`

‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

Nepal One HD १० कार्तिक २०८२ १७:५१
समाचार

महेन्द्रनगर, कात्तिक १०-‘जेनजी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ । सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरमा एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँच वटा सरकारी संरचना पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । प्रदेशभर १५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो ।

आशिंक क्षति हुने सरकारी भवनमा पनि सबैभन्दा बढी कैलालीमा १०३, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन वटा छन् । यसैगरी व्यापारिक र निजीतर्फ ३८ घरमा क्षति पुगेकामा कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा रहेका छन् ।

प्रदेशमा ५७३ दुई पाङ्ग्रे र १३५ चार पाङग्रे गरी ७०८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । निजीतर्फ तीन वटा सवारीसाधनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले क्षतिबारे ठाडो निवदेन आए पनि जाहेरी नआएको बताउनुभयो । उहाँले जोहरी आए सङ्कलन गरिने बताउनुभयो । यस्तै, कञ्चनपुर कारागारबाट भागेका ४७८ जनामध्ये ९८ जना फरार र खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा पनि जाहेरी नपरेको बताउनुभयो । उहाँले प्रदर्शनको मौका पारेर भागेका कैदीहरूमध्ये धेरै जना फर्केको र नफर्केकाहरूको खोजी भइरहेको बताउनुभयो ।

“कारागारबाट भागेकामध्ये ४०६ जना फर्केर आएका छन् । अझै २०० भन्दा बढी कैदी फर्केका छैनन् । उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ”, प्रवक्ता सिंहले भन्नुभयो, “हामीले प्रदर्शनका क्रममा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौँ पठाएको छ ।”आन्दोलनका क्रममा सुदूरपश्चिममा प्रदेशसभा भवनदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखकलगायत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुखका निवास तथा व्यापारिक संरचनामा आगजनी र तोडफोड गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *