`

मन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुनः स्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्वनिर्धारित भ्रमण रद्द गरेका हुन् ।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठुलो क्षति पुगेको तथा अझै पनि ठुलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु छ ।

साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनः स्थापना, विद्युत् आपूर्ति नियमित तथा व्यवस्थित गर्ने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने र विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गर्ने निर्णय लिए ।

मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो ।

उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो ।

चालु आवमा जुम्लालाई ३ अर्ब ९ करोड पुँजीगत बजेट

जुम्ला । चालु आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले जुम्लाका लागि पुँजीगततर्फ तीन अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मीनबहादुर घर्तिमगरका अनुसार सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ तीन अर्ब नौ करोड ४३ लाख रुपैयाँ प्राप्त भएको छ।

जिल्लामा सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाका लागि आएको छ। सडक डिभिजनका लागि चालु आवमा पुँजीगत बजेट एक अर्ब ८० करोड रुपैयाँ प्राप्त भएको छ। त्यसैगरी सघन सहरी तथा भवन आयोजनाका लागि एक अर्ब ३९ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन भएको प्रमुख कोष नियन्त्रक घर्तिमगरले बताएका छन्।

सडक डिभिजनमा आएको पुँजीगत बजेट कर्णाली राजमार्गलाई थप स्तरोन्नति गर्नेदेखि सडक निर्माणका काममा खर्च गरिनेछ। हाल ठेक्का आह्वानको काम धमाधम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले बताएका छन्। सघन सहरी तथा भवन आयोजनाले जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लाहरूमा भौतिक संरचना निर्माणमा बजेट खर्च हुने जनाएको छ।

गत वर्ष ५१ प्रतिशत मात्र पुँजीगत खर्च
सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरेको जुम्लाको कुल विकास बजेटमध्ये ५१ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको छ। पुँजीगततर्फ दुई अर्ब आठ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएकामा एक अर्ब सात करोड ७० लाख रुपैयाँ अर्थात् ५१ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको थियो।

गत आवमा पुँजीगततर्फ करिब एक अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च हुन नसकेर फिर्ता गएको छ। सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको बजेट ‘फ्रिज’ भएको प्रमुख कोष नियन्त्रक घर्तिमगरको भनाइ छ।

सडक डिभिजन कार्यालयका लागि विनियोजित पुँजीगत बजेटतर्फ ७९ करोड २५ लाख रुपैयाँमध्ये ३३ करोड ८८ लाख रुपैयाँ अर्थात् ४२ दशमलव ६३ प्रतिशत मात्र खर्च भएको थियो। उक्त कार्यालयको कुल विनियोजित बजेटको झन्डै ४५ करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता गएको छ। यद्यपि उक्त कार्यालयले सडक बोर्डबाट प्राप्त पुँजीगत बजेट ४३ करोड ५० लाख रुपैयाँमध्ये ३९ करोड १० लाख रुपैयाँ अर्थात् ८९ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको थियो।

यसैगरी सघन सहरी तथा भवन आयोजनाको पुँजीगततर्फ विनियोजित बजेट ८४ करोड ८४ लाख रुपैयाँमध्ये ४१ करोड १२ लाख रुपैयाँ अर्थात् ४८ दशमलव ४९ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

उच्च जोखिममा बागलुङ : साउनयता १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ।बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्।

जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेङ्गु फैलिएको छ। बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ। जुन तथ्याङ्क नेपालमै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो। सदरमुकाममा हाल घरैपिच्छे डेङ्गु सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ। दैनिकजसो डेङ्गु फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ।

गत वर्ष पाँच जनामा देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पुष्टि भएको छ। डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ। स्क्रब टाइफसका ५० प्रतिशत सङ्क्रमित गलकोट नगरपालिकामा देखिएका छन्।

नेपालमै सबैभन्दा बढी डेङ्गु फैलिएको जिल्लाका रूपमा बागलुङ र पालिकाका रूपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिएका छन्। बागलुङ डेङ्गुसहित स्क्रब टाइफसको उच्च जोखिममा रहेको उनको भनाइ छ। ‘हामीले उच्च सतर्कता अपनाउँदै गए पनि सङ्क्रमणको दर उच्च रहेको छ,’ शर्मा भन्छन्, ‘धौलागिरि अस्पतालमा डेङ्गुका बिरामीको चाप उच्च रहेको छ। बागलुङ बजारमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेसँगै ग्यारेजका टायरसमेत जफत गर्न थालिएको छ।’

जिल्ला सदरमुकाममा दैनिक ३० देखि ५० जनासम्ममा डेङ्गु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिएका छन्। डेङ्गु नियन्त्रणमा तदारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताएका छन्।

कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले पायो यस्तो अङ्क

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको कार्यसम्पादनको प्रारम्भिक मूल्याङ्कनमा ७० दशमलव पाँच अङ्क प्राप्त गरेको छ।कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५८औँ कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि छलफल गरी पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ।

उक्त मूल्याङ्कन आर्थिक वर्ष २०८२/८३ को हो। स्थानीय तहको बजेट, योजना तथा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२ अनुसार विभिन्न सूचक तय गरिएका छन्। मूल्याङ्कनमा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास तथा वन, वातावरण र विपद् व्यवस्थापन गरी पाँच क्षेत्र समेटिएका छन्।

महानगरपालिकाका अनुसार कार्यसम्पादन मूल्याङ्कनलाई व्यवस्थित र प्रभावकारी बनाउन योजना अनुगमन तथा निरीक्षणलाई एकीकृत गरिएको छ। यसका आधारमा तयार गरिएको एकीकृत प्रतिवेदन भदौ १५ गतेभित्र प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गरिनेछ।

प्रमुख प्रशासकीय अधिकृतले मूल्याङ्कन समन्वय समितिमा छलफल गराई प्रमुखसमक्ष पेस गर्ने र सम्बन्धित शाखाबाट प्राप्त प्रारम्भिक नतिजालाई विषयगत समितिमा छलफलका लागि पठाउने व्यवस्था गरिएको छ। महानगरपालिकाले सूचकगत अङ्क र त्यसको पुष्टि हुने प्रमाण तथा कागजातको अध्ययन र विश्लेषण गरी मूल्याङ्कनको अन्तिम नतिजा असोज मसान्तभित्र सार्वजनिक गर्ने जनाएको छ।

अस्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट विमानस्थलबाट बरामद

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अस्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनमा नियमित सुरक्षा जाँचका क्रममा शङ्कास्पद देखिएका दुई कार्टुन चुरोट फेला परेको हो। नयाँ बजारस्थित स्काई किङ लजिस्टिक प्रालिका सञ्चालक सुवास कुँवरमार्फत ती चुरोट अस्ट्रेलिया पठाउन लागिएको खुलेको छ।

त्यसैगरी गौश्वारा हुलाक कार्यालय, डिल्लीबजारमार्फत सगुन खड्काले कमलराज कार्कीको नाममा अस्ट्रेलिया पठाउन लागेको कार्गो सामान परीक्षण गर्दा शङ्कास्पद देखिएको थियो। थप जाँच गर्दा ‘शिखर आइस रश’ चुरोट १५ बण्डल फेला परेको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार बरामद चुरोट आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीले अवैध रूपमा चुरोट विदेश पठाउन खोजिएको घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्राकृतिक प्रकोपबाट प्रभावित तनहुँका किसानलाई राहत

तनहुँ। हावाहुरी, असिना पानी तथा विभिन्न रोगका कारण बालीमा क्षति व्यहोरेका तनहुँका किसानलाई कृषि विकास कार्यालयले राहत तथा पुनःस्थापनाका लागि आठ लाख ७८ हजार रुपैयाँ उपलब्ध गराएको छ। प्राकृतिक प्रकोप तथा रोगका कारण बालीमा क्षति पुगेका किसानलाई कार्यालयले क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरेको हो।

कृषि विकास कार्यालयका प्रमुख परशुराम अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानका १९३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको थियो। लागतका आधारमा गरिएको मूल्याङ्कनअनुसार ती बालीमा ३७ लाख १८ हजार ३०० रुपैयाँ बराबरको क्षति भएको थियो। किसानले व्यहोरेको सम्पूर्ण क्षति पूर्ति गर्न नसकिए पनि केही राहत मिलोस् र आगामी खेतीका लागि पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्य राखिएको अधिकारीले बताएका छन्।

तनहुँमा चैते धानमा सबैभन्दा बढी असर परेको कार्यालयको तथ्याङ्कले देखाएको छ। चैते धानमा मरुवा रोग तथा असिना पानीका कारण ठूलो क्षति पुगेको हो। अधिकारीका अनुसार १७२ हेक्टर क्षेत्रफलमा लगाइएको चैते धानमा १२ लाख २३ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको थियो। त्यसबापत किसानलाई तीन लाख पाँच हजार ९०० रुपैयाँ राहत उपलब्ध गराइएको छ।

चैते धानसँगै तनहुँको प्रमुख नगदेबालीका रूपमा रहेको सुन्तला खेतीमा पनि हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ। कार्यालयका अनुसार नौ दशमलव तीन हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला खेतीमा १८ लाख ७७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो। उक्त क्षतिबापत किसानलाई चार लाख ६९ हजार रुपैयाँ राहत प्रदान गरिएको छ।

त्यसैगरी हावाहुरी तथा असिना पानीका कारण तरकारी तथा अन्य बालीमा क्षति पुगेको छ। १२ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी तथा अन्य बालीमा छ लाख १८ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको थियो।

कार्यालयले राहत रकम वितरणसँगै किसानलाई पुनः उत्पादनमा फर्काउन आवश्यक सहयोग र प्राविधिक परामर्शलाई पनि प्राथमिकता दिएको प्रमुख अधिकारीले उल्लेख गरेका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक बिहन १० बजे बस्ने भएको छ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने छ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक ११ः१५ बजे बस्ने भएको छ ।

बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका पूर्व सभापतिसँग छलफल हुने छ ।

अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ ।क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो ।

अन्तरराष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन, चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवलगायत कारण कप्तानमा सन्दीपको पुनरागमन सम्भव भयो । क्यानले एकदिवसीय टोलीमा कप्तानमात्र नभई केही खेलाडीसमेत परिवर्तन गरेको थियो । कप्तानमा नियुक्त भएलगत्तै उहाँको सामु सर्वाधिक ठूलो चुनौती थियो, एसिसी एसिया कपमा छनोट हुनु ।

नयाँ र पुराना खेलाडी मिश्रित टोली व्यवस्थापनको चुनौतीबीच पनि सन्दीपले दुईवटै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँ नेतृत्वको नेपालले एसिसी प्रिमियर कप २०२६ मा कुल छ खेल खेल्यो । जसमा नेपालले पाँचमा जित र एक खेलमा मात्र पराजय व्यहोयो । समूह विजेताको हैसियतामा टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा पनि सानदार प्रदर्शन गरेर नेपालले सहजै फाइनलमा स्थान सुरक्षित गर्यो ।

फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै उपाधिमात्र जितेन दोस्रोपटक एसिया कपमा पनि स्थान बनायो । नेपालले एसिया कपको यात्रा गर्नुमा कप्तान लामिछानेको भूमिका प्रमुख रह्यो । उहाँले बलिङमा हरेक खेलमा विपक्षी टोलीविरुद्ध दबाब राख्नुभयो ।

सन्दीपले प्रतियोगिताको छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिनुभयो । टोलीको सफलतामा निर्णायक प्रदर्शन गर्नुभएका कप्तान लामिछाने प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुनुभयो । उहाँ एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘सर्वोत्कृष्ट खेलाडी’ चयन हुनुभएको हो ।

कप्तान लामिछानेले सन् २०२३ को संस्करणमा पनि उक्त अवार्ड प्राप्त गर्नुभएको थियो । उहाँले यसपटक व्यक्तिगत प्रदर्शनमात्र नभई कप्तानको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्दा नेपालले उपाधि जित्न सफल भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीको भनाइ छ ।

“एसिसी प्रिमियर कपमा नेपालको नतिजा कप्तानमा सन्दीप सफल देखिएको प्रमाण हो । उहाँले जुन प्रकारले टोलीको नेतृत्व गरिरहनुभएको छ, त्यसले अरू खेलाडीलाई पनि मद्दत पुगिरहेको छ”, चौधरीले रासससँग भन्नुभयो, “प्रतियोगितामा सन्दीपले बलरको सही सदुपयोग गर्नुभयो । टोलीमा धेरै नयाँ खेलाडी हुँदा पनि उहाँको कप्तानी उत्कृष्ट रह्यो । आगामी प्रतियोगिताहरूमा पनि यस्तै नतिजाको आशा छ ।”

क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजकसमेत रहनुभएका चौधरीले एसिसी प्रिमियर कपमा अन्य खेलाडीको प्रदर्शन पनि उत्कृष्ट रहेको बताउनुभयो । टोली एकढिक्का भएर खेल्दा सकारात्मक नतिजा आउने उल्लेख गर्दै उहाँले दबाबमा पनि खेलाडीले धैर्य भएर खेल्दा नेपालले उपाधि जितेको बताउनुभयो ।

“सन्दीपको उत्कृष्ट कप्तानी त रह्यो नै टोलीको सफलतामा अरू खेलाडीको प्रदर्शनलाई पनि नजरअन्दाज गर्न मिल्दैन । बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख, अर्जुन कुमाललगायतको प्रदर्शन पनि टोलीले उपाधि जित्नमा अहम् रह्यो”, चौधरीले भन्नुभयो ।

उहाँले अब सन्दीपसामु आइसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउनुपर्ने चुनौती रहेको बताउनुभयो । नेपाली टोली अहिले एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष छभित्र पर्नैपर्ने दबाबमा छ ।

“नेपालले अब विश्वकप लिग–२ को जारी चक्रमा एउटा शृङ्खलामात्र खेल्न बाँकी छ । जुन सिरिजमा हामीले ओमान र क्यानडाको सामना गर्नेछौँ । यी दुई टोलीको पछिल्लो प्रदर्शन हेर्दा त्यति उत्कृष्ट छैन । एसिसी प्रिमियर कप जितेकाले नेपाली टोलीमा आत्मविश्वास उच्च छ । नेपालले त्यसको फाइदा उठाउन सक्छ”, पूर्वखेलाडी चौधरीले भन्नुभयो ।

ताजा अवस्थामा नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेल खेल्दा १९ मा हार र ११ खेलमा जित निकालेको छ । नेपालले दुई खेलमा भने अङ्क बाँडेको छ । शीर्ष ६ मा परेर एकदिवसीय मान्यता जोगाउन नेपालले अब कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ । नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ ।

मुगुमा बिहानै लगातार दुई पटक भूकम्प

मुगु । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता ४.५ र ४.२ म्याग्निच्युड रहेको छ । भूकम्पपछि स्थानीयवासीमा त्रास फैलिएको छ । थप विवरण आउन बाँकी छ ।

भक्तपुरको दमकल सेवा प्रभावकारी बनाउन गृहमन्त्री गुरुङको चासो

भक्तपुर। गृहमन्त्री सुधन गुरुङले मङ्गलबार जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयको स्थलगत अवलोकन गर्नुभएको छ ।
भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरुङलाई कार्यालय प्रमुख विजय धौभडेलले दमकलको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

गृहमन्त्री गुरुङले आगलागी भएमा अग्नि नियन्त्रणका लागि ‘ड्रोन’ प्रविधि आइसकेको बताउँदै त्यसतर्फ पनि सरकारले ध्यान दिने बताउनुभयो । उहाँले दमकलको अवस्थाका बारेमा चासो लिनाका साथै समस्या समाधानका लागि आफू लाग्ने बताउनुभयो ।

कार्यालयका प्रमुख धौभडेलले बेल्जियमको समूहले अग्नि नियन्त्रकलाई तालिम दिने गरेको जानकारी गराउनुभएको थियो । उहाँले दुईवटा ड्रोन ल्याउन सके अग्लो ठाउँमा लाग्ने आगो नियन्त्रणका लागि सहज हुने बताउनुभयो । यस वर्ष सरकारले प्रविधि एवं उपकरण खरिदका लागि रु ९४ लाख विनियोजन गरेको छ । पुराना दमकलको सङ्ग्रहालय निर्माण गर्न र कर्मचारीको समस्या समाधानमा चासो दिन उहाँले आग्रह गर्नुभयो ।

गृहमन्त्री गुरुङ दमकलको अवलोकनपछि राति नै नवदुर्गा मन्दिर पुग्नुभएको थियो । गृहमन्त्रीले नवदुर्गा मन्दिरमा दसैँको नवमीका दिन राति बलि दिने खमेय (राँगो) का बारेमा जानकारी लिनुभएको थियो । नवदुर्गा देवगणका तर्फबाट नारायण वनमालाले नवदुर्गा जात्रा एवम् पर्व सञ्चालनका लागि सरकारले चासो दिनुपर्ने बताउनुभयो ।

यसबीच गृहमन्त्री गुरुङले कमलविनायक बजार र कमलपोखरीको अवलोकन गर्नुभयो । सो अवसरमा सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाललगायतले भक्तपुरको समग्र अवस्थाका बारेमा उहाँलाई जानकारी गराउनुभएको थियो ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, ३१ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, अपराह्न १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन ’ सभासमक्ष पेस गर्नुहुनेछ ।

यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, आजै विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्याङ्कन समितिको बैठक बस्ने कार्यतालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत: किसानको गुनासो सुन्दै आयोजना प्रमुख

बाँके। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माण कार्यलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग सुझाव सङ्कलन गरेको छ।

आयोजनाले पूर्वी नहर प्रणालीअन्तर्गत पर्ने राजकुलो शाखा, उपशाखा तथा प्रशाखा नहरबाट सिँचाइ सुविधा लिइरहेका र भविष्यमा लिने सोच बनाएका किसान तथा सरोकारवालालाई लक्षित गरी मङ्गलवार राप्ती सोनारी गाउँपालिका-३ बैजापुरमा गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा आयोजनाका निर्देशक राजु आचार्यले स्वयं उपस्थित भएर किसानका समस्या तथा गुनासो सुनेका छन्। आयोजनाले जनताको राय सुझाव सङ्कलन गर्दै निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरिएको उनले बताएका छन्।

‘आयोजना किसानका लागि हो,’ आयोजना निर्देशक आचार्य भन्छन्, ‘भइरहेको कामप्रति किसानको राय बुझ्न गुनासो सुनुवाइ कार्यक्रम गरिरहेका छौँ।’ उनका अनुसार यसअघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरअन्तर्गतका चार शाखा नहरमा गुनासो सुनुवाइ तथा सुझाव सङ्कलन भइसकेको छ। अब पूर्वी नहरका बाँकी शाखाअन्तर्गतका किसानमाझ पनि गुनासो सुनुवाइ गरिनेछ। दुई-तीन वर्षभित्रै शाखा तथा उपशाखा नहर निर्माणको काम सम्पन्न गर्ने गरी आयोजनाले किसानको राय-सुझाव सङ्कलन गरिरहेको उनले बताए।

बैजापुरमा आयोजित कार्यक्रममा किसानले बिना अवरोध आफूहरूले सिँचाइ पानी पाउनुपर्ने माग राखेका छन्। स्थानीयवासीसमेत रहेका संविधानसभा सदस्य पट्टु थारूले सरोकारवाला किसानसँग छलफल गरेर आयोजनाले काम अगाडि बढाउनु सकारात्मक भएको बताएका छन्। राप्ती सोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरी र सिँचाइ महासङ्घ बाँकेका पूर्वअध्यक्ष शालिकराम डाँगीले किसानले सहज रूपमा सिँचाइ सुविधा पाउनुपर्नेमा जोड दिएका छन्।

आयोजना निर्देशक आचार्यका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वाधार निर्माणतर्फ २४ अर्ब रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिएका छन्।

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसकेको आयोजना निर्देशक आचार्यले बताए।

‘बाढीले वंश मात्रै खोसेन, बुढेसकालको सहारा पनि लग्यो’

बर्दिया। भोटेकोशीमा आएको बाढीले बर्दिया बाँसगढी नगरपालिका-८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व खोसेको छ। बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ।

नुवाकोटस्थित त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियर पदमा कार्यरत सोमनाथसँगै उनकी पत्नी तारा उपाध्याय र २८ महिनाका जुम्ल्याहा छोराछोरी शिवान्स तथा तिसिया सम्पर्कविहीन भएका हुन्।

छोरा, बुहारी र नातिनातिना सम्पर्कविहीन भएपछि पौडेल परिवारमा ठूलो सङ्कट परेको छ। दिनरात उनीहरूको पर्खाइमा रहेका बुबा उमानाथ उपाध्याय आँसु झार्दै भन्छन्, ‘छोरा, बुहारी र नातिनातिना बाढीमा सम्पर्कविहीन भएपछि परिवारमा ठूलो बज्रपात परेको छ। हामी रातदिन छोराबुहारी र नातिनातिनाकै पर्खाइमा छौँ,’ उनी थप्छन्, ‘तर कतैबाट पनि केही जानकारी प्राप्त हुन सकेको छैन।’

सम्पर्कविहीन सन्तानलाई सम्झिँदै पौडेल परिवारका सदस्य रातदिन पीडामा छन्। नातिनातिनालाई खेलाएको सम्झिँदै आमा लक्ष्मी उपाध्याय रातदिन विलाप गर्ने गरेको उमानाथले बताएका छन्। ‘बाढीले छोराको वंश मात्रै खोसेर लगेन, यो बुढेसकालको सहारा पनि खोसेर लग्यो,’ उमानाथ भन्छन्, ‘हामी आमाबुवालाई सहनै नसक्ने गरी पीडा दिएर गएको छ।’

सम्पर्कविहीन छोरा सोमनाथलाई बुबा उमानाथले दुःख गरेर भारतको चेन्नईस्थित अन्न विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढाएका थिए। छोरालाई पढाउन गरेको दुःख सम्झिँदै उनी भन्छन्, ‘आफूले खाइनखाई छोरालाई इन्जिनियर पढाएँ,’ उनी बिलौना गर्छन्, ‘यो बुढेसकालमा छोराको सहारा लिने बेलामा हामीलाई नै सहाराविहीन बनाएर गयो।’

सोमनाथ विगत नौ वर्षदेखि त्रिशूली-३ ‘बी’ आयोजनामा कार्यरत थिए। छोराछोरी सानै भएकाले उनी परिवारसहित नुवाकोट बस्दै आएका थिए। भाइ, बुहारी र भतिजाभतिजीको खोजीमा घटनास्थल नुवाकोट पुगेका सोमनाथका दाजु तुलसीराम पौडेलले आफू दुई पटक नुवाकोट पुगे पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको बताएका छन्।

‘भाइ र बुहारीको खोजीमा दुई पटक नुवाकोट गएँ। सात दिन बसेँ, तर कतै पनि पत्ता लागेन,’ तुलसीराम भन्छन्, ‘भाइसँगै काम गर्ने पाँच जनासँग भेटेँ। कसैले बाढी आउनुभन्दा दुई मिनेट अघिसम्म भाइसँगै रहेको बताए,’ उनी अगाडि भन्छन्, ‘भने कसैले पावर हाउसको कार्यालयभित्र छिरिसकेको अवस्थामा देखेको बताए।’

छोराको पहिचानका लागि बुबा उमानाथले भदौ २१ गते जिल्ला अस्पताल गुलरियामा डिएनए परीक्षणका लागि रगतको नमूना दिएका छन्। बुहारीको डिएनए परीक्षणका लागि ससुरा चन्द्रमणि उपाध्यायले पनि रगतको नमूना दिएका छन्। डिएनए परीक्षणको रिपोर्ट भने अझै आइसकेको छैन।

कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका सोमनाथ जस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताएका छन्। उनका अनुसार बाँसगढी नगरपालिकाका मात्रै १२ जना सम्पर्कविहीन छन् भने ५३ जना घर फर्किसकेका छन्।

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १५३ नाघ्दा कुन मुद्राको मूल्य कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम भएको छ।

यस्तै युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

अन्य बैदेशिक मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २० पैसा तोकिएको छ।

त्यस्तै थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५ रुपैयाँ ७४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २३ रुपैयाँ ७४ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४०८ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५८ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कका अनुसार यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको आधिकारिक ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

मनाङको डोना हिमतालको जोखिमले मर्स्याङ्दी तटीय क्षेत्रमा सन्त्रास

लमजुङ। मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ।हिमताल विस्फोटबाट अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो।

मनाङको नासो गाउँपालिका-२ मा रहेको डोना (थुलागी) हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब ०.९ वर्गकिलोमिटर आसपास रहेको देखाएका छन्। सन् २०१७ मा गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराइ ७६ मिटर रहेको देखाएको थियो। ती अध्ययन केही वर्षअघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के-कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढेको छ।

नासो गाउँपालिका-२ का वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन। तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको उनले बताएका छन्। ‘ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन। आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ,’ उनले भने।

तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उनको भनाइ छ। प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि पहल भइरहेको तथा जोखिमबारे स्थानीयलाई सूचना दिने र सचेत गराउने काम भइरहेको उनले बताए। मनास्लु हिमालको फेदीमा रहेको डोना ताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणसमेत बनेको छ। विदेशी तथा आन्तरिक पर्यटक गरी वार्षिक २०० जना ताल क्षेत्रमा पुग्ने गरेका छन्।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताएका छन्। उनका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ। ‘ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन,’ खनाल भन्छन्, ‘जुनसुकै बेला जोखिम हुनसक्छ।’

जिल्लामा विपद् प्रतिकार्यको सामान्य तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आएमा त्यसलाई सामना गर्ने क्षमता सीमित रहेको खनालले बताएका छन्। जोखिम न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको र जिल्लास्तरीय बैठकबाट समेत आवश्यक पहल गर्ने निर्णय भएको उनले जानकारी दिए। ताल फुटेमा मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्ने उनको भनाइ छ।

लालुपाते हाइड्रोपावरले डोना ताल आसपासमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको र तालको पानी उपयोग गर्ने विषयमा अध्ययन भइरहेको प्रजिअ खनालले बताए। हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको हालको अवस्था बढेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन गर्न नसकिने बताएका छन्। जोखिमयुक्त हिमतालको दुई-तीन वर्षको अन्तरालमा अनुगमन गर्नु आवश्यक हुने उनको भनाइ छ।

मर्स्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँ पार गरी त्रिशूली नदीमा मिसिन्छ। त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढीको जोखिमलाई तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ। लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले डोना हिमतालका कारण मर्स्याङ्दी नदीमा बाढी आएको खण्डमा जिल्लाको तल्लो तटीय क्षेत्र जोखिममा पर्न सक्ने बताएका छन्।

‘मनाङ र लमजुङ बढी जोखिममा पर्न सक्ने क्षेत्र हुन्,’ लमजुङका प्रजिअ खनाल भन्छन्, ‘ताल फुट्छ वा फुट्दैन भनेर अहिले नै निश्चित भन्न सकिने अवस्था छैन।’ ठूलो आयामको विपद् आएमा अहिलेको स्रोतसाधनले त्यसलाई सामना गर्न कठिन हुन सक्ने भएकाले पूर्वसूचना प्रवाह तथा मानवीय जीवन जोगाउने विषयलाई प्राथमिकतामा राखेर विपद् तयारी गरिएको उनले बताए। मर्स्याङ्दी नदी आसपासमा बस्ती, सडक, पुल र जलविद्युत् आयोजना रहेकाले यस जोखिमलाई तल्लो तटीय क्षेत्रको विपद् व्यवस्थापन योजनासँग जोड्नुपर्ने देखिएको छ।

मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने

क्वालालम्पुर। मलेसियाले सन् २०२७ का लागि ‘फिड–इन ट्यारिफ’ (फिट) कार्यक्रमअन्तर्गत २५० मेगावाटको नवीकरणीय ऊर्जा कोटा उपलब्ध गराउने भएको छ।

ऊर्जा रूपान्तरण तथा जल रूपान्तरण मन्त्रालयका अनुसार नयाँ कोटाबाट तीन अर्ब रिङ्गिट (करिब ७४ करोड अमेरिकी डलर) बराबरको लगानी भित्रिने र पाँच हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

फिट सरकारी संयन्त्र हो, जसअन्तर्गत उपयोगिता कम्पनीले नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादित विद्युत् दीर्घकालीन सम्झौतामार्फत निश्चित दरमा खरिद गर्छन्।

मन्त्रालयका अनुसार प्रायद्वीपीय मलेसिया र लाबुवानको सङ्घीय क्षेत्रमा रहेका योग्य नवीकरणीय ऊर्जा विकासकर्तालाई बायोग्यास, बायोमास र साना जलविद्युत् आयोजनाका लागि उक्त कोटा उपलब्ध गराइनेछ।

कुल कोटामध्ये बायोग्यासका लागि ३० मेगावाट, बायोमासका लागि १२० मेगावाट र साना जलविद्युतका लागि १०० मेगावाट छुट्याइएको छ।

यसका लागि ‘सस्टेनेबल इनर्जी डेभलपमेन्ट अथोरिटी’ (सेडा) मलेसियाको वेबसाइटमार्फत आगामी फेब्रुअरी ३ देखि मार्च २४ सम्म विद्युतीय बोलपत्र (ई–बिडिङ) मार्फत आवेदन दिन सकिनेछ।

मन्त्रालयले नयाँ फिट कोटाबाट तीन अर्ब रिङ्गिट बराबरको लगानी भित्रिने अपेक्षा गरिएको जनाएको छ। उक्त रकममा स्थानीय रूपमा जडान गरिएका ग्यास इन्जिन र बोयलर खरिदका लागि खर्च हुने ५१ करोड रिङ्गिटसमेत समावेश छ।

यो पहल सन् २०५० सम्म देशको कुल विद्युत् आपूर्तिमा नवीकरणीय ऊर्जाको हिस्सा ७० प्रतिशत पु¥याउने मलेसिया सरकारको लक्ष्यअन्तर्गत अघि बढाइएको हो।

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

ढाका। बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को जनविद्रोह दबाउने प्रयासमा भूमिका खेलेको अभियोगमा मङ्गलबार अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ। दोषी ठहरिएकामा दुई पूर्वमन्त्री पनि छन्।

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहनुभएको छ ।

न्यायाधीश नजरुल इस्लाम चौधरीको नेतृत्वमा रहेको तीन सदस्यीय न्यायाधिकरणले फैसला सुनाएको हो। सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले फैसलाप्रति खुसी व्यक्त गर्दै भन्नुभयो, “हामी यस फैसलाबाट खुसी छौँ।”

संयुक्त राष्ट्रसङ्घका अनुसार, सन् २०२४ को जुलाई र अगस्टमा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलन दबाउने क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारको कारबाहीबाट करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो।

हसिनाको १५ वर्ष लामो शासनको अन्त्य अगस्ट २०२४ मा भएको थियो । आन्दोलन चर्किएपछि हसिना हेलिकप्टरमार्फत छिमेकी भारत पुग्नुभएको थियो र हाल त्यहाँ अज्ञात स्थानमा बस्दै आउनुभएको छ । उहाँलाई पनि नोभेम्बर २०२५ मा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको थियो।

राज्यद्वारा नियुक्त प्रतिरक्षा वकिल एम हसन इमामले सातै जना प्रत्यक्ष रूपमा हत्यामा सङ्लग्न नभएको दाबी गर्दै अदालतले मृत्युदण्डभन्दा कम सजाय दिन सक्ने बताउनुभएको छ ।

“उनीहरू हत्यामा प्रत्यक्ष सङ्लग्न थिएनन्। आफ्ना सहकर्मी कार्यकर्ता र समर्थकको गतिविधिका कारण उनीहरूलाई दोषी ठहर गरिएको हो,” उहाँले भन्नुभयो ।

मृत्युदण्ड सुनाइएकामध्ये अन्य पाँच जना एएफएम बहाउद्दिन नसिम, शेख फजले शम्स पराश, माइनुल हुसेन खान निखिल, सद्दाम हुसेन र शेख वली आसिफ इनान हुन्।

अदालतले तीमध्ये पाँच जनाको आधा सम्पत्ति आन्दोलनका क्रममा मारिएका वा घाइतेहरूका परिवारलाई क्षतिपूर्तिका रूपमा वितरण गर्नसमेत आदेश दिएको छ।

मङ्गलबारको फैसलासँगै सन् २०२४ को आन्दोलनसँग सम्बन्धित मुद्दामा दोषी ठहर हुनेहरूको कुल सङ्ख्या ६८ पुगेको छ। तीमध्ये २२ जनालाई मृत्युदण्ड सुनाइएको छ। तर चार जना मात्रै हाल हिरासतमा छन्।

हसिनाले अदालतको अधिकार क्षेत्र स्वीकार गर्न अस्वीकार गर्दै आउनुभएको छ । हसिना सत्ताच्युत भएपछि भएको पहिलो निर्वाचनमा फेब्रुअरीमा भारी बहुमतसहित विजयी भएको प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले हसिनालाई सुपुर्दगी गर्न भारतसमक्ष अनुरोध गरेको छ।

यद्यपि, ७८ वर्षीया हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि डिसेम्बरमा स्वेच्छाले बङ्गलादेश फर्कने बताउनुभएको छ ।

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले जापानमा आगामी असोजमा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ । त्यस्तै टोलीका अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितराज राजवंशी र शेर मल्ल रहेका छ्न ।

अगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची नायोगमा २०औँ एसियाली खेलकुद प्रतियोगिता हुँदै छ ।

निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तत्पर रहने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको मोरङ उद्योग व्यापार सङ्घको नवगठित ३५औँ कार्यसमितिलाई आज बधाई, सम्मान तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले उद्योग–व्यवसाय अनुकूल नीतिगत सुधार, लगानीमैत्री वातावरणको निर्माण र स्थानीय उत्पादनको प्रवद्र्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै निजी क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाइने कुरामा जोड दिए।

उनले मोरङ उद्योग व्यापार सङ्घसँग निजी क्षेत्रसँग सम्बन्धित नीतिहरूमा संयुक्त रूपमा छलफल एवं बहस गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले सङ्घका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्यहरू एवं महिला उद्यम समितिका पदाधिकारीलाई खादा तथा माला पहिराएर स्वागत गर्दै सफल एवं उपलब्धिमूलक कार्यकालको शुभकामना पनि दिएका थिए ।

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

टोकियो। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै मङ्गलबार विश्वभरका प्रमुख सेयर बजारमा पनि दबाब देखिएको छ ।

युरोपमा फ्रान्सको सिएसी ४० सूचकाङ्क प्रारम्भिक कारोबारमा शून्य दशमलव आठ प्रतिशतले घटेर आठ हजार ५५ दशमलव ८६ अङ्कमा झरेको छ । जर्मनीको डिएक्स शून्य दशमलव आठ प्रतिशतले घटेर २५ हजार २४८ दशमलव ७५ अङ्कमा पुगेको छ भने बेलायतको एफटिएसइ १०० करिब शून्य दशमलव आठ प्रतिशतले घटेर दश हजार ६१५ दशमलव ४५ अङ्कमा सीमित भएको छ ।

अमेरिकी सेयर बजारमा पनि गिरावटको सङ्केत देखिएको छ । डाउ फ्युचर्स शून्य दशमलव सात प्रतिशतले घटेर ५२ हजार ५०५ अङ्कमा रहँदा एस एन्ड पी ५०० फ्युचर्स शून्य दशमलव छ प्रतिशतले घटेर सात हजार ६५० दशमलव ५० अङ्कमा झरेको छ ।

एसियामा जापानको प्रमुख सूचकाङ्क निक्केई २२५ बिहानी कारोबारमा उकालो लागे पनि दिउँसोको कारोबारमा उक्त वृद्धि गुमाएको थियो । सूचकाङ्क अन्ततः शून्य दशमलव एक प्रतिशतभन्दा कमले घटेर ६३ हजार ४८४ दशमलव १० अङ्कमा बन्द भयो ।

ओपनएआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्टबैङ्क ग्रुपको सेयर भने टोकियोमा सात दशमलव पाँच प्रतिशतले बढेको छ । यससँगै कम्पनीले अघिल्लो दिनको गिरावट पूर्ति गरेको छ ।

एआई क्षेत्रमा देखिएको बजार दबाब ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढेको हो । उहाँले ‘फच्र्युन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपनएआईले वाल स्ट्रिटमा सेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनुभएको थियो । यसले सफ्टबैङ्क तथा ओपनएआईका अन्य प्रारम्भिक लगानीकर्ताले ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ ।

अन्य एसियाली बजारमा पनि गिरावट देखिएको छ । अस्ट्रेलियाको एसएण्डपि÷एएसएक्स २०० सूचकाङ्क शून्य दशमलव नौ प्रतिशतले घटेर आठ हजार ६७२ दशमलव ५० अङ्कमा झरेको छ । दक्षिण कोरियाको कोस्पी शून्य दशमलव नौ प्रतिशतले घटेर छ हजार ६२७ दशमलव २६ अङ्कमा पुगेको छ । हङकङको ह्याङ सेङ एक प्रतिशतले घटेर २४ हजार ६६७ दशमलव २४ अङ्कमा झरेको छ भने चीनको साङ्घाई कम्पोजिट शून्य दशमलव पाँच प्रतिशतले घटेर तीन हजार ८६४ दशमलव २८ अङ्कमा सीमित भएको छ ।

एआई प्रविधिमा अत्यधिक उत्साहका कारण यस क्षेत्रका कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा बढेको हुनसक्ने चिन्ताले पनि लगानीकर्ताको धारणा प्रभावित गरेको छ । एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मिजुहो बैङ्कका विश्लेषक एनजी जिङ वेनले एक प्रतिवेदनमा अमेरिकी कम्पनीबीच तथा अमेरिका र चीनबीच जारी तीव्र प्रतिस्पर्धालाई हेर्दा एआई विकासको गति समन्वयात्मक रूपमा सुस्त बनाउने सम्भावना अझै अनिश्चित रहेको बताउनुभएको छ ।

यसैबीच, एन्थ्रोपिकका सीइओ डारियो अमोडेईले एआईको विकासमा जानाजानी र विश्वव्यापी रूपमा केही सुस्तता ल्याउनुपर्ने आह्वान गर्नुभएको छ । उहाँका टिप्पणीले पनि एआई क्षेत्रमा बढ्दो मूल्याङ्कन र विकासको गतिबारे लगानीकर्ताको चिन्ता थप बढाएको छ ।

तेलको मूल्यमा वृद्धि
ऊर्जा बजारमा भने कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव १९ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ दशमलव ६१ डलर पुगेको छ । अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य पनि दुई दशमलव १३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ दशमलव ९३ डलर पुगेको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध जारी रहेकाले तेलको मूल्यमा दबाब परेको हो ।

दुई क्षेत्रीय अधिकारीले ‘एसोसिएटेड प्रेस’लाई दिएको जानकारीअनुसार, गत साता भएको आक्रमणपछि साउदी अरबको एउटा महत्त्वपूर्ण तेल पाइपलाइन आगामी केही हप्तासम्म अधिकांश समय बन्द रहनेछ । उक्त पाइपलाइनले साउदी अरबलाई तेल निर्यात लाल सागरतर्फ सार्दै फारसको खाडीस्थित स्ट्रेट अफ हर्मुजलाई छल्ने विकल्प प्रदान गर्दै आएको थियो ।

स्ट्रेट अफ होर्मुजमा इरानी आक्रमणका कारण तेल ट्याङ्करको आवागमन अवरुद्ध भएपछि विश्वव्यापी तेल आपूर्तिप्रति चिन्ता बढेको छ ।

मुद्रा बजारमा अमेरिकी डलर १५४ दशमलव ३० येनबाट बढेर १५४ दशमलव ९९ जापानी येन पुगेको छ । युरोको मूल्य भने एक दशमलव १५५७डलरबाट घटेर एक दशमलव १५३३ डलरमा झरेको छ

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

पर्सा। जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ (असोज २ र ३ गते दुई दिनसम्म) भव्यताकासाथ मनाउन जिप्रकाले जिल्ला समन्वय समिति, पर्सा, सरकारी कार्यालय सबै, पर्सा र यस जिल्लाका सबै स्थानीय तहलाई आज पत्राचार गरेको छ ।

नेपाल राज्यभर भव्यताकासाथ मनाउने सन्दर्भमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही भदौ २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले दिवसलाई देशैभरि भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

दिवस भव्यताकासाथ मनाउने व्यवस्था मिलाउनु भनी गृह मन्त्रालय (मूल समारोह समितिको सचिवालय), सिंहदरबार, काठमाडौँको पत्रका आधारमा जिप्रकाले पर्साका विभिन्न निकायलाई अनुरोध गरेको हो ।

तेलको मूल्य घट्ने ट्रम्पको दाबी

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द्व अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दाबी गरेका छन् । उनले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको दाबीसमेत गरेका छन् ।

‘ट्रुथ सोसल’ मा सन्देश जारी गर्दै उनले अमेरिका इरानसँग वार्ताका लागि खुला रहेको बताएका छन् । हर्मुज जलघाँटीबाट कच्चा तेलको आपूर्ति जारी रहेको उल्लेख गर्दै अन्य देशका लागि समुद्री मार्गको सुरक्षा गरेबापत अमेरिकाले खर्च बेहोर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षा कारखाना २४सै घण्टा सञ्चालनमा रहेको र प्याट्रियट, थाड, टोमाहोकलगायत क्षेप्यास्त्रको उत्पादन बढाइएको दाबी गरेका छन् ।

यसैबीच, इरानले हर्मुज जलघाँटी नजिकै अमेरिकी चालकविहीन पानीमुनिको ‘डाइभ–एलडी’ यान कब्जा गरेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त यानलाई ‘युद्धको लुट’ भन्दै कब्जा वैध भएको दाबी गरेका छन् । क्यालिफोर्नियास्थित एन्डुरिलले निर्माण गरेको उक्त यान समुद्री नक्साङ्कन, सूचना सङ्कलन र पानीमुनिका पूर्वाधार निरीक्षणमा प्रयोग हुने बताइएको छ ।

तर अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानी दाबीको खण्डन गर्दै उक्त यान कब्जा हुनुअघि नै प्राविधिक समस्यामा परेको स्पष्ट पारेको छ ।

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत् केन्द्र र माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले गरिरहेको छ ।

यही भदौ १० गतेको बाढीपछि जलविद्युत् आयोजना केन्द्रित खोज तथा उद्धारमा खटिएको टोलीले थ्री ‘ए’ को सम्भावित स्थानमा खोजीकार्य अन्तिम चरणमा पुर्‍याएको छ भने थ्री ‘बी’मा निर्माणाधीन विद्युत् उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन तथा भग्नावशेष हटाउने कार्य जारी राखेको छ ।

जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको आज जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अवलोकन गरेका छन् ।

खोज तथा उद्धारमा भइरहेको प्रगति, देखिएका चुनौती र गर्नुपर्ने आवश्यक सहजीकरणका सम्बन्धमा उद्धारमा खटिएका सुरक्षाफौजसँग जानकारी लिएको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिलाई माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिनुभएको जानकारीअनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत ४४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

त्यस्तै, आयोजनाको निर्माणमा संलग्न दुई वटा कम्पनीमा आबद्ध चार जना चिनियाँ नागरिकसहित १४२ जना कर्मचारी तथा कामदार बाढीपछि कार्यक्षेत्रमा फसेको आशङ्कामा खोज तथा उद्धारलाई तीव्र बनाइएको छ ।

आयोजना प्रमुख ढुङ्गेलका अनुसार कर्मचारी तथा कामदार फसेको हुनसक्ने प्रमुख स्थानका रूपमा प्रशासनिक भवन र पाँच वटा आवासीय भवनमा खोजतलास गरिएको थियो । ती संरचना पुरिएको नभई बाढीले बगाएर लगेको पाइएको उहाँले बताउनुभयो ।

“सुरुङ मार्गबाट आवतजावत गर्न सहज रहेकाले त्यहाँ पनि खोजी गरियो । अब कर्मचारी तथा कामदार हुनसक्ने सम्भावित स्थानमध्ये विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ”, आयोजना प्रमुख ढुङ्गेलले भन्नुभयो, “अहिले त्यही हेभी उपकरण प्रयोग गरेर खोज तथा उद्धारलाई तीव्र बनाइएको छ ।”

खोज तथा उद्धारको लागी उत्खनन भइरहेको निर्माणाधीन भवनको अग्रभागका पाँच वटा पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर उक्त स्थान बगरमा परिणत भएको पाइएको छ । अहिले सोही क्षेत्रमा भग्नावशेष हटाउँदै खोजी भइरहेको छ ।

बाढीपछिको असहज परिस्थितिका बाबजुद नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । अहिले त्रिशूली थ्री ‘बी’मा नेपाली सेनाका सेनानी केशव थापाको नेतृत्वमा ८६ जना र सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।

विदेशी उद्धार विज्ञसहितको टोलीबाट सुरु गरिएको खोज तथा उद्धार कार्य अहिले जलविद्युत् आयोजनाका विज्ञसहित नेपाली टोलीले अघि बढाइरहेको छ ।

नेपाली सेनाका सेनानी थापाका अनुसार हराइरहेका कर्मचारी तथा कामदार फसेको हुनसक्ने सम्भावित स्थानमा खोजी गर्दै अहिले विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन क्षेत्र अन्तिम बिन्दुका रूपमा खोज उद्धार भइरहेको छ ।

“सम्भावित स्थानबाट खोज तथा उद्धार गर्दै आएका छौँ । अहिले विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन क्षेत्रमा खोजी केन्द्रित गरेका छौँ । आवश्यक उपकरण तथा स्रोतसाधन परिचालन गरी काम भइरहेको छ”, सेनानी थापाले जानकारी दिनुभयो ।

खोज तथा उद्धारमा खटिएको संयुक्त सुरक्षा फौजले नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् क्षेत्रका विज्ञहरूसँग परामर्श गरी आवश्यक यन्त्र–उपकरणसहित स्रोतसाधन परिचालन गरेको छ ।

त्रिशूली थ्री ‘बी’को खोज तथा उद्धारमा यसअघि चीन, अष्ट्रेलिया, क्यानडा र दुबईबाट आएका सुरक्षाकर्मी र उद्धारकर्मीसमेत परिचालन गरिएको थियो ।

बाढीपछि आयोजना क्षेत्र दलदले लेदोसहितको बगरमा परिणत भएकाले जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धार गर्नुपरेको छ । संयुक्त सुरक्षा फौजले भग्नावशेष हटाउँदै खोजी गरे पनि हालसम्म थप केही पत्ता लाग्न नसकेको बहादुर श्री शेरगण नुवाकोटका गणपति, प्रमुख सेनानी आविष्कार ढुङ्गानाले जानकारी दिनुभयो ।

“बाढीका कारण आयोजना क्षेत्र अत्यन्त जोखिमपूर्ण बनेको छ । भग्नावशेष हटाउँदै सम्भावित स्थानमा खोजी भइरहेको छ । हालसम्म थप केही पत्ता लाग्न सकेको छैन”, प्रमुख सेनानी ढुङ्गानाले बताउनुभयो ।

बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रबाट बाढी आएको १० दिनपश्चात् दुई जनालाई सकुशल उद्धार गरिएको थियो । सोही क्रममा पहिचान नखुलेको एउटा शवसमेत भेटिएको थियो ।

थ्री ‘ए’को विद्युत् उत्पादन गृहसहितको सुरुङ क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले सम्पूर्ण क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरेको थियो । त्यस क्रममा थप केही फेला नपरे पनि बाढीले क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ ।

बाढीबाट प्रभावित दुवै जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सम्बन्धित प्राविधिक विज्ञहरूको टोलीले सम्भावित स्थानमा खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ ।

‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने

कास्की। पोखरामा आगामी असोज ३ गते ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ ।पोषण, प्रोटिन सचेतना, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआईए)को आयोजनामा हुने उक्त दौडमा नेपालसहित विभिन्न १० राष्ट्रका चार हजार १०६ धावक सहभागी हुने आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

कार्यक्रम संयोजक समेज राजभण्डारीका अनुसार दौडमा नेपालसँगै भारत, चीन, संयुक्त राज्य अमेरिका, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी र इङ्ल्याण्डका धावक सहभागी हुनेछन् । दौड पोखरा लेकसाइडस्थित वसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुक पुगेर सोही मार्गबाट वसुन्धरा पार्कमै आएर सम्पन्न हुनेछ ।

प्रतियोगितामा हाफ म्याराथन पुरुषतर्फ ४०६ र महिलातर्फ ६४ जना सहभागी हुनेछन् । खुला पुरुषतर्फ १० किलोमिटर दौडमा ९८८ तथा खुला महिलातर्फ पाँच किलोमिटर दौडमा ३९७ जना सहभागी हुनेछन् । त्यस्तै, कक्षा १२ सम्मका युवातर्फ पुरुष पाँच किलोमिटर दौडमा एक हजार ६५८ र महिलातर्फ तीन किलोमिटर दौडमा ५५३ जना सहभागी हुनेछन् । ह्विलचेयर पुरुषतर्फ तीन किलोमिटरमा २४ र महिलातर्फ तीन किलोमिटरमा १६ जनाको सहभागिता रहनेछ ।

प्रतियोगितामा आठ विधाका उत्कृष्ट पाँच–पाँच धावकलाई गरी कुल रु १६ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रोटिनको पर्याप्त मात्रा, गुणस्तर तथा उपलब्धताका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१९ देखि ‘राइट टु प्रोटिन रन’ अभियान सञ्चालन हुँदै आएको हो ।

“यस वर्षको कार्यक्रममार्फत अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनिर, दाल तथा गेडागुडीजस्ता प्रोटिनका स्रोतबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । साथै शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन सहयोग पुग्नुका साथै उत्कृष्ट खेलाडी उत्पादन, नयाँ तथा उदीयमान धावकलाई अवसर प्रदान गर्नेछ । यसबाट पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्न पनि सहयोग गर्ने अपेक्षा गरिएको छ”, संयोजक भण्डारीले भन्नुभयो ।

पोषणसम्बन्धी छलफललाई सभा तथा सम्मेलनमा मात्र सीमित नराखी समुदायस्तरसम्म पु¥याउने उद्देश्यले दौड आयोजना गरिएको हो ।

यसैबीच, यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट भएको क्षतिको पुनःस्थापनाका लागि एनएफआईएको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन करोड १७ लाख ८४ हजार सहयोग गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल एथलेटिक्स सङ्घले प्राविधिक सहयोग गर्नेछ भने नेपाली युवा उद्यमी मञ्च पोखरा, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल लेयर्स कुखुरापालक सङ्घ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, लायन्स क्लब र नेपाल पोल्ट्री महासङ्घलगायत विभिन्न सङ्घसंस्थाको सहभागिता रहनेछ ।

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं रास्वपाका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्।

सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनमा छलफल गर्न शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक बुधबार विहान ११ बजे सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।

जलवायु चुनौतीको समाधानमा साझा सङ्कल्प : मन्त्री चौधरी

मुस्ताङ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा सङ्कल्प गर्नुपर्ने बताएकी छिन्।मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आयोजना गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा,२०८३’ लाई यहाँ सम्बोधन गर्दा मन्त्री चौधरीले सो कुरा बताएकी हुन्।

उनले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढीपहिरोले प्राणी जगत्लाई ठूलो असर पुर्‍याइरहेको बताइन्।मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढीपहिरो, नदीकटान, खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिइन्। उनले बढ्दो तापमानका कारण हिमाली क्षेत्रमा थप जोखिम बढेको बताइन्।

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो । साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाइरहेको जानकारी दिनुभयो ।उहाँले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा रहेको शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको र त्यसमा आवश्यक सुधारका विषयसमेत समेटिने बताउनुभयो ।

मन्त्री पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा पनि मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।मन्त्री पोखरेलले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा बेलायत सरकारले पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्रालयले अघि बढाएका सुधारका कार्यक्रममा उपयुक्त सन्दर्भमा बेलायत सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

साथै, आगामी दिनमा शिक्षा तथा खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यलाई निरन्तरता दिने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।भेटमा बेलायती राजदूत फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रसँगको सहकार्य बेलायत सरकारका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजदूत फेनले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयका शिक्षकको पेसागत विकासका लागि ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
जलवायुजन्य विपद्को सामना गरिरहेका अवस्थामा बेलायत सरकार नेपाल सरकारका साथमा रहेको उहाँको भनाइ थियो ।

के २०२० को दशक चीनको दशक बन्दैछ?

बेइजिङ । अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै गएको र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य प्रभाव विस्तार गरिरहेको अवस्थामा सन् २०२० को दशक चीनको दशक बन्ने हो कि भन्ने बहस तीव्र बनेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बेइजिङले आफ्नो प्राथमिकताअनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन् ।

अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले तत्काल अमेरिकासँग प्रत्यक्ष शक्ति सङ्घर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार गरिरहेको छ । चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता कायम राख्न चाहेको उनको भनाइ छ ।

अमेरिकाको परम्परागत नेतृत्व भूमिकामा आएको कमीले चीनलाई थप अवसर दिएको छ । युएसएआइडीजस्ता कार्यक्रमको कटौती र अमेरिकी नीतिमा बढेको स्वार्थकेन्द्रित दृष्टिकोणले उसको ‘सफ्ट पावर’ कमजोर भएको विश्लेषण गरिएको छ । यसबीच चीनले दुर्लभ–पृथ्वी तत्व, ऊर्जा तथा व्यापारका क्षेत्रमा आफ्नो रणनीतिक प्रभाव देखाउँदै आएको छ ।

दक्षिण चीन सागरमा चीनको गतिविधि उसको बढ्दो आत्मविश्वासको अर्को उदाहरण हो । चीनको क्षेत्रीय दाबीविरुद्ध मध्यस्थताको स्थायी अदालतले गरेको फैसला बेइजिङले अस्वीकार गर्दै आएको छ । फिलिपिन्सले चीनको दबाब र सूचना अभियानको सामना गर्न कठिन भइरहेको जनाएको छ ।

चीन–अमेरिका शक्तिको अन्तर घट्दै गए पनि बेइजिङ तत्काल द्वन्द्व चाहँदैन । ह्यासका अनुसार चीनले अमेरिकालाई अझै ‘मुख्य रणनीतिक खतरा’ का रूपमा हेर्छ र द्वन्द्वबाट बच्दै सीमित सहयोग तथा दीर्घकालीन प्रतिस्पर्धाको नीति अघि बढाइरहेको छ । तर शक्ति सन्तुलनमा आएको परिवर्तनले ‘थुसिडाइड्स ट्र्याप’ अर्थात् उदाउँदो र कमजोर हुँदै गएको शक्तिबीच द्वन्द्वको जोखिम भने बढाएको छ ।

यसै सन्दर्भमा अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले सन् २०२८ सम्ममा चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना तीनमध्ये एक रहेको अनुमान गरेका छन् । उनले चिनियाँ सैन्य तयारी तीव्र बन्दै गएको र सन् २०२८ को ताइवान राष्ट्रपतीय निर्वाचनलाई सम्भावित जोखिमको विन्दुका रूपमा औँल्याए । यद्यपि चीनका लागि सैन्य कारबाही अझै अत्यन्त जोखिमपूर्ण रहेको उनको भनाइ छ ।

बदलिँदो विश्व व्यवस्थामा ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ पनि कमजोर बनेको विश्लेषण भइरहेको छ । इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिजका प्रमुख कार्यकारी सर जोन चिपम्यानले अहिले शक्ति सन्तुलन र अन्तर्राष्ट्रिय नियम दुवै कमजोर रहेको बताएका छन् ।

ह्यासका अनुसार चीन पुरानो व्यवस्था पूर्ण रूपमा ध्वस्त पार्नुभन्दा आफूअनुकूल पक्षलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय समर्थन जुटाउने रणनीतिमा अघि बढेको छ । बेल्ट एन्ड रोडअन्तर्गत लगानी केही सीमित भए पनि चीन आर्थिक निर्भरतालाई राजनीतिक प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्न सक्षम बन्दै गएको उनको विश्लेषण छ ।

अमेरिका आफ्नो परम्परागत नेतृत्व भूमिकाबाट पछि हट्दै जाँदा चीनका लागि अवसर बढेको भए पनि विश्वव्यापी नेतृत्वका लागि चीनले बयानबाजी मात्र नभई पर्याप्त स्रोत, अन्तर्राष्ट्रिय साझेदारी र विश्वसनीयता प्रदर्शन गर्नुपर्ने देखिन्छ । त्यसैले २०२० को दशक चीनको दशक बन्ने सम्भावना बढे पनि त्यसको अन्तिम परिणाम अझै निश्चित भइसकेको छैन ।

विगतका सहमति कार्यान्वयन गर्दै गुठी किसानका समस्या समाधान गर्छौँ : रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री रावलले गुठी जग्गामा रहेका किसानहरूको हकअधिकार संरक्षण र अतिक्रमण रोकथाममा सरकार गम्भीर रहेको बताइन् । उनले प्रचलित कानुनले नै मोही किसानको अधिकार सुरक्षित गरेको स्पष्ट पारिन् ।

‘गुठी संस्थान ऐन, २०३३ को दफा २७ र ३० ले गुठी जग्गामा मोहीको हक र सो हक खरिद–बिक्री हुन सक्ने विशेष व्यवस्था गरेको छ। गुठीको मोही लागेको जग्गा बिक्री–वितरण वा हक हस्तान्तरण गर्न पाइने कुरामा दुई मत छैन,’ उनले भनिन् ।

मन्त्री रावलले गुठी अधीनस्थ जग्गामा संस्थाको स्वीकृति लिएर घर–टहरा बनाउन सकिने कानुनी आधार कायमै रहेको बताउँदै किसानहरूलाई अन्योलमा नपर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘ऐनको दफा ३५ (३) अनुसार स्वीकृति लिएर घर–टहरा निर्माण गर्न कानुनले बन्देज लगाएको छैन । हक हस्तान्तरण र धितोबन्धक राख्न सकिने स्पष्ट व्यवस्था भएकाले मोहीले गुठी जग्गाप्रति प्रतिकूल मनस्थिति बनाइरहनु पर्ने देखिँदैन ।’

यसैगरी, स्वर्गद्वारी गुठीका किसानहरूले भोगिरहेको समस्याबारे बोल्दै उनले सर्वोच्च अदालतको २०६२ सालको आदेश र विगतका सरकारसँग भएका सम्झौता कार्यान्वयन नहुँदा किसानहरूमा असन्तुष्टि बढेको स्वीकार गरिन् ।

उनले भनिन्, ‘विगतमा सहमति कार्यान्वयन नभएकाले किसानहरू फेरि सडकमा आउनुपर्ने अवस्था आएको हो । तर विगतका सरकारले गरेका सहमति अक्षरसः पालना गर्न यो सरकार प्रतिबद्ध छ । माननीयज्यूहरूले उठाएका विषय सम्बोधन हुने गरी विधेयकको मस्यौदा बनिरहेको छ ।’मन्त्री रावलले तयार भइरहेको विधेयक छिट्टै संसद्मा टेबल गरिने र त्यसमाथि थप छलफल गरेर गुठी किसानका समस्यालाई कानुनी रूपमै स्थायी समाधान दिइने दाबी गरिन् ।

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गरेका छन्।

सभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगरले विपत्तिमा परेकाहरूका लागि मानसिक स्वास्थ्यको उपचारलगायत अत्यावश्यक विषयको सम्बोधन सरकारले गर्नुपर्ने बताइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले बाढीमा हराएका व्यक्तिको डिएनको परीक्षणको प्रतिवेदन कहिले आउँछ भन्ने प्रश्न पीडित परिवारबाट आफूहरूलाई प्रश्न आउन थालेको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बाँस्कोटाले अस्पतालको बाढीमा परेर घाइते भई अस्पतालको सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यले स्वास्थ्य र सञ्चार क्षेत्रका संहितामाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरिन्।

नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता रहेका व्यक्तिहरूको पीडा जटिल बन्दै गएकाले खोजीमा तीव्रता दिन आग्रह गरे। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले मोटरसाइकलमा सल बेरिएर मृत्यु भएका महिलाको उदाहरण प्रस्तुत गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षालगायत विषयमा ध्यान दिन आग्रह गरे।

नेकपाका सांसद पार्वती विकले सहरमा दलितहरूले कोठा नपाउने समस्यालाई लिएर एक चेली लामो समयदेखि सडकमा रहेकाले यस्ता माग सम्बोधनका कानुन ल्याउन माग गरिन्।

रास्वपाका सांसद मनिष खनालले आफ्नै श्रीमतीलाई समेत हत्या गर्ने प्रवृत्ति देखिएकाले यस्ता घटना किन दोहोरिन्छ भनेर अध्ययन र कडा कारवाही गर्न माग गरे।

सोही पार्टीका सांसद सुनील केसीले मनोहरा खोलामा गए राति आएको बाढीका कारण असुरक्षा भएकाले सचेतना अपनाउन आग्रह गरे। सांसद दीपकुमार साह (महोत्तरी) ले व्यक्ति सम्बन्ध वा सामाजिक विवाद कारण ज्यानै लिने जस्ता घटनामाथि अनुसन्धान र कारबाही गर्न आग्रह गरे।नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले दैवी प्रकोपका घटनामा स्थानीय तहसँग पर्याप्त नहुने भएकाले राहत र उद्धार कामले तीव्रता पाउन नसकेको बताए।

रास्वपाका सांसद मोहनलाल आचार्यले बाँडेगङ स्थितिबारे ध्यानाकर्षण गराए।सोही समयमा नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढा, रास्वपाका सांसद गोविन्द पन्थी, नेपालका सांसद गोपाल शर्माले बाढी पहिरो र रोकथामका साथै सडक दुर्घटनाको गम्भीर अवस्थाबारे ध्यान दिन आग्रह गरे।

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा आज बिहान ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने एक महिलाको खोलाले बगाउँदा निधन भएको छ ।वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

उनका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ –१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

चितवन । यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन् ।उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ ।

इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्छिन् । आफ्नो उमेरको ४५ वर्ष यही बिताएकी उनी भोटेकोशी बाढीपछि झस्कन थालेकी छन् । उनले भनिन्, “बाढी देखेका थियौ । यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले सताइ रहेको छ । ”

मुग्लिन बजारमा बिगत ४५ वर्षदेखि आमा होटल चलाउँदै आएकी कोपिला गौचन वर्षात् हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउँछिन् । यही भदौ १० गतेदेखि उनले न फोन अफ गर्न सकेकी छन्, न त रातिमा राम्रोसँग निदाएकी छन् । उनले भनिन्, “कतै फोन गरेर घर छोड बाढी आउँदै छ की भन्ने सूचना आउँछ की भन्ने डर छ ।” अझै आफूहरु असुरक्षित रहेको महसुस आफूलाई भएको उनले बताइन् ।

अहिले खोला सुसाउँदा त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरिन् । अझै चिन्तामा बस्नुपरेको बताउँदै उनले अब केही राहत हुन्छ की भन्ने लागेको बताइन् । उनले थपिन्, “पुख्र्यौली काम छोड्नुभएन अझै हामी सुरक्षित छौँ जस्तो लाग्दैन ।”

स्याङ्जा स्थायी ठेगाना भई बिगत ३२ वर्षदेखि मुग्लिन नजिकै व्यवसाय गर्दै आएका सेख अलाउदीन मियालाई अहिले पानीको आवाज सुनेपछि आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ । नुवाकोटमा रहेकी छोरी वेखबर भएपछि आफू त्यस्तै हुने हो की भन्ने चिन्ताले उनलाई सताइ रहेको छ । खोलामा पानीको बहाव बढ्दै गर्दा कुनै चिन्ता नहुने भए पनि भदौ १० गतेको भोटेकोशी बाढीपछि उनलाई रातमा राम्रो गरी निन्द्रा लाग्न छाडेको छ ।

साना बालबालिका लिएर बस्नुपर्ने त्यहीमाथि त्रिशूलीको डर उनले दुःखेसो सुनाए । अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय गर्न डर हुन लागेको उनले गुनासो गरे ।

त्रिशूलीमा ‘र्‍याफ्टिङ’ गर्न आएकालाई खाना खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने की के गर्ने भन्ने दोधारमा छन् । सँगै व्यवसाय गरेका साथीहरुले छाडेर गएपछि आफू दोधारमा रहेको बताउँदै उनले विनाशकारी बाढीपछि व्यवसाय र आफ्नो जीवन नै जोखिम बढेको बताए । उनले भने, “बाढीसँग डर होइन विनाशकारी बाढीसँग अझै हामीलाई डर छ ।” पृथ्वी राजमार्गमा रहेको विनय गेष्ट हाउस तथा खाजा घरका सञ्चालक उनले वर्षात सुरु भएपछि हामीलाई त्रास बढ्ने भन्दै अब के गर्ने सोचमा रहेको बताए ।

अहिले पृथ्वि राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका यस्ता व्यवसायी तथा परिवार त्रासमा दिन र रात बिताउन बाध्य छन् । अब फेरि समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ । रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको देवघाटमा आएर यो नदी कालिगण्डकीमा मिसिएपछि नारायणी बन्छ ।

त्रिशूली नदी गहिरो छ । नदीका किनारमा मानव बस्तीसँगै बजारहरु रहेका छन् । ती बस्ती पुराना हुन् । बिगतका वर्षहरुमा पनि बाढी आउने भए पनि यस वर्ष निकै ठूलो बाढी आएपछि ती तीन जिल्लामा ठूलो जनधनको क्षति भएको छ । क्षति हुन नपाएका बस्ती र बजार क्षेत्रका बासिन्दामा त्रास कायम रहेको हो ।

भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम। भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखअनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका १४३ जना सम्पर्कविहीन छन् भने एक जनाको मृत्यु भएको छ ।

गत भदौ १० को बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिए । पछि ७१ जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख जनक धामीले जानकारी दिनुभयो ।

हालसम्म सम्पर्कमा आएकामध्ये ११ महिला र ६० पुरुष र सम्पर्कविहीन भएकामा १३ महिला र १३० पुरुष रहेका उहाँले जानकारी दिनुभयो । जिल्लागत विवरणअनुसार कैलालीका सबैभन्दा धेरै ६७ जना सम्पर्कविहीन छन् भने ५३ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन र सम्पर्कमा आएकामध्ये क्रमशः कञ्चनपुरका २६ र ११, डडेल्धुराका १७ र छ, डोटीका दुई र एक जना छन् । यस्तै, बाजुराका १६ जना, बैतडीका सात, दार्चुलाका चार, बझाङका दुई र अछामका दुई जना अझै सम्पर्कविहीन छन् । बैतडीका एक जनाको मृत्यु भएको र शव बुझी अन्त्येष्टि गरिसकिएको आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ ।

बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपत्कालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए । सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरुले केन्द्रमार्फत आग्रह गरिरहेका छन् ।

पुँजी बजार सुधारलाई समग्र अर्थतन्त्रसँग जोड्न शंकर पोखरेलको सुझाव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लगानी, उद्यम र व्यापारमैत्री वातावरण सुनिश्चित नगरी पूँजी बजारमा सुधार सम्भव नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले पूँजी बजार सुधारका लागि छुट्टै कार्ययोजना बनाएर मात्रै नहुने बताएका हुन्।

‘पूँजी बजार सुधारको छुट्टै कार्ययोजनाको तबसम्म कुनै अर्थ हुँदैन, जबसम्म यसलाई समग्र अर्थतन्त्रको सुधारसँग जोडिँदैन,’ उनले लेखेका छन्।

पोखरेलले देशका अर्थमन्त्रीको ध्यान एकाङ्गी योजनामा भन्दा समग्र अर्थतन्त्रको पुनर्संरचनामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। समग्र अर्थतन्त्र चलायमान नभएसम्म पूँजी बजार उकालो लाग्न नसक्ने उनको भनाइ छ।

‘लगानी, उद्यम र व्यापारमैत्री वातावरणको सुनिश्चितताबिना पूँजी बजारमा सुधार असम्भव छ,’ पोखरेलले भनेका छन्।

पोखराका ३३ वडामा कित्ताकाट खुल्यो, सात लाख कित्ता वर्गीकरण

गण्डकी। पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ । महानगरका ३३ वटै वडाको झन्डै सात लाख कित्ताको भूउपयोग वर्गीकरण गरिएको छ ।

महानगरप्रमुख धनराज आचार्यका अनुसार ‘भूउपयोग ऐन २०७६’ तथा ‘भूउपयोग नियमावली २०७९’ बमोजिम भूउपयोग वर्गीकरण विवरण तयार गरी कार्यान्वयनका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पठाइएको हो ।

महानगरपालिकाको भूउपयोग परिषद्को सिफारिस र नगर कार्यपालिकाको निर्णयअनुसार उक्त भूउपयोग वर्गीकरण विवरण स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।

भूउपयोग वर्गीकरण विवरणका आधारमा प्रचलित कानुनबमोजिम भूमि प्रशासन तथा नापीसम्बन्धी अभिलेख, नक्सा तथा अन्य आवश्यक कामका लागि कार्यान्वयन प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै जिल्लास्थित भूमि प्रशासन र नापी कार्यालयलाई महानगरले पत्राचार गरेको छ ।

सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिन महानगरले आग्रह गरेको छ ।भूउपयोग वर्गीकरणसँगै कित्ताकाट, जग्गाको कारोबारलगायतका काममा नागरिकलाई सहजता थपिने महानगरप्रमुख आचार्यले बताउनुभयो ।

कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो ।

नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ ।

उहाँले भन्नुभयो, “सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ ।”, उहाँका अनुसार निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण परिचालन गरिएको थियो । अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् ।

हाल नयाँ ट्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ । सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उहाँको भनाइ छ । करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो खण्ड अलिकति जोखिम छ । थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ ।” नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताउनुभयो । उहाँले परीक्षणका लागि मात्र आइतबार केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्याक पूर्णरूपमा बन्द रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , “सर्वसाधारण नयाँ ट्याक खुला गरिएको भ्रममा नपर्नुहोला । परीक्षणका लागि मात्र केही हिँजो सवारीसाधन पास गराइएको हो”, थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

मुस्ताङमा जलवायु सम्मेलनको तयारी पूरा, आज मन्त्री चौधरीले उद्घाटन गर्ने

मुस्ताङ। मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ ।

सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् ।

सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो । अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ ।

सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य सङ्घसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो ।

उपाध्यक्ष थकालीका अनुसार सम्मेलनमा आउने अतिथिका लागि बिहानको ब्रेक फास्ट, खाना र खाजा सम्मेलनस्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ । बेलुकीको खाना र बसोबासका भने गाउँपालिकाले तोकेको होटलमा व्यवस्था मिलाइएको उपाध्यक्ष थकालीले बताउनुभयो ।

सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृतिसहितको ध्वजापतङ्गा झुन्ड्याएर सजिसजाउ गरिएको छ ।

गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकहरुमा सडक बत्ती जडान गरी झिलीमिली पारिएको छ । आगन्तुक अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वंयसेवक परिचालन गरिएको छ ।

खानेपानी र इन्टरनेट, विद्युत् सेवालाई समस्या नहुनेगरी पूर्वतयारी गरिएको छ । यसैगरी सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज पारिएको छ । जोमसोम कभर्डहलमा हुने सम्मलनमा स्टेज, साउन्ड सिस्टम, ब्यानरसहित आवश्यक सजावट गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिनुभयो ।

सम्मेलनस्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ ।

यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्वन्धी घोषणापत्र जारी गर्नेछ ।

शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन

विराटनगर। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तक्र्रिया गर्नुभएको छ ।
मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्यक्रम तथा विश्वविद्यालयले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिनुभएको हो ।

अवलोकनका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयका भौतिक संरचना, शैक्षिक गतिविधि, प्रशासनिक सेवा तथा व्यवस्थापनका बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको प्रयोग तथा सेवाप्रवाहमा सुधार ल्याउँदै विश्वविद्यालयलाई समयानुकूल र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सबैले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले परीक्षाको नतिजा चाँडो ल्याउने वातावरण बनाइनुपर्नेमा जोड दिँदै विश्वविद्यालयको सम्पत्ति र भौतिक पूर्वाधारको उपयोग गरिनुपर्नेमा जोड दिनुभयो । मन्त्री पोखरेलले विश्वविद्यालयलाई समयअनुकूल र प्रविधिमैत्री बनाउँदै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विश्वविद्यालयको विकास केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नभई गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति, प्रभावकारी प्रशासन र प्रविधिमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभएको थियो ।

मन्त्री पोखरेलले विश्वविद्यालयका समस्या र आवश्यकताबारे मन्त्रालयको तहबाट सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी विश्वविद्यालयले अघि सारेका प्राथमिकताका योजनालाई उपलब्ध स्रोत, कानुनी व्यवस्था र संस्थागत क्षमताका आधारमा क्रमशः अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई प्रविधिमैत्री र आधुनिक संस्थाका रूपमा विकास गर्न विद्युतीय सुशासनलाई उच्च प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । उहाँले विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रविधिमा आधारित, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आवश्यक सुधारका कार्यलाई तीव्रता दिइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयको वर्तमान आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न परम्परागत कार्यशैलीमा मात्र निर्भर नभई समस्या समाधानका लागि परिवर्तनकारी नीति आवश्यक रहेको बताउनुभयो । उहाँले विगतमा भएका केही कार्य सराहनीय भए पनि आगामी दिनमा विश्वविद्यालयका काम स्पष्ट र मापनयोग्य प्रतिफल देखिनेगरी अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयका पदाधिकारीले सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, विद्यार्थीको अवस्था, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा विश्वविद्यालयका आगामी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो ।

अन्तक्र्रियामा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, प्रविधिको अधिकतम प्रयोग गर्ने तथा विश्वविद्यालयका विकास योजनालाई गति दिने विषयमा छलफल भएको थियो ।

त्यस क्रममा विश्वविद्यालयमा अस्पताल सञ्चालनको तयारी, आवश्यक जग्गा व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा समेत छलफल भएको थियो । विश्वविद्यालयले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाउन अस्पताल सञ्चालनलाई महत्त्वपूर्ण योजनाका रूपमा अघि सारेको जानकारी गराइएको थियो ।

अन्तक्र्रियामा विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीलाई गुणस्तरीय शिक्षा र प्रयोगात्मक सिकाइको अवसर उपलब्ध गराउने, प्रशासनिक प्रक्रियालाई सरल बनाउने तथा विश्वविद्यालयलाई प्रतिस्पर्धी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

मन्त्री पोखरेलले मधेस प्रदेश भ्रमणका क्रममा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका विभिन्न शैक्षिक संस्थाको समेत अवलोकन गर्नुभएको थियो ।

सो क्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको दोहोरो विवरण, शिक्षक सरुवा तथा उपस्थिति, दिवा खाजा व्यवस्थापन, परीक्षा प्रणाली, स्थानीय पाठ्यक्रमको कार्यान्वयन, प्रयोगात्मक शिक्षा, प्राविधिक धारका शिक्षक तथा प्रयोगशालाको अभाव र शिक्षक दरबन्दी मिलानलगायत विषयमा समस्या तथा सुझाव प्राप्त भएका थिए ।

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

सुनसरी । वराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए । अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन ।

विदेशबाट फर्केर व्यावसायिक कृषि पेसामा लागेका उनलाई यति बेला भने पैसा र प्रसन्नता दुवै प्राप्त भएको छ । उनले यसअघि आफ्नै चार बिघा जग्गामा तरकारी, धान र मकै खेती गर्दै आएका थिए । तर अहिले सप्तकोसी नदीको कटानले खेतीयोग्य जमिन बगाएपछि अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् ।

महतोले अहिले करिब १० कट्ठा जग्गा भाडामा लिएर गोलभेँडा, बोडी, साग, भिण्डीलगायत मौसमी तरकारी खेती गरेका छन् । त्यसमध्ये आठ कट्ठामा मल्चिङ प्रविधिबाट टमाटरखेती गरेका छन् । बाँकी जग्गामा विभिन्न मौसमी तरकारी लगाएको उनले बताए ।

“पहिला करिब चार बिघा जग्गा थियो । सबै सप्तकोसी नदीले कटान गरेर लग्यो । अहिले आफ्नो जग्गा छैन, अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरेको छु”, उनले भने, “अहिले खेतीमा आफैँ काम गर्छु, श्रीमतीले पनि सहयोग गर्छिन् । मुख्य सिजनमा आवश्यकता परे मजदुर ल्याउँछु ।”

बीउ, मल, औषधि, मजदुरीमा वार्षिक रु दुई लाखसम्म खर्च हुने गरेको छ । खर्च कटाएर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए । “यही आम्दानीले घरपरिवार धानेको छु”, उनले भने ।

खेतीबाट भएको आम्दानीले घरपरिवारको खर्चसँगै तीन छोराछोरीको दैनिक पढाइ खर्च तथा अन्य आवश्यकता पूरा गर्दै आएको उनले बताए । उत्पादित तरकारी बिक्रीका लागि बजारको समस्या छैन । धनकुटा, धरान, उदयपुर, इनरुवालगायतका ठाउँबाट व्यापारी खेतबारीमै आउने र उत्पादित टमाटर तथा अन्य तरकारी खरिद गरेर लैजाने गरेका छन् ।

गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुने भएपछि महतोले अन्य तरकारीभन्दा त्यसलाई प्राथमिकता दिनुएको छ । टमाटरको मूल्य सिजनअनुसार फरक हुने भएकाले यसबाट राम्रो आम्दानी हुने उनले बताए ।

खेतबारीबाटै प्रतिकिलो रु ४० मा बिक्री हुन्छ कात्तिक–मङ्सिरमा राम्रो मूल्य पाएका बेला रु ८० देखि ८५ सम्म गोलभेँडा बिक्री हुने गरेको उनको भनाइ छ । “पहिला बारी धेरै हुँदा तरकारी खेतीसँगै गाईभैँसी पनि थिए । कोशी कटानले खेतीयोग्य जमिन बगाएपछि पशुपालनका लागि आवश्यक चरनस्थल छैन । अहिले गाईभैँसी पाल्न पनि छाडियो”, महतोले भने, “अहिले तरकारीसँगै धान र मकै खेती गरेर जीविकोपार्जन गरिरहेको छु ।”

बर्सेनि सप्तकोशीले कटान गरिरहेको छ । अहिले बसिरहेको यो सानो बास र टिनले बारेर बनाएको कटेरो घर पनि कुन दिन बगाएर लैजाला भन्ने डर छ उनलाई । “आफ्नै जग्गा भएको भए तरकारीखेतीबाटै राम्रो आम्दानी गर्न सकिन्थ्यो अहिले खेती गर्न आफ्नो जमिन छैन”, उनले दुःखेसो गरे ।

बर्खा सुरु भएपछि श्रीलङ्का टप्पुका बासिन्दाले बाढी र कटानको त्रास बर्सेनि भोग्दै आएका छन् । बर्सेनि खेतीयोग्य जमिन साँघुरिँदै जानु, घरनजिकै नदी आइपुग्नु र आवश्यक पर्दा बस्ती नै छाडेर हिँड्नुपर्ने अवस्था दोहोरिँदा यहाँका नागरिकका लागि बर्खायाम चिन्ताको विषय बन्ने गरेको छ ।

खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि प्रत्येक वर्ष बर्खामा बाढी र कटानले सबै मिहिनेत बगाइदेला कि भन्ने चिन्ताले सताउने गरेको महतो बताउँछन् । करिब तीन हजार जनसङ्ख्या रहेको श्रीलङ्का टप्पुमा अधिकांश परिवारको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित छ । धान, मकै, गोलभेँडा र अन्य तरकारी खेती, पशुपालन र दुग्ध उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रका मुख्य आधार हुन् ।

आज गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको लाम

काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको लाम लागेको हो ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्राईले बताए।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । यस वर्ष यो पर्व मङ्गलबारकै दिन परेकोले यसको विशेष महत्व रहेको छ ।

यस अवसरमा विसं २०६५ देखि राष्ट्रिय धर्मसभा नेपालले विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ । आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनाका साथ प्रवचन कार्यक्रम आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।

यस अवसरमा आज विभिन्न गणेश मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गर्ने कायृक्रम रहेको उनले सुनाए । राष्ट्रिय धर्मसभाले २०६५ सालदेखि नै गणेश रथयात्रा गर्दै आएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । यस वर्ष भाद्र शुक्ल पञ्चमी पनि आजकै दिन परेको समितिले जनाएको छ । त्यसैकारण गणेश रथयात्रा पनि आजै गरिँदै छ ।