`

विधिपूर्वक तुलसीको दल राखियो

काठमाडौँ, २४ जेठः आयुर्वेदिक औषधिको रूपमा काम गर्ने वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ । यसै अनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइँबढाई दामोदरसँग विवाह गरिदिने धार्मिक मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

उक्त चार महिनालाई चतुर्मास पनि भनिन्छ । भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्धलगायत कार्य गर्न नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो । आयुर्वेदिक रूपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा अक्सिजन बढी पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । यही तथ्य पुष्टि भएपछि ऋषिमुनिले तुलसी रोपेर पूजाआराधना गर्ने परम्परा बसालेका शास्त्रीय मान्यता रहेको भट्टराईले बताउनुभयो ।

वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिने कृषिमन्त्री अधिकारीको भनाइ

काठमाडौँ, २४ जेठः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिने बताउनुभएको छ । सत्रौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज यहाँ आयोजना गरेको मूल समारोह कार्यक्रममा उहाँले ७७ वटै जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रणका कार्यालय खोलेर खाद्य स्वच्छता कायम गरिने बताउनुभएको हो ।

विभागमा यस वर्ष २० जना कर्मचारी थप गरिएको बताउँदै मन्त्री अधिकारीले खाद्य सामग्रीको परीक्षण र नेपालका सबै प्रयोगशालालाई अन्तरराष्ट्रियस्तरको बनाइने धारणा राख्नुभयो । उहाँले विद्युतीय माध्यमबाट सेवा प्रवाहका साथै दूध र पानीको नियमित परीक्षण गर्न पनि विभागका अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

“राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६ अनुसारको परिषद् गठनका लागि गृहकार्य भइरहेको छ, विभागमा विगत सात वर्षदेखि मोबाइल भ्यान प्रयोग नभइरहेको अवस्थामा चालु आर्थिक वर्षदेखि नै त्यसको प्रयोग गरेर खाद्य अनुगमन गरिएको छ । स्वदेशमा उत्पादन हुने खाद्य पदार्थको अनुगमनका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेको छ, यसको सही प्रयोग गरौँ”, मन्त्री अधिकारीले भन्नुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा दिलीप सुब्बाले खाद्य स्वच्छताको अनुगमनमा जाने मानिस विज्ञ हुनुपर्ने बताउँदै सामान्य मानिसले खाद्य सामग्रीको अनुगमन गर्न नसक्ने धारणा राख्नुभयो । खाद्य स्वच्छताको अनुगमन गर्न धेरै जनशक्ति चाहिने भएकाले त्यसअनुसार व्यवस्था गर्न पनि उहाँले मन्त्रालयसँग आग्रह गर्नुभयो ।

विभागले नास्टसँग मिलेर अझै धेरै अनुगमन एवं अध्ययन, अनुसन्धानका काम गर्न सक्ने उपकुलपति सुब्बाको सुझाव थियो । पोषण र स्वास्थ्यलाई पनि खाद्य स्वच्छतासँग गाँस्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्रालयका कृषि सचिव डा गोविन्दप्रसाद शर्मा र पशु विकास सचिव डा दीपककुमार खरालले खाद्य स्वच्छता र गुण नियन्त्रणका लागि मन्त्रालयबाट नियमित रूपमा काम भइरहेको बताउनुभयो । गत वर्ष ऐन आएको जानकारी गराउँदै उहाँहरूले यस वर्ष नियमावली जारी गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको सुनाउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले खाद्य स्वच्छतासम्बन्धी सबै कानुनको पालना गरी विभागले दिएको निर्देशनअनुसार काम गर्ने गरिएको बताउनुभयो । मन्त्रालयका पूर्वसचिव उत्तमकुमार भट्टराईले विश्व स्वास्थ्य सङ्गठनभन्दा एक दशकअघिदेखि नेपालले खाद्य स्वच्छता दिवस मनाउन थालेको र यो राम्रो पक्ष भएको जानकारी दिनुभयो ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विश्वमा खाद्यजनित २०० प्रकारका रोग लाग्ने गरेकाले खाद्य स्वच्छता कायम गरेर धेरै रोग नियन्त्रण गर्न सकिने बताउनुभयो । विभागअन्तर्गत ३० जिल्लामा रहेका ४३ कार्यालयका करिब ३७५ जनशक्तिले नियमित रूपमा खाद्य स्वच्छता कायम गराउन काम गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा उपभोक्ता अधिकारवादीहरू ज्योति बानियाँ, माधव तिमल्सिना र बिमला खनालले खाद्य अस्वच्छता हुँदा गम्भीर रोगको सिकार हुनुपर्ने भएकाले यस विषयमा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताउनुभयो । खाद्य अस्वच्छताका कारण विश्वमा दैनिक ५५ जनालाई क्यान्सर हुने गरेको उहाँहरूले सुनाउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश एस पाण्डव र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका नेपालस्थित देशीय निर्देशक केन शिमिजु, एफएचआई ३६० का प्रतिनिधि भगवान् श्रेष्ठ, विभागका उपमहानिर्देशक सोमकान्त रिजाललगायतले खाद्य स्वच्छता कायम गराउन सरोकार भएका निकायले हातेमालो गरेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस अवसरमा यसअघि राजधानीमा प्रभातफेरीको आयोजना गरिएको थियो । नेपालले सत्रौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका साथै सातौँ विश्व खाद्य स्वच्छता दिवससमेत मनाएको छ ।

प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ ।

प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफल खडा गरे ।पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्य खडा गर्दा गण्डकीका बलरहरुले नियन्त्रण गुमाउँदाको परिणामस्वरुप कोशीको स्कोरबोर्डमा ५० अतिरिक्त रन जोडिन पुग्यो ।

टस जितेर पहिला ब्यांटिग थालेको कोशीका लागि सुगम बुढाथोकीले ७५ बल खेल्दै नटआउट सर्वाधिक ६८ रनको योगदान दिंदा अप्mफन ताहिर र रविन मण्डलले समान ३९ रन जोडे भने सकुशल श्रेष्ठले ३० रन बनाए ।३ दशमलव ६ को औसतमा अरुभन्दा किफायति सावित भएका गण्डकीका शुशील भुसालले आप्mनो जिम्माको १० ओभर बलिंग गर्दा ३ मेडन र ४६ डट फाल्दै ३६रन दिएर ४ विकेट लिए ।

यस्तै रिदम पाण्डे र अनिष राउतले समान दुई दुई विकेट लिए । ब्याटिंगमा ४ चौका र एक छक्कासहित ३९ रन तथा बलिंगमा ७ ओभर ४ बल बलिंग गर्दै ४ मेडन ४६डट खेलेर ५ विकेट लिएका कोशीका रविन मण्डल प्लेयर अफ दि म्याच बने ।

२ सय ५७ रनको मध्यम लक्ष्य पाएपनि बलिंगमाझैं ब्यांिटंगमा पनि फितलो प्रदर्शन गरेको गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नटआउट १२ रनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।फलस्वरुप जम्मा २२ ओभर ४ बलमा ८५ रन मात्र जोडेर गण्डकी अलआउट हुनपुग्यो ।

अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा जीतसहित ६अंक जोडेको कोशी अंकतालिकाको पहिलो नम्बरमा उक्ल्उिको छ भने शुरुदेखि नै पुछारमा रहेको गण्डकी तेश्रो खेलसम्म अंकविहीन पुछारमै रहेको छ ।

विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान (सुनसरी), २४ जेठः विपद् उद्धार अभ्यासका क्रममा बिहिबार सप्तकोशी नदीमा बेपत्ता भएका दुई जना शसस्त्र प्रहरीमध्ये एकको शव फेला परेको छ भने बेपत्ता एक जनाको खोजी जारी छ ।

बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोशी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार डोटीका सुरज साउद भने अझै बेपत्ता छन् ।

सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजी कार्य जारी रहेको उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गर्नुभएको हो छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी–पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गर्नुभएको छ । “वर्षायाममा बाढी–पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ ।

विपद्बाट बच्न हर समय सजगता चाहिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ । चनाखो बनौँ, सुरक्षित रहौँ ।”

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

काठमाडौँ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो ।

“बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्”। प्रधानमन्त्री ओलीले भन्नुभयो, “इद मुबारक ! मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।”

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग

काठमाडौं । शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।

एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने पनि संघले जनाएको छ ।

बैठकमा अध्यक्ष श्रेष्ठले संघले स्थापना गरेको आपत्कालीन कोषमा रु ५ लाख जम्मा गर्ने घोषणा गरे । उनले नेपालीहरूको सुख दुखमा एनआरएनए सधैँ सँगसँगै रहने वाचा पनि व्यक्त गरे । यसै गरी उक्त कोषमा सबै पदाधिकारीहरूले जनही रु एक, एक लाख जम्मा गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बुढीगंगा नगरपालिका ६ साफे, मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी हुँदा दर्जनौँ पसलहरू जलेर ध्वस्त भएका छन् । स्थानीय एक होटेलमा ग्यास सिलिन्डर पड्केर आगलागी सुरु भएको समाचारहरूमा जनाइएको छ ।
दमकल नभएकाले समयमै आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञकी प्रमुख कथा वाचिका एवं भागवत मञ्जरी राधिका दासीले दुई लाख ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् । उनले उक्त रकम शनिबार हस्तान्तरण गर्ने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म र्पुयाइएको हो ।

दासीको कथा श्रवण गर्न कोटीहोममा भक्तजन ओइरिएका छन् । कोटीहोममा हालसम्म २३ लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दावी छ । शनिबार २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेकाले तीन लाख ५० हजार बढी भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ ।

शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे दीप प्रज्ज्वलन गरिने मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिए । आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरिएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ ।

शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेल्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए ।
शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर तीन सय पाँच वटा गाडी पोखरा भित्रिसकेको उनको भनाइ छ । अन्य दिनको तुलनामा शनिबार ऐतिहासिक हुने उनको दावी छ ।

हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । पोखरा(१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

अध्यक्ष दाहालद्धारा बकर ईदको शुभकामना

काठमाडौँ, २४ जेठ : नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली एवं इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर ईद (उल–अज्हा) लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका छन्,” अध्यक्ष दाहाले भन्नुभएको छ, “हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ । मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् ।”

उहाँले आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

काठमाडौँ, २४ जेठ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बकर इदले नेपालको संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद)को सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै सो विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, “बहुजाति, बहुभाषा, बहुसंस्कृति र बहुधार्मिक विशेषतायुक्त नेपालमा इस्लाम धर्म एकता र राष्ट्रिय स्वाभिमानको प्रतीक रहेकाले धार्मिक सांस्कृतिक सद्भाव कायम राख्दै आपसी भ्रातृत्व र सहिष्णुतालाई थप प्रगाढ तुल्याइ हाम्रो संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास लिएका छौँ ।”

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २४ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ५५, बन्दा (लोकल) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु ५०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४०, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ९०, चुकुन्दर प्रतिकिलो रु ७५, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५५, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (नेपाली) प्रतिकिलो रु १००, मेवा (भारतीय) प्रतिकिलो रु १३०, लिची (लोकल) प्रतिकिलो रु १४०, लिची (भारतीय) प्रतिकिलो रु २४० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २४ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुस्लिम समुदायको महान् पर्व इद दल अज्हा (बकर इद) को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गर्नुभएको हो ।

मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद उल अज्हाको नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।

उहाँले भन्नुभएको छ, “विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ–आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु ।”

उहाँले इद उल अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

बकर इदबाट धार्मिक सहिष्णुता कायम गर्न योगदान पुग्छः उपसभामुख

काठमाडौँ, २४ जेठः उपसभामुख इन्दिरा रानाले बकर इद (इद उल अज्हा) पर्वले त्याग, समर्पण र एकताको भावना पैदा गरी सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीको महान पर्व बकर (इद उल अज्हा) को अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै संविधानले सबै धर्म, जाति, संस्कृति र समुदायलाई समानअधिकार दिएको बताउनुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “विभिन्न जातजाति, धर्म र समुदायअनुसारका आ(आफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्, हामी सबै नेपाली भए पनि अलग–अलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएका छौँ, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो ।”

बकर ईदमा मुस्लिम समुदायले नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोउल्लासका साथ मनाउने गर्दछन् । भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्रस्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष लाखौँ मुस्लिम समुदायका नागरिक पुग्दछन् । बलिदान (कुर्बानी) को पर्वका रूपमा मनाइने यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

उपसभामुख रानाले बकर ईदले धार्मिक सहिष्णुता, सामाजिक सांस्कृतिक सद्भाव एवं राष्ट्रिय एकता कायम गर्न विशिष्ट भूमिका खेल्ने विश्वाससहित सबैलाई बकर ईदको शुभकामना दिनुभएको छ ।

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष हादाल

काठमाडौँ, २४ जेठः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।

इस्लाम धर्मालम्बीको विशेष पर्व बकर ईदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो, यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।” बकर इद पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष दाहालको विश्वास छ ।

बकर ईदमा नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोउल्लास पूर्वक मनाउने गरिन्छ । भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्रस्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष विश्वभरिबाट लाखौँ इस्लाम धर्मालम्बी पुग्दछन् । यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष दाहालको भनाइ छ ।

नेपाली जनताको ठूलो त्याग र बलिदानबाट २०७२ सालमा सङ्घीय गणतान्त्रिक व्यवस्थासहितको संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले संविधानले नै हाम्रो देश नेपाललाई बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्रको रूपमा परिभाषित गरेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर ईदले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्नुका साथै सबै वर्ग, धर्म, जातजाति, लिङ्ग र क्षेत्रलाई अधिकारसम्पन्न गराउने गणतान्त्रिक संविधानलाई दृढताका साथ कार्यान्वयन गर्न प्रेरणा मिल्ने विश्वास छ ।”

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

काठमाडौँ, २४ जेठः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताउनुभएको छ ।

बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ ।”

नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानुनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएको जसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मानर संरक्षण सुनिश्चित गरेको पनि बताउनुभएको छ ।

मुस्लिम धर्म ग्रन्थकाअनुसार करिब चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा परमेश्वरले “आफ्नो सबैभन्दा प्रिय वस्तु चढाऊ” भन्ने आज्ञा दिएको देखेपछि उनले आफ्नै छोरालाई बलिदान गर्न तम्सेका थिए । तर, वास्तविक बलिदानको क्षणमा छोराको सट्टा एक भेंडा चढाइएको थियो । यही समर्पण, विश्वास र ईश्वरप्रतिको निष्ठाको स्मरणस्वरूप बकर इद मनाइन्छ । यस पर्वको मूल सन्देश “जीवन र मरण समेत ईश्वरका लागि समर्पित होस्” भन्ने हो ।

सभामुख घिमिरेले भन्नुभएको छ, “बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २४ जेठः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २५ पैसा र बिक्रीदर १४ रुपैयाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ०९ पैसा र विक्रीदर ३५६ रुपैयाँ ६४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २४ जेठ : हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बाजुरा, २४ जेठः बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।

बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताउनुभयो ।

आगलागिबाट पिडित भएकाहरुको क्षतिपुर्तिका लागि प्रहरीलाई तथ्याङ्क सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रदेश र सङ्घीय सरकारबाट आवश्यक राहत माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो । घटनास्थलको अध्ययनपछि सोही पालिकामा जनप्रतिनिधी राजनितिक दलसहित सरोकारवालाको आकस्मिक बैठकले क्षतिको विवरण सङ्कलन गर्ने र सो क्षतिपुर्ति उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र स्थानीय तहका साथसाथै विभिन्न सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरपालिकाका नगर प्रमख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो । बैठकले आगलागीबाट पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिएको छ । जिल्लामा हुने आगलागीका घटना नियन्त्रण गर्न स्थानीय तहमा दमकलको अभाव रहेको पाइएको छ । यहाँ ९ वटै पालिकाले गाडी खरिद गरे पनि दमकलको भने अभाव रहेको पाइएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।

सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छː उपराष्ट्रपति

काठमाडौँ, २४ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवं सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गर्नुभएको छ ।

बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “मानवता मानिसको मूल धर्म हो, यसको संरक्षण आवश्यक छ, धर्मको यो मूल मर्मको उपासना, आत्मसात र अंगिकार सबै मानव जातिले गर्न सक्नुपर्दछ ।”

उपराष्ट्रपति यादवले धर्मले समता, स्वतन्त्रता, बन्धुत्व र न्यायको पृष्ठपोषणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसले मानिसमा आध्यात्मिक रूपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्न सघाउ पुग्ने बताउनुभयो । इस्लाम धर्ममा यो पर्व अत्यन्तै धूमधाम, प्रेम र भाइचाराका साथ मनाउने परम्परा रही आएको छ । बकरीदको नामले समेत मनाइने यो पर्वमा मुसलमानले पैगम्बर हजरत इब्राहिमको स्मरण गर्छन् । हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ । त्याग शब्दलाई इस्लामिक मान्यतामा कुर्बानी भनिन्छ । यस पर्वको मुख्य आधार र मान्यतामध्ये कुर्बानी पनि हो । यसको नैतिक अर्थ–मानिसले आफूभित्रका खराब आचरणलाई कुर्बानी दिनु (त्याग गर्नु) पनि हो । घमण्ड, रिस, राग, लोभ, बेईमानी र कट्टरता त्याग्ने सन्देश पनि यो पर्वले दिन्छ ।

पछिल्लो समय अन्य धर्ममा जस्तै इस्लाममा पनि केही कुरीति, कुसंस्कार, विकृति र विसंगति प्रवेश गरेकाले त्यसलाई परित्याग गर्न जरुरी छ । यसका लागि इस्लाम धर्मभित्र रहेका सकारात्मक दार्शनिक एवं आध्यात्मिक विचारलाई प्रचार–प्रसार गर्न सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उहाँले धार्मिक बुद्धिजीवि तथा समाजका अगुवाले यसका लागि अग्रसरता लिँदै यस धर्मको मूल उद्देश्य– प्रेम, शान्ति, सद्भाव, भाइचारा, सहिष्णुता र त्यागको पवित्र सन्देश फैलाउनुपर्ने आवश्यक पनि औँल्याउनुभएको छ । उहाँले नेपालको विविध संस्कृति बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतायुक्त विशेषतालाई दशकौँयता आत्मसात् गरेको एक सुन्दर समन्वय र सम्मिश्रण रहेको बताउनुभएको छ ।

कुनैपनि धर्मले सबैखाले विभेद्को अन्त्य र नकारात्मक भावलाई निषेध गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले धर्मको उद्देश्य त्याग, मन, वचन र कर्मको पवित्रता, अहिंसा, लोकहित, बुद्धि र विवेकबाट निर्धारित कर्ममार्गको महत्वलाई स्थापित गर्नु भएको बताउनुभएको छ ।

ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

काठमाडौँ, २४ जेठः वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

आज बकर ईद मनाइँदै

काठमाडौँ, २४ जेठः मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।

“यस ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्छ,” उहाँले भन्नुभयो ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरूप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवम् विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर ईद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले सोमबारसम्म तीन दिन यो पर्व मनाउने गर्छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रधानमन्त्रीपत्नीद्वारा कलाकार शर्माको चित्रकला प्रदर्शनी अवलोकन

काठमाडौँ, २३ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यले आज नेपाल कला परिषद् बबरमहलमा जारी अग्रज कलाकार हरिप्रसाद शर्माको चित्रकला प्रदर्शनीको अवलोकन भ्रमण गर्नुभएको छ ।

चित्रकार शर्माका ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको विशेष प्रदर्शनीमा पुगेर उहाँले कला अवलोकन गर्नुभएको हो । अठासी वर्षीय शर्माको यो पाँचौँ एकल कला प्रदर्शनी हो ।

अवलोकनका क्रममा शाक्यले इतिहासका विषयलाई राम्ररी संरक्षण गरेर कलामा उतारिएको सृजना हेर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । यसरी इतिहास, संस्कृति र जनजीवनलाई सुन्दर ढङ्गले संरक्षण गरेकामा उहाँले चित्रकार शर्मालाई धन्यवाद पनि दिनुभयो ।

बिहीबार शर्माको चित्रकला प्रदर्शनी अवलोकन गर्दै सभामुख देवराज घिमिरेले यहाँ नेपालको इतिहास, संस्कृति र जनजीवनका अद्वितीय चित्र हेर्ने अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । उहाँले नेपालको इतिहास, संस्कृति र जनजीवन क्यानभासमा चिरस्थायी दस्तावेजका रूपमा बसेको उल्लेख गर्नुभयो ।

यसअघि यही जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त कला प्रदर्शनी अवालोकन गर्नुभएको थियो । सो क्रममा उहाँले हाम्रो कला, संस्कृति कस्तो छ ?, कसरी विकास हुँदै आएको छ ? यो कुरा कलाकार शर्माले मेहनतका साथ प्रस्तुत गर्नुभएको बताउनुभएको थियो ।

प्रदर्शनीमा चित्रकार शर्माका ६० वटा चित्रकला प्रदर्शित छन् । चित्रहरूमा उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न सकिन्छ । विभिन्न संस्कृति र जनजीवनका कतिपय चित्रकला चित्रकार शर्माले आफ्नो बाल्यकालीन स्मृतिमा आधारित भएर कोरेको बताउनुभयो ।

सत्तरी वर्षअघि देखेका, भोगेका प्रसङ्ग, दृश्य र घटनालाई उहाँले आफ्नो कलामा जीवन्त रूपमा उतार्नुभएको छ । यसअघि शिक्षामन्त्री रघुजी पन्त, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेलगायतले उक्त कला अवलोकन गरिसक्नुभएको छ । नेपाल सम्पदा सङ्घको आयोजनमा भइरहेको प्रदर्शनी भोलिसम्म सञ्चालन हुनेछ ।

भारतबाट फर्केका पाँच जनामा कोरोनाको सङ्क्रमण

कञ्चनपुर, २३ जेठ : गौरीफन्टा नाका हँुदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ । सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शङ्कास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना सङ्क्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको उहाँको भनाइ छ ।

एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमूना काठमाडौँस्थित प्रयोगशालामा पठाइएको छ । आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ ।

“पुरानै स्टकमा रहेका किट प्रयोग गरी परीक्षण गर्दै थियौँ, आज थप दुई सय किट प्राप्त भएको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “दुई÷तीन दिनभित्रै सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्क राखेर कोरोना परीक्षण गर्छौँ ।”

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

काठमाडौँ, २३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर गरिएको मुद्दाका विषयमा शीर्ष नेताहरूसहित कानुनविद्सँग छलफल गरेको छ ।

पार्टीले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी विषयमा कानुनविद्सँग छलफल गरेको हो । मन्त्रिपरिषद्को नीतिगत निर्णय गर्ने तत्कालीन कानुनी व्यवस्था, पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी निर्णयको भावना, निर्णयपछि हालसम्मको अवस्था, त्यस प्रक्रियामा प्रयोग गरिएका कानुनी आधारलगायत विषयमा छलफल गरेको हो ।

अख्तियारको क्षेत्राधिकार, अख्तियारले मुद्दा दायर गर्नका कारण, त्यसको कानुनी उपचारबारे समीक्षा गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । अदालतमा पुगेको विषयको निरुपण अदालतबाट नै हुने बताउँदै महासचिव भुसालले न्यायालयबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोगले लगाएको अभियोग प्रतिरक्षाका लागि कानुनी उपचारमा जाने आधार रहेको कानुनविद्हरूले सुझाव दिएको पार्टीले जनाएको छ । आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जना दोषी ठहर गर्दै रु १८ करोडमाथिको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

‘शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छ’ – शिक्षामन्त्री पन्त

लेखनाथ (कास्की), २३ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी भएका छलफलले अन्तिम रूप लिन लागेकाले यथाशीघ्र ऐन आउने बताउनुभएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)को दोस्रो शिखर सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले आगामी साउनभित्र शिक्षा ऐन ल्याउने गरी तयारी भइरहेको उल्लेख गर्नुभयो ।

शिक्षा विधेयक पारित गर्न शिक्षक महासङ्घको सहयोग आवश्यक रहेको बताउँदै मन्त्री पन्तले शिक्षा मन्त्रालय महासङ्घसँग छलफल र वार्ता गरी अगाडि बढ्न तयार रहेको बताउनुभयो । “उत्कृष्ट शिक्षा ऐन ल्याउन सक्यौँ भने शिक्षा क्षेत्रको विकास दु्रतगतिमा अगाडि बढ्ने विश्वाससहित महासङ्घसँग सहकार्य र समन्वय आवश्यक परेको हो”, उहाँले भन्नुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको विकासका लागि यथास्थितिमा बजेट छुट्याइएकाले उल्लेख्य उपलब्धि प्राप्त गर्न केही असहज हुनसक्ने मन्त्री पन्तले धारणा राख्नुभयो । “विदेशको तुलनामा नेपालमा शिक्षा क्षेत्रमा बजेट कम छुट्याउने गरिन्छ, त्यसले समग्र विकासमा केही बाधा पर्ने देखिन्छ । चालु आवमा जति बजेट थियो, त्यति नै आगामी आवका लागि छुट्याउँदा शिक्षा क्षेत्रको विकास गर्न केही असहज परिस्थिति आउनसक्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।

शिक्षामा नयाँनयाँ प्रविधि र अभ्यासको प्रयोग विकास हुँदै गएकाले शिक्षक पनि प्रविधिमैत्री हुन जरुरी रहेको बताउँदै मन्त्री पन्तले गुणस्तरीय शिक्षण सिकाइ र व्यावहारिक शिक्षामा जोड दिन उहाँले सम्पूर्ण शिक्षकलाई आग्रह गर्नुभयो । “प्राथमिक तहमा दरबन्दीभन्दा बढी शिक्षक भएकाले ती शिक्षकलाई निम्नमाध्यमिक र माध्यमिक तहमा समायोजन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

शिक्षक महासङ्घसँग भएका नौ बुँदे सहमतिप्रति शिक्षा मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री पन्तले शिक्षा विधेयक पारित गर्न शिक्षकहरूको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले विद्यालय तहको शिक्षामा सुधार गर्ने प्रमुख जिम्मेवारी प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षकको भएकाले विद्यालयमा शैक्षिक वातावरण बनाउन आग्रह गर्नुभयो । “शिक्षकहरूले आफ्नो अधिकारमात्र खोज्ने होइन, आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै शिक्षामा नयाँ प्रविधि र अभ्यास प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो । सम्मेलनमा सातवटै प्रदेशका उत्कृष्ट प्रधानाध्यापक, विद्यालय, पालिका तथा दीर्घसेवा प्रदान गर्नुभएका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले शिक्षा क्षेत्रका समग्र पक्षलाई समेटेर पोखरा घोषणापत्र जारी गरिने पानले जनाएको छ । उक्त कार्यक्रम पानका अध्यक्ष सुदामप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान

काठमाडौँ, २३ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गर्नुभएको छ । आज साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तरराष्ट्रिय श्रम सङ्गठनको आयोजना ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

जेठको १९ देखि ३० गतेसम्म जेनेभामा ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलन सञ्चालन हुँदै छ । यस अन्तरराष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण, सामाजिक न्याय प्रवर्द्धन, मर्यादित रोजगारी, नेपालको दसवर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका विषयहरूलाई प्रस्तुत गर्नुहुने छ ।

सचिवालयका अनुसार मन्त्री भण्डारीले जेठ २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अन्तरराष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिल्बल्र्ट एफ हाउङवो र मन्त्री भण्डारीबीच द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

त्यसैगरी, साउदी अरेबियाको अन्तरराष्ट्रिय मामिला उपमन्त्री डा तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । जेठ २९ मा हुने सामाजिक न्यायसम्बन्धी विश्वव्यापी गठबन्धनको मञ्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेठ ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

राज्यका हरेक निकाय बलियो हुनुपर्छ : सञ्चार मन्त्री गुरुङ

विराटनगर, २३ जेठ : सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यका हरेक निकाय बलियो हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) कोशी प्रदेश कार्यालय विराटनगरको निरीक्षण एवं अवलोकनपछि उहाँले भौतिक संरचनामा निकै सुधार भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले रासस एक जवाफदेही सञ्चार माध्यम भएकाले यसले प्रवाह गर्ने सेवा छिटोछरितो हुनुपर्ने र रासस बलियो भएमा अन्य सञ्चार माध्यम पनि बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “समाचारका मुहानको रुपमा रहेको राससले अझ मेहनत गर्नुपर्छ ।” समावेशी चरित्र बोकेको राससले आफूलाई अझ प्रभावकारी बनाउनुपर्ने निर्देशन दिँदै विश्वसनीय स्रोतको उपयोगले समाचारको महत्व बढ्ने बताउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससको भौतिक सम्पत्तिलाई व्यावसायिकीकरण गर्न सकेमा आत्मनिर्भर बन्ने र सरकारलाई आर्थिक भार कम हुने बताउनुभयो । उहाँले राससको विराटनगर, काँकरभिट्टा, वीरगञ्ज, पोखरा जस्ता महत्त्वपूर्ण स्थानमा रहेका भौतिक सम्पत्तिको पूर्णरुपमा सदुपयोग गर्न बजेटको आवश्यकता औँल्याउनुभयो ।

रासस कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुलले समाचार र कार्यालयको विविध पक्षमा जानकारी गराउनुभएको थियो । अवलोकनका क्रममा सूचना तथा सञ्चार प्रविधि सचिव राधिका अर्याल, मन्त्रालयका सहसचिव कोषहरि निरौला, कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेललगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

धरान (सुनसरी), २३ जेठ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताउनुभएको छ ।

धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताउनुभयो । उहाँले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस अग्रमोर्चामा उभिएको धारणा राख्नुभयो ।

राजनीति उक्सावट लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्न सक्ने भएकाले पार्टी शान्ति स्थिरता र संस्थागत सुधारका लागि जिम्मेवार भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्य, बहस सहमतिदेखि नीति नै कांग्रेसको राजनीति आधार हो । राजनीतिमा भावना हुन्छ तर भावनालाई हामीले बेचेर राष्ट्र बन्दैन । परिवर्तनको प्रक्रिया शान्त र स्थायी र सवलीकरणको मार्गबाट अघि बढ्नुपर्छ ।”

कांग्रेसले विवेकपूर्ण बहस र नीति निर्माणका कामलाई बलियो बनाउँदै अघि बढ्ने बताउँदै महामन्त्री थापाले राजनीतिमा लोकमत र भावनाभन्दा विचार नीति र पहुँचमुखी संवादलाई महत्त्व दिनु आजको आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रवादको बहानामा कुनै पनि बहुकालीन व्यवस्थामा फर्किन नहुने धारणा राख्दै उहाँले नेपालको आर्थिक सामाजिक परिवर्तनमा प्रजातन्त्रले अतुलनीय योगदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुई दलको सरकार र राजनीतिलाई नै शक्तिशाली बनाउनु हाम्रो पहिलो आवश्यकता हो ।”

हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला

गोदावरी (कैलाली), २३ जेठः जिल्लको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ ।

आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको छ ।

एकाइ कार्यालयका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बन्दामा ९९ दशमलव ११ अर्गानोफस्फेट र एक दशमलव ६१ कार्बामेट विषादीको अंश फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार वैज्ञानिक मापदण्डअनुसार अर्गानोफस्फेटको तीन सय ५५ भन्दा कम मात्रा खान उपयुक्त मानिन्छ भने चार सय ५५ भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ ।

कृषि प्राविधिकका अनुसार अर्गानोफस्फेटको ३५ प्रतिशतभन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशत भए केही दिन पर्खेर खान मिल्ने र ४५ प्रतिशतभन्दा माथि रोकावट प्रतिशत मानिने भएकाले नष्ट गर्नुपर्ने हुन्छ ।

उक्त बन्दागोभी उपभोगका लागि अयोग्य ठहरिएपछि गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टको रोहवरमा नष्ट गरिएको हो । प्रवक्ता भट्टले उपभोक्तालाई विषादीरहित तरकारी तथा फलफूल मात्र उपभोग गर्न र प्रमाणित सामान रोज्न आग्रह गर्नुभयो ।

पछिल्लो समय बजारमा असामान्य रूपमा पाकेको देखिने आँप आइपुगेको भन्दै उपभोगमा सर्तकता अपनाउन सुझाव दिइएको छ । तरकारी तथा फलफूल हाटबजार समिति अध्यक्ष दिल्लीराज जोशीले बाहिरी क्षेत्रबाट आउने तरकारी र फलफूलमा निगरानी बढाइएको बताउनुभयो । उहाँले कृषकलाई विषादी प्रयोगबारे सचेत रहन पनि आग्रह गर्नुभयो ।

यसअघि सो तरकारी हाटबजारमा विषादी अवशेष द्रुत विश्लेषण एकाईले गोलभेँडामा पनि अत्यधिक मात्रामा विषादी फेला पारेको थियो ।

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

गण्डकी, २३ जेठ (रासस) : गण्डकी प्रदेश सरकारद्वारा गठित प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष अध्ययन प्रतिवेदन पेस गरेको छ । समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको उक्त प्रतिवेदन मन्त्री र सचिवहरूको उपस्थितिमा मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा समितिका संयोजक पौडेलले कुनै पनि दबाब, आग्रह–पूर्वाग्रहबिना प्रदेश सरकारका एक सय ७४ वटा सङ्गठन संरचनाको अध्ययन गरेर प्रतिवेदन तयार पारिएको बताउनुभयो । “यो प्रतिवेदनले प्रदेश सरकारले चाहेजस्तो आफ्ना संरचनालाई चुस्त राख्न र कामकारबाहीलाई प्रभावकारी बनाउन मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो । समितिले आफ्नो कार्यजिम्मेवारीभित्र रहेर सुझावसहित प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझेपछि मुख्यमन्त्री पाण्डेले सरकारले त्यसलाई अध्ययन गरेर लागु गर्ने बताउनुभयो । “यो देखाउन वा थन्क्याउन बनाइएको होइन, प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयन गर्न औँल्याइएका विषय लागू हुन्छ, अन्य विषय क्रमशः सरकारले लागु गर्दै जानेछ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । सङ्घीयता लागू गर्दा उत्साहका साथ धेरै संरचना खडा गरिएको तर अहिले ती संरचनाका कारण प्रदेशमाथि पनि प्रश्न उठ्न थालेकाले प्रशासनिक पुनरावलोकन जरूरी परेको उहाँको भनाइ थियो ।

प्रशासनिक खर्च धेरै हुँदा प्रदेशको विकास खर्च बर्सेनि घटेको, आम्दानीको स्रोत बढाउन कानुनी अड्चन झेल्नुपरेकाले खर्च कटौतीका लागि पुर्नसंरचना आवश्यक भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेश सरकारले गत चैतमा पूर्वसचिव पौडेलको संयोजकत्वमा पूर्वसहसचिव महेश्वर नरसिंह केसी र सहसचिव अच्युत लामिछाने सदस्य रहेको अध्ययन तथा सुझाव समिति बनाएको थियो ।

समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन :उपेन्द्र यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संबिधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन ।

शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घघाटन गर्दै अध्यक्ष यादवले संबिधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे ।

फोहोर भैसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफै स्वच्छ हुन्छ भन्दै अध्यक्ष यादवले भने, ‘मुलुकलाई निकास दिन ढिला नगरौं, दफावार धारा पिच्छे त्रुटिपूर्ण रहेको यो संबिधानलाई पुनर्लेखन गर्नुको विकल्प नै छैन ।’

संविधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया र भू माफिया जस्ता देशका धमिरालाई संरक्षण गर्नु बाहेक संबिधानका त्रुटिहरु सच्याउने तर्फ गम्भीर नभएको उनले टिप्पणी गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार देशमै संबिधान कार्यान्वयन नभएको भन्दै अध्यक्ष यादवले जारी भएदेखिन यो विकृत संबिधानकै कारणले एक दशकदेखि मुलुक अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए ।

उनले भने, ‘ठूला भनिएका तीन दल आफैँले ल्याएको संविधानको कवरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखेपनि यसको कार्यान्वयनमा ईमानदार छैनन ।’ अध्यक्ष यादवले, ‘यदि संविधान कार्यान्वयन हुँदैन भने त्यसले लोकतन्त्रलाई झन् कमजोर बनाउँछ, त्यसैले संविधानलाई संशोधन गरेर त्यसको मूलमर्म अनुसार पुनर्लेखन गर्नुपर्छ ।’

कांग्रेस र कम्युनिस्ट जस्ता दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउँदै यादवले प्रतिवद्धता बिना कुनै पनि संविधान दीर्घकालीन बन्न सक्दैन, भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको बताए ।

मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

खोटाङ, २३ जेठ : दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय’ का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट विनियोजन गरेको छ ।

विसं २०८० मा दिक्तेल बजारमा आयोजना गरिएको ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’ का क्रममा बनाइएका क्यानभास चित्र राखेर दिक्तेलमा स्थापना गरिएको मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालयका लागि आवश्यक भवन निर्माण गर्न पर्यटन मन्त्रालयले बजेट उपलब्ध गराउने भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विसं २०८० असोज–१७ गतेदेखि असोज–२० गतेसम्म मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । विभिन्न पर्यटकीयस्थलमा लगेर आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी ५० देशका ख्याति प्राप्त चित्रकारहरुले बनाएका तथा अन्य चित्रकारले तयार पारेका एक सय ८२ वटा क्यानभास चित्रलाई समावेश गरेर नगरपालिकाले दिक्तेलमा मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरिएको हो ।

पर्यटन मन्त्रालयले मुन्दुम कला सङ्ग्राहलयका लागि भवन निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराएलगत्तै नास्टका पूर्वउपकुलपति प्रा डा जीवराज पोखरेलले डिजाइनको काम सुरु गर्नुभएको जनाइएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटबाट निर्माण गरिने मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय भवनमा अधिकतम बाँसका सामग्री प्रयोग गर्नेगरी डिजाइनको काम सुरु गरिएको नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिनुभयो ।

नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनाम लगायतका ख्याति प्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रलाई सङ्कलन गरेर दिक्तेल बजारमा मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्सको पाँच वटा कोठामा क्यानभास चित्रहरु राखेर स्थापना गरिएको मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गत पुस–२९ गते औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो ।

सङ्ग्रहालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार/कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा नगरपालिकाले सुरुवात गरेको काम प्रशंसनीय भएको प्रतिक्रिया दिनुभएको थियो । मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्राहलय उद्घाटन गरिएलगत्तै सर्वसाधारणका लागि विना शुल्क अवलोनमा खुला गरिएको छ ।

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ ‘मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ । चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालयले पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरेका छौँ । यसलाई थप प्रवद्र्धन गर्न सबैको सहयोग आवश्यक छ ।”

मुन्दुम चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी विश्वमा ख्यातिप्राप्त चित्रकारले बनाएका तथा अन्य चित्रकारहरुले तयार पारेका क्यानभास चित्रलाई समावेश गरेर नगरपालिकाले विसं २०८० फागुन–५ गतेदेखि १७ गतेसम्म नेपाल कला परिषद, बबरमहल, काठमाडौँमा मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक उद्घाटन गर्नुभएको चित्रकला प्रदर्शनीमा देशका उच्च पदस्थ व्यक्तिहरूले प्रत्यक्ष अवलोकन गर्नुभएको थियो ।

धनु आर्ट स्टुडियो काठमाडौँसँगको सहकार्यमा १३ दिनसम्म आयोजना गरिएको चित्रकला प्रदर्शनीको औपचारिक समापन तत्कालीन प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो । अमेरिकाकी चित्रकार एवम् प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरु रतनकुमार राई, विजय थापालगायत ५० देशका ख्याति प्राप्त चित्रकारहरुलाई खोटाङमै बोलाएर जिल्लाका दशवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थलहरु तथा धर्म, संस्कार, संस्कृति, परम्परा र स्थानीय रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको हो ।

पर्सामा आगलागी हुँदा घर र दुई गोठ जले

वीरगञ्ज (पर्सा), २३ जेठ : पर्साको पकहाँमैनपुर गाउँपालिका–४ खेस्रहामा आज आगजनी हुँदा दुई वटा फुसका घर र दुई गोठ पूर्णरूपमा जलेका छन् ।

विद्युत् सर्ट भएर पकहाँमैनपुर गाउँपालिका–४ ख्रेसाका रामाशङ्कर गिरी र सोही ठाउँका दरोगा गिरीको फुसको घर र गोठमा क्षति हुँदा १४ लाख ५० हजार बराबरको धनजनको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले आज बिहान विद्युत् सर्ट भएर आगजनी हुँदा दुई फुसको घर र गोठ जलेर क्षति भएको जानकारी दिनुभयो ।

“आगलानीको घटना थाहा हुने वित्तिकै स्थानीय प्रहरी र दमकलसहित स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो”, उहाँले भन्नुभयो, “तत्कालै सावधान अपनाएको कारणले कुनै पनि प्रकारको मानवीय क्षति हुन पाएन ।”

आगलागी कारणले रामाशङ्कर गिरीको फुसको गोठ र फुसको बस्ने घर, अन्नपात अन्नपात, लत्ताकपडा गरगहना गरी रु सात लाख मूल्य पर्ने क्षति भएको छ । त्यस्तै गरी गिरीकै एक भैँसी र पाडो जलेर घाइते भएको छ । त्यस्तै गरी गिरीको छिमेकी दरोगा गिरीको फुसको गोठ र बस्ने घर पूर्णरूपमा जलेर क्षति भएको छ । पर्सा प्रहरीका अनुसार गिरीको घरमा रहेको धान गहँु, काठ, भाँडाकुडा र गरगहना गरी साढे सात लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड

मध्यविन्दु (नवलपरासी), २३ जेठ : नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज दिउँसो आएको बाढीले बगाएपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यात्रुवाहक सवारीसाधन र साना सवारीसाधन होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ भने मालवाहक सवारीसाधन एक लेनमा रोकी व्यवस्थापन गरिएको छ । खोलामा पानीको बहाव घटेसँगै डाइभर्सन मर्मत कार्य सुरू हुने जनाइएको छ ।

गत २६ गते पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । बुटवल नारायणगढ सडक आयोजनाले विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न भएसँगै वर्षा अगाडि नै पुल सञ्चालनमा आउने जनाएको छ ।

यता पूर्वपश्चिम राजमार्गअन्तर्गत नै मध्यविन्दु नगरपालिका–७ चोरमारामा भाँचिएको पुल आज दिउँसोदेखि सञ्चालनमा आएको छ । गत वैशाख २९ गते बीचबाट चर्किएको पुल मर्मत गरी आजदेखि सञ्चालनमा ल्याइएको मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

तीनपिप्लेमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौँ, २३ जेठः काठमाडौँको तारकेश्वर नगरपालिका-३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक आज माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार आज दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा१ज ८६८५ नम्बरको माइक्रोबस तारकेश्वर-३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

दुर्घटनामा काभ्रे बनेपा नगरपालिका–१० की ३८ वर्षीया सुनिता खड्का, ३८ वर्षीया शारदा रावत, ३७ वर्षीया अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीया रामशोभा थापा, ४५ वर्षीया शान्ता खत्री, ७० वर्षीया पार्वती काफ्ले र ३७ वर्षीया लक्ष्मी खड्का घाइते भएका प्रहरी उपरीक्षक बोहराले जानकारी दिनुभयो । घाइते सबैको मेगा ग्रिनसिटी अस्पताल जरङ्खुमा उपचार भइरहेको छ ।

माइक्रोबस सडकबाट १० मिटर तल खसेको थियो । उक्त घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रवक्ता बोहराले बताउनुभयो ।

काँकरभिट्टाबाट पाँच लाख ३० हजारका नक्कली नोटसहित एक जना पक्राउ

भद्रपुर (झापा), २३ जेठः यहाँस्थित मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका-५ घर भई हाल झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उहाँले जानकारी दिनुभयो ।

भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई चलनमा ल्याएको खुलेको प्रनाउ खड्काले जानकारी दिनुभयो । प्रहरी टोलीले भारती बस्ने कोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्री फेला पारेको उहाँको भनाइ छ ।

प्रहरीका अनुसार विभिन्न दरका रु पाँच लाख ३० हजार ६८० बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायत सामग्री बरामद गरिएको छ । पक्राउ परेका भारतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशः सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम, २३ जेठः सुदूरपश्चिम प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो ।

छलफलमा भाग लिने प्रदेशसभा सांसदहरू ललिता सुनार, मानबहादुर धामी, तुलसी देवकोटा, धर्मराज पाठक, खुसीराम डगौरा थारू, प्रकाश रावल, डा ताराप्रसाद जोशी, मधुदेवी भारती, दमनबहादुर भण्डारी र पदमबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा कतिपय विषय छुटेका भन्दै ती विषय समेट्नुपर्ने सुझाव दिनुभयो ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भनी सभामा प्रस्ताव पेस गर्नुभएको थियो ।

आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सामान्य छलफल गरिएको छ ।

उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सांसद शिवराज भट्ट र चक्रबहादुर मल्लले भाग लिनुभएको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । बैठकको प्रारम्भमा प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रतिपक्षका नेताहरुलाई कानुनी डण्डा वर्षाउने काम कुशासन हो : गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रतिपक्षका नेताहरुलाई कानुनी डण्डा वर्षाउने ओली सरकारको शुशासन नभइ कुशासन भएको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले प्रतिपक्षलाई छानीछानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्तापक्षीय नेताहरुलाई छानविन भन्दा पुरस्कृत गरिरहेको बताए ।

उनले भने, ‘प्रतिपक्षलाई छानीछानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्तापक्षीय नेताहरुलाई छानविन भन्दा पुरस्कृत गरिरहेको छ ।’
नेपालको स्थायीत्व र शान्तिलाई खल्बल्याउने विदेशी योजना अनुसार पछिल्लो समयमा प्रतिपक्ष दलका मुख्य नेताहरुलाई वर्तमान सत्ताले विभिन्न बाहानामा आक्रमण गरिरहेको समेत गुरुङले आरोप लगाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्दा दायर गरिनु, रास्वपा सभापति रवि लामिछनेमाथि हदभन्दा बढी कानुनी डण्डा बर्षाउनु, कुलमान घिसिङलाई हटाउनु, बालेन शाहलाई चलाईराख्नु प्रतिशोध र बदलाभाव भएको पनि उनको भनाइ छ ।

सोही क्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अग्नि सापकोटा र सूर्यमान दोङलगायतका मुद्दा नियमित अदालतको नभइ टीआरसीको क्षेत्राअधिकारभित्र पर्ने बताए ।
भण्डारीले शान्ति सम्झौता भएको २० वर्ष र जनयुद्धकालिन मुद्धा किनारा लगाउन आयोग बनेको १० वर्ष वितिसक्दा पनि शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउनतिर दलहरुको ध्यान नहुनुको परिणाम पछिल्लो आवस्था आएको जिकिर गरे ।

संक्रमणकालिन न्यायको सिद्धान्त अनुसार जनयुद्धकाललिन उपलब्धि र क्षति कुनै एकपक्षको मात्रै नभएर सम्पूर्ण राज्यको भएको बताउँदै त्यसमा सबै एकजुट भएर किनारा लगाउनुपर्ने बताए ।

बुढीगङ्गामा ग्यास सिलिण्डर पड्किँदा आगलागी,१२ वटा पसल जलेर नष्ट

बाजुरा, २३ जेठः जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ ।

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो ।

आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उहाँले आगो लाग्नुको कारण भने खुल्न नसकेको उल्लेख गर्नुभयो । हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ

काठमाडौँ, २३ जेठः वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्ने ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गेङ्गबु बस्ने ३४ वर्षीय मोहन पोखरेल पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विदेशमा आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितहरूले दिएका उजुरीका आधारमा निजहरूलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेकामध्ये बरुवालले युके पठाउने भन्दै सात जनाबाट रु ३२ लाख ३५ हजार र पोखरेलले एक जनालाई पोल्याण्ड पठाउने भन्दै रु १० लाख लिएको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।