`

जनमत पार्टीको केन्द्रीय सचिवमा चर्चित संगीतकार सन्तोष राज सहनीले उम्मेदवारी दिने

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सन्तोष राज सहनीले पार्टीको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।आगामी असोज १० गते बिरगंजमा हुने जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा सहनीले केन्द्रीय सचिव पदमा चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन्।

पार्टीको आन्तरिक तयारी र नेताहरूसँगको छलफलपछि उनले सचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको बताइएको छ।सहनी हाल जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यका साथै सांस्कृतिक जनमत संघका केन्द्रीय संयोजक समेत हुन्।

पार्टी अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनलाई सांस्कृतिक जनमत संघको केन्द्रीय संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो।सांस्कृतिक गतिविधिमार्फत पार्टीको विचार, नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले गठन गरिएको संघको नेतृत्व गर्दै सहनीले सांस्कृतिक क्षेत्रसँगै राजनीतिक गतिविधिमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

राजनीतिसँगै सहनी नेपाली तथा भोजपुरी संगीत क्षेत्रमा पनि परिचित छन्। उनी नेपाली, हिन्दी र भोजपुरी संगीतकार, गीतकार तथा गायकसमेत हुन्।कलाकारिता पेसासँगै राजनीतिमा सक्रिय रहँदै आएका सहनीले लामो समयदेखि पार्टीको संगठन निर्माण, राजनीतिक गतिविधि तथा विभिन्न अभियानमा काम गर्दै आएका छन्।

सहनीले पार्टीमा युवाहरूको साथ र व्यापक समर्थन रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। पार्टीभित्र आफ्नो बलियो पकड रहेको उल्लेख गर्दै उनले सचिव पदको निर्वाचनमा आफू विजयी हुनेमा ढुक्क रहेको बताएका छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन असोज १० गते हुने तय भएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछ।सोही क्रममा केन्द्रीय सचिव पदका लागि पनि निर्वाचन हुने भएकाले सहनीको उम्मेदवारीलाई पार्टीभित्रको आगामी नेतृत्व चयनसँग जोडेर हेरिएको छ।

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे। उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहेका थिए ।

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ र आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

त्यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ३८ पैसा बिक्रीदर ४०७ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ ।

काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन् । त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उनको अवस्था अज्ञात छ ।

छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा, नुवाकोट पुग्नुभयो । बाढीले पुर्‍याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले आशा भने मारेको थिएन । घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर तथा सूचना प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो । पोखराको तुलसीघाटमा सृष्टिको कुशको शवको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिए ।

“बाढी आउनुअघि भदौ ९ गते साँझ मात्र सृष्टि नुवाकोट पुगेकी रहिछन् । बिहान परिवारसँग कुराकानी भएको रहेछ । त्यसपछि कुनै जानकारी प्राप्त भएन”, गौतमले भने, “विनाशकारी बाढीपछि कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ । तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो ।”

देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको यात्रा अधूरै रहेको छ । अध्ययन पूरा गरेर देश निर्माणमा योगदान दिने उमेरमै बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए ।

“होनहार छोरी, परिवारको आशा र देशको सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ”, बरालले भने । त्यसैगरी भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेको छ ।

टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि नै सम्पर्कविहीन छन् । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताए ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बाढीमा बेपत्ता आफन्तको खोजीका लागि परिवारले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि कुनै जानकारी नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका हुन् ।

बेपत्ता फर्कने आस मरेपछि अन्तिम संस्कार

यसैबिच भोटेकोशी बाढीमा परी गत भदौ १० गतेदेखि बेपत्ता बेँसीसहर नगरपालिका–११ का झपटबहादुर घर्ती र राधिका घर्तीको आज कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

बाढीपछि सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरिएको भतिज विशाल घर्तीले बताउनुभयो । “खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ । अब उपाय बाँकी रहेन । काजकिरिया सुरु गरेका हौँ”, उनले भने ।

बेँसीसहर–११ का ४५ वर्षीय झपटबहादुर र उनकी श्रीमती ४३ वर्षीया राधिका रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । गत भदौ १० गतेको बाढीपछि दुवै जना सम्पर्कविहीन हुनुभएको थियो । त्यसयता परिवार तथा सम्बन्धित निकायले सम्भावित स्थानमा खोजी गरे पनि उनीहरूको शव फेला पर्न सकेको छैन ।

यस्तै, सोही बाढीमा बेपत्ता मस्र्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन । उनको पनि संस्कारअनुसार काजकिरिया सम्पन्न भइसकेको छ । भण्डारी सबइन्जिनियरका रूपमा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जनाको पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

लैजान लागिएका दुई किशोरीको उद्धार, दुई पक्राउ

बाँके । बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

उक्त नाकामा किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगन्जबाट भारततर्फ जाँदै गरेको अटोरिक्सामा दुई किशोरीलाई सशस्त्र प्रहरीले फेलापारेको थियो ।

उद्धार गरिएका दुवै किशोरी बर्दियाका रहेको सशस्त्र प्रहरी बल नं ३० गणले जानकारी दिएको छ । पक्राउ पर्नेमा नरैनापुरका हनुमान यादव, भारतको उत्तर प्रदेश श्रावस्तीका हनुमानप्रसाद महन्त छन् ।

उद्धार गरिएका दुवै किशोरीलाई आजै परिवारको जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृह नेपालगन्जकी प्रमुख सम्झना चदराले जानकारी दिनुभयो । उहाँले उद्धार गरिएका किशोरीका केही साथी अझै पनि भारतमा रहेको उल्लेख गर्दै विशेष सूचनाका आधारमा प्रहरीलाई खबर गरिएको बताउनुभयो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको छ ।

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएको छन् । पाँचौँ पटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् ।

यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए । विगतमा जात्रा नियमित हुन सकेको थिएन ।

विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः जात्रा सुरु भएको थियो । त्यसयता उहाँले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए । उनले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् ।

विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुनः जात्रालाई निरन्तरता दिएका थिए । मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएका थिए ।

आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब छ लाख बढी खर्च हुने गरेको छ । नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयको खर्च हुने गरेको छ । मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौँ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो । त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ । पशुपतिनाथसम्मको यात्रा गर्दै पुनः बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ । उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।

घटनामा दोषी देखिएकालाई कारबाही हुन्छ: मन्त्री यादव

सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बिहीबार गृहजिल्ला राजविराज आएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर अस्पतालमा भएको घटनाबारे जानकारी लिनुका साथै आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उक्त घटनाबारे जानकारी प्राप्त भए लगत्तै दोषी देखिएकामाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको मन्त्री यादवले बताए । गत बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३० वर्षीया बबिता पासवान सुत्केरी हुन अस्पताल पुगेकी थिइन् ।

आवश्यक रकमको जोहो गर्न नसकेपछि बबिताले सडकको पेटीमा छोरालाई जन्म दिएकी थिइन् । उक्त दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको सभ्यतामाथि नै खतरा रहेको तथ्य संयुक्त राष्ट्रसङ्घमार्फत विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।

बिहीबार साँझ परराष्ट्र मन्त्रालयमा पत्रकारहरूसँग अनौपचारिक अन्तक्र्रियाका क्रममा उनले भने, “जलवायु परिवर्तनबाट नेपाल र हामीजस्ता हिमाली देशहरू जोखिममा छन् । भोटेकोशीमा आएको हिमाली सुनामीबाट यो प्रमाणित भएको छ । यो तथ्यलाई हामी राष्ट्रसङ्घको आगामी महासभामा उठाउँछौँ ।”

मन्त्री खनालले भोटेकोशी बाढीको प्रकृति जलवायु परिवर्तनको असरबाहेक अरू केही हुन नसक्ने भन्दै यस प्रकारका प्रलयबाट नेपाल मात्र नभई सिङ्गो हिमाली सभ्यता नै खतराको सूचीमा रहेको प्रामाणिक आधार महासभामा प्रस्तुत गरिने बताए ।

उनले भने, “आगामी महासभामा हाम्रो प्रमुख एजेन्डा नै जलवायु न्याय हो । हामी जलवायु परिवर्तनका कारण पीडित छौँ भन्ने वैज्ञानिक एवं प्रामाणिक तथ्यसहित प्रस्तुत हुन्छौँ र यही वास्तविकता विश्व समुदायसमक्ष राख्नेछौँ ।”

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्नुहुनेछ । नेपाललाई नखाएको विष कसरी लागिरहेको छ र हामी दिनप्रतिदिन जलवायु परिवर्तनको सिकार के–कसरी भइरहेका छौँ भन्ने तथ्य उनले प्रस्तुत गर्ने जानकारी पनि मन्त्री खनालले दिए ।

नेपालले विगत लामो समयदेखि राष्ट्रसङ्घसहित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल जलवायु न्यायको भागिदार रहेको दलिल पेस गर्दै आएको उल्लेख गर्दै मन्त्री खनालले आगामी दिनमा जलवायु कूटनीतिका माध्यमबाट यसलाई संस्थागत गर्ने र नेपालभित्र पनि अन्तरसरकारी संयन्त्रमार्फत जलवायु कूटनीतिको क्षेत्रलाई बलियो बनाइने उल्लेख गरे ।

मन्त्री खनालले जलवायु परिवर्तनको असरबाट जोखिममा परेका साना तथा टापु एवं पहाडी राष्ट्रहरूको साझा गठबन्धन बनाएर त्यसको नेतृत्व गर्दै नेपालले जलवायु कूटनीतिको वकालत गर्ने स्पष्ट पारे ।

उनले भने, “पहिले–पहिले साना, टापु तथा पहाडी राष्ट्रहरू जलवायु परिवर्तनबाट समुद्री देशहरूमात्र प्रभावित हुन्छन् भन्ने सोचमा थिए । तर अहिले जलवायु परिवर्तनको असर केवल समुद्री सतह बढ्ने मात्र नभएर हामीजस्ता देशमा नै बढी देखिएकाले यस प्रकारको गठबन्धनका साथ अगुवाइ एवं कूटनीतिक पहल गर्न जरुरी देखिएको छ ।”

आफू महासभामा सहभागी हुने क्रममा कैयौँ ‘साइडलाइन’ भेटघाटमा व्यस्त रहने र त्यस क्रममा भोटेकोशी बाढीका कारण भएको क्षतिका बारेमा जानकारी गराएर सहयोग र पुनर्निर्माणका लागि आग्रह गर्ने जानकारी मन्त्री खनालले दिए ।

नेपालजस्ता देशले अब ऋणको बोझ धेरै बोक्न नसक्ने स्पष्ट गर्दै विश्व समुदायसमक्ष सहयोगका लागि अपिल गर्ने उनको भनाइ थियो ।

त्यस क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालले यसपटक जलवायु न्यायका पक्षमा विश्व समुदायसमक्ष वकालत गर्ने जानकारी दिए । सो सम्बन्धमा नेपालले एक अलग्गै उच्चस्तरीय कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जलवायु परिवर्तनको जोखिम दिनप्रतिदिन बढ्दै गएकाले नेपालले जलवायु कूटनीतिलाई कूटनीतिको नयाँ आयामका रूपमा विश्वव्यापी रूपमा विस्तार गर्दै लैजाने बताए ।

राष्ट्रसङ्घको आसन्न ८१औँ महासभाका लागि प्रधानमन्त्री शाह यही सेप्टेम्बर २२ मा न्युयोर्क प्रस्थान गर्ने र २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी २६ सेप्टेम्बरमा स्वदेश फर्कनुहुनेछ ।

त्यसैगरी, परराष्ट्रमन्त्री खनाल यही सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्ने र ३० मा स्वदेश फर्किने कार्यक्रम छ ।

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल (होल्डिङ सेन्टर)मा बस्दै आएका यहाँका प्रभावित क्रमशः होल्डिङ सेन्टर छाडेर क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन् ।

गत भदौ १० गते आएको विनासकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो । होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन् ।

बाढी आएलगत्तै सरकारले उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने कामलाई प्राथमिकता दिएको थियो । त्यसपछि खोज तथा उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टर व्यवस्थापनमा जोड दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत भदौ १२ गते जिल्लाका १२ स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकामा आठ स्थानमा एक हजार २९० जना प्रभावितलाई राखिएको थियो । गत भदौ २२ गतेसम्म आइपुग्दा होल्डिङ सेन्टरको सङ्ख्या र बसोबास गर्नेको सङ्ख्या सबैभन्दा धेरै भएको थियो । त्यस दिन उक्त सेन्टरको सङ्ख्या २८ पुगेको र त्यहाँ बस्नेत प्रभावितको सङ्ख्या दुई हजार ६३७ पुगेको थियो ।

पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्ने प्रभावितको सङ्ख्या क्रमशः घट्दै गएको छ । बिहीबारसम्म आइपुग्दा जिल्लामा होल्डिङ सेन्टरको सङ्ख्या घटेर १६ मा झरेको छ । त्यहाँ बसोबास गर्नेको सङ्ख्या ८३२ जना रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार होल्डिङ सेन्टर छाडेर प्रभावित अस्थायी बसोबासको बन्दोबस्तमा जुट्न थालेका छन् । बाढीले प्रभावित भए लगत्तै हेलिकप्टरलगायतका माध्यमबाट उद्धार गरेर राखिएकालाई खानपानसहितको बसोबास उपलब्ध गराई सहजीकरण गरिएको थियो । हराइरहेका आफन्तको खोजी जारी छ । बेपत्ता भएकाहरु नभेटिएपछि अन्तिम संस्कारका लागि पनि मानिसहरु जान थालेका छन् । सो क्रमसँगै क्रमशः सङ्ख्या घट्दै गएको प्रजिअ रेग्मीको भनाइ छ ।

होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ । जिल्लामा सबैभन्दा धेरै प्रभावित रहेको विदुर नगरपालिकाले कोठा भाडाबापत मासिक रु १० हजार उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार होल्डिङ सेन्टर छाडेर कोठामा बस्न जाने प्रभावितलाई खाद्य सामग्री, भाँडाकुँडा, सरसफाइका सामग्रीसहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने नगर कार्यपालिकाको निर्णयपछि कोठामा जानेको सङ्ख्या बढेको हो ।

“बाढी प्रभावित कोठा लिएर बस्न थाल्नुभएको छ । पालिकाले घोषणा गरेको प्याकेज कार्यक्रम लिन आउनेको सङ्ख्या बढ्दो छ”, नगरप्रमुख श्रेष्ठले भने, “सङ्घीय सरकारले पनि प्रतिपरिवार मासिक न्यूनतम रु १५ हजार दिने घोषणा गरेकाले दोहोरोपन नहोस् भनेर भाडाबापतको रकम दिन बाँकी छ ।”

तीनै तहका सरकारले बाढीको जोखिमबाट उद्धार गरिएका प्रभावितलाई राख्न सञ्चालनमा ल्याइएका आश्रयस्थल खाली गर्न सहज होस् भनेर कोठाभाडाबापतको रकमसहित विभिन्न सुविधा घोषणा गरेका छन् । सरकारी घोषणासँगै प्रभावितहरूले पनि होल्डिङ सेन्टरको बसाइ छाडेर अस्थायी बसोबासको प्रबन्ध मिलाउन थालेका छन् । प्रभावितको सहजीकरणका लागि सरकारले उनीहरूको चाहनाअनुसारको रणनीति अपनाएको छ । उपयुक्त स्थानमा कोठा नपाउने वा कोठामा बस्न नसक्ने प्रभावितका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले बाढी प्रभावित क्षेत्रबाट विस्थापित भई होल्डिङ सेन्टरमा बस्दै आएकासँग प्रश्नावलीमार्फत उनीहरूको आवश्यकताबारे जानकारी सङ्कलन गरेको छ । कोठा लिएर बस्न नचाहने वा त्यसरी बस्न नसक्ने परिवारका लागि अस्थायी आवास निर्माण गर्ने तयारी गरिएको छ ।

आयोजना प्रमुख शशेन्द्र घिमिरेका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका होल्डिङ सेन्टरमा बसोबास गर्ने दुई हजार २७ परिवारसँग प्रश्नावली भरेर विवरण लिइएको छ । त्यसमध्ये करिब ३१ प्रतिशतले सरकारले निर्माण गर्ने अस्थायी आवासमा बस्न चाहेको बताएका छन् । “सरकारले नै अस्थायी आवास निर्माण गरिदिए सहज हुने बताउनेमा अधिकांश रसुवाका प्रभावित छन्”, आयोजना प्रमुख घिमिरेले भने ।

भोटेकोशी बाढीपछि सुरक्षित स्थानको खोजीमा विस्थापित भएका अधिकांश प्रभावित नुवाकोटमा बसोबास गरिरहेका छन् । उनीहरूसँग आफ्नै नाममा सुरक्षित जग्गा नभएकाले सरकारले अस्थायी संरचना निर्माण गरिदिए बसोबास गर्न सहज हुने बताउँदै आएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब रु २३ करोड थपिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा बुधबारको तुलनामा आज रु २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो ।

कोषमा आज साँझसम्म विभिन्न नौवटा बैंकमा मौज्दात रकम रु १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ ।

कार्यालयका अनुसार सबै खातामा गरी रु १४ अर्ब ५६ करोड ३८ लाख सात हजार ५५६ जम्मा मौज्दात छ ।

कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा भइसकेको छ ।

सरकारले हालै रसुवाका बाढीप्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक रु १५ हजार र थप प्रत्येक सदस्यका लागि रु दुई हजार अतिरिक्त उपलब्ध गराइने छ ।

श्रीलङ्काका कप्तान असलङ्काले नेपाल प्रिमियर लिग खेल्ने

काठमाडौँ। श्रीलङ्काको टी–२० क्रिकेट टोलीका कप्तान चरिथ असलङ्काले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत असलङ्कालाई आगामी ‘सिजन’ का लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो । २९ वर्षीय असलङ्काले श्रीलङ्काका लागि ७७ टी–२० अन्तरराष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन् । बलिङतर्फ उनले सात विकेट लिएका छन् ।

फ्रेन्चाइज क्रिकेटमा पनि उनले अनुभव हासिल गरिसकेका छन् । असलङ्काले हालसम्म १८५ टी–२० खेल खेल्दा तीन हजार ७१५ रन बनाउनाका साथै ३७ विकेट लिएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र इन्टरनेसनल लिग टी–२० लगायत चर्चित फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका छन् ।

अब असलङ्का एनपिएलमा पनि देखिने छन् । एनपिएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुने तालिका छ ।

बराहक्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन्।

बिहीबार बृहत्तर बराहक्षेत्र विकास समिति चतरा कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै उनले बराहक्षेत्र क्षेत्रलाई धार्मिक तथा पर्यटन सर्किटका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भने, “बराहक्षेत्रको धार्मिक महत्वलाई पर्यटनसँग जोडेर पूर्वाधार विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ।” धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बराहक्षेत्रको समग्र विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले बराहक्षेत्रमा आयोजना हुँदै आएको कुम्भ मेलासहित यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सके आर्थिक गतिविधि बढ्नाका साथै स्थानीयस्तरमा रोजगारीका अवसर पनि सिर्जना हुने बताए। यहाँको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई संरक्षण गर्दै योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

त्रिवि शिक्षण अस्पतालमा आठ घाइतेको उपचार हुँदै

काठमाडौँ। भोटेकोशी नदीमा गएको बाढीमा परेर घाइते भएकामध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ७० घाइते घर फर्किएका छन् ।

शिक्षण अस्पतालका प्रवक्ता एवम् वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाइँले अस्पतालमा उपचारका लागि ल्याएका ८४ घाइतेमध्ये आज साँझसम्म ७० घाइते घर फर्किएको राससलाई जानकारी दिनुभयो ।

यस्तै, अस्पतालमा ल्याएका घाइतेमध्ये आठ जनाको उपचार भइरहेको छ । डा सेढाइँका अनुसार हाल मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, चण्डिका श्रेष्ठ र सलिना भुजेलको उपचार भइरहेको छ ।

यस्तै, चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाइँले बताउनुभयो । अस्पतालमा ल्याएका एक घाइतेको भने उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

चितवन। पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएपछि नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा आंशिक रूपमा बन्द गरिएकामा केही दिनका लागि लागि पूर्ण रूपमा सञ्चालनमा रहने भएको छ ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी एवं इञ्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार तुइनखोलामा स्लोप स्टाबिलाइजेसन (सडकको भीर स्थिरीकरण)को काम भइरहेकाले गत भदौ २२ गतेदेखि उक्त क्षेत्रमा सवारी आवागमन आंशिक रूपमा सञ्चालन गरिएको थियो । कृष्णभीरको सडक खुलेसँगै तराईबाट काठमाडौँ प्रवेश गर्ने मुख्य लाइफलाइन मार्गमा यातायात सहज बनाउन केही दिनका लागि तुइनखोलाको काम रोकिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार लामो समयदेखि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा राजधानीतर्फ जाने सवारीसाधन प्रभावित भएका थिए । कृष्णभीर सञ्चालनमा आएपछि नारायणगढ-मुग्लिन सडकखण्डमा थप अवरोध नहोस् र सवारी आवागमन सहज होस् भन्ने उद्देश्यले तुइनखोलामा भइरहेको काम अस्थायी रूपमा रोकिएको उहाँले जानकारी दिनुभयो ।

इञ्जिनियर आचार्यले भन्नुभयो, “लामो समयसम्म काठमाडौँ जाने सवारीसाधन यहाँबाट पाएका छैनन् । नारायणगढ-मुग्लिन सडकखण्डमा पनि अवरोध हुँदा थप समस्या नहोस् भनेर केही दिनका लागि काम रोकेर सडक पूर्ण रूपमा सञ्चालनमा सहज बनाइएको हो ।” उहाँले यातायात सहज भएपछि पुनः तुइनखोलामा पहिरो व्यवस्थापनको काम सुरु गरिने बताउनुभयो ।

तुइनखोलामा स्लोप स्टाबिलाइजेसनको काम भइरहेकाले यसअघि बिहान ८ः३० बजेदेखि बेलुकी ६ः०० बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गर्ने व्यवस्था गरिएको थियो । बेलुकी ६ः०० देखि बिहान ८ः०० बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन हुँदै आएका थिए ।

गत वर्षदेखि तुइनखोलामा वर्षायाम मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिन थालेपछि सडक डिभिजन भरतपुरले यसको दीर्घकालीन समाधानका लागि विशेष प्रविधि अपनाएर काम अघि बढाएको छ ।

यसअन्तर्गत भीरको स्लोप मिलाउने, ‘नेलिङ’ प्रविधि प्रयोग गर्ने, रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ निर्माण गर्ने तथा बायोइन्जिनियरिङ प्रविधि अपनाउने योजना रहेको कार्यालयले जनाएको छ । हाल तुइनखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ ।

९२ जनामा डेङ्गु सङ्क्रमण

चितवन। जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ८८६ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चितवनका ७८ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका छन् । जिल्लामा सबैभन्दा बढी सङ्क्रमण रत्ननगर नगरपालिकामा ३० जना डेङ्गुका सङ्क्रमित रहेका जनाउँदै उहाँले सबैभन्दा कम कालिका नगरपालिकामा दुई जना भेटिएका बताउनुभयो ।

यो रोग बढी सहरी क्षेत्रमा देखिएको बताउँदै केसीले सहरी क्षेत्रमा बढी मात्रामा पानी जम्ने ठाउँ हुने भएकाले सङ्क्रमित सङ्ख्या धेरै हुने गरेको उल्लेख गर्नुभयो । डेङ्गुबाट बच्नका लागि झूल टाँगेर सुत्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जमेका भाँडाहरुको पानी फाल्ने, बिहानबेलुका बारीमा काम गर्दा लामबाउले लुगा लगाउने गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

किट नियन्त्रक केसीका अनुसार जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये १९१ जनामा स्क्रफ्ट टाइफसको सङ्क्रमण देखिएको छ । एक हजार १४ जनाको नमूना परीक्षणका क्रममा १९१ जनामा यो रोग देखिएको हो । तीमध्ये ११८ जना चितवनका हुन् ।

यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यस रोगबाट बच्नका लागि झाडीमा जाँदा लामो लुगा लगाउने साँझ बिहान चौरमा बस्दा सुरक्षित भएर बस्ने लगायतका कामहरु गर्नुपर्ने उहाँले बताउनुभयो ।

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त निर्देशिकाको प्रावधानअनुरुप सीप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका लागि श्रममन्त्रीको संयोजकत्वमा आज बैठक बसेको हो ।

निर्देशन तथा समन्वय समितिको बैठकमा यही असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गरिने निर्णय गरेको छ । यस किसिमको मेलालाई क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन गर्ने गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउने मन्त्रालयको उद्देश्य छ ।

तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घ/महासङ्घ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको समन्वय र सहकार्यमा मेला सञ्चालन हुने भएकाले सीप, रोजगारी, उद्यमशीलता, स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर अभिवृद्धि गर्ने सबै सरोकारवालाहरूलाई सहभागिताका लागि पनि मन्त्रालयले आह्वान गरेको छ ।

बैठकपछि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउनुपर्नेमा जोड दिँदै नेपालमा रोजगारी गर्न तथा उद्यमी बन्न सकिन्छ भन्ने अनुभूतिसहित सकारात्मक सन्देश दिन सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने बताउनुभयो ।

मन्त्री यादवले आन्तरिक रोजगारी दशकलाई सफल बनाउन सरकार र निजी क्षेत्रसहित सबै सरोकार भएका निकायले सहकार्य गरी सीप र रोजगारीको एक बलियो प्रणाली (इकोसिस्टम) निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यस प्रणाली निर्माणमा यो सीप तथा रोजगार मेला कोसेढुङ्गा बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौँ। भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता छन् ।

पर्यटन विभागले दिएको जानकारीअनुसार गत भदौ १० गतेको बाढीमा परेर आजसम्म ३६ देशका ६०६ विदेशी पर्यटक बेपत्ता भएका हुन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएकामध्ये अझै ६०६ विदेशी पर्यटक बेपत्ता भएका राससलाई जानकारी दिनुभयो । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका छन् ।

विभागले दिएको जानकारीअनुसार भारतका १८९, अष्ट्रेलियाका ३३, क्यानडाका ३०, मलेसियाका ५५, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, लाटभियाका ३३, चीनका ३७ जना छन् ।

त्यस्तै, बेलारुस। फिनल्याण्ड, फ्रान्स, जर्मनी हङ्गेरी, आइरिस, इजरायल, लिथ्वानिया, नेदरल्याण्ड, न्युजरल्याण्ड, पोर्चुगल, रसिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, जापान, फिलिपिन्स, काजकिस्तान, बेल्जियम, स्विडेन, स्विजरल्याण्ड, इटली, भियतनाम, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता भएका छन् ।

उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका छन् । विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेका विभागका सूचना अधिकारी घिमिरेले बताउनुभयो । उहाँका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ ।

यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना (तीन पुरुष, नौ महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन् ।

अमेरिकाप्रति इरानको अविश्वास कायमै

इरानका एक उच्च सुरक्षा अधिकारीले अमेरिकाप्रति तेहरानको गहिरो अविश्वास रहेको दोहोर्‍याउँदै वासिङ्टनले व्यावहारिक कदम चालेर विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रका प्याट्रियोटिक युनियन अफ कुर्दिस्तानका नेता बाफेल जलाल तालाबानीसँगको भेटमा बुधबार यस्तो बताउनुभएको हो ।

“हामी कुनै पनि हालतमा अमेरिकालाई विश्वास गर्दैनौँ । उनीहरूले व्यावहारिक कदम चाल्नुपर्छ र हाम्रो विश्वास जित्नुपर्छ,” रेजाईले भन्नुभयो ।

उहाँले इरान र इराकी कुर्दिस्तान क्षेत्रबीचको सीमामा सुरक्षा सुनिश्चित गर्न तथा कुर्दिस्तान क्षेत्रमा सक्रिय इरानविरोधी समूहको सामना गर्नुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले उक्त क्षेत्रमा इजरायलको गतिविधिप्रति पनि चेतावनी दिनुभयो ।

यसअघि बुधबार नै इरानका राष्ट्रपति मसुद पेजेस्कियानले तालाबानीसँगको भेटमा पश्चिम एसियामा कलह र द्वन्द्व निम्त्याउने विदेशी प्रयासप्रति सचेत रहनुपर्ने बताउनुभएको थियो । राष्ट्रपतिको कार्यालयको ‘वेबसाइट’मा प्रकाशित विज्ञप्तिअनुसार उहाँले क्षेत्रीय सहयोग र संवादमार्फत अस्थिरता तथा मतभेदका कारण हटाउनुपर्नेमा जोड दिनुभयो ।

पेजेस्कियानले छिमेकी मुलुकसँगका विद्यमान समस्या संवाद र सहकार्यबाट समाधान गर्न इरान तयार रहेको बताउनुभयो । साथै, सबै पक्षले असल छिमेकीपनको सिद्धान्त पालना गर्दै अत्यधिक माग र अनुपयुक्त व्यवहारबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो ।

तस्निमका अनुसार रेजाईसँगको भेटमा तालाबानीले इरान–इराकी कुर्दिस्तान सीमामा सुरक्षा सुनिश्चित गर्न तथा सीमावर्ती क्षेत्रमा रहेका इरानविरोधी समूहसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

इरानी राष्ट्रपतिको कार्यालयका अनुसार तालाबानीले सीमावर्ती क्षेत्रमा सक्रिय क्रान्तिविरोधी समूहलाई उक्त क्षेत्रबाट हटाउन तथा इरानसँगको साझा सीमाको सुरक्षा सुनिश्चित गर्न इराकी कुर्दिस्तान क्षेत्र प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो।

शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उहाँले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन-नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षाफल प्रकाशनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने विश्वास व्यक्त गर्नुभयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

आयोगका अध्यक्ष डा लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताउनुभयो । आयोगको प्रभावकारिता तथा शिक्षक व्यवस्थापन सुधारका लागि नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिनुभयो । छलफलमा मन्त्रीको सचिवालय तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

पहिरिएको सडकभन्दा माथिबाट १२ दिनमै नयाँ ट्र्याक, कृष्णभीरमा दुईतर्फी यातायात सुचारु

काठमाडौँ । गत भदौ १० गतेको बाढीले धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको सडक बगाएपछि अवरुद्ध भएको सडकखण्डमा नयाँ ट्र्याक सञ्चालनमा आएको छ।

पुरानै स्थानबाट सडक निर्माण गर्न कठिन भएपछि इन्जिनियरिङ अध्ययनका आधारमा पहिरिएको सडकभन्दा माथिबाट नयाँ ट्र्याक खोलिएको हो। निर्माण व्यवसायी सहदेव खड्काको नेतृत्वमा सगुन कन्स्ट्रक्सन र भीमेश्वर कन्स्ट्रक्सन परिचालन गरी करिब १२ दिनमै दुई लेनको ट्र्याक निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।

नयाँ ट्र्याक खुलेसँगै कृष्णभीरमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन थालेका छन्। यसैबीच गायक नवीन पौडेलले कठिन भूगोलमा छोटो समयमै सडक निर्माण गरेको भन्दै सहदेव खड्काको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत खड्कालाई ‘राजधानी प्रवेश गर्ने लाइफलाइन कृष्णभीर निर्माणको हिरो’ भन्दै धन्यवाद दिएका छन्।

नयाँ सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आवतजावत गर्ने यात्रुलाई ठूलो राहत भएको छ।

अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ

काठमाडौँ। अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक २५ वर्षीय काथराम नितिन पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई चितवन भरतपुर महानगरपालिका–२ आँपटारीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनका साथबाट मोबाइल २६ थान, ल्यापटप दुई थान, सिमकार्ड ९५ थान, सिपियु चार थान, इन्भर्टर एक थान, ब्याट्री दुई थान, युएसबी ६ थान, राउटर दुई थान, विभिन्न प्रकारका डेटा केबुललगायत सामान पनि बरामद गरेको छ ।

ती उपकरण तथा सामग्री अवैध रूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा प्रयोग गरिएको भन्ने खुल्न आएको केन्द्रीय समाचारकक्षले जनाएको छ ।

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौँ। फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरकारसँग आग्रह गरेको छ ।

एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेनलमा एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले एन्फा बन्द हुँदा खेलाडी र राष्ट्रिय टोलीको तयारी मात्र नभई त्यहाँ कार्यरत कर्मचारीको दैनिक जीवन पनि प्रभावित भएको बताउनुभयो ।

उहाँले बङ्गलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता अन्योल भएको भन्दै यस विषयमा नेपालको सहभागिता सुनिश्चित गर्न तत्काल निर्णय आवश्यक रहेको बताउनुभयो ।

“एन्फा बन्द हुँदा खेलाडी र राष्ट्रिय टोलीको तयारी मात्र होइन, त्यहाँ कार्यरत कर्मचारीको दैनिक जीवन प्रभावित भएको छ,” तुलाधरले भन्नुभयो । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलाधरले आर्थिक कठिनाइका कारण कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूमा गम्भीर तनाव उत्पन्न हुन सक्ने अवस्थातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी, एन्फाका महासचिव किरण राईले साफ च्याम्पियनसिपमा नेपालको सहभागिताबारे सरकारले तत्काल स्पष्ट निर्णय गर्नुपर्ने बताउनुभयो । “अब नेपाली फुटबलको विषयमा स्पष्ट हुनुपर्छ । यस विषयमा सरकारसँग छलफल गर्न हामी तयार छौँ,” राईले भन्नुभयो । एन्फा निलम्बनको समस्या समाधानका लागि फिफा र एएफसीसँगको औपचारिक संवाद र समन्वयमा आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, एन्फा महासचिव राईले एन्फा सञ्चालनमा नआउँदा राष्ट्रिय टोलीको तयारीदेखि एन्फा एकेडेमीमा रहेका बालबालिकाको दैनिक जीवनसम्म प्रभावित भएको उल्लेख गर्नुभयो ।

फिफाको निलम्बनका कारण नेपालले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगिता गुमाइसकेको छ । फिफा सिरिज महिला प्रतियोगिता २०२६, नेपाल–हङकङ अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल, एएफसी यू–१७ महिला एसियन कप २०२७ छनोट, एएफसी यू–२० महिला एसियन कप २०२६ छनोट तथा एएफसी यू–२० एसियन कप २०२७ पुरुष छनोटलगायत प्रतियोगितामा नेपालको सहभागिता प्रभावित भएको एन्फाले जनाएको छ ।

त्यस्तै, एन्फाका कर्मचारी, राष्ट्रिय महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र रेफ्रीले पारिश्रमिक तथा भत्ता प्राप्त गर्न नसकेको र खेलाडीको उपचारमा पनि समस्या देखिएको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार फिफाले निलम्बन फुकुवाका लागि दुई प्रमुख सर्त अघि सारेको छ । जसमा पहिलो, २५ मार्च २०२६ मा राष्ट्रिय खेलकुद परिषद्ले गरेको निर्णय पूर्ण रूपमा खारेज गरी हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्नेछ । दोस्रो, एन्फाले आफ्नो विधान तथा नियमअनुसार यसअघि सुरु भइसकेको निर्वाचन प्रक्रिया यथाशीघ्र पूरा गर्न पाउनुपर्नेछ ।

फिफा निलम्बनको विषयमा सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तत्काल पहल गरी फिफा तथा एएफसीसँग समन्वय गरेर निलम्बन फुकुवा गर्न र नेपाली फुटबलका गतिविधि नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको गरेको छ ।

कांग्रेसलाई खरानीबाट उठाउने प्रयास भइरहेको छ – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षका अकल्पनीय घटना र असहज परिस्थितिबाट गुज्रिएको पार्टीलाई पुनः लयमा फर्काउँदै बलियो बनाउन निरन्तर प्रयास भइरहेको बताएका छन्।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट आएका नेता तथा सदस्यहरूलाई समेटेर कांग्रेसलाई एकीकृत रूपमा अघि बढाइएको बताए।

बैठकको सुरुवातमा उनले भदौ २८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार पहिलोपटक बैठकमा सहभागी भएका केन्द्रीय सदस्यहरूलाई स्वागत गरेका थिए।

गत वर्ष भदौ २३ र २४ गतेका घटनाको स्मरण गर्दै थापाले त्यसले मुलुक र कांग्रेसको राजनीतिक जीवनमा गहिरो प्रभाव पारेको बताए। ‘नेपालको जननिर्वाचित सरकार पदच्युत भयो, संसद् भवन ध्वस्त भयो र हाम्रो पार्टी कार्यालयसहित नेताहरूको भौतिक शरीरमाथि नै आक्रमण भयो,’ उनले भने, ‘इतिहासमै पहिलोपटक बहालवाला प्रधानमन्त्रीले यसरी सरकार छाड्नुपर्ने स्थिति बन्यो। यो घटनाले पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि ठूलो प्रश्न उठाएको छ।’

निर्वाचनमा कांग्रेसले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसके पनि पार्टीलाई समाप्त हुनबाट जोगाउँदै ‘भुइँभन्दा मुनिबाट’ यात्रा सुरु गरेर खरानीबाट उठाउने प्रयास भइरहेको थापाले बताए।

प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो।

प्रधान सेनापति सिग्देलले भदौ ३१ गते चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका थिए। त्यसैगरी, उनले बेइजिङमा आयोजना भएको ‘१३औँ बेइजिङ स्याङसङ फोरम’को उद्घाटन सत्रमा समेत सहभागिता जनाएका थिए।

भोटेकोशी बाढी प्रभावित राष्ट्रसेवकलाई सम्पत्ति विवरण बुझाउन थप ३० दिनको म्याद

काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ।

राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण प्रभावित क्षेत्रमा कार्यरत रही तोकिएको समयभित्र सम्पत्ति विवरण पेश गर्न नसकेका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि म्याद थप गरेको जनाएको हो।

गत २०८३ भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीका कारण नेपाल सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सो क्षेत्रमा कार्यरत रही राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी दायित्व भएका तर विपद्का कारण निर्धारित समयभित्र विवरण पेश गर्न नसकेका कर्मचारीलाई म्याद थप गरिएको किताबखानाले जनाएको छ।

किताबखानाले थप गरिएको म्यादभित्र सम्पत्ति विवरण पेश गर्दा विपद्का कारण निर्धारित समयमा विवरण पेश गर्न नसकेको स्पष्ट व्यहोरा र कारण खुलाइएको सम्बन्धित कार्यालय प्रमुखबाट जारी आधिकारिक सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्न अनुरोध गरेको छ।

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

काठमाडाैँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ । ‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा करिब एक शताब्दीमा एक पटक वा त्योभन्दा लामो अन्तरालमा मात्र हुने वैज्ञानिकहरूले अनुमान गरेका छन्।

नासाका अनुसार सन् २०२४ को वसन्तमा चन्द्रमासँग ठोक्किएको धूमकेतु वा क्षुद्रग्रहका कारण क्रेटर बनेको हो । तीनदेखि छ तले भवनजत्रो वस्तु ठोक्किँदा बनेको अनुमान गरिएको यो क्रेटर नासाको लुनार रिकोनिसन्स अर्बिटर (एलआरओ) का अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नयाँ तस्बिर तथा स्क्यान अध्ययन गर्ने क्रममा पत्ता लगाएका हुन्।

सन् २००९ देखि चन्द्रमाको अध्ययन गरिरहेको एलआरओले उक्त क्षेत्रलाई ‘अँध्यारो प्रभामण्डलले घेरिएको ठुलो उज्यालो क्षेत्र’ का रूपमा देखाएको थियो। साइन्स एडभान्सेस जर्नलमा प्रकाशित अध्ययनले म्याकगेचिनलाई सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा ठूलो नयाँ क्रेटर भनेको छ।

वैज्ञानिकहरूका अनुसार हालै बनेको क्रेटरको अध्ययनबाट चन्द्रमाको भूगर्भीय संरचना र क्रेटर निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सकिनेछ। यसले भविष्यका चालकदलसहितका चन्द्र अभियानको तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। संयुक्त राज्य अमेरिका र चीन दुवैले चन्द्रमामा मानव अभियान सञ्चालन गर्ने योजना अघि बढाइरहेका छन्।

पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नभएकाले चन्द्रमामा अन्तरिक्षबाट आउने धूमकेतु, क्षुद्रग्रह वा अन्य भग्नावशेष उच्च गतिमै सतहमा ठोक्किन्छन्। त्यसैले त्यहाँ यस्ता प्रभावबाट नयाँ क्रेटर बन्ने गर्छन्।

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौँ । सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन, शव पहिचानका लागि ‘डिएनए’ परीक्षण तथा शव फेला नपरेका अवस्थामा पीडित परिवारले मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति र बैङ्किङलगायत कानुनी अधिकार पाउने व्यवस्था सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

एकातिर आफन्त गुमाउनुको पीडा र अर्कोतर्फ सरकारी क्षतिपूर्ति, बीमा भुक्तानी, बैङ्कमा रहेको रकम तथा अंशबन्डालगायत कानुनी प्रक्रिया अघि बढाउन नसक्दा पीडित परिवार अधिकारबाट वञ्चित भइरहेका भन्दै सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ठाकुरसिंह थारूले रसुवा बाढीका धेरै पीडित परिवारले परम्पराअनुसार कुश बनाएर अन्तिम दाहसंस्कार गरे पनि त्यसले कानुनी मान्यता पाउन नसकेको बताए । शव बरामद नहुँदा ‘पोस्टमार्टम रिपोर्ट’ बन्न नसक्ने र त्यसका कारण स्थानीय तहले मृत्यु दर्ता गर्न नमिल्ने अवस्था रहेको उनले उल्लेख गरे ।

उनीहरूले विपद् प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनासँगै विपद्पछिका कानुनी समस्याको समाधानमा समेत सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् । बाढीमा बेपत्ता भएका व्यक्तिको हकमा मुलुकी देवानी संहिता, २०७४ को दफा ४० न्यायसङ्गत नदेखिएको भन्दै उनले तत्काल संशोधन गर्न सांसद थारूले माग गरे । “विपद्का घटनामा कानुनको उल्झन होइन, परिवारलाई राहत र न्याय दिनुपर्छ, वर्षौं कुराउन हुँदैन,” उनले भने ।

रास्वपाका सांसद विश्वराज पोखरेलले हराएका नागरिकको खोजी तथा मृत फेला परेका तर सनाखत हुन नसकेका शवको डिएनए परीक्षण गरी पहिचानसहित अन्तिम संस्कार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए । अन्तर्राष्ट्रिय अभ्यास, मानव अधिकारका सिद्धान्त, आइसिआरसीको व्यवस्था तथा मुलुकी देवानी संहिताका प्रावधानलाई समग्र रूपमा हेर्दा पीडित परिवारले मृत आफन्तलाई आफ्नो धार्मिक संस्कारअनुसार अन्तिम बिदाइ गर्न पाउने मानवीय तथा कानुनी अधिकारलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, रास्वपाका सांसद कृष्णहरि बुढाथोकीले भोटेकोशी बाढीमा सन्तान तथा आफन्त गुमाएका परिवारका लागि मृत्यु दर्ता, बीमा, बैङ्क तथा अन्य दायित्व व्यवस्थापन सहज बनाउन सरकारसँग माग गरे ।

नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य थप प्रभावकारी बनाउन माग गर्नुभयो । उहाँले सुरुङभित्र र बाहिर खोजी कार्य तीव्र बनाउनुपर्ने बताए ।

नेपाली कांग्रेसकी सांसद गीता गुरुङले तिब्बततर्फबाट आउने आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण र पूर्वसूचना प्रणालीको व्यवस्था गर्नुपर्ने बताइन् ।

सांसदहरूले चाडपर्वमा बजार अनुगमन तथा महँगी र कालोबजारी नियन्त्रण, ग्यासको सहज आपूर्ति र जलवायुजन्य विपद्को क्षतिपूर्तिलगायत विषयमा समेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले चाडपर्वका समयमा कालोबजारी र महँगी नियन्त्रण गरी दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न तथा नागरिकको यात्रा सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले ग्यासको आवश्यक आपूर्तिका लागि सरकारले परिपक्व कूटनीतिक पहल गर्नुपर्ने बताए ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले लोककल्याणकारी विज्ञापन कटौती गर्ने संशोधित कार्यविधि तत्काल खारेज गरी समयानुकूल वृद्धि गर्न माग गरे । विदेशी सरकार वा संस्थाको सहयोगमा नेपालमा सञ्चालित राजनीतिक नेतृत्व विकास तथा युवा परिचालनसम्बन्धी कार्यक्रमको विवरण, बजेट र उद्देश्य सार्वजनिक गर्न सरकारसँग माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहीर अलि भाटले युवा बेरोजगारी, शैक्षिक क्षेत्रमा देखिएको असन्तुष्टि र स्वास्थ्य सेवामा पहुँच विस्तार हुन नसकेको विषय उठाए । रास्वपाका सांसद तारा विश्वकर्माले गोदावरी नगरपालिका कुण्डदेखि चापाखर्क त्रिवेणीसम्मको करिब सात किलोमिटर सडक कहिले निर्माण सम्पन्न हुन्छ भन्ने प्रश्न गरे ।

नेकपा (एमाले)का सांसद कुलभक्त शाक्यले ‘द ग्रे जोन’को ‘रिपोर्ट’बारे सरकारले मौन बस्न नहुने बताए । उनले लुम्बिनी र कपिलवस्तुको तिलौराकोट राज्यको ध्यान नपुगेको र उपेक्षित अवस्थामा रहेको उल्लेख गर्दै लुम्बिनी विकास कोषमा पदाधिकारी यथाशीघ्र नियुक्त गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको बताए । उनले नजिकिँदो चाडपर्वमा कालोबजारी र महँगी वृद्धि रोक्न तथा निजगढ–‘फास्ट ट्र्याक’लाई प्राथमिकता दिन आग्रह गरे ।

रास्वपाका सांसद अरविन्द साहले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने निर्णयप्रति सरकारलाई धन्यवाद दिए । उनले मधेसका विद्यालयको स्तरवृद्धि गर्दै शिक्षक दरबन्दी आन्तरिक रूपमै पूरा गर्न माग गरे ।

नेकपा (एमाले) का सांसद रिंगला यादवले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको विवरण सार्वजनिक गर्न माग गरिन् । यस्तै, रास्वपाका सांसद अशोककुमार चौधरीले इटहरी जिल्ला अस्पतालको स्तरवृद्धि गर्न माग गरे । उनले ग्यास अभाव विगतमा प्रणाली व्यवस्थापनको कमजोरीका कारण भएको उल्लेख गर्दै वर्तमान सरकारले प्रणाली सुधारको काम थालेको बताए ।

रास्वपाकी सांसद नीतिमा भण्डारी कार्कीले सर्लाही–१ मा लखन्देही नदीको निरन्तर कटानका कारण लालबन्दीको केही भूभाग टापुजस्तो बन्न पुगेको बताइन् । उनले सीमावर्ती क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्दै भारतसँग द्विपक्षीय संवाद अघि बढाउन आग्रह गरिन् ।

रास्वपाका सांसद रामविनोद यादवले राज्यको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन तथा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । रास्वपाकी सांसद अमृता विकले रोजगारीका नाममा महिलालाई ठगी तथा बेचबिखनमा पार्ने गिरोहविरुद्ध कारबाही गर्न माग गरिन् ।

उनले ‘भिजिट भिसा’को दुरूपयोग गरी ओमान, दुबई, कुवेत, साउदी अरेबियालगायत मुलुकमा दलित समुदायका महिलालाई गैरकानुनी रूपमा पठाउने गिरोहको खोजी गरी कारबाही गर्न आग्रह गरिन् ।

रास्वपाका सांसद लालविक्रम थापा र झविलाल डुम्रेले विपद्मा उद्धार तथा राहतमा संलग्न सरकारसहित सबै निकायलाई धन्यवाद दिए । सांसद डुम्रेले जलवायु न्यायको विषय उठाउँदै नेपालले राहत र सहयोग मात्र नभई जलवायुजन्य क्षतिको क्षतिपूर्ति दाबी गर्नुपर्ने बताए ।

रास्वपाका सांसद रुकेश रञ्जितले दसैँ, तिहार र छठजस्ता पर्व नजिकिँदै गर्दा खाद्यान्न तथा उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आपूर्ति शृङ्खलाको बहाना बनाएर कालोबजारी गर्नेलाई तत्काल कारबाही गर्न माग गरे ।

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा । जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप बढ्न थालेको छ । जटिल प्रसूति अवस्था, आपत्कालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन थालेका कारण चाप बढेको हो ।

आधारभूत १५ श्ययाका जिल्ला अस्पतालले दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै सुलभ दरमा भरपर्दो सेवा दिन थालेका कारण अस्पतालप्रति जिल्लावासीको विश्वास बढ्दै गएको छ । बाजुरा देशकै दुर्गम हिमाली जिल्ला हो । यसअघि बाजुरावासी शल्यक्रिया गर्न जिल्ला बाहिर जानुपर्दथ्यो ।

सीमित जनशक्ति, औषधि, उपकरण र स्रोतसाधनका बीच अस्पतालले विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि यहाँ आउने बिरामीको सङ्ख्यासमेत बढ्न थालेको छ ।

जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले प्रभावकारी विशेषज्ञ सेवा दिन सुरु भएदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो । अस्पतालमा हुम्ला, मुगुलगायत छिमेकी जिल्लाबाट दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

हाल एमडिजिपी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ । “विशेषज्ञ चिकित्सकको अभावमा विभिन्न सेवासँगै शल्यक्रियाका लागि धनगढी, काठमाडौँसम्म जानुपर्ने अवस्थाको अन्त्य भएको छ”, सूचना अधिकारी गिरीले भने, “अहिले अधिकांश जटिल शल्यक्रियासमेत यहीँ सफलतापूर्वक भइरहेका छन् ।”

दैनिक ओपिडी तथा शल्यक्रिया सेवासँगै चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ । यहाँ बालरोग, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक, कान, घाँटी, मानसिक स्वास्थ्य तथा अन्य आकस्मिक अवस्थाका बिरामीको उपचार हुने गरेको उनले बताए ।

सीमित स्रोत साधनका बिच जिल्ला अस्पतालले निरन्तर जीवनरक्षक तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.हरिशबहादुर मल्लले बताए ।

सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा अस्पतालमै विशेषज्ञ चिकित्सकसहितका सेवा सञ्चालन भएपछि स्थानीयवासीलाई ठूलो राहत मिलेको बताइन्छ ।

एक वर्षमा ३५ हजारले पाए सेवा, ३५१ जना रिफर

जिल्ला अस्पतालमा एक वर्षमा करिब ३५ हजार बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार ९५५ जना नागरिकको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । सो अवधिमा ३५१ जनालाई बाहिर रिफर गरिएको थियो ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म जिल्ला अस्पतालमा छ हजार ४६१ जना बिरामीले उपचार सेवा पाएका छन् । यहाँ जिल्लाका नौवटै स्थानीय तहसँगै छिमेकी जिल्ला मुगु, कालीकोट र हुम्लाका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको दुई महिनामा मात्रै १३९ जनाको हाडजोर्नीसम्बन्धी सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

करार कर्मचारीको भरमा अस्पताल

यहाँको जिल्ला अस्पतालमा हाल एक जना मेडिकल सुपरिटेन्डेन्ट (नवौँ तह) र एक जना आठौँ तहको डाक्टरसहित कूल १८ जनाको दरबन्दी छ । तर अहिले निमित्त मेडिकल सुपरिटेन्डेन्ट (आठौँ तह) सहित जम्मा नौ जनाले काम गर्छन् ।

बाँकी मेडिकल अधिकृतसहित ८९ जना करार सेवाका कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ । “संरचना पर्याप्त छ, ५० श्ययाको अस्पताल हुनुपर्नेमा १५ श्ययाको मात्रै हुँदा कर्मचारी पनि कम छन्,” उनले भने, “केही सेवा थप्यौँ, तर कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ ।”

डाक्टर मल्लले सुदूरपश्चिम प्रदेश सरकारले तत्काल जिल्ला अस्पताललाई ५० श्ययामा स्तरोन्नति गरे दुर्गमका नागरिकलाई ठूलो राहत पुग्ने बताए । अस्पतालको भौतिक संरचना र सेवा विस्तारको तुलनामा जनशक्ति तथा दरबन्दी पर्याप्त नहुँदा उपलब्ध स्रोत–साधनबाटै सेवा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

दुई महिनापछि एमडिजिपी सेवा

हालै सुदूरपश्चिम प्रदेश सरकारले एमडिजिपी डाक्टर राहुल श्रेष्ठलाई छात्रवृत्ति करारमा खटाएपछि सेवा प्रवाहमा थप सहजता भएको अस्पतालका प्रमुख डा. मल्लले बताए । उनका अनुसार अर्थोपेडिक सर्जनको नियमित उपस्थितिले हाडजोर्नी तथा नसा रोगसम्बन्धी उपचार र शल्यक्रिया सेवामा थप सहजता भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेशको बजेट नआउँदा औषधि खरिद प्रक्रिया प्रभावित

सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आर्थिक वर्षको बजेट नआउँदा औषधि खरिद प्रक्रिया अघि बढाउन समस्या भएको र अहिले जिल्ला अस्पतालमा निःशुल्क औषधिको अभाव हुने अवस्था सिर्जना भएको अस्पताल प्रमुख डा.हरिशबहादुर मल्लले जानकारी दिए ।

“फार्मेसीमा पर्याप्त औषधि छ,” उनले भने, “९८ प्रकारका निःशुल्क औषधि दिनुपर्नेमा करिब ५० प्रकारका औषधि निःशुल्क दिन्छौँ, खरिद गर्न बजेट नहुँदा समस्या भएको छ ।”

अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि औषधि, उपकरण र जनशक्तिको व्यवस्थापनमा समस्या देखिएको छ । निःशुल्क औषधिको मौज्दातसमेत घट्दै जानथालेको छ । त्यसको प्रत्यक्ष असर दुर्गमका नागरिकमा पर्छ ।

भौतिक संरचना, विशेषज्ञ सेवा र शल्यक्रिया सेवामा क्रमशः सुधार हुँदै गए पनि पर्याप्त जनशक्ति, नियमित औषधि आपूर्ति, अत्याधुनिक उपकरण तथा बजेट व्यवस्थापन जिल्ला अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

दुर्गमका नागरिकले लाखौँ रुपैयाँ खर्च गरेर सामान्य उपचारदेखि जटिल प्रकृतिका स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अझै कम गर्न सकिने देखिन्छ । यद्यपि जिल्ला अस्पताल प्रशासन र व्यवस्थापन समितिको लापर्वाहीका कारण बिरामीको उपचारका लागि समयमै डाक्टर नआउने, बिरामीले विभिन्न दुःख भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै पटकपटक अस्पतालको विरोध पनि हुँदै आएको छ ।

विगतको तुलनामा अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिरहेको भए पनि पर्याप्त विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण, नियमित औषधि आपूर्ति तथा व्यवस्थापकीय पक्षलाई थप बलियो बनाउनुपर्ने स्थानीय विष्णु कार्कीले बताए ।

बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा

हेटौँडा । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण दिवङ्गत भएकाहरूको आत्माशान्तिको कामना तथा प्रभावितको शीघ्र पुनःस्थापनाको मागसहित लमजुङसम्मको साइकल यात्रामा निस्किएको निजगढ साइकल क्लबको टोलीलाई आज हेटौँडामा स्वागत गरिएको छ ।

निजगढ राइडर्स क्लबका उपाध्यक्ष भूपेन्द्र सापकोटा नेतृत्वको पाँच सदस्यीय टोलीलाई हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहितको टोलीले हेटौँडामा स्वागत गरेको हो । साइकल यात्रामार्फत ७५ वर्षीय नवीन लम्सालसहितको टोली लमजुङको घलेगाउँसम्म पुग्ने क्लबका सल्लाहकार उत्तम शर्माले जानकारी दिए ।

देशमा रहेका साइकल क्लबहरू समाजका हरेक सुखदुःखमा सँगै छन् भन्ने सन्देश प्रवाहका लागि पनि यो साइकल यात्रा गरिएको भन्दै यसले दिने सहकार्य र एकताको सन्देश दिने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

लमजुङ जिल्ला साइकल सङ्घको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यका साथ देशभरका साइकल सङ्घका प्रतिनिधिहरू लमजुङमा जम्मा हुन लागेका जानकारी दिँदै उनले देशका विभिन्न स्थानबाट करिब ५०० साइकल यात्री यहाँ आउने बताए । सोसाइटीका तर्फबाट लमजुङको साइकल यात्रामा ५० जनाको सहभागिता हुने उनले जानकारी दिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न नौवटा बैङ्कमा रु १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ मौज्दात छ ।

त्यस्तै, कोषका दुई वटा बैङ्कमा रहेको डलर खातामा रु दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ । कार्यालयका अनुसार सबै खातामा गरी रु १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ जम्म भएको हो ।

कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा भइसकेको छ ।

सरकारले हालै रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ । जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक रु १५ हजार र थप प्रत्येक सदस्यका लागि रु दुई हजार अतिरिक्त उपलब्ध गराइने छ ।

अर्थमन्त्री वाग्ले भारत प्रस्थान, सीतारमणसँग आज र जयशंकरसँग शुक्रबार भेटवार्ता तय

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत प्रस्थान गरेका छन् । उनी भारत सरकारको निमन्त्रणामा छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने भारत भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी छन् । विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार साँझ ५ः०० बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। यस्तै, शुक्रबार अर्थमन्त्री डा वाग्लेले भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नेउच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनीप्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्

अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही

रुपन्देही – नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीन ट्याङ्करबाट अनधिकृत रूपमा डिजेल झिकेको घटनामा कारबाही गरेको छ ।

निगमका अनुसार अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालयबाट भलवारी डिपोका लागि २० हजार लिटरका दरले डिजेल ढुवानी गरी आएका तीन ट्याङ्करबाट डिजेल झिकिएको थियो ।

निगमका अनुसार, लु१ख ६५०४, लु२ख १५४४ र लु१ख ६६१९ नम्बरका ट्याङ्करबाट सिद्धार्थनगर नगरपालिका–भैरहवास्थित सराफ आयल स्टोर्सको परिसरमा डिजेल झिकिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

निगमका अनुसार लु१ख ६५०४ र लु२ख १५४४ नम्बरका ट्याङ्करको यान्त्रिक सुरक्षा लकिङ प्रणाली बिगारी डिजेल झिकिरहेको अवस्थामा तथा लु१ख ६६१९ नम्बरको ट्याङ्करबाट डिजेल निकालेर भाग्ने क्रममा नियन्त्रणमा लिइएको थियो ।

स्थलगत जाँच गर्दा तीन वटा ट्याङ्करको लकिङ प्रणालीमा ज्याक लगाई म्यानहोल खोलिएको र ३० लिटर डिजेल नीलो ड्रममा राखिएको अवस्थामा फेला परेको थियो । ट्याङ्कर चालक, सहचालक र पम्प सञ्चालकविरुद्ध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

यस्तै, सराफ आयल स्टोर्सलाई अनधिकृत रूपमा पेट्रोलियम पदार्थ खरिद तथा बिक्री वितरण गरेको अभियोगमा रु एक लाख जरिवाना तथा छ महिनासम्म पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने कारबाही गरिएको निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शैलेन्द्र भुसालले जानकारी दिनुभयो ।

ट्याङ्कर चालक तथा सहचालकलाई निगमका कुनै पनि डिपो तथा कार्यालयमा आजीवन प्रवेश निषेध गर्नाका साथै निगमको करार सम्झौताअन्तर्गत सञ्चालनमा रहेका ट्याङ्कर चलाउन नपाउने गरी कारबाही गरिएको छ ।

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी। चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिलाई तीब्र पारिएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेतोखोला क्षेत्रमा यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा बाँकी रहेको स्तरोन्नतिको कामलाई पूर्णता दिन लागेको हो । फरकफरक प्याकेजमा ठेक्कामार्फत पहिरो नियन्त्रण, नदी कटान रोकथामसँगै ढलान गरेर स्तरोन्नति गर्ने काम भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

“बर्खायाम र कोरला नाकामा आवतजावत गर्ने सवारीसाधनको चापका बाबजुद सडक स्तरोन्नतिको कामले निरन्तरता पाएको छ”, उहाँले भन्नुभयो, “यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा अहिले काम भइरहेको छ । बाँकी पहिरो प्रभावित क्षेत्रमा पनि ठेक्का लगाउने तयारीमा छौँ ।”

आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेवकुमार बैठाका अनुसार राहुघाट, घुमाउनेताल, चमेरे, बैसरी क्षेत्रमा एक किलोमिटर २०० मिटर सडक ढलान र विभिन्न ठाउँमा दुई हजार ३०० घनमिटर ग्यावियन, पलम र कङ्क्रिट पर्खाल निर्माणका लागि रु सात करोड ३० लाखमा शङ्करश्री–क्रियटिभ जेभीले ठेक्का पाएको छ । गत वैशाखमा सम्झौता गरेका उक्त कम्पनीले बर्खायाममा पनि निर्माणलाई निरन्तरता दिएको छ ।

रु आठ करोड मा ठेक्का सम्झौता गरेको कालीमाता–थापाकाजी–रसुवा जेभीले कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी खण्डमा टेवा पर्खाल, कल्भर्ट निर्माण र ढलानको काम गरिरहेको छ । भिरकाटे क्षेत्रमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्ने काम भने बर्खायाम तथा सवारीसाधनको चापका कारण रोकिएको छ ।

ठेक्कामार्फत एक हजार ८९० घनमिटर ग्याविन जाली लगाउने, प्लम तथा कङ्क्रिट पर्खाल निर्माण गरेर सडक संरक्षण गरी करिब दुई किलोमिटर (चार हजार ३७१ घनमिटर) सडक ढलान गरिने इन्जिनियर बैठाले जानकारी दिनुभयो ।

जोखिमयुक्त र सवारीसाधन आवतजावत प्रभावित बनाएका सिरुवारी, तातोपानीलगायत ठाउँका पहिरो नियन्त्रणसँगै सडक स्तरोन्नतिका लागि प्राविधिक अध्ययनको चरणमा रहेको छ । यसअघि रु २५ करोडमा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको बैसरी, खामभित्ता, गुइठे, लाटाखोला, रुप्से र सेतोखोला क्षेत्रको सडक स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ ।

कमजोर भू–बनोटका कारण कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोका कारण सिधा यातायात अवरुद्ध हुने समस्या रहेकाले सडक स्तरोन्नति तथा पहिरो नियन्त्रणलाई प्राथमिकता दिइएको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

भोटेकोशी बाढी : १९१ सवारी साधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ।

महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ व्यक्ति बेपत्ता भएका छन्।

महासंघका अनुसार भोटेकोशी बाढीबाट नेपाल अरनिको यातायात सेवा प्रालिअन्तर्गत १९ बस, एक मिनिट्रक, दुई जीप, चार कन्टेनरमा क्षति पुग्दा ५० मजदुर बेपत्ता भएका छन्।

यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि बालाजुका १९ बस क्षति हुँदा २१ व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भएका छन्।

यसैगरी, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर, एक सुमोमा क्षति पुग्दा १० चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गत सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति हुँदा ४५ चालक बेपत्ता भएका छन्।

नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको ५९ ट्रक र कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा क्षति पुगेको छ। यसैगरी, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ यात्री बेपत्ता भएका छन्।

यस्तै, धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति पुग्दा एक चालक र २५ तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताए।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, आजै विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०७ रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३४ पैसा र बिक्रीदर १२० रुपैयाँ ८१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २३ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ४९ पैसा बिक्रीदर ४०८ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आज तीन दिने भारत भ्रमणमा जादै अर्थमन्त्री डा वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन् । उनी बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् । विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार साँझ ५ः०० बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। यस्तै, शुक्रबार अर्थमन्त्री डा वाग्लेले भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नेउच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनीप्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदै छ ।

आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाउँने गरिन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।