`

पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किएः परराष्ट्र मन्त्रालय

काठमाडौँ। पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् ।संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धले सो क्षेत्रमा तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा बढी नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार ती नागरिकहरू तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्कनुभएको हो । त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्येएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो । यसैगरी उक्त द्वन्द्वपछि मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म सोक्षेत्रका ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा दर्ता गराउनुभएको उहाँले बताउनुभयो ।

द्वन्द्वका क्रममा इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाईको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिनुभयो । उहाँ छिट्टै रिहाइ हुनुहुने मन्त्रालयले जनाएको छ ।

यसैगरी कामको सिलसिलामा इरानमा रहेका १० नेपाली नागरिकमध्ये दुई जना स्वदेश फर्कने तयारीमा रहनुभएको बताउँदै बाँकी आठ जना हाल सुरक्षित महसुस गरी इरानमा रहनुभएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । मन्त्रालयले सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि भारत सरकारबाट निमन्त्रणा प्राप्त भएको जनाउँदै भ्रमणको प्रारम्भिक तयारी भइरहेको उल्लेख गर्नुभयो ।यसैगरी उहाँले हाल राहदानी वितरणको कार्य सहज रूपमा भइरहेको उल्लेख गर्दै जनतालाई घरमै गएर राहदानी पु¥याउने व्यवस्थाका लागि हुलाक विभागसँग समन्वय भइरहेको बताउनुभयो ।

सैन्य आधार तालिमबाट ९७ जना सैनिकहरू दीक्षित

गण्डकी। नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरअन्तर्गत बागलुङको घोडाबाँधेस्थित कालीजङ्ग गणमा सञ्चालित सिसं ९ सैन्य आधार तालिमबाट ९७ जना सैनिक जवान दीक्षित भएका छन् ।आज सैन्य आधारभूत तालिमको समापनसँगै अन्तिम दलेल कवाज प्रदर्शन गरिएको कालीजङ्ग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिनुभयो ।

दलेल कवाजको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापासहित उच्च सैनिक अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरूले निरीक्षण एवं अवलोकन गरेका थिए । त्यसक्रममा उपरथी थापाले नौमहिने सैन्य आधार तालिममा उत्कृष्ट सैनिक जवानहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै उपरथी थापाले राष्ट्र, जनता र सेनाप्रति बफादार रही सैनिक सेवामा समर्पित रहन सकल दर्जालाई निर्देशन दिनुभयो । उहाँले सैनिक मर्यादा र अनुशासनको पालना गर्दै उच्च व्यावसायिक धर्म निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उपरथी थापाले शिक्षा र तालिमलाई समयानुकूल परिमार्जन गर्दै लैजाने बताउनुभयो ।

“राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश बलियो हुन्छ”, उहाँले भन्नुभयो, “दक्ष, तालिमप्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक सेनाको मेरुदण्ड हो ।” उहाँले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि नेपाली सेना कटिबद्ध भएर अघि बढ्ने बताउनुभयो ।

सैन्य आधार तालिममा सर्वोकृष्ट हुने सैनिक जवान सुदेश मगरलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरीद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा फायरिङ विधामा उत्कृष्ट राजन विष्ट, ड्रिल विधामा उत्कृष्ट सुनिल लिम्बू, १२ किलोमिटर दौडमा उत्कृष्ट पवन लंवा, पाँच किलोमिटर दौडमा दिपेन रसाइली, बाधापार विधामा उत्कृष्ट सरोज राईँलाई उपरथी थापाले पुरस्कार वितरण गर्नुभयो ।

तालिम समापन समारोहमा श्री नं २३ बाहिनी अड्डा बागलुङका सहायक रथी विजय केसी, जिल्लास्थित जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, दीक्षित सैनिक जवानका परिवारजनलगायतको उपस्थिति थियो ।

‘वास्तविक सुकुम्वासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिन्छ’

काठमाडौँ, ११ वैशाखः सरकारले वास्तविक सुकुम्वासीलाई सुरक्षित स्थानान्तरण गर्ने तयारका साथ आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।आज उपत्यकाभित्रको अव्यवस्थित बस्ती हटाउने विषयमा सहरी विकासमन्त्री सुनील लम्सालको अध्यक्षमा मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकार भएका पक्षको बैठकले बस्ती खाली गराउने सन्दर्भमा माइकिङ गरिसकेपछि सुरक्षित आश्रयस्थलसम्म लैजाने निर्णय गरेको हो ।

बैठकले जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट जारी भएको सूचना बमोजिम प्रचारप्रसारका कार्यहरू गर्ने, बस्ती खाली गर्ने सन्दर्भमा माइकिङ गर्दै पूर्वसूचना दिँदै संरचना भत्काउनुपूर्व ती स्थान खाली गराउनेतर्फ जोड दिने निर्णय गरेको छ ।

“जिल्ला प्रशासन कार्यालयबाट जारी भएको सूचना एवं माइकिङ बमोजिम वैशाख १२ र १३ गते सुकुम्वासी बस्तीका अवैध संरचना हटाउने, भत्काउने र खाली गर्ने कार्यका लागि आवश्यक पर्ने उपकरण तथा अन्य सामानका लागि उक्त कार्यालयबाट पत्राचार भएबमोजिमका निकायबाट आवश्यक प्रबन्ध तत्काल गरिने छ”, निर्णयमा भनिएको छ, “मानवीय सहयोग उपलब्ध गराउँदै सामानको ढुवानी, अशक्त, अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र दीर्घरोगीलाई प्राथमिकताका साथ उद्धार गरी सुरक्षित रूपमा तोकिएको आश्रयस्थलसम्म वा आवश्यकतानुसार अस्पतालसम्म पु¥याउने व्यवस्था मिलाउने निर्णय भएको छ ।”

यस कार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, चिकित्सकको समूह (मेडिकल टिम) को समेत व्यवस्था गर्ने र सामान ढुवानीका लागि आवश्यक पर्ने सवारीसाधन र मानिसलाई सुरक्षितस्थलसम्म लिएर जान सवारीसाधनको बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गर्ने निर्णय भएको छ ।

यसैगरी बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ओसारपसार गरेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने मन्त्रालयले निर्णय गरेको मन्त्री लम्सालको सचिवालयले जनाएको छ ।

“पहिलो आश्रयस्थलबाट तोकिएका विभिन्न स्थलमा लगेर अल्पकालीन रूपमा बसोबासको प्रबन्ध मिलाइनेछ । उक्त स्थानमा आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री, पानीलगायत अत्यावश्यक सामग्री आपूर्ति व्यवस्था मिलाउने कार्य सहरी विकास मन्त्रालयले गर्नेछ”, आजको निर्णय भनिएको छ, “यसरी व्यवस्थापन गरिएका बसोबासका क्षेत्रमा प्रत्येक परिवारका लागि प्रमाणीकरण गरिने र निजहरूलाई फोटोसहितको परिचयपत्र वितरण गरिने छ । प्रमाणीकरण हुन नसकेका व्यक्तिलाई क्रमशः उक्त स्थानबाट बिदा गर्ने कार्य सहरी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिने छ ।”

निर्णयअनुसार बस्ती खाली भइसकेपछि उक्त स्थानको भत्केका संरचनाहरू हटाउने, ट्याक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारी गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले तत्काल सुरु गर्नेछ । अग्रपङ्क्तिमा रही माइकिङ गर्ने, सूचना दिने, बस्ती खाली गराउने तथा मानवीय सहायताका लागि आवश्यक पर्ने व्यक्तिको पहिचानलगायत कार्य काठमाडौँ महानगरपालिकाले गर्ने र यका लागि आवश्यक सुरक्षा प्रबन्ध जिल्ला सुरक्षा समितिले मिलाउने निर्णय भएको सहरी विकासमन्त्री लम्सालको सचिवालयले जनाएको छ ।

ती निर्णयहरू बमोजिमका कार्य गर्न केन्द्रीय समन्वय समितिका रूपमा समिति गठन गर्ने र उक्त समितिले समन्वय, निर्देशन, आवश्यक नीतिगत निर्णय र साधनस्रोतको व्यवस्थासमेतका विषयलाई तत्काल सम्बोधन गर्ने आजको बैठकले निर्णय गरेको मन्त्री लम्सालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सहरी विकासमन्त्री लम्साल संयोजक र काठमाडौँ महानगरपालिकाका प्रमुख, गृह मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, सहरी विकास मन्त्रालयका सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सम्बन्धित विषय हेर्ने सचिव सदस्य रहनेगरी समिति गठन गर्ने निर्णय भएको छ ।

गठन भएका केन्द्रीय समन्वय समितिको अधिनमा रही सम्बन्धित मन्त्रालय, निकायरूबाट आ-आफ्ना क्षेत्रगत विषयलाई तत्काल कार्यान्वयनमा लैजान कार्यान्वयन समिति ‘एक्सन टिम’ बनाई तोकिएबमोजिमका काम गर्ने र सोको नियमित जानकारी केन्द्रीय समन्वय समितिलाई उपलब्ध गराउने निर्णय भएको छ ।

सचिवालयका अनुसार बस्ती खाली गर्ने/गराउने क्रममा सुरक्षाकर्मी परिचालन एवं आश्रयस्थलमा व्यवस्थापन र पुनर्वास गर्दा प्रत्येक चरणमा ती क्षेत्रमा आउनसक्ने सम्भावित समस्या र आवश्यक पर्ने साधनस्रोतको माग जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत भएको खण्डमा तत्काल सम्बन्धित निकायबाट उपलब्ध गराउने निर्णय भएको छ ।

तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ९ जना गम्भीर घाइते

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाइ सडकमै बस पल्टिँदा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका २७ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको प्रनाउ विकले बताउनुभयो ।

त्यस्तै तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको र एक जना सामान्य रहेकाले घर पठाइएको छ । घाइतेमध्ये नौ जना गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य रहेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिदै गगनले भने – ‘लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन आवश्यक छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

शुक्रबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उनले लोकतान्त्रिक आन्दोलनमा सहिद भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै सबैको साझा दायित्व रहेको बताएका हुन् ।

उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरू केवल इतिहासका पानामा सीमित हुन नहुने भन्दै ती उपलब्धिलाई जनताको दैनिक जीवनमा प्रत्यक्ष अनुभूत हुने बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।

थापाले वर्तमान समयमा अपेक्षा र उपलब्धिबीचको दूरी अझै कायम रहेको उल्लेख गर्दै त्यसको समाधान लोकतन्त्रको विकल्प नभई अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै भएको बताए ।

उनले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको प्रमुख आवश्यकता भएको पनि जोड दिएका छन्।

‘आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ। तर यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो। संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री शाहले बस्ती खाली गर्न निर्देशन दिएपछि सुकुम्बासीले बस्ती खाली गर्न थाले

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्।

प्रधानमन्त्री शाहले अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन्।

शनिबार बिहानदेखिनै बस्ती खाली गराउन डाेजर चल्ले हल्लापछि सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १३२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार ७८० जनालाई कारबाही गरिएको हो ।

बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

काठमाडौँ। बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो । बहुपक्षीयता कम्तीमा तीन वा सोभन्दा बढी राष्ट्रबीचको सहकार्यलाई जनाउने भए पनि यसको सार केवल सङख्यात्मक नभई साझा मूल्य, मान्यता र नियममा आधारित सामूहिक राजनीतिक प्रतिबद्धतामा निहित रहेको मानिन्छ ।

राष्ट्रसङ्घका अनुसा। परामर्श, समावेशिता र ऐक्यबद्धता यसका आधारभूत सिद्धान्त हुन् । यसले समान अधिकार र दायित्वका आधारमा दिगो तथा प्रभावकारी सहकार्य सुनिश्चित गर्छ ।

बहुपक्षीयता अन्तरराष्ट्रिय प्रणालीको सङ्गठन र सहकार्यको विधि दुवै भएकाले वर्तमान आजको परस्पर निर्भर विश्वमा यसको महत्व अझ बढेको छ ।

एक सय ९३ राष्ट्र सदस्य तथा एक हजारभन्दा बढी गैरसरकारी संस्था र अन्तरराष्ट्रिय सङ्गठन पर्यवेक्षक रहेको संयुक्त राष्ट्रसङ्घ बहुपक्षीयताको प्रमुख मञ्चका रूपमा परिचित छ । सन् १९४५ मा स्थापना भएको यो विश्व संस्थाको मुख्य उद्देश्य अन्तरराष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु हो । यसको बडापत्रले विवादलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने र भावी पुस्तालाई युद्धको भयबाट जोगाउने प्रतिबद्धता व्यक्त गरेको छ । कूटनीतिक प्रयासमार्फत द्वन्द्व रोकथाम र समाधानमा जोड दिइँदै आएको छ ।

सन् २०२४ सेप्टेम्बरमा आयोजित ‘समिट अफ द फ्युचर’मा विश्व नेताहरूले ‘प्याक्ट फर द फ्युचर’ पारित गर्दै शान्ति, दिगो विकास र मानवअधिकार संरक्षणप्रति पुनः प्रतिबद्धता व्यक्त गरेका थिए ।

राजेन्द्र लिङ्देनले सम्झाए बालेन सरकारलाई – “घरबारविहीन बेसहारा नागरिकको संरक्षणको जिम्मा सरकारकै हो”

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घरबारविहीन बेसहारा नागरिकको संरक्षणको जिम्मा सरकारको हुने बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सुकुम्बासी बस्तीमा डोजर चलाइने भएपछि उनले एक भिडियो शेयर गर्दे सरकारलाइ सुझाव दिएका छन् ।

उनले लेखेका छन् -‘ करिब बर्षा प्रारम्भ हुन लागेको बेला धेरै स्थानीय तहहरुले अतिक्रमित संरचना र बस्तीहरू हटाउने क्रम तीव्र रुपमा बढाएका छन। यसक्रममा जसरी सार्वजनिक क्षेत्र र सम्पत्तिको संरक्षण गर्ने दायित्व सरकारको हो त्यसैगरी घरबारविहीन बेसहारा नागरिकको संरक्षणको जिम्मा पनि सरकार नै हो भन्ने कुरा जनप्रतिनिधिहरूले बिर्सनु हुन्न।’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, भटमास कोसा प्रतिकिलो रु १५०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु २०, परवर प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ३०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६५, सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ७५, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, चुकन्दर प्रतिकिलो रु ५०, कोइराला प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु १९०, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी २९०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४००, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकोडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

सर्वोच्चको निर्णयपछि कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

काठमाडौं । लामो समयदेखि आन्तरिक विवादका कारण रोकिएको नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ।सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि पार्टीले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको हो।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ।दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। साथै मोहन आचार्य र निष्कल राईलगायतका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।प्रतिनिधि सभामा रहेका नेपाली कांग्रेसका ३८ सांसदले संसदीय दलको नेता चयनका लागि मतदान गर्नेछन् ।

अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ ।करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् । पन्ध्र दशमलव आठ किलोमिटर सडक विस्तारको महत्वाकाङ्क्षी योजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधिले सडक विस्तारको काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहे पनि थपिएको समयमा नसक्ने बताएका छन् ।

साँगा–धुलिखेल सडकखण्डअन्तर्गत करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । यसअघि चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत कामसक्ने लक्ष्यसहित तीव्रगतिमा निर्माण भइरहेको थियो । जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक सामग्रीको अभावमा काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ ।

श्रेष्ठले सरकारले तत्काल निर्माण क्षेत्रको समस्या समाधानका लागि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने र मूल्यवृद्धि समायोजनको निर्णय गर्नुपर्ने माग गर्नुभयो । निर्माण व्यवसायीले भारतबाट सडक पक्की गर्ने कच्चा पदार्थ ‘बिटुमिन’ तथा अन्य अत्यावश्यक सामग्री ल्याउने प्रयास गरे पनि सफल हुन नसकेको उहाँको भनाइ छ । विस्तारित राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक काभ्रेपलाञ्चोकको साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशतमात्रै काम सम्पन्न भएको जनाइएको छ ।

अनुगमनका क्रममा विहीबार जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले वर्षायाम सुरु भइसकेकाले अब निर्माणस्थलमा थप जोखिम बढ्नसक्ने भन्दै पूर्वतयारीमा निर्माण कम्पनीले जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले यात्रीलाई सहज आवागमन सुनिश्चित गर्न, सडक अवरोध कम गर्न र सम्भावित क्षति न्यून गर्न निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई सचेत रहन आग्रह गर्नुभयो ।

त्यसैगरी, काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वर्षा नपर्दा धुलो र पानी परेपछि हिलो तथा चिप्लोपनले यात्री तथा स्थानीयलाई ठूलो समस्या पारेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले हालको परिस्थितिमा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कठिन अवस्था सृजना भएको स्वीकार गर्दै निर्माण क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारी निकायमार्फत पहल भइरहेको र भारतबाट आउने बिटुमिनको आपूर्ति सहज बनाउन प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

यसैबीच, आयोजनाले थपिएको समयमा विस्तारकार्य सम्पन्न गर्नेसमेत जनाएको छ । दुई लेन रहेको उक्त राजमार्गको यस खण्डलाई छ लेनका लागि विस्तारकार्य भइरहेको हो । सडक दायाँबायाँ दुई सर्भिस लेन तथा २.५ मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिम साता पुनः एक वर्ष थपेर स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको हो ।

आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ साल मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशतमात्र काम सम्पन्न भएको थियो ।

हाल पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ ८०० मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ बनेपाबाट साँगातर्फ दुवै लेनमा कालोपत्रको तयारी भइरहेको छ । यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । बनेपाको चाँदनी चोकमा कल्र्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको खनालको भनाइ छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको आयोजनाले जनाएको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तारकार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७.५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ भने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा तल ठूलो भिर भएकाले काम गर्न केही अफ्ठ्यारो परेको जनाइएको छ ।

हाल साँगामा ‘अन्डरपास’ निर्माणकार्य भइरहेको छ । भक्तपुर–धुलिखेल सडक आयोजनामध्ये पर्ने तीनवटा पुलको निर्माण प्रक्रिया आयोजनाको योजनाअनुसार अघि बढिरहेको जनाइएको छ । यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव

काठमाडौँ। प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारका रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ ।

प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यको हकमा नियमावली सङ्घीय कानुनका रूपमा विशेष कानुनसरह लागू हुने उल्लेख छ ।

नियमावली मस्यौदामा प्रस्तावना, परिभाषा, अधिवेशन र बैठक सञ्चालन, अध्यक्षता, सदस्यको उपस्थिति, संविधान संशोधन विधेयक, महाअभियोग प्रस्ताव, प्रत्यायोजित विधायनलगागत विषयमा सुधार र थप स्पष्ट पार्ने प्रयास भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

संसद् र समितिमा हुने छलफल र बहसमा सांसदबाट बेलाबखत प्रयोग हुने शब्दका विषयमा उठ्दै आएका प्रश्नलाई नियमावलीमार्फत नै सम्बोधन गर्ने प्रसास गरिएको छ । मस्यौदामा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने, भेदभाव गर्ने, मर्यादा घटाउने, अप्रमाणित आरोप लगाउने, भौगोलिक भेदभाव झल्कने गरी बोलेको शब्दलाई ‘असंसदीय शब्द’ भनी किटान गरिएको छ ।

मस्यौदामा ‘प्रत्यायोजित विधायन’ स्पष्ट गर्दै नियमावली, आदेश, गठन आदेश, विनियमावली, निर्देशिका, कार्यविधि वा मापदण्डलाई समेटिएको छ ।

बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधिसभामा रहेको दलीय प्रतिनिधित्वको आधारमा पदेन सदस्यबाहेक बढीमा पन्ध्र सदस्य रहेको कार्यव्यवस्था परामर्श समिति गठन गर्ने व्यवस्था गरिएको छ । यसअघि सो समिति २१ सदस्यीय रहेको थियो ।

नियमावलीको नियम १५ मा संसद्को आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यसअघि जवाफका लागि समय किटान गरिएको थिएन ।

सांसदले बैठक कक्षमा रहँदा फोन ‘साइलेन्स’ अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने नियमावली मस्यौदामा प्रस्ताव गरिएको छ ।

संविधान संशोधन विधेयकको कार्यविधिबारे पनि नियमावलीमा स्पष्ट पारिएको छ । संविधानको धारा २७४ को उपधारा (४) र अनुसूची–६ मा उल्लिखित विषयका हकमा सोही उपधारा र अनुसूचीमा लेखिएको अवधिभित्र सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने प्रस्ताव गरिएको छ ।

संविधानको उक्त धारामा ‘कुनै प्रदेशको सिमाना परिवर्तन वा अनुसूची–६ मा उल्लिखित विषयसँग सम्बन्धित भएमा त्यस्तो विधेयक सङ्घीय संसद्मा प्रस्तुत भएको ३० दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्नेछ’ भन्ने उल्लेख छ ।

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएको संविधान संशोधनसम्बन्धी विधेयक सन्देशसहित प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मा मत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुईतिहाइ पुगेको भए संविधान संशोधनको विधेयक सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था मस्यौदामा गरिएको छ । यसअघि प्रतिनिसभा नियमावली, २०७९ मा सो व्यवस्था ‘कानुनबमोजिम हुने’ भन्ने मात्रै उल्लेख थियो ।

नियम १५७ मा राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्ध पेस गरिने महाअभियोगको प्रस्तावमा प्रस्ताव पेस गर्नुपरेको आधार र कारण खुलाई सोको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

नियम १६२ मा द्रुत प्रक्रियाबाट समेत टुङ्गो लाग्न नसकेको महाभियोगको प्रस्ताव निर्वाचनपश्चात् गठन हुने प्रतिनिधिसभाको लागि अभिलेखको रूपमा रहने र यसबारे निर्वाचनपश्चात् सभा गठन भएको पाँच महिनाभित्र त्यस्तो अभिलेख ग्रहण गरी अर्को पाँच महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचमा शक्ति सन्तुलन कायम गर्ने सन्दर्भमा विषयगत समितिले दिएका निर्देशन, राय, सल्लाह र सुझाव सम्बन्धित निकायले ३० दिनभित्र कार्यान्वयन गरेको प्रगति विवरण प्राप्त पाउने विषय नियमावलीमा राखिएको छ । समितिले दिएका त्यस्ता निर्देशन कार्यान्वयन भए÷नभएका बारेमा ३० दिनभित्र पुनरावलोकन गरिनेछ ।

सभापतिलाई जानकारी नदिई लगातार पाँचवटा बैठकमा अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउन सक्नेछ व्यवस्था गरिएको छ ।

नियमावलीमा प्रतिनिधिसभा गठन हुने विशेषाधिकार समितिको आकार घटाइ १५ सदस्यमा सीमित गरिएको छ । यसअघि सो समिति २१ सदस्यीय रहने व्यवस्था थियो । विशेषाधिकार समितिले आवश्यक ठहर्याएमा अभियोग लागेको व्यक्तिलाई बढीमा तीन महिनासम्म थुनामा राखी कारबाही गर्न सक्ने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । यसअघि तीन महिनाको समय किटान गरिएको थिएन ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले यही वैशाख ८ गते आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद अर्यालसमक्ष बुझाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न छ राजनीतिक दलका तर्फबाट १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन भएको थियो ।

नियमावलीको मस्यौदालाई यही वैशाख १७ गतेदेखि सुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा पेस हुने संसद् सचिवालयका प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

समितिले नियमित रूपमा १४ वटा बैठक बसी मस्यौदा प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । समितिमा सांसदहरू ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला शमीम मिकरानी, तपेसवर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधुकुमार चौलागाईँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल हुनुहुन्थ्यो ।

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ ।

पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो ।

म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क निर्माणका लागि रु १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोतको व्यवस्था भए पनि योजना कार्यान्वयन नहुँदा बजारवासी निराश भएका छन् ।

पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले रु २०–२० लाख बजेट विनियोजन गरेका थिए । यस वर्ष नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको योजना स्थानको टुङ्गो नलाग्दा हालसम्म कार्यान्वयन हुन नसकेको बेनी नगरकार्यपालिकाको प्रवक्तासमेत रहनुभएका वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

“नगरपालिकाले वीरेन्द्रचोकस्थित रेडक्रस, वन डिभिजनको नर्सरी, आवासभन्दा पछाडिको १० रोपनी जग्गामा पार्क बनाउन प्रस्ताव गरेको थियो”, उहाँले भन्नुभयो, “बराहपाखो सामुदायिक वनमा पर्ने उक्त क्षेत्रमा पार्क बनाउने कार्ययोजनामा समेटेर योजना कार्यान्वयनको पहल भए पनि वन क्षेत्रमा काम गर्न जोखिम लिन नचाहेकाले समस्या भएको हो ।”

हाल प्रस्तावित ठाउँमा पार्क बनाउन नमिल्ने अवस्था भएमा महारानी थानस्थित बराहपाखोको सार्वजनिक जग्गामा निर्माण भएका पूर्वाधारलाई व्यवस्थित गरेर पार्क सञ्चालन गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महारानी थानमा पार्कका लागि पोखरी, चौतारी निर्माण, जग्गा व्यवस्थापनलगायतका काम सकिएको छ ।

बालबच्चा, ज्येष्ठ नागरिकलाई टहलिन तथा घुम्न आउने पाहुनाहरूलाई भुलाउने उद्देश्यले २०६० साल चैत ७ गते बेनी भिडन्तसँग सम्बन्धित सामग्री राखेर शान्ति पार्क बनाउने योजना प्रस्ताव गरिएको थियो । शान्तिपार्कलाई नगरपालिकाले पछिल्लो तीन वर्षयता गौरव र प्राथमिकताप्राप्त योजनाको सूचीमा राख्दै आएको छ ।

बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु गौतमले नगरपालिका र वन डिभिजन कार्यालयले समन्वय गरेर पार्क निर्माणस्थल छनोट गरेमा योजना कार्यान्वयनमा समस्या नरहेको बताउनुभयो । वन समूहको कार्ययोजनामा समेटिएकाले आफूहरूको तर्फबाट कुनै समस्या नभए पनि नगरपालिकाकै इच्छाशक्ति र सक्रियता आवश्यक रहेको उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पार्क निर्माणस्थलको टुङ्गो लगाएर योजना कार्यान्वयनका लागि पहल गरिरहेको बताउनुभयो । उहाँका अनुसार शान्ति पार्क निर्माणस्थल टुङ्गो लगाउन बेनी बजार रहेको वडा नं ७ र ८ को आमभेला बेलाएर परामर्श र सल्लाह सुझाव लिने तयारी भएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर २२ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ०७ पैसा र बिक्रीदर ४० रुपैयाँ २३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २६ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ १५ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ – बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ ।

जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ ।

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ ।

सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट नेपाली चलचित्रको प्रवर्द्धन र विकाससँगै कर्णालीमा चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ मार्फत नेपालको कर्णाली क्षेत्रलाई केन्द्रविन्दु बनाई सहरदेखि गाउँसम्म चलचित्र र पर्यटन जोड्न विविध गतिविधि सञ्चालन गर्छौँ । यहाँ प्रचुर सम्भावना भए पनि पर्यटन विकास र चलचित्रसँग सम्बन्धित गतविधिहरू प्रायः शून्य छन् ।”

कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भाषा, वेशभूषा, कला, संस्कृति, साहित्य, परम्परा र रीतिरिवाजलाई संरक्षण र प्रवर्द्धनका लागि राज्यको भूमिका प्रायः शून्य रहेको स्थितिलाई मध्यनजर गर्दै जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने अभियानका साथ कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियानको थालनी गरिएको निर्देशक चन्दले बताउनुभयो ।

साहित्यकार, लेखक तथा महोत्सवका सल्लाहकार महेन्द्र मल्लले कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिताको घोषणा गरी विज्ञहरूबाट कथा छनोट कार्य भइरहेको बताउनुभयो । उहाँले कर्णालीको मौलिकता झल्कने, कल्पनामा नभई यथार्थतामा आधारित कथाहरूलाई प्राथमिकतामा राखेर छनोट गरिने र उत्कृष्ट कथा लेखन लागि रु एक लाख राशि प्रदान गरिने जनाउनुभयो ।

खासगरी पर्यटन प्रवर्द्धन, सांस्कृतिक उजागर, सामाजिक रुपान्तरण, आर्थिक समृद्धि, अन्तरराष्टिय पहिचान, सिनेमाको पहुँच वृद्धि गर्न र कर्णालीलाई चलचित्र पर्यटन तथा छायाङ्कनको हब बनाउन चलचित्र छायाङ्कन गर्न आउने स्थिति निर्माण गर्न यो महोत्सवले ठूलो योगदान दिने अपेक्षा गरिएको छ । सुर्खेतबाट शुभारम्भ गरिएको महोत्सव सल्यानको कुपिण्डे ताल, रुकुमपश्चिम, जाजरकोट, दैलेख, कालीकोट हुँदै जुम्लामा पुगेर समापन गरिने आयोजकले जनाएको छ ।

मप विश्वविद्यालयमा ‘बहुविषयमा अन्तरराष्ट्रिय सम्मेलन’ हुँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयमा आजदेखि ‘बहुविषयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ हुने भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयले वैशाख ११–१३ गतेसम्म सम्मेलनको आयोजना गर्ने भएको हो ।

‘इन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्युचर इन द एज अफ एआइ एन्ड डिजिटल ट्रान्सफरमेसन’ भन्ने मूल नारामा आधारित रहेर नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य, क्षेत्रीय विकास र नीति संवादलाई एउटै साझा मञ्च जोड्ने प्रयासअनुरुप सम्मेलनको आयोजना गरिएकोबारे बिहीबार पत्रकार सम्मेलनमार्फत विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञावलीले जानकारी दिनुभयो ।

कृत्रिम बुद्धिमत्ता, डिजिटल रुपान्तरण र दिगोपनासम्बन्धी नयाँ अवधारणा विकास, शिक्षा, प्रविधि, शासन, अर्थतन्त्र र समाजका जटिल समस्यालाई अन्तरविषयगत दृष्टिकोणबाट विश्लेषण, अन्तरराष्ट्रिय अनुसन्धान सहकार्य तथा साझेदारी विस्तार र प्रमाण आधारित नीति निर्माणका लागि सिफारिसहरू गर्ने लक्ष्यसहितको उद्देश्य प्राप्तिका लागि तीन दिनसम्म सम्मेलन सञ्चालन हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्मेलन सात प्रमुख विषयमा केन्द्रित हुनेछ । कृषि, वातावरण तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव विकास, कानुन, नीति तथा सुशासन, व्यवस्थापन, अर्थशास्त्र तथा उद्यमशीलता, स्वास्थ्य तथा जनसङ्ख्या, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीलगायत विषयअन्तर्गत ३४४ भन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछ ।

कार्यकारी निर्देशक डा ज्ञावलीका अनुसार सम्मेलनमा २१ देशको प्रतिनिधित्व, पाँच सयभन्दा बढी सहभागी, ३४४ भन्दा बढी अनुसन्धानपत्र प्रस्तुति, विश्वस्तरीय वक्ता, उपकुलपतिहरूको राउन्ड टेबल, डायोस्परासम्बन्धी आर्थिक उद्यमशीलताको छलफल हुनेछन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान

काठमाडौँ। हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ ।

यसैगरी, मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना छ ।

आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

रूसले आर्कटिक करिडोर विकासको रणनीति अघि सार्दै

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको आर्थिक विकास र राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि आर्कटिक करिडोर बिस्तार महत्वपूर्ण रहेको बताउनुभएको छ।

आर्कटिक क्षेत्र र ट्रान्सआर्कटिक यातायात कोरिडोरको विकासमा केन्द्रित सरकारी सदस्यहरूसँग भिडियो कन्फरेन्सको अध्यक्षता गर्दै नेता पुटिनले रूसको राष्ट्रिय अर्थव्यवस्था, औद्योगिक सम्भावनाको विस्तार र राष्ट्रिय सुरक्षा तथा सार्वभौमिकताको रक्षाका लागि आर्कटिक क्षेत्रको अद्वितीय रणनीतिक महत्व रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ट्रान्सआर्कटिक यातायात कोरिडोर, सेन्ट पिटर्सबर्गदेखि मुर्मान्स्क र भ्लादिभोस्तोकसम्म फैलिएको छ, जुन विश्वको सबैभन्दा सुरक्षित, भरपर्दो र सफल जलमार्गको रूपमा देखा परिरहेको छ ।”

नेता पुटिनले भन्नुभयो, “उत्तरी ट्रान्सआर्कटिक मार्गको महत्त्व धेरै द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति श्रृङ्खलामा अवरोधको पृष्ठभूमिमा थप स्पष्ट हुँदै गइरहेको छ ।

उहाँले थप्नुभयो, “रूसले समुद्री तथा नदी क्षेत्रमा रहेका बन्दरगाह, रेलमार्ग, राजमार्ग र विमानस्थललाई व्यवस्थित गर्दै आफ्नो आर्कटिक रसद नेटवर्कलाई बलियो बनाइरहेको छ।”

“यस रणनीतिक क्षेत्रमा शान्ति र स्थिरता कायम गरेर, हामी यसको दीर्घकालीन सामाजिक–आर्थिक विकास सुनिश्चित गर्नेछौँ, जीवनस्तर उकास्नेछौँ, उत्तरी आदिवासीहरूको अद्वितीय संस्कृतिको संरक्षण गर्नेछौँ र आर्कटिकको कमजोर प्राकृतिक पारिस्थितिक प्रणालीको रक्षा गर्नेछौँ,” रूसी राष्ट्रपति पुटिनले भन्नुभयो ।

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला । जुम्लाका आठ वटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन् । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने भन्दै यहाँको कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले आइतबार पनि नियमित पठनपाठन जारी राख्ने सार्वजनिक सूचनामार्फत जनाएका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार पालिकाभित्रका २९ वटै सामुदायिक विद्यालय वैशाख १५ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउनेछ । सिञ्जा गाउँपालिकाले वैशाख ८ गतेदेखि पालिकाभित्रका सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

जिल्लाको कनकासुन्दरी गाउँपालिकाले वैशाख ७ गतेदेखि नियमित पठनपाठन सुरु गरेको गाउँपालिकाका कावाध्यक्ष प्रेमकली बुढाको भनाइ छ । नेपाल सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरे पनि यहाँका कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डरअनुसार शैक्षिक सत्र कार्यक्रम सुरु गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको थियो ।

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ ।

कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमति पत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए । अझै एक लाख सवारीपत्र छपाइ भएर आउन बाँकी रहेको उनले बताए ।

उनले भने, “मङ्गलबारदेखि लाइसेन्स वितरण सुरु गरेका छौँ, पहिलो दिन ८०० वितरण गर्‍यौँ, दोस्रो दिन र तेस्रो दिनसम्म गरेर तीन हजार वितरण गर्‍यौँ, आठ जना कर्मचारी लाइसेन्स वितरणमा ९ः०० बजेदेखि ५ः०० बजेसम्म खटिँदा पनि एक हजारभन्दा बढी वितरण गर्न सकिँदैन, यही अवस्थामा सबै लाइसेन्स वितरण गर्न छ महिना समय लाग्छ ।”

सरकारले पठाएको लाइसेन्स लिन दैनिक भीड नगर्न सेवाग्राहीलाई आग्रह गर्दै उनले लाइसेन्सको बिलदेखि मोबाइल एप्स प्रयोग गरेर लाइसेन्स देखाउन सकिने बताउन सकिने भएकाले भीड नगरी विस्तारै आइदिन सेवाग्राहीलाई आग्रह गरे ।

कार्यालयले सवारी अनुमति पत्र वितरण सुरु गरेपछि चार वर्षदेखि लाइसेन्स लिन कुरिरहेका सेवाग्राहीको कार्यालयमा भीड बढेको छ । बिहान ७ः०० बजेदेखि नै कार्यालय अगाडि सेवाग्राहीको भीड लागेपछि कार्यालयले बिहान ९ः०० बजे कार्यालय खुल्ने बित्तिकै सवारी अनुमति पत्र वितरण गर्ने गरेको बस्नेतले जानकारी दिए ।

नवीकरणका लागि आवेदन दिएका र लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्सका लागि चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीले अहिलेसम्म रसिदका भरमा सवारीसाधन सञ्चालन गर्दै आएका थिए ।

हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’मा बारुदी सुरुङ राख्ने कुनै पनि जहाज वा डुङ्गालाई आक्रमण गर्न अमेरिकी नौसेनालाई निर्देशन दिनुभएको छ ।“मैले संयुक्त राज्य अमेरिकाको नौसेनालाई ‘स्ट्रेट अफ हर्मुज’को जलमार्गमा बारुदी सुरुङ बिच्छ्याइरहेका कुनै पनि डुङ्गा (साना डुङ्गाहरू भए पनि) आक्रमण गर्न आदेश दिएको छु,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल प्लेटफर्ममा लेख्नुभएको छ।उहाँले थप्नुभयो, “त्यहाँ कुनै थप हिचकिचाहट छैन। हाम्रो बारूदी सुरूङ सफा गर्ने जिम्मेवारी पाएका (माइन स्वीपरहरू) अहिले हर्मुज घाँटी सफा गर्दैछन्।”

इरानले ट्रम्पको मागलाई बेवास्ता गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो बन्दरगाहमा नाकाबन्दी गरेसम्म स्वीकृत जहाजहरूमध्ये सिमितबाहेक सबैका लागि रणनीतिक जलमार्ग बन्द राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
इस्लामावादमा शान्ति वार्ता रोकिएको छ, “इरानले आफ्नो सहभागिताको पुष्टि गरेको छैन र गतिरोधले विश्व अर्थतन्त्रलाई धक्का दिइरहेको छ।”

“इरानलाई उनीहरूको नेता को हो भनेर पत्ता लगाउन धेरै गाह्रो भइरहेको छ!” ट्रम्पले बिहीबार भन्नुभयो ।उहाँले हर्मुजमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको र इरानले शान्ति सम्झौता गर्न सहमति जनाएपछि मात्र हर्मुज खोल्ने दाबी गर्नुभयो । (

भोजपुर गोल्डकपः आयोजक भोजपुर फाइनलमा

भोजपुर। नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ ।

भोजपुरले एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । भोजपुरका लागि खेलको २९औँ मिनेटमा दोर्जी तामाङ र ६५औँ मिनेटमा सञ्जय लिम्बुले गोल गरेका थिए ।

एपिएफका तर्फबाट कुनै गोल हुन सकेन । आजको खेलको प्लेयर अफ दी म्याच भोजपुरका दोर्जी तामाङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार पाए ।शुक्रबार दोस्रो सेमिफाइनल खेल सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक संस्थाका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।

आठ टोली सहभागी रहेको प्रतियोगिताका खेल भोजपुर नगरपालिका–७, कोदारस्थित रङ्गशालामा खेलाइँदै छन् ।प्रतियोगिताको विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पुरस्कार प्राप्त गर्ने छन् । फाइनल खेल यही वैशाख १२ गते खेलाइने छ ।

स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला। सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय तहबाटै सेवा प्रवाह सञ्चालन गर्ने भने पनि जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा अझै सञ्चालनमा ल्याउन सकेका छैनन् ।

आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (प्यान) स्थानीय तहबाट लिने व्यवस्था गरेको छ । यसअघि करदाता सेवा कार्यालहरुबाट प्रवाह भइरहेको प्यान अब स्थानीय तहबाट पाउन लिन सकिने भने पनि यहाँका एक नगरपालिकासहित सात गाउँपालिकाले ती सेवा सञ्चालन गरेका छैनन् ।

सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाबाटै स्थायी लेखा नम्बर (प्यानकार्ड) जारी गर्ने दुई कर्मचारीले तालिम लिइसकेका बताउनुभयो । “चाहिने सबै प्रक्रिया पूरा भइसकेको छ । आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर चााडै करदाता सेवा सञ्चालन हुने छ”, उहाँले भन्नुभयो ।

चाहिने प्रविधि उपकरणको व्यवस्थापन र कर्मचारीलाई तालिम दिएर गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन छिट्टै गरिने गुठीचौर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाको भनाइ छ ।

सरकारले स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने व्यवस्था गरे पनि यहाँका स्थानीय तहले भने उक्त सेवा सञ्चालनमा ल्याउन सकेका छैनन् । गाउँपालिकाको राजस्व शाखालाई करदाता सेवा प्रवाह शुभारम्भ गर्ने चाहिने आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्ने कार्य सञ्चालनमा ल्याउन पटकपटक स्थानीय तहलाई जानकारी दिँदा पनि कुनै सुनुवाइ नभएको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले बताउनुभयो । स्थानीय तहले करदाता सेवा सञ्चालन ल्याउनसके पालिकाबाटै व्यावसायिक तथा व्यक्तिगत प्यान नम्बर लिनेलाई सहज हुने देखिन्छ । स्थानीय तहलाई चाहिने केही करसम्बन्धी प्राविधिक सहयोगका लागि आन्तरिक राजस्व कार्यालयसँग समन्वय गर्ने सकिने प्रमुख कर अधिकृत घिमिरेको भनाइ छ ।

जिल्लाका आठवटै स्थानीय तहले करदाता सेवा सञ्चालन गरेका खण्डमा पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी गर्ने सकिने छ ।

व्यवसायलाई आयकर दर्ता कार्य, आयकर दर्तामा करोबार थप गर्ने कार्य, स्थायी लेखा नम्बर दर्तासँगै सम्बन्धित संशोधन कार्य गर्ने र दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण गर्ने कार्य हुने प्रमुख कर अधिकृत घिमिरेको भनाइ छ ।सरकारले आन्तरिक राजस्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय खारेज गरेसँगै अब स्थानीय निकायबाटै प्यान नम्बर लिन सकिने व्यवस्था गरिएको छ ।

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकमा कार्यदलका सदस्य सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकले कार्यदलका सबै सदस्यहरूको सुझावसमेत समेटेर उक्त कार्ययोजनालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको छ ।

स्वीकृत कार्ययोजनाअनुसार आगामी सोमबारदेखि हरेक दिन दिउँसो ३ः०० बजे विज्ञ तथा सरोकारवालाहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आमन्त्रण गरी संविधान संशोधनका विषयमा सुझाव सङ्कलन गर्ने निर्णयसमेत बैठकले गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै, बैठकको अध्यक्षता गर्नुभएका कार्यदलका संयोजक शाहले कार्यदलले पूर्वनिर्धारित समयमै आफ्नो जिम्मेवारी सम्पन्न गरेर सरकारलाई बहसपत्र पेस गर्ने दृढता व्यक्त गर्नुभयो ।

रवी लामिछानेमाथि खनिइन् रक्षा बम, ‘भोली छाती थाप्न आउनुहुन्छ नि सुकुम्बासी बस्तीमा ? ‘

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सुकुम्बासी बस्ती हटाइने भएपछि जेन्जी अगुवा रक्षा बम रास्वपा सभापति रवी लामिछानेमाथि खनिएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् – आदरणिय Rabi Lamichhane ज्यू,भोली छाती थाप्न आउनुहुन्छ नि यहाँ?तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्दै छन्। वर्षौंदेखि सुकुम्बासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईंहरू फरक हुनुहुन्न रे।आज सुकुम्बासी बस्ती आतंकित छ। सभापति ज्यू, सिधा कुरा सुकुम्बासीसँग कहिले गर्नुहुन्छ? भोली आउनुस् ल।

चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा

झापा। मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।एपीएफले सङ्कटा क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा पनि तीन–तीन गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा एपिएफ विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सङ्कटाकी प्रतिक्षा राईको प्रहार बाहिरिएपछि एपिएफले जित निकालेको थियो ।

सडन डेथमा एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना राना मगरले गोल गरेकी छिन् भने सङ्कटाका तर्फबाट सुशीला चौधरी र झुमा विश्वकर्माले गोल गरेकी थिइन् ।यसअघि भएको टाइब्रेकरमा एपिएफका गीता राना, अनिता बस्नेत र रश्मीकुमारी घिसिङले गोल गरे । अनिता केसी र रेनुका नगरकोटीको प्रहार भने सङ्कटाकी गोलकिपर सुशीला चौधरीले बचाइन् ।

सङ्कटाका तर्फबाट यशोदा शाही, सुक्रिया मिया र विदेशी खेलाडी सुशीया लीला जोसेले गोल गर्दा पूर्णिमा राईको प्रहार बचाउ भएको थियो भने सुनिता भुलनको प्रहार बाहिरिएको थियो ।आजको खेलको ‘प्लेयर अफ दी म्याच’ एपिएफकी गीता राना घोषित हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

मदन भण्डारी राजमार्गः झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा। राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल निर्माणले गति लिएको छ ।झापा, मोरङ र सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये हालसम्म २५ वटा निर्माण सम्पन्न भइसकेका मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर रमेशकुमार दत्तका अनुसार झापाको बाहुनडाँगीबाट सुनसरीको चतरासम्मको १३१ किलोमिटर सडकमा २५ वटा पुल बनिरहेका हुन् । निर्माण सम्पन्न भएका पुलको लम्बाई २० मिटरदेखि ३०० मिटरसम्म छ । निर्माणमा केही ढिलाइ हुनुका कारण वन क्षेत्रको अवरोध रहेको उहाँले बताउनुभयो ।

पुल निर्माण हुने कतिपय क्षेत्र वन क्षेत्रमा पर्ने र रुख कटानको अनुमति पाउन समय लागेकाले काममा ढिलाइ भएको बताउँदै केही पुल अझै अधुरा रहेका सूचना अधिकारी दत्तले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको कुल लागत रु छ अर्ब १२ करोड ६२ लाख ५४ हजार रहेको छ भने सडक निर्माणको लागत रु १० अर्ब १३ करोड रहेको छ ।

झापामा पाँच वटा पुल निर्माण सम्पन्न भएका छन् । जसमा ढोङ्ग्रे खोला, खार खोला, दामा खोला, हँडिया खोला र गगटे खोलाका पुल रहेका छन् । झापा र इलामको सिमानामा पर्ने २२० मिटर लामो बिरिङ खोलाको पुल पनि निर्माण भइसकेको छ । मोरङमा धानखेती, खहरे, डाले, मुगु खोला, खुदुम, मोराङ्गी, तेली र नुसरी खोलाका पुल बनेका छन् ।

इलाम क्षेत्रमा सबैभन्दा बढी १३ वटा पुलको निर्माण सम्पन्न भएका सूचना अधिकारी दत्तले जानकारी दिनुभयो । उहाँका अनुसार सुखानी शहादतस्थल, बुढी खोला, सुखानी खोला, टाङटिङ, गोयाङ, सानोनेते, ठूलोनेते, रतुवा, बुकुवा सानो, बुकुवा ठूलो, बिधुवा खोला, चाँजु खोला र बागद्वार खोलाका पुल सञ्चालनका लागि तयार भएका छन् ।

पुल निर्माण बाँकी रहेका १२ स्थानमध्ये मोरङमा आठ वटा र सुनसरीमा चार वटा रहेका छन् । मोरङको सोल्टी–१, सोल्टी–२, मिखि खोला, बालुवा खोला, सानो नेते, तुर्की खोला, हचुवा र साउने खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेका सूचना अधिकारी दत्तले बताउनुभयो ।

सुनसरीका चार वटा पुल रेल्वे रिभर, ठकुरी खोला, बाघ खोला र बगुवा खोलाको निर्माण सम्पन्न हुन बाँकी छन् । पुल निर्माणले पूर्वी नेपालको यातायात र आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले गर्यो माइकिङ

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्ने प्रक्रिया शुरु गरिएको छ । आज साँझ काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तिमा ठाउँ खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ पनि गरेको छ ।

प्रहरीले बैशाख १२ गते बिहान ६ बजेदेखि बस्ति खाली गराइने भन्दै माइकिङ गरिरहेको छ। बुधबार मात्र प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।

एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन

गोरखा। गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् ।नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या बर्षेनी बढ्दै गएको सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गत वर्ष रु ३० लाख ४५ हजार राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

“सङ्ग्रहालयको बनोट, यहाँ भएका विषयवस्तु, शाह वंशको इतिहास, नेपाल एकीकरण लगायतका बारेमा अध्ययन गर्न आउने गरेका छन्,” प्रमुख कार्कीले भन्नुभयो । गत वर्ष सङ्ग्रहालय अवलोकन गर्न ४४ हजार ७० विद्यार्थी यहाँ आएका थिए । सङ्ग्रहालय घुम्न आउने आमनागरिकको सङ्ख्या भने ८७ हजार २१९ रहेको थियो ।

प्रमुख कार्कीका अनुसार यहाँ घुम्न आउनेमा सार्क राष्ट्रका १६० र अन्य विदेशी मुलुकका दुई हजार ५४२ जना रहेका छन् । बर्सेनि यहाँ विद्यार्थीसँगै पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

सङ्ग्रहालय अवलोकनवापत विद्यार्थीले रु १०, अन्य नेपाली नागरिकले रु २५, सार्क राष्ट्रका नागरिकले रु ५० र अन्य देशका नागरिकले रु १०० शुल्क तिर्नुपर्छ । सङ्ग्रहालय साताको सबै दिन खुल्ने व्यवस्था गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो ।

मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा। सिरहाको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १२ बजे सिरहादेखि मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।ठक्कर दिने मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिनुभयो । प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिएको छ ।

बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल नियुक्त

मकवानपुर। बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरको बकैया गाउँपालिका– ५ का दामोदर खनाललाई नियुक्त गरेको छ ।

सोही बैठकबाट सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठ नियुक्त हुनु भएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

यसैगरी, सो बैठकले स्वास्थ्य सेवामा कार्यरत ११औँ तहका वरिष्ठ अधिकृत डा अर्जुन सापकोटाले दिनुभएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त बैठकले बागमती प्रदेश विश्वविद्यालयको सदस्य पदमा डा प्रेमनारायण अर्याललाई नियुक्त गरेको छ । बैठकले प्रदेशमा निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन नीतिलाई स्वीकृत प्रदान गरेको छ ।

प्रवक्ता तामाङका अनुसार सोही बैठकले शैक्षिक छात्रवृत्ति निर्देशिका २०७२ लाई स्वीकृत प्रदान गर्नुका साथै नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शङ्ख बुद्धलामालाई नियुक्त गरेको छ । बैठकले त्रिभुवन पार्क व्यवस्थापन तथा सञ्चालनसम्बन्धी पहिलो संशोधन गठन आदेशलाई स्वीकृत गरेको छ । बैठकले प्रदेश प्रवद्र्धन पहिलो मस्यौदा ऐन २०८३ र प्रदेश राष्ट्रिय वन ऐन २०८३ लाई प्रदेशसभामा पेस गर्न स्वीकृत गरेको छ । बैठकले गरिबी निवारण नीति २०८२ लाई पनि स्वीकृत गरेको छ ।

यसैगरी, उक्त बैठकबाट बागमती प्रदेशमा समस्याग्रस्त सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुले दिनुभएको राजीनामा गत माघ ५ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

सोही बैठकले प्रदेशका सचिवको जिम्मेवारीमा हेरफेर गर्दै बागमती प्रदेशका सहकारी तथा गरीब निवारण मन्त्रालयको सचिवमा खुसीराम अधिकारीलाई तोक्ने निर्णय गरेको प्रवक्ता तामाङले बताउनुभयो । उक्त बैठकले स्थानीय तहमा वित्तीय अनुदान रकम वितरण निर्देशिकालाई समेत स्वीकृत गरेको छ ।

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत गर्नुभएको छ ।
हङ्गेरीका निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले ऋण स्वीकृत गर्न राखेको कडा अडानका कारण उक्त ऋण स्वीकृत हुन सकेको थिएन ।

उहाँले भन्नुभयो, “आजको दिन हाम्रो रक्षा र युरोपेली सङ्घसँगको सम्बन्धका लागि महत्वपूर्ण दिन हो । युक्रेनका लागि युरोपेली सहयोगस्वरूप तय गरिएको ऋण दुई वर्षमा ९० अर्ब युरो खुला गरिएको छ,” जेलेन्स्कीले एक्समा भन्नुभयो ।

“यो महत्त्वपूर्ण छ, चार वर्षभन्दा बढीको पूर्ण मात्रामा युद्धपछि युक्रेनले यस स्तरको वित्तीय निश्चिततालाई सुरक्षित गरिरहेको छ,” उनले थप्नुभयो । उहाँ पहिलो किस्ता मे वा जूनसम्म वितरण गर्न आग्रह गर्नुभयो ।

जेलेन्स्कीले भन्नुभयो, “युक्रेनले हतियार उत्पादन, युक्रेनमा अहिलेसम्म उत्पादन नगरेका साझेदारहरूबाट आवश्यक हतियारहरू खरिद गर्न र अर्को जाडोको लागि युक्रेनकोे ऊर्जा क्षेत्र र महत्वपूर्ण पूर्वाधारको पुनः निर्माणमा पैसा खर्च गर्नेछ।”

रूसले हिउँदभरि युक्रेनको पावर ग्रिड र ऊर्जा उत्पादन स्थलहरू ध्वस्त पारेको थियो । चार वर्षको आक्रमणका कारण सबैभन्दा कडा जाडोको बीचमा लाखौंलाई चिसो र अँध्यारोमा जीवन निर्वाह गर्न बाध्य बनाएको थियो । युक्रेनका कतिपय शहर र गाउँमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।“यी स्रोतहरूले हामीलाई हाम्रो बिजुली प्रणाली कायम राख्न, महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न र पुनः निर्माणलाई गति दिन मद्दत गर्नेछ,” युक्रेनका ऊर्जा मन्त्री डेनिस श्मीगलले एक्समा लेख्नुभएको छ।

बङ्गलादेश र म्यानमारबाट डुङ्गामा भाग्ने रोहिंग्या शरणार्थीहरूको सङ्ख्या ९० प्रतिशतले बढ्यो

ढाका। बङ्गलादेश र म्यानमारबाट डुङ्गाबाट भाग्ने रोहिंग्या शरणार्थीहरूको सङ्ख्या गत वर्षको तुलनामा ९० प्रतिशतले बढेको सेभ द चिल्ड्रेनले संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई उद्धृत गर्दै बिहीबार जनाएको छ ।युद्धग्रस्त म्यानमारमा उत्पीडनबाट बच्न धेरै रोहिंग्याहरू राम्रो जीवनको खोजीमा हरेक वर्ष भीडभाड र जीर्ण डुङ्गाहरूमा खतरनाक समुद्री यात्रा गर्छन् ।

बङ्गलादेशमा निर्वाचित शरणार्थी परिषद् युनाइटेड काउन्सिल रोहिंग्या (यूसीआर) का सदस्य खिन माउङले यो तथ्याङ्क निकै चिन्ताजनक भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “त्यहाँ यात्राको जोखिमको बारेमा जागरूकता कार्यक्रमहरू सञ्चालन गरिएको थियो तर सहभागी मानिसहरू निराश देखिन्न्थे । जोखिम मोलेर यात्रा गर्नु उनीहरूको रहर नभइ विवशता थियो ।

उहाँले एएफपीसँग भन्नुभयो, “हाम्रा बालबालिकालेस्वदेश फिर्तीको कुनै स्पष्ट सम्भावना र भविष्य नदेखेपछि औपचारिक शिक्षाको अभाव भएका उनीहरू आफ्नो ज्यान जोखिममा राख्ने गरेका छन् ।”

सन् २०१७ मा भएको क्रुर सैन्य दमनको क्रममा म्यानमारबाट भागेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरू बङ्गलादेशको कोक्स बजारमा विशाल शरणार्थी शिविरमा बसिरहेका छन्।सेभ द चिल्ड्रेनका अधिकारी गुलाम मुस्तफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बालबालिका र उनीहरूका परिवारले बढ्दो असुरक्षा र सहयोगको अपर्याप्तताको सामना गरिरहेका छन् ।”

उहाँले भन्नुभयो, “धेरै परिवारले उनीहरूसँग आफ्नो जीवन जोखिममा पार्नु र डुङ्गा यात्रा गर्दै छोड्नुको विकल्प छैन तर उनीहरूको यात्रा खतराले भरिएको छ।”संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)का अनुसार गत वर्ष समुद्री मार्गबाट भाग्ने रोहिंग्या शरणार्थीहरूको लागि रेकर्ड सबैभन्दा घातक थियो, सन् २०२६ मा मृत्यु निरन्तर बढ्दै गएको छ।”

सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा करिब ९०० रोहिंग्या शरणार्थी हराएका वा मारिएका थिए।इन्डोनेसियातर्फ जाँदै गर्दा अन्डमान सागरमा डुङ्गा पल्टिँदा यसै महिना २५० भन्दा बढी रोहिंग्या शरणार्थी र बङ्गलादेशी आप्रवासी बेपत्ता भएका छन्।

यूएनएचसीआरको तथ्याङ्कले यस वर्ष मार्च ३१ सम्म म्यानमार र बङ्गलादेशबाट दुई हजार ९०७ जना समुद्री मार्गबाट बाहिर अन्य मुलुक निस्केका थिए, जबकि सन् २०२५ को सोही अवधिमा यो सङ्ख्या एक हजार ५१७ थियो ।नगदको अभावमा रहेको संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमले यसै महिना बङ्गलादेशमा रहेको १२ लाख रोहिंग्या समूहको ठूलो हिस्साको सहायता कटौती गरेको छ।

सेभ द चिल्ड्रेनले राशन कटौतीका कारण कम्तीमा पाँच लाख रोहिंग्या शरणार्थी बालबालिका प्रभावित भएको बताएको छ।“यसले ‘परिवारहरूलाई थप तनाव दिइरहेको छ, शिविरहरू भित्र खाद्य सुरक्षा कम भएको छ र थप शरणार्थीहरूलाई खतरनाक समुद्री यात्राको प्रयास गर्न बाध्य पारिएको छ’,” एजेन्सीले भनेको छ ।

युक्रेनको तेल प्रशोधन केन्द्रमा हमलापछि रुसमा विषाक्त वायु वर्षा, स्थानीयलाई घरमै बस्न आदेश

मस्को। किएभले सोमबार दक्षिणी शहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको ठूलो आगलागीका कारण रूसको तटीय शहरको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीले बताएका छन् ।

रुसले यसै हप्ताको सुरुमा युक्रेनले ‘ब्ल्याक सी’ क्षेत्रको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा गरेको आक्रमणपछि दन्किएको आगो निभाउन संघर्ष गरिरहेको स्थानीय अधिकारीहरूले बिहीबार एएफपीलाई बताएका छन्।

“तुआप्से तेल प्रशोधन केन्द्रमा चारवटा भण्डारण ट्याङ्कीमा आगलागी भएको छ र आगलागी अझै जारी छ,” क्षेत्रीय आपतकालिन मुख्यालयले बिहीबार एएफपीलाई जानकारी गराएको छ।आगोले बुधबार विषाक्त वर्षा निम्त्याएको थियो । “हावामा विषाक्त कणहरूको एकाग्रताका कारण वायु प्रदुषणको मात्रा ‘दुई देखि तीन गुणा’ वृद्धि भएको थियो,” अधिकारीहरूले बताए ।

अधिकारीहरूका अनुसार विषाक्त ध्वाँसोको वर्षाले तटीय क्षेत्रका वस्तीहरूमा सतहमा कालोपन देखिएको छ।स्थानीयहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका अपुष्ट तस्बिरहरूमा शहरमा ठूलो कालो बादल, समुद्र र समुद्री तटमा तेल पोखिएको र किनारमा मरेका माछा र चराचुरुङ्गीहरू रहेका देख्न सकिन्छ ।

छाडा कुकुर र बिरालाहरूको शरिरको रौँहरू कालो अवशेषले ढाकिएको चित्रित गरिएको थियो, र साना कालो दागहरूले भरिएका कारहरू पार्क गरिएका थिए।शहरका अधिकारीहरूले बुधबार बासिन्दाहरूलाई झ्यालहरू बन्द गर्न, बाहिरी गतिविधिहरू सीमित गर्न र बाहिर जान आवश्यक छ भने अनुहार मास्क लगाउन चेतावनी दिएका छन्।

छुट्टी मनाउनेहरूको बीचमा लोकप्रिय दक्षिणी रूसी शहर तुप्से युक्रेनको निशानामा धेरै पटक परेको छ ।किएभले हालैका हप्ताहरूमा सी ऊर्जा निर्यातबाट रूसको राजस्वलाई पूभावित पार्न खोज्दै सेनाको लागि कोषको एक प्रमुख स्रोत मानिने रूसी तेल भर्ने बन्दरगाहहरूमा आक्रमण बढाएको छ ।

इलाम गोल्डकपः एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

इलाम। डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौँ इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।आज भएको सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै एनआरटीले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । जसमा रोलिङ क्लबलाई ४–३ गोलअन्तरले हराउँदै एनआरटी फाइनलमा पुगेको हो । त्यसअघि एनआरटीका लागि विज्ञान खड्का तथा रोलिङ क्लबका तर्फबाट फागुराम चौधरीले गोल गरेका थिए । आजको खेलको म्यान अफ दी म्याच एनआरटीका गोलकिपर विशाल सुनवार घोषित भए । उनले रु आठ हजार एक नगद र ट्रफि प्राप्त गरे ।

विजेता टोली एनआरटीले यही वैशाख १२ गते शनिबार मच्छिन्द्र फटबल क्लबसँग प्रतिष्पर्धा गर्ने छ । विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउने छन् । प्रतियोगितामा आठ टोली सहभागी थिए ।

सञ्चारमन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घका पदाधिकारी बिच छलफल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना र नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरुबीच समसामयिक विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको छ ।

सो छलफल प्रेस स्वतन्त्रता, जिम्मेवार पत्रकारिता, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, सरकारी विज्ञापन वितरणको पारदर्शिता तथा श्रमजीवी पत्रकारका अधिकारलगायत विषयमा केन्द्रमा रह्यो । छलफलका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रवद्र्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै त्यसको समानान्तर रूपमा सञ्चार क्षेत्र पनि जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले सत्यतथ्यमा आधारित, विश्वसनीय र सन्तुलित समाचार सम्प्रेषण आजको आवश्यकता भएको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत मिथ्या, भ्रामक, पक्षपातपूर्ण तथा गैरजिम्मेवार सामग्री प्रसारण हुनेक्रम बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । यस्ता सामग्रीका कारण समाजमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उहाँले मन्त्रालयसम्मसमेत गुनासो आउने गरेको बताउनुभयो ।

मन्त्री डा तिमिल्सिनाले विशेष गरी चरित्र हत्या हुने खालका सामग्री प्रकाशन तथा प्रसारणले व्यक्तिमा गम्भीर मानसिक, सामाजिक र व्यावसायिक असर पार्न सक्ने उल्लेख गर्दै पत्रकार तथा सामग्री उत्पादकहरू थप जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

“हरेक व्यक्ति के गर्न हुन्छ तथा के गर्न हुँदैन भन्ने विषयमा स्पष्ट र जवाफदेही हुन आवश्यक छ । एक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा त्यसले अर्को व्यक्तिमा पार्ने असरबारे संवेदनशील हुनुपर्छ”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो ।

मिथ्या, अनर्गल तथा अतिरञ्जित सूचनाको नियन्त्रणमा पत्रकारिता क्षेत्रकै अग्रणी भूमिका हुनुपर्ने उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल पत्रकार महासङ्घले त्यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सञ्चारजगत आफैँले आत्मअनुशासन, स्वनियमन र उत्तरदायित्व बढाउनुपर्ने भन्दै उहाँले तथ्यमा आधारित पत्रकारिता नै विश्वसनीयताको आधार भएको बताउनुभयो ।

सरकारी विज्ञापन तथा सूचना वितरण प्रणालीमा अपारदर्शिता रहेको विषय स्वयं सञ्चारकर्मी पनि जानकार रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले यसबारे विस्तृत अध्ययन गरिने र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने निर्णय लिइने बताउनुभयो । यो समस्या समाधानका लागि सरकारले गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । साथै, सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पार्दै उहाँले त्यसको वितरण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाइने प्रतिबद्धता जनाउनुभयो ।

छलफलका क्रममा महासङ्घका अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रताको रक्षा तथा श्रमजीवी पत्रकारहरूको हकहित सुनिश्चित गर्न महासङ्घ निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले पत्रकारहरूलाई जिम्मेवार, व्यावसायिक र दक्ष बनाउन विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै पत्रकारिता क्षेत्रमा विद्यमान विकृति र चुनौतीलाई महासङ्घले पनि स्वीकार गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष शर्माले पत्रकारिता क्षेत्र सुधारका लागि कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको बताउँदै त्यसका लागि हुने सबै प्रयासमा महासङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन प्रेस काउन्सिललाई थप सशक्त बनाउनुपर्नेमा जोड दिँदै दर्ता भएका सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई फरक ढङ्गले कसरी नियमन गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था मिलाउनुपर्ने र श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने महासङ्घको प्रमुख माग रहेको अध्यक्ष शर्माले उल्लेख गर्नुभयो । साथै सञ्चार क्षेत्रसँग सम्बन्धित नीति, नियम तथा कानुन निर्माण गर्दा महासङ्घसहित सरोकारवाला निकायहरूसँग अनिवार्य छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले सरकारी विज्ञापन रोकिँदा देशभरका सञ्चारकर्मीबाट आएको दबाब महासङ्घले धान्न नसकेको गुनासो गर्नुभयो । उहाँले विज्ञापन वितरणमा भइरहेको अपारदर्शिता तथा सम्भावित आर्थिक अनियमितताबारे निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै यस विषयमा छिटो स्पष्ट निर्णय र समाधान आवश्यक रहेको बताउनुभयो । पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण लामो समयदेखि रोकिएका विषयमा पनि महासचिव दाहालले सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

छलफलका क्रममा प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता र स्वनियमनको सन्तुलन, सञ्चारमाध्यमको विश्वसनीयता, सामाजिक सञ्जालको नियमन तथा सरकारी स्रोतको पारदर्शी वितरणजस्ता विषयमा सरकार तथा पत्रकार महासङ्घले सहकार्य गरिनुपर्ने आवश्यकता औँल्याएको थियो ।

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौँ। हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई आज मन्त्रालयमा भेट गरी सांसदहरूले हिमाली जिल्लामा मङ्सिरदेखि फागुन महिनासम्म अत्यधिक हिमपात हुने कारण विद्यालय सञ्चालन, विद्यार्थीको नियमित उपस्थिति तथा समग्र शैक्षिक क्यालेन्डरमा प्रत्यक्ष प्रभाव पर्ने गरेकाले शैक्षिकसत्रको समय मौसम अनुकूल व्यवस्थापन गर्न माग गर्नुभएको हो ।

साथै, सांसदहरूले हिमाली क्षेत्रमा विद्यार्थीको पठनपाठन, शैक्षिक पूर्वाधार र स्रोतसाधन व्यवस्थापनमा व्यावहारिक कठिनाइ भइरहेकाले आवश्यक सहजीकरण गरिदिन शिक्षामन्त्रीसमक्ष अनुरोध गर्नुभएको थियो ।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले हिमाली क्षेत्रका शैक्षिक समस्या समाधानका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हिमाली क्षेत्रमा मौसमका कारण विद्यार्थीको पठनपाठनमा समस्या नहुने गरी शैक्षिक क्यालेन्डर बनाउन पनि आग्रह गर्नुभयो ।

हिमाली क्षेत्रको समस्या समाधानका उपाय पहिचान गरी व्यावहारिक तथा क्षेत्र अनुकूल शैक्षिक क्यालेन्डर निर्माण गर्न आवश्यक देखिएको हुनाले उक्त विषयमा हिमाली जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको अनुभव, सुझाव लिन छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

छलफलमा हिमाली भेगका विद्यार्थीको पहुँच, शैक्षिक गुणस्तर, पूर्वाधारका चुनौतीका साथै जलवायु परिवर्तनको जोखिम र त्यसले शिक्षा क्षेत्रमा पार्ने प्रभावबारे पनि विचार–विमर्श भएको छ । शिक्षामन्त्रीसँगको छलफलमा हिमाली क्षेत्रबाट निर्वाचित सांसदहरू उपस्थित हुनुहुन्थ्यो ।

मनपरी भाडा उठाउँदै सार्वजनिक यातायातका परिचालक

काठमाडौँ। सार्वजनिक सवारीका परिचालकले मनपरी भाडा उठाउन थालेको गुनासो बढेको छ ।

गत चैत अन्तिम साता सङ्घीय र प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेपछि सवारीका परिचालकले मनपरी भाडा उठाउन थालेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भई बढाइएको भाडा विद्युतीय सवारीसाधनमा लागू नहुने जनाइएको थियो । तर कतिपय विद्युतीय सवारीका परिचालकले समेत भाडा बढाएर लिने गरेको गुनासो सुनिएका छन् ।

सवारीसाधनका परिचालकले यात्रुको अनुहार हेरेर सकिने जति भाडा लिने गरेको दैनिक भक्तपुर–रत्नपार्क रुटमा सार्वजनिक यातायात चढ्दै आउनुभएका बलराम शिल्पकार बताउनुहुन्छ ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयको गत चैत २७ गतेको निर्णयअनुसार प्रदेशभर भाडा समायोजन गरिएको हो । चैत २८ गतेदेखि लागू भएको भाडादरअनुसार पाँच किलोमिटरसम्मको भाडा अब २४ रुपैयाँ पर्छ । तर सार्वजनिक यातायातका परिचालकले भने तेस्रो स्टेसन पार गरेदेखि ३५ रुपैयाँ भाडा लिइरहेको उहाँले बताउनुभयो । जुन दूरीका हिसाबले तीन किलोमिटर पनि हुँदैन ।

सरकारले १० किलोमिटरसम्मको भाडा ३३ रुपैयाँ तोकेको छ । पन्ध्र किलोमिटरसम्मको भाडा ३९ रुपैयाँ तोकिएको छ । सरकारले २० किलोमिटरसम्म दूरीको भाडा ४४ रुपैयाँ र २० किलोमिटरभन्दा बढी दूरीको भाडा ५० रुपैयाँ तोकेको छ । वैज्ञानिक भनिएको यो भाडादर अवैज्ञानिक रहेको यात्रु शिल्पकारको भनाइ छ ।

वैज्ञानिक भाडादरका नाममा केही सरकारी अधिकारीले व्यवसायीसँग मिलेमतो गरी यात्रुलाई समस्यामा पार्ने गरेको उहाँको बुझाइ छ । पेट्रोलियम पदार्थको भाउ बढ्दा बढ्ने गरेको सार्वजनिक यातायातको भाडा भाउ घट्दा भने कहिल्यै घट्दैन ।

उल्टै सवारीसाधनका परिचालकले भने तोकिएभन्दा बढी आफूखुसी भाडा लिइरहेको यात्रु बताउँछन् । विदुर नगरपालिका–५ देवीघाटका स्थायी बासिन्दा वासुदेव नेपाल नुवाकोट र काठमाडौँ ओहोरदोहोर गरिरहनुहुन्छ । थानकोटबाट गल्छीसम्म करिब ४८ किलोमिटर दूरीको भाडा उहाँले २०० रुपैयाँ तिर्नुभयो ।

गल्छीबाट देवीघाटसम्म करिब १७ किमीको भाडा भने १३० रुपैयाँ तिर्नुपरेपछि उहाँले सामाजिक सञ्जालमै लेखेर परिचालकले यात्रुसँग तोकिएभन्दा धेरै भाडा उठाइरहको सार्वजनिक गर्नुभयो । रसुवा नाकासम्म पुग्ने कालोपत्र गरिएको राजमार्गमा १७ किमी दूरी पार गर्दा १३० रुपैयाँ भाडा तिर्न आफू बाध्य हुनुपरेको यात्रु नेपालको गुनासो छ ।

बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार यात्रुले भाडा तिरेपछि टिकट पाउनुपर्ने व्यवस्था गरेको छ । तर काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीसाधनले भने यात्रुलाई टिकट दिँदैनन् । टिकट नदिने भएपछि परिचालकलाई आफू खुसी भाडा असुल गर्न सहज भएको हो । ऐनमा परिचालकलाई परिचयपत्र दिएर मात्र टिकट काट्न लगाउनुपर्ने व्यवस्था भए पनि यो पनि कार्यान्वयन हुन सकेको छैन । परिचालकलाई परिचयपत्र, नियुक्तिपत्रसहित न्यूनतम् आवश्यकता पूरा गर्नसक्ने गरी पारिश्रमिकको व्यवस्था गरिदिए यो क्षेत्र व्यवस्थित बन्दै जाने यात्रुु नेपाल बताउनुहुन्छ ।

प्रदेश ऐनमा यातायात निरीक्षकको व्यवस्था पनि गरिएको छ । सार्वजनिक यातायातले बढी भाडा लिइ यात्रु ठगी गरेमा कारबाही गर्नुपर्ने यातायात निरीक्षकको नियुक्ति अझै हुन नसकेको प्रदेश मन्त्रालय यातायात महाशाखा प्रमुख प्रवीण श्रेष्ठ बताउनुहुन्छ ।

विभिन्न जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयले ती क्षेत्रमा चल्ने सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने काम गरिरहेको उहाँले सुनाउनुभयो । ती कार्यालयका कार्यालय प्रमुखले सम्बन्धित क्षेत्रको यातायात व्यवस्थापन समितिको अध्यक्ष भएरसमेत काम गरिरहेका छन् ।

काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनका लागि यातायात व्यवस्था कार्यालयलाई जिम्मेवारी दिइएको छ । कार्यालयका सूचना अधिकारी अमृत घिमिरे काठमाडौँ उपत्यकामा १०० भन्दाबढी यातायात कम्पनी रहेको र जनशक्ति अभाव हुँदा ती सबै कम्पनीका सवारीमा अनुगमन गर्न नसकिएको बताउनुहुन्छ ।

सङ्घीय सरकार मातहतका यातायात व्यवस्था विभागले भने अन्तर प्रदेशमा चल्ने सवारीसाधनको भाडादर तोक्ने र तिनको व्यवस्थापन गर्दै आएको छ । अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको पनि सरकारी तहबाट अनुगमन नहुँदा तोकिएभन्दा बढी भाडा असुली भइरहेको यात्रुको गुनासो छ ।

सार्वजनिक यातायातले बढी भाडा लिएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लिखित र मौखिक उजुरी पर्ने गरेको छ । सरकारले तोकेभन्दा बढी भाडा लिने सार्वजनिक सवारीलाई पाँच हजार रुपैयाँसम्म जरिवाना लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो । सार्वजनिक यातायातमा अनिवार्य भाडादर राख्न लगाएको पनि उहाँले बताउनुभयो ।

पछिल्लोपटक बढेको भाडा विद्युतीय सवारी लागू नहुने भएकाले ट्राफिक प्रहरीले त्यसको पनि अनुगमन गरिरहेको छ ।

सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिएमा कार्यालयमा लिखित वा ट्राफिक प्रहरीको निःशुल्क टेलिफोन नम्बर १०३ फोन गरेर जानकारी गराउन सकिने पनि प्रवक्ता सुवेदीले प्रष्ट पार्नुभयो ।

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जामन्त्री समक्ष पेस

काठमाडौँ। ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठसमक्ष पेस गरिएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवको संयोजकत्वमा गठित समितिले आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ आज मन्त्रीसमक्ष बुझाएको हो ।

गत चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गतको बुँदा ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी सहसचिव देवको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरिएको थियो ।

उक्त रणनीतिमा विद्युतको आन्तरिक खपत उल्लेखनीय रूपमा बढाउन जोड दिँदै खपतपछि बचत भएको विद्युत निर्यात प्रवर्द्धन गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरिएको छ । शतप्रतिशत घरधुरीमा विद्युतीकरण गर्दै प्रसारण र वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

घरायसी उपकरणको प्रयोगमा विद्युतीय वस्तुलाई आकर्षण गर्ने, मिटर र ट्रान्सफर्मरको क्षमतामा सुधार गरी एलपी ग्यासको प्रयोग क्रमशः घटाउनुपर्नेमा जोड दिइएको छ ।

यसैगरी, हाल प्रतिव्यक्ति ऊर्जा खपत करिब ४५० किलोवाट आवर रहेकोमा आगामी १० वर्षभित्र एक हजार ५०० सय किलोवाट आवर पु¥याउन सकिने उल्लेख छ । सार्वजनिक यातायातका क्षेत्रमा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्ने, चार्जिङ स्टेसनको नेटवर्क विस्तार गर्न सुझाव दिइएको छ । उद्योगमा प्रयोग हुँदै आएको कोइला तथा पेट्रोलियममा आधारित बोयलरलाई विद्युतीय प्रणालीमार्फत प्रतिस्थापन गर्ने नीति लिइएको छ ।

ऊर्जा खपत वृद्धिका निम्ति विद्युत महसुललाई उपभोक्ता मैत्री ‘सिजनल’ दर तय गर्नुपर्ने योजना पनि रणनीतिमा समेटिएको छ । यसले ऊर्जा उपयोगको दक्षता बढाउनुका साथै व्यापार घाटा घटाउन र विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसैगरी, उत्पादनतर्फ जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनाको हिस्सा बढाएर सुक्खा र वर्षायाम बीचको उत्पादन असन्तुलन समाधान गर्ने लक्ष्य लिइएको छ ।

देशव्यापी प्रसारण प्रणाली विस्तारसँगै अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा विद्युत निर्यात बढाउने योजना अघि सारिएको छ । निर्यातलाई विशेषगरी उच्च माग हुने साँझको समयमा केन्द्रित गरी बढी आर्थिक लाभ लिने रणनीति बनाइएको छ । जसमा आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्न सकिने लक्ष्य लिइएको छ ।

रणनीतिले सम्भावित जोखिमको पहिचान गर्दै तिनको व्यवस्थापनका लागि स्पष्ट उपायहरू प्रस्ताव गरेको छ । यसका साथै, विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने र नेपाल विद्युत प्राधिकरणमा संरचनात्मक सुधार गरी कार्यक्षमता अभिवृद्धि गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

सहसचिव देवको संयोजकत्वको उक्त समितिमा विद्युत विकास विभागका उपमहानिर्देशक गोकर्ण पन्त, मन्त्रालयका कानुन हेर्ने सहसचिव जङ्गबहादुर डाँगी, विद्युत नियमन आयोगका सचिव नवीनराज सिंह, विद्युत प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक राजन ढकाल, निर्देशक थर्कबहादुर थापा, मन्त्रालयका सीडीईद्वय राजु महर्जन र सञ्जिव राय सदस्य रहनुभएको थियो ।