख्या २९ प्रतिशतले वृद्धि भएकामा यो वर्ष थप बढ्ने देखिएको छ ।

आयोजना प्रमुख डा रविन कडरियाले गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा चालु आवको दस महिनामै त्योभन्दा बढी पर्यटक आएको बताउनुभयो । उहाँका अनुसार गत वैशाखसम्ममा दुई लाख २६ हजार चार सय नौ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन् ।

जेठ र असारमा आउने पर्यटक थपिँदा उक्त सङ्ख्या गत आवको तुलनामा उल्लेख्य रूपमा बढी हुने प्रमुख डा कडरियाले बताउनुभयो । “यस क्षेत्रमा विदेशी पर्यटक आउने क्रम बर्सेनि बढ्दो छ”, उहाँले भन्नुभयो, “बढीजसो धार्मिक भ्रमण र पदयात्रामा आउने गरेका छन् ।”

उक्त क्षेत्रमा आव २०७९/८० मा एक लाख ७२ हजार एक सय आठ विदेशी पर्यटक आएका थिए । कोभिड–१९ महामारीका कारण त्योभन्दा अघिल्लो आवमा पर्यटकको सङ्ख्या झनै न्यून थियो । कोभिड–१९ महामारी थामिएपछि पर्यटकको सङ्ख्या अहिलेसम्मकै उच्च दरमा वृद्धि भएको ‘एक्याप’ का प्रमुख डा कडरियाले बताउनुभयो ।

चालु आवमा अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या दुई लाख ७५ हजार पुग्ने अनुमान गरिएको उहाँको भनाइ छ । पदयात्रा पर्यटनका लागि विश्वमाझ प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा असोज–मङ्सिर र चैत–जेठ गरी दुई याममा विदेशी पर्यटक बढी आउने गरेको उहाँले बताउनुभयो ।

वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । मुक्तिनाथलगायत धार्मिक गन्तव्यस्थलमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रूचाउने गरेका छन् । ‘एक्याप’ ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।

हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मुस्ताङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २० जेठ : गृहमन्त्री रमेश लेखकले सूचना सङ्कलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्वतयारीबारे विस्तृत जानकारी लिनुहुँदै गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढङ्गबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई दिर्नेशन दिनुभएको हो ।

विपद् व्यवस्थापनमा स्थानीय तह एवं अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकारलगायत निकायसँग समन्वय गरी जनताले महसुस गर्नसक्ने गरी कार्य गर्न निर्देशन दिनुभयो ।

सो अवसरमा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन एवं विपद् उद्धार सामग्रीको अवलोकन समेत गर्नुभयो ।

कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना सङ्कलन र आपसी समन्वय महत्त्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आम नागरिकले सङ्कटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवं अनुसन्धानगर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आएको बताउनुभयो । सबै किसिमका आपत्कालीन घटनामा अग्रपङ्क्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिले विपद् व्यवस्थापन पूर्वतयारीसम्बन्धी आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेताले पाए थाइल्याण्ड जाने मौका

काठमाडौं । बालबालिकाहरूबीचको सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का विजेता थाइल्याण्ड जाने भएका छन्।आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमबीच विजेता आगामी ६ जुलाईमा करिव आठ देशबीच हुने वल्र्ड फिनालेका लागी नेपालबाट प्रतिनिधित्व गर्ने जानकारी गराएको थियो।

प्रतियोगीताको गएको वैशाख १३ गते फिनाले भएको थियो। जसमा मिस्टर नेपाल जुनियर इन्टरनेशनल २०२५ अर्मन महत बन्न सफल भएका थिए भने मिसेस नेपाल जुनियर इन्टरनेशनल २०२५ आइसा ठाकुर बन्न सफल भएकी थिइन्।

यस्तै मिस लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सोहना दाहालले पाइन् भने मिस्टर लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सक्षम पराजुलीले पाउन सफल भएका थिए। यि चारै जना बिजेताले थाइल्याण्डमा हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्।

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलको आयोजक संस्था ट्वान्टी फो फ्रेमका सिईओ त्रिलोक बिक्रम थापाले यो प्रतियोगीता एक पेजेन्ट मात्र नभएर बालबालिकाहरुका लागी सिकाईको ठुलो माध्यम रहेको बताए। उनले यस स्टेजबाट धेरै बालबालिकाले धेरै कुरा सिकेर गएको जानकारी दिए।

‘ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्छ’ :मन्त्री खड्का

काठमाडौँ, २० जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ । सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटले नदीको जल प्रवाहमा आधारित जलविद्युत्् आयोजनाबाट बिजुली खरिद गर्दा ‘टेक एण्ड पे’ नीतिअन्तर्गत मात्र खरिद गर्ने व्यवस्था गरेपछि असन्तुष्ट भएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)को टोलीले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले इप्पानको मागप्रति सरकार गम्भीर भएको बताउनुभयो ।

“सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्य पूरा गर्न देशीविदेशी लगानीकर्ता उत्साहित भइरहेको समयमा यस्ता समस्याले लगानीकर्ताको मनोबल कमजोर हुन्छ, यस्ता समस्या हटाउनका लागि सरकार लाग्नेछ”, उहाँले भन्नुभयो ।

सरकारले चाहिएको बेलामा मात्र विद्युत् लिने (टेक एण्ड पे) को नीति परिवर्तन गरी आयोजनाबाट उत्पादित विद्युत् बाह्रै महिना लिनुपर्ने (टेक अर पे)को नीति अवलम्बन गर्न इप्पानले मन्त्रीसमक्ष माग राखेको थियो ।

उक्त मागप्रति मन्त्री खड्काले ‘टेक एण्ड पे’ को व्यवस्था हटाएर ‘टेक अर पे’ को प्रावधान राख्नका लागि आफूले अर्थमन्त्रालयमा छलफल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । आगामी वर्षदेखि सुक्खयाममा भारतबाट बिजुली खरिद गर्न नपरोस् भनेर आफू लागिरहेको बेलामा बजेटमा यस्ता कुरा आउँदा समस्या भएको मन्त्री खड्काको भनाइ थियो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले ल्याएको ‘टेक एण्ड पे’को नीतिले नेपाली ऊर्जा व्यवसायीको ६६ अर्ब लगानी डुब्ने खतरा उत्पन्न भएको बताउनुभयो । यो नीतिले जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्था लगानी नगर्ने भन्दै सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । उक्त विषयलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीलगायतको सहभागिता रहेको थियो ।

प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन

काठमाडौँ, २० जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।

काठमाडौँ उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोर्नुभएको चित्रकलालाई प्रधानमन्त्री ओलीले आज बबरमहलस्थित नेपाल कला परिषद्मा अवलोकन गर्नुभएको हो ।

अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली कला, संस्कृति र इतिहासलाई चित्रमा उतार्नु सहज नभए पनि कलाकार शर्माले मेहनतपूर्वक चित्रकलामा आफूलाई सक्रिय बनाउनुुभएका प्रशंसा गर्नुभयो । नेपाल सम्पदा सङ्घको आयोजनामा उक्त प्रदर्शनी यही जेठ ९ गतेदेखि सञ्चालित छ ।

शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्नुहुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २० जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्न नहुने बताउनुभएको छ । टङ्गालस्थित टङ्गाल माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको प्रगति र समृद्धि शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले शैक्षिक संस्थासँग सहकार्य र समन्वय गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा प्रणालीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा जीवनोपयोगी सीप, सिर्जनशील सोच विकसित गराउँदै समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक उत्पादन गर्नुपर्छ । सूचना र प्रविधिको विकासले विश्व एउटा साझा गाउँझैँ बन्न पुगेको अवस्थामा शिक्षाको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गरे शिक्षित व्यक्तिको उत्पादन सीमित हुनुहुँदैन, हामीले अवसरसँगै आइपर्ने चुनौतीको पनि सामना गर्नुपर्छ ।”

उहाँले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा तीव्र रूपमा विदेशिन बाध्य युवाशक्तिमार्फत नेपालको श्रम, सीपसँगै पुँजी पनि पलायन भइरहेकाले यो अवस्थालाई बदल्न स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“हाम्रो शैक्षिक नीति, शिक्षा प्रणाली, पाठ्यक्रम, शिक्षण पद्धति समयानुकूल हुनु आवश्यक छ । शिक्षामा गरिने लगानी खर्च होइन, यो दीर्घकालीन रूपमा समृद्ध राष्ट्र र समुन्नत समाज निर्माणका लागि गरिने अमूल्य लगानी हो । त्यसकारण शिक्षा लगानी बढाउन कुनै सङ्कोच मान्नुपर्दैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न महानगरले काम गरिरहेको बताउनुभयो । “शिक्षाको महत्त्व बुझेर नै शिक्षा प्रणालीमा सुधार गर्न सङ्घीय बजेटसँगै हामीले थप गरेर शिक्षाका क्षेत्रमा काम गरिरहेका छौँ । बालबालिकाको उज्ज्वल भविष्यका लागि महानगर सदैव चनाखो भएर काम गरिरहेको छ । समयानुकूल शिक्षा परिमार्जित हुनुपर्छ भन्ने लागेर हामीले किताबी ज्ञानसँगै शिक्षामा सीपका लागि किताबरहित शुक्रबारको अवधारणा ल्याएका हौँ । यसले किताबकै कुरालाई व्यवहारिक रूपमा सिकाउने गरेको छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो ।

काठमाडौँ–५ तथा टङ्गाल मावि व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र प्रजापतिले सबै पक्षको सहयोगले विद्यालयले शैक्षिक अवस्था सुधार गर्दै अभिभावकको मन जित्न सफल भएको बताउनुभएको । “प्रयास गर्‍यो भने हामी सफल हुन्छौँ, हामीले प्रयास गरेर यसलाई राम्रो बनाउन सफल भएका छौँ । यो वडामा टङ्गाल मावि मात्र एउटा सामुदायिक विद्यालय हो, तर यो अन्यभन्दा कुनै हिसाबले कम छैन । यसलाई आगामी दिनमा हामी अझै प्रभाकारी बनाउँदै अगाडि बढाउने छौँ, यहाँ देखिएको कमीकमजोरीलाई छिट्टै हटाउने छौँ”, वडाध्यक्ष प्रजापतिले भन्नुभयो ।

उक्त अवसरमा विद्यार्थीले देशभक्ति भाव रहेका गीतमा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी विद्यालयले शिक्षक र विद्यार्थीसँगै विद्यालयमा आर्थिक सहायता गर्ने समाजसेवीलाई सम्मान गरेको थियो ।

निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुने भ्रम नराख्न आग्रह गरेका छन् । मंगलबार भएको संयुक्त जनआन्दोलनलाई सम्बोधन गर्दै उनले सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन र जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न नसकिने भन्दै यस्तो भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।

उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ । सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरुले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु । निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न सकिदैँन् ।’यस्तै, उनले प्रहरीको दमन कायम गरेर भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरुलाई जोगाउन सकिन्छ भनेर सोच्नु सपना मात्र भएको पनि बताए ।

कुनै कानून उल्लंघन नगरि भएको शान्तिपूर्ण जुलुसमाथि लाठी प्रहार गर्ने, बुटले हान्ने, प्रतिबन्ध लगाउने जस्ता अपराधका कार्य र दुस्प्रयास कायर र भ्रष्ट सरकारले गरेको उनको आरोप छ ।

सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ : महामन्त्री थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको मंगलबार उद्घाटन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताए ।

महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन गराउने निर्वाचन प्रणालीले नेपाल ध्वस्त बनाएको उल्लेख गरे । उनले पाँच वर्ष चल्ने स्थिर सरकारका लागि बाटो खोज्न आवश्यक भएको भन्दै संसद् र सरकारलाई समावेशी बनाउने गरी सविधान संशोधन गर्न आग्रह गरे ।

‘अब एउटा पार्टीले बहुमत ल्याउनुपर्छ त्यसका लागि संविधान संशोधनको विकल्प छैन’, उनले भने । महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्ने होइन बरू यसलाई अझ उन्नत बनाउन खर्च कटौती गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले सङ्घ र प्रदेशमा उपराष्ट्रपति, उपसभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै सङ्घमा १० देखि १५ जना र प्रदेशमा तीनदेखि पाँच जनासम्म मन्त्री बनाउँदा खर्च कटौती हुने तर्क गरे ।

महामन्त्री थापाले नेपालको सङ्घीयता अहिलेको जस्तो हुन नहुनेमा जोड दिँदै यसलाई संविधान संशोधनमार्फत सुधार गर्न आवश्यक भएको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका बारेमा कांग्रेस स्पष्ट रहेको औँल्याउँदै कांग्रेस राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको बताए । उनले जनताका असन्तुष्टिलाई बहाना बनाएर उत्तेजना फैलाउने काम भएको उल्लेख गर्दै नेपालको राजसंस्था कहिल्यै संवैधानिक नभएको टिप्पणी गरे ।

संवैधानिक आयोग धेरै भए, पुनरावलोकन गर्न जरुरी छ : योगेशकुमार भट्टराई

काठमाडौँ, २० जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेशकुमार भट्टराईले युवालाई देशभित्र सम्मानजनक काम गर्ने वातावरण सृजना गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । त्यसका निम्ति सरकारले औद्योगिक र व्यावसायिक वातावरण बनाई युवालाई दक्ष बनाउँदै नेपालभित्रै काम गर्ने संस्कार र संस्कृति विकास गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

ताप्लेजुङको मौवाखोला–३ स्थायी ठेगाना भएका भट्टराई हाल ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । अध्ययनका सिलसिलामा तीसको दशकमा अनेरास्ववियुमा संलग्न हुनुभएका उहाँ त्यस सङ्गठनको अध्यक्ष हुँदै नेकपा (एमाले)का विभिन्न तहको जिम्मेवारीमा काम गरी हाल पार्टी केन्द्रीय कमिटी सचिवको जिम्मेवारीमा हुनुहुन्छ । यसअघि पनि उहाँ केन्द्रीय सदस्य र सचिवको भूमिकामा हुनुहुन्थ्यो । विसं २०७४ मा पनि आफ्नो गृहजिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका उहाँ करिब डेढ वर्ष संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हुनुभयो ।

एमालेभित्र जुझारु र प्रखर वक्ताको परिचय बनाउनुभएका प्रतिनिधिसभा सदस्य भट्टराईसँग संसदीय अभ्यास, संविधान संशोधन, युवाको विदेश पलायन, सदनमा प्रस्तुत भएको बजेट, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका समस्यालगायत समसामयिक विषयमा रासस समाचारदाता कालिका खड्काले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

प्रतिनिधिसभाको यो कार्यकाल सुरु भएको तीन वर्ष पुग्न लाग्यो । यस अवधिमा संसद्को गतिविधि र यहाँको भूमिकालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

यो तीन वर्ष सरकार बनाउने विषयमा बढी ध्यान भयो । विधायिकी काम त्यति प्रभावकारी हुन सकेन । पछिल्लो एक वर्षदेखि स्थिरताका साथ काम गरिरहेका छौँ । खासगरी नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा सात बुँदे सहमति भएर सरकार गठन भयो । त्यसपछि संसद्मा विधायिकी काममा बढी ध्यान दिएका छौँ । यो अवधिका १४–१५ विधेयक पास भयो । सङ्घीय निजामती विधेयक र विद्यालय शिक्षा विधेयक निकै जटिल थियो ।

त्यसलाई समितिबाट टुङ्ग्याएर सदनमा पेस गर्ने तयारीमा छौँ । त्यसको साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनहरू पनि संसद्मा आएका छन् । नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाउने भनी लामो समयदेखि छलफल भएको छ । पछिल्लो एक वर्षमा उल्लेखनीय रूपमा विधायिकीका काम भएको छ ।

संविधान जारी भएको करिब १० वर्ष भयो, संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बन्न किन ढिलाइ भइरहेको छ ?

संविधान कार्यान्वयन गर्न अतिआवश्यक धेरै कानुन बनिसक्यो । कतिपय संशोधन प्रक्रियामा छ । सङ्घीय निजामती ऐन, विद्यालय शिक्षा ऐन र प्रहरी ऐन पनि बन्नुपथ्र्याे । तर विभिन्न कारणले ढिलाइ भयो । तर अब यो विधेयक छलफलमा आइसकेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ । बजेटमा युवाका माग र रोजगारी, जनताको अपेक्षा र मुलुकको समृद्धिका विषयवस्तु के–कति समेटेएिको पाउनुभएको छ ?

नयाँ सरकार बनेपछि पहिलो बजेट आएको छ । बजेट विगतको जस्तो लोकप्रिय (पपुलिस्ट) र छरपस्ट नभई यथार्थमा उभिएर आएको छ । अहिले खासखास कुरामा केन्द्रित गरेर ल्याएको छ । व्यवसाय प्रवर्द्धन गर्ने, युवालाई उत्साह प्रदान गर्ने, नेपाली लगानीकर्ताले विदेशमा लगानी गर्न पाउने र विदेशमा भएको आम्दानी नेपालमा ल्याउन पाउने व्यवस्था गरिएको यो रु १९ खर्ब ६४ अर्ब ११ करोडको अत्यन्तै राम्रो हो ।

विगतका वर्षमा २०७२ को महाभूकम्पमा झण्डै रु पाँच खर्ब बजेट तत्काल खर्च गर्न आवश्यक पर्यो । दुई वर्षअघि जागरकोट, रुकुममा आएको भूकम्पपीडितका लागि एक–डेढ खर्ब खर्च गर्नुपर्ने स्थिति छ । प्रत्येक वर्ष बाढीपहिरोका कारण रु ५० अर्बदेखि एक खर्बसम्म खर्च गर्नुपर्ने अवस्था छ । बिपी राजमार्ग पुनर्निर्माणमा त अझ धेरै लाग्छ ।

प्राकृतिक विपत्तिका कारण धेरै खर्च हुने गरेको छ । ठूला देशहरू आफैँ सङ्कट र युद्धमा छन् । उनीहरूको सैनिक क्रियाकलापमा खर्च भइरहेको छ । जसले अन्तरराष्ट्रिय सहयोग परिचालन पनि भनेजस्तो हुँदैन । देशभित्रै उद्यमशीलता विकास गरेर राष्ट्रिय पूँजीको विकास गरी रोजगारी र व्यावसायिक वातावरण बनाउन जरुरी छ । अहिले साढे १३ खर्ब राजस्व उठाउने लक्ष्य राखिएको छ । करको दायरा फराकिलो हुँदै जाँदा आम्दानी पनि बढ्दै जाने हो । चालु आवमा ११–१२ खर्ब राजस्व उठन सक्छ भन्ने अनुमान छ ।

त्यसमा अलि मेहनत गर्ने हो भने १३–१४ खर्ब राजस्व उठ्न नसक्ने भन्ने छैन । बजेट विकास निर्माणमा पनि केन्द्रित छ । पूरा हुने आयोजनामा बढी ध्यान दिइएको छ । सङ्घबाट विनियोजित बजेटमा रु तीन करोडभन्दा साना आयोजनालाई नगर्ने भन्ने छ । तीन तहको सरकारले सहयोग र समन्वय गरेर जानुपर्छ । उद्योगलाई कच्चा पदार्थमा सहयोग र युवालाई रोजगारीका लागि रकमको व्यवस्था गरिएको छ । गैरआवासीय नेपालीलाई नेपालमा लगानी प्रोत्साहन गर्ने तथा पर्यटनमा सुधार पनि घोषणा गरिएको छ । अहिले पुँजीगत खर्च कम हुने समस्या छ ।

वर्षायामअघि नै विकासका काम सक्नुपर्छ । जेठ लाग्नुभन्दा पहिला नै ८० प्रतिशत खर्च गरिसक्नुपर्छ । सरकारको संयोजनमा एक लाख घर बनाउने योजना बजेटमा छ । ती घरहरू बिक्री गर्ने र रोजगारी सृजना गर्ने अनि नेपाली उत्पादन बढाउनेजस्ता राम्रा र प्रगतिशील योजना बजेटमा समेटिएका छन् ।

सरकार गठनका सन्दर्भमा कांग्रेस र एमालेबीच संविधान संशोधन गर्ने सहमति भएको थियो, तर अहिलेसम्म त्यसमा प्रगति भएन नि ?

हो, प्रमुख दुई दल कांग्रेस र एमालेबीच सरकार गठन हुँदा संविधान संशोधन गर्ने सहमति भएको छ । अहिलेको निर्वाचन प्रणालीबाट कुनै पनि पार्टीको बहुमत आउने अवस्था कम छ । राजनीतिक स्थायित्व र शासकीय स्थायित्व कसरी गर्ने ? अहिलेको अवस्थाबाट शासकीय स्थायित्व हुँदैन भन्ने देखियो । त्यो नहुँदा विकास निर्माण र प्रशासकीय काममा पनि धेरै असर पर्छ । यसमा निर्वाचन प्रणालीलाई पनि सुधार गर्नुपर्छ भनेर पनि हेरिएको छ । अर्काे सात सय ५३ स्थानीय तह बनाउने काम भयो । त्यसलाई पाँच सय हराहारीमा बनाउने, बरु वडाको सङ्ख्या बढाउँदा राम्रो हुन्छ ।

जनताको घरदैलोको सरकार वडा हो । स्थानीय तह, प्रदेशसभामा सदस्यहरूको सङ्ख्या घटाउने विषयमा संविधान संशोधनको चर्चा गरिरहेका छौँ । त्यसका लागि राजनीतिक दलको ऐन पनि परिमार्जन गर्न जरुरी छ । राजनीतिक दलहरूभित्र पैसा र शक्तिको प्रयोग बढेको छ । दलसम्बन्धी ऐनले दललाई पारदर्शी बनाउनुपर्छ । संवैधानिक परिषद् पुनर्संरचना गर्नुपर्ने छ । अध्यादेश होइन, संविधानमै व्यवस्था भयो भने राम्रो हुन्छ । संवैधानिक आयोग धेरै भए, पुनरावलोकन गर्न जरुरी छ ।

संविधानमै १० वर्षमा संविधान पुनरावलोकन गर्न सकिने भन्ने छ । संविधान उत्कृष्ट छ । व्यवहारमा कतिपय अप्ठ्यारा छन् । छिटो सेवा कसरी प्रदान गर्ने ? असन्तुष्टिहरूलाई कसरी सम्बोधन गर्ने ? युवालाई कसरी देशभित्रै सम्मानजनक कामको व्यवस्था गर्ने ? यस्ता कुरा संविधान, कानुन, नीति, बजेटबाट समग्रमा हेर्नुपर्छ भन्ने लाग्छ ।

जनप्रतिनिधिको दृष्टिकोणले हेर्दा जनताले कस्ताकस्ता समस्या उठाउने र माग गर्ने रहेछन् ?

नेपालको भौगोलिक स्थितिअनुसार जनताका माग फरक छन् । तराई–मधेसमा सिँचाइको माग बढी छ । त्यो सुविधा भएमा तराईमा उत्पादन ५०औँ गुणा बढी लिन सकिन्छ । ठूला सिँचाइ आयोजनामा सरकारले ध्यान दिइरहेको छ । पहाडी र हिमाली जिल्लामा सडक पूर्वाधारको बढी माग छ । बाढीपहिरोले बस्ती सार्नुपर्ने समस्या छ । विसं २०७८ को जनगणनाअनुसार ३४ जिल्लामा जनसङ्ख्या वृद्धिदर एकदम कम छ । प्रजनन दर कम र बसाइँसराइका कारण जनसङ्ख्या घट्दो क्रममा छ । मधेसको उर्वर भूमिलाई उत्पादनमै राखेर पहाड र हिमालमा टिकाउनुपर्ने चुनौती छ । विद्यालय, स्वास्थ्यचौकीको माग छ । धेरै विद्यालय बनाइयो तर विद्यार्थी छैनन् । पहिला विद्यालय हुँदैन थियो, विद्यार्थी धेरै हुन्थे । विद्यालयहरू एकापसमा गाभ्न जरुरी देखिएको छ । बजेटमा आठ कक्षाभन्दा माथिका विद्यालयलाई आवासीय गर्ने तथा ८ कक्षाभन्दा तलका लागि बसको व्यवस्था गर्ने भनेको छ ।

तपाईँको जिल्लामा पाथीभरा केबलकार निर्माणको विषयमा निकै विवाद भयो । केबलकार निर्माण गर्नुपर्छ भनेर लागिरहनुभएको छ । त्यहाँ किन केबलकार जरुरी छ ?

विकासका अनेक माध्यमहरू छन् । केबलकार पर्यावरणीय दृष्टिकोणबाट धेरै सकारात्मक र सहज यातायातको साधन हो । सडक लैजाँदा जङ्गल धेरै क्षति हुन्छ । केबलकार लैजाँदा त्यो जोगिन्छ । पाथीभरामा अहिले वर्षमा चारदेखि पाँचलाख मानिस गइरहेका छन् । बुढाबुढी, बच्चाबच्ची, भारतबाट पनि भक्तजन आउँछन् । त्यसका लागि र जिल्लाको आर्थिक समृद्धिका लागि पनि केलबकार चाहिन्छ । केबलकार बनाउन रु तीन–चार अर्ब खर्च हुन्छ तर त्यसबाट जिल्लामा १०औँ अर्ब आम्दानी हुन्छ । रोजगारी सृजना हुन्छ । सर्वोच्च अदालतले पनि केबलकार बनाउँदा क्षति हुँदैन भनेर बनाउन बाटो खोलिदिएको छ ।

नेपाली युवा रोजगारी र अध्ययनमा विदेश गएर उतै पलायन हुनेक्रम बढेको छ, यो रोक्न कस्तो रणनीति अपनाउनुपर्छ ?

पहाड र हिमालमा बसाइँसराइ रोक्नुपर्छ । नत्र धेरै समस्या हुन्छ । हिजो गाउँमा सीमित साधनस्रोत र अवसर थियो । दुःख गरेर सबै मानिस त्यहीँ बसे । मेरो गाउँमा २०–२५ वर्ष अघिसम्म नुन बोक्न मानिसहरू तराई ओहोरदोहोर गरिरहन्थे । पछि त्यहाँ सडक गयो । धेरै ती मानिस सवारीचालक र सहयोगी भए । कोही सडक किनारामा पसल थाप्न थाले । अहिले वडाको पसलमा गाडीले सामान ल्याइदिन्छ । तीमध्ये केही गाडी चढेर अवसर खोज्न सहर आए । हिजो ढाकर बोक्नेहरूको समस्याका कुरा गरिन्थ्यो । अहिले गाडी चढेर अवसर खोज्ने युवाको कुरा गर्नुपर्छ । सन् १९९० मा पाँच लाख मानिस हवाईजहाजको यात्रा गर्थे । अहिले एक करोड नाघिसक्यो । तीमध्ये ९० लाख नेपाली र १० लाख विदेशी होलान् । तिनै ९० लाख नेपाली हवाईजहाज चढेर अवसर खोज्न हिँडिरहेका छन् । हिजो गाउँका मानिसको सोचाइ, हिडाइँ र चेतनाको आवश्यकताका सीमा थिए, यति भए पुग्छ भन्ने थियो । तर आज त्योभन्दा बढी चाहिएको छ । हो, युवालाई देशभित्र सम्मानजनक काम गर्ने वातावरण सृजना गर्नुपर्ने छ । त्यसका निम्ति राज्य र सरकारले ध्यान दिनुपर्छ । नेपालभित्र कुनै काम गर्न लाजघीन मान्नेहरू विदेश गएर त्यही काम गरेको देखिएकै छ । यहाँ त्यो संस्कार विकास गर्नुपर्ने छ । स्वदेश होस् वा विदेशमा जहाँ काम गरे पनि दक्ष र अर्धदक्ष बनाएर पठाइयो भने विप्रेषण धेरै आउँछ । नेपालले बेच्न सक्ने भनेको सेवापछि सूचना प्रविधि (आइटी) हो । गएको वर्ष आइटीबाट नेपालले करिब ७५ अर्ब प्राप्त गरेको छ । यसमा प्रचुर सम्भावना भएकाले आइटीको विकास र प्रवर्द्धनका लागि सरकारले विशेष पहल गर्नुपर्ने खाँचो छ । सेवा बेच्ने भनेको आइटी, शिक्षा र स्वास्थ्य सेवाका क्षेत्र हुन् । मेडिकल कलेज खोलेर नेपाललाई शिक्षा र मेडिकलको हब बनाउन सकिन्छ । गत वर्ष ३२ लाख भारतीय नागरिकले आँखाको उपचार नेपाल आएर गरेको तथ्याङ्क छ । दशवटा मेडिकल कलेज खोल्न पाए छिमेकीलाई यहाँ पढाउन र उपचारको सेवा दिएर पैसा कमाउन सकिन्थ्यो । आइटी, पर्यटन, टेलिकम र शिक्षा पनि सेवा बिक्री हुने क्षेत्र हुन् । परम्परागतसँगै नयाँ गन्तव्यमा जानुपर्छ ।

तपाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हाल्नुभयो । पर्यटन आर्थिक समृद्धिको मुख्य आधार पनि हो, यो क्षेत्रलाई सुधार गर्न कस्तो रणनीति उपयुक्त ठान्नुहुन्छ ?

भाषणमा पर्यटन–पर्यटन भने पनि व्यवहारमा ध्यान दिएका छैनौँ । सरकारले पनि ध्यान दिएको छैन । यस वर्षको बजेट हेर्ने हो भने पनि धेरै बजेट छुट्याइएको पाइँदैन । मुख्य कुरा पर्यटक आउने बाटो बनाइरहेका छैनौँ । निर्माण सम्पन्न विमानस्थल चलाएका छैनौँ । निजगढमा नयाँ विमानस्थल बनाउनुपर्यो । पर्यटक गाउँ पुग्ने पहुँचमार्ग बनाउनुप¥यो । पर्यटकलाई विभिन्न शुल्क लिएर हैरानी बनाउने गरिन्छ, त्यो हटाउनुपर्यो । एकै ठाउँबाट शुल्क लिने वातावरण बनाउनुपर्छ । अझै पनि हिमाली क्षेत्र हेर्न आउने पर्यटकलाई माथिल्लो मुस्ताङ र डोल्पा जान दिइएको छैन । तिब्बतले पर्यटक भित्र्याएको बेला हामीले किन हिमाली क्षेत्रमा रोक्ने ? आरोहणका लागि अरु हिमाल खोलिदिनुपर्छ । विदेशीलाई आन्तरिक उडानमा चर्काे भाडा छ, त्यो हटाउनुपर्छ । एउटा विदेशी डोल्पा पुगेर आउनुभन्दा बैङ्कक पुगेर १० दिन बसेर आउँदा सस्तो पर्छ । उनीहरूलाई दोब्बर भाडा लगाइएको छ । पर्यटन क्षेत्रमा नीतिगत, संरचनागत पूर्वाधारको सुधार गन्तव्यस्थलसम्म पुर्याउन आवश्यक छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक ल्याइएको छ । यो किन आवश्यक पर्यो ?

प्राधिकरणलाई टुक्र्याएको होइन, कार्यक्षेत्र विभाजन गर्न खोजिएको हो । वर्षाैँदेखि नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियमनलाई अलग बनाउनुपर्छ भन्ने कुरा उठिरह्यो । नीति तथा कार्यक्रममा पनि हरेक वर्ष यो परिरहेको छ । नागरिक उड्ठययन क्षेत्रलाई अडिट गर्ने इन्टरनेसनल संस्था अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) छ, उसले पनि पटकपटक यो कुरा भन्दै आएको छ । युरोपियन युनियनले पनि यो सल्लाह दिइरहेको छ । देशभित्रको पनि आवश्यकताले हामीलाई यससम्बन्धी कानून ल्याउनुपर्ने आवश्यकता पर्यो । म पर्यटनमन्त्री भएकै बेला विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । विविध कारणले अहिले फेरि प्रतिनिधिसभामा दर्ता भएको छ । यसलाई यथाशीघ्र टुङ्ग्याएर अघि बढ्नुपर्छ ।

अन्त्यमा, केही भन्नु छ ?

राष्ट्रिय समाचार समितिले देशका कुनाकाप्चामा भइरहेका घटनाक्रमलाई मूलधारका सञ्चारमाध्यममा ल्याउने काम गरिरहेको छ । यो संस्थाले राम्रो काम गरिरहेको छ । साथै विगत केही वर्षदेखि गणतन्त्र दिवसका अवसरमा केही सृजनात्मक काम पनि गर्दै आएको छ । त्यसक्रममा यस वर्ष पर्वतीय पर्यटन र हिमालसम्बन्धी तस्बिर प्रदर्शनी, अघिल्लो साल पूर्वाधार, त्यसअघि सांस्कृतिक सम्पदासम्बन्धी तस्बिर प्रदर्शन गरी मानिसको ध्यानाकर्षण गरिरहेको छ । रासस एउटा न्यूज बैंकका रूपमा कामलाई अघि बढाओस् सफलताको कामना व्यक्त गर्दछु ।

२ दशकपछि सबैलाई छोडेरको परिष्कृत भिडियो लिएर आए सज्जुले

काठमाडौँ । नेपाली भाषाका गायक सज्जु मानन्धरको स्वरमा रहेको सबैलाई छोडेर बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौँको रन्जना सिनेप्लेक्समा एक कार्यक्रमकाबिच भिडियो सार्वजनिक गरिएको हो । सो अवसरमा बोल्दै बरिष्ठ गीतकार तथा कार्यक्रमका सभापति दिनेश अधिकारीले २४ वर्ष अघि निर्माण गरिएको म्यूजिक भिडियो परिमार्जित गरेर निर्माण गर्दा झनै उत्कृष्ठ बनेको भन्दै निर्माण यूनिटलाई शुभकामना व्यक्त गरे ।

सो अवसरमा बोल्दै गायक सज्जु मानन्धरले २४ वर्षपछि सोही गीत्मा पुरानै टिमसँग जोडिएर काम गर्दा मज्जा नै बेग्लै भएको बताउँदै रमाइला पक्षहरुकाबारेमा खुलेर आफ्ना रोचक किस्सा सुनाएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै संगीतकार जुगल डंगोलले सबैलाई छोडेर नयाँ साज सज्जाका साथमा अझै परिस्कृत र समय सान्र्दभिक भएको बताएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले २४ वर्ष अघि आँफुले निर्देशक गरेको भिडियोमा फेरी जोडिन पाउँदा खुशी व्यक्त गरेका थिए । उनले २४ वर्ष अघिको समय र अहिलेको परिवर्तित समयमा प्रबिधिको विकाशसँगैको काम गर्दा आँफु पनि समयसँगै रुपान्तरित भई सबैलाई छोडेरसम्म आईपुग्दा आफ्नो कामबाट सन्तुष्ट रहेको बताए । सो अवसरमा सबैलाई छोडेरका अभिनेता बिन्दे मर्हजनले पनि आफ्ना रमाइला अनुभवका बारेमा बोलेका थिए ।

भिडियोमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ । डाक्टर राजु मानन्धरका शब्द सृजना रहेको सबैलाई छोडेरमा जुगल डंगोलको संगीत रहेको छ । सार्वजनिक गीतका गीतकार डाक्टर मानन्धर ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् भने हाल उनी अष्ट्रेलियामा प्राध्यापनको क्षेत्रमा क्रियाशिल छन् । सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन् ।

कार्यक्रम गायक सज्जु मानन्धरकी स्वर्गिय आमा गंगादेवी मानन्धरको स्मृतिमा आयोजना गरिएको थियो । कार्यक्रममा सभापतिका रुपमा साहित्यकार स्नेह सायमी, बरिष्ठ संगीतकार राजु सिंह, गायक सज्जु मानन्धरका पिता दिलबहादुर मानन्धर, बरिष्ठ तथा पाका गायक भिम तुलाधर, लोकप्रिय संचारकर्मी सुष्मा श्रेष्ठ, सुमन सायमी लगायतको बाक्लो उपस्थिती रहेको थियो । भव्य रुपमा सम्पन्न कार्यक्रममा निर्माण यूनिटका सदस्य तथा कार्यक्रममा उपस्थित बरिष्ठ व्यक्तिहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रम केडी रुपाखेती क्रियशनको आयोजनामा सम्पन्न भएको थियो ।

गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

काठमाडौँ । अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ ।गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।

विद्युत् पोलमा धक्का दिँदा ‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

भद्रपुर (झापा), २० जेठ : यहाँस्थित कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।

उहाँले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताउनुभयो ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २० जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ३८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु १८, भन्टा डल्लो प्रतिकिलो रु ३५, तनेबोडीको मूल्य प्रतिकिलो रु ५०, मकै बोडी प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु २५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु २५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ३५, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु २८०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु ११०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकेजी रु ५०, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १३०, लिची (भारतीय) प्रतिकिलो रु २१० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु ११०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

आज यी प्रदेशहरुमा वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

महाशाखाका अनुसार जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

यस्तै,आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका ‍ थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

त्यस्तै,आज राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ। मंगलबार हनुे फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् ।

यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।

‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार गौतमको निधन

काठमाडौं । ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ।लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो ।

उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका थिए ।

सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, २० जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय रु ८५ लाख ५१ हजार ३३४ बराबर रहेको जनाएको छ ।
सो अवधिमा सोडारीले रु एक करोड ९३ लाख ८९ हार ६३६ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । अयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको, रु एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो ।
आयोगले सोडारीले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकाले सो कार्य भ्रष्टाचार भएको ठहर गरेको छ । सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गैता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातमा राखेको पाइएको छ । आयोगले रु एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने

काठमाडौँ, २० जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई आयोजक समितिको संयोजक तोकेको छ । यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाउने निर्णय गरेको छ । सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका पार्टी सभापति रवि लामिछानेलाई झुठा मुद्दा लगाइएकोसमेत सो पार्टीले ठहर गरेको छ ।

बैठकमा प्रदेश इञ्चार्जहरू सन्तोष परियार (कोसी), मनिष झा (मधेस), लिमा अधिकारी (बागमती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी), गणेश पराजुली (कर्णाली) र हरि ढकाल (सुदूरपश्चिम) ले पार्टीको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

वीरगञ्ज नाका : पाँच खर्ब छ अर्ब आयात र ७९ अर्ब निर्यात

वीरगञ्ज (पर्सा), २० जेठ : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८० /८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् रु ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् ।

चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्र रु एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा रु ४५ अर्ब ७९ करोड रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन् । चालु आवको १० महिनामा रु २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रु २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन् ।

चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको १० महिनामा रु ७९ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ । जबकि गत आवको १० महिनामा यो नाका हुँदै रु २५ अर्ब ४८ करोड मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने दुई सय १० दशमलव १६ प्रतिशत अर्थात् रु ५३ अर्ब ५५ करोड बढीको निर्यात भएको हो ।

चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ । चालु आवको १० महिनामा रु ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकि गत आवको सोही अवधिमा रु नौ करोडका चार लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो । चालु आवको १० महिनामा रु सात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकि गत आवको १० महिनामा रु १० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग

काठमाडौँ, २० जेठः विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई स्वीकृति दिएको हो ।

यस सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने र सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम अनुसार, कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाललाई थप समृद्ध बनाउने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणद्वारा कार्यान्वयन गरिने यस परियोजनाले नयाँ वितरण सबस्टेसन निर्माण, विद्यमान प्रसारण एवं वितरण प्रणालीको सुधार गरिनेछ । विद्युत् आपूर्तिलाई थप विश्वसनीय बनाउन सो परियोजना सहायक सिद्ध हुने बताइएको छ ।

यस्तै, रानी जमरा कुलरिया सिँचाइ परियोजनाको तेस्रो चरण कार्यान्वयन गरी कैलाली जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ । सिँचाइ सुविधा विस्तार गर्दै १७ हजार ५०० हेक्टर जमिनलाई खेतीयोग्य बनाउने लक्ष्य राखिएको छ । त्यसबाट एक लाख ६० हजार मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २० जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ तीन पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर नौ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८७ पैसा र बिक्रीदर २० रुपैयाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ १० पैसा र विक्रीदर ३५५ रुपैयाँ ६६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै

वीरगञ्ज (पर्सा), २० जेठः छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न थालिएको हो ।

पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको यही जेठ १५ गते बसेको बैठकले कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमानसिंह वीरगञ्ज नाकामा स्थापना गरिएको सहायता कक्ष (हेल्थ डेस्क)को सोमबार निरीक्षण गर्दै छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको वृद्धि भएकाले नाका प्रदेशमा सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो ।

“छिमेकी मुलुकमा बढ्दै गएको कोभिड सङ्क्रमणलाई ध्यान दिँदै यहाँ फैलन नदिन विशेष सर्तकता अपनाउन थालिएको हो”, उहाँले भन्नुभयो, “नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।”

महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको व्यवस्थापन गरिएको छ । स्वास्थ्यकर्मी इब्राना खातुनले रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम जाँच अनिवार्य गरिएको बताउनुभयो । उहाँका अनुसार यहाँ सञ्चालित हेल्थ डेस्कमा सात जना स्वास्थ्यकर्मी खटिएका छन् ।

सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो

काठमाडौँ, २० जेठः सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छबुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो ।

गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।

सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको राससलाई जानकारी दिनुभयो ।

छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले गण्डकी प्रदेशले नियमावलीमा भएको उक्त बुँदा हटाएपछि मात्रै आन्दोलन स्थगित गर्नेगरी सहमति भएको जनाउँदै त्यो नहुँदासम्म आन्दोलन यथावत् रहने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले ल्याएको निर्देशिकाका सम्बन्धमा सोमबार राति अबेरसम्म भएको छलफलमा कुनै निष्कर्ष निस्कन नसकेपछि आज पुनःबैठक बस्ने जनाइएको छ ।

यसअघि आज बिहान ८ बजे गृहमन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा टोली गठन गरेको थियो । उक्त टोलीमा सरकारका तर्फबाट आठ जना प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

यातायात व्यवसायीले पनि यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली छलफलका लागि गठन गरेको थियो ।

सरकार र व्यवसायीका प्रतिनिधिबीच गृहमन्त्रालयमा भएको वार्तापछि मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको थियो । त्यसपछि दुवै पक्षका वार्ता टोलीबीच यातायात मन्त्रालयमा भएको छलफल सोमबार अबेर राति छबुँदे सहमति गर्दै टुङ्गिएको हो ।

नेपालद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ, २० जेठः करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ ।

स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो । दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव पाँच ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा करण केसी नायक बनेका छन् । उनले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित ६५ रन जोडे । त्यसैगरी ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्धशतक बनाए ।

कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए आसिफ ३३ बलमा दुई चौकाको सहयोगमा २० रनमा आउट भए ।

त्यस्तै गुलशन झा ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४२ रन बनाएर आउट भए । भीम सार्कीले ४८ बलमा तीन चौकाको सहयोगमा ४० बनाउँदा कप्तान रोहितकुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए ।

स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले तीन, माइकल लिस्क र ज्याक जार्भिसले समान दुई र जसपर डेभिडसनले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फेन्ली म्याक्रिथले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५५ रनमा आउट भए ।

कप्तान रिची बेरिङ्टन ४६ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४० रनमा आउट भए । म्याथ्यु क्रस ५६ बलमा तीन चौकाको सहयोगमा ३९ रनमा आउट भए भने माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा दुई चौकाको सहयोगमा १९ रन जोड्दा ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए ।

नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई र सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले अब नेदरल्यान्डससँग यही जेठ २१ गते खेल्नेछ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २० जेठः आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ ।

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।

प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

मकवानपुर, १९ जेठः बागमती प्रदेशसभामा आर्थिक वर्ष २०८२/८३ को प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । आज अप्रान्ह बसेको बैठकमा मुख्यमन्त्री बहादुुरसिंह लामा तामाङले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभयो ।

छलफलमा भाग दिँदै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकटेलले सरकारले ल्याइएको नीति तथा कार्यक्रम पूर्वग्राही ढङ्गबाट अघि बढेको आरोप लगाउनुभयो । उहाँले विपन्न, दलित, आदिवासी, थारु र चेपाङ समुदायको दीर्घकालीन उत्थानको लागि आएको गुरु योजना कार्यान्वयनका लागि बजेट कटौती गरिएको बताउनुभयो ।

उक्त बैठकमा प्रतिपक्षी राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सरकारको नीति कार्यक्रममाथि टिप्पणी गर्दै प्रदेशभित्र रहेका लक्षित वर्गको हितका पक्षमा कार्यक्रम नरहेको आरोप लगाउनुभयो ।

सरकारको नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्य क्रमशः रामकृष्ण चित्रकार, तारानारायण श्रेष्ठ, जयरामथापा, इन्द्रप्रसाद गोतामे, गङ्गानारायण श्रेष्ठ, उर्मिला नेपाल, उर्मिला सुनुवार, यूवराजदुलाल, शान्ता ढकाल, भारतीकुमारी पाठक, राजेन्द्र प्रजापति, माया देवीशर्मा, भरतबहादुर केसी, गिरबहादुर तामाङ, ओमकुमारी श्रेष्ठ, हरिप्रसाद सापकोटा र सुना परियारले धारणा राख्नुभयो ।

बैठकमा अर्थ तथा विकास समितिका सदस्यबाट उर्मिला नेपाललाई उद्योग तथा पर्यटन वातावरण समितिमा सदस्य मनोनयन गरी हेरफेर गरिएको जानकारी दिइएको थियो । उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्काे बैठक मङ्गलबार अपराह्न १ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।