`

उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, नेपाली आप्रवासी कामदार, आर्थिक सहयोग तथा नेपालमा हालै आएको विनाशकारी बाढीलगायत विषयमा छलफल भएको थियो ।भेटमा उपराष्ट्रपति यादवले सन् १९७७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताए । उनले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषिलगायत क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी तथा सहयोगको अपेक्षा रहेको बताए ।

यादवले साउदी अरेबिया नेपाली आप्रवासी कामदारका लागि प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गरेकोमा साउदी सरकारप्रति धन्यवाद व्यक्त गरे । सन् २०२७ मार्चमा नेपाल–साउदी कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको भन्दै उनले यसलाई अर्थपूर्ण र स्मरणीय बनाउन आवश्यक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।

नेपाल–साउदीबीच गत अगस्ट ३१ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै यादवले उक्त सम्झौताले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको पनि बताए ।

साउदी राजदूत मनिकरले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्न साउदी अरेबिया तयार रहेको बताए । आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप सुमधुर बनाउन निरन्तर प्रयास गर्ने उनले प्रतिबद्धता जनाए ।

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

काठमाडाैँ। उत्तरपश्चिमी पाकिस्तानको प्रहरी कार्यालयनजिकै रहेको मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । प्रहरी तथा उद्धार अधिकारीका अनुसार सुरक्षा बलले लडाकुविरुद्ध कारबाही गरिरहेका बेला उक्त विस्फोट भएको हो।

खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा भएको घटनामा विस्फोटक पदार्थले भरिएको एउटा गाडी मस्जिदमा ठोक्काइएको प्रान्तीय प्रहरी प्रमुख जुल्फिकार हमिदले बताए।

वरिष्ठ उद्धार अधिकारी बिलाल फैजीका अनुसार मृतकमध्ये पाँच प्रहरी र १० सर्वसाधारण छन् । घाइतेमध्ये अधिकांश नमाज पढ्न मस्जिद पुगेका व्यक्ति रहेको र केहीको अवस्था गम्भीर रहेको उनले बताए।

प्रहरीका अनुसार कम्तीमा दुई बन्दुकधारीले प्रहरी परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरूको प्रहरीसँग गोली हानाहान भएको बताइएको छ ।विस्फोटबाट प्रहरी कार्यालयको बाहिरी पर्खाल तथा मस्जिदमा ठूलो क्षति पुगेको छ। स्थानीय बासिन्दाका अनुसार विस्फोटको आवाज टाढासम्म सुनिएको थियो र त्यसलगत्तै गोली चलेको थियो।

प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति सहानुभूति व्यक्त गरेका छन्। उनले उद्धार कार्य तीव्र पार्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए।आक्रमणको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन । यद्यपि, घटनामा ’तेहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) अर्थात् पाकिस्तानी तालिबानको सङ्लग्नताको आशंका गरिएको छ।

उत्तरपश्चिमी हाङ्गु जिल्लामा सुरक्षा बलको गाडीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट गराउँदा छ सैनिकको मृत्यु भएको भोलिपल्ट शुक्रबारको घटना भएको हो । सेना र प्रहरीका अनुसार बिहीबार विभिन्न क्षेत्रमा गरिएको कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य मानिएका १० लडाकु मारिएका थिए।

पछिल्ला वर्षमा टीटीपीले पाकिस्तानमा प्रहरी तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्दै आएको छ। सन् २०२३ मा पेशावरस्थित एउटा मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा १०१ जनाको मृत्यु भएको थियो।

टीटीपी अफगानिस्तानको तालिबानभन्दा फरक समूह भए पनि उनीहरूबिच गठबन्धन रहेको बताइन्छ । अफगानिस्तानमा तालिबान सन् २०२१ मा सत्तामा फर्किएपछि पाकिस्तानले काबुलमाथि टीटीपीलाई आश्रय दिएको र सीमापारिबाट हुने आक्रमण रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएको छ । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले भने पाकिस्तानका आरोप अस्वीकार गर्दै आएको छ।

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

बाँके । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत समुदायमा परिवर्तनको नयाँ उज्यालो र आशा छाएको छ ।यहाँका कुचबधिया (पत्थरकट्टा), माहुत, चिडिमारलगायतका सीमान्तकृत तथा लोपोन्मुख अल्पसङ्ख्यक समुदायको यसबीचमा राज्यका निकायमा प्रतिनिधित्व र पहुँच बढेको छ । उनीहरू अहिले आफ्नो हकअधिकारका लागि एकजुट भई स्थानीय सरकारसँग आफ्ना कुरा प्रष्टसँग राख्न सक्ने भएका छन्।

ओछ्यानबाट उठ्नेबित्तिकै हातमा छिनो र हथौडा लिएर दिनभर ढुङ्गा कुद्दै सिलौटा र जाँतो बनाउने कुचबधिया समुदायको पुस्तैनी पेसा हो । तर अहिले समय बदलिएको छ, मुलुकमा नयाँ संविधान आएको एक दशकमा बाँकेका सीमान्तकृत र लोपोन्मुख बस्तीहरूमा परिवर्तनप्रतिको आशाको किरण पलाएको छ ।

स्थानीय जानकी गाउँपालिका–३ इन्द्रपुरका अर्जुन कुचबधियाका लागि पछिल्लो १० वर्ष केही अनौठो र केही आशाप्रद रह्यो । कुनै समय सरकारी कार्यालयको दैलो टेक्न पनि दकस मान्ने अर्जुनको समुदाय अहिले स्थानीय सरकारले आयोजना गर्नै बैठक तथा छलफल कार्यक्रममा पुगेर निर्धक्क आफ्ना हकअधिकारका कुरा राख्न सक्ने भएको छ।

“पहिले हाम्रा कुराको कहीँ सुनुवाइ हुँदैनथ्यो, अहिले स्थानीय सरकारसमक्ष आफ्ना पीरमर्का राख्न पाएका छौँ”, अर्जुन विगत र वर्तमानबारे भन्छन्, “राज्यले दिएको सामाजिक सुरक्षा भत्ताले चुलो बाल्न त अलि सजिलो भएको छ, शिक्षा, स्वास्थ्य र रोजगारीका सन्दर्भमा संविधानले दिएको अधिकारको नतिजा पनि अब हाम्रा घरसम्म आइपुग्ने विश्वासमा छौँ ।”

संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको ढोका खोलेपछि कुचबधिया, माहुत र चिडिमारजस्ता लोपोन्मुख समुदायका नागरिकमा एक प्रकारको आत्मस्वाभिमान जागेको छ। उनीहरू सङ्गठित भएका छन्, सामूहिक रूपमा आवाज उठाउन थालेका छन् । तर, जीवनयापनको मुख्य जग मानिने आर्थिक अवस्था भने अपेक्षकृत रूपमा अझै उठ्न सकेको पाइन्न।

त्यस्तै स्थानीय गीता कुचबधियाको चिन्ता भने अर्कै छ । बजारमा प्लास्टिक र आधुनिक सामग्रीको वर्चस्व बढेसँगै उनीहरूको पुख्र्यौली पेसा सिलौटा, जाँतो र डोरी बनाउने काम सङ्कटमा परेको छ । “भत्ताले त दाल–चामल किन्न मात्र ठिक्क हुन्छ”, गीता दुःख पोख्छिन्, “पुर्ख्याैली पेसा हराइसक्यो, नयाँ पेसामा रोजगारी पाइँदैन। राज्यले हामीलाई बस्ने बास, स्वास्थ्य र छोराछोरीको शिक्षामा ध्यान दिनुपर्नेछ।”

सो परिवारले सामाजिक सुरक्षा भत्ताका रुपमा रु १२ हजार स्थानीय तहबाट लिँदै आएको छ । स्थानीय जानकी गाउँपालिका–३ स्थित इन्द्रपुरमा सो समुदाय २७५ जना रहेको पालिका कार्यालयको अभिलेखमा उल्लेख छ । त्यसबाहेक नेपालगन्ज उपमहानगरपालिका–२१ मा पनि केही घर कुचबधिया समुदायको रहेको छ।

गाउँमै सरकार आएपछि केही राहत महसुस गरेका डुडुवा गाउँपालिका–६ हिरमिनियाका केलाराम माहुतको कथा पनि उस्तै छ । केलारामले स्थानीय सरकारबाट प्रदान हुने सेवा र कार्यक्रममा आफ्नो समुदायको पहुँच पहिलेको तुलनामा बढेको अनुभव गरेका छन्। नयाँ संविधानले सामाजिक न्याय, समानुपातिक र समावेशीकरण अधिकारको व्यवस्था गरेसँगै आफ्नो समुदायमा केही परिवर्तन आए पनि आशातित् उपलब्धि भने हासिल हुन नसकेको बताए ।

“पहिले सरकारी अड्डा छिर्न पनि डर लाग्थ्यो, अहिले गाउँमै सरकार छ, कार्यक्रमहरूमा हामी पनि सहभागी हुन पाउँछौँ”, केलाराम भन्छन्, “तर हाम्रा युवा पढेर पनि बेरोजगार बस्नुपर्दा मुटु चसक्क हुन्छ ।”

माहुत समुदायले भोगिरहेको अर्को ठुलो पीडा भनेको पहिचानको हो । राज्यका सीमान्तकृत अल्पसङ्ख्यकको सूचीमा सूचीकृत हुन नसक्दा उनीहरू धेरै अवसरबाट अझै वञ्चित हुनुपरेको छ । मातृभाषा, मौलिक अधिकार र सामाजिक न्यायका संवैधानिक बहस सुनिए पनि व्यावहारिक कार्यान्वयनमा अझै फराकिलो खाडल रहेको केलारामको भनाइ छ।

नयाँ संविधानले सीमान्तकृत समुदायलाई आफ्नै सरकार र सामाजिक सुरक्षाको आड त दियो, तर उनीहरूको भान्सामा तीन तहकै सरकार मिलेर समृद्धिको प्रश्न हटाउन सक्नुपर्ने छ।

परम्परागत पेसा विस्थापित हुँदै जानु, युवाहरू शिक्षित भएर पनि अवसर नपाउनु र आधारभूत आवश्यकता अझै ओझेलमा पर्नुले संविधान जारी भएको दशक पुग्दा पनि आफ्नै परिचयले पनि अर्थपूर्ण परिभाषा नपाएको गुनासो छ।

माहुत समुदायका युवाको रोजगारी र शिक्षामा उनको मुख्य चिन्ता छ। संविधानले मातृभाषा, मौलिक अधिकार, सामाजिक न्याय र समावेशी प्रतिनिधित्वका लागि महत्त्वपूर्ण आधार तयार गरे पनि संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा अझै प्रयास गरिनुपर्ने उनीहरूको सुझाव छ।

सीमान्तकृत अल्पसङ्ख्यक समुदाय भए पनि आफूहरू राज्यको निकायमा सूचीकृत हुन नसक्दा माहुत समु्दाय अवसरबाट वञ्चित हुँदै आएको उनको गुनासो छ । एसएलसीसम्मको अध्ययन गर्नुभएका केलाराम माहुतले अहिले एउटा निजी कम्पनीमा काम गरिरहेका छन्। सो समुदाय नेपालगन्ज उपमहानगर पालिका–१९ र २१ वडामा छन् भने डुडुवा गाउँपालिका–६ स्थित पहाडीएनपुरवामा करिब ११२ घर छ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका अर्को अल्पसङ्ख्यक समुदाय चिडिमार पनि हो । सरकारको सूचीकृत समुदायभित्रका चिडिमारको पुख्र्यौली पेसा अहिले लोप भएका कारण उनीहरू अन्य विभिन्न काम गर्न थालेका छन्।

सो समुदायका अगुवा नेपालगन्ज–१२ सुकराम चिडिमारले रोजगारीका अवसरमा पहुँच नभएको गुनासो गर्छन्। तर केही सो समुदायका पढेलेखेका व्यक्ति मधेसी समुदायको कोटामा प्रतिस्पर्धा गरी रोजगारीमा संलग्न भएको उनले बताए । स्नातक तहसम्म अध्ययन गरेका सुकरामले भने, “हामीले रु १२ हजार ज्येष्ठ नागरिक भत्ता पाएका छाैँ तर रोजगारीको अवसर पर्याप्त नभएकाले कोटा प्रणाली लागू गर्न आवश्वयक छ ।”

सो समुदायका तीनदेखि पाँच वर्षसम्मका बालबालिकालाई समेत स्थानीय तहले खाता खोलेर रु ५०० मासिक रूपमा प्रदान गरिरहेको छ।

नीति निर्माण तहमा समेत चिडिमार समुदायको संलग्नता आवश्यक भएकामा जोड दिँदै उनले यस समुदायका लागि बेग्लै रोजगारीको अवसर प्रदान गर्न सरकारसँग आग्रह गरे। “हाम्रो समुदायबाट नै कोटा प्रणालीमा रोजगारी पाएका छैनौ, निजी क्षेत्रका कम्पनीमा काम गरिरहेका छाैँ”, उनले भने। सुकरामका अनुसार अहिले यस समुदायले पुख्र्याैली पेसा छाडेर घर निर्माण र काठको काम गर्नेलगायतका काममा संलग्न छन्। चिडिमार समुदाय नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा २५० घर छन् भने त्यसबाहेक कोहलपुर नगरपालिका–१४ र १५ मा करिब ५० घर छन्।

बर्दियाको गुलरियामा पनि केही घर चिडिमार समुदायका छन्। नेपालको संविधान २०७२ ले समावेशी सिद्धान्तलाई आत्मसात् गरेपछि अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदायले आफ्ना हकअधिकारका लागि आवाज उठाउँदै समाजको मूलप्रवाहमा आउने क्रम बढेको पाइएको छ।

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप आइपुग्यो

झापा । जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा ३० वर्षमाथिका सबैलाई इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

पालिकाका लागि ६५ हजार ५२५ भाइल खोप आज मेचीनगर आइपुगेको जनाउँदै १५ वटै वडाको खोप केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिइन् । यही असोज ५ गते मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा स्वास्थ्यचौकीमा झापा जिल्लास्तरीय खोप अभियानको उद्घाटन गरिने उनले बताइन् ।

मेचीनगरमा चालु आर्थिक वर्षमा ६ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएकामा दुई जनाको मृत्यु भइसकेको छ भने अरुको विभिन्न अस्तालमा उपचार भइरहेको उनले बताइन् । आव २०८१/८२ र आव २०८२/८३ मेचीनगरमा यही रोगको सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको थियो । भारतको पश्चिम बङ्गाल र बिहार प्रान्तसँग सीमा जोडिएको क्षेत्र भएकाले मेचीनगरलाई संवेदनशील मानिएको छ ।

मेचीनगरको पाँचवटा वडामा रोगको सङ्क्रमण देखापरेको छ । खोप केन्द्रसम्म ज्येष्ठ नागरिकलाई ल्याउन आवश्यक परेमा सिटी सफारी र टेम्पोको प्रयोग गर्नेगरी तयारी भएको मेतीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले बताए । झापामा चालु आवभित्र १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए ।

रसुवा बाढीपछि अर्थ समितिले सरकारलाई दियो आठ बुँदे निर्देशन

काठमाडौं । संघीय संसद्को अर्थ समितिले रसुवाको भोटेकोशीमा आएको बाढीपछि अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै सरकारलाई आठ बुँदे निर्देशन दिएको छ ।अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले समितिको बैठकमा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सरकारलाई आठवटा निर्देशन दिने निर्णय भएको बताए ।

उनका अनुसार बाढीबाट नदीतटीय क्षेत्रमा रहेका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा ठूलो क्षति पुगेकाले प्रभावित उद्योगी तथा व्यवसायीका लागि राहत र पुनःस्थापनाका कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न अर्थ, ऊर्जा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको छ ।त्यस्तै, नदीतटीय क्षेत्रमा हुने सहरीकरण तथा सञ्चालनमा रहेका विकास आयोजनाका मापदण्ड पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको छ ।

समितिले विद्यमान विपद्सम्बन्धी पूर्वसूचना प्रणाली सुदृढ गर्दै पूर्वसूचनाका लागि अन्तरदेशीय सूचना आदानप्रदान प्रणाली विकास तथा विस्तार गर्न गृह र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

जलवायु वित्तलाई नेपालको दिगो तथा भरपर्दो विकास स्रोतका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दा तथ्य र तर्कका आधारमा प्रभावकारी रूपमा उठाउन तथा आवश्यक कूटनीतिक पहल गर्न सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको सभापति बुढाथोकीले बताए ।

त्यसैगरी भविष्यको जलवायु प्रक्षेपणका आधारमा पूर्वाधारका मापदण्ड अद्यावधिक गर्न र ठूला पूर्वाधार आयोजना तयार गर्दा जलवायु जोखिम विश्लेषण गरी जलवायु अनुकूलन प्रविधि तथा परियोजना डिजाइन अवलम्बन गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बाढी प्रभावित व्यवसायीलाई राहत दिन बैंकको कर्जाको किस्ता अवधि थप, सो अवधिको ब्याज मिनाहा, आवासलगायत संरचना निर्माणमा सहुलियत दरमा कर्जा उपलब्ध गराउन तथा निर्माण व्यवसायीको बाँकी भुक्तानी अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बाढीबाट क्षतिग्रस्त भौतिक संरचना, सवारीसाधन, चालक, व्यवसायी तथा आयोजनाको बिमा दाबी भुक्तानीमा सहजीकरण गर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।त्यस्तै, बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएका नागरिकका परिवारलाई मनोसामाजिक परामर्शसहित विशेष आर्थिक प्याकेज तथा रोजगारी र आयआर्जनमा सहयोग हुने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

ढुङ्गे-त्रिशूलीमा मोटरेबल पुल विदुरको पहिलो प्राथमिकतामा

नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाले ढुङ्गे-त्रिशूली बजार जोड्ने पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ।गत भदौ १० गते आएको बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि विदुर नगरपालिका-१ स्थित ढुङ्गे र त्रिशूली बजारसहित नदीपारिका भूगोलसँगको आवागमन सम्पर्क विच्छेद भएको थियो । पुल नहुँदा बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, विस्थापितको व्यवस्थापन तथा अत्यावश्यक सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको छ।

नगरप्रमुख राजन श्रेष्ठले प्रभावित नागरिकको दैनिकी सहज बनाउन र बाढीबाट क्षतिग्रस्त त्रिशूली बजारमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन पुल निर्माणका लागि चौतर्फी पहल भइरहेको बताए। उनले नेपाली सेनासँगको सहकार्यमा विभिन्न निकायको समन्वयमा मोटरेबल पुल निर्माण गर्न सकिएमा प्रभावित क्षेत्रको आवागमन सहज हुने जानकारी दिए।

“बाढीले बगाएका तथा पुरिएका संरचनाका कारण बगरमा परिणत भएको त्रिशूली बजारमा अपेक्षाअनुसार खोज तथा उद्धार गर्न सकिएको छैन,” नगरप्रमुख श्रेष्ठले भने, “विपद्पश्चात् हाम्रो पहिलो चाहना पुल निर्माण हो । प्राविधिक अध्ययनमा नदीको बहाव र आकारका कारण पुल निर्माण गर्न कठिनाइ भइरहेको छ।”

उनका अनुसार त्रिशूली नदी पार गर्न पुल नहुँदा प्रभावित बासिन्दा तुइनको भरमा आवतजावत गर्न बाध्य छन् । आवागमन सञ्चालन गराउन तुइन राखिए पनि त्यसबाट आवश्यकताअनुसार सेवा दिन नसकिने भएकाले स्थायी वा अस्थायी मोटरेबल पुल निर्माणको विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

नदीको बहाव र भूगोलले पुल निर्माणमा चुनौती

बाढीपछि त्रिशूली नदीको बहाव क्षेत्र करिब ३० मिटर उचाइमा पुगेको र नदीले दायाँबायाँ करिब १५० मिटर क्षेत्र ओगटेर बगिरहेको प्राविधिक अध्ययनले देखाएको छ। नदीको फराकिलो बहाव, उचाइ तथा ग्रेगर-लेदोसहितको थलथले हिलोका कारण तत्काल बेलिब्रिजलगायतका अस्थायी मोटरेबल पुल राख्न कठिनाइ रहेको सडक डिभिजन नुवाकोटको अध्ययनमा उल्लेख छ।

सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्माले विदुर-१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने गरी तत्काल पुल राख्न सकिने अवस्था नरहेको जानकारी जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा गराएका थिए।

बाढीपछि नदीले लिएको आकार, बहावको उचाइ तथा नदीमा थुप्रिएको ग्रेगर र लेदोका कारण पुल निर्माणका लागि आवश्यक प्राविधिक तथा भौगोलिक अवस्था चुनौतीपूर्ण रहेको उहाँले बताउनुभएको हो ।

असम्भव देखिए पनि विकल्प खोज्नुपर्ने सुझाव

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले जतिसक्दो चाँडो पुल निर्माण गरी त्रिशूली बजारमा पुगेको क्षतिको खोज तथा उद्धार, प्रभावितको व्यवस्थापन, विद्यालय सञ्चालन तथा त्रिशूली अस्पतालसँगको सम्पर्क पुनःस्थापना गर्नुपर्ने बताए।

“पुल निर्माणका लागि असम्भव देखिएका विषयमा पनि विकल्प खोजेर अगाडि बढ्नुपर्छ”,उनले भने, “त्रिशूली बजारमा भएको क्षतिको खोज तथा उद्धार, प्रभावितको व्यवस्थापन, विद्यालय सञ्चालन र अस्पतालसँगको सम्पर्क जोड्न ढिलाइ गर्नुहुँदैन ।”

जिसस प्रमुख ठकुरीले विपद्पछि प्रभावित नागरिकको जीवन सहज बनाउन आवश्यक पूर्वाधार निर्माणमा सबै निकायबिच समन्वय आवश्यक रहेको बताए।

८५ जना हराइरहेको तथ्याङ्क

भोटेकोशी बाढीका कारण विदुर नगरपालिका-१ स्थित ढुङ्गे र त्रिशूली बजारबाट ८५ जना हराइरहेको वडा कार्यालयको तथ्याङ्क छ । बाढीबाट प्रभावित दुई बस्ती जोड्न तथा नदीपारिको भूगोलसँग सम्पर्क स्थापित गर्न पुल निर्माण अत्यावश्यक देखिएको छ।

ढुङ्गे-त्रिशूली पुल निर्माण भएमा विदुरबाट त्रिशूली नदी पारि तारकेश्वर, म्यागङ, किस्पाङ हुँदै रसुवाको उत्तरगया गाउँपालिकाको ठूलोगाउँ र डाँडागाउँसम्म आवागमन सहज हुनेछ।

पुल अभावले बाढी प्रभावितको खोज तथा उद्धार र राहत सामग्रीको समानुपातिक वितरणमा मात्र नभई आमनागरिकको दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पारेको छ। विदुरतर्फका बासिन्दालाई नदी पारि रहेका अस्पताल तथा नेपाल विद्युत् प्राधिकरणका सेवा लिन कठिनाइ भइरहेको छ भने नदी पारिका बासिन्दालाई सडक तथा पुलको अभावमा सदरमुकाम हुँदै जिल्ला बाहिरसँगको सम्पर्क टुटिरहेको छ।

बाढीपछि त्रिशूली नदीको दुवैतर्फका बासिन्दाले भोग्दै आएको आवागमन समस्या समाधान गर्न ढुङ्गे-त्रिशूली पुल निर्माणको अन्योलता चाँडै हट्ने र आवश्यक पहलले गति लिने आशा स्थानीयवासीले गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै

काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन(ओसिभी)’ अभियान तीव्र बनाइएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ जनाले खोप पाएका उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनाले मुखबाट दिइने हैजाविरुद्धको खोप पाएका हुन्। रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका गाउँपालिकामा तथा नुवाकोटको बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ।

यसैबिच बाढी प्रभावित क्षेत्रमा टिटानस-डिफ्थेरिया (टिडी) खोप पनि स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइते व्यक्तिलाई पनि खोप प्रदान भइरहेको छ। रसुवाका चार स्थानीय तहमा ८२१ जनाले टिडी खोप पाएका छन् भने नुवाकोटको बिदुर नगरपालिकामा ११३ जनाले टिटी खोप लगाएका प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनकाअनुसार बाढीपछि शङ्कास्पद दादुराका आठ वटा रिपोर्ट रहेकामा सात नमुनाको परीक्षण नेगेटिभ आएको छ भने एउटा नमुनाको नतिजा आउन बाँकी छ। तीमध्ये रसुवाका ६ र नुवाकोटका २ वटा नमुना छन्।

परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुख डा अभियान गौतमकाले बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढाइएको बताए। उनका अनुसार रसुवा र नुवाकोटमा दादुरा रोग विरूद्धको ‘एमआर’ खोप अभियानको तयारी सुरु भएको छ भने धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडामा ‘ओसिभी’ खोप अभियानका लागि पनि तयारी भइरहेको छ

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ।

ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको उक्त परिपथका लागि सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको र क्रमागत बजेटमार्फत काम सम्पन्न गरिने काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले राससलाई बताउनुभयो।

पहिलो चरणमा रु १० करोड खर्च गरेर पनौतीको डबलीदेखि नमोबुद्धसम्मको सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण, विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना र थान्कालगायत जानकारीमूलक बोर्ड राखिनेछ।

चलनचल्तीका सडकलाई नै ‘बुद्ध–सर्किट’का रूपमा विकास गर्न लागिएको जानकारी दिदँै उहाँले परिपथको गुरुयोजना तयार भइसकेको बताउनुभयो।

उहाँका अनुसार पनौती–नमोबुद्ध करिब आठ किलोमिटर सडकलाई बुद्धसँग सम्बन्धित सम्पदाले भरिपूर्ण बनाउँदै आकर्षक पर्यटकीय मार्गका रूपमा विकास गर्ने उद्देश्य लिइएको छ।

बुद्ध–परिपथअन्तर्गत नमोबुद्ध–भकुण्डे सडकखण्डमा पर्ने दाप्चास्थित बोक्से सामुदायिक वनमा रतुवा मृग पार्क निर्माण गरिने छ। यसका लागि बागमती प्रदेशको वन मन्त्रालयमा योजना स्वीकृतिको प्रक्रिया अघि बढेको सांसद चौलागाईंले बताउनुभयो। “मृग पार्कका लागि स्थान छनोट भइसकेको छ र प्रदेश सरकार पनि सकारात्मक छ”, उहाँले भन्नुभयो।

यसैगरी, बिपी राजमार्गअन्तर्गत भकुण्डेबेँसीस्थित चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ निर्माण गरिने छ। चारैतर्फबाट देखिने उक्त गेटमा विभिन्न धर्म तथा संस्कृतिका प्रतीक र सन्देशमूलक आकृति राखिनेछन्।
उहाँका अनुसार नमोबुद्धदेखि भकुण्डेबेँसी हुँदै तेमालसम्मको करिब २५ किलोमिटर सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिनेछ। विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना गर्नुका साथै थान्कालगायत जानकारीमूलक बोर्ड राखिनेछन्।

तेमालस्थित याङबेलमा भने गुरु रेन्पोछेको विशाल मूर्ति निर्माण गर्ने योजना छ। यसका लागि याङबेलमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको जनाइएको छ।

याङबेलमा ‘बुद्ध पार्क’ निर्माण गरी विश्वकै ठूलो गुरु रेन्पोछेको मूर्तिसहित बुद्धको विशाल मूर्ति तथा विभिन्न बुद्ध आकृति निर्माण गर्ने, घण्टाघर, बच्चासहित बाघको प्रतिमा, शान्ति चैत्य, थान्का लेखन विद्यालय र पार्किङस्थल निर्माण गर्ने योजना रहेको सांसद चौलागाईंले जानकारी दिनुभयो।

“तेमालमा थान्का शिक्षालय सञ्चालन भएपछि सहर धाउनुपर्ने बाध्यता हट्नेछ। यहीँ बसेर सिक्ने र अरूलाई पनि थान्का लेखन सिकाउनेछन्। थान्कामार्फत तेमाललाई देशी–विदेशीसामु चिनाइनेछ”, उहाँले भन्नुभयो।

इतिहासविद्का अनुसार राजा प्रताप मल्लले वि.सं. १७२७ मा रानीपोखरी निर्माण गरेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ।

तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरूपमा बगिरहेको धार्मिक मान्यता छ। भारतको प्रयागमा गङ्गा र यमुनाको सङ्गममा गुप्तरूपमा सरस्वती नदी मिसिएझैँ पनौतीमा रोशीलाई रुद्रावती, पुण्यमातालाई लीलावती र ब्रह्मायणी मन्दिरमुनिबाट गुप्तरूपमा बग्ने नदीलाई पद्मावती मानिँदै आएको छ।

नमोबुद्ध गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रूपमा परिचित काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, रमणीय तथा पर्यटकीय स्थल हो। तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा शिकार खेल्ने क्रममा भोकले छटपटाइरहेको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काटेर खुवाउँदै देहत्याग गरी बघिनीलाई जीवनदान दिएको किंवदन्ती छ।

नमोबुद्ध क्षेत्रमा लामा तथा महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूला बुद्धमूर्ति र चैत्य छन्। ‘तामाङ इतिहास र सभ्यता खोज्नु छ भने तेमाल जानू’ भन्ने आख्यानले पनि तेमालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्छ। नेपाल एकीकरणअघि रिञ्जेन दोर्जे बलको शासनका बेला भारतबाट तिब्बत जाने क्रममा गुरु पद्मसम्भवले तेमालमा ध्यान गरी सिद्धता प्राप्त गरेको इतिहास रहेको बताइन्छ। तेमालको इतिहास, सभ्यता र संस्कृतिलाई झल्काउने विभिन्न संरचना तथा आकृति पनि निर्माण गरिएका छन्।

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ।

महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो।

पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ।

महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्नसक्ने जनाएको छ।

समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रीको सचिवालयका प्रतिनिधि यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर सङ्घ सङ्गठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासङ्घका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य छन्।

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्सस । टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् ।

ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका लामा फाउन्डेसन, बेडफोर्डले रु १ करोड ७ लाख, इन्डिया बजार, फोर्टवर्थले रु ३८ लाख १७ हजार, वन स्टेप फाउन्डेसनले रु २५ लाख, अभान्ट फाउन्डेसनले रु १५ लाख, पाल्पाली संगम अमेरिकाले रु १५ लाख र नुवाकोट पिकनिक ग्रुप टेक्ससले रु १५ लाख सहयोग गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ च्याप्टरबाट सङ्कलित ६६ हजार १९५.८८ अमेरिकी डलर नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई बेग्लै पठाइएको जनाएको छ ।

‘कांग्रेस विभाजनको डिलमा छ’ भन्दै विष्णु रिजालले सम्झिए एमाले फुटेका दुई घटना

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको टिप्पणी गरेका छन्। उनले विगतमा कांग्रेसले एमाले विभाजनमा भूमिका खेलेको उल्लेख गर्दै अहिले भने कांग्रेस नफुटोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत रिजालले २०५४ र २०७८ मा एमाले विभाजन भएका घटनाको स्मरण गरेका हुन्।

‘कांग्रेसले एमालेलाई दुईपटक फुटायो। तर, हामी चाहन्छौँ– कांग्रेस नफुटोस्,’ उनले लेखेका छन्।

रिजालले २०५४ फागुन २१ गते तत्कालीन सभामुख रामचन्द्र पौडेल महेन्द्रनगरबाट हेलिकोप्टरमार्फत काठमाडौं आएर एमाले विभाजन गरी नेकपा (माले) दर्ता गराएको दाबी गरेका छन्।

रिजालले सामाजिक सञ्जालमा लेखेका छन् –
कांग्रेसले एमालेलाई दुईपटक फुटायो । तर, हामी चाहन्छौँ– कांग्रेस नफुटोस् ।
२०५४ फागुन २१ गते सभामुख रामचन्द्र पौडेल महेन्द्रनगरबाट हेलिकोप्टर चढेर काठमाडौँ आएर हतार–हतार नेकपा (एमाले) फुटाएर नेकपा (माले) दर्ता गरिदिनुभयो भने २०७८ भदौ ९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले ४० प्रतिशतबाट आधा घटाएर २० प्रतिशत सदस्य भए पार्टी फुटाउन पाउने अध्यादेश जारी गरेर एमाले फुटाइदिनुभयो र नेकपा (एकीकृत समाजवादी) गठन भयो, जुन अध्यादेश असोज ११ गते आफैँ खारेज गर्नुभयो ।
आज कांग्रेस विभाजनको डिलमा उभिएको छ । शेरबहादुर देउवा जीवनको उत्तरार्द्धमा अलग्गै पार्टी बनाउने मुडमा हुनुहुन्छ । रगत–बखत भएको बेला बनाएको प्रजातान्त्रिक कांग्रेस त गिरिजाप्रसाद कोइरालालाई नै बुझाउनुपर्यो भने अब के पार लाग्ला र ?

शुक्रबार ठमेलमा हर्कुलस बस्नेतको कन्सर्ट हुने

काठमाडौं । चर्चित गायक तथा संगीतकार हर्कुलस बस्नेत र उनकाे ब्यान्ड शुक्रबार काठमाडौंको ठमेलमा गुञ्जिने भएकाे छ। ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा उनको विशेष सांगीतिक प्रस्तुति आयोजना हुने भएकाे हाे।

कार्यक्रममा हर्कुलसले आफ्ना चर्चित गीतमार्फत दर्शक तथा श्रोतामाझ सांगीतिक माहोल सिर्जना गर्नेछन्। ‘तिमी आयौं नयनको मजेरीमा’, ‘बोलिरहे एकान्तमा तिम्रो तस्वीरलाई हेरेर’ आदि उनका चर्चित गीतहरू हुन्।

टर्टल लाउन्ज एन्ड क्लबका सञ्चालक आयुष ठाकुरीका अनुसार कन्सर्ट संगीतप्रेमीका लागि विशेष अनुभव बनाउने उद्देश्य राखिएको छ। ‘हर्कुलस बस्नेतका गीतले धेरै संगीतप्रेमीको मन जितेका छन्। ठमेलको रमाइलो वातावरणमा उहाँको प्रत्यक्ष प्रस्तुति हेर्न र सुन्न पाउनु दर्शकका लागि विशेष अनुभव हुनेछ। हामी शुक्रबारको साँझलाई संगीत, मनोरञ्जन र यादगार क्षणले भरिपूर्ण बनाउन चाहन्छौँ,` ठकुरीले भने।

टर्टलले यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ। शुक्रबारको कार्यक्रमले ठमेलको रात्रिकालीन मनोरञ्जनमा थप सांगीतिक रौनक थप्ने अपेक्षा गरिएको छ।

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

सुनसरी । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराएका छन् । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारी खेती गर्दै आएका उनले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाएका छन् ।

उनको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको छ । अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाल चन्द्रवंशी बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लागेका छन् । “छोराहरू विदेश जाने भन्थे, मैले नेपालमै रु ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ । अहिले नेपालमै बसेर सबै छोराले लाखौँ रुपैयाँ कमाउन सक्ने भएका छन्”, अर्जुनले भने ।

विदेश गएर दुःख गर्नुभन्दा नेपालमै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचले चारै जना छोरालाई कृषिमा लगाएको उनले बताए । पहिला सडक तथा यातायातको सुविधा थिएन । दुईचार कट्ठामा गरिएको खेती टाउकोमा बोकेर बजारसम्म पुर्‍याउनु पर्थ्यो । अहिले बारीमै गाडी लिएर व्यापारी आउँछन् ।

चन्द्रवंशी परिवारले हाल पाँच बिघामा गोलभेँडा खेती गर्दै आएका छन् । साथै केही जग्गामा मौसमी तरकारीसमेत लगाएका छन् । गोलभेँडाको मुख्य सिजन कात्तिक मङ्सिरदेखि फागुन–चैतसम्म ५० जनाभन्दा बढी कामदारले अर्जुनको फार्ममा काम गर्ने गरेका छन् । अफसिजनमा पनि २५ जना ज्यालादारी कामदार खेतमा खटिने गरेको अर्जुनले जानकारी दिए ।

गत वर्ष गोलभेँडाको मूल्य राम्रो हुनुका साथै मौसमले समेत साथ दिएकाले रु एक करोड बराबरको कारोबार भएको उनले बताए । “यस वर्ष कस्तो हुन्छ हेरौँ । मूल्य राम्रो नभए पनि सबै खर्च कटाएर वार्षिक रु ६० लाखसम्म मज्जाले आम्दानी हुन्छ”, उनले भने ।

अर्जुनका छोरा श्रीरामका अनुसार गोलभेँडाको मूल्य बजारको माग र उत्पादनअनुसार फरक हुने गरेको छ । सामान्य अवस्थामा प्रतिकिलो रु ३० देखि ५० तथा कहिलेकाहीँ रु ८० देखि रु ९५ सम्म बिक्री हुने गरेको छ । कहिलेकाहीँ प्रतिकिलो रु पाँचमा पनि बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उनले बताए ।

“मङ्सिरदेखि वैशाखसम्म गोलभेँडाको मूल्य राम्रो हुने उनले बताउनुभयो । राम्रो मूल्य भएको समयमा एकै दिन रु तीन लाख बढीको गोलभेँडा बिक्री हुने गरेको छ”, श्रीरामले भने, “बोडी, काँक्रा, कोभीलगायतका मौसमी तरकारी पनि सिजनअनुसार बिक्री हुने गरेको छ ।”

अर्जुनका माइला छोरा लक्ष्मण चार वर्ष मलेसियामा बसेर नेपाल फर्किएपछि अहिले बुबालाई खेतीमा सघाइरहेका छन् । “विदेशभन्दा नेपालमा कमाइ राम्रो छ । कृषि खेती हाम्रो पुख्र्यौली पेसा हो । सुरुआती समयमा आलु, कोभीलगायतका तरकारी खेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसको क्षेत्र विस्तार गरियो”, उनले भने ।

औपचारिक तालिमभन्दा पनि सामाजिक सञ्जालबाट जानकारी लिएर कृषि गरिरहेको लक्ष्मणले बताए । “हामीले सामाजिक सञ्जालमा हेरेर नै व्यावसायिक खेती गरिरहेका छौँ”, उनको भनाइ छ । करिब १२ बिघा जमिनमध्ये पाँच बिघामा गोलभेँडा तथा अन्य तरकारी खेती गरिँदै आएको उनले बताउनुभयो । बाँकी जमिनमा मकै तथा धान लगाउने गरिएको छ । “उत्पादित गोलभेँडा बिक्रीका लागि बजारको समस्या छैन । हामीले बजार खोज्दै जानु पर्दैन । व्यापारी आफैँ खेतमा आउँछन् । यहाँबाट खरिद गर्दा बजारको मूल्यभन्दा कममा दिने गरेका छौँ”, लक्ष्मणले भने ।

धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, झापालगायतका स्थानबाट व्यापारी गोलभेँडा खरिद गर्न खेतमै आउने गरेका छन् । यो खेतीमा लगानी बढिरहेको र दुःख पनि भएको उहाँको भनाइ छ । लगानीअनुसार उत्पादन राम्रो हुने घाटा नहुने उनी स्मरण गर्छन्।

“अहिले यही खेतीबाट परिवारका सबै सदस्यलाई रोजगारी मिलेको छ भने अरूलाई पनि रोजगारी दिन सकिएको छ”, उनले भने, बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टप्पुमा मात्र करिब तीन सय बिघा क्षेत्रफलमा गोलभेँडा खेती हुने गरेको छ । अधिकांश किसानले गोलभेँडासँगै अन्य मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।रासस

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

पर्सा। भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ। तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

भारतीय अर्थमन्त्रीसँगको भेटमा नेपालको झण्डा नराखिएको भन्दै ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग भएको भेटमा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै प्रश्न उठाएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले वाग्लेलाई नेपालको अर्थमन्त्रीको हैसियतमा विदेश भ्रमणमा जाँदा कूटनीतिक मर्यादा पालना गर्नुपर्ने बताएका हुन्।

‘अर्थमन्त्रीज्यू, स्वर्णिम वाग्ले भारत भ्रमणमा जानुभएको छ। तपाईंको समकक्षी भारतीय अर्थमन्त्रीसँग भेटघाट गर्दा नेपालको राष्ट्रिय झण्डा नराखी बैठक गरिएको छ,’ शाहीले लेखेका छन्।

उनले वाग्लेलाई ‘व्यक्तिगत रूपमा घुम्न जानुभएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा?’ भन्दै प्रश्न गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत लेखेका छन्,अर्थमन्त्रीज्यू, Swarnim Wagléभारत भ्रमणमा जानुभएको छ। तपाईंको समकक्षी भारतीय अर्थमन्त्रीसँग भेटघाट गर्दा नेपालको राष्ट्रिय झण्डा नराखी बैठक गरिएको छ।
अर्थमन्त्रीजी, तपाईं व्यक्तिगत रूपमा घुम्न जानुभएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा?
यदि नेपालको अर्थमन्त्रीको हैसियतमा विदेश भ्रमणमा जाने हो भने त्यसका केही विधि, नीति र कूटनीतिक मर्यादा हुन्छन्।
भारतको दिल्लीमा नेपालको राजदूतावास छ। तर त्यहीँ एउटा नेपाली राष्ट्रिय झण्डासम्म राख्न नसक्नुको कारण के हो?

कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

म्याग्दी । कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन् । घरापका बासिन्दा सुदीपकुमार विकले नदीकिनारमा कम्पोजिट पर्खाल र र्यापिङ भएपछि यसपालि कटान रोकिएको बताए ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत सो आयोजना अगाडि बढाइएको हो । बाढी र कटान रोकथामका लागि नदीकिनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरिएको इन्जिनियर नरजङ्ग गुरुङले बताए ।

उनका अनुसार ९४ मिटर दूरीमा पर्खाल निर्माण गरिएको छ । जगदेखि दुई मिटर माथिसम्म चार मिटर फराकिलो आरसिसी र त्यसमाथि पलम पर्खाल लगाइएको छ । यस्तै, त्यसभन्दा माथि ग्यावियन जाली राखिएको छ । सो कार्यका लागि केटी/जेएसआर जेभीले २०८२ साल फागुन २५ गते रु एक करोड नौ लाख १६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

यस्तै, थप ९५ मिटर दूरीमा ठुला ढुङ्गा राखेर बाढी छेक्नका लागि र्यापिङ’ गरिएको छ । सो कार्यका लागि एमपी निर्माण सेवाले रु १२ लाखमा ठेक्का सम्झौता गरेको थियो । यस्तै, स्थानीय निलगिरी आधारभूत विद्यालयको भवन क्षेत्र संरक्षणका लागि पनि प्रक्रिया अगाडि बढाउनुपर्ने स्थानीयवासी प्रेमबहादुर तिलिजाले बताए ।

मुस्ताङ जाने वैकल्पिक पदमार्ग र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा पर्ने घराप गाउँमा २५ घरपरिवारको बसोबास छ । सुन्तलाको बगैँचा रहेको घरापमा नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्र कार्यालय र निलगिरी आधारभूत विद्यालय अवस्थित छ ।

संविधान प्राप्तिको ११ वर्ष: सीमान्तकृत समुदायको पहुँच बढ्यो

झापा । झापाको भद्रपुर नगरपालिका–७ का ७३ वर्षीय राजवंशी समुदायका अगुवा फूलसिंह राजवंशीलाई संविधान जारी भएपछि आफ्नो समुदायमा केही सकारात्मक परिवर्तन भएको महसुस हुन्छ । राज्यका विभिन्न तहमा आफ्नै समुदायका मानिस जनप्रतिनिधिका रूपमा पुग्नु र आफ्ना कुरा राख्ने अवसर बढ्नु उनका लागि महत्त्वपूर्ण परिवर्तन हो ।

शिक्षा, रोजगारी र आर्थिक अवस्थालाई हेर्दा संविधानले दिएको अधिकार अझै पूर्ण रूपमा समुदायका घरघरमा पुग्न नसकेको उनको अनुभव छ । “पहिले हाम्रो कुरा सुन्ने मान्छे कम थिए । अहिले स्थानीय सरकारमा आफ्नै समुदायका मानिस प्रतिनिधि छन्, आफ्ना कुरा राख्न पाएका छौँ”, उनले भने, “तर हाम्रा छोराछोरीको शिक्षा, रोजगारी र आर्थिक अवस्था हेर्दा संविधानले दिएको अधिकार अझै घरघरमा पुगेको छैन ।”

संविधान जारी भएको ११ वर्ष पूरा हुँदै गर्दा झापाका राजवंशी, सन्थाल, मेचेलगायतका सीमान्तकृत समुदायका अगुवाले राज्यका निकायमा प्रतिनिधित्व र पहुँच बढेको अनुभव गरे पनि शिक्षा, रोजगारी तथा भाषा–संस्कृति संरक्षणका क्षेत्रमा अझै अपेक्षित परिवर्तन हुन बाँकी रहेको बताएका छन् ।

नेपालको संविधानले सामाजिक न्याय, समानुपातिक, समावेशीकरण तथा भाषिक र सांस्कृतिक अधिकारलाई संवैधानिक आधार दिएको छ । सङ्घीय संरचनाअन्तर्गत स्थानीय तहलाई आफ्नो अधिकार क्षेत्रभित्र कानुन निर्माण तथा सेवा प्रवाह गर्ने अधिकार दिइएको छ ।

राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्षसमेत रहेका फूलसिंह संविधानले मातृभाषा, मौलिक अधिकार, सामाजिक न्याय र समावेशी प्रतिनिधित्वका लागि महत्त्वपूर्ण आधार तयार गरेको बताउनुहुन्छ । संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा अझै कमी रहेको उनको भनाइ छ ।

“संविधानले सबै मातृभाषालाई राष्ट्रिय भाषाका रूपमा मान्यता दिएको छ । पर्याप्त मौलिक अधिकार दिएको छ र विभिन्न संवैधानिक आयोगको व्यवस्था गरेको छ”, उनले भने, “समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । तर सरकारले यसको अक्षरशः पालना गर्न सकेको छैन । हामी आफैँ पनि संविधानले दिएका अधिकार कार्यान्वयन गराउने निकायलाई झकझक्याउन पर्याप्त रूपमा एकजुट हुनसकेका छैनौँ ।”

नेपाल सन्थाल आदिवासी उत्थान सङ्घ झापाका अध्यक्ष लखन हेमरमले संविधानपछि स्थानीय सरकारबाट प्रदान हुने सेवा र कार्यक्रममा आफ्नो समुदायको पहुँच पहिलेको तुलनामा बढेको अनुभव गर्नुभएको छ । “पहिले सरकारी कार्यालयमा जाने, आफ्नो कुरा राख्ने अवस्था थिएन”, उनले भने, “अहिले गाउँमै सरकार छ, कार्यक्रम आउँछन्, हामी पनि सहभागी हुन पाएका छौँ ।”

सन्थाल समुदायका युवाको रोजगारी र शिक्षालाई लिएर उहाँको पनि मुख्य चिन्ता छ । आफ्नै मातृभाषामा पठनपाठनको पर्याप्त व्यवस्था नहुनु तथा सीप र रोजगारीका कार्यक्रम समुदायका बस्तीमा पुग्न नसक्नु चुनौती रहेको उनी बताउँछन् ।

“हाम्रा युवाले पढेर पनि काम पाउने अवस्था छैन । हाम्रो आफ्नै भाषामा पठनपाठनको व्यवस्था हुन सकेको छैन”, उनले भने, “भाषा र संस्कृतिको संरक्षण गर्ने संवैधानिक प्रतिबद्धता भए पनि स्थानीय तथा प्रदेश सरकारले सोहीअनुसार नीति र कार्यक्रम अघि बढाउन नसक्दा हाम्रो संस्कृति लोप भएर जाने हो कि भन्ने चिन्ता छ ।”

हल्दीबारी गाउँपालिका–३ का मेचे समुदायका अगुवा ६० वर्षीय सुरेन मेचे संविधानपछि आफ्नो समुदायले पहिचान र अधिकारका विषयमा खुलेर बोल्न सक्ने वातावरण बनेको बताउनुहुन्छ । उहाँका अनुसार राज्यबाट प्राप्त केही लक्षित कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको छ । “संविधानले हाम्रो पहिचान र अधिकारको कुरा गरेको छ, त्यो सकारात्मक हो”, उनले भने, “हाम्रो भाषा नयाँ पुस्ताले बोल्न छाड्दै गएको छ । संस्कृति संरक्षणका लागि स्थानीय सरकारले अझै धेरै काम गर्नुपर्छ ।”

राज्यबाट मेचे समुदायका लागि उपलब्ध हुँदै आएको प्रोत्साहन तथा सहयोग, निःशुल्क पठनपाठनको व्यवस्था र समुदायबाट निर्वाचित जनप्रतिनिधिको उपस्थितिलाई उनले उपलब्धिका रूपमा लिनुभएको छ । “भत्ताको व्यवस्था छ, निःशुल्क पठनपाठनको व्यवस्था छ, आफ्नै समुदायका जनप्रतिनिधि छन् । यसलाई ठुलो उपलब्धि मान्नुपर्छ”, उनले भने ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमा आदिवासी समुदायको सहभागिता बढ्नु संविधानपछि देखिएको महत्त्वपूर्ण परिवर्तनमध्ये एक भएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष कमलप्रसाद राजवंशी बताउँछन् । गौरीगञ्ज गाउँपालिका–६ निवासी राजवंशीका अनुसार विगतमा राज्यका निकायमा आफ्नो समुदायको प्रतिनिधित्व खोज्नुपर्ने अवस्था थियो । अहिले स्थानीय तहका निर्णय प्रक्रियामा आफूहरूको समुदायका प्रतिनिधि पुग्ने अवस्था बनेको छ ।

“प्रतिनिधित्व हुनु मात्रै पर्याप्त रहेनछ”, उनले भने, “प्रतिनिधित्वसँगै शिक्षा, रोजगारी र आर्थिक अवसर पनि चाहिन्छ ।” उनका अनुसार गौरीगन्ज गाउँपालिकाका तीन वटा आधारभूत विद्यालयमा विगत तीन महिनादेखि राजवंशी भाषामा स्थानीय पाठ्यपुस्तक निर्माण गरी नियमित पठनपाठन भइरहेको छ । “यो सबै संविधानको देन हो”, उनले भने ।

गौरीगन्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी संविधानपछि देखिएको महत्त्वपूर्ण परिवर्तनमध्ये स्थानीय तहको नेतृत्व र निर्णय प्रक्रियामा सीमान्तकृत समुदायको सहभागिता बढ्नु हो । उनी स्वयं राजवंशी समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि भएकाले समुदायका समस्या र आवश्यकतालाई स्थानीय नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने जिम्मेवारी रहेको बताउँछन् ।

“संविधानले अधिकार र प्रतिनिधित्वको बाटो खोलेको छ । सोहीअनुरूप निर्वाचित भएपछि लक्षित वर्ग समुदायको आवश्यकता पहिचान गरी नीति तथा कार्यक्रम बनाउँदै आएका छौँ”, उनले भने, “शिक्षा, मातृभाषा तथा संस्कृति संरक्षण, सीप विकास र रोजगारीका अवसर सृजना गर्न स्थानीय तहबाट गर्न सकिने कामलाई प्राथमिकतामा राखेका छौँ ।”

सन्थाल समुदायका युवा मङ्गलका लागि पनि संविधानको महत्त्वपूर्ण उपलब्धि आफ्नो समुदायले अधिकारका विषयमा बोल्न र प्रश्न गर्न सक्ने वातावरण बन्नु हो । “पहिले अधिकार के हो भन्ने धेरैलाई थाहा थिएन”, उनले भने, “अहिले हाम्रा युवाले आफ्नो अधिकारका बारेमा प्रश्न गर्न थालेका छन् । यो परिवर्तन हो ।”

संविधानले सुनिश्चित गरेको अधिकार र त्यसको वास्तविक कार्यान्वयनबिच अझै दूरी रहेको उनको अनुभव छ । “कागजमा अधिकार लेखिएको छ । अब त्यो अधिकार हाम्रो बस्तीमा वास्तविक रूपमा अनुभूति हुने गरी देखिनुपर्छ”, उनले भने ।

साहित्यकार तथा नागरिक अगुवा देवेन्द्रकिशोर ढुङ्गानाका अनुसार संविधानले सीमान्तकृत समुदायलाई अधिकार र राज्यका निकायमा सहभागिताको आधार दिए पनि अबको चुनौती ती अधिकारलाई संस्थागत गर्दै दीर्घकालीन सामाजिक परिवर्तनमा रूपान्तरण गर्नु हो ।

“संविधानले बाटो देखाएको छ, त्यसलाई व्यवहारमा अघि बढाउने जिम्मेवारी राज्यका सबै तह र स्वयं समुदायको पनि हो”, उनले भने, “अधिकारको जानकारी, अवसरमा समान पहुँच र आफ्नो पहिचानप्रतिको आत्मविश्वास बढ्दै गए मात्र संविधानले परिकल्पना गरेको समावेशी समाजको आधार बलियो हुन्छ ।”

जनमत पार्टीको केन्द्रीय सचिवमा चर्चित संगीतकार सन्तोष राज सहनीले उम्मेदवारी दिने

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सन्तोष राज सहनीले पार्टीको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।आगामी असोज १० गते बिरगंजमा हुने जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा सहनीले केन्द्रीय सचिव पदमा चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन्।

पार्टीको आन्तरिक तयारी र नेताहरूसँगको छलफलपछि उनले सचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको बताइएको छ।सहनी हाल जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यका साथै सांस्कृतिक जनमत संघका केन्द्रीय संयोजक समेत हुन्।

पार्टी अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनलाई सांस्कृतिक जनमत संघको केन्द्रीय संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो।सांस्कृतिक गतिविधिमार्फत पार्टीको विचार, नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले गठन गरिएको संघको नेतृत्व गर्दै सहनीले सांस्कृतिक क्षेत्रसँगै राजनीतिक गतिविधिमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

राजनीतिसँगै सहनी नेपाली तथा भोजपुरी संगीत क्षेत्रमा पनि परिचित छन्। उनी नेपाली, हिन्दी र भोजपुरी संगीतकार, गीतकार तथा गायकसमेत हुन्।कलाकारिता पेसासँगै राजनीतिमा सक्रिय रहँदै आएका सहनीले लामो समयदेखि पार्टीको संगठन निर्माण, राजनीतिक गतिविधि तथा विभिन्न अभियानमा काम गर्दै आएका छन्।

सहनीले पार्टीमा युवाहरूको साथ र व्यापक समर्थन रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। पार्टीभित्र आफ्नो बलियो पकड रहेको उल्लेख गर्दै उनले सचिव पदको निर्वाचनमा आफू विजयी हुनेमा ढुक्क रहेको बताएका छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन असोज १० गते हुने तय भएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछ।सोही क्रममा केन्द्रीय सचिव पदका लागि पनि निर्वाचन हुने भएकाले सहनीको उम्मेदवारीलाई पार्टीभित्रको आगामी नेतृत्व चयनसँग जोडेर हेरिएको छ।

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे। उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहेका थिए ।

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ र आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

त्यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ३८ पैसा बिक्रीदर ४०७ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ ।

काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन् । त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उनको अवस्था अज्ञात छ ।

छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा, नुवाकोट पुग्नुभयो । बाढीले पुर्‍याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले आशा भने मारेको थिएन । घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर तथा सूचना प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो । पोखराको तुलसीघाटमा सृष्टिको कुशको शवको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिए ।

“बाढी आउनुअघि भदौ ९ गते साँझ मात्र सृष्टि नुवाकोट पुगेकी रहिछन् । बिहान परिवारसँग कुराकानी भएको रहेछ । त्यसपछि कुनै जानकारी प्राप्त भएन”, गौतमले भने, “विनाशकारी बाढीपछि कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ । तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो ।”

देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको यात्रा अधूरै रहेको छ । अध्ययन पूरा गरेर देश निर्माणमा योगदान दिने उमेरमै बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए ।

“होनहार छोरी, परिवारको आशा र देशको सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ”, बरालले भने । त्यसैगरी भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेको छ ।

टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि नै सम्पर्कविहीन छन् । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताए ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बाढीमा बेपत्ता आफन्तको खोजीका लागि परिवारले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि कुनै जानकारी नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका हुन् ।

बेपत्ता फर्कने आस मरेपछि अन्तिम संस्कार

यसैबिच भोटेकोशी बाढीमा परी गत भदौ १० गतेदेखि बेपत्ता बेँसीसहर नगरपालिका–११ का झपटबहादुर घर्ती र राधिका घर्तीको आज कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

बाढीपछि सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरिएको भतिज विशाल घर्तीले बताउनुभयो । “खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ । अब उपाय बाँकी रहेन । काजकिरिया सुरु गरेका हौँ”, उनले भने ।

बेँसीसहर–११ का ४५ वर्षीय झपटबहादुर र उनकी श्रीमती ४३ वर्षीया राधिका रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । गत भदौ १० गतेको बाढीपछि दुवै जना सम्पर्कविहीन हुनुभएको थियो । त्यसयता परिवार तथा सम्बन्धित निकायले सम्भावित स्थानमा खोजी गरे पनि उनीहरूको शव फेला पर्न सकेको छैन ।

यस्तै, सोही बाढीमा बेपत्ता मस्र्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन । उनको पनि संस्कारअनुसार काजकिरिया सम्पन्न भइसकेको छ । भण्डारी सबइन्जिनियरका रूपमा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जनाको पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

लैजान लागिएका दुई किशोरीको उद्धार, दुई पक्राउ

बाँके । बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

उक्त नाकामा किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगन्जबाट भारततर्फ जाँदै गरेको अटोरिक्सामा दुई किशोरीलाई सशस्त्र प्रहरीले फेलापारेको थियो ।

उद्धार गरिएका दुवै किशोरी बर्दियाका रहेको सशस्त्र प्रहरी बल नं ३० गणले जानकारी दिएको छ । पक्राउ पर्नेमा नरैनापुरका हनुमान यादव, भारतको उत्तर प्रदेश श्रावस्तीका हनुमानप्रसाद महन्त छन् ।

उद्धार गरिएका दुवै किशोरीलाई आजै परिवारको जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृह नेपालगन्जकी प्रमुख सम्झना चदराले जानकारी दिनुभयो । उहाँले उद्धार गरिएका किशोरीका केही साथी अझै पनि भारतमा रहेको उल्लेख गर्दै विशेष सूचनाका आधारमा प्रहरीलाई खबर गरिएको बताउनुभयो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको छ ।

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएको छन् । पाँचौँ पटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् ।

यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए । विगतमा जात्रा नियमित हुन सकेको थिएन ।

विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः जात्रा सुरु भएको थियो । त्यसयता उहाँले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए । उनले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् ।

विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुनः जात्रालाई निरन्तरता दिएका थिए । मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएका थिए ।

आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब छ लाख बढी खर्च हुने गरेको छ । नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयको खर्च हुने गरेको छ । मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौँ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो । त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ । पशुपतिनाथसम्मको यात्रा गर्दै पुनः बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ । उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।

घटनामा दोषी देखिएकालाई कारबाही हुन्छ: मन्त्री यादव

सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बिहीबार गृहजिल्ला राजविराज आएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर अस्पतालमा भएको घटनाबारे जानकारी लिनुका साथै आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उक्त घटनाबारे जानकारी प्राप्त भए लगत्तै दोषी देखिएकामाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको मन्त्री यादवले बताए । गत बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३० वर्षीया बबिता पासवान सुत्केरी हुन अस्पताल पुगेकी थिइन् ।

आवश्यक रकमको जोहो गर्न नसकेपछि बबिताले सडकको पेटीमा छोरालाई जन्म दिएकी थिइन् । उक्त दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको सभ्यतामाथि नै खतरा रहेको तथ्य संयुक्त राष्ट्रसङ्घमार्फत विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।

बिहीबार साँझ परराष्ट्र मन्त्रालयमा पत्रकारहरूसँग अनौपचारिक अन्तक्र्रियाका क्रममा उनले भने, “जलवायु परिवर्तनबाट नेपाल र हामीजस्ता हिमाली देशहरू जोखिममा छन् । भोटेकोशीमा आएको हिमाली सुनामीबाट यो प्रमाणित भएको छ । यो तथ्यलाई हामी राष्ट्रसङ्घको आगामी महासभामा उठाउँछौँ ।”

मन्त्री खनालले भोटेकोशी बाढीको प्रकृति जलवायु परिवर्तनको असरबाहेक अरू केही हुन नसक्ने भन्दै यस प्रकारका प्रलयबाट नेपाल मात्र नभई सिङ्गो हिमाली सभ्यता नै खतराको सूचीमा रहेको प्रामाणिक आधार महासभामा प्रस्तुत गरिने बताए ।

उनले भने, “आगामी महासभामा हाम्रो प्रमुख एजेन्डा नै जलवायु न्याय हो । हामी जलवायु परिवर्तनका कारण पीडित छौँ भन्ने वैज्ञानिक एवं प्रामाणिक तथ्यसहित प्रस्तुत हुन्छौँ र यही वास्तविकता विश्व समुदायसमक्ष राख्नेछौँ ।”

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्नुहुनेछ । नेपाललाई नखाएको विष कसरी लागिरहेको छ र हामी दिनप्रतिदिन जलवायु परिवर्तनको सिकार के–कसरी भइरहेका छौँ भन्ने तथ्य उनले प्रस्तुत गर्ने जानकारी पनि मन्त्री खनालले दिए ।

नेपालले विगत लामो समयदेखि राष्ट्रसङ्घसहित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल जलवायु न्यायको भागिदार रहेको दलिल पेस गर्दै आएको उल्लेख गर्दै मन्त्री खनालले आगामी दिनमा जलवायु कूटनीतिका माध्यमबाट यसलाई संस्थागत गर्ने र नेपालभित्र पनि अन्तरसरकारी संयन्त्रमार्फत जलवायु कूटनीतिको क्षेत्रलाई बलियो बनाइने उल्लेख गरे ।

मन्त्री खनालले जलवायु परिवर्तनको असरबाट जोखिममा परेका साना तथा टापु एवं पहाडी राष्ट्रहरूको साझा गठबन्धन बनाएर त्यसको नेतृत्व गर्दै नेपालले जलवायु कूटनीतिको वकालत गर्ने स्पष्ट पारे ।

उनले भने, “पहिले–पहिले साना, टापु तथा पहाडी राष्ट्रहरू जलवायु परिवर्तनबाट समुद्री देशहरूमात्र प्रभावित हुन्छन् भन्ने सोचमा थिए । तर अहिले जलवायु परिवर्तनको असर केवल समुद्री सतह बढ्ने मात्र नभएर हामीजस्ता देशमा नै बढी देखिएकाले यस प्रकारको गठबन्धनका साथ अगुवाइ एवं कूटनीतिक पहल गर्न जरुरी देखिएको छ ।”

आफू महासभामा सहभागी हुने क्रममा कैयौँ ‘साइडलाइन’ भेटघाटमा व्यस्त रहने र त्यस क्रममा भोटेकोशी बाढीका कारण भएको क्षतिका बारेमा जानकारी गराएर सहयोग र पुनर्निर्माणका लागि आग्रह गर्ने जानकारी मन्त्री खनालले दिए ।

नेपालजस्ता देशले अब ऋणको बोझ धेरै बोक्न नसक्ने स्पष्ट गर्दै विश्व समुदायसमक्ष सहयोगका लागि अपिल गर्ने उनको भनाइ थियो ।

त्यस क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालले यसपटक जलवायु न्यायका पक्षमा विश्व समुदायसमक्ष वकालत गर्ने जानकारी दिए । सो सम्बन्धमा नेपालले एक अलग्गै उच्चस्तरीय कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जलवायु परिवर्तनको जोखिम दिनप्रतिदिन बढ्दै गएकाले नेपालले जलवायु कूटनीतिलाई कूटनीतिको नयाँ आयामका रूपमा विश्वव्यापी रूपमा विस्तार गर्दै लैजाने बताए ।

राष्ट्रसङ्घको आसन्न ८१औँ महासभाका लागि प्रधानमन्त्री शाह यही सेप्टेम्बर २२ मा न्युयोर्क प्रस्थान गर्ने र २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी २६ सेप्टेम्बरमा स्वदेश फर्कनुहुनेछ ।

त्यसैगरी, परराष्ट्रमन्त्री खनाल यही सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्ने र ३० मा स्वदेश फर्किने कार्यक्रम छ ।

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल (होल्डिङ सेन्टर)मा बस्दै आएका यहाँका प्रभावित क्रमशः होल्डिङ सेन्टर छाडेर क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन् ।

गत भदौ १० गते आएको विनासकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो । होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन् ।

बाढी आएलगत्तै सरकारले उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने कामलाई प्राथमिकता दिएको थियो । त्यसपछि खोज तथा उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टर व्यवस्थापनमा जोड दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत भदौ १२ गते जिल्लाका १२ स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकामा आठ स्थानमा एक हजार २९० जना प्रभावितलाई राखिएको थियो । गत भदौ २२ गतेसम्म आइपुग्दा होल्डिङ सेन्टरको सङ्ख्या र बसोबास गर्नेको सङ्ख्या सबैभन्दा धेरै भएको थियो । त्यस दिन उक्त सेन्टरको सङ्ख्या २८ पुगेको र त्यहाँ बस्नेत प्रभावितको सङ्ख्या दुई हजार ६३७ पुगेको थियो ।

पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्ने प्रभावितको सङ्ख्या क्रमशः घट्दै गएको छ । बिहीबारसम्म आइपुग्दा जिल्लामा होल्डिङ सेन्टरको सङ्ख्या घटेर १६ मा झरेको छ । त्यहाँ बसोबास गर्नेको सङ्ख्या ८३२ जना रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार होल्डिङ सेन्टर छाडेर प्रभावित अस्थायी बसोबासको बन्दोबस्तमा जुट्न थालेका छन् । बाढीले प्रभावित भए लगत्तै हेलिकप्टरलगायतका माध्यमबाट उद्धार गरेर राखिएकालाई खानपानसहितको बसोबास उपलब्ध गराई सहजीकरण गरिएको थियो । हराइरहेका आफन्तको खोजी जारी छ । बेपत्ता भएकाहरु नभेटिएपछि अन्तिम संस्कारका लागि पनि मानिसहरु जान थालेका छन् । सो क्रमसँगै क्रमशः सङ्ख्या घट्दै गएको प्रजिअ रेग्मीको भनाइ छ ।

होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ । जिल्लामा सबैभन्दा धेरै प्रभावित रहेको विदुर नगरपालिकाले कोठा भाडाबापत मासिक रु १० हजार उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार होल्डिङ सेन्टर छाडेर कोठामा बस्न जाने प्रभावितलाई खाद्य सामग्री, भाँडाकुँडा, सरसफाइका सामग्रीसहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने नगर कार्यपालिकाको निर्णयपछि कोठामा जानेको सङ्ख्या बढेको हो ।

“बाढी प्रभावित कोठा लिएर बस्न थाल्नुभएको छ । पालिकाले घोषणा गरेको प्याकेज कार्यक्रम लिन आउनेको सङ्ख्या बढ्दो छ”, नगरप्रमुख श्रेष्ठले भने, “सङ्घीय सरकारले पनि प्रतिपरिवार मासिक न्यूनतम रु १५ हजार दिने घोषणा गरेकाले दोहोरोपन नहोस् भनेर भाडाबापतको रकम दिन बाँकी छ ।”

तीनै तहका सरकारले बाढीको जोखिमबाट उद्धार गरिएका प्रभावितलाई राख्न सञ्चालनमा ल्याइएका आश्रयस्थल खाली गर्न सहज होस् भनेर कोठाभाडाबापतको रकमसहित विभिन्न सुविधा घोषणा गरेका छन् । सरकारी घोषणासँगै प्रभावितहरूले पनि होल्डिङ सेन्टरको बसाइ छाडेर अस्थायी बसोबासको प्रबन्ध मिलाउन थालेका छन् । प्रभावितको सहजीकरणका लागि सरकारले उनीहरूको चाहनाअनुसारको रणनीति अपनाएको छ । उपयुक्त स्थानमा कोठा नपाउने वा कोठामा बस्न नसक्ने प्रभावितका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले बाढी प्रभावित क्षेत्रबाट विस्थापित भई होल्डिङ सेन्टरमा बस्दै आएकासँग प्रश्नावलीमार्फत उनीहरूको आवश्यकताबारे जानकारी सङ्कलन गरेको छ । कोठा लिएर बस्न नचाहने वा त्यसरी बस्न नसक्ने परिवारका लागि अस्थायी आवास निर्माण गर्ने तयारी गरिएको छ ।

आयोजना प्रमुख शशेन्द्र घिमिरेका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका होल्डिङ सेन्टरमा बसोबास गर्ने दुई हजार २७ परिवारसँग प्रश्नावली भरेर विवरण लिइएको छ । त्यसमध्ये करिब ३१ प्रतिशतले सरकारले निर्माण गर्ने अस्थायी आवासमा बस्न चाहेको बताएका छन् । “सरकारले नै अस्थायी आवास निर्माण गरिदिए सहज हुने बताउनेमा अधिकांश रसुवाका प्रभावित छन्”, आयोजना प्रमुख घिमिरेले भने ।

भोटेकोशी बाढीपछि सुरक्षित स्थानको खोजीमा विस्थापित भएका अधिकांश प्रभावित नुवाकोटमा बसोबास गरिरहेका छन् । उनीहरूसँग आफ्नै नाममा सुरक्षित जग्गा नभएकाले सरकारले अस्थायी संरचना निर्माण गरिदिए बसोबास गर्न सहज हुने बताउँदै आएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब रु २३ करोड थपिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा बुधबारको तुलनामा आज रु २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो ।

कोषमा आज साँझसम्म विभिन्न नौवटा बैंकमा मौज्दात रकम रु १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ ।

कार्यालयका अनुसार सबै खातामा गरी रु १४ अर्ब ५६ करोड ३८ लाख सात हजार ५५६ जम्मा मौज्दात छ ।

कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा भइसकेको छ ।

सरकारले हालै रसुवाका बाढीप्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक रु १५ हजार र थप प्रत्येक सदस्यका लागि रु दुई हजार अतिरिक्त उपलब्ध गराइने छ ।

श्रीलङ्काका कप्तान असलङ्काले नेपाल प्रिमियर लिग खेल्ने

काठमाडौँ। श्रीलङ्काको टी–२० क्रिकेट टोलीका कप्तान चरिथ असलङ्काले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत असलङ्कालाई आगामी ‘सिजन’ का लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो । २९ वर्षीय असलङ्काले श्रीलङ्काका लागि ७७ टी–२० अन्तरराष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन् । बलिङतर्फ उनले सात विकेट लिएका छन् ।

फ्रेन्चाइज क्रिकेटमा पनि उनले अनुभव हासिल गरिसकेका छन् । असलङ्काले हालसम्म १८५ टी–२० खेल खेल्दा तीन हजार ७१५ रन बनाउनाका साथै ३७ विकेट लिएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र इन्टरनेसनल लिग टी–२० लगायत चर्चित फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका छन् ।

अब असलङ्का एनपिएलमा पनि देखिने छन् । एनपिएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुने तालिका छ ।

बराहक्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन्।

बिहीबार बृहत्तर बराहक्षेत्र विकास समिति चतरा कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै उनले बराहक्षेत्र क्षेत्रलाई धार्मिक तथा पर्यटन सर्किटका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भने, “बराहक्षेत्रको धार्मिक महत्वलाई पर्यटनसँग जोडेर पूर्वाधार विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ।” धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बराहक्षेत्रको समग्र विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले बराहक्षेत्रमा आयोजना हुँदै आएको कुम्भ मेलासहित यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सके आर्थिक गतिविधि बढ्नाका साथै स्थानीयस्तरमा रोजगारीका अवसर पनि सिर्जना हुने बताए। यहाँको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई संरक्षण गर्दै योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

त्रिवि शिक्षण अस्पतालमा आठ घाइतेको उपचार हुँदै

काठमाडौँ। भोटेकोशी नदीमा गएको बाढीमा परेर घाइते भएकामध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ७० घाइते घर फर्किएका छन् ।

शिक्षण अस्पतालका प्रवक्ता एवम् वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाइँले अस्पतालमा उपचारका लागि ल्याएका ८४ घाइतेमध्ये आज साँझसम्म ७० घाइते घर फर्किएको राससलाई जानकारी दिनुभयो ।

यस्तै, अस्पतालमा ल्याएका घाइतेमध्ये आठ जनाको उपचार भइरहेको छ । डा सेढाइँका अनुसार हाल मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, चण्डिका श्रेष्ठ र सलिना भुजेलको उपचार भइरहेको छ ।

यस्तै, चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाइँले बताउनुभयो । अस्पतालमा ल्याएका एक घाइतेको भने उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

चितवन। पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएपछि नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा आंशिक रूपमा बन्द गरिएकामा केही दिनका लागि लागि पूर्ण रूपमा सञ्चालनमा रहने भएको छ ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी एवं इञ्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार तुइनखोलामा स्लोप स्टाबिलाइजेसन (सडकको भीर स्थिरीकरण)को काम भइरहेकाले गत भदौ २२ गतेदेखि उक्त क्षेत्रमा सवारी आवागमन आंशिक रूपमा सञ्चालन गरिएको थियो । कृष्णभीरको सडक खुलेसँगै तराईबाट काठमाडौँ प्रवेश गर्ने मुख्य लाइफलाइन मार्गमा यातायात सहज बनाउन केही दिनका लागि तुइनखोलाको काम रोकिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार लामो समयदेखि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा राजधानीतर्फ जाने सवारीसाधन प्रभावित भएका थिए । कृष्णभीर सञ्चालनमा आएपछि नारायणगढ-मुग्लिन सडकखण्डमा थप अवरोध नहोस् र सवारी आवागमन सहज होस् भन्ने उद्देश्यले तुइनखोलामा भइरहेको काम अस्थायी रूपमा रोकिएको उहाँले जानकारी दिनुभयो ।

इञ्जिनियर आचार्यले भन्नुभयो, “लामो समयसम्म काठमाडौँ जाने सवारीसाधन यहाँबाट पाएका छैनन् । नारायणगढ-मुग्लिन सडकखण्डमा पनि अवरोध हुँदा थप समस्या नहोस् भनेर केही दिनका लागि काम रोकेर सडक पूर्ण रूपमा सञ्चालनमा सहज बनाइएको हो ।” उहाँले यातायात सहज भएपछि पुनः तुइनखोलामा पहिरो व्यवस्थापनको काम सुरु गरिने बताउनुभयो ।

तुइनखोलामा स्लोप स्टाबिलाइजेसनको काम भइरहेकाले यसअघि बिहान ८ः३० बजेदेखि बेलुकी ६ः०० बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गर्ने व्यवस्था गरिएको थियो । बेलुकी ६ः०० देखि बिहान ८ः०० बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन हुँदै आएका थिए ।

गत वर्षदेखि तुइनखोलामा वर्षायाम मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिन थालेपछि सडक डिभिजन भरतपुरले यसको दीर्घकालीन समाधानका लागि विशेष प्रविधि अपनाएर काम अघि बढाएको छ ।

यसअन्तर्गत भीरको स्लोप मिलाउने, ‘नेलिङ’ प्रविधि प्रयोग गर्ने, रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ निर्माण गर्ने तथा बायोइन्जिनियरिङ प्रविधि अपनाउने योजना रहेको कार्यालयले जनाएको छ । हाल तुइनखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ ।

९२ जनामा डेङ्गु सङ्क्रमण

चितवन। जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ८८६ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चितवनका ७८ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका छन् । जिल्लामा सबैभन्दा बढी सङ्क्रमण रत्ननगर नगरपालिकामा ३० जना डेङ्गुका सङ्क्रमित रहेका जनाउँदै उहाँले सबैभन्दा कम कालिका नगरपालिकामा दुई जना भेटिएका बताउनुभयो ।

यो रोग बढी सहरी क्षेत्रमा देखिएको बताउँदै केसीले सहरी क्षेत्रमा बढी मात्रामा पानी जम्ने ठाउँ हुने भएकाले सङ्क्रमित सङ्ख्या धेरै हुने गरेको उल्लेख गर्नुभयो । डेङ्गुबाट बच्नका लागि झूल टाँगेर सुत्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जमेका भाँडाहरुको पानी फाल्ने, बिहानबेलुका बारीमा काम गर्दा लामबाउले लुगा लगाउने गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

किट नियन्त्रक केसीका अनुसार जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये १९१ जनामा स्क्रफ्ट टाइफसको सङ्क्रमण देखिएको छ । एक हजार १४ जनाको नमूना परीक्षणका क्रममा १९१ जनामा यो रोग देखिएको हो । तीमध्ये ११८ जना चितवनका हुन् ।

यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यस रोगबाट बच्नका लागि झाडीमा जाँदा लामो लुगा लगाउने साँझ बिहान चौरमा बस्दा सुरक्षित भएर बस्ने लगायतका कामहरु गर्नुपर्ने उहाँले बताउनुभयो ।

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त निर्देशिकाको प्रावधानअनुरुप सीप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका लागि श्रममन्त्रीको संयोजकत्वमा आज बैठक बसेको हो ।

निर्देशन तथा समन्वय समितिको बैठकमा यही असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गरिने निर्णय गरेको छ । यस किसिमको मेलालाई क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन गर्ने गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउने मन्त्रालयको उद्देश्य छ ।

तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घ/महासङ्घ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको समन्वय र सहकार्यमा मेला सञ्चालन हुने भएकाले सीप, रोजगारी, उद्यमशीलता, स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर अभिवृद्धि गर्ने सबै सरोकारवालाहरूलाई सहभागिताका लागि पनि मन्त्रालयले आह्वान गरेको छ ।

बैठकपछि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउनुपर्नेमा जोड दिँदै नेपालमा रोजगारी गर्न तथा उद्यमी बन्न सकिन्छ भन्ने अनुभूतिसहित सकारात्मक सन्देश दिन सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने बताउनुभयो ।

मन्त्री यादवले आन्तरिक रोजगारी दशकलाई सफल बनाउन सरकार र निजी क्षेत्रसहित सबै सरोकार भएका निकायले सहकार्य गरी सीप र रोजगारीको एक बलियो प्रणाली (इकोसिस्टम) निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यस प्रणाली निर्माणमा यो सीप तथा रोजगार मेला कोसेढुङ्गा बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौँ। भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता छन् ।

पर्यटन विभागले दिएको जानकारीअनुसार गत भदौ १० गतेको बाढीमा परेर आजसम्म ३६ देशका ६०६ विदेशी पर्यटक बेपत्ता भएका हुन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएकामध्ये अझै ६०६ विदेशी पर्यटक बेपत्ता भएका राससलाई जानकारी दिनुभयो । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका छन् ।

विभागले दिएको जानकारीअनुसार भारतका १८९, अष्ट्रेलियाका ३३, क्यानडाका ३०, मलेसियाका ५५, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, लाटभियाका ३३, चीनका ३७ जना छन् ।

त्यस्तै, बेलारुस। फिनल्याण्ड, फ्रान्स, जर्मनी हङ्गेरी, आइरिस, इजरायल, लिथ्वानिया, नेदरल्याण्ड, न्युजरल्याण्ड, पोर्चुगल, रसिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, जापान, फिलिपिन्स, काजकिस्तान, बेल्जियम, स्विडेन, स्विजरल्याण्ड, इटली, भियतनाम, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता भएका छन् ।

उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका छन् । विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेका विभागका सूचना अधिकारी घिमिरेले बताउनुभयो । उहाँका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ ।

यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना (तीन पुरुष, नौ महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन् ।

अमेरिकाप्रति इरानको अविश्वास कायमै

इरानका एक उच्च सुरक्षा अधिकारीले अमेरिकाप्रति तेहरानको गहिरो अविश्वास रहेको दोहोर्‍याउँदै वासिङ्टनले व्यावहारिक कदम चालेर विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रका प्याट्रियोटिक युनियन अफ कुर्दिस्तानका नेता बाफेल जलाल तालाबानीसँगको भेटमा बुधबार यस्तो बताउनुभएको हो ।

“हामी कुनै पनि हालतमा अमेरिकालाई विश्वास गर्दैनौँ । उनीहरूले व्यावहारिक कदम चाल्नुपर्छ र हाम्रो विश्वास जित्नुपर्छ,” रेजाईले भन्नुभयो ।

उहाँले इरान र इराकी कुर्दिस्तान क्षेत्रबीचको सीमामा सुरक्षा सुनिश्चित गर्न तथा कुर्दिस्तान क्षेत्रमा सक्रिय इरानविरोधी समूहको सामना गर्नुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले उक्त क्षेत्रमा इजरायलको गतिविधिप्रति पनि चेतावनी दिनुभयो ।

यसअघि बुधबार नै इरानका राष्ट्रपति मसुद पेजेस्कियानले तालाबानीसँगको भेटमा पश्चिम एसियामा कलह र द्वन्द्व निम्त्याउने विदेशी प्रयासप्रति सचेत रहनुपर्ने बताउनुभएको थियो । राष्ट्रपतिको कार्यालयको ‘वेबसाइट’मा प्रकाशित विज्ञप्तिअनुसार उहाँले क्षेत्रीय सहयोग र संवादमार्फत अस्थिरता तथा मतभेदका कारण हटाउनुपर्नेमा जोड दिनुभयो ।

पेजेस्कियानले छिमेकी मुलुकसँगका विद्यमान समस्या संवाद र सहकार्यबाट समाधान गर्न इरान तयार रहेको बताउनुभयो । साथै, सबै पक्षले असल छिमेकीपनको सिद्धान्त पालना गर्दै अत्यधिक माग र अनुपयुक्त व्यवहारबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो ।

तस्निमका अनुसार रेजाईसँगको भेटमा तालाबानीले इरान–इराकी कुर्दिस्तान सीमामा सुरक्षा सुनिश्चित गर्न तथा सीमावर्ती क्षेत्रमा रहेका इरानविरोधी समूहसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

इरानी राष्ट्रपतिको कार्यालयका अनुसार तालाबानीले सीमावर्ती क्षेत्रमा सक्रिय क्रान्तिविरोधी समूहलाई उक्त क्षेत्रबाट हटाउन तथा इरानसँगको साझा सीमाको सुरक्षा सुनिश्चित गर्न इराकी कुर्दिस्तान क्षेत्र प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो।

शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उहाँले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन-नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षाफल प्रकाशनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने विश्वास व्यक्त गर्नुभयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

आयोगका अध्यक्ष डा लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताउनुभयो । आयोगको प्रभावकारिता तथा शिक्षक व्यवस्थापन सुधारका लागि नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिनुभयो । छलफलमा मन्त्रीको सचिवालय तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

पहिरिएको सडकभन्दा माथिबाट १२ दिनमै नयाँ ट्र्याक, कृष्णभीरमा दुईतर्फी यातायात सुचारु

काठमाडौँ । गत भदौ १० गतेको बाढीले धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको सडक बगाएपछि अवरुद्ध भएको सडकखण्डमा नयाँ ट्र्याक सञ्चालनमा आएको छ।

पुरानै स्थानबाट सडक निर्माण गर्न कठिन भएपछि इन्जिनियरिङ अध्ययनका आधारमा पहिरिएको सडकभन्दा माथिबाट नयाँ ट्र्याक खोलिएको हो। निर्माण व्यवसायी सहदेव खड्काको नेतृत्वमा सगुन कन्स्ट्रक्सन र भीमेश्वर कन्स्ट्रक्सन परिचालन गरी करिब १२ दिनमै दुई लेनको ट्र्याक निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।

नयाँ ट्र्याक खुलेसँगै कृष्णभीरमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन थालेका छन्। यसैबीच गायक नवीन पौडेलले कठिन भूगोलमा छोटो समयमै सडक निर्माण गरेको भन्दै सहदेव खड्काको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत खड्कालाई ‘राजधानी प्रवेश गर्ने लाइफलाइन कृष्णभीर निर्माणको हिरो’ भन्दै धन्यवाद दिएका छन्।

नयाँ सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आवतजावत गर्ने यात्रुलाई ठूलो राहत भएको छ।