`

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

झापा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् । उनले तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित हुने गम्भीर जोखिम रहेको औंल्याएका हुन् ।

गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा आएको बाढीका कारण हुलाकी राजमार्ग नजिक करिब ७ सय मिटर क्षेत्रको तटबन्धमा गम्भीर क्षति पुगेको थियो। सो क्षेत्रको पुनर्निर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा देखिएको छ ।

‘ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनर्निर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ,’ मन्त्री खड्काले भने। उनले तटबन्ध निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा, २५ जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताउनुभएको छ ।

नारी सञ्चार गृह झापाद्वारा आज विर्तामोडमा आयोजित अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान कार्यकमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले आमसञ्चार जगतमा महिला सहभागिता क्रमशः विस्तार हुँदै आए पनि सङ्ख्यात्मक दृष्टिले महिलाको उपस्थिति अझै न्यून रहेको बताउनुभयो । उहाँले समाचार सम्पादन, निर्णय र नीतिनिर्माणको तहमा महिलाको पहुँच र भूमिका सीमित रहेकामा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि यो सङ्ख्या न्यून रहेको बताउनुभयो ।

जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलासँग सम्बन्धित विषय सञ्चारमाध्यममा प्रभावकारी रूपमा उठाउन महिला पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाइ थियो ।

“महिला आफैँले प्रत्यक्ष रूपमा अनुभव गरेका, नजिकबाट देखेका र जीवनका विभिन्न चरणमा भोगेका मुद्दामा महिला पत्रकारद्वारा नै तयार गरिने सामग्रीमा थप सम्वेदनशीलता, आफ्नो पहिचान र यथार्थ समेटिएको हुन्छ”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।

चुनौतिपूर्ण परिवेशका बावजुद पनि महिला पत्रकारले देखाएको पेशागत दृढता, आत्मबल तथा सामाजिक परिवर्तनप्रतिको लगाव र प्रतिवद्धता प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले सोही अवसरमा नारी सञ्चार गृह झापाको अक्षयकोषमा सहयोग पुरÞ्याउनु हुने दातालाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै सो संस्थाद्वारा प्रकाशित ‘सञ्चारमा नारी’ पुस्तकको विमोचन समेत गर्नुभयो ।

पत्रकार महिलाको साझा संस्था नारी सञ्चार गृहले आफ्नो अक्षयकोषमा रु ५० लाख पुरÞ्याएको अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो ।

सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ ।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले जवाफ दिने क्रममा विपक्षिदलले अबरोध गरेपछि संसद अवरुद्ध भएको हो ।सभामुखले पटकपटक सदनमा अवरोध नगर्न आग्रह गरे पनि विपक्षीले नमानेपछि बैठक स्थगन गरिएको हो ।

आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ, २५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको अख्तियारले जनाएको छ ।

कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो । बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजलको प्रतिलिटर मूल्य रु १४७ अनुसार चार लाख ४८ हजार ५२५ हिनामिना भएको आयोगको दाबी छ ।

आयोगले प्रमुख दास, पश्चिमाञ्चल टे«डर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध जनही रु चार लाख ४८ हजार ५२५ बराबरको बिगो दाबी गरिएको छ ।
–––

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

काठमाडौँ, २५ जेठः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताउनुभएको छ ।राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको रासायनिक मलको सहज व्यवस्थापन विषयको बैठकका क्रममा मन्त्री अधिकारीले बजेट नपुगेकै कारण मलको समस्या समाधान हुन नसकेको बताउनुभयो । अनुदान बजेट अनुसारको मल भने समयमै ल्याएर डिपोसम्म पु¥याउने काम मन्त्रालयले गरिरहेको उहाँको भनाइ थियो ।

“यसअघि मन्त्रालयले सार्वजनिक गरेको पाँच वर्षे कृषि अनुदानमा रु पाँच खर्ब एक अर्ब बजेटमध्ये रासायनिक मलको अनुदानमा रु ८७ अर्ब खर्च भएको रहेछ, त्यसपछिको अनुदान पनि कुनकुन विषयमा कसकसले कतिकति लगे तथ्याङ्क सङ्कलनको काम भइरहेको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र यसअन्तर्गत वितरण भएको अनुदानको विवरण सार्वजनिक हुन्छ,” मन्त्री अधिकारीले भन्नुभयो ।

परियोजनाले पैसा नभई उपकरण खरिद गरेर अनुदान दिने गरेको मन्त्री अधिकारीले बैठकमा जानकारी गराउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दुई वर्षदेखि कार्यकारी निर्देशक पद रिक्त रहेकामा हालै नियुक्त गरी पठाएको उहाँले बताउनुभयो । विषादी नियन्त्रणका लागि मन्त्रालयले सरोकार भएका निकायसँग छलफल गरी अघि बढेको उहाँले बैठकमा जानकारी गराउनुभयो ।

समितिका सभापति कमला पन्तले रासायनिक मलका बारेमा बेला बेलामा गुनासो आउने गरेकाले मन्त्रीसहित मन्त्रालयका अधिकारी बोलाएर छलफल गरिएको जानकारी गराउनुभयो । प्रदेश र स्थानीय सरकारलाई पनि रासायनिक मलसँग सम्बन्धित विषयमा समस्या नआउने गरी काम गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

बैठकमा सांसदहरु कृष्णप्रसाद पौडेल, अञ्जान शाक्य, उर्मिला अर्याल, घनश्याम रिजाल, जीतजङ्ग बस्नेत, झक्कुप्रसाद सुवेदी, वामदेव गौतम, नारायणदत्त भट्ट, पूजा चौधरी, सावित्री मल्ललगायतले रासायनिक मल अभावमा देखिएको समस्या समाधान गर्नुपर्ने, उत्पादित कृषि सामग्रीको सहज बजार व्यवस्थापन हुनुपर्ने, प्रजातान्त्रिक समाजवाद कार्यान्वयन गराउनुपर्नेलगायत विषयमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराउनुभएको थियो ।

मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रासायनिक मल आयातमा खरिद कानुनका कारण ढिलाइ हुने गरेकाले त्यसको संशोधन प्रक्रिया अघि बढेको उल्लेख गर्दै कार्यविधि संशोधन अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । सङ्घीय सरकारबाट रासायनिक मल आयातमा समस्या नभई डिपोसम्म सहजरुपमा पुगेको र डिपोबाट वितरणको जिम्मा प्रदेश एवं स्थानीय सरकारबाट हुने गरेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले रासायनिक मल आयातका लागि अनुदान बजेट अभाव भएको बताउनुभयो । रासायनिक मल पाउने किसान को हो भन्ने सुनिश्चित गर्न वडालाई जिम्मा दिनुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौँमा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको चाँडै अन्त्य हुँदै : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाँडै अन्त्य हुने बताए ।आइतबार खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौँ उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री यादवले मेलम्ची खानेपानी अब काठमाडौँवासीका लागि बाह्रै महिना सञ्चालनमा ल्याई यहाँका नागरिकको पिउने पानीको समस्या समाधान हुने बताएका छन् ।

उहाँले भने ‘अब पानीका लागि ट्याङ्करको भरमा बस्नुपर्ने दिन सकिएको छ । असार महिनामा पनि मेलम्चीको पानी बन्द हुने छैन् । नियमित पानी आपूर्ति सुनिश्चित गर्न सरकारले आवश्यक सबै बिकल्प र पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।’मन्त्री यादवले खानेपानी पहुँच सबै नागरिकको मौलिक अधिकार भएकाले यसलाई सुनिश्चित गर्न मन्त्रालय कटिबद्ध रहेको बताए । साथै, उनले आगामी दिनमा काठमाडौँ मात्र नभई अन्य शहरी क्षेत्रमा पनि सुरक्षित र पर्याप्त पानी आपूर्ति सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।

काडमाडौँ उपत्यकामा वर्खाको समयमा पनि मेलम्चीको पानी बन्द नगरी दैनिक पानी बितरण गर्ने योजना अनुसार काम सुरु गरिएको र अब उक्त काम करिब करिब अन्तिम चरणमा पुगेको जानकारी दिए ।

यसैगरी मन्त्री यादवले नेपाल सरकारले खानेपानी तथा सरसफाइ नियमावली, २०८१ जारी गरिसकेको र आयोगले खानेपानी महसुल निर्धारण निर्देशिका, २०८१ पनि सार्वजनिक गरिसकेको अवस्थामा अब उपभोक्ता समितिहरूले सेवा प्रवाहसँगै महसुल निर्धारण सम्बन्धी प्रस्तावहरू खुला र पारदर्शी आधारमा तयार गरी आयोगमा प्रस्तुत गर्न सक्ने बताएका छन् ।

उनले यस्ता खालका संवेदनशीलता अभिवृद्धि कार्यक्रम उपत्यकामा मात्र सीमित नरही, अब देशभरका स्थानीय तहहरूसँग समन्वय गरी निरन्तर सञ्चालन गरिनुपर्ने समेत मन्त्री यादवले खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगलाई निर्देशन सहित आग्रह गरे ।

कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद अर्याल, नेपाल खानेपानी संस्थानका अध्यक्ष डा ढुण्डराज भट्टराई, महाप्रवन्धक अर्जुनबाबु ढकाल, काठमाडौँ उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

वीरगञ्ज (पर्सा), २५ जेठः कार दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्प नजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बिआर ५५ बि ९१०४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा भारतको बेतिया नरकटियागञ्ज स्थायी घर भएका ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास भट्टले दुर्घटनामा चारै जना घाइते भएकामा उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पठाइएको र एकको मृत्यु भएको जानकारी दिनुभयो । कार चालक गणेश सर्राफसहित त्यसमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री यादवले गरे शङ्खधर साख्वाधर पार्कको उद्घाटन

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–४ स्थित शङ्खधर साख्वाधर पार्कको उद्घाटन गरेका छन् ।
मन्त्री यादवले शनिबार एक विशेष कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिका–४ मा निर्माण सम्पन्न भएको उक्त शङ्खधर साख्वाधर पार्कको भव्य समारोहकाबीच उद्घाटन गरका हुन् ।

समारोहमा मन्त्री यादवले शङ्खधर साख्वाधरजस्ता राष्ट्रसेवकको योगदान सम्झन लायक भएको उल्लेख गर्दै यस्ता सार्वजनिक स्थलले समाजमा ऐतिहासिक चेतना जगाउने बताए ।

उक्त पार्क हिजोदेखि विधिवत रूपमा सर्वसाधारणका लागि सञ्चालनमा आएको एवं हरियाली, विश्राम स्थल र सांस्कृतिक सौन्दर्यले सजिएको यो पार्क वीरगञ्ज महानगरवासीका लागि नवीन श्वास र सामुदायिक मेलमिलापको थलो बन्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

पार्क उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेमान सिंह, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । वीरगन्जमा यस किसिमको सुन्दर र व्यवस्थित पार्कले शहरको सौन्दर्य र पर्यावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

कुमारी बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ ।

बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

निर्धारित म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा संस्थापकहरु भन्दा बाहेकका लगानीकर्ताहरुमा शेयर बिक्री गरिने बैंकले जारी गरेको सुचनामा उल्लेख छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ । आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्याण्डसँग खेल्दैछ ।

यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जितका निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो ।

१४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ ।
यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ ।स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन, २५ जेठः आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो ।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका दुई हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । उनीहरूमध्ये विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक गरेको सूचनापछि २७ जनाले विवरण बुझाएका थिए । विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको छभने खरिद बिक्री नगर्न उपभोक्तालाई जानकारी गराइएको छ ।

विभागले मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदताको नाम सार्वजनिक गरिएको हो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धिकर दर्ता निलम्बन गरिएको उहाँले जानकारी दिनुभयो । निलम्बित करदाताले आफ्नो कारोबार सञ्चालन राख्नुपरेमा बाँकी सबै कर विवरण पेस गर्नुपर्छ ।

जिल्लामा १० हजार बढी मूल्य अभिवृद्धि करदाता रहेका छन् । मूल्य अभिवृद्धि करदातासहित जिल्लामा ७२ हजार बढी करदाता छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूले बेवास्ता गर्दा विभागको निलम्बन कारबाही भोग्नुपरेको हो । उहाँले भन्नुभयो, “करदाताले नबुझेर होइन, कतिपयको कारोबार नभएर पनि होला तर ज्ञान नभएको भन्ने होइन ।” कारोबार नभए पनि राज्यलाई विवरण बुझाउनुपर्छ भन्ने शिक्षा करदातालाई पुर्याउनुपर्ने समय आएको उहाँले बताउनुभयो ।विभागले देशभरका ९५ हजार ३४९ जना करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरेको हो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २५ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३९, गाजर (लोकल) प्रतिकिलो रु ५५, बन्दा (लोकल) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु ५३, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडी प्रतिकिलो रु ५०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७४, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ४० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, स्कूस प्रतिकिलो रु ७०, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४५, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८५, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३८०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १९०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १८, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १४०, लिची (भारतीय) प्रतिकिलो रु २२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ९५, हरियो धनियाँ प्रतिकिलो रु ३५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी, २५ जेठः मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।

मालिका –३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार स्वास्थ्य एकाइको सुविधायुक्त नयाँ भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलका तीन सय बढी घरपरिवारका लागि स्थापना भएको स्वास्थ्य एकाइ भाडाको घरको साँघुरो कोठामा सञ्चालन हुदै आएको थियो । स्वास्थ्य एकाइ आफ्नै भवनबाट सञ्चालन गरेपछि सेवा प्रवाहमा धेरै सहज भएको छ ।

भुइँतलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल छ । भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु एक करोड ५९ लाख ८३ हजार ७७२ को लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८२ मा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले बताउनुभयो । चालु आर्थिक वर्षको बजेटबाट घेराबार र फर्निचर व्यवस्थापन गरेर नयाँ भवन प्रयोगमा ल्याइएको हो ।

भवन परिसरमा चालु आवमा सङ्घीय सरकारको रु एक करोड विशेष अनुदानबाट बर्थिङ सेन्टर (प्रसूतिगृह) भवन निर्माणाधीन छ । भवनको दोस्रो तला ढलान सकिएको छ । सातवटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् ।

डाडागाउँमा रहेको स्वास्थ्य एकाइमा पुगेर सेवा लिन अपायक पर्ने मालिका –३ मा पर्ने लुम्पीपार र पात्लेका बासिन्दाको लागि पात्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको वडाध्यक्ष बुढाले बताउनुभयो । वडा नं १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ । निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ ।

झापामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भद्रपुर (झापा), २५ जेठः पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो । प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालमा उत्पादित महलाई बजारको अभाव, अत्याधुनिक ल्याब नहुँदा समस्या

काठमाडौं । नेपाली किसानहरुले उत्पादन गर्ने मह प्रवद्र्धन र विक्री गर्न बजारको अभाव भएको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले अत्याधुनिक ल्याबको पनि अभाव रहेको गुनासो गरे ।काठमाडौंको भृकुटीमण्डमा आयोजना गरिएको मह मेलामा सहभागी भएका व्यवसायी एवम उद्यमीहरुले नेपालमा बजारको व्यवस्था नभएको र सरकारले पनि सहजीकरण नगरिदिएको गुनासो गरे ।

महको व्यापारको सम्भावना धेरै भएपनि बजार व्यवस्थापनको कमीका कारण उत्पादन भएक मह स्टकमा बस्ने गरेको नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेले बताए ।

साथै, बजारमा पुर्याउनका लागि प्याकेजिङको व्यवस्था पनि किसान समक्ष पुग्न नसकेको भन्दै बजारको समस्या समाधान गर्नको लागि मेलाको आयोजना गरेका बताए ।

उनले भने, ‘व्यवसायका हिसाबले नेपालमा मौरी पालनको सम्भावना धेरै छ । किनभने नेपालमा वन जंगलहरु पनि धेरै छन् । तर बजारीकरणको अवस्था कमजोर छ । लागत अलि बढि छ र बजारमा पुर्याउनका लागि प्याकेजिङको व्यवस्था पनि किसान समक्ष पुग्न सकेको छैन् ।’

सरकारले बाहिरबाट आयात गरेर ल्याउने महलाई वैज्ञानिक कर लगाएर देशभित्र उत्पादन भएको मह सरल मूल्यमा नेपालको बजारभर पुर्याउने हो भने र बजारको सुनिश्चितता गर्ने हो भने किसानहरुलाई सहज हुने उनीहरुको भनाइ छ ।

उनले भने, ‘बजारीकरणका लागि किसानहरुलाई तालिम, गोष्ठीको आवश्यक्ता छ । महको मूल्य सरकारले निर्धारण गर्ने अनि आयातित महलाई वैज्ञानिक कर लगाउनुपर्छ । बजारको सुनिश्चितता मात्र हुने हो भने पनि किसानहरुलाई सहज हुन्छ ।’

उनका अनुसार ऋणमा किसानहरुको पहुँच एकदमै कम भएको हुनाले सरकारले मौरी पालन व्यवसाय र व्यवस्थापनको लागि योजना धितोमा ऋण दिने व्यवस्था गर्ने हो भने भूमीहिन किसानहरुले पनि व्यवसाय विस्तार गर्न सक्छन् । यसको लागि स्थानीयदेखि प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको उनको भनाई छ ।
मेलाबाट करिब ५० लाखको कारोबारको लक्ष्य राखेका थियौ तर सहभागिता एकदमै कम भएका कारण लक्ष्य पूरा नहुने उनले बताए ।
यस्तै, नेपाल मौरी पालन केन्द्रीय सहकारी संघका अध्यक्ष जानुका थापाले सरकारले महको ल्याबटेस्ट गर्ने मेसिनसम्म पनि उपलब्ध गराउन नसक्नु दुःखद भएको भन्दै छिटोभन्दा छिटो ल्याब र मेसिन उपलब्ध गराउन आग्रह गरिन् ।

उनले भनिन्, ‘मेलामा स्टलका लागि मात्र १५ देखि २० लाख खर्च भएको छ । लगानी गरे अनुसार उठाउने आशा पनि गरेका छौ तर उपभोक्ताहरुको सहभागिता धेरै नै कम छ । प्रचारको अभावले गर्दा पनि यस्तो भएको हो । सबै किसानहरुलाई एउटै छानामुनि ल्याउनको लागि पनि मेला आयोजना भएको हो,’ उनले अगाडि भनिन्,‘आयात गरिएको महले नेपालमा उत्पादन हुने महलाई दबाएको जस्तो पनि लाग्छ । तर यसमा उपभोक्ताहरु सचेत हुनुपर्छ । सरकारले महको ल्याब टेस्ट गर्ने मेसिनसम्म पनि उपलब्ध गराउन सकेको छैन् । यो दुखद कुरा हो । त्यसैले छिटोभन्दा छिटो त्यो ल्याब र मेसिन ल्याउन आग्रह गर्न चाहन्छु ।’

मह व्यवसायी समेत रहेका किसान यम बहादुर अधिकारीले गुणस्तर मह उत्पादन गरेपनि अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन समस्या भएको दुःख व्यक्त गर्छन् ।
उनले नेपाल उच्च खालको प्रविधियुक्त ल्याब नभएको कारण यहाँ भएको ल्याबले परीक्षण गरेको मह बाहिर स्वीकार्य नहुने हुँदा बाहिर पठाउन समस्या भएको भन्दै सरकारले प्रविधियुक्त ल्याबको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् ।

उनले भने, ‘गोरखा, चितवन, तनहुँ लमजुङ, काठमाडौंलगायत विभिन्न जिल्लामा मह विक्री हुन्छ । सरकारले भरपर्दो उच्च खालको प्रविधियुक्त ल्याब नभएको कारण यहाँ भएको ल्याबले परीक्षण गरेको मह बाहिर स्वीकार्य नहुने हुँदा विदेश पठाउन सकेका छैनौ । प्रविधियुक्त ल्याबको आवश्यकता छ ।’
अर्का व्यवसायी बसन्त पोखरेलले भारतीय महले बजार लिएको कारण किसानले उत्पादन गरेको मह विक्रीमा समस्या आएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए ।

बाहिरबाट आएको मह मिसावटी, काँचो र महंगो हुने हुँदा नेपाली महको हुने भएकाले स्वदेशी महलाई प्रवद्र्धन आवश्यक रहेको उनले बताए । उनले भने, ‘प्यूठान, रोल्पा, अर्घाखाँची र कपिलवस्तुको मह काठमाडौंसम्म व्यापार हुन्छ । विदेशसम्म आयात गर्ने प्रयासमा छौ । महको व्यापार राम्रो नै छ,’ उनले अगाडि भने,‘हाल भारतीय महहरु बजारमा आइरहेका छन् । ती महहरुमा मिसावट हुन्छ । यसमा उपभोक्ता सतर्क हुनुपर्छ । यसलाई सरकारले पनि ध्यान दिनुपर्छ ।’
१० वर्षदेखि महको व्यवसामा लागेका किसान तरुण खड्काले नेपालमा मौरी पालनको सम्भावना भएपनि बजारको अभाव भएको गुनासो गरे । उनका अनुसार सरकारले बाहिरको महलाई गुणस्तर हेरेर थोरै मात्र विक्री गर्न दिने हो भने नेपालको महले बजार पाउछ सक्छ ।

अर्का व्यापारी सिजन रेग्मीले भने आफ्नो महको ब्राण्ड अन्तर्राष्ट्रिय स्तरमा विक्री भइरहेको सुनाए । उनले उत्पादन गरेको मह ४० वटा देशहरुमा पुगेको दावी गरे ।
काठमाडौंमा आयोजित मेला नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास केन्द्रको संयुक्त आयोजनामा भएको हो ।

मेलाको सहआयोजकमा मौरी विकास केन्द्र गोदावरी, मौरीपालन विकास केन्द्र भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवन, जिम्याप नेपाल रहेका छन् ।

कटहरीमा २ अर्ब लागतको जीवन विकास अस्पतालको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्माण गरिएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । शनिबार हेलिकप्टरमार्फत कटहरी पुगेका प्रधानमन्त्री ओलीले दुई अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको २०० शैय्याको अत्याधुनिक अस्पताल उद्घाटन गरेका हुन् ।

ग्रामीण भेगमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल जीवन विकास समाजद्वारा स्थापना गरिएको हो, जसका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल हुन् । मण्डल मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यसमेत हुन्, जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।

अध्यक्ष मण्डलका अनुसार अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकको टोलीमार्फत सेवा प्रदान गरिनेछ । यहाँ आकस्मिक सेवा, विशेषज्ञद्वारा दैनिक ओपीडी, निर्मल तथा पेनलेस डेलिभरी सेवा, सामान्य र दुरबिन प्रविधिबाट हुने सबै प्रकारका शल्यक्रिया, बालरोग उपचार तथा डायलासिस सेवा उपलब्ध हुनेछ।

हाल अस्पतालमा २५ शैय्याको आईसीयू, ९ शैय्याको नवजात सघन कक्ष (एनआइसीयू), र १० शैय्याको सिसियु (सीसीयू) सञ्चालनमा छन्। मण्डलका अनुसार अस्पतालमा दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित २०० जना स्वास्थ्यकर्मी कार्यरत छन्।स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस अस्पतालले मोरङको ग्रामीण क्षेत्रका साथै आसपासका जिल्लाका नागरिकलाई समेत प्रत्यक्ष फाइदा पु¥याउने विश्वास गरिएको छ।

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू—भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू—भागका एक÷दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका ‍एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन

बाजुरा, २५ जेठः बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ । गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छभने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब रु १५ करोडभन्दा बढी क्षति भएको बताइएको छ ।

राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ ।

शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नं ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपान), बुढीगङ्गा नगरपालिकाका उपप्रमुख माया खड्का (कँुवर), लगायत हुनुहुन्छ । दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि स्थानीय तह, सङ्घ, प्रदेश र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका नगरप्रमुख थापाले बताउनुभयो ।

एक लाख सहयोग

बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले रु एक लाख राहतस्वरुप सहयोग गरेको छ । बुढीनन्दा नगरप्रमुख बोहराले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई रु एक लाख नगद हस्तान्तरण गर्नुभएको बुढीगङ्गा –६ का वडाध्यक्ष जैशीले बताउनुभयो ।

आगलागीपीडितका लागि राहत वितरण तथा पुनःस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको नगरप्रमुख बोहराले बताउनुभयो । विपत्तिका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘दुई सयको बचत, दस हजारको सहारा’

इलाम, २५ जेठः विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ । त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको छ ।

“अप्ठ्यारो पर्दा चर्को ब्याजमा ऋण खानुपरेको छैन । सहकारी सुरु भएपछि हामीलाई सहारा मिलेको छ”, संस्थाकी कोषाध्यक्ष रीना राईले बताउनुभयो । “सहकारीले १२ प्रतिशत ब्याजदरमा अधिकतम रु १० हजार ऋण उपलब्ध गराउँछ । एक सदस्यले तीन महिनाका लागि ऋण लिन पाउने व्यवस्था छ । तीन महिनाका लागि रु १० हजार ऋण लिएमा जम्मा रु तीन सय ६० ब्याज तिर्नुपर्छ ।”

सहकारीकी सहसचिव माया राईका अनुसार यो ऋणले बालबच्चाको पढाइदेखि तरकारीखेती, बीउबिजन खरिदजस्ता काममा सदस्यलाई सहुलियत दिएको छ । विसं २०७९ मा स्थापना भएको सो सहकारीमा हाल ७३ परिवार आबद्ध छन् । विदेश गएका वा फर्किएका सदस्यमात्र सामेल हुन पाउने यो सहकारीले आर्थिक समृद्धिको यात्रामा महत्त्वपूर्ण पाइला चालेको छ । सुरुमा ४० जना सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको हो ।

वित्तीय साक्षरतामा पनि संस्था सशक्त बन्दै गएको छ । विसं २०७६ मा सूर्योदय नगरपालिकाले सामी कार्यक्रमअन्तर्गत २५ जनालाई २४ हप्ते वित्तीय साक्षरता तालिम दिएको थियो । सहकारीका कोषाध्यक्ष राईका अनुसार तालिमले सदस्यहरूमा वित्तीय अनुशासन र सचेतना बढेको छ । तालिमपछि ३० जनाले उद्यमशीलता तालिम पनि लिए, जसअन्तर्गत अचार र बाँसको अचार बनाउने सीप प्राप्त गरेका थिए । तालिमपछि स्थानीय महिलाहरूले मिक्स अचार, अकबरे पेस्ट, आँप र फर्सीको अचार उत्पादन गरी बिक्री गर्न थालेका छन् ।

सचिव हेमकुमारी भट्टराईका अनुसार सामीले दिएको रु सात हजार सहयोगबाट सुरू गरिएको अचार व्यवसायले हालसम्म रु ३५ हजार आम्दानी दिएको छ । मेला र महोत्सवमा मागअनुसार तयारी गरेर बिक्री गरिने गरिएको छ । संस्थालाई गत वर्ष सूर्योदय नगरपालिकाले रु एक लाख बराबरको टेबल, कुर्सी, दराज र र्याक सहयोगस्वरूप प्रदान गरेको थियो । सहकारीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार स्थानीय डम्बरसिंह राईले घरभाडामा सहुलियत दिनुभएको छ । अध्यक्ष अधिकारीले सहकारीका लागि आफ्नै भवन निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । भवन निर्माणका लागि श्रमदान, व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत एकतले भवन वडा नं १३ मा निर्माण गरिने छ ।

सहकारीका अगुवा सदस्य माया राईका श्रीमान् बिदुप्रकाश राई नौ वर्षदेखि मलेसियामा कार्यरत हुनुहुन्छ भने कोषाध्यक्ष रीना राईका श्रीमान् नन्दलाल साउदीमा २९ महिना र मलेसियामा आठ वर्ष बसेपछि हाल गाउँमै कृषि, पशुपालन र चियाबारीमा संलग्न हुनुहुन्छ । विदेशिएका परिवारको आफ्नै पहल र सहयोगमा सञ्चालित यस सहकारीले गाउँमा रोजगारी र आत्मनिर्भरता अभिवृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको छ ।

कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटकको आगमन सुरु

सिमकोट (हुम्ला-पवित्र धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटक हुम्ला आउन थालेका छन् । कैलाश मानसरोवर जान आज १२ भारतीय पर्यटक यहाँ आइपुगेका हुन् ।

यस वर्ष पहिलोपटक विदेशी पर्यटक कैलाश मानसरोवर दर्शनका लागि आएका सिमकोट विमानस्थलमा राजस्व सङ्कलनमा खटिएका दिपेन्द्र भण्डारीले जानकारी दिनुभयो । उनीहरू काठमाडौँबाट केरुङ नाका भएर हुम्ला आइपुगेका हुन् । राजस्व सङ्कलक भण्डारीका अनुसार भारतीय पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार एक सय सङ्कलन गर्ने गरिएको छ ।

हुम्ला पुगेका विदेशी पर्यटक एक दिन सिमकोट बास बसेर अर्को दिन सिमकोटबाट चीनसँग जोडिएको सीमानाका हिल्सा हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर बढी विदेशी पर्यटक आउने अनुमान गरिएको छ ।

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत,‘ब्रेक थ्रू’ भएपछि कामले गति लिदै

तानसेन (पाल्पा)- राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो ।

अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर काम सकिएको छभने लाइनिङको एक हजार १२६ मध्ये ६६० मिटर काम सकिएको हो ।

इन्जिनियर ज्ञवालीले बाइपास–१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको जनाउँदै बाइपास–३ मा ‘इन्भर्ट’ को काम सुरु भएको बताउनुभयो । बाइपास–१ मा १५१ मिटर रहेकामा १४५ मिटर र लाइनिङको ११८ मिटर काम भइसकेको उहाँले उल्लेख गर्नुभयो ।

“बाइपास–२ मा १६१ मिटर छ । यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन् । बाइपास–३ मा १३० मिटर छ । जसमा इन्र्भटको ३६ मिटर काम भइसकेको छ । लाइनिङको काम भने सुरु भएको छैन्”, ज्ञवालीले भन्नुभयो ।

यहाँ यथाशीघ्र भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने उहाँले जानकारी दिनुभयो । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण गरिने उहाँको भनाइ छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग विसं २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । विसं २०८३ मा सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताउनुभयो ।

यसअघि पहिरोका कारण क्षति ब्यहोर्नाका साथै त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्री सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि खुसी भएका छन् । यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म सवारीसाधान आवतजावत गर्दछन् ।

यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति हुने गरेपछि सुरुङमार्ग निर्माण थालिएको हो । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।

बजेट सुनिश्चित भएपछि काम तीव्र गतिमा भइरहेको इन्जिनियर ज्ञवालीले उल्लेख गर्नुभयो । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा यस खण्डका लागि रकम विनियोजना गरेपछि समयमा काम सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सरकारले पाल्पा–सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि काम समयमा सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीय गोविन्द्र पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक मन्दीका कारण बजेट कटौती गरेर सुरुङमार्गको काम समयमा नसकिने हो भन्ने लागेको थियो । सरकारले बजेटमा प्राथमिकता दिएर रकम विनियोजन गरेपछि हामी ढुक्क छौँ ।”

स्थानीय गम्भीर रायमाझीले कतिपय निर्माणाधीन आयोजनाहरू बजेट अभावमा अलपत्र परेका उदाहरण रहेका भन्दै सरकारले यस खण्डलाई प्राथमिकतामा राख्नु हाम्रा लागि खुसीको विषय भएको बताउनुभयो । बजेट विनियोजनले सुरुङमार्गको काम निर्धारित समयमा सकिने भन्दै सुरुङमार्ग सम्पन्न भएपश्चात् आवागमन सहज हुने धारणा राख्नुभयो ।

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली, २५ जेठः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही रु ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गरिन् । पुरुषतर्फ बस्नेतले ३१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरे भने महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् ।

त्यसैगरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८ सेकेन्ड, तेस्रो हुने मिङमार सिङ्गी तामाङले ३१ मिनेट ५७ सेकेन्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट सात सेकेन्ड र पाँचौँ स्थान हासिल गर्ने युवकराज बुढाले ३३ मिनेट २६ सेकेन्डमा उक्त दूरी पार गरे ।

महिलातर्फ दोस्रो हुने दीपा परियारले ३७ मिनेट ५३ सेकेन्ड, तेस्रो हुने सिर्जना पाण्डेले ३८ मिनेट २७ सेकेन्ड, चौथो हुने आशा रावतले ३९ मिनेट ५३ सेकेन्ड र पाँचौँ हुने राज्यलक्ष्मी रावतले ४० मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गरिन् । प्रतियोगितामा महिला–पुरुषतर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्नेलाई क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिएको एकेडेमीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले जानकारी दिए ।

त्यसैगरी अठार वर्षमुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ पहिलो रमेश बुढा, दोस्रो पुरण सिंह, तेस्रो रमेश शाही, चौथो भूपेन्द्र कँडेल र पाँचौँ हेमन्त नेपालीलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु ५ हजार र रु ३ हजार नगद पुरस्कार प्रदान गरियो ।

अठार वर्षमुनिका महिलातर्फ प्रथम हुने कल्पना बुढा, दोस्रो सन्देला बुढा, तेस्रो निरुता ढकाल, चौथो सृष्टि जोशी र पाँचौँ स्थान हासिल गर्ने निर्मलाकुमारी खड्कालाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु ५ हजार र रु ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । ‘सबैका लागि खेल’ नारासहित खेलकुदको प्रवर्द्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर), २५ जेठः बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ ।कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली–पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले प्रभावित बनेको महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारि इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिनुभयो ।

दोदा नदीमा पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ ।

“पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “बजेट अभावले काम प्रभावित भएको छ, हामीले रु १० करोड बजेट माग गरेका छौँ ।”

त्यसैगरी मुसेपानी खोला पुलमा बजेट नहुँदा पहुँचमार्ग निर्माण हुनसकेको छैन । पुल निर्माणको ९२ प्रतिशत काम सम्पन्न भए पनि बजेट अभावले पहुँचमार्ग निर्माण हुन नसकेको सूचना अधिकारी जोशीले बताउनुभयो । उहाँका अनुसार २०७४ साल जेठ १० गते रु १५ करोड ४३ लाखमा राजेन्द्र लुम्बिनी जेभीसँग २०७७ जेठ १० मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।

समयमा पुल निर्माण हुन नसक्दा पाँचपटक म्याद थप भएर २०८१ पुसभित्र सम्पन्न गरिसक्नुपर्ने समयावधि भए पनि बजेट अभावले निर्माण सम्पन्न हुन नसकेको हो । पुलको बाँकि काम सम्पन्न गर्नका लागि रु चार करोड बजेट माग गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २५ जेठः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २५ पैसा र बिक्रीदर १४ रुपैयाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ६४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

बेनी (म्याग्दी), २५ जेठः धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो ।

सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको काम सम्पन्न गर्न आग्रह गर्नुभयो । योसँगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ ।

यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भइरहेको छ । अडिटतर्फबाट निर्माण भइरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ एक किलोमिटर ८६५ मिटर लामो हुने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो । उहाँका अनुसार, यस आयोजनामा बाँधबाट विद्युत्गृहसम्म पाँच किलोमिटर सात सय मिटर सुरुङ निर्माण हुनेछ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले धवलागिरि–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणस्थलमा पर्याप्त मात्रामा जनशक्ति निर्माण सामग्री र उपकरणको बन्दोबस्त मिलाएको आयोजना प्रमुख केसीले जानकारी दिनुभयो । विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।

छहरीको १९८ दशमलव ९० मिटर लामो अडिट सुरुङ, बाँधतर्फबाट सुरु गरिएको ७६ दशमलव ५४ मिटर लामो सुरुङ र अडिटबाट थप एक किलोमिटर २७० दशमलव ६७ मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको छ ।

सानिमा बैंकको नेतृत्वमा छवटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख लगानीमा निर्माण हुने आयोजनाको विद्युत्गृह मालिका–७ भारवाङमा रहनेछ । भारवाङबाट एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सबस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिने छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २५ जेठः सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

अदालतबाट न्याय पाउने विश्वास छः अध्यक्ष नेपाल

काठमाडौँ, २४ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई समेत मुछेर दायर गरिएको मुद्दामा न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दामा असन्तुष्टि प्रकट गर्नुभयो ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलिलाई जग्गा उपलब्ध गराइएको जिकिर गर्नुभयो । यस विषयमा कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको र अदालतबाट आउने फैसलालाई आफूले सम्मान गर्ने बताउनुभयो ।

देशभर साङ्गठनिक सुदृढीकरण गर्न जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित करलाई सहज बनाउने उद्देश्यले भएको वार्तामा ‘प्रगति’ भइरहेको जापानले शनिबार बताएको छ । दुई पक्षबीच ‘सहमतिको बिन्दु’ फेला भने नपरेको जापानी अधिकारीले बताएका छन् ।

अमेरिकाको एक प्रमुख सहयोगी र सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि पनि अधिकांश देशहरूमा लगाइएको कर समान १० प्रतिशतको आधारभूत शुल्क लगाउने ट्रम्प प्रशासनले घोषणा गरेको छ । यसबाहेक कार, इस्पात र आल्मुनियममा कडा कर दरको घोषणा गरिएको छ ।

ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि थप २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा गर्नुभएको थियो तर पछि जुलाईको सुरुसम्मका लागि अन्य देशहरूलाई जस्तै पनि वार्ताका लागि समय दिनुभएको छ ।

जापानले ट्रम्पले घोषणा गरेका सबै कर हटाउन चाहेको छ ।

अमेरिकाका लागि टोकियोका व्यापार प्रतिनिधि रयोसी अकाजावाले वासिङ्टनमा जापानी पत्रकारहरुसँग भन्नुभयो, “पाँचौं चरणको वार्ताका क्रममा हामीले सम्झौताको दिशामा थप प्रगति गरेका छौँ ।”

उहाँले भन्नुभएको छ, वार्तामा प्रगति भएको छ तर अहिलेसम्म सहमतिको बिन्दु पत्ता लगाउन सकिएको छैन ।”

अकाजावाका अनुसार टोकियोले जतिसक्दो चाँडो सम्झौता गर्ने आशा गरेको छ, तर जुन १५ मा सुरु हुने जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा वार्ता जारी रहन सक्छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबा र ट्रम्पले क्यानडामा हुने जी–७ शिखर सम्मेलनको समयमा द्विपक्षीय वार्ता गर्ने योजना बनाएको बताइएको छ ।

वासिङ्टनको कारमा २५ प्रतिशत कर लगाउने निर्णय टोकियोका लागि पीडादायी छ । सबै जापानी रोजगारीको लगभग आठ प्रतिशत यस क्षेत्रसँग सम्बन्धित छ ।

विश्वको चौथो ठूलो अर्थतन्त्र जापानको अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले खुम्चिएको छ, जसले जुलाईमा हुने माथिल्लो सदनको चुनावअघि लोकप्रियता घटिरहेको देखिएका इशिबामाथि दबाब थपेको छ ।

मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताउनुभएको छ ।

विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ ।

ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेको बताएका छन् ।

ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्यूजर्सी गल्फ क्लबजाने क्रममा पत्रकारहरूसँग भन्नुभयो, “इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रूस, इरानसँगको छलफलमा व्यस्त भएको छु । म एलन मस्कको बारेमा सोचिरहेको छैन । म उहाँको राम्रो कामको लागि कामना गर्दछु।”

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी प्रसारणकर्ताहरूसँग भन्नुभएको थियो, “अब म आफ्नो ‘ठूलो र उत्कृष्ट’ बिललाई कङ्ग्रेसबाट पारित गर्नमा ध्यान केन्द्रित गर्छु । यसबारे मस्कको कठोर आलोचनाले विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको टकरावलाई बढावा दिएको थियो।”

रिपब्लिकन नेतासमेत रहनुभएका ७८ वर्षीय राष्ट्रपति ट्रम्पले निकट मित्रबाट शत्रु बनेका दक्षिण अफ्रिकी मूलका आफ्ना पूर्र्व सहयोगीलाई निशाना बनाउनबाट आफूलाई टाढा राख्न सक्नुभएको छैन ।

मस्कको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले एबीसीसँगको कुराकानीमा भन्नुभयो, “तपाईको मतलब ‘सोच्ने शक्ति गुमाएको मान्छे’? म मस्कसँग कुरा गर्न ‘खासै’ इच्छुक छैन।”
ट्रम्पले पछि फक्स न्यूजसँग भन्नुभयो, मस्कले सोच्ने शक्ति गुमाउनुभएको छ ।”

उहाँहरूबीच विवाद चुलिएपछि तथाकथित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डिओजिई)’ मा चार महिना काम गरेपछि आफ्नो लागत कटौतीको भूमिकाबाट मस्कले एक साताअघि मात्र बिदा लिने निर्णय गर्नुभएको थियो ।

व्यापार तनावका समाचारहरू आइरहेका बेला उहाँहरूको सम्बन्ध जुन तीव्र गतिमा बिग्रियो, त्यसले वासिङ्टनलाई स्तब्ध बनाएको छ ।

मस्कले गत मङ्गलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि ट्रम्पले बिहीबार आफ्नो कार्यालय (ओभल अफिस) बाट एक टिप्पणीमार्फत् जवाफ दिँदै मस्कबाट आफू ‘धेरै निराश’ भएको बताउनुभएको थियो ।

ट्रम्पको खर्च विधेयकले कंग्रेसमार्फत कठिन मार्गको सामना गरिरहेको छ यसले अमेरिकी घाटा बढाउने र लाखौं गरिब अमेरिकीहरूको स्वास्थ्य सेवामा कटौती गर्ने आलोचकहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेस एक्सका प्रमुखको अर्बौं डलरको रकेट र स्याटेलाइट सम्झौता रद्द गर्न सक्ने बताउनुभएको छ ।

मस्कको सम्झौता कटौती गर्नेबारे कत्तिको गम्भीरतापूर्वक विचार गरिरहनुभएको छ भनी सोधिएको प्रश्नमा ट्रम्पले शुक्रबार राति यसबारे भन्नुभयो, “यो धेरै पैसा हो, यो धेरै अनुदान हो, त्यसैले हामीले एक नजर लगाउनेछौँ र यो देशको लागि उचित हुन्छ भने मात्र अघि बढाइनेछ।”

सामाजिक सञ्जालमा शत्रुतालाई कम गर्ने प्रयास गर्दै नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष केन्द्रसम्म पु¥याउनका लागि आवश्यक पर्ने आफ्नो कम्पनीको ड्रागन अन्तरिक्ष यानलाई रद्द गर्ने चेतावनीलाई मस्कले शुक्रबार फिर्ता लिनुभएको थियो ।

रुस–युक्रेन शान्ति प्रयासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न संयुक्त राष्ट्रसङ्घलाई ब्राजिलको आग्रह

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन द्वन्द्व समाधानका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घलाई आह्वान गर्नुभएको छ । उहाँले समस्याको समाधान खोज्न एक समूह गठन गर्न राष्ट्रसङ्घलाई सुझाब दिनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता द्वन्द्व समाधानका लागि ब्राजिलको ‘अत्यन्त महत्वपूर्ण भूमिका’ रहेको बताएपछि लुलाले फ्रान्स भ्रमणका क्रममा पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुभएको हो ।

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ताले तीन वर्षभन्दा बढी को लडाईंमा विराम लगाउन असफल भएपछि दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्ता यसै साता इस्तानबुलमा सुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई ‘असल मानिस’ को संज्ञा दिँदै लुलाले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घ फेरि यस मामिलामा नायक बन्न सक्छ ।”

राष्ट्रपति लुलाले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घका प्रमुखले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी नेता भ्लादिमिर पुटिन दुवैलाई ‘मित्रहरूको एउटा समूहको प्रस्ताव’ गर्नुपर्छ । त्यसपछि ‘उनीहरू आपसमा कुरा गर्नेछन्, आ–आफ्ना सत्य सुन्नेछन् र त्यसपछि विकल्प निर्माण गर्नेछन्।”

उहाँले भन्नुभयो, “म जेलेन्स्की र पुटिनसँग वार्ता गर्न युद्धमा संलग्न नभएका देशहरू सम्मिलित एक आयोग गठन गर्न प्रस्ताव गर्दछु।”

उहाँले थप्नुभयो, “कुनै पनि पक्षले आफूले चाहेको कुरा पाउने छैनन् तर जे सम्भव छ त्यो प्राप्त गर्न सक्नेछन् । न त जेलेन्स्कीको पक्षमा शत प्रतिशत अवस्था छ, न त पुटिनको पक्षमा वातावरण छ।”

अधिकांश युरोपेली देशहरूको विपरीत राष्ट्रपति लुलाले मस्कोसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुभएको छ र युक्रेन द्वन्द्वप्रति तटस्थ प्रस्तुत हुने प्रयास गरिरहनुभएको छ ।

जुलाईमा रियो दि जेनेरियोमा ब्रिक्स समूहको अर्को शिखर सम्मेलन आयोजना गर्न लागेका राष्ट्रपति लुलाले युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा रुसमा निर्वासित गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको पक्राउ पुर्जीका बावजुद पुटिनलाई बैठकमा आमन्त्रण गरिएको बताउनुभयो ।

रुसले शनिबार युक्रेनमाथि कब्जामा लिएका सैनिकको ठूलो परिमाणमा आदानप्रदान स्थगित गरेको आरोप लगाएको थियो ।

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

अमेरिकी प्रविधि अर्बपति एलन मस्कले डोनाल्ड ट्रम्प र दिवङ्गत यौन अपराधी जेफ्रे एप्स्टिनको सम्बन्ध रहेको एक विवादास्पद आरोपलाई हटाउनुभएको छ ।

बिहीवार अबेर उहाँले ट्रम्पका विरुद्ध ‘ठूलो बम’ खसाल्न लागेको भन्दै विना प्रमाण दिवङ्गत एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलहरूमा ट्रम्पको नाम पनि रहेको आरोप लगाउनुभएको थियो ।

ह्वाइट हाउसको शीर्ष सल्लाहकारको भूमिकाबाट बाहिरिएका खर्बपति प्रविधि उद्यमी मस्कले सन् २०१९ मा यौन तस्करीको आरोप खेपिरहेका बेला आत्महत्या गर्नुभएकी एप्स्टिनसँग राष्ट्रपति ट्रम्पको नाम जोडेपछि दुई अधिकारीबीचको तनाव चुलिएको थियो ।

ट्रम्प प्रशासनले दशौ हजार कागजात, भिडियो र खोजी सामग्रीको समीक्षा गरिरहेको बताउँदै यसले ‘एमएजिए’ आन्दोलनले एप्स्टिनको अपराधमा संलग्न सार्वजनिक व्यक्तिहरूको पर्दाफास गर्ने जनाएको छ ।

सन् २०२४ को सुरुमा न्यूयोर्कका एक न्यायाधीशले एप्स्टिनसँग सम्बन्धित बयान र बयानको सूचीमा रिपब्लिकन नेता ट्रम्पको नाम रहेको बताउनुभएको थियो । राष्ट्रपतिमाथि यस मामिलामा कुनै गलत काम गरेको आरोप लगाइएको छैन।

बिहीबारको पोष्टमा मस्कले आफू कुन फाइलका बारेमा कुरा गरिरहनुभएको हो भन्ने खुलाउनुभएको थिएन र दाबीका लागि कुनै प्रमाण पेश गर्नुभएको थिएन ।

उहाँले सुरुमा आफ्नो दाबीलाई दोब्बर बनाउँदै पुन गरेको अर्को पोष्टमा लेख्नुभएको थियो, “भविष्यको लागि यो पोस्टमा चिन्ह लगाउनुहोस्। सच्चाई सामुन्ने आउनेछ। ”

उहाँले शनिबार बिहानसम्म दुवै ट्वीट ‘डिलिट’ गरेको (हटाएको) देखिन्छ ।

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

मोरङ, २४ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई सहयोग पुर्‍याउने उद्देश्यले निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्य भएको बताउनुभएको छ ।

मोरङ कटहरी गाउँपालिका-२ हल्दिबारमा स्थापना भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र सरोकार भएका निकायको सहयोगबिना निजी लगानीमा सुविधासम्पन्न अस्पताल निर्माण गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने काम प्रशंसनीय रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सङ्घीय सांसदका रूपमा अस्पताल सञ्चालक समितिका अध्यक्ष योगेन्द्र मण्डललाई चयन गरेकामा यहाँका जनतालाई धन्यवाद दिँदै सबै जनप्रतिनिधिले सांसद मण्डल जस्ते सृजनशील काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले आर्थिक अभाव भएकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने नीति लिएको छ, यो समाजका लागि उदाहरणीय कार्य हो ।”

प्रधानमन्त्री ओलीले रु दुई अर्ब लगानीमा बनेको दुई सय शय्याको यस अस्पतालाले रकमको अभावमा उपचार नपाएका बिरामीलाई फर्कन नदिने सङ्कल्प लिएकोप्रति सराहना गर्नुभयो । आगामी दिनमा अस्पतालले तीन सय शय्या पुर्‍याउने र शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको भन्दै यसमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई अस्पताल परिसरमा आयोजित कार्यक्रममा मण्डलसहित स्थानीय अगुवा, जनप्रतिनिधि र समुदायले स्वागत गर्नुभएको थियो ।

अस्पतालका सञ्चालक समितिका अध्यक्ष एवं सांसद मण्डलले समुदायमा रहेका गरिब जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याइएको वताउनुभयो । उहाँका अनुसार अस्पतालले आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहित उपचार प्रवाह गर्नेछ ।

अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञमार्फत आकस्मिक सेवा, बहिरङ्ग (ओपिडी) सेवा, साधारण तथा पेनलेस डेलिभरी सेवा, जेनरल तथा आइसियु, एनआइसियु, सिसियु, एचडिसियु, पिआइसियु, डिजिटल एक्सरे, भिडियो एक्सरे, दुरविनबाट सबै किसिमका शल्यक्रिया सेवा, बालरोगसम्बन्धी सेवा, डायलाइसिस तथा प्रयोगशाला सेवा, नाक, कान र घाँटी, आँखा जाँचलगायत सेवा प्रदान गर्नेछ ।

मण्डलका अनुसार अस्पतालमा अहिले विषेशज्ञ चिकित्सकसहित दुई सय जनशक्ति रहेका छन् । आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन, अध्यापन सञ्चालनमा ल्याउने गरी सेवा विस्तार गर्दै लैजाने उहाँले जानकारी दिनुभयो ।

नयाँ ‘फेस अफ नेपाल’को खोजी सुरु

काठमाडौँ । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीहरुले अनलाइन मार्फत फर्म भर्न सक्नेछन् ।

यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन । गएका वर्षहरूमा उचाईमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन् |

फेस अफ नेपाल की नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारणले नै सहभागीता जनाउन चाहनेहरु पछि पर्नु नपरोस् भनेर यस बर्षबाट उचाईको मापदण्ड हटाइएको जानकारी दिइन्। उनले उमेरमा भने १८ वर्ष पुरा भएको र ३० वर्षभन्दा भित्रको रहनुपर्ने मापदण्ड यथावत रहेको जानकारी गराइन्।

यसपटकबाट कोरियोग्राफरको रूपमा दिक्पाल कार्की भित्रिएका छन्। पत्रकार सम्मेलनमा फेस अफ नेपाल २०२४ का विजेताहरू हिमाञ्चल राज केसी र टिना परियार उपस्थित थिए। उनीहरूले २०२४ को विजेता भइसके पछाडि आफूहरूमा आएको परिवर्तन बारे पनि सुनाएका थिए।

गायक नारायण थापाले आफ्ना चर्चित गीतहरु मार्फत झुमाए दर्शक

काठमाडौं २४ जेठ । जेठ १२ गते देखि २५ गतेसम्म नागार्जुन ६ डाँडापैवा सितापाईलामा संचालन भैरहेको कृषि सांस्कृतिक तथा ब्यापार महोत्सव २०८२ मा चर्चित गायक नारायण थापाले आफ्ना चर्चित गीतहरु मार्फत दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरेकाछन।

प्रतिकुल मौसमका बाबजुद पनि उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको महोत्सवमा बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति पस्चात स्टेज चढेका गायक थापाले डबल पारेर, लेख्यामाया पाईएन,माया जालैमा, मायाले लगायत आधा दर्जन भन्दा बढि आफ्ना चर्चित गीतहरुमार्फत दर्शकहरुलाई भरपुर मनोरंजन गराएका थिए।

गायक थापासँगै दर्शकहरुले पनि साथमा गाएर साथदिंदा महोत्सवको माहोल उल्लासमय बनेकोथियो पछिल्लो समय मेला महोत्सवको पर्याय बनेका गायक थापा निकट भबिष्यमा बरपिपल, बनैमा फुल्ने जस्ता डान्सिंग गीतमार्फत दर्शक झुमाउने तरखरमा छन भने ति गीतहरुले दर्शकको मन जित्ने कुरामा पुर्ण आशाबादी छन्।

जुलाई २० तारिखका दिन दुबईमा गुन्जिँदै कुमा सागर

दुबई । आगामी जुलाई २० तारिखका दिन दुबईमा पहिलोपटक गायक कुमा सागर र लोकप्रिय ख्वप ब्यान्डको बृहत् सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाली समुदायको सांगीतिक स्वादलाई मध्यनजर गर्दै तेस्रो संस्करणको गोर्खा साँझ अन्तर्गत यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई लाइभ नेपाली संगीतको प्यास मेटाउने अपेक्षा गरिएको छ।

कार्यक्रम दुबईस्थित अल नासर क्लबमा आयोजना हुने आयोजक तथा एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए । जुन स्थान औद मेथा मेट्रो स्टेशनको नजिकै पर्छ। दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म चल्ने कार्यक्रममा नेपाली सांगीतिक रंग, मेलोडी र देशप्रेमको समिश्रण रहने ठकुरीको भनाइ छ।

कार्यक्रमको प्रदेश शुल्क ५० दिराम तोकिएको छ भने दर्शकहरूले लाइभ सांगीतिक अनुभव लिन पाउनेछन्। गायक कुमार सागर आफ्ना ‘देशप्रेमी’ तथा ‘प्यासनल’ गीतहरूका लागि परिचित छन् भने ख्वप ब्यान्डले पछिल्लो दशकमा नेपालको मौलिकता झल्काउने संगीतमार्फत छुट्टै पहिचान बनाइसकेको छ। दुबईमा उनीहरू दुवै पहिलोपटक एकै मञ्चमा देखिन लागेकोले कार्यक्रम थप रोमाञ्चक हुने विश्वास गरिएको छ।

गोरखा साँझले यसअघि पनि युएईमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। आयोजक भीम मल्ल ठकुरीले भने, “यो केवल कन्सर्ट होइन, हाम्रो पहिचान, भावना र एकता प्रदर्शन गर्ने अवसर हो ।”

दुबईलगायत यूएईभरिबाट दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको कार्यक्रमका लागि आयोजकले समयमै टिकट सुनिश्चित गर्न आग्रह गरेको छ ।

कार्यक्रमको टाइटल स्पोन्सर माउन्ट एभरेस्ट सुपरमार्केट रहेको छ भने अन्य सहयोगीहरुले पनि सहयोगी संस्थाहरुले पनि कार्यक्रमलाई भव्य बनाउन साथ दिने क्रम जारी रहेको ठकुरीले बताए ।

वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन

बनियानी, २४ जेठः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताउनुभएको छ ।

झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताउनुभयो । जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहे पनि कतिपय राम्रा रहेको उल्लेख गर्नुभयो ।

सीप सिकेको युवा देश तथा विदेशमा काम गर्न सक्षम हुन्छ : मुख्यमन्त्री लामा

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देश तथा विदेशमा सीपको आवश्यक पर्ने भएकाले जुनसुकै सीप सिक्न जरुरी रहेको बताएका छन् ।

देश विकासका लागि सीप सिकेका युवा आवश्यक पर्ने भन्दै उनले हरेक युवाहरुले सीप सिक्न आवश्यक रहेको पनि बताए ।काठमाडौं महानगरपालिकाले आयोजना गरेको दोस्रो संकरणको सीप मेलाको शनिबार अवलोकन गर्दै सबैखाले डाटा राख्न सकियो भने सुशासन कायम गर्न सकिने पनि औंल्याए । उनले भ्रष्टाचार गर्ने विधि अपनाउन सुझाव पनि दिए ।

अरुले गरेको कुरा हामी किन गर्न सक्दैनौं भन्ने महानगरले प्रमाण गरिदिएको दावी गरेको मुख्यमन्त्री लामाले सीप मेलाको प्रशंसा समेत गरे । नयाँ परिवर्तनका लागि टेक्नोलोजीलाई बढी प्राथामिकता दिए राम्रो हुने उनले बताए ।

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी, २४ जेठः गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । यही जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमबारे प्रदेशसभा सदस्यहरूले विभिन्न सुझाव तथा धारणा राख्नुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले समुन्नत र आत्मनिर्भर प्रदेशको लक्ष्यलाई आत्मसात् गरेको बताउनुभयो । “यो नीति तथा कार्यक्रमले प्रदेश सरकारलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग पुग्नेछ, नीतिगत र संरचनागत सुधारका महत्वपूर्ण विषयलाई यसले समेटेको छ”, उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य सीताकुमारी सुन्दासले प्रदेशको समग्र विकासको अवधारणालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको बताउनुभयो । उहाँले करको दायरा फराकिलो पार्दै राजस्व सङ्कलनलाई वृद्धि गर्ने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य सुशीला सिम्खडाले नीति तथा कार्यक्रममा ठोस र मूर्त विषय आउन नसकेको धारणा राख्नुभयो । “महिलालगायत सीमान्तकृत वर्ग र समुदायको उत्थानका लागि स्पष्ट कार्यक्रम छैन”, उहाँले भन्नुभयो, “घोषणा गरिएका कार्यक्रम कार्यान्वयन हुने ठोस आधार पनि देखिँदैन, स्वास्थ्यलगायतका क्षेत्रमा मानव संसाधनको विषयलाई नीति तथा कार्यक्रमले समेट्न सकेको छैन ।”

प्रदेशसभा सदस्य महेश भट्टराईले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नेगरी नीति तथा कार्यक्रम आएको बताउनुभयो । उहाँले आत्मनिर्भर र समुन्नत गण्डकी प्रदेशको आधार तयार हुँदै गएको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले लगानीका क्षेत्र स्पष्ट किटान गर्नुपर्ने बताउनुभयो । महत्वकाङ्क्षी नभई कार्यान्वयनयोग्य कार्यक्रम मात्र बजेटमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले मन्त्रालयहरूले बजेट विनियोजनमा कुशलता देखाउनुपर्ने बताउनुभयो । “नीति तथा कार्यक्रममा आएका विषयलाई बजेटले कसरी सम्बोधन गर्छ त्यो महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “यसमा आएका सोच र दृष्टिकोणलाई कार्यान्वयन गर्न स्रोतको सुनिश्चितता हुनु जरूरी छ ।”आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य लक्ष्मणबहादुर पाण्डे, राजकुमारी भुजेललगायतले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको थियो ।

खेल क्षेत्रलाई राज्यले अझ बढी महत्व दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाउँदै गइरहेको बताएका छन् ।प्रथम प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सबैले खेल क्षेत्रलाई बढी महत्व दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाएको छ । क्षेत्रलाई अझ बढि महत्व दिनुपर्ने छ ।’ साथै उनले राज्यले खेल क्षेत्रलाई अझ बढि बजेटको व्यवस्था र व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले खेलाडीहरुको भविष्य खेल क्षेत्रमा सुनिश्चित हुने गरी संवेदनशील हुन जरुरी रहेको बताए ।

आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री

मोरङ, २४ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उहाँले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । संसारमा कमै मात्र यस्ता अस्पताल हुन्छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई सय शय्याबाट तीन सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा होस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।”

अस्पतालका अध्यक्ष एवं सङ्घीय सांसद योगेन्द्र मण्डलको सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अनुकूल प्रतिफल नहुने र तिर्न नसक्ने ऋण लिएर लगानी खेर फाल्नुभन्दा यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेतालाई पनि आग्रह गर्नुभयो ।