`

बंगलादेशमा अवामी लिगले बार एसोसिएसनको पनि चुनाव लड्न नपाउने

बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसनले मे १३ देखि १४ सम्म हुने निर्वाचनमा अवामी लिग समर्थक वकिललाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीमाथि प्रतिबन्ध लगाइएको भन्दै यो निर्णय लिइएको हो ।

बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का सदस्यहरूले आगामी वार्षिक चुनावमा अवामी लिग समर्थक वकिलहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। निर्वाचन मे १३ र १४ मा हुने तय भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार ढाकामा भएको सङ्घको विशेष साधारण सभामा यो निर्णय गरिएको हो।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) समर्थक वकिल एससिबिएका वरिष्ठ उपाध्यक्ष हुमायूँ कबिर मन्जुले अध्यक्षता गरेको करिब ३०० वकिलहरू सहभागी बैठकले अवामी लीग समर्थक समूहलाई निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध लगाएको हो । सहभागी सदस्यमध्ये अधिकांश बीएनपी र जमात–ए–इस्लामी समर्थक समूहका रहेका थिए।

एससीबीएका सचिव ब्यारिस्टर मोहम्मद महफुजुर रहमान मिलोनले भन्नुभयो, “आतङ्कवादविरोधी ऐन, २००९ अन्तर्गत पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाइएकोले करिब १०० सदस्यले नेतृत्वसँग प्रतिवन्धका लागि माग गरेका थिए । बङ्गलादेशमा हसिनाको पार्टी अवामी लिगलाई यसअघि नै गत आम चुनावमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाइको थियो ।

उहाँले भन्नुभयो, “सर्वसाधारणको रायका आधारमा अवामी लिग समर्थित समलिता इङ्गिबी समन्वय परिषद् र बङ्गबन्धु अवामी इङ्गिबी परिषद्का वकिल वा यी सङ्गठनका पदाधिकारीले चुनाव लड्न नपाउने निर्णय भएको छ । मिलोनले त्यस्ता कानुन व्यवसायीले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्ने स्पष्ट पारे ।

यो निर्वाचन एससीबीएका अध्यक्ष र सचिवजस्ता महत्वपूर्ण पदसहित १४ कार्यकारी पदका लागि हुनेछ । निर्वाचित पदाधिकारीको कार्यकाल एक वर्षको हुनेछ ।

चासो व्यक्त

यसैबीच, फ्रान्सस्थित मानवअधिकार सङ्गठन जस्टिस मेकर्स बङ््गलादेश इन फ्रान्स (जेएमबीएफ) ले हालैका दिनहरूमा बङ्गलादेश बार एसोसिएसनको चुनावमा कथित अनियमितता र राजनीतिक विचारधाराका आधारमा अवामी लिग समर्थक वकिलहरूको मनोनयन रद्द गरिएको भन्दै यसको निन्दा गरेको छ।

सङ्गठनले त्यस्ता वकिलहरूलाई मुन्सीगञ्ज, मयमनसिंह, ठाकुरगाउँ, पञ्चगढ, खुलना, नरिल र सुनामगञ्जका विभिन्न जिल्लाहरूमा प्रहरी हस्तक्षेपको माध्यमबाट चुनाव प्रक्रियाबाट टाढा राखिएको आरोप लगाएको छ ।

यस महिनाको सुरुमा, अवामी लिगले पार्टीलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाइएको संसदबाट पारित एक विधेयकको कडा आलोचना गरेको थियो । आवामी लिगले यसलाई लोकतान्त्रिक मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण र लज्जास्पद कदमको रूपमा वर्णन गरेको थियो।

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा। सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा बनाइएको अस्थायी बाँध गएराति बाढीले बगाउँदा आवतजावतमा समस्या भएको छ ।

पुलको ‘डाइभर्सन’ भन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटोको बाँध बगाएपछि सवारी सञ्चालन अवरुद्ध भएको छ । स्थानीय रामचन्द्र यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारीसाधन बीचमै अलपत्र परेका थिए । पछि स्थानीयवासीको सहयोगमा ती सवारीसाधन तारिएको थियो ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले लगातारको वर्षाले संरचनामा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले तत्काल डोजर प्रयोग गरी माटो हालेर बाँध पुनर्निर्माण गरेको छ र आवतजावत आंशिक रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको छ ।”

हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त कमला नदी पुल निर्माण भने लामो समयदेखि हुन सकेको छैन । २०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा सो पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो । २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने पुल हालसम्म पनि निर्माण हुन सकेको छैन ।

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर। भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ ।

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्वासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

सो स्थानका संरचना भत्काउन आज २४ वटा जेसिबी प्रयोग गरिएका थिए । त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्वासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो । शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो ।

सुुकुम्वासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए ।

आइतबार र सोमबार शान्तिपूर्ण रूपमा सुकुम्वासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ ।

पर्सामा २४ भारतीय ‘इलेक्ट्रिक स्कुटर’ नियन्त्रणमा

पर्सा। पर्सा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका २४ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले वीरगञ्जको सीमावर्ती बजार रक्सौलबाट भन्सार छली गरेर नेपाल भित्र्याएर अनधिकृत रूपमा चलाइरहेका करिब रू १९ लाख २० हजार मूल्य पर्ने २४ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएर वीरगञ्ज भन्सारमा बुझाइएको जानकारी दिनुभयो ।

“यहाँ अनधिकृत रूपमा चलाउँदै आइरहेका भारतीय स्कुटरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ’’, उहाँले भन्नुभयो । प्रहरीले गत शनिबार अवैध रूपमा वीरगञ्जमा चलाउँदै आएका सात वटा भारतीय स्कुटर नियन्त्रणमा लिएर वीरगञ्ज भन्सारमा बुझाएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले गत वैशाख ११ गते २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको थियो ।

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक। शनिबार र आइतबारको असिना–पानीले क्षति पु¥याएको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ ।प्रतिनिधिसभा सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिलगायतको टोलीले दुवै नगर क्षेत्रका विभिन्न स्थानमा पुगेर आज क्षतिको अनुगमन गरेका हुन् । त्यस क्रममा धुलिखेलको वडा नं १, ११ र १२ तथा पनौतीको वडा नं ६, ८, ९ र १० का खेतबारीमा लगाइएको आलु तथा तरकारीखेती र अन्य फलफूलमा पुगेको क्षतिबारे जानकारी लिइएको थियो ।

अनुगमनका क्रममा सांसद चौलागार्इंले क्षतिको एकीन विवरण वडा कार्यालयलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । “क्षतिको एकीन विवरण आएपछि पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन पहल गर्छु, यसका लागि संसद्मा पनि विषय उठान गर्नेछु”, उहाँले भन्नुभयो,“प्रारम्भिक रूपमा हेर्दा कृषकको ९५ प्रतिशत आलुबाली तथा अन्य फलफूलमा क्षति पुगेको पाइएको छ ।”

पनौती–१० सुन्धान ईट्टेका अप्सरा कुँवरले आफ्नो संयुक्त परिवारको करिब १५ रोपनी खेतको आलुबाली असिना–पानीले क्षतिग्रस्त बनाएको जानकारी गराउनुभयो । उहाँले सूडीखोला छेउमा भएकाले आफ्नो आलुखेत डुबानमा परी बर्सेनि क्षति हुने गरेको गुनासो गर्नुभयो । जवाफमा सांसद खोला व्यवस्थित गर्नका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच जिल्ला कृषि विकास कार्यालयले वर्षाका कारण बालीनाली तथा फलफूलमा पुगेको क्षतिको विवरण सङ्कलन थालिएको जनाएको छ । स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण लिन थालिएको कार्यालयका अधिकृत रामशरण मिजारले जानकारी दिनुभयो ।

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ ।कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज यसअघि सुविधा पाउने गरी गरी भएको व्यवस्था खारेज हुने फैसला गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वपदाधिकारीहरूलाई विदेशमा उपचार गराउदा लागेको खर्च सरकारले व्यहोर्ने नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ को दफा १२ (१) को व्यवस्था खारेज गरिएको हो ।

उक्त कार्यविधिमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीश, पूर्वउपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्वसांसद, पूर्वसंवैधानिक निकायका पदाधिकारीको निश्चित सीमा तोकी विदेशमा गराएको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था रहेको थियोे ।

पूर्वविशिष्ट पदाधिकारीको उपचार खर्च कटौती गर्न माग गर्दै विसं २०७९ मा अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद नेपाल (स्वागत) रिट निवेदन दायर गर्नुभएको थियोे । स्वदेशमा उपचार गर्दा भने सरकारले खर्च दिने व्यवस्था यथावत छ ।

आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पु-याउने नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताउनुभएको छ ।नेपाल राष्ट्र बैंकको आज ७१औँ वार्षिकोत्सवमा उहाँले सरल, नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पु-याउने बैठकको प्रयास रहेको बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय पश्चिम एसियाको युद्धले समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावको नियमित अध्ययन गरी सजग रहन आवश्यक छ । गर्भनर पौडेलले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रको अवस्थाबारे समीक्षा गर्नुभएको थियो ।

सो प्रतिवेदनमा अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को २०२६ अप्रिलका अद्यावधिक वल्र्ड इकोनोमिक आउटलुक(डब्लुइओ) का अनुसार विश्व अर्थतन्त्र बढ्दो अनिश्चितता र जोखिममा रहेको जनाइएको छ । पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र यसबाट सिर्जित आपूर्ति अवरोध र इन्धनको मूल्य उतारचढावले विश्व अर्थतन्त्र प्रभावित भएको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा पूर्वगर्भनर डा युवराज खतिवडाले देशको अर्थतन्त्रलाई बलियो बनाउने आधार आन्तरिक उत्पादनशील नै रहेको बताउनुभएको छ । उहाँले बाहिरी स्रोतले केही आर्थिक स्थितिमा सुधार देखिए जस्तो लागे पनि वास्तवमा त्यो दीर्घकालीन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र मोटाएको छैन, सुन्निएको हो ।”

कार्यक्रममा बंैकका सर्वोत्कृष्ट एक र अन्य उत्कृष्ट सात कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने २० वर्ष सेवा अवधि पूरा गरेका १७ कर्मचारीलाई दीर्घकालीन सेवा सम्मान प्रदान गरिएको थियो ।

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

काठमाडौंँ। विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो । घटनामा अन्य २५ जना घाइते भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ । यस्तै, आगलागीबाट एक, लेक लागेर दुई र सर्पदंश तथा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन् । ती घटनाबाट रु ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए ।

प्राधिकरणका अनुसार पछिल्ला १४ दिनमा मात्रै विपद्बाट ३३ जनाको मृत्यु भएको छ भने एक सय २१ जना घाइते भएका छन् । यस अवधिका पाँच सय ४४ वटा विपद्का घटना भएका थिए ।

सन् २०२६ मा अफगानिस्तानको आर्थिक वृद्धि चार प्रतिशतले बढ्ने विश्व बैङ्कको प्रक्षेपण

काबुल। “अफगानिस्तानको अर्थतन्त्र सन् २०२६ मा करीव चार प्रतिशतले वृद्धि हुने अनुमान गरिएको टोलो न्यूजले विश्व बैङ्कको एक विज्ञप्तिलाई उद्धृत गरी सोमबार जानकारी गराएको छ ।

बलियो घरेलु माग, बढ्दो निजी लगानी र श्रम बजारमा फर्कने आप्रवासीहरूको सुधारिएको एकीकरणको समर्थनले अफगानिस्तानको आर्थिक वृद्धिमा सकारात्मक भूमिका खेलेको छ ।

प्रतिवेदनमा भनिएको छ, “इरानमार्फत हुने कारोबारले आर्थिक गतिविधिलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको र व्यापार मार्गहरूको विविधीकरणको प्रयासले अधिक स्थिर वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सन् २०२५ मा अफगानिस्तानको अर्थतन्त्र अनुमानित ४.८ प्रतिशतले विस्तार भएको पनि प्रतिवेदनमा उल्लेख छ । उच्च खपत र गैर–कृषि क्षेत्रहरूमा क्रमिक सुधारको कारण अफगानिस्तानमा निरन्तर चुनौतीहरूको बाबजुद सामान्य आर्थिक सुधारको सङ्केत देखिएको छ ।

भारत–न्यूजील्याण्डबिच स्वतनत्र व्यापार सम्झौतामा हस्ताक्षर, शतपूतिशतच भारतीय निर्यात करमुक्त

नयाँदिल्ली। भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको सुरुवात भएको छ ।दुई देशले ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर गरेका छन्, जसले व्यापार, लगानी र रोजगारको क्षेत्रमा आमूल परिवर्तन ल्याउनेछ।

यो महत्त्वपूर्ण सम्झौतालाई वाणिज्य मन्त्री पीयूष गोयल र उहाँका न्यूजील्याण्ड समकक्षी टोड म्याकलेको उपस्थितिमा आधिकारिक बनाइएको थियो। यो सम्झौतालाई भारतीय अर्थव्यवस्था र निर्यातकर्ताहरूका लागि विश्व बजारमा ठूलो कूटनीतिक र आर्थिक विजय मानिन्छ।
यस एफटिएको सबैभन्दा उल्लेखनीय विशेषता यसको गति हो। सन् २०२५ मार्च १६ मा सुरु भएको वार्ता नौ महिनाभित्र सम्पन्न भएको थियो । यो सम्झौता लागू भएसँगै भारतीय सबै उत्पादनहरूमा तत्काल शत प्रतिशत कर मिनाह हुनेछ । बदलामा न्यूजील्याण्डबाट भारत आउने कुनै पनि वस्तुमा कर लाग्ने छैन ।

हाल न्यूजिल्याण्डले भारतबाट निर्यात हुने करिब ४५० वस्तुमा १० प्रतिशत कर लगाउने गरेको छ । नयाँ सम्झौता अन्तर्गत यो शुल्क हटाइनेछ, जसले भारतीय कपडा र तयारी पोशाक, छाला उद्योग, टोपी, सेरामिक्स, कार्पेट र सवारी साधन र तिनका पार्टपुर्जाको निर्यातलाई ठूलो बढावा दिनेछ । यसको बदलामा भारतले न्यूजील्याण्डबाट आउने ९५ प्रतिशत सामानमा पनि छुट दिएको छ वा ट्यारिफ घटाएको छ ।

व्यापार सहजीकरणको साथसाथै यस एफटिएको एक प्रमुख स्तम्भ विदेशी लगानी हो। सम्झौता अन्तर्गत न्यूजील्याण्डले आगामी १५ वर्षमा भारतमा २० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यो लगानी भारतसँग युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) ले हस्ताक्षर गरेको सम्झौतामा प्रस्तावित १०० अर्ब डलरको लगानी ढाँचाको आधारमा हो।

एक महत्त्वपूर्ण रणनीतिक कदममा भारतले आफ्नो संवेदनशील घरेलु कृषि र दुग्ध क्षेत्रलाई यस एफटिएको दायराबाट पूर्ण रूपमा बाहिर राखेको छ। दूध, क्रीम, दही र चीजजस्ता सबै दुग्ध उत्पादनहरू साथै अन्य कृषि उत्पादनहरू आयातबाट छुट दिइएको छैन, जसले गर्दा भारतीय किसान र स्थानीय दुग्ध उद्योगको हितको रक्षा सुनिश्चित भएको छ।

विद्यार्थी र पेशेवरका लागि नयाँ ढोका

आर्थिक मोर्चा बाहेक, यो एफटिए कामकाजी पेशेवर र विद्यार्थीहरूको गतिशीलताको लागि कोशेढुङ्गा साबित हुनेछ । विद्यार्थीहरूलाई राहतः न्यूजील्याण्डले पहिलो पटक विश्वव्यापी रूपमा कुनै देशसँग विद्यार्थी आवागमन र ‘पोस्ट स्टडी वर्क भिसा’को लागि सम्झौता गरेको छ।

अब भारतीय विद्यार्थीहरूले अध्ययनको क्रममा प्रति हप्ता २० घण्टासम्म काम गर्न सक्षम हुनेछन् र विस्तारित ‘पोस्ट–स्टडी वर्क भिसा’को लाभ प्राप्त गर्नेछन्।

उच्च तलब पाउने रोजगारीको खोजीमा रहेका कुशल भारतीय पेशेवरहरूका लागि सम्झौतामा पाँच हजार अस्थायी रोजगार भिसाको विशेष कोटा तय गरिएको छ। यसमार्फत पेशेवरहरूले न्यूजील्याण्डमा तीन वर्ष बस्न र काम गर्न सक्नेछन्।

सम्झौताले एक विशेष वर्किङ होलिडे भिसा कार्यक्रमको पनि व्यवस्था गरेको छ, जसले एक हजार युवा भारतीयहरूलाई प्रति वर्ष १२ महिनाको लागि न्यूजील्याण्डमा प्रवेश गर्न सहज गराउनेछ ।

भारत र न्यूजील्याण्ड बीचको यो स्वतन्त्र व्यापार सम्झौताले दुवै देशको अर्थव्यवस्थाको लागि अवसरहरू सिर्जना गर्दछ। जबकि भारतका निर्यातकर्ता र कुशल जनशक्तिले प्रत्यक्ष लाभ उठाउनेछ, न्यूजील्याण्डले विशाल र उदीयमान बजारमा सहज पहुँच पाउनेछ। महत्वपूर्ण क्षेत्रहरू (जस्तै डेरी) लाई सुरक्षित गर्दै विदेशी लगानी आकर्षित गर्ने यो नीतिले भारतलाई भविष्यमा विश्वव्यापी आपूर्ति श्रृङ्खलामा एक बलियो र भरपर्दो साझेदारको रूपमा स्थान दिनेछ।

सम्झौताबारे वाणिज्यमन्त्रीको भनाइ

भारत–न्यूजील्याण्ड मुक्त व्यापार सम्झौतामा हस्ताक्षर गर्ने क्रममा केन्द्रीय वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, “हामी विश्व अर्थतन्त्रको पुनर्संरचना भइरहेको यस्तो समयमा बैठक गरेका छौँ । विश्व अर्थतन्त्रको पुनर्संरचना भइरहेका, ेसीमाहरू पुनः कोरिरहेको र राष्ट्रहरूले आफ्ना साझेदारहरू छानिरहेको समयमा आफ्नो भविष्यको बाटो तय गरिरहेका छन्।”

उहाँले भन्नुभयो, “यो बदलिँदो युगमा भारत र न्यूजील्याण्डले एक अर्कालाई रोजेका छन्। भारत–न्यूजील्याण्ड स्वतन्त्र व्यापार सम्झौता नौ महिजाको छोटो अवधिमा सम्पन्न भएको छ । यो गतिले हाम्रा देशहरूबीचको गहिरो विश्वास र साझा महत्वाकांक्षालाई प्रतिबिम्बित गर्दछ।”
उहाँले थप्नुभयो, “यस एफटिएमा हस्ताक्षर विकसित देशहरूसँग भारतको सम्बन्धमा अर्को महत्त्वपूर्ण कोशेढ्ुङ्गा हो र हामीलाई प्रधानमन्त्री मोदीको ‘विकसित भारत २०४७’ को दृष्टिकोणको नजिक ल्याउँछ।

यो पछिल्लो साढे तीन वर्षमा मेरो सातौं एफटिए हो, र दुई थप सम्झौताहरू हुन बाँकी छन्। आगामी केही महिनामा ईयू र अमेरिकासँग सम्झौता हुनेछ।”

डिजिटल रूपान्तरण परियोजनाका लागि एडिबीसँग ऋण सम्झौता

काठमाडौँ। नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा अर्थ सचिव डा घनश्याम उपाध्याय र नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नों कोश्वाले हस्ताक्षर गर्नुभयो ।

यो परियोजना दक्षिण एसियामै पहिलोपटक एडिबी–विश्व बैंकपूर्ण पारस्परिक निर्भरता ढाँचाअन्तर्गत सह–वित्तीय लगानी हुने परियोजना रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार परियोजनामार्फत सरकारी ‘डाटा होस्टिङ’ तथा साइबर सुरक्षा पूर्वाधार सुदृढ गरिनेछ । जसले सरकारी डिजिटल प्रणालीको सुरक्षा र लचिलोपन अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

परियोजनाअन्तर्गत आधुनिक तथा सेवाग्राहीमैत्री सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक डिजिटल सार्वजनिक पूर्वाधारको विकास गरिनेछ । कूल लगानीमध्ये एडिबीले सह–वित्तीय लगानीकर्ताका रूपमा ४० मिलियन अमेरिकी डलर र विश्व बैंकले प्रमुख ऋणदाताको रूपमा ४० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछन् । विश्व बैंकसँग यसअघि नै ऋण सम्झौता सम्पन्न भइसकेको छ ।

यस परियोजनाले सरकारी डिजिटल प्रणालीहरूको आधुनिकीकरण, संस्थागत संरचना सुदृढीकरण तथा डिजिटल प्लेटफर्महरूको प्रयोग विस्तारमार्फत कार्यक्षमता, पारदर्शिता र नागरिकको सरकारी सेवामा पहुँच सुधार गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ । यो परियोजना नेपाल सरकारको सोह्रौँ योजना तथा १०० दिने सुशासन सुधार कार्ययोजनासँग समेत सम्बद्ध रहेको जनाइएको छ ।
परियोजनाका प्रमुख कार्यक्रमहरूमा सरकारी डिजिटल प्लेटफर्म तथा साझा सेवाहरूको स्तरोन्नति, साइबर सुरक्षा तयारी सुदृढीकरण, तथा डिजिटल प्रणाली सञ्चालन र दिगोपन सुनिश्चित गर्न संस्थागत तथा मानव स्रोत क्षमता विकास समावेश छन् ।

सम्झौता हस्ताक्षरपछि एडिबीका देशीय निर्देशक कोश्वाले समावेशी विकास र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि डिजिटल प्रविधिको उपयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता कार्यान्वयनमा यो परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, अर्थ सचिव डा उपाध्यायले नेपालले डिजिटल सुशासन क्षेत्रमा महत्वपूर्ण प्रगति गरे पनि संस्थागत प्रणाली, अन्तर आबद्धता तथा सेवा प्रवाह सुदृढ गर्न थप सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले एडिबीको सहयोगमा सञ्चालन हुने यस परियोजनाले डिजिटल रूपान्तरणलाई तीव्रता दिनुका साथै सार्वजनिक क्षेत्रको कार्यक्षमता अभिवृद्धि गरी नागरिकमैत्री सेवा विस्तारमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

विश्वकप लिग-२: ओमानविरुद्ध युएईको जित

काठमाडौं। आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई ) विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईले ओमानलाई २५ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको युएईले ओमानलाई जितका लागि दुई सय ६९ रनको बलियो लक्ष्य दिएको थियो । जवाफमा ओमानले राम्रो सुरुआत गरे पनि मध्यक्रममा लगातार विकेट गुमाउँदा ४७ दशमलव पाँच ओभरमा २४३ रनमै समेटियो ।

ओमानका लागि विनायक शुक्लाले अविजित ५८ रनको योगदान भने कप्तान जतिन्दर सिंहले ४६ रन जोडे ।

बलिङतर्फ युएईका अजय कुमार नायक बने । उनले नौ दशमलव पाँच ओभरमा ३५ रन खर्चेर छ विकेट लिएका थिए । यस्तै, सोही टोलीका हैदर अलीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई ६८ रनको योगफल खडा गरेको थियो । युएईका लागि आर्यांश शर्माले एक सय पाँच रनको शतक प्रहार गरे भने अदीब उस्मानीले ६४ रन र हरप्रीत सिंहले ५४ रनको योगदान दिए ।

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो ।

महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरु होटेल तथा रिसोर्टहरुमा सञ्चालन नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्नेछ ।

खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने

खोटाङ। खोटाङका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिए पनि यी स्थानीय तहले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेका हुन् ।

सङ्घीय सरकारले गरेको निर्णय अनुसार पाठ्यभार पूरा गर्न नसकिने भन्दै आइतबार पठनपाठन गराउने निर्णय गरेको जनाएका छन् । वैशाख–१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

यसअघि यहाँको खोटेहाङ गाउँपालिकाले यही वैशाख–१० गतेसम्म भर्ना अभियान सञ्चालन गरेर वैशाख–१३ गतेदेखि पठनपाठन सुरु गरिसकेको छ ।

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय सङ्गठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ ।

आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान

कैलाली। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

आज यहाँ मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गर्नुभयो । उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ः ०० बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिनुभयो ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो । गत चैत २९ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गर्नुभएको थियो ।

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर। कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न स्थानीयले आग्रह गरेका छन् ।

आज सीमा क्षेत्रको अनुमगनमा आएका तीनै तहका जनप्रतिनिधि सम्मिलित टोलीसँग स्थानीयले क्वारेन्टाइन स्थपना, सीमाबाट भित्रिने लागुऔषध नियन्त्रणलगायत समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

अनुगमन टोलीमा सहभागी प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली, प्रदेशसभा सदस्यद्वय लक्ष्मणकिशोर चौधरी, ललिता सुनार र टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीसँग स्थानीयले आफ्ना समस्याबारे गम्भीर भइदिन आग्रह गरेका थिए ।

टीकापुर— ८ बटनपुरका उमेश साउदले खाद्य क्वारेन्टाइन नभएकाले सीमा नजिक भएका नागरिकले भारतबाट भन्सार तिरेर आलु, प्याजलगायत खाद्यान्न ल्याउन नपाएको गुनासो गर्नुभयो । “क्वारेन्टाइन भए यहीबाट परीक्षण गरेर आवश्यक खाद्यान्न ल्याउन सकिन्थ्यो, हाल स्थानीय नागरिक र व्यापारीलाई यो बाटोबाट सामान ल्याउन कठिन छ”, उहाँले भन्नुभयो,“सत्ती भन्सारमा आवश्यक पूर्वाधार विकास गरेर समस्या समाधानका लागि आग्रह गरेका छौँ ।”

स्थानीय व्यापारी टङ्कप्रसाद ढुङ्गानाले तीनै तहका जनप्रतिनिधि सहभागी भएको उक्त टोलीलाई सीमा समस्या र सत्ती भन्सार कार्यालयको विकासका लागि आवश्यक सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ, टीकापुरका सचिव प्रकाश शाहले तीनै तहका सरकारले भन्सार विकासका लागि ध्यान दिनुपर्ने बताउनुभयो । “टीकापुरका व्यापारीले खाद्य तथा पशुसम्बन्धी सामान ल्याउँदा गुणस्तर जाँच्न धनगढीको बाटो भएर ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, ‘‘रु एक सयभन्दा माथिको भन्सार लाग्ने निर्णय जसरी कार्यान्वयन गर्नुभएको छ, त्यसैगरी अन्य विषयमा पनि कडाइ गरेमा यसले दीर्घकालीन रूपमा नेपाली व्यापारी र उपभोक्ता दुवैलाई फाइदा गर्छ ।’’

नगरपालिका— ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले मोहना नदीको पुल पारी दशजगा क्षेत्रमा नेपालीको केही जमिन परेकाले त्यहाँसम्म पुग्ने बाटो निर्माणका लागि आग्रह गर्नुभयो । उहाँले सशस्त्र द्वन्द्वका क्रममा सत्तीबाट विस्थापित भएको पशु क्वारेन्टाइन पुनःस्थापना हुन नसकेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सत्ती भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीले यहाँ पशु, खाद्य तथा प्लान्ट क्वारेन्टाइन भएमा राजश्व सङ्लनमा समेत वृद्धि हुने बताउनुभयो । “आवश्यक क्वारेन्टाइन नभएकाले यो बाटोबाट धेरै सामान आउँदैन, जसले राजस्वमा असर परिरहेको छ”, उहाँले भन्नुभयो ।

त्यसक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगार्जीले भन्सारलाई व्यवस्थित बनाउन आवश्यक कार्यालय र पूर्वाधार निर्माणमा सघाउन अनुरोध गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले मूल भन्सार भए पनि सोअनुसार विकास हुन नसकेकाले सङ्घीय सरकारको समन्वयमा तीनै तहका सरकारले आवश्यक काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य ज्ञवालीले स्थानीयका माग लिएर संसद्मा आवाज उठाउने, क्वारेन्टाइन स्थापनाका लागि बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “सत्ती भन्सारको विकास, सीमा क्षेत्रका नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्नेछु । सबै मिलेर यहाँका समस्या समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रकाश डाँगी र सीमास्थित ‘विओपी’ कार्यालयका सशस्त्र प्रहरी प्रमुख देवराज विष्टले आफूहरूले सीमा क्षेत्रमा हुने अवाञ्छीत गतिविधि नियन्त्रणमा ध्यान दिइरहेको बताउनुभएको थियो ।

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यबारे छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा राजदूत झाङ माओमिङले नेपालमा नयाँ सरकार गठन भएकामा बधाई दिँदै दुई छिमेकी राष्ट्रबीच विद्यमान मित्रतालाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउन विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तनपछि स्थायी र बलियो सरकार बनेकाले आर्थिक तथा सामाजिक विकासका लागि अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै त्यस किसिमको रुपान्तरणमा चीन सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

राजदूत झाङले चीनले प्रविधिमा आधारित गुणस्तरीय उत्पादनमुखी नीति अवलम्बन गरिरहेको जानकारी दिँदै कृत्रिम बौद्धिकता तथा नवीनतम् सूचना प्रविधिका क्षेत्रमा प्राथमिकता दिइएको बताउनुभयो । नेपालले पनि यस्ता उन्नत प्रविधिका क्षेत्रमा चीनसँग सहकार्य गर्न सक्ने सम्भावनाबारे उहाँले अवगत गराउनुभयो । साथै, चिनियाँ लगानीमा नेपालमा सञ्चालन भइरहेका विभिन्न कम्पनीका लागि सहज र अनुकूल वातावरण बन्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले नेपालले चीनसँगको निरन्तर सहकार्य, पारस्परिक हित र विकास साझेदारीलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले कनेक्टिभिटी पूर्वाधार निर्माण, डिजिटल पूर्वाधार विस्तार तथा सूचना प्रविधिमा आधारित क्षेत्रमा दुवै देशबीच सहकार्यको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

मन्त्री तिमिल्सिनाले नेपाल सरकारले प्रविधिमा आधारित सुशासनमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै सूचना प्रविधि, साइबर सुरक्षा, दूरसञ्चार तथा डिजिटल सेवा विस्तारका क्षेत्रमा थप काम गर्ने बताउनुभयो । पछिल्लो समय राज्य संयन्त्रलाई डिजिटल माध्यमबाट प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने नीति सरकारको प्राथमिकतामा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

चिनियाँ लगानीका कम्पनीहरूले नेपालमा काम गर्ने क्रममा केही समस्या भोग्नुपरेको भए त्यसको समाधानका लागि सरकार सदैव तयार रहेको स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई दुवै देशको आपसी हितका लागि अझ प्रगाढ बनाउन पहल आवश्यक रहेको बताउनुभयो ।

गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो

काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ ।गत शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरु बाँकी राखेको थियो । सोमबार बाँकी रहेको उक्त पक्की घरहरु डोजरको प्रयोगगरी भत्काइएको हो ।

शनिबार नै थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराएको थियो ।

नहरमा पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

बाँके । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन ।

गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरु व्यावसायिक रुपमा चैते धानखेतीतर्फ आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।

उनका अनुसार, केही वर्षअघिसम्म करिब ३० हेक्टर क्षेत्रफलमा गरिँदै आएको चैते धानखेती अहिले घटेर १८ हेक्टर क्षेत्रफलमा पुगेको छ । बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा किसानले चैते धानखेती गर्दै आएका छन् ।

सङ्घीय सरकारले चैते धान प्रवर्द्धनका लागि स्थानीय तहमार्फत किसानलाई सहयोग गर्दै आएको छ । सङ्घीय सरकारको चैते धान प्रवर्द्धन योजनाअनुसार अहिले बाँकेको जानकी र खजुरा गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न सुरु गरेको सूचना अधिकारी पाठकले जानकारी दिए ।

बर्खे धानको तुलनामा चैते धानको उत्पादकत्व क्षमता बढी रहेको छ । बर्खेधान प्रतिहेक्टर ४.४ टन उत्पादन हुँदा चैते धानको उत्पादकत्व क्षमता ४.६५ रहेको छ । चैते धान भित्र्याउने बेलामा पानी परेर स्याहार्न समस्या हुने भएकाले किसानको आकर्षण घट्दो रहेको खजुरा गाउँपालिका–१ राधापुरका किसान मगनसिंह थापाले बताए ।

उनले सिँचाइ, बीउ, प्राविधिक सहयोग र धान स्याहार्ने बेला पानीबाट बचाउन धान सुक्खा बनाउने ड्राइ मेसिन, त्रिपालजस्ता वस्तुमा अनुदान दिनसके चैते धानतर्फ किसान प्रोत्साहित हुन सक्ने उल्लेख गरे ।

सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि तीनवर्षे खेती गर्न किसानलाई सहज हुँदै आएको छ । आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको छ । सिक्टा सिँचाइको पानी नपुगेको क्षेत्रमा कृषि ज्ञान केन्द्रले सिँचाइका लागि ५० प्रतिशत अनुदानमा सहकारी र कृषक समूहलाई ‘बोरिङ’ वितरण गरेको पाठकले बताए ।

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौँ । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए ।

महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अप्ठ्यारो भएको हो । महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो ।

विसं २०८१ साउनमा चितवनको एक अस्पतालमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भयो । भरतपुर महानगरपालिका–२६ की ३२ वर्षीया नवीना महतोको अत्यधिक रक्तस्राव नरोकिएपछि अकालमा निधन भएको थियो । तत्कालीन समयमा गर्भपतन सेवा दिएको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी नै सूचीकृत तथा तालिम प्राप्तसमेत थिएनन् । ‘मेडिकल हव’मा विकसित हुँदै गरेको चितवनमा पछिल्लो समय पनि असूचीकृत स्वास्थ्य संस्था तथा तालिम अप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिने क्रम घटेको छैन ।

पर्साको बहुदरमाई नगरपालिका–६ स्थित भौवटारकी लालसा साह कानुको विसं २०८२ को जेठ अन्तिम साता अत्यधिक रक्तस्रावपछि निधन भयो । २४ वर्षीया कानुको गर्भपतनका लागि असूचीकृत औषधि पसलबाट औषधि किनेर स्वास्थ्यकर्मीको सल्लाहविना आफूखुसी खाएपछि स्वास्थ्य जटिलता देखिएको थियो ।

जटिल अवस्थामा स्वास्थ्य संस्थामा पुगेपछि उपचारका क्रममा उनको निधन भएको थियो । पर्सामा गर्भपतनका औषधि अनधिकृत पसलबाट अनधिकृत बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रणमा चुनौती छ । सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि जटिलता थपिएको हो । ‘गर्भपतन सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामै जानुपर्छ’ र ‘गर्भपतनका लागि अनधिकृत औषधि स्वास्थ्यकर्मीका सल्लाहविना सेवन गरिनु हुँदैन’ भन्ने चेतनाको अभाव छ ।

सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्य संस्थामा गएकी पाल्पाको बगनास गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डे सदाका लागि असुरक्षित भइन् । तीन स्वास्थ्य संस्था धाउँदा धाउँदै यही वैशाख ६ गते उनको अकालमा मृत्यु भयो । बुटवल उपमहानगरपालिकास्थित खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकको ‘हेलचेक्र्याइँ’ नै उनको निधनको प्रमुख कारक बन्यो ।

नेपाल मेडिकल काउन्सिलले हालैको बुटवल घटनाबारे सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले औँल्याउँछ, “आर्थिक लाभका लागि विना रेकर्ड गर्भपतन गराउने कार्य बढिरहेको र यसकै कारण महिलाहरू जोखिममा परी मृत्युदर समेत बढेकाले सो कार्यलाई रोक्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याउनुपर्छ ।”

बुटवल उपमहानगरपालिकास्थित खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक गर्भपतन सेवाका लागि सूचीकृत छैनन् । साथै गीताको उपचारमा संलग्न भनिएका स्वास्थ्यकर्मीसमेत गर्भपतन सेवाका लागि तालिम अप्राप्त व्यक्ति हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं निवर्तमान प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार गर्भपतन सेवाका लागि सेवाप्रदायक स्वास्थ्य संस्था अनिवार्य सूचीकृत हुनैपर्छ र स्वास्थ्यकर्मीले आवश्यक तालिम लिएकै हुनुपर्छ ।

स्वास्थ्यकर्मीले गर्भपतन गराउन गीतालाई दिएको औषधि कुन थियो, यो औषधिको बिक्रीका लागि औषधि व्यवस्था विभागमा दर्ता गरिएको थियो कि थिएन नेपाल मेडिकल काउन्सिलद्वारा गठित छानबिन समितिले अध्ययन गरिरहेको छ । काउन्सिलका सदस्य डा सम्राट पराजुली नेतृत्वको छानबिन समितिले अन्तिम प्रतिवेदन नआएसम्म बुटवलका जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक ‘सिल’ गर्न सिफारिस गरेको छ ।

मेडिकल काउन्सिलका रजिस्ट्रार डा शतिशकुमार देवले बुटवल घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरिएको, यसका केही सुझाव कार्यान्वयनमा समेत आइसकेको र अन्तिम प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने जानकारी दिए ।

प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, “पूर्वाधारको अभाव जटिलता उत्पन्न हुँदा आवश्यक पर्ने जीवनरक्षा प्रणाली उपकरणहरू क्लिनिकमा पर्याप्त हुनुपर्ने र सोका आधारमा मात्रै सञ्चालन अनुमति दिनुपर्ने, सम्बन्धित निकायबाट अनुगमन तथा निरीक्षण गरी तोकिएको मापदण्ड पूरा नभएका स्वास्थ्य संस्थाहरू तत्काल बन्द गर्नुपर्ने, स्वास्थ्य सेवा प्रदायकले चिकित्सकको ‘प्रेस्कृप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाइने बिक्री वितरण गरेका सम्पूर्ण औषधिको अभिलेख राख्नुपर्ने, दर्तावाला चिकित्सकले सेवा प्रदान गर्दा आवश्यक पूर्वाधार पूरा गरेका स्वास्थ्य संस्थाहरूबाट मात्रै सेवा प्रदान गर्ने र आफूले प्रदान गरेको सेवाको सम्पूर्ण विवरण ‘डिजिटल’ रूपमा अभिलेख राख्नुपर्ने, प्रत्येक स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने विषयमा सर्वसाधारणले प्रस्ट देखिने गरी मूल्यसूची सहितको नागरिक बडापत्र अनिवार्य रूपमा राखिनुपर्ने ।”

साथै निजी क्लिनिक र अस्पतालहरूको सूचीकरण र गुणस्तरको तत्काल अनुगमन गरी मापदण्ड नपुगेका संस्था बन्द गर्न र सुरक्षित गर्भपतन सरकारी तथा सूचीकृत अस्पताल, स्वास्थ्य संस्थामा मात्र गराउन सर्वसाधारणमा सूचना प्रवाह गर्न प्रारम्भिक सुझाव समितिले दिएको छ ।

प्रभावकारी बन्न सकेनन् कानुन, पुगेन अनुगमन

सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्ट रूपमा मुख्यतः महिलाको प्रजनन स्वास्थ्य र अधिकारका रूपमा व्याख्या गरे पनि सो सेवामा लक्षित वर्गको सहज पहुँच, गुणस्तरीय सेवा र यसको स्वीकार्यतालाई देशभर विस्तार गर्न सकिएको छैन । असुरक्षित गर्भपतनका कारण हुने मातृ मृत्युदर घटाउन पनि सकिएको छैन । सरकारले सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गरिरहे पनि अनुगमन पक्ष अत्यन्त फितलो हुँदा अकालमा आमाहरूको मृत्यु रोकिएको छैन ।

सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ ले सुरक्षित गर्भपतन सेवा सञ्चालनको अनुमति दिने अधिकार स्थानीय पालिकालाई दिएको छ । तर अझै पनि अधिकांश स्थानीय पालिकाले यो अधिकारलाई जनशक्तिको अभाव देखाउँदै प्रयोग गर्न पन्छिँदै आएका छन् । सुरक्षित गर्भपतन कुनै अपराध होइन, प्रत्येक गर्भवती तथा किशोरीको अधिकार हो भन्ने मान्यतालाई स्थापित गर्न सकिएको छैन ।

महिला विकास तथा कानुन मञ्च आबद्ध अधिवक्ता सविन श्रेष्ठले सुरक्षित गर्भपतनसम्बन्धी ऐन नियमावली कार्यान्वयन तथा अनुगमन पक्ष फितलो भएका कारण समस्या भएको जानकारी दिए । उनले भने, “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५, नियमावली संशोधन जरुरी छ । प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन ल्याउने मुलुकहरूमा नेपालसहित फिलिपिन्स, युगान्डालगायत मुलुक मात्रै छन् ।”

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष मुलुकभर एक लाख पाँच हजार बढी महिलाले गर्भपतन सेवा लिएका थिए । तीमध्ये २० वर्ष माथिका औषधि दिइने सेवा (एमए) ६९ हजार ६९०, औजारद्वारा दिइने सेवा (एमभिए) २६ हजार २८८, औषधि दिइने सेवा (एमआई) एक हजार ६० र औजारद्वारा दिइने सेवा (डिएन्डई) ५५९ र २० वर्ष मुनिका ६ हजार ९०१ रहेका थिए ।

महाशाखाले गरेको अध्ययनअनुसार नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित छन् । अर्थात् ४८ प्रतिशत मात्र सुरक्षित गर्भपतन हुने गर्दछ । सन् २०२१ को अध्ययन भन्छ, “सन् २०२१ मा गर्भपतन सेवा लिएका तीन लाख ३३ हजार ८५३, स्वास्थ्य संस्थामा गरिएको गर्भपतन एक लाख ७६ हजार २१६, स्वास्थ्य संस्था बाहिर एक लाख ४० हजार ४६० र अन्य हानिकारक अभ्यासद्वारा १६ हजार ६६७ ।”

सोही अध्ययनमा नेपालमा एक वर्षमा आठ लाख ६२ हजार १९९ गर्भधारण हुनेमध्ये करिब ५३ प्रतिशत गर्भ अनिच्छित रहने गरेको छ । साथै दुई तिहाइ अनिच्छित गर्भपतन हुने गरेको छ ।

कुल गर्भपतनको ५२ प्रतिशत असुरक्षित हुने गरेको छ । औसतमा नेपालमा प्रत्येक दिन दुई जना आमाले अकालमा ज्यान गुमाउँदा करिब पाँच प्रतिशत मातृ मृत्युमध्ये गर्भपतनका जटिलताका कारण हुने गरेको छ ।

सुरक्षित गर्भपतनका सेवाका बारेमा अनुगमनको समन्वय गर्ने काम सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालय÷स्वास्थ्य कार्यालयलाई रहेको छ । तर हालसम्म यस्तो अनुगमन न्यून मात्र हुने गर्दछ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५ को भाग ४ को दफा १५ ले गर्भवतीको अवस्थाअनुसार १२ देखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । गर्भपतन नगराएमा ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ पनि पतन गराउन पाइने व्यवस्था उक्त ऐनले गरेको छ । यसबाहेक जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेमा पनि महिलाको मञ्जुरीमा २८ हप्तासम्म सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था सो ऐनमा छ ।

सरकारी स्वास्थ्य संस्थाः निःशुल्क सेवा छ, सेवाग्राही छैनन्

हाल ७७ जिल्ला अस्पताल र सीमित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा उपलब्ध छ । विसं २०७३ देखि नै निःशुल्क रहेको यो सेवाका बारेमा सेवाग्राहीलाई जानकारी नै छैन । नेपालमा बर्सेनि कति महिलालाई सुरक्षित गर्भपतनको सेवा आवश्यक पर्छ र कति सेवाग्राहीले औषधि पसलका औषधिबाट गर्भपतन गराउँछन् भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग छैन ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा बुढाथोकी भन्छन्, “सेवाग्राहीले गर्भपतन सेवाका लागि क्लिनिक सूचीकृत छ कि छैन बुझेर मात्र सेवा लिनुपर्छ । आफूखुसी अनधिकृत औषधि पसलबाट अनधिकृत औषधि सेवन गर्नु हुँदैन । औषधि व्यवस्था विभागको सीमित स्रोत साधनका कारण औषधि पसल अनुगमन गर्न नभ्याइएको हो । सुरक्षित गर्भपतन सेवाअन्तर्गत क्लिनिक र औषधि सेवनमार्फत दुवै सेवा प्रदान गर्न सरकार सक्षम छ । सेवा छ, सेवाग्राही छैनन् ।”

सरकारी स्वास्थ्य संस्थामा गोपनीयता नहुने जनाउँदै सेवाग्राही यस्ता सेवाका लागि निजी तथा औषधि पसलमा निर्भर हुने गर्दछन् ।

गत असोजसम्म सुरक्षित गर्भपतन सेवाका लागि दुई हजार ८२७ भन्दा बढी स्वास्थ्य संस्था सूचीकृत भएका छन् भने सात हजारभन्दा बढी स्वास्थ्यकर्मीले तालिम प्राप्त गरी सो सेवा प्रदान गरिरहेका छन् ।

‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) नेपालमा बढी प्रयोगमा छ । यो १० हप्ताभित्रको गर्भका लागि सुरक्षित मानिन्छ । तालिम तथा अनुमति प्राप्त नर्सले सुरक्षित गर्भपतनका लागि घरमा पुगेर सो सेवा दिन सुरुआत गरेका छन् । ग्रामीण क्षेत्रमा यो सेवा अति प्रभावकारी रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

यसैगरी, १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्म गर्भलाई ‘कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन (डिएन्ड) गरिन्छ ।

औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको छ । सुरक्षित गर्भपतन सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति छ । सुरक्षित गर्भपतन सेवा परिवार नियोजनको साधन होइन भन्ने कुरालाई समुदायमा बुझाउन जरुरी छ ।

वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का एक अध्ययनअनुसार नेपालमा वार्षिक रूपमा तीन लाख २३ हजार गर्भपतन हुन्छ । तीमध्ये ४२ प्रतिशत सूचीकृत र ५८ प्रतिशत असूचीकृत संस्थामार्फत हुन्छ ।

हाल आधुनिक परिवार नियोजन सेवाको प्रयोग दर ४२.८ प्रतिशत छ । अझै पनि प्रजनन उमेरका २३.७ प्रतिशत महिलाले परिवार नियोजन सेवा प्रयोग गर्न चाहेर पनि सेवा प्राप्त गर्न सकेका छैनन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६३, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २५ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ४०, मटरकोसा प्रतिकिलो रु ५५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु २५, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ३५, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ५५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ७०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु १५०, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकन्दर प्रतिकिलो रु ७०, कोइरालो प्रतिकिलो रु ३००, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३८०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४७०, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु १६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

स्थानीय सरकारलाई सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा । स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय सरकारबाट अङ्कुश लगाउने काम भएको गुनासो गरेका छन् । आइतबार न्यायिक समिति प्रथम जिल्ला सम्मेलनमा सहभागी यहाँका नौ वटै स्थानीय तहका जनप्रतिनिधि सहित अछामका न्यायिक समितिका संयोजकहरुको सङ्घीय सरकारले न्याय सम्पादन सहितका अधिकार स्थानीय तहलाई दिएको भए पनि कार्यान्वयनमा भने अङ्कुश लगाएको गुनासो गरेका छन् ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले संविधानले दिएका अधिकार र स्थानीय सरकार ऐन सञ्चालन कार्य विधिमा भएका कानुनलाई कार्यान्वयन गर्दा सङ्घीय सरकारले अधिकारलाई कटौती गर्दै अङ्कुश लगाउने गरेको गुनासो गरे ।

स्थानीय सरकार स्वायत्त भए पनि सङ्घ सरकारले ऐनअनुसार काम गर्न नदिने गरेको, स्थानीय तहको न्यायिक समितिमा कानुन अधिकृत नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेका र पालिकामा न्याय सम्पादनका लागि कानुन अधिकृतका लागि माग गर्दा पनि कुनै सुनुवाइ नभएको उनले बताए ।

स्थानीय तहमा न्यायिक समितिको भूमिकालाई अझ प्रभावकारी बनाउन सम्मेलनको आयोजना गरिएको बूढीनन्दा नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक रामबहादुर बोहराले जानकारी दिए ।

न्यायिक समितिले गर्ने न्याय सम्पादन, कानुनी बाधा–अड्चन, न्यायिक समितिमा उजुरी परेपछि मेलमिलापको अवस्था र न्याय सम्पादन गर्दा निष्पक्ष रुपमा भएका असल अभ्यास र सिकाइ आदानप्रदान गर्न सम्मेलन महत्वपूर्ण रहेको उनले भनाइ थियो ।

न्यायिक समितिलाई स्थानीय तहबाट नै पीडितलाई न्याय दिन छिटोछरितो र निष्पक्ष न्याय प्रवाह गर्नुपर्ने आवश्यकता रहेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा न्यायिक समितिको कार्यप्रणाली, चुनौती र समाधानका उपायहरूबारे छलफल गरिनाका साथै विभिन्न कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको नगर उपप्रमुख बोहराले बताए । न्यायिक समिति प्रथम जिल्ला सम्मेलनमा जिल्लाका नौ वटै पालिकाका न्यायिक समिति संयोजक, छिमेकी जिल्ला अछामका सात पालिकाका न्यायिक समितिका संयोजक, न्यायिक मेलमिलापकर्तालगायत सहभागी छन् ।

रसुवागढी भन्सार कार्यालयले ९ महिनाको अवधिमा संकलन गर्‍यो ६ अर्ब ४२ करोड राजस्व

रसुवा । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका सामान भित्रिएको छ ।नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको हो । कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधबीच पनि नाकाबाट व्यापार सञ्चालन भइरहेको उनले जानकारी दिए ।

नाकाबाट आयात हुने सामग्रीमा रोलकपडा, तयारी पोसाक, विद्युतीय इभी गाडी, जलविद्युत् तथा पूर्वाधार विकास आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ, उद्योग तथा मिलका मेसिनरी सामग्री र नेपाली सेनाले निर्माण गरिरहेको ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरण प्रमुख रहेका छन् ।

नेपालबाट चीनतर्फ भने हस्तकलाका सामग्री, परम्परागत नेपाली कपडा, बाँसका मुढा, तिब्बत क्षेत्रमा चौँरीलाई खुवाइने ‘प्याकिङ’ गरिएको सुक्खा घाँस, चाउचाउ तथा बिस्कुट गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएका छन् । सीमित उत्पादन क्षमताका बाबजुद नेपाली वस्तुको निर्यात क्रम विस्तार हुँदै गएको भन्सार कार्यालयले जनाएको छ ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि केही समय व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो । पुल पुनःनिर्माण ढिलो सम्पन्न हुँदा गत पुस १७ गतेदेखि मात्रैसामग्रीको आयात–निर्यात भई पुनः नियमित रूपमा सञ्चालन हुन थालेको भन्सार कार्यालयले जनाएको छ ।

ऐतिहासिक रूपमा भृकुटी र श्रङ्चङ गम्पोबीचको वैवाहिक सम्बन्धपछि नेपाल र तिब्बतबीच व्यापारिक सम्बन्ध विस्तार भएको मानिन्छ । यही ऐतिहासिक व्यापार मार्ग आधुनिक स्वरूपमा विकास हुँदै आज रसुवागढी नेपालको प्रमुख उत्तरी व्यापारिक प्रवेशद्वार बनेको छ ।

चीन सरकारले २०७२ मङ्सिर १५ गतेदेखि रसुवागढी नाकालाई पूर्ण मान्यता दिएपछि व्यापारिक गतिविधि थप बढेको थियो । छोटो दूरी, सहज पहुँच र अन्तरराष्ट्रिय व्यापारको सम्भावनाका कारण अधिकांश व्यवसायी रसुवागढी नाकातर्फ आकर्षित भइसकेको जनाउँदै गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङले नेपालको सबैभन्दा सहज उत्तरी व्यापार मार्ग भएकाले यस नाकाको उपयोग बढाउन आग्रह गरिएको बताए ।

सानो आकारको सडक रसुवागढी क्षेत्र बारम्बार बाढी, पहिरो तथा सडक स्तरोन्नति कार्यका कारण प्रभावित हुँदै आएको छ । व्यवसायीहरूले सडक पूर्ण रूपमा बन्द नगरी समय तालिका मिलाएर सडक मर्मत र व्यापार दुवै कार्य एकसाथ सञ्चालन पार्न माग गरेका छन् ।

बाढीको असरले भन्सार याडमा सामान जाँचपास गर्ने मुख्य स्थान बालुवा खोलाको किनारमा रहेको छ । दिनभरि चिसो हावा र धुलोबीच कर्मचारीले निरन्तर काम गर्नुपर्ने अवस्था रहेको छ । पर्याप्त संरचना, सुरक्षित भवन तथा कार्य वातावरणको अभावले कर्मचारी कठिन परिस्थितिमा सेवा दिन बाध्य रहेको गुनासो कर्मचारीहरू बताउँछन् ।

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौँ, १४ वैशाख : सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ ।

सो रणनीतिमा यसअघि प्रस्ताव गरिएका, अध्ययन भएका, निर्माणमा रहेका र निर्माणमा जान तयार अवस्थामा रहेका आयोजना रहेका छन् । जलाशय र अर्धजलाशय प्रकृतिका आयोजनाका अलावा सौर्य ऊर्जा परियोजनालाई पनि रणनीतिमा समावेश गरिएको छ । रणनीतिमा बहुचर्चित बुढीगण्डकी जलाशयुक्त आयोजना २०८१ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना निर्माणको तयारीमा छ । लगानी ढाँचा तय भएको तर कार्यान्वयनमा भने गइनसकेको सो आयोजनालाई सरकारले प्राथमिकतामा राखेको छ ।

रणनीतिमा समावेश गरिएको कार्ययोजनामा निकट भविष्यमा नै रघुगङ्गा जलविद्यु्त् आयोजना सम्पन्न हुने उल्लेख छ । कुल ४० मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । यसैगरी, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना आव २०८५/८६ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ ।

रणनीतिमा प्रस्ताव गरिएअनुसार ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ए, १८ दशमलव दुई मेगावाट क्षमताको माथिल्लो मोदी, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणको तयारीमा रहेको दूधकोशी जलाशययुक्त आयोजना २०९१ सालसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो आयोजनाको क्षमता ६७० मेगावाट रहेको छ ।

एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण, ४१७ मेगावाट क्षमताको नलगाड पनि सोही वर्ष सम्पन्न गर्ने कार्ययोजनामा समावेश छ । यस्तै, ४९० मेगावाट क्षमताको अरुण चौथो, ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना विसं २०९० सम्म निर्माण सम्पन्न हुनेछ ।

त्यसैगरी, २१० मेगावाटको चैनपुर सेती २०८७ सालसम्म सम्पन्न गर्ने सरकारको लक्ष्य छ । कुल ९९ मेगावाट क्षमताको तामाकोशी पाँचौँ, २८१ मेगावाट क्षमताको नौमुरे, ८२८ मेगावाट क्षमताको उत्तरगङ्गा जलविद्युत् आयोजनालाई पनि विशेष प्राथमिकतामा राखिएको छ । उत्तरगङ्गा जलविद्युत् आयोजना २०९२ सालसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रवर्द्धन गर्ने एक हजार मेगावाट क्षमताको सौर्य परियोजना भने २०८५ सालसम्ममा सम्पन्न हुनेछन् । निजी क्षेत्रका प्रवर्द्धकले लगानी एवं उत्पादन गर्ने सौर्य परियोजना प्रतिस्पर्धाका आधारमा छनोट गरी अगाडि बढाइएको छ । ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनका लागि सौर्यका आयोजना प्रस्ताव गरिएको छ ।

त्यसैगरी, सरकारी कम्पनी र प्राधिकरण तथा अन्य सहायक कम्पनीले प्रवरद्धन गर्ने तीन हजार ५०० मेगावाट क्षमताका आयोजनाहरू पनि २०९२ सालसम्ममा सम्पन्न हुनेछन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले प्रवर्द्धन गर्ने सौर्य तथा निर्यात केन्द्रित आयोजनाहरू पनि सोही वर्षसम्म सम्पन्न हुनेछन् । ती आयोजनाको क्षमता १४ हजार मेगावाटबराबर रहेको छ ।

उपभोक्तालाई गुणस्तरीय विद्युत् उपलब्ध गराउने, व्यापार विस्तार गर्ने एवं निर्यातसमेत प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले रणनीति सार्वजनिक गरेको छ । रणनीतिमा १४ वटा आन्तरिक प्रसारण लाइन र १० वटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने लक्ष्य छ । भूमिगत वितरण प्रणाली विसं २०८५ सम्म सम्पन्न हुनेछन् ।

घरायसी रूपमा विद्युतीय चुलोको विस्तार गर्दै अनुदान प्रदान गर्ने, देशभर चार्जिङ स्टेशनको विस्तार गरी यातायात क्षेत्रलाई विद्युतीय बनाउने, कोइला बोयलरलाई विद्युतीय बोयलरमा रुपान्तरण गर्ने लक्ष्य राखिएको छ । कृषि क्षेत्रलाई आधुनिक बनाउने लक्ष्यका साथ विद्युतीय महसुलमा सहुलियत दिने र शतप्रतिशत विद्युतीय सिँचाइ पम्पमा रुपान्तरण गरिनेछ । रासायनिक मल र डेटा सेन्टर स्थापनालगायतका ऊर्जा सघन उद्योग सञ्चालनका लागि विशेष विद्युत् महसुल निर्धारण गर्ने सरकारको योजना छ ।

आजदेखि कक्षा १२ को परीक्षा सुरु ,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौ । आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।आज (सोमबार)देखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ११ पैसा र बिक्रीदर ११० रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४१ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०१ पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १२ पैसा र बिक्रीदर ४० रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।

आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत देशको बाँकी हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

दमौलीमा फोहर उठ्नै छाड्यो, नगरवासीलाई घरमै फोहर राख्न आग्रह

दमौली (तनहुँ), १४ वैशाख : तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन नसकेको हो ।

हाल व्यवस्थापन गरिएको जग्गामा खाडल पूरा भई वैकल्पिक स्थानको खोजी भइरहेकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म फोहरमैला सङ्कलन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।

फोहरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग भएकामा हालसम्म पनि अनुमति प्राप्त हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाल स्रोतमा वर्गीकरण गरी आएका नकुहिने फोहरलाई कार्यालय परिसरभित्र सूक्ष्म वर्गीकरण गरी बिक्रीयोग्य सामानहरु बिक्री गरी बिक्री अयोग्य वस्तुहरुको अन्तिम विसर्जनका लागि वडा नम्बर १ गल्वुबेँसी अकला कमलडिहीमा व्यक्तिको जग्गामा अस्थायी व्यवस्थापन गरिँदै आएको छ ।”

उक्त अस्थायी ठाउँ पनि फोहरले भरिएपछि अर्को ठाउँ खोजी भइरहेको लम्सालले बताउनुभयो । नगरपालिकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म आफूले उत्पादन गरेका फोहरमैला घर, कम्पाउन्डभित्र सुरक्षित तवरले राख्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले तीन वटा टिपर, चार वटा ट्याक्टर, एक जेसिभी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ वटा सवारीसाधन दैनिक रुपमा सरसफाइका लागि प्रयोग गर्दै आएको छ ।

नगरपालिकाको स्थापनाको ३२ वर्ष भए पनि यहाँ फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापन सधैँको समस्या बन्ने गरेको छ ।

बालेन सरकारमाथि खनिए सांसद हर्क साम्पाङ, मागे राजिनामा

काठमाडौं – सांसद हर्क साम्पाङ बालेन सरकारमाथि खनिएका छन् । उनले हरेक स्टाटसमा सरकारको विरोध गर्दै सरकारको राजिनामा समेत मागेका छन् । सरकारले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीहरु हटाउन थालेपछि सांसद हर्क आक्रोशित भएका हुन् ।

उनले गरीब जनताको सहारा बन्न नसक्ने सरकार असफल भएको भन्दै राजिनामा समेत मागेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् – चुपचाप घण्टीमा छाप, चुपचाप सामान बोकी टाप, सरकार असफल भयो, अब राजिनामा दिएर मार्ग प्रसस्त गरिदिए राम्रो , गरीब जनताको सहारा बन्न नसक्ने सरकार असफल हो, अब अर्को व्यक्तिले नेतृत्व लिंदा राम्रो,

यस्तै अर्को स्टाटसमा पनि लेख्छन् – गरीबको घाऊमा महलम पट्टी लाउने पो सरकार, गरीबको जीवनमा घाऊ दिने अनि नुनचुक छर्कने त सरकार होइन

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

काठमाडौँ, १४ वैशाख : निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनले सङ्घीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् ।

नेपालको संविधान र अन्तरराष्ट्रिय श्रम सङ्गठनमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर र अनुमोदन गरेका अभिसन्धिअनुसार सबै पेसाकर्मीले सङ्गठित हुने र रोजेको सङ्गठनको सदस्य हुन पाउनेगरी पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन् ।

उनीहरुले संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक सेवामा कार्यरत कर्मचारीको हकहित संरक्षण, सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानुनी रूपमा मजबुत बनाउनसमेत आग्रह गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही वैशाख ११ गते शुक्रबार सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा विधायन ऐन, २०८१ बमोजिम आवश्यक सुझावका लागि सार्वजनिक गरेको छ ।

संयुक्त रूपमा माग गर्नेहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन रहेका छन् ।केवल दुई उत्तर कोरियाली सैनिकहरू जिउँदै पक्राउ परेका छन् र हाल युक्रेनी अधिकारीहरूको हिरासतमा छन्।

वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन

काभ्रेपलान्चोक। शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुल्न सकेको छैन । डिभिजन सडक कार्यालय भक्तपुरलगायतले आज बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः परेको वर्षाले थप अवरुद्ध बनाएको हो ।

आइतबार बेलुकासम्म राजमार्ग खुलाउने प्रयास गरिरहँदा अपराह्न वर्षा भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्थायी डाइभर्सनको काम रोकिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार वर्षा नभएमा सोमबार बिहानदेखि पुनः सडक आवागमन गराउन डाइभर्सनको कामलाई निरन्तरता दिइनेछ । आइतबार आठ स्थानबाट डाइभर्सन बनाई आवागमन गराउन खोजिए पनि चारसयबेँसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा वर्षा भएपछि थप काम रोकिएको उनले बताए ।

शनिबार दिउँसो वर्षा सुरु भएलगत्तै जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायले उक्त राजमार्गमा ३ः३० बजेदेखि आवागमन बन्द गराएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्धस्थित कटुन्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भनेर बन्द गराएको जनाएको छ ।

रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार सडकका विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्याएको छ । शनिबारको वर्षाले रोशी क्षेत्रको चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा तथा माम्तीमा गरी आठ स्थानमा क्षति पुर्याएको थियो । गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानका चार किमी सडक बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेश मार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो । सडक अवरुद्ध भएपछि अलपत्र छ सयभन्दा बढी यात्रुलाई आइतबार झोलुङ्गेपुलबाट तेमाल गाउँपालिका हुँदै नमोबुद्ध नगरको भकुण्डेसम्म उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । यस्तै स्थानीयको सहयोगमा प्रहरीले भकुण्डेमा यात्रुलाई फलफूल, पानी तथा अन्य पेयपदार्थ वितरण गरेको थियो ।

गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको छ ।

रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति

काठमाडाैँ । रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति भएको रुसको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

प्योङयाङले युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकका साथै क्षेप्यास्त्र र युद्ध सामग्री पठाएको छ । त्यसको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक सहयोग, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा प्राप्त गरिरहेको विश्लेषकहरूले बताएका छन् ।

दुई देशले सन् २०२४ मा एक सैन्य सन्धिमा हस्ताक्षर गरेका थिए, जसमा दुवै देशले एक अर्कामाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ बिना’ सैन्य सहायता प्रदान गर्न बाध्य पाने सहमति भएको थियो ।

रूसी रक्षामन्त्री आन्द्रे बेलौसोभले भने, “हामी उत्तर कोरियाको रक्षा मन्त्रालयसँग हाम्रो सैन्य सहकार्यलाई निरन्तर र दीर्घकालीन रूपमा राख्न सहमत भएका छौं।”

उनले भने, “हामी सन् २०२७ देखि सन् २०३१ को अवधिका लागि रुसी–कोरियाली सैन्य सहयोगका लागि यो वर्ष एउटा योजनामा हस्ताक्षर गर्न तयार छौँ ।

युक्रेनविरुद्ध मस्कोको युद्धमा सहयोग गर्ने क्रममा मारिएकाहरूको सम्मानमा एक स्मारक कम्प्लेक्सको उद्घाटन समारोहमा रुसी अधिकारीहरू प्योङयाङमा भेला भएका छन्।

बेलौसोभले आइतबार उत्तर कोरियाली नेता किम जोङ उन र रक्षामन्त्री नो क्वाङ चोलसँग भेट गर्नुभएको थियो भनेरुसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनले पनि उत्तर कोरियाली नेता किमलाई भेटेर कुस्र्कको युद्धमा उत्तर कोरियाली सेनाको भूमिकाका लागि धन्यवाद दिएका थिए।

प्योङयाङले रूसको पश्चिमी कुस्र्क क्षेत्रमा किएभका सेनाको महिनौँ लामो प्रत्याक्रमण रोक्न सेना तैनाथ गरेको छ । बेलौसोभले कुस्र्क अपरेशनमा भाग लिएका उत्तर कोरियाली सैनिकलाई सैन्य पुरस्कार प्रदान गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

“कोरियाली सैनिकहरूले हाम्रा सैनिक र अधिकारीहरूसँग काँधमा काँध मिलाएर लडे र रूसी भूमिलाई युक्रेनी नाजीहरूबाट मुक्त गरे, भोलोडिनले भने।

सोलका अनुसार युक्रेनसँगको युद्धमा करिब दुईहजार उत्तर कोरियाली मारिएका छन् भने उत्तर कोरियाली सैनिकलाई युद्धमा पक्राउ पर्नुको साटो आत्महत्या गर्न निर्देशन दिइएको बताइएको छ।

पोखरा गौशालालाई ‘गौ तीर्थस्थल’का रूपमा विकास गरिँदै

गण्डकी । स्थानीय जातका गाईहरूको संरक्षण गरिरहेको पोखरा महानगरपालिका–१५ मजुवास्थित पोखरा गौशाला ‘गौ तीर्थस्थल’का रूपमा विकास गर्न थालिएको छ । विसं २०७४ देखि बेवारिसे स्थानीय जातका गाईहरूको संरक्षण गर्दै आएको गौशालामा हाल १२१ गाई गोरु संरक्षित रहेका गौशालाका प्रमुख सञ्चालक नन्दगोपाल दास (इन्जिनियर नरेन्द्र कुँवर)ले जानकारी दिए ।

स्थानीय गाईको महत्त्वलाई दृष्टिगत गर्दै यसको संरक्षणको उद्देश्यका साथ भारतको प्रतिष्ठित टाटा कम्पनीमा कम्प्युटर इन्जिनियरको रोजगारीलाई छोडेर स्थानीय जुरो हुने गाई गोरुको संरक्षणका लागि नेपालमा फर्किएका कुँवरले गोरखनाथ मन्दिरबाट ल्याइएका पाँच वटा गाईबाट संरक्षण अभियान थालेका हुन् ।

“हामीले स्थानीय जातका वेद-लक्षिणा गाईको महत्त्व बुझ्न र बुझाउन सकेका छैनौँ”, उनले भने, “यी गाईको महत्त्व बुझाउनुका साथै यिनीहरूको संरक्षण र सेवाकै लागि गौशाला सञ्चालन गरिएको हो ।” गाईको महत्त्वलाई हिन्दु धर्मग्रन्थमा वर्णन गरिएको पाइन्छ ।

हिन्दु धर्म संस्कारअनुसार मानिसको जन्मदेखि मृत्यु संस्कारसम्म गाईको आवश्यकता पर्दछ । हरेक पूजाआजा तथा धार्मिक अनुष्ठानमा गाईको दूध, दही, घ्यु, गहुँत र गोबर मिलाएर तयार गरिने पञ्चगव्य खाएर मात्रै कार्य सुरु गरिनुले पनि यसको महत्त्वलाई उजागर गरेको छ ।

पाँच वटा गाई ल्याएर सुरु गरिएको गाई संरक्षण अभियान हालसम्म आइपुग्दा उक्त सङ्ख्या १२१ पुगेको गौशालाका प्रमुख सञ्चालक कुँवरले जानकारी दिए । गाईपालनका लागि १० रोपनी जग्गा न्यूनतम मूल्यमा भाडामा लिएको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेका अन्य सार्वजनिक जग्गालाई गौचरणका रूपमा उपयोग गरिएको बताए । उहाँका अनुसार गाईपालनका लागि चार जना कर्मचारी कार्यरत छन् ।

गाईहरू दिउँसो चरन क्षेत्रमा हुने भए पनि बेलुका गोठमा रहेका अवस्थामा जम्मा हुने मललाई गड्यौला मल बनाउनका लागि उपयोग गरिएको कुँवरले जानकारी दिए । गड्यौला मलबाट वार्षिक रु दुई लाखसम्म आम्दानी हुने जनाउँदै उनले गौशाला सञ्चालनमा सोही रकम परिचालन भइरहेको बताए । चरन क्षेत्रमा हुने गाईको मल भने यहाँका आसपासका स्थानीयले आएर तरकारी खेतीका लागि लग्ने गरेका छन् ।

स्थानीय जातका गाई भएकाले दूध उत्पादन भने खासै नहुने बताउँदै उनले दैनिक आठदेखि १० लिटरसम्म दूध उत्पादन हुने गरेको उल्लेख गरे । उत्पादित केही दूध नजिकै रहेको राधेराधे मन्दिरमा लैजाने गरिएको छ । गौशालाका लागि यसअघि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पोखराले दुई चरणमा गरी रु पाँच–पाँच लाखको लागतमा दुई वटा गोठ निर्माण गरिदिएको छ । यहाँका गाईको पालनपोषणमा पोखरा महानगरपालिका–१५ ले दुई वर्ष लगातार रु एक–एक लाख सहयोग गरेकोमा यस वर्ष भने रु ७५ हजार मात्र विनियोजन गरेको उनले जानकारी दिए ।

यहाँ रहेका गाईको आहारा तथा खटिने कर्मचारी व्यवस्थाका लागि वार्षिक न्यूनतम रु ३० लाखसम्म खर्च हुने गरेको जानकारी दिँदै उनले यसका लागि विभिन्न दाता तथा सहयोगीबाट पाउने सहयोगले राहत मिलेको बताए ।

गाईको महत्त्व तथा संरक्षणको विषयलाई विभिन्न धर्मग्रन्थमा पनि उल्लेख गरिएको पाइन्छ । भविष्य पुराणमा भनिएको छ, ‘गौशाला निर्माणाय यः प्रयच्छति वित्तकम् । स सर्वपापविनिर्मुक्तो मोक्षमावाप्नुयात् ध्रुवम् ।।’, अर्थातः जो गौशाला निर्माणका लागि धन दान गर्छ उ सबै पापबाट मुक्त भई मोक्ष प्राप्त गर्छ ।

भविष्य पुराणकै अर्को श्लोकमा, ‘न गोसदृशं तीर्थ न गोसदृशं तपः । न गोसदृशं दानं न गोसदृशं सुखम् ।।”, अर्थात् गाईको सम्मानजस्तो तप छैन, गाईको हितमा गरिएको दानजस्तो दान छैन र गाईको आर्शिवादजस्तो सुख छैन’, भनिएको छ । वेद तथा उपनिषद्हरूमा गाईको महत्वलाई धेरै किसिमबाट वर्णन गरिएको गौशालाका प्रमुख सञ्चालक कुँवरले जानकारी दिए ।

दिगो व्यवस्थापन र खर्च धान्ने चिन्ता

गौशालामा ठुलो सङ्ख्यामा गाईहरू संरक्षण गरेर राखिए पनि यसको लागि दिगोे स्रोत नहुँदा खर्च पुर्‍याउन भने गाह्रो हुने गरेको छ । विभिन्न दाताहरूबाट समयसमयमा आउने सहयोगले केही मात्रामा राहत मिलेपनि राज्यका तर्फबाट अपेक्षित सहयोग पाउन नसकेका पोखरा गौशाला संरक्षण समितिका अध्यक्ष ललित कुँवर थापाले बताए ।

“व्यक्तिगत रूपमा जन्मोत्सव, विवाहोत्सवका साथै विभिन्न तिथि, मिति र चाडपर्वमा विभिन्न व्यक्तिहरूबाट आउने गरेको सहयोगले केही राहत पुगेपछि यसको दीर्घकालीन व्यवस्थापन हाम्रो चिन्ताको विषय छ”, उनले भने । संस्थाले वर्षको ३६५ दिनमा हरेक दिनका लागि गाईको सेवाका लागि एक-एक जना दाता खोज्ने पहलसमेत बढाएको संरक्षक कुँवरले बताउनुभयो । संस्थाका तर्फबाट जन्मोत्सव, विवाहोत्सव, वैवाहिक वर्षगाँठलगायत विभिन्न सन्दर्भमा सहयोगका लागि आह्वानसमेत गरिएको उनले उल्लेख गरे ।

गौ सेवा आश्रमलाई गौ तीर्थस्थलका रूपमा विकास गर्दै यसलाई आध्यात्मिक, शैक्षिक र वातावरणीय चेतनाको केन्द्र बनाउने आफूहरूको सोच रहेको उनको भनाइ छ । पोखराको बुद्धचोकबाट रामबजार, पोखरा(१५ को वडा कार्यालय, गलेश्वरचोक, फुलबारी रिसोर्ट पूर्वगेट हुँदै यस गौशालासम्म पुग्न सकिन्छ ।

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूल नहर

बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् ।

प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम बढ्दो छ ।

गर्मीयाम सुरु भएसँगै हरेक दिनजसो पानी पिउन नहरमा पुग्ने वन्यजन्तु नहरमा मर्ने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले बताए । उनका अनुसार पछिल्लोपटक शनिबारमात्र एकैदिन हरलाफाँटा सामुदायिक वन क्षेत्रको नहरमा चार वटा चित्तल फसेका थिए । स्थानीय वनका पदाधिकारी, स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको छ ।

यसअघि राप्तीसोनारी गाउँपालिका–२ खोरियास्थित नहरमा शुक्रबार पानीमा फसेको मृगलाई मारेर मासु भागवण्डा गरेर घरतिर जाँदै गर्दा स्थानीय तीन जना पक्राउ परेका छन् । मासु बोकेर घर जाँदै गर्दा उनीहरूलाई वन क्षेत्रमै बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वनका कर्मचारी र स्थानीयले पक्राउ गरेका थिए ।

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन्यजन्तु पानी पिउनका लागि नहरमा जाने गर्दछन् । पछिल्लो समयमा त डढेलोका कारण पनि धेरै वन्यजन्तु नहरमा फस्ने गरेका छन् । अहिले बाँके राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय, सामुदायिक तथा अन्य वनहरूमा डढेलो भइरहेका कारण पनि चित्तल, मृग, नीलगाई, बँदेलगायतका वन्यजन्तु भाग्दै जाँदा नहरमा फस्ने घटनामा वृद्धि भएको उनको भनाइ छ ।

“सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश स्थानमा वन क्षेत्र छ, यहाँ विभिन्न किसिमका वन्यजन्तु छन् । बाँके राष्ट्रिय निकुञ्जको वन क्षेत्र पनि यहाँ पर्दछ”, वरिष्ठ वन अधिकृत सुवेदी भन्छन्, “नहर वन्यजन्तुमैत्री छैन, हालसम्म सयौँ वन्यजन्तु नहरमा फसेका छन्, कतिपय घटना जानकारी हुँदा उद्धार गरिएका छन् भने कैयौँ पटक लुकीछिपी चोरी सिकारी पनि हुने गरेका छन् ।”

वन्यजन्तुलाई पानी पिउनका लागि वनजङ्गल क्षेत्रमा पोखरी बनाइएको भए पनि पर्याप्त मात्रामा पानी छैन । त्रिशक्ति र भगवती सामुदायिक वनमा पानीसहितका पोखरी रहेका छन् तर ती पर्याप्त छैनन् । सिक्टा सिँचाइले नहरमा वन्यजन्तुलाई पानी पिउनका लागि केही स्थानमा घाट बनाए पनि ती घाट सुरक्षित र भरपर्दा नरहेको राप्तीसोनारी गाउँपालिका–२ का अगुवा मदन वली बताउँछन् । गुणस्तरीय घाट निर्माण गरेर घाटबाहेक नहरको दुवैतर्फ तारजाली निर्माण गर्न यो समस्या दीर्घकालीन रूपमा समाधान हुने उनको भनाइ छ ।

सहिद मार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

बागलुङ । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्र्याक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्र्याक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यस क्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरी खुलेको सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजालचोकदेखि ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडासम्म जोडिएको यो सडकको साँघुरो र अप्ठ्यारो छ । दैनिक स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । यो सडक विसं २०५७ देखि २०६० सम्म जनश्रमदानबाट निर्माण गरिएको थियो ।

गाउँमा कोही बिरामी परे तत्काल अस्पताल ल्याउँदा बढी समस्या हुने गरेको ताराखोला गाउँपालिका–२ का तमबहादुर रोकामगरले बताए । वर्षौँ अगाडि दुःख गरेर कोदोला, गैँती र बेल्चाले खनेको सडक अहिले ठुलाठुला मेसिन चल्दा पनि स्तरोन्नति हुन नसक्नु दुःखद भएको उनको गुनासो छ ।

रोकामगरले भने, “सडकको दुरावस्थाका कारण गाउँका मान्छेहरूले धेरै दुःख पाएका छन्, नेताहरू राज्य सरकारमा धेरै पटक पुगे, लौ नै यति सडक त राम्रो गराउनुपर्‍यो भनेर धेरै पटक माग गर्‍यौँ तर अहिलेसम्म जस्ताको त्यस्तै छ, कहिले बन्ला र सहज रूपमा बजार झर्न पाइएला ?”

रिजालचोकदेखि करिब ४० किलोमिटर रहेको सडक व्यवस्थित नबन्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय टीकाबहादुर विकले गुनासो पोखे । दूरीका हिसाबले जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै भए पनि अप्ठ्यारो सडकका कारण एक हजारभन्दा बढी भाडा तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । सहिदका नाममा बनेको सडक यतिका वर्षसम्म व्यवस्थित नबन्दा उनीहरूप्रतिको अपमान भएको विकले बताए ।

“गाउँबाट बागलुङ बजार पुग्न तीन घण्टा बढी लाग्छ, सडक राम्रो भए त एकै घण्टामा पुग्न सकिने दूरी हो, यहाँको समस्या धेरै पटक सुनायौँ तर कतैबाट पनि सुनुवाइ हुन सकेन”, विकले भने, “यति सडक व्यवस्थित भए त हाम्रो जीवनस्तर पनि बदलिने थियो, गाउँमा उत्पादन भएका वस्तु सहज रूपमा बजार पुर्याउन सकिने थियो, बजारबाट पनि सस्तो भाडामा सामान ल्याउन सकिने थियो ।”

सहिदमार्गको काठेखोला गाउँपालिका–४ देखि ताराखोला गाउँपालिका–१, २ र ४ सम्मको खण्ड बढी अप्ठ्यारो छ । यो क्षेत्रमा खाल्डाखुल्डी धेरै छन् भने सडक निकै साँघुरो छ । आर्थिक वर्ष २०८०/८१ मा दुई करोड रुपैयाँ र गत वर्ष एक करोड ५१ लाख रुपैयाँ खर्चेर केही खण्डमा काम भए पनि अरू काम हुन सकेको छैन ।

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले यो सडक स्तरोन्नतिका लागि ठुलो बजेट लाग्ने तर गाउँपालिकामा सीमित बजेट हुने हुँदा काम गर्न नसकेको बताए । सडक स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारसँग पटकपटक बजेट माग गरे पनि अहिलेसम्म प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो ।

डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय खुसी थिए । तर बर्खामा खोला ठुलो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएपछि हालै गण्डकी प्रदेश सरकारले डुडियाघाटमा तीन करोड ६२ लाख २२ हजार रुपैयाँ खर्चेर मोटर चल्ने पुल निर्माण गरेपछि सँगैको झोलुङ्गे पुल प्रयोगविहीन बनेको छ । डुडियाघाटमा जस्तै जिल्लाभर एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन बनेका छन् । सडक सञ्जाल विस्तारका कारण गोरेटोबाटो प्रयोग हुन छाड्दा र पक्की पुल बनेपछि ती झोलुङ्गे पुल प्रयोगमा आउन छाडेका हुन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले काठेखोलामा मात्रै हालै तीन वटा पक्की पुल बनाइसकेको छ । गाउँपालिका–६ बिँहु र वडा नं २ भिमापोखरा जोड्ने गरी लामाबगरमा तीन वर्षअघि निर्माण भएको तीन करोड ३१ लाख रुपैयाँ लागत पक्की पुल बनेपछि सँगैको झोलुङ्गे पुल प्रयोगमा आउन छाडिसकेको छ । काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले कुनै समय अत्यन्तै अभाव खड्कने झोलुङ्गे पुल पक्की पुलका कारण प्रयोगमा आउन छाडेको बताए ।

“काठेखोला गाउँपालिकामा मात्र पछिल्लो तीन वर्षमा तीन वटा पक्की पुल बने, पक्की पुलका कारण छेउमै रहेका झोलुङ्गे प्रयोगमा आउन छाड्यो”, थापाले भने, “पक्की पुल नबन्दासम्म त यात्री झोलुङ्गे पुलबाट र सवारीसाधन खोलाबाट जान्थे, अहिले पक्की पुल बनेपछि झोलुङ्गे पुलको काम भएन, गाउँपालिकाले प्रयोगमा आउन सक्ने सम्भावित क्षेत्रमा झोलुङ्गे पुल स्थानान्तरण गर्न योजना बनाएको छ ।”

सबैभन्दा बढी पक्की पुल निर्माण गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डका दर्जन बढी झोलुङ्गे पुल प्रयोगमा आउन छोडेर जीर्ण बनेका छन् ।

गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमाना गिरीङ्दीखोलामा पुल बनेपछि छेउमै रहेको झोलुङ्गेपुलबाट मानिस वारपार गर्ने छाडे । त्यसपछि सो पुलको लठ्ठामा खिया लागेको छ ।

स्थानीय नवीन रानाका अनुसार जिल्लाभर मध्यपहाडी पुष्पलाल लोकमार्गमा बनेका एक दर्जन पक्की पुलका कारण १० वटा झोलुङ्गेपुल विस्थापित भएका छन् । जिल्लामा ५०० भन्दा बढी झोलुङ्गे पुल रहेको छ ।

मनोहराका सुकुमवासी बस्ती : एक तिहाइ संरचना भत्काइयो

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आइतबार भत्काइएको छ । आइतबार बिहान १०ः०० बजेदेखि काठमाडौँ महानगरपालिकाबाट आएका सात वटा डोजरको सहायताले सुकुमवासी बस्तीका ७० प्रतिशत संरचना भत्काइएको हो ।

पछि असिनापानी परेर बिथोलिएकाले आजको संरचना भत्काउने कार्यलाई स्थगित गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । आइतबार भत्काउन बाँकी भएका संरचनालाई सोमबार भत्काइने जानकारी दिँदै उनले हिजोसम्म ८० प्रतिशतले सबै सामान सारेकाले आइतबार बस्तीका बाँकी बासिन्दाले पनि सबै सामान सारेर सहज गरेका उल्लेख गरे ।

आजका लागि सुकुमवासी बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ४०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी गरी दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । सोमबारसम्म सबै संरचना भत्काइने उनले बताए ।

यहाँबाट बस्ती छाडेको वास्तविक सुकुमवासीलाई दशरथ रङ्गशालामा पठाइएको बताउँदै उनी त्यहाँबाट उहाहरूलाई खान र बस्नका लागि होल्डिङ सेन्टरमा पठाइएको उल्लेख गरे ।

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय बसन्ता परियारको घरमा चट्याङ पर्दा घरमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट परियारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घर जलेपछि परियारको ६ जनाको परिवार विस्थापित बनेको छ । उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी धुर्कोट वस्तुबाट प्रहरी सहायक हवल्दार हर्कबहादुर साउदको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुगेको छ । घटनास्थल प्रहरी चौकी धुर्कोटबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ।