`

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ। भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको छ।

भारतबाट भानु मठ्ठीसहित २४ जनाको टोली मुक्तिनाथ दर्शनका लागि जोमसोम आइपुगेको थियो । मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित होटल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा मठ्ठीलाई लेक लागेर अचानक श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय पर्यटक मठ्ठीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पुर्‍याएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका उनले जानकारी दिए।

योसँगै मुस्ताङमा चालु आवको भदौदेखि हालसम्म पाँच विदेशी पर्यटकसहित आठ जनाको हाइअल्टिच्युडका कारण लेँक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरीको तथ्याङ्कअनुसार भारतीय पर्यटक चार, मेक्सिकोका एक र तीन जना नेपाली पर्यटकको लेँक लागेर मृत्यु भएको हो।

अवरुद्ध भोजपुर-चखेवा सडक एकतर्फी सञ्चालनमा

भाेजपु्र । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासी आएको बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो।

स्थानीय तहको पहलमा वैकल्पिक ट्रयाक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका-५ का वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार तत्कालका लागि आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको हो । अवरुद्ध बनेको करिब २३ घण्टापछि यातायात सञ्चालनमा आएको हो ।

उनले भने, “बाढीले पुल बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । अहिले नयाँ ट्रयाक खोलेर साना सवारीसाधन सञ्चालनमा ल्याएका छौँ । ठुला सवारीसाधन सञ्चालनका लागि भने अझै केही समय लाग्ने छ ।” यो सडकखण्ड स्थानीय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मार्ग हो।

दैनिक उपभोग्य सामग्री ढुवानी, कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउने, बिरामी ओसारपसार तथा विद्यार्थीको आवतजावतका लागि यही सडक मुख्य आधार बनेको छ । सडक अवरूद्ध हुँदा केही समय स्थानीयले सास्ती खेप्नुपरेको थियो।

विशेष गरी बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन, विद्यालय जाने विद्यार्थी तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको थियो । हाल एकतर्फी सञ्चालन सुरु भएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको छ।

मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ मन्दिरको शिरमा भगवान् विष्णुले भोजन गर्ने ठाउँ अनौठो ‘विष्णु चुल्हो’ अवस्थित छ । मुक्तिनाथ मन्दिरबाट उत्तर/पूर्वको मनाङ-मुस्ताङ थोरङ फेदीको केही तल चार हजार १०० मिटरको उचाइमा विष्णु चुल्हो छ ।

पौराणिक कालमा मुक्तिनाथ मन्दिरमाथिको अग्लो विशाल पर्वतमालामा अवस्थित शालिग्राम ढङ्गाजस्तै देखिने विष्णु चुल्होमा भगवान् विष्णुले खाना पकाएर खाने गरेको धार्मिक किवंदन्ती छ । उक्त स्थानमा अरु धेरै ससाना पत्थर रुपी ढुङ्गामा विष्णु चुल्होको आकृतिहरू देख्न सकिन्छ ।

मुक्तिनाथ क्षेत्रको पर्वतमालामा अवस्थित विष्णु चुल्होमा भगवान् विष्णुले तपस्या गर्दा खान पकाएर खाने गरेको धार्मिक जनविश्वास रहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। पौराणिक मान्यताअनुसार उक्त विष्णु चुल्हो रहेको स्थानमा बसेर भगवान् विष्णुले तपस्या गरी बसेको भन्ने जनविश्वास रहेको उनले बताए ।

पौराणिक कालमा विष्णु भगवान् तपस्यामा लीन हुँदा ब्रह्माजीले ‘विष्णु चुल्होमा खीर पकाएर विष्णु भगवान् र अन्य देवीदेवताहरुलाई खुवाएको धार्मिक जनविश्वास रहेको व्यवस्थापक भुसालले बताए। उनका अनुसार ब्रह्माजीले विष्णु भगवानलाई खीर पकाएर भोजन गराएको स्थान ‘विष्णु चुल्हा’ भन्दा केही तल मुक्तिनाथ परिसरको ज्वालामाई रहेको स्थानमा खीर परेको भन्ने भनाइ छ । यसैका कारण ज्वालामाई रहेको माटो सुँघ्दा खिरजस्तो वासना आउने गरेको व्यवस्थापक भुसालले उल्लेख गरे।

भगवान् विष्णु तपस्या गरी बसेको स्थानमा रहेको विष्णु चुल्हो दुरुस्तै कालो शालिग्राम ढुङ्गामा कुदिएको जस्तो आकृतिको छ । विष्णु चल्हो आकार करिब तीन फिट लम्बाइ र एक फिट चौडाइको छ । चुल्होको उचाइ पनि करिब एक फिटभन्दा बढी रहेको व्यवस्थापक भुसालले जानकारी दिए।

“यो चुल्हो भगवान् विष्णुको शक्तिबाट प्राकृतिक रुपमा उत्पत्ति भएको बताइन्छ । विष्णु चुल्हो ढुङ्गामा खानेकुरा पकाउने ठाउँ, अचार पिस्ने ठाउँ, डाडुपन्यु र दाबिलो आदि राख्ने ठाउँलगायतका विभिन्न आकृत अवलोकन गर्न सकिन्छ”, उनले भने।

हिन्दू शास्त्रमा उक्त स्थानमा अवस्थित विष्णु चुल्होलाई भगवान् विष्णुले तपस्या गर्दा खानेकुरा पकाएर खाने गरेको उल्लेख गरिए पनि बौद्ध मार्गीले उक्त कालो ढुङ्गामा रहेको चुल्हो आकृतिको ढुङ्गालाई फरक ढङ्गले अथ्र्याउने गरेका व्यवस्थापक भुसालले उल्लेख गरे।

यहाँका स्थानीय बौद्धमार्गीका अनुसार मुक्तिनाथ मन्दिरको शिरमा रहेको उक्त विष्णु चुल्होलाई स्थानीय भाषामा ‘आमा झ्यातङ धोङ्ब’ भन्ने गरिन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङका अनुसार मुक्तिनाथ पर्वतमालामा अवस्थित विष्णु चुल्होलाई बौद्धमार्गीले ‘आमा झ्यातङ धोङ्बु’ भन्ने गरेका बताए। गुरु पद्यसम्भवअर्थात् गुरु रिन्पोर्छेले ध्यानसाधना गर्ने बेलामा खाना पकाएर खानका लागि उक्त ढुङ्गालाई चुल्होका रूपमा प्रयोग गरेका भन्ने जनविश्वास रहेको उनको भनाइ छ।

सैगरी घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोमबाट तल्लो क्षेत्रका थकाली समुदायले उक्त स्थानको विष्णु चुल्होलाई स्थानीय भाषामा ‘कोदो झ्योदो’ भन्ने गरिएको बताए । “हामी बाल्य अवस्थामा पनि यहाँ आएर चुल्हो हेर्न गरेका थियौँ, साथीभाइलाई पनि ‘कोदो झ्योदो’ जाउँ भन्ने गथ्यौँ”, उनले भने।

हिन्दू तथा बौद्ध धर्मअनुसार फरकफरक धारणा रहेपनि पवित्र मुक्तिनाथ पर्वतमालामा अवस्थित विष्णु चुल्होलाई व्यवस्थित र आवश्यक प्रचारप्रसार गर्न सकिएमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् । बर्सेनि लाखौलाख धार्मिक पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरे पनि उक्त विष्णु चुल्होको बारेमा जानकारी नहुँदा उक्त स्थान गुमनामजस्तै बनेको स्थानीयको गुनासो छ ।

मुक्तिनाथ मन्दिरबाट आधा घण्टाको पैदल दूरीमा सहज पुग्ने सकिने उक्त स्थानको विष्णु चुल्हो रहेको स्थानमा मन्दिर स्थापना गरिएको छ । मन्दिरभित्र रहेको चुल्होमा कहिलेकाही स्थानीयले दर्शन र पूजा गर्ने गरेका छन् । विष्णु चुल्हो रहेको स्थानमा एक जना साँधुले नियमित पूजाअर्चना गर्दछन् ।

इरानसँगको युद्ध अन्त्यका लागि गरिएको प्रयासमा अनपेक्षित विकासक्रम : राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ वैशाख -इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गर्नुभएको छ ।

ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्यक्तिसँग सम्झौता गर्न तयार रहेको बताउँदै भन्नुभयो, “अहिले इरानभित्र ठूलो कलह चलिरहेको छ । इरानी जनता नेतृत्वका लागि आपसमा लडिरहेका छन् । ‘सायद उनीहरू नेता बन्न नपाउनका लागि लडिरहेका छन्, किनकि अमेरिकाले उनीहरूका दुई तहका नेतालाई हटाएको छ ।”

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग भन्नुभयो, “इरानले जति बेला चाहन्छ त्यतिवेला आफूलाई फोन गर्न सक्छ । उहाँले भन्नुभयो, “सबै कार्ड अमेरिकाको हातमा छ र उसले सबै कुरा जितेको छ ।” एक प्रस्तावको हवाला दिँदै ट्रम्पले भन्नुभयो, “इरानले पहिले दिएको प्रस्ताव राम्रो थिएन । “उनीहरूले हामीलाई प्रस्ताव दिए जुन अझ राम्रो हुनुपर्थ्यो र मैले प्रतिनिधिमण्डल पठाउने कुरालाई रद्द गरेँ, तुरुन्तै (१० मिनेट भित्र), हामीले नयाँ प्रस्ताव पायौँ जुन धेरै राम्रो छ,” उहाँले पत्रकारहरूसँग भन्नुभयो ।

यात्रा रोक्नुको अर्थ खुला शत्रुतातर्फ फर्कनु हो कि भन्ने प्रश्नमा ट्रम्पले भन्नुभयो, “होइन, यसको मतलब यो होइन । हामीले अहिलेसम्म यसबारे सोचेका छैनौं ।”

यसैबीच वाशिङ्गटनमा ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट एसोसिएसन’को रात्रिभोजमा आक्रमण प्रयास गर्ने एक बन्दुकधारी पक्राउ परेपछि ट्रम्पले भन्नुभयो, “उहाँलाई यो घटना इरानसँग सम्बन्धित छ जस्तो लाग्दैन र यसले अमेरिकालाई ‘युद्ध जित्न’ बाट रोक्ने छैन।”

धौलागिरि आरोहणमा दुर्घटना : घाइते आरोहीको दुई दिनपछि सकुशल उद्धार

म्याग्दी, १३ वैशाख : म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्दार गरिएको छ ।

आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा मिति २०८३ वैशाख ११ गते शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लीएर करिब चार सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शर्मा गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उद्दार गरेर आज उपचारका लागि काठमाडौँ पठाइएको उद्दारमा संलग्न १४ समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिनुभयो ।

“बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्दारकर्मी परिचालन गरी शनिबार राति मिङ्मालाई आधार शिवर ल्याएका थियौँ,” उहाँले भन्नुभयो “अचेत भेटिएका उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।”

स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

नयाँ दिल्ली, १३ वैशाख -स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। उक्त घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन्।

यो घटना मिति २०८३ वैशाख १३ गते आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १:०८ बजे धावनमार्गमा थियो।

विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशुसहित) सवार थिए। आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ।

विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो। विमान सेवाका अनुसार चालकले उडान रोक्दै सावधानीका रूपमा यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए।सम्बन्धित विमान ठूलो आकारको यात्रुवाहक विमान रहेको बताइएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून

काठमाडौँ । टोखा नगरपालिकाले सञ्चालन गरेको जन्मनासाथ पाँच हजार बच्चाको खातामा जम्मा गरिने कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा स्थानीयवासीको सहभागिता न्यून देखिएको हो।

बालबालिकाको जन्मेपछि नगरपालिकाले रु पाँच हजार ती बालबालिकाको नाममा खाता खोली राखिने कार्यक्रम कम जनचासो भएकाले सहभागिता पनि न्यून देखिएको सरोकार भएकाहरू बताउँछन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले स्थानीयमा आकर्षण नभएकोले थोरै मात्र बच्चाको बैंक खातामा रकम जम्मा भएको बताए। “हाम्रो उद्देश्यले बच्चा जन्मनासाथ उसलाई केही आर्थिक होस् भनेर रु पाँच हजार दिने भनेका थियौँ”, उनले भने, “तर त्यो कार्यक्रमअनुसार न्यून बच्चाको बैंक खाता खोलिएको छ ।”

उनका अनुसार अहिलेसम्म चार बालबालबालिकाको मात्र बैंक खाता खोली रु पाँच हजार जम्मा गरिएको छ । नगरपालिकामा वार्षिक एक हजार ७६६ बच्चा जन्मने प्रक्षेपण गरिएको शाखा प्रमुख कुलालले जानकारी दिए । उनका अनुसार बच्चालाई रु पाँच हजार उपलब्ध गराउनका लागि बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने र नगरपालिकाले तोकेको अस्पतालमा सुत्केरी गराउनुपर्ने व्यवस्था छ।

“हामीले तोकेको अस्पतालमा नगई अन्यन्त्र गएर सुत्केरी गराएका हुनसक्दछन्”, उनले भने, “त्यसैले होला एक वर्ष हुन लाग्दा एकदम न्यून सङ्ख्यामा मात्र बच्चाको बैंक खाता खोलिएको छ ।” नगरपालिकाले टोखा चन्डेश्वर, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, वीर अस्पताललगायतमा सुत्केरी गराउनुपर्ने भनी तोकेको छ।

कतिपयले तोकेकाबाहेक अस्पतालमा सुत्केरी गराउँदा आमाबाट जन्मेका बच्चाको खातामा रु पाँच हजार जम्मा गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलालले बताए।

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा

काठमाडाैँ । जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ । जसले देशको लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमा परिवर्तन ल्याइरहेको छ । जापानमा भेन्डिङ मेसिनहरू अत्यन्तै सामान्य छन्‌ ।

यी पोस्ट अफिस, पार्क, रेल स्टेसन, सडक किनार मात्र होइन, माउन्ट फुजीजस्ता दुर्गम स्थानहरूमा समेत पाइन्छन् । तर अहिले उपभोक्ताको खर्च गर्ने व्यवहार बदलिँदै जाँदा यो व्यवसाय दबाबमा परेको छ ।

भेन्डिङ मेसिन एउटा स्वचालित यन्त्र हो, जसबाट मानिसले पैसा (नगद वा डिजिटल भुक्तानी) राखेर आफूलाई चाहिएको सामान तुरुन्त प्राप्त गर्न सक्छन् ।यसमा सामान्यतया पेय पदार्थ, स्न्याक्स, चुरोट, खाना वा अन्य साना सामानहरू राखिएका हुन्छन् । ग्राहकले मेसिनमा पैसा हालेर वा कार्ड/मोबाइलबाट भुक्तानी गरेर बटन थिचेपछि सम्बन्धित वस्तु बाहिर निस्किन्छ ।

यसको मुख्य विशेषता भनेको मानव विक्रेता बिना २४ घण्टा नै सेवा दिन सक्नु हो । पछिल्ला वर्षहरूमा जापानमा जीवनयापन खर्च बढेको छ, जसले पेय पदार्थ उद्योगमा प्रत्यक्ष असर पारेको छ । इन्धन, ढुवानी, विद्युत् र मर्मत खर्च बढ्दा भेन्डिङ मेसिन सञ्चालन महँगो भएको छ । साथै, मेसिनहरूमा सामान भर्ने, मर्मत गर्ने र व्यवस्थापन गर्ने जनशक्तिको खर्च पनि बढेको छ । यी सबै कारणले कम्पनीहरूको नाफा घट्दै गएको छ ।

यसै क्रममा ठूला कम्पनीहरूले आफ्ना भेन्डिङ मेसिन नेटवर्क पुनर्गठन गर्न थालेका छन् । केही कम्पनीहरूले हजारौँ मेसिन हटाउने निर्णय गरेका छन् भने केहीले आफ्नो भेन्डिङ व्यवसाय नै बिक्री गर्ने तयारी गरेका छन् । कम्पनीहरूको मुख्य समस्या भनेको बढ्दो लागतका कारण पुरानो ‘सूची मूल्यमा बिक्री गर्ने’ मोडेल अब लाभदायक नहुनु हो।

उपभोक्ताहरू पनि परिवर्तन हुँदै गएका छन् । पहिले सजिलो र तुरुन्त उपलब्ध हुने भएकाले भेन्डिङ मेसिन लोकप्रिय थियो, तर अहिले मूल्य बढेपछि धेरै मानिसहरू सुपरमार्केट, कन्भिनियन्स स्टोर वा औषधि पसलहरूमा पाइने सस्तो पेय पदार्थ रोज्न थालेका छन् । उदाहरणका लागि, भेन्डिङ मेसिनबाट पानी पनि तुलनात्मक रूपमा महँगो पर्ने भएकाले उपभोक्ताहरू अन्य विकल्पतर्फ आकर्षित भइरहेका छन् ।

साथै, वातावरणीय चेतनाको वृद्धि पनि अर्को कारण हो । केही मानिसहरूले एकपटक प्रयोग हुने प्लास्टिक बोतल वा क्यान कम गर्न आफ्नै पुनःप्रयोग गर्न मिल्ने बोतल बोकेर हिँड्न थालेका छन्, जसले भेन्डिङ मेसिनको बिक्रीमा थप असर पारेको छ ।

यद्यपि विशेषज्ञहरूका अनुसार भेन्डिङ मेसिन पूर्ण रूपमा हराउने सम्भावना छैन । जापानमा यसको सबैभन्दा ठूलो विशेषता भनेको सुविधा हो । लगभग जुनसुकै ठाउँमा छोटो दूरीमै मेसिन भेटिन्छ, जुन सुविधा अन्य माध्यमले सजिलै प्रतिस्थापन गर्न सक्दैन । तर भविष्यमा कम्पनीहरूले नाफा बचाउनका लागि कम स्थानमा, बढी रणनीतिक र उच्च माग भएका क्षेत्रमा मात्र मेसिन राख्ने प्रवृत्ति बढ्ने अपेक्षा गरिएको छ।

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेल उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गरे । विगत ३० वर्षदेखि केराखेती सुरु गरेका उनले नौ वर्षयता व्यावसायिक केराखेती गर्दै आएका छन् ।

“हाल केरा बेच्दा प्रतिकोसा रु पाँच/छ मात्रै पाइरहेका छौँ । लागत, मेहनत र जोखिम हेर्दा यो मूल्यले त टिक्नै गाह्रो छ”, भुर्तेलले भने, “रोग–किरा, हावाहुरी तथा असिनापानीका कारण उत्पादनमा समेत निरन्तर असर परिरहेको छ, जसले लागत झन् बढाएको छ ।”

यस्तै,कावासोती नगरपालिका–१३ की फुलकुमारी महतोले अन्य बालीभन्दा राम्रो आम्दानी हुने अपेक्षासहित चार बिघा जमिनमा केराखेती गर्दै आए पनि उचित मूल्य नपाउँदा निराशा बढ्दै गएको बताए । “लाखौँ लगानी गरेर खेती गरेका छौँ, तर सस्तोमा बेच्नुपरेको छ, तर बजारमा भने उपभोक्ताले महँगो तिरिरहेका छन् । बीचमा कसले फाइदा लिएको छ, बुझ्नै गाह्रो छ”, उनले भने ।

कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिका अनुसार आज केराको थोक मूल्य प्रतिदर्जन रु एक सय ३२ र खुद्रा मूल्य रु एक सय ५० सम्ममा बिक्री भइरहेको छ । किसानले भने यही केरा प्रतिदर्जन रु ६० देखि रु ७२ सम्म मात्र पाउने गरेका छन् । किसान र उपभोक्ताबीचको यो ठूलो मूल्य अन्तरले बजार प्रणालीप्रति नै प्रश्न उठाएको छ ।

बिचौलिया नियन्त्रण, उचित समर्थन मूल्य निर्धारण तथा प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्नसके आफूहरूलाई राहत मिल्ने किसान दुर्गाप्रसाद भुर्तेलले बताए । समयमै प्रभावकारी नीति नल्याए केराखेतीप्रति किसानको आकर्षण घट्ने जोखिम रहेको उनले बताए ।

कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार जिल्लामा हाल पाँच सय ५१ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । उत्पादन बढ्दो क्रममा रहे पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा भने असन्तुलन रहेको उनको भनाइ छ ।

इरानले दबाबमा परेर वार्ता गर्ने छैन : इरानी राष्ट्रपति

काठमाडाैँ । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन्।

उनले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति सङ्केत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोनवार्तामा भने, “दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन।”

कुराकानीका क्रममा उहाँले अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन गरिरहेको र वार्ता र युद्धविरामको क्रममा दबाबको नीति अपनाइरहेको आरोप लगाए। अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन भएको र यस्ता कार्य र धम्कीपूर्ण भनाइले शान्ति प्रक्रियामाथिको विश्वासलाई कमजोर पार्ने इरानका राष्ट्रपति पेजेश्कियानले बताए।

पेजेश्कियानले इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको र अमेरिका वा इजरायलको कुनै पनि नयाँ टकरावको अवस्थाले क्षेत्रीय र विश्वव्यापी स्थिरतालाई असर गर्ने गम्भीर परिणाम हुन सक्ने बताए।
उनले इरानले आफ्ना छिमेकी देशहरूसँग राम्रो सम्बन्ध र आपसी सम्मानका आधारमा सम्बन्ध बलियो बनाउन चाहेको पनि बताए । यी देशहरूले बाह्य हस्तक्षेपबाट टाढा रहेर क्षेत्रीय शान्ति र सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।

रेल विभागका महानिर्देशक भन्छन् – रेल सेवालाई व्यावसायिक बनाउन कार्गो सेवा विस्तार गर्नुपर्छ

धनुषा । नेपाल रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले रेल सेवालाई दिगो र व्यावसायिक बनाउन मालवाहक (कार्गो) सेवा अनिर्वाय विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा उनले मुलुकमा रेल्वे सेवा, वर्तमान अवस्था, भविष्यका सम्भावना र आवश्यक सुधारका उपायबारे प्रकाश पार्दै यात्रु ओसारपसार मात्रै नभई मालसामान ढुवानीलाई प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गरे।

“रेल सेवालाई आत्मनिर्भर र नाफामुखी बनाउन मालवाहक सेवा विस्तार गर्नु आवश्यक छ”, उनले भने, “यसले राजस्व वृद्धि मात्र होइन, समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ।”

महानिर्देशक पोखरेलले रेल पूर्वाधार विस्तार, आधुनिक प्रविधिको प्रयोग र सेवा गुणस्तर सुधारमार्फत नेपाल रेल्वेलाई प्रतिस्पर्धी बनाउने योजनामा सरकार अघि बढ्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रसँगको सहकार्य, समन्वय र सहलगानीमार्फ सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

छलफलमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीले रेल सेवाको प्रभावकारी सञ्चालनले मधेस प्रदेशको औद्योगिक र व्यापारिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय उद्योगी-व्यवसायीका आवश्यकताअनुसार सेवा विस्तार गर्नुपर्नेमा जोड दिँदै रेलमार्गलाई व्यापारिक ढुवानीका लागि उपयोगी बनाउने नीति आवश्यक रहेको विचार व्यक्त गरे।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मल चौधरी, प्रकाशचन्द्र साह, शिवशङ्कर साह, श्यामप्रसाद साहलगायतले रेल सेवाको दिगो विकासका लागि पूर्वाधार सुदृढीकरण, समयतालिका व्यवस्थापन र सेवा विश्वसनीयता बढाउन सुझाव दिएका थिए । उनीहरूले भारतसँगको रेल सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्दै सीमा क्षेत्रको व्यापार प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा सहभागीहरूले नेपाल रेल्वेको समुचित व्यवस्थापन र दीर्घकालीन रणनीतिमार्फत देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सकिने बताए। उनीहरूले रेल सेवा विस्तार भएसँगै धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।

नेपाली नागरिकहरूलाई अहिले आफू बस्ने घर भत्किएकोमा भन्दा घण्टीमा भोट हालेकोमा पछुतो भइरहेको छ – दुर्गा प्रसाई

काठमाडौं – दुर्गा प्रसाईले अहिले नेपाली नागरिकहरूलाई रास्वपामा गरेको मतदानप्रति पछुतो भइरहेको दाबी गरेका छन् ।

आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रसाइले सडकको पेटीमा बसेर जिविको पार्जन गर्ने साथै नेपाल–भारत सीमामा बस्ने नेपाली नागरिकहरूलाई अहिले आफू बस्ने घर भत्किएकोमा भन्दा रास्वपाको घण्टी चिन्हमा गरेको मतदानप्रति सबैभन्दा बढी पछुतो भएको बताए ।

उनले लेखेका छन् – राजधानी काठमाडौं लगायत देशै भरिका सुकुमबासीहरु, सडकको पेटीमा बसेर जिविको पार्जन गर्ने साथै नेपाल–भारत सीमामा बस्ने नेपाली नागरिकहरूलाई अहिले आफू बस्ने घर भत्किएकोमा भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी को घण्टी चिन्हमा गरेको मतदानप्रति सबैभन्दा बढी पछुतो भएको छ। यो कस्तो दुर्भाग्य हो?

स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल

काठमाडौँ । शहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ।

सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाहरूको प्रबन्ध मिलाएको छ।

“सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ”, सहरी विकासमन्त्री सुनील लम्सालको सचिवालयले भनेको छ, “सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सहज रूपमा पुर्‍याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको छ । सामानको सुरक्षित व्यवस्थापन गरिनेछ । रङ्गशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाइएको छ ।”

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

काठमाडाैँ । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिइन्।

नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक रहेका छन् । उक्त अवधिमा चार हजार १५४ जना भुटानी पर्यटक नेपाल आएका छन् । भुटानपछि अमेरिका, थाइल्यान्ड, अस्ट्रेलिया र संयुक्त अधिराज्य (बेलायत)का पर्यटक धेरै सङ्ख्यामा नेपाल आएका कार्यालयको अभिलेखमा उल्लेख छ । अमेरिकाबाट एक हजार ६१२, थाइल्यान्डबाट ५२५, अस्ट्रेलियाबाट २२९ र बेलायतबाट १८२ जना नागरिक नेपाल घुम्न आएका कार्यालयका प्रमुख भट्टराईले बताइन्।

नेपाल आउने पर्यटकले लुम्बिनी, पोखरा, काठमाडौँ, चितवन, गोर्खालगायत प्रमुख पर्यटकीयस्थल जाने बताउने गरेको उनले जानकारी दिइन्। आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन् । सोही अवधिमा काँकडभिट्टा नाका भएर नौ हजार ९४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्याङ्क छ । आव २०८१/८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट आठ हजार ७० जना पर्यटक भित्रिएका थिए ।

चालु आवको सोही अवधिमा आगमन भएका पर्यटकको सङ्ख्यामा ४२८ ले कमी आएको छ । चालु आवको चैत महिनामा यो नाका भएर एक हजार छ जना पर्यटक नेपाल प्रवेश गरेको र एक हजार ५४३ जना प्रस्थान गरेको कार्यालयले जनाएको छ । यस अवधिमा छ हजार ६९१ वटा पर्यटक भिसा, एक सय २४ वटा नातेदार भिसा, २६ वटा वैवाहिक भिसा र ३६ वटा गैरआवासीय भिसा जारी गरिएका छन् । भिसा जारी गरेवापत रु दुई करोड ८० हजार ५२० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतिक’ को रूपमा चित्रण गरेका छन् ।नेकपा एमालेका पूर्वअध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २७औँ स्मृति दिवसलाई सम्बोधन गर्दै पोखरेलले उनको राजनीतिक संघर्ष र त्यागको स्मरण गरे ।

कार्यक्रममा नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दिवङ्गत व्यक्तित्वहरूलाई सम्मानका साथ स्मरण गरे ।

उनले प्रतिष्ठानका पूर्व सचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा.गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न मद्दत पुगेको बताए ।

मनमोहन अधिकारीको राजनीतिक इतिहासको चर्चा गर्दै पोखरेलले उनी नेपाल कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा अघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गरे। भारतमा रहँदा भारतीय स्वतन्त्रता संग्राममा सहभागी भइ जेल जीवन बिताएका अधिकारीको दृढ मान्यता भएको बताउँदै उनले भारतबाट अंग्रेज शासन नहटेसम्म नेपालमा राणा शासनको अन्त्य सम्भव नहुने बताएको जिकिर गरे ।

 

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेको नेता प्रदिप ज्ञवालीले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताएका छन् । नेकपा एमालेका पूर्व अध्यक्ष एवं प्रथम कम्यूनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताएका हुन् ।

उनले २०४७ सालमा तत्कालीन नेकपा माले र माक्सर्वादीको एकता गर्दा ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर नेतृत्वमा युवालाई स्थापित गर्नुपर्छ भन्ने सन्देश दिएको बताए ।

‘आफू ६९ वर्षको भए पनि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर मनमोहनले युवालाई विश्वासमा लिएर एमालेलाई उठाउनुभयो ’ ज्ञवालीले भने ‘पुस्ता पुस्ताबिचको अतिवादी सोचलाई एमालेले अनुभव र जोसको संयोजनको अभ्यास गरेको थियो ।’
ज्ञवालीले अहिलेको केही राजनीतिमा पुस्ताको अतिवादी सोच हाबी भएको बताउँदै उनले परिपक्वको मार्गदर्शन र युवाको ऊर्जाको संयोजनबाट मात्र देश बन्ने स्पष्ट पारे ।

ज्ञवालीले नेपालको कम्यूनिष्ट आन्दोलनलाई इतिहासमा नै ठुलो धक्का लागेको स्पष्ट पारेका छन् । उनले फागुन २१ को निर्वाचनबाट कम्यूनिष्ट मात्र नभई समग्र लोकतान्त्रिक शक्तिले नै धक्का खाएको उनको भनाइ छ ।

निर्वाचनपछि बनेको सरकारका गतिविधिले देश बिस्तारै निर्वाचित सर्वसत्तावादतिर जाने हो कि भन्ने चिन्ता थपिएको ज्ञवालीको भनाइ छ ।

‘निर्वाचित सर्वसत्तावादतिर देश जान्छ कि भन्ने चिन्ता छ’ उनले भने ‘सरकारले ट्रेड युनियन खारेज गर्ने पञ्चायती निरंकुशतासँग लडेको विद्यार्थी संगठन खारेज,स्वतन्त्र मिडियाको स्रोत नै सुकाइदिने कुराले शंक गर्ने प्रशस्त ठाउँ दिएको छ ।’

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु, एक घाइते

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको हुनुकासाथै एक जना मानिस घाईते भएका छन् ।

शनिबार राति करिब ११ः३० बजे परेको चट्याङले लागेर स्थानिय ६० वर्षीय सिताराम यादव घाइते भएका हुन् । उनको टाउकोसहित शरीरका विभिन्न भागमा जलेको प्रहरीले जनाएको छ ।

घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पतालमा लगिएको छ । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । चट्याङ परेपछि आगलागी भई यादवको घर गोठमा रहेको पशु चौपाया, अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङकै कारण ९ वटा बाख्रा र ५ वटा भैँसी जलेर मरेका छन् भने एक वटा पाडा घाइते भएको छ । त्यसै गरी, घरमा राखिएको करिब १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ, १ क्विन्टल मुसुरोको दाल, भाडा बर्तन तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्ती आज हटाइँदै

काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती हटाउन सुरु गरेको छ । आज बिहानैदेखि डोजर प्रयोग बस्ती हटाउन थालेको हो ।

शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो ।

सरकाले शनिबार काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गरेको थियो ।

अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

काठमाडौँ । आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।

सन् २०१७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो । चेर्नोबिल आणविक दुर्घटना भएको यो ४० औँ वर्ष हो ।

युक्रेनस्थित चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विस्फोटपछि रेडियोधर्मी बादल सोभियत सङ्घका विशाल भू–भागमा फैलिएको थियो । ती हाल बेलारुस, युक्रेन र रुसी महासङ्घका क्षेत्रहरूमा पर्दछन् । उक्त दुर्घटनाबाट ती तीन देशका ८४ लाख मानिस विकिरणको प्रभावमा परेका थिए ।

संयुक्त राष्ट्रसङ्घका अनुसार चेर्नोबिल दुर्घटनापछि तीन दशक बितिसक्दा पनि दीर्घकालीन गम्भीर असर रहेको र प्रभावित समुदायले अझै सहयोगको आवश्यकता महसुस गरिरहेको छ ।

चेर्नोबिल दुर्घटनापछि संयुक्त राष्ट्रसङ्घ, बेलारुस, रुसी महासंघ र युक्रेन सरकारहरूले प्रभावित क्षेत्रको पुनःस्थापना तथा विकासका प्रयासहरू अघि बढाउँदै आएका छन् । प्रारम्भिक मानवीय सहयोगपछि प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, विकिरणको जोखिम घटाउने, प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य असरबारे निरन्तर अध्ययन हुँदै आएका छन् ।

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका पाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन भई ठेक्का सम्झौता गरिएका १९ योजनाका निर्माण कम्पनीले काम सुरु नगरेको पाइएको हो ।

ठेक्का सम्झौता गरेर विभिन्न बहानामा काम सुरु नगरेपछि कार्यालयको तर्फबाट निर्माण व्यवसायीलाई ताकेता गरिएको कार्यालय प्रमुख विमन दाहालले बताए । “हाम्रो कार्यालयबाट चालु आवमा कुल १२३ योजनाको ठेक्का सम्झौता भएको छ । पटकपटक खबरदारी गर्दा पनि निर्माण सुरु नगरेपछि १९ कम्पनीका नाममा अन्तिम सूचना प्रकाशन गरिएको छ”, उनले भने, “तोकिएको समयमा काम सम्पन्न नगरे नियमअनुसार सम्झौता रकमको आधारमा प्रतिदिन ०.०५ प्रतिशतका दरले जरिवाना तिराउन मिल्ने कानुनी व्यवस्था छ । त्यस अवधिमा पनि काम नभए कार्यसम्पादन जमानत जफत गर्ने, थप लागत र अन्य दायित्व असुलउपर गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिन्छ ।”

पूर्वाधार विकास कार्यालयले यसअघि २६ योजनाको काम सुरु नभएको सूचना प्रकाशन गरेको थियो । कार्यालयले पत्राचार गरेपछि सात योजनाका निर्माण व्यवसायीले काम सुरु कार्यालय प्रमुख दाहालले जानकारी दिए । तोकिएको समयभित्र गुणस्तर र परिमाणअनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न कार्यालयबाट खटिएका प्राविधिक कर्मचारीको प्रत्यक्ष रेखदेखमा काम गर्न निर्माण कम्पनीलाई कार्यालयले निर्देशन दिएको छ । कोशी प्रदेश सरकारबाट एक वर्षे र बहुवर्षे योजनाका लागि यस आवमा रु एक अर्ब ९४ लाख ७५ हजार बजेट उपलब्ध भएको छ ।

प्रदेश सरकारबाट स्वीकृत भएर आएका आठ योजना जग्गा विवादका कारण ठेक्का आह्वान गर्न नसकिएको कार्यालयले जनाएको छ । काम सुरु नभएका योजनामा कार्यालयबाट व्यवस्थापन हुनुपर्ने बजेट, अग्रिम पेस्की, निर्माणस्थलको स्वामित्व हस्तान्तरण र प्राविधिक सहयोगमा कुनै समस्या नरहेको लेखा प्रमुख सीताराम राउतले जानकारी दिए ।

दश स्थानीय तह रहेको जिल्लाका लागि १७ योजनामा कम बजेट स्वीकृत भएर आएकाले बहुवर्षे योजनामा समावेश गरिदिन प्रदेश सरकारलाई सिफारिस गरिएको कार्यालयले जनाएको छ । गरिब तथा विपन्न परिवारका लागि कोशी प्रदेश सरकार, जनता आवास कार्यक्रमअन्तर्गत रु दुई करोड लागतमा ६० घर निर्माण भइरहेको बताइएको छ ।

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा

हुम्ला। वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ ।

सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेखअन्तर्गत खातिलेखमा रहेको फोरजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीय करिब दुई सातादेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावरले वैशाख १ गतेदेखि काम गर्न छाडेको थियो ।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकम सिमकोटको पहलमा प्राविधिक टोली परिचालन गरिएकामा शनिबार नेपाल टेलिकमका प्राविधिक उब्जन शाहीको नेतृत्वमा टोली सम्बन्धित स्थलमा पुगेर मर्मत सम्पन्न गरी फोरजी सेवा सुरु भएको हो ।

उक्त टावरको ब्याट्री ब्याकअपमा समस्या आउँदा इन्टरनेट सेवाले काम गर्न छाडेको र शनिबारदेखि टावरले काम गर्न थालेको उहाँले बताउनुभयो ।

टावर मर्मतपछि खार्पुनाथ–१, २ र ३ तथा सर्केगाड–१, २, ३ र ६ मा फोरजी इन्टरनेट सेवा पुनः सञ्चालन भएको सर्केगाड–७ का जीवन छत्यालले बताउनुभयो ।

सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई सञ्चार तथा इन्टरनेट प्रयोगमा सहज भएको छ । त्यस्तै, खार्पुनाथ–१ का लालबहादुर शाहीले सेवा पुनस्र्थापनाप्रति खुसी व्यक्त गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नुभयो ।

भारतीय बजार रक्सौलबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

पर्सा। सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी भित्रिने गरेका छन् ।वीरगन्जको सीमावर्ती बजार रक्सौलबाट पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमानाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत ताजा तरकारी भित्रिने गरेको छ । यहाँ दैनिक ‘क्यारिङ’ गर्ने साइकल चालकले ताजा तरकारी र फलफूल वीरगन्ज ल्याउने गर्छन् ।

पर्सा र बारासँग सीमा जोडिएको बाराको विश्रामपुर गाउँपालिका, वीरगन्ज महानगरको नगवा, इनर्वालगायत खुला नाकाको फाइदा उठाउँदै साइकल चालकले दैनिक तरकारी तथा फलफूल भित्र्याउने गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले खुला सीमानाकाबाट क्वारेन्टिन जाँचबिनै भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा असर पार्ने भएकाले पनि नियन्त्रणमा लिनुपर्ने बताउनुभयो ।

“खुला सीमानाकाको फाइदा उठाउँदै विभिन्न समूहले छपकैया, इनरुवा, विश्रामपुरलगायत स्थानबाट साइकलमार्फत दैनिक ठूलो मात्रामा तरकारी भित्र्याउने गरेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय प्रशासन र सशस्त्र प्रहरीले त्यसमा ध्यान दिन जरुरी छ ।”

वीरगन्जमा दैनिक साइकल चालकले बिहान सबेरैदेखि प्रतिसाइकलमा क्वारेन्टिन जाँचबिनै भारतीय तरकारी भित्र्याउने गरेका छन् । स्थानीय प्रशासन तथा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन सकेको छैनन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार प्रक्रिया पूरा गरेर क्वारेन्टिन जाँचमा योग्य भएका भएका तरकारी तथा फलफूलमात्र भित्र्याउन पाइने बताउनुभयो । “क्वारेन्टिन जाँचबिनै ताजा तरकारी तथा फलफूल ल्याउन पाइँदैन”, उहाँले भन्नुभयो, “कोही कसैले ल्याएका रैछन् भने आवश्यक अनुगमन गरेर नियन्त्रणमा लिइनेछ ।”

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटर गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्साको सीमा क्षेत्रबाट भन्दा पनि बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रबाट क्वारेन्टिन जाँचबिनै तरकारी भित्रिएर वीरगन्ज बजारमा पुग्ने गरेको बताउनुभयो ।

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने गरेको छ ।

सरकारले वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिबार बिहान १२ः३० बजे खाली गरिएको थियो ।

बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए । बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ ।

हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । बस्तीहरूमा कोही छुटेका छन् कि भनी खोजी तथा उद्धार कार्यलाई समेत जारी राखिएको छ ।

सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण सङ्कलन गरिएको छ । उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटेलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ ।
यस्तै, घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधा स्वामी सत्सङ्ग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ ।

यसैबिच, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्ध चोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू आजै खाली गर्ने तयारी भए पनि आजको लागि उक्त प्रक्रिया रोकिएको छ ।

सुकुमबासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते

काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुमबासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । साँझ परेपछि सुकुमबासी बस्तीमा सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुमबासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार भएको जानकारी दिए ।

उनले भने, “मनोहराका ८० प्रतिशत सुकुमबासीले दिउँसै सामान लगिसकेका थिए, थापाथली र ग्रैह्रीगाउँको सुकुमबासी बस्ती हटाएर डोजरसहितको टोली मनोहरा ल्याएपछि यहाँका संरचना भत्काउन थालिएको हो, प्रहरीले कुनै बल प्रयोग नगरी सामान सार्नेलाई सहयोग गर्दै घर भत्काउने क्रम सुरु भयो, पक्की घर भत्काउने क्रममा रातिको समयमा सुरक्षाकर्मीमाथि एकसाथ ढुङ्गा, इँटा र बोतल प्रहार भयो ।”

आक्रमणमा परी मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ प्रहरी घाइते भएका छन् । त्यसैगरी, आक्रमणमा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए । आइतबार बिहानैदेखि फेरि संरचना भत्काइने उनले बताए ।

मनोहरा सुकुमबासी बस्तीमा ७ सय ७७ घरटहरा रहेका छन् । बस्तीका सुनिल लामाले बस्ती छाड्दै गर्दा भने, “यहाँ अधिकांश घर भाडामा लगाइएका छन्, यहाँ सुरुमै टहरा बनाएर एक समूहले रु तीन लाखदेखि रु सात लाखसम्म तथा पक्की घर रु १८ लाखसम्ममा बिक्री गरेका छन् । हामी पनि टहरा किनेर बसेको १५ वर्ष भयो । सरकारले हामीजस्ता सुकुमबासीलाई उचित व्यवस्थापन गरोस्, त्यति भए पुग्छ ।”

सुकुमबासी बस्तीका बासिन्दासँग भाडा उठाउन कहीँ व्यक्ति नियमित आउने गरेका बताइएको छ । बस्तीका धेरैले भाडा तिर्ने गरेका छन् ।

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुर। मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् ।जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् ।

कारागारका प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी कारागार फर्किएका छन् । फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ मात्र कारागार फर्किएका छन् । अन्य कारागारबाट फरार भई भिमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भिमफेदी कारागारमा रहेका प्रमुख पौडेलले बताउनुभयो ।

गत भदौ २४ गते राति १ः०० बजेतिर भिमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताउनुभयो ।

कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताउनुभयो ।

यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४२ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०१ पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केहि स्थानहरूमा तथा बागमती प्रदेशको एकरदुई स्थानमा मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।

आज राती देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आरसिओडी मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसिओडी) संशोधनका लागि सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना मार्फत व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति संशोधनका लागि विभिन्न कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्राधिकरणको २०७१ भदौ ३१ गतेको ६ सय ८८ औँ बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवर्द्धक कम्पनीसँग सम्पन्न विद्युत् खरिद सम्झौता र ग्रिड कनेक्सन एग्रिमेन्टमा उल्लिखत प्राधिकरणको दायित्वमा पर्ने प्रसारण लाइन तथा सवस्टेशन निर्माण कार्य सम्पन्न नभएका कारण उक्त सम्झौता संशोधन गर्न लागिएको हो । प्राधिकरणले आयोजनाको विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त भएको, आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको कागजातको विवरण पेस गर्नुपर्नेछ । यस्तै, व्यापारिक उत्पादन सुरु गर्ने मिति समाप्त हुनु अगावै त्यसका लागि प्राधिकरणमा पेस गरेको आवेदन जरुरी पर्नेछ ।

यस्तै, आयोजनाले भौतिक निर्माण कार्य गरी प्राधिकरणको प्रसारण लाइन तथा सवस्टेशनको निर्माण प्रगतिको अनुपातमा प्रगति हासिल गरेको विवरण जरुरी पर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । निजी क्षेत्रका प्रवर्द्धकले लामो समयदेखि व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति संशोधन गरिदिन आग्रह गर्दै आएको थियो । सोही आग्रहका आधारमा प्राधिकरणले सूचना मार्फत सम्पर्कमा आउन आग्रह गरेको उल्लेख छ ।

‘सप्राइज चेकिङ’का क्रममा काठमाडौँ उपत्यकामा ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ। ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा ५७२ वटा सवारी चालकलाई कारबाही गरिएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ‘सप्राइज चेकिङ’का क्रममा ट्राफिक नियम पालना नगरी सवारी चलाउनेहरूलाई कारबाही गरिएको हो । यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी पाँच जनालाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयले जनाएको छ ।

यसैगरी रातो बत्ती उल्लङ्घन गर्ने १९, लेन अनुशासन पालना नगर्ने ४१ तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५०७ सवारी चालकलाई कारबाही गरिएको छ ।

प्रहरीले कानुनविपरीत तथा दण्डनीय कार्य नगर्न र चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको सुरक्षाबारे ध्यानदिन सबैलाई आग्रह गरेको छ ।

यदि चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि अनुरोध गरिएको छ ।

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै २३ जनाको मृत्यु भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद्का घटनामा उनीहरुको मृत्यु भएको छ ।

ती घटनाबाट ७३ जना घाइते भएका र ५२७ परिवार प्रभावित भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सात जनाको आगलागीमा परे ज्यान गएको छ ।

चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै वन डढेलोबाट एक, सर्पदंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ ।

घाइते हुनेमा पनि सबैभन्न्दा बढी आगलागीबाट २४ जना रहेका छन् । सर्पदंशबाट १९ र जनावरको आक्रमणबाट १३ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले विपद्जन्य घटनाका सावधानी अपनाउन र घटना भएमा तत्काल सम्बन्धित ‘फोकल पर्सन’ वा प्रहरी कार्यालय तथा प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।कांग्रेस तनहुँले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले यसको विकल्प नरहेको उल्लेख गरे।

वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई थप मजबुत बनाउन सङ्गठन सुदृढीकरण आवश्यक रहेको बताउँदै पौडेलले सबै तहका नेता–कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे। पार्टीभित्र सहकार्य, समन्वय र आपसी विश्वास बलियो बनाएर मात्रै कांग्रेसलाई सशक्त बनाउन सकिने उनको भनाइ थियो।महामन्त्री पौडेलले कांग्रेसले सञ्चालन गरेको ‘जरा अभियान’ले सङ्गठनलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गरे।

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरेका छन् ।

चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबिच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबीच विचारविमर्श भएको थियो । साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि सहकार्यको प्रतिबद्धता व्यक्त भएको छ ।

त्यसैगरी, भारतका राजदूतसँगको भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । छलफलमा नेपाल–भारतबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ गर्दै दिगो विकास र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार एवं प्रवद्र्धन गर्ने साझा दृष्टिकोणमा जोड दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त भएको थियो ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका-१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताए ।

“प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ”, कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले भने ।

फरक प्रसङ्गमा सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको उनले उल्लेख गरे । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उनले बताए ।

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक । दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गन्गर्तत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो ।

वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।

वर्षाका कारण रोशी खोलामा पानीको वहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो । गतसालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

यसैबीच राजमर्गा अबरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ । गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल क्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

सुदूरपश्चिममा औलो सङ्क्रमण: निवारणको लक्ष्यप्राप्ति चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ पुनः बढ्न थालेको छ । निवारणको लक्ष्य नजिक पुगिसकेको अवस्थामा फेरि सङ्क्रमण बढ्दा स्वास्थ्य क्षेत्रमा गम्भीर चिन्ता र चुनौती थपेको छ । नेपालले सन् २०३० सम्म स्थानीय औलो (मलेरिया) शून्यमा झार्ने लक्ष्य लिएको भए पनि सुदूरपश्चिममा पछिल्लो अवस्थाअनुसार लक्ष्यप्राप्ति चुनौतीपूर्ण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशभर कुल तीन सय ८७ जनामा औलो पुष्टि भएको छ । तीमध्ये तीन सय ७३ आयातित र १४ स्थानीय (इन्डिजिनस) ‘केस’ रहेका छन् । यसले प्रदेशमा औलोको मुख्य स्रोत अझै बाह्य (आयातित) रहेको देखाउँछ, तर स्थानीयस्तरमै सङ्क्रमण देखिनु थप चिन्ताजनक पक्ष रहेको जानकारहरू बताउँछन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार हालै प्रदेशका विभिन्न स्थानीय तहमा १५ जना स्थानीय औलोका बिरामी फेला परेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ र परशुराम नगरपालिका–२, बैतडीको मेलौली नगरपालिका–२ र पञ्चेश्वर गाउँपालिका–२, कञ्चनपुरको बेलौरी नगरपालिका–२ तथा कैलालीको कैलारी गाउँपालिका–२ मा स्थानीय सङ्क्रमण देखिएको हो ।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी कैलालीमा दुई सय चार, कञ्चनपुरमा ५७, अछाममा ५१, डोटीमा ३१, बाजुरामा २२, डडेलधुरामा १२, बैतडीमा आठ र दार्चुलामा दुई जना औलोका बिरामी देखिएका छन् ।

“सीमावर्ती जिल्ला कैलाली र कञ्चनपुरमा औलो सङ्क्रमणाका बढी केस देखिनुले भारतसँगको खुला सीमा प्रमुख जोखिमका रूपमा देखिएको छ”, अधिकृत जोशीले भने, “विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड अनुसार कुनै देश वा क्षेत्रमा लगातार तीन वर्षसम्म स्थानीय औलो शून्य भए मात्र औलो निवारण प्रमाणपत्र प्राप्त हुन्छ । सो लक्ष्य नजिक पुगेको अवस्थामा सुदूरपश्चिममा देखिएको पुनः वृद्धिले समस्या पैदा गरेको छ ।”

प्रजातिगत रूपमा औलो सङ्क्रमण अझ जटिल बन्दै गएको देखिन्छ । उपलब्ध विवरणअनुसार सुदूरपश्चिममा ‘प्लाज्मोडियम भाइभ्याक्स’का सबैभन्दा बढी तीन सय २८ बिरामी देखिएका छन् । सबैभन्दा खतरनाक र घातक मानिने ‘प्लाज्मोडियम फाल्सिपेरम’बाट प्रभावित बिरामी ५४ जना रहेका छन् ।

‘प्लाज्मोडियम ओभल’बाट प्रभावित तीन जना बिरामी देखिएका छन् । “यस परजीविबाट औलो सङ्क्रमित बिरामी विरलै भेटिने गरेका छन्”, अधिकृत जोशीले भने, “धेरैजसो अफ्रिकी मुलुकमा पाइन्छन्, सुदूरपश्चिममा यसका केसहरू देखिनु यी बिरामी अफ्रिकी मुलुकबाट आएका हुन सक्छन् ।”

‘प्लाज्मोडियम मिक्स्ड इन्फेक्सन’ भएका दुई जना बिरामी देखिएका छन् । एकभन्दा बढी औलोका परजीवीले एकै साथ आक्रमण गर्छन् भने त्यसलाई ‘मिक्स’ सङ्क्रमण भन्ने गरिन्छ ।

सुदूरपश्चिममा औलो पुनः बढ्नुका पछाडि बहुआयामिक कारणहरू छन् । “आयातित औलोको समयमै पहिचान हुन नसक्नु, राज्यका सीमित स्रोतसाधनका कारण प्रभावकारी नियन्त्रण कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुनु र जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान हिमाली क्षेत्रसम्म विस्तार हुनु प्रमुख कारणका रूपमा रहेका छन्”, अधिकृत जोशीले भने ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमका अनुसार संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा अफ्रिकी मुलुक गएका सुरक्षाकर्मी तथा भारतका विभिन्न सहरमा मौसमी काम गरेर फर्किने श्रमिकमा आयातित औलो बढी देखिन्छ ।

आयातित औलोको समयमै पहिचान हुन नसक्नु, राज्यको सीमित स्रोतसाधनका कारण गहन तरिकाले औलो निवारण गतिविधि सञ्चालन हुन नसक्नु, जलवायु परिवर्तनका कारण लामखुट्टेको उपस्थिति तराइ, पहाड हुँदै हिमाली जिल्लासम्म पुग्नु र लामखुट्टे नियन्त्रणका लागि अत्याधुनिक साधन प्रयोग हुन नसक्नुले औलोको जोखिम बढ्दै गएको उनको भनाइ छ ।

“चुनौतीका बीच औलो नियन्त्रणका लागि पहल तीव्र पारेका छौँ । सुदूरपश्चिममा कीट विज्ञान प्रयोगशाला सञ्चालनमा रहेको छ, जहाँ लामखुट्टेको अध्ययन, कीट अनुसन्धानको कार्य निरन्तर रूपमा भइरहेको छ”, उनले भने, “कीटनाशकको प्रभावकारिता परीक्षण तथा अनुसन्धान कार्य भइरहेको छ, यसका साथै स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, निगरानी प्रणाली सुदृढीकरण, रणनीति कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।”

स्वास्थ्य विज्ञहरूका अनुसार अबको प्राथमिकता आयातित केसहरूको कडाइका साथ निगरानी, सीमामा स्वास्थ्य जाँच सुदृढीकरण, स्थानीय तहमा सक्रिय खोजपड्ताल र जनचेतना विस्तार हुनुपर्छ । साथै, जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै लामखुट्टे नियन्त्रणका आधुनिक प्रविधि प्रयोगमा ल्याउनु आवश्यक देखिन्छ ।

साथै नागरिक तहमा सचेतना अत्यन्त महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । झुलको नियमित प्रयोग, पानी जम्ने स्थान हटाउने, लामखुट्टेको टोकाइबाट बच्ने र ज्वरो आएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउने बानीले औलो नियन्त्रणमा ठूलो योगदान पु¥याउन सक्ने कञ्चनपुरको शुक्लाफाँटा स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्ट बताउँछन् ।

“सुदूरपश्चिम प्रदेश औलो निवारण लक्ष्य नजिक पुगे पुनः जोखिमतर्फ उन्मुख देखिनुलाई चुनौतीका रूपमा लिनुपर्छ”, उनले भने, “समयमै प्रभावकारी कदम चाल्न सके औलोमुक्त नेपालको लक्ष्य हासिल गर्न सम्भव छ, तर ढिलाइ भएमा अहिलेको अवस्था ठूलो स्वास्थ्य सङ्कटमा रूपान्तरण हुन सक्छ ।”

औलो मुख्यतया ‘एनोफिलिज’ जातका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने परजीवीका कारण हुने एक प्रकारको सरुवा रोग हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपाल औलो निवारण उन्मुख अवस्थामा रहेको छ । विगत १० वर्षमा स्थानीय औलोका बिरामीको सङ्ख्यामा करिब ९० प्रतिशतले कमी आएको छ ।

हाल वार्षिक रूपमा स्थानीय औलोका बिरामीहरू ५० प्रतिशतभन्दा कममा सीमित भएका छन् । यद्यपि, यसलाई शून्यमा झार्न चुनौती छ । देशभरमा औलोका बिरामीको सङ्ख्या एक हजार १६४ रहेको छ, जसमा स्थानीय ३९ र आयातित औलोबाट सङ्क्रमित एक हजार १२४ रहेका छन् । यसैबीच आज विश्व औलो दिवस २०२६ मनाइँदै छ । यसवर्षको औलो दिवसको नारा ‘औलो अन्त्य हाम्रो सङ्कल्पः सक्षम छौँ, छैन अब विकल्प’ भन्ने रहेको छ ।

एकैदिन एक हजार दुई सयभन्दा बढी पिन्ट रगत सङ्कलन

काठमाडौँ । सन्त निरंकारी मण्डल नेपालले आज एकैदिन एक हजार २६७ पिन्ट रगत सङ्कलन गरेको छ । मानव एकता दिवसको अवसरमा आज देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत सङ्कलन गरिएको मण्डलका सचिव अनिल महर्जनले जानकारी दिए ।

त्यस क्रममा काठमाडौँमा ११८, जनकपुरधाममा १२७, सुर्खेतमा १०९, बयरघारी स्याङ्जामा ८२, नेपालगन्जमा ८५, डडेलधुरामा दुई, कञ्चनपुरमा ३६, दाङको गङ्गापरस्पुरमा २२, तुल्सीपुरमा ५५ र रोल्पामा ४४ पिन्ट सङ्कलन गरिएको छ । यस्तै, धरानमा ३२, पसौनीभाठा पर्सामा ५५, बुटवल रुपन्देहीमा २५, मलङगवा सर्लाहीमा ३५, वालापुर कपिलवस्तुमा ३५, सिरहामा ४०, सप्तरीको बनरझुलामा २७ र राजविराजमा १८, विराटनगर मोरङमा ३२, बर्दियामा १४ र हेटौडा मकवानपुरमा २१ पिन्ट रगत सङ्कलन भएको सचिव महर्जनले बताए ।

यसैबीच कैलालीमा मात्रै आज २५३ पिन्ट रगत सङ्कलन भएको छ । दिवसका अवसरमा कैलालीका विभिन्न स्थानमा आयोजना गरिएका रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन भएको हो ।

‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन र सिलाइकटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर बन्नुभएको छ ।

उहाँले बेनीको सङ्गमचोकमा सञ्चालन गरेको अस्मिता टेलरिङ सेन्टरमा आफ्नै डिजाइनमा झोला तयार पार्नुका साथै सिलाइकटाइसम्बन्धी काम गर्दै आउनुभएको छ । ग्राहकको मागअनुसार विभिन्न प्रकारका झोला, कुर्ता सुरुवाल, साडी र ब्लाउज तयार पार्न थालेपछि सिउथानीको व्यवसाय फस्टाएको छ ।

उहाँले फुर्सदको समय सदुपयोग गर्न सिकेको सिलाइकटाइसम्बन्धी व्यवसायम फस्टाउन सामाजिक सञ्जालले निकै सघाउ पुगेको उहाँले बताउनुभयो । “युट्युव हेरेर झोला र लेडिज कपडाको डिजाइन गर्न सकेको र थालेकी हुँ” सिउथानीले भन्नुभयो,“ग्राहकको रोजाइअनुसार कपडा र झोला तयार पार्ने र सामाजिक सञ्जाल ‘फेसबुक र टिकटक’ बाटै बजारीकरण गर्दै आएकी छु ।”

काठमाडौँ, पोखराबाट कपडा ल्याएर उहाँले महिला, विद्यार्थी र पदयात्रीलाई लक्षित गरी झोला तयार पार्नुहुन्छ । झोलालाई आकारअनुसार प्रतिगोटा रु एक हजार २०० देखि रु एक हजार ७०० सम्ममा बिक्री गरिरहेको सिउथानी जानकारी दिनुभयो ।

“बेनी बजारसहित म्याग्दीका ग्रामीण क्षेत्रका साथै पोखरा, काठमाडाँै र विदेश जानेहरूले पनि झोला मन पराउने गरेका छन्”, उहाँले सुनाउनुभयो,“विसं २०७४ मा सिलाइकटाइ व्यवसाय सुरु गरेकी थिए । पछिल्ला केही वर्षयता डिजाइनमा लागिरहेकी छु ।”

यसबाट ‘सिजन’मा मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुने गरेको छ । “मागअनुसार झोला र कपडा बनाउन थालेपछि बजारमा प्रतिस्पर्धा कम भएको छ ।

पछिल्लो समय त काम छैन भनेर बस्नुपरेको छैन”, सिउथानीले भन्नुभयो,“दैनिक कारोबार त भइरहेकै छ । सीप सिक्न चाहनेलाई पनि सिकाइरहेकी छु । यसले पैसा र सन्तुष्टि दुवै मिलिरहेको छ ।”

उहाँलाई एकीकृत सेवा कार्यालय र प्रदेश सरकारले व्यवसाय सञ्चालनका लागि औजार खरिदमा सहयोग गरेको छ । यसले काम गर्न सहज र थप हौसला मिलेको सिउथानीले बताउनुभयो ।

चन्द्रगढी महिला गोल्डकप : एपिएफ फाइनलमा

झापा। मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

एपिएफले चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो । आगामी सोमबार हुने फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । कुसुम खतिवडाको क्रस पास अनिता बस्नेत हुँदै आएको बललाई घिसिङले जाली चुमाएकी थिइन् ।

पहिलो हाफमा १–० ले अगाडि रहेको एपिएफले दोस्रो हाफमा थप दुई गोल ग¥र्यो । ४९औँ मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन् । रश्मीकुमारी घिसिङको पासमा बस्नेतले गोल गरेकी थिइन् ।

बैसट्ठीऔँ मिनेटमा रश्मीकुमारी घिसिङले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरिन् । खेलभरि एपिएफले आक्रामक खेल प्रस्तुत गर्दा चर्च ब्वाइजले रक्षात्मक रणनीति अपनाएको थियो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी रेनुका नगरकोटी घोषित भइन् । उनले नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ। मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ ।

प्राप्त विवरणमा सबैभन्न्द बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४.६ र काभ्रेमा ६३.६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।

यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताउनुभयो । आजदेखि वर्षा बढेको र यो क्रम अझै केही बढ्ने विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागका अनुसार भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ ।यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना कायम रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ ।

घरदैलोमै सामाजिक सुरक्षा भत्ता : बैंक धाउनुपर्ने बाध्यता हट्यो

ललितपुर। दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ ।गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो ।

उपाध्यक्ष गोलेले भन्नुभयो, “हाम्रो पालिकाका धेरै वडाहरू टाढा र दुर्गम क्षेत्रमा छन् । ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्तता भएका नागरिकले पालिका केन्द्र गोटीखेलस्थित बैंकसम्म पुगेर भत्ता लिनुपर्ने बाध्यता अब अन्त्य भएको छ । त्यसैले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य अघि बढाएका छौँ ।”

उहाँका अनुसार महाङ्काल गाउँपालिका–६ ठूलादुर्लाङबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो । घरदैलोमै भत्ता पाउँदा ज्येष्ठ नागरिक, अशक्तता भएका व्यक्ति तथा एकल महिलाले खुसी व्यक्त गरेका छन् । पालिकाले आगामी दिनमा यो सेवा सबै वडामा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष गोलेले घुम्ती शिविरमार्फत नागरिकता सिफारिस, सामाजिक सुरक्षा सेवा तथा व्यक्तिगत घटना दर्तालगायत सेवा वडास्तरमै उपलब्ध गराइने जानकारी दिनुभयो ।‘अब पालिकामा होइन, सेवा तपाईंको घरमै’ भन्ने नारासहित सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिक केन्द्रित बनाउने अभियानलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।