`

गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी

इजरायलले गाजायुद्ध भड्काउने अक्टोबर २०२३ मा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता तथा याह्याका भाइ मोहम्मद सिनवारको मृत्यु भएको बुधबार जनाएको छ ।

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध ६०० औँ दिनमा प्रवेश गरेको दिन नेतान्याहुले आफ्नो सेनाको उपलब्धिको प्रशंसा गर्दै उक्त घोषणा गर्नुभएको हो ।

“‘पुनरुत्थानको युद्ध’को ६०० दिनमा हामीले वास्तवमै मध्यपूर्वको मुहार परिवर्तन गरेका छौँ,” उहाँले संसदमा भन्नुभयो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली संसदलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी गाजा पट्टीमा बलपूर्वक प्रवेश गर्यौँ र ‘आतङ्ककारी’हरूलाई हाम्रो भूमिबाट बाहिर निकाल्यौँ । दशौँ हजार ‘आतङ्कवादी’हरूको सफाया ग¥यौँ । हमासका कथित नेता मोहम्मद सिनवारको अन्त्य ग¥यौँ ।”

यसै महिनाको सुरुमा दक्षिणी गाजामा इजरायली हवाई आक्रमणमा सिनवारलाई निशाना बनाइएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ को अक्टोबरमा उहाँका दाजुको इजरायली आक्रमणमा मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घले गाजामा खाद्यान्न वितरण स्थलमा इजरायली आक्रमण भएका कारण दर्जनौं मानिस घाइते भएका भन्दै अमेरिका र इजरायलसमर्थित सहायता प्रणालीको आलोचना गरिरहेका समय बुधबार सिनवारको मृत्युको घोषणा आएको हो ।

इजरायली सेनाले आफ्नो सेनाले भीडमाथि गोली चलाएको भन्ने आरोपको खण्डन गरेको छ ।

‘गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)’ को तीव्र आलोचनासहित भोकमरीको सङ्कटका बीच सहायताको मुद्दा तीव्र रूपमा चर्चामा आएको छ । फाउन्डेसनले यस क्षेत्रमा लामो समयदेखि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा रहेको प्रणालीलाई बेवास्ता गरेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हजारौँ प्यालेस्टिनीहरू जीएचएफ सहायता वितरण स्थलमा पुगेका बेला मङ्गलबार भएको हिंसात्मक झडपमा परी ४७ जना घाइते भएका थिए भने कम्तीमा एक जनाको मृत्यु भएको प्यालेस्टाइनको एक मेडिकल स्रोतले जनाएको छ ।

प्यालेस्टाइनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका प्रमुख अजित सुङ्घेले अधिकांश इजरायली सेनाको गोलीबाट घाइते भएको बताए ।

सेनाका प्रवक्ता कर्नेल ओलिभर राफोविचले इजरायली सेनाले राफा वितरण केन्द्रबाहिरको क्षेत्रमा हवाइ फाएर भएको र सर्वसाधारणमाथि कुनै पनि हालतमा आक्रमण नभएको बताउनुभएको छ ।

जीएचएफले सहायताको पर्खाइमा रहेको भीडलाई गोली हानेको पनि अस्वीकार गरेको छ। यसले आफ्नो सञ्चालन जारी राखेको र ‘बिना कुनै घटना’ नयाँ वितरणस्थल खोलेको र आगामी हप्ताहरूमा गाजामा थप योजनाहरू बनाएको बताएको छ।

संस्थाका अनुसार चारमध्ये दुई स्थल ‘पूर्ण रुपमा सञ्चालनमा’ रहेकाले यसका कर्मचारीले बुधबार आठ ट्रक सहायता र आठ लाख ४० हजारभन्दा बढीका लागि खाना वितरण गरेको छ।

मध्यपूर्वका लागि संयुक्त राष्ट्रसङ्घका दूत सिग्रिड कागले बुधबार सुरक्षा परिषद्मा गाजामा बसोबास गर्ने प्यालेस्टिनीहरू ‘बाँच्न मात्रैभन्दा बढी कुराका लागि हकदार’ भएको बताउनुभएको छ ।

“गाजामा इजरायली आक्रमण पुनः सुरु भएदेखि नै नागरिकको अस्तित्व भयावह अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो मानव निर्मित हो मृत्यु उनीहरूको साथी हो। यो जीवन होइन, आशा पनि होइन । गाजाका मानिसहरू बाँच्नुभन्दा बढी कुराका लागि हकदार छन्। तिनीहरू आफ्नो भविष्यको लागि हकदार छन्।”

सन् २०२५–२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले सन् २०२५ देखि सन् २०२९ सम्म औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत रहेको चेतावनी दिएको छ ।

राष्ट्रसङ्घीय मौसम र जलवायु एजेन्सी विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले प्रकाशित गरेको वार्षिक जलवायु रिपोर्ट अनुसार सन् २०२३ र २०२४ मा रेकर्ड गरिएको दुई सबैभन्दा तातो वर्षपछि पृथ्वीको तापक्रम ऐतिहासिक स्तरमा रहने अपेक्षा गरिएको छ ।

“हामीले भर्खरै रेकर्डमा १० सबैभन्दा तातो वर्षहरू अनुभव गरेका छौँ”, डब्लुएमओका उपमहासचिव को ब्यारेटले भन्नुभयो, “दुर्भाग्यवश, यो डब्लुएमओ रिपोर्टले आगामी वर्षहरूमा राहतको कुनै सङ्केत प्रदान गर्दैन र यसको अर्थ हाम्रो अर्थव्यवस्था, हाम्रो दैनिक जीवन, हाम्रो इकोसिस्टम र हाम्रो ग्रहमा बढ्दो नकारात्मक प्रभाव पर्नेछ ।”

सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो ।

मानवताले औद्योगिक रूपमा कोइला, तेल र ग्यास जलाउन सुरु गर्नुअघि सन् १८५०–१९०० को औसतको तुलनामा लक्ष्यहरू गणना गरिएको छ । कोइला, तेल र ग्यासले कार्बन डाइअक्साइड (सिओ२) उत्सर्जन गर्दछ । हरितगृह ग्यास मुख्यतया जलवायु परिवर्तनका लागि जिम्मेवार छ ।

अधिक आशावादी १.५ डिग्री सेल्सियस लक्ष्य त्यो हो जुन जलवायु वैज्ञानिकहरूको बढ्दो सङ्ख्याले अब प्राप्त गर्न असम्भव ठान्छ, किनकि सिओ२ उत्सर्जन अझै बढिरहेको छ ।

डब्लुएमओको पछिल्लो अनुमानहरू धेरै विश्वव्यापी केन्द्रहरूबाट पूर्वानुमानको आधारमा बेलायतको मौसम विज्ञान कार्यालयको राष्ट्रिय मौसम विज्ञान सेवाले सङ्कलन गरेको छ ।

एजेन्सीले सन् २०२५ र २०२९ को बीचमा प्रत्येक वर्षका लागि विश्वव्यापी औसत सतहको तापक्रम पूर्व–औद्योगिक औसतभन्दा १.२ डिग्री सेल्सियस र १.९ डिग्री सेल्सियसको बीचमा हुने पूर्वानुमान गरेको छ ।

एजेन्सीले सन् २०२५–२०२९ अवधिमा औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत रहेको बताएको छ ।

“यो सन् २०२० को दशकको अन्त्य वा सन् २०३० को दशकको सुरुमा दीर्घकालीन आधारमा १.५ डिग्री सेल्सियस पार गर्ने हाम्रो निकटतासँग पूर्ण रूपमा अनुरूप छ”, मेनाथ विश्वविद्यालयमा आइरिश जलवायु विश्लेषण र अनुसन्धान एकाइ समूहका निर्देशक पिटर थोर्नले भन्नुभयो, “म दुईदेखि तीन वर्षमा यो सम्भावना सत प्रतिशत हुने आशा गर्दछु ।”

डब्लुएमओका अनुसार सन् २०२५ देखि २०२९ सम्मको कम्तीमा एक वर्ष रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष (सन् २०२४) भन्दा बढी हुने सम्भावना ८० प्रतिशत छ ।

प्राकृतिक जलवायु परिवर्तनलाई सहज बनाउन धेरै विधिहरूले दीर्घकालीन तापक्रमको मूल्याङ्कन गर्ने डब्लुएमओका जलवायु सेवा निर्देशक क्रिस्टोफर हेविटले पत्रकार सम्मेलनमा बताउनुभयो ।

जर्मन सेना निर्माण योजना ‘धेरै चिन्ताजनक’ लाभरोभ

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले बुधबार २०औँ शताब्दीको विश्व युद्धलाई उद्धृत गर्दै युरोपमा ‘सबैभन्दा बलियो’ सेना निर्माण गर्ने जर्मन योजनालाई ‘धेरै चिन्ताजनक’ भन्नुभएको छ ।

जर्मनीले दोस्रो विश्वयुद्धपछि आफ्नो सेना निर्माण गर्न अनिच्छा देखाएको छ र नाटो सहयोगीहरू प्रायः सुरक्षाका लागि संयुक्त राज्य अमेरिकामा भर पर्दै आएका छन् ।

तीन वर्षभन्दा बढी समयदेखि मस्कोको पूर्ण–स्तरीय आक्रमणसँग लड्दै आएको किएभका लागि बर्लिन सबैभन्दा बलिया सहयोगीहरूमध्ये एक हो ।

“धेरैलाई तुरुन्तै अघिल्लो शताब्दीका अवधिहरूको सम्झना आयो, जब जर्मनी दुई पटक प्रमुख सैन्य शक्ति बन्यो र यसले कति समस्या ल्यायो”, लाभरोभले मस्कोमा भएको सुरक्षा सम्मेलनमा भन्नुभयो । सम्मेलनमा रुसको युक्रेन आक्रमणपछि पहिलो पटक अमेरिकी दूतावासका प्रतिनिधिहरूले भाग लिएका थिए ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले युरोपको आर्थिक शक्तिको लामो समयदेखि वित्त पोषित रक्षा बलका लागि ‘सबै आवश्यक वित्तीय साधनहरू उपलब्ध गराउने’ वाचा गर्नुभएको थियो ।

बर्लिनले हालै लिथुआनियामा पाँच हजार–बलियो सशस्त्र ब्रिगेड तैनाथ गरेको छ । यो सन् २०२२ मा युक्रेनमा रुसको पूर्ण–स्तरीय आक्रमणको प्रतिक्रियामा दोस्रो विश्वयुद्धपछि विदेशमा जर्मन सेनाको पहिलो स्थायी तैनाथी हो ।

क्रेमलिनले युक्रेनमा आफ्नो सैन्य अभियानलाई समर्थन बढाउन नाजी जर्मनी विरुद्धको सोभियत सङ्घको लडाइँको सम्झनालाई बारम्बार प्रयोग गरेको छ ।

सोभियत सङ्घले दोस्रो विश्वयुद्धमा रुसी, बेलारुसी, युक्रेनी, मध्य एसियाली र अन्य मानिसहरूसहित लाखौँ नागरिक गुमाएको थियो ।

सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गर्नुअघि मस्कोको जर्मनीसँग काम गर्ने सम्बन्ध राखेको थियो ।

तर बर्लिन किएभको मुख्य समर्थकहरू मध्ये एकको रूपमा देखा प¥यो । यो प्रवृत्ति मर्जले जारी राख्ने वाचा गर्नुभएको छ ।

बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त

बङ्गलादेशको राजधानी ढाकामा गत वर्ष भएको विद्रोहपछि सत्ता सम्हालेको समूह र वर्तमान् सरकारविरूद्ध आन्दोलनरत समूहहरूका कारण यहाँको दैनिक जनजीवन अस्तव्यस्त बनेको छ ।

सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरिएदेखि नै करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा राजनीतिक उथलपुथल देखिएको छ ।

हसिनाको १५ वर्ष लामो अधिनायकवादी शासनविरूद्धमा जबसम्म विद्यार्थी नेतृत्वको आन्दोलनले विद्रोहको नेतृत्व गरेन र उहाँलाई सत्ताबाट हटाएन तत्कालिन प्रशासनले विपक्षीका आवाजहरूलाई दबाएरै राख्यो ।

दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको ढाकामा बुधबार विभिन्न समूहका गरी कम्तीमा आधा दर्जन प्रदर्शन भएका थिए ।

यो एक सामान्य दिन थियो, राजनीतिक ¥याली र प्रतिरोधमा भएका प्रदर्शन, मजदुर हडताल र एक इस्लामी नेताको मृत्युदण्डबाट रिहाईको उत्सवसहितका प्रदर्शनहरू ढाकाका विभिन्न भागमा एकै दिनमा भएका छन् ।

“चौध वर्षसम्म जेलमा बसेपछि आज बिहान रिहा भएँ,” देशको प्रमुख इस्लामिक पार्टी जमात–ए–इस्लामीका हजारौं समर्थकलाई हात हल्लाउँदै एटीएम अजहरूल इस्लामले भन्नुभयो ।

सर्वोच्च अदालतले मृत्युदण्डको सजाय उल्टाएर युद्ध अपराधबाट सफाइ दिएको एक दिनपछि वरिष्ठ नेतालाई मध्य ढाकास्थित कारागारबाट रिहा गरिएपछि खचाखच भरिएको भीडले जयजयकार गरेको थियो।

उहाँले भन्नुभयो, “विगतमा अदालतमा राजनीतिक प्रभाव थियो हामी आशा गर्दछाँ,ं अदालतले आगामी दिनमा जनताले न्याय पाऊन् भन्ने सुनिश्चित गर्नेछ,” इस्लामले भन्नुभयो ।

बामपन्थी पार्टीहरुले उहाँको रिहाइको विरोधमा प्रदर्शन गर्ने बताएका छन् ।

नयाँ पल्टननजिकै रहेको रम्ना पार्कमा बङ्गलादेश नेसनल पार्टी (बीएनपी) को समर्थनमा निकालिएको ¥यालीमा हजारौँले सडक जाम गरेका थिए ।

अन्तरिम सरकारले सन् २०२६ को जुन महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेको निर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् ।

दशौँ हजार मानिसहरू आफ्ना मागहरू लिएर दैनिक ढाकाका प्रमुख चोकहरूमा भेला हुन्छन् भने सर्वसाधारण ट्राफिक जामले भरिएका सडकहरूमा घन्टौँ लगाएर यात्रा गर्न बाध्य छन् ।

कुखुरा व्यापारी जकिर हुसेनले बुधबार भन्नुभयो, “दिनको समयमा सबै मुख्य सडकहरू अवरुद्ध हुन्छन्।”

“हामीले आफ्नो तालिका परिवर्तन गर्नुपरेको छ। म अहिले मध्यरातमा काम सुरु गर्छु, यद्यपि कानून र व्यवस्थाको स्थिति हरेक दिन बिग्रँदै गइरहेको छ । र लुटपाटहरू सामान्य भइसकेका छन् ।

गत वर्ष हसिनालाई सत्ताच्युत गर्ने विरोध प्रदर्शनलाई दबाउन प्रहरीले प्रयास गर्दा र असफल हुँदा भएको हिंसालाई सम्झेर यसले धेरैलाई चिन्तित बनाएको छ।

“स्थिति अकल्पनीय छ, कुनै पनि बेला विरोध प्रदर्शनले हिंसात्मक रूप लिन सक्छ,” ४३ वर्षीया एक गृहिणीले आफ्नो पति सरकारी कर्मचारी भएकाले नाम नबताउने शर्तमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “म कहिले पनि मेरो पतिलाई धेरै फोन गर्दिनथें, तर अहिले म फोन गर्छु। अफिसबाट घर आउन अलि ढिला भयो भने मेरो दिमागमा सबै खाले नराम्रा विचार आउँछन्।”

बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारका रुपमा नेतृत्व गरिरहनुभएको छ ।

सरकारले शनिबार ‘अनुचित माग’ र अवरोधले आफ्नो काममा निरन्तर अवरोध पु¥याइरहेको चेतावनी दिएको छ ।

इजरायली आक्रमणमा यमनका हुथी नियन्त्रित विमानस्थलमा रहेको अन्तिम विमान ध्वस्त

इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बुधबार बताएका छन् ।

हुथी विद्रोहीको अल–मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण गरेको जनाएको छ ।

साना विमानस्थलका निर्देशक खालिद अल–शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त विमान यमनियाको अन्तिम उडान विमान भएको बताएका छन् ।

हुथी अधिकारीहरूका अनुसार ११ दिनअघि इजरायली आक्रमणबाट छ वटा विमान जलेपछि विमानस्थलबाट मे १७ मा मात्र सीमित व्यावसायिक सेवा सुरु भएको थियो।

प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीको पानीजहाजमा आक्रमण गर्दै आएका छन् । हुथीको आक्रमणको बदलामा इजरायलका साथै संयुक्त राज्य अमेरिका र बेलायतबाट प्रतिशोधात्मक हमला भइरहेको छ ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जल लडाकू विमानले विमानस्थलमा हुथीलाई लक्षित गरी दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “एयर फोर्सका जेटविमानले सानाको विमानस्थलमा हुथी आतङ्कवादी सङ्गठनको आतङ्ककारी लक्ष्यमा आक्रमण गरेका छन् र बाँकी रहेका अन्तिम विमानलाई ध्वस्त पारेका छन् ।

इजरायली सेनाले जारी गरेको वक्तव्यमा हुथी आतङ्कवादी सङ्गठनले इजरायली राज्यविरुद्ध आतङ्कवादी हमला गर्ने आतङ्ककारीहरूको स्थानान्तरणका लागि त्यहाँको विमान प्रयोग गरेको उल्लेख गरिएको छ।

यमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो विमानमा साउदी अरबको मक्कामा वार्षिक हज यात्राका लागि जाने मुस्लिम हजयात्रीहरू लान उडानको तयारीका लागि विमानस्थलमा रहेको थियो।”

सम्झौता भए हतियार निरीक्षणका लागि अनुमति दिन सकिने इरानको भनाइ

इरानले अमेरिकासँग आणविक सम्झौता भएमा संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायका अमेरिकी निरीक्षकलाई आफ्ना सुविधाहरूको निरीक्षण गर्न अनुमति दिनेबारे विचार गर्न सक्ने बताएको छ।

लामो समयदेखि पश्चिमा शक्तिहरूले इरानलाई आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउँदै आएका छन् र तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण, असैनिक उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ।

सन् २०१५ मा भएको आणविक सम्झौताबाट सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका पछि हटेपछि तेहरान र वासिङ्टनबीच हालैका हप्ताहरूमा यस विषयमा पाँच चरणको वार्ता भएको छ ।

इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का कर्मचारीलाई उद्धृत गर्दै पत्रकारहरूसँग भन्नुभयो, “जुन देशहरू हामीसँग शत्रुतापूर्ण व्यवहार गर्थे र वर्षौंदेखि सिद्धान्तहीन व्यवहार गर्थे, हामीले उनीहरूलाई (ती देशका निरीक्षकहरू) जहिले पनि स्वीकार नगर्ने नीति रहेको छ ।

उहाँले भन्नुभयो, “यदि कुनै सम्झौता भयो र तेहरानको मागलाई ध्यानमा राखियो भने इरानले एजेन्सीमार्फत अमेरिकी निरीक्षकहरूलाई स्वीकार गर्ने विषयमा पुनर्विचार गर्नेछ।

गत जनवरीमा सत्तामा फर्केपछि राष्ट्रपति ट्रम्पले तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ को नीति लाई पुनः स्थापित गर्नुभएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बुधबार भन्नुभयो, “अर्को चरणको वार्ताको समय र स्थानका बारेमा परामर्श जारी छ र अन्ति
म रूप दिएपछि ओमानले यसको घोषणा गर्नेछ।”

ओमानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति मसूद पेजेशकियानले सन् १९७९ देखि औपचारिक कूटनीतिक सम्बन्ध नभएको लामो समयदेखिका प्रतिद्वन्द्वीबीच मध्यस्थताको प्रयास गरेकोमा ओमानलाई धन्यवाद दिनुभएको थियो ।

– सम्झौता गर्न नसकिने –

वार्ताको स्वागत गर्दै इरानी अधिकारीहरूले युरेनियम संवद्र्धनको बिषयलाई ‘सम्झौता गर्न नसकिने’ भन्दै बारम्बार घोषणा गर्दै आउनुभएको छ । वार्तामा वासिङ्टनका प्रतिनिधि स्टिभ विटकोफलगायत अमेरिकी अधिकारीहरूले पनि सार्वजनिक रूपमा यसलाई ‘रेड लाइन’ का रूपमा चिनाएका छन् ।

इस्माइलले युरेनियम संबद्र्धनको मुद्दा ‘पटक्कै नउठाइएको’ र ‘संबद्र्धनको प्रतिशत राजनीतिक रूपमा उठाउन नहुने’ पनि बताउनुभयो ।

“संवद्र्धन प्रतिशत प्रयोगको प्रकारमा निर्भर गर्दछ । अत्यधिक संवद्र्धित युरेनियम उत्पादन गरिन्छ, यसको अर्थ सैन्य प्रयोग होइन,” उहाँले पत्रकारसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “इरानमा संवद्र्धनको निरन्तरता देशको आणविक उद्योगको अविभाज्य हिस्सा हो र इस्लामिक गणतन्त्र इरानका लागि आधारभूत सिद्धान्त हो । कुनै पनि प्रस्ताव वा पहल यस सिद्धान्तको विपरीत हुन्छ वा यस अधिकारलाई कमजोर पार्छ भने त्यो अस्वीकार्य छ ।

इरानले हाल ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गरिरहेको छ, जुन कुनै पनि गैरआणविक हतियार सम्पन्न राष्ट्रको उच्चतम स्तर हो र आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत आवश्यकताभन्दा निकै कम छ तर सन् २०१५ को सम्झौताअन्तर्गत निर्धारित ३.६७ प्रतिशतको सीमाभन्दा निकै माथि छ ।

सन् २०१५ को आणविक सम्झौताका युरोपेली पक्ष फ्रान्स, जर्मनी र बेलायतले सम्झौताको संरचनालाई स्वीकार गर्ने कि नगर्ने भन्नेबारे विचार गरिरहेका छन्।
तेहरानले पटक–पटक उक्त कदम नचाल्ने बताउँदै आएको छ ।

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौँ, १४ जेठ : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सहयोग पु¥याउन आफू तयार रहेको बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान प्रारम्भ गरिसकेकाले अनुसन्धानमा कसरी सहयोग पुग्छ, के के गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि आफू तयार रहेको बताउनुभयो ।

“आयोगको अनुसन्धान पश्चात जो दोषी देखिन्छ उसलाई कानुन बमोजिम कारबाही हुने नै भएकोले आयोगको निर्णयभन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतास नबनौँ र हतार नगरौँ भन्ने मेरो आग्रह छ”, मन्त्री लेखकले भन्नुभयो, “स्वतन्त्र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकाले यसमा थप प्रष्टिकरण दिइरहनु नपर्ला भन्ने लागेको छ ।”

उहाँले कोही राष्ट्रसेवक कर्मचारीलाई कुनै कसुरमा छानबिन, अनुसन्धान गर्न प¥यो वा मुद्दा दायर भयो भने त्यसको जिम्मा विभागीय मन्त्रीले लिने हो भने हरेक वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने मुद्दाको जिम्मेवारी तत् मन्त्रीले लिने कि नलिने भनी प्रश्न गर्नुभयो ।

“अहिले बजारमा म माथि सृजना गरिएका भ्रामक समाचारको जवाफ दिन मैले समाचार प्रकाशन भएकै दिनमा सम्माननीय सभामुखमार्फत समय मागेको थिएँ । म लोकतन्त्र र संसदीय सर्वोच्चताको पक्षपाती जनप्रतिनिधि भएकोले म माथि उठेको प्रश्नको प्रष्टिकरण जनताको थलोबाटै दिन चाहन्थँे, तर त्यो सम्भव भएन ।”

गृह मन्त्रालयको नेतृत्वको हैसियतले वा विभागीय प्रमुखको हैसियतले नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा बढी केन्द्रित रहेको र राजनीतिक विषय वा कुनै आदेश निर्देशनको अवस्थामा मात्र आफ्नो भूमिका बढी रहने प्रष्ट पार्नुभयो । “यस्तो अवस्थामा कुनै कार्यालयमा घटित कुनै घटनासँग मेरो भूमिका वा संलग्नता कसरी हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले गलत तथ्य र सूचनामा आधारित रहेर राजनीतिक अभिष्ट पूरा गर्न गरिने गलत कार्यप्रति आम नागरिक सजग रहनसमेत आग्रह गर्नुभयो ।

आयोजना बैंकमा ९७ अर्बभन्दा बढी लागतका एक सय १७ नयाँ आयोजना प्रविष्ट

काठमाडौँ, १४ जेठः राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका एक सय १७ आयोजना समावेश गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले राष्ट्रिय आयोजना बैंकमा परेका आयोजनालाई मात्रै वार्षिक बजेट छुट्याउनुपर्ने व्यवस्था गरेको छ ।

नियमावलीको सोही व्यवस्था कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको बजेट आउनुअघि यो सङ्ख्यामा नयाँ आयोजना प्रविष्ट गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको सचिवालयले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

आयोगले गत फागुनमा राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ जारी गरेको थियो । उक्त मापदण्डले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि चैत मसान्तसम्म प्रोजेक्ट बैंकमा आयोजना प्रविष्टि गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । तोकिएको समयमा आयोजना प्रविष्टि गर्न नसकिएपछि वार्षिक बजेट सार्वजनिक हुने दुई दिन अर्थात् यही जेठ १३ गतेसम्मका आयोजना हालिएको हो ।

“यही जेठ १३ गतेसम्म राष्ट्रिय आयोजना बंैक व्यवस्थापन सूचना प्रणालीमा कूल एक हजार तीन सय २७ आयोजनाहरू प्रविष्ट भएका छन् । जसमध्ये रु तीन करोड लागतका एक हजार १४१, रु तीन करोडदेखि पाँच करोड लागतका ७९, रु पाँच करोड देखि १० करोड लागतका ४४, र रु १० करोडदेखि रु एक अर्बसम्मका २३ वटा आयोजना प्रविष्ट भएका छन्”, आयोगका उपाध्यक्षको सचिवालयले भनेको छ ।

आयोगका अनुसार रु एक अर्बभन्दा बढी लागत भएका कूल ४० आयोजनामध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबैभन्दा बढी १९ वटा आयोजना बैंकमा प्रविष्ट गराएको छ । त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ११ आयोजना प्रविष्ट भएका छन् ।

“आयोजना बैंकमा हालसम्म प्रविष्ट भएका एक हजार ३२७ आयोजनाको अनुमानित कूल लागत रु नौ खर्ब २० अर्ब रहेको देखिन्छ । जसमध्ये नयाँ आयोजनाको लागत ९७ अर्ब १९ करोड, क्रमागत आयोजनाको रु आठ खर्ब २३ अर्ब र अध्ययनको चरणमा रहेका आयोजनाको रु ३२ अर्ब ६४ करोड अनुमानित लागत रहेको छ”, प्रेस विज्ञप्तीमा भनिएको छ ।

प्रोजेक्ट बैंकमा परेकामध्ये एक सय १७ (आठ दशमलव ८१ प्रतिशत) नयाँ आयोजना, ८९ (छ दशमलव ७० प्रतिशत) क्रमागत आयोजना र एक हजार १२१ (८४ दशमलव ४७ प्रतिशत) अध्ययनका आयोजना रहेका छन् ।

कूल प्रविष्ट भएका आयोजनामध्ये सहरी विकास मन्त्रालयका एक हजार १४७ (८६ दशमलव ५८ प्रतिशत), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ८२ (छ दशमलव १७ प्रतिशत), गृह मन्त्रालयका ६१ (चार दशमलव ५९ प्रतिशत) आयोजना रहेका छन् ।

राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्डमा रु तीन करोडभन्दा बढी लागत भएका आयोजना मात्र आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने भए पनि चालु प्रकृतिका तथा सालबसाली रूपमा कार्यान्वयन हुने आयोजना प्रवृष्टि गर्नु नपर्ने व्यवस्था छ ।

यसवर्ष रु तीन करोड भन्दा कम लागतका आयोजना प्रविष्ट नभएको जनाइएको छ । यस प्रावधानको कार्यान्वयनले सार्वजनिक वित्त व्यवस्थापनमा कुशलता हासिल हुने र पुँजीगत खर्च क्षमतामा सुधार आउने अपेक्षा गरिएको छ । आयोजना बैंकमा प्रविष्ट भएका आयोजनालाई नयाँ वर्षको मध्यमकालीन खर्च संरचना र बजेटमा समावेश गर्दा प्राथमिकता दिनुपर्ने व्यवस्था छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिरमा फरफरायो सानदार मिडियाको लोगो

काठमाडौँ । सानदार मिडिया प्रा.लि.को लोगो विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिरमा फरफराइएको छ । डिजिटल मिडियामा ख्याति कमाएको मिडियाको लोगो ओखलढुङ्गाको मोलुङ गाउँपालिका ७ सुर्केका वाङडा शेर्पाले सगरमाथाको शिरमा फरफराएका हुन् । वाङडाले मे २३ को बिहान ९ बजेर ९ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका थिए ।

उनको यो चौथो आरोहण हो । सानदार मिडियाका अध्यक्ष शिखर जङ्ग श्रेष्ठले सगरमाथाको आरोहण सँगै मिडियाको लोगो फरफराएर उपहार प्रदान गरेकोमा आरोही वाङडा शेर्पालाई बधाई तथा धन्यवाद दिए । यो ऐतिहासिक रेकर्डले श्रोता दर्शकमा सही सूचना दिने दायित्वलाई अझ मजबुत बनाउन ऊर्जा मिलेको अध्यक्ष श्रेष्ठले बताए ।

मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ देखि

जनकपुर, १४ जेठ : मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ गतेदेखि हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट जेठ ११ गते बसेको प्रदेश सरकारको बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिनुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेठ ११ गतेको बैठकबाट प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विसं जेठ २१ गते बुधबार दिउँसो १ बजेदेखि लागू हुने गरी मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

एक करोड बढी राजस्व छलीको आरोपमा अग्रहरी विरुद्ध मुद्दा दायर

काठमाडौँ, १४ जेठ : राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा रुपन्देहीको सुन्दर प्लाईउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरी विरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम एक करोड बढी कर छलीको आरोपमा मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा राजस्व चुहावट गर्ने उद्देश्यले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको, बीजक जारी नगरी मालवस्तु बिक्री गरेको, मौज्दात विवरणभन्दा अधिक मालवस्तु फेला परेको र खरिद तथा भन्सार पैठारी गरेको प्रमाण नभेटिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उक्त कार्यबाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिम राजस्व छलीको कसुर गरेको पुष्टि हुन आएकाले कर छलीमा उच्च अदालतमा मुद्दा चलाएका हौँ ।”

उहाँका अनुसार भन्सार चोरी पैठारी तर्फको अधिक मौज्दातको बिगो रु तीन लाख २५ हजार ८०७ र मूल्य अभिवृद्धि करतर्फको अधिक मौज्दातको बिगो रु दुई लाख ५२ हजार २७८, मूल्यअभिवृद्धि करतर्फको न्यून मौज्दातको बिगो रु १५ लाख ६९ हजार दुई सय ३६ र आयकरतर्फको बिगो रु ३१ लाख ८० हजार तीन सय २५ गरी जम्मा रु ५३ लाख २७ हजार छ सय ४६ बराबरको कर छली गरेको पाइएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुल उपर गरी बिगोको शतप्रतिशतसमेत जरिवाना गरी कूल रु एक करोड छ लाख ५५ हजार दुई सय ९२ असुल उपर गरी सोही ऐनको दफा २३ (१) (ख) बमोजिम सजायको माग दाबी लिई उच्च अदालतमा मुद्दा चलाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

संविधानप्रति नेपाली कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध : महामन्त्री थापा

धरान (सुनसरी) १४ जेठ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति नेपाली कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज धरान उपमहानगर कांग्रेस कार्यसमितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा उहाँले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै संविधानको संरक्षण, परिमार्जन र समयानुकूल संशोधनमा पनि पार्टी अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानलाई समावेशी, न्यायपूर्ण र व्यावहारिक बनाउन आवश्यक परेमा संशोधनको नेतृत्व गर्न कांग्रेस तयार छ ।”

संसद्लाई अहिलेको भन्दा अझ समावेशी बनाउनुका साथै राजनीतिक स्थायित्वका लागि एक दलले स्पष्ट बहुमत ल्याउने प्रणाली निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले दीर्घकालीन समाधानका लागि दलहरूबीच गम्भीर छलफल, चिन्तन र कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै राज्यले सबै धर्म, भाषा र संस्कृतिसँग समान व्यवहार गर्नुपर्ने बताउनुभयो । संविधानले सबैलाई बराबरी अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले राज्यको नीति त्यसै अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो ।

भिजिट भिसा र सहकारी प्रकरणका सन्दर्भमा उहाँले तथ्य र प्रमाणको आधारमा जोकोही अनुसन्धानको दायरामा पर्न सक्ने र दोषी प्रमाणित भएमा कानुनी कारबाहीको भागेदार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बागमतीमा नीति तथा कार्यक्रम प्रस्तुत, के के परे प्राथमिकतामा ?

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनःनिर्माण र पुनस्र्थापनालाई प्राथमिकता दिने भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका सबै क्षेत्रगत तहका नीति तथा कार्यक्रम कार्यान्वयनमा विपद् संवेदनशीलतालाई आत्मसात गरिने बताउनुभयो । उहाँले तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनःनिर्माण र पुनस्र्थापनालाई प्राथमिकता दिइने घोषणा गर्नुभयो ।

प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा एकद्वार प्रणाली अवलम्बन गर्ने, वहुवर्षीय योजनाहरूको मापदण्ड निर्धारण गरी आगामी आवको पहिलो चौमासिकभित्र स्रोत सुनिश्चितता प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशका गौरवका आयोजना, बहुवर्षीय आयोजना र क्रमागत आयोजनाहरू तोकिएको समयभित्र सम्पन्न गर्ने, आयोजना छनोट पद्धतिलाई व्यवस्थित र पारदर्शी बनाउने तथा बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा सुशासन कायम गर्न प्रदेश आयोजना बैंक व्यवस्थापन गर्ने, सूचना प्रणालीलाई तहगत आबद्धता कायम गरी सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएका छन् ।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा रहेका आयोजना पहिचान र प्राथमिकीकरण गर्ने, प्रदेशमा लगानीका सम्भावना पहिचान गर्न लगानी सम्मेलन आयोजनाका लागि नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थापन गर्ने, सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको साझेदारी एवं उत्पादन र रोजगारी सृजना गर्न निजी क्षेत्रको नेतृत्वदायी भूमिका सुनिश्चितता गर्न नीतिगत तथा संरचनागत सुधार गर्ने, प्रदेशको पूर्ण वा सहलगानीमा निर्माण भएका पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण गर्ने र आम्दानीको निश्चित प्रतिशत प्रदेशले प्राप्त गर्ने व्यवस्था गरिने प्रदेशप्रमुख देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही प्रकृतिका आयोजना÷परियोजना निर्माणलाई प्राथमिकता दिइने छ । राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना, प्रदेशको प्रशासनिक भवन तथा आवास निर्माण सुरु गर्ने, प्रदेशको विद्यमान संरचना र जनशक्तिको पुनरावलोकन गरी अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र छरितो बनाउने, प्रदेश सरकारको प्रशासनिक तथा अनुगमनलाई विद्युतीय प्रणालीमा आधारित बनाउने, उच्च प्रतिफलयुक्त र आन्तरिक आयमा योगदान गर्ने आयोजनाको छनोट तथा प्रभावकारी कार्यान्वयन गरी उत्पादन अभिवृद्धि गरी रोजगारीका अवसर सृजना गर्ने, वित्तीय अनुशासन अभिवृद्धि गर्दै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशको राजस्वको दायरा विस्तार गर्दै राजस्व चुहावट नियन्त्रण गर्न अन्तर प्रदेश समन्वयमार्फत करका दरमा एकरुपता कायम गर्ने, प्रादेशिक सडक, यातायात गुरुयोजना अद्यावधिक गरी प्राथमिकताका आधारमा प्रादेशिक लोकमार्ग तथा प्रादेशिक मार्गहरूको विकास, विस्तार स्तरोन्नति गर्ने, नयाँ सडकका ट्रयाक खोल्नेलाई निरुत्साहित गर्ने, सडक बोर्ड ऐनलाई समानुकूल परिमार्जन गर्न सङ्घीय सरकारसँग पहल गर्ने, प्रदेशस्तरीय पूर्वाधार तथा गुणस्तर प्रयोगशाला निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रम छ ।

राइड सेयरिङलाई कानुन तर्जुमा गरी प्रभावकारी नियमन तथा राजस्वको दायरामा ल्याउने, निर्माण प्रक्रिया र अनुगमन तथा मूल्याङ्कन प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधिको प्रयोग बढाउने, विद्युतीय रुपान्तरण (डिजिटल ट्रन्सफर्मेसन) कार्ययोजना तयार गरी प्रदेशलाई आवश्यक विभिन्न प्राणालीको चरणबद्ध पहिचान, विकास तथा अन्तरिकीकरण गरी प्रशासनिक सुधार एवं गतिशीलता प्रदान गर्ने, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिई प्रादेशिक रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, नमूना वडा समाजवादी कार्यक्रम र स्थानीय तहमा नवप्रवर्तन प्रोत्साहन कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ ।

सरकारी भवनहरूको निर्माणमा एकद्वार प्रणाली लागु गर्ने, ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’ अन्तर्गत भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवर्द्धन गर्दै एकीकृत बस्ती विकास गुरुयोजना तर्जुमा गरी प्रदेशभित्रका उदीयमान सहर स्थापना गर्ने कार्यक्रमलाई अघि बढाइने सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

‘कृषि रुपान्तरणको आधार ः प्रवर्द्धन र पूर्वाधार’ भन्ने अभियानका साथ कृषि उत्पादन अभिवृद्धि गर्न कृषि र कृषका प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माणमा निजी, सहकारी क्षेत्रलाई लगानी गर्ने वातावरण तयार गर्ने, समयमा सिँचाई सुविधा उपलब्धताका लागि साना सिँचाइ संरचनाको निर्माण तथा मर्मत सम्भार, अन्न भण्डारण गृहलगायत कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको प्रदेशप्रमुख देवकोटाले जानकारी दिनुभयो ।

सङ्खुुवासभाको लुहाकोटमा ७२ दिनकी शिशु रआमा मृत फेला

किमाथाङ्का (सङ्खुुवासभा), १४ जेठः यहाँको चैनपुर नगरपालिका–११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन् ।

आज दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफनै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

घटनाको कारण खुल्न नसकेको प्रनाउ बस्नेतले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

लुम्बिनी १४, जेठः लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त हुनुभएको छ । जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य हुनुभएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो ।

नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त हुनुभएकोले सो स्थान रिक्त भएको घोषणा आज बसेको छैटौँ अधिवेशनको ११औँ बैठकमा गर्नुभएको हो ।

प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ । पाँचौँ अधिवेशनअन्तरगत सम्पन्न ८३ वटा बैठकमध्ये उहाँ ३४ वटा बैठकमा मात्र सहभागी हुनुहुन्थ्यो । छैटौँ अधिवेशनमा भने उहाँ कुनै बैठकमा उपस्थिति हुनुभएको छैन । सो अधिवेशनमा ११ वटा बैठक सम्पन्न भइसकेका छन् ।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाइ गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उहाँको पद रिक्त घोषणा गर्न अनुरोध गर्नुुभएको थियो । गुरुङको पद रिक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ सांसद छन् ।

साउनयता प्राकृतिक कारणले २८ गैंँडा मरे

चितवन, १४ जेठः गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा २८ वटा गैंँडा मरेका छन् ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २७ वटा र राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो अवधिमा चोरी सिकारीले गैंँडा मार्न पाएका छैनन् । गत साउन, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका थिए । कात्तिकमा चार, मङ्सिरमा दुई, पुसमा एक, माघमा तीन, फागुन र चैतमा चार/चार र वैशाखमा तीन वटा गैँडा मरेका हुन । यही जेठमा राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो ।

सूचना अधिकारी थापा मगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एक–आपसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बुढो भएर, भाले गैँडाले थिचेर ती गैंँडा मरेका हुन् । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले थिए भने दुई वटा चोरी सिकारीले र एउटाको कारण खुल्न सकेको थिएन ।

मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतीले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए । विसं २०८० कात्तिक ३० गतेयता चोरी सिकारीले गैँडा मार्न पाएका छैनन् । विसं २०८० कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करहरुले दुई वटा गैँडा मारेका थिए । त्यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरी निकुञ्जले सार्वजनिक गरेको थियो ।

सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यसवर्ष गैँडा गणना गर्ने कार्यक्रम रहेपनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन भएको थियो ।

गणतन्त्र दिवसको अवसरमा खुला दौड प्रतियोगिता

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः अठारौँ गणतन्त्र दिवसका अवसरमा जिल्ला सदरमुकाम चौतारामा आज खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाँच किलोमिटर खुल्ला पुरुष, पाँच किलोमिटरमा ४० वर्षमाथिका पुरुष र तीन किलोमिटर महिला खुला दौड प्रतियोगिता भएको हो ।

पाँच किमीअन्तर्गत खुला पुरुष दौडमा इन्द्रध्वज गणका सागर विक प्रथम, अमृत बयलकोटी द्वितीय र रामबहादुर सुनारी तृतीय हुनुभएको छ । विक निर्धारित दूरी १८ मिनेट १६ सेकेन्डमा पार गर्दै प्रथम हुनुभयो । बयलकोटीले १८ मिनेट ४४ सेकेन्डमा र सुनारीले १९ मिनेट सात सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय हुनुभएको हो ।

पाँच किमीअन्तर्गत ४० वर्षमाथिका पुरुषतर्फ चौतारा साँगाचोकगढी नगरपालिका–१३ का दुर्गाप्रसाद ढुङ्गेलले २३ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुनुभयो । सशस्त्र प्रहरीका राजु कोइरालाले २५ मिनेट ५२ सेकेन्ड र जगतबहादुर भुजेलले २६ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय हुनुभयो ।

तीन किमी महिला दौड प्रतियोगितामा चौतारा साँगाचोकगढी–७ की निमा तामाङले १७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुनुभयो । चौतारा साँगाचोकगढी–७ कै स्मृति श्रेष्ठले १९ मिनेट ४४ सेकेन्डमा र समुना श्रेष्ठले २० मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय र तृतीय हुनुभयो । आज भएको प्रतियोगितामा महिला तथा पुरुष गरी एक सय जनाले सहभागिता जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले जानकारी दिनुभयो ।

यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान,सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, १४ जेठः यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको राससलाई बताउनुभयो ।

यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उहाँले बताउनुभयो ।यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ ।

पहिरोले राप्ती राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प

दाङ, १४ जेठः राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्ल्यान खण्ड अवरुद्ध भएको छ । सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार आज बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो । एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ ।

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

लमजुङमा घरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु

लमजुङ, १४ जेठ : सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो । आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि र प्रहरी र स्थानीयले उहाँ बस्नु भएको कोठाको ढोका फोरेर उद्धार गरेका थिए । जलेर गम्भीर घाइते हुनुभएकी उहाँको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स आज नेपाल आउँदै

काठमाडौँ, १४ जेठ : न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उहाँले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, न्युजिल्याण्डका उपप्रधानमन्त्रीले आजै साँझ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उहाँको सम्मानमा परराष्ट्रमन्त्री डा राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

कोगटे खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

बागमती, १४ जेठः मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा काठमाडाँै महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ ।

अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए ।

रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

ठमाडौँ, १४ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८३, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ३७, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तनेबोडीको मूल्य प्रतिकिलो रु ७५, मकैबोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ९५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४५, राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ४५, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ६५, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु ११०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (दशहरी) प्रतिकिलो रु २३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (भारतीय) प्रतिकिलो रु २०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ६०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १९०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १००० तोकेको छ ।

तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी, १६ वटा दमकल प्रयोग गरि आगो निभाउदै

इटहरी (सुनसरी), १४ जेठः सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न १ः०० बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ ।आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बताउनुभयो ।

यसअघि प्रदेशसभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता छलफलपछि पारित भएको थियो ।

बजेट अभावमा बनेन नारायणगढ–मुग्लिन सडकको भासिएको भाग

चितवन, १४ जेठः बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ ।गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ । अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताउनुभयो ।

चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो । वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो ।

अठारदेखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने उहाँले बताउनुभयो । सोहीअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेस रिएको छ । गत माघमा डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताका पेस गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसकेको उहाँले बताउनुभयो ।

भासिएको भाग मर्मत गर्न रु ३२ करोड लाग्ने अनुमान गरिएको छ । हाल सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामका काम गरिएको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र पोखरातर्फ दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुन्छन् ।

आइपिएलमा लखनउविरुद्ध आरसिबीको कीर्तिमानी जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा लखनउले दिएको २ सय २८ रनको लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

आरसिबीको कीर्तिमानी जितमा कप्तान जितेश शर्माले विस्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा अविजित ८५ रन बनाए । त्यसक्रममा जितेशले ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै, पूर्वकप्तान विराट कोहलीले पनि आक्रामक ब्याटिङ गर्दै ३० बलमा १० चौकासहित ५४ रन जोडे ।

मंयक अग्रवालले २३ बलमा ५ चौकाको सहयोगमा नटआउट ४१ रनको योगदान गरे । कप्तान शर्मा र अग्रवालबीच पाँचौं विकेटका लागि १०७ रनको अविजित साझेदारी भयो, जसले आरसिबीलाई सहज जित दिलायो

ओपनर फिल साल्टले १९ बलमा ३० रन बनाउँदा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए । त्यसअघि भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २७ रन बनायो ।

अब आरसिबीले क्वालिफायर वानमा पञ्जाब किंग्सको सामना गर्नेछ । यी दुई टिमबीचको खेल बिहीबार हुनेछ । यस्तै, एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स आमनेसामने हुने छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा शुक्रबार हुनेछ ।

राजावादीद्वारा हेटौंडामा विशाल र्यालीसहित जनप्रर्दशनी

हेटौंडा । राजावादीहरुले हेटौंडामा विशाल रयाली निकालेर जनप्रर्दशनी गरेका छन् । राजावादी मोर्चाद्वारा आयोजना गरिएको विशाल जनप्रर्दशनीमा हजारौको सहभागिता रहेको थियो ।

करिव १ हजार ५ सय बढी मोटरसाइकलमा १ सय बढी कारको समेत रयालीमा सहभागिता थियो ।हेटौंडाको सानोपोखरावाट दिउँसो ४ बजे सुरु भएको मोटरसाईकल रयाली ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक,कमाने,नागस्वती चोक,गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

जनप्रदर्शनमा राजा ल्याउ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दावाद, २०४७ सालको संबिधान लागु गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रर्दशनले हेटौँडा सहित मकवानपुरको मुख्य सडक तताएको थियो । हजारौ मानिस सडकमा उत्रिएपछि हेर्नेहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

उपेन्द्र यादव मलेसिया जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जान लागेका छन् । आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव शनिबार मलेसिया जान लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् ।

सो अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ । विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रमलाई मनोरञ्जनात्मकसमेत बनाइने आयोजकले जनाएको छ ।अध्यक्ष यादवसहितको टोली जुन ३ तारिखमा स्वदेश फर्कने बताइएको छ ।

४१ वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिएपछि हाते कागज उद्योग सञ्चालन

म्याग्दी (बेनी), १४ जेठ : म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका सेवा निवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । एकचालिस ४१ वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिएपछि गौतमले मालिका गाउँपालिका–५ थापा चौरमा जग्गा भाडामा लिएर ‘मालिकाका गज उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो ।

एक दशकअघि सामूहिक रुपमा सुरु भएको कागज उद्योग घाटामा गएपछि बन्द भएको थियो । ६ वर्षदेखि उद्योगको सबै स्वामित्व लिएर मालिका गाउँपालिका–३ अधिभारामा हाते कागज उत्पादनलाई निरन्तरता दिनुभएका गौतमले शिक्षण पेसाबाट सेवा निवृत्त भएपछि अहिले नयाँ व्यवस्थापन र उत्पादन क्षमता बढाएर उद्योगलाई नयाँ स्वरुपमा सञ्चालनमा ल्याएको बताउनुभयो ।

‘‘थापाचौरमा पाँच रोपनी जग्गा भाडामा लिएर गोदाम घर, प्रशोधन केन्द्र र कागज सुकाउनका लागि टनेल घर बनाएको छु, फ्रेममा राखेको कागज सुकाउनका लागि टनेल घर बनाएपछि पानी परेको समयमा कागज उत्पादन गर्न सकिने सुविधा भएको छ, पूर्वाधार विस्तारले उद्योगबाट कागज उत्पादन गर्ने क्षमता बढेको छ’’, गौतमले भन्नुभयो ।

जङ्गलमा पाइने बरुवाको लोक्तालाई प्रशोधन गरेर हाते कागज बनाउने गरिन्छ । उद्योगमा मालिका गाउँपालिका–२ रुम र ३ डाँडागाउँका चार सामुदायिक वनबाट उपभोक्ताहरुले बरुवाको लोक्ता सङ्कलन गरी बिक्री गर्दै आएका छन् । सङ्कलन कर्ताबाट उद्योगले रु प्रतिकिलो ८० देखि रु एक सय सम्ममा लोक्ता खरिद गर्दै आएको छ । उद्योगले कागजको प्रयोजनअनुसार धुप बनाउनका लागि ७ ग्राम, कार्यालय प्रयोजनका लागि २० ग्राम र चिना लेख्ने नेपलाी कागज ४० ग्रामको गुणस्तरमा उत्पादन गर्दै आएको छ ।

उद्योगमा उत्पादन भएको हाते कागज म्याग्दीका साथै, बागलुङ, कास्की र काठमाडाँैसम्म खपत हुने गरेको छ । उद्योगमा बाटेको धुप बनाउने, कार्यालय प्रयोजनका लागि फोटोकपी पेपर, चिना, तमसुक र निवेदन लेख्ने प्रयोजनका लागि हाते कागजको माग आउने गरेको सञ्चालन गौतमले जानकारी दिनुभयो । उद्योगमालोक्तालाई प्रशोधनकालागिविद्युतियबोयल, बिटर र कटिङ मेसिन जडान गरिएको छ । ‘‘लोक्ताबाट कागजबनाउने परम्परागत र रैथाने सिपहो, जंगलमा खेर गएको लोक्ताको उपयोग गरी स्थानीय स्तरमाआयआर्जन र रोजगारि बढाउनु मेरो प्रमुखउदेश्य हो, कागजकिन्नकै लागिबाहिरीने पैसालाई स्थानीय स्तरमै रोक्न सकिन्छ कि भन्ने लागेर यतालागेको छु’’– उहाँले भन्नुभयो ।

विसं २०७६ देखि एकल रुपमा हाते कागज उद्योग सञ्चालन गर्दै आउनुभएका गौतमको उद्योगमा अहिले दैनिक पाँच जनाले रोजगारी पाएका छन् । गौतम दम्पत्ति उद्योग स्थापना गरेर स्वरोजगार बन्नुभएको छ । एकै पटक छ सय फ्रेममा कागज उत्पादन गर्ने क्षमता रहेको यस उद्योगमा रङ्गीन नेपाली कागज उत्पादन गर्न थालिएको छ ।

मेसिन, औजार उपकरण र सामग्री खरिद तथा व्यवस्थापनमा रु २५ लाख लगानी भएको उद्योगका सञ्चालन गौतमले जानकारी दिनुभयो । उद्योगबाट वार्षिक १५ लाख बढीको कागज बिक्री हुने गरेको छ । गौतम परिवारले दरबाङ बजारमा मालिका हेन्डिग्राफ स्टोर्स सञ्चालन गरेर उद्योगबाट तयार हुने हाते कागजबाट नोटबुक, रजिष्टर, फाइल, खामलगायत सामग्री उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

मालिका कागज उद्योगको स्तरीकरणमा गाउँपालिका र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सघाएका छन् । यस वर्ष मन्त्रालयले हाते कागजलाई अन्तिम रुप दिने क्यालेण्डिङ मेसिन खरिदमा रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएको छ । मालिका गाउँपालिकाले हाते कागज उद्योगमा कागज सुकाउनका लागि टनेल घर निर्माण, ट्रसको छानो निर्माण र पानी व्यवस्थापनमा रु दुई लाख ५० हजार सहयोग गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीय स्तरमा उद्यमशिलताको विकासमा गाउँपालिकाले सीप, प्रविधि र पूर्वाधार निर्माणमा सघाउने गरेको बताउनुभयो । यस उद्योगले जिल्लामा रहेका स्थानीय तह र सरकारी कार्यालयले प्रयोग गर्ने नेपाली कागज जिल्लामै उत्पादन भएको कागजलाई उपयोग गर्ने नीति ल्याएमा उद्योगको क्षमता विस्तार गर्ने र धेरैलाई रोजगारी सिर्जना गर्न सकिने जनाएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाका साथै, धवलागिरी, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको दुई हजार चार सय मिटरदेखि तीन हजार दुई सय मिटर चाईसम्मको जङ्गलमा प्रशस्त मात्रामा बिरुवा पाइने गर्छ । एक पटक बिरुवाको लोक्ता निकालेपछि पुनः पाँच वर्षपछि सोही बिरुवाबाट लोक्ता निकाल्न सकिन्छ । म्याग्दीमा यसअघि हाते कागज उद्योग सञ्चालनमा आउने र बन्द हुने क्रम जारी छ । वन पैदावारमा आधारित उद्योग भएकाले कच्चापदार्थ सङ्कलन, उद्योग सञ्चालनदेखि उत्पादन भएका सामग्रीको निर्यातमा झण्झटीलो कानुनी प्रक्रियाको कारण हाते कागज उद्योगको स्थायित्व र दिगोपनामा चुनौती देखिएका छन् ।

वषौँदेखि भूमिहिन, सुकुम्वासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न सुरु

दोधारा चाँदनी (कञ्चनपुर), १४ जेठ : महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकाले वडा नम्बर १३ बाट ऐलानी जग्गाको नाप जाँच सुरु गरेको छ । वषौँदेखि भूमिहिन, सुकुम्वासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न सुरु गरिएको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले जानकारी दिनुभयो ।

“नगरप्रमुखबाट भूमिको कामकाज बढाउन दिएको निर्देशन आएपछि यस अघि वडा कार्यालयमा विवरण भरेका अव्यवस्थित बसोबासी नागरिकको जमिन नाप्न सुरु गरिएको हो”, अध्यक्ष बोहराले भन्नुभयो, “पहिला अव्यवस्थित बसोबासीको जमिन नापी हुन्छ । त्यसपछि भूमिहिन दलित र भूमिहिन सुकुमवासीका लागि खोजी हुन्छ ।” उहाँले वडामा भूमिहिन दलिततर्फ १३, सुकुम्वासी तर्फ तीन र अव्यवस्थित बसोबासी तर्फ तीन सय १८ जनाले फाराम भरेको जानकारी दिनुभयो ।

भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रशाद रिजालले देशभर आयोगले तीव्र रुपमा जमिनकोे कामकाज अघि बढाएको उल्लेख गर्दै नापजाँचसँगै लालपूर्जा वितरण गरिने बताउनुभयो ।

“भीमदत्तका १९ वटै वडामा जमिन नापजाँच हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि आयोगमार्फत लालपूर्जा दिने प्रक्रिया सुरु हुन्छ ।” यसअघि भूमि आयोग कञ्चनपुरले दोधारा चाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरीसहितका भूमिहिन जनतालाई लालपूर्जा वितरण गरेको थियो ।

नवराजपुरका पूर्वअध्यक्ष यादवसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

गोलबजार (सिरहा) -यहाँको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नं ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी शाखा प्रमुख सञ्जयप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादवविरुद्ध समेत मुद्दा दाएर गरिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको अख्तियारले जनाएको छ ।

रु ३७ लाख ७५ हजार ४३६ को लागत रहेको भवन उपभोक्ता समितिमार्फत गर्ने गरी २०७७ जेठ ३२ मा सम्झौता भएकामा गलत प्राविधिक मूल्याङ्कनसहित उपभोक्ता समितिलाई रु ३४ लाख ३९ हजार १८९ भुक्तानी गरिएको साथै भवन पनि उपयोगविहीन भएको आरोप छ ।

एउटै ठूलो ढुङ्गाबाट बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनःनिर्माण

गलकोट (बागलुङ), १४ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ ।

एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर भगवती मन्दिर पुनःनिर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनःनिर्माण गरिएको हो । तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा काटेर कुदिएको हो ।

बागलुङ नगरपालिका–५ मालिका स्थित शक्तिपीठ मालिका भगवती मन्दिरलाई एउटै चट्टान काटेर निकालिएको ढुङ्गालाई कुँदेर मन्दिर पुनःनिर्माण गरिएको छ । मालिका भगवती मन्दिरको नामबाट उक्त गाविसको नाम समेत मालिका राखिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ५४ लाखबाट मालिका भगवती मन्दिर पुनःनिर्माण थालिएको र अहिले मन्दिरको पुनःनिर्माण अन्तिम तरणमा पुगेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खीम सापकोटाले जानकारी दिनुभयो । उहाँले मन्दिरसँगै गणेश मन्दिर, शत्तल, घण्टी, प्रवेशद्वार र तारबार गरी रु एक करोडको संरचना तयार भइरहेको बताउनुभयो ।

अन्य पूर्वाधार मालिका मन्दिर दर्शनका लागि आउने भक्तजन तथा मालिका मन्दिरसँग आस्था जोडिएर देश विदेशमा रहनुभएकाबाट रु एक हजारदेखि रु चार लाखसम्म सहयोग प्राप्त भइरहेको सापोटाले जानकारी दिनुभयो । उहाँले मन्दिरमा उठेको सहयोगले कुँवेरधाम मन्दिरको मूर्ति तयार गरिएको बताउनुभयो ।

“मन्दिर पुनःनिर्माण थालेपछि सहयोग उठ्यो, रु ५४ लाखमा पुनःनिर्माण थालिएको मन्दिर र अन्यय मन्दिरसँग जोडिएका संरचनासहित रु एक करोडको पूर्वाधार निर्माण अन्तिम चरणमा छ, परापूर्व कालदेखि मालिकाको थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा निर्माण गरिएको मन्दिर जीर्ण बनेपछि पर्यटन मन्त्रालयको बजेटले पुनःनिर्माण थालिएको थियो”, उहाँले भन्नुभयो, “दिव्य शिलालाई घेरेर ढुङ्गा र काठ मात्रै प्रयोग गरेर कलात्मक रुपमा मन्दिर पुनःनिर्माण गरिएको छ, मन्दिरको अन्य संरचना निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ ।”

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट कालिगढा ल्याएर मन्दिर मिर्नाण गर्ने कार्य चलिरहेको छ । कालिगढबाट ढुङ्गा कँुदिएको, कलात्मक टुडाल र तामाले छाएको मन्दिर निर्माणले साच्चिकै मौलिकता झल्किन्छ । मल्लकालिन थानलाई मालिका भगवतीको रुपमा लिइएको किम्मदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पुजा आजा गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष मेघराज पाण्डेले जानकारी दिनुभयो ।

मल्लकालिन थान रहेको स्थानमा मालिका कालिकाको बहिनीको स्वरुपमा रहेको छ भने पुरातात्विक क्षेत्र समेत भएकाले मालिका भगवतीलाई यस क्षेत्रमा महत्वका रुपमा हेरिन्छ । कालिका र मालिका दुई बहिनी भएको र कालीगण्डकीको जल कालिकामा चढाएर बाँकी रहेको जल मालिकामा चढाउने चलन रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

देशका अधिकांश भागमा मौसम बदली हुने पूर्वानुमान

काठमाडौँ, १४ जेठ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, १४ जेठ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८० पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १६ पैसा र बिक्रीदर चार रुपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७३ पैसा र बिक्रीदर २० रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ २३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र विक्रीदर ३५५ रुपैयाँ ४५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौँ, १४ जेठ : सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११.०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो ।

आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय भएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१÷८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्नुहुनेछ ।

युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । राष्ट्रियसभामा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१÷८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । राष्ट्रियसभाको बैठकमा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

व्यावसायिक पशुपालनलाई प्रोत्साहन गरी दैनिक दुई लाख दूध उत्पादन गर्ने सूर्योदयको योजना

इलाम, १३ जेठः यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित गरिरहेको छ । प्रत्येक दिन दुई लाख लिटर दूध उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिइएको नगरपालिकाले यहाँका ५५५ जना किसानलाई एकैपटक विभिन्न आधुनिक कृषि उपकरण र सामग्री वितरण गरेको छ ।

सूर्योदय–१३ लक्ष्मीपुरका गाईपालक किसान दुर्गा भवानी पोखरेलले अनुदानमा ‘काउम्याट’ पाएपछि गोठमा तीन वटा गाई थप्ने योजना बनाएको बताउनुभयो । “एउटा गाईबाट दैनिक १८ लिटर दूध बेचिरहेको छु । अब चार वटा बनाएर ५०–६० लिटर दूध बिक्री गर्ने उद्देश्य छ”, उहाँले भन्नुभयो, “प्रतिलिटर रु ६५–७० मा दूध बिक्री हुन्छ । खर्च कटाएर मासिक रु ३० हजार बचत हुन्छ । यसलाई थप बढाउने योजनामा छु ।”

पालिकाको वार्षिक कार्यक्रमअनुसार हालसम्म १४ वटै वडाका ५५५ जना पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा रु ३८ लाख बराबरको कृषिसामग्री वितरण गरिएको नगर आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले बताउनुभयो । “एक सय २७ किसानलाई रु चार लाख बराबरको मल्चिङ प्लाष्टिक, ३३९ लाई रु १२ लाख बराबरको टनेल, २६ जना किसानलाई रु १६ लाख बराबरको हाते ट्र्याक्टर र ६३ जनालाई रु छ लाख बराबरको काउम्याट वितरण गरिएको छ”, उहाँले भन्नुभयो ।

कृषि र पशु क्षेत्रको विकास र विस्तारका लागि सामग्री हस्तान्तरण गरिएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । उहाँले नगरपालिकाले किसानको सहजताको लागि ‘कृषि एप’ विकास गरेको र यसमा विभिन्न रोग तथा त्यसको निदानबारे जानकारी बताउनुभयो ।

दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, १३ जेठः सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “शैक्षिकसत्र प्रारम्भ भइसकेको अवस्थालाई विचारै नगरी दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने कार्य स्थगित गरिएको भन्ने विपक्षी मन्त्रालयको मिति २०८२/१/२८ मा भएको निर्णय तथा सो निर्णयका आधारमा प्रकाशित मिति २०८२/१/३० को सूचना कार्यान्वयन नगर्नू ।”

आदेशमा सम्पूर्ण प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीहरूको अनुमति रोक्ने निर्णयले उनीहरूलाई अपूरणीय क्षति पुग्ने हुँदा रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म उक्त सूचना कार्यान्वयन नगर्न भनिएको छ ।

सरकारको उक्त निर्णयविरुद्ध शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइ पीडित विद्यार्र्थी एलिजा पाण्डेसहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश गरिएको हो । आदेशमा १५ दिनभित्र कारणसहित लिखित जवाफ पेस गर्न भनिएको छ ।

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन: अध्यक्ष दाहाल

गोरखा, १३ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताउनुभएको छ । गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उहाँले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताब्दीको युगमा निरङ्कुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताउनुभयोे ।

नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ । “राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ”, उहाँले भन्नुभयो, “यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ ।”

अध्यक्ष दाहालले जनतामा नैरास्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

शान्ति, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निम्ति कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उहाँले शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गर्नभयो । “राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन”, अध्यक्ष दाहालको भनाइ थियो ।