`

क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग

काठमाडौँ, २६ चैतः क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले आर्थिक सहयोग गरेको छ ।सोमबार यहाँ आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यूरका सञ्चालक देशबन्धु बस्नेतले सहयोगस्वरुप रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।

अभिनेत्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरपीडितका लागि उक्त सहयोग उपलब्धिमूलक र महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले संस्था र होटलबीच दीर्घकालीन सहकार्यको पनि अपेक्षा राखिएको धारणा राख्नुभयो ।

“यस संस्थाले लामो समयदेखि क्यान्सरपीडित भई आर्थिक रूपले कमजोर भएकाहरूलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको छ”, अभिनेत्री कोइरालाले भन्नुभयो, “होटल मक्र्योर काठमाडौँले गरेको यो सहयोगले आगामी दिनमा क्यान्सरविरुद्धको लडाइँमा उहाँहरूलाई सहयोग र हौसला पुगेको छ ।”

सञ्चालक बस्नेतले अन्तरराष्ट्रिय क्यान्सर अस्पताल बनाउन खरिद गरिएको जग्गामा अहिले होटल स्थापना भएको बताउँदै क्यान्सरपीडितका लागि सहयोग गर्न पाउँदा आफू उत्साहित भएको उल्लेख गर्नुभयो ।

बस्नेतले भन्नुभयो, “अन्तरराष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरिएको थियो, तर विभिन्न कारणले अस्पताल निर्माण हुन सकेन, आज होटल सुरु भएपछि क्यान्सरपीडितको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको छ ।” उहाँले आगामी दिनमा पनि क्यान्सरपीडितको सहयोगका लागि संस्थासँग सहकार्य गर्ने बताउनुभयो ।

क्यान्सर केयर नेपालका अध्यक्ष डा मदनकुमार पियाले लामो समयदेखि आर्थिक रूपमा उपचार गर्न नसक्ने क्यान्सरपीडितका लागि संस्थामार्फत निःशुल्क उपचारमा सहयोग गर्दै आएको बताउनुभयो । “आर्थिक रूपमा कमजोर भएकाहरू जसले क्यान्सरको उपचार गर्न सक्दैनन्, वा उपचारलाई बीचमै छाड्न बाध्य हुन्छन्, उहाँहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

विसं २०६५ मा स्थापना भएको क्यान्सर केयर नेपाल क्यान्सरपीडितको उपचारका साथै आमनागरिकमा क्यानसका साथै जनस्वास्थ्यका बारमा जनचेतना फैलाउँदै आएको छ ।

जाकियाको शुभारम्भ

सोही अवसरमा अभिनेत्री मनिषा कोइरालाले होटलमा भारतीय भोजनालय जाकियाको शुभारम्भ गर्नुभएको छ । भारतीय पाककलाको संस्कृति नेपालमा भित्र्याउने उद्देश्यले जाकिया रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको होटलका महाप्रबन्धक विजय नम्मारन एसले बताउनुभयो ।

“भारतीय भोजनप्रेमी, नयाँ स्वाद मन पराउने तथा विशेष किसिमका परिकारमा रुचि राख्नेलाई लक्षित गरी जाकिया सञ्चालनमा ल्याइएको हो, रेष्टुरेन्टमा मुर्ग शहजहानी, नल्ली निहारील र कसुन्दी झिन्गालगायत परिकार विशेष छन्”, उहाँले भन्नुभयो ।

चैत्र शुक्ल एकादशीः कामदा एकादशी व्रत गरिँदै

काठमाडौँ, २६ चैतः चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ ।
कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका कार्यसमिति सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिनुभयो ।

“वशिष्ठ ऋषिले राजा दिलीपलाई कामदा एकादशीको माहात्म्य सर्वप्रथम सुनाउनुभएको थियो । यो विषय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई पनि सुनाउनुभएको प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार कामदा एकादशी पापरुपी दाउराको भारीलाई डढाउने डढेलोको स्वरुप भएको वर्णन ती ग्रन्थमा गरिएको छ । 

रत्नपुर नाम गरेको नगरमा पति ललित गन्धर्व र पत्नी ललिता अप्सरा एकअर्कालाई प्रेम गरेर बसेका थिए । गन्धर्वको समूहमा गाना बजाना गर्ने क्रममा पति ललित पत्नी ललितालाई सम्झेर ताल, लय बिग्रियो । ललितले गीतको लय बिगारेको कुरा कर्कोटकले पुण्डरीकलाई बताएपछि श्राप दिए । फलस्वरुप ललित राक्षस भएर जङ्गलमा रहन थाले । पत्नी ललिताले थाहा पाएर चैत्र शुक्ल एकादशीमा कामदा एकादशीको विधिपूर्वक व्रत एवं पूजा, आराधना गरी पतिलाई पुरानै अवस्थामा फर्काउन सफल भएको विषय ती ग्रन्थमा उल्लेख गरिएको पण्डित देवकोटाले जानकारी दिनुभयो ।

मनुष्यले आफ्नो र अर्काको कल्याणका लागि पनि कामदा एकादशीको व्रत गर्नुपर्ने एकादशी माहात्म्यलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस व्रतको प्रभावले मनुष्यको ब्रह्महत्या आदि पाप, पिशाचत्व र राक्षसत्व नाश भई त्रिलोकमा इच्छासिद्धि प्राप्त हुने पनि ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।    यो कामदा एकादशीको व्रतको माहात्म्य पढ्नाले वा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको पुण्यफल प्राप्त हुने ग्रन्थमा वर्णन गरिएको छ ।

प्रजातन्त्र प्राप्तिमा चन्द्रशेखरको योगदान महत्त्वपूर्ण : सभापति देउवा

काठमाडौँ, २५ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताउनुभएको छ ।

गणेशमान सिंह फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु¥याउनुभएको योगदान’ विषयक कार्यक्रममा उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातन्त्रबारे नेपालमा मात्र होइन भारतमा पनि आवाज उठाउनुभएको थियो । उहाँ नेपाल आएपछि प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उत्साह थपिएको थियो ।”

एवं पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले चन्द्रशेखरप्रति नेपालमा सम्मान र सदभाव रहेको बताउँदै अहिले पनि नेपालको गणतन्त्रात्मक व्यवस्थाप्रति भारतको सदभाव रहेको उल्लेख गर्नुभयो । “नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, गणेशमान सिंहलगायतप्रति उहाँको सम्बन्ध राम्रो थियो”, सभापति देउवाले भन्नुभयो, “नेपाल धेरै पटक आउनुभएको र मैले पनि राम्रोसँग चिनेको थिएँ, भारतमा जाँदा म उहाँको निवासमा गएको छु । उहाँ सहयोगी हुनुहुन्थ्यो ।”

सभापति देउवाले नेपाल–भारतबीचको खुला सिमानाले दुई देशको प्रगाढ सम्बन्धको महत्वबारे स्पष्ट पारेको उल्लेख गर्दै दुवै देशका जनताबीच समेत घनिष्ठ सम्बन्ध रहिआएको बताउनुभयो ।

सङ्घीय संसद्को समितिद्वारा सुझाव सङ्कलन

भद्रपुर (झापा), २५ चैत : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव सङ्कलन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज आयोजित अन्तरक्रियामा समितिका सदस्य लालप्रसाद साँवा लिम्बू नेतृत्वको टोलीले उद्योग, व्यापार, श्रम, रोजगारी, उपभोक्ता अधिकारसँग सम्बन्धित विषयमा छलफल गरेको हो ।

छलफलमा चिया व्यवसायी आदित्य पराजुलीले नेपालबाट भारतर्फ चिया निर्यात गर्दा बारम्बार अवरोध उत्पन्न हुने गरेको गुनासो गर्नुभयो । उहाँले स्पष्ट, दीर्घकालीन र व्यापारमैत्री नीति नहँुदा व्यवसायमा कठिनाइ भएको बताउनुभयो । “अर्बौँको कारोबार हुने चिया निर्यातलाई सरल र सहज बनाउन सरकारले दिगो नीति ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

उपभोक्ता जागरण अभियन्ता शालिग्राम भट्टराईले सुपारी निर्यातमा रोक लगाउनु किसान र व्यावसायी दुवैका लागि लाभदायी नभएको बताउनुभयो । “सुपारीको डिएनए परीक्षण गर्नुपर्ने भन्दै मन्त्रलायले निर्यात रोक्दा हामीले न्यून मूल्यमा सुपारी बिक्री गर्न बाध्य भयौँ”, उहाँले गुनासो गर्नुभयो ।

नारी सञ्चारगृहकी पूर्वअध्यक्ष सावित्रा दाहालले झापाका उद्योगहरू भारतीय श्रमिकमा निर्भर हुने अवस्थालाई कम गरी नेपाली श्रमिकलाई रोजगारीको अवसर दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली श्रमिकलाई यहाँका उद्योगमा काम गर्ने वातावरण बनाउन समितिका सदस्यहरूलाई आग्रह गर्नुभयो । कार्यक्रमका सहभागीले बजार अनुगमन नियमित नहुनु उपभोक्ताका लागि समस्या भएको बताएका थिए । गुणस्तरहीन, म्याद नाघेका तथा अखाद्य वस्तु खुलेआम बिक्री वितरण भइरहेकाले उपभोक्ताको स्वास्थ्यमा खतरा रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा प्राप्त सुझावप्रति गम्भीर ध्यानाकर्षण भएको समितिका सदस्य लिम्बूले बताउनुभयो । “हामी नीतिगत तहमा यी समस्या समाधानतर्फ गम्भीर छौँ”, उहाँले उन्नुभयो । समितिका सदस्य सांसद लिम्बूसँगै, डोलप्रसाद अर्याल, कान्तिका सेजुवाल, रुक्मणी राना बराइली र सीता मिजारको उपस्थिति थियो ।

वर्षौँदेखिको धरानको खानेपानी समस्या समाधान हुन्छ’ : मन्त्री यादव

काठमाडौँ, २५ चैत : खानेपानीमन्त्री प्रदीप यादवले वर्षौँदेखिको धरानको खानेपानी समस्या समाधानको पहल भइरहेको बताउनुभएको छ ।आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेस गर्नुभएको थियो ।

सो मागपत्र बुझ्दै मन्त्री यादवले भन्नुभयो, “धरानको खानेपानी समस्याका विषयमा मसहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ ।”

मन्त्री यादवले सो समस्या दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिनुभएको थियो । गर्मी सुरु भएकाले अहिले धरानमा खानेपानीको काकाकुल अवस्था सृजना भएकाले नागरिकलाई साह्रै दुःख भएको नगरप्रमुख राईले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पानीको समस्या पहिलेदेखि थियो, अहिले गर्मी सुरु भएकाले झन् समस्या भयो, स्थायी रूपमा समस्या समाधनाका लागि बजेट माग गर्न आएका हौँ ।”

‘केपी ओली कप’ क्रिकेट : काठमाडौँ सेमिफाइनलमा

कास्की, २५ चैत : पोखरा रङ्गशालामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको आज भएको खेलमा काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई नौ विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितको समूह ‘ए’ मा रहेको काठमाडौँले समूहका आफ्ना तीनवटै खेलमा जित निकाल्दै समूह विजेतासमेत बनेको छ ।

घरेलु टोली पोखराले सुरुआतमा टस जितेर ब्याटिङ गर्दै १७ ओभरको दोस्रो बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो । यस क्रममा काठमाडौँका दीपेन्द्र रावत र युनिशविक्रमसिंह ठकुरीले तीन–तीन विकेट लिए ।

जितका लागि ५४ रनको झिनो लक्ष्य काठमाडौँले चार ओभरको दोस्रो बलमा एक विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँका कप्तान रित गौतमले आक्रामक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए ।

यसैगरी समूह ‘ए’ को दोस्रो खेलमा हेटौँडा स्पोर्टस् एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई पाँच विकेटले हराएको छ । जितका लागि आवश्यक १७७ रनको लक्ष्य हेटौँडाले १८ ओभरको चौथो बलमा पाँच विकेट गुमाउँदै भेट्टायो । हेटौँडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । उनले २७ बलमा छ चौका र तीन छक्का प्रहार गरे । रामनरेश गिरीले २० रनको अविजित पारी खेले । यसैगरी युविन बुढाथोकीले ३० रन जोडे ।

बलिङतर्फ स्याङ्जाका सुजन गौतमले दुई तथा मिलन लुइँटेल, सन्दीप खत्री क्षेत्री र अस्विनी रानाले एक–एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले १९ ओभरको पाँचौँ बलमा सवै विकेट गुमाएर १७६ रन बनायो । बलिङर्फ हेटौँडाका असिम श्रेष्ठले चार ओभरमा २७ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अकिलेश ठाकुरले दुई तथा अलि मन्सुरी र रामनरेश गिरीले एक–एक विकेट लिए ।

मङ्गलबार समूह ‘बी’ मा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच पहिलो खेल तथा सोही समूहअन्तर्गत रहेको गण्डकी हिरोज र चितवन क्रिकेट क्लबबीच दोस्रो खेल हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

‘राजनीतिक अस्थिरता र सामाजिक अराजकता मुलुकका चुनौती’ : महासचिव पोखरेल

काठमाडौँ, २५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिले मुलुकका चुनौतीका रूपमा देखिएको बताउनुभएको छ ।

राष्ट्रिय युवासङ्घ शिक्षा विभागको आयोजनामा युवा साहित्यिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक अस्थिरता र सामाजिक अराजकता लामो समयसम्म नजाने बताउनुभयो । महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता जस्ता चुनौतीलाई चिर्न दुई ठूला दल सरकारमा सहभागी भएको बताउनुभयो ।

उहाँले युवा पुस्ता परम्परागत कृषिमा जोडिन नचाहँदा विदेश पलायन बढेको बताउनुभयो । “नयाँ पुस्ता परम्परागत कृषिमा संलग्न हुन चाहेन, जसले सबैभन्दा धेरै रोजगारी दिन्थ्यो, त्यो रोजगारीबाट युवाहरू अलग्गिए, आज समाजमा जुन प्रकारको मानव शक्ति व्यवस्थापन चुनौती छ, त्यसका कारण भनेको शिक्षित युवा कृषिबाट विमुख हुनु हो”, उहाँले भन्नुभयो ।

उहाँले परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणाली विकास गरेर देशमा रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिनुभयो । “देश रातारात बन्दैन । समय लाग्छ । २०१५ साल यता जम्मा १७ वर्षमात्र राजनीतिक दलले नेतृत्व गर्न पाएका छन्”, उहाँले भन्नुभयो, “राजनीतिक दलले नेतृत्व गर्ने समय पर्याप्त नपाएर मुलुक नबनेको हो ।”

कार्यक्रममा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवालाई सामाजिक अराजकताबाट टाढा राख्नुपर्ने धारणा राख्नुभयो ।

सङ्घका शिक्षा विभाग प्रमुख तथा सचिव कुवेर अधिकारीले आजको आवश्यकता युवाहरूमा सकारात्मक सोचको विकास गरी आत्मविश्वास दिलाउन र नयाँ सोचका साथ राष्ट्र निर्माणमा योगदान गराउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनमा युवाहरूले मुलुकका लागि सकारात्मक सन्देशमूलक कविता, गजल, निवन्ध, वकृत्वकला वाचन गरिने जनाइएको छ । उत्कृष्ट हुनेलाई पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । सम्मेलनमा हुने वतृत्वकलामा ११० तथा गजल, कविता र निवन्धमा ४०० सहभागी छन् ।

शिक्षकका माग सम्बोधन गर्न जसपाको माग

ललितपुर (गोदावरी), २५ चैत : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षा क्षेत्रमा देखिएको विकृति, विसङ्गति र अन्योलता अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै मुलुकको विकास, परिवर्तन र भविष्यको आधार शिक्षा भएको स्पष्ट पार्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “सरकारको अदूरदर्शी र त्रुटिपूर्ण नीति, ऐन, कानुन तथा व्यवस्थापनका कारण शिक्षा क्षेत्र गुणस्तरहीन र दिशाहीन बन्दै गएको छ ।” उहाँले वर्तमान अवस्थालाई गम्भीर रूपमा लिएर सुधारको माग गर्नुभएको हो ।

विगत केही दिनदेखि आफ्ना न्यायोचित मागसहित आन्दोलनरत शिक्षकहरूको पक्षमा उभिँदै अध्यक्ष यादवले सरकारलाई तत्काल वार्ता गरी समस्या समाधान गर्न सुझाव दिनुभएको छ । साथै शिक्षासम्बन्धी नीति, योजना, ऐन, कानुन र कार्यक्रमरूको समीक्षा गरी सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष यादवले सबै नागरिकलाई समान गुणस्तरीय शिक्षा प्रत्याभूत गर्ने नीति अवलम्बन गर्न सरकारलाई आह्वान गर्दै शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक : डढेलो रोकथाम गर्न निर्देशन

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज सम्पन्न १७ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना कार्यान्वयन अवस्थाको समीक्षा गरेको छ ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको बैठकमा गत पुस २८ गतेको १६ औँ परिषद् बैठकबाट स्वीकृत पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराइएको थियो ।

योजना स्वीकृतिपछि गत माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण कार्य थालनी भएको थियो । आजको बैठकमा उक्त योजनामा छुट भएका संरचनाहरुको पुनः निर्माणका लागि प्राप्त प्रस्तावलाई सम्बन्धित मन्त्रालयबाट यथार्थ पुनरावलोकन गराई आवश्यकता र प्राथमिकताका आधारमा समावेश गर्ने निर्णय भएको छ ।

बैठकले वन डढेलो र सोसमेतका कारणले सिर्जित वायु प्रदूषणको गाम्भीर्यलाई ध्यानमा राखी वन डढेलो रोकथान तथा नियन्त्रण गर्न गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनःनिर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा शहरी पूर्वाधार, विद्युत् वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुरातात्विक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ ।

सोह्रौँ बैठकले डोटी तथा जाजरकोट केन्द्रविन्दु भई भएको भूकम्प पश्चातको क्षति आँकलन, निजी आवास पुननिर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने पनि निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले पुनः निर्माण र पुनःस्थापनाको कार्यमा प्राधिकरण कामले गति लिनुपर्नेमा जोड दिए । उनले विपद्का समयमा उद्धार र राहतका लागि गृह मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिए ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीगण, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलको नेताका प्रतिनिधि शक्तिबहादुर बस्नेत, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान

भक्तपुर, २५ चैतः यहाँको मध्यपुरथिमि–३ गठ्ठाघर निवासी ७८ वर्षीया मिश्री देउजा आज वृद्धाभत्ता बापत प्राप्त रकम बोकेर मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित ज्ञानविज्ञान महायज्ञस्थल पुग्नुभयो ।

बैङ्कबाट आइतबार निकालेको रु ११ हजार १११ वृद्धाभत्ता बोकेर छोरी बिणाको साथमा आइपुग्नुभएकी उहाँले मानव कल्याण समाजले भवन निर्माणार्थ आयोजना गरेको महायज्ञमा दान दिनुभयो । उहाँले भन्नुभयो, “जसको कोही छैन, उनीहरूको भगवान हुन्छ भन्छन्, मेरो वृद्वाभत्ता ती असाहयका लागि सहयोग गर्न पाउँदा मेरो मन आनन्दित छ ।”

काभ्रेको नमोबुद्ध नगरपालिकाबाट आमाको साथमा आएकी सात वर्षीया बालिका आस्भी खनालले खुत्रुकेमा जम्मा गरेको रु पाँच हजार ५५ दान गर्दा धरैको आँखा रसाए । विगत पाँच वर्षदेखि रक्त क्यान्सरको उपचार गराइरहनुभएका मध्यपुरथिमि निवासी गोविन्दप्रसाद न्यौपानेले यज्ञस्थलमै आएर रु २१ हजार दान गर्नुभयो ।

दुवै मिर्गौलामा खराबी आएपछि उपचार गराइरहनुभएका सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी नारायण बस्नेतले अस्पतालमा डायलासिस सकाएर सिधै महायज्ञस्थल आएर रु ११ हजार दान दिनुभयो । यी केही प्रतिनिधि पात्रमात्र हुन् । सयौँ ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीले यहाँ भइरहेको महायज्ञस्थलमा आएर दान गरेका छन् ।

मानव कल्याण समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी कथावाचिका देवीसुमी मानव भन्नुहुन्छ, “यो निस्वार्थ धार्मिक कार्य हो, २०७४ सालदेखि सडकमा रहेका मानवको उद्धार गरी खाना, नाना र छानाको व्यवस्था गर्दै आएका छौँ, असाहयहरूको आवास अस्थायी भयो त्यसैले आफ्ना कोही नहुने बेसाहाराहरूका लागि साहारा बन्न हामीले सहयोगी हात र मनहरूलाई जोड्दैछौँ ।”

सडकबाट उद्धार गरिएका असहाय सडक एवं बेवारिसे मानवको लालनपालन र स्थायी आवाससहितको दिगो व्यवस्थापनका लागि आयोजना गरेको महायज्ञसँगै भक्तपुरको झौखेलमा जस्ताको टहरामा जीवन गुजारिरहनुभएका बेसाहाराको आश्रम अवलोकन गरिदिनुहुन उहाँले आग्रह गर्नुभयो ।

महायज्ञस्थलमा रु ५१ हजार दान दिने स्थानीय परशुराम कार्कीले भन्नुभयो, “जिन्दगी त सुखुदुःख चलाउन सकिन्छ, तर कोही नहुनेहरूका लागि अलिकति मन फराकिलो बनाउन सहयोग गर्न पाउँदा जीवन जिउनुको सार्थकता मिल्यो, जिन्दगीमा यसैगरी सहयोग गर्न पाइरहियोस् ।”

महायज्ञस्थलमा आज सडकबाटै उद्धार गरिएका सात बालिकालाई गन्यूचोली र छ बालकको चुडाकर्म अर्थात् व्रतबन्ध गरिएको थियो । उक्त कार्यमा स्थानीय दाताको सहभागिताले ती बालबालिकाको मन प्रफुल्लित बनाएको महायज्ञ आयोजना मूल समारोह समितिको सचिवालयका बेदप्रसाद खरेलले बताउनुभयो ।

भक्तपुरलाई सडक मानवमुक्त बनाउने अभियान सुरु भएको करिब पाँच वर्षमा जस्ताको टहराबाट मानव कल्याण धाम बनाउन सके धेरै बेसाहाराका लागि दिगो बासस्थानको व्यवस्था गर्न सकिने भएकाले सो महायज्ञ गरिएको जनाइएको छ । महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष नरेश रञ्जितले हालसम्म दाताहरूबाट महायज्ञमा रु ३० लाख सङ्कलन भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सडक मानवमुक्त पार्ने अभियानलाई विगत चार वर्षदेखिनै साथ दिँदै आएका छौँ, यहाँ आफ्नै सन्तानले बाबुआमालाई नहेर्ने जमानामा उहाँले सडकमा अलपत्र मानवलाई उठाएर आश्रम पुर्याएर गरेको सेवा देखेर प्रभावित भइ यो अभियानमा साथ दिएका छाँै ।”

महायज्ञ मूल आयोजक समितिका संयोजक गोपी न्यौपानेले मानव भएर मानवकै लागि सहयोग जुटाउन गरेको महान् कार्यमा सहयोगी हात र मनहरू थपिँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “जन्म दिएर नौ महिनाअगाडि सालनालसहित झाडीमा फालिएकी बालिका यही महायज्ञमा नन्दलाला (कृष्ण) बनाएर कृष्णजन्मोत्सवको नाटक प्रदर्शन गरी परिक्रमा गर्दा नौ महिनाकी बालिकालाई सहभागी सबैले कृष्ण भगवान् मानेर दर्शन गर्ने र झाडीबाट उठाएर सेवा घर पुर्याएर सालनाल काटेर ग्रहण गर्ने आमा आज यही महायज्ञमै कथा वाचिका हुनुले सहभागीलाई नतमस्तक बनाएको छ ।”

विसं २०७२ देखि भक्तपुरबाट सडकमा बेवारिसे मानवलाई चाउचाउ, बिस्कुट तथा पानी बाँडेर सुरु भएको यो अभियान २०७४ सालदेखि दाताहरूको सहयोगले भाडाको घर लिएर खरिपाटीबाट सुरु भएको आश्रम हाल झौखेलको टहरा बेसाहाराको आश्रयस्थल बनेको छ ।

समाजले हाल भक्तपुरको झौखेलस्थित टहरामा ४१ जना बेवारिसे सडक मानवको पालनपोषण गर्दै आएको समाजका सचिव विजयकुमार पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी पशुपति, काभ्रेको पनौती, धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरी ५५ जना अनाथ बालबालिकादेखि असाहय गरी ५०५ जनालाई पालनपोषण गर्दै आएको छ ।

सात वर्षमा दुई हजार १०० सडक तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छभने सालनालसहित झाडीमा भेटिएका शिशुदेखि, बलात्कारको पीडामा परेकी किशोरी, अनाथ बालबालिका, छोराछोरी विदेश र स्वदशमै सम्पन्न भएर पनि सडकमा आश्रय लिन पुगेका आमाबाबुलाई समाजले आश्रय दिँदै आएको छ ।

आश्रममै अन्तिम विश्राम लिएकाहरूको प्रहरी प्रक्रिया पूरा गरेर सुमी मावनलगायतको संस्थाले दाहसंस्कार गर्दै आएको छ । भारतको उत्तर प्रदेशस्थित बृन्दावनमा श्रीमद्भागवतको कोर्ष पूरा गरेर महायज्ञ वाचिका बनेर अनाथ असाहयहरूको सहारा बन्दै सुमी मानवको अभियानलाई महायज्ञमा आउनेहरूले साथ दिएका छन् ।

मुख्यमन्त्री कप भलिबल : सुदुरपश्चिमद्वारा लुम्बिनी पराजित

टक्सार (भोजपुर), २५ चैत : भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो र दोस्रो सेट लुम्बिनीले २७–२५ अङ्क र २५–१४ अङ्कले जितेको थियो । बाँकी तीन सेट भने सुदूरपश्चिम प्रदेशले जित्यो । सुदूरपश्चिमले तेस्रो सेट २५–२३, चौथो सेट २५–२२ र अन्तिम सेट १५–११ अङ्कले जित्यो ।

मङ्गलबार पहिलो खेल लुम्बिनी र गण्डकी प्रदेशबीच तथा दोस्रो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।

प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले सहभागिता जनाएको छ । यही चैत २८ गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती, २५ चैत : मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा सडक पार गर्न खोज्दा बसको ठक्करबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बाप्र०१–००६ख ६७१६ नम्बरको गाडी रोकेर शौचालय जानका लागि सडक पार गर्ने क्रममा ना८ख १८०९ नम्बरको बसले ठक्करले ठक्कर दिँदा प्रधानको मृत्यु भएकोहो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै मकवानपुरगढीमा आइतबार भएको अटोरिक्सा दुर्घटनामा परी गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका–८ ओमनगरका ५४ वर्षीय सुर्ज थापामगरको उपचारका क्रममा आज मृत्यु भएको छ । कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ गढी दरबारस्थित सडकमा ना२ह १२९० नम्बरको अटोरिक्सा अनियन्त्रित भई दुर्घटना भएको हो । गम्भीर घाइते मगरको काठमाडौँस्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो ।

नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

काँक्रेविहार (सुर्खेत), २५ चैत : जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ की ३० वर्षीया राजुकमारी शाहीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

सुत्केरीपछि अत्यधिक रक्तश्राव भएका कारण प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोटमा उपचार सम्भव नभएपछि शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । उहाँ यही चैत २३ गते सुत्केरी हुनुभएको थियो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शाहीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिनुभयो ।

अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक

गण्डकी, २५ चैत : पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० हजार १६९ ले बढी हो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार सबैभन्दा बढी गत कात्तिकमा ३३ हजार ३१० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । सबैभन्दा कम माघमा जम्मा नौ हजार ३४ पर्यटक ‘एक्याप’ भित्रिएका थिए ।

फागुनयता पर्यटक आवागमनमा वृद्धि भएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । चैत–वैशाख पदयात्राका लागि उत्तम मानिने हुँदा यो याममा पर्यटकको सङ्ख्या थप बढ्ने उहाँले बताउनुभयो । गत वर्ष चैतमा वर्षकै सबैभन्दा धेरै ३५ हजार २६५ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमफिर गरेका थिए । वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्रीको सङ्ख्या न्यून हुने गरेको छ । पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखलाई उत्तम समय मानिने आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।

पछिल्लो तीन वर्षको आँकडाअनुसार बर्सेनि उक्त क्षेत्रमा पर्यटकको आवागमन बढेको देखिन्छ । आव २०७९/८० मा एक लाख ७२ हजार १०८ पर्यटक ‘एक्याप’ भित्रिएकामा आव २०८०/८१ मा दुई लाख २२ हजार १८० पर्यटकले उक्त क्षेत्रका भ्रमण गरेका थिए । आव सकिन चार महिना बाँकी रहेकाले चालु आवमा पनि पर्यटक सङ्ख्या गत वर्षको तुलनामा वृद्धि हुने अनुमान आयोजना कार्यालयको छ ।

“गत वर्षको तुलनामा चालु आवका हरेक महिनामा पर्यटक सङ्ख्या बढेको छ”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो, “यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको छ, सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दो छ ।” मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले पदयात्रा रुचाउने गरेका छन् ।

‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मनाङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या एकिन गर्न नसकिने आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

त्रिभुवन विमानस्थलबाट आठ किलो ८५५ ग्राम गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, २५ चैत : नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “थाई एअरको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका निजलाई अन्तरराष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेपछि आइतबार पक्राउ गरिएको हो ।” पक्राउ परेका निजलाई आज सार्वजनिक गरिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

‘अमेरिका टुर’ डल्लासबाट सुरु, न्यूयोर्क सिटीमा सम्पन्न हुने

लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको संयुक्त प्रस्तुतीमा आयोजना हुने ‘अमेरिका टुर’ अप्रिल ११ मा टेक्सासको डल्लासबाट औपचारिक रूपमा सुरु हुने भएको छ । मे १० मा न्यूयोर्क सिटीमा समापन हुने तय गरिएको यो ‘टुर’ कार्यक्रममा भेक, याबेश बिजेनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने छन् ।

यो सांगीतिक टुरले अमेरिका भरिका प्रमुख सहरहरूमा आफ्ना कार्यक्रम प्रस्तुत गर्नेछ, जसले नेपाली समुदायलाई उत्साहजनक सांस्कृतिक अनुभूति दिने आयोजकहरूको दाबी छ । डल्लासबाट सुरु हुने ‘टुर’ त्यसपछि डल्लास, टेक्सास, कोलोराडो, DMV क्षेत्र (वासिङ्टन डि.सी, म्यारिल्याण्ड, भर्जिनिया), ह्यारिसबर्ग, पेन्सिलभेनिया, एक्रोन, ओहायो, कोलम्बस, ओहायो, न्यूयोर्क सिटी, न्यूयोर्क सहरहरूमा कार्यक्रमहरू हुने भएको छ ।

आयोजकहरूले टुरलाई ‘सांगीतिक तथा सांस्कृतिक उत्सव’ का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनीहरूको भनाइमा, यो टुरले अमेरिका भरि छरिएर रहेका नेपाली समुदायलाई संगीतमार्फत जोड्ने प्रयास गर्नेछ ।
टुरमा सहभागी हुने सबै दर्शकलाई अविस्मरणीय अनुभवको ग्यारेन्टी आयोजक संस्थाहरूले दिएका छन् । टुरले दक्षिणी क्षेत्रबाट सुरु गर्दै पूर्वी तटसम्मको सांगीतिक यात्रा तय गर्नेछ, जसमा विविध सांगीतिक प्रस्तुतीहरू रहने छन् ।

नेपालबाट आएका कलाकारहरूको सहभागिता, सांस्कृतिक आदानप्रदान, र समुदायसँगको अन्तरक्रियाले यो टुर नेपाली डायस्पोराका लागि विशेष अवसर हुने आयोजकहरूको विश्वास छ ।

‘नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण’ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २५ चैत : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्नुभएको छ । गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु-याउनुभएको योगदान विषयक अन्तरक्रियामा उहाँले चन्द्रशेखरको भूमिकाको प्रशंसा गर्नुभएको हो ।

“चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो, “०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरज्यूले खेल्नुभएको भूमिका स्मरणीय छ ।” उहाँले चन्द्रशेखरको प्रेरणाले नेपाल–भारतको सम्बन्ध झन् बलियो बनाएको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गर्नुभयो । “भारतमा प्रधानमन्त्री हुँदा नेपाललाई निकै सहयोग गर्नुभयो उहाँले । बिपी कोइरालासँगको सम्बन्ध पनि राम्रो थियो”, उहाँले भन्नुभयो, “२०४६ सालको आन्दोलनमा उहाँ नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।”

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन् ।

‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला’, प्रधानमन्त्री ओलीले भने ।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिएका थिए ।

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग

काठमाडौँ, २५ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)ले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस घटनासँग जोडेर पक्राउ गरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।उक्त पार्टीले आफ्नो विचारको प्रतिरक्षाका निम्ति सबै राष्ट्रवादी र प्रजातन्त्रवादीलाई एकताबद्ध हुन आग्रह गरेको छ ।

पोखरा जोमसोम हवाई उडानको सङ्ख्या घट्यो

मुस्ताङ, २५ चैतः राष्ट्रिय गौरवको बेनी–जोमसोम—कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा—जोमसोम¬ हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ । पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन । हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले पोखरा—जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन् ।

 राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए  । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ । 

सडक कालोपत्र भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिनुभयो । “कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ ”, उहाँले भन्नुभयो,“अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउँजाउ गर्छन् ।”

हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले उल्लेख गर्नुभयो ।

“पहिला हामीलाई यात्रुवर्गलाई टिकट उपलब्ध गराउनै हम्मेहम्मे पर्ने गथ्र्यो, पोखरा जोमसोम टु वे कै टिकट काटेर आउने हवाई यात्रुले गर्दा नेपाली पर्यटकसहित स्थानीय र कर्मचारीलाई हवाई टिकट छैन भन्नुपथ्र्यो”, उहाँले भन्नुभयो,“ अहिले पोखराबाट आतेजातेको टिकट लिएर नआएमा यहाँबाट जहाज नै खाली पठाउनु अवस्था भइरहेको छ, पछिल्लो वर्षमा झनै यस्तो समस्य थपिएर उडान क्रमशः घट्ने अवस्था देखिएको छ ।”

 पोखराबाट भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी भोलिपल्टै फर्किने गरी दुईतर्फी हवाई टिकट लिने गरेको भए पनि अन्य मुलुकका पर्यटकले भने एकतर्फी टिकट लिएर हवाईयात्रा गर्ने भएकाले जोमसोमबाट प्रायः जहाज खालीखाली पठाउनुपर्ने अवस्था रहेको समिट एअरलाईन्सका जोमसोमका व्यवस्थापक सुमन थकालीको भनाइ छ । “पहिला पहिला यहाँबाट स्थानीय र कर्मचारी लगायतमा यात्रु पनि जहाजको यात्रा गर्न खोज्थे’, भन्नुभयो,“अहिले सडक बाटो राम्रो भएकाले यहाँबाट अधिकांश यात्रु सडकमार्गबाटै पोखरा झर्ने गर्छन्  ।”

पोखरा जोमसोम हवाई उडान घट्नुको अर्को कारण पछिल्लो समय सुरक्षित हवाई यात्रामा चुनौती पोखरा जोमसोम हवाई मार्गमा आधादर्जन जती हवाई दुर्घटना भइसकेको छ । बढ्दो हवाई जोखिमलाई न्यूनीकरण नेपाल नागरिक उड्यान प्राधिकरणले नयाँ नियम र थप निगरानी बढाउन थालेपछि हवाई उडान घट्नु पुगेको विश्लेषण गरिएको छ । यसो त (पोखरा—जोमसोम) हवाई यात्राका लागि सम्बन्धित ट्राभल एजेन्सीहरुले टिकट बुकिङ गर्ने गरे पनि उडान रद्द हुँदा तत्कालै सडकमार्गबाट यात्रुलाई मुस्ताङ पठाउने गर्दा हवाई उडान घटेको व्यवस्थापक थकालीले उल्लेख गर्नुभयो । ट्राभल कम्पनीले हवाई टिकट बुकिङ गरे पनि सडकमार्गबाट यात्रा गराउँदा हवाई टिकटको आधा भाडा बचत हुने भएकाले पनि पहिलेको जस्तो जहाज कुरेर बस्ने नगरेको उहाँले जनाउँनुभयो ।

यसरी जहाजको टिकटमा बुकिङ गरेर गाडीमा पठाउँदा ट्राभल कम्पनीलाई आर्थिक लाभ हुने उहाँले बताउनुभयो । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक सहज बनेपनि अधिकांश पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउने गरेको पाइएको छ । सडकमार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र सवारीसाधन पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडकमार्गबाट यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

मुस्ताङका स्थानीय नागरिक, कर्मचारी, सुरक्षाकर्मी, मजदुर र सामान्य व्यक्तिसमेत सडकमार्गबाट आवतजावत गर्ने गरेका छन् । अहिले दैनिक पोखरा —जोमसोम हवाई उडान दैनिक ५÷६ वटा मात्रै हुने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाइ छ । यसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक रहेको छ । 

निर्माणधीन राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक आयोजना कार्यान्वयनमा आउन पूर्व अनुकूल मौसममा (पोखरा–जोमसोम) हवाई उडान दैनिक १८ वटासम्म हुने गथ्र्यो । साना जहाजलाई अनुकूल समयमा यात्रु ओसारपोसार गर्न भ्याइनभ्याइ हुने गथ्र्यो । भारतीय र तेस्रो मुलकका विदेशी पर्यटकले मात्रै टिकट पाउँथ्ये । नेपाली आन्तरिक पर्यटकलाई पोखरा–जोमसोम हवाई टिकट पाउन निकै कठिन पथ्र्यो ।

 हवाई टिकट मूल्यमा एकरुपता नहुँदा नेपाली पर्यटकका साथै मुस्ताङका स्थानीयवासीलेसमेत हवाईयात्रा गर्न निकै सास्ती खप्नुपर्दथ्योे । स्वदेशी हवाई यात्रु भन्दा विदेश पर्यटकको हवाई यात्रु टिकटमा दोब्बर ÷तेब्बर मूल्यपर्ने भएकाले सम्बन्धित निजी एअरलाईन्स कम्पनीहरुले स्वदेशीलाई हवाई टिकट दिन खोज्दैनथ्ये । 

कुनै दुर्घटना भयो वा सिकिस्त बिरामी परेको बखतमा मात्रै स्वास्थ्यचौकी वा अस्पतालको सिफारिसमा उनीहरुले हवाई टिकट उपलब्ध गराउँथ्ये । पोखरा–जोमसोम हवाईयात्रा गर्नुपर्दा यात्रुलाई निकैनै सङ्घर्ष गर्नुपथ्र्यो । तर, अहिले त्यो समय पूरै फेरिएको छ ।

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी, २५ चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१÷८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो ।

आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहुवर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिनुभयो ।

बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो ।

बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती मावी पछाडी म्याग्दी नदी किनारमा रु एक करोड ५५ लाखको लागतमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन÷तीन मिटर अग्लो पलम र ग्याबिन पर्खाल निर्माण काम भइरहेको आयोजनाका इञ्जिनीयर नरजङ गुरुङले बताउनुभयो ।

निर्माण कम्पनीले यो योजना आगामी जेठ महिनाको २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ता समितिमार्फत मालिका गाउँपालिका–६ दरवाङको म्याग्दी नदी किनारमा रु ७० लाखको लागतमा कम्पोजित पर्खाल निर्माण भइरहेको छ ।

रु ७० लाख बजेट विनियोजन भएको बेनी–४ सिङ्गा र सुर्केमेलामा म्याग्दी नदीको कटान रोकथामका लागि ग्याबियन पर्खाल निर्माण गर्ने योजना निर्माणाधीन छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, दरवाङ बसपार्कलगायत भौतिक संरचनालाई म्याग्दी नदीको कटानबाट जोगाउन ६५ मिटर लामो कम्पोजित पर्खाल निर्माणका लागि रु छ करोड १८ लाख लागत अनुमान गरिएको योजना ठेक्का प्रक्रियामा छ । 

तातोपानी बजार संरक्षणको दोस्रो प्याकेज अन्तरगत म्याग्दी नदी किनारमा एक सय दुई मिटर कम्पोजिट पर्खाल निर्माणका लागि रु तीन करोड ८१ लाख लागत अनुमान गरिएको ठेक्का मूल्याङ्कनको अन्तिम चरणमा छ ।

कुश्मा नगरपालिका– ४ अर्मादी र जलजला गाउँपालिका कार्यालय रहेको लामाखेतस्थित कालीगण्डकी नदी किनारमा रु पाँच करोड लागत अनुमान गरिएको नदी संरक्षण योजना सञ्चालन गरेको छ । यो योजना पनि मूल्याङ्कनको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

उक्त योजनामार्फत दुवै स्थानमा ४८÷४८ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गरिने छ । बेनीको कालीपुल पारी जलजला गाउँपालिका– ३ स्थित कालीगण्डकी नदी किनारमा ८० मिटर कम्पोजिट पर्खाल निर्माण गर्नका लागि रु दुई करोड ८० लाख लागत अनुमान गरिएको योजना सञ्चालनको तयारी गरिएको आयोजनाले जनाएको छ । आयोजनाले पछिल्लो पाँच वर्षयता बेनी र आसपासको क्षेत्रमा नदी नियन्त्रणको काम गर्दै आएको छ ।

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’: सांसद आचार्य

काठमाडौँ । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सुरेन्द्रराज आचार्य अहिले प्रतिनिधिसभाको सांसद छन् । पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री आचार्य अहिले कांग्रेसको लुम्बिनी प्रदेशको महामन्त्री हुन् ।  कपिलवस्तु जिल्लाको सभापति हुँदै उनी २०६९ सालमा सभासद बनेका थिए । उनी २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा कपिलवस्तु–२ बाट ३९ हजार १४ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । सांसद आचार्यसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश ।

भ्रष्टाचार देशको रोग जस्तै बनेको छ । सुशासनको निम्ति यसको अन्त्य हुन जरुरी छ । स्थानीय तहदेखि माथिसम्मनै भ्रष्टाचारले गाँजेको छ । त्यसकारण भ्रष्टाचारको अन्त्य गर्दै जनतालाई छिटोछरितो सेवा सुविधा दिने काममा तीनै तहको सरकार लाग्नुपर्छ । सरकारले सोचेअनुरुप काम गर्न नसक्दा जनतामा अलिकति वितृष्णा पैदा भएको छ । अहिले सुशासन पनि फितलो बन्दै गएको छ । राजाको चाहाना गरेर जनता त्यसतर्फ आकर्षित भएका होइन् । दल र दलका नेताहरुको क्रियाकलापप्रति असन्तुष्टी पैदा भएको हो । नेताप्रतिको असन्तुष्टी पोख्ने ठाउँ राजसंस्था जस्तो देखिएको मात्रै हो । दलप्रतिको वितृष्णाले उब्जाएको वितृष्णा हो । आम जनताको चाहाना अनुसार देशको सत्ता, शासन, प्रशासन चलेको खण्डमा जनता सन्तुष्ट हुन्छन् । खाली पार्टीगत स्वार्थभन्दा  पनि देशको हितमा देशको स्वार्थको निम्ति काम गरियो भने टिकाउ हुन्छ । नेताहरुले पार्टी र कार्यकर्ताको लागि मात्रै सोच्ने हो भने दीर्घकालीन रुपमा राम्रो प्रभाव दिँदैन ।   

देशभित्रै रोजगारीको सिर्जना गर्न सकेको खण्डमा मात्रै युवा पलायन रोक्न सकिन्छ जस्तो लाग्छ । अहिले खाडीमूलुक जाने र अध्ययनको सिलसिलामा जाने लहर चलेको छ । आफ्नै देशमा रोजगारीको अवसर नभएका कारण यो अवस्था आएको हो । यसको न्यूनीकरण गर्न   शिक्षामा सुधार गर्दै उद्योग कलकारखानाको व्यवस्था गर्नुपर्छ । देशभित्र रोजगारीको सवालमा विस्तृत रुपमा अध्ययन गरेर आफ्नै स्रोत–साधनबाट रोजगारी सिर्जना गर्नुपर्छ । हाम्रो देश पर्यटनको सवालमा धनी छ । पर्यटनको सम्भावना भएका ठाउँमा सबै खाले विकास गरेर पर्यटनबाट रोजगारी सिर्जना गर्न पनि सकिन्छ । त्यसतर्फ युवालाई आकर्षण गर्नुपर्छ । युवाशक्ति पलायन हुने राम्रो सङ्केत पक्कै पनि होइन । 

वास्तबमा सङ्घीयता आइसकेपछि संविधानमा केही संशोधन गर्नुपर्ने आवश्यकता छ । संविधानमा केही नमिलेका कुरा मिलाउनुपर्ने छ । संविधान संशोधन एउटा सिङ्गो कांग्रेसले मात्रै गर्न सक्ने कुरा होइन । संशोधनको लागि सबै दलहरु मिल्नुपर्ने छ । जतनाको चाहाना अनुसार देशको संविधान, ऐन÷कानुन, नीतिनियम बन्नुपर्छ । प्रदेशमा प्रर्याप्त कानुन बन्न नसक्दा काम गर्न समस्या भएको छ । आवश्यक कानुन बन्न नसक्दा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार बाझिएको छ । निजामति कर्मचारी र प्रहरी प्रशासन सञ्चालन, कर्मचारीको सरुवामा समस्या पैदा भएको छ । कानुन बन्न नसक्दा विकासको कामले पनि गति लिन सकेको छैन । यी सबै विषयलाई सुधार गरेर समयसापेक्ष लैजानुपर्ने छ । हामीले सङ्घीयता दिऔँ । तर त्यसअनुसार कानुन नबन्दा समस्या देखिएको छ । समानुपातिक प्रणालीप्रति पनि जनता त्यति सन्तुष्टी देखिएका छैनन् ।

 सदनमा जनताका सवाल नउठ्ने होइन उठ्छन् । तर त्यस अनुसार सरकार गम्भीर भएर लागेको पाइँदैन । संसद्मा विषय उठाउने मात्रै काम भएको छ । तर कार्यान्वयन फितलो छ । सांसदले समय सापेक्ष सदनमा उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको देखिँदैन । अहिलेको सरकारको प्रमुख प्राथमिकता भनेको संविधान संशोधन पनि हो । त्यसको लागि सिङ्गो संसद् एक हुनुपर्छ । तर अहिलेको राजनीतिक परिस्थिति पनि त्यति ठिक छैन । जनता पहिलाको जस्तो छैनन् । 

अहिलेका जनता सचेत छन । त्यसकारण जनताको चाहाना अनुसार संशोधन गर्नुपर्ने छ । जनताको भावना अनुसार राज्य, सरकार र जनप्रतिनिधि चलेनन् भने जनताको निराशा बढ्दै जाने देखिन्छ । हामीले संविधान बनाऔँ । तर संविधानमा भएका केही कमिकमजोरी समयसापेक्ष सुधार गरेर जान सकेका छैनौँ । देशको संविधान परिवर्तननै गर्न नसक्ने भन्ने होइन । तर जहाँजहाँ कमिकमजोरी छन्, त्यसलाई सुधार गरेर जाने हो भने परिणाम पनि राम्रो दिन्छ । तर उही पुरानै ढर्रामा लाग्न खोजियो भने संविधानप्रति जनताको वितृष्णा आउन सक्छ । त्यो भोलि थेग्न नसक्ने अवस्था पनि आउन सक्छ ।

 कपिलवस्तु जिल्लामा त्यति धेरै उद्योगधन्दा, कलकारखाना छैन् । कपिलवस्तुको मुख्य पेसा भनेको कृषि पेसा हो । त्यसको लागि समयमै सिँचाइ र मलखादको प्रर्याप्तता हुन जरुरी छ । कपिलवस्तुमा जमिनको चक्लाबन्दी भयो भने किसानले एकै ठाउँमा सिँचाइ र तारबारको प्रन्बन्ध गर्न सक्ने थिए । सिँचाइ मन्त्रालयले एउटा बोरिङ दिन्छ । एउटा टुबेल दिन्छ । त्यो किसानले एउटा खेतमा गाडेको हुन्छ । तर उस्को खेत साना–साना गरी दश ठाउँमा हुन्छ । त्यसले गर्दा यहाँको उब्जनीमा घाटा हुँदै गएको छ । एउटा खेतमा सिँचाइ हुँदा अर्को खेत बाजै रहने हुन्छ । 

अहिले कपिलवस्तुका जनताको माग भनेको चक्लाबन्दी जग्गा हुनुपर्ने हो । त्यसो गर्न सकेको खण्डमा किसान कृषिप्रति आकर्षित गर्न सकिन्छ । यो समस्या कपिलवस्तुको मात्रै होइन । देशैभरिका किसानको माग हो । यो कुरा मैले संसद्मा पनि पटक–पटक उठाएको छु । फेरि पनि यो समस्या उठाउन आवश्यक छ । तराईका जिल्लाको मुख्य समस्या नै यही छ अहिले । अहिलेको समस्या भनेको जनतालाई रोजगारी दिन नसक्नु हो । सडक, पुल निर्माण गर्ने हो । जनताको शिक्षा, स्वास्थ्य समस्या मुख्य कुरा हो । त्यसतर्फ ध्यान दिने अबको मेरो योजना छ ।

स्वास्थ्य सेवा सञ्चालनमा आएपछि जीवनजल लिन घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

भोजपुर, २५ चैतः भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेको उहाँले बताउनुभयो ।

“यहाँका नागरिक स्वास्थ्य सेवा लिन निकै समस्या थियो” उपाध्यक्ष राईले भन्नुभयो,“सामन्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीबाट सेवा प्रवाह गर्न सफल भएका छौँ ।” नागरिकलाई सहज रुपमा स्वास्थ्यसेवा पु¥याउनलाई आफ्नो तहबाट भूमिका खेलिरहेको उपाध्यक्ष राईले बताउनुभयो । भौगोलिक रुपमा विकट रहेका अन्य स्थानमासमेत आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो ।

सामान्य रुघाखोकी तथा जीवनजल लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ– ५ का रमेश विष्टले बताउनुभयो । स्वास्थ्य इकाई स्थापनाले यहाँका नागरिकले तीनदेखि चार घण्टा समय लगाएर अन्य ठाउँमा सेवा जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो ।“सामन्य स्वास्थ्य सेवा लिन नै समस्या थियो”उहाँले भन्नुभयो,“अहिले गाउँबाट नै सेवा लिन पाएका छौँ । अहिले हाम्रो वषौँदेखीको समस्या हटेको छ ।”

गाउँघरमा नै स्वास्थ्य संस्था सञ्चालन भए पनि बिरामी हुँदा नियमित स्वास्थ्य जाँच गराउन पाइएको स्थानीयवासी देवबहादुर विष्टले बताउनुभयो । स्वास्थ्य केन्द्र स्थापनाले सामान्य उपचार लिनको लागि घण्टाँैं पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिनुभयो ।

“पुस्तौँबाट हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ” उहाँले भन्नुभयो,“अहिले गाउँमा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो । अहिले आफ्नै ठाउँमा नियमित स्वास्थ्य जाँच गराउन पाएका छौँ ।”

कङ्गोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु

कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले करिब ३० जनाको ज्यान लिनुका साथै मध्य अफ्रिकी महानगरमा विनाश मच्चाएको एक अधिकारीले आइतबार बताएका छन् । “धेरै घाइतेहरू छन्, उनीहलाई बाहिर निकालिएको छ र अहिलेसम्म शनिबारको मुसलधारे वर्षाबाट मृत्यु हुनेहरूको सङ्ख्या ३० को हाराहारीमा छ”, किन्सासाका प्रान्तीय सार्वजनिक स्वास्थ्यमन्त्री प्याट्रिसियन गोङ्गो अबाकाजीले भन्नुभयो ।

चिकित्सकका अनुसार पीडितहरू या त डुबेका थिए वा आफ्नो घरको भित्ताहरू भत्किँदा मारिएका थिए । शुक्रबार राति शनिबारसम्म परेको वर्षापछि, पानीको सतह बढ्दा करिब एक करोड ७० लाख जनसङ्ख्या भएको महानगरको धेरै बाहिरी र गरिब उपनगरहरूलाई ध्वस्त बनाएको छ ।

त्यस्तै बढ्दो वर्षाका कारण राष्ट्रिय सडकमध्ये एकमा यातायात बन्द भयो । यो सडक किन्सासाको मुख्य सडक मार्ग हो । यो सडक मार्ग हुँदै केन्द्रबाट विमानस्थलसम्म तथा साथै धेरै छिमेकी जिल्लामा पुग्न सकिन्छ ।   बाढीले प्रायः किन्सासालाई प्रभावित गर्दछ । किन्सासा नाइल पछि अफ्रिकाको दोस्रो सबैभन्दा ठूलो कङ्गो नदीको किनारमा अवस्थित छ ।

छ वर्षपछि उत्तर कोरियाको पहिलो प्योङयाङ म्याराथनमा विदेशीहरूको सहभागिता

उत्तर कोरियाले आइतबार छ वर्षमा पहिलो प्योङयाङ अन्तर्राष्ट्रिय म्याराथन आयोजना गरेको छ । दौडमा सयौँ धावक राजधानीको सडकमा उत्रिए र नागरिकहरूले उनीहरूलाई हौसला दिए ।सन् १९१२ मा जन्मेका उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मोत्सव मनाउन आयोजित दौड प्रतियोगिता अघि विदेशी खेलाडीहरू सहरमा आइपुगेका थिए ।

एएफपीका तस्बिरहरूमा किम इल सुङ स्टेडियममा विदेशी धावकहरूले सुरुको रेखा पार गरेको देखाइएको छ, केहीले आफ्नो फोनमा फोटो खिचेका छन् भने उत्तर कोरियाली दर्शकहरूले उनीहरूलाई हौसला दिइरहेका थिए ।अर्को तस्बिरमा उत्तर कोरियाली कुलीन र विदेशी धावकहरूले प्योङयाङको सडकमा प्रतिस्पर्धा गरेको देखाइएको छ, जसमा नागरिकहरू लामबद्ध भएर हर्षोल्लास गरिरहेका देखिन्छन् ।

अर्को फोटोमा उत्तर कोरियाली दर्शकहरू स्ट्यान्डमा लाठीहरू लिएर हौसला दिइरहेको देखिएका छन् ।यो म्याराथन एकान्त यस देशमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम हो ।

यस दौडले आगन्तुकहरूलाई कडा रूपमा नियन्त्रित राजधानीको सडकहरूमा दौडने दुर्लभ अवसर प्रदान गर्दछ । कोर्यो टुर्सका महाप्रबन्धक साइमन ककेरेलको इन्स्टाग्राम खातामा पोस्ट गरिएका तस्बिरहरूले विदेशी ‘एमेच्योर’ धावकहरूलाई भाग लिनका लागि यात्राहरू आयोजना गरेको र प्योङयाङका नागरिकहरू हेर्न भेला भएको देखाइएको छ ।“उत्तर कोरियामा आजको प्योङयाङ म्याराथनका केही तस्बिरहरू । अद्भुत कार्यक्रम र अन्य कुनै पनि जस्तो नभएको दौड”, कोकेरेलले लेख्नुभएको छ ।

प्योङयाङ म्याराथनको अन्तिम संस्करण महामारीअघि सन् २०१९ मा आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा आणविक–सशस्त्र यस मुलुकले भाइरसलाई नियन्त्रण गर्ने प्रयासमा आफ्ना सिमानाहरू बन्द गरेको थियो ।

विदेशी सहभागीहरू हाल बेइजिङस्थित ट्राभल एजेन्सी कोर्यो टुर्सद्वारा आयोजित छ दिने यात्रामा राजधानीमा छन् । उक्त टुर्सले आफूलाई म्याराथनको विशेष ट्राभल पार्टनरको रूपमा वर्णन गर्दछ ।प्योङयाङ म्याराथन एक अत्यन्त अद्वितीय अनुभव हो किनकि यसले स्थानीयहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्दछ,“ बेइजिङमा आधारित फर्मले आफ्नो वेबसाइटमा भन्यो।

म्याराथनलाई विश्वव्यापी प्रशासकीय निकाय विश्व एथलेटिक्सको वेबसाइटमा सूचीबद्ध गरिएको छ ।सन् २०१९ मा लगभग नौ सय ५० विदेशीले दौडमा भाग लिएका थिए । यो जुन अघिल्लो वर्ष लगभग चार सय ५० थियो । यस वर्ष लगभग एक सय ८० जना विदेशी धावकले भाग लिने अपेक्षा गरिएको थियो ।

“उत्तर कोरिया एक जटिल र आकर्षक स्थान हो जसले धेरै मानिसलाई आकर्षित गर्दछ”, कोकेरेलले हालै अस्ट्रेलियाली प्रसारक एसबिएसलाई भन्नुभयो, “यद्यपि यो निश्चित रूपमा सबैका लागि होइन, यसले निश्चित रूपमा त्यस्तो देश भ्रमण गर्ने र उनीहरूले के देख्न सक्छन् भन्ने अनुभवका बारेमा जिज्ञासु व्यक्तिहरूलाई अपील गर्दछ ।”

जति सक्दो चाँडो सदस्य र डेलिगेट्स बन्न एनआरएन अभियन्ताहरूको जोड

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि सदस्य बन्न एक दिन मात्रै बाँकी रहँदा एनआरएनए अभियन्ताहरूले जति सक्दो चाँडो सदस्य तथा डेलिगेट्स बनेर संस्थालाई लोकतान्त्रीकरण र सुधार गर्न योगदान दिन आह्वान गरेका छन्।

एनआरएनए उच्चस्तरीय समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले उच्चस्तरीय समितिले सर्वोच्च अदालतले दिएको जिम्मेवारी पूरा गर्न एकदमै उत्तरदायी भएर काम गरिरहेको बताए । आर्थिक समितिका संयोजक पनि रहेका आचार्यले डेलिगेट्स दर्ताका लागि १ सय डलर अर्थात् १४ हजार नेपाली रुपैयाँ जम्मा गर्नु पर्ने निर्णय गरिएको बताए । उनले २२ अप्रिल भित्र डेलिगेट्स बन्न निवेदन दिन पनि अपिल गरे। “अझै पनि एक ठाउँमा बसेर समस्या समाधान गरेर अधिवेशन गरौँ। हामीले सहमति गरेर एक भएर गैर आवासीय नेपालीहरूका मुद्दा अगाडि बढाउनु पर्ने छ । फेरि पनि व्यक्तिगत स्वार्थ भन्दा पनि संस्थालाई एकताबद्ध बनाउने विषयमा सोची दिनुहोला,” उनले भने।

उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले महाधिवेशनको तयारी तीव्र रूपमा भई रहेको बताइन् । ” सुरुका दिनमा हामीले सचिवालय हामीलाई हस्तान्तरण हुन्छ भनेर आशा गरेका थियौँ । तर त्यो नभएपछि अहिले हामीले अफिसको स्पेस पनि बढाएका छौँ । सदस्यता एप्रुभलमा ढिलाइ भएकोमा अहिले हामी पूर्ण रूपमा तयार भएका छौँ । । यस विषयमा अन्यथा नसोचिदिनुहुन अनुरोध गर्दछु,” उनले भनिन । सदस्य सचिव गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा १४ हजार भन्दा बढीले सदस्यताको लागि निवेदन दिएको र डेलिगेट्सका लागि २ सय भन्दा बढी निवेदन आएको बताइन् ।

अमेरिका निवासी एनआरएनए अभियन्ता डा. केशव पौडेलले सबैले लचकता देखाएर सबै पक्षलाई एकै ठाउँमा ल्याउँदै यो अधिवेशनलाई एकताको अधिवेशनमा रूपान्तरण गर्न जरुरी भएको बताए । “एनआरएनको अधिवेशनमा बारम्बार देखिने विवादको मूल कारण डेलिगेट्स चयन प्रक्रिया हो। यसै समस्याको समाधानका लागि उच्चस्तरीय समितिले नेपाल जाने सबै सदस्यहरूलाई डेलिगेट बन्ने अवसर दिने व्यवस्था गरेको हो। अधिवेशनको क्रममा सदस्यता अप्रूवल प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ। कम्तीमा २ वर्ष विदेशमा बसिसकेका नेपालीहरूलाई सदस्यता दिन सकियो भने अधिवेशन अझ व्यवस्थित र समावेशी बन्न सक्छ। त्यसैले विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई एनआरएनएको अधिवेशनमा सक्रिय सहभागिता जनाउन विशेष अपिल गर्दछु,” उनले भने।

मलेसियामा बसोबास गर्ने एनआरएन अभियन्ता खगेन्द्र न्यौपानेले पहिला एनसीसीको चुनाव हुने र त्यसपछि आइसिसीको चुनाव हुने गरेको तर यस पटक विगतको भन्दा फरक रहेको बताए । “अदालतको फैसला आएपछि पूर्व अध्यक्षहरूको फोटो फाल्ने अनि त्यही कार्यालयमा बस्न सुहाउँछ कि सुहाउँदैन ?” उनले प्रश्न गरे। उनले सदस्य बन्न कसैलाई पनि वञ्चित नगरिएको र विगतमा जस्तो डेलिगेट्स बन्नका लागि झगडा पनि अन्त्य गरेको बताए । उनले सहमतिमा नेतृत्व चयन गर्न पनि आग्रह गरे।

बेल्जियममा बसोबास गर्ने एनआरएन अभियन्ता लोक दाहालले स्वतःस्फूर्त रूपमा सदस्य बन्न निवेदन आइरहेको र यो उत्साहजनक रहेको बताए । “हामीले एनसीसीहरुलाई बुझाउन सकेको भए मेम्बरसिप बढ्ने थियो । तर अहिलेलाई हामीले सकारात्मक रूपमा लिनु पर्छ,” उनले भने। दाहालले बद्री केसी पक्षले संघको कोषको दुरुपयोग गरिरहेको आरोप लगाउँदै नयाँ निर्वाचित कमिटीले कोषको अडिट गर्ने बताए ।कार्यक्रमको सञ्चालन मूल आयोजक समितिका सदस्य सचिव गंगाधर गौतमले गरेका थिए।

एनआरएनए उच्चस्तरीय समितिले गराउने महाधिवेशन नै वैधानिक : महेश श्रेष्ठ

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता महेश श्रेष्ठले एनआरएनए उच्चस्तरीय समितिले गराउने महाधिवेशन मात्रै वैधानिक हुने बताएका छन्।

एनआरएनए एनसीसी जापानद्वारा टोकियोमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै श्रेष्ठले सुरुमा आफू पनि कन्फ्युजनमा रहेको तर विभिन्न कानुनविद्, सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय, मन्त्रीहरू तथा वरिष्ठ अधिकारीहरूसँग कुराकानी गरे पछि सर्वोच्च अदालतको परमादेश अनुसार उच्चस्तरीय समितिले गराउने महाधिवेशन मात्रै वैधानिक हुने निष्कर्षमा आफू पुगेको बताए।

“पहिलो फैसला बमोजिम निर्वाचन गर्नु नै आधिकारिक हुन्छ भन्ने कुरामा प्रस्ट छु । यदि यो निर्वाचनलाई केही पर सारेर भए पनि बद्रीजीको पक्षलाई पनि ल्याउन सकिन्छ कि भनेर हामी लागेका छौँ । त्यो प्रयास सफल हुन सकिरहेको छैन । मे महिनामा हुने अधिवेशन सर्ने सम्भावना कम भएको छ । अब अधिवेशन हुन्छ नै । आफै फैसलाको व्याख्या गरेर आफैलाई वैधानिक भन्न मिल्दैन । पहिलो फैसला मानेर नै सरकारले प्रक्रिया अगाडि बढाएको हो,” उनले भने।

“सर्वोच्चको फैसला पछि प्रधानमन्त्री हटेको र भङ्ग भएको संसद् पुनर्स्थापना भएको नजिर छ । फैसलालाई अक्षरशः मान्नुको विकल्प छैन । अहिले यदि मिल्न सकिएन भने मे महिनामा अधिवेशन गरेर त्यसपछि पनि प्रयास गर्नुपर्छ । मिल्न सकिएन भने हाम्रो अस्तित्व हुँदैन,” श्रेष्ठले भने।

एनआरएनएभित्र मध्यमार्गीको पहिचान बनाएका श्रेष्ठले एनआरएनएको अहिलेको अवस्थाप्रति सबै दुःखी भएको बताए । उनले सबै पक्षलाई मिलाएर एकता गर्नुपर्छ भनेर आफूले अधिकतम प्रयत्न गरेको जनाउँदै तर एकता विधानसम्मत हुनु पर्ने जिकिर पनि गरे।

एनआरएनए उच्चस्तरीय समितिले आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकता महाधिवेशन गर्ने मिति तोकी सकेको छ। त्यसको लागि सोमबार, ७ अप्रिल नेपालको समय राती १२ बजे अगावै समितिको वेबसाइट (www.nrnahlc.com) मा गएर सदस्य बन्न निवेदन दिन समितिले आग्रह गरेको छ। त्यस्तै समितिको वेबसाइट बाट मात्रै डेलिगेट्स बन्न निवेदन दिन पनि समितिले आह्वान गरेको छ।

एकता महाधिवेशनका लागि डेलिगेट्स बन्न आधिकारिक पोर्टलमा गएर फर्म भर्न उच्चस्तरीय समितिको अनुरोध

काठमाडौँ – आगामी मे ३ देखि ५, २०२५ मा काठमाडौँमा हुन गई रहेको गैर-आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधि (डेलिगेट) आवेदन खुला गरिएको छ।

सर्वोच्च अदालतको परमादेशद्वारा गठित एनआरएनए उच्च स्तरीय समितिले समितिको वेबसाइट (www.nrnahlc.com ) मा गएर डेलिगेट बन्न निवेदन दिन आग्रह गरेको छ।

“डेलिगेट बन्न निवेदन दिने मिति २२ अप्रिल २०२५ सम्म छ। त्यसैले संघको वेब पोर्टलमा गएर मात्रै निवेदन दिन हामी आग्रह गर्दछौँ,” उच्चस्तरीय समितिकी सदस्य सचिव रबिना थापाले भनिन्। ‘हाल केही व्यक्तिहरूले नक्कली फारम बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरिरहेका छन्, जसले आवेदकहरूलाई अन्योलमा पार्न सक्छ,’ उनले भनिन् ।

एनआरएनए उच्चस्तरीय समितिले आधिकारिक रूपमा https://nrnahlc.com/delegation-online-registration-form/ मार्फत मात्र आवेदन दिने व्यवस्था मिलाएको छ।

एनआरएनए सदस्यता नलिएका व्यक्तिहरूले अप्रिल ७ तारिख भित्र सदस्यताका लागि आवेदन दिई सक्नु पर्ने पनि उच्चस्तरीय समितिले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

कञ्चनपुर, २५ चैतः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोषको रु एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो ।

“खानेपानी, विद्युत्, सिसिटिभी जडानको कार्य हुन बाँकी छ” उहाँले भन्नुभयो, “केन्द्रको चारैतिर सडक (पहुँच मार्ग) निर्माण भइरहेको छ,भने घेरबार राख्ने कार्य हुन बाँकी रहेको छ ।” केन्द्रको भौतिक पूर्वाधार निर्माणको पूरा हुनै लागेपनि अन्य कार्यका लागि दातृ निकायको खोजी गरी रहेको उहाँले उल्लेख गर्नुभयो ।“बाघ–चितुवा लगायतका जनावरलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याएपछि खुवाउने आहाराको व्यवस्थाका लागि पनि आवश्यक बजेटको जोहो मिलाउने कार्य हुन बाँकी छ” कार्यालय प्रमुख जोशीले भन्नुभयो, “त्यसको प्रबन्धका लागि कार्य अगाडि बढाउनु छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले केन्द्र निर्माणका लागि निकुञ्ज कार्यालयले प्राविधिक सहयोग र निर्माणका लागि जग्गा व्यवस्थापनसँगै अनुमति दिने कार्य गरेको बताउनुभयो । “पूर्वाधार निर्माणको सम्पूर्णकार्य एनटिएनसीले गरेको छ” उहाँले भन्नुभयो, “एक÷दुई महिनाभित्रै केन्द्र पूर्णरुपमा निर्माण भइसक्छ ।”

मध्यवर्ती क्षेत्रबाट उद्धार गरी ल्याउने बाघ–चितुवा लगायतका अन्य जनावरको केन्द्रमा राखेर स्वास्थ्य परीक्षणको कार्यसँगै उपचार गरेपछि सुरक्षित स्थानमा छाडिने उहाँले बताउनुभयो । नरभक्षी भएका बाघ–चितुवालाई उद्धार गरेर ल्याएपछि आनीबानीमा सुधार नहुँदासम्म केन्द्रमा राखिने र त्यसपछि सुरक्षित स्थानमा छाडिने उहाँको भनाइ छ । उहाँका अनुसार अलपत्र अवस्थामा फेला परेका, अशक्त, घाइते र समस्याग्रस्त जीवजन्तुको उद्धार गरी केन्द्रमा राखेर पालनपोषणको कार्य गरी बासस्थानमा पुनःस्थापन गर्न सघाउ पुग्ने उहाले बताउनुभयो ।

आधुनिक शैलीमा जीवजन्तुलाई राख्नका लागि निर्माण भइरहेको केन्द्र सुदूरपश्चिम क्षेत्रमा पहिलो रहेको छ । भने चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि डडेल्धुरामा एनटिएनसीले खोर यस अघिनै निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।

निकुञ्जमा बाघ–चितुवालगायतका जनावरको सङ्ख्यामा वृद्धि भएपछि मध्यवर्ती क्षेत्रका बासिन्दाको खेतबारीमा देखिन थालेका छन् । गत साता बेलौरी नगरपालिकामा र साउन महिनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट निकुञ्ज कार्यालयले दुई वटा बाघको सकुशल उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ ।

प्रत्येक महिना निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा चितुवा देखिने गरेको छ । निकुञ्ज र कोषको टोलीले उद्धार गरी सुरक्षित स्थानमा छाडने कार्य गर्दै आएका छन् । उद्धार केन्द्र नहुँदा निकुञ्जलाई उद्धार गरिएका जनावर राख्नका लागि समस्या हुदै आएको थियो ।

केन्द्र निर्माणको कार्यले जीवजन्तुको उद्धार गरी राख्नका लागि सहज हुने भएको छ । यस कार्यले उद्धार गरिएका जीवजन्तुलाई पुरानै बासस्थानमा पुनः स्थापन गराउन पनि सहयोग पुग्ने भएको छ । उद्धार गरी केन्द्रमा राखिएका स्वस्थ्य वन्यजन्तुलाई शैक्षिक प्रयोजनका लागि अध्ययन अनुसन्धान गर्न सकिने बताइएको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २५ चैत – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु १३० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

न्यूरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु ७०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

आँटेको पु-याइदेउ बागलुङ कालिका…

गण्डकी, २५ चैतः जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु-याइदेउ रेशम बागलुङ कालिका…’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो । त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ ।

गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब दुई लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरे । आइतबार रामनवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

उहाँका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो । “चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ”, अध्यक्ष खड्काले भन्नुभयो, “सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ ।” तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ ।

कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताउनुभयो । स्थानीयवासी भरत खड्काले कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकअर्कामा अभिन्न रहेको बताउनुभयो । “पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, उहाँले भन्नुभयो, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ ।”

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ ।

देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिनुभयो । साउन र पुस महिनामा भने बलि नचढ्ने उहाँको भनाइ छ । “औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ”, उहाँले भन्नुभयो, “मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ ।”

मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताउनुभयो । श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई…’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताउनुभयो । उहाँका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो ।

“त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भन्नुभयो, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे ।”

पहिले भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे । स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहोरी (झ्यारे) गाएर बस्ने गर्थे ।

गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक खड्काले बताउनुभयो । मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् ।

झापामा पचास हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा

झापा, २५ चैतः जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् ।
मेचीनगर नगरपालिकाको सभाहलमा आज आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सो जानकारी दिँदै प्रक्रिया पूरा गरेर धनीपूर्जा वितरण गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष रिजालले भूमिसम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनको अधिकारमाथि खेलवाड भएको आरोप लगाउनुभयो । उहाँले वत्र्तमान भूमि आयोग पहिलेका तीन वटा आयोगभन्दा फरक रहेको दावी गर्दै अहिलेको आयोग संवैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको बताउनुभयो । 

कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईले अबको दुई वर्षभित्र नेपालका १३ लाख सुकुम्बासीलाई धनिपूर्जा वितरण गरिने बताउनुभयो । कार्यक्रममा भूमि आयोगका झापा अध्यक्ष मदन अधिकारीले विचौलियासँग सहकार्य नगरी पालिकामार्फत प्रक्रिया पूरा गरेर आएका निवेदनहरुलाई दर्ता गरी चाँडै धनीपूर्जा वितरण गरिने बताउनुभयो । 

राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ डा जगतबहादुर वस्नेतले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आयोगको काम, कर्तव्य र अधिकारसहित भावी कार्ययोजनाका बारेमा जानकारी दिनुभयो । 

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले वास्तविक हकदारलाई जग्गाको धनीपूर्जा वितरण गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मेचीनगरमा छ हजार ३३० जना भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीले धनिपूर्जाका लागि निवेदन दिएको जनाउँदै तीमध्ये पाँच हजार १५१ जनाले निस्सा प्राप्त गरिसकेको जानकारी दिनुभयो ।

मेचीनगरमा भूमिहीन दलित ३५८ जना, भूमिहिन सुकुमबासी दुई हजार २४६ जना र र अव्यवस्थित बसोबासी तीन हजार ७२६ जना गरी छ हजार ३३० जनाले धनीपूर्जा पाउनका लागि नगरपालिकामा निवेदन दिएका छन् ।

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस्तक

काँक्रेविहार (सुर्खेत), २५ चैतः कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताव समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताव पुग्ने सम्भावना घटेको हो ।

कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरेपनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो । निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप लगाएको छ । सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिइ बिक्री गरेको जनक शिक्षाको आरोप छ ।  

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भएपनि गोदाममै थन्क्याउनु परेको केन्द्रले जनाएको छ । जिल्लास्थित पुस्तक बिक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिडेटको गोदाममा पुस्तक थन्किएको प्रदेश प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । उहाँका अनुसार हालसम्म ६६ प्रतिशत पनि पुस्तक बिक्री भएको छैन । 

स्थानीय तहले बिक्रेतालाई रकम दिएर पुस्तक ढुवानी गर्ने गरेको छ । डोल्पामा फागुनमा शैक्षिकसत्र सुरु हुनेगर्दछ । त्यहाँ हालसम्म किताब पुग्न सकेको छैन । 

जनक शिक्षाले पुस्तक विक्रेतालाई जिल्लाअनुसारको कमिसन उपलब्ध गराउँदै आएको छ । मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले सुर्खेतबाट पुस्तक खरिद गर्दै आएका छन् । 

नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

काठमाडौँ, २५ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका जायज माग पुरा गरी सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेको हो ।

“यस आन्दोलनबाट शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, पठनपाठन बन्द भएको अवस्था छ र एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित बन्न पुगेको छ, यो राज्यको निम्ति एकदमै गम्भीर विषय हो, शिक्षकको यस आन्दोलनप्रति हाम्रो पार्टी एक्यबद्धता जनाउन चाहन्छ”, पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ । 

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा यही चैत्र २० गतेदेखि देशभरिका शिक्षक र विद्यालयका कर्मचारीले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौँको माइतीघरमा आन्दोलन गरिरहेका छन् । 

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २५ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ १० पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा,  साउथ कोरियन वन एक सयको खरिद ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ र बिक्रीदर २० रुपैयाँ  ८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

वासिङ्टन डिसी (अमेरिका), २५ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क आइपुग्नु भएको छ ।

मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गर्नुभयो । मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुग्नुभएको थियो ।

मन्त्री पौडेलले सोमबार र मङ्गलबार हुने उच्चस्तरीय बैठकमा भाग लिनुहुने संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोगले जनाएको छ ।

नेपाल सुपर लिग : चितवन र झापाबीचको खेल बराबरी

काठमाडौँ, २४ चैत : दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अङ्क पु¥याएको छ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्को खेलमा बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले हराएको थियो ।

चितवनका लागि आजको खेलमा टेरिक जेब्रनले गोल गरे । उनले खेलको २८औँ मिनेटमा गोल गर्दै चितवनलाई सुरुआती अग्रता दिलाए । यता झापाका लागि अलहाजी गिरोले खेलको दोस्रो हाफको अतिरिक्त समयमा बराबरी गोल फर्काए । झापाको समान खेलबाट तीन अङ्क भएको छ । झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्ससँग बराबरी खेलेको थियो ।

शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना

गुल्मी, २४ चैतः उहाँको मालिका गाउँपालिका–८ मा रहेको थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि रु १० लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको अगुवाइमा शिक्षकलाई तलब र अन्य शैक्षिक क्रियाकलापका लागि अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषबाट प्राप्त ब्याजबाट खर्चको जोहो गर्ने गरी रकम सङ्कलन गरी ‘थानपती कल्याणकारी कोष’ स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले जानकारी दिनुभयो । अभियानबाट रु १० लाख ३४ हजार ७०० सहयोग सङ्कलन गरिएको छ ।

अक्षयकोषमा न्यूनतम रु एक हजार पाँच सयदेखि अधिकतम रु ५५ हजार ५५५ सम्म सहयोगप्राप्त भएको अध्यक्ष खड्काले बताउनुभयो । विद्यालयले रु १५ हजारमाथि सहयोग गर्ने दाताको ताम्रापत्रमा नाम लेखिने र रु ५० हजारमाथि सहयोग गर्नेको ताम्रापत्रमा दुईपुस्ते नाम लेखिने जनाएको छ । यस अभियानमा १२७ जनाले सहयोग गर्नुभएको छ । अक्षयकोष परिचालनका लागि सात सदस्यीय समिति गठन गरिएको छ ।
एक सय २२ जना विद्यार्थी रहेको उक्त विद्यालयमा १२ जना शिक्षक छन् ।

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

झापा, २४ चैतः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वाकाङ्क्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको धारणा राख्नुभयो ।

“एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन” पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “घटनामा तीनैवटा पक्ष दोषी छन् । त्यसको छानबिन हुनुपर्छ ।” उक्त दिनको सुरक्षा व्यवस्था फितलो र आन्दोलनकारी अराजक भएका कारण अप्रिय घटना हुन पुगेको उहाँको विश्लेषण थियो । 

सम्मानित नेता खनालले २०८४ सालको चुनावअघि नै कम्युनिष्ट शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । “वामपन्थी एकताको विकल्प छैन । टाउको जोड्ने र अङ्कमाल गर्नेमा एकतालाई सीमित गरिनु हुँदैन । अब हुने एकता नीति, सिद्धान्त र कार्यदिशा निर्धारण गरेर हुनुपर्छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत

टक्सार (भोजपुर), २४ चैतः भोजपुर सदरमुकाममा सुरु मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बाग्मती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले विजयी सुरुआत गरेको छ ।

भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा आयोजित खेलमा बाग्मतीलाई लगातार तीन सेटमा हराउँदै एकतर्फी रूपमा कोशीले कब्जा जमाएको थियो । सोमबारको दोस्रो खेल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बीच हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको आजै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ । 

जिल्ला भलिबल सङ्घको आयोजना तथा कोशी प्रदेश सरकारको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको आयोजक संस्थाका महासचिव सङ्ग्राम किरातीले जानकारी दिनुुभयो । प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो । पाँच विधामा विधागत रूपमा उत्कृष्टलाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ  ।