बंगलादेशमा अवामी लिगले बार एसोसिएसनको पनि चुनाव लड्न नपाउने
बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसनले मे १३ देखि १४ सम्म हुने निर्वाचनमा अवामी लिग समर्थक वकिललाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीमाथि प्रतिबन्ध लगाइएको भन्दै यो निर्णय लिइएको हो ।
बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का सदस्यहरूले आगामी वार्षिक चुनावमा अवामी लिग समर्थक वकिलहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। निर्वाचन मे १३ र १४ मा हुने तय भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार ढाकामा भएको सङ्घको विशेष साधारण सभामा यो निर्णय गरिएको हो।
बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) समर्थक वकिल एससिबिएका वरिष्ठ उपाध्यक्ष हुमायूँ कबिर मन्जुले अध्यक्षता गरेको करिब ३०० वकिलहरू सहभागी बैठकले अवामी लीग समर्थक समूहलाई निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध लगाएको हो । सहभागी सदस्यमध्ये अधिकांश बीएनपी र जमात–ए–इस्लामी समर्थक समूहका रहेका थिए।
एससीबीएका सचिव ब्यारिस्टर मोहम्मद महफुजुर रहमान मिलोनले भन्नुभयो, “आतङ्कवादविरोधी ऐन, २००९ अन्तर्गत पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाइएकोले करिब १०० सदस्यले नेतृत्वसँग प्रतिवन्धका लागि माग गरेका थिए । बङ्गलादेशमा हसिनाको पार्टी अवामी लिगलाई यसअघि नै गत आम चुनावमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाइको थियो ।
उहाँले भन्नुभयो, “सर्वसाधारणको रायका आधारमा अवामी लिग समर्थित समलिता इङ्गिबी समन्वय परिषद् र बङ्गबन्धु अवामी इङ्गिबी परिषद्का वकिल वा यी सङ्गठनका पदाधिकारीले चुनाव लड्न नपाउने निर्णय भएको छ । मिलोनले त्यस्ता कानुन व्यवसायीले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्ने स्पष्ट पारे ।
यो निर्वाचन एससीबीएका अध्यक्ष र सचिवजस्ता महत्वपूर्ण पदसहित १४ कार्यकारी पदका लागि हुनेछ । निर्वाचित पदाधिकारीको कार्यकाल एक वर्षको हुनेछ ।
चासो व्यक्त
यसैबीच, फ्रान्सस्थित मानवअधिकार सङ्गठन जस्टिस मेकर्स बङ््गलादेश इन फ्रान्स (जेएमबीएफ) ले हालैका दिनहरूमा बङ्गलादेश बार एसोसिएसनको चुनावमा कथित अनियमितता र राजनीतिक विचारधाराका आधारमा अवामी लिग समर्थक वकिलहरूको मनोनयन रद्द गरिएको भन्दै यसको निन्दा गरेको छ।
सङ्गठनले त्यस्ता वकिलहरूलाई मुन्सीगञ्ज, मयमनसिंह, ठाकुरगाउँ, पञ्चगढ, खुलना, नरिल र सुनामगञ्जका विभिन्न जिल्लाहरूमा प्रहरी हस्तक्षेपको माध्यमबाट चुनाव प्रक्रियाबाट टाढा राखिएको आरोप लगाएको छ ।
यस महिनाको सुरुमा, अवामी लिगले पार्टीलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाइएको संसदबाट पारित एक विधेयकको कडा आलोचना गरेको थियो । आवामी लिगले यसलाई लोकतान्त्रिक मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण र लज्जास्पद कदमको रूपमा वर्णन गरेको थियो।
