`

नेपाल सुपर लिग : चितवन र झापाबीचको खेल बराबरी

काठमाडौँ, २४ चैत : दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अङ्क पु¥याएको छ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्को खेलमा बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले हराएको थियो ।

चितवनका लागि आजको खेलमा टेरिक जेब्रनले गोल गरे । उनले खेलको २८औँ मिनेटमा गोल गर्दै चितवनलाई सुरुआती अग्रता दिलाए । यता झापाका लागि अलहाजी गिरोले खेलको दोस्रो हाफको अतिरिक्त समयमा बराबरी गोल फर्काए । झापाको समान खेलबाट तीन अङ्क भएको छ । झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्ससँग बराबरी खेलेको थियो ।

शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना

गुल्मी, २४ चैतः उहाँको मालिका गाउँपालिका–८ मा रहेको थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि रु १० लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको अगुवाइमा शिक्षकलाई तलब र अन्य शैक्षिक क्रियाकलापका लागि अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषबाट प्राप्त ब्याजबाट खर्चको जोहो गर्ने गरी रकम सङ्कलन गरी ‘थानपती कल्याणकारी कोष’ स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले जानकारी दिनुभयो । अभियानबाट रु १० लाख ३४ हजार ७०० सहयोग सङ्कलन गरिएको छ ।

अक्षयकोषमा न्यूनतम रु एक हजार पाँच सयदेखि अधिकतम रु ५५ हजार ५५५ सम्म सहयोगप्राप्त भएको अध्यक्ष खड्काले बताउनुभयो । विद्यालयले रु १५ हजारमाथि सहयोग गर्ने दाताको ताम्रापत्रमा नाम लेखिने र रु ५० हजारमाथि सहयोग गर्नेको ताम्रापत्रमा दुईपुस्ते नाम लेखिने जनाएको छ । यस अभियानमा १२७ जनाले सहयोग गर्नुभएको छ । अक्षयकोष परिचालनका लागि सात सदस्यीय समिति गठन गरिएको छ ।
एक सय २२ जना विद्यार्थी रहेको उक्त विद्यालयमा १२ जना शिक्षक छन् ।

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

झापा, २४ चैतः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वाकाङ्क्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको धारणा राख्नुभयो ।

“एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन” पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “घटनामा तीनैवटा पक्ष दोषी छन् । त्यसको छानबिन हुनुपर्छ ।” उक्त दिनको सुरक्षा व्यवस्था फितलो र आन्दोलनकारी अराजक भएका कारण अप्रिय घटना हुन पुगेको उहाँको विश्लेषण थियो । 

सम्मानित नेता खनालले २०८४ सालको चुनावअघि नै कम्युनिष्ट शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । “वामपन्थी एकताको विकल्प छैन । टाउको जोड्ने र अङ्कमाल गर्नेमा एकतालाई सीमित गरिनु हुँदैन । अब हुने एकता नीति, सिद्धान्त र कार्यदिशा निर्धारण गरेर हुनुपर्छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत

टक्सार (भोजपुर), २४ चैतः भोजपुर सदरमुकाममा सुरु मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बाग्मती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले विजयी सुरुआत गरेको छ ।

भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा आयोजित खेलमा बाग्मतीलाई लगातार तीन सेटमा हराउँदै एकतर्फी रूपमा कोशीले कब्जा जमाएको थियो । सोमबारको दोस्रो खेल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बीच हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको आजै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ । 

जिल्ला भलिबल सङ्घको आयोजना तथा कोशी प्रदेश सरकारको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको आयोजक संस्थाका महासचिव सङ्ग्राम किरातीले जानकारी दिनुुभयो । प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो । पाँच विधामा विधागत रूपमा उत्कृष्टलाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ  ।

माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने

काठमाडौँ, २४ चैतः नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।

आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उहाँले आग्रह गर्नुभएको छ । 

महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्लोन भइरहेको छ । महासङ्घ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताउनुभयो । उहाँले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गर्नुभयो । 

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

काठमाडौँ, २४ चैतः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताउनुभएको छ । सो पार्टीले आजदेखि रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु गरेको ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा’ नामक सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनमा उहाँले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र मात्र हुने बताउनुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, “गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन, २४० वर्षको राजतन्त्रमा जनताले दुःख पाएको र देश विकास हुन नसकेको छर्लङ्गै छ । हाल गणतन्त्रका नाममा सत्तामा बस्नेहरूले राम्रो काम गर्न नसकेकाले जनअसन्तुष्टि देखिएको छ, जनताले सडकबाट चेतावनी दिएका छन्, यो सत्तामा रहेका दलका नेताहरूमाथि पनि कारबाही हो ।”

मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएको भन्दै मुलुकको राष्ट्रियता रक्षाका निम्ति सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । चैत ३० गतेसम्म हुने आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने र सङ्घीयता खारेजीको माग गरिने अध्यक्ष केसीले बताउनुभयो ।

भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन

कर्णाली, २४ चैतः भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट हराएका सिञ्जा गाउँपालिका–५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सूर्यचन बुढा १२ दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ ।

हुम्ला घर भई सुर्खेत लाटीकोइली बस्दै आएको बताउने चारजना अपरिचित नेपालीले खाजा खान बसौँ भनेर सोही दिन दिउँसो काँशीपुरमा खानामा विषादी मिलाएर बेहोस बनाएका जानकारी प्राप्त भएको र त्यसपछि सम्पर्क हुन नसकेको जनाइएको छ । खोजीका लागि परिवारका सदस्यसहित आफूहरु भारत गएको सूर्यचनका आफन्त घनश्याम बुढाले जानकारी दिनुभयो । 

उहाँका अनुसार सूर्यचनसँगै सिञ्जा गाउँपालिका–६ शनिगाउँ जुम्लाकै अनबहादुर बुढा र वीरेन्द्र रोकायलाई पनि विषादी खुवाएर भारतीय रुपैँया एक लाख १७ हजार लुटिएको थियो । सूर्यचन्दबाहेक अनबहादुर र वीरेन्द्र होसमा आएपछि नेपाल फर्केको बुढाले बताउनुभयो । 

तीन जना भारतको गडवालमा चार महिनादेखि काम गर्दै आएका थिए । उनीहरू घर फर्कने क्रममा लुटिएका हुन् । बुढा सम्पर्कमा नआएपछि परिवारजनले खोजी गरिदिन सरोकार  भएकाहरूलाई आग्रह गरेका छन् ।

केपी ओली कप क्रिकेट : काठमाडौँ र हटौँडा विजयी

कास्की, २४ चैत : पोखरामा सञ्चालन भइरहेको ‘दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय खुला क्लबस्तरीय पुरुष क्रिकेट प्रतियोगिता’को आजको खेलमा काठमाडौँ र हटौँडा विजयी भएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी उक्त प्रतियोगिताको समूह ‘ए’मा रहेको सिइसी काठमाडौँ दुई खेलमा जित हासिल गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । स्याङ्जासँगको आजको खेलमा काठमाडौँले जितका लागि पाएको एक सय २७ रनको लक्ष्य १४ ओभरको पहिलो बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा सात विकेट गुमाउँदै १२६ रन बनाएको थियो । काठमाडौँका लागि दीपेन्द्र रावतले ४९ र रित गौतमले ३८ रन बनाए ।

बलिङतर्फ स्याङ्जाका लागि अस्विनी रानाले दुई तथा किरण भट्टराईले एक विकेट लिए । काठमाडौँले यसअघि हेटौँडालाई पराजित गरेको थियो ।

आजको पहिलो खेलमा हेटौँडा स्पोट्र्स एकेडेमीले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई चार विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको पोखरा महानगरले १६ ओभरको पाँचाँै बलमा सबै विकेट गुमाउँदै ७१ रन मात्र बनायो । पोखराका लागि सुमित श्रेष्ठले ३९ बल खेल्ने क्रममा तीन चौकाको मद्दतमा २६ रन बनाए । प्रमोद बास्तोलाले १६ बलमा तीन छक्का हान्दै २२ रन तथा दीपक बरालले १४ रन बनाए ।

जितका लागि ७२ रनको लक्ष्य हेटौँडाले १२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हेटौँडाका लागि सौरभ खड्काले ३२ बलको सामना गर्ने क्रममा चार चौका हान्दै ३४ रन जोडे ।

पोखराको लगातार यो दोस्रो हार हो । यसअघि शनिबार उद्घाटन खेलमा पोखरा स्याङ्जासँग पराजित भएको थियो ।प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ दी सिरिज’ले रु ३० हजार, उत्कृट बलर र ब्याटरले जनही रु १० हजार प्राप्त गर्ने एकेडेमीले जनाएको छ ।

तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा

काठमाडौँ, २४ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेर सान्त्वना दिँदै हिंसात्मक घटनाका दोषीलाई कुनै पनि बाहनामा छोड्न नहुने बताउनुभयो ।

“यही चैत १५ गते तीनकुने घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु भएको छ, धेरै व्यक्ति घाइते भएका छन्, उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्छ, कसैलाई पनि छाड्नु हुँदैन”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो ।

सभापति देउवाले आफ्नो पार्टीले तीनकुने घटनाको छानबिन गर्नुपर्ने निर्णय गरेको बताउनुभयो । सोही क्रममा रजकका परिवारले सभापति देउवा समक्ष उक्त घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशङ्का व्यक्त  गरेको थियो ।  

आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा

तुलसीपुर, २४ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । नेपाल थारु सङ¬्घको आज तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताउनुभयो ।

“संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ”, उहाँले भन्नुभयो, “कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानुनविपरीत हुन्छ ।”

महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने बताउनुभयो । विगतजस्तो कुुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उहाँको भनाइ थियो । उहाँले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

“नेता बलियो बनाएर पार्टी बलियो हुन्छ भन्ने होइन, कार्यकर्ता बलियो भएपछि मात्रै पार्टी बलियो हुन्छ”, महामन्त्री थापाले भन्नुभयो, “अब दाङका उम्मेदवार दाङकै पार्टीले छान्न पाउने गरी विधान बदल्नुपर्छ, दाङका उम्मेदवार काठमाडौँले छान्ने कुरा वैज्ञानिक छैन ।”

संवैधानिक राजतन्त्र ल्याउन नसकिने उल्लेख गर्दै महामन्त्री थापाले यो कुरा सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो । सङ्घीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान संशोधनमार्फत समाधान गर्नतर्फ पहल लिनुपर्ने महामन्त्री थापाले बताउनुभयो ।

सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने उहाँको भनाइ थियो । “देशमा केही हुँदैन की भन्ने छ, नागरिकमा खुसी छैन”, महामन्त्री थापाले भन्नुभयो, “यसका लागि सरकारमा बस्ने व्यक्तिले आचरण सुधार गर्नुपर्छ, ब्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ, त्यसो भएमा सबै समाधान हुन्छ ।”

एकीकृत समाजवादीले कोशीको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने

काठमाडौँ, २४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कोशी प्रदेशमा देखिएको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने भएको छ ।

यही चैत २६ र २७ गते सुनसरीमा हुने कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा त्यस क्षेत्रको नामकरणमा देखिएको पहिचानको समस्या समाधान गर्न १४ जिल्लाका प्रतिनिधिबीच छलफल गरी मध्यमार्गी उपायबारे पार्टीको धारणा तय गरिने बाट टुङ्गो लगाइने पार्टी केन्द्रीय सचिव एवं कोशी प्रदेश अधिवेशनका संयोजक बलदेव चौधरीले बताउनुभयो ।

अधिवेशनमा नयाँ नेतृत्व चयनका साथै प्रदेशको विकास निर्माणका दीर्घकालीन योजना, जनताको समस्या समाधानका उपाय, साङ्गठनिक अवस्थाको समीक्षा गरिने उहाँले जानकारी दिनुभयो ।
अधिवेशनमा उक्त प्रदेशमा रहेका १४ जिल्लाका विभिन्न सङ्घ तथा जनवर्गीय सङ्गठनहरूबाट करिब ७०० प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे

काठमाडौँ, २४ चैतः सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय रहेको बताउनुभएको छ । उज्वेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका सङ्घको १५०औँ सभालाई सम्बोधन गर्दै उहाँले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको सफल यात्रा तय गरेको उल्लेख गर्नुभयो ।

नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशिताको पूर्ण सुनिश्चितता गरेको उल्लेख गर्दै सभामुख घिमिरेले राष्ट्रका उच्च पदहरूदेखि नीति निर्माण तहसम्म लैङ्गिक तथा जातीय समावेशिताको ‘ग्यारेन्टी’ गरिएको तथ्य प्रस्तुत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । विशेषगरी राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट चयन गर्नुपर्ने संवैधानिक प्रावधान र संसद्का दुवै सदनको नेतृत्व फरक लिङ्ग तथा राजनीतिक दलबाट हुने व्यवस्था उदाहरणीय भएको उहाँको भनाइ छ । 

‘सामाजिक विकास र न्यायका लागि संसदीय कार्य’ शीर्षकमा नेपालका तर्फबाट धारणा राख्दै सभामुख घिमिरेले संसद्लाई सामाजिक परिवर्तनको प्रमुख माध्यमका रूपमा प्रस्तुत गर्नुभयो । “संसदहरूले नीति निर्माण, बजेट विनियोजन, कानुन निर्माण र कार्यान्वयनको निगरानीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्”, उहाँको भनाइ थियो । 

संसदीय कूटनीतिको प्रयोगमार्फत अन्तरराष्ट्रिय सहयोग विस्तार गर्दै, गरिबी, द्वन्द्व र जलवायु परिवर्तनजस्ता सामाजिक प्रगतिका प्रमुख अवरोधहरूको सामना गर्न सकिने सभामुख घिमिरले विश्वास व्यक्त गर्नुभयो । उहाँले संसद्मार्फत महिला, युवा, आदिवासी, जनजाति तथा पछाडि पारिएका वर्गहरूको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै संसदीय खुलापन प्रवर्द्धन गर्ने अभ्यासलाई नेपालको एक महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । नेपालको १६औँ पञ्चवर्षीय योजनाको चर्चा गर्दै सभामुख घिमिरेले स्वास्थ्य, शिक्षा, रोजगारी र आवासमा नागरिकहरूको समान पहुँच सुनिश्चित गर्न सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनलाई नेपालका लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा रहेको बताउँदै प्राकृतिक विपत्तिहरूले वार्षिक लाखौँ नागरिकको जीवन प्रभावित भइरहेको उल्लेख गर्नुभयो । यस्तो अवस्थामा जलवायु न्याय सुनिश्चित गर्न हरित ऊर्जा प्रवर्द्धन, जलवायु अनुकूलन नीतिहरू र अन्तरराष्ट्रिय सहकार्य विस्तारमा नेपालले खेलेको भूमिकाबारे उहाँले स्मरण गराउनुभयो । सभामुख घिमिरेले आगामी मे १६–१८ मा नेपालमा ‘सगरमाथा संवाद’ आयोजना हुने जानकारी दिँदै पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय बहस अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । 

उहाँले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका आदर्शहरूलाई आत्मसात् गर्दै साझा भविष्य निर्माणमा नेपाल अग्रसर रहेको सन्देश अन्तरराष्ट्रिय समुदायलाई दिनुभयो । “संसदीय नेतृत्वसँगै हामीले न्यायसङ्गत, दिगो तथा समावेशी विश्व निर्माणमा योगदान दिनु आवश्यक छ”, सभामुख घिमिरेले भन्नुभयो । 

तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न माग

काठमाडौँ, २४ चैत : तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ ।
जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) अध्यक्ष रुकमणि महर्जनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आह्वान गर्नुभएको हो ।

यही चैत १५ गते तीनकुनेमा घटेको हिंसात्मक घटनामा बल प्रयोग र मानवीय क्षति सम्बन्धमा नेपाल प्रहरीले चैत २० गते सार्वजनिक गरेको विवरणलाई लिएर चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “यस सम्बन्धमा विद्यमान दण्डहीनताको संस्कृति अन्त्यका लागि आवश्यक सिफारिस गर्ने तथा बल प्रयोगको सन्दर्भमा विद्यमान कानुन, अभ्यास तथा व्यवहारको विश्लेषण गरी अन्तरराष्ट्रिय मानवअधिकार कानुन, सिद्धान्त र अभ्यासअनुरूपको आवश्यक सुधारका लागि सिफारिस समेत गर्ने कार्यदिश उक्त संयन्त्रलाई तोक्न आग्रह गर्दछौँ ।”

प्रदर्शनको क्रममा भएका आगजनी, तोडफोड, लुटपाटलगायतका आपराधिक क्रियाकलापको निष्पक्ष अनुसन्धानबाट जिम्मेवार देखिएकाउपर कानुनबमोजिम अभियोजन गरिनुपर्नेमा कुनै विवाद नभएको र यही घटनालाई बहाना बनाएर राजनीतिक आस्थाको आधारमा अस्वभाविक रूपमा राज्यद्रोह वा सङ्गठित अपराधको अभियोजनमा तान्ने कार्य किमार्थ जायज नुहने विज्ञप्तिमा उल्लेख छ । साथै, अनुसन्धान र अभियोजनलाई राजनीतिक आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त राख्न माग गरिएको छ ।

अफगानिस्तानसँग नेपाल एक रनले पराजित

काठमाडौँ, २४ चैत : अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो । योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृङ्खला एक खेल अगावै जितेको छ । यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर १६८ रन बनायो । एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो । नेपालका लागि साहिल पटेलले ११९ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान दिए । यसैगरी अभिषेक तिवारीले २०, निरजकुमार यादवले १५ तथा कप्तान नरेन भट्टले १३ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका लागि वाहिदुल्लाह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले दुई दुई तथा रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाइले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अफगानिस्तानका लागि कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाइले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाइले ११ र खालिद अहमदजाईले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले दुई दुई तथा अभिषेक तिवारीले एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल यही चैत २७ गते हुनेछ ।

स्वास्थ्य बीमा बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

काठमाडौँ । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बीमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताए ।

“स्वास्थ्य बीमा कोषमा बीमितबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्र जम्मा हुने गरेको छ । बोर्डले अन्य स्रोतबाट आम्दानी प्राप्त गर्न सकेको देखिँदैन”, उनले भने, “चालु आर्थिक वर्षको फागुन मसान्तमा बोर्डमा जम्मा रु एक अर्ब रकम रहेको छभने भुक्तानी दिनुपर्ने रकम १६ अर्ब ४५ करोड छ । यस्तो आम्दानी र खर्च बीचको अन्तर निरन्तर फराकिलो हुँदै गएको छ । चालु आर्थिक वर्षमा बोर्डले जम्मा २६ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको छ तर प्राप्त हुने रकम स्वीकृत बजेटकोे एक तिहाइ मात्र हुने देखिन्छ ।”

काफ्लेका अनुसार स्वास्थ्य बीमा कोषमा बढ्दो दायित्व र प्रत्येक वर्ष कोषले घर भाडाबापत दुई करोड ३४ लाख भुक्तानी दिँदै आएको छ । कार्यरत कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहनबापत बर्सेनि करोडौँ भुक्तानी गर्ने गरेको र जुन निरन्तर बढ्दै गएको उनको भनाइ छ ।

“सेवा प्रदायकलाई भुक्तानी दिने रकम मासिक करिब दुई अर्ब थपिने गर्दछ । अन्य प्रशासनिक खर्च पनि नियमित ढङ्गबाट बढेको देखिन्छ । यसबाट स्वास्थ्य बीमा कोषमा आम्दानी र खर्चबीचको अन्तर निरन्तर बढ्दै गएको छ”, काफ्लेले भने, “बेरुजु बढ्दो छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखापरीक्षणको अवधिसम्म बोर्डको बेरुजु दुई अर्ब ८५ करोड २४ लाख ८९ हजार ४९५ रहेको छ । बोर्डको वार्षिक आन्तरिक आम्दानीको ७५ प्रतिशत बेरुजु देखिनु आफैँमा चुनौतीपूर्ण छ । बेरुजु फछ्र्यौट गर्नेतर्फ थप मेहनत गर्नुपर्ने देखिन्छ ।”

उनले स्वास्थ्य बीमामा प्रतिपरिवारले गर्ने औसत प्रिमियम भुक्तानी तीन हजार ८०० रहेको भन्दै स्वास्थ्य बीमाबाट प्रतिपरिवारले लिएको सेवाको औसत भुक्तानी आठ हजार ३५० देखिएको बताए ।

सेवा लिनेको दरमा समानता, कुल सङ्ख्यामा असमानता रहेको काफ्लेको भनाइ छ । उनका अनुसार प्रदेशमा रहेका बीमितमध्ये आर्थिक वर्ष २०७८/७९ मा कोशी र बाग्मती प्रदेशमा स्वास्थ्य सेवा लिने ४२ प्रतिशत, गण्डकीमा ३६ प्रतिशत, लुम्बिनीमा ३४ प्रतिशत थिए भने मधेसमा २६ प्रतिशत, कर्णालीमा ३४ प्रतिशत र सुदूरपश्चिममा २५ प्रतिशत रहेका थिए । उक्त दर आर्थिक वर्ष २०८०/८१ मा क्रमशः कोशीमा ४६, बाग्मती र गण्डकीमा ४४, लुम्बिनीमा ३९, मधेसमा २९, कर्णालीमा ५४ र सुदूरपश्चिममा ४० प्रतिशत रहेको छ ।

काफ्लेले आर्थिक तथा सामाजिक दृष्टिमा पछाडि परेका प्रदेशहरूमा बिमामा सहभागिता निकै कम रहेकाले त्यहाँ सेवा लिनेको सङ्ख्या पनि निकै कम र यसैगरी उक्त प्रदेशका बहुसङ्ख्यक नागरिक स्वास्थ्य बिमामा समेटिन बाँकी रहेको बताए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ जिल्लाका ७४९ वटा स्थानीय तहमा विस्तार भएको छ ।

“कार्यक्रम लागू भएदेखि हालसम्म कुल ८९ लाख ५२ हजार १३५ जना व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भएका छन् । आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा क्रियाशील बीमितको सङ्ख्या ५७ लाख ५३ हजार ८१७ रहेको छ जुन कुल जनसङ्ख्याको २० प्रतिशत हो”, उनले भने, “जसमध्ये सामान्य क्रियाशील बीमित ४३ लाख दुई हजार ७०९ अर्थात् कुल बीमितमध्ये ७५ प्रतिशत र क्रियाशील लक्षित बीमित १४ लाख ५१ हजार १०८ अर्थात् २५ प्रतिशत रहेका छन् । क्रियाशील बीमितको सङ्ख्या विश्लेषण गर्दा अझै पनि बहुसङ्ख्यक अर्थात् ८० प्रतिशत नागरिकलाई समेट्न थप मेहनत गर्नुपर्ने देखिन्छ ।”

जनअधिकार सङ्कुचित बनाउने कुनै राजनीतिक पद्धति स्वीकार्य हुँदैनः अध्यक्ष नेपाल

काठमाडौँ, २४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लामो जनसङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताउनुभएको छ ।

पार्टी निकट आदिवासी जनजाति महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताको अधिकार संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गणतन्त्रात्मक शासन व्यवस्था उत्तम रहेको बताउनुभयो ।

निरङ्कुश शासन व्यवस्था पुनः स्थापनाका लागि प्रतिगामी शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष नेपालले जनअधिकार सङ्कुचित बनाउने त्यस्तो राजनीतिक पद्धति कुनै हालतमा स्वीकार्य नहुने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले जनताका मागलाई जोडेर जनसङ्घर्षकै माध्यमबाट पार्टी निर्माण, पार्टीको साङ्गठनिक सुदृढीकरणमा जनपरिचालनको महत्व तथा अन्तरराष्ट्रिय अभ्यासबारे सम्बोधन गर्नुभयो । उहाँले कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म कुनै पार्टीसँग पनि एकताको सम्भावना नरहेको बताउनुभयो ।  

वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान

काठमाडौँ, २४ चैतः विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आज संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् ।

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली, अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्य र वातावरणविद् भुषण तुलाधरले विज्ञप्तिमार्फत उपत्यकामा धुवाँ फाल्दै कुद्ने सवारीलाई तत्काल रोक लगाउनुपर्ने, धुलो लिएर उपत्यकामा भित्रने सवारीसाधनलाई रोक लगाउनुपर्ने आह्वान गर्नुभएको हो ।

उहाँहरूले वायु प्रदूषण स्तरमा सुधार नहुञ्जेलसम्मका लागि उपत्यकाका विद्यालयहरू बन्द गर्नुपर्ने, फोहोरमैला तथा कृषिजन्य अवशेषहरू जलाउने कार्यमा तत्काल रोक लगाउनुपर्ने, स्वास्थ्य जोखिमबाट जोगिनका लागि मास्क लगाउन अनिवार्य गर्नुपर्नेलगायत सुझाव दिनुभएको छ ।

प्रदूषणमापन केन्द्रहरूले देखाएको आँकडाअनुसार काठमाडौँको हावा सास फेर्नका लागि अस्वथ्य छ । हाल काठमाडौँको हावामा कार्बन मोनोक्साइड, ब्ल्याक कार्बन, ओजोन तथा मसिना हानिकारक कणहरू (पिएम दुई दशमलव पाँच)को मात्रा धेरै रहेको छ ।

सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ । आजको तथ्याङ्कअनुसार काठमाडौँको हावाको गुणस्तर (एयर क्वालिटी इन्डेक्स, एक्युआई) १७९ देखिएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार विगत ९० दिनमा ७५ दिन काठमाडौँको वायु गुणस्तर हानिकारक देखिएको छ । कचौरा आकारको काठमाडौँ उपत्यका विश्वमै वायु प्रदूषणको जोखिममा रहेका प्रमुख सहरहरूमध्ये पर्दछ ।

यसैगरी वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले विगत केही दिनदेखि मुलुकका विभिन्न क्षेत्रहरूमा लागेको डढेलोलगायत कारणले वायु प्रदूषण बढेको जनाएको छ । यसबाहेक उद्योग कलकारखाना र सवारीसाधनबाट निष्कासन हुने धुवाँ, खुल्ला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो पनि वायु प्रदूषणका कारक रहेका छन् ।

विशेषगरी चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने याम रहेको र वर्षा नभएसम्म वायु प्रदूषण उच्च रहने सक्ने सम्भावना छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वास प्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

विभागले वन डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएकाले यस्तो कार्य नगर्न, घरायसी ठोस फोहोर, प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको छ ।

सरकार गठनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गरिनुपर्छः नेता कोइराला

काठमाडौँ, २४ चैतः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबीच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बतानुभएको छ ।

लेखक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले सहमति कार्यान्वयन गर्दै कमजोर रहेको देशको आर्थिक अवस्था सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेता कोइरालाले भन्नुभयो, “सहमतिमा संविधान सशोधनसँगै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्ने घोषणा गरिएकामा नौ महिनासम्म आइपुग्दा त्यसको औचित्य पुष्टि गर्न सकिएको छैन । त्यसका लागि नेता र नेतृत्वमा इच्छाशक्ति हुनुपर्छ, अनि मात्र जनताको सेवामार्फत देश बनाउन सकिन्छ ।”

नेपाललाई विकास र समृद्धिमा लैजान हरित ऊर्जा, कृषि र प्रविधिको विकास तथा विस्तारसँगै भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन तथा दण्डहीनता अन्त्य गरिनुपर्ने भन्दै उहाँले कानुन कार्यान्वयन संयन्त्रमा हाम्रा नभई राम्रा व्यक्ति छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।

 अर्काे एक प्रसङ्गमा नेता कोइरालाले नेपालगञ्जमा जननेता बिपी कोइरालाको शालिकमा हिजो कालोमोसो दलिएको घटनाले कांग्रेसीजनको मनमा केही असर परे पनि प्रजातन्त्रमा विश्वास गर्ने कोही पनि विचलित भने नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कालोमोसो दल्दैमा बिपी कालो हुने होइनन्, उहाँलाई नेपाली कांग्रेसले मात्र नभई सबै नेपालीले राजनेता मानेका छन् । त्यो घटनाले पक्कै पनि हामीहरूको मनमा केही असर गर्छ, त्यो स्वभाविक हो तर त्यस्ता घटनाबाट प्रजातन्त्रमा विश्वास गर्ने कोही विचलित हुनहुन्न ।”

पुस्तकका श्रष्टा डा कर्माचार्यले राजनीति ठूलो दर्शन भए पनि नेपालमा हाल भइरहेका अभ्यास, राज्यबाट नागरिकका लागि प्रवाह भइरहेका स्वास्थ्यलगायत अत्यावश्यक सेवासुविधा र तिनको प्रप्तिमा रहेको झण्झटिला प्रक्रियाले आफूलाई पुस्तक लेख्न खुराक प्रदान गरेको बताउनुभयो । “नेपालको राजनीति मात्र होइन, सामाजिक र स्वास्थ्य सेवामा समेत सुधारको खाँचो छ । राजनीति आफैँमा समाजसेवाको दर्शन हो तर अभ्यासमा त्यस्तो देखिँदैन । पुस्तक अध्ययनपछि भने खुसी समाज, समृद्ध परिवार, असल नागरिक र शान्त नेपाल निर्माणको यात्रामा सबै नागरिक जुट्न प्रेरणा प्राप्त हुनेछ”, उहाँले भन्नुभयो ।

पुस्तकको समीक्षा गर्दै समालोचक प्रमोद प्रधानले कात्रोमा खल्ती हुन्न भन्ने पुर्खाको बुझाइ रहेकामा पुस्तकको शीर्षक र समेटिएका विषयवस्तुले समसामयिक राजनीति, आर्थिक चलखेल, समाजमा विद्यमान विकृति र विसङ्गतिको पर्दाफास गरेको धारणा राख्नुभयो ।

त्यसअवसरमा साहित्यकारद्वय विमल भौकाजी र भागीरथी श्रेष्ठले चिकित्सा क्षेत्रमा रहेर पनि समाज सेवा र लेखन विधाका माध्यमबाट डा कर्माचार्यले समाज रूपान्तरणमा खेल्नुभएको भूमिका अरुका लागि प्रेरणादायी बन्न सक्ने धारणा राख्नुुभयो ।

 साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले मुलुकमा दुई दशकयताको राजनीतिक अभ्यास, विकास, इतिहास, युवा र रोजगारी, शिक्षा, स्वास्थ्य सेवालगायत समसामयिक विषयमा केन्द्रित रही लेख, निबन्ध र विचार तथा ‘कात्रोमा खल्ती’ नामक आख्यान कृतिमा समेटिएको बताउनुभयो ।

सहभागी अन्य वक्ताहरूले पुस्तकले नेपालको वर्तमान राजनीति र समाजको चित्रण गर्नाका साथै राजनीतिज्ञले कसरी काम गर्छन्, समाजमा सुशासनको अवस्था कस्तो छ, सरकारी निकाय, सङ्घसंस्था, अस्पताल र समाज कसरी चलेका छन् भनेर छर्लङ्ग देखाएको बताउनुभयो । कात्रोमा खल्ती नभए पनि अहिलेको परिवेशमा समाजका सबै ठाउँमा खल्ती छ भन्ने देखिरहेको उहाँहरूको भनाइ थियो ।

लेखकले पुस्तकमा नेपाली समाजको हालको परिस्थितिलाई चिर्दै देशलाई समृद्ध, सुखी र शान्त बनाउन चाल्नुपर्ने कदम र गर्नुपर्ने मेहनतको पक्षमा समेत सुझाव प्रस्तुत गर्नुभएको छ ।

 प्रेरणाको स्रोत बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलाई मान्नु हुने लेखक कर्माचार्यले रामेछापमा मात्र नभई मुलुकभर नै गरिबको डाक्टरको परिचय बनाउनुभएको छ । 

आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा शाक्य निर्वाचित

काठमाडौँ । अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य निर्वाचित भएकी छन् ।

उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् । सांसद शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो ।

अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरेसहितको टोलीले भाग लिइरहेकी छन् ।

सभामुख घिमिरेले आइपीयुको दिगो विकास स्थायी समितिका ३६ देशका सभामुखलाई पत्र लेख्दै डा शाक्यको समर्थनका लागि आग्रह गरेका थिए ।

सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन् । नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो ।

सांसद शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस आफूले गरेको बताइन् ।

‘सभामुखज्यूले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो’, उनले भनिन्, ‘मैले पनि व्यक्तिगत रूपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ । हामी सबैको प्रयासले सफलता प्राप्त भयो ।’

उनले प्रधानमन्त्री, सभामुख, संसद् सचिवालयको अन्तरराष्ट्रिय महाशाखालगायतलाई पनि धन्यवाद दिइन् । सांसद शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक हुन् ।

उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।

चैत्र शुक्ल नवमी :देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, २४ चैत : रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर बिहान ४ः०० बजेदेखि नै भक्तजनका लागि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका कार्यालय सचिव वसन्त खड्काले राससलाई जानकारी दिनुभयो । श्रीरामचन्द्र मन्दिर बत्तीसपुतलीमा आज नेपालका चर्चित कलाकारबाट भक्तिसङ्गीत कार्यक्रमको आयोजना पनि गरिएको उहाँले सुनाउनुभयो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मिकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नास गर्नुभएको थियो । ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको थियो । यसैले उहाँलाई अहिले पनि आदर्श राजाका रूपमा स्मरण गरिन्छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रूपमा मनुष्यलोकमा जन्म लिनुभएको हो । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको हो ।

चैत ३० गतेदेखि दोस्रो संस्करणको ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’

काभ्रेपलाञ्चोक, २४ चैत ः काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४० पुरुष र १५ महिलाको समूहबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको आवश्यक तयारी, व्यवस्थापन तथा प्रचारप्रसार र टिम दर्ता भइरहेको सङ्घका अध्यक्ष शिव थापामगरले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टिमले शिल्ड, प्रमाणपत्रसहित नगद रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले रु २० हजारसहित आकर्षक उपहार भौचर प्राप्त गर्नेछन् ।

बास्केटबलको विकास र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता केबल खेलको मैदानमा मात्र सीमित नभई नेपालमा बास्केटबल संस्कृतिलाई थप मजबुत बनाउँदै खेलाडी, समर्थक र समग्र समुदायलाई एकसाथ ल्याउने लक्ष्य राखेको आयोजकको दाबी छ । यस्तै प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहित गर्न तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेका छन् ।

प्रतियोगिताको करिब तीन हजार दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा गरिएको जनाइएको छ । यसअघि सङ्घले गत वर्ष बनेपामा पहिलो संस्करणको उक्त प्रतियोगिता सम्पन्न गरेको थियो ।

आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु

टक्सार (भोजपुर), २४ चैत : भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ । आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् ।

प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले रु २० लाख सहयोग गर्ने भएको छ । अन्य रकम जिल्लाका विभिन्न पालिका र व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन गरिने महासचिव किरातीले बताए । कोशी प्रदेश खेलकुद विकास बोर्ड प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । विधागत रुपमा उत्कृष्टलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिनेछ

अमेरिकी जवाफ ‘कमजोर’ भएको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको क्षेप्यास्त्र आक्रमणमा नौ बालबालिकासहित १८ जनाको मृत्यु हुनुमा रुसको आलोचना गर्न कञ्जुसाईँ गरेको भन्दै अमेरिकी दूतावासको आलोचना गर्नुभएको छ । युक्रेनको मध्य भागमा रहेको क्राइभी रिग शहरमा रहेको बालबालिकाको खेलमैदान नजिकै रहेको एक आवासीय क्षेत्रमा शुक्रबार साँझ रुसी क्षेप्यास्त्र प्रहार भएको थियो ।

“आक्रमणमा ७२ जना घाइते भएका थिए भने उनीहरूमध्ये १२ जना बालबालिका रहेका छन्,” निप्रोपेट्रोभ्स्कका गभर्नर सर्गी लिसाकले आपतकालीन अभियानको अन्त्य पछि भन्नुभयो । आक्रमणपछि शहरका अधिकारीहरूले उक्त क्षेत्रमा तीन दिनको शोक घोषणा गरेका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा एक भावनात्मक वक्तव्य जारी गर्दै आक्रमणमा मारिएका प्रत्येक बालबालिकाको नाम लिनुभएको छ भने अमेरिकी दूतावासले रुसलाई आक्रमणकारीको रूपमा उल्लेख नगरेकोमा आश्चर्य व्यक्त गर्नुभएको छ । जेलेन्स्कीले लेख्नुभएको छ, “दुर्भाग्यवश, यस्तो बलियो देश, यति बलियो जनता – र यस्तो कमजोर प्रतिक्रिया अमेरिकी दूतावासको प्रतिक्रिया अप्रिय आश्चर्यजनक छ ।”

उहाँले भन्नुभएको छ, “बालबालिकालाई मार्ने क्षेप्यास्त्रको बारेमा कुरा गर्दा उनीहरू ’रुसी’ शब्द भन्न समेत डराउँछन्।”अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच आंशिक युद्धविरामका लागि दबाब दिइरहेका बेला मस्कोसँगको सम्बन्धमा सुधार ल्याउन अमेरिकाको आलोचना नगरेको जेलेन्स्कीले बताउनुभएको छ ।

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

बरहथवा (सर्लाही), २४ चैत : चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।

यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर–२ का पुनित महतोले बताउनुभयो । तीस कठ्ठा जग्गामा वर्णशङ्कर जातको मकै लगाउनुभएका उहाँ विद्युतीय मोटरबाट मकैखेतमा पानी लगाउँदै गरेको अवस्थामा भेटिनुभयो । विद्युतीकरणपछि खेतीपाती गर्न सहज भएको महतोको भनाइ छ ।

“यसअघि खेतमा पानीको उपाय नै थिएन”, उहाँले भन्नुभयो, “पोखरी वा नालामा जमेको पानी पम्पसेटबाट तान्ने गरेको थिए ।” पम्पसेटबाट पानी तान्न खर्चिलो हुने उहाँको भनाइ छ । “पहिला यही खेतमा एकपटक पानी तान्न रु तीन हजारदेखि रु चार हजारसम्म डिजलको खर्च हुन्थ्यो”, महतोले भन्नुभयो, “अहिले त्यही लागतमा सिजनभरि (चारपटक) पानी तान्न पुग्छ ।”

स्थानीय तहले दुई वर्ष अघि खेत खेतमा (कृषि विद्युतीकरण) पोल गाडेर बिजुली पुर्याएको थियो । त्यसयता महतोलगायत यहाँका एक हजार २३५ बढी किसानले कृषि मिटर जडान गरिसकेका छन् । सिँचाइको व्यवस्था नहुँदा अकासे पानीको भरमा गहुँ, मसुरो, चना, उखुलगायत खेती लगाउने गरेका चन्द्रनगर–६ बबरगन्जका किसान सुवोध साहले बताउनुभयो । यसरी गरेको खेतीमा लागत धेरै र उत्पादन थोरै हुँदा लागतसमेत नउठ्ने गरेको उहाँको अनुभव छ ।

“यहाँका खेत प्राणबिनाका शरीरजस्तै बनिसकेका थिए”, साहले भन्नुभयो, “गाउँपालिकाले कृषि विद्युतीकरण गरेपछि खेत हराभरा बनेका छन् ।” अहिले प्रति कठ्ठामा चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको साहले बताउनुभयो । उहाँले दुई वर्षदेखि आफ्नो र ठेक्का गरी तीन बिघा खेतमा वर्णशङ्कर जातको मकैखेती गर्नुभएको छ ।

पानीको सुविधापछि तरकारीखेती फस्टाएको स्थानीय जितेन्द्र महतोले बताउनुभयो । अहिले आफूसँग भएको दुई कठ्ठा खेतमा लगाएको तरकारी बिक्रीबाट पाँच जनाको परिवार पालनपोषण गर्न सकेको उहाँको भनाइ छ । अहिले यस क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ । मौसमअनुसार काउली, बन्दा, सिमी, बोडी, खुर्सानी, भिण्डीलगायतको तरकारी प्रशस्त उत्पादन हुने गरेको महतोले बताउनुभयो ।

विद्युत् महसुल गाउँपालिकाले तिर्ने

चन्द्रनगर गाउँपालिकाकाले किसानको खेत खेतमा विद्युतीकरण गर्ने, निःशुल्क कृषि मिटर वितरण गर्नेमात्र नभई किसानले सिँचाइ गर्दा उठेको विद्युत् महसुलसमेत आफैँले तिरिदिने गरेको छ ।

आफ्नो पालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न रहेकाले उहाँहरूलाई सुविधा पुर्याउने उद्देश्यले योजना सुरु गरेको अध्यक्ष राजकुमार महतोले बताउनुभयो । यसले नागरिकको जीवनस्तर सुधारमा मद्दत पुगेको उहाँको भनाइ छ । नजिकै खोला, नहरलगायत सिँचाइ व्यवस्था नभएका कारण किसान समस्यामा परेका उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षको विद्युत् महसुल बिल सङ्कलन भइरहेकाले केही दिनभित्रमा विद्युत् महसुल भुक्तानी गरिने अध्यक्ष महतोले बताउनुभयो । कृषि विद्युतीकरणपछि गाउँपालिकाका किसानले बाँझो छाडेको खेतबाट समेत मनग्य उत्पादन लिन थालेका छन् । यसरी प्रदान गरिएको कृषि मिटरबाट दुईदेखि १२ बिघासम्म खेतमा सिँचाइ गर्न सकिने कृषि प्रविधिकको भनाइ छ ।

कृषि विद्युतीकरणबाट विगत दुई वर्षमा मात्र यस पालिकाको नौ हजार बिघा खेत सिँचाइ गर्न सकिएको थियो । आगामी दिनमा पालिका क्षेत्रमा पानीका स्रोत संरक्षणका लागि अध्ययन भइरहेको अध्यक्ष महतोले बताउनुभयो । यसअघि पालिकामा कृषि सिँचाइका लागि पोखरी निर्माण गरेर वर्षात्मा जमेको पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

सेवा लिनका लागि लाइनमा बस्नुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छः सांसद आचार्य

काठमाडौँ, २४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । उहाँ २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुुनुभएको हो । विसं २०३६ मा विद्यार्थी आन्दोलनबाट राजनीतिकयात्रा सुरु गर्नुभएका सांसद आचार्य २०४९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको महासचिव बन्नुभएको थियो । पार्टीको जिल्ला कमिटी, अञ्चल इन्चार्ज, पूर्वाञ्चलको प्रमुख, प्रदेश इन्चार्ज, केन्द्रीय कमिटी हुँदै २०७१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको थियो । उहाँ २०६४ र २०६९ को संविधानसभा सदस्य र कोशी प्रदेशको मुख्यमन्त्री पनि बन्नुभएको थियो । सांसद आचार्यले पार्टीको सचिव पदमा रहेर पनि काम गरिसक्नुभएको छ । सांसद आचार्यसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंशः

देशको विकासका निम्ति दलहरू नमिल्नु दूर्भाग्यपूर्ण हो । दलहरु सत्ताका लागि प्रतिस्पर्धा गर्नु विडम्बनापूर्ण छ । अब दलहरूले राम्रो नीति, कार्यक्रम ल्याउने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ । अर्थ व्यवस्था सुधार गर्नका दलहरूको प्रतिस्पर्धा हुनुपर्छ । उत्पादन वृद्धि गर्दै पर्यटन र ऊर्जा, सूचना, सञ्चार, स्वास्थ्य, शिक्षा र प्रविधिको विकासका निम्ति प्रतिस्पर्धा गर्नुपर्छ । दलहरू एकले अर्कालाई आरोप–प्रत्यारोप गर्ने राजनीतिक संस्कार राम्रो होइन । दलहरूले काम गर्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ । ‘भिजन’ दिने कुरामा प्रतिस्पर्धा हुनुपर्यो । एकले अर्काको खुट्टा तानातान गर्ने प्रवृत्ति गलत छ । दलहरूको साझा लक्ष्य देश विकास हुनुपर्छ । विकासका काममा दलहरू एकले अर्कालाई सहयोग गरेर जानुपर्छ । अहिलेको राजनीतिक संस्कार गलत छ । यो कुरालाई दलहरूले सुधार गर्नुपर्छ ।

संविधान कार्यान्वयनको अवस्था अत्यन्त ढिलो छ । नयाँ संविधानअनुसार कानुन बनिसकेको छैन । कानुन नबन्दा सरकारलाई काम गर्न अवरोध सृजना गरेको छ । कानुन नबन्दा प्रदेश र स्थानीय सरकारले गति लिनसकेको छैन । त्यसको मूल जरो राजनीतिक अस्थिरता हो ।

सङ्घीयतालाई अझै सुदृढ र बलियो बनाउन तीनै तहका सरकारको अधिकारबारे प्रष्ट हुनुपर्छ । सरकारको अधिकारबारे अन्योलता छ । खासगरी तीनै तहको सरकारको साझा अधिकारबारे अन्योलता छ । त्यसलाई प्रष्ट पार्नुपर्ने छ ।

सुशासनका निम्ति सरकारी काममा हुने ढिलासुस्तीको अन्त्य गर्नुपर्छ । त्यसलाई सुधार गर्न कानुनमा परिवर्तन गर्न जरुरी हुन्छ । सरकारले भर्खरै ल्याएको अध्यादेशले सुशासनका निम्ति सहयोग पुग्ने छ । तर पनि हाम्रो पुरानो कर्मचारी संरचनाका कारणले जनतालाई दिने सेवामा ढिलासुस्ती गर्ने प्रवृत्ति छ । सेवामा ढिला हुने भनेको भ्रष्टाचारको सम्भावना बढ्दै जानु हो । सरकारले अनलाइन सेवालाई सुदृढ गर्नुपर्छ । सरकारी सबै सेवालाई अनलाइन प्रणालीमा लैजानुपर्छ । सेवा लिनका लागि जनता लाइनमा बस्नुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छ ।

पूर्वराजालाई राजसंस्थावादीहरूले गलत ढङ्गले मूल्याङ्कन गर्नुभएको छ । जनतामा असन्तुष्टि छ । चाहनाअनुसार काम भएको छैन । तर त्यसको अर्थ जनताले राजा चाहेका छन् भन्नु गलत हो । संसारका जुनसुकै देशमा पनि व्यवस्था परिवर्तन गर्ने प्रयत्न हुन्छन् । त्यो प्रयत्नअनुसार हाम्रो देशमा पनि दुष्प्रयत्न भएको छ । जुन सफल हुने अवस्था छैन ।

पहिलो कुरा शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने छ । पाठ्यक्रमलाई रोजगारमूलक बनाउनुपर्ने छ । कमाउँदै, पढ्दै गर्ने प्रणालीको विकास गर्नुपर्छ । व्यावसायिक शिक्षालाई प्रोत्साहित गर्नुपर्छ । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्नुपर्छ । नेपालमा नै प्राविधिक शिक्षा प्राप्त गरेर रोजगारी पाउन सकिन्छ भनेर युवालाई विश्वास दिलाउन सक्नुपर्छ ।

नेपालको शिक्षाबाट केही पनि हुँदैन, केही गर्न सकिँदैन, नेपालको पढाइबाट रोजगारी पाउन सकिँदैन भन्ने कुरा केही हदसम्म वास्तविकता पनि हो । त्यसलाई परिवर्तन गरेर प्राविधिक र व्यावसायिक शिक्षाको विकास गर्ने र त्यसमा विद्यार्थीलाई आकर्षित गर्नुपर्छ । स्वरोजगार र रोजगारका अवसरहरू उत्पादन वृद्धि गर्दै पर्यटनको विकास गर्नुपर्छ । हामीले देशभित्रै रोजगारीको अवसर दिने वातावरण बनाउनुपर्छ । तैपनि ‘ग्लोबल भिलेज’ साँघुरो बन्दै गएको अवस्थामा उत्कृष्ट अवसरका लागि नेपाली युवा विदेश जाने विषयलाई पूर्ण रूपमा रोक्न सकिँदैन । तर बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य गर्न जरुरी छ । त्यसका लागि मुलतः रोजगारीको अवसरलाई वृद्धि गर्नुपर्छ । त्यसका लागि उत्पादन वृद्धि गर्ने र पर्यटन क्षेत्रको द्रुत विकास गर्नुपर्छ । सेवा क्षेत्रलाई पनि विकास गर्नुपर्ने हुन्छ ।

हरेक संविधान गतिशील हुन्छ । हरेक १० वर्षमा संविधान संशोधन हुने विषय सामान्य हो । दश वर्षसम्म संविधान कार्यान्वयन गर्दा आइपरेका समस्याका आधारमा संशोधन गर्नुपर्छ । यद्यपि संशोधनबारे कुरा उठे पनि त्यो विषय सदनमा उठेको छैन । संशोधन मुख्य गरी प्रदेश सरकारको आकार घटाउने, निर्वाचन प्रणाली, थ्रेसहोल्ड, प्रदेश र स्थानीय तहको अधिकारका सवालमा संशोधन गर्नुपर्छ । सङ्घीयताको विकेन्द्रिकरणलाई अझ सबलीकरण बनाउनुपर्ने छ ।

‘सरकार परिवर्तन भइरहँदा संसद्ले उल्लेख्य काम गर्न सकेन’

कुनै पनि दलको बहुमत नभएको अवस्थामा सङ्घीय संसद्ले उल्लेख्य रूपमा काम गर्न सकेन । पटकपटक सरकार फेरिने र मन्त्री पनि कमजोर खालको हुने भएकाले कानुन निर्माण जुन गतिमा हुनुपर्ने हो, त्यो गतिमा भएको छैन । संसदीय समितिले पनि द्रुतगतिमा काम गरेको देखिँदैन । तर पनि हामी सांसदले जनताका सवाललाई सदनमा उठाइरहेका छौँ । हाम्रो प्रणाली भनेको एकपटक बजेट आइसकेको अवस्थामा कुनै विषय उठाउनका लागि अर्को आर्थिक वर्ष पर्खिनुपर्ने हुन्छ ।

पछिल्लो सयममा देशको आर्थिक अवस्था पनि दूरावस्थाबाट गुज्रिएको छ । ठूला आयोजनाले गति लिनसकेको छैन । साना–साना आयोजना अलिअलि भइरहेको छ । जनताका सवाललाई सरकारले सम्बोधन नगरेको भन्न मिल्दैन । जनताको सवाल सम्बोधन गर्ने विषय सरकारमा भर पर्छ । कुन पार्टीको सरकार छ भन्ने कुराले पनि फरक पारेको हुन्छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २४ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ४५, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, चिचिण्डो प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ८०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु १३० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

न्यूरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

काठमाडौँ, २४ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवं दर्शन गर्नुभएको हो ।

शनिबारदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको थियो ।

कलाकार ऐरको निधन

कञ्चनपुर, २४ चैत : कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाउनुभएका उहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिनुभयो ।

कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गाैलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आउनुभएको थियो । थारू भाषाको चलचित्र ‘मोर बस्ती’बाट यस क्षेत्रमा डेब्यु गर्नुभएका ऐरले थारू, नेपाली र भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनालयको भूमिका निर्वाह गर्नुभएको थियो ।

ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायत चलचित्रमा अभियन गर्नुभएको थियो । विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत उहाँले अभिनय गर्नुभएको थियो ।

साउथ स्टार श्रीनिवास भन्छन्, ‘नेपालझैँ नेपाली सुन्दर छन्’

काठमाडौँ, २४ चैत : भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताउनुभएको छ । दक्षिण भारतीय चलचित्र ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आउनुभएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, “म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ । कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ । यो चलचित्रको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायाङ्कन गर्ने निर्णय गरेका थियौँ । यो चलचित्रले नेपाली कलाकारलाई दक्षिण भारतीय चलचित्रसँग जोड्नेछ”, अभिनेता श्रीनिवासले भन्नुभयो ।

चलचित्र द्वन्द्वप्रधान रहेको जानकारी दिँदै आफूलाई नेपाली खाना र परिकार मन परेको उहाँल्ले जानकारी दिनुभयो । नेपालमा पोखरापछि काठमाडौँमा छायाङ्कन गरिएको जानकारी दिँदै उहाँले पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने बताउनुभयो । “मलाई यहाँको हिमाल हेर्न मन छ, सगरमाथा पुग्न मन छ तर अहिले सम्भव छैन । यहाँका खानाले समेत मलाई मोहित बनाएको छ”, उहाँले भन्नुभयो ।

सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु चलचित्रमार्फत अभिनययात्रा सुरु गर्नुभएको थियो । हालसम्म उहाँले अभिनय गर्नुभएको १० चलचित्र प्रदर्शन भइसकेका छन् । हाल ‘टाइसन नाइडु’सहित तीन चलचित्र छायाङ्कनरत छन् । उक्त चलचित्रमा नेपाल प्रहरीको भूमिकामा रहनुभएका अभिनेता किरण श्रेष्ठले नयाँ अनुभव भइरहेको बताउनुभयो ।

“मैले यसअगाडि पनि उत्तर भारतीय शृङ्खलामा काम गरेको थिएँ । अहिले दक्षिण भारतीय चलचित्रमा काम गर्न पाउँदाको अनुभव छुट्टै छ, ठूलो बजेट भएकाले पनि उहाँहरूले भव्यता खिच्नु हुन्छ र योजनाअनुसार नै चल्नु हुन्छ । अन्य काम भने हाम्रो नेपाली चलचित्रजस्तै छ”, अभिनेता श्रेष्ठले भन्नुभयो ।

‘आइसी ८१४’ नामक भारतीय वेब शृङ्खलामा काम गर्नुभएको थियो । यस चलचित्र हाल ‘टाइसन नाइडु’को छायाङ्कन विगत एक वर्षदेखि विभिन्न तालिकामा (सेड्युलमा) भारतमा भइरहेको थियो । नेपालसँग कथा जोडिएपछि चलचित्रका निर्मातासँगै यहाँ दृश्याङ्कन हुने कलाकार नेपाल आएका छन् । उनीहरुको नेपाल बसाइ र अन्य गतिविधिबारे निर्माण पक्षले कुनै जानकारी भने दिएको छैन ।

खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु

खोटाङ, २४ चैत : धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।

रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।

हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिनुभयो । “रामनवमीको अघिल्लो रात जाग्राम बस्ने चलन छ । आज पञ्चेबाजासहित गहना लगेर महादेव पहिर्याउने गरिन्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने दर्शनार्थीको सङ्ख्या बढेको हो । मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न जिल्लास्थित तीनवटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभयो ।

हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धारजस्ता विभिन्न द्वार अवस्थित छन् । प्राकृतिक भूबनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठिक पछाडिपट्टि पर्छ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ ।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ । रामनवमीका अवसर पारेर हलेसीमा १५ दिनसम्म लाग्ने मेलामा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । पछिल्लो समय यहाँ दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो । हलेसी परिसरका २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको छ ।

रामनवमीको अवसर पारेर आज जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल (बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङ)लगायत ठाउँमा ठूलो मेला लाग्ने गरेको छ । पछिल्लो समय रामनवमीको अवसर पारेर जिल्लाका पर्यटकीयस्थलमा घुम्न तथा वनभोज खान जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौँ, २४ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी, २०८१ को आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले यो पर्वले श्रीरामले आफ्नो कर्तव्यपालन गर्दै समाजमा शान्ति, सद्भाव र न्यायको स्थापना कसरी गर्नुभयो भन्ने ग्रहणयोग्य सकारात्मक सन्देश दिएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले श्रीरामको आदर्शलाई आत्मसात् गर्दै देश र समाजमा एकता, समृद्धि र प्रगतितर्फ अग्रसरताका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । श्रीराम धर्म र संस्कृतिको अनुपम प्रेरकका रूपमा हिन्दू समाजमा अनादिकालदेखि प्रतिष्ठित हुनुभएको उल्लेख गर्दै उहाँले श्रीरामले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिङ्गो संसारलाई धर्मको पथमा हिँड्न सम्भव छ भन्ने सन्देश दिनुभएको छ ।

“श्रीरामझैँ हाम्रो जीवन चरित्र प्रधान हुनुपर्दछ । उहाँको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा आत्मसात् गर्न सक्नुपर्दछ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

उपराष्ट्रपतिले रामनवमीका अवसरमा गरिने भजन, कीर्तन र उपासना आमनागरिकलाई भक्ति, आध्यात्मिकताको मार्गतर्फ उन्मुख गर्दै मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना प्रस्फुटित गराउने प्रयासबाट ओतप्रोत रहेको उल्लेख गर्नुभएको छ ।

“हाम्रा पर्वहरू सद्भावना, जनकल्याण, नैतिकता र सद्चरित्रको अङ्कुरण गराउने माध्यम पनि भएकाले यसलाई सद्भक्ति, अध्यात्मिकता र नैतिकताको सेतुबन्धको रूपमा उपयोग गर्दै यसमार्फत देश र समाजमा शान्ति, मङ्गल र कल्याणका भावनाहरू जागृत गर्ने प्रयासहरूलाई उत्प्रेरित गर्ने अचूक सूत्रका रूपमा आत्मसात् गर्न जरुरी छ”, सन्देशमा उहाँले भन्नुभएको छ ।

उपराष्ट्रपति यादवले मानवकल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा, मैत्रीभावलगायतका सकारात्मकतालाई सबैले अङ्गीकार गर्दै अघि बढ्नु आजको आवश्यकता भएकामा जोड दिनुभएको छ । “रामनवमी उत्सवमात्र होइन, हामीले आफ्नो जीवनलाई श्रीरामको आदर्शहरूसँग जोड्ने एउटा मङ्गलमय अवसर पनि हो”, उहाँले भन्नुभएको छ, “यस अवसरमा श्रीरामझैँ असल र मर्यादित सङ्कल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा प्राप्त होस् ।”

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

काठमाडौँ, २४ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व  धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ । 

शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । रामनवमी भगवान् श्रीरामको जन्म दिवस मात्र नभई यो दिनलाई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रुपमा पनि लिइन्छ । यस दिन मुलतः देशको विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । 

“राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, सांस्कृतिक एवं भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु”, राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ । नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना पनि उहाँले शुभकामना सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ २४ पैसा र बिक्रीदर १६० रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ ० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १५ पैसा र बिक्रीदर २० रुपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

नारायणगढ–बुटवल सड्क :चैत २७ गतेदेखि दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

मध्यविन्दु (नवलपरासी), २४ चैत : नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

“दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार गरी यातायातलाई सहज ढङ्गले सञ्चालन गर्न र सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्न दैनिक केही घण्टा आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिका प्रमुख, विनयी त्रिवेणी गाउँपालिका प्रमुख, दुवै योजनाका योजना प्रमुख, योजनाको परामर्शदाता, निर्माण व्यवसायी एवं सुरक्षा निकायका प्रमुखसमेतको संयुक्त बैठकले दाउन्ने सडक दैनिक केही घण्टा बन्द गरेर भए पनि निर्माणमा तीव्रता दिने निर्णय गरेको हो । नारायणगढ–बुटवल सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको छ । सडक विस्तारका क्रममा भत्काइएका संरचना समयमै पुनर्निर्माण नहुँदा यात्रु दिनहुँ कष्ट भोग्न बाध्य छन् ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ । रु १७ अर्बको लागतमा सडक निर्माणको काम भइरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक २०८२ साउनसम्मका लागि म्याद थप गरिएको छ ।
–––

चैत्र शुक्ल नवमी : भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, २४ चैत : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताउनुहुन्छ ।

“जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”, उहाँले भन्नुभयो ।

रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ ।

यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई

धनकुटा, २३ चैत (रासस): धनकुटामा भएको १७औँ सहिद भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध युथ क्लवले जितेको छ । सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज सम्पन्न खेलमा उदयपुरको गाईघाट फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि जितेको हो ।

निर्धारित समयमा २÷२ गोलको बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुटआउटमा गाईघाटका धिरेन क्षेत्रीको प्रहार नमोबुद्धका गोलकिपर रविन बस्नेतले रोकेपछि सप्तरी विजयी भएको हो । पेनाल्टी सुटआउटमा नमोबुद्धको तर्फबाट विवेक राई, हेमन्त भूजेल, प्रवेश दनुवार, सनम धिमाल र आयुष मगरले गोल गरे । यस्तै, गाईघाटको तर्फबाट निश्चल मोक्तान, आकाश राई, प्रविन राईले गोल गरेका थिए ।

खेलको पहिलो हाफको ४०औँ मिनेटमा राज भुषालले गोल गर्दै नमोबुद्धलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसलगत्तै ४१औँ मिनेटमा गाईघाटका आकाश राईले गोल गरेर खेललाई बराबरी बनाए । नमोबुद्धका क्षितिज भण्डारीले ४४औँ मिनेटमा एक गोल गरेपछि २–१ को अन्तर भएको खेल, दोस्रो हाफको ८३ औँ मिनेटमा उदयपुरका अशिम राईले गोल गरेपछि बरावरीमा टुङ्गिएको थियो ।

फाईनल खेलको म्यान अफ दी म्याच नमोबुद्धका गोल रक्षक रविन बस्नेत, सर्वोत्कृष्ट खेलाडी राज भुषाल, उत्कृष्ट डिफेन्डर आयुष मगर, उकृष्ट मिडफिल्डर विवेक राई, उत्कृष्ट प्रशिक्षक सुरेश लामा घोषित भए । यस्तै, उत्कृष्ट स्टाईकर गाईघाटबाट खेल्ने विदेशी खेलाडी फोफाना घोषित भए ।

उपाधि बिजेता नमोबुद्धले नगद रु चार लाख ९९ हजार नौ सय ९९ सहित ट्रफी र उपविजेता गाईघाटले नगद रु दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टोलीलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ तथा आयोजक सहिद भिमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

विसं २०५५ देखि हुँदै आएको खेलको यस संस्करणमा आठवटा टोलीको सहभागिता रहेको थियो । तत्कालीन राजा बिरेन्द्रलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा हरेक प्रतिष्ठानले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

भारतीय प्रधानमन्त्री श्रीलङ्कामा, रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्डमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा भाग लिई शुक्रबार श्रीलङ्का आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदीले सन् २०१९ मा श्रीलङ्काको भ्रमण गर्नुभएको थियो । अनुरा कुमारा दिसानायकेले श्रीलङ्काको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेपछि भारतीय उच्च अधिकारीको यो यो पहिलो श्रीलङ्का भ्रमण हो ।

प्रधानमन्त्री मोदीको यो भ्रमणका क्रममा दुई देशबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौता भएका छन् ।श्रीलङ्काका राष्ट्रपति दिसानायके तीन महिनाअघि भारत भ्रमणमा आएका समय सहमति भएका तर हस्ताक्षर हुन बाँकी सम्झौतामा शनिबार सहमति भएको हो ।

त्यतिबेला भारत र श्रीलङ्काबीच एउटा महत्वपूर्ण रक्षा सम्झौतामा सहमति भएको देखिएको थियो ।प्रधानमन्त्री मोदीको श्रीलङ्का भ्रमणका क्रममा दुई देशबीच भएको रक्षा सम्झौतालाई पछिल्लो समय भारत–श्रीलङ्का सम्बन्धको प्रमुख उपलब्धि मानिएको छ ।श्रीलङ्कामा चीनको बढ्दो सैन्य प्रभावलाई कम गर्न भारतले यस सम्झौतामा हस्ताक्षर गर्नु महत्वपूर्ण रहेको विश्लेषकहरूले पहिले नै बताउँदै आएका थिए।

भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार दुई देशले त्रिन्कोमालीलाई ऊर्जा क्षेत्रको रूपमा विकास गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री मोदी र राष्ट्रपति अनुरा दिसानायकेले पनि सम्पुर सौर्य ऊर्जा परियोजनाको भर्चुअल उद्घाटन गर्नुभएको छ ।

–मोदीलाई लङ्का मित्र विभूषणद्वारा सम्मानित–

भ्रमणका अवसरमा श्रीलङ्काका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीलाई ‘लङ्का मित्र विभूषण’ बाट पनि सम्मानित गर्नुभएको छ । यो श्रीलङ्काले अन्य देशका राष्ट्राध्यक्ष वा मित्र राष्ट्रका प्रमुखलाई प्रदान गर्ने उच्च सम्मान हो ।भारत र श्रीलङ्काबीच यसअघि पनि थुप्रै महत्वपूर्ण सम्झौता भएका छन् । यी दुईबीच अहिलेसम्म भएका विभिन्न सम्झौता र त्यसले पार्ने प्रभावबारे दुई देशका अधिकारीहरूले भ्रमणका क्रममा चर्चा गरेका छन् ।

‘कडा कदम चाल्नुहोस्, यो सजिलो हुनेछैन’: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरेपनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

ट्रम्पको व्यापक कर वृद्धिले प्रतिशोधलाई बढावा दिन सक्ने, विश्वव्यापी अर्थव्यवस्थालाई अस्तव्यस्त पार्न सक्ने, व्यापार तनावलाई बढावा दिन सक्ने कदमको रूपमा प्रभाव पारेको बेला ट्रम्पको टिप्पणी आएको हो।

उहाँले भन्नुभयो , “हामी मूर्ख र असहाय भएका छौं, तर अब यस्तो हुने छैन । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ । हामी पहिले कहिल्यै नभएको रोजगारी र व्यवसाय फिर्ता ल्याउँदैछौं ।”

“यो आर्थिक क्रान्ति हो र हामी जित्छौं”, उहाँले भन्नुभयो, सजिलो हुनेछैन तर चुनौतीलाई सहनुहोस् अन्त्यमा परिणाम सुनौलो (ऐतिहासिक) हुनेछ।”

ट्रम्पले देशको व्यापार घाटाको समस्या समाधान गर्न आपतकालीन आर्थिक शक्तिको आह्वान गरेपछि मेक्सिको र क्यानडाका सामानबाहेक अधिकांश अमेरिकी आयातमा शनिबार मध्यरातपछि १० प्रतिशत करवृद्धि लागू भएको हो ।

ह्वाइट हाउसका अनुसार व्यापारमा देखिएको अन्तर सम्बन्ध र ‘अत्यधिक मूल्य वर्धित कर’ जस्ता अन्य नीतिका कारण भएको हो ।आगामी अप्रिल ९ देखि युरोपेली सङ्घ, जापान र चीनलगायत करिब ६० व्यापारिक साझेदारले हरेक अर्थतन्त्रका लागि उपयुक्त उच्च दरको सामना गर्नुपर्ने छ ।

यसअघि नै ट्रम्पले चिनियाँ सामानमा ३४ प्रतिशत कर वृद्धि गरेपछि बेइजिङले अप्रिल १० देखि अमेरिकी उत्पादनमा ३४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।
बेइजिङले संयुक्त राज्य अमेरिकालाई विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) मा मुद्दा हाल्ने र उच्च स्तरीय चिकित्सा र इलेक्ट्रोनिक्स टेक्नोलोजीमा प्रयोग हुने दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाउने पनि बताएको छ।

ट्रम्पले आफ्नो पोस्टमा लेख्नुभएको छ, “चीन अमेरिकाभन्दा धेरै बढी प्रभावित भएको छ, चानचुन होइन ।”तर अन्य प्रमुख व्यापारिक साझेदारहरूले मन्दीको डरका बीच तत्काल प्रतिशोधलाई रोकेका छन् र अन्तर्राष्ट्रिय गतिरोधलाई पचाएउने पहल गरिरहेका छन् ।

– बजार पतन –

एसिया र युरोपमा पनि कर वृद्धिको आर्थिक प्रभाव पर्ने डरले शुक्रबार वाल स्ट्रिटले कारोबारमा भारी गिरावटको सामना गरेको छ । कर वृद्धिले आर्थिक वृद्धिलाई कम गर्न सक्छ र मुद्रास्फीतिलाई बढावा दिन सक्छ भनी अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । यद्यपि, ट्रम्पको पछिल्लो करमा उल्लेखनीय बहिष्करणहरू छन्।

स्टिल, आल्मुनियम र अटोमोबाइलको आयातमा हालसालै लगाइएको २५ प्रतिशत करको भरमा उनी(अमेरिकी) हरूले बजार धान्न नसक्ने आँकलन पनि गरिएका छन् ।

ह्वाइट हाउसका अनुसार तामा, फार्मास्युटिकल्स, सेमीकन्डक्टर र काठका साथै ‘केही महत्वपूर्ण खनिज’ र ऊर्जा उत्पादनहरू पनि अस्थायी रूपमा करवृद्धिको घोषणामा छुटेका छन् ।ट्रम्पले तामा र काठको अनुसन्धान गर्न आदेश दिनुभएको छ, जसले चाँडै नै थप कदमहरूलाई निम्त्याउन सक्छ।

उहाँले औषधि र सेमीकन्डक्टरजस्ता अन्य उद्योगहरूलाई पनि प्रभावित गर्ने चेतावनी दिनुभएको छ, जसको अर्थ कुनै पनि क्षेत्रले राहत महशुस गर्न नपाउन सक्छन् ।
क्यानडा र मेक्सिकोले उत्तर अमेरिकी व्यापार सम्झौताभन्दा बाहिर संयुक्त राज्य अमेरिका प्रवेश गर्ने सामानहरूमा २५ प्रतिशतसम्म अलग–अलग करको सामना गरिरहेका छन्।

– प्रतिशोध जोखिम –

अक्सफोर्ड इकोनोमिक्सले यसै साता दिएको चेतावनी भनिएको छ, “ट्रम्पको समयसीमाले देशहरूलाई वार्ता गर्न ठाउँ दिन्छ तर यदि उनीहरूले राहत पाउन सकेनन् भने उनीहरूले प्रतिकार गर्ने सम्भावना छ, जसरी चीनले पहिले नै गरिसकेको छ।”

इयूका व्यापार प्रमुख मारोस सेफकोभिकले २० प्रतिशत कर को सामना गरिरहेको समूहले ‘शान्त, सावधानीपूर्वक चरणबद्ध, एकीकृत तरिकाले’ काम गर्ने र वार्ताका लागि समय दिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “समूह चुप लागेर बस्ने छैन।”

फ्रान्स र जर्मनीले इयूले अमेरिकी प्रविधि कम्पनीमाथि कर लगाएर त्यसको जवाफ दिन सक्ने बताएका छन् ।ट्रम्पले जापानमा निर्मित सामानमा २४ प्रतिशत कर लगाएपछि जापानका प्रधानमन्त्रीले कठिन समयमा ‘शान्त प्रतिक्रिया’ अपनाउन आग्रह गर्नुभएको छ ।

यसैबीच, ट्रम्पले भियतनामका शीर्ष नेतासँग आफूले ‘निकै फलदायी’ कुराकानी गरेको बताउनुभएको छ । दक्षिणपूर्वी एशियाली उत्पादन केन्द्र भियतनामबाट अमेरिकी सामानको आयातमा ४६ प्रतिशत अमेरिकी कर लाग्ने गरेको बताउनुभएको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि ट्रम्पले अवैध आप्रवासन र फेन्टानिल तस्करीमा कर लगाएर क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा थप २० प्रतिशत कर लगाउनुभएको थितयो ।

आगामी अप्रिल ९ देखि यस वर्ष चिनियाँ उत्पादनमा थपिएको कर ५४ प्रतिशत पुग्नेछ ।ट्रम्पको २५ प्रतिशत सवारी साधन (कार) मा कर वृद्धि पनि यसै हप्तादेखि लागू भएको छ यसका कारण विश्वविख्यात र जिप उद्योगका मालिक स्टेलेन्टिसले केही क्यानडेली र मेक्सिकोली एसेम्बली प्लान्टमा उत्पादन रोक्नुभएको छ ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का अनुसार ट्रम्पको नयाँ विश्वव्यापी कर वृद्धि सन् १९३० को विश्वव्यापी व्यापार युद्धलाई प्रोत्साहित गरी महामन्दीलाई गहिरो बनाउनका लागि सबैभन्दा बढी जिम्मेवार ‘स्मूट–हाउली ट्यारिफ एक्ट’ पछिको सबैभन्दा ठूलो कर वृद्धि हो । अक्सफोर्ड इकोनोमिक्सको अनुमानअनुसार यो कदमले औसत प्रभावकारी अमेरिकी कर दरलाई २४ प्रतिशतमा झर्नेछ, जुन सन् १९३० को दशकको तुलनामा बढी हो ।

‘अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ’ : महामन्त्री थापा

काठमाडौँ २३ चैतः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताउनुभएको छ ।बाह्रखरी मिडियाले आज यहाँ आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा’ उहाँले सरकारले नीजि लागनीकर्ता माझ विश्वास बढाउन सकेको खण्डमा अर्थतन्त्रको विकास हुने बताउँदै यसमा निजी क्षेत्रले पनि सार्थक सहयोग गर्नु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

सङ्घीय सांसदसमेत रहनुभएका महामन्त्री थापाले हरेक क्षेत्रमा खुल्ला र पारदर्शी छलफलले मात्रै समस्याको सार्थक समाधान हुनसक्नेमा जोड दिनुभयो । सरकारले अर्थतन्त्रको सुधारका लागि महत्त्वपूर्ण काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले शासकीय सुधार र अर्थतन्त्रको सुधारका लागि सरकारको योजनामा नीजि क्षेत्र र नागरिकले विश्वास गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता थापाले आइटी, सफ्टवेयर, प्रोग्रामिङसँगै पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकभित्रै केही गर्न खोज्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने भन्दै त्यसका लागि सरकारको नेतृत्वले योजनाबद्ध पहल गर्नुपर्ने बताउनुभयो । कर प्रणाली सुधार गर्न नीतिगत रूपमा कसरी सम्बोधन गर्न सकिन्छ सोबारे सरोकार भएका निकायसँग समन्वय र छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विदेशमा कमाएको मुद्रा देशभित्र ल्याउने र यहाँ कमाएको बाहिर सहजै तरिकाले लैजान पाउने व्यवस्था गर्न सकिए लगानी भित्रने सांसद थापाले दाबी गर्नुभयो । सरकारले पछिल्लो पटक बनाएको कानुन त्यसको सुरुआत हुनसक्ने उहाँको भनाइ छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आमनागरिकको चासो रहेकाले योग्य र सक्षम व्यक्तिको नियुक्ति हुनुपर्ने उहाँले बताउनुभयो ।

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी, २३ चैतः कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् ।

“रूखको ठुटोबाट निरन्तर पानीका धारा छुटेका छन्, पछिल्लो समयमा ठाउँठाउँबाट यो दृश्य हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ । यो कुरा सुन्दा अनौठो लागे पनि तालबेँसीमा यसले चर्चा पाइरहेको छ”, स्थानीय विश्क गुरुङले भन्नुभयो । तलको पानी माथि तिर बग्दैन भन्ने परम्परागत उक्ति र सत्यतालाई पनि यो दृश्यले चुनौती दिएको उहाँको भनाइ छ ।

रुपातालको बाँध निर्माण गरी तालको क्षेत्रफललाई विस्तार गर्ने क्रममा माटो निकाल्ने क्रममा अचानक डोजरको वकेट अड्किएको बताउँदै अर्को डोजर प्रयोग गर्दा पनि उक्त वस्तु ननिस्किएर वकेटको दाँत भाँचिएको गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दुईवटा डोजरको सहायताले पनि जमिनमुनी लुकेको वस्तु निकाल्न नसकेपछि आसपासको माटो निकाल्दै जाँदा रूखको ठुटो भेटिएको थियो । 

उक्त ठुटोबाट पानीका धारा झरिरहेको दृश्यले सबैलाई अचम्म पारेको गुरुङको भनाइ छ । सो स्थानमा अन्य रूखका ठुटोसमेत रहेकाले भुकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्का कारण यहाँका वन, जङ्गल पुरिएको हुनसक्ने उहाँले अनुमान गर्नुभयो । 

“उभिएको रूखको ठुटोको माथिल्लो भागको उत्तर र दक्षिणतर्फबाट पानीका धारा छुटेको दृश्य सामाजिक सञ्जालमा देखिन थालेपछि धार्मिक विश्वासका कारण दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ”, धार्मिक क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका गुरुङले भन्नुभयो, “अहिले नेपालका अधिकांश जिल्लाका मानिसका साथै विदेशी पर्यटकसमेत अनौठो दृश्यावलोकन र धाराको पानीले स्नान गर्न आउने गरेका छन् ।”

सो स्थानमा यही चैत १९ गतेका दिन रुद्री पूजासहित विभिन्न क्षेत्रका धामी झाँक्री राखिएको बताउँदै माता काम्दा उहाँहरूले शिव भगवान्, नागदेवता र जलदेवीको बासस्थान बताउने गरेको उहाँले जानकारी दिनुभयो । दर्शक गर्न आउनेको घुइँचो बढ्न थालेपछि ठुटोको माथिल्लो धारामा पानी केही कम हुँदै गएको उहाँका भनाइ छ ।

यहाँ विभिन्न क्षेत्रका १५ जना भूगर्भविद् र संस्कृतिविज्ञ आएर स्थलगत अध्ययन गर्दा ठुटोबाट पानी आउनुको कारण रूखको प्रजाति र कति वर्ष पुरानो भन्ने तथ्यमा स्पष्ट हुने बताउनुभएको गुरुङले उल्लेख गर्नुभयो । 

स्थानीय ७६ वर्षीया सुनमाया परियारका अनुसार यस स्थानमा पहिला पानीको मूल थियो । “आसपासका बासिन्दा तथा गाईवस्तु चराउन आउँदा यहाँ पानी खाने गर्दथे । खेतको गरामा तलबाट भूलभूल गरेर पानी निस्कने गरेकाले कुवालाई गाउँरी मूल भन्ने गरिन्थ्यो”, उहाँले थप्नुभयो, “बाह्रै महिना पानी आउने सो कुवाको वरपर प्रशस्त नाग देखिने गर्दथ्ये । ती नागले कसैलाई पनि टोकेको जानकारी छैन ।”

ठुटोबाट निस्किएका पानीका धारामा प्रत्येक दश मिनेटको अन्तरालमा पानीको बहाव घट्ने र बढ्ने गरेको बताउँदै यसले ढोरवाराही लहरीको जस्तै झल्को दिने गरेको संरक्षण समितिका सचिव महेश थापाले राससलाई जानकारी दिनुभयो । 

आफूले ठुटोको माथिल्लो भागमा टेकेर झण्डा राख्दा दाहिने खुट्टा दुखेर रातभरि सुत्न नसकेको बताउँदै उहाँले भोलिपल्ट बिहान उक्त स्थानमा पुगेर क्षमा पूजा गरेपछि आराम भएकाले यस क्षेत्रमा दैविकशक्ति रहेको विश्वास गरिएको उहाँले अनुभव सुनाउनुभयो ।

थापाका अनुसार गत फागुन १४ गते शिवरात्रिका दिनेदेखि आजको दिनसम्म दर्शक आउने क्रम जारी छ । पछिल्लो समय दैनिक सात सयदेखि एक हजारसम्मले पानीको धाराको दर्शन गर्ने र ठुटोबाट निस्केको पानीले स्नान गर्ने गरेका उहाँले जानकारी दिनुभयो । “यहाँ आउने दर्शकमध्ये आजसम्म एक सयभन्दा बढीले आफूलाई देवदेवी चढेको भन्दै वर्षौँदेखि खोजेको स्थान पत्ता लागेको बताउने गरेका छन्”, उहाँले भन्नुभयो । 

यस क्षेत्रको संरक्षणका लागि रुपा गाउँपािलका र पोखरा–३१ ले चासो देखाएर उक्त ठुटोलाई तारवारले घेरिएको छ । दर्शनार्थीलाई जुत्ताचप्पल बाहिर राखेर भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको सचिव थापाले बताउनुभयो । उहाँका अनुसार यहाँ दानपेटीका राखिएको छभने दर्शकले चढाएको दानबाट हालसम्म रु ८५ हजार सङ्कलन भएको छ ।  

यस क्षेत्रको स्थलगत अध्ययन गरेका भूगर्भविद् र संस्कृतविज्ञको भनाइअनुसार उक्त रूख लगभग दुई सय वर्ष पुरानो जामुनको भएको अनुमान गरिएको छ । ठुटोबाट आएको धाराको पानी सिधैँ पिउन सकिने प्रयोगशालाको रिपोर्टले देखाएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले राससलाई जानकारी दिनुभयो ।

आगामी वैशाखसम्म पानीको अवस्था हेरेर यसलाई ऐतिहासिक एवं धार्मिक क्षेत्रका रूपमा विकास गरिने बताउँदै उहाँले चिसापानी देवी, कोटकालीका, वेगनासकोट, हङ्सपुरकोट, हात्तिमैतालगायत धार्मिक क्षेत्रको सङ्गममा रहेको यो क्षेत्रलाई पूर्णमोक्ष जलदेवीको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

अध्यक्ष ओझाले गुरुयोजना बनाएर ऐतिहासिक, प्राचीन एवं धार्मिक क्षेत्रका रूपमा विकास गरेमा पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवर्द्धनमा समेत यसले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “तालमा पानीको सतह बढ्दा पनि रूखको ठुटो र यहाँबाट आउने पानीलाई सुरक्षित राख्नेगरी व्यवस्था मिलाउनु अपरिहार्य छ । यस्तै धार्मिक क्षेत्र भारतको हरिद्धारमा समेत देख्न सकिने भएको यसको विस्तृत अध्ययन गरी संरक्षण र प्रवर्द्धन गर्ने योजनामा छौँ”, उहाँले भननुभयो ।

रूखको ठुटोेमा भूमिगत पानीको मूल जोडिएको हुनसक्ने भएपनि ठुटोेको टुप्पाबाट पानीको धारा आउनु अनौठो भएको भूगोलविद् प्राडा कृष्ण केसीले धारणा राख्नुभयो । “यसको वास्तविकता पत्ता लगाउन थप स्थलगत अध्ययन तथा अनुसन्धान आवश्यक छ”, उहाँले भन्नुभयो ।