`

दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

महेन्द्रनगर (धनुषा), वैशाख १२ –जानकी नवमीका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ । बिहानैदेखि यहाँ हजारौँ हिन्दू धर्मावलम्बीहरू पूजाआराधना, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गर्दै स्थानमा सहभागी जनाएका थिए ।

त्यस अवसरमा जानकी मन्दिरका सह(महन्त रामरोशन दास वैष्णवसहित साधुसन्त र धार्मिक अगुवाहरूले शाही स्नान गर्नुभयो । शाही स्नानलाई जानकी नवमीको मुख्य आकर्षणका रूपमा लिइन्छ, जसले माता जानकीप्रति श्रद्धा र आस्थालाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ ।

यसअघि जानकी मन्दिरबाट बाजागाजा, धार्मिक झाँकी र ध्वजापताकासहित भव्य शोभायात्रा निकालिएको थियो । शोभायात्रा जानकी घाट पुगेर शाही स्नानमा परिणत भएको थियो।आजै दिउँसो १२ः०० बजे जन्म आरती तथा बधाई गान कार्यक्रम आयोजना गर्नुभएको थियो । आजै अपराह्न ४ बजेदेखि मन्दिरबाट डोला शोभायात्रा निकाली नगर परिक्रमा गर्ने कार्यक्रम रहेको साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको सहमहन्त वैष्णवले जानकारी दिनुभयो ।

आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी

काठमाडौँ, वैशाख १२ –आज विश्व औलो दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । ‘औलो अन्त्य हाम्रो सङ्कल्पः सक्षम छौँ, छैन अब विकल्प’ भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो ।औलो एनोफिलिज जातका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने परजीविको कारण हुने एक प्रकारको सरुवा रोग हो । औलो सङ्क्रमित व्यक्तिको ज्यानै जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।

शिशुहरू, पाँच वर्षमुुनिका बालबालिका, गर्भवती, किशोरी, एचआइभी तथा एड्स सङ्क्रमित व्यक्तिमा सङ्क्रमणको जोखिम बढी हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले बताउनुभयो । औलो सजिलै रोकथाम र उपचार गर्न सकिने भएकाले समयमै उपचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

औलोका लक्षण

ज्वरो आउने, काप छुट्ने, टाउको दुख्ने, असाध्यै थकित महसुस हुने, भ्रमित अवस्था हुने, वेहोस हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिने डा दाहालले जानकारी दिनुभयो । नेपालमा औलो निवारणतर्फ उन्मुख रहेको छ । विगत १० वर्षमा स्थानीय औलोको सङ्ख्या करिब ९० प्रतिशतले कमी आएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा आयातित औलोका बिरामी धेरै रहेका इपिडिमियोलोजी डा दाहालले उल्लेख गर्नुभयो । भारतका उच्च जोखिम क्षेत्रमा हुने र अफ्रिकी देशबाट स्वदेश फर्कंदा धेरै मानिसले आयातित औलो सङ्क्रमण लिए आउने गरेका उहाँको भनाइ छ । उहाँका अनुसार नेपालमा ९७ प्रतिशत औलोका बिरामी विदेशबाट आएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा ३९ जनामा स्थानीय औलोर र एक हजार १२५ जना आयातित औलो देखिएको डा दाहालले जानकारी दिनुभयो । आव २०८०र८१ मा २४ स्थानीय र ७६७ जना आयातित, आव २०७९/८० मा २४ स्थानीय र ५०९ आयातित औलोका बिरामी देखिएका उहाँले उल्लेख गर्नुभयो ।

शाखा प्रमुख डा दाहालले नेपालमा अहिले औलो जोखिममा केही जिल्ला मात्र रहेका उल्लेख गर्दै सरकारले राष्ट्रिय औलो रणनीतिक योजना (२०२५ देखि २०३०) सम्म सञ्चालन गरेर नेपाललाई औलोमुक्त मुलुक बनाउने योजना अघि सारेको बताउनुभयो । सोही योजनाअनुसार सन् २०२६ सम्म स्थानीय औलोका बिरामीलाई शून्यमा पुर्‍याउने लक्ष्य राखेको छ ।

उहाँका अनुसार ४२ वटा वडामात्र औलोको उच्च जोखिममा छन् । हालसम्म विश्वमा ४७ देश औलोमुक्त भइसकेका छन् । सन् २००० देखि २०२४ सम्म औलो प्रभावित देशको सङ्ख्या १०८ बाट ८० मा झरेको डा दाहालले जानकारी दिनुभयो । विश्वमा सन् २०२४ सम्म २८ करोड औलाका बिरामी देखिएका थिए । औलाको विश्वव्यापी भारमध्ये ९५ प्रतिशत हिस्सा अफ्रिकी क्षेत्रले ओगटेको तथ्याङ्क इपिडिमियोलोजीले तथा सरुवा रोग महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो

काठमाडौँ, वैशाख १२ –काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो ।उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो ।

आज दिउँसोदेखि सुरु गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा गैरीगाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर अहिले सिनामंगलस्थित सुकुम्बासी बस्तीका घर भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गैरीगाउँमा भएका बस्ती हटाएर अब टोली सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउन खटिएको छ ।” हालसम्म बस्ती हटाउने क्रममा कुनै ठूला अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ । महानगर प्रहरीका अनुसार गैरी गाउँमा कम्तीमा पनि एक सय घर टहरा भत्काइएको छ ।

सुकुम्वासी बस्तीमा डोजर चलेपछि बोले कुलमान घिसिङ

काठमाडौं – सुकुम्वासी बस्तीमा डोजर चलेपछि उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले सरकारलाई विभिन्न माग राखेका छन् । यसबारे कुलमानले सामाजिक सञ्जालमार्फत खुलाएका छन् ।

उनले लेखेका छन् – काठमाडौं उपत्यकाको नदी किनारामा बसोवास गर्दै आएका सुकुम्बासी बस्तीहरूलाई हटाउने सरकारको तयारी सम्वन्धमा राज्यले संवैधानिक र न्यायिक मर्मको सम्मान गर्दै मानवीय, व्यवस्थित र न्यायोचित समाधान अघि सार्नुपर्ने हाम्रो दृढ माग छ ।

राजमार्गमा सवारी कर नउठाउन आदेश

पर्सा। उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले पर्साको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा चाल्ने सवारीसाधनबाट कर नउठाउन आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जका न्यायाधीसद्वय अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेलको शुक्रबारको इजलाशले सर्वाेच्च अदालतको उत्प्रेषणको रिट निवेदनमा विसं २०८२ फागुन २८ मा विपक्षी वीरगञ्ज महानगरपालिकासमेतका नाममा अन्तरिम आदेश जारी भइसकेको सन्दर्भमा राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गम चल्ने सवारी साधनबाट कर उठाउन बाहेक वीरगञ्ज महानगर मातहत पर्ने सडकमा भने उठाउन सक्ने आदेश जारी गरेको छ ।

‘‘विसं २०८२ साउन ३० गतेको सम्झौताको शर्त बन्देजको अधनीमा रही कर सङ्कलन गर्न निवेदकलाई कुनै प्रकारको अवरोध नगर्नु÷नगराउनू भनी यसै अदालतबाट २०८३ वैशाख ४ मा जारी भएको अन्तरिम आदेशलाई सो हदसम्म संशोधन गरी निरन्तता प्रदान गरी दिएको उल्लेख गरिएको छ ।’’

अदालतको आदेशमा भनिएको छ । प्रभु कन्स्ट्र्क्सनले वीरगञ्ज महानगरको राजमार्ग तथा सहायक राजमार्गमा ठेक्का सम्झौता गरेर सवारी व्यवस्थापन कर उठाउँदै आइरहेको थियो ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद बुद्धिप्रसाद पन्त (हरि)ले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको निषेधाज्ञा आदेशले राजमार्ग,सहायक राजमार्ग र हुलाकी राजमार्गमा स्थानीय तहले बोलपत्र आब्हान गरेर सवारी कर तथा कवाडी कर सङ्कलन गर्न नपाउने आदेश जारी गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

“मालवाहक सवारीसाधनसँग अवैध ढङ्गले ढाँट राखेर कर उठाइदैँ आइरहेको थियो,” उहाँले भन्नुभयो, “अदालतको आदेशसँगै सो रोकिने आशा गरेका छौँ ।”

कैलालीमा आगलागीमा परी एक जनाको मृत्यु

कैलाली। घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ ।

सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो ।

लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु २०, परवर (लोकल)प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ६५, सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ७०, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ६०, चुकन्दर प्रतिकिलो रु ५०, कोइराला प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु १९०, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४००, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकोडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ। सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार पाँच किलोमिटर ‘नेपाल–इजिप्ट मैत्री दौड’ आयोजना गरिएको छ ।

इजिप्टस्थित नेपाली दूतावासले त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा ‘हिमालदेखि नाइलसम्म—हरित भविष्यका लागि दौडौँ’ नारासहित उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल तथा त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालयअन्तर्गत संरक्षित क्षेत्रसम्बन्धी केन्द्रीय प्रशासनका प्रमुख मोहम्मद युसुफले संयुक्त रूपमा गर्नुभएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा राजदूत लम्सालले सहभागीहरूलाई स्वागत गर्दै सन् १९५३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणको सम्झनामा मनाइने सगरमाथा दिवस मानव दृढता र सहकार्यको प्रतीक भएको उल्लेख गर्नुभयो ।

उहाँले हालै घोषणा गरिएको अन्तरराष्ट्रिय आरोग्य दिवसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा पारिस्थितिक सन्तुलनलाई समेट्ने समग्र स्वास्थ्यको महत्व उजागर गर्ने बताउनुभयो ।

राजदूत लम्सालले योग, ध्यान र प्रकृतिसँगको सामञ्जस्यजस्ता नेपालको परम्परागत अभ्यासले वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको सम्बन्धलाई बलियो बनाउने बताउनुभयो ।

प्रमुख युसुफले दूतावासले आयोजना गरेको कार्यक्रमको सराहना गर्दै यसले वातावरणीय सचेतना र दिगोपनाको सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले हरित भविष्य निर्माणका लागि इजिप्टको प्रतिबद्धता पुनः दोहो¥याउँदै दिगोपनाको पहलमा नेपालको योगदानको प्रशंसा गर्नुभयो ।

करिब ३० किलोमिटर लम्बाइमा फैलिएको वादी डेगला संरक्षित मरुभूमि उपत्यकाभित्र आयोजना गरिएको दौड प्राकृतिक परिवेशमा सम्पन्न भएको थियो । यो क्षेत्रको मरुभूमि पारिस्थितिकी तन्त्र र वन्यजन्तुको संरक्षण गरिएको छ ।

कार्यक्रममा कूटनीतिज्ञ, विद्यार्थी, स्थानीय खेलाडी तथा नेपाली समुदायका सदस्यसहित ३५० भन्दा बढी सहभागीको उपस्थिति थियो ।

बालेन जी, जनतालाई धेरै दु:ख नदिनु, सबैजना एकदिन जलेर खरानी हुनुपर्छ – हर्क साम्पाङ

काठमाडौं -थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रधानमन्त्री बालेन शाहलाई हर्क साम्पाङले सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्
बालेन जी… तपाइँलाई मेरो सुझाव “जनतालाई धेरै दु:ख नदिनु ! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ ! सत्य यही एउटा माटो हो ! त्यसैले चुनाव चिन्ह पनि माटो नै लिएर आएको म त ! बिकासमा लाग्नु ! पुरानो जुङ्गाको फाइट छोड्नु ! आजको मितिमा तपाईकै जुङ्गा लामो छ ! छोड्दिनु भो !”

थापाथलीस्थित सुकुम्बासी बस्तीमा चल्यो डोजर

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ । शनिबार बिहान बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो।

हाल दुईवटा डोजर प्रयोग गरिएको छ भने बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सहकार्य गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । थापाथली क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ । बस्ती हटाउने तयारीसँगै सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षाकर्मीको उपस्थिति उल्लेख्य रूपमा बढाइएको हो।

 

वीरगञ्जबाट पेट्रोलियम आयात, ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

पर्सा। चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा रु एक खर्ब ४८ अर्ब १६ करोड बराबरका पाँच किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो ।

उक्त अवधिमा आठ लाख आठ हजार सात सय ४५ किलोलिटर डिजेल, तीन लाख ५९ हजार आठ सय ४६ किलोलिटर पेट्रोल २२ करोड ४८ लाख ७५ हजार दुई सय ६६ किलोग्राम एपपी ग्यास आयात भएको छ ।

चन्द्रगढी महिला गोल्डकपः त्रिभुवन आर्मी क्लब फाइनलमा

भद्रपुर (झापा), १२ वैशाखः मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत वैशाख ११ गते भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । आर्मीले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

फाइनल प्रवेशसँगै आर्मीले कम्तीमा रु पाँच लाख पुरस्कार सुनिश्चित गरेको छ । अब आर्मीले वैशाख १२ गते शनिबार हुने सशस्त्र प्रहरीको एपीएफ एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३२औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । पुलिसकी डिफेन्डर समिक्षा घिमिरेको त्रुटिको फाइदा उठाउँदै भण्डारीले गोल गर्न सफल भइन् ।

छपन्नऔँ मिनेटमा जेनिफर राना मगरले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । पुलिसले खेलको ७०औँ मिनेटमा एक गोल फर्कायो । पुजा रानाको हेडमार्फत दिएको पासलाई रेखा पौडेलले पुनःहेड गर्दै गोलमा परिणत गरिन् ।बाँकी समयमा पुलिसले बराबरीको प्रयास गरे पनि आर्मीका डिफेन्डर बिमला बिक, सुनिता चौधरी र अनिता लम्जेलले उत्कृष्ट प्रदर्शन गर्दै थप गोल हुन दिएनन् ।

खेलको ‘प्लेयर अफ द म्याच’ आर्मीकी डिफेन्डर बिमला बिक घोषित भइन् । उनले नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् ।प्रतियोगिता अन्तर्गत २०८३ वैशाख १२ गते शनिबार सशस्त्र प्रहरीको एपीएफ एफसी र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ ।
रासस

राजमार्गहरूमा अवैध ढङ्गले ढाँट राखेर सवारी कर नउठाउन आदेश

वीरगञ्ज (पर्सा), १२ वैशाखः उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले पर्साको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा चल्ने सवारीसाधनबाट कर नउठाउन आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जका न्यायाधीसद्वय अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेलको २०८३ वैशाख ११ गते शुक्रबारको इजलाशले सर्वाेच्च अदालतको उत्प्रेषणको रिट निवेदनमा विसं २०८२ फागुन २८ मा विपक्षी वीरगञ्ज महानगरपालिकासमेतका नाममा अन्तरिम आदेश जारी भइसकेको सन्दर्भमा राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गम चल्ने सवारी साधनबाट कर उठाउन बाहेक वीरगञ्ज महानगर मातहत पर्ने सडकमा भने उठाउन सक्ने आदेश जारी गरेको छ ।

‘‘विसं २०८२ साउन ३० गतेको सम्झौताको शर्त बन्देजको अधनीमा रही कर सङ्कलन गर्न निवेदकलाई कुनै प्रकारको अवरोध नगर्नु/नगराउनू भनी यसै अदालतबाट २०८३ वैशाख ४ मा जारी भएको अन्तरिम आदेशलाई सो हदसम्म संशोधन गरी निरन्तता प्रदान गरी दिएको उल्लेख गरिएको छ ।’’

मार्ग,सहायक राजमार्ग र हुलाकी राजमार्गमा स्थानीय तहले बोलपत्र आब्हान गरेर सवारी कर तथा कवाडी कर सङ्कलन गर्न नपाउने आदेश जारी गरेकोमा खुसी व्यक्त गर्नुभयो । “मालवाहक सवारीसाधनसँग अवैध ढङ्गले ढाँट राखेर कर उठाइदैँ आइरहेको थियो,” उहाँले भन्नुभयो, “अदालतको आदेशसँगै सो रोकिने आशा गरेका छौँ ।”अदालतको आदेशमा भनिएको छ । प्रभु कन्स्ट्र्क्सनले वीरगञ्ज महानगरको राजमार्ग तथा सहायक राजमार्गमा ठेक्का सम्झौता गरेर सवारी व्यवस्थापन कर उठाउँदै आइरहेको थियो ।

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ। बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय सहकार्यका व्यापक सम्भावना रहेका उल्लेख गर्दै दुई देशबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउन व्यावसायिक सम्बन्ध विस्तारमा जोड दिनुभयो ।

कार्यक्रममा रङ्गपुरका अतिरिक्त जिल्ला मजिस्ट्रेट क्रिस्टोफर हिमाल रिचिल, रङ्गपुर मेट्रोपोलिटन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष गुलाम जकारिया, रङ्गपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कार्यवाहक अध्यक्ष मञ्जुर अहमद तथा रङ्गपुर महिला चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजकी अध्यक्ष शाहनाज परविन शाहिनलगायत वक्ताले दुई देशका व्यावसायिक समुदायबीच सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

साथै उनीहरुले नेपाल–बङ्गलादेश आर्थिक साझेदारीलाई अझ अघि बढाउने उपायबारे विचार आदानप्रदान गरेका थिए ।त्यस अवसरमा रङ्गपुरस्थित विभिन्न उद्योग वाणिज्य सङ्घ, व्यावसायिक संस्थाका प्रतिनिधि, ‘ट्राभल एन्ड टुर’ उद्यमी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवद्र्धन गर्न सीताको जीवन उत्तिकै प्रासङ्गिक रहेको बताउनुभएको छ ।सीता जयन्तीलाई सामाजिक कुरीति, विभेद र हिंसाविरुद्ध जागरण फैलाउने अवसरका रूपमा लिन सक्नुपर्ने उहाँको भनाइ छ । सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुहुँदै उहाँले माता सीता सत्य, धर्म र आदर्श नारीत्वको शाश्वत प्रतीक रहेको उल्लेख गर्नुभएको छ ।

“उहाँको जीवन त्याग, धैर्य, पवित्रता, साहस र समर्पणको अनुपम उदाहरण हो । सीताको चरित्रले नारीको स्वाभिमान, आत्मनिर्णय र कर्तव्यनिष्ठतालाई उजागर गर्दै आएको छ” उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ “यो जयन्तीले हामीलाई धर्म, सत्य र नैतिकताको मार्गमा दृढ रहन प्रेरणा दिन्छ ।”

माता सीताको जीवनले पारिवारिक सद्भाव, सामाजिक न्याय र लैङ्गिक समानताको महत्वलाई स्मरण गराउने उहाँको कथन छ ।उपराष्ट्रपतिले कठिन परिस्थितिमा पनि धैर्य र विश्वास कायम राख्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको उल्लेख गर्दै उहाँले यस अवसरमा, सीताको आदर्शलाई आत्मसात गर्दै नारी सशक्तिकरण, पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा योगदान पु¥याउने संकल्प लिनुपर्ने बताउनुभएको छ ।

“पृथ्वीकी छोरीका रूपमा सीताले प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई उजागर गर्नुभएको छ । यसले वातावरण संरक्षण, मातृशक्तिको सम्मान र सामाजिक न्यायको सन्देश दिन्छ” उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।उपराष्ट्रपतिले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेदको अन्त्य गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा दृढ सङ्कल्पका साथ अघि बढ्ने हौसला प्राप्त होस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

कस्तो हुनेछ आज देशभरको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार शनिबार (आज) दिउँसो मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

आज किोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

 

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

दसौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्व तयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।”

राष्ट्रपति पौडेलले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी ज्यान गुमाउनु हुने सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन पनि अर्पण गर्नुभएको छ । सन्देशमा भनिएको छ, ‘भूकम्प एक प्राकृतिक विपत् हो । प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ ।’

नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहनुपर्ने उहाँको भनाइ छ ।

नवनिर्मित एवम् पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनु पर्ने उल्लेख गर्दै उहाँले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पु¥याउनु हुने सबैलाई सन्देशमा धन्यवाद दिनुभएको छ ।

थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि प्रहरी परिचालन

थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बस्ती हटाउने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो।

सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि ती क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ । शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान पोको पार्दै देखिएका छन्। केहीले शुक्रबार नै सामान अन्यत्र सारे पनि तत्काल बस्ने ठाउँ नपाएकाहरू भने अझै बस्तीमै रहेका छन्।

यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४२ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०१ पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६० पैसा र बिक्रीदर २३ रुपैयाँ ६९ पैसा, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कका अनुसार बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०० रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ९० पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आग्रह

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ ।

प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न लागेको छ । प्राधिकरणको २०८२ कात्तिक १९ को बैठकबाट सौर्य विद्युत् आयोजनाको बिजुली खरिद बिक्रीको सम्झौता गर्ने निर्णय गरेको थियो ।

स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाको प्रतियुनिट चार रुपैयाँ ९९ कायम गरिएको छ । त्यस्ता आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्री सम्झौता चालु आवको अन्त्यसम्म सम्पन्न गरिसक्ने निर्णय यसअघि नै भएको छ ।

प्राधिकरणको यही वैशाख २ गतेको निर्णयअनुसार, यसै महिनाको अन्तिमसम्म आवश्यक कागजातसहितको निवेदन दिन आग्रह गरिएको छ । आयोजनालाई प्राधिकरणको ३३/११ केभी क्षमताको ग्रीड वा वितरण सवस्टेशनमा जडान गरिनेछ । प्रवर्द्धकले अनुरोध गरेमा प्राधिकरणको ११ केभी वितरण लाइनमा आवश्यक व्यवस्थासहित जडान गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत् खरिद सम्झौताका लागि निवेदन, कम्पनी दर्ताको प्रमाणपत्र, स्थानीय तहको कम्तीमा पनि ५१ प्रतिशत शेयर रहेको अद्यावधिक शेयर लगत विवरण, सञ्चालकको लगतसहितको विवरण पेस गर्नुपर्नेछ । कम्पनीको प्रबन्धपत्र, कम्पनीको नियमावली, कर चुक्ताको प्रमाणपत्र, बहाल रहेको विद्युत् सर्वेक्षणको अनुमतिपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र, आयोजना निर्माण गर्ने जग्गाको लिज सम्झौता वा भोगाधिकार वा कम्पनीको नाममा भएको प्रमाणसहितको कागजात पेस गर्नुपर्नेछ ।

त्यस्तै, विद्युत् खरिद सम्झौताको मस्यौदा तथा विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर गर्न कम्पनीको तर्फबाट हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारीनामा पत्र र आयोजनाको निर्माण तालिकासहितको विवरण पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

राष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सीता जयन्तीको अवसरमा सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाजको निर्माण गर्नका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन् ।

राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा आज सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै जगत् जननीको रूपमा पूजा अर्चना गरिने मातृ शक्ति सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरेका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायणलगायत पुराणमा वर्णनन् गरिएको पाइन्छ । माता सीताको जन्म हाम्रो पौराणिक तथा साँस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ । जानकी, वैदेही, जनक नन्दिनीलगायत सीताका अन्य धेरै नामलाई श्रद्धाभक्तिपूर्वक लिँदै आज सीता जयन्तीका अवसरमा देशभरका राम जानकी मन्दिरमा र जनकपुरको जानकी मन्दिरमा विशेष पूजा अर्चना गरी यो पर्व मनाइन्छ ।

माता सीतालाई पतिव्रता, धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिको रूपमा लिइन्छ । मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीको रूपमा माता सीताको श्रद्धा गरिन्छ ।

भूमिहीन तीस दिनभित्र सम्पर्कमा आउनु: वीरगन्ज महानगरपालिका

पर्सा । वीरगन्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू–भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगन्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो ।

वीरगन्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णले शुक्रबार सार्वजनिक सूचना जारी गरेर सडक विस्तारबाट भूमीहीन बन्नेले ३० दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउनको लागि आह्वान गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावितलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत सङ्कलन प्रक्रिया सुरु गर्न लागिएको महानगरले जनाएको छ । महानगरमा प्राप्त विवरणको यथार्थ छानबिन गरी पूर्णरूपमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष सिफारिस गरिने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयले भत्किएका घरटहरामा व्यापार नगर्न प्रशासनको अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले केही घरधनीले भत्किएको जोखिमपूर्ण घरटहरामा केही व्यक्तिलाई व्यापार,व्यवसाय सञ्चालन गर्न दिँदा घरधनी, व्यवसायी र सर्वसाधारण जोखिममा पर्न सक्ने हुँदा त्यस्तो जोखिमपूर्ण संरचनामा व्यापार तथा व्यवसाय नगर्न अनुरोध गरे ।

विश्व औलो दिवस: नवलपरासी पूर्वमा सात जना औलोका बिरामी भेटिए

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म सात औलो (मलेरिया) का बिरामी भेटिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार चालु आर्थिक वर्षमा भेटिएका ती औलो रोगी भारतमा रोजगारी गरी फर्किएका पुरुष छन् ।

ती बिरामीमध्य भारतसँग सीमा जोडिएको विनयी त्रिवेणी गाउँपालिकामा चार रहेका छन् भने हुप्सेकोट गाउँपालिका र गैँडाकोट नगरपालिका एक, एक रहेका छन् । जिल्लामा विगतका वर्ष देखिनै औलो शून्य रहे पनि आयातित (अन्य देशमा सङ्क्रमण भई यहाँ आएको) बिरामी बर्सेनि फेला पर्ने गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए ।

Yamaha“भारतमा कामका लागि गएर आफ्नो घर आउने क्रममा औलो रोग पत्ता लाग्ने बिरामी बर्सेनि देखिएको छ,” उनले भने, “यहाँ नै औलो लागेको बिरामी भेटिएको छैन ।”

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा आर्थिक वर्ष २०७७/०७८ मा तीन, २०७८/०७९ र २०७९/०८० मा छ/छ, २०८०/०८१ मा चार जना र २०८१/०८२ मा १० औलोका बिरामी देखिएको थियो ।

“विगत छ वर्षका सबै केश आयातित नै रहेका छन्, आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती बनेको छ,” उनले भने ।

नेपालमा स्थानीय औलोलाई शून्यमा पुराउन औलो बिरामीको खोजपड्ताल तथा औलो निवारणका लागि आवश्यक सूचना प्रदान गर्ने गरिएको छ । लामखुट्टेको टोकाइबाट नै यस्ता रोग फैलने हुँदा यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने निरीक्षक तिवारीले बताए ।

औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलो सामान्य र कडा लक्षणसहितका गरी दुई प्रकारका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताए ।

वैशाख शुक्ल नवमी: आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।

त्रेता युगमा मिथिलाका राजा जनकले ठुलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएकाे वर्णनन् विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् तोयराज नेपालले राससलाई जानकारी दिए ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ । रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भएपनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सम्झना गरिन्छ ।

अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् नेपाल बताउँछन् । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।

दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् ।

सीता उत्पत्ति भएको आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ । यसै अवसरमा आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधना गरिँदै छ ।

श्रीरामचन्द्र मन्दिर व्यवस्थापन समिति यो वर्षको सीता जयन्ती मनाउन सबै तयारी भएको छ । यस अवसरमा नागार्जुन नगरपालिका–५ स्थित सीतापाइला मन्दिरमा बिहान ०९ बजेदेखि विशेष पूजा आराधनाको कार्यक्रम राखिएको महेश रिमालले जानकारी दिए ।

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै युवा तथा प्रविधिमैत्री इन्जिनियरसँग ‘विशेष विचार मन्थन’ कार्यक्रमको आयोजना गरेको छ ।

प्राधिकरणले आफ्नो सेवालाई नवीनतम् विश्वस्तरीय प्रविधिमा रुपान्तरणका लागि ‘सरप्राइज’ र नवीन प्रयोगको सुरुआतका लागि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा उक्त कार्यक्रमको सुरुआत गरिएको हो ।

प्राधिकरणको मेरुदण्ड मानिने वितरण र प्रसारण सेवालाई आधुनिक बनाउने उद्देश्यको सुरुआतसहित यस्तो कार्यक्रमको आयोजना गरिएको प्राधिकरणको भनाइ छ । “कार्यक्रममा सहभागी युवा तथा प्रविधिमैत्री इन्जिनियरहरूलाई विषयवस्तुबारे पूर्वजानकारी दिइएको थिएन”, कार्यकारी निर्देशक शाक्यले कार्यक्रमबारे भन्नुभयो, “अध्ययनको समय नदिई उनीहरूमा रहेको विद्यमान ज्ञान, तत्काल समस्या समाधान गर्ने क्षमता र विश्वव्यापी प्रविधिबारेको बुझाइलाई सोझै विश्लेषण गरिएको थियो । यसले युवा इन्जिनियरहरूलाई यथास्थितिबाट बाहिर निस्केर नवीनतम् योजनाबारे सोच्न बल पुर्याउने हामीले अपेक्षा गरेका छौँ ।”

प्राधिकरणले दिएको जानकारीअनुसार छलफल मुख्य गरेर तीनवटा स्तम्भमा केन्द्रित गरिएको थियो । चुस्त सेवा अर्थात् प्रशासनिक र प्राविधिक प्रक्रियालाई डिजिटल प्रविधिमार्फत छिटो–छरितो बनाउने, दुरुस्त व्यवस्थापन अर्थात् डाटा र अटोमेसनको प्रयोग गरी प्रणालीमा रहेका कमजोरी र चुहावट शून्यमा झार्ने र तेस्रोचाहिँ विश्वसनीय प्रसारण अर्थात् ट्रिपिङ र भोल्टेजको समस्यालाई आधुनिक ‘स्मार्ट ग्रिड’ प्रविधिमार्फत समाधान गर्ने विषयमा केन्द्रित भएका थियौँ”, उहाँले भन्नुभयो, “हामीसँग भएका ऊर्जावान युवा इन्जिनियरहरू प्राधिकरणको भविष्य हुन् । उनीहरूको प्रविधिप्रतिको लगावलाई संस्थाको कार्यशैलीसँग जोडेर नेविप्रालाई विश्वस्तरीय बनाउने हाम्रो लक्ष्यअनुसार यो कार्यक्रमको थालनी गरेका हौँ । सुरुआतमै हामी आशावादी भएका छौँ ।” प्राधिकरणले यो कार्यक्रमलाई निरन्तरता दिने पनि जानकारी दिएको छ ।

नेपालको ऊर्जा क्षेत्रमा उत्पादन बढेसँगै अबको मुख्य चुनौती गुणस्तरीय वितरण र दिगो प्रसारण भएको भन्दै प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै प्रविधिसँग भिजेका नयाँ पुस्ताका इन्जिनियरहरूलाई ‘ड्राइभिङ सिट’ मा राखेर अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम थालनी गरिएको निर्देशक शाक्यले जानकारी दिनुभयो ।

छलफलबाट निस्किएका निष्कर्षलाई छिट्टै कार्ययोजनामा ढालेर वितरण र प्रसारण प्रणालीमा लागू गर्ने प्राधिकरणको तयारी छ । यसले ग्राहकहरूलाई दिइने सेवामा मात्र नभई, प्राधिकरणको आन्तरिक कार्यसम्पादनमा समेत एउटा ठूलो फड्को मार्ने अपेक्षा प्राधिकरणले लिएको छ ।

पहिलो कार्यक्रममा प्रविधिमैत्री इन्जिनियरको सक्रिय सहभागिता हुनुलाई प्राधिकरणले सफलताको सुरुआत भनेको छ । यसले नवीन कार्यशैलीसँगै विश्वव्यापी ट्रेन्डअनुसारको प्रसारण र वितरण प्रणालीमा टेवा पुग्ने पनि प्राधिकरणको अपेक्षा छ ।छलफलले विद्युत् सेवालाई थप भरपर्दो बनाउने ठोस प्रतिबद्धताका लागि आधार तयार गरेको पनि प्राधिकरणले जनाएको छ ।

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ ।उक्त बैंकको नक्कली कागजात, छाप, बैंक कर्मचारी र सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्काई हानी नोक्सानी गरेको मुद्दामा सर्वोच्च अदालतबाट २०८० असोज १५ गते दुई वर्ष कैद सजाय तोकिएका उनलाई आज महाराजगन्जबाट पक्राउ गरिएको हो ।

अदालतले उनलाई रु १३ लाख ३३ हजार ३३३ जरिवानासमेत गरेको थियो । सो बैङ्कको ठमेल शाखामा जुनियर असिष्टेन्ट पदमा कार्यरत उनले टेलर हेडको जिम्मेवारीमा रहदा उक्त घोटाला गरेको अनुसन्धानबाट खुलेको छ ।निज श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

पर्सा। सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट भन्सार छली गरेर भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले बिहीबार पर्साको विभिन्न स्थानबाट करिब रु १७ लाख ३० हजार मूल्य पर्ने २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरगन्ज महानगर-१६ स्थित मुख्य भन्सार नाकाबाट १४, सिर्सियानाकाबाट सात, विन्दवासिनी गाउँपालिका-५ स्थित प्रसौनीभाठाबाट एक गरी २२ स्थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।

नेपाली सेनाको ९६ जना सैनिकलाई दज्र्यानी चिह्न प्रदान

भक्तपुर। भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ महिनाका सैन्य तालिम सम्पन्न गरेका ९६ जना सिपाहीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।सूर्यविनायकस्थित ब्यारेकमा आयोजना गरिएको दज्र्यानी चिह्न प्रदान कार्यक्रममा ९६ सैन्यलाई सिनं १ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि सुनिलसिंह राठौडले नेपाली सेनाको सैनिक पदको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

कार्यक्रममा उहाँले तालिमप्राप्त सिपाहीहरूले प्रदर्शन गरेको दलेल कवाज अवलोकन गर्नुभयो । उहाँले तालिममा सर्वोत्कृष्ट र उत्कृष्ट सैनिकलाई पुरस्कार प्रदान गर्नुभयो । उहाँले देश, जनता, राष्ट्र, राष्ट्रियताको रक्षाका लागि आफ्नो ज्यानको बाजी राखेर भए पनि सधैँ कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो । राष्ट्र, राष्ट्रियतालाई आफ्नो शिरमा राखेर देशप्रति बफादार भएर लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रममा रणशेर गण सूर्यविनायक ब्यारेकका गणपति नीरजप्रताप जबराले नयाँ भर्ना भई यसै ब्यारेकमा नौ महनाको तालिम सम्पन्न गरी आजबाट नेपाली सैनिक जवानको रूपमा देश र जनताको रक्षाका लागि सदैव लाग्न आग्रह गर्नुभयो ।

रुसले ब्याजदर घटायो

मस्को। राष्ट्रपति भ्लादिमिर पुटिनले सुस्त अर्थतन्त्रको बारेमा चेतावनी दिएको र आफ्ना अधिकारीहरूलाई आर्थिक वृद्धिलाई बढावा दिन आदेश दिएको केही दिनपछि रुसले शुक्रबार प्रमुख क्षेत्रको ब्याजदर घटाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार युक्रेनमाथि चार वर्षे युद्ध र पश्चिमी प्रतिबन्धको लागत बढेपछि वर्षको पहिलो दुई महिनामा रुसको अर्थतन्त्र खुम्चिएको छ । केन्द्रीय बैङ्कले ऋण लिने लागत १५ प्रतिशतबाट घटाएर १४.५ प्रतिशतमा झारेको बताएको छ, यद्यपि भविष्यमा उच्च मुद्रास्फीतिको सम्भावनाको बारेमा अझै चिन्तित रहेको बताइएको छ ।

ब्याजदर कटौतीको घोषणा गर्दै रुसको केन्द्रीय बैङ्कले वृद्धिदर समग्रमा कमजोर भएको उल्लेख गर्दै बाह्य वातावरण र सरकारको खर्च योजनाको बारेमा सचेत गराएको छ । गत वर्ष रूसको कुल गार्हस्थ्य केवल एक प्रतिशतले बढेको थियो र अधिकारीले सन् २०२६ मा अर्को सुस्त विस्तारको भविष्यवाणी गरेका थिए ।

पुटिनले गत हप्ता आर्थिक मामिलामा एक सरकारी बैठकमा गत वर्षको सोही अवधिको तुलनामा जनवरी-फेब्रुअरीमा अर्थतन्त्र १.८ प्रतिशतले घटेको र आर्थिक वृद्धिको ‘प्रक्षेपवक्र’ अहिले अपेक्षा भन्दा कम रहेको बताउनुभएको थियो । पुटिनले भन्नुभयो, “यो विज्ञ र विश्लेषकको अपेक्षाभन्दा कम मात्र होइन, सरकार आफैं र केन्द्रीय बैङ्कको पूर्वानुमानभन्दा पनि कम थियो ।”

अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले भनेको छ, “मध्यपूर्वमा व्याप्त युद्धले कच्चा तेलको मूल्यलाई उच्च बनाएको छ तर यसले मस्कोलाई केही वित्तीय राहत प्रदान गरेको छ ।” मस्कोले मार्चमा तेल निर्यातबाट आफ्नो आम्दानी लगभग दोब्बर गरेको छ तर श्रम अभाव, मुद्राको अस्थिरता, कठोर मुद्रास्फीति र कमजोर लगानीको वातावरण जस्ता संरचनागत समस्याहरूले वृद्धिलाई सङ्कुचित बनाइरहेको छ ।

व्यवसायले बढ्दो मुद्रास्फीतिसँग लड्न उच्च ब्याज दरको नीतिलाई लिएर आलोचना गरेका छन् । रूसले युक्रेन विरूद्धको आफ्नो आक्रमणमा ठूलो खर्च गरेको छ ।

यो खर्चले सुरुमा वृद्धिलाई बढावा दिएको देखिए तर अर्थव्यवस्थाका केही भाग सेनासँग जोडिएको छैन । सन् २०२६ को पहिलो तीन महिनामा मस्कोको बजेट घाटा ६० अर्ब डलर वा कुल गार्हस्थ्य उत्पादनको १.९ प्रतिशत बराबर थियो ।

केन्द्रीय बैङ्कले शुक्रबार यदि राज्यको खर्च नियोजित स्तरमा फर्किन सकेन भने ब्याज दर लामो समयसम्म उच्च रहनु पर्ने चेतावनी दिएको छ ।

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी। बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अग्र्यानिक मेवाखेतीबाट प्रशस्त आम्दनी हुने गरेको छ ।

सुस्ता गाउँपालिका-३ रैवा निवासी ४० वर्षीय अर्जुन सहानीले जिल्लामा व्यावसायिक रूपमा मेवाखेती सुरु गरी हालसम्म रु तीन लाख आम्दानी गर्नुभएको हो ।

कोरियाको वैदेशिक रोजगारीबाट फर्किएपछि परिवारसँग मिलेर अग्र्यानिक मेवाखेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरियाबाट मेवाखेतीसम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि अहिले व्यावसायिक रूपमा खेती गर्न थालेको एक वर्ष भयो । अहिले मेवा बगैँचामा दैनिकी बित्ने गरेको छ ।”

करिब रु दुई लाख ५० हजार लागतमा १० कट्ठा जग्गामा ८०० मेवाका बिरुवाबाट खेती सुरु गरेको बताउँदै सहानीले अहिलेसम्म रु तीन लाखको मेवा बिक्री गरिसकेको जानकारी दिनुभयो । नारायणी नदीको नजिक मेवाखेती गरिरहेकाले बाढीले कुनै क्षति गरेन भने यस वर्ष रु सात लाखभन्दा बढीको मेवा बिक्री गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार परासी, मणिग्राम, भुमही र भैरहवाका व्यपारीले प्रतिकिलो रु ५० का दरले खेतबाटै खरिद गरेर लैजान्छन् । “रेडलेडी ७८६ ताइवान जातको मेवा हो, यो जातको मेवा बलौटे (दोरस) माटोमा फल्छ”, सहानीले भन्नुभयो ।

जिल्लामा एक जनाले मात्र व्यावसायिक रूपमा मेवाखेती गरेका बर्दघाट सुुस्ता पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मेवाखेतीसम्बन्धी अरु किसानलाई ज्ञान नभएको, सबै ठाउँमा दोरस माटो नभएकोलगायत कारणले अरु किसानले मेवाखेतीमा रुचि नदेखाएका उहाँको भनाइ छ ।

श्रीकृष्ण विक घटनाः शव काठमाडाैँ लगियो

सिन्धुली। इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको शव परीक्षणका लागि काठमाडौँ लगिएको छ ।

मृत्युको कारण स्पष्ट पार्न र घटनाको थप अनुसन्धान गर्न सिन्धुली अस्पतालमा रहेको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।

विवाह गरेपछि श्रीकृष्णलाई एक किशोरीको बलात्कार गरेको आरोप लागेपछि ललितपुर प्रहरीले वैशाख ३ गते पक्राउ गरेर खुर्कोट पठाएको थियो । सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २३ वर्षीय श्रीकृष्णको खुर्कोटस्थित हिरासतभित्रै वैशाख ७ गते मृत्यु भएकोे इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्णले हिरासत कक्षमा रहेको शौचालयभित्र आत्महत्याको प्रयास गरेका थिए । अचेत अवस्थामा प्रहरीले उद्धार गरेर स्थानीय सुनकोशी अस्पतालमा लगेको जनाउँदै त्यहाँबाट सिन्धुली अस्पतालमा लगिएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेका उहाँले बताउनुभयो ।

मृतककी आमा विन्दामाया विकले भने छोराको मृत्युप्रति प्रहरीसँगै आशङ्का व्यक्त गर्नुभएको छ । प्रहरीका कारण आफ्नो छोराको ज्यान गएको आङ्शका व्यक्त गदँै उहाँले निष्पक्ष छानबिनको माग गर्नुभयो । न्यायको माग गर्दै पीडितपरिवारसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बिहीबार र शुक्रबार दिउँसो ३ः०० बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुभएको थियो ।

सङ्घीय सांसद आशिष गजुरेल, धनेन्द्र कार्की, खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक र खिमा विश्वकर्मासहित पीडित पक्षले घटनाको यथेष्ट प्रमाणसहित न्यायको माग गर्नुभएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएपछि आन्दोलन स्थगित गरेर मृतकको शव काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक आचार्य संयोजक रहेको समितिमा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको युएन शाखाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, नेपाल प्रहरी प्रधान कार्यालयका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक इन्द्रजित मगर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक रामेश्वर सापकोटा रहनुभएको छ । उक्त समितिलाई घटनाका सम्बन्धमा तथ्यगत एवं वस्तुनिष्ट छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

मृतक श्रीकृष्ण र पीडितपरिवारलाई उचित न्याय दिलाउने सिन्धुलीमा उपस्थित सांसदहरूले प्रतिबद्धता जनाउनुभएको छ । घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

मङ्गलबार गठन गरिएको उक्त छानबिन समितिमा सहायक न्यायाधिवक्ता भविराम राई, सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, दलित सेवा सङ्घका सदस्य सञ्जुकुमार विश्वकर्मा, समाजसेवी तथा पूर्वप्रहरी पदम श्रेष्ठ, चिनामाया विक सदस्य रहनुभएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकसुवेदी सदस्यसचिव रहनुभएको थियो । उक्त समितिप्रति पीडित पक्षले आङ्शका व्यक्त गरेपछि शुक्रबार उच्चस्तरीय छानबिन समिति गठन भएको हो ।

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ। काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्नलागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

गोपाल रनपहलीसहित ११ जनाले सुकुम्वासीलाई बस्ती खाली गर्न लगाइएको विषयविरूद्ध रिट निवेदन दायर गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

काठमाडौँका नदी किनाराका सुकुम्वासी बस्ती आज बेलुका ७ः०० बजेसम्ममा खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले सूचना जारी गरिसकेका छन् ।

रिट निवेदनमा काठमाडौँ उपत्यका तथा देशैभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबर्जस्ती कारबाही नगर्नु÷नगराउनु भनिएको छ ।

पत्रकार डेलचन्द्र शर्माको ‘माटो र म’ कृति सार्वजनिक

काठमाडौँ। लामो समय अमेरिकामा बस्नुभएका पत्रकार डेलचन्द्र शर्माको पहिलो कृतिका रूपमा ‘माटो र म’ सार्वजनिक भएको छ ।

साहित्यिक पत्रकार सङ्घ र मिलाप म्यागेजिनले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कविता र निवन्ध मिश्रित विधामा रहेको शर्माको कृति सार्वजनिक गरिएको हो ।

दुईतिहाइ निवन्ध र एकतिहाइ कविता रहेको पुस्तक १२० पृष्ठको छ । सबै पृष्ठ रङ्गीन रहेको पुस्तक हेर्दै आकर्षक र पढुँपढुँ लाग्ने स्वरुपमा सजाइएको छ ।

पुस्तक विमोचन समारोहमा वरिष्ठ पत्रकार प्रा पुरुषोत्तम दाहालले विभिन्न कारणले विदेश पुगेका धेरै नेपालीले आफ्नो अधिकांश समय नेपाल र नेपालीलाई गाली गरेर बिताउने गरेकामा ‘माटो र म’ कृतिका लेखकलाई भने आफूले फरक पाएको बताउनुभयो ।

लेखक शर्मा नेपाल रहँदा पत्रकारिता पेसामा संलग्न रहनुभएको जानकारी दिँदै उहाँले पुस्तक प्रकाशन गरेर लेखकले रचनात्मक काम गर्नुभएको बताउनुभयो । पछिल्लो पुस्ताले राम्रो साहित्य लेखिरहेकाले त्यसको अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।

पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै प्रा सरु पोखरेलले पुस्तकको अध्ययनबाट लेखकभित्र रहेको रचनात्मक र सृजनात्मक क्षमताको जानकारी पाइने बताउनुभयो । पत्रकार चन्द्रमणि गौतमले नेपाली गद्य र पद्य साहित्यमा ‘माटो र म’ कृति सम्पदाका रूपमा स्थापित भएको बताउनुभयो । लेखकले कृतिमा आममानिसको मर्म बोल्न सफल हुनुभएको बताउनुभयो ।

लेखक शर्माले चम्पु साहित्यका रूपमा आफूले पुस्तक बजारमा ल्याएको जानकारी दिनुभयो । नेपाल र अमेरिकाको बसाइका क्रममा पनि आफूले दुवै देशको पत्रकारिताको अवस्था उस्तै पाएको उहाँले बताउनुभयो ।

विगतमा शर्मासँगै पत्रकारिता गरी हाल व्यवसाय गरिरहनुभएका विष्णु न्यौपानेले विदेशमा बस्ने नेपाली पढ्नैपर्ने पुस्तकका रूपमा ‘माटो र म’ सार्वजनिक भएको विचार राख्नुभयो ।

कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, मिलाप म्यागेजिनका प्रधानसम्पादक कृष्ण भुसाल र गीता अधिकारीलगायतले कृतिले नेपाली साहित्यमा पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

कांग्रेस संसदीय दलको नेताः निर्वाचन कार्यक्रम स्थगित

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित गरिएको छ ।

आजका लागि दलको नेता निर्वाचनमार्फत चयन गर्ने तालिका तोकिएको थियो । पार्टीसँगको परामर्शमा सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास गर्ने भन्दै आजका लागि सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयानुसार संसदीय दलको नेता चयन सर्वसम्मतबाट गर्ने प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेही, निर्वाचन समिति सदस्यहरू मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य रहनुभएको छ । निर्वाचन कार्यतालिकासहितको अर्को सूचना यथाशीघ्र प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।

पूर्वमन्त्री विक्रम पाण्डे सीआइबीको नियन्त्रणमा

काठमाडौं। पूर्वमन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डे पक्राउ परेका छन्। उनलाई सीआइबीको टोलीले काठमाडौंस्थित घरबाटै पक्राउ गरेको हो ।

पाण्डेमाथि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा अनाधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोप छ

नेपाल ‘ए’ सँग ओमान पराजित

काठमाडौँ। ओमानसँगको दुई खेलको एक दिवसीय शृङ्खलामा आज नेपाल ए विजयी भएको छ ।माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले ओमानलाई ११५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।यसँगै दुई खेलको उक्त शृङ्खला १-१ को बराबरीमा सकिएको छ । बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । आज नेपाल एले ओमानलाई २८५ रनको चुनौती दिएको थियो । जवाफमा ओमान ३६ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १६९ रनमा समेटियो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै जितेन रामानन्दीले २४ र विनायक शुक्लाले २१ रन जोडे ।

ओमानलाई १६९ रनमा समेट्ने क्रममा नेपाल एका लागि युवराज खत्रीले तीन विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान दुई विकेट झारे । त्यस्तै सन्तोष यादवले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल एले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८४ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ६९ रनको योगदान दिए । त्यसैगरी देव खनाल ६४, कुशल मल्ला ५७, सन्दीप जोरा ४२, सन्तोष यादव १५ तथा अर्जुन कुमाल १३ रनमा आउट भए ।

शनिबारदेखि सुरु हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ खेल्न ओमान नेपाल आएको हो । सोही प्रतियोगिताको तयारी स्वरुप ओमानले नेपाल एसँग अभ्यास खेल खेलेको हो ।विश्वकप लिग-२ मा शनिबार नेपाल र संयुक्त अरब इमिरेट्स आमनेसामने हुनेछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उक्त खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौँ, ११ वैशाखः मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न मितिमा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद् बैठकले यही वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा आयोजना हुने नेपाल रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा विन्देश्वरप्रसाद लेखकलाई परराष्ट्रमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने निर्णय गरेको छ ।

बैठकले नेपाली सेनाका तीन जना रथीलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद्को निजामतीअन्तर्गत विभिन्न सेवाका २५ जना राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीको सरुवा गर्ने निर्णय गरिएको छ ।

बैठकले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ । सरकारी सार्वजनिक गुठी जग्गा हिनामिनासम्बन्धी प्रतिवेदन, २०७६ (मोहनरम भट्टराई) कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यसैगरी मतदाता नामावली ऐन, २०८३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली स्वीकृत गरिएको छ । बैठकले नेपाल पर्वतीय प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई गाभी एकीकृत रुपमा सञ्चालन गर्न नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति (गठन आदेश) स्वीकृत गरेको छ ।

आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) तथा कार्ययोजना (सन् २०२६–२०३०) स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्को बैठकले यही वैशाख ८ गतेको निर्णयअनुसार राष्ट्रपतिबाट वैशाख १७ गते बिहीबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, सिंहदरबारमा बस्नेगरी आह्वान गरिएको सङ्घीय संसद्को दुवै सदनको अधिवेशन विशेष कारणवश स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो ।

संसद्को विजनेसका लागि अधिवेशन स्थगत

पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञाशामा शिक्षामन्त्री पोखरेलले सरकारले संसद्को पर्याप्त विजनेस (संसद्को बैठकमा छलफल हुने कार्यसूची, प्रक्रिया र सम्पूर्ण औपचारिक कामको तयारी)का लागि यसअघि बोलाएको संसद्को अधिवेशन स्थगित गर्नुपरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संसद्लाई पर्याप्त विजनेस दिनका लागि संसद् अधिवेशन स्थगित गरिएको हो । सरकारले विधेयकमार्फत कानुन बनाउने छ ।”

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले सरकार अध्यादेश ल्याउने पक्षमा नरहेको बताउनुभयो । प्राकृतिक विपद् न्यूनीकरणको पूर्वतयारीका लागि सुकुम्वासीलाई सुरक्षित ठाउँमा सार्न लागिएकोे बताउनुभयो ।

उहाँले काठमाडौँ उपत्यकामा रहेका सुकुम्वासी बस्तीहरू बर्सेनि बाढीको जोखिममा पर्ने गरेकाले यसपालि बर्खा नजिकिँदै गरेकाले सोक्षेत्रका नागरिकको सुरक्षाका लागि स्थानान्तरण गर्न लागिएको स्पष्ट पार्नुभयो । मन्त्री पोखरेलले काठमाडौँ महानगरसँग समन्वय गरेर सुकुम्वासीलाई सुरक्षित स्थानमा सारिने उल्लेख गर्नुभयो ।

लागुऔषध विरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ

तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ ।

बिहीबारदेखि आजसम्म सञ्चालन गरिएको उक्त अप्रेसनबाट लागुऔषध ओसारपसार तथा प्रयोगमा संलग्न २७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक जनामाथि कानुन बमोजिम अनुसन्धान अगाडि बढाइएको छ भने एक जनालाई परिवारको समन्वयमा सुधार गृह पठाइएको छ । अन्य व्यक्तिको हकमा ‘स्क्रिनिङ’ गरी विवरण अभिलेखीकरण गरिएको, आपराधिक पृष्ठभूमि जाँच गरी आवश्यक परामर्श दिई परिवारको जिम्मा लगाई हाजिरीजमानीमा छाडिएको प्रनाउ विकले बताउनुभयो । लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै यस्तो विशेष अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।

ञउहाँले भन्नुभयो, “लागुऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि प्रहरीले निरन्तर रूपमा निगरानी तथा कारबाही अघि बढाइरहेको छ । समाजलाई सुरक्षित र स्वस्थ बनाउने उद्देश्यले यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछन् ।”

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गर्नुभएको छ ।

कार्यवाहक राजदूत अर्बमको भेटमा नेपालको डिजिटल रूपान्तरण, सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासका लागि द्विपक्षीय सहकार्य, सहयोग र समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । राजदूत अर्बमले नेपालमा सूचना प्रविधिको विकासका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभयो । साथै, सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा उपयुक्त नीति तथा सहज लगानी वातावरण निर्माण गर्न सके वैदेशिक लगानी आकर्षित हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा मन्त्री तिमिल्सिनाले नेपाल र अमेरिका सम्बन्ध आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाले पुर्याउँदै आएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाल राजनीतिक स्थायित्वको नयाँ चरणमा प्रवेश गरेको र वर्तमान सरकार सुशासन, पारदर्शिता तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । साथै, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार इच्छुक रहेको र त्यसका लागि आवश्यक नीतिगत तथा नियामक सुधार तीव्र रूपमा अघि बढाइएको बताउनुभयो ।

त्यसैगरी, कोरियाली राजदूत पार्क ताइयङको भेटमा नेपालको डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा कृत्रिम बौद्धिकताको क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । राजदूत पार्कले कोरियाले सूचना प्रविधि, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण भएमा प्रत्यक्ष वैदेशिक लगानी बढ्ने उहाँको भनाइ थियो ।

राजदूत पार्कले रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत ठूलो सङ्ख्यामा नेपाली युवाहरूलाई रोजगारीको अवसर प्रदान गरिएको उल्लेख गर्दै यसले आर्थिक लाभका साथै सीप तथा ज्ञान हस्तान्तरणमा समेत सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । साथै, कोरियाले नेपालको डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा कृत्रिम बौद्धिकता क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री तिमिल्सिनाले नेपाल–दक्षिण कोरिया सम्बन्ध आपसी विश्वास र सद्भावमा आधारित रहेको उल्लेख गर्दै कोरियाले नेपालको विकासमा पुर्याएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले सरकारी तथ्याङ्क पूर्वाधार तथा क्लाउड टेक्नोनोजीमा आधारित सेवाको सुदृढीकरणमा कोरियाली सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै, कोरियाली लगानीकर्ताहरूलाई नेपालमा सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान गर्दै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पदाधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा सम्बन्धित दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

मानवअधिकार आयोगद्धारा वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्रचार गरेको छ ।यही वैशाख १२ गतेदेखि काठमाडौँको बागमती किनारसहित विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्वासीका अवैध घरटहरा हटाउने भन्ने विषयमा आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार गरेको हो ।

आयोगले पत्राचारमा भनेको छ, “आयोगका सिफारिस र सर्वोच्च अदातलबाट भएका आदेशको कार्यान्वयन गर्दै वास्तविक सुकुम्वासीको पहिचान एवं आवश्यक व्यवस्थापन गरी अतिक्रमित जग्गाका घरटहरा खाली गराउने क्रममा अत्यधिक बलको प्रयोग नगर्न/नगराउन र संयमित हुन नेपाल सरकारसँग आग्रह गर्दछ ।”

आयोगले विगतमा गरेका सिफारिसको कार्यान्वयन भए/नभएका सम्बन्धमा जानकारी माग गर्दै आजै नेपाल सरकारलाई पत्राचार गरेको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्ले जानकारी दिनुभयो । “आयोगबाट विसं २०६९ जेठ १ गते वास्तविक सुकुम्वासीको पहिचान गरी निजहरूको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र सुकुम्वासी व्यवस्थापन गर्ने, अन्य अवैध संरचना हटाउन सिफारिस गर्ने निर्णय भएको थियो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार पत्रमा उक्त निर्णयसहित सिफारिस कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाइएको व्यहोरा पुनःस्मण गराउँदै सिफारिस कार्यान्वयन भए/नभएको अवस्थाको प्रगति विवरण माग गरिएको छ ।